Category: कलाप्रेस

  • चर्चित बलिउड संगीतकार बप्पी लहिरीको निधन

    चर्चित बलिउड संगीतकार बप्पी लहिरीको निधन

    मुम्बई । चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।

    विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।

    अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।

    तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल ल्याइएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

    मध्यरातमा ओएसए (अब्सट्रक्टिक स्लिप एपिना) अर्थात सुताइमा समस्या आएपछि उनको निधन भएको भनिएको छ । बप्पी लहिरी अन्तिमपटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए ।

    गत साता मूर्धन्य गायिका लता मंगेशकरको निधनमा शोक व्यक्त गर्दै लहिरीले सरस्वती माताको पुनर्जन्म भएको बताएका थिए । चल्ते चल्ते, डिस्को डान्सर र सरावी उनका चर्चित गीत हुन् ।

    सन् २०२० मा रिलिज भएको टाइगर श्रफ र श्रद्धा कपुर स्टारर बागी ३ मा अन्तिम पटक उनले ‘भंखस’ गीत गाएका थिए ।

  • आमिरको ‘लालसिंह चड्डा’ पोस्टपोन्ड भएपछि ‘ए मेरो हजुर ४’लाई राहत

    आमिरको ‘लालसिंह चड्डा’ पोस्टपोन्ड भएपछि ‘ए मेरो हजुर ४’लाई राहत

    काठमाडौं । आमिर खान स्टारर फिल्म ‘लालसिंह चड्डा’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै अभिनेता खानले आगामी साउन २६ गते (११ अगस्ट, २०२२)मा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

    पूर्वनिर्धारित मिति अप्रिल (बैशाख १) बाट रिलिज पोस्टपोन्ड भएको उनले जनाएका छन् ।

    अप्रिल १४ मा ‘केजीएफ २’ मात्र बलिउडमा रिलिज हुने भएको छ । आमिरको फिल्म पोस्टपोन्ड भएपछि अब केजीएफलाई बक्सअफिसमा सजिलो भएको छ ।

    ‘लालसिंह चड्डा’ पोस्टपोन्ड हुने भएपछि बैशाख १ मा रिलिज हुन लागेको झरना थापा निर्देशित नेपाली फिल्म ‘ए मेरो हजुर ४’लाई केही राहत मिलेको छ । यद्यपी, ‘केजीएफ च्याप्टर दुई’ आउने भएपछि भने चुनौति कायमै छ ।

  • दीपक रौनियारको ‘द स्काइ इज माइन’मा दयाहाङदेखि भारतीय अभिनेत्री तनिष्ठा चटर्जीसम्म

    दीपक रौनियारको ‘द स्काइ इज माइन’मा दयाहाङदेखि भारतीय अभिनेत्री तनिष्ठा चटर्जीसम्म

    काठमाडौं । भारतीय अभिनेत्री तनिष्ठा चटर्जी निर्देशक दीपक रौनियारको आगामी फिल्म ‘द स्काइ इज माइन’मा अनुबन्धित भएकी छिन् ।

    सन् २००७ को फिल्म ‘ब्रिक लेन’बाट ब्रिटिस इन्डेपेन्डेन्ट फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी चटर्जी अभिनित सन् २०१५ को ‘पर्चेड’ र सन् २०१६ को ‘लायन’बाट चर्चामा छिन् ।

    सन् २०१९ मा बुसान फिल्म फेस्टिभलका प्रिमियर भएको फिल्म ‘रोम रोमी मेँ’बाट उनले एसियाली फिल्ममेकरको रुपमा एसिया स्टार अवार्ड जितेकी थिइन् । सो फिल्म चटर्जीको पहिलो निर्देशकीय फिल्म समेत हो ।

    डेभिड वार्कर र आशा मगरातीसँग दीपकले मिलेर लेखेको फिल्म ‘द स्काइ इज माइन’ले दक्षिण एसियामा जातप्रथाको अवस्था पेश गर्छ जहाँ छालाको रङलाई निकै महत्व दिने गरिन्छ ।

    पूजा नाम गरेकी गहुँगोरो वर्णकी प्रहरी अधिकृतको कथा पेश गर्ने यो फिल्मले एक महिला जासूसको कथा भन्छ जसले शताब्दीयौं पुरानो मिथ्या तथ्यलाई तोड्ने प्रयास गर्छ ।

    ‘दसवर्षदेखि मैले तनिष्ठाको करिअरलाई पछ्याइरहेको छु । म उनको कामको प्रशंसा समेत गर्छु । हामीसँग समान अनुभव भएका साथीहरु पनि छन्’ दीपकले भेराइटीसँग भनेका छन् ।

    आदी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘द स्काइ इज माइन’ आगामी मे महिनादेखि छायांकन सुरु हुने जनाइएको छ । यो फिल्मका लागि दीपकले नेपाली फिल्म निर्माता प्रज्वल राणा, सिंगापुरका जेरेमी चु, नर्वेका एलेन आर मिलिगेन र फ्रान्सका क्यारोल स्कोटासँग सहकार्य गरेका छन् ।

    फिल्ममा चटर्जीले ममता नामक पात्रको भूमिका निर्वाह गर्नेछिन् भने ‘ह्वाइट सन्’ फेम्ड अभिनेत्री मगराँतीले पूजाको भूमिका प्रस्तुत गर्नेछिन् । यो फिल्ममा दयाहाङ राई समेत अनुबन्धित भएका छन् ।

    ‘मैले फिल्म गर्नु पछाडि स्क्रिप्ट नै मुख्य कारण हो’ अभिनेत्री चटर्जीले भेराइटीसँग भनिन्, ‘मलाई पेश गरिएको चरित्र चित्रणलाई लिएर उत्साहित छु ।’

    रौनियार निर्देशित छोटो फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । दीपक निर्देशित फिल्म हाइवे सन् २०१२ बर्लिनमा प्रिमियर भएको थियो भने लोकार्नोमा समेत प्रदर्शन गरिएको थियो ।

  • करिश्मासँगको डेटिङमा सलोन : भ्यालेन्टाइन्समा खुलाए प्रेमिका

    करिश्मासँगको डेटिङमा सलोन : भ्यालेन्टाइन्समा खुलाए प्रेमिका

    काठमाडौं । भ्यालेन्टाइन्स डेमा अभिनेता सलोन बस्नेतले प्रेमिका सार्वजनिक गरेका छन् । करिश्मा केसी र आफ्नो रोमान्टिक तस्बिर सेयर गर्दै सलोनले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ लेखेका छन् ।

