Category: कलाप्रेस

  • लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप

    लाउरेको हिरासत बसाइ लम्बियो : अदालतद्वारा १७ दिन म्याद थप

    पोखरा । लागूऔषध प्रकरणमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

    अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको थियो ।

    लाउरे पुस १६ गते प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ परेका थिए । लागूऔषध ब्राउन सुगर खरिद गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत हुन् ।

    अहिले रोडिजको चौंथो सिजन प्रसारण भैरहेको छ । सुटिङ यसअघि नै भैसकेकाले दर्शकले उनलाई जजकै रुपमा हेर्न पाउनेछन् । तर, सिजन पाँचमा लाउरेको भविष्य के हुने भन्नेबारे टुंगो लागेको छैन ।

    लागुऔषध कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान छ। लाहुरे लागुऔषध सेवनकर्ता मात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्श छ।

    यद्यपी प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र बाँकी दुई जनालाई पक्राउ गरेको थियो ।

    बाँकी दुई जना भने कारोबारी हुन सक्ने अनुसन्धान अधिकारी बताउँछन् । अनुसन्धानका क्रममा लाहुरेले आफूले २१ वर्षको उमेरदेखि ब्राउन सुगर सेवन गर्न थालेको बताएका छन् ।

    ‘नियमित सेवनकर्ता चाहीँ होइन। कहिले काहीँ सेवन गर्ने गरेको बताएका छन् । कन्सर्टलगायत विभिन्न कार्यक्रममा आफूले सेवन गर्ने गरेको उनको भनाई छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

  • पत्नी किरणसँग अलग भए नायक रमेश उप्रेती

    पत्नी किरणसँग अलग भए नायक रमेश उप्रेती

    काठमाडौं । अभिनेता रमेश उप्रेती र श्रीमती किरण राणाको वैवाहिक सम्बन्ध टुट्ने संघारमा पुगेको छ । उनीहरु करिब ६ महिनादेखि अलग बस्न थालेको निकट स्रोतले बतायो ।

    रमेश र किरणबीच प्रेम विवाह भएको थियो । उमेरमा रमेशभन्दा किरण केही वर्ष जेठी हुन् । पहिलो श्रीमानसँग डिभोर्स लिएर बसेकी किरणले रमेशसँग दोस्रो विवाह गरेकी थिइन् । रमेश र किरणको कुनै पनि सन्तान छैनन् ।

    विवाहपछि रमेश अमेरिका भासिएका थिए । पछि किरण पनि उतै गइन् । करिब एक दशक अमेरिकामा बिताएर उनीहरू नेपाल फर्केका हुन् । ५ वर्षअघि नेपाल फर्केका रमेश फेरि चलचित्र क्षेत्रमै सक्रिय भए ।

    अमेरिकाबाट फर्केपछि उनले ‘ब्रासलेट’ मार्फत चलचित्रमा कमब्याक गरेका थिए । यो चलचित्र व्यापारिकरूपमा सफल भएन । त्यसपछि होम प्रोडक्सनबाट चलचित्र ‘ऐश्वर्या’ निर्माण गरेका थिए, जसको निर्मात्री श्रीमती किरण थिइन् । यो चलचित्रले सुखद व्यापार गरेको थियो ।

    विवाहको लामो समयसम्म रमेश र किरणको सुमधुर सम्बन्ध थियो । श्रीमतीप्रति माया दर्शाउन रमेशले सामाजिक सञ्जालमा आफ्नो नाम ‘रमेश किरण उप्रेति’ लेख्ने गरेका थिए । केही समयअघि उनले नामबाट ‘किरण’ हटाएर रमेश मात्रै लेख्न थालेपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान गरिएको थियो । अन्ततः त्यो सत्य सावित भएको छ ।

    रमेश र किरण बूढानीलकण्ठमा रहेको सीजी भिल्लामा बस्दै आएका थिए । अहिले रमेश श्रीमतीसँग अलग भएर बूढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर बस्न थालेका छन् । किरण भने सीजी होम्समै बस्छिन् । उनीहरू अदालती डिभोर्सको प्रक्रियामा रहेको बुझिएको छ ।

  • छोरीबाट पत्रकार बस्नेतको ‘महाभारा’ लोकार्पण

    छोरीबाट पत्रकार बस्नेतको ‘महाभारा’ लोकार्पण

    काठमाडौं। पत्रकार बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ लोकार्पण भएको छ। शनिबार काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा उपन्यासको लोकार्पण  भयो।

    बस्नेतकी छोरी अनुदिताले पुस्तकको लोकार्पण गरिन्। त्यसअघि उपन्यासले ओगटेको भेगका उपेन्द्र सुब्बाले पुस्तकबारे टिप्पणी गरेका थिए।

    लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवाद गरेकी थिइन्। संवादमा पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञान, लिम्बू लबज तथा उपन्यासको विषयवस्तुसम्म चर्चा भएको थियो।

    बस्नेतले पुस्तकबारे केही विषय आफैं प्रष्ट्याउने कोसिस गरे भने केही पुस्तक पढेपछि आफैं प्रष्ट हुँदै जाने जवाफ दिएका थिए। उपन्यासको कथा पूर्वी पहाडमा उम्रिएको प्रेम र त्यससँगै टकराउन आएका राजनीति र धर्मबीचको द्वन्द्व सम्बन्ध रहेको बताइएको छ।

    कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूह, कवि नवराज पराजुली र लोचन रिजालल लगायतको प्रस्तुति थियाे ।

  • मिस्टर नेपालसँगको डेटिङमा सुष्मा कार्की !

    मिस्टर नेपालसँगको डेटिङमा सुष्मा कार्की !

    काठमाडौं । नायिका सुष्मा कार्की रिलेसनसिप र विभिन्न ‘कन्ट्रोभर्सी’ले चर्चामा हुन्छिन् । उनको नाम यसअघि फिल्म निर्देशक, कलाकार र गायकसँग जोडियो ।

    यसअघि उनको रिलेसनसिप अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाहीसँग थियो । निरनसँगको सम्बन्ध टुंगिएपछि सुष्मा सिंगल थिइन् । अहिले भने उनी सिंगलबाट मिंगल भएको खबर छ ।

    पछिल्लो रिलेसनसिपबारे सुुष्मा स्वयमले सार्वजनिक गरेकी हुन् । यसैसाता इन्स्टाग्राममार्फत उनले प्रेमी र आफ्नो तस्बिर सेयर गर्दै आफू रिलेसनसिपमा रहेको बताएकी हुन् ।

    सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको रिलेसनसिपमा सुष्मा यतिबेला छिन् । उनी निकट स्रोतहरुले पनि सुष्मा र अक्षय केही समयदेखि डेटिङ गरिरहेको जनाएका छन् ।

    अक्षय र आफ्नो तस्बिरमा सुष्माको क्याप्सन छ : माया सँधै हामीसँगै रहिरहोस् । यो सबै कुराको उत्तर पनि हो ।’ सुष्माको उक्त पोस्टमा अक्षयले लभ-रियाक्ट पनि गरेका छन् ।

  • ‘कठ्पुतलीलाई पहिलो साता १.६३ करोड ग्रस, शनिबार अकुपेन्सीमा देखियो ‘ओमिक्रोन असर’

    ‘कठ्पुतलीलाई पहिलो साता १.६३ करोड ग्रस, शनिबार अकुपेन्सीमा देखियो ‘ओमिक्रोन असर’

    काठमाडौं । फिल्म ‘कठ्पुतली’ले मिश्रित समीक्षाको बाबजुद पहिलो साता घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । बिहीबार अबेरसम्मको प्राप्त विवरणअनुसार फिल्मको कूल कमाइ १ करोड ६३ लाख ग्रस छ ।

    तर, ओमिक्रोन भेरिएन्ट फैलिएसँगैको त्रासको कारण दोस्रो साता फिल्मको कमाइ चुनौतिपूर्ण हुने अपेक्षा गरिएको छ । यो त्रासको असर शनिबार नेपाली बक्सअफिसमा स्पष्ट देखिएको छ ।

    प्रदर्शनरत कठ्पुतली, स्पाइडरम्यान र पुष्पाले राम्रो सोज प्राप्त गरेपनि कुनैपनि फिल्मको अकुपेन्सी सन्तोषजनक छैन । अकुपेन्सीमा भारी गिरावट देखिएको छ । स्पाइडरम्यान र पुष्पा पनि २० देखि ३० प्रतिशत अकुपेन्सीमा प्रदर्शनरत छन् ।

    कार्म, उषा रजक र मिथिला शर्मा स्टारर कठ्पुतलीको पहिलो साता सुखद रह्यो । यो फिल्म कोरोनाभाइरस महामारीयता सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

    पछिल्लो सप्ताहन्त ओमिक्रोन भेरिएन्टको दबाब सुरु भएपछि नेपाली बक्सअफिसको आगामी समय कस्तो हुनेछ भन्ने कुरा कोरोनाको स्थितीमा निर्भर हुनेछ । सोमबारभित्र बस्ने काठमाडौं उपत्यकाका तीन सीडीओको बैठकले भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    यो निर्णयको पहिलो असर फिल्म क्षेत्रमै पर्ने भएकाले पक्कै पनि नेपाली फिल्मको लागि चुनौति थपिनेछ ।

  • ‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

    ‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

    काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले तीन सातामा नेपाली बक्सअफिसमा झन्डै ६ करोड ९० लाख ग्रस कमाइ गरेको छ ।

