Category: कलाप्रेस

  • एमसीसी विवादमा दीपकराज गिरीको टिप्पणी : निर्णय सडकबाट हैन, सदनबाटै गर्ने हो

    एमसीसी विवादमा दीपकराज गिरीको टिप्पणी : निर्णय सडकबाट हैन, सदनबाटै गर्ने हो

    काठमाडौं । अभिनेता दीपकराज गिरी समसामयिक राजनीतिमा आफ्ना दृष्टिकोण राख्छन् । टिभी सिरिज ‘तीतो सत्य’देखि व्यवसायिक हिट फिल्म ‘छक्का पञ्जा’सम्म उनले समाज र राजनीतिलाई कलाको केन्द्रमा राखिरहेका छन् ।

    यस्तोमा, अहिले निकै तातिरहेको राष्ट्रिय मुद्दा अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पनि दीपकले आफ्ना भनाई राखेका छन् । यो मुद्दामा मौनता साँधिरहेका दीपकले शुक्रबार सामाजिक संजालमार्फत एमसीसीबो टिप्पणी गरेका छन् ।

    एमसीसीलाई सडकबाट नभई संसदबाट टुंगो लगाउनुपर्ने दीपकको भनाई छ । यो अमेरिकी अनुदान सम्झौतालाई लिएर सडकमा भइरहेका विरोधप्रति उनको असन्तुष्टि रहेको बुझ्न सकिन्छ ।

    उनी लेख्छन् : चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो । लिंग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब ।

    उनी अघि लेख्छन् : कसैको सह्योग चाहिन्न भन्ने कुरा बेलुका क्वार्टर खाएर भन्ने कुरा हो । राँगाको सुकुटी चपाउँदै दिएको तथ्यहिन राष्ट्रवादी गफलाई त रक्सीले मज्जाले पचाउला तर हाम्रो जस्तो निर्यात शून्य र आयातमा निर्भर भएको भारत परिवेष्ठित मुलुकले भविष्यमा हुने दुर्घटनालाई पचाउन सक्दैन ।’

    ‘निर्णय सडकबाट होइन, सदनबाटै गर्ने हो’ दीपकको सुझाव छ । जनप्रतिनिधिलाई विश्वास गर्न समेत उनले आग्रह गरेका छन् ।

     

     

  • संगीतकार खड्काद्वारा गीत चोरीको आरोप अस्वीकार, कानूनी उपचारमा जान चुनौती

    संगीतकार खड्काद्वारा गीत चोरीको आरोप अस्वीकार, कानूनी उपचारमा जान चुनौती

    काठमाडौं । यसैसाता रिलिज भएको आफूद्वारा संगीतबद्ध गीत ‘नोगेन’लाई चोरीको आरोप लागेपछि संगीतकार महेश खड्काले कानूनीरुपमा त्यसलाई पुष्टि गर्न चुनौति दिएका छन् ।

    विहिबार अर्का संगीतकार वसन्त सापकोटाले फिल्म सिलसिलामा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट उक्त गीत चोरिएको आरोप लगाएका थिए ।

    सापकोटाले आरोप लगाएको एक दिनपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै खड्काले उनका आरोपहरु अस्वीकार गरेका हुन् ।

    प्रेसमिटमा उनले भने, ‘यदि चोरेको लाग्छ भने उहाँ कानूनी उपचारमा नगएर किन मिडियाबाजी गर्दै हुनुहुन्छ ? उहाँले कुण्ठित मनासयले मेरो सम्मानमा आँच आउने ढंगले अघि बढ्नुभएको छ ।’

    सिर्जना कपि गरेको आरोपमा दोषी देखिए कपिराइट रजिस्टर कार्यालयमार्फत कानूनी उपचारमा जान सापकोटालाई खड्काको चुनौति थियो । ‘चित्त बुझेको छैन भने कानूनी उपचारका बाटा छन्, मिडियामा गएर भन्ने होइन’ उनले भने ।

    एकले अर्कोलाई दोष देखाएर नेपाली संगीत क्षेत्र कहिँपनि नपुग्ने बताउँदै खड्काले यो विवादले उल्टै सापकोटालाई हानी गर्ने जिकिर गरे । ‘चोर भनेर आरोप प्रत्यारोप गर्ने हो भने नेपाली संगीत क्षेत्रमा कोहि पनि अघि नबढे हुन्छ । यो विवादले स्वयम बसन्त भाईलाई घात गर्छ’ उनले भने ।

    सिर्जना हुबहु चोरेका वा नचोरेको भन्ने कुरामा आफू सचेत रहेको उनको भनाई छ । ‘राग र ताल कसैको पेवा हैन । संसारमै चलेका कड् र तालबाट हामीले गीत संगीत निर्माण गरिरहेका हुन्छौं’ उनले भने, ‘काम गर्दै जाँदा केही कुराहरु मिलिरहेका हुन्छन् ।’

    तर, संगीतकार सापकोटाले चाहिँ गीत चोरी भएको आरोप लगाउँदै गीतम आफ्नो नाम पनि उल्लेख गर्न आग्रह गरेका छन् । रुक्सना लिम्बु र प्रमोद खरेलको स्वर रहेको गीत नोगेन नेपाली युट्युव ट्रेन्डिङको शीर्षस्थानमा स्ट्रिमिङ भैरहेको छ ।

     

  • स्टेजबाट गायक-गायिका मालामाल, सर्जकको रोयल्टीमा गोलमाल

    स्टेजबाट गायक-गायिका मालामाल, सर्जकको रोयल्टीमा गोलमाल

    काठमाडौं । केही समयअघि गायिका अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई’ नवगायिका रचना रिमालको स्वरमा पुनः रेकर्डिङ भएर युट्युबमा सार्वजनिक भयो । गीत सार्वजनिक भएपछि अनेक कोणबाट विमर्श भए । उक्त गीत गीतकार विपिन किरणले लगानी गरेर आफ्नै च्यानलबाट सार्वजनिक गरेका थिए ।

    डेढ दशकअघि अन्जुको स्वरमा सार्वजनिक भएको गीत अहिले म्युजिक नेपालको अफिसियल युट्यूब च्यानलमा छ । झण्डै ७० लाखले हेरिसकेको गीतबाट प्राप्त रोयल्टी अथवा आम्दानीको हिसाबकिताब कस्तो छ ? जबकि विपिन स्वयंले लगानी गरेर ‘किरण’ एल्बममा समावेश गीत हो यो । रन्जना क्यासेटले बजारमा ल्याएको यो एल्बमबाट विपिनले लगानीकर्ता र गीतकारको हैसियतमा कति लाभ पाए ? अन्जु पन्तले कति ठाउँमा यो गीत गाइन्, पारिश्रमिक बुझिन् ? उनीहरुलाई नै थाहा होला ।

    विपिन भन्छन्, ‘स्रष्टा र लगानीकर्ताको हैसियतमा त्यो मेरो सम्पत्ति हो । तर, बाहिर गइसकेको गीतलाई आफ्नो बनाउनका लागि पनि मैले रचना रिमालको स्वरमा फेरि आफैंले लगानी गरेर आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । आफ्ना गीतहरुलाई आफ्नै मातहतमा ल्याउन लामो समयदेखि कसरत गरिरहेको छु । तर, सोचेजस्तो भइरहेको छैन ।’

    आफ्नो सृजनाले अनेक तरीकाले कमाइरहँदा त्यसबाट लाभ लिन नपाइरहेका विपिन एक्ला स्रष्टा होइनन् । धेरै स्रष्टा आफ्ना सृजनाबाट प्राप्त हुने आर्थिक लाभबाट वन्चित भएका छन् । फितलो कानुन, राज्यको उदासिनता र हकअधिकारका लागि गठित संघसंस्थाको कमजोर कार्यसम्पादनका कारण पनि स्रष्टाहरू झनै दलदलमा फसिरहेको उनीहरु नै खुलमखुल्ला बताउने गरेका छन् ।