    अघिल्ली प्रेमिका तथा नायिका करिश्मा श्रेष्ठसँग ब्रेकअपपछि सलोन सिंगल थिए । संयोगवश, सलोनले नयाँ गर्लफे्रन्ड पनि करिश्मा नै पाएका छन् । सलोनले सेयर गरेका तस्बिरहरुमा यो जोडी ह्याप्पी देखिन्छ ।

    सलोनले करिश्मासँगको अफेयरलाई लुकाउँदै आएका थिए तर, भ्यालेन्टाइन्सको मौकामा उनले अफेयरलाई सार्वजनिक गरे । टीनएजमाझ ठूलै फ्यान फलोइङ भएका सलोनकी नयाँ गर्लफ्रेन्ड भने फिल्म क्षेत्रसँग सम्बन्धित चाहिँ छैनन् ।

    सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ बैशाखमा प्रदर्शन तयारीमा छ । कोरोनाको तेस्रो लहरअघि उनी अभिनित डाँडाको वरपीपल रिलिज त भयो तर बक्सअफिसमा सफल हुन सकेन ।

     

    View this post on Instagram

     

    A post shared by Salon Basnet (@salonbasnet_official)

  • ह्याकरको कब्जाबाट भिटेनले फिर्ता पाए युट्युव च्यानल

    ह्याकरको कब्जाबाट भिटेनले फिर्ता पाए युट्युव च्यानल

    काठमाडौं । चर्चित र्‍यापर समीर घिसिङ (भिटेन)को युट्युव च्यानल ह्याकरको कब्जाबाट मुक्त भएको छ । १६ लाख ३० हजारभन्दा बढी सब्सक्राइबर रहेको ‘भिटेन म्युजिक’ नामक च्यानललाई सोमबार राती युट्युवले फिर्ता दिएको हो ।

    २२ करोड भ्यूज रहेको भिटेनको उक्त च्यानलबाट हटाइएका सबै गीतलाई पुनः प्रकाशन गरिएको छ । प्राविधिकको सहयोगमा च्यानल फिर्ता आएपछि भिटेनले आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।

    माघ २७ गते च्यानल कब्जामा लिएर ह्याकरले भर्चुुअल मुद्रा क्रिप्टोकरेन्सी कार्यक्रमको लाइभ गरेका थिए । नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानिएको छ ।

  • पाश्र्वगायनमा सविन राईको कमब्याक : ‘चिसो एस्ट्रे’को गीत ‘बाबा पशुपति’ लन्च

    पाश्र्वगायनमा सविन राईको कमब्याक : ‘चिसो एस्ट्रे’को गीत ‘बाबा पशुपति’ लन्च

    काठमाडौँ । चैत ४ गते प्रदर्शन हुन लागेको फिल्म ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । फिल्मले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो ।

    सार्वजनिक गीतमा सविन राईको आवाज छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन् । गीतमा संगीत अजर जंगमको रहेको छ भने शब्द रचना दिनेश पाल्पालीले गरेका हुन् ।

    दिनेश पाल्पालीको निर्देशन रहेको फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडिओ धेरैले रुचाएका थिए । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

    निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् । फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

     

  • फिल्म रिलिज अगावै हल-हलको दौडधुपमा पल र पूजा

    फिल्म रिलिज अगावै हल-हलको दौडधुपमा पल र पूजा

    काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु २’ले रिलिज मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । नायिका पूजा शर्मा र नायक पल शाहले प्रवद्र्धन कार्यक्रममा दौडधुप थालेका छन् । निर्देशक सुदर्शन थापा र वितरक करण क्रेजी पनि यी दुई कलाकारलाई साथ दिएका छन् ।

    यो म्युजिकल र रोमान्टिक जानराको फिल्म आगामी फागुन १३ गते प्रदर्शन तयारीमा छ । अधिकांश कलाकार फिल्म रिलिजपछि मात्र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हलमा पुग्ने गर्छन् । तर, यो कलाकारद्धय पल र पुजा भने फिल्म रिलिजकोे करिब २ साता अगाडि नै हल हलमा पुगिरहेका छन् ।

    २७ दिन लामोे बन्दका कारण शून्य बनेका हलहरु फागुण १ गतेदेखि चलमलाउन थालेका छन् । सुदर्शन, पुजा र पल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छन् भने हलका कर्मचारी, म्यानेजरसँग पनि भेटघाट गरिरहेका छन् । उनीहरु, काठमाडौंका मुख्य हल क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका हल पुगेका हुन् ।

    कोरोनाभाइरको तेस्रो लहरपछि ‘म यस्तोे गीत गाउँछु २’ फ्रेस रिलिज हुन लागेको पहिलो फिल्म होे ।

    निर्देशक सुदर्शन थापाले भने : ‘हामी हलहरुको अवस्था के छ, दर्शकले चलचित्रको बिषयमा के भन्नुहुन्छ भनेर वुझ्न हलमा पुगेका हौं । चलचित्र निक्कै नै मिहिनेतका साथ बनाएकाले पनि दर्शककोे ठूलो संख्या हलसम्म पुग्नुहुन्छ भन्नेमा विश्वास छ ।’

  • रेखा थापाले गरिन् पर्यटन व्यवसायी शाहीसँग कोर्ट म्यारिज

    रेखा थापाले गरिन् पर्यटन व्यवसायी शाहीसँग कोर्ट म्यारिज

    काठमाडौं । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेकाे रेखा थापाले नै नेपाल प्रेससँग बताइन ।

    शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए । रेखा र बलरामबीच दुई वर्षको उमेर अन्तर छ । शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

    गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।

    स्रोतका अनुसार माघ २८ गते काठमाडौंस्थित घरमै दुईजनाले विधिवत बिहे गरेका थिए । सानो पारिवारिक जमघटबीच उनीहरुबीच बिहे भएको जनाइएको छ ।

    रेखाको बिहेलाई लिएर असन्तुष्ट आमा सरस्वती चाहिँ केही समयदेखि बिराटनगरमा बस्दै आएकी छिन् । बिहे दर्ता भएपछि मात्र रेखाले आमालाई यसबारे जानकारी दिएकी थिइन् ।

    शाही गैरआवासीय नेपाली भनिएपनि कुन देशमा बसोबास गर्छन् भन्ने चाहिँ खुलेको छैन । उनी भारतमा जन्मिएका थिए । शाही पर्यटन पेशामा संलग्न रहेको र मध्यमवर्गीय परिवारका रहेका जनाइएको छ ।

    हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा केन्द्रिय भूमिकामा अभिनय गरेकी रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् । हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिएर पराजित समेत भएकी थिइन् ।

     

  • ५ कविका ५ प्रेममय कविता

    ५ कविका ५ प्रेममय कविता

    कविहरू नै हुन्, जसले शब्दलाई कोमल तरिकाले स्पर्श गर्छन्, महसुस गर्छन् र शब्दको सामर्थ मानिसलाई अवगत गराउँछन् ।

    कविहरू नै हुन्, जसले शब्दको शक्ति प्रयोग गरेर सम्बन्धहरूलाई जोड्छन्, हाँसो/आँसुहरूलाई अर्थ्याउँछन् ।

    आज प्रणय दिवसको अवसर पारेर प्रेमानुभूतिको गहिरो प्रतिध्वनी महसुस गराउने पाँच कविका पाँच प्रेम कवितालाई प्रस्तुत गरेका छौं :

     

    १.

