Category: कलाप्रेस

  • मिस वर्ल्डको फिनाली भोलि हुँदै : ब्यूटी विथ पर्पस र मल्टिमिडियामा नेपालको दाबेदारी

    मिस वर्ल्डको फिनाली भोलि हुँदै : ब्यूटी विथ पर्पस र मल्टिमिडियामा नेपालको दाबेदारी

    काठमाडौं । भोलि (शुक्रबार) बेलुका नेपाली समयानुसार पौने पाँच बजे विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाली हुँदैछ ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासबीच हुन लागेको ग्रान्ड फिनालीमा नेपाल अन्तिम ३० मा प्रवेश गरिसकेको छ ।

    हेड-टु-हेड च्यालेन्जमा इन्डोनेसियालाई हराउँदै राउन्ड तीसमा प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठको अबको ध्यान मुख्यतः दुई उपशीर्षकमा केन्द्रित हुनेछ : ब्यूटी विथ पर्पस र मल्टिमिडिया ।

    ब्यूटी विथ पर्पस विधामा नेपालले अघिल्ला मिस वर्ल्डका तीन संस्करणमा लगातार जितिरहेको छ । के नेपालले जितको त्यो लिगेसीलाई यसपटक निरन्तरता देला ?

    धादिङको झोलुंगे पुलको प्रोजेक्ट प्रस्तुत गरेकी नम्रता आफ्नो जितलाई लिएर आशावादी छिन् । नेपालले यो विधामा जित हासिल गर्नु पछाडि मुख्यतः दुई कारण छन् : पहिलो समाजसँग जोडिएको विषयवस्तु र अर्को, भिडियो निर्देशन ।

    मल्टिमिडिया विधातर्फ नेपाल उत्कृष्ट सातमा प्रवेश गरेको जनाइएको छ तर, त्यति मात्र पर्याप्त हुनेछैन । अन्तिम बीसमा सीधै प्रवेश गर्न नेपालले या त ब्यूटी विथ पर्पस जित्नैपर्छ या त मल्टिमिडियामा उत्कृष्ट हुनुपर्छ ।

    हेड-टु-हेड च्यालेन्जमा जितेकी नम्रतालाई यो विधाको जितले उत्साह दिलाएको छ । ‘उत्साही छु र नेपालले जित्दै आएका दुई विधामा पनि राम्रो गर्नेछु’ नेपाल प्रेससँग पुएर्तो रिकोबाट नम्रताले भनिन्, ‘सकेसम्म बेस्ट दिनेछु ।’

    यसपटक मिस वर्ल्डको ७० औं संस्करण हुँदैछ ।

  • ओशो सन्यासी बनेपछि नम्रताले लेखिन् : प्रेम लक्ष्य हो, जीवन यात्रा हो !

    ओशो सन्यासी बनेपछि नम्रताले लेखिन् : प्रेम लक्ष्य हो, जीवन यात्रा हो !

    काठमाडौं । मोडल तथा अभिनेत्री नम्रता सापकोटा प्रायः आफ्ना गतिविधिले चर्चामा आउँछिन् । लकडाउन अवधिभर उनी नेपोटिज्मको बहस तानिइन् । केही महिना पहिले बिहे नगरी बच्चा जन्माउने अभिव्यक्तिले चर्चामा आइन् । अहिले भने उनी ओशो सन्यासी बनेर चर्चामा छिन् ।

    काठमाडौंको नागार्जुनस्थित ओशो तपोवन पुगेर नम्रता ओशामार्गी बनेकी हुन् । ओशोको गेरुवस्त्र पहिरिएर उनले सामाजिक संजालमा एउटा तस्बिर सेयर गरेकी छिन् । जुन पोस्टको क्याप्सन छ : प्रेम लक्ष्य हो । जीवन यात्रा हो । ओशो ।’ ओशो सन्यासी बनेसँगै उनले घाँटीमा ओशो अंकित माला पनि लगाएकी छिन् ।

    उनी प्रत्येक महिना आयोजना हुने ओशो ध्यान शिविरमा भाग लिन तपोवन पुगेकी हुन् । एक साताको शिविर सकेर उनी मंगलबार घर फर्किएकी छिन् । हरेक महिनाको ७ देखि १४ तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा सहभागी हुन नम्रता ओशो तपोवन पुगेकी हुन् । एक हप्ताको शिविर सकेर उनी मंगलवार घर फर्किँदैछिन् । अर्की अभिनेत्री तथा ओशो सन्यासी शोभिता सिम्खडाले नम्रतालाई ओशो परिवारमा स्वागत छ भन्दै फोटो पोस्ट गरेकी छिन् ।

    नम्रता र शोभितमात्र ओशामार्गी बनेका पहिलो सेलेव्रिटी चाहिँ होइनन् । यसअघि तपोवनमा आयोजना हुने विपश्याना ध्यान शिविरमा मनिषा कोइराला, केकी अधिकारी, बेनिशा हमाल लगायतले ओशो तपोवनमा गएर ध्यान शिविरमा भाग लिइसकेका छन् ।

  • ‘गोर्खा वारियर २’ सुटिङ सेटमा दुर्घटना : भीरबाट खसेर हिरो ‘गम्भीर’

    ‘गोर्खा वारियर २’ सुटिङ सेटमा दुर्घटना : भीरबाट खसेर हिरो ‘गम्भीर’

    सिन्धुली । फिल्म ‘गोर्खा वारियर २’ छायांकनको क्रममा अभिनेता रितेश चाम्स भीरबाट लडेर गम्भीर घाइते भएका छन् । उनको घाँटीमा गहिरो चोट लागेको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचाररत रहेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

    त्यहाँको एक भीरबाट हिरो खसेको एक्सन दृश्य छायांकन गर्नुपर्ने सिक्वेन्समा यस्तो दुर्घटना हुन पुगेको जानकारी चाम्सले दिए । ‘भिरबाट खस्नुपर्ने नै दृश्य खिच्नुपर्ने थियो तर, असन्तुलित हुँदा वास्तविक चोट लागेको छ’ निर्देशक चाम्सले भने । ‘अहिले उनलाई स्थानीय पोलिक्लिनकमा २४ घण्टे अब्जर्भेसनमा राखिएको छ’ फिल्मको सेटबाट चाम्सले जनाए