    पहिला क्यासेटहरुमा मात्रै बजार रहेको गीत संगीत अहिले डिजिटल दुनियाँमा विस्तार भएको छ । युट्यूब, आइट्यून्स, स्पोटिफाइ लगायत सयौं संख्याका डिजिटल प्लेटर्फममा आफ्ना गीतहरु बजिरहँदा पनि स्रष्टाहरुले त्यहाँबाट प्राप्त आम्दानीबाट लाभ लिन पाएका छैनन् । संगीतकार संघ, गीतकार संघ जस्ता संस्थामार्फत् स्रष्टाहरु आफ्नो सृजनाबाट प्राप्त हुने आर्थिक अधिकारका लागि लडिरहेकै छन् । तर, भनेजस्तो नतिजा प्राप्त हुन नसकेको उनीहरुको गुनासो छ ।

    स्रष्टाहरुको लडाइँ यहाँ मात्रै छैन । गीतकारले गीत लेखेपछि संगीतकारले मेलोडी तयार गर्छन् । गायक गायिकाले गाएर सार्वजनिक भएपछि करोडौँ दर्शक स्रोताले सुन्छन्/हेर्छन् । गीत हिट भयो भने गायक गायिकाले स्टेज शो, कन्सर्टहरु पाउँछन् । लाखौं पारिश्रमिक लिन्छन् । तर, गीतकार र संगीतकारका दुःख भने उस्तै भइरहन्छ । न कुनै रोयल्टी पाउँछन्, न त करोडौँले सुनेबापत कुनै आर्थिक लाभ नै ।

    गीतकार कृष्णहरि बराल भन्छन्, ‘गायक गायिकालाई आयोजकले गीत सुन्न बोलाउने हो, गफ सुन्नका लागि होइन । शब्दभन्दा पर गीतको सम्भावना पनि छैन । त्यो गीत गीतकार र संगीतकारको पनि हो । स्रष्टाहरुको सृजना सुनाउन प्रस्तोता स्टेजमा पुग्छन्, लाखौं पारिश्रमिक पाउँछन् । तर, हामी भने हाम्रो गीत बज्यो भनेर मात्रै मख्ख !’

    गायक गायिकाले स्टेजमा गीत गाउँदै गर्दा गीतकार, संगीतकारको सृजना भएकाले उनीहरुको पारिश्रमिकबारे पनि आयोजकसँग कुराकानी गर्न सक्नुपर्ने बरालको तर्क छ । भन्छन्, ‘एउटा राम्रो गीत बन्नका लागि हाम्रो अहम् भूमिका हुन्छ । प्रस्तोताहरुले दुई लाख पारिश्रमिक पाउँदै गर्दा स्रष्टाले पचास हजार पाउँदा के जान्छ र !’

    स्रष्टाहरुको लडाइँ यहाँ मात्रै छैन । गीतकारले गीत लेखेपछि संगीतकारले मेलोडी तयार गर्छन् । गायक गायिकाले गाएर सार्वजनिक भएपछि करोडौँ दर्शक स्रोताले सुन्छन्/हेर्छन् । गीत हिट भयो भने गायक गायिकाले स्टेज शो, कन्सर्टहरु पाउँछन् । लाखौं पारिश्रमिक लिन्छन् । तर, गीतकार र संगीतकारका दुःख भने उस्तै भइरहन्छ । न कुनै रोयल्टी पाउँछन्, न त करोडौँले सुनेबापत कुनै आर्थिक लाभ नै ।

    तर, कतिपय अवस्थामा त उनीहरुले ‘मेरो गीत’ भनेर नै दाबी गरिदने र आफूहरुको नामै छुटाइदिने बरालको तीतो अनुभव छ । उनी प्रश्न गर्छन्, ‘स्वर पो उहाँहरुको हो त ! शब्द गीतकारको हो, मेलोडी संगीतकारको हो नि !’

    यस्तो तीतो अनुभव बोकेर हिँडेका बराल एक्ला भने होइनन् । अधिकांश स्रष्टाहरुको यस्तै गुनासाहरु छन् । पछिल्लो समयमा चर्चित गीतकार हर्क साउदको ‘तीनपाते’ र ‘के माया लाग्छ र’ बाहेक धेरै गीत कहाँ छन्, उनैलाई थाहा छैन । तिनले कति आम्दानी गरिरहेका छन् अथवा ती गीतबाट सर्जकको हैसियतमा कति रोयल्टी पाउनुपर्ने हो, कुनै जानकारी प्राप्त गरेका छैनन् ।

    आर्टमाण्डुबाट सार्वजनिक भएका यी दुई गीतको चाहिँ युट्यूबलगायत डिजिटल प्लेटफर्मबाट प्राप्त आम्दानीमा साउदको पनि हिस्सा छ । तर, गायकले चाहिँ लिँदैनन् । गायकले कन्सर्टहरुमा पाएको पारिश्रमिक चाहिँ उनैले लिने गरी एक खालको सम्झौता भएको बताउँछन् साउद ।

    साउद आक्रोश पोख्दै भन्छन्, ‘गीतकारका शब्द र संगीतकारको मेलोडीलाई प्रयोग गरेर सिकार खेल्ने । सिकार मार्ने पनि । तर, भएजत्ति सबै सिकार एक्लै आफैं खाने गर्छन् । यो दुःखलाग्दो पाटो हो ।’

    पछिल्लो समयमा संजालमा छलफलमा आएको ‘नबिर्सें तिमीलाई’ गीतबारे भन्छन्, ‘जसले त्यो गीत लगानी गरेको हो, उसले रिमेक गर्न पाउँछ । गीतलाई स्टेजमा गाएवापत् अन्जु दिदीले कति कमाउनु भयो होला ! तर, यति प्रतिशत तपाईंको हो भनेर स्रष्टालाई दिनुभयो होला र ? कतिपय ठाउँमा त गायक÷गायिकालाई पारिश्रमिक दिएरै गीत रेकर्ड गराइएको हुन्छ ।’

    आफ्नो ‘तीनपाते’ र ‘के माया लाग्छ र’ बाहेक सबै गीतहरुको अवस्था दयानीय रहेको साउदको दुखेसो छ । फिल्मका लागि लाखौं खर्चिने निर्माताले गीतकारका लागि पाँच/दश हजार दिन पनि कन्जुस्याइँ गर्नेहरु पनि देखेका छन् उनले । पाँच/दश हजार भनेर दुई हजारमा झारा टार्नेहरु पनि देखेका छन् ।

    ‘मैले रोयल्टी संकलन समाजबाट पनि एक रुपैयाँ हात पारेको छैन । हाम्रा गीत युट्युब च्यानललाई बेच्छन् । फिल्मकै गीतमा पनि डिजिटल कम्पनी र फिल्मको सम्झौता हुन्छ । त्यहाँ हामीलाई सहभागी गराइन्न,’ साउद सुनाउँछन्, ‘कता कसरी सम्झौता गराए, थाहा हुन्न । त्यसो भएपछि सर्जकको् हैसियतमा रोयल्टीको कुरा गर्ने ठाउँ नै सकिन्छ ।’

    गीतमा पहिलो अधिकार नै स्रष्टाको भएकाले स्रष्टालाई नसोधी गीत रेकर्ड गराउने, गाउने काम कानुनसम्मत नभएको गीतकार बरालको तर्क छ । भन्छन्, ‘कुनै पनि गीतको पहिलो अधिकार त स्रष्टाको हो नि !’

