Category: कलाप्रेस

  • ‘फोर्टिन पिक्स’द्वारा नेटफिल्क्समा सर्वाधिक हेरिने डकुमेन्ट्रीको रेकर्ड

    ‘फोर्टिन पिक्स’द्वारा नेटफिल्क्समा सर्वाधिक हेरिने डकुमेन्ट्रीको रेकर्ड

    काठमाडौं । कीर्तिमान नेपाली आरोही निर्मल पूर्जाको हिमाल आरोहणको विषयलाई लिएर नेटफिल्क्सले निर्माण गरेको डकुमेन्ट्रीले विश्व कीर्तिमान राखेको छ ।

    नेटफिल्क्सका अनुसार नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म यो फिल्म प्लेटफर्मकै इतिहासमा सर्वाधिक हेरिने डकुमेन्ट्री बनेको छ भने विश्वभरबाट नेटफिल्क्समा हेरिने फिल्मको सातौं स्थानमा उक्लिएको छ ।

    उक्त अवधिमा मात्र यो फिल्मलाई नेटफिल्क्समा १२.१७ मिलियन घण्टा हेरिएको छ । ४५ वटा मुलुकमा यो फिल्म सर्वाधिक हेरिने उत्कृष्ट १० मा पर्न सफल भएको छ ।

    म्याग्दीमा जन्मिएका पूर्जाले ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला हिमाल कसरी आरोहण गरेर कीर्तिमान राख्न सफल भए भने चित्रण गर्छ । यो फिल्मले विश्वभरबाट राम्रो समीक्षा समेत बटुलेको छ ।

  • सन् २०२२ मा नेपाली कलाकारले वर्ल्ड टुर थाल्ने : मेलिना, तृष्णा, एड्रिनदेखि संजयसम्मले भाग लिँदै

    सन् २०२२ मा नेपाली कलाकारले वर्ल्ड टुर थाल्ने : मेलिना, तृष्णा, एड्रिनदेखि संजयसम्मले भाग लिँदै

    काठमाडौं । सन् २०२२ देखि नेपाली संगीतकर्मीले वर्ल्ड टुर थाल्ने भएका छन् । कोरोनाभाइरस महामारीले दुईवर्षदेखि हुन नसकेको ‘पिस एन्ड युनिटी अ म्युजिकल टुर’ आउँदो वर्षदेखि सुरु हुने जानकारी बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

    सन् २०१९ मा यो टुर एक पटक भएको थियो तर त्यसपछि महामारीको कारण विभिन्न मुलुकले प्रतिबन्ध लगाएपछि टुर रोकिएको थियो । सन् २०१९ मा सुगम पोखरेल, वर्षा राउत र तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिएका थिए । यो पटक भने गायकहरु संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसंगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ पनि वल्र्ड टुरमा जाने भएका छन् ।

    अप्रिलदेखि जुनसम्म हुने यो टुरको सुरुवात जापानबाट हुने पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । जुनमा युरोपका केही देश र जुलाइमा अमेरिकामा कार्यक्रम भएपछी यो टुरको सकिने जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार जापान, युरोप र अमेरिकाका विभिन्न ठाउँमा टुर संचालन हुनेछ । तर, ती मुलुकहरुमा पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरिएन्ट संक्रमण भेटिएकाले प्रतिबन्धहरु लगाइएको छ ।

    आयोजकले सन् २०२२ को सुरुआतसँगै टूर सुरु हुने भनेपनि यो समय योजना कोरोनाको महामारीको संक्रमणदर र विभिन्न मुलुकले भाइरस रोकथामका लागि लगाएका प्रतिबन्धलाई निरन्तरता दिएका छन् । क्वारेन्टिन लगायतका नियम पनि छन् ।

    टुरका लागि संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधान, मेलिना राई र तृष्णा गुरुङ न्युनतम पारीश्रमिकमा सहमत भएको कार्यक्रमका आयोजक किरण श्रेष्ठले जानकारी गराए । कार्यक्रममा बोल्दै उनले भने –टुरबाट भएको नाफाको ८० प्रतिशत रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारिटी दिइने भएकाले कलाकारहरुले कम पारीश्रमिकमा आफ्नो प्रस्तुति दिन तयार भएका हुन् ।’

  • फ्राइडे रिलिज : ट्रान्सजेन्डर रोमान्सदेखि १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउने फिल्मसम्म

    फ्राइडे रिलिज : ट्रान्सजेन्डर रोमान्सदेखि १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउने फिल्मसम्म

    काठमाडौं । शुक्रबार नेपाली हलहरुमा दुईवटा नयाँ फिल्म रिलिज भएका छन् । बलिउडको ‘चन्डीगढ करे आशिकी ‘र नेपालको ‘सकिन भुल्न तिमीलाई’ प्रदर्शनमा आएका हुन् । अभिषेक कपुर निर्देशित हिन्दी रोमान्टिक फिल्म ‘चन्डीगढ करे आशिकी’मा आयुष्मान खुराना र वाणी कपुरको मुख्य भूमिका छ । ११७ मिनेट लामो यो फिल्मलाई समीक्षकले रुचाएका छन् ।

    हिन्दी मेनस्ट्रिम फिल्ममा ट्रान्सजेन्डर पात्र र उनीहरुको रोमान्सलाई लिएर फिल्म कमै बनाइन्छ । सामाजिक मुद्दाकै रुपमा रहेको यो फिल्मले गम्भिर सन्देश पनि प्रवाह गर्न खोजेको छ । आयुष्मान खुरानाका फिल्म रुचाउने दर्शकलाई यो फिल्म रुचीकर हुनसक्छ । ट्रान्सजेन्डर पात्रको रोमान्सलाई समेटिएको यो फिल्मलाई पारिवारिक दर्शकभन्दा पनि बौद्धिक दर्शकले समेत रुचाउन सक्छन् ।

    यसैबीच, नेपाली फिल्म ‘सकिन भुल्न तिमीलाई’ मुलुकका २० वटा हलबाट शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

    राज बस्न्यात को निर्माण निर्देशनमा तयार भुल्न सकिन तिमीलाई एडल्ट फिल्म हो । १६ बर्ष भन्दा माथिका दर्शकलाई हेर्न मिल्ने गरी सेन्सर बोर्डले यो फिल्मलाई आर रेटेड प्रमाणपत्र दिएको हो । निर्माण भएको लामो समयको प्रतिक्षामा यो चलचित्र हलमा रिलिज भएको हो । फिल्ममा सुशान्त कार्की र पनाह अधिकारीको मुख्य भूमिका छ । पटकथालाई नायिका समेत रहेकी पनाह अधिकारीले लेखेकी हुन् । युवा पुस्ताको प्रेम रोमान्स अनि वियोगलाई फिल्ममा चित्रण गरिएको छ ।

  • नेपाल मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश, हेड-टु-हेड च्यालेन्जमा इन्डोनेसियालाई हरायो

    नेपाल मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश, हेड-टु-हेड च्यालेन्जमा इन्डोनेसियालाई हरायो