    महामारीयता कुनैपनि फिल्मले नेपाली बक्सअफिसमा गरेको यो सर्वाधिक कमाइ हो । एप्पल इन्टरटेनमेन्टका अनुसार यो सप्ताहन्तमा फिल्मको कूल कमाइ ७ करोड ग्रस पुग्न सक्छ ।

    टम हल्यान्ड स्टारर फिल्मले सुरुआती दुई सातामा उछाल कमाइ गरेको थियो । कोरोना महामारीले थलिएको नेपाली फिल्म बक्सअफिसलाई स्पाइडरम्यानले चलायमान बनाइदिएको थियो ।

    क्यूएफएक्ससहित मुलुकका प्रमुख सहरका मल्टिप्लेक्समा थ्रीडी प्रविधिमा रिलिज भएको फिल्मलाई दोहो¥याएर हेर्ने दर्शक बढेका छन् । दक्षिण भारतीय फिल्म पुष्पाले पनि नेपाली बक्सअफिसमा आक्रामक कमाइ गरेको छ ।

    स्पाइडरम्यान र पुष्पाले अझै केही साता नेपाली हलहरुमा निरन्तरता पाउने देखिन्छ । कोरोनाको तेस्रो लहरले अनिश्चय बढाएको र नयाँ फिल्म रिलिज हुने सम्भावना नभएकाले पुरानै फिल्मले निरन्तरता पाउने बलियो सम्भावना छ ।

    यस्तोमा, स्पाइडरम्यानको कमाइ सात करोड ग्रसभन्दा माथि जानसक्छ । यो फिल्म सोनीको सर्वाधिक कमाइ गर्ने मात्र नभएर सर्वाधिक कमाउने एप्पल इन्टरटेनमेन्टको पहिलो फिल्म पनि बनेको छ ।

     

  • कवि सोझो गाउँले र दीपक शम्चुलाई चितवनमा सम्मान

    कवि सोझो गाउँले र दीपक शम्चुलाई चितवनमा सम्मान

    भरतपुर । बझाङका कवि सोझो गाउँले र मोरङका कवि दीपक शम्चूलाई चितवनमा सम्मान गरिएको छ ।

    चितवन साहित्य परिषद्ले प्रत्येक दुईवर्षमा प्रदान गर्दै आइरहेको चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७ ‘मरुभूमिमा हिमपात’ कवितासङ्ग्रहका लागि सोझो गाउँलेलाई तथा हरेक वर्ष प्रदान गर्दै आइरहेको चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार— २०७७ ‘आप्पाको अनुहार’ कवितासङ्ग्रहका लागि दीपक शम्चूलाई प्रदान गरिएको हो ।

    १३८औँ लेखनाथ जयन्तीको अवसरमा शनिबार चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा दुबै स्रस्टालाई नगद राशिसहित सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदी र चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले दोसल्ला, सम्मानपत्र र नगद सहित दुबै स्रस्टालाई सम्मान गरे ।

    दुबै पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ ।

  • दीपकले होस्ट गर्ने क्राइम थ्रीलर टिभी सिरिज ‘क्राइम प्याट्रोल’ प्रिमियर

    दीपकले होस्ट गर्ने क्राइम थ्रीलर टिभी सिरिज ‘क्राइम प्याट्रोल’ प्रिमियर

    काठमाडौं । टिभी सिरिज क्राइम प्याट्रोलको वर्ल्ड प्रिमियर गरिएको छ । शुक्रबार राजधानीको बिग मूभिजमा आयोजित कार्यक्रममा विशाल सापकोटा निर्देशित सिरिजको प्रथम प्रदर्शनी आयोजना गरियो ।

    आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीमा क्राइम प्याट्रलको पहिलो सिजन प्रसारण हुने भएको छ । सिरिजलाई अभिनेता तथा निर्माता दीपकराज गिरीले होस्ट गर्ने भएका छन् ।

    सिरिजबारे कार्यक्रममा गिरीले भने, ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ । म खोलमात्र हुँ ।’ उनले आफू होस्टको रुपमा पर्फेक्ट नभएको बताउँदै सिक्नआएको बताए ।

    निर्देशक सापकोटाले यो सिरिजले नेपाली टेलिभिजनको न्यारेटिभ (कथा वाचन शैली)मा परिवर्तन ल्याउने बताए । टेलिभिजनका प्रबन्ध निर्देशक र लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्न टिभी प्रतिबद्ध रहेको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता तथा होस्ट दीपकराज गिरीले पहिलो सिजन मात्र होस्ट गर्ने बताए ।

