काठमाडौं । नेपाली फिल्म क्षेत्रमा ‘चकलेटी नायक’ को उपमा पाएका नायक हुन, आर्यन सिग्देल । केही वर्ष अगाडि उनी नम्बर एक रोमान्टिक हिरोका रूपमा स्थापित थिए ।
प्रेम कथामा आधारित चलचित्र भन्नासाथ निर्माता निर्देशको रोजाइमा सबैभन्दा अगाडि आउँथे आर्यन । दर्शकले पनि उनलाई ‘लभर ब्वाइ’ को रूपमा निकै रुचाए । प्राय रोमान्टिक चलचित्रमा देखिने उनको विशेषतः महिला फ्यानहरू धेरै थिए । उनको अभिनय र लुक्समा महिला फ्यानहरू क्रेजी नै थिए ।
आर्यनको वास्तविक नाम हरिस हो । तर रंगकर्ममा आएपछि उनी ‘आर्यन’ नामले चिनिए । सडक नाटक र टेलिसिरियल हुँदै ठूलो पर्दासम्मको यात्रा तय गरेका आर्यनको पहिलो चलचित्र थियो, ‘किस्मत’ जुन छवि ओझाको ब्यानरमा निर्माण भएको हो । त्यसबेला चलचित्र क्षेत्रमा छवि ‘बाघ निर्माता’ को रूपमा परिचित थिए । यो चलचित्रमा छविले आर्यनलाई उनको चकलेटी लुक्सबाटै प्रभावित भएर अफर गरेका थिए ।
पहिलो चलचित्रमै त्यस बेलाकी ‘लाइमलाइट’ नायिका रेखा थापासँग जोडी बाँधेका आर्यनले त्यसपछि कहिले पछाडि फर्केर हेर्नु परेन । पहिलो फिल्मै हिट भएपछि उनी मेकर्सको नजरमा पर्न थाले । अनि काम गर्दै जाँदा कैयौँ दर्शकको नजरमा परे । आर्यन हेर्दाहेर्दै ६० को दशकको हिट नायक बने । त्यसबेला उनको अभिनय र लुक्सको मात्र नभई उनले लिने पारिश्रमिक पनि समाचारका हेडलाइन बन्थ्यो । उनलाई महँगा हिरोको सूचीमा पहिलो स्थानमा राख्ने गरिन्थ्यो ।
पहिलो फिल्म गरेपछि आर्यनले डेढ वर्ष चलचित्रबाट ब्रेक लिएका थिए । यही ब्रेकको समयमा उनको ‘लाजको लाली’ बोलको म्युजिक भिडियो सार्वजनिक भयो, जसले उनलाई ‘चकलेटी हिरो’ बनाउन थप मलजल गर्यो । त्यसपछि उनी अभिनीत चलचित्र ‘मौसम’ र ‘मेरो एउटा साथी छ’ रिलिज भयो । यी दुवै चलचित्र बक्स अफिसमा हिट भए । चलचित्र र म्युजिक भिडियो दुवैमा हिट भएपछि उनको चर्चा चौगुणा भयो ।
१० हजार पारिश्रमिक लिएर पहिलो चलचित्र ‘किस्मत’ गरेका आर्यनले त्यसपश्चात् एउटै चलचित्रबाट १० लाख लिन थाले । त्यसबेला उनी सबैभन्दा महँगा नायकमा दरिएका थिए । ब्याक टु ब्याक सफलता हासिल गरेका आर्यनले त्यसपछि हिफाजत, फस्र्ट लभ, आइएम सरी, नोभेम्बर रेन जस्ता दर्जनौँ प्रेमकथामा आधारित चलचित्र गरे जसले उनलाई ‘लभर ब्वाइ’, ‘रोमान्टिक हिरो’, ‘चकलेटी हिरो’ आदि ट्यागहरु दिलाए ।
सन् २००७ मा प्रदर्शनमा आएको ‘किस्मत’ देखि २०१४ मा प्रदर्शनमा आएको ‘नोभेम्बर रेन’ सम्म आर्यनको स्टारडम उत्कर्षमा थियो । थोरै फिल्म गर्ने भएकाले फ्यानहरू उनको फिल्म कुरेर बस्थे । तर ‘नोभेम्बर रेनपछि भने उनको करियरमा ओरालो यात्रा सुरु भयो । २०१४ देखि २०१५ को बीचमा एकै वर्षको अन्तरालमा आर्यनका ६ चलचित्रहरू प्रदर्शनमा आए । तर यी मध्ये कुनै चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् ।
‘चकलेटी ब्वाइ’ को करियर यसपछि भने केही सेलाउँदै गयो । त्यसयता, २०२४ अर्थात् नेपाली मिति २०८१ सम्म आइपुग्दा आर्यनका १० वटा जति चलचित्रहरू प्रदर्शनमा आए, तर दुई–तीनवटा बाहेक कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकेन ।