    काठमाडौं । हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै नेपाल विश्व सुन्दरी प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेको छ ।

    मिस वल्र्डका अनुसार नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्स टप थर्टीभित्र प्रवेश गरेका हुन् । उक्त स्पर्धामा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठको जवाफको निकै प्रशंसा भएको थियो ।

    अन्तिम ३० भित्र प्रवेश गरेपछि आफूलाई थप उत्साह लागेको उनले बताइन् । अहिले अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको विश्व सुन्दरी प्रतियोगिताबाट नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा पनि जित्ने अपेक्षा गरिएको छ ।

    नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मिस नेपाल श्रेष्ठलाई ती विधामा भोटिङ भैरहेको छ । डिसेम्बर १६ मा मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ ।

  • कट्रिना र विक्कीबीच बिहे : हेर्नूस बिहेका आकर्षक तस्बिरहरु

    कट्रिना र विक्कीबीच बिहे : हेर्नूस बिहेका आकर्षक तस्बिरहरु

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना क्याफ र अभिनेता विक्की कौशलबीच आज बिहे भएको छ । राजस्थानमा आज बेलुका आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।

  • नेपाल आइडलको चौंथो सिजन प्रसारण सुरु, पहिलो भागमा अडिसन राउन्ड देखाइने

    नेपाल आइडलको चौंथो सिजन प्रसारण सुरु, पहिलो भागमा अडिसन राउन्ड देखाइने

    काठमाडौं । चर्चित नेपाली टेलिभिजन गायन रियालिटी सो ‘नेपाल आइडल’को चौंथो सिजन आजदेखि प्रसारण सुरु हुँदैछ । एपीवान टेलिभिजनबाट प्रत्येक साता बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने जनाइएको छ ।

    आजको पहिलो भागमा अडिसन राउण्ड प्रसारण हुने निर्माताले जनाएका छन् । पछिल्लो समय नेपाली टिभी च्यानलहरुमा विश्वमा लोकप्रिय रियालिटी सोका फ्रेन्चाइज सोहरु प्रसारण भैरहेका छन् । नेपाल आइडलले पनि अघिल्ला तीनैवटा सिरिजबाट चर्चा बटुलेको छ ।

    चौंथो सिजनमा पनि जजहरु परिवर्तन भएका छन् । संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा यस सिजनमा छन् । नेपाल आइडल सिजन ४ ’लाई आसिफ शाह र रेश्मा घिमिरेले होस्ट गर्दैछन् ।

  • दिब्यदेव र सृष्टिको ‘चिसो एस्ट्रे’ चैत ४ मा आउने : यस्तो छ फिल्मको कथासार

    दिब्यदेव र सृष्टिको ‘चिसो एस्ट्रे’ चैत ४ मा आउने : यस्तो छ फिल्मको कथासार

    काठमाडौं । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् ।

    दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

    निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’

    फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशीलराज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले ‘राहदानी’, ‘कारखाना’ आदि फिल्ममा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, ‘छड्के’ र ‘झिग्राना’मा रुचाइएका कलाकार हुन् ।

    कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

    ‘हामीले लामै समय लिएर यो फिल्म तयार गरेका छौँ । महामारीका कारण प्रदर्शनका लागि तयार भएर पनि हामी रोकिनु पर्यो । अब चैतमा हामी आउँदैछौँ । एउटा फरक स्वादको चलचित्र दर्शकले हेर्न पाउनुहुनेछ,’ महेशले भने ।

    फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

    नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मले केही दिनअघि मात्र फिल्मका मुख्य कलाकारलाई परिचित गराउने उद्देश्यसहित फस्टलुक सार्वजनिक गरिसकेको छ ।

  • ‘आरआरआर’ ट्रेलर लन्च : ‘बाहुबली’ निर्देशकको नयाँ फिल्मले नेपालमा छाप्ला पैसा ?

    ‘आरआरआर’ ट्रेलर लन्च : ‘बाहुबली’ निर्देशकको नयाँ फिल्मले नेपालमा छाप्ला पैसा ?

    काठमाडौं । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित आगामी प्रतीक्षित फिल्म ‘आरआरआर’को ट्रेलर लन्च भएको छ ।

    जुनियर एनटीआर, अजय देवगण, राम चरण, आलिया भाट स्टारर फिल्मको ट्रेलरमा भरपुर एक्सन समावेश छ । यो पिरियोडिक ड्रामामा सबै कलाकार एक्सन अवतारमा प्रस्तुत छन् ।

    आकर्षक थलो, छायांकन र केही भारतीय देशभक्ति दृश्यलाई जोडदार रुपमा चित्रण गरिएको छ । मुम्बइमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर लन्च गरिएको हो ।

    अल्लुरी सीताराम राजु र कोमाराम भीमजस्ता दुईजना भारतीय क्रान्तिकारीको काल्पनिक कथामा फिल्म आधारित छ । क्रमशः राजुले बेलायती उपनिवेश र भीमले हैदराबादको निजाम आन्दोलनमा बहादुरी प्रस्तुत गरेका थिए ।

    आरआरआर नेपाली दर्शकसामु समेत प्रतीक्षित फिल्म हो । निर्देशक राजामौलीका दुबै बाहुबली फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो व्यवसायिक कमाइ गरेका थिए ।

    यो फिल्म सन् २०२२ को जनवरी ७ मा रिलिज हुँदैछ ।

  • नेपाल भाषाको गीत ‘धाय मुफता’ इन्टरनेट रिलिज (भिडिओ)

    नेपाल भाषाको गीत ‘धाय मुफता’ इन्टरनेट रिलिज (भिडिओ)

    काठमाडौं । भनिन्छ : संगीतको कुनै भौगोलिक सीमा र खास भाषा हुँदैन । पछिल्लो समय नेपालमा केही यस्ता गीत छन् जसले कुनै सम्बन्धित भाषाभन्दा बाहिरका दर्शकसामु पनि चर्चा बटुलेका छन् ।

    बिहीबार युट्युवमा रिलिज भएको ‘धाय माफुता’ यसको एउटा उदाहरण हो । नेपाल (नेवारी) भाषामा बनेको यो गीतलाई नेपाली भाषीसहितका अन्य दर्शक तथा श्रोताले पनि रुचाउन सक्छन् ।

    बबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा दीपक नेपालीका शब्द समावेश छन् । अस्मिता परियार र प्रिजल नेपालीको स्वर समावेश गीतलाई गैर-नेपाल भाषी श्रोताले पनि रुचाउने आशा संगीतकर गिरीले लिएका छन् । माइकल स्टेप-अप र आर्ट्स एकेडेमीको नृत्य निर्देशन रहेको भिडिओलाई काठमाडौंका दरबार स्क्वायरमा खिचिएको छ । हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=CyGGixkI3x0

  • जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो किम्फ फिल्म फेस्टिभल

    जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो किम्फ फिल्म फेस्टिभल

    काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड-१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो । हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे ।

    डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् ।

    फिल्म हेर्नूस क्लिक गर्नूस लिंक :

    यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ ।

    फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ ।

    ‘उत्साहपूर्ण प्रतिक्रियाले खुशि छु’ प्रिमियरपछि मिडियासँग आरोही शेर्पाले भनिन्, ‘यो फिल्मले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ ।’ प्रिमियरमा पनि उनी छोरासहित उपस्थित थिइन् । यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमार्फत प्रतिस्पर्धी छन् ।

    हिमालय क्षेत्रलाई जोगाऔं : अभियन्ता वाङ्चुक

    वातावरण अभियन्ता तथा प्रमुख अतिथि वाङ्चुक हिन्दूकुश हिमालय क्षेत्रमा देखिएको जलवायु असरप्रति गम्भीर सुनिए । आमिर खानको चर्चित बलिउड फिल्म थ्री इडियट्स वाङचुककै जीवनबाट प्रभावित छ । मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबै गम्भीर बन्नुपर्ने बताए ।

    ‘सबै धर्मको मुख्य सार शान्ति र अहिंसा नै हो’ वाङचुकले भने, ‘कोरोनाभाइरस महामारीले हामीलाई मानव सभ्यताप्रति गम्भीर बन्न र सोच्न सिकाएको छ । यो यसरी नै हामी वातावरणप्रति सचेत हुनुपर्छ ।’ आफ्नो थलो लद्दाखको अनुभव सुनाउँदै उनले हिमनदी पुग्लिँदा पानीका स्रोतहरु सुक्दै जान थालेको र यस्तो समस्या नेपाली हिमालय क्षेत्रमा पनि सिर्जना भएको उनको भनाई थियो ।

    हिन्दुकूश हिमालय क्षेत्रमा भारत, पाकिस्तान र चीनको सैनिक आवादी उच्च रहेको बताउँदै उनले यस्तो प्रवृत्तिले हिन्दूकूश हिमालय क्षेत्रमा गम्भिर वातावरणीय असर निम्ताएको बताए । ‘यो क्षेत्रमा सैनिक आवादी निकै बढाइएको छ । नागरिकले बरु सौर्य ऊर्जाको उपभोगमा जोड दिन्छन् तर, सैनिकले जीवाश्म इन्धन खपत गर्दा यसले हरितगृह ग्याँस उत्सर्जन गरिरहेका छन् । यसले अन्ततः हिमालय क्षेत्रलाई असर पारेको छ’ उनले भने ।

    उनले डिफेन्स (प्रतिरक्षा)लाई सैनिक उपस्थिती र लगानीको रुपमा मात्र नबुझ्न आग्रह गरे । ‘मुख्य डिफेन्स भनेको जलवायु परिवर्तनलाई रोक्नु नै हो । यसतर्फ सरकारहरु केन्द्रित हुनुपर्छ’ उनले भने, ‘विश्वभर रक्षा बजेट २ ट्रिलियन डलर छ । यो बजेटलाई कटौती गरेर जलवायुमा लगानी बढाउनुपर्छ ।’ हरितगृह प्रतिरक्षा नै अबको युगको डिफेन्स भएको वाङचुकको भनाइ थियो ।

    जलवायु परिवर्तनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्न फिल्म सुन्दर सिर्जना भएको उनको भनाई थियो । उनको किनोटको निष्कर्ष थियो –रिडिफाइन ।’ उनले सोच र काम गराइको पुनर्संरचना नगरिए पृथ्वीलाई जोगाउन मुस्किल पर्ने चेतावनी दिए । काठमाडौं आउँदा घर फर्किएजस्तो महसुस भएको बताउँदै उनले आफूलाई साथीहरुले ५० प्रतिशत भारतीय र सतप्रतिशत नेपाली भनेर जिस्काउने गरेको अनुभव सुनाए ।

    यसपटक नेपाली अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायकको रुपमा छन् । ‘मैले निर्णायकको रुपमा जतिपनि फिल्म हेरेँ, यी फिल्म मात्र होइनन बरु अद्भूत फिल्म हुन्’ बरालले कार्यक्रममा भने, ‘यी फिल्मले हामीलाई आफूभित्र फर्किएर हेर्न सिकाउँछन् र प्रश्नहरुको सामना गर्न सिकाउँछन् ।’

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको बताउँदै फिल्ममार्फत यसबारे सन्देश दिन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए । युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको बताइन् । संस्कृतिले मानिसलाई जोड्ने बताउँदै राजदूत डेप्रेजले हरित विकासमा नेपालले ध्यान दिनुपर्ने र यसतर्फ ईयूले सघाउने बताइन् ।

    आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले जलवायु परिवर्तन यतिबेला विश्वको वास्तविक चुनौति रहेकाले यसपटकको फेस्टिभल नै जलवायुमा केन्द्रित रहेको बताए । कोभिड–१९ महामारीको जोखिम कायमै भएकाले हाइव्रिड शैलीमा फेस्टिभल गर्नुपरेको बताउँदै उनले त्यसको बाबजुद पनि भएको दर्शकीय उपस्थितीले आफूहरुलाई हौसला थपेको बताए ।

    फेस्टिभल निर्देशक रम्यता लिम्बुले मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भैरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भनेर सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको बताइन् ।

    अन्य आकर्षण कस्ता छन् ?

    यस पटकको संस्करणमा किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मको प्रतिस्पर्धा पनि गरिने भएको छ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरमामा हेर्न पाइनेछ ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितीय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

    अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

    किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ ।

    महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ ।

     

     

  • दोस्रो सन्तानको बाबु बने विल्सनविक्रम, छोरापछि जन्मिइन् छोरी

    दोस्रो सन्तानको बाबु बने विल्सनविक्रम, छोरापछि जन्मिइन् छोरी

    काठमाडौं । हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ लाई दोस्रो सन्तानका रूपमा पुत्रीलाभ भएको छ । विल्सनकी पत्नी सरिना लामाले छोरीलाई जन्म दिएकी हुन् ।

    विल्सनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन भएको भन्दै फेसबुकमा सुखद खबर सुनाएका छन् । राईका अनुसार उनीहरूको छोरीको नाम सभ्यता बि राई राखिएको छ ।

    ‘आज हाम्रो परिवारको नयाँ सदस्य को शुभ आगमन भो । मलाई छोरीको बाबु र मेरो जिवनसाथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भो, औधी भाग्यमानी ठानेको छु’

    यसअघि राईदम्पतीका एक छोरा छन् । २०७६ साल माघ १५ गते विल्सनको जन्मदिनमै उनीहरूलाई पहिलो सन्तानका रूपमा पुत्रलाभ भएको थियो । विल्सन र सरिनाबीच २०७५ साल फागुनमा विवाह भएको थियो ।

  • ‘कठपुतली’ ट्रेलर लन्च : कार्म, उषा र मिथिलाले सुनाए हरर भोगाइ (तस्बिर/भिडिओ)

    ‘कठपुतली’ ट्रेलर लन्च : कार्म, उषा र मिथिलाले सुनाए हरर भोगाइ (तस्बिर/भिडिओ)

    काठमाडौँ । हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ ।

    आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कार्म, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन्।

    फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ ।

    त्यस्तै, कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।

    लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भूत प्रेतप्रति विश्वास रहेको बताइन् ।

    हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।

  • निखिलको ‘महंगो’ डिभोर्सः २० वर्षपछि टुट्यो सगोत्री विवाह (अन्तरकथा)

    निखिलको ‘महंगो’ डिभोर्सः २० वर्षपछि टुट्यो सगोत्री विवाह (अन्तरकथा)

    काठमाडौं । नेपाली चलचित्रका ख्यातिप्राप्त नायक निखिल उप्रेतीको वास्तविक जीवन पनि कुनै चलचित्रभन्दा कम छैन । दुईवटा वैवाहिक सम्बन्धको जंजालमा फँसेर उनले आफ्नो निजी जीवनलाई लगभग अस्तव्यस्त नै तुल्याए । खैर, अब उनी यो झमेलाबाट बाहिर निस्केका छन् ।

    हालै जेठी पत्नी कोपिला उप्रेतीसँग निखिलको औपचारिक सम्बन्धविच्छेद भएको छ । निखिलले गत साउनमा कोपिलासँगको २० वर्ष पुरानो वैवाहिक सम्बन्धलाई कानूनीरूपमा अन्त्य गरेका हुन् । व्यवहारिकरूपमा भने उनीहरू करिब १३ वर्षदेखि अलग थिए ।

    औपचारिक डिभोर्सपछि निखिलमाथि लाग्ने गरेको बहुविवाहको आरोपबाट मुक्ति त मिलेको छ, तर तनावका विषयहरू सकिएका छैनन् । खासगरी आर्थिक व्यवस्थापनको पाटो आगामी दिनमा उनका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ । दोहोरो सम्बन्धमा पार पाउने क्रममा उनले आफू रित्तिएर पूर्वश्रीमतीको झोली भरिदिने सम्झौता गरेका छन् ।

    निखिलले चलचित्र क्षेत्रमा गरेको कमाइबाट जोडेको सम्पत्तिका रूपमा भक्तपुरमा एउटा घर थियो । पाँच  आना क्षेत्रफलमा रहेको उक्त घर उनले जेठी श्रीमतीलाई सुम्पिएका छन् । हाल यो घरको मूल्य करिब साढे ४ करोड पर्ने बताइन्छ । साथै, निखिलले प्रत्येक महिना कोपिलालाई ५० हजार रूपैयाँ भरणपोषण खर्च दिने सम्झौता गरेका छन् ।

    कोपिलालाई घरजग्गा सुम्पिएका निखिल आफू चाहिँ कान्छी श्रीमती सञ्चिता लुईंटेलसँग भाडाको घरमा बस्छन् । केही महिनाअघि मात्रै उनीहरु खुमलटारमा एउटा अपार्टमेन्ट भाडामा लिएर बस्न थालेका हुन् । उनीहरुसँग एक छोरा र एक छोरी छन् ।

    यी त भए, अहिले सार्वजनिक भइसकेका विषयवस्तु । निखिल र कोपिलाबीचको वैवाहिक सम्वन्ध विसर्जनको बिन्दुसम्म आइपुग्दा यसभित्र धेरै उपकथाहरू गाँसिएका छन्, जसलाई यहाँ सिलसिलेवार प्रस्तुत गरिएको छ ।

    सगोत्री सम्बन्ध र विवाह

    निखिल कोपिलाबीचको वैवाहिक सम्बन्ध सामाजिक-सांस्कृतिक मान्यताका हिसाबले गलत थियो । बुझिएअनुसार उनीहरुको थर एउटैमात्र होइन, टाढाको नाताले ‘दिदी-भाइ’पर्छन् । उमेरले आफूभन्दा जेठी कोपिलालाई निखिल ‘फुपू’भन्ने गर्थे ।

    सर्लाहीका निखिल र धादिङ नौबिसेकी कोपिला काठमाडौंमा कलेज पढ्दै गर्दा भेट भएका थिए । फरक-फरक कलेज पढ्ने भए पनि उनीहरुको बस्ने ठाउँ मिलनचोकमा सँगै थियो । एउटै थर र सगोत्री भनेर जान्दाजान्दै उनीहरु प्रेममा परे र छुट्टिनै नसक्ने भए ।

    ४-५ वर्षको प्रेमपश्चात निखिल र कोपिलाले पारिवारिक विद्रोह गर्दै विवाह गरे । निखिलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पिँजडा’ रिलिज भएको केही महिनापछि उनीहरूको विवाह भएको हो । २०५८ साल फागुन २३ गते कालीमाटीस्थित पचलीभैरवमा उनीहरुले लगनगाँठो कसेका थिए । उनीहरूको सगोत्री विवाहलाई लिएर दुवैका परिवार तथा आफन्तले आपत्ति जनाएका थिए । तर, विवाह भइसकेपछि स्वीकार्न कर लाग्यो ।

    पहिलो फिल्म ‘पिँजडा’ हिट भएपछि निखिलको फिल्मी करिअरले ह्वात्तै उछाल लियो । केही समयमै उनी सर्वाधिक चर्चित र व्यस्त नायक बन्न पुगे । तर, श्रीमतीसँगको सम्वन्ध भने बिग्रिन थाल्यो ।

    समकालीन एक नायिकासँग निखिल नजिकिएपछि उनीहरुबीच खटपट सुरु भएको थियो । ती नायिकाले पछि अर्कैसँग बिहे गरिन् । तर, पनि निखिल र कोपिलाको सम्वन्धमा फेरि बहार फर्किएन ।

    विवाहपछि निखिल र कोपिला सिनामंगलमा भाडाको फ्ल्याटमा बस्थे । फिल्मबाट भएको कमाइमा केही ऋण थपेर निखिलले २०६६ सालमा भक्तपुरमा घर बनाए । कर थोरै तिर्नुपर्छ भनेर त्यो घर उनले कोपिलाका नाममा पास गरेका थिए । त्यसैले डिभोर्सका क्रममा त्यो घरमा दाबी गर्न कोपिलालाई सजिलो भयो ।

    निखिल-सञ्चिता प्रेम र विवाह

    कोपिलासँगको दाम्पत्य सम्बन्धमा दरार आइरहेका बेला निखिलले भेटे सञ्चिता लुईंटेल । यो २०६२ सालतिरको कुरा हो ।

    सञ्चिता चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रूपमा उदाएकी थिइन् । ‘अप्सरा’ बाट फिल्म उद्योगमा डेब्यू गरेकी सञ्चिताले कलिलै उमेरमा पहिलो विवाह गरिन्, जुन लामो समय टिक्न सकेन । पहिलो श्रीमानसँग डिभोर्स लिएर एकल जिन्दगीमा बिताइरहेकी उनी निखिलसँग चलचित्रमा सहकार्य गर्ने क्रममा नजिकिएकी थिइन् ।

