Category: कलाप्रेस

  • आर्यन पुनः लभरब्वाइ बन्दै, मधुसुधनको फिल्ममा अनुबन्धित

    आर्यन पुनः लभरब्वाइ बन्दै, मधुसुधनको फिल्ममा अनुबन्धित

    काठमाडौं । अभिनेता आर्यन सिग्देल निर्देशक मधुसुधन भट्टराईको नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सोमबार दुबै पक्षबीच लिखित सहमति भएको छ । यो रोमान्टिक फिल्मको शीर्षक चाँडै सार्वजनिक गर्ने तयारी भएको निर्देशकले जानकारी दिए ।

    आर्यनलाई यो फिल्ममा समेत लभरब्वाइको रुपमा हेर्न पाइने भएको छ । भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा आर्यन मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । आरआर फिल्मसको ब्यानरमा बन्ने फिल्मको मुख्य अभिनेत्री सार्वजनिक गर्ने तयारी भएको छ ।

    सबै कलाकार तय भएपछि आगामी बैशाखदेखि फिल्म छायांकनको तयारी भएको निर्देशक भट्टराईले जानकारी दिए । यो फिल्म फ्लोरमा जानुअघि निर्देशक भट्टराई हामी तीन भाइको छायांकन सम्पन्न गर्ने तयारीमा छन् ।

    पहिलो लकडाउनपछि आर्यनले डिसेम्बर फल्समा काम गरेका थिए तर, अझै केही भाग सुटिङ हुन बाँकी छ । लगत्तै उनले नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’ साइन्ड गरेका थिए । यद्यपी, भाइरस महामारीको जोखिमलाई कारण देखाउँदै फिल्म अहिलेसम्म सुटिङमा गएको छैन । गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’पछि मात्र मधुसुधनको फिल्म फ्लोरमा जाने तयारीमा छ ।

    पछिल्लोपटक आर्यनका फिल्महरु बक्सअफिसमा उति सफल छैनन् । जसले गर्दा पनि उनलाई बक्सअफिस र समीक्षात्मकरुपमा सफल फिल्म आवश्यक पर्छ । पछिल्लोपटक आर्यन अभिनित फिल्म क्लासिक मात्र बक्सअफिसमा हिट छ । कोरोना महामारीकै समयमा आर्यनले तीनवटा फिल्म साइन गरिसकेका छन् ।

  • स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म सुटिङ गर्न बोर्डको अनुमति

    स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म सुटिङ गर्न बोर्डको अनुमति

    काठमाडौं । चलचित्र विकास बोर्डले कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले जारी गरेका मापदण्डलाई पालना गरेर फिल्म छायांकनलाई निरन्तरता दिन आग्रह गरेको छ ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ मसान्तसम्म अत्यावश्यक बाहेक भीडभाड नगर्न र गर्नैपरे प्रशासनको अनुमतिमा २५ जना भेला भएर काम गर्न अनुमति दिने निर्णय गरेको थियो ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले खोप लगाएका कास्ट एन्ड क्रिउसहित २५ जनाको उपस्थितीमा स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकनलाई निरन्तरता दिन अनुमति दिइएको बताएका छन् ।

    ‘सरकारले जे आदेश दिएको छ, सोही नियमलाई पालना गरेर फिल्म सुटिङ गर्न सकिनेछ’ नेपाल प्रेससँग अध्यक्ष दाहालले भने, ‘भीडभाड नगरी काम गर्न सकिनेछ ।’ सरकारको निर्णयपछि फिल्म हलहरु बन्द भएका छन् भने जारी सुटिङ र सुटिङमा जाने तयारीमा रहेका फिल्म समेत अन्यौलमा थिए ।

    फिल्मसहित अहिले मुलुकका विभिन्न स्थानमा म्युजिक भिडिओ छायांकन भैरहेका छन् ।

  • केशवलाई सम्झिएर उषाको ‘निन्द्रा लाग्दैन’ (भिडिओ)

    केशवलाई सम्झिएर उषाको ‘निन्द्रा लाग्दैन’ (भिडिओ)

    काठमाडौं । हरि क्रियशनको प्रस्तुतिमा तयार भएकोे ‘निन्द्रा लाग्दैन’ बोेलकोे गीतकोे भिडिओ रिलिज गरिएकोे छ । योे गीतमा हरिप्रसाद गौतमकोे शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोेष रुचालकोे स्वर छ ।

