Category: कलाप्रेस

  • के अञ्जु पन्त स्थायीरुपमै अमेरिका बस्न थालेकी हुन् ?

    के अञ्जु पन्त स्थायीरुपमै अमेरिका बस्न थालेकी हुन् ?

    काठमाडौं । एक सांगीतिक कार्यक्रमको लागि भनेर अमेरिकी हानिएकी गायिका अञ्जु पन्त लामै समयदेखि स्वदेश फर्किएकी छैनन् । नेपालमा रहँदा निकै व्यस्त गायिका अमेरिकामै बसोबास गर्ने अड्कलबाजी सुरु भएको छ ।

    अञ्जु र उनका पति थीर कोइराला अमेरिकामा गएको झन्डै १ वर्ष हुन लागेको छ । सन् २०२१ को फेव्रुअरीमा बिहे गरेको यो जोडी बिहेको एक महिनामै अमेरिका उडेको थियो ।

    अमेरिकामा रहँदा अञ्जु एकाध गीतको रेकर्डिङमा ब्यस्त छिन् । अञ्जु र थीर नेपाल नफर्कने गरी अमेरिकामा भासिन लागेको आशंका उनका प्रशंसकमाझ सुरु भएको छ ।

    तर, थीरले चाहिँ आफूहरु अमेरिकामा केही काममा व्यस्त रहेको र काम सकेर चाँडै नेपाल फर्कन लागेको बताइरहेका छन् । तर, के काममा आफूहरु व्यस्त भएको भन्ने कुरा चाहिँ उनले खुलाएनन् ।

    नेपालका चर्चित सेलेव्रिटी अमेरिका पुगेर नफर्किएको कुरा चाहिँ नयाँ होइन । यो प्रवृत्तिबीच अञ्जु र थीर पनि नफर्कने शंका गर्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

  • बक्सअफिस : भ्यालेन्टाइन डेले जोगाउला ‘चपली हाइट ३’ ?

    बक्सअफिस : भ्यालेन्टाइन डेले जोगाउला ‘चपली हाइट ३’ ?

    काठमाडौं । चल्दाचल्दै हल बन्द भएपछि प्रदर्शन स्थगित गरेको फिल्म ‘चपली हाइट ३’ आइतबारदेखि पुनः रिलिज हुने भएको छ ।

    निर्माण कम्पनी अर्जुन कुमार फिल्म्सले मंगलबार विज्ञप्ति जारी गर्दै हल खुलेसँगै फिल्म फागुन १ गतेदेखि पुनः रिलिज हुने जनाएको छ । सोमबार परेको भ्यालेन्टाइन्स डेबाट फिल्मले ब्यापार राम्रो हुने आशा लिएको छ ।

    ‘मैले यसलाई दोस्रो मौकाको रुपमा लिएको छु’ निर्माता अर्जुन कुमारले विज्ञप्तिमा भनेका छन् । निकेश खड्का निर्देशित फिल्म चपली हाइट ३ मा अर्पण थापा र स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

    कोरोनाको तेस्रो लहरको कारण हल बन्द गर्ने सरकारी निर्णयसँगै चपली हाइटको तेस्रो सिक्वेलले दुई दिनमै प्रदर्शन स्थगित गर्नुपरेको थियो । प्रशासनको उक्त निर्णयले फिल्मलाई ठूलै आर्थिक धक्का पुगेको थियो ।

    तर, भ्यालेन्टाइन्स डे छेकोमा नयाँ फिल्म रिलिज नहुने भएपछि यसको फाइदा चपली हाइटले लिने आशा गरिएको छ । हल खुलेसँगै स्पाइडरम्यान, पुष्पा र कठ्पुतली पनि प्रदर्शनमा आउने तयारीमा छन् ।

     

     

  • ‘बडे मियाँ छोटे मियाँ’ टीजरमा हेर्नूस अक्षय र टाइगरको एक्सन अवतार

    ‘बडे मियाँ छोटे मियाँ’ टीजरमा हेर्नूस अक्षय र टाइगरको एक्सन अवतार

    मुम्बई । अक्षयकुमार र टाइगर श्रफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टीजर लन्च भएको छ । यही टीजर लन्चसँगै फिल्म निर्माणको औपचारिक घोषणा समेत भएको छ ।

    एक्सन दृश्यले भरपुर टीजरमा अक्षय र टाइगर एक्सन भूमिकामा देख्न सकिन्छ । यो टीजरलाई एक्सन दृश्य रुचाउने दर्शकले मन पराउन सक्छन् ।

    सन् २०२३ को क्रिसमसमा रिलिज हुने यो फिल्मलाई अलि अब्बास जफरले निर्माण एवं निर्देशन गर्न लागेका हुन् । फिल्मको लिड एक्ट्रेसमा श्रद्धा कपुर हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

    हेर्नूस टीजर :

  • शुक्रबारदेखि गुरुकुलमा नाटक ‘पुतलीको घर’ मञ्चन हुँदै

    शुक्रबारदेखि गुरुकुलमा नाटक ‘पुतलीको घर’ मञ्चन हुँदै

    काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको नाटक ‘पुतलीको घर’ शुक्रबारदेखि पुनः मञ्चन हुने भएको छ ।

    एक दशकपछि पुनः संचालनमा आएसँगै गुरुकुलले उक्त नाटकलाई मंचनमा ल्याएको थियो तर केही दिनमै सरकारले निषेधाज्ञा लागू गरेपछि मंचन रोकियो ।

    निर्देशक सुनिल पोखरेलले माघ २८ देखि फागुन ७ गतेसम्म उक्त नाटक थापागाउँस्थित कुञ्ज थिएटरमा मंचन हुने जनाएका छन् । रोकिएका अन्य नाटकहरु पनि पुनः संचालनमा आउने जनाइएको छ ।

    नाटकको मुख्य भूमिकामा निशा शर्मा छिन् । सुनिलकै अनुवाद र निर्देशन रहेको यो नाटकमा उनीसहित शेखर चापागाइँ, अञ्जु देउजा लगायतको अभिनय छ । यसै नाटकमार्फत आरोहण गुरुकुलले नाटक मंचनमा पुनरागमन गरेको थियो ।