    केही चलचित्रमा सँगै अभिनय गरेका निखिल-सञ्चितालाई हिट जोडीका रुपमा लिन थालिएको थियो । उनीहरुको कमेस्ट्री चलचित्रको पर्दाभित्र मात्र नभएर बाहिर पनि जम्न थाल्यो । सञ्चिताको भर्खरै वैवाहिक सम्वन्ध टुटेको र निखिलको पनि टुट्ने अवस्थामा पुगेका बेला उनीहरू प्रेममा परे ।

    उनीहरूको सम्बन्धलाई निखिलको परिवारबाट पनि ‘ग्रीन सिग्नल’ प्राप्त भयो । कोपिलासँग हाडनाताभित्रको विवाहलाई लिएर सन्तुष्ट नरहेका निखिलका परिवार सञ्चितालाई बुहारी बनाएर भित्र्याउन इच्छुक भए । निखिलका बुबा, दाजुहरूले नै सञ्चितासँग कुरा गरेर विवाह तय गरेका थिए । जेठी श्रीमतीसँगको सम्बन्धलाई चाँडै अन्त्य गर्ने समझदारीका आधारमा सञ्चिता निखिलकी दोस्रो पत्नी बन्न राजी भइन् ।

    निखिल र सञ्चिताको विवाह सन् २००८ मा सर्लाहीको पिपरभित्तास्थित निखिलको घर नजिकै रहेको भुवनेश्वरी मन्दिरमा भएको थियो । सानो समारोहमा भएको विवाहमा निखिलका परिवार उपस्थिति भए सञ्चिताको परिवारबाट कोही पनि थिएनन् । सञ्चिताले आफ्नो परिवारको मञ्जुरीबिना यो विवाह गरेकी थिइन् ।

    निखिल र सञ्चिताका एक छोरा र एक छोरी भए । एक वर्षको अन्तरालमा सञ्चिताले दुई सन्तान जन्माएकी हुन् । उनले सर्लाहीमा रहेको निखिलकै घरमा छोराछोरीको न्वारन, पास्नी गराएकी थिइन् । निखिल र सञ्चिताको विहे दर्ता तथा छोराछारीको जन्मदर्तासमेत सर्लाहीबाटै भएको छ । पछिल्लो समयमा भने सञ्चिता छोराछोरीसहित बानेश्वरमा रहेको माइतीघरमा बस्दै आएकी थिइन् ।

    दोहोरो सम्बन्धले जटिलता

    सञ्चितासँग विवाहपछि पनि निखिलले कोपिलासँगको सम्बन्धले पूर्णरुपमा बिट मार्न सकेनन् । उनलाई मिडिया र समाजले दुत्कार्ने अत्यधिक डर थियो । त्यसैले कोपिलालाई श्रीमतीकै दर्जा दिएर जिम्मेवारी बहन गरिरहे ।

    कोपिलाले प्रत्येक महिना निखिलले आफूलाई ५० हजार रुपैयाँ दिँदै आएको बताएकी छन् । कहिलेकाहीँ पैसा नपाउँदा उनी निखिललाई खोज्दै सुटिङ स्पट वा अन्य कार्यक्रममा पुग्थिन् । दुई वर्षअघि एउटा घटना मिडियामा समेत आएको थियो ।

    निखिलले आफ्नै व्यानरमा चलचित्र ‘कमिटमेन्ट’ निर्माण गर्ने तयारी गरेका थिए । सो चलचित्रको घोषणा कार्यक्रम आयोजना गरिएको थियो, लाजिम्पाटस्थित नेपाली चुल्हो रेस्टुरेन्टमा । उक्त कार्यक्रममा निखिलको जानकारीबिनै कोपिला छोरा लिएर पुगेकी थिइन् । कोपिलाको अनायाश उपस्थितिले झण्डै उक्त कार्यक्रम नै विथोलिन पुगेको थियो ।

    दर्शकमाझ राम्रो छवि बनाएका निखिलले बहुविवाहको आरोप भने निरन्तर सामना गरिरहनुपर्‍यो । कोपिलाले निखिल-सञ्चितामाथि बहुविवाहको मुद्दा दायर गरिनन्, तर डिभोर्सका लागि पनि तयार भइनन् । फलतः निखिलले समानान्तररूपमा दुई सम्वन्धलाई निरन्तरता दिन र दोहोरो जिम्मेवारी निभाउन बाध्य भए ।

    कोपिला भक्तपुरमा निखिलले बनाएको घरमा बस्ने गर्थिन् । निखिलले सो घर छोड्न कोपिलालाई दवाव दिएनन् । बरु दोस्रो विहेपछि सञ्चितालाई लिएर २०६६ सालमा मुम्बइतिर लागे ।

    २०६६ साल असोज ६ गते कोपिलाले पहिलो सन्तानका रूपमा छोरा जन्माएकी थिइन् । पहिलो सन्तान जन्मेको ६ महिनापछि चैत १ गते निखिल बलिउडमा संघर्ष गर्न भन्दै मुम्बई गएका थिए । नेपाली चलचित्र क्षेत्रमा हैकम जमाइरहेकै अवस्थामा पारिवारिक झमेला मिलाउन नसकेर उनी मुम्बइ लागेको बताइन्छ ।

    निखिल करिब पाँच वर्ष मुम्बई बसेर काठमाडौं फर्किए । त्यसपछि फेरि नेपाली चलचित्रमा सक्रिय हुन थाले । काठमाडौंमा उनी दुवै श्रीमतीसँग नबसी शान्तिनगरमा रहेको दिदीको घरमा बस्ने गर्थे ।

    जेठी श्रीमतीलाई छोडे पनि निखिल आफूसँग नबसेकोमा सञ्चिता खुशी थिइनन् । यही विषयलाई निखिलकी दिदी र सञ्चिताको झगडासमेत भएको थियो । अहिले पनि नन्द-आमाजुबीच बोलचाल छैन । निखिलको परिवारका अन्य सदस्यहरुसँग भने सञ्चिताको सम्बन्ध राम्रो छ ।

    निखिल र सञ्चिताले बिहे गरेको खबर लामो समयसम्म गोप्य राखेका थिए । उनीहरू दुवै कन्ट्रोभर्सीसँग अत्यधिक डराउने कलाकार हुन् । अहिले पनि उनीहरु विवाहको विषयमा मिडियामा बोल्दैनन् । निखिल दुवै श्रीमतीहरुसँग सार्वजनिक कार्यक्रममा हत्पत्ति देखिँदैनन् ।

    एउटै फिल्डमा भए पनि निखिल र सञ्चिता फिल्मी कार्यक्रममा एकाधपटक मात्रै सँगै देखिएका छन् । निखिलले निर्माण/निर्देशन गरेको फिल्ममा सञ्चितालाई अभिनय गराएनन् । बरु सञ्चिताकी बहिनी शिवानीलाई उनले आफ्नो चलचित्र ‘कमिटमेन्ट’ मा डेब्यू गराउने तयारी गरेका थिए, तर त्यो फिल्म निर्माण हुन सकेन ।

    पछिल्लो समयमा निखिल र सञ्चिताबीच बलियो विश्वास र समझदारी देखिन्छ । एक-अर्काका हरेक काममा उनीहरूले साथ दिँदै आएका छन् । निखिलले हालै सुरू गरेको आध्यात्मिक अभियानमा सञ्चिता पनि साथसाथै हिँडिरहेकी छिन् ।