    दिपा मेवावहाङ राई

     

     

     

     

     

    आगमन

    एक साँझ

    दूर-दूरबाट यसरी आयौ
    अग्लो सपनाको पहाडमाथि उभ्याएर
    सुस्त-सुस्त बतास भई स्पर्श गर्‍यौ
    मन-मस्तिष्क विभोर बन्यो
    तर,
    पुनः गयौ उसैगरी दूर-दूर….

    चढ्नुजतिको सजिलो
    सायद झर्नुमा कदापी थिएन
    नत्र सदियौंबाट लगातार-लगातार
    तलतिर बगिरहेको त्यो खोलालाई पनि
    फर्किएर मुल भेट्ने चाहना कसो थिएन होला ?
    जसरी म राख्छु
    तिमीसँग सुन्दर भेटको चाहना

    तिमीले छोडिगएपछि
    तिम्रा पैतालाका डोबहरुलाई
    कहिले बादलसँग बर्सिएर
    कहिले चिसो हिउँ भई पग्लिएर
    कहिले उजाड मरुभूमि भई उजाड बनेर
    पछयाइरहेँ,
    पछ्याइरहेँ निरन्तर-निरन्तर…

    पदचापका गन्तव्यहरूमा
    केही आशा-भरोसाका
    मिठो अठोट लिएर अगाडि बढेका थिए
    अचानक,
    यात्राहरूको घुमाउरो घुम्तीमा पुग्दा नपुग्दै
    पाइलाहरु अन्तै मोडिन खोजेपछि
    टुङ्गिनु स्वभाविक थियो
    एक निश्चित गन्तव्यको यात्रा…

    एक साँझ
    तिमी यसरी आयौ
    खुशी बोकेर आउनु पर्ने तिमी
    बादलमाझ उग्र बतास लिएर आयौ

    प्रिय मानव !
    मलाई तिम्रो खुशीको आगमन मन पर्छ ।

    २.

    अन्जान प्रदीप

    चिठ्ठीभित्र…

    बाफिला सम्झनाहरूले
    सिसाजस्तो हृदयमा
    म यौटा चिठ्ठी लेखिरहेछु

    म स्वर हुँ –
    तिम्रो विद्रोहको

    म संगीत हुँ –
    तिम्रो ढुकढुकीको

    म निद्रा हुँ –
    तिम्रो छटपटीको

    म शब्द हुँ –
    तिम्रो अनुभूतिको

    म रहस्य हुँ –
    तिम्रो हृदयको

    म पर्दा हुँ –
    तिम्रो झूठको

    म ताप हुँ –
    तिम्रो चिस्याहटको

    म दाग हुँ –
    तिम्रो शुष्क घाउको

    म परिपूर्णता हुँ –
    तिम्रो शून्यताको

    म आवाज हुँ –
    तिम्रो मौनताको

    म अन्त्य हुँ –
    तिम्रो आरम्भको

    म छाती हुँ –
    तिम्रो दरिलो दम्भको

    म विरह हुँ –
    तिम्रो आँखाको

    म मुस्कान हुँ –
    तिम्रो कुटिलताको

    म आकार हुँ –
    तिम्रो अनुहारको

    प्रिय अपरिचित !
    तिम्रो बेठेगान ठेगानामा
    पुगेको यो बेबारिसे चिठ्ठीभित्र
    मैले आफ्नो परिचय पठाएको छु

    जसलाई तिमीले –
    अक्षरहरु पग्लिएर नसकिँदै पढेर च्यातिदिनु छ ।

    ३.

    शकुन आँसु

    हजुरसँग

    आफैंलाई हराइरहेको थिएँछु
    बेठेगान बतासहरूमा
    हजुर आउनुभयो
    र फेरि भेट्टाएको छु आफूलाई

    हजुरको उपस्थिति भएदेखि हो
    बगिरहने यी आँखाहरु ओभानो भएको
    एक थुंगो रातो गुलाब ओंठमा आई फुलेको
    हृदयमा प्रेमाङकुर उम्रिन थालेको
    र बाँचिरहनका लागि लोभ जागेको

    बिस्तारै हिँड्दै जाउँला
    हतारले पुग्न कहिँ मन लागेको छैन
    जसरी कुलोहरू कुदेर खेतमा पुगिजान्छन्
    र भरिएर पोखिँदै-पोखिँदै सकिन्छन्
    त्यसै पनि दौडिँदा-दौडिँदा थाकेको यायावर म
    हजुर चौतारो भई बसिदिनु एकछिन
    जीवनका कैयौँ थकानहरू यहीँ मेट्न चाहन्छु
    संसारका स्वर्णिम सुखहरू यसैमा समेट्न चाहन्छु

    आँखा चिम्म गर्दा
    देखिने प्रतिबिम्ब पनि हजुरकै छ
    सपनामा बर्बराउने नाम पनि हजुरकै छ
    दुख्दा रुने पनि हजुरसँगै हो
    खुसी हुँदा उफ्रिने पनि हजुरसँगै हो
    आफैंलाई त बिर्सेको बेला मैले
    कसरी सम्झिन सक्छु र मेरा वरिपरिकालाई !
    र उनीहरूका सवाललाई
    ‘प्रेम अन्धो हुन्छ’को कथन
    ठीक यतिबेला यहिँनेर घुमिरहेको छ सायद
    हेरिरहन्छु दुनियाँ
    तर, देख्दिनँ केही, अन्धो छु म

    बोकेर हिँडौला अब
    एक ब्रहमाण्ड माया
    पृथ्वी भई घुमिरहने दुश्मनहरू घुमिरहुन्
    खुल्ला आकाश भई आफ्नाले हेरिरहुन्
    पर्खिनेहरूले चुपचाप धरती भई पर्खिरहुन्
    जित्नु कसैलाई छैन
    हार्नु कसैसँग छैन
    बस् हामी भएर एकजोर यात्रा हिँड्नु छ
    हिँड्दाहिड्दै पुग्नु त कहिँ न कहिँ छँदैछ ।

    ४.

