Category: कलाप्रेस

  • फरहान अख्तर र गायिका शिवानीबीच फेब्रुअरी २१ मा बिहे हुँदै

    फरहान अख्तर र गायिका शिवानीबीच फेब्रुअरी २१ मा बिहे हुँदै

    मुम्बई । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दांडेकरले फेव्रुअरी २१ मा बिहे गर्ने भएका छन् । फरहानका पिता तथा गीतकार जावेद अख्तरले यसबारे पुष्टि गरेका हुन् ।

    उक्त मितिमा दुबैले कोर्ट म्यारिज गर्ने र त्यसपछि वैवाहिक सेलिव्रेसन जानकारी उनले दिए । बिहे लगत्तै खंडालास्थित फार्महाउसमा एक पारिवारिक जमघटसमेत हुनेछ ।

    उनीहरुको बिहेको कार्यक्रम व्यवस्थापन गर्ने कार्य एक निजी वेडिङ कम्पनीले लिएको छ । कोरोना महामारी कायमै रहेकाले सीमित संख्यामा आगन्तुकलाई निम्तो दिइएको छ ।

    शिवानी असल महिला भएको जावेदले बताए । ‘उनी असल युवती हुन् । हामी सबै उनलाई मन पराउँछौं । सबैभन्दा ठूलो कुरा फरहान र शिवानी एकअर्कालाई निकै मनपराउँछन् र बिहे गर्दैछन् । यो सबैभन्दा ठूलो कुरा हो’ उनले भने ।

    जावेदका अनुसार फरहान र शिवानीले बिहेमा सब्यासाचीको डिजाइन लगाउनेछन् । यो जोडी चारवर्षदेखि सम्बनन्धमा छ । दुबैले एक घरपालुवा जनावरलाई पनि एडप्ट गरेका छन् ।

  • ‘धेरै वर्षपछि झरी पर्‍यो’ गीतमा मेरो जीवनको एउटा हिस्सा छ : यशकुमार

    ‘धेरै वर्षपछि झरी पर्‍यो’ गीतमा मेरो जीवनको एउटा हिस्सा छ : यशकुमार

    काठमाडौं । हिजोदेखि काठमाडौंलगायत देशभर वर्षा भइरहेको छ । भ्यालेन्टाइन सप्ताह पनि नजिकिँदैछ । यही सेरोफेरोमा हामीले गायक यशकुमारसँग डेढ दशकअघिको ‘धेरै वर्षपछि आज फेरि झरी पर्‍यो’ गीतको रचनागर्भबारे कुराकानी गरेका छौँ । यस गीतमा यशकुमारकै शब्द, संगीत र स्वर रहेको छ ।

    ‘धेरै वर्षपछि आज फेरि झरी पर्‍यो गीत मेरो सांगीतिक करिअरकै उत्कृष्ट गीत हो । जब-जब सहरमा झरी पर्छ, यो गीतलाई म सधैँसधैँ सम्झिरहन्छु । मेरो जीवनको एउटा हिस्सा पनि यो गीतमा छ ।’

    यो गीतले प्रेमिका गुमाएका, प्रेमी गुमाएका सबैलाई विगतको याद दिलाउँछ । यो ममा पनि लागू हुन्छ । मेरो जीवनमा पनि मैले कोही अत्ति प्रिय मान्छेलाई गुमाउनु परेको थियो । कहिलेकाहीँ उसको बेस्सरी याद आउँदा म यही गीत सुन्ने गर्छु ।

    कुनै समयमा गहिरो प्रेममा परेका प्रेमी-प्रेमिकाको प्रेमिल दिनहरूको सम्झना हो यो गीत । प्रेममा रहँदा उनीहरू सँगसँगै हिँड्थे, डुल्थे । एउटै झरीमा सँगै रुझ्थे । कुनै दिन सधैँका लागि टाढिनुपर्छ भनेर सोचेका पनि थिएनन् । तर, समयले यस्तो खेल खेल्यो कि उनीहरू छुट्टिए ।
    छुट्टिएपछि प्रेमीको आफ्नै दुनियाँ बन्यो, प्रेमिकाको आफ्नै दुनियाँ बन्यो । उनीहरूले आ-आफ्नै संसार सुरु गरे । आ-आफ्नै अवस्थामा बाँच्न थाले ।

    तर, पनि विगतमा सँगै डुलेको चोक, गल्ली, मन्दिरहरूको याद आइरहन्छ । कुनै ठाउँमा जाँदा सँगै बिताएको विगतलाई सम्झिन्छन् । र, अचानक एक दिन छुट्टिएको २०औं वर्षपछि एक खालको झरी पर्‍यो । त्यस्तै झरी उनीहरू सँगै हुँदा २० वर्षअघि पनि परेको थियो । यत्ति लामो वर्षपछि झरी मात्रै बर्सिएन, झरीसँगै यादहरू पनि बर्सिए । अहिले त दुवै विवाहित छन् ।

    तर, केटाले गीतमा अनुमान गर्छ कि उसको ठाउँमा अहिले जुन झरी परिरहेको छ, त्यो झरी केटीको ठाउँमा पनि पर्‍यो होला । जसरी केटा रोएको छ, केटी पनि त्यसरी नै रोई होली । जसरी केटाले सम्झियो, केटीले पनि त्यसरी नै सम्झिई होली ।

    यो गीत धमिलो हुँदै गएको अथवा आँसुले झण्डै बगाइसकेको विगतको सुमधुर सम्झना हो ।

  • आलिया स्टारर ‘गंगुबाई कठियावाडी’ ट्रेलर लन्च : नामुद यौनकर्मीदेखि राजनीतिक नेतृसम्मको कथा चित्रण

