Category: कलाप्रेस

  • बझाङकी हेवनले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

    बझाङकी हेवनले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

    काठमाडौं । मिस एण्ड मिस्टर टेन इन्टरनेशनल नेपाल २०२१’ को फोटोजेनिकतर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छन् । मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा २५ प्रतियोगीलाई पछि पार्दै फरक क्षमता भएकी हेवनले फोटोजेनिकतर्फको उपाधि हात पारेकी हुन् । समग्रमा उनी सो कार्यक्रममा उपविजेता बनेकी छन् ।

    समाजमा फरक क्षमता भएका व्यक्तिले केही पनि गर्न सक्दैन भन्नेका लागि हेवन बलियो उदाहरण बन्न सक्ने उनका बुबा रमेश उपाध्यायले बताए । ‘अझै पनि समाजमा फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ । उनीहरूलाई अपहेलना गर्ने, घृणा गर्ने र कार्य बोझका रूपमा लिने परिपाटी कायमै छ, यस्तो अवस्थामा हेवन उदाहरणीय पात्र बन्न सक्छिन् । उनले हासिल गरेको उपलब्धिले खुसी छौं,’ रमेशले कुरा गर्दै भने ।

    हेवनकी आमा शान्ति उपाध्याय समाज बदल्न स्वयम् आफू नै जाग्नुपर्नेमा जोड दिन्छिन् । उनले आफ्नो छोरीले हासिल गरेको उपलब्धिले समाजमा रहेको विभेदको खाल्डो केही हदसम्म पुर्नेमा सहयोग पुग्नेमा पनि विश्वास व्यक्त गरिन् । ‘समाज बदल्नुपर्छ भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ, समाज बदल्न आफूहरूबाट नै सुरु गर्नुपर्छ भनेर मुखले मात्रै ठीक्क पार्ने परिपाटी छ । तर, वास्तविक रूपमा व्यवहारमा कसैले पनि देखाएको हुँदैन,’ शान्तीले भनिन्, ‘फेरि बझाङ जस्तो दुर्गम बस्तीमा छोराछोरीबीच हुने विभेदको ठूलो खाल्डो छ । यसलाई चिर्नका लागि पनि आफूहरूले एउटै छोरीमा चित्त बुझाएका हौँ । अहिले छोरीको प्रगति गरेको देख्दा खसी छु ।’

    हेवनकी आमा शान्ती स्वास्थ्यकर्मी र बुबा रमेश शिक्षण पेसामा आवद्ध छन् । ५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत् छिन् । उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् । यसअघि हेवन भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ(मौनता सहितको जीवन)कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा उनी प्रथम भएकी हुन् ।

    नेपालको तर्फबाट सहभागी भएकी हेवन प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी थिईन् । सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड-१९ काेराेना भाइरसको कारण लकडाउन भएका बेला बहिरा व्यक्तिले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो । जसमा जेष्ठ नागरिक, बालबालिका तथा अन्य अपांगता भएका व्यक्तिकाे साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिले गरेको भिडियो बनाउनुपर्ने भनिएको थियो ।
    त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।

    वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले बहिरा व्यक्तिमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ । बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।

    को हुन् हेवन ?

    हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् । कैलालीको धनगढीमा जन्मेकी उनीमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो । उनीमा त्यस्तो समस्या देखिएपछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्नकै लागि पनि अर्को सन्तानको तयारी गरेनन् । ५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत् छिन् । उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् ।

  • ‘कठ्पुतली’ बन्यो महामारीयताकै सर्वाधिक कमाउने नेपाली फिल्म

    ‘कठ्पुतली’ बन्यो महामारीयताकै सर्वाधिक कमाउने नेपाली फिल्म

    काठमाडौं । मिश्रित समीक्षाको बाबजुद ‘कठ्पुतली’ कोभिड-१९ महामारीयता सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ ।

    वितरकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार कार्म स्टारर फिल्मले सुरुआती चार दिनमा १ करोड २० लाख ग्रस कमाइ गरेको छ ।

    पहिलो दिनमै ६० लाख ग्रस बराबरको ओपनिङ गरेको फिल्मले शनिबार पनि स्थिर कलेक्सन गर्न सक्यो । आइतबार र सोमबारको ग्रस कमाइ जोड्दा फिल्मको कूल कलेक्सन करोडभन्दा माथि हुन आउँछ ।

    भीमसेन लामा निर्देशित फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरबाट प्राप्त प्रशंसा र मिश्रित वर्ड अफ माउथको प्रभाव फिल्मको कमाइमा देखिएको छ ।

    दक्षिण भारतीय पिल्म पुष्पा र हलिउड फिल्म स्पाइडरम्यानको दबदबा बाबजुद नेपाली फिल्म कठ्पुतलीले राम्रो कमाइ गर्न सकेको हो । दुईवर्षअघिदेखि सुरु भएको महामारीयता सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्म पनि कठ्पुतली बनेको छ ।

    फिल्मको प्राविधिक पक्षलाई दर्शकले रुचाएका छन् ।

     

  • जब वर्षाले इन्स्टाग्रामबाट लुकाइन् पति संजोगसँगका तस्बिर !

    जब वर्षाले इन्स्टाग्रामबाट लुकाइन् पति संजोगसँगका तस्बिर !