    रोेमान्टिक शैैलीमा तयार पारिएकोे यो गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ ।

    भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडिओमा सफल मानिएका चन्दकोे निर्देशनमा तयार भएकोे भिडिओेले दर्शक नचाउने अपेक्षा गरिएकोे छ ।

    शिलन लम्सालकोे सम्पादनमा तयार भएकोे भिडियोेमा सागर पौैडेलकोे छायांकन छ । हेर्नूस भिडिओ :

  • विदेशी गर्लफ्रेन्डसँगको डेटिङमा रेमन : जन्मदिनमा यसरी खुलाए रिलेसनसिप

    विदेशी गर्लफ्रेन्डसँगको डेटिङमा रेमन : जन्मदिनमा यसरी खुलाए रिलेसनसिप

    काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल सेलेव्रिटी रिलेसनसिपलाई सार्वजनिक गर्ने प्लेटफर्म बन्न थालेका छन् । कतिपय कलाकारले फेसबुक र इन्स्टाग्रामबाटै सम्बन्धको स्टेटस पोस्ट गर्न थालेका छन् ।

    अभिनेता एवं टेलिभिजन पर्सनालटी समेत रहेका रेमनदास पनि अब सिंगलबाट मिंगल बनेका छन् । टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत रहेका रेमन युवतीमाझ प्रिय पनि छन् ।

    रेमनले प्रेमिकाको जन्मदिनको अवसरमा सोमबार प्रेमिका र आफ्नो तस्बिर पोस्ट गर्दै आफूहरु सँगै हुने वाचासहितको क्याप्सन लेखेका छन् । रेमनकी गर्लफ्रेन्ड जेना मुड्रा विदेशी हुन् ।

    उनीहरु केही वर्षदेखि रिलेसनसिपमा छन् । उनै जेना सोमबार बर्थडे सेलिव्रेसन गर्दैछिन् । केहीवर्षदेखि सँगै बर्थडे मनाउँदै आएका जेनाप्रति रेमनले खुशि व्यक्त गरेका छन् ।

  • शानको संगीतमा भारतीय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’ (भिडिओ)

    शानको संगीतमा भारतीय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’ (भिडिओ)

    काठमाडौं । अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को म्युजिक भिडिओ रिलिज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बीबीजे स्टुडियोमा भएको थियो ।

    लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडिओ निर्देशक बिकास बराइली हुन् भने सहनिर्देशक प्रज्ज्वल वाइवा हुन् । भिडिओमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ । भिडिओ छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

    भिडिओ लाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडिओमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।

    संगीतकार भुसालले ‘जदौ’ नामक चलचित्रमा समेत संगीत दिएका छन् ।

  • गायिका समीक्षाको चेतावनी : ममता दिने नारीले परेको बेला सर्वनाश पनि गर्छिन् !

    गायिका समीक्षाको चेतावनी : ममता दिने नारीले परेको बेला सर्वनाश पनि गर्छिन् !

    काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय गायकी र निजी कारणले पनि चर्चामा छिन् । पछिल्ला समय हिट गीत दिइरहेकी गायिका हालै नायक पल शाहसँगको ‘अन्तरंग’ सम्बन्धले चर्चामा छाइन् ।

    आफूहरु दुई बीचको सम्बधलाई लिएर दुबैले सार्वजनिक रुपमा केही नबताएपनि यी दुई बीचको सम्बन्ध यसवर्षको चर्चित गसिप हो । आफ्ना अभिव्यक्तिले पनि बेला-बेलामा चर्चामा आइरहने समीक्षा पुनः चर्चामा छिन् ।

    सोमबार उनको नयाँ फेसबुक स्टाटस अहिले चर्चाको विषय बनेको छ जहाँ उनले नारी शक्तिको सम्मान गर्न पुरुषलाई चेतावनी दिएकी छिन् । नारीले दुर्गा माताको रुपमा ममता र महाकाली बनेर सर्वनाश गर्नसक्ने उनको टिप्पणी छ ।