    देव व्रत

    संसारबाहिर

    खचाखच थिए उदासी, तडप र छटपटीहरू
    अटाइनँ म आफ्नै कोठामा
    सडकमा निस्किएँ
    हिँडिरहेका थिए केही एक्लाएक्लै मान्छेहरू
    टाढा गैजाने विलाप गरिरहेका थिए बच्चु कैलाश
    अँध्यारा कोठाबाट भित्ता चर्किनेगरि
    सुनिन्थ्यो बब डिलनको रोदन
    अन/अफ/अनको तालमा नाचिरहेका थिए बत्तीहरू
    सुनसान थियो चोक
    बन्द थिए किराना पसल र कफी सपहरू
    पर मधूरो बत्ती बालेर
    स्वगातार्थ उभिएको थियो भट्टी
    त्यहाँ केही नयाँ मान्छेसित परिचय भयो
    हामीले देशका कुरा गर्‍यौं
    प्रेमका कुरा गर्‍यौं
    सराप्यौं युनिभर्सिटीका प्रोफ्रेसरहरूलाई
    एकअर्कालाई गाली गर्‍यौं
    जौन एलिया गुन्गुनायो कसैले
    अंकमाल गर्दै रोयौं पनि
    निस्किने बेला
    पुगेन अलिकति दाम
    साहूले सोधेन ठेगाना
    पुर्ख्यौली थलो
    उठायो खाता र चढाइदियो नाम
    (उहिल्यै खै कुन्नि कता भेट भएथ्यो एकपल्ट)
    गल्लीका कुकुरहरूसँग बसेर
    खाएँ टुटफुट बिस्कुट
    केही प्रोस्टिच्युटहरू आए,- जो तिमी जत्तिकै राम्रा थिए
    हामीले सम्बन्धका कुरा गर्‍यौं
    सपनाका कुरा गर्‍यौं
    जिन्दगीका कुरा गर्‍यौं
    पुगें गजल साँझ
    पुछिदिएँ जगजित सिंहका आँसु
    गल्लीहरूले गरे वार्ता मसित
    बागमतीले गाइरह्यो गीत
    चुरोटको धुवाँसँगै बुकावस्कीहरू
    ओझेल पर्दै गए अँध्यारोमा
    तिम्रो वियोगमा
    निस्किएँ कोठाबाट
    र थाहा पाएँ मैले
    संसार त दुःखीहरूको पनि सुन्दर हुँदो रहेछ ।

    ५.

    पुष्कर विष्ट

    यादहरुको कारागार

    उडेर गएपछि केही थान हावाका फूलहरू
    तिमी हिँडेको बाटो
    फर्किएका हुन् मेरा आँखाहरु
    क्षित्तिजको धूमिल धूमिल दृश्य हेर्न

    कयौं पथिकका पैतालाले मेट्दै गए होलान्
    हाम्रो मुटुका छापहरू
    जहाँ हामीले जोडी हातले लेखेका थियौं हाम्रो नाम
    म यसरी हेरिरहेछु तिमी गएको अन्तिम दृश्य !

    कुन्नी खेै कताबाट आएको छ एउटा विरह धून
    ठिक यही बखत मेरो कानसम्म
    यस्तो लाग्छ मुटु रेटिएर आएको छ आवाज
    आँखा बर्सिएर बजेको छ सरगम
    तिमीले छोडेर गएदेखि त हो !
    मेरा आँखाहरुले कुनै करुण संगीतको साधना गर्न थालेको
    र त हाम्रा जोडी पैतालाका डोबहरूमा आज पनि प्रेमिल गीत बज्ने गर्छ तिम्रा पाउजुका झंकारसँगै

    ओ मान्छे !
    मलाई यसरी नै हेरिरहनु छ तिमी गएको अन्तिम दृश्य र लेखिरहनु छ दिल टुटेका शब्दहरु
    बनाउनु छ यादहरुको एउटा कारागर
    जहाँ थुन्न सकुँ म हाम्रो सम्बन्धको अनौठो रहस्य ।

  • सेलेव्रिटी जोडी : कोही खुलेर, कोही गुपचुप प्रेममा

    सेलेव्रिटी जोडी : कोही खुलेर, कोही गुपचुप प्रेममा

    काठमाडौं । आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे ! विश्वभर प्रेम साटासाट गरेर यो दिवस मनाउने प्रचलन छ । प्रेम सम्बन्धमा रहेका जोडीको लागि माया साटेर मनाउने दिनको रुपमा भ्यालेन्टाइन्स डेलाई लिइन्छ ।

    नेपाली मनोरञ्जन वृत्तमा यस्ता केही सेलेव्रिटी छन् जो घोषितरुपमै प्रेम सम्बन्धमा छन् भने कोही अघोषित रुपमा । दर्शकको लागि उनीहरुको निजी सम्बन्ध चासोको विषय समेत मानिन्छ । जो घोषित प्रेममा छन्  :

    सौगात मल्ल र सृष्टि श्रेष्ठ

    अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । उनीहरुले यो सम्वन्धलाई लुकाएका पनि छैनन् ।

    लिभइन टुगेदरमा रहेका यो जोडी आगामी वर्ष विवाहको तयारीमा छ । उनीहरुले केही फिल्ममा स्क्रिन सेयर पनि गरेका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएको भने कमै देखिन्छ । सौगात ‘रिजर्भ’ स्वभावको भएकाले उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रदर्शन गरेर हिँडेका छैनन् ।

    अनमोल केसी-आज्ञा करणजित

    अनमोल केसी आफ्नो प्रेम प्रसंगलाई लिएर कमै चर्चामा आउने गर्छन् । रिजर्भ स्वभावका उनी यस्तो विषयमा मिडियासँग खुल्दैनन् पनि । त्यसैले उनको प्रेम जीवन फ्यानहरुका लागि कौतुहलको विषय बनिरहेको छ ।

    केही समयअघि अभिनेत्री सारा अनमोलले श्रीपाली डेट गरिरहेको गसिप ब्यापक भएको थियो । उनीहरु एक–अर्कासँग नजिकिएका पनि थिए । उनीहरुबीच ब्रेकअप भयो । अनमोल अहिले आज्ञा करणजीतसँग डेटमा छन् । आज्ञा अनमोलको आगामी फिल्म ‘पारस’ का लागि उत्कृष्ट तीनमा छनोट अभिनेत्री पनि हुन् ।

    श्रृंखला खतिवडा-सिसन बानियाँ

    पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ लामो समयदेखि गहिरो प्रेममा छन् । उनीहरुले आफ्नो प्रेमलाई विभिन्न माध्यमबाट व्यक्त गरिरहेको पाइन्छ । खासगरि, टिकटकमा उनीहरुको निकटता झल्किने धेरै भिडियो फुटेजहरु भाइरल छन् ।

