Category: कलाप्रेस

  • दुबई जान लागेका ३५ जना कलाकारको टोलीलाई अध्यागमनले रोक्यो

    दुबई जान लागेका ३५ जना कलाकारको टोलीलाई अध्यागमनले रोक्यो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई प्रस्थानमा रोक लगाएको छ ।

    गत माघ १० गते गृह मन्त्रालयले गरेको भिजिट भिसा सम्बन्धी परिपत्रअनुसार उनीहरुलाई रोक लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले नेपाल प्रेसलाई जानकारी दिए ।

    मन्त्रालयले उक्त मितिदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ । शुक्रबार अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट कलाकारको उक्त जम्बो टोली दुबईतर्फ जाने तयारीमा थियो ।

    ‘फ्रेस पासपोर्टमा दुबईमा पठाउँदा समस्या पर्ने देख्यौं । खाडीबाहेकका अन्य दुई वटा मुलुकको भिजिट भिसा भए अनुमति दिन सकिन्थ्यो तर उहाँहरुले दिउँसोसम्म त्यो प्रमाण ल्याउन सक्नुभएन’ सूचना अधिकारी उपाध्यायले भने, ‘३५ जनामध्ये केही योग्य भएर पनि जान पाउनुभएन । अन्य रोकिँदा उहाँहरु पनि रोकिनुभयो ।’

    कलाकारको उक्त जम्बो टोलीमा मोडल दीपाशा बिसी पनि सहभागि रहेको अध्यागमनले जनाएको छ । ‘दीपाशाजीले अन्य मुलुक पनि घुमिसक्नुभएको रहेछ । उहाँ योग्य भएर पनि रोकिनुभयो’ उपाध्यायले भने ।

    भिजिट भिसासम्बन्धी गृहको आदेश यस्तो थियो :

  • अनपेक्षित स्वस्तिमा

    अनपेक्षित स्वस्तिमा

    ‘यति पारिश्रमिक लिएँ भन्नु समाचारको कुनै खुराक हो जस्तो लाग्दैन मलाई । यस्ता कुरालाई ग्ल्यामराइज गर्नुले मलाई सन्तुष्टि पनि दिँदैन । मिडियामा मैले के समाचार दिँदैछु, यसले अर्थ राख्छ । पोस्टर सार्वजनिक हुँदा नै त्यस्तो रेसपोन्स पाएँ, त्यो ठूलो कुरा हो मेरा लागि । तर, बीसौँ लाख लिएर ब्राण्ड भ्यालु बढ्छ भने उहाँहरुका लागि ठीकै होला ।

    म बाहिरतिरको समीक्षाहरु पनि हेरिरहेकी हुन्छु । ग्ल्यामरस रोल गर्दा त्यही लेभलको अभिनय गर्नु र चरीत्र निभाउनु बराबर चुनौतीपूर्ण हुन्छ । ग्ल्यामरस अभिनय गर्ने कलाकारलाई त्यही लेभलमा हेर्नुपर्छ । ‘ककटेल’मा दिपिका पादुकोणले गरेको अभिनय लाइट होइन नि ! वा ‘डर्टी पिक्चर’मा विद्या बालनले गरेको अभिनय लाइट होइन नि त !’

    ०००

    ‘चिसो मान्छे’को पोस्टर हेर्दा हाम्रो पहिलो नजर स्वस्तिमा खड्काको नाकको बुलाकीमा ठोक्किन्छ । त्यसपछि पोते, चौबन्दी, झोलामा ठोक्किन्छ । अनि बुलाकी लगाएर कतै यात्रामा निस्किएकी झैं लाग्ने स्वस्तिमामा ।

    करिब–करिब हामीले बुलाकीलाई बिर्सिसक्यौँ । बुलाकी लगाएकी आमाहरुलाई पनि बिर्सिसक्यौँ । बुलाकी हल्लाउँदै आमाहरुले सुनाएका लोककथाहरु बिर्सिसक्यौं । ती लोककथाहरुमा बाँचेका सम्बन्ध, प्रेम, मानवता, नैतिकताहरु पनि बिर्सिसक्यौं । यहीबीचमा ‘चिसो मान्छे’को पोस्टर सार्वजनिक हुँदा कतिलाई नोस्टलजिक पनि बनायो होला ।

    पोस्टरमा एक्लै ठिंग उभिएकी अभिनेत्री स्वस्तिमाको ग्ल्यामरस छवि छ । उनी व्यवसायिक फिल्म खेलेर आएकी हुन् । व्यवसायिक फिल्ममै जमिरहेकी छिन् । उनका अधिकांश फिल्म या म्युजिक भिडियो हेर्दा लाग्छ, रियालिस्टिकभन्दा कमर्सियल फिल्मकै अभिनेत्री हुन् ।

    उनका समकालीन अभिनेत्रीहरु पनि स्वस्तिमा मर्काकै हुन् । वा स्वस्तिमा उनीहरु मर्काकै हुन् । जसका लागि पात्र अथवा पात्रका कथा होइन, टिपटप कस्ट्युम, चम्किला ठाउँमा खिचिएका चम्किला गीत, केही मीठा संवाद र थोरै ड्रामा भए पुग्छ ।

    बरु चरीत्रका रुपमा अथवा अभिनयको परख गर्नका लागि खास सूचि बनाउँदा आधा दर्जन अभिनेत्री होलान्, जो रंगमन्च ब्यागग्राउण्डका छन् । जसले साँच्चै अभिनय गर्न सक्छन् । जसको अभिनयमा जुनुन छ, अनेक पात्रहरुको जीवन बाँच्ने तागत छ ।

    ‘होस्टेल रिटन्स’ वा ‘लभ लभ लभ’ जस्ता फिल्ममा देखिँदा स्वस्तिमा व्यवसायिक फिल्मकै लागि थिइन् । तर, ‘बुलबुल’ मार्फत् निर्देशक विनोद पौडेलले उनलाई अर्कै बनाइदिए । रियालिस्टिक फिल्ममा पनि काम गर्न सक्छिन् भन्ने प्रमाणित गराइदिए पौडेलले ।

    ‘बुलबुल’को टिजर सार्वजनिक हुँदा उद्योगका धेरैले ‘स्वस्तिमाले त्यस्तो क्यारेक्टर आर्टिस्ट गर्न सक्छिन् र !’ भनेर शंका प्रकट गरेको अनुभव स्वस्तिमासँगै छ । कत्तिले त पैडेललाई नै फोन गरेर पनि भनेका थिए ।

    ‘जिरोमा पुगेर काम गर्न सक्छु भन्ने विस्वास विनोद दाइलाई भएपछि हामीले सहकार्य गरेका थियौँ,’ स्वस्तिमा सुनाउँछिन् । त्यतिखेर पौडेलसँग स्वस्तिमाको चिनजान थिएन । फरक कथाको स्क्रिप्ट आएपछि उनले गम खाइन्,– कसैले क्लियर भएर अप्रोच गरेको हो कि थोरै भए पनि आफूमा ‘कमर्सियल भ्यालु’ देखेर हो ? यति देखेर मात्रै हो भने त फिल्म राम्रो बन्दैन ।

    स्क्रिप्टमा महिलाको उमेर ३० थियो । उसकी बच्चाको उमेर ११ थियो । जतिबेला खड्का स्वयं भने २२–२३ की थिइन् । उनी आफैंसँग विस्वास्त भइन्, ‘कुनै गीतमा ठुम्का हाल्नसक्छु भने बुलबुलमा अभिनय पनि गर्न सक्छु ।’

    उनले भनेजस्तो चरीत्रमाथि पनि काम गर्न सक्छु भन्ने भए पनि भनेजस्तो कथा पाइरहेकी थिइन्, बुलबुल पाइन् ।

    कमर्सियल कि आर्ट ?