  • चुनाव घोषणाको साइड-इफेक्ट : ‘चिसो मान्छे’ पोस्टपोन्ड, ‘कबड्डी ४’ अन्यौलमा

    चुनाव घोषणाको साइड-इफेक्ट : ‘चिसो मान्छे’ पोस्टपोन्ड, ‘कबड्डी ४’ अन्यौलमा

    काठमाडौं । सरकारले आगामी बैशाख ३० गते स्थानीय निकायको चुनाव मिति घोषणा गरेपछि यसको असर फिल्म क्षेत्रमा देखिएको छ ।

    पूर्वनिर्धारित रिलिज मितिमै चुनाब हुने भएपछि दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’को प्रदर्शन स्थगित भएको छ ।

    ‘चुनावकै कारण प्रदर्शन मिति रोकिएको छ । वितरकसँग सल्लाहपछि अब नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं’ नेपाल प्रेससँग निर्देशक खनालले भने । उनका अनुसार सम्भवतः ‘चिसो मान्छे’ दशैं छेकोमा प्रदर्शन हुनसक्छ ।

    चुनावको एकसाताअघि बैशाख २३ गते ‘लप्पन छप्पन’ र ‘कबड्डी ४’ पनि प्रदर्शन मिति घोषणा गरेका छन् । कबड्डी निर्माता मणिराम पोखरेलले आफूहरु पूर्वनिर्धारित मितिमै अडिग भएकाले नसर्ने बताए ।

    ‘चुनाबको एकसाताअघि नै फिल्म रिलिज भएकाले भोट हाल्न गाउँ जाने दर्शकले उतै फिल्म हेर्नसक्छन्’ फिल्म रिलिज नसर्ने तर्क पेश गर्दै निर्माता पोखरेलले भने ।

  • महाभारतमा ‘भीम’ बनेका अभिनेता प्रवीणको निधन

    महाभारतमा ‘भीम’ बनेका अभिनेता प्रवीणको निधन

    मुम्बई । हिन्दू धर्मग्रन्थ ‘महाभारत’मा आधारित सिरिजमा भीमको चरित्र निर्वाह गरेका अभिनेता प्रवीणकुमार सोब्तीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

    इन्डियन एक्सप्रेसका अनुसार सोमबार बेलुका ९ः३० बजे हृदयघातले उनको निधन भएको छोरी निकुनिकाले जनाएकी छिन् । भीमबाहेक अभिनेता सोब्तीले महाभारतबाहेक अमिताभ बच्चन स्टारर ‘सेहनसाह’ र धर्मेन्द्रको लोहामा समेत अभिनय गरेका छन् ।

    अभिनेता बन्नुअघि थ्रो खेलाडी थिए । उनले एसियाली खेलकुदमा चारवटा पदक जितेका छन् । सन् १९६८ मा मेक्सिको र १९७२ मा म्युनिखमा भएको ओलम्पिकमा उनले भाग लिएका थिए ।

    साथै उनी भारतीय सुरक्षा बलका अफिसर समेत थिए । सन् १९८१ मा रिलिज भएको फिल्म रक्षाबाट उनले अभिनयमा डेब्यु गरेका थिए । सन् १९९८ मा रिलिज भएको ‘ट्रेन टु पाकिस्तान’ उनको अन्तिम फिल्म बन्यो ।

  • गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गर्दै ओलीले भने : सुगम संगीतमा अपुरणीय क्षति

    गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गर्दै ओलीले भने : सुगम संगीतमा अपुरणीय क्षति

    काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

    गायिका मंगेशकरको निधनबाट सुगम संगीतमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    प्रतिष्ठित विभूषण, सम्मान तथा पुरस्कारबाट सम्मानित ९२ वर्षिया गायिका मंगेशकरले नेपालीसहित ३० हजारभन्दा बढी गीत गाएको ओलीले ट्वीटमा उल्लेख गरेका छन् ।

    माघ २३ गते कोभिड संक्रमणपछिको निमोनियाको कारण मुम्बईमा मंगेशकरको निधन भएको थियो ।

  • आइतबारदेखि फिल्म हलहरु खुल्ने : चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः प्रदर्शन तयारी

    आइतबारदेखि फिल्म हलहरु खुल्ने : चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः प्रदर्शन तयारी

    काठमाडौं । कोरोनाभाइरस तेस्रो लहरको कारण बन्द रहेका काठमाडौंका फिल्म हलहरु फागुन १ गतेदेखि संचालनमा आउने भएका छन् ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सीडीओको संयुक्त बैठकले फिल्म हल, रात्रीकालिन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि संचालन अनुमति दिने निर्णय गरेको हो ।

    प्रशासनको निर्णयसँगै हल संचालकले फागुन १ गतेदेखि सेवा संचालन गर्ने तयारी थालेका छन् । काठमाडौं उपत्यका बाहिरका फिल्म हल संचालनको निर्णय चाहिँ सम्बन्धित जिल्ला प्रशासनहरुले गर्नेछन् ।

    मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले तेस्रो लहरमा चल्दाचल्दै रोकिएका फिल्मलाई रिलिज गर्ने जनाएको छ । स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, जापानी सुपरहिरो फिल्म एनिमे र चपली हाइट ३ चल्दाचल्दै रोकिएका थिए ।

    नयाँ फिल्म रिलिज नहुने भएपछि फागुन २ गते परेको भ्यालेन्टाइन्स डे रित्तै हुने भएको छ । कोरोना महामारीअघिका वर्षमा भ्यालेन्टाइन डेमा फिल्म हेर्न दर्शकको घुइँचो लाग्थ्यो ।

    एप्पल इन्टरटेनमेन्टले हलिउडको बहुप्रतीक्षित फिल्म किंग्सम्यानलाई फागुनको पहिलो शुक्रबारदेखि रिलिज गर्ने भएको छ जसले गर्दा हल खुलेलगत्तै किंग्सम्यान आउनेछैन ।

    वितरक मनोज राठीले १ गतेसम्मको अवस्था हेरेर रवि तेजा स्टारर फिल्म ‘खिलाडी’ रिलिज वा नगर्ने निर्णय हुने बताए । भारतमा ११ फेब्रुअरीमै रिलिज हुने भएपनि नेपालमा चाहिँ यसबारे टुंगो लागिसकेको छैन ।