    फिल्म सेटमा उक्त दुर्घटना भएपछि बुधबार दिउँसोसम्म छायांकन अवरुद्ध भएको थियो । सेटमा तनावको माहौल भएपछि रितेशको भूमिकाबाहेकका अन्य सिक्वेन्स खिच्दै छायांकन अघि बढाइएको छ ।

    घाइते अभिनेता चाम्सलाई निको हुन अझै एकदेखि डेढसाता लाग्ने जनाइएको छ । फिल्मको मुख्य पात्रको भूमिकामा रितेश छन् भने फिल्ममा उनको एक्सन दृश्यहरु समावेश गरिएको छ ।

    मंसिर ९ गतेदेखि सिन्धुलीदेखि सुरु भएको गोर्खा वारियर २ को ४० प्रतिशत छायांकन सकिएको छ भने दमौलीमा फिल्म सुट गर्ने तयारी छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआइको सहकार्यमा निर्माण हुँदै गरेको यो प्रोजेक्टले बेलायती सेनामा गोर्खालीले देखाएको वीरताको कथा प्रस्तुत गर्छ ।

  • ‘प्रेमगीत ३’ मा बलिउडका ए-लिस्टरको टीमअप : राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मले गाए गीत

    ‘प्रेमगीत ३’ मा बलिउडका ए-लिस्टरको टीमअप : राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मले गाए गीत

    काठमाडौं । नेपाली फिल्म प्रेमगीतको तेस्रो सिक्वेल आगामी फागुन १३ गते मुलुकभर प्रदर्शन हुँदैछ । कोरोनाभाइरस महामारीको कारण ढिलिएको फिल्मको रिलिज अन्ततः हुन लागेको हो ।

    रिलिजमा ढिलाइ भएपनि फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा भने फाइदा पुगेको छ । यो फिल्मको भारतको वितरण अधिकार इम्पोसिबल नामक भारतीय कम्पनीले लिएको छ ।

    फिल्म निर्माण कम्पनी आसुसेन फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै हिन्दी संस्करणको पोस्ट-प्रोडक्सन करिब अन्तिम चरणमा पुगेको जनाएको छ । हिन्दी संस्करणको सांगीतिक कार्य सकिएको निर्माता सन्तोष सेनले बताएका छन् ।

    फिल्मका मुख्य तीनवटा गीतमा बलिउडका चर्चित सांगीतिक हस्तीले साथ दिएको जनाइएको छ । राहत फतेहले ‘ए सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’मा स्वर दिएका छन् ।

    डान्स नम्बर ‘मुझमे बस जनामा’ देव नेगी र पलक मुछालले गाएका छन् । यो ट्रयाकलाई कुमार र एम तुराजले लेखेका हुन् । ‘हिन्दी संस्करणको सबै गीतको काम सकिएको छ’ प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

    प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा र शिव श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

  • मंसिर सकिनै लाग्दा केकीको रेडिमेड जवाफ : भनेजस्तो युवक पाएकै छैन !

    मंसिर सकिनै लाग्दा केकीको रेडिमेड जवाफ : भनेजस्तो युवक पाएकै छैन !

    काठमाडौं । केकी अधिकारी नेपालकी ‘मस्ट एलिगेबल ब्याचलर’ हुन् । भन्नुको अर्थ, उनी बिहेको लागि योग्य छिन् भन्न खोजिएको हो ।

    मंसिर आज सकिँदैछ । नेपाली समाजमा मंसिरलाई बिहेको सिजन पनि मानिन्छ । यस्तोमा अविवाहित युवती र सेलेव्रिटीलाई बिहेको लागि आउने दबाब र प्रस्ताव नयाँ कुरा होइन ।

    फिल्मसँगै पछिल्लो समय टेलिभिजन कार्यक्रम उत्पादनमा पनि व्यस्त केकी रिलेसनसिपमा रहेको गाइँगुइँ नचलेको पनि होइन । तर, उनले यसलाई सार्वजनिकरुपमा स्वीकारेकी छैनन् ।

    रिलेसनसिपमा रहेकी केकीको बिहे योजना कस्तो छ ? बिहेलाई लिएर उनी के सोचिरहेकी छिन् ? मंसिरको अन्तिम दिन बुधबार सामाजिक संजालमा उनले केही आकर्षत तस्बिर पोस्ट गरेकी छिन् र विडिङ सिजनको साथमा पहेँलो रङको इमोजी पनि उल्लेख गरेकी छन् ।

    केकीलाई मंसिर सकिन लागेकोमो चिन्ता हो या उनी आगामी बिहेको सिजनहरुमा आफूलाई सिंगलबाट मिंगल तुल्याउन चाहन्छिन् । प्रायः मिडियाले बिहे कहिले गर्ने भनेर केकीलाई सँधै एउटै प्रश्नले हत्तु बनाउँछन् । उनको रेडिमेड जवाफ हुने गर्छ : भनेजस्तो युवक नै पाएको छैन ।

    भन्नुको अर्थ, केकी मन मिल्ने पाटर्नरको खोजीमा छिन् र निकट भविष्यमा मिंगल हुने उनको चाहना छ ।

  • नेपालमा ‘स्पाइडरम्यान’ रेकर्ड : दुई दिनमै २२ हजार एड्भान्स टिकट बिक्री, रिलिजअघि नै ७६ लाख ग्रस कमाइ

    नेपालमा ‘स्पाइडरम्यान’ रेकर्ड : दुई दिनमै २२ हजार एड्भान्स टिकट बिक्री, रिलिजअघि नै ७६ लाख ग्रस कमाइ

    काठमाडौं । रिलिज नहुँदै हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा आक्रामक टिकट विक्री गरेको छ । बुधबार मध्यान्हसम्म क्यूएफएक्ससहित मुलुकका प्रमुख मल्टिप्लेक्समा शुक्रबार र शनिबारको लागि २१ हजार ९१५ वटा टिकट विक्री भैसकेको विवरण नेपाल प्रेसलाई प्राप्त भएको छ ।