    स्वस्तिमाले अभिनय गरेको ‘चिसो मान्छे’को पोस्टरको चर्चा भयो । पोस्टरमा देखिएको उनको चरीत्रको चर्चा भयो । तर, पोस्टरमा स्वस्तिमाको भन्दा अरु मानिसको काम बढी हुन्छ । ‘फिल्ममा जति गरेकी छु, त्यो हिसाबले अप्रिसियसन पाउने त टिजर, ट्रेलर रिलिज भएपछि हो,’ स्वस्तिमा सुनाउँछिन्, ‘अहिले नै धेरै एप्रिसियसन भयो भने पनि भोलि मलाई गाह्रो हुन्छ ।’

    तैपनि यो अहिले हरेक प्रकारको जिम्मेवारी बोक्न, चुनौती सम्हाल्न तयार जस्तो भइसकेको लाग्छ उनलाई । स्वस्तिमाले बक्स अफिसमा सफल फिल्म ‘छक्का पन्जा’मा काम गरिन् । असफल व्यवसायिक फिल्ममा पनि गरिन् । ‘बुलबुल’ वा ‘चिसो मान्छे’ जस्ता फिल्ममा पनि काम गरिन् । दुवै प्रकारका फिल्मका आ–आफ्नै दर्शक छन् । दुवै प्रकारको फिल्मका आ–आफ्नै उद्देश्य छन् । र दुवै प्रकारका फिल्मबीच एक प्रकारको दुरी छ ।

    यो दुरी नहोस् भन्ने चाहना छ स्वस्तिमाको ।

    ‘कमर्सियल र आर्ट भनेर फिल्म भनेर हामीबीच विभाजन छ । यो विभाजनले कलाकारलाई हेर्ने नजरीया फरक पारिदिँदो रहेछ । व्यवसायिक रुपमा पनि असर गर्दोरहेछ,’ स्वस्तिमा सुनाउँछिन् ।

    रियालिस्टिक अभिनय गर्ने कलाकारलाई मुलधारको होइन भनिन्छ । व्यवसायिक फिल्म गरिरहेका कलाकारले रियालिस्टिक अभिनय गर्न सक्दैन भनिन्छ । तर, सबैले कलेक्टिभली काम गर्दा र मुलधारका भनिएका कलाकारले क्यारेक्टरमा काम गर्दा उद्योग उकासिने तर्क छ स्वस्तिमाको ।

    स्वस्तिमाहरुले डान्स गर्नु, ग्ल्यामरस देखिनुलाई अभिनयको कसीमा कमै चर्चा हुने गरेका छन् । कुनै पात्रको चरीत्र निभाउनुलाई अलि ज्यादा अभिनयको रुपमा स्वीकारिन्छ । तर, दुबै काम गाह्रो हुने स्वस्तिमाको अनुभव छ । ‘क्यारेक्टर निभाउन जति गाह्रो हुन्छ, नाच्नु उत्तिकै गाह्रो हुन्छ,’ स्वस्तिमा आफ्नो अनुभव सुनाउँछिन् ।

    ‘बुलबुल’को पोस्टर रिलिज हुँदा मात्रै पनि धेरैले शंका प्रकट गरे उनको अभिनयमाथि । फिल्म हेरेपछि भने एप्रिसियसन पाइन् । ‘म चाहिँ मुलधारबाट आएकी हुनाले कुटुमा कुटु जतिले हेर्नुहुन्छ, त्यो दर्शकलाई रियालिस्टिक अप्रोचमा बनेका फिल्ममा तान्न सकुँ, ‘नाइँ नभन्नु ल’ हेर्न आउनु हुने दर्शक ‘चिसो मान्छे’ आउन् भन्ने लाग्छ ।’

    मेकर, कलाकारमा मात्रै कला–व्यवसायिक भनेर विभाजन नभइ दर्शकको भलाइमा झनै विभाजन देख्छिन् स्वस्तिमा । गत वर्ष नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासमा आधरित नाटक गर्ने भइन् ।

    स्वस्तिमाले नाटक गर्ने भनेपछि समाचारहरु बन्ने नै भए । यही बीचमा एकजना महिलाले ‘साली मनपर्‍यो’मा नाच्ने स्वस्तिमाले विचरी पल्पसा कसरी निभाउँदी हुन् भन्ने आशयको ट्वीट लेखिन् । यसखाले प्रतिक्रियाबारे स्वस्तिमाले भन्छिन्, ‘कुटुमा कुटु नाच्ने मान्छेले पल्पसाको भूमिका न्यायपूर्ण तरीकाले निभाउन नसकुँला, तर कोसिस गरिरहेकी छु । साली मनपर्‍योमा नाच्न सक्छु भने चिसो मान्छेमा अभिनय गर्न सक्छु होला नि !’

    सर्कल र करियरको समयावधि

    क्यारेक्टरमाथि काम गर्नुको अर्को फाइदा हो – करियरको समयावधि बढाउनु । क्यारेक्टरमा काम गर्दा स्वभाविक रुपमा करियरको आयु लम्बिन्छ । लामो समयसम्म काम पाइरहने सम्भावना पनि रहन्छ । सक्रिय होइन्जेल कामलाई निरन्तरता दिइरहन सकिन्छ ।

    उनको तर्क छ,– ‘मैले करियरको आयु बढाउन मात्रै क्यारेक्टरमा काम गरेकी होइन । यस्तो पात्र निभाउँदा फरक खालको आनन्द र सन्तुष्टि मिल्छ । ‘नाइ नभन्नु ल’, ‘छक्का पन्जा’ जस्ता फिल्मले दिने सन्तुष्टि अर्कै छ । दिपक दाइहरु ‘बुलबुल’ बनाउँछु भनेर आउनुभएको हँदैन नि ! सबैको आ–आफ्नै उद्देश्य र गन्तव्य हुन्छन् । तर, क्यारेक्टरमा काम गर्दै गर्दा चाहिँ आज यस्तो सिन गर्न पाएँ, यो पात्रलाई यसरी लिएर जान्छु भनेर मनमा आउने भावनाहरुको छुट्टै मजा हुन्छ नि !’

    स्वस्तिमाले रियालिस्टक फिल्महरु खेलिरहँदा, अथवा ‘क्यारेक्टर’माथि कुरा गरिरहँदा उनका समकालीन अभिनेत्रीहरुको बाटो अर्कै छ । स्वस्तिमासँगै आएका वा एक डेढ वर्ष अघि–पछि आएका अभिनेत्रीहरुले व्यवसायिक रुपमा सफल फिल्महरु दिइरहेका छन् । तर, स्वस्तिमा यता पनि आइसकेकी छन् ।

    मझदारको बाटो समात्नुमा आफू वरिपरि रहने सर्कलको ठूलो भूमिका रहेको स्वस्तिमा स्वीकार्छिन् । कस्तो सर्कलमा बसेर फिल्मबारे छलफल गरिन्छ, कस्तो गफ हुन्छ त्यसले सरोकार राख्छ । निश्चल बस्नेतसँग सम्पर्कमा रहेका साथीभाइ पनि स्वस्तिमाको सम्पर्कमा छन् । ‘यो फिल्म हेर्‍यौ ?’ भनेर उनीहरुले प्रश्न गर्छन् । यदि हेरेकी छैन भने ‘घरमा गएर हेर्छु’ भनेर जवाफ दिन्छिन् । घर गएर हेरिहाल्छिन् पनि ।