    बरालका डेढ सय ज्यादा त फिल्मी गीत मात्रै छन् । तर, रोयल्टी त धेरै परको कुरा, युट्यूबमा कतिपय गीतमा उनको नाम पनि छैन । उनले लेखेका गीतमा तीनजनासम्मको नाम पनि राखिएको छ । बराल भन्छन्, ‘गीतमा मेरो नामकै हालत यस्तो छ । साथै स्टेजमा पनि नाम भनिँदिँदैनन् कतिले त । त्यो अज्ञानता वा बदमासी पनि हुनसक्छ । तर, उहाँहरुलाई बिर्सिएर पनि नाम छुटाउने छुट छैन ।’

    कवि तथा गीतकार श्रवण मुकारुङले फेसबुकमार्फत् ‘जसले गीतकार र संगीतकारलाई बेवास्ता गरी तिनका सृजनालाई आफ्नो निजी सम्पत्ति ठान्छन्, तिनका नाममा’ भन्दै स्टाटस लेखेका छन् ।

    उनी लेख्छन्, ‘गायक गायिकाले क्यासेट एल्बमका लागि गीत माग्थे, हामी थोरै पारिश्रमिक वा त्यतिकै दिन्थ्यौं । तिनले क्यासेट बेच्थे, कमाउँथे । विस्तारै तिनले देश विदेशमा स्टेज शो गर्न थाले, राम्रो कमाउन थाले । हामीले कहिल्यै स्टेज शोमा गाए वापत्को आफ््नो पारिश्रमिकको कुरा उठाएनौँ ।’

    ‘तिनले स्टेजमा हाम्रो नाम समेत लिन छोडे । मानौँ, रचनाकार, संगीतकार ती आफैं हुन् । अहिले भिडियो बनाएर युट्युबमा राख्ने ट्रेण्ड छ । हामीले यसको पनि हालखबर सोधेनाँै,’ ‘तिमी तारे भिर’ बोलको गीतको रिमेक गरेका मुकारुङ भन्छन्, ‘अहिले रिमेकको जमाना किन आयो त ? सारमा पैसाको कुरा नै हो । बाघको छालामा स्यालको रजाइँ भनेको यही हो । होइन भने तिनले गाएको (आवाजको) भर्सन मात्रै हो तिनको हो ।’

    ‘गायक गायिकालाई आयोजकले गीत सुन्न बोलाउने हो, गफ सुन्नका लागि होइन । शब्दभन्दा पर गीतको सम्भावना पनि छैन । त्यो गीत गीतकार र संगीतकारको पनि हो । स्रष्टाहरुको सृजना सुनाउन प्रस्तोता स्टेजमा पुग्छन्, लाखौं पारिश्रमिक पाउँछन् । तर, हामी भने हाम्रो गीत बज्यो भनेर मात्रै मख्ख !’- गीतकार कृष्णहरि बराल

    संगीतकार तथा गायक विक्रम राई पनि सृजना गर्ने सर्जकहरु पीडित भएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हिजो म्युजिक कम्पनीबाट चरम पीडित भएका सर्जकले आज पनि पारिश्रमिकसहित गायक गायिकालाई गाउन लगाउँछन् । गीत हिट भएमा उनीहरुले वाहवाही पाउने, सबै क्रेडिट उनीहरुले लिने, सबै मेरै हो भनेर संसार डुल्ने, टन्न पैसा कमाउने । अनि ओझेलमा परेको सर्जकलाई अलिकति नैतिकता पनि नदेखाउने गर्छन् ।’

    सृजनाबाट प्राप्त आर्थिक लाभबाट वर्षौं वन्चित भएपछि रि-रेकर्ड, रि-अरेन्ज, रि-प्राइज, रि-मेक गरी नयाँ भर्सनमा आफ्नो सृजना आफ्नैै बनाउन सर्जकहरु लागिपर्नु स्वभाविक रहेको उनको तर्क छ । त्यो सर्जकको अधिकार पनि रहेको दाबी गर्छन् उनी ।

    संगीतकार संघका अध्यक्ष पारस मुकारुङ भने अबदेखि स्रष्टाहरुले कागज गरेर आफ्नो सृजना सुरक्षित राख्नुपर्ने बताउँछन् । भन्छन्, ‘हिजोका दिनमा मौखिक मात्रै हुन्थ्यो, अब कागज पनि गर्नुपर्छ । तर, पाँच वर्षभन्दा बढीको गर्नु हुँदैन ।’ साथै आफूहरु स्रष्टाहरुको् हकहितका लागि निरन्तर लागिपरिरहेको मुकारुङको भनाइ छ ।

    पछिल्लो समय स्रष्टाहरुले आफ्नो आर्थिक अधिकार दाबी गर्दै दृश्यमा देखिनुलाई समयको माग भएको बताउँछन् गीतकार संघ नेपालका उपमहासचीव रमेश कोइराला । भन्छन्, ‘हिजोका दिनमा स्रष्टाहरु आफ्नै सृजनाको बलमा बाँचेका थिए । आजका दिनमा त्यो सृजनाले कसरी हामीलाई बचाउँछ भनेर लागिपरेका छन् ।’ प्रस्तोताले जस्तो प्रस्तुति दिन्छ, त्यसवापत् स्रष्टाले पाउने हकअधिकारको ग्यारेन्टी हुनुपर्ने कोइरालाको तर्क छ ।

    कानून संशाेधन भइरहे पनि कानूनले जति ग्यारेन्टी गरेको छ, त्यो मात्रामा प्रस्तोताले स्रष्टालाई हकअधिकार दिनुपर्ने बताउँछन् उनी ।

  • नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सनले कसे लगनगाँठो

    नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सनले कसे लगनगाँठो

    काठमाडौं । सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’बाट चर्चित दुई प्रतिस्पर्धीले लगनगाँठो कसेका छन् । आइडलकै समयदेखि प्रेम सम्बन्धमा रहेका उल्सन श्रेष्ठ र सन्ध्या जोशीले इन्गेजमेन्ट हुँदै सम्बन्धलाई बिहेमा रुपान्तरण गरेका हुन् ।

    विहिबार पारिवारिक जमघट र सीमित व्यक्तिको उपस्थितिमा बिहे समारोह भएको थियो । दुईवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले तरकारी, सुस्त लगायतका गीतमा सहकार्य गरेका छन् । आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए ।

  • अञ्जु पन्त अर्को महिना श्रीमानसहित नेपाल फर्किने

    अञ्जु पन्त अर्को महिना श्रीमानसहित नेपाल फर्किने

    काठमाडौं । श्रीमानसहित अमेरिका पुगेकी गायिका अञ्जु पन्त अर्को महिना नेपाल फर्किने भएकी छन् । अमेरिकामै भासिन लागेको आशंका चिर्दै उनले नेपाल फर्किने तयारी गरेकी हुन् ।

    अञ्जुका श्रीमान थिर कोइरालाले स्थाई बसोबास गर्ने हिसाबले आफूहरु अमेरिका नआएको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले केही काम सकेर अर्को महिनासम्ममा स्वदेश फर्किने जानकारी दिए ।

    ‘मेरो यहाँ सानो काम थियो, कोभिडका कारण ढिलाइ भयो,’ उनले भने, ‘यो सक्नासाथ दुवैजना फर्किन्छौं ।’ नेपाल फर्केर दुवैजना पहिलेकै पेशामा सक्रिय हुने उनले बताए । कोइराला नेपाल छँदा मिकाह नेपाल नामक गैरसरकारी संस्थामा राष्ट्रिय संयोजकका रुपमा कार्यरत थिए ।

    कोइरालाले भने, ‘मेरो जब नेपालमै छ । यता बस्ने प्रश्नै आउँदैन ।’ इलाम घर भएका सञ्चारकर्मी तथा गीतकार थिरले २०७७ साल फागुन १२ गते अञ्जुसँग क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए । उनीहरु ६ महिनाअगाडि अमेरिका गएका हुन् ।

    अञ्जुले गाएको ‘न बिर्सेँ तिमीलाई’ बोलको गीत हालै रचना रिमालको स्वरमा रिरेकर्ड भएर आएपछि चर्चा र विवाद जारी छ । अञ्जु स्वयम्ले पनि यस विषयमा असन्तुष्टि जनाउँदै फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

  • नम्रता र दयाहाङको ‘वरदान’ दर्शकमाझ : आत्महत्याविरुद्ध सन्देश दिन ल्याए फिल्म

    नम्रता र दयाहाङको ‘वरदान’ दर्शकमाझ : आत्महत्याविरुद्ध सन्देश दिन ल्याए फिल्म

    काठमाडौं । नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ बिहीबार दर्शकमाझ आएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ ।

    २०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको फिल्म यही ‘वरदान’ हो । विषयवस्तु चित्त बुझेर आफूले यस फिल्ममा काम गरेको नम्रता बताउँछिन् । आत्महत्या रोकथामको विषयलाई उठाएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश पनि दिन्छ ।

    पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको छ । आत्महत्या दर घटाउनका लागि सरोकारवाला सरकारी निकायहरु र विभिन्न संस्थाले थुप्रै कार्यक्रम आयोजना गर्दै आएका छन् । यस्तो अवस्थामा ‘वरदान’ फिल्म बन्नुलाई नम्रता निकै नै सकारात्मक पक्ष मान्छिन् । ‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरुलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।’

    कोभिड-१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ‘वरदान’को कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए । लकडाउनकै कारण फिल्म ‘दुई नम्बरी’को सुटिङ रोकेर बसेका लामाले भने, ‘अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ ।’

    दुईजनाको मात्र जीवन जोगाउन सकेँ भने पनि त्यसलाई आफ्नो कामको सफलता ठान्ने पक्षमा उनी छन् । आफ्नो उद्देश्यमा सघाउन तयार भइदिएकामा उनी फिल्मका कलाकार, प्राविधिक र निर्माण कम्पनी शुभ मिडिया होमप्रति आभार व्यक्त गर्छन् ।

    लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङ राई यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाउँछन् । नम्रताको उपस्थितिले फिल्मको सन्देशलाई अझ गम्भीर र प्रभावकारी बनाएको उनी तर्क गर्छन् । ‘फिल्ममा नम्रताको नै केन्द्रिय भूमिका छ, उनलाई सघाउन पाएकोमा म खुसी छु’ दयाहाङले भने ।

    शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।

  • प्रमोद र रुक्सनाको गीत ‘नोगेन’ विवादमा : आफ्नो सिर्जनाबाट चोरिएको संगीतकार सापकोटाको आरोप

    प्रमोद र रुक्सनाको गीत ‘नोगेन’ विवादमा : आफ्नो सिर्जनाबाट चोरिएको संगीतकार सापकोटाको आरोप

    काठमाडौं । बालगायिका रुक्सना लिम्बु र गायक प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘नोगेन’ विवादमा तानिएको छ ।

    चर्चित संगीतकार बसन्त सापकोटाले उक्त गीतको केही अंश आफूद्वारा संगीतबद्ध एक गीतबाट चोरी गरिएको आरोप लगाएका छन् ।

    सन् २०६६ मा रिलिज भएको फिल्म ‘सिलसिला’मा समावेश गीत ‘सागरसरी चोखो माया’बाट उक्त गीतको केही अंश कपि गरिएको सापकोटाले नेपाल प्रेसलाई बताए ।

    ‘नोगेन गीतको हुक पार्ट मेरो रचनासँग दुरुस्तै मिलेको छ । पाँचपटक दोहोरिएको छ । टीकटक र सामाजिक सञ्जालमै पनि यही क्लिपलाई सेयर गरिएको छ’ सापकोटाले भने ।

    ‘अपलोड गर्नुअघि एकपटक सोधेको भए हुन्थ्यो । अब हटाउन पनि नमिल्ला तर, संयुक्त नाम राख्नुपर्छ भन्ने मेरो माग हो’ उनी भन्छन्, ‘यसबारे संगीतकार महेश खड्काजीसँग पनि कुरा गरेको छु । गीत मिल्यो भनेर मैले भनेको होइन, पब्लिकबाट पनि आएको छ ।’

    आफूलाई उक्त गीतले देश विदेशमा समेत चिनाएको स्मरण संगीतकार सापकोटाले गरे । अग्रजहरु नै चोरीमा संलग्न भएमा भविष्यमा त्यस्तो कामलाई प्रोत्साहन मिल्ने भएकाले आफूले आवाज उठाएको उनले बताए ।

    ‘यो कामलाई निरुत्साहित गर्न म आएको हुँ’ उनले भने । फेव्रुअरी ६ मा रिलिज भएको गीत नोगेन अहिले युटयुव ट्रेन्डिङको शीर्षस्थानमा छ ।

  • रोयल्टी समाजको दबाबपछि रचनाको गीतमा राखियो अञ्जु पन्त र जगदिश समालको नाम

    रोयल्टी समाजको दबाबपछि रचनाको गीतमा राखियो अञ्जु पन्त र जगदिश समालको नाम

    काठमाडौं । चौतर्फी विवादपछि गायिका रजना रिमालको स्वरमा रहेको नयाँ गीत ‘न बिर्सेँ तिमीलाई’को भिडिओको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम समेत समावेश गरिएको छ । मौलिक गीतमा नाम समावेश नगरिए कानूनी कार्वाहीमा अघि बढ्ने नेपाल रोयल्टी समाजको चेतावनीपछि अन्जु र जगदिशको नाम उल्लेख गरिएको हो ।

    दशकअघिको हिट गीत ‘न बिर्सेँ तिमीलाई’को नयाँ संस्करण रचनाको स्वरमा गतसाता रिलिज भएको थियो । उक्त गीत सार्वजनिक भएपछि गायिका पन्त र गायक समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भइरहेको थियो ।

    नयाँ थपिएको भिडिओमा उल्लेख गरिएको छ : ‘‘२०६४ सालमा रञ्जना म्युजिक इन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम ‘किरण’भित्र समावेश यो गजल हामीले रि–रेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनुभएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।’

    यसैबीच, गीतकार विपिन किरणले आफ्नो एल्बममा समावेश गीतको अभिलेख राख्ने क्रममा कानुनतः रि-रेकडिङ्ग गरेको गीतको राख्नु नपर्ने भन्ने भएकाले नराखिएको उल्लेख गरेका छन् । ‘अन्यथा मेरै रचना, मेरै एल्बम अनि आफूले दुःख साथ प्रमोसन गरेर यो उचाइमा पुर्‍याएका ती गजलहरुको विवरण नराख्ने भन्ने सवाल नै हुँदैन । जुन विषयमा यहाँहरुको चासोलाई सम्बोधन गर्दै सो कुरालाई हामीले गीतको विवरणमा समावेश गरिसकेका छौं’ उनले लेखेका छन् ।

    गीतकार विपिनले अब यो गजललाई किड्स भर्सन, मेल भर्सन साथै विभिन्न भाषामा अनुवाद गरेर समेत सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।

  • तक्मे बुढाको ‘आकाशे खेती’ टीजर लन्च : नेपाल हुँदै तिब्बतबाट हुने मानव तस्करीको कथा

    तक्मे बुढाको ‘आकाशे खेती’ टीजर लन्च : नेपाल हुँदै तिब्बतबाट हुने मानव तस्करीको कथा

    काठमाडौं । नेपालको बाटो हुँदै चीनको तिब्बतबाट भारत हुने मानव तस्करीको कथावस्तुमा आधारित फिल्म ‘आकाशे खेती’को टीजर ट्रेलर इन्टरनेट लन्च भएको छ ।

    उदय सुब्बा निर्देशित फिल्मले मोटो रकम लिएर दलालहरुले तिब्बतीलाई नेपाल हुँदै भारत छिराउने कथा पेश गरेको छ । गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर बाङ्देलको मुख्य भूमिका छ ।

    ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध नेपालको फितलो कानूनलाई चुनौति दिँदै सीमापार हुने घुसपैठ र मानव तस्करीको घटना टीजरमा चित्रण छ । साथै, कमेडी, एक्सन र ड्रामाका तत्वहरु समेत मिश्रित छ ।

    केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको फिल्मको पटकथा समेत निर्देशक सुब्बा आफैले लेखेका हुन् । विल्सनको संवाद रहेको फिल्ममा विक्रम डीसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किराँतीको एक्सन, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

    फागुन २७ गते फिल्म रिलिज तयारीमा छ ।

  • ‘हनी बनी’मा अनमोल केसी अनुबन्धित, मार्चदेखि लन्डनमा छायांकन सुरु हुने

    ‘हनी बनी’मा अनमोल केसी अनुबन्धित, मार्चदेखि लन्डनमा छायांकन सुरु हुने

    काठमाडौँ । फिल्म ‘एक्स नाइन’ छायांकन अनिश्चित बनेपछि अभिनेता अनमोल केसीले अर्को नयाँ फिल्म ‘हनी बनी’ साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायांकन लन्डनमा हुने जनाइएको छ । निर्माता र अनमोलबीच तीन दिनअघि सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

