Category: कलाप्रेस

  • लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

    लाउरेलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो । लागू औषध ब्राउनसुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए ।

    यो पनि पढ्नुस्:

    लागूऔषध प्रकरणमा मुछिएका लाउरेले रोडिजको पाँचौ सिजन गुमाउन सक्ने

    र्‍यापर लाउरे पोखरामा पक्राउ

  • फ्राइडे रिलिज : नेपाली हरर फिल्म भर्सेस हलिउड फेन्टासी

    फ्राइडे रिलिज : नेपाली हरर फिल्म भर्सेस हलिउड फेन्टासी

    काठमाडौं । शुक्रबार नेपालमा दुई प्रतीक्षित फिल्म प्रदर्शनमा आएका छन् । हलिउडको एड्भेन्चर, कमेडी र फेन्टासी फिल्म ‘घोस्टबस्टर्स : आफ्टर लाइफ’ र नेपाली फिल्म ‘कठ्पुतली’ प्रदर्शनमा आएका छन् ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास र अंग्रेजी फिल्म स्पाइडरम्यानको दबदबाबीच यी दुई नयाँ फिल्म प्रदर्शनमा आएका हुन् । अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज भएका यी दुबै फिल्मले रिलिज अघि नै चर्चा बटुलेका छन् ।

    ट्रेलरदेखि प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको कार्म र उषा रजक स्टारर फिल्म ‘कठ्पुतली’लाई हरर, सोसल ड्रामा र साइकोलजिकल थ्रीलर जानरामा राखिएको छ ।

    भीमसेन लामा निर्देशित फिल्मले एउटा नयाँ घरमा पुगेका युवराजले अस्वभाविक गतिविधिको चपेटामा परेपछि बाँच्नका लागि उनले गरेको संघर्ष फिल्मको मुख्य कथावस्तु हो । कार्मले यसमा युवराजको भूमिकामा अभिनय गरेका छन् ।

    जेसन रेइटम्यान निर्देशित घोस्टबस्टर्स : आफ्टर लाइफ’मा पौल रड, बिल मुर्रे र म्याकिना ग्रेसको मुख्य भूमिका छ । आफ्ना दुई बच्चालाई लिएर नयाँ सहरमा आएकी महिलाले नयाँ घोस्टबस्टर्ससँगको सम्बन्धबारे अनुसन्धान गर्छन् । उक्त घोस्टबस्टर्सले तिनीहरुको हजुरबुबालाई कसरी मार्‍यो भन्ने कुराको पत्ता लगाउन उनीहरु जुटेका हुन्छन् ।

    हलिउड फिल्म स्पाइडरम्यान : नो वे होम र दक्षिण भारतीय फिल्म पुष्पा पनि तेस्रो सातामा प्रदर्शन भैरहेका छन् ।

  • प्रधानमन्त्रीसमक्ष विदेशी फिल्म र संस्कृतिले अतिक्रमण गरेको भन्दै मागपत्र पेश

    प्रधानमन्त्रीसमक्ष विदेशी फिल्म र संस्कृतिले अतिक्रमण गरेको भन्दै मागपत्र पेश

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियानको प्रतिनिधिमण्डलले भेट गरी देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराएको छ ।

    महाअभियानका संयोजक एवं चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा बालुवाटारमा गएको प्रतिनिधिमण्डलले देशका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण संवद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग गरेको हो ।

    निरौलाका अनुसार नेपालको मौलिक धर्म संस्कृतिमाथि अतिक्रमण भएको र नेपालको संस्कृति लोपोन्मुख रहेको कुरा राखिएको थियो । साथै, फिल्म निर्माण गर्दा मौलिक संस्कृतिमा आधारित रहेर गर्नुपर्ने र विदेशी चलचित्रले नेपालको संस्कृतिलाई अतिक्रमण गरेको मुद्दा पनि प्रधानमन्त्रीलाई बुझाइएको संयोजन निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार पछिल्लो समय बढिरहेको धर्मान्तरणको मुद्दालाई व्यापकताका साथ उठाइएको छ । यिनै बुँदा समेटेर प्रधानमन्त्रीलाई १० बुँदे मागपत्र बुझाइएको हो ।

    कुनै पनि देशको सभ्यता र संस्कृतिसँग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्ण राख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मूल उद्देश्य रहेको छ ।

    प्रधानमन्त्री देउवाले महाअभियानलाई सफलताको शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको संयोजक निरौलाले जानकारी दिए ।

    प्रतिनिधिमण्डलले महाअभियानको प्रतीकस्वरूप नेपालको विविध संस्कृति र सम्पदा अङ्कित छायाँ चित्र, महाअभियानको कार्यक्रम पुस्तिका प्रधानमन्त्री देउवालाई उपहारस्वरुप प्रदान गरेको थियो ।

    परिवर्तन नेपालअन्तर्गत गठन भएको उक्त महाअभियान गत मङ्सिर २६ गते शुभारमभ भएको थियो । महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि पर्चा वितरण गर्दै आएको छ ।

  • सृष्टि र दिव्यदेवको ‘चिसो एस्ट्रे’ फिल्मको टीजर रिलिज : यस्तो छ भूपी शेरचनको विम्वमाथि बनेको फिल्मको फस्टलुक

    सृष्टि र दिव्यदेवको ‘चिसो एस्ट्रे’ फिल्मको टीजर रिलिज : यस्तो छ भूपी शेरचनको विम्वमाथि बनेको फिल्मको फस्टलुक