    भन्छिन्, ‘सर्कलले ठूलो अर्थ राख्दो रहेछ । आज यो सर्कल नभएको भए जुन सर्कल हुन्थ्यो, त्यही प्रकारको फिल्म गर्थें होला । त्यही प्रकारको काम गर्थें होला ।’

    समीक्षाले दिने ऊर्जा

    स्वस्तिमालाई करियरको सुरुवाती चरणमा समीक्षकहरुले उस्तो नोटिस्ड गरेका लेखेका थिएनन् । अलिपछि छिर्केमिर्के प्रश्नहरु तेर्साउँथे । तर, समय उस्तो रहेन । ‘बुलबुल’ आइसकेपछि सबै बदलियो । उनले एक खालको एप्रिसियसन पाइन् ।

    उनको गुनासो चाहिँ यस्तो छ, – ‘म बाहिरतिरको समीक्षाहरु पनि हेरिरहेकी हुन्छु । ग्ल्यामरस रोल गर्दा त्यही लेभलको अभिनय गर्नु र चरीत्र निभाउनु बराबर चुनौतीपूर्ण हुन्छ । ग्ल्यामरस अभिनय गर्ने कलाकारलाई त्यही लेभलमा हेर्नुपर्छ । ‘ककटेल’मा दिपिका पादुकोणले गरेको अभिनय लाइट होइन नि ! वा ‘डर्टी पिक्चर’मा विद्या बालनले गरेको अभिनय लाइट होइन नि त !’

    ‘चिसो मान्छे’मा पुष्पा नामक युवतीको भूमिका निभाएकी उनले अन्य व्यवसायिक फिल्ममा ग्ल्यामरको हिसाबले अभिनय गरेको दाबी छ उनको ।‘बुलबुल’ पछि भने स्वस्तिमा आफ्नो बाटो चुनौती नै चुनौतीले भरिएको देख्छिन् । अहिले ‘चपली हाइट ३’ आउँदा पनि त्यही फिल्मसँग जोडेर समीक्षा आएका छन् । ‘हजार जुनीसम्म’ आउँदो एकदमै खराब रिभ्यु आएको थियो ।

    तर, ‘बुलबुल’ आएपछि भने समीक्षकले इन्टेन्सली हेर्न थालेको स्वीकार्छिन् । फिल्मको समीक्षालाई लिएर ‘वीर विक्रम २’देखि ‘कठपुतली’सम्म आइपुग्दा अनेक लफडा भएका छन् । मेकर–समीक्षकबीच वाकयुद्ध भएका छन् । तर, स्वस्तिमा भने समीक्षाहरुलाई सकरात्मक रुपमा लिने बताउँछिन् । उनलाई सबैभन्दा आनन्द आउने भनेको शुक्रबार र शनिबार फिल्म भव्यसँग चलेर आइतबार आएको समीक्षा पढ्नु हो ।

    भन्छिन्, ‘तर दुई दिन भव्य चलेर आइबार खासै राम्रो समीक्षा आएन भने अलि खल्लो हुन्छ । तर, मलाई रिभ्युले एकदमै अर्थ राख्छ । मेरा लागि रिभ्यु ऊर्जा हो । आफैंले गरेको फिल्म हेरेर यस्तो गर्न पाएको भए अझैं राम्रो हुन्थ्यो लागिरहेको कुरा रिभ्युमा आउँछ ।’

    महँगो पारिश्रमिक लिने कलाकार हुनु छैन

    सुनिन्छ – मन परेको कति कथामा कलाकारले विनापारिश्रमिक पनि खेल्ने गरेका छन् । तर, मन नपर्दानपर्दैै पनि खेल्नुपरेमा चर्को पारिश्रमिक असुल्ने गरेको किस्साहरु सुनिन्छ ।

    स्वस्तिमाको चाहिँ कमर्सियल र रियलिस्टिक फिल्ममा पारिश्रमिक कति फरक हुन्छ ?

    ‘फाइनान्सियल अवस्थाका लागि फिल्म नै गर्नुपर्छ भन्ने छैन मैले । जुनै प्रकारको फिल्म गर्दा पनि पैसाले म्याटर गर्दैन । मेरा लागि पैसाभन्दा पनि कुन उद्देश्यका लागि फिल्म बनाइरहेका छन् भन्ने हुन्छ,’ स्वस्तिमाको स्पष्टिकरण छ ।

    पात्र मन परेपछि पैसा ठूलो कुरा होइन । तर, म्युजिक भिडियो चाहिँ ‘यति पैसा दिन्छु’ भनेपछि एक दिनको काम, ठीकै हो भनेर पनि गर्ने गरेकी छन् । पैसाकै लागि चाहिँ करियरको सुरुआती चरणमा पनि काम गरेको याद छैन उनलाई । आफूले पाएको ब्राण्ड, एक्पोजरहरुका कारण पनि आर्थिक वासलात राम्रैसँग सन्तुलनमा रहेको बताउँछिन् ।

    कतिपय अवस्थामा परिश्रमिक सार्वजनिक गर्नाले ब्राण्ड भ्यालु बढ्छ भन्ने पनि सुनिन्छ । जति महँगो पारिश्रमिक भयो, उति नै ब्राण्ड भ्यालु बढ्ने चर्चा चर्को हुन्छ फिल्म वृत्तमा ।

    एक परिच्छेदमै बयान दिन्छिन् स्वस्तिमा, – ‘यति पारिश्रमिक लिएँ भन्नु समाचारको कुनै खुराक हो जस्तो लाग्दैन मलाई । यस्ता कुरालाई ग्ल्यामराइज गर्नुले मलाई सन्तुष्टि पनि दिँदैन । मिडियामा मैले के समाचार दिँदैछु, यसले अर्थ राख्छ । पोस्टर सार्वजनिक हुँदा नै त्यस्तो रेसपोन्स पाएँ, त्यो ठूलो कुरा हो मेरा लागि । तर, बीसौँ लाख लिएर ब्राण्ड भ्यालु बढ्छ भने उहाँहरुका लागि ठीकै होला ।’

    स्वस्तिमा राष्ट्रिय, अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग जोडिएकी छन् । तर, उनीहरुले उनले फिल्ममा पाउने पारिश्रमिकलाई केन्द्रमा राखेर सम्झौता गरेको अनुभव छैन उनीसँग । कसले आफ्नो काम कसरी डेलिभर गर्न सक्छ, त्यो सरोकार राख्ने गर्छन् । सामाजिक संजालमा फलोअर्स हेर्छन् । विवादहरु कम हुनुपर्‍यो । विवाद, लफडाहरु ब्राण्डहरुले खासै इन्जोय नगर्ने अनुभव छ स्वस्तिमाको ।

    पारिश्रमिककै कुरा गर्दा दुई तीन वर्षअघि स्वस्तिमा–पूजा शर्मा मिडियामा समाचारको हेडलाइन बने । तर, पारिश्रमिक महँगो लिएर गर्व महसुस गर्ने अवस्थामा हाम्रो उद्योग छ कि छैन ?