    थ्रीडी फिल्मको एउटा टिकटलाई ३५० रुपैयाँ मान्दा स्पाइडरम्यानले उक्त परिमाणको टिकट विक्री बराबर ७६ लाख ७० हजार २५० रुपैयाँ ग्रस कमाइ गरेको छ ।

    कुनै फिल्मले नेपाली बक्सअफिसमा गरेको यो एड्भान्स-सेलको पहिलो कीर्तिमान हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले अहिलेसम्म एड्भान्स बुकिङ सुरु गरेको छैन । उसले आजदेखि मोफसलमा बुकिङ थाल्दैछ भने काठमाडौंमा भोलिदेखि सुरु हुने अपेक्षा छ ।

    शुक्रबार र शनिबार क्यूएफएक्सका सिभिल, लबिम, छायाँ र भक्तपुरको भाटभटेनीमा सबै सोजका टिकट विक्री भैसकेका छन् । मंगलबार मध्यान्हसम्म ४ हजारभन्दा बढी टिकट विक्री भएका छन् ।

    लबिममा १४ सय, छायाँमा १५ सय र भक्तपुरमा २ हजारभन्दा बढी टिकट विक्री भएका छन् । क्यूएफएक्सकै बिर्तामोडमा ४ सय टिकट, बिराटनगरमा २ सयभन्दा बढी, चितवनको जल्मामा ९ सय टिकट र दमौली एपेक्समा १५ टिकट विक्री भएका छन् ।

    क्यूएफएक्समा एनालिटिक्स र सिस्टम विभाग हेर्ने प्रमुख आदर्श सिग्देलका अनुसार स्पाइडरम्यानको यो ट्रेन्ड अनुसार फिल्मको सुरुआती सातामा आक्रामक कमाइ हुनसक्छ । ‘धेरै दर्शक हलसम्म आउन सक्नुभएको छैन र उहाँहरु अझै लाइनमा हुनुहुन्छ’ सिग्देलले नेपाल प्रेसलाई भने, ‘स्पाइडरम्यानलाई महामारीयताकै ठूलो रिलिजको रुपमा लिन सकिन्छ ।’

    क्यूएफएक्सबाहेक कमलपोखरीस्थित बिग मूभिजमा मात्र सुरुआती तीन दिनको लागि ४५ सय जति टिकट विक्री भैसकेका छन् । केएल टावर र वान सिनेमाजमा तीन–तीन हजार टिकट विक्री भएका छन् । वान सिनेमाज्का शुक्रबार पाँचैवटा सोज सोल्डआउट छन् ।

    ‘प्रतीक्षित फिल्म भएकाले पनि दर्शकको क्रेज थामिनसक्नु भएको हो’ वान सिनेमाज् प्रमुख प्रज्वल राणाले नेपाल प्रेसलाई भने, ‘एड्भान्स टिकट विक्री बाहेक पनि अन्य दर्शक पनि आउने तयारीमा रहेको हेर्दा पहिलो साता यसको ओपनिङ जबर्जस्त हुने अनुमान छ ।’

    एप्पल इन्टरटेनमेन्टले नेपाल वितरण गरेको स्पाइडरम्यान : नो वे होम यसवर्षको प्रतीक्षित फिल्म हो । भारतीय फिल्म बजारमा समेत आक्रामक रुपमा टिकट विक्री भैरहेको छ । मुम्बइका हलहरुमा बिहान चार बजे पहिलो सोज राखिएको छ ।

    के स्पाइडरम्यानले नेपालमा सर्वाधिक कमाउने एभेन्जर्स एन्डगेमको कीर्तिमानलाई तोड्ला ? एप्पल इन्टरटेनमेन्ट तथा क्यूएफएक्स प्रमुख नकिम उद्दिन भन्छन्, ‘एड्भान्स टिकट विक्री हेर्दा त्यो सम्भावना देखिएको छ ।’

  • हेर्नूस किम्फका १३ फिल्म : बुधबार अपरान्ह ३ बजेसम्म अनलाइनमै हेर्न पाइने

    हेर्नूस किम्फका १३ फिल्म : बुधबार अपरान्ह ३ बजेसम्म अनलाइनमै हेर्न पाइने

    काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करण सोमबार समापन भएको छ ।

    भौतिक उपस्थिती र भर्चुअल माध्यममार्फत गरिएको फेस्टिभलमा दर्शकलाई अनलाइनमा फिल्म हेर्ने सुविधा पनि थियो ।

    अझै १३ वटा फिल्मलाई किम्फको अफिसियल पोर्टलमा हेर्न सकिने भएको छ । यो सूचीमा ८ वटा फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएका र पाँच फिल्म नेपाल पानोरमामा सहभागी थिए ।

    जलवायु परिवर्तनसम्बन्धी विषयवस्तुमा निर्माण भएका यी फिल्महरुलाई दर्शकले बुधबार अपरान्ह ३ बजेसम्म हेर्न पाउने भएका छन् ।

    फिल्महरु हेर्न लिंक क्लिक गर्नूस :

  • बले र प्रिज्मा ब्रेकअपको साइड-इफेक्ट : ‘भद्रगोल’ बन्यो युट्युवमा एक करोड पटक हेरिने पहिलो नेपाली सिरियल !

    बले र प्रिज्मा ब्रेकअपको साइड-इफेक्ट : ‘भद्रगोल’ बन्यो युट्युवमा एक करोड पटक हेरिने पहिलो नेपाली सिरियल !

    काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोल युट्युवमा एक करोड पटक हेरिने पहिलो नेपाली सिरियल बनेको छ । यसअघि फिल्म र म्युजिक भिडिओलाई मात्र करोडभन्दा पटक हेर्ने अंकगणित थियो । करोड क्लबमा भद्रगोल प्रवेश गरेसँगै युट्युवका दर्शकमाझ पनि सिरियलको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ ।

    तर, नेपालमा अन्य सिरियल पनि युट्युवमा रिलिज भएपनि तीमध्ये कसैले यो मानक हासिल गर्न सकेका थिएनन् । आफू अभिनित सिरियललाई करोड पटक हेरिएपछि अभिनेता कुमार कट्टेल जिग्री ब्रोले दर्शकलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै दर्शकको साथ र मायाको कारण युट्युवमा यो कीर्तिमान बन्न सकेको बताए । भद्रगोललाई मिडिया हबले युट्युवमा रिलिज गरेको हो ।

    दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ । सिरियलका एकजना कलाकारमध्येका सागर लम्साल बले र उक्त एपिसोडमा गेस्ट रोलको रुपमा देखिएकी प्रिज्मा खतिवडाको ब्रेकअपको चर्चाको कारण यो एपिसोडले पछिल्लो समय भ्यूज पाएको हो । यो एसिपोडलाई मार्च १५, २०१९ मा युट्युवमा अपलोड गरिएको थियो । पछिल्लो समय बले र प्रिज्माको ब्रेकअपले सामाजिक संजाल तातिरहेको छ ।

    सोही कारण यसले पछिल्लो समय भ्यूज बढी पाएको अनुमान गरिएको छ ।

    हाल ‘सक्किगो नि’को लेखन एवं निर्देशन गर्दै आएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सो समयमा ‘भद्रगोल’ लेखन एवं निर्देशन गर्दै आएका थिए । कुमार र अर्जुनसँगै ‘भद्रगोल’मा अभिनय गर्दै आएका अधिकांश कलाकार अहिले ‘सक्किगो नि’मा देखिँदै आएका छन् ।

    कुमार र अर्जुनको लेखन तथा निर्देशन रहँदै आएको ‘सक्किगो नि’लाई पनि दर्शकले रुचाएका छन् । यो टेलिसिरियलमा कुमार र अर्जुनसँगै सागर लम्साल, हरिश निरौला, गोविन्द कोइराला, कमलमणि नेपाल, दीपक आचार्य, मधुसुदन पाठक, प्रियाना आचार्य, सीतादेवी घिमिरे, रश्मी पाण्डे, सञ्जिता पाण्डे, कविराज भाम लगायतको अभिनय रहँदै आएको छ ।

    यो टेलिसिरियल हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ । हालसम्म यो टेलिसिरियल ४६ भागसम्म प्रसारण भइसकेको छ ।

     

  • फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी : पर्यटनमन्त्रीसँग छलफल गर्न बलिउड टोली काठमाडौं आउँदै

    फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी : पर्यटनमन्त्रीसँग छलफल गर्न बलिउड टोली काठमाडौं आउँदै

    काठमाडौं । बलिउड फिल्म उद्योगको चर्चित अवार्ड फिल्मफेयरलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । अवार्ड आयोजना सम्बन्धमा पर्यटनमन्त्री प्रेमबहादुर आले र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्न फिल्मफेयरका दुईजना प्रतिनिधि आगामी साता काठमाडौं आउँदैछन् ।

    फिल्मफेयरले नेपाल सरकार र काठमाडौंस्थित एक कम्पनीसँग मिलेर सन् २०२२ भित्र अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न खोजिरहेको छ ।

    ‘फिल्मफेयरका दुईजना प्रतिनिधि मुम्बइबाट संचार र पर्यटनमन्त्री ज्यूसँग छलफल गर्न आउने कार्यक्रम छ’ काठमाडौंस्थित आयोजक कम्पनीका प्रतिनिधिले नेपाल प्रेसलाई भने, ‘मन्त्रीज्यूसँग छलफल भएपछि कहिले गर्ने र कसरी गर्ने भन्नेबारेमा एमओयू हस्ताक्षर हुनसक्छ ।’

    फिल्मफेयरले काठमाडौं वा पोखरामध्ये कुनै एक ठाउँमा अवार्ड आयोजना गर्न खोजिरहेको ती प्रतिनिधिले बताए । कोरोनाभाइरस महामारीले थलिएको नेपाली पर्यटनलाई उकास्न अवार्ड लाभदायक हुने आशा फिल्मफेयरले लिएको उनले जनाए ।

    मुम्बईबाट आउने फिल्मफेयर प्रतिनिधिले संचार र पर्यटनमन्त्रीलाई अवार्ड आयोजनाबारे प्रस्ताव समेत पेश गर्नेछन् । ‘सरकारले गर्न सक्ने सहयोग हेरेर अघि बढ्ने भन्ने कुरा छ’ उनले भने, ‘मन्त्रीज्यू सकारात्मक भए एमओयू सम्झौता पनि हुनसक्छ ।’ पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेटफिल्क्स फिल्म फोर्टिन पिक्सको प्रिमियर कार्यक्रममा समेत नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन र गतिविधिको हब बनाउने बताएका थिए । इजरायली फिल्म फेस्टिभलमा समेत मन्त्री आलेले यो कुरा बताएका थिए ।

    यसअघि नेपालमा गर्ने भनिएको बलिउडको अर्को चर्चित अवार्ड आइफा विवादकै कारण स्थगित भएको थियो । सलमान खानको दबंग टूर पनि विवादले रोकिएको थियो । तर, ब्रायन एडम्स र एमएलटीआर कन्सर्टलाई नेपालमा आयोजना गरिएको अहिलेसम्मकै भव्य र विदेशी कार्यक्रम मानिन्छ ।

  • करन जोहरको पार्टीबाट फैलियो बलिउडमा कोरोना : करिनासहितका चार नायिका संक्रमित

    करन जोहरको पार्टीबाट फैलियो बलिउडमा कोरोना : करिनासहितका चार नायिका संक्रमित

    मुम्बई । बलिउड फिल्म निर्माता करण जोहरले गतसाता आयोजना गरेको सेलेव्रिटी पार्टीबाट कोरोनाभाइरस फैलिएको पुष्टि भएको छ । सो पार्टीमा सहभागि अभिनेत्री करिना कपुर, अमृता अरोरासहितका कलाकारमा भाइरस संक्रमण पुष्टि भएको छ ।

    सो पार्टीमा पुगेका अन्य दुई अभिनेत्रीहरु महीप कपुर र सीमा खानले पनि आफूहरु पोजेटिभ भएको बताएका छन् । संक्रमित सबैलाई खोकी, थकान र हल्का ज्वरो देखिएको जनाइएको छ ।