    आलिया स्टारर ‘गंगुबाई कठियावाडी’ ट्रेलर लन्च : नामुद यौनकर्मीदेखि राजनीतिक नेतृसम्मको कथा चित्रण

    काठमाडौं । आलिया भाट र अजय देवगण स्टारर बहुप्रतीक्षित बलिउड फिल्म ‘गंगुबाइ कठियावाडी’को अफिसियल ट्रेलर लन्च भएको छ ।

    ३ मिनेट लामो ट्रेलरमा आलियाले मुम्बईकी माफिया क्वीनको नामले चिनिने गंगुबाइको चरित्र निर्वाह गरेकी छिन् । एक नामुद यौनकर्मीले राजनीतिक नेतृ बन्न तय गरेको यात्रा यसको कथावस्तु हो ।

    पछिल्लो छिमलमा बलिउडमा रुचाइएकी आलियाको अभिनयको प्रशंसा मिल्ने अपेक्षा गरिएको छ । अजय देवगण समेत ट्रेलरमा फिचर्ड छन् । संजयलीला भन्सालीको निर्माण र निर्देशन रहेको फिल्म फेब्रुअरी २५ मा रिलिज हुने तयारीमा छ ।

    कोभिड-१९ महामारीले पटक-पटक रिलिज स्थगन गरेको फिल्म अन्ततः रिलिज हुन लागेको हो । ट्रेलर रिलिजको एकदिन अघि सार्वजनिक गरिएको पोस्टरबाटै फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो ।

    निर्देशक भन्सालीका फिल्ममा संवाद पक्ष निकै बलशाली लाग्छन् । ट्रेलरमा पनि आकर्षक पञ्चलाइन समावेश गरिएको छ । बृहत क्यानभास समावेश हुने सिनेम्याटोग्राफी पनि ट्रेलरको आकर्षक पक्ष हो ।

    भारतीय संचारमाध्यमले कोरोना महामारीको तेस्रो लहरले पुनः थला परेको फिल्म उद्योगलाई गंगुबाईले राहत प्रदान गर्ने अपेक्षा गरेका छन् ।

  • ४८ लागिन् करिश्मा : बर्थडेमा पुगिन् सिमरा, टाइमलाइनमै फ्यानको शुभकामना

    ४८ लागिन् करिश्मा : बर्थडेमा पुगिन् सिमरा, टाइमलाइनमै फ्यानको शुभकामना

    काठमाडौं । ‘एभरग्रिन एक्ट्रेस’को रुपमा करिश्मा मानन्धर चर्चित छिन् । ढल्कँदो उमेरसँगै उनको सौन्दर्य पनि ज्यूँको त्यूँ छ । सन् १९८८ मा ‘सन्तान’ फिल्मबाट १६ वर्षको कलिलो उमेरमै उनले अभिनय यात्रा थालेकी थिइन् ।

    शुक्रबार उनको ४८ औं जन्मदिन हो । जन्मदिनमा उनी आज काठमाडौंमा भने छैनन् । पारिवारिक व्यापारको सिलसिलामा उनी सिमरा पुगेकी छिन् । ‘यसपटक सिमरामा भएकीले बर्थडे कार्यक्रम छैन । सबैजनाले सामाजिक संजाल र मोबाइलबाटै शुभकामना दिइरहनुभएको छ’ करिश्माले नेपाल प्रेसलाई भनिन् ।

    करिश्मा पछिल्लो समय ब्यापारमा व्यस्त छिन् । घरेलु काममा प्रयोग हुने विद्युतीय सामाग्रीको कारोबार गर्ने उनको ब्यापार चलिरहेको छ । उक्त ब्यापारलाई छोरी कविताले सम्हालेकी छिन् । कोरोना महामारी सामान्य भए निकट भविष्यमै फिल्म निर्माण गर्ने करिश्मा योजना छ ।

    उनले पछिल्लोपटक फागु निर्माण गरेकी थिइन् । राजनीतिक करिअर थालेपनि त्यो सफल चाहिँ हुनसकेन । पछिल्लोपटक मुलुकमा राजसंस्थाको आवश्यकता महसुस गरेकी करिश्मा यो उमेरमा पनि उत्तिकै फिट एन्ड फाइन छिन् । फेसन र हेल्थ कन्सस करिश्माले हालैमात्र स्कुल शिक्षा उत्तिर्ण गरेकी थिइन् ।

  • भोईस अफ नेपालका म्युजिक डाइरेक्टर कार्कीको ‘ए साइली’ गीत सार्वजनिक (भिडियाे)

    भोईस अफ नेपालका म्युजिक डाइरेक्टर कार्कीको ‘ए साइली’ गीत सार्वजनिक (भिडियाे)

    चर्चित गायन टेलिभिजन रियालिटी शो द भोईस अफ नेपालका म्युजिक डाइरेक्टर करणराज कार्कीको स्वर तथा संगीत रहेको ‘ए साइली’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । शुक्रबार  संगीत भकारी युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हाे ।

    लेखु सहयात्रीको शब्द ,देवेश राइको संगीत संयाेजन तथा किशोर थापाको मिक्स, मास्टर रहेको उक्त गीतमा कार्किलाई गायीका मेचु धिमालले गायनमा साथ दिएकी छिन् | ज्योति प्रोडकसनको पोस्ट प्रोडकसन,अनिल के मानन्धरको छायाकन बिष्णुहरी तिमल्सिनाको सम्पादन तथा मौसम हिमाली निर्देशित म्युजिक भिडियोमा बिपिन श्रेष्ठ तथा रोश्नी कार्कीको सुन्दर अभिनय रहेको छ ।

    https://www.youtube.com/watch?v=rsyTcVAB1a8

     