  • ‘परस्त्री’को लिड फिमेलमा शिल्पा मास्के अनुबन्धित

    ‘परस्त्री’को लिड फिमेलमा शिल्पा मास्के अनुबन्धित

    काठमाडौं । सुरज पाण्डेको डेव्यु निर्देशन रहने फिल्म ‘परस्त्री’को मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । फिल्ममा उनी लिड एक्टर कोसिस क्षेत्रीको अपोजिटमा देखिनेछिन् । क्षेत्री यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् ।

    मुख्य भूमिकाको लागि अझै एकसाता अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्माता तथा लेखक दीपेन्द्र खनालले बताए । छिटै सिनेमाको मुख्य कलाकार छनोट कार्य सकेर वर्कसप गरिने निर्माता खनालको भनाई छ । हाल धमाधम सिनेमाको प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

    फागुन तेस्रो साताबाट फ्लोरमा जाने फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिनेछ । डीएस डिजिटलको व्यानरमा निर्माण गरिने फिल्मकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । सम्पूर्ण छायांकन गरिने सिनेमालाई निरज कँडेलले छायांकन गर्नेछन् ।

    निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको सिनेमा ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

  • ‘रुटिने’ सँग प्रेममा रियाशा ? रोमान्टिक क्षणहरु सेयर गर्दै

    ‘रुटिने’ सँग प्रेममा रियाशा ? रोमान्टिक क्षणहरु सेयर गर्दै

    काठमाडौं । रियाशा दाहालको कलाकारिता अचेल राम्रैसँग फक्रिरहेको छ, जसरी फक्रिरहेको छ उनको प्रेमजीवन । पछिल्ला दिनमा उनी आफ्नो लभ अफेयरलाई विस्तारै फुकाउँदै जान थालेकी छन् ।

    रियाशाका प्रेमी हुन् भिक्टर पौडेल, जसलाई आफ्नो वास्तविक नामबाट कमैले चिन्छन् । सामाजिक सञ्जालमा उनी ‘रुटिने’ उपनामले चर्चित छन् । फेसबुकमा ‘रुटिन अफ नेपाल बन्द’ नामक पेज चलाएर त्यसलाई लोकप्रियताको शिखरमा पुर्याएपछि उनलाई ‘रुटिने’ भन्न थालिएको हो ।

    निकटस्थहरूका अनुसार रियाशा र भिक्टर प्रेममा परेको करिब दुई वर्ष भयो । युट्यूवर वर्षा बस्नेतले उनीहरुलाई जोड्ने ‘पुल’ को काम गरेकी थिइन् । वर्षामार्फत चिनजान भएको छोटो समयमै उनीहरु एक–अर्कासँग नजिकिएका थिए ।

    पछिल्ला केही दिनमा रियाशाले टिकटकमा भिक्टरसँगका रोमान्टिक क्षणहरु सेयर गरिरहेकी छन् । यसबाट उनीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाइरहने मुडमा छैनन् भन्ने देखिन्छ । धेरैले उनीहरुको जोडीलाई प्रशंसा गर्दै कमेन्ट गरेका छन् ।

    बुझिएअनुसार दुबैका परिवारजन उनीहरुको सम्बन्धबारे जानकार छन् र सकारात्मक पनि । विवाहबारे भने उनीहरुले निर्णय लिइसकेका छैनन् ।

    युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छन् । म्युजिक भिडियोमा पनि काम गरिरहेकी छन् ।

    २८ वर्षिय भिक्टर बाग्लुङका हुन् । उनले ९ वर्षअघि एकल प्रयासमा ‘रुटिन अफ नेपाल बन्द’ सुरु गरेका थिए, जुन अहिले नेपालकै चर्चित र विश्वासिलो सामाजिक सञ्जाल प्लेटफर्मका रुपमा चिनिन्छ । यो पेजलाई अहिलेसम्म ३० लाखभन्दा बढीले फलो गरेका छन् ।

    रियाशा र भिक्टरले आफुहरूकाे सम्बन्धलाई सार्वजनिकरूपमा खुलाएका भने छैनन्। आफुहरू राम्राे साथीमात्र भएकाे उनीहरूकाे दावी छ ।

  • लता मंगेशकर : जसले नेहरुलाई रुवाइन्

    लता मंगेशकर : जसले नेहरुलाई रुवाइन्

    प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । एक महिनाअघि कोरोना संक्रमण भएपछि उनलाई मुम्बइको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उपचारकै क्रममा आज बिहान उनले अन्तिम सास लिइन् । लताको जीवनका केही रोचक प्रसंगहरु :

    भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु सार्वजनिक स्थलमा कहिल्यै रुँदैनन् थिए । न त यस्ता स्थानहरुमा रुनेहरुलाई नै नेहरु मन पराउँथे । तर, २७ जनवरी १९६३ मा जब लताले कवि प्रदीपद्धारा लिखित ‘ऐ मेरे वतन के लोगों’ गाइन्, नेहरुले आफ्नो आँखामा आँसु थाम्न सकेका थिएनन् ।

    गीत गाइसकेपछि स्टेज पछाडि कफी पिइरहेकी थिइन् लता । निर्देशक महबुब खान आएर बोले, ‘तिमीलाई पण्डित जीले बोलाइरहनुभएको छ ।’

    महबुबले लतालाई नेहरुको सामुन्ने लिएर गए । भने, ‘यिनी नै हुन् हाम्री लता, तपाईंलाई कस्तो लाग्यो उनको गायन ?’

    ‘साह्रै गज्जब ! यो केटीले मेरो आँखाबाट नुनिलो पानी निकालिदिइन्,’ नेहरुले भने । साथै लतालाई अंगालो हाले ।

    लगत्तै यो गीत र लतालाई मास्टर टेप विविध भारतीको स्टेसनमा लगेर रेकर्ड गरिएको थियो । म्युजिक कम्पनी एमएचभीले बजारमा ल्याएको थियो ।

    १९६४ मा नेहरु मुम्बइ आएको साइतमा ब्रेबोर्न स्टेडियममा ‘अजी रुठ कर कहाँ जाएंगे’ गाएकी थिइन् लताले । नेहरुले लतालाई एक चिट दिएर एकपटक फेरि ‘ऐे मेरे वतन के लोगों’ गाउन अनुरोध गरेका थिए ।

    ०००

    १९४९ ‘अन्दाज’ प्रदर्शन भएपछि संगीत चार्टको शीर्ष पाँचमा लताकै गीतहरु परिरहे । ८० वर्षको उमेरमा पुग्दा लताले स्वीकारेकी पनि छिन् कि राज कपुर र नरगिसको फिल्म ‘बरसात’पछि उनको करियरले उडान लिएको थियो ।