    राजधानी काठमाडौंलाई चिसो-एस्ट्रेका रुपमा चित्रण गर्दैै निर्माण भएको फिल्म ‘चिसो एस्ट्रे’को टीजर ट्रेलर लन्च भएको छ । फिल्मका मुख्य पात्रलाई चिनाउँदै टीजरले गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

    चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् ।

    ‘एउटा गाउँले ठिटो सहरीया ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । उनले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

    निर्देशक दिन्शले कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र फिल्म उनको सोही विम्बबाट प्रभावित भएको पनि बताएका छन् । ‘त्यसैले फिल्म पनि सकभर पोइटिक हिसाबले नै बनाउन खोजेका छौँ,’ उनले भने । उनले फिल्मले पाश्चात्य चलचित्रले युवामा पार्ने प्रभावलाई पनि कथ्यमा समेटेको बताएका छन् । फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

    कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

    फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत भने अजर जंगमको रहेको छ । उज्वल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

    नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्म यही वर्षको चैत ४ मा सार्वजनिक हुँदैछ ।

  • हलिउडमा हाइप्रोफाइल डिभोर्स : ‘टर्मिनेटर’ स्टार आर्नोल्डको ३५ वर्ष लामो बिहे टुंगियो

    हलिउडमा हाइप्रोफाइल डिभोर्स : ‘टर्मिनेटर’ स्टार आर्नोल्डको ३५ वर्ष लामो बिहे टुंगियो

    लस-एन्जल्स । हलिउडको लोकप्रिय फिल्म ‘टर्मिनेटर’ फेम्ड अभिनेता आर्नोल्ड स्वार्जनेगरलाई लिएर एउटा ठूलो खबर सतहमा आएको छ । आर्नोल्ड र उनकी पत्नी मारिया स्राइवरको ३५ वर्ष लामो वैवाहिक सम्बन्ध औपचारिकरुपमा अन्त्य भएको छ ।

    दुबैले सन् १९८६ मा बिहे गरेका थिए । बिहेलाई अन्त्य गर्नुपर्ने निवेदनसहित आर्नोल्ड र मारियाले सन् २०११ मा क्यालिफोर्नियाका पूर्वगभर्नरसमक्ष डिभोर्सको उजुरी दिएका थिए । मंगलबार लस–एन्जल्सस्थित अदालतले १० वर्ष लामो सम्बन्ध विच्छेदको प्रक्रियालाई अन्तिमरुप दिएको छ । डिभोर्स प्रक्रियामा यति लामो समय किन लाग्यो भन्नेबारे कुनै कुरा बाहिर आएको छैन ।

    डिभोर्सलाई लिएर सन् २०११ मा प्रक्रिया सुरु भएको थियो । तर, सार्वजनिकरुपमा कुनै कार्वाही समेत भएको थिएन । सम्पत्ति विभाजन र लेनदेन सम्बन्धी सम्पूर्ण विषयलाई गोप्य राखिएको छ । दुबैका सन्तान अहिले हुर्किएकाले कस्टडी केस वा आर्थिकरुपमा बच्चाको हेरचाह सम्बन्धी कुनै निर्णय गरिएको छैन ।

    घरेलु कर्मचारीसँग आर्नोल्डको सम्बन्ध खुलासा भएपछि दुईजनाको सम्बन्धमा दरार आएको थियो । यसलगत्तै आर्नोल्डले डिभोर्स दिन वचन दिएका थिए । यसबीच आर्नोल्ड र मारियाले आरोप प्रत्यारोपबिना नै सहमतीमा डिभोर्स दिएका छन् ।

     

  • ‘कठ्पुतली’ रेडकार्पेट प्रिमियरमा हट उषा र शिल्पा : फिल्मलाई मिल्यो सुखद प्रतिक्रिया

    ‘कठ्पुतली’ रेडकार्पेट प्रिमियरमा हट उषा र शिल्पा : फिल्मलाई मिल्यो सुखद प्रतिक्रिया

    काठमाडौं । साइकोलजिकल थ्रीलर तथा हरर फिल्म ‘कठ्पुतली’लाई बुधबार बेलुका राजधानीको बिग मूभिजमा प्रिमियर गरिएको छ । भीमसेन लामा निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन त्रास र ‘स्पाइडरम्यान’को दबदबाबीच फिल्म प्रदर्शन हुन लागेको हो ।

    विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रदेखि फिल्मका सबै कलाकार र युनिट प्रिमियरमा सहभागी थिए । नायिका निशा अधिकारीदेखि निर्देशक सुवर्ण थापा, लेखक प्रदीप भारद्वाजसम्म देखिए ।

    कोरोनाभाइरस महामारीको जोखिमकै बीचमा भव्य प्रिमियर आयोजना गरिएको हो । फिल्मले प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको छ ।

    निर्देशक प्रदीप भट्टराईले फिल्म हेरेपछि नयाँ अनुभव गरेको बताए । ‘प्राविधिक रुपमा फिल्म राम्रो छ । महिलाको दृष्टिकोणमा फिल्म लेखिएको पाएँ । महिला सशक्तीकरणको मुद्दालाई चित्रण गरिएको छ’ उनले भने ।

    फिल्म लेखक सम्पदा मल्लले हरर र राजनीतिको कथालाई सम्मिश्रण गरिएको बताए । ‘बाहिर हरर भएपनि भित्र यो बदलाको कथा हो’ उनले भनिन्, ‘हरर र राजनीतिलाई सन्तुलन मिलाउने प्रयास गरिएको छ ।’