  • कोभिडबाट क्यान्सर रोगीलाई जोगाउन मनीषा कोइरालाको आग्रह

    कोभिडबाट क्यान्सर रोगीलाई जोगाउन मनीषा कोइरालाको आग्रह

    काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले कोरोनाभाइरस महामारीको यो कठिन समयमा क्यान्सर रोगीको जीवन बचाउनतर्फ जोड दिन नागरिक तथा सरकारलाई आग्रह गरेकी छिन् ।

    क्यान्सर रोगीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरुलाई स्याहार र पोषणयुक्त खानाको जरुरी हुने उनको भनाई छ ।

    क्यान्सरविरुद्धको क्षेत्रमा कार्य गर्ने उत्तर भारतको एक सामाजिक संस्था क्यान सपोर्टलाई सघाउन गर्दै उनले एक भिडियो सन्देश पनि जारी गरेकी छिन् ।

    क्यान्सर रोगीलाई कोभिड-१९ संक्रमणबाट जोगाउन आवश्यक रकम जुटाउन उक्त संस्थाले सुरु गरेको क्राउड फन्डिङलाई सघाउन पनि मनिषाको आग्रह छ ।

    मनिषा स्वयम पनि क्यान्सर रोगलाई जितेकी हुन् । उनले यसअघि पनि नेपालमा क्यान्सर अस्पताल खोल्न र क्यान्सरविरुद्धको सामाजिक कार्यमा सघाउँदै आएकी छिन् । फेव्रुअरी ४ को दिनमा नेपालमा क्यान्सरविरुद्ध सचेतना दिवस पनि मनाइँदैछ । 

  • सबा आजादसँगको डेटिङमा ऋतिक रोशन : बिदा मनाउन गोवामा

    सबा आजादसँगको डेटिङमा ऋतिक रोशन : बिदा मनाउन गोवामा

    मुम्बई । पत्नीसँग डिभोर्सपछि अभिनेता ऋतिक रोशन सिंगल थिए । तर, यतिबेला उनको नाम ‘मुझसे फ्रेन्डसिप करोगे’ र ‘फिल्ज लाइक इस्क’ को-स्टार सबा आजादसँग जोडिएको छ ।

    हातमा हात मिलाउँदै सार्वजनिक ठाउँमा हिँडेको देखिएपछि ऋतिक र सबाको सम्बन्धलाई लिएर अड्कलबाजी सुरु भएको छ । सार्वजनिक ठाउँमै डेट गरेको तस्बिर तथा भिडिओ भाइरल भएपछि फ्यानले यसबारे शंका र आशंका जनाएका छन् ।

    रिपोर्टका अनुसार केही महिनादेखि यो जोडीले आफ्नो सम्बन्ध लुकाएर राखिरहेको थियो । मिडडेमा प्रकाशित रिपोर्टअनुसार सबा र ऋतिक पर्यटकीय थलो गोवामा बिदा मनाउन निस्किएका थिए ।

    केही महिनाअघि पनि गोवामा सँगै देखिएपछि उनीहरुको मित्रतामा केही फुलिरहेको अड्कलबाजी चलेको थियो । सामान्य चिनजान हुँदै अघि बढेको उनीहरुको सम्बन्ध त्यसयता सम्पर्कमा रहिरह्यो ।

    ऋतिकसँग डेट चलिरहेको भन्नेबारे एक ट्याब्लोइडले सबासँग सोधेपनि उनले उत्तर दिन अस्वीकार गरेकी थिइन् । बलिउड हंगामाका अनुसार केही समयदेखि उनीहरुले डेट गरिरहेपनि सम्बन्धलाई खुलाउन चाहेका छैनन् ।

    ऋतिक स्टारर फिल्म विक्रम भेडाको रिमेक छायांकन सकिएको छ भने सोनीलाइभको लागि सबा आजादले गरेको रकेट ब्वाइज सिरिज सुटिङ सकिएको छ ।

     

  • स्कारलेट जोहान्सन संसारकै धेरै कमाउने अभिनेत्री : यी हुन् यसवर्षका महंगा १० नायिका

    स्कारलेट जोहान्सन संसारकै धेरै कमाउने अभिनेत्री : यी हुन् यसवर्षका महंगा १० नायिका

    काठमाडौं । कोरोना महामारीले पछिल्लो दुईवर्ष हलिउड पनि पूर्णरुपमा प्रभावित बन्यो । तर, यसको बाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोना कालमा राम्रो कमाउन सफल भए ।

    हलिउड एक्ट्रेसहरु अन्य मुलुकका फिल्म उद्योगका नायिकाभन्दा कमाउने मामिलामा पनि अघि छन् । सन् २०२१ देखि सन् २०२२ सम्म एभेन्जर्स अभिनेत्री स्कारलेट जोहान्सन, एन्जेलिना जोली, गल ग्याडेट सर्वाधिक कमाउने नायिका बनेका छन् ।

    ३६ वर्षिया हलिउड अभिनेत्री जोहान्सन सन् २०१८ यता सर्वाधिक कमाउने अभिनेत्री बनेकी छिन् । यस पछाडि अभिनयप्रति उनको लगाव र एकपछि अर्को गरि रिलिज हुने उनका हिट फिल्महरु हुन् ।

    स्कारलेटले गतवर्ष ४१८ करोड भारु कमाएकी छिन् । ब्ल्याक विडो, द एभेन्जर्स, अन्डर द स्किनजस्ता हिट फिल्ममा समेत काम गरेकी छिन् । उनले केही सामाजिक संस्थालाई उनले दान पनि गरेकी छिन् । उनी एचआइभी एड्सविरुद्धको अभियान पनि सक्रिय छिन् ।