    यो चेतावनी कसप्रति लक्षित हो भन्ने बुझ्न नसकिएपनि पक्कै पनि पुरुषप्रति उनको असन्तुष्टि स्पष्ट बुझ्न सकिन्छ । उनी लेख्छिन् : यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावनामाथि खेल्यो भने उसले नारी शक्तिको सामना गर्न सक्दैन त्यसैले नारीलाई कमजोर नसोच्दा पनि हुन्छ । नारी दुर्गाको रुपमा माया ममता दिन सक्छिन् भने परेको खण्डमा महाकालीजस्तो रुप लिएर सर्वनाश पनि गर्न सक्छिन् ।’

    समीक्षाको यो स्टेटसमा पाठकले मिश्रित टिप्प्णी गरेका छन् ।

  • चलचित्र विकास बोर्डका पाँच कर्मचारी कोरोना संक्रमित, अध्यक्ष दाहाल काममा फर्किए

    चलचित्र विकास बोर्डका पाँच कर्मचारी कोरोना संक्रमित, अध्यक्ष दाहाल काममा फर्किए

    काठमाडौं । चलचित्र विकास बोर्डका पाँचजना कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष दयाराम दाहाल समेत बिरामी भैसकेर अहिले निको भएका छन् ।

    संक्रमण पुष्टि भैसकेका कर्मचारी होम आइसोलेसनमा छन् भने अन्य कर्मचारीले कार्यालयबाटै कोभिड मापदण्ड अपनाउँदै काम थालेका छन् । अध्यक्ष दाहाल निको भएपछि नियमित काममा फर्किएका छन् ।

    ‘अहिलेसम्म पाँचजना स्टाफलाई भाइरस संक्रमण पुुष्टि भएको छ । म चाहिँ काममा फर्किएको छु’ अध्यक्ष दाहालले नेपाल प्रेसलाई भने, ‘हामीले सतर्कता अपनाएर काम गरिरहेका छौं ।’

    तर, फिल्म हलहरु बन्द भएपछि बोर्डमा दैनिक प्रशासिन कामहरु भने निरन्तर भैरहेका छन् । दोस्रो लहरको बेला पनि बोर्डका कर्मचारी संक्रमित भएका थिए ।

  • फिल्म हल बन्दको निर्णयले ‘चपली हाइट ३’ लाई आर्थिक क्षति : खुले लगत्तै पुनःरिलिजको तयारी

    फिल्म हल बन्दको निर्णयले ‘चपली हाइट ३’ लाई आर्थिक क्षति : खुले लगत्तै पुनःरिलिजको तयारी

    काठमाडौं । सरकारले कोभिड-१९ को तेस्रो लहर संक्रमण रोकथामका लागि फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेपछि पुनः अन्यौलता थपिएको छ ।

    सरकारी निर्णयको सबैभन्दा ठूलो मार ‘चपली हाइट ३’ लाई परेको छ । फिल्म रिलिज भएको दुई दिनमै मन्त्रिपरिषद् बैठकले माघ १५ गतेसम्म हल बन्द गर्ने निर्णय गरेपछि समस्या भएको हो ।

    फिल्म रिलिज भएकै दिनको बेलुका बसेको मन्त्रिपरिषद् बैठकले माघ मध्यसम्म हल बन्द गर्ने निर्णय गरेको थियो । सोही दिन बेलुका मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि फिल्म निर्माता र हल संचालक बिलखबन्दमा परेका थिए ।

    शनिबार सार्वजनिक बिदाको दिन परेकाले मन्त्रिपरिषद् निर्णय आउन ढिलाइ भएकाले यद्यपी सोही दिनमा फिल्म रिलिज भए । तर, आइतबार सरकारका प्रवक्ताले मन्त्रिपरिषद्का निर्णय सुनाए लगत्तै फिल्म हलहरुले सोमबारका कुनै सोज तालिका प्रकाशित गरेनन् ।

    ‘चपली हाइट ३’ रिलिजको दुई दिनमै बन्द भएपछि फिल्मलाई ठूलो आर्थिक क्षति पुगेको छ । कोरोना त्रासले उसै त हलसम्म दर्शक नपुगिरहेको बेला सरकारी निर्णयले फिल्मलाई ठूलै क्षति पुगेको ठानिएको छ । निर्माता अर्जुन कुमारले फिल्मलाई ठूलै आर्थिक क्षति पुगेको बताए ।