    मदन मोहनले पनि लताबारे लेखेका छन्, ‘हामी संगीतकारहरुलाई १९५६ मा मेट्रो–मर्फीले प्रतिभा पहिचानका लागि भारत पठाएको थियो । तर, हामीले चाहेजस्तो कोही भेटाउन सकेनौँ, जो लता मंगेशकरको छेउसम्म पुगोस् । हाम्रो समयमा लताजस्तो प्रतीभा देखापर्नु हाम्रा लागि सौभाग्य थियो ।’

    ०००

    १९४८ मा ‘महल’ प्रदर्शन हुनु र गीता राय बाहेक लताकी प्रतिस्पर्धी शमशाद वेगम, जोहराबाई हंबालावाली, पारुल घोष र अमीरबाई कर्नाटकीहरु छायामा पर्नु एकैपटक भएको थियो ।

    १९५० मा उनले गाएको ‘आएगा आने वाला’ गीत आएपछि अल इण्डिया रेडियोमा फिल्मी संगति बजाउन प्रतिबन्ध लगाइएको थियो । त्यस समय रेडियो सिलोन सुरु भइसकेको थिएन । भारतीयहरुले पहिलोपटक लतालाई रेडियो गोवामा सुनेका थिए ।

    त्यस समय गोवा पोर्चुगल (पुर्तगाल) को नियन्त्रणमा थियो । १९६१ मा मात्रै स्वतन्त्र भएको थियो ।

    प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराजले एक रोचक किस्सा सुनाएका थिए, ‘एकपटक म बडे गुलाम अलि खानलाई भेट्न अमृतसर गएको थिएँ । हामी गफ गरिरहेका थियौँ, अचानक ट्रान्जिस्टरमा लताको ‘ये जिन्दगी उस की है जो किसी का हो गया’ बजिरहेको थियो । गफ गर्दागर्दै खान साहब मौन हुनुभयो । र गीत सकिएपछि भन्नुभयो, ‘छोटो समय कहिल्यै बेसुर हुँदैन ।’ उहाँको यो टिप्पणीमा बाबुको माया थियो र कलाकार हुनुको नाताले जलन पनि थियो ।’

    ०००

    उनले पाँच वर्षको उमेरदेखि गाउन थालेकी थिइन् । नसरीन मुन्नी कबिरको पुस्तकमा लता स्वयं बताउँछिन्, ‘म पिता दिननाथ मंगेशकरलाई गाइरहेको देख्थेँ । तर, उहाँको सामुन्ने गाउने आँट आउँदैनथ्यो । एकपटक चेलालाई राग पुरिया धनाश्री सिकाइरहेका थिए ।

    कुनै कारणले केही क्षणका लागि उहाँ घरबाट बाहिर निस्कनुभयो । म बाहिर खेलिरहेकी थिएँ । मैले पिताको चेलाले गाएको सुनेँ । तर, मलाई लाग्यो, उनले राम्रोसँग गाइरहेका छैनन् । अनि म ऊ नजिक गएँ र आफैंले गाएर भनेँ, यसरी गाइन्छ यो राग त ।’

    उनले थपेकी छन्, ‘जब पिता बाहिरबाट आउनुभयो, उहाँले ढोकाको चेपबाट मैले गाएको सुन्नुभयो । उहाँले आमालाई बोलाएर भन्नुभयो, ‘हामीलाई त थाहै भएन, हाम्रो बच्ची पनि राम्री गायिका हो भनेर ।’ अर्को दिन बिहानै पिताले उठाएर मलाई भन्नुभएको थियो, ‘तानपुरा उठाऊ । आज गीत सिक्नुपर्छ ।’ उहाँले पुरिया धनाश्ररी रागबाट सुरु गर्नुभएको थियो । त्यो समय म मात्रै पाँच वर्षकी थिएँ ।’

    ०००

    लताले कयौँ संगीतकारसँग काम गरिन् । तर, गुलाम हैदर उनका लागि विशेष थिए । ‘बीट’मा आउने स्वरलाई अलि बल दिएर निकाल्नुपर्छ भनेर उनै गुलामबाट सिकेकी थिइन् । यसबाट गीत उठ्ने गर्थ्यो ।

    अनिल विस्वाससँग लताले सासलाई नियन्त्रणमा राख्ने तरीका सिकेकी थिइन् ।

    हरीश भिमानी आफनो पुस्तक ‘लता दिदी अजीव दास्ताँ है’मा लेख्छन्, ‘गीत गाइरहेको समय सासलाई कहाँ रोख्ने भन्ने पाटोमा अनिल दादा रुचि राख्थे । किनभने स्रोतालाई गीत अपुरो महसुस नहोस् । शब्दको बीचमा सास लिएको समय बिस्तारै माइक्रोफोनबाट अनुहारलाई टाढा लैजान, सास लिएर तत्कालै यथास्थानमा आएर गीतलाई निरन्तर जारी राख्न अनिलले लतालाई सिकाएका थिए । आँखा झिम्काएको जत्तिकै छिटो गर्नुपर्ने यस प्रक्रियामा अघिल्लो शब्दको अन्तिम र नयाँ शब्दको पहिलो अक्षरलाई थोरै बल दिएर गाउनुपर्थ्यो ।’

    ०००

    स्वरको सुरिलोपनको साथै उर्दु भाषाको प्रष्ट उच्चारणले पनि सबैको ध्यान खिचेकी थिइन् लताले । यसको श्रेय भने दिलिप कुमारलाई जान्छ ।

    भिमानीले लेखेका छन्, ‘एक दिन लता र अनिल विस्वास मुम्बइको लोकल ट्रेनबाट गोरेगाउँ गइरहेका थिए । संयोगवश बान्द्रा स्टेसनबाट दिलिप कुमार चढे ।

    अनिल विश्वासले लता र दिलिप कुमारको परिचय गराए ।

    परिचयपछि दिलिप कुमारले भने, ‘मराठीहरुको मुखबाट दालभातको सुगन्ध आउँछ । उनीहरुलाई उर्दु के थाहा ?’