    काठमाडौं । वर्षा राउत र संजोग कोइरालाको जोडीलाई नेपाली मायानगरीमा उदाहरणीय जोडीको रुपमा पनि लिइन्छ । लामो समयको प्रेम सम्बन्धलाई बिहेमा बदलेको यो जोडी फिल्मसँगै व्यवसायिक गतिविधिमा पनि उत्तिकै सक्रिय छ ।

    सामाजिक संजालमा पनि यो जोडीको निकै चर्चा हुने गर्छ । तस्बिरदेखि भिडिओसम्म पनि उनीहरुले सँगै पोस्ट गर्छन् । तर, सम्बन्धलाई लिएर यो जोडी पुनः चर्चामा छ ।

    त्यो चर्चा वर्षाले पति तथा अभिनेता कोइरालासँगका तस्बिरलाई इन्स्टाग्रामबाट आर्काइभ गरेपछि (लुकाएपछि) सुरु भएको हो । उनले व्यवसायिकबाहेक व्यक्तिगत क्षणका तस्बिरलाई आर्काइभ गरेपछि उनीहरुको सम्बन्धलाई लिएर अनुमान सुरु भएका हुन् ।

    यो कुरालाई लिएर मिडियामा चर्चा सुरु हुन थालेपछि भने वर्षाले आर्काइभबाट संजोगसँगका तस्बिरलाई लाइभमा ल्याएकी छिन् । ‘हाम्रो झगडा पर्दा मैले सबै फोटोलाई आर्काइभमा राखेकी हुँ । कहिलेकाहिँ त श्रीमानलाई घुर्की देखाइहालिन्छ नि ।’

    निकट स्रोतका अनुसार संजोग पनि वर्षाको उक्त कार्यबाट असन्तुष्ट छन् ।

  • सोनमसँग ब्रेकअपपछि गायक सुशान्तसँगको अफेयरमा आना !

    सोनमसँग ब्रेकअपपछि गायक सुशान्तसँगको अफेयरमा आना !

    काठमाडौं । पछिल्लो समयकी चर्चित नायिका आना शर्मा फिल्मसँगै रिलेसनसिपले पनि बेलाबखत चर्चामा आउँछिन् । केहीवर्षदेखि उनी यति समूहका सोनम शेर्पासँगको प्रेममा थिइन् ।

    सामाजिक संजालमै ‘जेरी’ फेम्ड नायिका आना र सोनमबीचको रोमान्टिक तस्बिर सार्वजनिक पनि भएका थिए । अहिले भने यी दुईबीचको रिलेसनसिप टुंगिएको खबर छ ।

    आना र गायक सुशान्त केसी अफेयरमा रहेको खबर छ । यी दुई अहिले अंग्रेजी नयाँवर्ष सन् २०२२ सेलिव्रेसन गर्न मुस्ताङमा छन् । सुशान्त र आनाले फेसबुक र इन्स्टा स्टोरीमा घुमघामका तस्बिर पनि सेयर गरिरहेका छन् ।

    केहीअघि आनालाई लिएर सुशान्तले निर्माण गरेको म्युजिक भिडिओ पनि सार्वजनिक भएको थियो । स्वप्न सुमनसँग सुशान्तले सहकार्यमा रिलिज गरिएको भिडिओमा आना फिचर्ड थिइन् ।

    जेरी फिल्म रिलिजताका आना र अनमोल प्रेममा थिए । तर, अनमोलको नाम साम्राज्ञीसँग जोडिएपछि आना एक्लिएकी थिइन् । अनमोलसँग छुटेपछि आना सोनमसँग जोडिएकी थिइन् ।

    सन् २०१६ मा अष्ट्रेलियाबाट ब्यापार शिक्षा पढेर स्वदेश फर्किएका सुशान्त अहिले सांगीतिक कर्ममा सक्रिय छन् ।

  • ओमिक्रोन त्रासले ‘प्रेमगीत ३’ रिलिज पुनः स्थगित

    ओमिक्रोन त्रासले ‘प्रेमगीत ३’ रिलिज पुनः स्थगित

    काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित भएको छ ।

    निर्माता सन्तोष सेनले सोमबार राती विज्ञप्ति जारी गर्दै कोरोनाको विकसित परिस्थितीको कारण फिल्म रिलिजलाई स्थगित गर्नुपरेको बताएका छन् ।

    यसअघि यो फिल्मलाई फागुन १३ गते रिलिज गर्ने तयारी थियो । भारतमा कोभिड संक्रमणमा भएको वृद्धिको कारण फिल्म हलहरु बन्द भएकाले यस्तो निर्णय गर्नुपरेको उनले जनाएका छन् ।

    ‘अब नेपाल भारत र विश्वभरी अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हौं’ निर्माता सेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    दुईवर्षअघि रिलिज तयारीमा रहेको फिल्म त्यतिबेला पनि लकडाउनको कारण स्थगित भएको थियो ।

     

  • ओमिक्रोन त्रासले नेपालमा ‘किंग्सम्यान’ रिलिज स्थगित, माघपछिका फिल्मको रिलिज पनि अन्यौलमा

    ओमिक्रोन त्रासले नेपालमा ‘किंग्सम्यान’ रिलिज स्थगित, माघपछिका फिल्मको रिलिज पनि अन्यौलमा

    काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण प्रतीक्षित हलिउड फिल्म ‘किंग्स म्यान’को नेपाल प्रदर्शन मिति स्थगित भएको छ ।

    फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले सोमबार फिल्मको पूर्वनिर्धारित रिलिज डेट स्थगित भएको जनाएको हो । एप्पलकी जेनिश पहारीका अनुसार कोरोनाको परिस्थिती साम्य नभएसम्म नयाँ रिलिज डेट घोषणा हुनेछैन ।

    जनवरी १४ मा रिलिज डेट घोषणा गरिएको किंग्सम्यान स्थगित भएपनि उक्त मितिमा एप्पलकै अर्को फिल्म ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज् मिसन’ भने रिलिज हुनेछ । पहिलोपटक नेपालमा जापानी फिल्मको व्यवसायिक प्रदर्शन हुन लागेको हो ।

    ‘कोभिडको परिस्थितीले पनि अन्यौल भएको र सोही मितिमा हाम्रो अर्को फिल्म आउने भएपछि तत्काल रिलिज नहुने निर्णय गरेका हौैं’ पहारीले नेपाल प्रेसलाई भनिन्, ‘परिस्थितीमा सुधार नभएसम्म हामी रिलिजको जोखिम लिन चाहँदैनौं ।’

    ‘किंग्स म्यान’ अमेरिका र बेलायतमा रिलिज भैसकेपनि भारत र नेपालमा चाहिँ रिलिज भएको छैन । भारतमा ओमिक्रोन त्रासले फिल्म हलहरु बन्द भएपछि किंग्सम्यानसहित दक्षिण भारतीय फिल्म आरआरआर पनि रोकिएको छ ।

    किंग्सम्यान स्थगित हुँदाको फाइदा सो मितिमा रिलिज हुने फिल्म चपली हाइट ३ लाई हुनेछ । निर्देशक निकेश खड्काले निर्धारित मितिमै रिलिज हुनेतर्फ संकेत गरे । ‘पुस मसान्तसम्म कोरोनाको परिस्थिती जटिल हुन्छजस्तो लाग्दैन’ नेपाल प्रेसलाई उनले भने ।

    माघपछिका फिल्मको रिलिजमा अन्यौल

    स्वास्थ्य मन्त्रालयले माघ दोस्रो सातादेखि नेपालमा कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने बताएसँगै माघ महिनापछिका फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु भएको छ ।

    माघ १९ मा रिलिज मिति घोषणा गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति अब कोरोनाको परिस्थितीमै निर्भर हुनेछ ।

    ‘कोरोनाको स्थिती कस्तो हुन्छ त्यही अनुसार हामी अघि बढ्ने तयारीमा छौं’ नेपाल प्रेससँग नायिका तथा निर्मात्री पूजा शर्माले भनिन्, ‘हाम्रो जोड रिलिज गर्नेमै छ तर, सबै कुरा परिस्थितीमा निर्भर हुनेछ ।’

    माघ २८ मा सौगात मल्लको ‘मन्त्र’, फागुन १३ मा लप्पन छप्पन २ र प्रेमगीत ३, फागुन २८ मा सम्हालिन्छ कहिले मन र आकाशे खेती, चैत ४ मा चिसो एस्ट्रे, चैत ११ मा हेलो जिन्दगी, चैत १८ मा पासो, चैत २५ मा ए मेरो हजुर ४, बैशाख २३ मा कबड्डी ४ र लक्का जवान तथा बैशाख ३० मा चिसो मान्छेले प्रदर्शन मिति घोषणा गरेका छन् ।

    यी सबै फिल्म निर्धारित मितिमै रिलिज हुन्छन् या हुँदैनन् भन्ने कुरा कोभिडको तेस्रो लहरमा निर्भर हुनेछ । भारतमा कोभिडको तेस्रो लहर सुरु भएसँगै फिल्म पोस्टपोन्ड हुन थालेका छन् ।

    नेपालमा कोभिडको पछिल्लो अवस्था कस्तो छ ?

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाको औषत आर भ्यालु १.०४ प्रतिशत पुगेको छ । एक प्रतिशतभन्दा बढी आरभ्यालु पुगेमा संक्रमण उकालो लागेको बुझिन्छ र एकभन्दा तल आर भ्यालु भए महामारी नियन्त्रणमै रहेको बुझ्न सकिन्छ । आर भ्यालूको अर्थ एकजना संक्रमितले कति जनालाई भाइरस सारिरहेको छ भन्ने हो । आर भ्यालू २ प्रतिशत पुग्दा दोस्रो लहरको बेला निषेधाज्ञा सुरु भएको थियो ।

    नेपालमा अहिलेसम्म ३ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भैसकेको छ । त्यसपछिका परीक्षणमा एस जिन नदेखिएको बताइएको छ । यसको अर्थ ओमिक्रोन भेरिएन्ट पुष्टि हुने सम्भावना उच्च छ भन्नु हो ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले आर भ्यालु एक प्रतिशतभन्दा बढी हुनु तेस्रो लहरको पूर्वसंकेत भएको बताए । ‘माघको दोस्रो साता महामारी तीव्र बन्ने प्रारम्भिक आंकलन गरिएको छ ।’

  • नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सन लगनगाँठो कस्दै

    नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सन लगनगाँठो कस्दै

    काठमाडौं । नेपाल आइडल रियालिटी सो धेरैजनाको लागि गायन प्लेटफर्म बन्यो । तर, सन्ध्या जोशी र उल्सन श्रेष्ठ यसका अपवाद बने । यी दुईका लागि नेपाल आइडल गायन प्लेटफर्मभन्दा पर थियो । अर्थात, माया बाँध्ने प्लेटफर्मको रुपमा यी दुईले नेपाल आइडललाई प्रयोग गरे ।

    उक्त रियालिटी सोबाट अंकुराएको उनीहरुको प्रेम अब बिहेमा टुंगिने भएको छ । माघ २७ गते यी दुईजनाले आइडलदेखि सुरु भएको प्रेमलाई वैवाहिकस्वरुपमा दिने भएका छन् । विगत दुईवर्षदेखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले ‘सुस्त’ लगायतका केही गीतमा सहकार्य पनि गरेका छन् ।

    सन्ध्यामा आइडलमा अन्तिम १० मा प्रवेश गरेकी थिइन् भने उल्सन अन्तिम आठमा । यो जोडी अहिले बिहेको तयारीमा जुटेको छ ।

  • इन्दुज भ्याली फिल्म फेस्टिभलमा ‘बुलबुल’लाई तीन र ‘सरितालाई दुई अवार्ड

    इन्दुज भ्याली फिल्म फेस्टिभलमा ‘बुलबुल’लाई तीन र ‘सरितालाई दुई अवार्ड

    काठमाडौँ । स्वस्तिमा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको सोसल ड्रामा फिल्म ‘बुलबुल’ले दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभल (इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल)मा तीन अवार्ड जितेको छ । तीनवर्षअघि प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित फिल्मले निर्देशन, अभिनेता र अभिनेत्री विधामा जित हासिल गरेको हो ।

    निर्देशकको रुपमा विनोद पौडेलले अवार्ड जिते भने फिल्मबाट स्वस्तिमा खड्का र मुकुन भुसालले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते ।अनलाइन चलेको फेस्टिभलमा नेपालबाट सहभागी भएको इटलियन फिल्म ‘सरिता’ले पनि दुई अवार्ड जित्यो ।

    फिल्म सरिताले कोरियोग्राफी र पटकथा विधामा दुई अवार्ड जितेको हो । यो फिल्मलाई सर्जियो बास्सोले निर्देशन गरेका हुन् । फिल्मको छायांकन भने रविन आचार्यले गरेका हुन् । साउथ एसियाका विभिन्न सहरमा आयोजना गर्ने लक्ष्यसहित सन् २०१९मा सुरु भएको यो फेस्टिभल काठमाडौँमा पनि आयोजना गर्ने आयोजकको तयारी छ ।

  • पोखरामा विद्यालय नाटक महोत्सव हुँदै, १६ नाटक छानिए

    पोखरामा विद्यालय नाटक महोत्सव हुँदै, १६ नाटक छानिए

    राजाराम पौडेल/पोखरा

    पोखरामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म विद्यालय नाटक महोत्सव आयोजना हुने भएको छ । पोखरा थिएटरले आयोजना गर्न लागेको यो दोस्रो संस्करणको महोत्सव गण्डकी प्रदेश स्तरिय विद्यालय नाट्य महोत्सव हो ।

    महोत्सवमा १६ नाटक छानिएका छन् । प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छानिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति आदिलाई आधार मानेर छनोट कमिटिले १६ नाटकलाई छनोट गरेको हो’ उनले भने ।

    उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन थिए ।

    छानिएका नाटकलाई १५ दिनको रिहर्सल अवधि दिइने भएको छ । त्यसपछि छनौट कमिटिले नाटकको अवलोकन गर्ने छ । ती मध्येबाट १० नाटकलाई अन्तिम चरणको लागि छानिने भएको छ । यसरी छानिएका नाटक आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

    पहिलो चरणमा कास्की जिल्लाबाट तीन नाटक छानिएका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको ‘शान्तिको अशान्ति’, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ्ग स्कूलको ‘पीडा’, सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको ‘आरोह अवरोह’ शीर्षकको नाटक छन् ।

    तनहुँ जिल्लाबाट दुई नाटक छानिएका छन् । टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको ‘नाम बिनाको चिर्कटो’ र आकाश अधिकारीको लेखन तथा नारायणी अधिकारीको निर्देशनमा ‘आदिकवि भानुभक्त क्याम्पसको समय संवाद’ नाटक छन् ।

    लमजुङ जिल्लाबाट तीनवटा नाटक छनौट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको ‘धनवहादुर’। मीरा नेपालीको लेखन तथा प्रतिभा अधिकारीको निर्देशनमा ‘शैलपुत्री’, नमुना माध्यमिक विद्यालयको ‘नारीको सम्मान मानवताको पहिचान’ र सूर्यबहादुर केसीको लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको ‘जिउँदा लाशहरु’ नाटक छन् ।

    गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ति माध्यमिक विद्यालयको ‘एक समर्पित छोरा’ शीर्षकको नाटक छन् ।