    अभिनेत्री निशा अधिकारीले कठ्पुतलीले फिल्मलाई गियर १ मा लगेको महसुस भएको बताइन् । ‘अब विस्तारै गतिमा अघि बढ्नुपर्छ’ उनले भनिन् । कार्म, उषा रजक, गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म शुक्रबारदेखि रिलिज हुँदैछ ।

  • लागूऔषध प्रकरणमा मुछिएका लाउरेले रोडिजकाे पाँचौ सिजन गुमाउन सक्ने

    लागूऔषध प्रकरणमा मुछिएका लाउरेले रोडिजकाे पाँचौ सिजन गुमाउन सक्ने

    काठमाडौं । चर्चित र्‍यापर आशिष राना लाउरे लागूऔषध प्रकरणमा पक्राउ परेपछि उनका प्रशंसक स्तब्ध बनेका छन् । उनी निर्णायक रहेको टिभी रियालिटी सो हिमालय रोडिज पनि तरंगित बनेको छ ।

    लाउरे यस्तो समयमा पक्राउ परेका छन् जतिबेला रोडिजको चौंथो सिजनको प्रसारण सुरु भएको छ । अहिले तेस्रो एपिसोड प्रसारण भैरहेको छ । चौंथो सिजनको १८ वटै एपिसोड सुटिङ भैसकेकाले सिजन अवधीभर दर्शकले लाउरेलाई निर्णायकको रुपमा हेर्न पाउनेछन् ।

    तर, निर्देशक सिमोस सुनुवारले लाउरेको पक्राउपछि टिभी रियालिटी सोको गुडविलमा असर पर्न सक्ने बताए । ‘लाउरेको केसले सोको गुडविलमा असर पर्न सक्नेबारे हामी सचेत छौं’ निर्देशक सुनुवारले नेपाल प्रेसलाई भने, ‘सुटिङ नै सकिएकाले अन्य असर तत्काल पर्ने देखिँदैन ।’

    तर, हिमालय रोडिजको पाँचौ सिजनमा लाउरेले निरन्तरता पाउने वा नपाउने भन्ने कुरा प्रश्नको रुपमा अगाडि आएको छ । निर्देशक सुुनुवारले टेलिभिजन प्रशासन र विज्ञापनदातासँगको छलफलपछि मात्र लाउरेलाई आगामी सिजनमा निरन्तरता दिनेबारे छलफल हुने बताए ।

    ‘हामी केही दिनमै टिभी प्रशासन र स्पोन्सरसँग बसेर लाउरेलाई आगामी एसिपोडमा निरन्तरता दिने कि नदिनेबारे छलफल गर्नेछौं’ सुनुवारले नेपाल प्रेसलाई भने ।

    रोडिजका अघिल्ला एपिसोडमा लागूऔषध प्रयोग गरेर पछिल्लो समयमा सुध्रिएका प्रतिस्पर्धी पनि आएकाले सकारात्मक रुपमा हेर्नुपर्ने सुनुवारको भनाई छ । ‘कतिपय प्रतिस्पर्धी सुध्रन्छु भनेर आएका पनि छन् । त्यो कोणबाट पनि हेर्न सकिन्छ’ उनले भने, ‘अन्तिम निर्णय चाहिँ टिभी प्रशासन र स्पोन्सरको बैठकले निर्णय गर्नेछ ।’

    कानूनी व्यवस्थाअनुसार प्रहरीले लाउरेलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

  • र्‍यापर लाउरे पोखरामा पक्राउ

    र्‍यापर लाउरे पोखरामा पक्राउ

    काठमाडौं । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए ।

    उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।

    लागुऔषध नियन्त्रण ऐनअनुसार लाउरेलाई १० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैदको सजाय हुनसक्छ । ताण्डव फिल्ममा समेत अभिनय गरेका लाउरे र्‍याप ब्याटलबाट एकाएक चर्चामा आएका थिए । र्‍यापर यमबुद्धका मिल्ने साथी रहेका लाउरेले र्‍यापसहित केही फिल्ममा ओएसटी पनि गाएका छन् ।

    पोखरा नयाँबजार घर भएका लाउरे यसअघि खासै विवादमा आएका थिएनन् । हाउडे, मेरो सोल्टा, नेपहपको बाटो, चुप लाग, सुपर रागा, दुई रुपैयाँ, तीतो सत्य उनका चर्चित गीतहरु हुन् ।

     

  • सन्नी लियोनीविरुद्ध हिन्दूवादी संगठन विरोधमा, ‘मधुवन’ गीतले धार्मिक आस्थामा चोट पुर्‍याएको आरोप

    सन्नी लियोनीविरुद्ध हिन्दूवादी संगठन विरोधमा, ‘मधुवन’ गीतले धार्मिक आस्थामा चोट पुर्‍याएको आरोप

    मुम्बइ । सन्नी लियोनीको नयाँ म्युजिक भिडिओले हिन्दू धर्मावलम्बीको संवेदनशिलतालाई असर तुल्याएको भन्दै बुधबार भारतमा उनको पोस्टर च्यातिएको छ ।

    डिसेम्बर २८ मा रिलिज भएको लियोनी फिचर्ड गीत मधुवनलाई लिएर अहिले भारतभर चर्चा भैरहेको छ । लियोनीको उक्त गीतमा सुदर्शन चक्रको दुरुपयोग गरिएको र हिन्दूवादी संगठनविरुद्ध नारावाजी गरिएको भन्दै अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दल विरोधमा उत्रिएका हुन् ।