    दिलिप कुमारको प्रतिक्रियालाई लताको अहम्मा चोट पार्‍यो ।

    पछि शफी साहबले एक उस्तादको व्यवस्था गरिए । जसको नाम महबुब थियो । महबुबसँग विशेषगरी उर्दु सिकिन् उनले ।

    फिल्म ‘लाहौर’को सुटिङ चलिरहेको थियो । त्यहाँ जद्दनबाइ र उनकी छोरी नरगिस पनि थिए । लताले स्टुडियोमा ‘दीपक बगैर बैसे परवाने जल रहे हैं’को रेकर्डिङ सुरु गरिन् । रेकर्डिङ सकिएपछि जद्दनबाइले लतालाई भनिन्, ‘क्या गज्जब, यस्तो तलफ्फुज हरकोहीको वशमा हुँदैन छोरी ।’

    ०००

    जति उमेर बढ्दै गयो, स्वर उति सुरिलो हुँदै जानु लताको आवाजको विशेष परिचय थियो । १९६१ मा प्रदर्शन भएको ‘जंगली’ फिल्ममा सायरा बानोका लागि ‘काश्मीर की कलीँ हुँ’ गाएकी थिइन् । १२ वर्षपछि ‘अनामिका’ फिल्ममा जया भादुरीका लागि गाउँदा पनि उनको स्वरमा उस्तै मादकता थियो ।

    १९५८ मा महबुब खान ओस्कर समारोहमा सहभागी हुन अमेरिका गएका थिए । सहभागी भएको दुई दिनपछि उनलाई हृदयघात भएको थियो ।

    राजु भारतन लताको जीवनीमा लेख्छन्, ‘लताले उनलाई मुम्बइबाट फोन गरे । महबुब साहबले लताको एक गीत सुन्ने खुब मन भएको इच्छा व्यक्त गरे । तर, त्यति टाढा लताको गीतको क्यासेट कहाँबाट ल्याउने ? लताले सोधिन्, ‘तपाईं कुन गीत सुन्न चाहनुहुन्छ ?’

    यसपछि महबुबको अनुरोधमा टेलिफोनमै ‘रसिक बलमा’ गुनगुनाइदिइन् लताले । एक सातापछि फेरि लताले त्यही गति फोनमा सुनाए । महबुब साहब ठीक हुनुमा यो गीतको योगदान कति थियो, ईश्वर मात्रै बताउन सक्छन् । त्यस घटनापछि लताका लागि पनि यो गीत विशेष गीत बनेर रह्यो ।’

    ०००

    पहिला भारतमा बसेर पछि पाकिस्तान गएकी नुरजहाँ र लता एकदमै नजिकका साथी थिए ।

    १९५२ मा लता अमृतसर गएकी वेला उनले नुरजहाँसँग भेट्ने चाहना राखिन् । अमृतसरबाट नुरजहाँ बस्ने लाहौर दुई घण्टाको बाटोमा थियो । उनीहरु फोनमा घण्टौंसम्म बोले । त्यसपछि दुवै भारत र पाकिस्तानको सीमानामा भेट्ने निधो भयो ।

    चर्चित संगीतकार सी रामचनद्रनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मैले दुवैको भेटघाट समय मिलाइदिएको थिएँ । उनीहरुको भेट वाघा सीमानामा भयो, जसलाई सेनाको भाषामा ‘नो म्यान्स ल्याण्ड’ भन्ने गर्दछन् ।

    जब नुरजहाँले लतालाई देखिन्, उनी दौडेर यसरी आइन् कि वर्षौंपछि प्राणभन्दा बढी माया गर्ने मान्छे अगाडि छ । उनीहरु जोडमा अंगालोमा बाँधिए । दुवैको आँखामा आँसु बगिरहेको थियो । लतासँगै पुगेका हामीले पनि आँसुलाई रोक्न सकेनौँ । दुवैतर्फका सैनिकहरु पनि रोइरहेका थिए ।’

    ०००

    लताले धेरै गायकसँग गीत गाइन्, तर मोहम्मद रफीसँग गाएका गीतहरुलाई बढी रुचाइयो ।

    एकपटक मोहम्मद रफीबारे कुरा गर्दै लताले किस्सा सुनाएकी थिइन्, ‘एकपटक म र रफी साहब स्टेजमा गाइरहेका थियौँ । गीतको लाइन थियो, ‘ऐसे हँस हँस के ना देखा करो तुम सब की तरफ लोग ऐसी ही अदाओं पर फिदा होते हैं’ । रफी साहबले यो लाइनलाई ‘लोग ऐसे ही फिदाओं पे अदा हैं’ भनेर गाउनुभयो ।

    दर्शकहरु यो सुनेर हाँस्न थाले । रफी साहक पनि हास्न थाल्नुभयो । मेरो पनि हाँसो छुट्यो । अन्ततः हामीले गीतलाई पूरा गर्न पाएनौँ । र आयोजकले पर्दा लगाएर कार्यक्रम सकिएको घोषणा गरे ।’

    साठीको दशकमा गीतको रोयल्टीलाई लिएर लताको मोहम्मद रफीसँग विवाद भएको थियो । त्यो समय मुकेश, तलत महमुद, किशोर कुमार र मन्ना डे लताको पक्षमा थिए भने आशा भोंसलेले मोहम्मद रफीलाई साथ दिएका थिए ।

    चार वर्षसम्म दुवैबीच दुरी बढिरह्यो । पछि सचिनदेव बर्मनले दुवैको विवाद मिलाइदिए ।

    ०००

    सचिनदेव बर्मन पनि लतालाई खुब मन पराउँथे । जब लताको गायनबाट बर्मन खुसी हुन्थे, लताको ढाड थपथपाउँथे र पान दिन्थे । सचिनदेव बर्मन पानको सौखिन थिए । उनको साथमा एक पान दिने मान्छे पनि हुन्थ्यो । तर, कसैलाई पनि आफ्नो पान दिँदैन थिए । यदि कसैलाई उनले पान दिए भने ती व्यक्तिसँग खुब खुसी भए भन्ने बुझिन्थ्यो ।

    तर, एकपटक सचिनदेव बर्मन र लताबीच झगडा भयो ।

    ‘मिस इण्डिया’ फिल्ममा लताले एक गीत गाइन् । लताले यस गीतलाई ‘सफ्ट मुड’मा गाओस् भन्ने चाहन्थे । लताले भनेकी थिइन्, ‘म गाउनेछु । तर केही दिन अलि व्यस्त छु ।’