    स्टार-कास्टले चर्चा पाएको फिल्म ‘एक्स नाइन’को निर्माण नै अनिश्चित भएपछि अनमोलले नयाँ प्रोजेक्टलाई अघि बढाएका हुन् । ‘एक्स नाइन’लाई अनमोलले जनवरी र फेव्रुअरी महिनाको समय दिएका थिए । साथै, अनमोलले होम प्रोजेक्ट कै फिल्म गर्ने कि बहिरको गर्ने भन्नेबारे अन्यौल थियो । तर, ‘हनी बनी’सँगै अनमोलले घरबाहिरको फिल्ममा काम गर्ने विकल्प छानेका छन् ।

    तर, निर्माण पक्षले चाहिँ अनमोलले फिल्म साइन गरेको खुलाएको छैन । भ्यालेन्टाइन डेको दिनमा निर्माताले अनमोलले फिल्म साइन गरेको जानकारीसहित टीजर पोस्टर लन्च गर्ने तयारी गरेका छन् । तर, फिल्ममा अनमोलको अनस्क्रिन जोडी को हुने भन्ने टुंगो छैन । मार्चदेखि फिल्म छायांकन हुने जनाइएको छ ।

  • २७ वर्षपछि पनि सेलिन पर्खिरहेका जेस्सी

    २७ वर्षपछि पनि सेलिन पर्खिरहेका जेस्सी

    तपाईं अविवाहित हुनुहुन्छ र एकदिने यात्रामा एक्लै निस्कनुभएको छ । तपाईंलाई थाहा छ, विवाहित भइसकेपछि यस्तो यात्रा सम्भव हुनेछैन । अथवा, एक्लै मनमौजी यात्रामा निस्कने छुट हुनेछैन ।

    तपाईंसँग तपाईंको जीवनसाथी हुनेछन्, बालबच्चा हुनेछन् । जिम्मेवारी हुनेछ । तपाईंले चालेका प्रत्येक पाइलाले जवाफदेहिता माग्नेछ । जवाफ दिँदै हिँड्नुको अर्कै झ्याउलो, जवाफ नदिइ बेपर्वाह हिँड्नुको अर्कै मज्जा !

    मानौं, तपाई युवक हो र एक्लै यात्रामा एकजना युवती भेटियो । जो तपार्इं जस्तै यात्रामा निस्किएकी छे । तपाईं जीवनलाई जसरी बुझ्नुहुन्छ, ऊ पनि त्यसरी नै बुझ्छे । तपाईंको सोच मात्रै होइन, चाहना, रहर र बुझाइ पनि मिल्छ । भलै सपना र गन्तव्य मात्रै फरक छ ।

    त्यो एकदिने यात्रामा तपाईंहरु एकदमै नजिक हुनुभयो । त्यो एकदिने सहयात्रा एउटा सिंगो जिन्दगी बाँच्नुभन्दा सुन्दर थियो । अथवा एउटा सिंगो जिन्दगी बाँचेजस्तै थियो ।

    हिँड्दाहिँड्दै तपाईंहरु छुट्टिने दोबाटो आइपुग्यो । तपाईंहरु छुट्टिनु भयो । तर, तपाईंहरुले नम्बर साट्नुभएन । ठेगाना साट्नुभएन । छुट्टिएपछि दुवैले एकअर्कालाई सम्पर्क नगर्ने निर्णय लिनुभयो ।

    तर, आउँदो छ महिना ठ्याक्कै त्यही दिन, त्यही ठाउँमा फेरि भेट्ने सहमति गर्नुभयो ।

    दिन बिते, महिना बिते । फेरि भेट्ने भनिएको समय आयो । तर, तपाईंहरुको भेट भएन । एकैपटक नौ वर्षपछि भेट भयो । तपाईंले विवाह गरिसक्नुभयो । तपाईंसँग श्रीमती छे । चार वर्षीय छोरो छ । युवतीले विवाह गरेकी छैनन्, तर पनि सम्बन्धमा छिन् ।

    तपाईं आफ्नो वैवाहिक जीवन त्यो एक दिने सहयात्रा झैं होस् भन्ने चाहनुहुन्छ । युवती पनि त्यो एक दिने सहयात्रा झैं सम्बन्ध चाहन्छिन्् । तर, तपाईंहरु दुवैको त्यो चाहना पूरा भएको छैन ।

    यो कथा हो, रिचर्ड लिंनलेटरद्वारा निर्देशित ‘बिफोर’ त्रिलोजी फिल्मको । ‘बिफोर सनराइज’, ‘विफोर सनसेट’ र ‘बिफोर मिडनाइट’ गरी तीन श्रृंखलामा विभाजित फिल्म नौ–नौ वर्षको अन्तरालमा बनाएका छन् लिंकलेटरले । एकै कलाकारलाई लिएर बनाएको यस फिल्मले उमेरको फरकपन मात्रै देखाउँदैन, उमेरअनुसार सम्बन्धलाई हेर्ने, बुझ्ने दृष्टिकोणलाई पनि देखाउँछ ।

    उमेरअनुसार मानिसको जीवनप्रतिको बुझाइ फरक हुन्छन् । उमेरअनुसार मानिसको सम्बन्ध, प्रेम, जिम्मेवारीलाई अथ्र्याउने तरिका फरक हुन्छन् । यो त्रिलोजीले यही कुरा दृश्यमा बताइदिन्छ ।

    ०००

    अमेरिका फिरेका एक युवक जेस्सी (एथन हवेक) र फ्रान्स हिँडेकी एक युवती सेलिन (जुली डेप्ली) ट्रेनमा अष्ट्रियाको भियना जाँदैछन् । त्यहाँबाट जेस्सी अमेरिका उड्नेछन् । सेलिन पेरिस लाग्नेछिन् । दुवैको यात्राको गन्तव्य र सपना फरक छ ।

    तर, एकचिज मिल्छ,– दुवै पुस्तकप्रेमी हुन् ।

    पुस्तकको प्रसंगले जोडेको उनीहरुको गफ छुटिने ट्रेन स्टेसनसम्मै पुग्छ । छुटिसकेका पनि हुन्छन् । तर, जेस्सी फर्केर सेलिनलाई एक रात भियनाको गल्लीमै बिताउने प्रस्ताव गर्छन् । अनि भोलिपल्टको फ्लाइटमा अमेरिका उड्ने बताउँछन् ।

    सेलिन पनि सहमत हुन्छिन् ।

    उनीहरु भियनाको गल्लीमा हिँड्न थाल्छन् । कहिले बर्थ डान्सिङ भइरहेको ठाउँमा पुग्छन् । युरोपियन संस्कृतिअनुसार गर्भवती महिलाले बच्चा जन्माउनुअघि एक प्रकारको डान्स गर्छन् । जसको अर्थ हुन्छ, उसले बच्चालाई सहज जन्म देओस् । बच्चालाई जन्म दिँदै गर्दा कुनै तनाव नहोस् ।

    हिँड्दै गर्दा साँझ पर्छ । रात पर्छ । तर, उनीहरुले सोचेका हुँदैनन् कि त्यो एक रातको सनकी घुमाइ त्यति यव्य हुनेछ । त्यति सम्झनलायक हुनेछ । एक दिनमै कोहीसँग यत्ति क्लोज होइन्छ भनेर पनि सोचेका हुँदैनन् ।

    एउटा दृश्य छ– सेलिनले जेस्सीको आँखामा लामो समय नियालेर सोध्छे, ‘तिमी मलाई किस गर्न चाहन्छौ ?’ जेस्सी ‘हँ ?’ भनेर तर्सिन्छन् । र टाउको हल्लाउँछन् ।

    तर, सेलिनलाई ‘लङ डिस्टान्स रिलेसनसिप’ मन पर्दैन । जे हुन्छ, अहिले नै होस् भन्ने मान्यता छ उनको ।

    भियनाको गल्ली, पार्क, रेस्टुराँमा बरालिँदैमा उनीहरुको एउटा रात सकिन्छ ।

    भोलिपल्ट बिहान उनीहरु छुट्ने दिन आउँछ । दुवै विस्तारै स्टेसनतिर अगाडि बढ्छन् । त्यहाँबाट सेलिन पेरिस र जेस्सी अमेरिका जानुछ । दुवैको एकै सर्त छ, अब फेरि नभेट्ने, सम्पर्कसम्म नगर्ने ।

    तर, फेरि पनि भेट्ने । कसरी भेट्ने ?