    कोपिलाका आफ्नै दु:ख

    निखिल र सञ्चिताको विवाहको खबरबारे कोपिला गुमराहमै थिइन् । उनीहरु बिहे गरेर मुम्बई गएको समाचार मिडियामा छ्याप्छ्याप्ती आएपछि कोपिला छोरा च्यापेर निखिललाई भेट्न मुम्बइ नै पुगिन् । त्यहाँ उनी पुग्दा निखिलसँग सञ्चिता थिइनन् । त्यसैले ढुक्क भएर नेपाल फर्किइन् । तर, अन्ततः विवाहको खबर सत्य ठहरियो ।

    निखिलले सञ्चितासँग विवाह गरेपछि कोपिलासँग उनको दूरी झन् बढ्यो । त्यसयता उनी आफ्नो छोरासित बस्दै आएकी छन् । निखिल र कोपिला अलग बस्न थालेको १३ वर्षभन्दा बढी भइसकेको छ । यद्यपि, निखिल बेलाबखत श्रीमती र छोरालाई भेट्न जाने गर्थे ।

    कोपिला बिहेअघि गोपिकृष्ण एफएममा काम गर्थिन् । विहेपछि भने उनी घरको चुलोचौकोमै सीमित भइन् । मास्टर्ससम्मको अध्ययन गरेको भए पनि उनले जागीर नखाइ छोरा हुर्काएर बसिन् ।

    सरल स्वभावकी कोपिलाको अहिले पनि निखिलप्रति उत्तिकै प्रेम र सद्भाव देखिन्छ । उनले कहिले पनि मिडियामा आएर निखिलको आलोचना गरेकी छैनन् । पछिल्लो समयमा निखिल र सञ्चिताले अपार्टमेन्ट भाडामा लिएर छुट्टै बस्न थालेपछि उनले औपचारिक डिभोर्स गर्ने निर्णय लिएकी हुन् । फेसबुकमा उनले निखिलप्रति आफ्नो अझै मायाप्रेम कायम रहेको भन्दै स्टाटस लेखेकी थिइन् । उनीहरूको डिभोर्स पनि सौहार्दतापूर्वक भएको देखिन्छ । तथापि, निखिलको तर्फबाट यसबारे कुनै पनि वक्तव्य आएको छैन ।

    रित्तिएका निखिल

    निखिल अहिले आर्थिक हिसाबले सबल अवस्थामा छैनन् । उनीसँग पुर्ख्यौली सम्पत्तिबाहेक ‘आफ्नो’ केही छैन ।

    दुई वर्षदेखि चलचित्र उद्योग ठप्प रहेकाले आम्दानीको मुख्य स्रोत बन्द भएको छ । उनले घोषणा गरेको चलचित्र ‘कमिटमेन्ट’ पनि निर्माण हुन सकेन । पाँच करोडमा बनाउने भनेको सो चलचित्रका लागि करिब १ करोड खर्च भइसकेको थियो ।

    निखिल अहिले ‘समबोधी’ नामको अभियानमार्फत आध्यात्मिक जागरण फैलाउँदै हिँडिरहेका छन् । उनी चलचित्र निर्माणका लागि पनि व्यग्र छन्, तर परिस्थिति सहज छैन । फेरि कोरोनाको नयाँ भेरियन्टको त्राश फैलिएको बेला चलचित्र क्षेत्रकै भविष्य अनिश्चित छ । एकातर्फ आफू बसिरहेको अपार्टमेन्टको भाडा र परिवारको भरणपोषण तथा अर्कोतर्फ जेठी श्रीमतीलाई मासिक ५० हजारको सुनिश्चितता गर्नुपर्ने दबाब उनलाई छ ।

    यद्यपि, सबै परिस्थिति सहज भएको अवस्थामा निखिलका लागि यो त्यति ठूलो इस्यू भने होइन । श्रीमती सञ्चिता पनि कलाकारितामा स्थापित अभिनेत्री नै हुन् । उनी म्युजिक भिडियो, विज्ञापनहरूमा पनि काम गरिरहेकी छिन् भने रेस्टुरेन्टमा पनि लगानी गरेकी छन् । श्रीमान्-श्रीमती समझदारीपूर्वक अघि बढे यो जोडीका आगामी दिनहरू सुखद हुने आशा राख्न सकिन्छ ।

  • ब्यान्ड च्याम्पियन रियालिटी सो हुँदै : टाइटल विजेतालाई २० लाख, रविन तामाङ निर्णायकमा

    ब्यान्ड च्याम्पियन रियालिटी सो हुँदै : टाइटल विजेतालाई २० लाख, रविन तामाङ निर्णायकमा

    काठमाडौं । नेपालमा पहिलोपटक ब्यान्ड च्याम्पियन रियालिटी सो आयोजना हुने भएको छ । बिहीबारदेखि काठमाडौंको बनस्थलीमा भौतिकरुपमा अडिसन सुरु हुँदैछ ।

    पछिल्लो समय कलाका विभिन्न आयाममा केन्द्रित रहेर टेलिभिजन रियालिटी सो संचालन भैरहेको बेला ब्यान्डको प्रतिस्पर्धालाई लिएर यस्तो खाले रियालिटी सो हुन लागेको हो ।

    लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्ट कम्पनी आयोजकको रुपमा रहेको छ । नेपाली रक गायक रविन तामाङ, ड्रमर देव राना र गिटार माएस्ट्रोका ज्योति घिमिरे निर्णायकको रुपमा छन् ।

    माघ १ गतेदेखि एपीवान टेलिभिजनबाट सो प्रसारण हुने जनाइएको छ । ‘ब्यान्डको क्षमता अभिवृद्धि गर्नपनि यो सोले सहयोग गर्नेछ’ नेपाल प्रेससँग आयोजक संस्था लास्ट फ्राइडे इभेन्टका अध्यक्ष श्रीदेव कार्कीले भने ।

    सोमा पहिलो हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । टाइटल विजेताले सात मुलुकमा प्रस्तुति दिने मौका पाउनेछ । फस्ट रनरअपले ६ लाख पाउनेछ । सेकेन्ड र थर्ड रनरअपले ४–४ लाख रुपैयाँ पाउने भएका छन् ।

  • बक्सअफिसमा ‘फ्लप’ फिल्म ट्रेन्डिङ हुँदा स्वस्तिमा हर्षित : ‘चपली हाइट’ले दिलाउला सफलता ?

    बक्सअफिसमा ‘फ्लप’ फिल्म ट्रेन्डिङ हुँदा स्वस्तिमा हर्षित : ‘चपली हाइट’ले दिलाउला सफलता ?