    भन्छिन्, ‘अहिले भुटानी फिल्म अस्करमा गयो । हाम्रो उद्योगमा अरुलाई डेलिभर गर्न त्यस्तो फिल्म छैन । हाम्रा कथा राम्रोसँग डेलिभर होस् । दर्शक हलमा आओस् । अनि मात्रै यस्ता नानाथरी कुरा इन्जोय गरौँला ।’

    महिला कलाकारको करियरको आयु

    ‘महिला अभिनेत्रीको करियर त्यति लामो हुँदैन’ भनिन्छ । नेपाली फिल्ममै करियरको समयावधि छोटो भएको अभिनेत्रीको उदाहरण बग्रेल्ती छन् । अपवाद बाहेक सबै अभिनेत्रीहरु एक समय चम्किएर एक समयपछि ओझेल परेका छन् ।

    उनीहरुले अनेक कारणले उद्योग छाडे । कत्तिले फेरि कमब्याक गर्न खोज्दा पनि सकेका छैनन् । स्वस्तिमाले विवाह गर्ने निर्णय लिँदै गर्दा सुभेच्छुकहरुले बिहे नगर्न सुझाएका थिए । करियर लयमा हुँदा विवाह गरेर किन करियर सकाउने ? विवाह गरेको १०/१५ दिनपछि उनलाई फिल्मको अफर आयो । तर, स्वस्तिमालाई होइन, निश्चल बस्नेतलाई ‘स्वस्तिमाले फिल्म खेल्छ कि खेल्दैन’ भनेर सोधे ।

    स्वस्तिमासँग पनि दुईवटा विकल्प थिए – कि सेटमा गएर काम गर्ने, कि घरमा बस्ने वा अन्य काम गर्ने । ‘मैले सेटमा गएर काम गर्ने विकल्प छानेँ । चारवटा प्रोजेक्टमा काम गरेँ । त्यसपछि मैले काम गर्छे भनेर अरुले थाहा पाए । अहिले सबै नर्मल भयो ।’

    तर, कलाकारको सर्ट लिस्टमा स्वस्तिमाको नाम आउँदा कास्ट नगरेका निर्देशकहरु पनि छन् । उनी विवाहित भएकीले कास्ट नगरेको पनि सुनेकी छन् ।

    ‘त्यस्तो निर्देशकसँग मलाई काम गर्नु पनि त छैन । उसले मेरो म्यारिटल अवस्था हेरेर मलाई काम गराउँदैन भने उसले राम्रो फिल्म बनाउँछ भनेर के ग्यारेन्टी छ र !,’ उनको भनाइ छ ।

    साथै आफ्नो अभिनयको यात्रा चाँडै रोकिन्छ भन्ने पनि लाग्दैन उनलाई ।  ‘८० वर्षसम्मै काम गर्छु । होस्टेल रिटन्समा जे भूमिका गरेकी थिएँ, त्यही भूमिका चाहेँ भने काम गर्न सक्दिनँ । जस्तो उमेरमा पुग्छु, त्यस्तै पात्र गर्दा अवस्य सक्छु । तर मलाई मुख्य लिडमा राख्ने नि नराख्ने, त्यो निर्देशकको हातमा छ,’ स्वस्तिमाा थप्छिन् ।

    अहिले जुन गति छ अथवा जुन खालको ऊर्जा लगाइरहेकी छन् काममा, त्यसले मात्रै नपुग्ने आँकलन छ उनको । सबै कुरा अझैं बढी नगरी नहुने देख्छिन् । फरकभन्दा पनि अझ राम्रो गर्नुपर्ने चुनौती देख्छिन् । तर, त्यो समयमा पनि राम्रो कथा पाइरहनका लागि राम्रा सिनेमा बनिरहनुपर्‍यो । उद्योग अझैं माथि जानुपर्‍यो ।

    त्यसका लागि आफ्नो तर्फबाट एउटा कोसिस देख्छिन् उनी, ‘बाहिरको जस्तो ठूलो उद्योगबाट आएको भए हामीले काम मात्रै गर्दा हुन्थ्यो । तर, यो पुस्ताको कलाकार भएकीले चाहिँ उद्योगलाई उकास्ने जिम्मेवारी हामीसँग पनि छ । हामी विवादहरुमा, सस्तो प्रचारमा नरमाउँदा हुन्छ ।

    हाम्रो प्रत्येक क्रियाकलापले मासलाई कस्तो असर गर्छ ख्याल गर्नुपर्छ । कमसेकम हामी यो पुस्ताको कलाकार चाहिँ बढी नै उत्तरदायी र जिम्मेवार हुनुपर्ने देख्छु ।’

    ०००

    तस्बिरहरु : उमेश कार्की

  • पोखराका फिल्म हललाई शनिबारदेखि खुलाउन प्रशासनको अनुमति

    पोखराका फिल्म हललाई शनिबारदेखि खुलाउन प्रशासनको अनुमति

    काठमाडौं । मुलुकको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हललाई शनिबारदेखि खुला गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अनुमति दिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रबार आदेश जारी गर्दै कोरोनाभाइरसको तेस्रो लहरले बन्द हलसहित रात्रीकालिन व्यवसायलाई खुलाउन अनुमति दिएको हो ।

    प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आदेश जारी गर्दै जिल्लामा कोरोनाभाइरसको संक्रमणदरमा कमी आएपछि हलसहितका क्षेत्र खुलाउन अनुमति दिएको जनाएका छन् ।

    कास्कीको हल खुलाउन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि बिहिवारका सीडीओसँग टेलिफोन संवाद गरेका थिए । दोस्रो ठूलो फिल्म बजारका हल बन्दै राख्दा उद्योगलाई चलायमान बनाउन मुस्किल पर्ने गुनासो अध्यक्ष दाहालले राखेका थिए ।

    कास्की जिल्ला प्रशासनले फिल्म हलसहित हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके, ब्यूटीपार्लर लगायतका क्षेत्रलाई खुलाउन भनेको छ । डान्सबार, दोहोरी नाचघर, क्लब र रेष्टुरेन्ट लगायतका रात्रीकालिन व्यवसायलाई स्वास्थ्य मापदण्ड पालना गर्दै राती १२ बजेसम्म खुलाउन अनुमति दिएको छ ।

     

  • ‘बच्चन पाण्डे’ ट्रेलर लन्च : यस्तो छ अक्षयदेखि कीर्ति सेननसम्मको कमेडी-एक्सन

    ‘बच्चन पाण्डे’ ट्रेलर लन्च : यस्तो छ अक्षयदेखि कीर्ति सेननसम्मको कमेडी-एक्सन

    काठमाडौं । अक्षय कुमार स्टारर प्रतीक्षित बलिउड एक्सन–इन्टरटेनर ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर लन्च भएको छ । निर्माता साजिद नाडियावालाले जन्मदिन छेकोमा शुक्रबार ट्रेलरलाई सार्वजनिक गरेका हुन् ।

    यो एक्सन कमेडी फिल्म आगामी चैत ४ गते रिलिज हुनेछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ ।

    फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले अहिलेसम्म नगरेको चुनौतिपूर्ण भूमिका निर्वाह गरेका छन् । ट्रेलर लन्च गर्दै निर्देशक नाडियावालाले यो फिल्म आफ्नो लागि खास रहेको बताएका छन् ।

    ‘बच्चन पाण्डे’ नाडियावाला ग्रान्डसनसँग दशौं सहकार्यको प्रोजेक्ट हुनेछ । अभिनेत्री ज्याकलिन फर्नान्डिजको भने यो ब्यानरसँग आठौं हो । कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको समेत यसमा मूख्य भूमिका छ ।

  • फागुन २० गतेसम्म म्युजिक भिडिओमा काम नगर्ने पल शाहको निर्णय

    फागुन २० गतेसम्म म्युजिक भिडिओमा काम नगर्ने पल शाहको निर्णय

    काठमाडौं । पल शाह यतिबेला म्युजिक भिडिओमा सबैभन्दा व्यस्त अभिनेता हुन् । दिनहुँजसो उनका नयाँ-नयाँ म्युजिक भिडिओ युट्युवमा लन्च भैरहेका छन् ।

    यस्तोमा आगामी फागुन २० गतेसम्म नयाँ म्युजिक भिडिओमा काम नगर्ने निर्णय उनले गरेका छन् । भिडिओ अफर लिएर पुग्ने निर्माता र निर्देशकलाई उनले फागुन २० सम्म काम नगर्ने भन्दै फर्काइरहेका छन् ।