    अभिनेत्री, टिभी प्रस्तोता र निर्मात्री सोफिया वेरगारा सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा छिन् । सन् २०२१ मा उनले ३२१ करोड भारु कमाएकी छिन् ।

    गोल्डेन ग्लोब अवार्ड विजेता नायिका रिज विदरस्पुनले २६९ करोड भारु कमाएकी छिन् । एन्जेलिना जोली २६५ करोड भारु आम्दानीसहित चौंथो स्थानमा छिन् । १८ वर्षको उमेरमा मिस इजरायलको उपाधि जितेकी नायिका गल ग्याडटले २३५ करोड भारु कमाएकी छिन् ।

    तीनवटा गोल्डेन ग्लोब्स अवार्ड जितेकी नायिका जुलिया रोबर्ट्स २२४ करोड भारु कमाएकी छिन् । ‘हंगर गेम्स’ फेम्ड अभिनेत्री जेनिफर लरेन्स २०९ करोडसहित सूचीमा छिन् । जेनिफर एनिस्टले पनि सोही बराबरको कमाइ गरेको जनाइएको छ ।

    कमेडियन तथा निर्मात्री मेलिना म्याककार्थीले सन् २०२१ मा १८७ करोड भारु कमाएकी छिन् । केली कुआको १८७ करोड भारु, मेरिल स्ट्रिप १७९ करोड भारु, मार्गोट रोबी १७५ करोड भारु, शार्लिन सेरोन १७१ करोड भारु, एमिली ब्लन्ट १६८ करोड भारु र निकोल किडम्यान १६५ करोड भारुसहित सर्वाधिक कमाउने अभिनेत्रीको सूचीमा छन् ।

  • लोकगायक विष्णु खत्री माओवादी केन्द्रमा प्रवेश, भन्छन् : अब नेतृत्वमै रहेर काम गर्छु

    लोकगायक विष्णु खत्री माओवादी केन्द्रमा प्रवेश, भन्छन् : अब नेतृत्वमै रहेर काम गर्छु

    बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

    गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ”, उनले भने ।

    राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट-७ मल्ममा जन्मिएका उनले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरिसकेका छन् ।

    विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइनुभएका गायक÷सर्जक खत्रीले सयौँ गीतमा स्वर दिइसकेका छन् ।

    खत्रीका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् । खत्री सुरुआतदेखि माओवादी निकट रहेपनि खुलेर पहिलोपटक सक्रिय राजनीतिमा आबद्ध भएका हुन् । रासस

  • अक्षय कुमारको फिल्म ‘गोरखा’ले माग्यो नेपाली कलाकार

    अक्षय कुमारको फिल्म ‘गोरखा’ले माग्यो नेपाली कलाकार

    मुम्बई । अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि अडिसन आह्वान गरेको छ ।

    आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो ।

    जनवरीमै अडिसन मागिएपनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्नेछन् । इच्छुकलाई आफ्नो परिचय दिने भिडिओ पठाउन भनिएको छ ।

    भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित उक्त फिल्मको मुख्य भूमिकामा अक्षयले अभिनय गर्दैछन् ।

    युद्धको क्रममा घाइते भएर पनि उनले सन् १९६२ र १९६५ को युद्धमा कसरी कुशलतापूर्वक गोर्खा बटालियनको नेतृत्व गरे भन्ने कथावस्तु यसले पेश गर्छ । सन् १९७१ को भारत-पाक युद्धमा पनि उनले सहभागिता जनाएका थिए ।

  • मेलम्चीको दुःखान्त सम्झाउने ‘गड्ज बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानियो

    मेलम्चीको दुःखान्त सम्झाउने ‘गड्ज बफेलो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानियो

    काठमाडौं । विष्णु कल्पित निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेलो’ प्रतिष्ठित अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानिएको छ ।

    काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री र इसिमोड पर्वतीय पुरस्कार जितेको यो फिल्म अर्को नेपाली फेस्टिभल निफमा समेत छानिएको छ ।

    किम्फका दुई विधाबाटै यसले २ लाख रुपैयाँ जितेको थियो ।

    नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा हुने एनिमल फिल्म फेस्टिभलमा यस फिल्मलाई स्क्रिनिङ गरिने भएको छ । उक्त फेस्टिभलले नेपाली डकुमेन्ट्री छानिएको चिन्ह समावेश गर्दै पोस्टर समेत लन्च गरेको छ ।

    १४ मिनेट २० सेकेन्ड लामो डकुमेन्ट्रीले गत असारमा सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको भैंसीको उद्दारका लागि भएको प्रयास र भैंसी मालिकको संवेदनाको मर्मस्पर्शी कथा भन्छ ।

    उक्त फिल्म हेरेपछि किम्फ निर्णायक अनुप बरालले गड्ज बफेलोले मानवीय संवेदना चित्रण गर्दै मस्तिष्कलाई हल्लाउने बताएका थिए । मेलम्ची बाढीबारे अलजजिरा टिभीको लागि रिर्पोटिङ गर्न जाँदा कल्पितले उक्त फिल्म छायांकन गरेका थिए ।

  • राजेशपायल राईले लिए बालगायिका रुक्सना लिम्बुलाई पढाइदिने जिम्मा

    राजेशपायल राईले लिए बालगायिका रुक्सना लिम्बुलाई पढाइदिने जिम्मा

    काठमाडौं । ‘द भ्वाइस किड्स नेपाल’की फाइनलिस्ट रुक्सना लिम्बूलाई गायक राजेशपायल राईले आफ्नै खर्चमा पढाइदिने भएका छन् । ‘रुक्सना लिम्बू जिताऔं अभियान’ धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राईले रुक्सनलाई पढाइदिने जिम्मा लिएका हुन् ।

    राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनले रुक्सनाको लागि दुईवटा म्युजिक भिडिओ निर्माण गर्ने घोषणा समेत सो अवसरमा भएको छ । गायक राईकै स्वर तथा संगीत यसमा रहने भएको छ ।

    रुक्सनाको लागि केन्द्र मोसन पिक्चर्सले दुईवटा म्युजिक भिडिओ निर्माण गर्ने घोषणा गरेको छ । रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक मीना सिंगक र सागर चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

    अभियानको समन्वयमा केन्द्र मोसन पिक्चर्सले दुईसहित सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एक गीत निर्माण गर्ने जनाइएको थियो । कार्यक्रममा अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंगकले १० हजार रकमको चेक हस्तान्तरण गरे । रुक्सनाको आगामी प्रोजेक्टको लागि ब्यबसायी टंक लिम्बूले २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि नविन मेन्याङ्बोले मन्तव्य राख्दै टाइटल जित्नु मात्रै ठूलो कुरा नभएर सम्पूर्ण संगीतप्रेमी नेपालीहरुको मन जितेर दर्शक श्रोताको माया पाउनु पनि ठूलो कुरा भएको बताए । लिम्बू समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी सोको फाइनलसम्म पुगेर आफ्नो समुदायको मान राखेको भन्दै उनले सघाउने वचन दिए ।

    गायनसँगै पढाइलाई समेत निरन्तरता दिएर अघि बढ्न उनले आग्रह गरे ।

    रुक्सनाकी आमा रेखा लावती लिम्बूले छोरीको लागि धरानको टिमले सहयोग गरेको बताउँदै सांगीतिक भबिष्यको लागि समेत सबैसँग समन्वय गरी विभिन्न अवसर प्रदान गरिदिएकोमा धन्यवाद दिइन् । कार्यक्रममा रुक्सनाले आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिंदै मालिंगो काटी , किन बढ्दैछ, मेरो लगायतका केही गीत गाएकी थिइन् ।

  • रातेकाइँला बलिउड जाने भएपछि ‘लाखे’मा भिलेन फेरिए : सुनिल आउट, प्रशान्त इन

    रातेकाइँला बलिउड जाने भएपछि ‘लाखे’मा भिलेन फेरिए : सुनिल आउट, प्रशान्त इन

    काठमाडौँ । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’मा अभिनेता प्राशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन (नेगेटिभ) भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् ।

    यसअघि भिलेन भूमिकामा सुनिल थापा छानिएका थिए । थापाले बलिउड फिल्ममा अभिनय गर्नुपर्ने भएकाले समय दिन नसक्ने बताउँदै उनकै सहमतिमा ताम्राकार लिएको निर्देशक सम्राट बस्नेतले बताए ।
    अभिनेता ताम्राकारले आफू‘लाखे’ मा जोडिन पाउँदा खुसी लागेको बताए ।

    प्रशान्त ताम्राकारसँग सम्झौता गर्दै निर्देशक

    ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

    ‘लाखे’ अहिले छायांकन भइरहेको फिल्म हो । काठमाडौँ उपत्यकाको बिभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउतको अभिनय छ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता हुन् ।

  • ‘ब्लाइन्ड डेट’ अबदेखि हिमालय टिभीमा : बैशाखदेखि प्रसारण हुने

    ‘ब्लाइन्ड डेट’ अबदेखि हिमालय टिभीमा : बैशाखदेखि प्रसारण हुने

    काठमाडौं । युट्युवमा हिट भएपछि ‘ब्लाइन्ड डेट’को सिजन २ टेलिभिजनमा प्रसारण हुने भएको छ । बैशाख पहिलो सातादेखि प्रसारण आरम्भ गर्ने गरि हिमालय टिभीले सोको प्रसारण अधिकार लिएको छ ।

    टेलिभिजन र सोका निर्देशक रोशन दाहालबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि संचारकर्मीसँग कुरा गर्दै निर्देशक दाहालले कार्यक्रम हिट भएपछि धेरै टिभीबाट अफर आएको र आफूहरुले हिमालय टिभी छनौट गरेको बताए ।

    प्रसारण सुरु हुनु एकसाता पहिलेभन्दा सोको छायांकन गरिने भएको छ । अहिले अडिसन सुरु भएको छ । पाँच पुरुष र पाँच महिला प्रतिस्पर्धीको लागि अडिसन थालिएको निर्देशक दाहालले जनाए ।

    सिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनबाट विजेता भएर बिहे समेत गरेका थिए । ब्लाइन्ड डेटको अघिल्लो सिजनले सामाजिक संजालमा निकै चर्चा बटुलेको थियो ।

    हिमालय टिभीमा अहिले द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स, डान्सिङ विथ द स्टार्स नेपाल, इन्द्रेणी, सक्किगो नि कार्यक्रम प्रसारण भैरहेका छन् ।

  • १३ वर्षपछि राजेश र निरुताको टीमअप : ३५ लाखमा तयार भयो म्युजिक भिडिओ

    १३ वर्षपछि राजेश र निरुताको टीमअप : ३५ लाखमा तयार भयो म्युजिक भिडिओ

    काठमाडौं । फिल्म ‘फर्कि आऊ’मा सहकार्य गरेको १३ वर्षपछि राजेश हमाल र निरुता सिंहले अर्को एक नयाँ प्रोजेक्टमा टीमअप गरेका छन् ।

    सुटिङ सम्पन्न भएको एक नयाँ म्युजिक भिडिओमा राजेश र निरुतालाई जोडीको रुपमा देख्न पाइनेछ । मंगलबार राजधानीको याक एन्ड यति होटलमा म्युजिक भिडिओ छायांकन भएको छ ।