    ती हिन्दूवादी संस्थाले लियोनीमाथि कार्वाही गर्न र गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै हरिपर्वत प्रहरी केन्द्रमा उजुरी दिएका छन् । उनीहरुका अनुसार लियोनीको नयाँ गीतले हिन्दू धर्मावलम्वीलाई दुःखित तुल्याएको छ ।

    मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले आपत्तिजनक गीतलाई तत्काल रोक्न माग गरेका छन् । मन्त्री मिश्रको अभिव्यक्तिपछि म्युजिक कम्पनी सारेगमाले ‘मधुबनमे राधिका नाचे’ बोलेमा प्रयोेग गरिएका शब्द र नाम परिवर्तन गर्न तयार रहेको बताएको छ ।

    तीन दिनभित्र आफ्ना सबै प्लेटफर्मममा नयाँ गीतलाई पोस्ट गरिने कम्पनी सारेगमाले विज्ञप्तिमा जनाएको छ ।

  • बिहेबारे रेखाको सर्त : भावी श्रीमान फिल्मभन्दा बाहिरकै हुनुपर्छ !

    बिहेबारे रेखाको सर्त : भावी श्रीमान फिल्मभन्दा बाहिरकै हुनुपर्छ !

    काठमाडौं । छवि ओझासँगको वैवाहिक सम्बन्ध अन्त्य भएपछि नायिका रेखा थापामाथि सोधिने एउटै प्रश्न हो : अर्को बिहे कहिले हुन्छ ?

    बिहेलाई लिएर मिडियाबाट पटक–पटक एउटै प्रश्न खेपिरहेकी रेखाको एउटै जवाफ हुने गथ्र्यो – अर्को वर्ष । रेखाको त्यो अर्को वर्ष अहिलेसम्म आइपुगेको छैन ।

    नायिका थापाले हालैको एक अन्तर्वार्तामा पनि अर्को वर्ष अर्थात २०७९ सालमा बिहे गर्ने बताएकी छिन् । यसका लागि मन मिल्ने र कुरा मिल्ने श्रीमान चाहिएको चाहना समेत उनले व्यक्त गरेकी छिन् ।

    अहिले आफू केटाको खोजीमा रहेको कुरा रेखाले बताउँदै आएकी छिन् । बिहेका लागि रेखाको एउटा सर्त छ । त्यो हो : उनको फ्युचर हजबेन्ड फिल्म इन्डष्ट्रि बाहिरकै हुनुपर्छ ।

    लभ र अरेन्ज म्यारिज दुबै बिहेका लागि उनी तयार छिन् । नेपाली फिल्ममा २० वर्ष लामो करिअर रहेकी रेखाको उमेर ३९ वर्ष पुगेको छ ।

    उक्त अन्तर्वार्तामा रेखाले नेपाली फिल्म क्षेत्रमा कोही पनि महान नरहेको बताउँदै महानायक र महानायिका उपाधि दिन हतार गरिएको समेत बताइन् ।

     

     

  • ‘आरआरआर’ पुस २३ मै रिलिज हुने : राजामौलीले भने- फिल्म पोस्टपोन्ड हुँदैन

    ‘आरआरआर’ पुस २३ मै रिलिज हुने : राजामौलीले भने- फिल्म पोस्टपोन्ड हुँदैन

    मुम्बइ । केही दिनयता भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिरहेको छ । जसको कारण शाहिद कपुर स्टारर फिल्म जर्सीको प्रदर्शन मिति स्थगित भएको छ ।

    राजधानी दिल्लीसहित भारतका सात राज्यमा निषेधाज्ञा सुरु भएको छ र विज्ञहरुले भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । दिल्लीमा पूर्णरुपमा फिल्म हलहरु बन्द गरिएका छन् ।

    यस्तोमा जनवरी ७ मा प्रदर्शन मिति घोषणा गरिएको एसएस राजामौली निर्देशित फिल्म आरआरआरको रिलिजलाई लिएर अन्यौल सिर्जना भएको छ । तर जुनियर एनटीआर, रामचरण, आलिया भाट र अजय देवगण स्टारर फिल्म जनवरी ७ मै रिलिज हुने भएको छ ।

    बलिउड वेबपोर्टलका बजार विश्लेषक तरण आदर्शसँग कुरा गर्दै निर्देशक राजामौलीले फिल्म निर्धारित मितिमै रिलिज हुनेबारे स्पष्ट पारेका छन् । बाहुबली फेन्ड निर्देशक राजामौलीको पछिल्लो फिल्मलाई लिएर नेपालमा समेत दर्शकमाझ पर्खाइ छ ।

  • ‘लेकाली कोदोको’ बजारमा

    ‘लेकाली कोदोको’ बजारमा

    काठमाडौं । लाक्पा एन शेर्पाको स्वर र निर्देशन रहेको ‘लेकाली कोदोको’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

    हिमाली लवज र भेषभूषा झल्कीने गीत मंगलबार सार्वजनिक भएको हो ।

    गीतमा संगित र लय विश्व दोङको रहेको छ भने भिडियोमा युगेन, कुसाङ, ल्हाक्पा डोमा, मिङमार डोमा, फुर्दीकी शेर्पाले अभिनय गरेका छन् ।

    भिडियोलाई ल्हाक्पा डोमा शेर्पाले कोरियोग्राफर गरेको थिए ।

  • मुम्बइ पुगेर राजेश हमालको घोषणा : इन्डो-नेपालको बलिउड फिल्ममा काम गर्दैछु (भिडिओ)