    नवलपुर जिल्लाबाट चारवटा नाटक छानिएका छन् । जसमा लीलाबबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको ‘हराएको खुशी’, डिला भट्टराई, लक्ष्मी सापकोटा र विष्णु काफ्लेको लेखन तथा सृष्टि भट्टराईको निर्देशनमा सरस्वती माध्यमिक विद्यालयको असल बुहारी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयो सक्षम छात्रा शीर्षकको नाटक छन् ।

    म्याग्दीबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको ‘बालविवाह’ शीर्षकको नाटक छानिएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन् । बागलुङबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पीडा छानिएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

    पर्वतबाट न्यू होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शीर्षकको नाटक छनोटमा परेको छ । मीना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेकी छिन् ।

    ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् । गतवर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालयस्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो ।

  • राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले रक्सी चढाएर माफी मागे

    राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले रक्सी चढाएर माफी मागे

    काठमाडाैं । गायक राजेशपायल राईमाथि दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सस्कृती अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

    उनले माफी मागेको तस्बिर सार्बजनिक भएको छ जहाँ दुबै जना खुसी देखिन्छन् । शनिबार अमेरिकामा आयोजित नयाँवर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए ।

    भिडियोमा शेर्पाको व्यवहारले गायक राई आक्रोशित दखिए पनि आयोजकले भने घटनाको बचाउ गरेको थियो । भिडियो सार्वजनिक भएपछि शेर्पाको त्यो हर्कतको सर्वत्र आलोचना भएको थियो ।

    अमेरिकाका केहि कार्यक्रम सकाएर गायक राई केहिदिनमै स्वदेश फर्कँदैछन् ।

  • गायक ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ रिलिज (भिडिओ)

    गायक ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ रिलिज (भिडिओ)

    काठमाडौं । ‘सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा नयाँ गीत ‘सिमल भुवा’ बजारमा रिलिज गरेका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडिओ निर्देशन ओरिअन टिमले गरेको हो । कन्सेप्ट गायक ओकिलीकै छ ।

    प्रियारानी लामा र प्रज्वल श्रेष्ठ भिडिओमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडिओमा समावेश छ। अनिश ओकिली युट्युब च्यानलमा भिडिओलाई हेर्न सकिन्छ । तीनदशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्यालबाट हेरी लगायत गीत चर्चित छन् ।

    हेर्नूस गीत :

  • गायिका रजिना रिमाल र गायक नबिन खनालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक (भिडियो)

    गायिका रजिना रिमाल र गायक नबिन खनालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ‘तिमी पुग्यौ धेरै टाढा’ गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।

    गीतको भिडियोमा दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत बुढा सुब्बा डिजिटल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
    Timi Pugyou Dherai Tadha – By Rajina Rimal, Nabin Khanal – Official Music Video – Ft. Drishya, Rusha

  • भाइरल हुन गायकमाथि आक्रमण !

    भाइरल हुन गायकमाथि आक्रमण !

    काठमाडौं । देशबाहिरको नेपाली डायस्पोरामा अत्यधिक डिमान्डेड गायकमध्ये पर्छन् राजेशपायल राई । कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि उनले विदेशको स्टेजमा गाउन पाएका थिएनन् । अहिले परिस्थिति सहज भएसँगै उनी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगे । तर, एउटा नमिठो अनुभव संगालेका छन् ।

    अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउँदै गर्दा राजेशपायलले नसोचेको घटना भयो । दर्शकदीर्घाबाट एकजना स्टेजमा उक्लिएर उनलाई दुर्व्यवहार गरे । घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, राजेशपायलमाथि दुर्व्यवहार गर्ने को थिए र उनको उद्देश्य के थियो भन्ने अझै स्पष्ट भएको छैन । यद्यपि, ती व्यक्तिले भाइरल हुनकै लागि यो हर्कत गरेको आशंका राई स्वयम्ले व्यक्त गरेका छन् ।

    यो पनि पढ्नुहोस् : राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडिओ)

    उक्त कार्यक्रममा सहभागी भएका एक नेपालीका अनुसार ती व्यक्ति मानसिकरूपमा स्वस्थ होइनन् ।

    ‘हामीले बुझ्दा उसको मानसिक अवस्था ठीक नरहेको र भाइरल हुनका लागि पहिले पनि यस्ता हर्कतहरू धेरै गरेको पाइयो,’ उनले भने, ‘अहिले चाहिँ साँच्चै सफल पनि भयो ।’

    भएको के थियो ?

    ‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि…’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

    ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश फुत्किन खोजे । त्यसपछि ती युवकले उनलाई घाँटीमै न्याकेर लछार्न खोजेको खोजेको भिडिओमा देखिन्छ ।

    दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, जबरजस्ती नै गरेपछि हल्लाखल्ला भयो ।

    त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा कैद भएको छैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि कुटपिट भने गरेका थिएनन् । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकाले ।

    उक्त अप्रत्याशित हमलापछि पनि कार्यक्रम विथोलिएन । राजेशपायलले आफूलाई सम्हाल्दै निरन्तर २ घन्टा गीत गाएका थिए । बीचबीचमा हँसिमजाक समेत गरेका थिए । ‘भाइरलका लागि यस्तो हुन्छ यार’ भन्दै उनले फेरि ‘अञ्जानैमा भुल भयो कि…’ लाई निरन्तरता दिए । तनावका कारण गीत गाउँदै गर्दा एकपटक उनले ‘लिरिक्स’ भुलेका थिए ।