    ३५ लाख लागतमा निर्माण भएको भनिएको उक्त म्युजिक भिडिओमा राजेशलाई राणकालिन दरबारका शासकको रुपमा देख्न सकिन्छ । निरुता हमालकै अपोजिटमा कास्ट भएकी छिन् ।

    ‘१३ वर्षपछि सँगै राजेशजीसँग काम गर्दा पुराना यादहरु ताजा भयो र रमाइलो पनि भयो’ नेपाल प्रेससँग निरुताले भनिन्, ‘दरबारकी एक महिला पात्रको रुपमा मैले यसमा भूमिका निर्वाह गरेकी छु । वास्तवमै दर्शकले हाम्रो रोललाई रुचाइदिनुहुनेछ ।’ निरुताका अनुसार उक्त म्युजिक भिडिओ आगामी साता लन्च हुने तयारी छ ।

    याक एन्ड यतिमा तीन दिन र दुई रात लगाएर खिचिएको उक्त भिडियोको निर्देशन जेवी वाग्रीले गरेका हुन् । २० वर्षिय गायक कृष्ण विकद्वारा स्वरबद्ध गीतमा उक्त भिडिओ निर्माण भएको हो ।

    निरुता र राजेश दुबैले सामाजिक सञ्जालमार्फत भिडिओको तस्बिर सार्वजनिक गर्दै खुशि जनाएका छन् ।

  • पारिश्रमिक विवादमा फिल्म ‘गाउँ आएको बाटो’ : सुटिङ बीचमै छाडेर छायांकार अमेरिका फर्किए

    पारिश्रमिक विवादमा फिल्म ‘गाउँ आएको बाटो’ : सुटिङ बीचमै छाडेर छायांकार अमेरिका फर्किए

    काठमाडौं । नवीन सुब्बाको निर्देशनमा छायांकन भैरहेको फिल्म ‘गाउँ आएको बाटो’ पारिश्रमिक विवादमा तानिएको छ । विवादकै कारण छायांकार मार्सिन क्याप्रोन प्रोजेक्ट छाडेर अमेरिका फर्किएका छन् ।

    क्याप्रोनले सुटिङको बीचमै हात झिकेपछि अर्का अमेरिकी सिनेम्याटोग्राफर जोस हेर्मनले प्रोजेक्ट ज्वाइन गरेका छन् । छायांकन पुरा नहुँदै क्याप्रोनले सम्झौताअनुसारको पुरै पारिश्रमिक मागेपछि विवाद सिर्जना भएको हो ।

    २० हजार अमेरिकी डलर पारिश्रमिक दिने सर्तमा निर्माता र छायांकार क्याप्रोनबीच सम्झौता भएको थियो । तर, फिल्म छायांकन २५ प्रतिशत सकिने वित्तिकै क्याप्रोनले पारिश्रमिक मागेका थिए ।

    सम्झौतामा प्रोजेक्टको थालनीमा कूल पारिश्रमिकको २५ प्रतिशत रकम (पाँच हजार डलर)मात्र उपलब्ध गराउने सहमति छ । निर्माताले सम्झौताअनुसार दिनुपर्ने कूल पारिश्रमिकमध्ये ६ हजार डलरमात्र उपलब्ध गराएको छ ।

    प्रोजेक्ट छाडेर अमेरिका पुगिसकेका छायांकार क्याप्रोनले नेपाल प्रेसलाई पठाएको विवरणमा सम्झौताअनुसारको पारिश्रमिक नपाए कानूनी उपचारमा अघि बढ्ने र रिलिज रोकिदिने धम्की दिएका छन् । निर्माता र निर्देशकले ‘ढाँटेको’ आरोप उनको छ ।

    साथै, १ लाख ४० हजार अमेरिकी डलर बराबरको छायांकन उपकरण आफ्नै खर्चमा न्यूयोर्कबाट नेपाल ल्याएपनि निर्माताले यी उपकरणको बीमा सुनिश्चित गर्न नसकेको आरोप पनि उनले लगाएका छन् ।

    तर, निर्माता आमोद राईले छायांकार क्याप्रोनका कतिपय आरोपहरुलाई अस्वीकार गरे । ‘प्रोजेक्ट नै सम्पन्न नभैकन पुरै पारिश्रमिक मागेपछि समस्या आएको हो’ राईले नेपाल प्रेसलाई भने, ‘साथै, निर्देशकसँग उहाँको क्रिएटिभ मामिलामा मतभिन्नता आएकाले पनि समस्या भएको हो । हामीले सम्झौताअनुसार प्रोजेक्टको सुरुआतमा दिनुपर्ने भनिएको २५ प्रतिशत रकम उहाँलाई उपलब्ध गराएका छौं ।’

    निर्माता राईले छायांकार क्याप्रोन कानूनी प्रक्रियामा अघि बढे आफूहरु पनि कानूनी लडाइमा जाने बताए ।

    छायांकार क्याप्रोनले पठाएको विवरणमा निर्देशक सुब्बासँग सिर्जनात्मक मतभिन्नतालाई लिएर पनि विवाद देखिन्छ । यो आरोपलाई निर्माता राईले पनि स्वीकार गरे ।

    दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’को ५० प्रतिशत छायांकन सकिएको छ । अहिले भोजपुरको बालंखामा फिल्म सुटिङ भैरहेको छ ।

    नुमाफुङ र गुडबाइ काठमाण्डू फेम्ड निर्देशक नवीन सुब्बा यही फिल्ममार्फत कमब्याक गर्ने तयारीमा छन् । मेन्छेम पिक्चर्सले यो सोसल ड्रामा फिल्मको निर्माण गरिरहेको छ ।