    ‘त्यसपछि म फिल्मका काममा सक्रिय हुुन्छु र त्यसपछिको जिम्मा साथीहरुलाई दिनेछु’ उनले भने । क्राइम थ्रीलर सिरिजको रुपमा क्राइम प्याट्रल नेपाली टिभी दर्शकमाझ चर्चित छ ।

  • बलिउड गायिका असीस कौर काठमाडौंमा

    बलिउड गायिका असीस कौर काठमाडौंमा

    काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर आज काठमाडौं आइपुगेकी छिन् । भोलि शनिबार दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

    फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।
    नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सीइओ शाहिल खानले बताए ।

    गायिका कौरलाई नेपाल ल्याउनुको कारणबारे उनले भने, ‘खानले भने ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’

    गायिका कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत नेपालमा समेत हिट छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी सोमा समेत भाग लिएकी थिइन्् ।
    पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् ।

    त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी थिइन् ।

  • दीपेन्द्रको लेखन र सुरजको डेब्यु निर्देशनमा फिल्म ‘परस्त्री’ बन्ने

    दीपेन्द्रको लेखन र सुरजको डेब्यु निर्देशनमा फिल्म ‘परस्त्री’ बन्ने

    काठमाडौं । अभिनेता तथा निर्माता सुरज पाण्डेको निर्देशनमा फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । ‘लभ लभ लभ’ फेम्ड अभिनेताले निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

    शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा भयो । दीपेन्द्र के खनालको पटकथा रहने फिल्मलाई डीएस डिजिटल कम्पनीले निर्माण गर्न लागेको हो ।

    फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिने भएको छ । ‘मोक्ष’ फेम्ड अभिनेता तथा गायक कोसिस क्षेत्रीको मुख्य भूमिका हुने फिल्मका अन्य कलाकार तय हुने क्रममा छन् ।

    फिल्मका अन्य कलाकारको लागि २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी सहायक अभिनेत्री अडिसनमार्फत छानिने छन् ।

    सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म कोरोनाभाइरस महामारीको परिस्थितीमा सुधार भए फागुन तेस्रो सातादेखि छायांकनमा जाने भएको छ ।

    सबै छायांकन राजधानी काठमाडौंमा हुनेछ । निर्देशनमा डेव्यु गर्न लागेका पाण्डेले आफ्नो पहिलो प्राथमिकता अभिनय भन्दापनि निर्देशन रहेको बताए । फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै आफू निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्ययन र अनुसन्धान गरेर ‘परस्त्री’ निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।

    लेखक तथा निर्माता खनालले यो फिल्मको कथा पूर्णरुपमा नेपाली परिवेशमा तयार पारिएको र विश्वका अन्य कुनै पनि फिल्मबाट प्रभावित नभएको बताए । ‘आजसम्म मैले निर्देशन गरेका कुनैपनि फिल्म विदेशीबाट प्रभावित छैनन् र यो पनि विल्कुलै नयाँ र दर्शकको अपेक्षमा खरो उत्रनेछ’ उनले भने ।

    आफ्नो कथालाई डेव्यु निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएका नै उनलाई निर्देशनको जिम्मेवारी सुम्पेको उनको भनाई छ । साथै सुरजलाई निर्देशनमा आफूले कुनैपनि हस्तक्षेप नगर्ने दावी निर्देशक तथा खनालको छ ।

    निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शन तयारीमा छ । यो फिल्म कोरोना महामारीको तेस्रो लहरले असर नगरेको खण्डमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

  • तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ रिलिज

    तक्मे बुढाको फिल्म ‘आकाशे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ रिलिज

    काठमाडौँ । फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ इन्टरनेट रिलिज भएको छ । केही दिन अगाडि फस्टलुक पोस्टर रिलिज गरेको फिल्मले गीत लन्च गरेको हो । हरि उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर रहेको गीतमा विकास चौधरीको संगीत छ ।

    गीतमा फिल्मका कलाकारहर गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतको कोरियोग्राफी राजिव सिंहको छ ।

    फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा गौरव पहारी, तिब्बती शरणार्थीको कथावस्तुमाथि निर्माण भएको फिल्म सुब्बा निर्देशित १८ औंं चलचित्र हो । युवादेखि बृद्धसम्मका दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

    केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार राईले लेखेका हुन् ।

    एसएस इन्टरनेसनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किराँतीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

    हेर्नूस गीत :

  • आँचलको साउथ इन्डियन फिल्म ‘हिटम्यान’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

    आँचलको साउथ इन्डियन फिल्म ‘हिटम्यान’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

    काठमाडौं । नेपाली कलाकार र लोकेसनलाई लिएर निर्माण गरिएको दक्षिण भारतीय फिल्म हिटम्यान कोरोनाभाइरस महामारीको स्थितीमा सुधार भएपछि नेपाल र भारतमा एकैसाथ रिलिज हुने भएको छ ।

    बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता, निर्देशक र कलाकारले फिल्मबारे जानकारी दिए । नेपाली मूलका विष्णु अधिकारीको निर्देशन र दीपक अधिकारीको निर्माणमा बनेको फिल्ममा आँचल शर्मा नायिकाको रुपमा छिन् ।

    सोल्टी क्राउन प्लाजामा भएको प्रेसमिटमा फिल्मको टीजर ट्रेलर पनि देखाइयो । निर्देशक समेत रहेका अभिनेता विष्णु अधिकारीले नेपालको पोखरा लगायतको प्राकृतिक सौन्दर्यलाई फिल्ममा समावेश गरिएको र नेपालको पर्यटनलाई फाइदा पुग्ने बताए ।

    ‘फिल्म रिलिज भएपछि साउथ इन्डियन फिल्महरु नेपालमा रिलिजको लागि आउने सम्भावना छ’ उनले भने । उनले नायिका शर्माको कामको समेत प्रशंसा गरे ।

    अभिनेता प्रशान्त ताम्राकारले नेपालमा छायांकन भएको दृश्यलाई नेपाली भाषामै स्वरांकन गरिने र तलेगु भाषामा सबटाइटल हुने बताए । नेपाली दर्शकलाई यो कुरा खुशिपूर्ण भएको उनको भनाई छ ।

    आँचल फिल्ममा नेपालतर्फको मुख्य भूमिकामा छिन् । पत्रकार सम्मेलनमा उत्साहित सुनिएकी उनले स्क्रिप्ट मनपरेपछि आफूले आफूले प्रोजेक्टमा काम थालेको अनुभव सुनाइन् । ‘स्क्रिप्ट सुनेको छोटो समयमै फिल्म गर्ने निर्णय लिएकी हुँ’ उनले भनिन्, ‘निर्देशक र निर्मातामा पनि कामलाई लिएर प्यासन देखेको थिएँ ।’

    हिटम्यानमा अभिनय गर्दा आफूले भाग्यमानी महसुस गरेको आँचलको कथन छ । फिल्ममा उनको पात्रबारे खुलाइएको छैन ।

    निर्माता दीपक अधिकारीले नेपालमा फिल्म छायांकन गर्दा रमाइलो महसुस भएको बताए । नेपालको पर्यटन र फिल्म क्षेत्रलाई चलायमान बनाउन यो फिल्मले योगदान गर्ने उनको भनाई छ । दक्षिण भारतमा समेत फिल्म प्रतीक्षित बनेको उनको भनाई छ ।

  • २५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

    २५ वर्षपछि मनीषा र भन्सालीको सहकार्य : नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मनीषा अनुबन्धित

    मुम्बइ । के तपाईंलाई संजयलीला भन्साली निर्देशित फिल्म ‘खामोशी : द म्युजिकल’मा मनिषा कोइरालाको दमदार अभिनयबारे याद छ ? यदि त्यसो हो भने तपाईंको लागि खुशिको खबर छ ।

    निर्देशक भन्साली र अभिनेत्री कोइरालाले नयाँ प्रोजेक्टको लागि पुनः सहकार्य गर्दैछन् । बलिउड वेब पोर्टल बलिउड हंगामाका अनुसार २५ वर्ष यी दुईबीच टीमअप हुन लागेको हो ।

    मनिषाले भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’लाई औपचारिकरुपमा लिखित सहमती गरेकी छिन् । यो फिल्मलाई कस्ट्युम ड्रामा बताइएको छ । यो फिल्ममा यसअघि हुमा कुरेसी र सोनाक्षी सिन्हा पनि अनुबन्धित भैसकेका छन् ।

    भन्सालीले हालै आफू निर्देशित पछिल्लो फिल्म ‘गंगुबाइ कठियावाडी’को काम सकेका छन् भने अहिले सबै समय हीरामण्डीको लागि खर्चिएका छन् । यो सिरिजको काम दुई महिनादेखि भैरहेको छ ।

    हीरामण्डीले दुई आकर्षक महिला यौनकर्मीको कथा भन्छ । भारतीय फिल्म उद्योगका चर्चित हिरोइनले यो सिरिजको लागि पहिलोपटक सहकार्य गर्दैछन् । हीरामण्डीको पहिलो सिजनमा सात एपिसोड हुने जनाइएको छ ।

    दोस्रो सिजन पनि सन् २०२२ मै हुने जनाइएको छ । पहिलो एसिपोडलाई पनि भन्सालीले नै निर्देशन गर्ने भएका छन् । तर, सबै एपिसोडको निर्देशन चाहिँ भन्सालीका निर्देशन सहायक विभू पुरीले निर्देशन गर्ने भएका छन् ।