    करिना कपुरसहितका संक्रमित अभिनेत्रीहरुले आफूहरुलाई भाइरस पुष्टि भएसँगै आइसोलेट तुल्याएको उल्लेख गरेका छन् । संजय कपुरकी पत्नी महिपले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेकी छिन् ।

    भारतीय संचारमाध्यमका अनुसार बृहमुम्बइ म्युनिसिपल कर्पोरेसन (बीएमसी)ले करिनाको घरलाई सिल गरिदिएको छ । बीएमसीले करिना र अमृताको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन भनेको छ ।

    करण जोहरको पार्टीमा पुगेका सबैलाई सम्पर्क पहिचान गरिएको छ । डिसेम्बर ७ मा करिनाले आफ्ना गर्ल ग्याङको साथ पार्टी आयोजना गरेकी थिइन् । अनिल कपुरकी छोरी रियाको बर्थडे सेलिव्रेसनमा पनि उनी पुगेकी थिइन् जसमा करिश्मा कपुर, मलाइका अरोरा, अर्जुन कपुर पनि सहभागि थिए ।

    पछिल्लो समय भारतको महाराष्ट्रमा कोरोनाभाइरको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम बढेको छ ।

  • नेपालमा ‘स्पाइडरम्यान’को उछाल : मल्टिप्लेक्समा शुक्रबारका सबै सोज सोल्डआउट !

    नेपालमा ‘स्पाइडरम्यान’को उछाल : मल्टिप्लेक्समा शुक्रबारका सबै सोज सोल्डआउट !

    काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा उछाल ल्याउने स्पष्ट संकेत दिएको छ । मंगलबार मध्यान्हसम्मको ट्रेन्ड हेर्दा टम हल्यान्ड र जेन्डाया स्टारर फिल्मको शुक्रबारसम्मको सबै टिकट लगभग बिक्री भैसकेको छ ।

    मुलुकका प्रमुख मल्टिप्लेक्सहरुले सोमबार बिहान १० बजेदेखि टिकटको एड्भान्स विक्री थालेका थिए । एड्भान्स बुकिङ चाहिँ दिइएको छैन । क्यूएफएक्स र वान सिनेमाजका प्रमुख मल्टिप्लेक्सको पहिलो दिनको टिकट लगभग सोल्डआउट भैैसकेको छ ।

    क्यूएफएक्सले यो फिल्मलाई शुक्रबार ५७ सोज दिएको छ । जसमध्ये काठमाडौंका छायाँ, लबिम र सिभिल आउटलेटका सोजहरु सबै सोल्डआउट छन् । क्यूएफएक्स सीइओ रोशन अडिगाले दर्शकले शनिबारसम्मको लागि पनि टिकटबारे सोधिरहेको बताए ।

    क्यूएफएक्सका मुख्य मल्टिप्लेक्समा शनिबारसम्म पनि एड्भान्स सेल सुरु भैसकेको छ । स्पाइडरम्यान रिलिजसँगै शुक्रबारदेखि विराटनगरमा क्यूएफएक्सको नयाँ फिल्म हल रेगल सिनेमाज् पनि संचालनमा आउँदैछ ।

    नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा पनि शुक्रबारका सबै सोज सोल्डआउट भैसकेका छन् । मल्टिप्लेक्स प्रमुख प्रज्वल राणाले शनिबारको लागि पनि टिकट विक्री सुरु भएको बताए । ‘ट्रेन्ड हेर्दा लाग्छ स्पाइडरम्यान महामारीपछिको सबैभन्दा ठूलो रिलिज हुनेछ’ राणाले नेपाल प्रेसलाई भने, ‘यसले सूर्यवंशीको ओपनिङलाई पनि उछिन्ने अनुमान छ ।’

    नेपालमा स्पाइडरम्यानको क्रेज निकै उच्च रहेको संकेत पछिल्लो ट्रेन्डबाट देखिएको उनले बताए ।

    भारतमा समेत स्पाइडरम्यानले एड्भान्स बुकिङ र सेलमा उछाल ल्याएको छ । त्यहाँको प्रमुख मल्टिप्लेक्स चेन पीभीआरमा सोमबार मध्यान्हसम्म १ लाख टिकट विक्री भैसकेको छ । ३ घण्टामै ५० हजार टिकट विक्री भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय बजारमा स्पाइडरम्यानको ट्रेलर रिलिज भएसँगै यसले सर्वाधिक हेरिने ट्रेलरको कीर्तिमान राखेको थियो । एभेन्जर्स एन्डगेम ट्रेलरको कीर्तिमानलाई पनि यसले उछिनेको थियो ।

    स्पाइडरम्यानको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले सुरुआती ट्रेन्ड हेर्दा फिल्मको नेपाल ओपनिङ सशक्त हुने जनाएको छ । एप्पलका रुबेन श्रेष्ठका अनुसार कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन स्पाइडरम्यानको व्यापार लाभदायक बन्नसक्छ ।

    मार्भल सिनेम्याटिक युनिभर्सको २७ औं फिल्मको रुपमा स्पाइडरम्यान ः नो वे होम नेपालमा प्रदर्शन हुन लागेको हो । ‘नेपालमा हलिउड फिल्मको संस्कृति नै स्पाइडरम्यानदेखि सुरु भएको हो’ रेगल तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले नेपाल प्रेसलाई भने, ‘यो क्रेजलाई हामीले स्वभाविकरुपमा लिएका छौं ।’

  • विदेशी फिल्म जुधाइएपछि ‘चपली हाइट ३’ रिलिज पोस्टपोन्ड

    विदेशी फिल्म जुधाइएपछि ‘चपली हाइट ३’ रिलिज पोस्टपोन्ड

    काठमाडौं । हलिउडको ‘स्पाइडरम्यान : नो वे होम’ र दक्षिण भारतको ‘पुष्पा : द राइज’ एउटै मितिमा आउने भएपछि ‘चपली हाइट ३’ले पूर्वनिर्धारित शुक्रबारको प्रदर्शन स्थगित गरेको छ ।