  • टीकटकमा लाइभ आउँदै मेलिना भन्छिन् : उपयुक्त समयमा फिल्ममा कमब्याक हुन्छु

    टीकटकमा लाइभ आउँदै मेलिना भन्छिन् : उपयुक्त समयमा फिल्ममा कमब्याक हुन्छु

    काठमाडौं । कुनैबेलाकी हिट अभिनेत्री मेलिना मानन्धर अहिले अमेरिकामा छिन् । ‘प्रेयसी’ नायिकाको पछिल्लो फिल्म ‘रोमियो’ सन् २०१७ मा रिलिज भएको थियो ।

    अहिले पनि मेलिनाको क्रेज उस्तै छ । सामाजिक संजालमार्फत उनी दर्शकसँग अन्तक्रियामा जुटिरहेकी छिन् । टीकटकमा उनी दिनहुँ लाइभमा आउँछिन् र दर्शकका प्रश्नमा उत्तर दिन्छिन् ।

    टीकटकमा मेलिनालाई चाँडै फर्कनुपर्‍यो भनेर दर्शकले आग्रह गरिरहेका हुन्छन् । फ्यानलाई आश्वस्त तुल्याउँदै मेलिना भन्छिन् : सकेसम्म चाँडै फर्कने तयारीमा छु । ठ्याक्कै यही दिन भन्नेछैन ।’

    चाँडै नेपाल फर्किएर एउटा फिल्म गर्ने आफ्नो योजना रहेको मेलिनाको भनाई छ । ‘तपाईंहरुले मलाई चाँडै पर्दामा देख्न सक्नुहुन्छ’ हालैको एक टीकटक लाइभमा मेलिनाले भनिन्, ‘यसका लागि विचार गरिरहेकी छु ।’

    कोरोनाभाइरस महामारीअघि अमेरिका पुगेकी मेलिना अहिले त्यहाँ सपरिवार बस्दै आएकी छिन् । फिल्म तथा सिरियल निर्मात्री समेत रहेकी मेलिनाले नेपालीसहित नेवारी भाषाका फिल्ममा समेत अभिनय गरेकी छिन् ।

  • पर्यटनमन्त्री प्रेम आलेलाई लिएर ‘क्वाइन’ भैरहेको बलिउड फिल्म ‘नायक’ के हो ?

    पर्यटनमन्त्री प्रेम आलेलाई लिएर ‘क्वाइन’ भैरहेको बलिउड फिल्म ‘नायक’ के हो ?

    काठमाडौं । आफ्नो प्रधानमन्त्रीत्व कालमा बाबुराम भट्टराई काठमाडौं उपत्यकाको साँघुरो सडकलाई फराकिलो बनाउन सक्रिय भए । उनको यो सक्रियतालाई धेरैले सन् २००१ मा रिलिज भएको बलिउड फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरे ।

    पर्यटनमन्त्री प्रेम आले अहिले नारायणहिटी दरबार संग्रहालय परिसरमा बन्दै गरेको क्याफेटेरिया निर्माण स्थगन गरेर पुनः चर्चामा छन् । पशुपति धर्मशालादेखि गुह्येश्वरी मन्दिरमा समेत आलेले सक्रियता देखाएका छन् ।

    मन्त्री आलेको यो सक्रियतालाई पनि सामाजिक संजालमा धेरैले बलिउड फिल्म ‘नायक’सँगै तुलना गरिरहेका छन् । इन्टरनेट संजालमा आलेलाई फिल्मका नायक अनिल कपुरसँग दाँजेको पनि पाइन्छ ।

    काठमाडौंको राजनीति उथलपुथल हुँदा बारम्बार चर्चामा आउने भारतीय फिल्म ‘नायक ः द रियल हिरो’ खासमा के हो ? राजनीतिक घटनाक्रमसँग यो फिल्मको सम्बन्ध के छ ? पछिल्लो छिमलका दर्शकले यसबारे बुझ्नु महत्वपूर्ण हुन आउँछ ।

    एकदिनको मुख्यमन्त्री

    एस शंकर निर्देशित हिन्दी भाषाको उक्त फिल्मलाई पल्टिकल ड्रामा जानरामा राख्न सकिन्छ । अनिल कपुर, रानी मुखर्जी, अमरिस पुरी, परेश रावल, जोनी लिवर मुख्य भूमिकामा छन् । यो फिल्म सन् १९९९ को तामिल फिल्म मुधावनको रिमेकसमेत हो ।

    यो फिल्म शिवाजी रावको भूमिकामा देखिएका अनिल कपुरकै वरपर फन्को मार्छ । टेलिभिजन क्यामेराम्यान र प्रस्तोता हुँदै ऊ कसरी एकदिनको लागि मुख्यमन्त्री बन्छ र चुनौतिलाई स्वीकार्छ भन्ने कथावस्तु यसमा छ ।

    उक्त पात्रले एकदिन कलेजका विद्यार्थी र बस ड्राइभरबीचको झडपको घटनालाई लिएर महाराष्ट्रको मुख्यमन्त्री बलराज चौहान (अमरिस पुरी) प्रहरीसँगको संवाद सुनेर रेकर्ड समेत गर्छ । उक्त रेकर्ड टिभीमा प्रसारण भएपछि चौहानले रावलाई मुख्मन्त्री बनेर काम गर्न चुनौति दिन्छ । चौहानको उक्त चुनौतिलाई शिवाजी रावले स्वीकार गर्छ ।