    केही दिनपछि बर्मनले लताको समय पक्का गर्न मान्छे पठाएका थिए ।

    तर, ती व्यक्तिले लता व्यस्त छिन् भन्नुको साटो गीत गाउन अस्वीकार गरेको खबर लिएर आए । यसपछि बर्मनले लतासँग कहिले पनि काम नगर्ने घोषणा गरे ।

    लताले पनि फोनमार्फत् भनी, ‘तपाईलाई यो घोषणा गर्न जरुरी छैन । म आफैं तपाईंको साथ काम गर्दिनँ ।’

    कयौं वर्षपछि लताले ‘बन्दीनी’ फिल्ममा बर्मनका लागि ‘मोरा गोरा अंग लै ले’ गाएकी थिइन् ।

    ०००

    लता क्रिकेटको सौखिन थिइन् । उनले पहिलोपटक १९४६ मा ब्रेब्रोर्न स्टेडियममा भारत र पाकिस्तानको खेल हेरेकी थिइन् । उनले बेलायतको ओभल मैदानमा बेलायत र पाकिस्तानबीचको क्रिकेट खेल समेत हेरेकी थिइन् ।

    महान् क्रिकेट खेलाडी डन ब्रेडम्यानले लतालाई हस्ताक्षर सहितको तस्बिर गिफ्ट दिएका थिए ।

    लतासँग कारको कलेक्सन नै थियो । पहिलो कार खैरो रङको हिलमेनलाई त्यो समयमा आठ हजार भारु खर्च गरेकी थिइन् । त्यो समयमा एउटा गीतका लागि दुई सयदेखि पाँच सयसम्म लिने गर्थिन् । १९६४ मा ‘संगम’ फिल्मपछि उनको पारिश्रमिक बढेर दुई हजार पुगेको थियो । यसपछि उनले हिलमेन बेचेर निलो रङको ‘शेवेरले’ किनेबी थिइन् ।

    लतालाई हिरामोतीको सौख थियो । १९४८ मा उनले सात सय रुपैयाँमा हिराको औंठी बनाएकी थिइन् । उक्त औंठी देब्रो हातमो साहिँली औंलामा लगाउने गर्थिन् । उनी सुनको पनि सौखिन् थिइन् ।

    लतालाई जासुसी उपन्यास पढ्ने सौख पनि थियो । उनीसँग शरलक होम्सको सबै किताबको संग्रह नै थियो ।

    लतालाई बलिउडको सबैभन्दा ठूलो सम्मान दादा साहक फाल्के पुरस्कारबाट १९८९ मा र भारत रत्नबाट २००१ मा सम्मान गरिएको थियो ।

    (बीबीसी हिन्दीबाट गरिएको भावानुवाद)

  • सारेगमप लिटिल च्याम्पको उपाधि कृपा पौडेललाई, जितिन् १६ लाख नगद

    सारेगमप लिटिल च्याम्पको उपाधि कृपा पौडेललाई, जितिन् १६ लाख नगद

    काठमाडौं । सारेगमप लिटिल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् । अन्य पाँच प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधिसँगै नगद १६ लाख पनि जितिन् ।

    झापाकी रोशा फुयाँल फस्ट रनरअप, सेकेन्ड रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलो र दोस्रो रनरअपले क्रमशः ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।

    नोबडी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजको अनुमति यो रियालिटी सोलाई नेपालमा संचालन गरेको हो । अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि पुरस्कार जितेका छन् ।

    अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडिओ, नेपालका साथै विश्व टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने भएको छ ।

    डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजारभन्दा वढी प्रतिस्पर्धी सहभागी थिए । सहभागी मध्यवाट मेगा अडिसनमा छानिएका ६० जनाबाटअडिसनमा ३५ जना र प्रिमियरमा १५ जना पुगेका थिए ।

    निर्णायकमा न्यूह बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी सहभागि थिए । १५ जना चर्चित गायक पनि जुरी थिए । १६ बर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेको थियो ।

  • गायिका मंगेशकरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

    गायिका मंगेशकरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

    काठमाडौं । कालजयी भारतीय गायिका लता मंगेशकरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् । धेरै नेपाली गीतलाई समेत आफ्नो समधुर आवाजले सजाएकी गायिका मंगेशकरको निधनमा उनले शोक व्यक्त गरेकी हुन् ।

    ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले लतालाई असाधारण प्रतिभा भएको उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले लेखेकी छिन् : धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    केही नेपाली गीतमा समेत आफ्नो आवाज दिएकी प्रख्यात भारतीय गायिका मंगेशकरको आज मुम्बईमा ९२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनमा नेपाली राजनीतिज्ञ, सेलेव्रिटी र सर्वसाधारणले समेत सामाजिक संजालमार्फत शोक व्यक्त गरेका छन् ।

  • प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन

    प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन

    मुम्बई । बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज मुम्बईस्थित अस्पतालमा निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।

    शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आए पनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । 

    लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातीय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा शोक व्यक्त गर्दै लेखेका छन् : आउँदो पुस्ताले उनलाई भारतीय संस्कृतिको एक दिग्गजको रूपमा सम्झनेछन्, जसको मधुर आवाजले मानिसहरूलाई मन्त्रमुग्ध गर्ने अतुलनीय क्षमता थियो।’ मोदीले गायिका मंगेशकरको निधनले मर्माहत भएको उल्लेख गरेका छन् ।

    एमबीबी शाह नामले चिनिने पूर्वराजा महेन्द्रद्वारा लिखित आकाशमा तिरमिरे बोलको गीतलाई लताले गाएकी थिइन् । लताले नेपाली गायक रामकृष्ण ढकालसँग पनि मिलेर ‘बाँचुञ्जेलीलाई’ गाएकी छिन् । 

    ५ वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी महान गायिका मंगेशकरले ७८ वर्षको गायक करिअरमा ३० हजारभन्दा धेरै गीत गाएकी छन् । उनी लन्डनको रोयल अल्बर्ट हलमा सांगीतिक प्रस्तुति दिने पहिलो भारतीय गायिकासमेत हुन् । 

    उनले सन् १९४२ मा १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । त्यसबापत थुप्रै पुरस्कार र सम्मान पनि पाइन् । उनले तीनपल्ट राष्ट्रिय अवार्ड जितिन् भने सन् १९६९ र १९९९ गरी दुईपल्ट पध्मभूषण र सन् २००१ मा भारतरत्न अवार्डसमेत पाएकी छन् ।

    समर्थकबाट मायाले ‘नाइटिंगेल अफ इण्डिया’ उपनाम पाएकी मंगेशकरका एक प्यारका नगमा हे, राम तेरी गंगा माई, एम राधा एक मीरा, दिदी तेरा देवर दिवाना लगायतका गीतहरु कालजयी छन् ।

    चार भाइबहिनीकी दिदी लता अविवाहित थिइन् ।

  • प्रियंकाकी छोरीलाई भेटेर सिलुले दिइन् सुनको रिङ उपहार !