    उनले यस्तो निर्णय गर्नुु पछाडि चाहिँ फागुन १३ गते रिलिज हुने उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मुख्य कारण हो । निर्मात्री तथा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको आग्रहमा पलले फिल्म प्रदर्शन अवधिभर म्युजिक भिडिओ नगर्ने निधो गरेका हुन् ।

    यतिबेला पल, पूजा र सुदर्शन फिल्मको प्रचारप्रसारमा दौडधुप गरिरहेका भेटिन्छन् । बुधबार फिल्मले थारु र नेवारी भाषामा बनेका दुई प्रबद्र्धनमूलक भिडिओ लन्च गरे जहाँ पल र पूजा पनि पुगेका थिए ।

  • नेपाली ट्रान्सजेन्डर मोडल अञ्जलीद्वारा न्यूयोर्क फेसन वीकमा डेब्यु

    नेपाली ट्रान्सजेन्डर मोडल अञ्जलीद्वारा न्यूयोर्क फेसन वीकमा डेब्यु

    काठमाडौं । नेपालकी पहिलो ट्रान्सजेन्डर मोडल अञ्जली लामाले विश्वचर्चित न्यूयोर्क फेसन विकमा डेब्यु गरेकी छिन् । नेपाली फेसन डिजाइनर प्रबल गुरुङले आगामी फल-विन्टर २०२२ को लागि तयार पारेको पहिरनमा अञ्जलीले ¥याम्प नापेकी हुन् ।

    विश्वकै प्रतिष्ठित मानिने न्यूयोर्क फेसन विकको रनवेमा हिँडेपछि अञ्जलीले आफ्नो सपना पुरा भएको बताएकी छिन् । ‘अन्ततः मेरो सपना पुरा भएको छ’ इन्स्टाग्राममा अञ्जली लेख्छिन्, ‘म यसका लागि प्रबल गुरुङलाई धन्यवाद भन्न चाहन्छु ।’

    संसारभरका सुपरमोडलको सपना न्यूयोर्क फेसन रनवेमा हिँड्नु हुन्छ । सन् २०१७ मा भारतको ल्याक्मे फेसन विकबाट फेसन करिअर थालेकी अञ्जली प्रबलको डिजाइनमा आकर्षक देखिएकी छिन् । काठमाडौं बानेश्वरका प्रबलले अमेरिकी फस्टलेडी मिसेल ओबामादेखि थुप्रै बलिउड र हलिउड सेलेव्रिटीलाई आफ्नो डिजाइनमा सजाइसकेका छन् ।

    अञ्जलीलाई लिएर नेपालमा फिल्म पनि निर्माण भएको छ । नुवाकोटमा जन्मिएकी अञ्जलीले लिंग परिवर्तन गरेर सुपरमोडलतर्फको यात्रा थालेकी थिइन् । उनले लिंग परिवर्तन गर्नुलाई खुशिको क्षण भएको बताएकी थिइन् । गुरुङको डिजाइनमा यसअघि नेपालकी वर्षा थापा प्रस्तुत हुन्थिन् भने यसपटक अञ्जलीले मौका पाएकी छिन् ।

  • मिस वर्ल्डको अन्तिम १२ को लागि प्रतिस्पर्धा गर्दै नम्रता, डिजिटल मिडिया च्यालेन्ज आजदेखि

    मिस वर्ल्डको अन्तिम १२ को लागि प्रतिस्पर्धा गर्दै नम्रता, डिजिटल मिडिया च्यालेन्ज आजदेखि

    काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को अन्तिम १२ मा प्रवेश गर्न सुन्दरीबीच प्रतिस्पर्धा सुरु भएको छ । यो प्रतिस्पर्धामा मिस नेपाल नम्रता श्रेष्ठ पनि सहभागि छिन् ।

    मिस वर्ल्डले बिहिवार विज्ञप्ति जारी गर्दै मिस वर्ल्ड डिजिटल मिडिया च्यालेन्ज सुरु भएको जनाएको छ । यो विधामा उत्कृष्ट हुने सुन्दरीले सीधै अन्तिम १२ मा प्रवेश पाउनेछन् ।

    नम्रतालाई जिताउन मिस वर्ल्डको वेबसाइटमा रहेको पेजलाई सेयर र पोस्ट गर्नुपर्ने हुन्छ । नम्रता यसअघि नै ७० औं विश्व वर्ल्ड प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा विजेता बन्दै अन्तिम ३० मा प्रवेश गरिसकेकी छिन् ।

    ब्यूटी अफ प्रपोज विधामा उनी उत्कृष्ट १० बनेकी छिन् भने मल्टिमिडिया विधामा उत्कृष्ट १० बनेकी छिन् । कोरोनाभाइरस महामारीको कारण यसअघि ग्रान्ड फिनाली स्थगित गरेको मिस वर्ल्डले ४० जना प्रतिस्पर्धीलाई फास्ट ट्रयाक विधिमार्फत छनौट गर्दै अमेरिका बोलाएको छ ।

    फिनालीमा भाग लिन नम्रतासहितका ४० जना प्रतिस्पर्धी मार्च १२ मा अमेरिकी राज्य पुएर्तो रिकोमा पुग्नुपर्नेछ । मार्च १७ मा ग्रान्ड फिनाली हुनेछ । मार्च १७ मै ब्यूटी विथ प्रपोजको इभेन्ट हुनेछ भने मार्च १८ मा नम्रता स्वदेश फर्कनेछिन् ।

  • ‘झिल्के’ गीत लिएर आए गायक डिजराज पौडेल

    ‘झिल्के’ गीत लिएर आए गायक डिजराज पौडेल

    काठमाडौं । गायक डिजराज पौडेल नयाँ गीतसहित दर्शक-स्रोतामाझ आएका छन् । उनले गाएको ‘झिल्केले म्वाई खाला’ बोलको गीतको भिडिओ हालै युट्यूवमा सार्वजनिक गरिएको हो । यो गीत आफैंमा ‘झिल्के’ खालको छ ।

    ‘तिमी आउने बाटोमा फुल रोपि दिएँ..’ बोलको गीतबाट ख्यातिकमाएका डिजराज मेला-महोत्सव तथा स्टेज कार्यक्रमहरुमा खोजिने नाम हुन् । अहिले ल्याएको गीत पनि यस्तै कार्यक्रमलाई लक्ष्यित गरिएको देखिन्छ । गीतका शब्दहरुमा मौलिकता छ भने संगीतमा पनि केही फरक प्रयोग गरिएको छ ।

    यो गीतमा सानु तिवारीका शब्दहरु छन् भने कम्पोज गायक स्वयम्ले गरेका छन् । कपिल कार्कीले निर्देशन गरेको गीतको भिडिओ सुन्दर छ । भिडियोमा सिम्रन कार्की, आयान राईका साथमा गायक पौडेल स्वयम्ले अभिनय गरेका छन् । भिडिओले प्रारम्भिकरुपमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

  • ‘जाम भो माइली’पछि प्रकाश दूतराजले ल्याए नयाँ गीत ‘सानु दाई’ (भिडिओ)

    ‘जाम भो माइली’पछि प्रकाश दूतराजले ल्याए नयाँ गीत ‘सानु दाई’ (भिडिओ)

    काठमाडौं । ‘जाम भो माइली’ हिट भएपछि गायक प्रकाश सपुतको नयाँ गीत ‘सानु दाई’ इन्टरनेट रिलिज भएको छ । प्रकाशको आफ्नै संगीत रहेको गीतमा प्रकाश स्वयम फिचर्ड छन् भने गायत्री राना मगरको स्वर समावेश छ ।