  • ऋचा शर्माको निर्माणमा बनेको फिल्म ‘कौसिद’ टीजर ट्रेलर लन्च : यस्तो छ भोलाराजको फस्टलुक

    ऋचा शर्माको निर्माणमा बनेको फिल्म ‘कौसिद’ टीजर ट्रेलर लन्च : यस्तो छ भोलाराजको फस्टलुक

    काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसिद’ टीजर ट्रेलर सार्वजनिक भएको छ । कोभिड महामारीबीच फिल्मको छायांकनसँगै पोस्ट-प्रोडक्सनको काम सकाउँदै फस्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भाष्करले बताए । उनका अनुसार फिल्म प्रदर्शनको लागि तयार भैसकेको छ ।

    टीजरमा पिँजडामा खरायो बोकेको लुक्समा अभिनेता भोलाराज सापकोटा फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ आधारित कथामा बनेको फिल्मको टीजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव चित्रण गर्छ ।

    फिल्ममा सापकोटा र ऋचासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।

    निर्देशक भाष्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायाँकन गरेको फिल्ममा मित्र गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित असरलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने जनाइएको छ ।

  • ‘कमेडी क्लब विथ च्याम्पियन्स’ माघ दोस्रो सातादेखि एनटीभीमा

    ‘कमेडी क्लब विथ च्याम्पियन्स’ माघ दोस्रो सातादेखि एनटीभीमा

    काठमाडौं । नेपालमा सबैभन्दा ठूलो टेलिभिजन कमेडी सो भनिएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ माघ दोस्रो सातादेखि प्रसारण हुने भएको छ ।

    बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । की-एड्भटाइर्जिङ र थ्री प्रोडक्सनले सात जना कलाकारलाई लिएर कार्यक्रम संचालन गर्न लागेको हो ।

    कमेडी च्याम्पियन सिजन १ र २ का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्कीले भाग लिने भएका छन् । ती सिजनका अन्य प्रतिस्पर्धीले पनि भाग लिन पाउने भएका छन् ।

    प्रत्येक सोमबार बेलुका ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनबाट सो प्रसारण हुने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक विशाल भण्डारीले फरक शैलीको कार्यक्रमलाई दर्शकमाझ ल्याउन लागिएको बताए । की–एड्भर्टाइजिङका प्रमुख रविन्द्रकुमार रिजालले कार्यक्रमले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

    यसअघि एनटीभीमा मुुन्द्रको कमेडी क्लब प्रसारण हुँदै आएको समयमा कमेडी क्लब विथ च्याम्पियन्स प्रसारण हुन लागेको हो ।

     

  • ओमिक्रोन त्रासले ग्रामी अवार्ड स्थगित

    ओमिक्रोन त्रासले ग्रामी अवार्ड स्थगित

    लस-एन्जल्स । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसहितको नयाँ लहरले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामी पोस्टपोन्ड भएको छ । पिपुल म्यागजिनका अनुसार अर्को सूचना नआएसम्म अवार्ड कार्यक्रम स्थगित हुने भएको छ ।

    रेकर्डिङ एकाडेमी र सीबीएसले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै अवार्ड स्थगन भएको जनाएका छन् । ‘संगीत समुदाय, दर्शक र कार्यक्रम निर्माण गर्न अथकरुपमा खट्ने कर्मचारीको स्वास्थ्य र सुरक्षा हाम्रो उच्च प्राथमिकतामा छ’ विज्ञप्तिमा उल्लेख छ ।

    जनवरी ३१ मा अवार्ड समारोह आयोजना गर्ने तयारी थियो । ‘ओमिक्रोन भेरिएन्टको लहरले अन्यौलता सिर्जना गरेको छ । निकट भविष्यमै हामी ग्रामीको उत्सव मनाउन जुट्नेछौं । नयाँ मिति चाँडै सार्वजनिक गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ ।

    लगातार दुईवर्षदेखि ग्रामी अवार्ड महामारीले स्थगित भएको छ । अहिले अमेरिकामा दैनिक १० लाख कोरोना संक्रमित थपिने गरेका छन् ।

  • चोरीको आरोप लागेपछि मेलिना राई र किरण गजमेरको गीत ‘हे दैव’ युट्युवबाट हटाइयो

    चोरीको आरोप लागेपछि मेलिना राई र किरण गजमेरको गीत ‘हे दैव’ युट्युवबाट हटाइयो

    काठमाडौं । गीत चोरीको आरोप लागेपछि मेलिना राई र किरण गजमेरको स्वरमा रहेको ‘हे दैव’ गीतलाई बुधबार युट्युवबाट हटाइएको छ ।

    सो गीतको सुरुआती हरफ नै आफ्ना रचनाबाट चोरी गरेको दावी गीतकार भूपेन्द्र खड्काले गरेपछि गीतलाई हटाइएको हो । अहिले उक्त गीत युट्युवमा उपलब्ध छैन