    प्रियंकाकी छोरीलाई भेटेर सिलुले दिइन् सुनको रिङ उपहार !

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले युट्युवमा संचालन गर्ने सिरिज ‘चप चप डायरिज’ उनका प्रशंसकमाझ लोकप्रिय छ । हरेक साता उनले नयाँ गेस्टलाई बोलाएर कार्यक्रममा अन्तर्वार्ता लिन्छिन् ।

    ममीको ड्युटी निर्वाहा गर्नुपर्ने कारणले केही महिना रोकिएको उनको यो युट्युव सिरिज अब भने पुनः संचालनमा आउन थालेको छ ।

    ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती गोल्डीको जोडी ‘चप चप डायरिज’को यो सिरिजका गेस्ट बने । शनिबार प्रियंकाले सिलु र किरणको जोडीको भिडिओ लन्च गरेकी छिन् ।

    प्रियंकाले छोरी आयंकालाई जन्म दिएपछि ‘चप चप डायरिज’की पहिलो गेस्ट हुन् सिलु र किरण । जसले गर्दा पनि यो सिरिज रोचक हुने भै हाल्यो । उक्त कार्यक्रम गर्न प्रियंकाको घरमै पुगेकी सिलुले आयंकालाई भेटेर कानमा लगाउने सुनको रिङ उपहार दिएकी छिन् ।

    सिलुले छोरीलाई सुनको रिङ गिफ्ट दिएपछि प्रियंकाले लेखेकी छिन्, ‘आयंकाको इयररिङ बदल्ने बेला पनि हो यो । एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ ।’

    सिलुले पनि प्रियंकालाई भेटेर आफ्ना भावना सुनाउन पाएकोमा खुशि व्यक्त गरेकी छिन् ।

  • रचनाको नयाँ गीतलाई लिएर बहस : मौलिकताको धज्जी उडाइयो वा गीतलाई मिल्यो न्याय ?

    रचनाको नयाँ गीतलाई लिएर बहस : मौलिकताको धज्जी उडाइयो वा गीतलाई मिल्यो न्याय ?

    काठमाडौं । अञ्जु पन्त र जगदिश समालको स्वरमा रहेको हिट गजल ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ अहिले पनि उत्तिकै कालजयी लाग्छ । गजललाई मेनस्ट्रिम संगीतसँग जोड्ने काम उक्त गीतले गर्‍यो ।

    महेश खड्काको संगीत र विपिन किरणको शब्द रहेको उक्त गीतले गजललाई नयाँ आयाम दियो । सोही गीतलाई गीतकार किरणले पछिल्लो समयकी हिट गायिका रचना रिमालको आवाजमा स्वरांकन गराएका छन् ।

    तर, रिमालको स्वरमा रहेको नयाँ गीतलाई लिएर विवाद सिर्जिएको छ । कतिपयले नयाँ गीतले मौलिकतालाई बिगारेको आरोप लगाएका छन् भने कतिपयले अञ्जु गीतलाई रचनाको स्वरमा सुन्न पाउँदा खुशि व्यक्त गरेका छन् ।

    अञ्जुको हिट गीतलाई १० वर्ष नबित्दै रचनाले गाउँदा दुईजना गायिकाको गायकीको तुलना हुने नै भयो । सामाजिक संजाल प्राप्त धेरै प्रतिक्रियामा धेरैले दुई गायिकाको तुलना गर्दै पुनः रेकर्ड गर्ने समय नभैसकेको बताएका छन् ।

    फिल्म निर्माता तथा निर्देशक सन्तोष सेन लेख्छन् : ‘रियालिटी सोमा गाउनु, कभर गर्नु राम्रो हो तर, पुनः रेकर्ड गरेर मौलिक गीतको धज्जी उडाउनु गलत हो । डलरको लोभमा गायकी र आफ्नै सिर्जनाको हत्या भएको छ । पुनः सिर्जना गर्दा पुरानो सिर्जना बिर्साउने प्रस्तुति हुनुपर्छ नत्र लोभले लाप र लापले बिलाप हुनसक्छ ।’

    कृष्णप्रताप महत लेख्छन् : जब गीतकार वा संगीतकार ओझेलमा पर्छन्, तब आफ्नै हिट गीतहरु पनि नयाँ नयाँ स्वरमा पस्कन थाल्छन् जसको दरिलो उदाहरण यही हो ।’ फेब्रुअरी ३ मा रिलिज भएको यो गीतले युट्युुवमा झन्डै १ लाख ३० हजार भ्यूज प्राप्त गरेको छ ।

  • अक्षय, टाइगर र श्रद्धा एउटै फिल्ममा : अब्बासको निर्देशनमा ‘बडे मियाँ छोटे मियाँ’ बन्ने

    अक्षय, टाइगर र श्रद्धा एउटै फिल्ममा : अब्बासको निर्देशनमा ‘बडे मियाँ छोटे मियाँ’ बन्ने

    मुम्बई । बलिउड एक्सन स्टार टाइगर श्रफ र श्रद्धा कपुर पुनः एक नयाँ फिल्ममा सँगै देखिने भएका छन् । सन् २०२१ को डिसेम्बरमा यो जोडी ‘बडे मियाँ छोटे मियाँ’मा देखिने हल्ला चलेको थियो ।

    सन् १९९८ मा बनेको उक्त नामको फिल्मको मुख्य भूमिकामा अमिताभ बच्चन र गोविन्द देखिएका थिए तर, बन्न लागेको नयाँ फिल्म चाहिँ रिमेक भने होइन ।