    राईले भने- उहाँले आत्महत्या गर्न सक्नुहुन्छ

    गीत टुंग्याइसकेपछि राजेशले घटनाबारे आफ्नो भनाइ राखे । राईले यस्तो भनेका थिए :-

    थ्यांक्यू…. केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वालामुखी पनि निल्छु, पचाउँछुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।

    राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।

    आज नयाँ वर्षको दिन, सबै रिसरागहरू डिलिट होउन् । तपाईंहरूले चाहेको पूरा होस् । पैसा त आज कमाइन्छ, भोलि हुँदैन । तर, यो जुन माया-प्रेम छ । त्यो भोलि पनि रहन्छ । मलाई केही छैन । टिकटकमा भाइरल हुनका लागि त्यस्तो गर्नुभएको होला । पछि सोचेर आफैं आत्महत्या गर्नुहुन्छ जस्तो लाग्छ ।

    आयोजक भन्छन्- क्रेजी फ्यान हुन्, ठूलो घटना होइन

    कार्यक्रमका आयोजकहरूले भने यो घटनालाई सामान्य मानेका छन् । राजेशपायललाई दुर्व्यवहार गर्ने व्यक्ति उनकै ‘डाइहार्ड फ्यान’ भएको र अंकमाल गर्न मात्र खोजेको उनीहरूको प्रतिक्रिया छ ।

    अमेरिकामा सञ्चारकर्मी शान्तिराज राईले आयोजकसँग कुराकानी गरेका थिए । आयोजकमध्येका केशव राई यसो भन्छन् :-

    यसलाई ठूलो इस्यू बनाउन आवश्यक छैन । राजेश पायलको क्रेजबारे हामी सबैलाई थाहै छ । सबै उहाँलाई भेट्न, छुन खोज्छन् । हामीले स्टेजमा पुर्‍याउन र स्टेजबाट बाहिर लैजान पनि कम्ती गाह्रो भएको थिएन ।

    ती व्यक्ति पनि राजेशपायलको एकदमै क्रेजी फ्यान रहेछन् । मैले बुझेअनुसार उनले अगाडिदेखि नै राजेशपायललाई भेट्न र फोटो खिच्न खोजिरहेका थिए । धेरैपटक स्टेजमा उक्लिन खोज्दा उनलाई हाम्रो साथीहरूले रोकेका रहेछन् ।

    त्यो घटना हुँदा न म पनि मोबाइलबाट भिडिओ खिचिरहेको थिएँ । उनले स्टेजमा गएर अंगालो हालेका मात्रै हुन् । नचाहिने हल्ला फैलाउने काम भयो । कतिपयले भिडिओ एडिट गरेर, दुनियाँ कहानी बनाएर हालेका छन् । तर, राजेशपायललाई केही पनि भएको छैन । उहाँले त्यसपछि पनि दुई घणुटा निरन्तर गाउनुभयो । अरुबेला भन्दा लामो समय गाउनुभयो ।

    यो एउटा सामान्य घटना हो । कार्यक्रम भव्य र सभ्य भएको छ । कोही फ्यानहरू यस्तै हुन्छन् । अनौंठो मान्नु पर्दैन ।

  • विश्वकै लामो ‘लभलेटर’ काठमाडौंमा आइपुग्यो : अन्तरीक्षमा पनि पठाउने तयारी

    विश्वकै लामो ‘लभलेटर’ काठमाडौंमा आइपुग्यो : अन्तरीक्षमा पनि पठाउने तयारी

    काठमाडौं । विश्वकै सबैभन्दा लामो प्रेमपत्र मध्येको एक ‘द वल्र्ड लेटर’ नेपाल आइपुगेको छ ।

    २३ हजार शब्द समेटिएको उक्त लभलेटर बोकेर विश्वयात्रामा निस्किएकी फ्रेन्च-इरानी कलाकार कोकोभान डे बेनकालिज काठमाडौं आइपुगेकी हुन् । लभलेटरको लम्बाइ ५०० मिटर छ ।

    यसैसाता उनले बसन्तपुर र पाटन दरबार स्क्वायरमा प्रेमपत्र प्रदर्शन गरिन् । ४ वर्षदेखि विश्वयात्रामा निस्किएकी उनले यसबीचमा ४० भन्दा बढी सहरहरु भ्रमण गरेकी छिन् ।

    नेपाल आफ्नो १२ औं भ्रमण मुलुक भएको उनले बताएकी छिन् । यसअघि उनले विश्वका विभिन्न सहरमा लभलेटर प्रदर्शन गरिसकेकी छिन् । नेपालमा रहँदा उनले वसन्तपुर र पाटन दरबार स्क्वायरमा पनि प्रेमपत्र प्रदर्शन गरिन् जहाँ नेपालीहरुले पनि सन्देश लेखे ।

    ‘आउनूस र विश्वको लागि पत्र लेख्नूस अनि विश्व कलाको हिस्सा बन्नूस’ उनले भनेकी छिन् । विश्वको लागि लेखिन प्रेमपत्रलाई विश्वले नै लेखिनुपर्ने उनको धारणा छ ।