    मुम्बइ पुगेर राजेश हमालको घोषणा : इन्डो-नेपालको बलिउड फिल्ममा काम गर्दैछु (भिडिओ)

    मुम्बइ । अभिनेता राजेश हमाललाई बलिउड फिल्ममा देख्न पाइने भएको छ । मंगलबार मुम्बइमा आयोजित एक कार्यक्रममा हमालले इन्डो–नेपाल प्रोजेक्टअन्तर्गत निर्माण हुने फिल्ममा आफूले अभिनय गर्न लागेको बताए ।

    नेपाल र भारतको मित्रतालाई चित्रण गर्ने म्युजिक भिडिओ ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा हमालले उक्त जानकारी दिएका हुन् । महाराष्ट्रका संचारमाध्यमले नेपाली स्टारको उक्त अभिव्यक्तिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

    निर्माता राजेश चौधरीसँग मिलेर उक्त इन्डो-नेपाल प्रोजेक्ट गर्न लागेको जानकारी हमालले दिए ।

    निर्माता चौधरीले पनि निकट भविष्यमै हमाललाई लिएर फिल्म बनाउने तयारी भैरहेको बताए । ‘म कलाकार हुँ । सबै किमिसको फिल्म गर्न चाहन्छु । राजेशजी (राजेश चौधरी) र हामीले फिल्मको तयारी गरेका छौं । अन्य प्रोजेक्ट पनि गर्ने तयारीमा छौं । फिल्म मेरो पेशा हो । इन्डो-नेपाल प्रोजेक्ट हुनसक्छ’ उनले भने ।

    सो अवसरमा हमालले मुम्बइको प्रशंसा गरे । ‘नेपाली फिल्ममा लाग्नुभन्दा पहिल्यैदेखि मुम्बइबाटै मेरो करिअर सुरु भएको हो’ हमालले भने, ‘मुम्बइ भाइब्रेन्ट सिटी हो । यहाँ आउँदा मलाई राम्रो ऊर्जा मिल्छ । यसपटक मुम्बइका सबै खानेकुरा चाखेँ, स्वादिलो लाग्यो ।’

    कार्यक्रममा निर्माता राजेश चौधरीले नेपाल र भारतबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहिआएको बताउँदै हमाललाई लिएर निकट भविष्यमा फिल्म निर्माण गर्ने तयारी भएको बताए ।

    कार्यक्रममा नेपाली मोडल नीति शाहले बलिउड फिल्म हेरेरै आफू हुर्किएको बताउँदै रणवीर सिंहबाट आफू प्रभावित भएको बताइन् ।

    उक्त कार्यक्रममा नेपाल र भारतीय कलाकारहरुको संलग्नता रहेको म्युजिक भिडिओ चेहेराको लन्च गरियो । आशिष कूलकर्णीद्वारा स्वरबद्ध गीतमा नेपाल र भारतको मित्रताको चित्रण गरिएको छ ।

  • ‘नेपालको मौलिक हरर फिल्मलाई विश्वले हेरोस् भन्ने हामी चाहन्छौं’

    ‘नेपालको मौलिक हरर फिल्मलाई विश्वले हेरोस् भन्ने हामी चाहन्छौं’

    काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट त्रास र ‘स्पाइडरम्यान’ तथा ‘पुष्पाा’जस्ता विदेशी फिल्मको दबदबाबीच नेपाली फिल्म ‘कठ्पुतली’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

    अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कार जितेको भीमसेन लामा निर्देशित फिल्मले सार्वजनिक दुबै ट्रेलरबाट प्रशंसा बटुलेको छ । नेपाली मौलिकतामा आधारित हरर भनिएको फिल्ममा घरेलु फिल्मका चर्चित नाम सामेल छन् ।

    ‘कठ्पुतली’हरर भन्दा बढी राजनीतिक र सामाजिक विम्व हो । सतहमा तर्साउने दृश्य र आवाज समेटिएपनि यसले तत्कालिन राजदरबारभित्रको षड्यन्त्र, नेपथ्यमा हुने शक्तिको चलखेललाई चित्रण गरेको छ ।

    एउटा एकलासको खाली घरमा पुगेका राजकुमारले कसरी अस्वभाविक गतिविधिको सामना गर्नुपर्छ र जीवित रहन उसले कस्ता संघर्ष गर्नुपर्छ भन्ने कथावस्तु कठ्पुतली हो ।

    सन् २०१४ मा बेलायती सैनिकको जागिर छाडेर फिल्म बनाउन होमिएका निर्देशक लामाले हरर तत्वमार्फत नेपाली गौरव, संस्कृति र इतिहासलाई चित्रण गर्न प्रयास गरेको बताए ।

    उनले भने, ‘यो एउटा सर्भाइभल स्टोरी हो । एउटा परिवारको कथा हो । यसलाई म अर्गानिक र सांस्कृतिक कथा भन्न रुचाउँछु ।’ दरबारसँग जोडिएको नेपालको इतिहासबारे युवापुस्तालाई जानकारी गराउन पनि कठ्पुतली सान्दर्भिक हुने निर्देशक लामाले बताए ।

    निर्देशकका अनुसार हररलाई विम्वात्मकरुपमा प्रयोग गरिएको छ । ‘यो एउटा फेमिली इमोसनको कथा हो । हररलाई विम्वको रुपमा प्रयोग गरिएको हो’ लामाले सुनाए ।