    सरकारले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय त गरेको छ तर, त्यसपछि पनि संक्रमणको आधारमा बन्द कायमै रहने वा नरहने टुंगो छैन । सरकारले संक्रमणको आधारमा फिल्म क्षेत्रमा कायम बन्दलाई निरन्तरता दिने वा नदिने निर्णय लिने जनाएको छ ।

    यद्यपी, हल खुलेलगत्तै चपली हाइट ३ लाई पुनः रिलिज गर्ने निर्माता अर्जुन कुमारले बताएका छन् । तर, फिल्म रिलिज भैसकेको र समीक्षा पनि बाहिर आइसकेको बेला पुनः चपली हाइटले दर्शकलाई हलसम्म तान्न सक्ला त भन्ने कुरामा भने चुनौति कायमै रहनेछ ।

    ‘चपली हाइट ३’ मात्र नभएर प्रदर्शन मिति घोषणा गरिसकेका अन्य फिल्मलाई लिएर पनि अन्यौलता सुरु भएको छ । भविष्यका सबै कुराहरुको एउटै उत्तर छ : कोरोनाभाइरस संक्रमणको ग्राफ ।

  • मेलिना राईको नयाँ गीत ‘फूलहरु मगमग’मा रोमान्टिक सृजना (भिडिओ)

    मेलिना राईको नयाँ गीत ‘फूलहरु मगमग’मा रोमान्टिक सृजना (भिडिओ)

    काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय छ ।

    भिडिओमा मोडल सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

    कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडिओलाई दशकभन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

    प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडिओ निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडिओ एवं फिल्म समेत छायांकन गरेका छन् । ।

    कलाकारितामा दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्यूजिक भिडिओबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् । रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ ।

  • भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई : जिते नगद १५ लाख

    भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई : जिते नगद १५ लाख

    काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । आज भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै झापाका उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

    आठजना प्रतिस्पर्धीले फिनालीमा प्रतिस्पर्धा गरेका थिए । दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

    टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

    डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् ।

    द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए ।

  • अनमोलको ‘एक्स-नाइन’ सुटिङ कोरोनाले रोकियो, ‘पारस’को सुटिङ अघि बढाउँदै भुवन

    अनमोलको ‘एक्स-नाइन’ सुटिङ कोरोनाले रोकियो, ‘पारस’को सुटिङ अघि बढाउँदै भुवन

    काठमाडौं । अनमोल केसी लगायतका कलाकारले अभिनय गर्ने भनिएको फिल्म ‘एक्स नाइन’ तत्काल निर्माण नहुने भएको छ । फेब्रुअरी महिनाको अन्त्यबाट फिल्म सुटिङ हुने पूर्वनिर्धारित योजना पछि धकेलिएको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक मुकुन्द भट्टले कोरोनाभाइरस महामारीको तेस्रो लहरको कारण फिल्म सुटिङ योजनामा धक्का पुगेको बताए । निर्देशक भट्टले सुटिङ पोस्टपोन्डबारेको जानकारी कलाकारलाई गराइसकेका छन् ।

    अनमोलसहित सौगात मल्ल, पुष्प खड्का, राज कट्वालको फिल्ममा मुख्य भूमिका हुने जनाइएको छ । फिल्म छायांकन फेब्रुअरीदेखि हुने भनेरै वर्कसपदेखि शारीरिक सुगठनको काम समेत भैरहेको थियो ।

    बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि यसमा अभिनय गर्ने चर्चा थियो । फिल्मकै लागि भनेर कलाकारले ३ महिनादेखि शारीरिक सुगठन गराउँदै थिए । यसकै लागि भनेर अनमोल केसीले जुँगा पालेका थिए तर, अहिले जुँगा फालिसकेका छन् ।

    एक्स नाइन तत्काल निर्माण नहुने भएपछि निर्माता भुवन केसीले होमप्रोडक्सन फिल्म पारस छायांकन फागुनदेखि सुरु हुने बताएका छन् । यतिबेला भुवन पारसकै सुटिङ तयारीमा छन् । तरपनि यी सबै योजना भाइरसको तेस्रो लहरमा निर्भर हुनेछ ।

     

     

  • दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु)

    दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु)

    काठमाडौं । दशवर्षअघि बन्द भएको नाटकघर आरोहण गुरुकुल शुक्रबारदेखि पुनः संचालनमा आएको छ । राजधानीको थापागाउँमा गुरुकुलको शुभारम्भ गरिएको हो ।

    चित्रकार किरण मानन्धर र अभिनेता हरिहर शर्माले संयुक्तरुपमा थिएटरको उद्घाटन गरेका हुन् । उनीहरुले गुरुकुल पुनः संचालनमा आएकोमा खुशि व्यक्त गरे ।

    सो अवसरमा उपस्थित कलाकारले चित्र कोरेका थिए । विप्लव प्रतीक, शारदा शर्मा, मोमिला र मणी लोहनीले चित्र कोरेका थिए । थापागाउँस्थित गुञ्ज थिएटरलाई एकवर्षको लागि लिजमा लिएर आरोहण गुरुकुल संचालन गरिएको हो ।

    शुक्रबार नै सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मंचन गरियो । काठमाडौं महानगरपालिकाले एकवर्षको भाडा तिरिदिने भएपछि गुरुकुल संचालनमा आएको हो । महानगर र गुरुकुलबीच सम्झौता पनि भएको छ ।

    २०५९ सालदेखि आरोहण गुरुकुल आरम्भ भएको थियो भने जग्गा अभावले २०६८ सालमा बन्द भएको थियो ।

    तस्बिरहरू : गाैरव पाैडेल

  • गायक कुमार सुब्बाको निधन

    गायक कुमार सुब्बाको निधन

    काठमाडौं । गायक कुमार सुब्बाको निधन भएको छ । सुब्बाको पारिवारिक स्रोतका अनुसार शनिबार सिलिगुडीमा उपचारका क्रममा उनको निधन भएको दार्जिलिङका संचारमाध्यमले जनाएका छन् ।

    गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका गायक सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो।

    दार्जिलिङ घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडीमा बसोबास गर्दै आएका थिए । गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन गायक समेत रहेका सुब्बाले ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ जस्ता लोकप्रिय गीत गाएका छन्।

    सन् १९६८ देखि सुब्बाले आकाशवाणी खर्साङमा काम गरेका थिए । उनले थुप्रै महिलासँग सहगायन पनि गरेका छन् । दिलमाया, अरूणा लामा, डेजी बराइली, हीरा रसाइली, सङ्गीता सुब्बा, दावा ग्याल्मो आदिसँग पनि गाएका छन् । कर्म योञ्जनसँग पनि उनले गाएका छन् ।

  • माघी सम्झाउने सेलेना गोमेजको त्यो विश्वचर्चित फोटो !

    माघी सम्झाउने सेलेना गोमेजको त्यो विश्वचर्चित फोटो !

    काठमाडौं । सन् २०१४ मे २० देखि २३ सम्म हलिउड गायिका एवं अभिनेत्री सेलेना गोमेज नेपाल भ्रमणमा थिइन् । राष्ट्रसंघीय बालबालिका कार्यक्रम (युनिसेफ)को सद्भावना दूतको रुपमा उनी काठमाडौं आइपुगेकी थिइन् ।

    नेपाल भ्रमणको क्रममा बर्दिया र बाँके पुगेकी गोमेजलाई परम्परागत थारु पहिरन र झाँकीमा थारु किशोरीहरुले स्वागत गरेका थिए । गोमेजले सो अवसरमा थारु पहिरन र संस्कृतिले आफूलाई मोहित पारेको बताएकी थिइन् भने उनले थारु परिकार पनि चाखेकी थिइन् ।

    सतबरिया राप्ती माध्यमिक विद्यालयमा पुगेर उनले थारु किशोरी र बालबालिकासँगै समय बिताइन् । उनले सो अवसरमा बालबाबालिकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आहराबारे बुझेकी थिइन् ।

    आज थारु समुदायको मुख्य पर्व माघीमा सेलेनाको उक्त तस्बिर सान्दर्भिक हुनसक्छ । ती जिल्लाका थारु बस्तीको शिक्षा तथा स्वास्थ्यमा युनिसेफले पनि विभिन्न परियोजना संचालन गरिरहेको छ ।