    श्रृंखला विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदा ‘ब्युटी अफ पर्पस’ का लागि पेश गरेको भिडियो सिसनले बनाइदिएका थिए । त्यही भिडियोमार्फत श्रृंखलाले ‘ब्यूटी विथ पर्पस’ को ताज पनि जितिन् । त्यही बिन्दुबाट यो जोडीबीच प्रेम झांगिएको विश्वास गरिन्छ ।

    नीता ढुंगाना- हरिहर अधिकारी

    अभिनेत्री नीता ढुंगाना अभिनेता एवं ज्योतिषी हरिहर अधिकारीसँगको प्रेममा छिन् । केही वर्षदेखि यो जोडी डेट गरिरहेको छ ।

    नीता यसअघि आमेश भण्डारीसित गहिरो प्रेममा थिइन् । आमेशसँग छुट्टिएपछि एक्लिएकी नीता अहिले हरिहरसँग नजिकिएकी हुन् । हरिहरसँगको संगतले उनी आध्यात्मतर्फ झुकाव राख्न थालेकी छन् । उनले एउटा भजन रेकर्डसमेत गराएकी छन् । नीताको फिल्मी करिअर स्थिर छ ।

    सविन श्रेष्ठ-अनु शाह

    अभिनेता सविन श्रेष्ठ र अनु शाह प्रेम पनि बारम्बार मिडियामा चर्चा भइरहने विषय हो । लामो समयदेखि प्रेममा रहेका उनीहरुले एक वर्षअगाडि मात्रै सार्वजनिक स्वीकारोक्ति गरेका थिए ।

    सविन र अनुको भेट ७ वर्षअघि एउटा फोटोसुटका क्रममा भएको थियो । त्यसपछि केही फिल्ममा सँगै काम गर्ने क्रममा उनीहरु नजिकिएर माया बस्यो । एकपटक उनीहरुले बिहे गरेको हल्ला पनि चलेको थियो, तर पुष्टि भएन ।

    मलिना जोशी- सुशान्त प्रधान

    पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी सुशान्त प्रधानसँग प्रेम सम्बन्धमा छिन् । सुशान्त शारीरिक सुगठन व्यवसायी हुन् । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु चाँडै विहे बन्धनमा बाँधिने तयारीमा रहेको स्रोत बताउँछ ।

    मलिना यसअघि अभिनेता अनुपविक्रम शाहीसित अफेयरमा थिइन् । उनीहरुले केही फिल्ममा सँगै काम गरेका थिए । अनुपस्थित ब्रेकअपपछि मलिना सुशान्तसँग नजिकिएकी हुन् । सुशान्तसँग घुमघाम गरेका तस्वीर मलिनाले इन्स्टाग्राममा सेयर गर्ने गरेकी छन् ।

    पल शाह- समीक्षा अधिकारी

    पल र गरिमाको जोडीलाई लिएर अहिले सार्वजनिकरुपमै व्यापक चर्चा छ । यी दुईबीचको सम्बन्धमा आउने कन्ट्रोभर्सी अब नयाँ रहेन । यी दुईजना केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । गत महिनासम्म यी दुईबीचको सम्बन्धलाई लिएर विवाद सुरु भएपनि अहिले भने सेलाएको छ । यी दुईजनाले सँगै केही म्युजिक भिडिओमा समेत अभिनय गरेका छन् ।

    प्रदिप खड्का- क्रिस्टिना गुरुङ

    अभिनेता प्रदीप खड्का र उनकी को-स्टार क्रिस्टिना गुरुङ अफेयरमा रहेको बताइन्छ । यी दुबैजना रिलिज हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ का को–स्टार समेत हुन् । त्यसो त कतिपयले फिल्मको प्रमोसनका लागि उनीहरुले आफैं अफेयरको गसिप चलाएको दावी पनि गरेका छन् ।

    राज कट्वाल- वर्षा शिवाकोटी

    अभिनेता राज कट््वाल र वर्षा शिवाकोटी अहिले प्रेममा छन् । केही वर्षदेखि यी दुईजनाले थालेको डेटिङ बिहेको तयारीसम्म पुगेको बताइन्छ । बीचमा सम्बन्धमा उतारचढाव आएपनि यी दुईबीच अहिले पुनः प्याचअप भएको छ ।

    सुष्मा कार्की -अक्षयजंग रायमाझी

    मोडल, आइटम डान्सर तथा अभिनेत्री सुष्मा कार्की यसअघि अनुप्रस्थ ब्यान्डका भोकलिस्ट नरेन शाहीसँग अफेयरमा थिइन् । तर, नरेनसँग ब्रेकअप भएपछि सुष्मा अहिले पूर्वमिस्टर नेपाल अक्षयजंग रायमाझीसँग अफेयरमा छिन् । इन्स्टाग्रामबाटै सुष्माले अक्षयसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी हुन् । केही महिनादेखि यी दुईजना डेट गरिरहेका छन् ।

    आना शर्मा र सुशान्त केसी

    नायिका आना शर्मा केही वर्षपहिलेसम्म यति समूहका सोनम शेर्पासँगको प्रेममा थिइन् । सोनमसँगको सम्बन्ध टुंगिएपछि आना र गायक सुशान्त केसी अफेयरमा रहेको खबर छ । यी दुई अहिले अंग्रेजी नयाँवर्ष सन् २०२२ सेलिव्रेसन गर्न मुस्ताङमा थिए । त्यहाँबाटै सुशान्त र आनाले फेसबुक र इन्स्टा स्टोरीमा घुमघामका तस्बिर पनि सेयर गरेका थिए ।

    रेमनदास श्रेष्ठ र जेना मुड्रा

    अभिनेता एवं टेलिभिजन पर्सनालटी समेत रहेका रेमनदास विदेशी प्रेमिकासँगको सम्बन्धमा छन् । टिभी रियालिटी सो हिमालय रोडिजनका जज समेत रहेका उनी युवतीमाझ प्रिय पनि छन् ।

    रेमनले प्रेमिकाको जन्मदिनको अवसरमा प्रेमिका र आफ्नो तस्बिर पोस्ट गर्दै आफूहरु सँगै हुने वाचासहितको क्याप्सन लेखेका थिए । रेमनकी गर्लफ्रेन्ड जेना मुड्रा विदेशी हुन् ।

    रियाशा दाहाल र भिक्टर पौडेल

    मोडल रियाशा दाहाल र लोकप्रिय सामाजिक संजाल पेज रुटिन अफ नेपाल बन्दका संचालक भिक्टर पौडेल केही वर्षदेखि डेट गरिरहेका छन् । टीकटक लगायतका सामाजिक संजालबाटै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिक गरिरहेका छन् । बिहे तयारीमा रहेको यो जोडीले पछिल्लो समय सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।