    शब्द पनि प्रकाश स्वयमले लेखेका हुन् । प्रकाश धमलाको निर्देशन रहेको भिडिओमा प्रकाश र अनुषा राई फिचर्ड छन् । गायिका मगरले यसअघि प्रकाशकै स्वरमा रहेको गीत ‘बैनी झ्यालैमा’को फिमेल भर्सनमा स्वर दिएकी छिन् ।

    मौलिक सिर्जना संगीतको कारणले चर्चित यी म्याग्देली गायकले पनि यो नयाँ गीतमा मौलिकतालाई पस्किएका छन् । भावुक र विरह लयमा बुनिएको गीतमा ग्रामिण प्रेमकथालाई चित्रण गरिएको छ ।

    ‘जाम भो माइली’जसरी आक्रामक भ्यूज प्राप्त नभएपनि यो गीतले क्रमिकरुपमा युटयुवमा भ्यूज बटुलिरहेको छ । हेर्नूस गीत :

  • २५ वर्षपछि कमब्याक हुँदै धीरज राई : ‘लुकी लुकी आँखा तिमी’मा आँचलसँग सहकार्य

    २५ वर्षपछि कमब्याक हुँदै धीरज राई : ‘लुकी लुकी आँखा तिमी’मा आँचलसँग सहकार्य

    काठमाडौं । कुनैबेलाका ब्लकबस्टर पपगायक धीरज राई सांगीतिक कमब्याकको तयारीमा छन् । केही वर्षअघिसम्म ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाएका गायक राई अहिले भने एक नयाँ गीत लन्च गर्ने तयारीमा छन् ।

    उनको हिट गीत ‘लुकी लुकी आँखा तिमी’ अहिले पनि श्रोताको कानमा गुञ्जिने गरेको छ । गीत रिलिजको २५ वर्षपछि धीरजले अहिले यसको भिडिओ तयार पारेका छन् ।

    ट्री इन्टरटेनमेन्टको निर्माणमा तयार भएको यो म्युजिक भिडिओ छायांकन सकिएको छ । माइकल चन्दले निर्देशन गरेको यो भिडिओमा आँचल शर्मा, राज र डेलविस समेत फिचर्ड छन् ।

    साढे दुई दशकपछि यो गीतलाई ल्याउनुपर्ने कारणबारे धीरजले भने, ‘नेपाल टेलिभिजनमा खिचिएको धमिलो आवाज पनि दर्शकको मनमा अझै छ । अडियोमा परिवर्तन नगरि हामीले भिडिओ सुटिङ गरेका छौं । अहिलेको पुस्ताको दर्शकले यसलाई रुचाउने आशा छ ।’

    इतिहास बोकेको गीतमा काम गर्न पाउँदा आफू गौरवान्तित महसुस गरेको आँचलले बताइन् । निमांण कम्पनीले यो गीतलाई दुई सातापछि इन्टरनेट रिलिजको तयारी गरेको छ ।

  • प्रचण्ड निवासमा कलाकार, सन्दीप भन्छन् : पार्टी प्रवेश गर्न लागेको हैन

    प्रचण्ड निवासमा कलाकार, सन्दीप भन्छन् : पार्टी प्रवेश गर्न लागेको हैन

    काठमाडौं । एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दौडधुपमा व्यस्त माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बिहीवार कलाकारलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कलाकार खुमलटार पुगेका थिए ।

    गायक राजेशपायल राई, चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए । अध्यक्ष प्रचण्डले कलाकारसँग एक्लाएक्लै भेट गरेको उनकी स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।

    आफूहरु प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेको अभिनेता समेत रहेका क्षेत्रीले जानकारी दिए । ‘पार्टी प्रवेश गर्न हैन, सीता दाहालको अवस्था बुझ्न हामी गएका हौं । त्यही क्रममा अध्यक्षज्यूसँग पनि क्याजुअल भेटघाट भएको हो’ उनले भने ।

    प्रचण्डसँगको भेटमा कलाकारहरुले खुलेर आफ्नो कुराहरु राखेको जानकारी स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छिन् । प्रचण्डले बेला-बेलामा आफू निकट कलाकर्मीसँग खुलमटारमा भेटघाट गर्ने गरेका छन् ।

  • ‘लप्पनछप्पन’ भर्सेस ‘ब्याटम्यान’ : नेपाली बक्सअफिसमा हेभिवेट भीडन्त तय

    ‘लप्पनछप्पन’ भर्सेस ‘ब्याटम्यान’ : नेपाली बक्सअफिसमा हेभिवेट भीडन्त तय

    काठमाडौं । दुई प्रतीक्षित फिल्महरु ‘लप्पन छप्पन २’ र हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’बीच नेपाली बक्सअफिसमा प्रतिस्पर्धा हुने भएको छ ।

    हलिउड स्टुडियो वार्नर ब्रोजको नेपाल वितरण अधिकार लिएपछि पहिलोपटक एप्पल इन्टरटेनमेन्टले ‘ब्याटम्यान’ फिल्मलाई रिलिज गर्न लागेको हो ।

    एप्पलले सूचना जारी गर्दै रोबर्ट प्याटिन्सन स्टारर फिल्मलाई फागुन १९ मा रिलिज गर्ने जनाएको छ । उक्त दिन बिहिबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा समेत छ ।

    सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ले चाहिँ फागुन २० लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । यद्यपी, यो फिल्म बिहिबार नै प्रि-पोन्ड हुने सम्भावना रहेको बताइन्छ ।

    ब्याटम्यान र लप्पन छप्पन २ दुबै एक्सन जानराका फिल्म भएकाले यो विधा रुचाउने दर्शकलाई प्रिय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । बुधबार रिलिज भएको लप्पन छप्पन २ ट्रेलरले सामाजिक संजालमा राम्रो प्रतिक्रिया पनि बटुलेको छ ।

  • फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन

    फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन

    काठमाडौं । बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन भएको छ । उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उनले निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ ।

    एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो । बिहीबार बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

    सन् २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका आचार्यको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ बन्यो । यो फिल्ममा राजवल्लभ कोइराला, गरिमा पन्त र युना उप्रेतीले अभिनय गरेका छन् ।

    फिल्मअघि आचार्यले नेपाल टेलिभिजनको लागि ‘स्मृति’ नामक टेलिसिरियल निर्देशन समेत गरेका थिए । बाल्यकालदेखि नै उनका साथी रहेका गोपिकृष्ण मूभिजका प्रदीप दाहालले निर्देशक आचार्यलाई असल मानिस भएको बताए ।

    उनका एक श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् । आचार्यको निधनमा निर्देशक समाजले १३ औं दिन कार्यक्रम आयोजना गर्ने महासचिव जनकदीप पराजुलीले जनाए ।

  • सलमान खान बैशाख ३ गते काठमाडौं आउने, दशरथ रंगशालामा कार्यक्रमको तयारी

    सलमान खान बैशाख ३ गते काठमाडौं आउने, दशरथ रंगशालामा कार्यक्रमको तयारी

    काठमाडौं । एक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानसहितको टोली काठमाडौं आउने भएको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई बैशाख ३ गते काठमाडौं ल्याउन लागेको हो ।

    ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमानसहितका भारतीय कलाकारलाई ल्याउन लागिएको हो ।

    ती कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।

    यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौताअनुसार अब भने सलमान आउने पक्का भएको हो ।

    सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।

  • पूर्वपति छविले दिए रेखालाई बिहेको बधाई, शिल्पासँगको डिभोर्स अझै अदालतमा

    पूर्वपति छविले दिए रेखालाई बिहेको बधाई, शिल्पासँगको डिभोर्स अझै अदालतमा

    काठमाडौं । फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध टुंगिएको ९ वर्षपछि रेखा थापाले दोस्रो बिहे गरिन् । पर्यटन व्यवसायी बलराम शाहीसँग गत माघ ११ गते रेखाले कानूनी बिहे गरेकी थिइन् ।

    तर, पूर्वपत्नीप्रतिको छविको प्रेम भने अहिले पनि निरन्तर रहेको बुझ्न सकिन्छ । रेखाको बिहेको खबर सार्वजनिक भएपछि छविले बधाई दिँदै उनको वैवाहिक जीवनको कामना गरेका छन् ।

    नेपाल प्रेससँग उनले भने, ‘रेखाजीको बिहे भएको खबर सुनेँ । यसप्रति म खुशि छु र उहाँलाई वैवाहिक जीवनको बधाई र शुभकामना दिन चाहन्छु ।’ छविले निर्माण गरेको फिल्म ‘हिरो’बाटै रेखाले अभिनय करिअर थालेकी थिइन् ।

    बाघ निर्माताको रुपमा चिनिएका छवि र रेखाबीच सोही फिल्मको छायांकनदेखि नै अफेयर भएको बताइन्छ । तर, बिहे भएको एक दशकपनि यी दुईजनाको सम्बन्ध टिकेन ।

    शिल्पासँग अझै हुन सकेन डिभोर्स

    छवि र अभिनेत्री शिल्पा पोखरेलबीच अझै पनि कानूनीरुपमा सम्बन्ध विच्छेद हुन सकेको छैन । सम्पत्ति भागबण्डामा कुरा नमिलेपछि यी दुईजनाको मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमै चलिरहेको छ ।

    कोरोनाको लकडाउन सुरु हुनुअघि शिल्पाले छविविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । तर, अहिले पनि कानूनी प्रक्रिया अघि बढिरहेकाले डिभोर्स कहिले हुने हो कुनै टुंगो छैन ।

  • हलिउडको ‘डक्टर स्ट्रेन्ज २’ बैशाख २३ गते रिलिज हुँदै : ट्रेलरमा नेपालको दृश्य पनि

    हलिउडको ‘डक्टर स्ट्रेन्ज २’ बैशाख २३ गते रिलिज हुँदै : ट्रेलरमा नेपालको दृश्य पनि

    काठमाडौं । आगामी बैशाख २३ गते नेपाली बक्सअफिसमा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को दोस्रो श्रृंखला रिलिज हुने भएको छ । नेपालमा प्रतिक्षित मानिएको फिल्मले ट्रेलर र पोस्टर लन्च गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

    बेनेडिक्ट कम्बरब्याच स्टारर फिल्मले ट्रेलरमा नेपालमा छायांकन गरिएका केही दृश्यलाई पनि समावेश गरेको छ । पाटन दरबार स्क्वायर र हिमाली क्षेत्रलाई भीएफएक्ससहित प्रस्तुत गरिएको छ ।

    डक्टर स्ट्रेन्जको पहिलो श्रृंखला काठमाडौं र ललितपुरमा समेत छायांकन भएको थियो । कथावस्तुको निरन्तरतास्वरुप पहिलो भागका नेपाली दृश्यलाई समेत यसमा कैद गरिएको हो ।

    अलौकिक चमत्कारको खोजी गर्दै डक्टर स्ट्रेन्ज पात्रले गरेको नेपालको भ्रमण र टाइम ट्राभल मेसिनमार्फत उसको यात्रा यहाँ प्रस्तुत गरिएको छ । डक्टर स्ट्रेन्ज सुटिङको लागि अभिनेता कम्बरब्याचसहितको टोली नेपालमा एकसाता रहेको थियो ।

    रोचक कुरा के छ भने, उक्त मितिमा प्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ४’ समेत रिलिज तयारीमा छ । रामबाबु गुरुङ निर्देशित फिल्मले अहिलेसम्म उक्त डेटलाई कायमै राखेको छ । मार्भल स्टुडियोको बेनेडिक्ट कम्बरब्याच स्टारर ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ रिलिज हुने भएपछि उक्त मितिमा बक्सअफिसमा व्यवसायिक भीडन्त हुने अनुमान छ ।

    डक्टर स्ट्रेन्ज सोही मितिमा भारतमा समेत प्रदर्शन हुनेछ । नेपालमा कोरोनाको तेस्रो लहरअघि रिलिज भएको स्पाइडरम्यानमा पनि कास्ट भएको डक्टर स्ट्रेन्ज पात्रले यसको हाइपलाई निकै वृद्धि गरेको थियो । डक्टर स्ट्रेन्जको पहिलो श्रृंखला नेपालमा समेत रिलिज भएको थियो भने बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

  • शिल्पा र अकेशाको ‘लाइफ इन एलए’ बैशाख ९ गते : यस्तो छ अफिसियल पोस्टर

    शिल्पा र अकेशाको ‘लाइफ इन एलए’ बैशाख ९ गते : यस्तो छ अफिसियल पोस्टर

    काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा भएको छ । विभिन्न अमेरिकी सहरमा रिलिज भैसकेको फिल्म नेपालमा नेपालमा आगामी बैशाख ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

    फिल्मले प्रदर्शन मितिसहितको अफिसियल पोस्टर बुधबार लन्च गरेको छ ।

    फिल्ममा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसहित अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

    ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

    भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण कम्पनीले विज्ञप्ति जारी गर्दै अमेरिकाभन्दा पहिले नेपालमा रिलिजको योजना भएतापनि कोरोनाभाइरस महामारीले ढिलो भएको जनाएको छ । दर्शकले अमेरिकामा समेत फिल्मलाई रुचाएको फिल्म निर्माताको दावी छ ।

  • राजा बन्ने सौगातको चाहना : ‘लप्पन छप्पन २’ ट्रेलरमा ग्याङस्टरदेखि क्राइमसम्मको कथा

    राजा बन्ने सौगातको चाहना : ‘लप्पन छप्पन २’ ट्रेलरमा ग्याङस्टरदेखि क्राइमसम्मको कथा

    काठमाडौं । फागुन २० गतेदेखि प्रदर्शनमा आउन लागेको ग्याङस्टर फिल्म ‘लप्पन छप्पन २’ ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ । एक्सन-प्याक्ड ट्रेलरमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा फिचर्ड छन् ।

    नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ ।

    सबै पात्रहरु ग्याङस्टर भएपनि अर्पणलाई चाहिँ समलिंगी पुरुषको रुपमा प्रस्तुत गरिएको छ । सन् २०१७ को फिल्म ‘लप्पन छप्पन’कै सिक्वेलको रुपमा यो फिल्म रिलिज हुन लागेको हो ।

    हेर्नूस ट्रेलर :

  • सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ)

    सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ)

    काठमाडौं । ‘घनघस्याको उकालो काट्दा’ निबन्धका सर्जक तारानाथ शर्माले परलोकको उकालो काटे ८७ वर्षको उमेरमा । कक्षा १० को नेपाली पुस्तकको यही निबन्धमार्फत् साहित्यप्रेमी, भाषाअनुरागीबीच परिचित बनेका शर्मा अब भने सम्झनाहरूमा मात्रै बाँच्नेछन् । हामीसँग उनैका संजनाहरूमार्फत् मात्रै संवाद गर्नेछन् ।