    नेपाल आउने क्रममा सेलेना निजी कारणले चर्चामा थिइन् । नेपाल आउनुको एक महिनाअघि गायक जस्टिन बिबरसँग ब्रेकअप भएको थियो । पश्चिमा मिडियाले ब्रेकअपको पीडा भुलाउन नेपाल आएको बताएका थिए । निकै गुपचुपरुपले नेपाल आएकी सेलेनाले नेपालमा मिडियासँग भने बोलचाल गरिनन् ।

     

  • सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

    सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

    आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक कार्य आदिमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ ।

    त्यस्तै पहिलो चरणमा सिनेमा हल र रात्रीकालीन व्यवसाय १५ दिन बन्द गर्नेसमेत आदेशमा उल्लेख छ । एक मन्त्रीका अनुसार एक महिने आदेशमा पनि कतिपय सेवाका सम्बन्धमा चरणवद्ध नियम लागू गरिएको छ ।

    पहिलो चरणमा माघ १५ सम्म सबै स्कुल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन समेत बन्द गर्ने निर्णय भएको छ । होटल , क्याफे र रेष्टुरेण्टमा खोपकार्डका आधारमा मात्रै प्रवेश दिन समेत आदेश गरिएको छ ।

    त्यस्तै निषेधाज्ञा सम्बन्धि निर्णय स्थानीय आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने व्यवस्था पनि मन्त्रिपरिषद बैठकबाट पारित आदेशमा रहेको जनाइएको छ ।

  • ‘चपली हाइट ३’ कमजोर ओपनिङ : कन्टेन्ट वा ओमिक्रोन कारण ?

    ‘चपली हाइट ३’ कमजोर ओपनिङ : कन्टेन्ट वा ओमिक्रोन कारण ?

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका दुबै फिल्मले नेपाली बक्सअफिसमा कमजोर ओपनिङ गरेका छन् । स्वस्तिमा खड्का स्टारर ‘चपली हाइट’ले अपेक्षाभन्दा निकै कम ३० प्रतिशत अकुपेन्सीसहितको ओपनिङ गरेको सम्बन्धित हल संचालकले नेपाल प्रेसलाई बताएका छन् ।

    आजदेखि नै प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले न्यून सोज संख्याबीचमै १५ प्रतिशत अकुपेन्सी बराबरको सुरुआत गरेको छ ।

    मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले चपली हाइटको तेस्रो सिक्वेललाई शुक्रबार १४ सोज दिएको थियो । ‘हामीले अपेक्षा गरेभन्दा निकै कम ३० प्रतिशत जति अकुपेन्सी देखिएको छ’ क्यूएफएक्स स्रोतले भन्यो, ‘यसो हुनुमा कन्टेन्ट वा ओमिक्रोन कुन कारण हो, बुझ्न सकिएन ।’

    एक्लै रिलिज भएको चपली हाइटलाई हलहरुले राम्रो सोज प्रदान गरेका थिए । यसको एड्भान्स बुकिङ पनि न्यून थियो । शुक्रबार स्पाइडरम्यान, पुष्पाको अकुपेन्सी पनि करिब ५ प्रतिशतको वरपर थियो ।

    शुक्रबारदेखि प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले केही सोज मात्र पाएको थियो । ‘बरु यो फिल्मको सोज थोरै भएपनि अकुपेन्सी राम्रो देखियो’ क्यूएफएक्स स्रोतले भन्यो, ‘दर्शकमाझ यसको डिमान्ड राम्रो रहेको बुझियो ।’

    शनिबार पनि चपली हाइटलाई क्यूएफएक्सले १४ सोज नै उपलब्ध गराउँदा माइ हिरो अकाडेमियाले सात सोज पाएको छ । कठ्पुतलीले शनिबार ८ सोज, पुष्पाले १४ सोज र स्पाइडरम्यानले क्यूएफएक्समा पाँच सोज दिएको छ ।

    पछिल्लो साता तीव्ररुपमा वृद्धि भैरहेको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन असर नेपाली बक्सअफिसमा देखिएको छ । अर्कोतर्फ, चपली हाइट ३ को ट्रेलरलाई लिएर दर्शकमाझ मिश्रित प्रतिक्रिया पनि प्राप्त भएको थियो ।