    अभिनेत्री उषा रजक (बायाँ) र निर्देशक भीमसेन लामा ।

    नेपालको मौलिक हरर फिल्म

    नेपालमा यसअघि हरर जानरामा फिल्म निर्माण नभएका होइनन् । ती फिल्मभन्दा कठ्पुतली कुन अर्थमा भिन्न छ भन्दा यो फिल्म लाउड छैन र समाजसँग जोडिएको छ ।

    २ करोडभन्दा बढी लागतमा निर्माण भएको फिल्मलाई निर्देशक लामा ‘रिच’ भन्न रुचाउँछन् । ‘थोरै बजेट भएपनि कथामा फिल्म सम्पन्न छ’ लामा भन्छन्, ‘हामीले सकेसम्म दर्शक र अहिलेको पुस्तालाई जोड्ने प्रयत्न गरेका छौं ।’

    पटकथा लेखक सम्पदा मल्ल कठ्पुतलीलाई नेपालको मौलिक कथामा आधारित हरर भन्न रुचाउँछिन् । ‘म आफै हररको दर्शक होइन । निर्देशकज्यूले च्यालेन्ज दिएपछि मैले भ्याएसम्म विश्वका सबै हरर फिल्म हेरेँ’ मल्ल भन्छिन्, ‘आजको पुस्ताको नेपाली दर्शकलाई मात्र हैन, नेपालको मौलिक हरर फिल्म विश्वले हेरोस् भन्ने लागेर कथा लेखेकी हुँ ।’

    सम्पदा फिल्मलाई बिग बजेटकै भन्न रुचाउँछिन् । ‘वास्तवमा पिरियोडिक ड्रामा खिच्नु निकै कठिन कार्य हो’ भन्छिन्, ‘त्यो समयको दरबार खिच्नको लागि हामीले बालमन्दिरमा छायांकन गरेका छौं र सोहीअनुसारको दृश्य निर्माण गर्न खर्च पनि भएको छ ।’

    निर्माता पृथ्वी रानामगर (बायाँ) र अभिनेत्री मिथिला शर्मा ।

    कलाकारहरु के भन्छन् ?

    कठ्पुतलीमा पछिल्लो छिमलका चर्चित कलाकारको दबदबा छ । मिथिला शर्मा र गौरी मल्लदेखि पछिल्लो समयका शिल्पा मास्के र उषा रजकसम्म अटाएका छन् । युवराजको भूमिकामा कार्मको सशक्त अभिनय ट्रेलरमै देख्न सकिन्छ ।

    मंगलबार राजधानीमा नेपाल प्रेससँग कुरा गर्दै कलाकारले ‘कठ्पुतली’ संवाद गरे । अभिनेत्री उषा रजक फिल्ममा नेवारी युवतीको भूमिकामा छिन् । सन् २०११ मा राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को कामको सिलसिलामा किर्गिस्तान जाँदा फिल्मका केही सदस्यसँग भेट भएको र सोही बेला यसबारे कुरा भएको अनुभव उनले सुनाइन् ।

    फिल्म खेल्नेकै लागि सन् २०१९ मा युएनडीपीको आकर्षक जागिर छाडेकी रजकको अभिनय छोटो ट्रेलरमै महसुस गर्न सकिन्छ । उनले फिल्ममा कार्मसँग स्क्रिन सेयर गरेकी छिन् । ‘म यसलाई नारी सशक्तीकरणको सन्देश दिने फिल्मको रुपमा पनि यसलाई लिन्छु’ रजक सुनिइन् ।

    अभिनेत्री शर्माले अहिलेको नेपाली पुस्तापनि तत्कालिन दरबारको इतिहाससँग जोडिने बताइन् । ‘नेपाली पुस्ता पछिल्लो समय निकै प्राविधिक बनिरहेको छ तर, उसलाई आफ्नै इतिहास थाहा छैन’ उनले भनिन्, ‘फिल्म हेरेपछि नेपाली पुस्ता समाज र इतिहाससँग जोडिने आशा लिएकी छु ।’

    अभिनेत्री शिल्पा मास्केले छोटो तर अर्थपूर्ण चरित्र फिल्ममा रहेको बताइन् । आफ्नो करिअरको लागि कठ्पुतली महत्वपूर्ण हुने बताउँदै शिल्पाले युवापुस्ताले फिल्म हेर्नुपर्ने बताइन् ।

    पटकथा लेखक तथा कार्यकारी निर्मात्री सम्पदा मल्ल (बायाँ) र अभिनेत्री शिल्पा मास्के ।

    ‘विदेशबाटै लगानी उठाउँछौं’

    फिल्मको व्यवसायिक र समीक्षात्मक सफलता मिल्नेमा निर्माता पृथ्वी रानामगर ढुक्क छन् । लामो समयदेखि हङकङमा बस्दै आइरहेका उनी मौलिक र स्तरीय नेपाली फिल्म बनाउने आफ्नो धोको पुरा भएको बताउँछन् ।

    फिल्म निर्माणमा २.३ करोड रुपैयाँ खर्च भएको जानकारी दिँदै उनले कथाले मागेजति खर्च गरिएको बताए । ‘हामीले गुणस्तरसँग सम्झौता गरेका छैनौं’ उनले भने, ‘लगानी उठ्नेमा किन पनि ढुक्क छु भने, कोरोना महामारी साम्य भएपछि हामीले विदेशमा पनि प्रदर्शन गर्ने योजना बनाएका छौं ।’

    आफूले हङकङबाट ५० लाख र निर्देशक समेत रहेका लामाले बेलायतबाट ५० लाख उठाएर लगानी सुनिश्चित गर्ने योजना बनाएको उनले बताए । ‘हङकङ र यूके नेपाली फिल्मका लागि ठूला बजार हुन्’ उनी सुनिए, ‘कोरोना महामारी सामान्य भए विदेशी बजारमा फिल्म देखाउने हाम्रो योजना छ ।’

     

  • परमिताको गुनासो : काम गरेको पारिश्रमिक नपाउँदा थकित र दुःखित छु !