    सन् २०१७ को मे महीनामा सडकमा बसेर आफूले प्रेमपत्र लेख्दा एउटा अपरिचित व्यक्तिले पनि केही कुरा लेखेको र त्यो क्षण नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको उनले बताएकी छिन् । भिडियो अन्तवार्तामा कुरा गर्दै उनले लभलेटरको डिजिटल कपी रकेटमार्फत अन्तरीक्षमा पठाउने योजना समेत रहेकी बताएकी छिन् ।

  • ‘अब दबाबबाट मुक्त भएर मिस वर्ल्ड फिनालीमा प्रतिस्पर्धा गर्छु’

    ‘अब दबाबबाट मुक्त भएर मिस वर्ल्ड फिनालीमा प्रतिस्पर्धा गर्छु’

    काठमाडौं । कोरोनाभाइरस महामारीले संसारका ठूला इभेन्ट अनिश्चितजस्तै छन् । तरपनि, कालो बादलमा चाँदीका घेराको सुखद आशामा नयाँवर्ष सन् २०२२ लाई स्वागत गर्न विश्व जुटेको छ ।

    चर्चा गरौं मिस वर्ल्ड प्रतियोगिताको । विश्वकै सर्वोच्च सुन्दरी प्रतियोगिताको ७० औं संस्करणको ग्रान्ड फिनाली अमेरिकी टापु राज्य पुएर्तो रिकोमा गत पुस १ गते आयोजनाको तयारी थियो । तर, भाइरस संक्रमणले फिनाली रोकिएन मात्र प्रतियोगितालाई नै धकेलिदियो ।

    यदि भाइरस महामारीको अवस्थामा सुधार भए आगामी मार्च १६ अर्थात चैत २ गते मिस वर्ल्डको ग्रान्ड फिनाली हुने योजना छ । फिनालीको एकदिनअघि प्रतियोगिता नै स्थगित गरिएपछि नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेकी नम्रता श्रेष्ठ अहिले स्वदेश फर्किएकी छिन् ।

    अन्तिम ३० भित्र प्रवेश गरेकी नम्रताले यसैसाता नेपाल प्रेससँग खुशि बाँडिन् । अमेरिकाबाट फर्किएर एकसाता घरमै आइसोलेसनमा बसेकी नम्रताको अबको ध्यान मिस वल्र्डको फिनालीमा कसरी उत्कृष्ट प्रस्तुति दिने, तयारी र उत्साहलाई कसरी कायम राख्नेतर्फ केन्द्रित हुनेछ ।

    साथै, नेपालले अघिल्ला संस्करणमा जित्दै आएको दुईवटा विधाहरु ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा पनि जितलाई निरन्तरता दिनुमा नम्रता केन्द्रित हुनुपर्नेछ ।

    फिनालीको एकदिनअघि उनले कस्तो महसुस गरिन् ? उनको जवाफ छ : पहिले उत्साहसँगै दवावमा पनि थिएँ । तयारी गरेकी थिएँ । त्यो समय मेरा लागि आँखा खोल्ने क्षण थियो । अब दवावबाट मुक्त भएर जान्छु । अहिले तयारी गर्न समय छ । पहिलेजस्तो दवाव छैन ।’ तर, नम्रता स्वयमलाई लाग्छ उनले मेन्टालिटीमा फरक ल्याउनुपर्छ । ‘पहिले दवाव र डर थियो । अब जाँदा प्रेसर चाहिँ हाल्दिन । लजु ढंगले जान्छु’ उनले आफू मानसिकरुपमा कसरी तयार हुनुपर्छ भन्नेबारे बोलिन् ।

    अश्चितता, आउँदो फिनाली, प्रतिस्पर्धा र अपेक्षाको दवावबीच नम्रताले आगामी फिनालीमा कस्तो तयारी गर्लिन् ? यी आयाममा रहेर नम्रताले हालैको एकदिन हिडन ट्रेजरको ललितपुरस्थित कार्यालयमा नेपाल प्रेससँग भलाकुसारी गरेकी छिन् ।

  • काठमाडौंमा कोरियाली पप क्रेज : तन्नेरीको कोरियन स्टाइल (तस्बिरहरु)

    काठमाडौंमा कोरियाली पप क्रेज : तन्नेरीको कोरियन स्टाइल (तस्बिरहरु)

    काठमाडौं । नेपाली तन्नेरीमाझ दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज कस्तो छ ? शनिबार राजधानीमा पहिलोपटक आयोजना भएको ओताकु जात्रा २०२२ लाई हेर्दा थाहा लाग्छ ।

    कोरियाली पप सेलेव्रिटी र फिल्मका पात्रको शैली र गेटअपमा सजिएका नेपाली फ्यानहरुले काठमाडौंमा पप-कल्चर फेस्टिभल आयोजना गरेका हुन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा नयाँवर्ष २०२२ को अवसरमा फेस्टिभल आयोजना गरिएको हो ।

    एनिमेसन, कमिक, गेम र पप कल्चरको गेटअपमा फ्यानहरु सजिएका थिए । नेपालमा पछिल्लो समय कोरियाली पप कल्चरमा व्यापक वृद्धि भएको छ । कोरोना महामारीमा सुधार भए कोरियाली फिल्मलाई समेत नेपालमा रिलिज गर्ने तयारी भएको छ ।

  • ‘आरआरआर’ फिल्म रिलिज पोस्टपोन्ड

    ‘आरआरआर’ फिल्म रिलिज पोस्टपोन्ड

    काठमाडौं । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म पोस्टपोन्ड भएको जानकारी निर्देशक राजामौलीले दिएका छन् ।