    एक वर्षपछि त्यही ठाउँमा भेट्ने । होइन, होइन, एक वर्ष त धेरै लामो समय हो । छ महिनापछि भेट्ने । त्यही स्टेसनमा भेट्ने । ठिक १६ डिसेम्बरमा भेट्ने । तर, बीचमा कुनै पनि माध्यमबाट सम्पर्कमा नरहने ।

    यसपछि उनीहरु छुट्छन् ।

    पहिलो श्रृंखला लिंकलेटरले यहीँ सकाइदिएका छन् । १९९५ को यो अष्ट्रियन फिल्म त्यस समय ब्लकबस्टर भयो । साथै दर्शक अर्को श्रंखलाको प्रतीक्षामा रहे ।

    दर्शकको त्यो प्रतीक्षा नौ वर्षपछि पूरा भयो, २००४ मा ।

    जेस्सी त्यही रातको कथा लेखेर प्रसिद्ध उपन्यासकार बनिसकेका छन् । सेलिन पेरिसमै छिन् । जेस्सी किताबको प्रमोसनका लागि पेरिस जाँदा फेरि भेट हुन्छ । जेस्सी र सेलिन अलि बुढो पनि भएका छन् । जेस्सी विवाहित भइसकेका छन् । चार वर्षको छोरो छ । सेलिनको पनि जर्नालिस्ट फोटोग्राफरसँग अफेयर छ । तर, उनीहरुले आ–आफ्नो सम्बन्धमा त्यो खुसी भेटाएका छैनन्, जो उनीहरुले भियनाको गल्लीमा बिताएको रातमा भेटाएका थिए ।

    १६ डिसेम्बरमा किन भेट भएन ? कस्ता परिबन्धहरु थिए ? यस्तै प्रश्नका जवाफको खोजीमा अगाडि बढ्छ फिल्म ।

    संवादको एउटा दृश्य छ– जेस्सीले सेलिनलाई सोध्छ, ‘किन कोही जोडी खुसी हुँदैनन् ?’ सेलिन भन्छिन्, ‘तिमी मलाई यो सवाल किन गरिरहेका छौ ?’

    जेस्सीले भन्छन्, ‘त्यो रातको सम्झना यस्तो बन्यो कि मैले मेरी श्रीमतीसँग हरेक रात त्यही केमेस्ट्रीको अपेक्षा गरेँ । उसको (श्रीमती) केही गल्ती थिएन, तर म अहिले सिर्फ ड्युटी मात्रै निभाइरहेको छु सम्बन्धमा ।’

    अर्को दृश्य छ– जेस्सीको फ्लाइट छ । तर, उसलाई छुटिहाल्न मन छैन । जेस्सीले सोध्छ, ‘के तिमी जीवनमा खुसी छौ ?’ सेलिन भन्छिन्, ‘नौ वर्षपछि मिलेका छौ तिमी, तर विवाहित छौ । तिमीले नै नियम बनाएका थियौ, नम्बर नलिने, सम्पर्क नगर्ने । आज पनि मसँग धेरै केटाहरु भेटिन्छन्, तर त्यो भियनामा भेटिएको तिमीजस्तो भेटिँदैन ।’

    छुटिने बेला सेलिन अफैंले लेखेर कम्पोज गरेको गीत जेस्सीलाई सुनाउँछिन् । र भन्छिन्, ‘तिमीले त आफ्नो कुरा उपन्यासको माध्यमबाट दुनियाँलाई भन्यौ । तर, म कसलाई भनुँ ?’

    यहाँसम्मको कथा भनेका छन् लिंकलेटरले । यसपछि अर्को सिरिज छ, २०१३ मा आएको ‘बिफोर मिडनाइट’ । त्यहाँ जेस्सीले डिभोर्स गरिसकेका छन् । सेलिनले पनि ब्वाइफ्रेण्ड छाडिसकेका छन् । र उनीहरुसँग दुईवटा ट्वीन्स छोरीहरु छन् । उनीहरु चाहेकै व्यक्तिसँग छन्, तर सँगै रहेपछि सम्बन्धमा दरार जरुर आइहाल्छ । त्यही दरारहरुबीचमा फिल्म सकिएको छ ।

    ०००

    फिल्ममा दर्शकलाई इंगेज गराउन लिंकलेटरले लामालामा सटहरुको प्रयोग गरेका छन् । वर्तमान काल महसुस गराउन गल्लीहरुमा क्यामेरालाई बेपर्वाह दौडाएका छन् । रातको महसुस गराउन त्यसरी नै खिचिएको छ । लाइटको प्रयोग उस्तै सुन्दर तरिकाले गरिएको छ ।

    दर्शकलाई वर्तमानकै कथा हो भन्नका लागि क्यामेरा जति सुरुचिपूर्ण तरिकाले चलाएका छन्, त्यसरी नै लोकेसन र कस्टमको प्रयोग गरेका छन् । लगभग एकै ड्रेसमा सकाएको यो त्रिलोजी जति सुन्दर छ, उत्ति नै मिठो कथावाचन पनि छ । साधारण कथालाई कसरी सुरुचिपूर्वक भन्न सकिन्छ, एउटा उदाहरण हो यो फिल्म ।

    यस फिल्मको स्क्रिप्ट सेलिन उर्फ जुली डेप्ली आफैं सक्रिय भएर लेखेकी छन् । नौ–नौ वर्षको अन्तरालमा खिचिएको यो फिल्मको अर्को सिरिज बन्यो भने २०२२ मा प्रदर्शनमा आउनुपर्छ ।

    २०२२ पनि आइसक्यो । लिंकलेटरले यसका लागि पनि तयारी गरिसकेका छन् । तर, सेलिनको भूमिकामा रहेकी डेप्लीले अबको श्रृंखला नखेल्ने बताएकी छन् । तर, ५१ वर्षकी डेप्लीको स्क्रिप्ट र अभिनयले एउटा बताउँछ, सौन्दर्य भन्ने चिज उमेर अनुसार फरक–फरक बिन्दुमा उभिन्छ ।

    बैंसको बेला रुप हो सौन्दर्य । म्याच्युर्ड हुँदै गएपछि करियर सौन्दर्य भएर आउँछ । र बुढेसकालमा अनुहारको चाउरीमा छोपिएको हाँसो सौन्दर्य हो । ‘बिफोर सनराइज’ मा २१–२२ कि सेलिन ‘बिफोर मिडनाइट’सम्म आइपुग्दा बुढी हुँदै जान्छिन् । जति बूढी हुँदै जान्छिन्, दर्शकलाई उनी उत्तिकै सुन्दर लाग्दै जान्छ । जति बूढो हुँदै जान्छ, उत्ति नै प्रिय बन्दै जान्छ जेस्सी ।

    ‘युरोपा युरोपा’, ‘थ्री कलर्स ह्वाइट’ जस्ता सिनेमा खेलेकी डेप्लीलाई फेरि हेर्न पनि दर्शकले पर्खिरहेकी छन् । उनले त्यो चाहना पूरा गर्लिन् या नगर्लिन् त्यसको प्रतीक्षा रह्यो ।

     

  • भिटेनको युट्युब च्यानल कब्जामा लिएर ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

    भिटेनको युट्युब च्यानल कब्जामा लिएर ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

    काठमाडौं । चर्चित नेपाली र्‍यापर भिटेनको युट्युव च्यानल ह्याक भएको छ । कब्जामा लिइएको सो च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर छन् ।

    ‘भिटेन म्युजिक’ नाम गरिएको उक्त च्यानललाई ह्याकरले कब्जामा लिएर ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेको थियो ।