    पूजा शर्मा र युद्ध बानियाँ

    नायिका तथा निर्मात्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँगको प्रेममा छिन् । तर यसपटक उनको नाम जोसँग जोडिएको छ ती युवकको सम्बन्ध फिल्म क्षेत्रसँग छैन । पूजा र युद्ध केही दिनदेखि टक अफ दी टाउन बनेका छन् । यो विषयमा पूजा र युद्ध दुवैले मुख भने खोलेका छैनन् । यी दुईजनाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् ।

    यसबाहेक अभिनेत्री साम्राज्ञी शाह एक ठकुरी थरका एक युवकसँगको रिलेसनसिपमा रहेको बताइएको छ । तर, यी दुईले सम्बधलाई लिएर केही बोलेका छैनन् । नायिका रेखा थापाले एक अमेरिकी एनआरएनएसँग बैशाखमा बिहे गर्ने चर्चा पाएपनि यसबारे टुंगो लागेको छैन ।

    पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको प्रेममा रहेकी नायिका नम्रता श्रेष्ठ अहिले सिंगल रहेको बताइन्छ । उनको नाम अन्यसँग जोडिएपनि सार्वजनिकरुपमा खुलेको चाहिँ छैन । टीकटकमा हिट जुम्ल्याहा जोडी प्रिन्सी खतिवडा र सागर लम्साल बलेसँगको सम्बन्ध पनि टुंगिएको छ ।

     

     

  • भ्यालेन्टाइन्स विशेष गीतमा रोमान्टिक देखिए पल र पूजा : लन्च भयो ‘म यस्तो गीत गाउँछु २’ शीर्ष गीत

    भ्यालेन्टाइन्स विशेष गीतमा रोमान्टिक देखिए पल र पूजा : लन्च भयो ‘म यस्तो गीत गाउँछु २’ शीर्ष गीत

    काठमाडौं । पल शाह र पूजा शर्मा स्टारर रोमान्टिक फिल्म ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन्स विशेष गीत इन्टरनेट लन्च भएको छ । सुदर्शन थापा निर्देशित फिल्म फागुन १३ गते रिलिज तयारीमा छ ।

    ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल र पूजा फिचर्ड छन् ।

    रिलिज गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले नृत्य निर्देशन गरेको गीतमा सौरभ लामाको छायांकनको छ ।
    पूजा र सुदर्शनले मिलेर निर्माण गरेको फिल्ममा जन्मजय साम्पाङ राई सहनिर्माता छन् । फिल्मको ट्रेलरसहित गीतहरु ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ले यसअघि नै चर्चा बटुलेका छन् ।

    हेर्नूस गीत :

  • ‘लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

    ‘लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

    काठमाडौं । प्रदर्शन मितिलाइ लिएर ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’बीचको विवाद टुंगिएको छ । फिल्म प्रदर्शन कार्यदलले फागुन १३ गतेको डेट म यस्तो गीत गाउँछु २ लाई दिएपछि विवाद सुरु भएको थियो । तर, लप्पन छप्पन फागुन २० गते आउने भएपछि तत्काललाई उक्त विवाद टुंगिएको ठानिएको छ ।

    मुकुन्द भट्टको निर्देशनमा बनेको यो फिल्म अब फागुन २० गतेबाट देशभर रिलिज हुने जनाइएको छ । कोरोनाभाइरसको दुईवटा लहरले यो फिल्मको प्रदर्शन मिति पनि दुई पटक नै स्थगित भएको थियो । पटक-पटक प्रदर्शन मिति घोषणा गरिएपनि महामारीको अनिश्चितताले फिल्म रिलिज हुन सकेन । अब भने फागुन २० गतेदेखि फिल्म रिलिज पक्का भएको जानकारी निर्देशक भट्टले दिएका छन् ।

    फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको मुख्य भूमिका छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

  • रामकृष्ण ढकालले ल्याए भ्यालेन्टाइन्स गीत ‘तिम्ले बोल्ने बोली’ (भिडिओ)

    रामकृष्ण ढकालले ल्याए भ्यालेन्टाइन्स गीत ‘तिम्ले बोल्ने बोली’ (भिडिओ)

    काठमाडौं। गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ‘आकाश’को शब्द रचना छ । आकाश श्रेष्ठ र खुश्बु खड्का गीतमा फिचर्ड छन् ।

    फिल्म निर्देशक समेत रहेका सुव्रत आचार्य निर्देशित म्यूजिक भिडिओमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडिओलाई उत्सव दाहालले खिचेका हुन् । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् ।

    भिडिओ सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडिओ र भिडिओ राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेन्टाइन्स डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

    मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने : ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’ ‘तिम्ले बोल्ने बोली’ गीत दर्शकलाई मन पर्नेमा उनी आशावादी देखिए ।

    मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडिओभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडिओलाई ‘भ्यालेन्टाइन्स डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडिओमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।

    रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाएका थिए ।

  • भ्यालेन्टाइन्समा प्रियाना, पुनम र राजको ‘माया तिमीविना’ लन्च (भिडिओ)

    भ्यालेन्टाइन्समा प्रियाना, पुनम र राजको ‘माया तिमीविना’ लन्च (भिडिओ)

    काठमाडौं । प्रेम दिवसको अवसरमा ‘माया तिमीविना’ बोलको गीत इन्टरनेट रिलिज भएको छ । प्रिजोल नेपाली र अस्मिता परियारको स्वर, दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज रहेको गीत सोमबार लन्च गरिएको हो ।

    प्रेम साटासाटको भावना प्रस्तुत गर्ने यो सांगीतिक भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडिओमा प्रियना आचार्य, पूनम गौतम, राज र डेलविसले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीतका निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् । हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=zWJBOK8k0WU

  • भ्यालेन्टाइन्स रिलिज : ‘किङ्स म्यान’ र ‘खिलाडी’ आजदेखि नेपाली फिल्म हलहरुमा

    भ्यालेन्टाइन्स रिलिज : ‘किङ्स म्यान’ र ‘खिलाडी’ आजदेखि नेपाली फिल्म हलहरुमा

    काठमाडौं । आज विश्वभर प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे मनाइँदैछ । यो छेकोमा सोमबारदेखि दुई नयाँ फिल्म नेपाली हलहरुमा प्रदर्शनमा आएका छन् ।