    एकदिनको मुख्यमन्त्री बनेको अवसर पाएको शिवाजी रावले दिनको सुरुआत जनताको दैनिकीबाट थाल्छ । उसले खाँचो परेकालाई उपयुक्त आवास र रोजगारीको प्रबन्ध पनि गर्छ । असक्षम र भ्रष्ट सरकारी कर्मचारीलाई निलम्बन गर्छ । दिनको अन्तिम कार्यको रुपमा उसले भ्रष्टाचारको मूल कारण बताउँदै चौहानलाई पक्राउ गर्छ ।

    फिल्ममा कपुरको अभिनयलाई समीक्षकले रुचाएका थिए । तर, अधिकांश समीक्षकले चाहिँ फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् । यद्यपी, फिल्मै सहि, भद्रगोल राजनीतिमा मुलुकले खोजिरहेको नायक दिलाएको भन्दै फिल्मको प्रशंसा समेत भएको छ ।

    देशले नायक खोजिरहेको छ

    नेपाली फिल्म समीक्षक मनोज पण्डित नेपाली राजनीतिमा पटक–पटक बलिउड फिल्म ‘नायक’को चर्चा हुनुलाई देशले असल नायक खोजिरहेकोरुपमा ब्याख्या गर्छन् । ‘अहिले देशलाई चाहिएको नायक हो । राजनीतिमार्फत जनताले त्यो नायक नपाएपछि फिल्ममार्फत भएपनि पाएका छन् र त्यसमा उनीहरुले आफ्ना नेताको छवि खोज्नु स्वभाविकै हो’ पण्डितले नेपाल प्रेससँग भने, ‘देशले खोजिरहेको नायकको स्वरुप फिल्ममा हेर्नुलाई मैले स्वभाविकरुपमा लिएको छु ।’

     

  • ‘आरआरआर’ चैत ११ गते आउने : पोस्टपोन्ड होला ‘हेलो जिन्दगी’ ?

    ‘आरआरआर’ चैत ११ गते आउने : पोस्टपोन्ड होला ‘हेलो जिन्दगी’ ?

    काठमाडौं । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ आगामी चैत ११ गते रिलिज हुने भएको छ ।

    बलिउड हंगामा पोर्टलका अनुसार रामचरण, एनटीआर जुनिअर, आलिया भाट र अजय देवगण स्टारर फिल्म मार्च २५ मा आउने निश्चित भएको हो । निर्माताले ट्वीटरमार्फत फिल्म प्रदर्शन तय भएको जनाएका छन् ।

    घर छाडेर टाढा यात्रामा निस्किएका दुई योद्धाहरुको कथा भन्ने फिल्मलाई लिएर नेपालमा पनि निकै चासो छ । सन् १९२० मा भारतमा बेलायती उपनिवेश रहँदा यी योद्धाहरुले गरेको संघर्षलाई फिल्मले चित्रण गर्छ ।

    आरआरआरले तय गरेकै प्रदर्शन मितिमा नेपाली फिल्म ‘हेलो जिन्दगी’ पनि आउने तयारी छ । कोरोनाभाइरस महामारीको तेस्रो लहरले अहिले नेपाली फिल्म हलहरु बन्द रहेपनि संक्रमण घट्नेतर्फ उन्मुख भएकाले फागुनदेखि फिल्म हलहरु खुल्ने अपेक्षा गरिएको छ ।

    दक्षिण भारतीय फिल्म ‘पुष्पा’ले नेपाली बक्सअफिसमा १० करोड ग्रसभन्दा बढी कमाइ गरेको पृष्ठभूमिमा रिलिज हुन लागेको ‘आरआरआर’ले राम्रै कमाइ गर्नसक्ने आशा नेपाली वितरक र हल संचालकले लिएका छन् ।

  • अविवाहित सुपरस्टार रिहानाले सार्वजनिक गरिन् बेबीबम्प !

    अविवाहित सुपरस्टार रिहानाले सार्वजनिक गरिन् बेबीबम्प !

    न्यूयोर्क । सुपरस्टार रिहानाका प्रशसकलाई ‘सरप्राइज’ खबर छ ! सन्तानलाई जन्म दिन लागेको खबरसहित उनले बेबी बम्प तस्बिर सार्वजनिक गरेकी छिन् ।

    ‘डायमन्ड’ र ‘अम्ब्रेला’ गायिकाको यो खबर किन पनि आश्चर्य पार्ने किसिमको छ भने उनी अविवाहित हुन् । रिलेसनसिपलाई लिएर समेत खुलेकी थिइनन् ।

    प्रेग्नेन्टको खबर सार्वजनिक भएसँगै उनी र्‍यापर ब्वाइफ्रेन्ड असाप रक्कीसँग हात समात्दै हिँडेको बेला भेटिएकी थिइन् । सो बेला रिहानाको बेबी बम्प स्पष्ट देखिएको थियो ।

    न्यूयोर्कमा भएको भारी हिमपातपछि खिचिएको रिहानाको बेबी बम्प तस्बिरलाई सेलेव्रिटी फोटोग्राफर माइल्स डिग्सले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए ।

    ३३ वर्षिया रिहाना नयाँ एल्बम ल्याउने तयारीमा छिन् भने सन् २०१६ मा उनको स्टुडियो एल्बम रिलिज भएको थियो । मेकअप र फेसन ब्रान्ड व्यवसायको कारण उनी फोब्र्स अर्बपतिको सूचीमा समेत सामेल भएकी छिन् ।

    असाप र रिहानाबीच केही वर्षदेखि डेटिङ चलिरहेको हल्ला थियो तर, गत वर्षमात्र यी दुईबीचको सम्बन्धले औपचारिकता पाएको थियो । सन् २०२१ को मे महिनामा जिक्यू म्यागजिनमा प्रकाशित अन्तर्वार्तामा असापले रिहानालाई मेरो जीवन भनेर सम्बोधन गरेका थिए ।