    बलिउड हंगामका अनुसार अलिअब्बास जफरले निर्देशन गर्ने यो नयाँ फिल्ममा भरपूर एक्सन दृश्यमा समावेश हुनेछ । निर्माण कम्पनी पूजा इन्टरटेनमेन्टले आइतबार फिल्म निर्माणलाई लिएर घोषणा गर्ने जनाइएको छ ।

    फिल्मको मुख्य अभिनेता फाइनल भएपनि लिड अभिनेत्रीलाई लिएर खोजी अहिले पनि जारी छ । फिल्ममा अक्षयकुमार र टाइगर श्राफ मुख्य भूमिकामा फाइनल भएका छन् ।

    यो फिल्ममा बागी–३ की कोस्टार श्रद्धा कपुरले टाइगरको अपोजिटमा अभिनय गर्ने सम्भावना पक्का छ । यी दुईजनाले बागी र बागी ३ मा सँगै काम गरेका छन् ।

    टाइगर अभिनित फिल्महरु हिरोपन्थी २, बागी ४ र गणपथ भाग १ रिलिज तयारीमा छन् । अलि अब्बास जफरले कट्रिना क्याफ र रणवीर कपुरसँग फिल्म गर्दैछन् ।

  • लता मंगेशकरको अवस्था थप जटिल, शनिबारदेखि भेन्टिलेटरमा

    लता मंगेशकरको अवस्था थप जटिल, शनिबारदेखि भेन्टिलेटरमा

    मुम्बई । भेट्रान बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालको भेन्टिलेटरमा राखेर शनिबारदेखि उपचार सुरु गरिएको डा. साम्दानीले जनाए ।

    कोभिड-१९ संक्रमण भएपछि लतालाई एक महिनादेखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबारसम्म आइसीयूमा राखेर उपचार भएपनि अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    कोरोनाले संक्रमित भएर अस्पताल भर्ना भएपनि लतालाई निमोनिया पुष्टि भएको थियो । शनिबार उनको उपचारमा संलग्न चिकित्सक साम्दानीले लताको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् ।

    अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

    गतसाता स्वास्थ्यमा केही सुधार भएपछि लतालाई भेन्टिलेटरबाट निकालिएको थियो । जनवरी १० मा लतालाई अस्पतालमा भर्ना गरिएको थियो ।

  • फिल्म हल जतिसक्दो चाँडो खुलाउन पहल गर्छु : संचारमन्त्री कार्की

    फिल्म हल जतिसक्दो चाँडो खुलाउन पहल गर्छु : संचारमन्त्री कार्की

    काठमाडौं । कोरोनाभाइरस महामारीको तेस्रो लहरले बन्द रहेका फिल्म हललाई चाँडै खुलाउन आफूले पहल गर्ने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

    शुक्रबार मन्त्रालयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघ र चलचित्र संघका प्रतिनिधिसँग भेट गर्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

    कोरोना महामारीले प्रभावित नेपाली फिल्म र यससँग आबद्ध व्यवसायी र व्यक्तिको मर्काबारे आफू जानकार रहेको बताउँदै मन्त्री कार्कीले हल खुलाउन सकारात्मक पहल गर्ने जानकारी दिए ।

    भेटपछि नेपाल प्रेससँग कुरा गर्दै बोर्ड अध्यक्ष दाहालले भने, ‘मन्त्रीज्यूले जतिसक्दो चाँडो फिल्म हल खुलाउन पहल गर्ने वचन दिनुभएको छ । सकारात्मक पहल गर्छु भन्नुभएको छ ।’

    सो अवसरमा चलचित्र संघ र निर्माता संघको तर्फबाट मन्त्रालयलाई कोरोना महामारीको कारण परेको असर र सुझावसहितको ज्ञापनपत्र बुझाइएको थियो । जवाफमा मन्त्री कार्कीले विभागीय मन्त्रीको नाताले फिल्म क्षेत्रको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए ।

    महामारीको तेस्रो लहरको कारण नेपाली फिल्म हलहरु पुनः बन्द छन् । खेलकुद रंगशाला लगायतका अन्य क्षेत्रलाई खुलाउन प्रशासनले अनुमति दिएपनि हल चाहिँ अहिले पनि बन्द छन् । चलचित्र विकास बोर्डको अग्रसरतामा हल खुलाउन पहल थालिएको हो ।

     

  • ‘ह्यारीकी प्यारी’ सुटिङलाई पर्वत पुगिन् साम्राज्ञी : हिमपात र ठन्डीले सुटिङ प्रभावित

    ‘ह्यारीकी प्यारी’ सुटिङलाई पर्वत पुगिन् साम्राज्ञी : हिमपात र ठन्डीले सुटिङ प्रभावित

    कुस्मा । फिल्म ह्यारीकी प्यारी सुटिङमा भाग लिन नायिका साम्राज्ञी शाह पर्वतको भुका देउराली पुगेकी छिन् । उनले सोमबारदेखि सेट ज्वाइन गरेकी हुन् ।

    यो रोमान्टिक कमेडी ड्रामामा साम्राज्ञीले जितु नेपालसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । १२ दिनदेखि सुटिङ भैरहेको भुका देउरालीमा हिउँ परेपछि बढेको ठन्डीले शुक्रबार भने फिल्मको छायांकन प्रभावित बनेको छ ।

    नेपाल प्रेसलाई प्राप्त तस्बिरमा सुटिङ सेट वरपरका डाँडामा हिमपात भएको देख्न सकिन्छ । ‘हिँउ परेपछिको चिसोले शुक्रबारदेखि काममा समस्या भएको छ’ अभिनेता विजय बरालले नेपाल प्रेससँग भने, ‘काम गर्दै रोक्दै अघि बढेका छौं ।’

    अझै डेढसाता भुका देउरालीमै छायांकन हुने फिल्म त्यसपछि बाँकी दृश्यांकनलाई पोखरा र काठमाडौं फर्कनेछ । सेलेव्रिटी डाक्टर भोला रिजालका छोरा कपिलको डेब्यु निर्देशन रहेको फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

    फिल्ममा जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवास गजुरेल र डिल्ली खनालको मुख्य भूमिका छ । यो फिल्मका लागि साम्राज्ञीले राम्रो पारिश्रमिक लिएको बुझिएको छ । छक्का पञ्जा सिरिजमा रहने वा नरहने अन्यौलबीच जितुले यो फिल्मलाई अघि बढाएका हुन् ।