    निर्माण कम्पनी अर्जुन कुमार फिल्मसले विज्ञप्ति जारी गर्दै पुस १५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको जनाएको छ । विविध कारण पुस २ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको उल्लेख छ ।

    प्रचारप्रसारको बाबजुद पनि फिल्म रिलिज पोस्टपोन्ड गर्नुपरेकोमा निर्माता अर्जुन कुमारले असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना महामारीले थलिएको नेपाली फिल्म बजारलाई चलायमान बनाउन आफूले रिलिज गर्न लागेपनि विदेशी फिल्म जुधाइएको आरोप उनको छ ।

    गत महिना बसेको चलचित्र संघ र चलचित्र निर्माता संघको कार्यदल समिति बैठकले फिल्म जुधाउन नपाइने निर्णय गरेको थियो । तर, निर्णयको एक महिना नबित्दै निर्णयको उल्लंघन भएको छ । कार्यदल संयोजक अशोक शर्माले यसबारे प्रतिक्रिया दिन मानेनन् ।

    स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चपली हाइट ३ यसअघिका दुई हिट फिल्मको सिक्वेल हो । यो मर्डर थ्रीलर फिल्ममा अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौलाको पनि अभिनय छ ।

  • मेलम्चीको त्रासदी सम्झाउने फिल्म किम्फमा सर्वोत्कृष्ट

    मेलम्चीको त्रासदी सम्झाउने फिल्म किम्फमा सर्वोत्कृष्ट

    काठमाडौं । असार १ गते राती सिन्धुपाल्चोक चनौटेमा उर्लिएको बाढीले होमनसिंह शिवभक्तीको भैंसी बगायो । आफूले माया र पूजा गर्ने भैंसी आँखैअघि इन्द्रावतीको बाढीमा बेपत्तापछि शिवभक्तीले के सोचे ?

    हेलुम्ब-२ किउलबाट बगेको त्यो भैंसी चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटीका गल्छेँडाहरु पार गर्दै कसरी सीमावर्ती काभ्रेपलाञ्चोकको फड्केश्वर पुग्यो ? कसरी उद्दारकर्ताले यो गर्भिणी भैंसीलाई उद्दार गरे ?

    चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो फिल्म ‘गड्ज बफ्यालो’ अर्थात भगवानको भैंसीले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९ औं संस्करणमा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ ।

    उक्त फिल्मले १ हजार अमेरिकी डलर पुरस्कार समेत जित्यो ।

    यही फिल्मले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधा समेत जित्दै ७५ हजार रुपैयाँ हासिल गर्‍यो । ‘निकै सरल तर, शक्तिशाली कथावाचन !’ फिल्मका जुरी मारियो कसेलाले फिल्मको नाम घोषणा गर्दै स्वीटजरल्यान्डबाट भर्चुअल माध्यमबाट भने, ‘यसले ग्रामिण जीवनलाई काब्य शैलीमा भनेको छ र मर्मस्पर्शी कथा बोकेको छ ।’

    निर्देशक तथा छायांकार कल्पितले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालबाट पुरस्कार ग्रहण गरे । फिल्म निर्देशक समेत रहेका दाहालसँग आफूले दुईवटा फिल्ममा काम गरेको अनुभव सुनाउँदै कल्पितले उनकै हातबाट पुरस्कार लिन पाउँदा खुशि लागेको बताए । बोर्ड अध्यक्ष दाहालले पनि कल्पित निर्देशित फिल्मको कथा सरल भएपनि सशक्त रहेको भन्दै प्रशंसा गरे ।

    नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित फिल्म ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो । जितसहित यो फिल्मले १ लाख रुपैयाँ नगद जित्यो । ग्रामिण महिलाको मनोवैज्ञानिक यात्राको कथा भन्ने यो फिल्मले पितृसत्तात्मक समाज र अन्धविश्वासबीचको द्वन्द्वको कथा पनि भन्छ । फिल्मका जुरी अनुप बरालले मनोवैज्ञानिक थ्रीलरको रुपमा यसलाई परिभाषित गरे ।

    नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जित्यो । बाल कलाकार खोज्दै गाउँ हिँडेका दुईजना फिल्म निर्माताको भोगाइको कथा यसले चित्रण गर्छ । यी दुईजना निर्देशित फिल्म ‘डम्बरे डेन्ड्राइट’ र ‘दाद्या’ यसअघि किम्फमा देखाइएका छन् भने ‘होलटाइमर’ उनीहरुको आगामी फिचर फिल्म हो ।

    अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुईलाख रुपैयाँ पुरस्कार जित्यो । सन् १९८५ मा १८ सदस्यीय बेलायती आरोही दलले कसरी सीमित अक्सिजन र डोरीको सहायताबिनै दक्षिण–पश्चिम मोहडाबाट सगरमाथाको सफल आरोहण गरे भन्ने चित्रण यसले गर्छ । क्रिस बोनिङ्टन लिखित सोही नामको पुस्तकमा यो फिल्म आधारित छ ।

    कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । फिल्मले डेढलाख रुपैयाँ जित्यो । जनजाति अभिभावकबाट आश्रित र हुर्काइएको मुख्य पात्र क्यामिलोले आफ्नो सहि पहिचानको लागि गरेको संघर्ष यसको मुख्य कथ्य हो ।

    १०५ मिनेट लामो अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो । तासा भान ज्यान्डट निर्देशित फिल्मले ध्रुवीय अनुसन्धानकर्ता विल स्टिगरले अन्टार्कटिका पुगेर फर्किएपछि पृथ्वीका दुई ध्रवमा आएको वातावरणीय परिवर्तनको चित्रण यसले गर्छ । उनले अन्टार्कटिकमा अनुसन्धान र भ्रमण गर्दा डरलाग्दा चुनौति र जोखिम यसमा निहित छ ।

    अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्यो । ८३ मिनेट लामो यो फिल्मले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्धवृद्धाले गाउँमा जीवन बिताउँछन् भन्ने चित्रण यसले गर्छ ।