    सन् २०१५ मा तयार पारिएको उक्त च्यानलमा राखिएका भिडिओमा करिब २२ करोड भ्युज थियो । ह्याकरले च्यानलको नाम परिवर्तन गरी Ethereum [2,9] राखेको छ ।

    केही दिन अघि मात्र एपी वान टेलिभिजनको युट्युब च्यानलसमेत यसैगरी ह्याकरको कब्जामा पुगेको थियो । तर दुई दिनपछि युट्युबको सहयोगमा उक्त च्यानल फिर्ता आएको थियो ।

  • चम्सुरीको मिर्गौला प्रत्यारोपण रोकियो : टिचिङले सेवा सुचारु नगर्दा ढिलाइ

    चम्सुरीको मिर्गौला प्रत्यारोपण रोकियो : टिचिङले सेवा सुचारु नगर्दा ढिलाइ

    काठमाडौं । अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण तत्काल नहुने भएको छ ।

    कोभिड-१९ संक्रमणको कारण देखाउँदै शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा तत्काल सुरु नगरेपछि चम्सुरीसहितका बिरामीको प्रत्यारोपण रोकिएको हो । मंगलबारको लागि प्रत्यारोपण हुने भनिएको थियो । 

    यसबारे चम्सुरीले भनिन्, ‘कोरोनाको कारण सबै तयारी रोकियो । अबको तीन सातापछि मिर्गौला पाउँछु होला ।’ आठ महिनाअघि उनका दुबै मिर्गौला फेल भएका थिए ।

    उनकै भाइ पर्ने नाताका व्यक्तिले मिर्गाैला दिने निश्चित भएपछि पल्पसाको खुशि फर्किएको थियो भने उनी मेरी बास्सैको केही एपिसोडमा देखिएकी थिइन् ।

    उनी सातामा तीनपटक मिर्गौला डायलासिसको लागि कीर्तिपुरस्थित माइती र बालाजुस्थित घरमा आउजाउ गरिरहेकी छिन् । ‘मेरी बास्सै’ सिरिजबाट चम्सुरी दर्शकमाझ चर्चित छिन् ।

  • ‘नेपहपको श्रीपेच’ फागुन १६ देखि प्रसारण हुने : ट्रेलरमा भाइरल ‘माइला’को प्रस्तुति

    ‘नेपहपको श्रीपेच’ फागुन १६ देखि प्रसारण हुने : ट्रेलरमा भाइरल ‘माइला’को प्रस्तुति

    काठमाडौं । प्रतीक्षित र्‍याप गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’को ट्रेलर लन्च भएको छ जहाँ पछिल्लो समय सामाजिक संजालमा चर्चित र्‍यापर माइलालाई चित्रण गरिएको छ ।

    ट्रेलरमा मिस्टर डी, डेजेन र कवि-जीलाई प्रि-जजको रुपमा देखाइएको छ । तर, सोका निर्णायकमा चाहिँ र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले रहनेछन् । यसअघि निर्माण टिमले पहिलो ट्रेलरमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएको थियो जसले अहिलेसम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको थियो ।

    यो रियालिटी सो फागुन १६ गतेदेखि इमेज टेलिभिजन र डी म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डी म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

    कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसनमार्फत भाग लिएका थिए भने जसमध्ये ६०० जनाको बिभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । सोका विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्नेछन् ।

  • अस्कर अवार्ड मनोनयन घोषणा : ‘पावर अफ डग’ सर्वाधिक १२ विधामा, भुटानको फिल्म छानियो

    अस्कर अवार्ड मनोनयन घोषणा : ‘पावर अफ डग’ सर्वाधिक १२ विधामा, भुटानको फिल्म छानियो

    काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर नेटफिल्क्स फिल्म ‘द पावर अफ दी डग’ अस्कर अवार्डको १२ विधामा मनोनित भएको छ । मंगलबार बेलुका सार्वजनिक गरिएको मनोनयनमा ‘ड्युन’ १० विधामा छानिएको छ ।

    स्टिभन स्पिलवर्गको म्युजिक ड्रामा ‘वेस्ट साइड स्टोरी’ र केनेथ ब्रानघको अटोबायोफिकल स्टोरी ‘बेलफास्ट’ समान सात–सात विधामा मनोनयन भएका छन् । यी चारै फिल्म उत्कृष्ट फिल्म विधामा समेत छानिएका छन् ।

    उत्कृष्ट फिल्मको विधामा कोडा, लियोनार्दो डिकाप्रियोको ‘डन्ट लुक अप’, ड्राइभ माइ कार, किङ रिचर्ड, लिकोराइस पिज्जा र नाइटमेयर एली समेत छानिएका छन् ।

    कोरोनाभाइरस महामारीको कारण विश्व फिल्ममा आएको रुपान्तरण र उथलपुथललाई मध्यनजर गर्दै यसवर्षको अस्करलाई उत्सवको रुपमा लिइएको छ । हेर्नूस मुख्य विधाको मनोनयन सूची :

    सर्वोत्कृष्ट फिल्म

    बेलफास्ट
    कोडा
    डन्ट लुक अप
    ड्राइभ माइ कार
    ड्युन
    किंग रिचर्ड
    लिकोराइस पिज्जा
    नाइटमेयर एली
    द पावर अफ दी डग
    वेस्ट साइड स्टोरी

    सर्वोत्कृष्ट निर्देशक

    जेभियर बर्डेम (बेइङ द रिकार्डोस)
    बेनेडिक्ट कम्बरब्याच (द पावर अफ दी डग)
    एन्ड्रिउ गारफिल्ड (टीक टीक बुम)
    विल स्मिथ (किङ रिचर्ड)
    डेन्जेल वासिङ्टन (द ट्रयाजोडी अफ म्याकबेथ)

    सर्वोत्कृष्ट अभिनेत्री

    जेसिका चेस्टेन (द आइज अफ टेमी फेइ)
    ओभिलिया कोलम्यान (द लस्ट डटर)
    पेनोलप क्रुज (प्यारालल मदर्स)
    निकोल किडम्यान (बेइङ द रिकार्डोस)
    क्रिस्टिन स्टिवार्ट (स्पेन्सर)

    सर्वोत्कृष्ट अभिनेता

    कियारन हिन्ड्स (बेलफास्ट)
    ट्रोइ कोटसर (कोडा)
    जेसी प्लेमोन्स (द पावर अफ दी डग)
    जेके सिमोन्स (बेइङ द रिकार्डोस)
    कोडी स्मिथ म्याकफी (द पावर अफ दी डग)

    सर्वोत्कृष्ट मौलिक पटकथा

    बेलफास्ट (केनेथ ब्रानघ)
    डन्ट लुक अप
    किंग रिचर्ड
    लिकोराइस पिज्जा
    द वस्र्ट पर्सन इन द वल्र्ड

    सर्वोत्कृष्ट छायांकन

    ड्यनु (ग्रेइग फेइजर)
    नाइटमेयर एली (ड्यान लस्टसिन)
    द पावर अफ दी डग (एरी वेग्नर)
    द ट्रयाजेडी अफ म्याकबेथ (ब्रुनो डेलबुनेल)
    वेस्ट साइड स्टोरी (जानूज केमिस्न्किी)

    सर्वोत्कृष्ट मौलिक ध्वनी

    डन्ट लुक अप
    ड्युन
    इनकान्टो
    प्यारालल मदर्स
    द पावर अफ दी डग

    सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर

    ड्राइभ माइ कार (जापान)
    फ्ली (डेनमार्क)
    द ह्यान्ड अफ गड् (इटाली)
    लुनाना : अ याक इन द क्लासरुम (भुटान)
    द वस्र्ट पर्सन इन द वल्र्ड (नर्वे)

  • ‘चिसो मान्छे’ असार ३ गते प्रदर्शन हुने : यस्तो छ पोस्टरमा स्वस्तिमाको ‘बझाङी’ लुक्स

    ‘चिसो मान्छे’ असार ३ गते प्रदर्शन हुने : यस्तो छ पोस्टरमा स्वस्तिमाको ‘बझाङी’ लुक्स