    नेपाली फिल्मको ओपनिङमा ट्रेलरको प्रभाव पनि जबर्जस्तरुपमा देखिँदै आएको छ । अघिल्लो साता रिलिज भएको कठ्पुतलीको राम्रो ओपनिङ पछाडि ट्रेलरलाई कारण मानिएको थियो । तर, कठ्पुतलीले पनि अपेक्षाकृत प्रतिक्रिया चाहिँ पाउन सकेन ।

  • नेटफ्ल्क्सिको नेपाली फिल्म ‘फोर्टिन पिक्स’ बाफ्टा अवार्ड मनोनयनमा

    नेटफ्ल्क्सिको नेपाली फिल्म ‘फोर्टिन पिक्स’ बाफ्टा अवार्ड मनोनयनमा

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्ल्क्सिले निर्माण गरेको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ बाफ्टा अवार्डमा मनोनित भएको छ ।

    द ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्ले सार्वजनिक गरेको २४ विधाको मनोनयनतर्फ उक्त फिल्मले डकुमेन्ट्री विधामा छानिएको हो । पूर्जाले संसारका १४ अग्ला हिमाल ६ महिनाभित्रै कसरी आरोहण गरेर विश्व कीर्तिमान राखे भन्ने चित्रण यसले गर्छ ।

    बाफ्टाको डकुमेन्ट्री विधामा फोर्टिन पिक्ससहित १५ फिल्म छानिएका छन् । जसमध्ये बढी भोट पाउने पाँच फिल्म दोस्रो चरणमा प्रवेश गर्नेछन् । छानिने पाँच मध्येबाट पनि एकजना उत्कृष्ट हुनेछ ।

    डकुमेन्ट्री विधाका १५ मनोनयनमध्ये फोर्टिन पिक्सलाई सुरुमै राखिएकाले यसले जित्ने अनुमान गर्न सकिन्छ । बाफ्टा अवार्ड आगामी मार्च १३ मा लन्डनमा आयोजना हुँदैछ ।

    नेटफिल्क्सले गत मंसिर १३ गते संसारका आफ्ना २१ करोड दर्शकमाझ फोर्टिन पिक्स प्रिमियर गरेको थियो । ३१ भाषाबाट यो फिल्म स्ट्रिमिङ गरिएको थियो ।

    फिल्मले नेटफिल्क्समा सर्वाधिक हेरिने डकुमेन्ट्रीको रेकर्ड राखेको थियो । पहिलो साता यसलाई १२.१७ मिलियन घण्टा हेरिएको थियो ।

  • सपना कसरी पाइरेसी हुन्छ : यस्तो छ ‘चिसो एस्ट्रे’ फिल्मको गीतभित्र लुकेको उत्तर (भिडिओ)

    सपना कसरी पाइरेसी हुन्छ : यस्तो छ ‘चिसो एस्ट्रे’ फिल्मको गीतभित्र लुकेको उत्तर (भिडिओ)

    काठमाडौँ । हामी यस्तो समयमा बाँचेका छौं जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामी अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिक भएको छ । ‘ड्रीम पाइरेसी’ बोलको गीतले यस्तै पाइरेटेड सपनाहरूको कुरा गर्छ ।

    बिहीवार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।

    ‘हामी अहिले ग्लोबल भिलेजमा छौँ जहाँ हामीले देख्ने सपनासमेत आयातित छन् । फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशक दिनेश पाल्पालीले फिल्मका चरित्रलाई खिपेर शब्द लेख्नुभएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोसिस गरेको छु,’ अजरले भने ।

    फंक शैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकार देखिन्नन् । बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

    चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।

    उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

    कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्वो र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

  • बेनिशाको फिल्म ‘ब्लाइन्ड रक्स’ नेपाल एयरलाइन्सका जहाजहरुमा

    बेनिशाको फिल्म ‘ब्लाइन्ड रक्स’ नेपाल एयरलाइन्सका जहाजहरुमा

    काठमाडौं । नेपाल एयरलाइन्सका सबै उडानका यात्रुले नेपाली फिल्म ‘ब्लाइन्ड रक्स’ हेर्न पाउने भएका छन् । यसैसातादेखि राष्ट्रिय ध्वजाबाहक जहाजले यात्रुको मनोरञ्जनको लागि यस्तो निर्णय गरेको हो ।