    पाँचदिनसम्म चलचित्र विकास बोर्डमा आयोजना भएको किम्फको समापनमा डोमिनिक बुस र जोन पोर्टर निर्देशित फिल्म ‘एभरेस्ट ः बाइ दोज हु वेयर दियर –१९२१, १९२२, १९२४’ प्रदर्शन गरियो । सगरमाथा आरोहणको शताब्दी पुरा भएपनि त्यससँग गाँसिएको सम्बन्ध यसमा चित्रण छ ।

    फेस्टिभलको अन्तिम दिन सोमबार दिगो आरोहण विषयमा छलफल कार्यक्रम समेत गरियो । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले दिगो आरोहणका लागि हिमालय पर्वतलाई संरक्षण गर्नुपर्ने र सरकार तथा सम्बन्धित निकाय सचेत हुनुपर्ने बताइन् । जलवायु संकटविरुद्ध लड्न नेपाललाई बेलायतले सघाउने प्रतिबद्धता उनले जनाइन् ।

    फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए । यसपटक भौतिक उपस्थिती र अनलाइन माध्यमबाट हाइव्रिड शैलीमा किम्फ आयोजना गरिएको थियो । कोरोना महामारीको जोखिमको बाबजुद पनि फेस्टिभलमा देखिएको उत्साहजनक सहभागिताप्रति किम्फ फेस्टिभल निर्देशक रम्यता लिम्बु खुशि देखिइन् । किम्फको अफिसियल वेबसाइटमा राखिएका फिल्महरु अझै एकसाता हेर्न पाइने भएको छ ।

    हिमाल एसोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी तथा स्वास्थ्यजस्ता मुद्दामा छलफल समेत आयोजना गरिएको थियो । फेस्टिभलको शुभारम्भ चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए ।

    यस संस्करणमा फिल्म निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए । फेस्टिभलको प्रिमियर चाहिँ काइल रुडिक निर्देशित फिल्म ‘ड्रीम माउन्टेन’द्वारा गरिएको थियो । फेस्टिभलको अन्तिम दिन किम्फले फिल्ममेकर र विदेशी पाहुनाको लागू रात्रीभोज समेत आयोजना गरिएको थियो ।

  • फिल्म ‘म’ शुभसाइत : सरोज, नीराजनदेखि निशासम्मलाई निर्देशन गर्दै सुवर्ण थापा

    फिल्म ‘म’ शुभसाइत : सरोज, नीराजनदेखि निशासम्मलाई निर्देशन गर्दै सुवर्ण थापा

    काठमाडौं। लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो । फिल्मको २ वर्ष अगाडि निर्माण घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

    समिक्षात्मक रुपमा सफल फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    त्यस्तै, फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । फिल्मको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ ।

    नायक खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ । फिल्म हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा यो फिल्म समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

    सविन श्रेष्ठले भ यो फिल्म आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभिनीत फिल्म रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यू गर्दैछन् ।

  • ब्रेकअपपछि थामिएन प्रिज्माको मन : पूर्वप्रेमी बलेसँग मागिन् माफी !

    ब्रेकअपपछि थामिएन प्रिज्माको मन : पूर्वप्रेमी बलेसँग मागिन् माफी !

    काठमाडौं । यतिबेला टीकटक स्टार प्रिज्मा खतिवडा र सिरियल अभिनेता सागर लम्साल बले चर्चामा छन् । केही वर्षदेखि रिलेसनसिपमा दरार आएपछिको खबरले यी दुई पुनः चर्चाको केन्द्रमा छन् ।

    यसैसाता राजधानीमा आयोजित कार्यक्रममा प्रिज्माले आफूलाई सम्हाल्न सकिनन् । उनले मिडिया अघि नै आँसु बगाइन् । सोही क्रममा उनले बलेसँग माफी पनि मागिन् ।

    उनले पूर्वप्रेमीसँग माफी माग्नुको कारण अर्कै थियो । प्रिज्मासँगको ब्रेकअपपछि प्रशंसकले बलेमाथि गालीको वर्षा गरेका थिए । रिलेसनसिपमा दरार आउनुमा बले कारण रहेको भन्दै प्रशंसक उनीमाथि खनिएका थिए ।

    उनीमाथि अश्लिल गालीहरु पनि सामाजिक संजालमा बौछार भएको थियो । यस्तोमा, आफ्नो कारणले बलेले गाली खानु परेको भन्दै प्रेसमिटमै प्रिज्मा भकान्निएकी हुन् । प्रिज्माले बलेलाई सर भनेर सम्बोधन पनि गर्छिन् ।

    छलछल बोलेको म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा प्रिज्मा रोएकी थिइन् । किन रुनुभएको भनेर सोधिएको जिज्ञासामा प्रिज्माले आफ्नो कारणले बलेलाई गाली गरिएकोमा दुःख व्यक्त गरेको बताएकी थिइन् ।

    ‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले भनिन्, ‘हाम्रो कारण उहाँले गाली खानुपरेको छ । यसले मलाई दुःख लागेको छ ।’ प्रिज्मा र बले नामले चर्चित सागर केही महिनाअघि सम्बन्धबाट अलग भएका थिए ।

  • दीपाश्रीले विदेशी गीतमा टीकटक नबनाउने !

    दीपाश्रीले विदेशी गीतमा टीकटक नबनाउने !

    काठमाडौं। अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले अबदेखि विदेशी गीतमा टीकटक भिडिओ नबनाउने वाचा गरेकी छिन् । नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाभियान २०७८ को घोषणा कार्यक्रममा उनले सो वाचा गरेकी हुन् ।

    नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले यो अभियान थालेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ ।

    ‘अबदेखि विदेशी गीतमा टीकटक बनाउँदिन’ निरौलाले भनिन्, ‘हाम्रो सानो प्रयासले नै हाम्रो संस्कृतिलाई जोगाउन मद्दत पुग्नेछ ।’ उनले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह समेत गरिन् ।

    महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियन्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तित्सँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए ।

    नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको निरौलाको भनाई छ ।

    कलाकार तथा फिल्म निर्देशक समेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ ।

    अभियान शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।

    ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् ।

  • टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोज यात्रा’ किम्फमा लोकर्पण

    टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोज यात्रा’ किम्फमा लोकर्पण

    काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण ‘नेपालमा मेरो खोजी यात्रा’ लोकर्पण गरियो ।

    हिमाल पुस्तकले प्रकाशित गरेको उक्त पुस्तकलाई टोनी हागनकी छोरी डा. क्याट्रिना हागन र टोनी हागन फाउन्डेसन नेपालका अध्यक्ष प्राडा प्रमोदकुमार झाले संयुक्तरुपमा लोकर्पण गरे ।

    पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गरेका ह्न ।

    पुस्तक लोकार्पण गर्दै हागनकी सुपुत्री क्याट्रिनाले नेपालमा देखिएको प्राकृतिक, सामाजिक र धार्मिक विविधताको चर्चा गरिन् । विश्वभर इस्लाम अतिवाद मौलाइरहेको बेलामा नेपाल हरेक कुरामा सहिष्णु रहेको बताइन् । ‘नेपाल सबैजना र सबै धर्मको लागि खुला हुनुपर्छ’ उनले भनिन् ।

    अनुवादक थापाले पुस्तकको मर्मअनुसार अनुवाद गरेको बताए । ‘ट्रान्सलेट साह्रै कठिन काम हो । बरु मौलिकतामा लेख्न सजिलो हुन्छ । अनुवाद लिकमा चल्ने रेल रहेछ’ उनले भने ।

    हागनले पुस्तकमार्फत नेपालीलाई नेपाल चिन्न आग्रह गरेको बताउँदै थापाले भने, ‘हामीले नेपाल चिन्नुपर्छ । हामी कस्तुरी जस्तै छौं । वैज्ञानिक प्रद्धती हाम्रो जीवनमा प्रवेश गरेकै छैन । पुस्तकमार्फत हागनको मुख्य आग्रह भनेकै हामीले नेपाल चिन्नुपर्छ भन्ने हो ।’

    जलस्रोतलाई सेतो सुनको संज्ञा दिँदै हागनले पुस्तकमा नेपालमा ह्वाइट गोल्डको प्रशस्त सम्भावना रहेको बताए । नेपाललाई बारम्बार स्वीटजरल्यान्डसँग तुलना गरिने गरिएको उल्लेख गर्दै उनले स्वीस नागरिकको परिश्रमबाट नेपालीले सिक्नुपर्ने बताए ।

    नेपालसहित विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशकभन्दा बढी समय विशेषज्ञको रुपमा काम गरेका हागनले यसमा नेपाल घुमघाम गर्दा भेटिएका रोचक दृश्य, तथ्य र क्षणलाई उल्लेख गरेका छन् ।

    हागन पहिलोपटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आएका थिए । सरकारको अनुमतिबिना विदेशीले काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएको नाताले हागनले त्यतिबेला नेपालको गाउँ चहार्न पाए ।

    ३१४ पृष्ठको नेपालमा मेरो खोजयात्राको मूल्य ६५० रुपैयाँ राखिएको छ । यसअघि हागन लिखित पुस्तक ‘डिसेन्ट्रलाइजेसन एन्ड डेभलपमेन्ट’को नेपाली अनुवाद ‘विकेन्द्रिकरण र विकास’ यसअघि नै प्रकाशित भैसकेको छ ।

     

     

     

  • मिस युनिभर्सको उपाधि भारतकी सन्धुलाई, नेपालले अन्तिम १६ मा पनि स्थान बनाएन

    मिस युनिभर्सको उपाधि भारतकी सन्धुलाई, नेपालले अन्तिम १६ मा पनि स्थान बनाएन

    काठमाडौं । यसवर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । भारतकै लारा दत्ताले सन् २००० मा उपाधि जितेकी थिइन् ।

    गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए ।

    भारतको पञ्जाबकी २१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिइन् ।

    यसवर्षको मिस युनिभर्समा नेपालकी सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । नेपाल यसपटक अन्तिम १६ मा पनि स्थान बनाउन असफल रह्यो ।

  • पप गायक सञ्जय श्रेष्ठ राप्रपामा प्रवेश

    पप गायक सञ्जय श्रेष्ठ राप्रपामा प्रवेश

    काठमाडौं । पप गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराएका हुन् ।

    अध्यक्ष लिङ्गदेनले विभिन्न समयमा पार्टीमा आएको फुटका कारण यत्रतत्र छरिएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्दै लोकप्रिय गायक श्रेष्ठले पार्टीभित्र विभिन्न राजनीतिक अभियान सञ्चालन गरी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

    विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार थिए । उनले सो पार्टी परित्याग गरी निस्कृय बसेका थिए ।

    नेता सुन्दर पाण्डेका अनुसार अर्का गायक कविन्द्र श्रेष्ठ पनि उक्त पार्टीमा प्रवेश गरेका छन् । उनले धार्मिक संस्थाका प्रतिनिधिलाई समेत प्रवेश गराउनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

    विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलोपटक एकता अधिवेशन हालै सम्पन्न गरेको सो पार्टीले समान विचार भएका पार्टी तथा समूहलाई एकताबद्ध गर्न महामन्त्री धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरेको छ । रासस

  • ‘लाखे’ हिरोइनमा वर्षा अनुबन्धित

    ‘लाखे’ हिरोइनमा वर्षा अनुबन्धित

    काठमाडौंँ । अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ अनुबन्धित भएकी छिन् । फिल्ममा उनको मुख्य भूमिका हुने जनाइएको छ । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग सम्झौता गरेका हुन् ।

    फिल्मको कथा मनपरेको कारण आफू प्रोजेक्टसँग जोडिएको बर्षाले बताइन् । ‘कथाबस्तुमात्र होइन फिल्मको युनिट पनि एकदमै राम्रो छ’ बर्षाले भनिन् ‘‘लाखे’ मा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’

    बर्षासँगै फिल्मको कलाकार समीकरण पुरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको फिल्मले वर्षाले कससँग जोडी बाँध्नेछिन् भन्ने कुरा बताइएको छैन ।

    फिल्ममा सौगात, अनुपविक्रम, आर्यन, अर्पण, सुशील, विजयसहित सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र ओरिएन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । छायांकन पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।