    कर्णदासको स्वर र खड्काको रचनामा रहेको गीत ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ गीत अनुमतिबिना चोरी गरिएको आरोप खड्काको छ ।

    उक्त गीत २०६१ सालमा रेकर्ड भएर २०६२ मा एल्बम ‘आधा सपना’मार्फत रिलिज गरिएको थियो । नेपाल प्रेससँग कुरा गर्दै रचनाकार खड्काले आफूले क्षतिपूर्ति दावी गर्ने तयारी गर्नुअघि नै उक्त गीतलाई युट्युवबाट हटाइएको बताए ।

    ‘मैले डाउनलोड पनि गरेको थिएँ । युट्युवबाटै हटाइएपनि डाउनलोड भर्सन पनि अहिले खुलेको छैन’ उनले भने । सम्बन्धित पक्षले गल्ती स्वीकार्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने वाचा गरेकाले अहिले गीतमात्र हटाइएको उनले बताए ।

    फिल्म निर्माता समेत रहेका रमेश एमके पौडेलको निर्माण र रामजी लामिछानेको निर्देशनमा उक्त भिडिओ निर्माण भएको थियो । सलोन बस्नेत र रुबिना थापाले उक्त गीतमा अभिनय गरेका थिए ।

  • ‘छक्कापञ्जा’द्वारा युट्युवमा कीर्तिमान : बन्यो तीन करोड पटक हेरिने पहिलो नेपाली फिल्म

    ‘छक्कापञ्जा’द्वारा युट्युवमा कीर्तिमान : बन्यो तीन करोड पटक हेरिने पहिलो नेपाली फिल्म

    काठमाडौं । ‘छक्का पञ्जा’ भिडिओ साझेदारी साइट युट्युवमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ ।

    बुधबार मध्यान्हसम्म दीपकराज गिरी र प्रियंका कार्की स्टारर फिल्मलाई हाइलाइट्स नेपालका दुईवटा युट्युव च्यानलबाट ३ करोडभन्दा बढी पटक हेरिएको छ ।

    हाइलाइट्स नेपालबाट १ करोड ९३ लाख र हाइलाइट्स नेपाल मूभिजबाट १ करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । यी दुबै युट्युव च्यानलको राइट्स फिल्मको डिजिटल कम्पनी हाइलाइट्स नेपालसँग सुरक्षित छ ।

    ‘प्रेमगीत’ लाई युट्युवमा आजसम्म २ करोड ६२ लाख पटक हेरिएको छ ।

    आफू अभिनित र निर्मित फिल्मले युट्युवमा ३ करोडको मार्क पार गरेपछि नेपाल पे्रससँग कुरा गर्दै दीपकराज गिरीले हर्ष व्यक्त गरे । ‘म छक्का पञ्जा दुई र तीनलाई पुनः बनाउन सक्छु तर एकलाई सक्दिन’ उनले भने, ‘त्यो फिल्म पूर्णतः अर्गानिक छ ।’

    अहिले छक्का पञ्जाको चौंथो श्रृंखला लेखिरहेका दीपकले कोरोनाको स्थितीमा सुधार भए आगामी बैशाखबाट छायांकनमा जाने र दशैंमा रिलिज गरिने बताए ।

  • थ्रीलर-हरर फिल्म ‘पर्पला’को फस्टलुक पोस्टर लन्च : यस्तो छ निखिलाको हरर अवतार

    थ्रीलर-हरर फिल्म ‘पर्पला’को फस्टलुक पोस्टर लन्च : यस्तो छ निखिलाको हरर अवतार

    काठमाडौँ । अस्ट्रेलियाली डायस्पोरामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर लन्च भएको छ । कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन त्रास बढ्दै गएपनि फिल्मलाई जीवन्त तुल्याउन पोस्टर सार्वजनिक गरिएको हो ।

    थ्रीलर र हरर जनरा बताइएको यो फिल्मको लेखन तथा निर्देशन मनोज अधिकारीले गरेका हुन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथावस्तुमा आधारित रहेको फिल्मको सबै छायांकन त्यहीँ गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली नर्सले काम गर्दा भोगेका अस्वभाविक गतिविधिको चुनौति फिल्मको कथावस्तु हो । हरर जनरामा बनेको फिल्ममा निखिला बुढाथोकीको मुख्य भूमिका छ । पोस्टरमा उनकै चरित्रलाई चित्रण गरिएको छ ।