    काठमाडौं । मान्छे रुवाउन खप्पीस निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते प्रदर्शन हुने भएको छ । फस्टलुक पोस्टर लन्च गर्दै फिल्मले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

    बैशाख ३० गतेको पूर्वनिर्धारित मितिमा सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेपछि प्रदर्शन पोस्टपोन्ड भएको हो ।

    वितरकसँग सल्लाहपछि निर्देशक खनाल र निर्मात्री शर्मिला पाण्डेले प्रदर्शनलाई आगामी वर्षायाममा रिलिज गर्ने निधो गरेका हुन् ।

    पशुपतिप्रसाद र आमा फेम्ड निर्देशकको यो फिल्मलाई पनि फिल्म वृत्तमा चासोको साथ लिइएको छ । श्रम बेच्न मलेसिया पुगेका नेपाली कामदारको मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गरिएको संघर्ष फिल्मको कथावस्तु हो ।

    फिल्मले उक्त शवलाई काठमाडौंदेखि बझाङसम्म लैजान गरिएको मर्मस्पर्शी दुःखान्तलाई फिल्मले चित्रण गर्छ । ‘मेरो फिल्मले लकडाउनपछिको नेपाली समाजको अँध्यारो पाटोलाई चित्रण गर्छ’ निर्देशक खनालले नेपाल प्रेसलाई भने ।

    २०७७ माघ १२ गते मलेसियामा मृत्यु भएकाहरुको १७ शव काठमाडौं ल्याउँदाको तस्बिर फेसबुकमा सेयर गर्दै दीपेन्द्रले लेखेका थिए : ”उही गाडी, त्यही बाकस, त्यस्तै कविता…चिसो मान्छेको एउटा दृश्य हुबहु । हार्दिक श्रद्धाञ्जली ।”

    सार्वजनिक रिलिज डेटसहितको पोस्टरमा लिड एक्ट्रेस स्वस्तिमा खड्कालाई सुदुरपश्चिमको बझाङी आञ्चलिकताको गेटअपमा देख्न सकिन्छ । यो पोस्टरलार्ई राम्रो प्रतिक्रिया मिलेको छ । दीपेन्द्रका अघिल्ला दुई फिल्महरु आमा र पशुपति प्रसाद ब्लकबस्टर भैसकेका छन् । उनी पशुपति प्रसादको सिक्वेल बनाउने तयारीमा समेत छन् ।

  • प्राश्ना र प्रतापको ‘लगायौ कस्तो मोहनी ‘ रिलिज (भिडिओ)

    प्राश्ना र प्रतापको ‘लगायौ कस्तो मोहनी ‘ रिलिज (भिडिओ)

    काठमाडौं । गायक प्रताप दास र गायिका प्राश्ना शाक्यको स्वरमा ‘लगायौ कस्तो मोहनी’ गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द, संगीत रहेको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।

    पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई ‘द नेक्स्ट’ को युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडिओमा संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन रहेको छ ।

    बिगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक छेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले रुचाएको बताएका छन् । उनी अस्ट्रेलियाबाट संचालित सांगीतिक समूह ‘द नेक्स्ट’ को संस्थापक समेत हुन् ।

  • फिल्म प्रदर्शन कार्यदलको निर्णय : ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते रिलिज अनुमति

    फिल्म प्रदर्शन कार्यदलको निर्णय : ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते रिलिज अनुमति

    काठमाडौं । चलचित्र प्रदर्शन कार्यदलको अनुमतिपछि फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ ।

    मंगलबार बसेको कार्यदलको बैठकले पल शाह र पूजा शर्मा स्टारर फिल्मलाई शिवरात्री छेकोमा प्रदर्शन अनुमति दिएको हो ।

    यसअघि माघ १९ गते रिलिज मिति घोषणा गरेको सुदर्शन थापा निर्देशित उक्त फिल्म कोरोनाभाइरस संक्रमण रोकथामको लागि लागू गरिएको स्मार्ट लकडाउनले रोकिएको थियो ।

    तर, फागुन १३ गते रिलिज मिति घोषणा गरिसकेको अर्को फिल्म ‘लप्पन छप्पन २’को प्रदर्शन चाहिँ स्थगित भएको छ । कार्यदल संयोजक अशोक शर्माले लकडाउनले रोकिएको ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।

    तर, लप्पन छप्पन २ लाई पछि रिलिज गर्न मिल्ने गरि अनुमति नदिइएको शर्माको भनाई छ । चैत मसान्तसम्म फिल्म रिलिजको निर्णय गर्ने अधिकार उक्त कार्यदलमा निहित छ । कार्यदलकै सिफारिसमा रिलिज हुने फिल्मले हलबाट प्राप्त हुने सेयरमा लाभ लिन सक्नेछन् ।

    कार्यदलले अनुमति दिएपछि फिल्म निर्मात्री ‘म यस्तो गीत गाउँछु २’का निर्माता, निर्देशक र कलाकारले नयाँ प्रदर्शन मितिसहितको पोस्टर समेत लन्च गरेका छन् ।

  • ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरीसमान, तर दु:खी छु

    ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरीसमान, तर दु:खी छु

    काठमाडौं । कालजयी गजल ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनलाई लिएर उत्पन्न विवादमा गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतप्रति उनको असन्तुष्टी देखिएको छ ।

    हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् ।

    फेसबुकमा उनले लेखेकी छन्, ‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु दुःखद र अन्यायपूर्ण कुरा हो,’ उनले लेखेकी छन् ।

    अञ्जुका अनुसार यो गजल नयाँ एरेन्जमा उनकै आवाजमा रेकर्ड गर्ने तयारी गरिएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गरेको नयाँ एरेन्ज आफूलाई पठाइएको र समय मिलाएर पुनः रेकर्ड गर्ने योजना रहेको उनले बताएकी छन् ।

    ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समानकी रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आशिर्वाद र धेरै माया छ,’ उनले भनेकी छन् ।

    उनी थप्छिन्, ‘के र कुन उद्देश्यका लागि यस्तो भयो भन्ने मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ । ’

    सम्वन्धित पक्षले यो विषयलाई दर्शक स्रोताको मागअनुसार समाधानको उपाय निकाल्ने उनले आशा व्यक्त गरेकी छन् । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्नै दिन कहिल्यै नआओस,’ अञ्जुले भनेकी छन् ।

  • प्रमोद र रुक्सानाको ‘नोगेन’ दुई दिनमै उक्लियो एक नम्बर ट्रेन्डिङमा

    प्रमोद र रुक्सानाको ‘नोगेन’ दुई दिनमै उक्लियो एक नम्बर ट्रेन्डिङमा

    काठमाडौं । गायक प्रमोद खरेलले द भ्वाइस किड्सकी प्रतिस्पर्धी बालिका रुक्सना लिम्बुसँग मिलेर गाएको गीत प्रशंसित बनेको छ । युट्यूवमा अपलोड भएको दुई दिनमै यो गीत नेपालको नम्बर १ ट्रेन्डिङमा उक्लिन सफल भएको छ ।

    सोमबार सार्वजनिक भएको ‘नोगेन’ बोलको गीत पाँच घन्टाभित्रै ट्रेन्डिङमा अटाउन सफल भएको थियो । अहिलेसम्म गीतले १२ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतमा शब्द र संगीत महेश खड्काको रहेको छ ।

    रुक्साना द भ्वाइस किड्सकी फाइनलिस्ट हुन् । उनी प्रमोदको टिममा थिइन् । फाइनल जित्न नसके पनि प्रमोदले उनलाई आफूसँग युगल गीत गाउने अवसर दिएका हुन् । प्रमोदको यो प्रयास सफल भएको छ ।

    गीतमा ८ हजारभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् । अधिकांस प्रतिक्रिया सकारात्मक छन् । एक लाख १० हजारले गीतमा लाइक बटम थिचेका छन् ।

    गीतका शब्द र मेलोडी पक्ष निकै बलियो छ । गीतको भिडियोमा प्रमोद र रुक्साना नै फिचर्ड छन् । भिडिओ निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् ।