    काठमाडौं । आफू अभिनित ‘चपली हाइट ३’ को पत्रकार सम्मेलनमा अभिनेत्री स्वस्तिमा खड्का केही यथार्थवादी सुनिइन् । आफूले स्टारडमको दबाब महसुस नगरेको र फिल्मको बक्सअफिस सफलता यसको कन्टेन्टमा निर्भर हुने उनको टिप्पणी थियो ।

    पुस २ गते प्रदर्शन हुने उक्त फिल्ममा स्वस्तिमाको मुख्य भूमिका छ । चपली हाइटको तेस्रो सिक्वेल प्रदर्शन हुनै लाग्दा स्वस्तिमा अभिनित दुई फिल्म हजार जुनीसम्म र घामड शेरे अहिले युट्युवमा स्ट्रिमिङ भैरहेका छन् । यी दुबै बक्सअफिस प्रस्तुतिमा कमजोर फिल्महरु हुन् ।

    तर, यी दुबै फिल्मबाट स्वस्तिमाले गतिलो समीक्षा हासिल गरिन् । यी दुबै फिल्म युट्युवमा ट्रेन्डिङ पनि भैरहेका छन् । मंगलबार बेलुका पाँचबजेसम्म घामड शेरे ट्रेन्डिङको दोस्रो स्थानमा छ भने हजार जुनीसम्म ट्रेन्डिङको पहिलो स्थानमा छन् । स्वस्तिमाका दुबै फिल्म ट्रेन्डिङको शीर्षस्थानमा उक्लनुले पक्कै पनि पुस २ गते रिलिज हुने चपली हाइटलाई केही फाइदा पुग्ने आशा गरिएको छ ।

    हुन त, युट्युवको अंकगणितले बक्सअफिसको ट्रेन्डिङलाई परिभाषित गर्दैन् । बक्सअफिसमा असफल फिल्म युट्युवमा बढी हेरिएका छन् । पैसा तिरेर हेर्नु र निःशुल्क हेर्न पाइने सुविधाले यी दुबै माध्यमले एकअर्कोलाई निश्चित तुल्याउन सक्दैनन् । तर, यहाँनेर समय र त्यसको प्रभावलाई महत्वका साथ लिन सकिन्छ ।

    चपली हाइट ३ निर्माता अर्जुन कुमारले आफ्नो फिल्म रिलिजकै समयमा स्वस्तिमाका फिल्म रिलिज गर्नुलाई सकारात्मकरुपमा लिइनुपर्ने बताए । ‘मेरो फिल्मको स्टार पनि उही हो । युट्युवमा रिलिज भएका ती दुई फिल्मको स्टार पनि उही हो’ नेपाल प्रेससँग उनले भने, ‘पक्कै पनि फिल्म पब्लिसिटी र दर्शकको मनोविज्ञानमा प्रभाव पार्न सक्छ ।’

    स्वयम स्वस्तिमाले पनि युट्युवमा आफू अभिनित दुबै फिल्म स्ट्रिमिङ भैरहेकोमा हर्ष व्यक्त गरेकी छिन् । सामाजिक संजालमा फिल्मको पोस्टर सेयर गर्दै हजार जुनीसम्म अपार भीडका साथ प्रदर्शन भैरहेको र घामड शेरे पनि रिलिज भएको बताएकी छिन् । उनले दर्शकको प्रतिक्रिया माग्दै खुशि व्यक्त गरेकी छिन् ।

    मल्टिप्लेक्स र सिंगल स्क्रिनमा सन्तुलन मिलाउन सक्ने नायिकाको रुपमा लिइने स्वस्तिमा स्टारर ‘चपली हाइट’को तेस्रो सिक्वेलले कस्तो प्रदर्शन गर्ने हो भन्ने कुरा स्वस्तिमाकै जवाफमा लुकेको छ । स्टारडम नभएर कन्टेन्ट चल्ने उनको जवाफभित्रै चपली हाइटको बक्सअफिस भविष्य निर्भर हुनेछ ।

    अर्कोतर्फ, चपली हाइटको ब्रान्ड पनि प्रमुख आधार मान्न सकिन्छ । अघिल्ला दुबै प्रिक्वेलले राम्रो पैसा कमाइ गरेका छन् ।

    यसैबीचमा, सोही मितिमा प्रदर्शन हुने अन्य दुई फिल्म हलिउडको स्पाइडरम्यान र दक्षिण भारतीय फिल्म पुष्पा पनि चपली हाइटको ब्यापारमा पनि मुख्य कारक बन्न सक्छन् । के चपली हाइटले स्वस्तिमाको अभिनय करियरलाई मद्दत गर्ला ? यो जान्न पुस २ गते प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

  • कट्रिना-विक्की बिहेको सुरक्षाको जिम्मा सलमानका बडिगार्ड शेरालाई

    कट्रिना-विक्की बिहेको सुरक्षाको जिम्मा सलमानका बडिगार्ड शेरालाई

    मुम्बइ । बलिउड जोडी कट्रिना क्याफ र विक्की कौशलको बिहे कार्यक्रम आजदेखि राजस्थानमा सुरु भएको छ । आज बेलुका संगीत सेरेमोनी पनि हुनेछ । बिहेमा भाग लिन बलिउड सेलेब्स त्यहाँ पुग्ने क्रम चलिरहेको छ ।

    बिहेको मुख्य कार्यक्रम चाहिँ ९ डिसेम्बरमा हुनेछ । पछिल्लो बलिउड खबरअनुसार कट्रिनाको बिहेमा उनका निकट साथी मानिने सलमान खानले पनि सघाइरहेका छन् ।

    वेडिङ भेन्यूको सुरक्षाको जिम्मा सलमानका अंगरक्षक शेरालाई जिम्मा दिइएको छ । शेरा सेक्युरिटी कम्पनीका संचालक समेत हुन् । साथै यो बिहेका लागि देशबिदेशदेखि सब्जी तरकारी पनि लगिएको छ ।

    कट्रिना र विक्कीको बिहे थलो सिक्स सेन्सेस फोर्डको जिम्मा शेराको सेक्युरिटी कम्पनीले लिएको छ । उक्त भेन्युमा केही बलिउड कलाकार र भीआइपी पाहुना पनि उपस्थित हुने भएका छन् । यसकारण शेराको कम्पनीबाहेक बरवाडा प्रहरीको पनि सहयोग मागिएको छ ।

    यो बिहेका लागि विदेशबाट समेत सागसब्जी मगाइएको छ । थाइल्यान्डबाट पनि विभिन्न प्रजातिका सब्जी अर्डर गरिएको छ । पालक र गोभी पनि कर्नाटकबाट मगाइएको छ ।

  • बसन्तपुरमा साउथ इन्डियन सुपरस्टारको एक्सन-कट् : फ्यानसँग टीकटक बनाउँदै विजय सेतुपाथी !

    बसन्तपुरमा साउथ इन्डियन सुपरस्टारको एक्सन-कट् : फ्यानसँग टीकटक बनाउँदै विजय सेतुपाथी !