    हलिउड फिल्म ‘द किङ्स म्यान’ र भारतीय फिल्म ‘खिलाडी’ले आजदेखि प्रदर्शन थालेका हुन् । आइतबारदेखि हल खुलेपनि भ्यालेन्टाइन्स अवसरमा सोमबारदेखि फिल्म रिलिज भएका हुन् ।

    म्याथ्यु भग निर्देशित फिल्म ‘द किङ्सम्यान’ स्पाइ, एक्सन र कमेडी जानरामा निर्माण भएको हो । किङ्सम्यान सिरिजको यो तेस्रो श्रृंखला कमिक बुक ‘द सेक्रेट सर्भिस’मा आधारित छ ।

    राल्फ फिनिस, जेम्मा आर्टेटोन, राइस इफान्सको मुख्य भूमिका रहेको यो फिल्मका दुबै सिक्वेलले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरिसकेका छन् । एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई रिलिज गरेको हो ।

    आजै दक्षिण भारतीय तेलुगु फिल्म ‘खिलाडी’ पनि नेपाली हलमा प्रदर्शनमा आएको छ । रमेश बर्मा निर्देशित फिल्ममा रवि तेजा, अर्जुन सार्जा, उन्नु मुकन्दनको मुख्य भूमिका छ ।

    ‘चपली हाइट ३’, ‘कठ्पुतली’, ‘स्पाइडरम्यान : नो वे होम’ र ‘माइ हिरो अकाडेमिया : वर्ल्ड हिरोज मिसन’ पनि आइतबारदेखि नै प्रदर्शनमा आएका छन् ।

  • आयंकाको पास्नीमा ममी प्रियंकाको सन्देश : प्यारी बदाम, धेरै चाँडो नहुर्कनू, मैले भनेको मान्नू !

    आयंकाको पास्नीमा ममी प्रियंकाको सन्देश : प्यारी बदाम, धेरै चाँडो नहुर्कनू, मैले भनेको मान्नू !

    काठमाडौं । मामु बनेपछि प्रियंका कार्कीको दैनिकी घरायसी तरिकाले बितिरहेको छ । छोरी आयन्कालाई उनले जन्म दिएको पनि पाँच महिना बितिसक्यो । प्रियंको भने मामुको ड्युटी निर्वाह गर्दैछिन् ।

    पाँच महिना पुगेकी आयंकाको पास्नी शनिबार भएको छ । यो मेसोमा उनले सामाजिक संजालमा आयंका र आफ्ना क्यान्डिड तस्बिरहरु सेयर गरेकी छिन् र आयंकालाई सन्देश पनि ।

    प्रियंकाले मर्मस्पर्शी शब्दहरु आयंकाको लागि लेखेकी छिन् । ‘धन्यवाद प्यारी बदाम । मलाई मामु बनाएकोमा धन्यवाद । मलाई साना पलहरुको अनुभूति गराउन मद्दत गरेकोमा धन्यवाद । मलाई संसार पत्ता लगाउन मद्दत गरेकोमा धन्यवाद । न्यानो मुस्कानको लागि धन्यवाद । धेरै चाँडो नबढ्नू, मैले भनेको मान्नू’ प्रियंकाले आयंकाको लागि लेखेकी छिन् ।

    तस्बिरमा ममी प्रियंकाले छोरी आयंकालाई भात खुवाइरहेको देख्न सकिन्छ । आमाछोरी क्यूट देखिएका छन् ।

  • ‘चपली हाइट ३’ हेरेपछि कसले के भने : भोलिदेखि देशब्यापी हुँदै रि-रिलिज

    ‘चपली हाइट ३’ हेरेपछि कसले के भने : भोलिदेखि देशब्यापी हुँदै रि-रिलिज

    काठमाडौं । कोरोनाभाइरस महामारीको तेस्रो लहरमा चल्दाचल्दै रोकिएको फिल्म चपली हाइट ३ आइतबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ । रि-रिलिजको पूर्वसन्ध्यामा फिल्मलाई राजधानीको क्यूज हलमा विशेष प्रदर्शन गरियो ।

    फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । चपली हाइट ३ हेरेपछि कसले के भने :

    निर्माता अर्जुन कुमार :

    एउटा मौका पाएको छु । त्यसलाई भरपुर प्रयोग गरौं । अन्तिम अवस्थामा बोल्न बाध्यता नपार्नूस । सबैको फिल्म हो मेरो मात्र हैन । स्वस्तिमा किन आउनु भएन, उहाँलाई घरमै गएर सोध्नूस ।

    अभिनेता महेश त्रिपाठी :

    इमान्दार भएर काम गरेको छु । प्रतिक्रिया जताततैबाट राम्रो प्रतिक्रिया पाउँदा रमाइलो लागिरहेको छ । पात्रको परिस्थितीको दायरालाई ब्रेक नगरिकन काम गरेका छौं । १५ वर्षदेखि एक्टरकै रुपमा काम गरेका थिएँ । आफूलाई मासमा पु¥याउन चपली हाइटमा काम गर्ने मौका पाएँ । टीम एकदमै राम्रो रह्यो ।

    निर्देशक निकेश खड्का

    रिभ्यू राम्रो आएकैले रिरिलिज गरेका हौं । चपली हाइट ३ गर्दा सुरुदेखि नै स्टोरीमा राम्रोसँग छलफल गरेका थियौं । स्टोरी लाइनलाई फोकस गरेर अघि बढेका हौं । ग्ल्यामरभन्दा सस्पेन्स थ्रीलरमा केन्द्रित भएका हौं ।

    अभिनेता विशाल पहारी

    यसअघि हेरेका साथीमध्ये आधीले राम्रो र आधीले ठीकै छ भन्नुभयो । त्यतिबेला हेर्न पाइन । आजमात्र हेर्न पाएँ । आज मात्र मूभी हेर्दा लाग्यो, ठीकै छ भन्ने साथीहरु गलत हुनुहुँदो रहेछ । स्क्रिप्ट हेर्दा नै मैले सोहीअनुसार फिल्म बनाउन सुझाएको थिएँ । सोहीअनुसार पाएँ ।

    प्रतीकमान श्रेष्ठ

    मेरो क्यारेक्टर पनि राम्रै लागेर गरेको हो । चिन्नेजान्ने र आफन्तजनले फस्ट टाइम काम गरेपनि अनुभवीजस्तै काम गरेको भन्नुभएको छ । फिल्म करिअरलाई नै अघि बढाउँछु ।

  • चपली हाईट ३ को पुनः प्रिमियर (तस्बिरहरु)

    चपली हाईट ३ को पुनः प्रिमियर (तस्बिरहरु)

    काठमाडौं । चलचित्र चपली हाईट ३ को पुनः प्रिमियर गरिएको छ । कोरोना महामारीको तेस्रो तहरका कारण चल्दाचल्दै हल बन्द भएपछि चलचित्रको पुनः प्रिमियर गरिएको हो ।