    मंगलबार पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

    यही बीचमा मुकारुङले सम्झिए, ०४९/५० सालतिर पहिलो भेट भएको थियो शर्मासँग । शर्माले नै मुकारुङको पहिलो कविताकृति ‘देश खोज्दै जाँदा’मा भूमिका लेखिदिएका थिए, त्यो पनि हस्तलिखित भूमिका । त्यही भूमिका लिएर मुकारुङ बागबजारको टाइपराइटिङको अफिस पुगेका थिए र शर्माको भूमिका छापिएको थियो ।

    मुकारुङ झण्डै तीन दशकअघिको शर्मासँगको त्यो भेट यसरी सम्झन्छन्, ‘युवापुस्तालाई असाध्यै उत्प्रेरित गर्ने, अभिभावकजस्तो भूमिका निर्वाह गर्ने स्वभावको हुनुहुन्थ्यो उहाँ । मैले पहिलो भेटमै एउटा अभिभाकत्व महसुस गरेको थिएँ उहाँबाट ।’

    शर्मा उनै हुन्, जसले नेपाली साहित्यमा मौलिक भाषाको प्रयोगको अर्थ खोजे । ०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज पन्त, बल्लभमनि दाहालले सुरू गरेको झर्रोवादी आन्दोलन नेपाली साहित्यमा भएका प्रमुख आन्दोलनमध्ये एउटा आन्दोलनको रूपमा स्थापित छ । जनताले बुझ्ने, जनताले बोल्ने र उनीहरूको जीवनसँग नजिक रहेको भाषालाई साहित्यमा प्रयोग गर्नुपर्छ भनेर सुरू भएको आन्दोलन अहिले पनि चर्चाको विषय बन्ने गर्छ ।

    पछिल्लो समय नेपाल फिरेर सरस्वतीनगरस्थित आफ्नै निवासमा बसिरहेका शर्मा मंगलबार आठ बजेर २० मिनेट जाँदा बिते ।

    बेलायत-अमेरिका-नेपाल बसेका शर्मा अमेरिकाबाट फिरेपछि भने नेपालमै बस्दै आएका थिए । सात महिना मात्रै भएको थियो, नेपाल एकेडेमीले उनलाई आजीवन सदस्या बनाएको थियो ।

    एकेडेमीका कूलपति गंगाप्रसाद उप्रेतीका अनुसार शर्मालाई पाँच वर्षअघि नै आजीवन सदस्य बनाउनेबारे छलफल भएको थियो, तर शर्माको अमेरिका बसाइका कारण यत्तिकै रोकिएको थियो । र, शर्मा नेपाल आएपछि भने आजीवन सदस्यता दिइएको थियो ।

    पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

    बुड्यौली र स्वास्थ्यका कारण शर्मा अलि विरामी भइरहन्थे । विस्मृतिको रोगबाट ग्रस्त थिए । रोगसँग जुधिरहँदाखेरि नै शर्माले देहत्याग गरे । तर, शर्मा नरहे पनि शर्माको सृजना र योगदानले नेपाली साहित्य र भाषालाई उँचो बनाइरहने र नेपाली भाषा रहेसम्म सम्झिरहनुपर्ने वृहत् व्यक्तित्व भएको मुकारुङको भनाइ छ ।

    भाषाविद्, नियात्राकार, निबन्धकार र समालोचकको परिचय बनाएका शर्मा विशेषतः नियात्राकारको रूपमा सुपरिचित थिए । उनकै नियात्रा संग्रह ‘बेलायततिर बरालिँदा’ले ०२६ सालको मदन पुरस्कार पनि जितेको थियो । शर्माको लेखनीमा प्रयोग हुने मिहीन र मिठासपूर्ण भाषा शैली मात्रै नभएर उनले डिजाइन गरेका पाठ्यपुस्तकहरू पनि उत्तिकै समय सान्दर्भिक रहेको साहित्यकारहरूले बताउने गरेका छन् ।

    मुकारुङ भन्छन्, ‘उहाँ समालोचना र निबन्धको क्षेत्रमा एउटा कालखण्ड नै नेतृत्व गरेको लेखक हो । आज हामीले चर्चा गर्ने रिमाल, मैनाली जस्ता प्रतीभालाई नेपाली साहित्यमा परिचित गराउने समालोचक हो उहाँ ।’

    कुलपति उप्रेतीका अनुसार नेपाली साहित्यको मात्रै नभएर नेपाली भाषाको पनि विशिष्ट प्रतीभा हुन् शर्मा । भन्छन्, ‘उहाँ नेपाली भाषाको आधिकारिक भाषाविद् हो । झर्रोवादी आन्दोलनमा विदेशी भाषाले हाम्रो नेपाली भाषा बिगार्छ भनेर उहाँहरू लाग्नुभएको थियो ।’

    प्राडा. गोविन्द पोखरेल थप्छन्, ‘०१७ सालसम्म उहाँका प्रगतिवादी सृजना थिए । त्यसपछि पंचायतकालको जटिल परिवेशसँगै अलिकति वैचारिक हिसाबले पलायन हुनुभयो । तर, उहाँको लेखनी भने निरन्तर नै रह्यो । र, उत्कृष्ट नियात्रा, निबन्ध, समालाोचना हामीलाई दिनुभयो ।’

    शर्माका ‘उहाँका नमस्ते’ निबन्धसंग्रह, ‘घोत्ल्याइँहरू’ समालोचना संग्रह, ‘बेलायततिर बँरालिँदा’ नियात्रा संग्रह लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् । आख्यान, कविता, संस्मरण, समालोचना र नियात्रा लगायत थुप्रो विधामा कलम चलाएका शर्मा इलाममा जन्मिएका थिए । उनका पत्नी शान्ता र दुई छोरा छन् ।

    भौतिक शरीर नष्ट भएपनि आफ्ना कालजयी सिर्जनामार्फत नेपाली साहित्य आकाशमा सधैँ तारा झैं चम्किरहने छन् तारानाथ शर्मा ।

  • बप्पी लहिरीको नेपाल सम्बन्ध : देशप्रेमी गीतदेखि सद्भावना दूतसम्म

    बप्पी लहिरीको नेपाल सम्बन्ध : देशप्रेमी गीतदेखि सद्भावना दूतसम्म

    काठमाडौं । ६९ वर्षको उमेरमा बुधबार निधन भएका बलिउड गायक तथा संगीतकार बप्पी लहिरी नेपालमा समेत उत्तिकै चर्चित छन् । नेपाली सेलेव्रिटी र दर्शकमाझ उनको क्रेज अहिले पनि छ ।

    बलिउड संगीतमा डिस्को संगीतको थालनी गर्ने श्रेय बोकेका लहिरीलाई पछ्याउने नेपाली कलाकार प्रशस्त छैन । तीमध्येका एक हुन् नायक भुवन केसी । लहिरीको निधनमा नायक केसीले शोक व्यक्त समेत गरेका छन् ।

    कमैलाई थाहा छ, लहिरीले नेपाली देशप्रेमले ओतप्रोत नेपाली गीत ‘फरक छ भाषा’ समेत गाएका थिए । लहिरीकै आवाज, निर्मल शर्माको निर्देशन र बीबी अनुरागीको संगीतमा तयार भएको उक्त गीत सन् २०२० को फेव्रुअरी ९ मा रिलिज भएको थियो ।

    साथै, संगीतकार लहिरीलाई राष्ट्रसंघीय नियोग युनेस्कोले सन् २०१४ फेव्रुअरी २१ मा नेपालको लागि सद्भावना दूतमा नियुक्त गरेको थियो । नियुक्त भएपछि लहिरीले नेपाली जनताप्रति आफ्नो माया रहेको र दूत नियुक्त भएकोमा खुशि जनाएका थिए ।

    हेर्नूस लहिरीले गाएको नेपाली गीत :