    काठमाडौं । दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी र बलिउड ए-लिस्टर केके मेनन अहिले काठमाडौंको वसन्तपुरमा वेब–सिरिज ‘फेक’ छायांकन गरिरहेका छन् ।

    चारदिनदेखि चलिरहेको सुटिङ आज सकिँदैछ र क्रिउ भोलि भारत फर्कने तयारीमा छ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुरमा भैरहेको सुटिङ हेर्न सर्वसाधारणको घुइँचो पनि लाग्ने गरेको छ ।

    अहिले विजय र मेननको फिल्म सुटिङलाई हेर्न उनका नेपाली फ्यानहरु वसन्तपुरमा ओइरिएका छन् । त्यहाँ भागदौड, गोली हानाहान र केही एक्सनका दृश्यहरु सुट भैरहेको छ ।

    प्रशंसकले भिडियो साझेदारी एप टीकटकमा छायांकनका भिडियो पोस्ट गरिरहेका छन् । सुटिङको ब्रेकमा विजय केही प्रशंसकसँग तस्बिर र भिडिओ खिचाउन समेत व्यस्त छन् ।

    @_surakshya.don_ #Vijaysethupati shooting of tamil webseries in Basantapur #kathmandu #surakshyarajthala #jiallencha ♬ original sound – 𝐀𝐦𝐢𝐭 𝐆𝐢𝐫𝐢

    @pratikxyaadhikari Kwon aaya dekho 🙈😂 #vijaysethupathi #basantapur #kathmandunepal #fyp ♬ Jo Tum Na Ho Shayad – Arijit Singh

    @aakritigautam69 #movieshooting #Sani #trending #vijaysethupathi #kkmenon #nepal #trending #nepalimuser #chitwan_muser #basantpur #kathmandu ♬ original sound – Aa-kriti Gautam

  • ओमिक्रोन त्रास : सिक्किमले दियो नेपाली कलाकारलाई फिल्म फेस्टिभल स्थगित भएको जानकारी

    ओमिक्रोन त्रास : सिक्किमले दियो नेपाली कलाकारलाई फिल्म फेस्टिभल स्थगित भएको जानकारी

    सिक्किम । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै भारतको पूर्वोत्तर राज्य सिक्किमले त्यहाँ आयोजना गर्ने ग्लोबल फिल्म फेस्टिभललाई स्थगित गरेको छ ।

    त्यहाँको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण परिस्थिती पुनः अन्यौल थालेसँगै फेस्टिभललाई पोस्टपोन्ड गरिएको जनाइएको छ ।

    मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ । डिसेम्बर १० देखि १४ सम्म हुने भनिएको फेस्टिभल नहुने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै सिक्किम फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माले उपयुक्त समयमा फेस्टिभल आयोजना गर्ने बताइन् । फेस्टिभलको उद्घाटनसँगै सिक्किमले औपचारिकरुपमा फिल्म पर्यटनको शुभारम्भ गर्ने कार्यक्रम थियो ।

    फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो । मुम्बईका चलचित्रकर्मी पनि जाने तयारीमा थिए । भारतको गृह मन्त्रालय र सिक्किम सरकारले विदेशीलाई राज्य प्रवेश गर्न नदिने निर्देशन दिएपछि फेस्टिभल अन्यौल बनेको हो ।

    सिक्किम फिल्म प्रवद्र्धन बोर्डले नेपाली कलाकारलाई टेलिफोन गर्दै फेस्टिभल स्थगित भएको जनाएको छ ।

  • देउवाबारे अमिताभले केबीसीमा सोधे प्रश्न : उत्तर मिलाएपछि छोरी र नातिनीले जिते १२ लाख ५० हजार भारु !

    देउवाबारे अमिताभले केबीसीमा सोधे प्रश्न : उत्तर मिलाएपछि छोरी र नातिनीले जिते १२ लाख ५० हजार भारु !

    काठमाडौं । अमिताभ बच्चनले होस्ट गर्ने भारतीय टिभी सो ‘कौन बनेगा करोडपति’को सिजन १३ को एपिसोड ७५ निकै विशेष रह्यो ।

    यो एपिसोडमा बच्चनकी छोरी श्वेता र नातिनी नभ्या नाभेली सहभागी थिए । यो एपिसोड किनपनि महत्वपूर्ण थियो भने यो संस्करण केबीसीको १ हजार औं एडिसन थियो ।

    श्वेता र नभ्याले यो एसिपोडबाट कूल २५ लाख भारु नगद जिते । तर, उनीहरुलाई अमिताभले सोधेको नेपालबारे एउटा प्रश्नले भने १२ लाख ५० हजार भारु जितायो । सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन् भनेर प्रश्न सोधिएको थियो ।

    अप्सन थियो : फिजी, नेपाल, एन्टिगा एन्ड बर्बुडा र थाइल्यान्ड । श्वेता र नाभ्याले निकै अकमकिएर बल्ल-बल्ल सहि उत्तर मिलाए । यो उत्तरबाट उनीहरुले १२ लाख ५० हजार भारु जिते ।

  • यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

    यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

    मुम्बइ । विक्की कौशल र कट्रिना क्याफ बिहेको लागि आज राती राजस्थानको माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट पुग्दैछन् । त्यो ठाउँमा उनीहरुको भव्यपूर्वक बिहे कार्यक्रम हुँदैछ ।

    उक्त भव्य होटलको द्धारमा गुलाबको फूलको स्वागतबाट पाहुनाहरुको भव्य स्वागत हुँदैछ । साथै सारंगीसँगै राजस्थानी लोकगीतको धुन पनि बज्दैछ ।

    बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ । प्रहरी जवान, निजी अंगरक्षक र होटलका सुरक्षाकर्मी पनि तैनाथ हुनेछन् ।

    कोभिड प्रोटोकलको लागि सबै पाहुनाको तापक्रम पनि नापिने भएको छ । सोमबार अबेर राती कट्रिनाकी आमा सुजैन टोरकोटै, बहिनी स्टेफानी, क्रिस्टिन, नताशा, मेलिसा, सोनिया, इजाबेल र भाइ माइकल जाँदैछन् ।

    कट्रिनाकी फिट्नेस ट्रेनर यास्मिन कराचीवाला, मेकअपम्यान तथा हेयर स्टाइलिस्ट, कस्ट्युम डिजाइनर, सेलेव्रिटी म्यानेजर र फेसन स्टाइलिस्ट पनि जाँदैछन् ।

    ७ डिसेम्बरमा संगीत सेरेमोनी हुनेछ । ८ डिसेम्बरमा बिहान ११ बजे हल्दी रस्म, रातको आफट्र पार्टी हुनेछ । ९ डिसेम्बरमा अपरान्ह १ बजे सेहरा बंदी, ३ बजे विक्की बिहे मण्डपमा पुग्नेछन् । साँझ कट्रिना र विक्कीले सात फेरो घुम्नेछन् । रात साढे ८ बजे पुल साइडमा डिनर र पार्टीको कार्यक्रम राखिएको छ ।

    १२० जनालाई बिहेको निम्तो दिइएको छ । पीटीआइका अनुसार कोभिड प्रोटोकल पालना गरिनेछ । बिहे कार्यक्रममा सहभागी हुने अतिथिले कोभिड–१९ खोप लगाएको प्रमाण पेश गर्नुपर्ने भएको छ । खोप नलगाएकाले कोभिडको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्नेछ ।