    आइतबारबाट देशभरीका हलमा चपली हाईट ३ पुनः रिलिज हुने निर्माण टिमले जनाएको छ ।

    शनिबार क्यूज फिल्म हलमा भएको पुनः प्रिमियरमा कलाकार, सञ्चारकर्मी र अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो ।

    प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार निर्मल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्देशक राम बाबू गुरुङ, निर्देशक विशाल भण्डारी, गायिका सुबानी मोक्तान, गायक प्रताप दास, अभिनेत्री उषा रजक, मोडल प्रियाना आचार्य लगायतको सहभागिता रहेको थियो । फिल्मका दुई अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट भने अनुपस्थित रहेका थिए ।

    अर्पण थापा र स्वस्तिमा खड्काको मूख्य भूमिका रहेको चलचित्र भ्यालेन्टाइन डेको छेको पारेर पुनः रिलिज हुन लागगेको हो । निर्माता अर्जुन कुमारले भ्यालेन्टाइन छेकोमा रिलिज हुन लागेका दर्शकहरु आउने विश्वास व्यक्त गरे ।

    तस्बिरहरु : उमेश कार्की

  • ‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

    ‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

    काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुङ्गा’ रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लन्च गरिएको गीतमा अनमोल केसी र सुहाना थापा आकर्षण बने ।

    कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर समावेश छ । उदितनारायण झाको स्वरमा रहेको फिल्मकै दशकौं पुरानो हिट गीतलाई रिमिक्स गरिएको रोमान्टिक गीतमा अनमोल र सुहाना फिचर्ड छन् ।

    गीतमा उनीहरु रोमान्टिक देखिएका छन् ।

    गीतलाई डोल्पास्थित चर्चित पर्यटकीय थलो से फोक्सुन्डोमा छायांकन गरिएको छ । गीत सार्वजनिक समारोहमा से फोक्सुन्डो गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी पनि सहभागी थिए । कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।

    बैशाख १ गते रिलिज हुने फिल्मलाई लिएर दर्शकमाझ औधी पर्खाइ छ । कोरोनाभाइरस महामारीले थलिएको घरेलु फिल्म उद्योगलाई लयमा फर्काउन फिल्म सहायक हुने आशा निर्माताले लिएका छन् । निर्देशक तथा अभिनेत्री झरना थापाले नेपाली फिल्मको विकास र अस्तित्वको लागि सबैजना एकजुट हुनुपर्ने बताइन् ।

    कसले के भने ?

    निर्देशक थापाले कोरोना महामारीको कठिन परिस्थितीमा एकअर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले नेपाली फिल्मको अस्तित्वकै लागि पनि सबैजना एकजुट हुनुपर्ने खाँचो औंल्याइन् ।

    झरनाको यो अभिव्यक्ति बैशाख १ गते रिलिज हुने तयारीमा रहेका विदेशी फिल्मका वितरकप्रति लक्षित थियो भन्ने बुझ्न कठिन छैन । सोही मितिमा ए मेरो हजुर ४ सँगै आमिर खानको लालसिंह चड्डा र केजीएफ च्याप्टर २ रिलिज तयारीमा छन् । बक्सअफिसमा यी तीन फिल्मको भीडन्त कडा हुने अनुमान गरिएको छ ।

    अभिनेत्री सुहाना थापाले पनि आमा तथा निर्देशक झरनाकै कुरामा जोड दिइन् । कोरोनाले प्रभावित फिल्म उद्योगलाई उकास्न फिल्मलाई सघाउन उनको आग्रह थियो भने अर्कोतर्फ उनले से-फोक्सुन्डोजस्ता थलोको पर्यटनमा सघाउन समेत अपिल गरिन् ।

    अभिनेता अनमोल केसीले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्मको रिमेकमा काम गर्न पाउँदा खुशि लागेको बताए । उनले श्रीकृष्णको निधनको एकदिनअघि आफूले सपनामा उनलाई देखेको र ‘किप इट अप’ अर्थात हौसलालाई जारी राख भनेको स्मरण गरे ।

    निर्माता आग्रह गरे आफू जतिसुकै बेला पनि फिल्म छायांकनलाई तयार रहेको उनले बताए ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिले बोर्डले फिल्म रिलिज र सेयर बाँडफाँटलाई लिएर एउटा ड्राफ्ट तयार गरिरहेको र चाँडै सार्वजनिक हुने जनाए ।

    फिल्म निर्माता सुनिल कुमार थापाले ए मेरो हजुरका सबै सिरिजमा आफूले नेपालका लोकेसनमार्फत पर्यटन प्रवद्र्धन गरिरहेको र यसमा पनि से फोक्सुन्डोलाई चित्रण गरेको बताए । आगामी सिरिजमा पनि अन्य लोकेसनलाई एक्सपोज गर्ने उनले जनाए ।

    ए मेरो हजुर ४ आगामी बैशाख १ गते प्रदर्शन हुने जनाइएको छ ।

     

  • पोखराका फिल्म हललाई फागुनमा पनि बन्दै राख्न प्रशासनको आदेश

    पोखराका फिल्म हललाई फागुनमा पनि बन्दै राख्न प्रशासनको आदेश

    काठमाडौं । मुलुकको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल फागुनमा समेत बन्द हुने भएका छन् ।

    कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १ गतेदेखि अर्को सूचना जारी नभएसम्म फिल्म हल र रात्रीकालिन व्यवसायलाई बन्दै राख्ने निर्णय गरेको हो ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सिफारिसको आधारमा प्रशासनले उक्त आदेश जारी गरेको हो । तर, जनस्वास्थ्यका मापदण्ड पालना गरेर शैक्षिक संस्था खुलाउन भने प्रशासनले अनुमति दिएको छ ।

    प्रशासनका अनुसार शुक्रबारसम्म कास्कीको कोरोनासंक्रमण दर ३० प्रतिशत छ । समग्र मुलुकको भाइरस संक्रमण दर ओरालो लागेपनि कास्कीमा भने कोरोना संक्रमण दरमा गिरावट नआएको प्रशासनले जनाएको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले चाहिँ फागुन १ गतेदेखि फिल्म हल र रात्रीकालिन व्यवसाय संचालन गर्न अनुमति दिएको थियो । साथै, सम्बन्धित जिल्ला संक्रमण परिस्थिती हेरेर निर्णय गर्न डीसीसीएमसीलाई अधिकार पनि दिएको थियो ।

    काठमाडौंपछि नेपाली फिल्मको ठूलो बजार पोखरा र नारायणगढ हुन् ।