    विज्ञप्ति जारी गर्दै उनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको स्थिती र हलहरु क्रमशः बन्द हुँदै गएकाले फिल्मलाई पोस्टपोन्ड गर्नुपरेको जनाएका छन् ।

    उचित समयमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । ‘सहि समयमा हामीले भारतीय सिनेमाको गौरवलाई फिर्ता गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ ।

    बाहुबली फेम्ड निर्देशक राजामौलीको यो फिल्म नेपालमा समेत बहुप्रतीक्षित थियो ।

  • राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडिओ)

    राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडिओ)

    न्यूयोर्क । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ ।

    न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हातपातको प्रयास गरेका थिए । कार्यक्रममा सहभागी दर्शकले हातपातबाट हुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेका थिए ।

    सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ । नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।

    नेपाली समयानुसार आज दिउँसो १२ बजे न्यूयोर्कमा उक्त कार्यक्रम भैरहेको थियो । भिडिओ स्रोत : ब्रेकलिंक

     

  • नायिका अदिती बुढाथोकीलाई कोरोना संक्रमण : लक्षण देखिएपछि आइसोलेसनमा

    नायिका अदिती बुढाथोकीलाई कोरोना संक्रमण : लक्षण देखिएपछि आइसोलेसनमा

    मुम्बई । कोरोनाभाइरसविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेकी अभिनेत्री अदिती बुढाथोकीलाई संक्रमण भएको छ । इन्स्टाग्राम स्टोरीमार्फत अदितीले आफूलाई भाइरस संक्रमण पुष्टि भएको जनाएकी छिन् ।

    हल्का लक्षण देखिएपछि आइसोलेसनमा रहेको उल्लेख गर्दै उनले आफ्नो सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेकी छिन् । अहिले मुम्बइमै रहेकी उनले यसअघि कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाइसकेकी छिन् ।

    मंसिर दोस्रो साता सिक्किममा फिल्म बाबरी छायांकनपछि अदिती केही म्युजिक भिडिओ र विज्ञापन प्रोजेक्टको लागि भन्दै मुम्बई पुगेकी थिइन् । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिएपछि आजदेखि मुम्बइमा सफ्ट लकडाउन सुरु भएको छ ।

    शनिबार भारतमा २२ हजार ७७५ वटा कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । गतसाता भन्दा यो संक्रमण संख्या २१६ प्रतिशतले उच्च रहेको जनाइएको छ ।

  • नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छनौट, दिल्ली र उडिसामा मञ्चन हुने

    नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छनौट, दिल्ली र उडिसामा मञ्चन हुने

    काठमाडौं । नेपाली नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छानिएको छ । विजया कार्की निर्देशित उक्त नाटकलाई नेसनल स्कुल अफ ड्रामाले आयोजना गर्ने महोत्सवमा मञ्चन गर्न लागिएको हो ।

    सन् २०१९ मा नेपालमा मंचन भएको उक्त नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । कर्मन कला समूहले निर्माण गरेको नाटकलाई प्रतीक्षा कट्टेलले लेखेकी हुन् ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासका बीचमा फेब्रुअरी १ देखि २१ तारिखसम्म भारत रंग महोत्सव हुँदैछ । निर्धारित तालिका अनुसार क्लेशाः दिल्लीस्थित एनएसडीमा ७ तारिख र उडिसामा ९ तारिखमा मंचन हुने कार्यक्रम छ ।

    महोत्सवमा नाटक छानिएकोबारे नेपाल प्रेससँग कुरा गर्दै निर्देशक कार्कीले मंचनको लागि आफूहरुले पूर्ण तयारी गरिरहेको बताइन् । ‘हामीलाई तयारी गर्नु भनिएको छ’ उनले भनिन्, ‘कोरोनाले रोक्नुपर्ने स्थिती आयो भने भर्चुअल पनि हुनसक्छ ।’

    क्लेशाःमा सुरक्षा पन्त, कुशल पाण्डे, प्रतीक मरहठ्ठा, स्वप्निल घिमिरे, सुदीप खतिवडा लगायत १३ जना कलाकारको अभिनय छ । आधा दर्जनभन्दा बढी फिल्ममा काम गरेकी पन्तको पहिलो रंगमंच अभिनय हो ।

    ‘नाटकमा रामायणका प्रमुख पात्रलाई मानवीकरण गरिएको छ’ निर्देशक कार्कीले भनिन्, ‘मनुष्य जीवनका पीडाका कारक तत्वहरु के हुन् भनेर चित्रण गरेका छौं ।’

    कर्मन कला समूहको पहिलो नाटकको रुपमा निर्देशक कार्की र लेखिका कट्टेलको यो पहिलो नाटक हो । समूहले कोरोना संक्रमणको स्थिती सामान्य रहे नाटकलाई पुनः नेपालमा मंचनको तयारी गरेको छ । साथै, कलाका अन्य विधाहरु फिल्म, डकुमेन्ट्री निर्माणमा पनि काम गर्ने तयारी भैरहेको कार्कीले बताइन् ।

    भारत रंग महोत्सवमा १० वटा विदेशी र ७० भन्दा बढी स्वदेशी नाटक मंचन हुने बताइएको छ ।