    निखिला पेशाले नर्स पनि हुन् ।

    विदेशी प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको फिल्मको दोस्रो चरणको छायांकन हुन बाँकी छ । कोरोनाको स्थितीमा सुधार भएपछि मात्र फिल्मलाई रिलिज गरिने भएको छ । अहिले अष्ट्रेलियामा कोरोनाको नयाँ भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    निर्माता तथा अभिनेता भानु प्रताप ढकालले यसअघि ‘लालटिन’ निर्माण गरेका थिए । यसअघि उनले नेपाली फिल्ममा समेत अभिनय गरेका छन् । निर्देशक अधिकारीले फिल्म ‘ऋतु’को निर्माण तथा निर्देशन गरेका थिए ।

    ‘पर्पला’ फिल्मको मुख्य पात्रमा पुकार गौतमले अभिनय गरेका छन् । झरना थापासँग उनले ‘झिल्के’ फिल्ममा स्क्रिन सेयर गरेका थिए । अभिनेता गौतमले ‘पर्पला’ले नेपाली फिल्मलाई अघि बढाउने दाबी गरे ।

    टेलीसिरिज र फिचर फिल्ममा समेत अभिनय गरेकी प्रेक्ष्या अधिकारीले पनि ‘पर्पला’ फिल्ममा को-एक्ट्रेसको भूमिकामा अभिनय गरेकी छिन् । अष्ट्रेलियाली अभिनेत्री ओल्गा तमराको पनि अभिनय छ । १ दर्जन बढी अष्ट्रेलियाली कलाकारले समेत अभिनय गरेको जनाइएको छ ।

    आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ढकाल हुन् । कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रबिन्द्रकुमार शर्मा,डम्बरबहादुर रसाइली, छबी अधिकारी, सरोजकुमार वाइबा निर्माता हुन् । सरस्वती गौतम, सृजना लगुन, भीमराज रसाइली, वचनकुमार मल्ल सहनिर्माता छन् ।

  • युवराज लामाको फिल्म ‘आनी’मा जान्वी र सिद्धार्थ लिड रोलमा : जान्वीले कपाल खौरिने र तीनमहिना गुम्बामा बिताउने

    युवराज लामाको फिल्म ‘आनी’मा जान्वी र सिद्धार्थ लिड रोलमा : जान्वीले कपाल खौरिने र तीनमहिना गुम्बामा बिताउने

    काठमाडौं । युवराज लामाले निर्देशन गर्ने फिल्म ‘आनी’का मुख्य तीन कलाकार फाइनल भएका छन् ।

    निर्देशक लामाका अनुसार नेपाली र अंग्रेजी भाषामा छायांकन हुने फिल्मको मुख्य भूमिकामा जान्वी बस्नेत, विजय लामा र सिद्धार्थ लामा फाइनल भएका छन् ।

    मुख्य दुईवटा सर्त पालना गर्न सहमत भएपछि जान्वीलाई लिड नायिकामा फाइनल गरेको जानकारी निर्देशक लामाले दिए । आनीको चरित्रमा देखिन कपाल खौरिनुपर्ने र तीन महिना गुम्बामा बस्नुपर्ने सर्तमा जान्वी सहमत भएकी छिन् ।

    तीनजना आनीमध्ये अन्य दुईलाई चाहिँ केही सातामै फाइनल गरिने भएको छ । नायकको भूमिकामा युवराजका छोरा समेत रहेका मलायम फिल्मका अभिनेता सिद्धार्थ समेत फाइनल भएका छन् ।

    अभिनेता समेत रहेका विजय लामालाई पनि तय गरिएको छ । सबै कलाकार फाइनल भएपछि वर्कसप सुरु हुने जानकारी निर्देशक लामाले दिए । आनीको जीवनमाथि फिल्म निर्माण हुन लागेको हो ।

    काठमाडौं वा पोखराका गुम्बामध्ये कुनै एकमा फिल्म सुटिङ गर्ने तयारी भएको छ । सबै कलाकार फाइनल भएपछि र कोरोनाको स्थितीमा सुधार आएपछि छायांकन मिति तय गरिने भएको छ ।

    एक करोड बजेटमा निर्माण हुने फिल्मको ब्यानर तय गरिएको छैन । निर्देशक लामा छोरा सिद्धार्थलाई निर्माता र अभिनेताको रुपमा स्थापित गर्न चाहन्छन् र सोहीअनुसार ब्यानर बन्ने जनाइएको छ ।

    यसअघिका फिल्महरु युवराजले आफ्नै ब्यानर कम्पनी त्रिपुरा सुन्दरीकै ब्यानरबाट बनाउने गरेका थिए । सन् १९८९ मा फिल्म भाग्यरेखामा कोरियोग्राफरको कामबाट करिअर थालेका लामा निर्देशित पछिल्लो फिल्म धर्मात्मा सन् २००३ अक्टोबर ३१ मा रिलिज भएको थियो ।

    उनी अभिनित पछिल्लो फिल्म सन् २०१९ को सरौतो हो ।