    एयरलाइन्सका सबै उडानमा फिल्म देखाउने गरी डिजिटल कम्पनी हाइलाइट्स नेपाल र नेपाल वायुसेवा निगमबीच सहमती भएको हो । सहमतीअनुसार निगमले आफ्ना सबै हवाइ रुटका यात्रुलाई फिल्म देखाउने भएको छ ।

    यसअघि पनि हाइलाइट्स नेपालकै फिल्म छक्कापञ्जा २ लाई पनि निगमका जहाजमा देखाइएको थियो । सुवास इन्टरटेनमेन्टको फिल्म नोभेम्बर रेइनलाई पहिलोपटक जहाजमा देखाउन सुरु गरिएको थियो । त्यसयता नेपाली फिल्म पनि जहाजमा प्रदर्शन हुन थालेका हुन् ।

    यसअघि वायुसेवा निगमले बलिउड र हलिउड फिल्मलाई मात्र आफ्ना यात्रुमाझ देखाउँदै आएको थियो ।

    सन् २०१८ मा रिलिज भएको फिल्म ब्लाइन्ड रक्सलाई मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन् । सृष्टि केसीको बायोपिक फिल्ममा बेनिशा हमालको मुख्य भूमिका छ ।

  • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ टीजर लन्च, बैशाख १ गते फिल्म रिलिज घोषणा

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ टीजर लन्च, बैशाख १ गते फिल्म रिलिज घोषणा

    काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर’को चौंथो श्रृंखलाले शुक्रबार टीजर ट्रेलर रिलिज गरेको छ ।टीजर सार्वजनिक भएसँगै आगामी बैशाख १ गते (अप्रिल १४)लाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएको छ ।

    १ मिनेट ४४ सेकेन्ड लामो टीजर ट्रेलरमा फिल्मका दुई मुख्य पात्रहरु अनमोल केसी र सुहाना थापा चित्रण छन् । टीजरमा प्रेम, रोमान्स र बिछोडका तीन आयामलाई फिचर्ड गरिएको छ ।

    टीजरमा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र उत्तम न्यौपाने सीएएसको ध्वनी डिजाइन माधुर्य लाग्छ । संजय लामाले आकर्षक दृश्यहरुलाई क्यामेरामा कैद गरेका छन् । सन् २००२ अगस्ट ३१ मा शिव रेग्मीको निर्देशनमा बनेको ए मेरो हजुरको पहिलो श्रृंखलामा श्रीकृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा थिए ।

    ए मेरो हजुर २ सन् २०१७ र ए मेरो हजुर ३ सन् २०१९ मा रिलिज भएका थिए । यी सबै फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेका थिए । निर्मात्री समेत रहेकी झरनाले दोसो श्रृंखलाबाट निर्देशकीय जिम्मेवारी सम्हालेकी थिइन् ।

    ‘लालसिंह चड्डा’ र ‘केजीएफ २’ सगै

    कोरोना महामारीको परिस्थितीमा सुधार भए बैशाख १ गते ए मेरो हजुर ४, लालसिंह चड्डा र केजीएफ दोस्रो च्याप्टर एकसाथ प्रदर्शन हुनेछन् । यी तीनै फिल्म बिग बजेट, बहुप्रतीक्षितदेखि स्टारकास्ट भएका फिल्महरु हुन् । यदि तीनै फिल्म प्रदर्शन भए त्यो व्यवसायिक चुनौति हुनेछ ।

    वितरक पनि हेरफेर

    ए मेरो हजुर ४ को मोफसल वितरणबाट ब्यांकटेस इन्टरटेनमेन्टले हात झिकेको छ । मनोज राठी र उज्वल पौडेलले अघिल्ला ए मेरो हजुरका सिक्वेललाई वितरण गरेका थिए । यसपटक मोफसल वितरणको जिम्मा केदारप्रसाद पराजुलीले सम्हालेका छन् ।

    हिन्दी फिल्म वितरणमा अग्रणी मानिएको ब्यांकटेस इन्टरटेनमेन्टले सोही मितिमा केजीएफ र लालसिंह चड्डामध्ये कुनै एकलाई वितरण गर्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाको वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् ।