    परमिताको गुनासो : काम गरेको पारिश्रमिक नपाउँदा थकित र दुःखित छु !

    काठमाडौं । काम गरेबापत समयमै पारिश्रमिक नपाउनु नेपाली फिल्म र मोडलिङ क्षेत्रमा नयाँ कुरा हैन । स्टारदेखि भर्खरै संघर्ष गरिरहेका कलाकार समेत यो समस्याको भुक्तभोगी छन् ।

    गतसाता फिल्म चपली हाइटका कलाकारहरुले पारिश्रमिक नपाएको गुनासो सार्वजनिकरुपमै गरेका थिए । ‘चपली हाइट २’ कै अभिनेत्री तथा मोडल परमिता राणाले पनि पारिश्रमिक नपाएको गुनासो मंगलबार सामाजिक संजालमै व्यक्त गरेकी छिन् ।

    आफूले अहिलेसम्म काम गरेका मोडलिङ र अभिनय प्रोजेक्टबाट पारिश्रमिक नपाउँदा दुःखित र थकित भएको कुरा परमिताले इन्स्टाग्राम स्टोरीमा व्यक्त गरेकी छिन् ।

    सुरुदेखि अहिलेसम्म आफूलाई पारिश्रमिक नदिनेको काम सार्वजनिक गर्ने चेतावनी पनि उनले दिएकी छिन् । ‘मेरो अरु उपाय पनि छैन’ उनी लेख्छिन्, ‘फिल्म र मोडलिङमा नेपालमा लाग्न चाहनेलाई मेरो सुझाव छ कि यो दुःखद यथार्थ हो ।’

    मोडलिङ र अभिनय क्षेत्रमा आउनुअघि मानसिकरुपमै आफूलाई तयार पार्न समेत उनले सुझाएकी छिन् । ‘चपली हाइट २’ बाट ठूलो पर्दामा डेब्यु गरेकी परमिताले ‘म्यान फ्रम दी काठमाडौं’ लगायतमा काम गरेकी छिन् । उनी अन्तर्राष्ट्रिय मोडल समेत हुन् ।

  • ओमिक्रोन त्रास : दिल्लीका सिनेमा घरहरु बन्द, शाहिद कपुरको ‘जर्सी’ पोस्टपोन्ड

    ओमिक्रोन त्रास : दिल्लीका सिनेमा घरहरु बन्द, शाहिद कपुरको ‘जर्सी’ पोस्टपोन्ड

    मुम्बई । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण शाहिद कपुर स्टारर बलिउड फिल्म जर्सी अनिश्चितकालको लागि पोस्टपोन्ड भएको छ ।

    आगामी शुक्रबार रिलिज हुने पूर्वनिर्धारित मितिबाट प्रदर्शनलाई स्थगित गर्ने निर्णय भएको निर्मातालाई उध्दृत गर्दै बलिउड हंगामाले जनाएको छ । फिल्म सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्लाको पनि खण्डन गरिएको छ ।

    रिलिजको लागि दुई दिनमात्र बाँकी रहँदा मंगलबार प्रदर्शन स्थगित गर्ने निर्णय बाहिरिएको हो । फिल्मलाई हलमै रिलिज गर्ने र नयाँ प्रदर्शन मिति आगामी साता घोषणा हुने जनाइएको छ ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार कोरोनाविरुद्ध नयाँ र कडा प्रतिबन्धहरुको घोषणा गरेका छन् । अहिले राजधानी दिल्ली ओमिक्रोन भेरिएन्टको हटस्पट बनिरहेको छ ।

    मंगलबारदेखि दिल्लीका फिल्म हलहरु, मनोरञ्जन पार्क र स्पाहरु बन्द गरिएका छन् । पछिल्ला दुइ दिनमा दिल्लीमा भाइरस संक्रमण ०.५ प्रतिशतभन्दा माथि छ ।

     

  • बलिउड गायिका असिस कौरले काठमाडौंका दर्शक नचाउने

    बलिउड गायिका असिस कौरले काठमाडौंका दर्शक नचाउने

    काठमाडौँ । बलिउड गायिका असिस कौरले नेपाली राजधानीमा सांगीतिक प्रस्तुति दिने भएकी छिन् । जनवरी ८ मा दरबारमार्गस्थित क्लब प्लेटिनममा उनलाई सुन्न पाइने भएको हो । उनको कन्सर्टको नाम ‘राता लम्बिया नाइट विथ आसिस कौर’ राखिएको छ । फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो ।

    बलिउड सेलेव्रिटी भेट्ने र सँगै नाच्ने नेपाली दर्शकको चाहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका सीइओ शाहिल खानले बताए । गायिका कौरको ‘राता लम्बिया’ गीत अहिले हिट भएको र बजारको माहौल हेरेर उनलाई ल्याउन लागेको उनले जनाए । कन्सर्टमा कौरसहित नेपाली गायक याबेश थापाले समेत प्रस्तुति दिने भएका छन् । 

    कौरको ‘राता लम्बिया’ गीत हिट छ । उनले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन्् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।

    पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् ।

    केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा उनले स्वर दिएकी छिन् । कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आउने भएकी छिन् ।

  • रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’मा गरिमा (भिडियो)

    रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’मा गरिमा (भिडियो)

    काठमाडौँ। गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडिओ सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ।

    राजन इशानले संगीत संयोजन गरेको गीतले नेपालीपन प्रस्तुत गर्न खोजेको छ। एमबीबीएसकी बिद्यार्थी रुशाली भट्टराईको यो पहिलो गीत हो। सानैदेखि गायनमा रुचि राख्ने भट्टराई पढाईबाट केहि समय निकालेर गीत संगीतलाई निरन्तर समय दिदै जाने योजनामा छिन्।

    गीतको भिडियो उत्कृष्ट बनेको छ, यसलाई दर्शकले मन पराउनेमा गायिका भट्टराई आशाबादी छिन्। अब निरन्तर आफूलाई गायनमा अघि बढाउने गायिका भट्टराईको योजना छ ।

    निशान घिमिरेले निर्देशन गरेको भिडिओमा नेपाली मौलिक गीतमा डाँडाकाँडा तथा हिमाली दृश्यलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्। भिडिओमा मोडल गरिमा शर्मा फिचर्ड छिन्।

    सन्तोष राज बाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडिओ साईरस प्रोडक्सनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

  • ‘स्पाइडरम्यान’ले दुई सातामै नेपालमा कमायो ५.८० करोड, विश्व बक्सअफिसमा १ बिलियन डलर

    ‘स्पाइडरम्यान’ले दुई सातामै नेपालमा कमायो ५.८० करोड, विश्व बक्सअफिसमा १ बिलियन डलर

    काठमाडौं । मार्भल र सोनीको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा १४ दिनमा ५ करोड ८० लाख ग्रस कमाइ गरेको छ ।

    कोरोना महामारीयता नेपाली बक्सअफिसमा कुनैपनि फिल्मले कमाएको यो सर्वाधिक कमाइ हो । एप्पल इन्टरटेनमेन्टका अनुसार दोस्रो सप्ताहन्तसम्म टम हल्यान्ड स्टारर फिल्मले ४२ हलबाट उक्त कमाइ गरेको हो । पहिलो साता फिल्मले नेपालमा ४.७० करोड ग्रस कमाएको थियो ।

    दोस्रो सप्ताहन्तम्म कमाइमा १ करोड थप भएको छ । एप्पलका रुबेन श्रेष्ठले भने, ‘दोहोर्‍याएर फिल्म हेर्न आउने दर्शक धेरै छन् । जसको कारण राम्रो वर्ड अफ माउथ प्राप्त भएको छ ।’ मुलुकभर स्पाइडरम्यानको क्रेज राम्रो मिलेको समेत उनले बताए ।

    विश्व बक्सअफिसमा चाहिँ फिल्मले १ बिलियन डलरभन्दा बढी कमाइ गरेको भेराइटी म्यागजिनले जनाएको छ । उत्तर अमेरिकी बक्सअफिसमा चाहिँ क्रिसमस बिदामा फिल्मले ४६७.३ मिलियन डलर कमाएको छ ।

    विश्वभर कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास कायम रहेको बेला स्पाइडरम्यानको कमाइलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

  • अंग्रेजी नयाँवर्षदेखि नेपालमा जापानी फिल्म रिलिज हुँदै

    अंग्रेजी नयाँवर्षदेखि नेपालमा जापानी फिल्म रिलिज हुँदै

    काठमाडौं । सन् २०२२ सुरु भएसँगै नेपालमा पहिलोपटक जापानी फिल्मको व्यवसायिक रिलिज हुने भएको छ । एप्पल इन्टरटेनमेन्टले आगामी पुस ३० गते (जनवरी १४) मा जापानी फिल्म ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’लाई रिलिज गर्न लागेको हो ।

    सोमबार फिल्म रिलिजको घोषणा गर्दै एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने, ‘हामी नेपालमा नयाँ बजारको खोजी गर्न चाहन्छौं र दर्शकलाई नयाँ स्वाद दिन चाहन्छौं ।’

    नेपालमा पछिल्लो समय जापानी फिल्म र सिरिजका दर्शक र उनीहरुको बढ्दो चाहनालाई मध्यनजर गरेर फिल्मलाई हलमै रिलिज गर्न लागिएको हो । जापानी भाषा र अंग्रेजी सबटाइटलमा रिलिज हुने उक्त फिल्मलाई दर्शकले रुचाउने आशा लिइएको छ ।

    उक्त जापानी एनिमेटेड र सुपरहिरो फिल्मलाई केन्जी नागासाकीले निर्देशन गरेका हुन् । ‘माइ हिरो अकाडेमिया मांगा’ सिरिजकै फिल्म रहेको पछिल्लो फिल्म सुपरहिरोको कथामा आधारित छ ।

    जापानी फिल्म स्टारहरु दाइकी यामासिता, नोबुहिको ओकामातो र युकी काजीले मुख्य पात्रमा स्वर दिएका छन् । आतंकवादी योजनालाई रोकेर मानवता जोगाउन देकु नाम सुपरहिरो र उसका साथीहरुले गर्ने संघर्ष फिल्मको कथावस्तु हो ।

    अमेरिका, क्यानडासहितका केही अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको फिल्मले अहिलेसम्म ४१ मिलियन डलरभन्दा बढीको कमाइ गरेको छ । समीक्षकले समेत यसलाई रुचाएका छन् ।