बिचमा केही समय उनले चलचित्र क्षेत्रबाट ग्याप पनि लिए । उनको चर्चा शून्य प्राय भयो । तर, एक वर्षदेखि आर्यन फेरि बौरिएका छन् । तर, पहिलेभन्दा फरक रूपमा । अहिले उनी आफ्नो चकलेटी हिरोको छविलाई थाँती राख्दै एउटा अभिनेताको नयाँ छवि बनाउने क्रममा छन् । उनको करिअरमा नयाँ अध्याय सुरु भएको छ भन्दा फरक पर्दैन । आर्यन भटाभट नयाँ चलचित्र साइन गरिरहेका छन्, तर कुनैमा पनि उनी सोलो हिरो छैनन्
एक वर्ष अगाडी आएको चलचित्र ‘पुजार सार्की’ ले उनको करिअरमा नयाँ मोड ल्याएको हो भन्दा फरक नपला । पुजार सार्कीमा उनी एक पुजारीको नौलो भूमिकामा देखिए र सफल पनि भए । दर्शकले उनको कामलाई रुचाए भने मेकर्स पनि उनको कामबाट सन्तुष्ट भए । जसको परिणाम स्वरूप अहिले उनलाई सोही जनराका चलचित्रहरूबाट अफर भइरहेका छन् ।
‘लभ स्टोरी’ चलचित्रकै लागि जन्मेको हिरो मानिने आर्यनको अबको बाटो के होला त ? उनलाई दर्शकले कस्ता चलचित्रमा देख्नेछन् ? लभर व्वाइबाट क्यारेक्टर आर्टिस्ट बन्नु उनको चाहना हो कि बाध्यता ? यिनै जिज्ञासा र प्रश्नमा आधारित रहेर अभिनेता सिग्देलसँग गरिएको कुराकानी:
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले मेरा दुई चलचित्र ‘महाभोज’ र ‘के घर के डेरा’को प्रोमोसनमा व्यस्त छु । यसबाहेक हाललाई अरू केही प्रोजेक्ट गरेको छैन ।
चलचित्रमा केही समय हराउनुभयो, फेरि सक्रिय देखिन थाल्नुभएको छ । बीचमा किन कम गर्नुभएको हो ?
बिचमा लकडाउन भयो । त्यतिबेला प्राय सबैको ग्यापजस्तो भएको थियो । लकडाउनपछि पनि फिल्म त आएको हो, तर सोचेजस्तो आएन । त्यसैले गर्नुको औचित्य पनि भएन । समय र परिवेश अनुसार दर्शकले रुचाउने प्रकारका चलचित्रहरू बल्ल आइरहेका छन् ।
विगतमा चकलेटी हिरोको छवि बनाउनुभएको थियो । अहिले फरक भूमिकाहरूमा आउन थाल्नुभएको छ । यो तपाईँकै चाहना हो कि निर्माता निर्देशकको रुचि ?
वास्तवमा साँच्चै भन्ने हो भने मलाई त्यो बेला पनि भिन्न पात्रमा काम गर्न मन थियो । मलाई लभ स्टोरी चलचित्र भन्दा भिन्न–भिन्न जनरामा बनेको चलचित्र गर्नु थियो । तर त्यो बेला त्यस्तो चलचित्रहरूमा मलाई अफर आएन । मेरो छवि नै रोमान्टिक हिरो भएकाले र मलाई दर्शकले पनि रोमान्टिक पात्रमै बढी रुचाउने भएकाले, मेकर्सहरुले त्यस्तै प्रकारको चलचित्रहरूमा मात्र मलाई अफर गर्नु हुन्थ्यो । अहिले त्यो परिस्थिति ब्रेक भएको छ ।
‘पुजार सार्की’ पछि मेकर्सहरुमा आर्यनले यस्तो पनि पात्र गर्दो रहेछ भन्ने परेको छ । दर्शकले पनि मेरो कामलाई स्विकार्नु भएको छ । मेकर्स र दर्शकले स्विकार्नु भएपछि मलाई पनि काम गर्न सजिलो भयो । मेकर्सहरुले अहिले मलाई भिन्न–भिन्न जनराको लागि अफर गरिरहनु भएको छ । त्यही भएर म पनि केही नसोची सक्रिय भएर काम गरिरहेको छु ।
त्यसो भए अब तपाईँलाई रोमान्टिक भूमिकामा देख्न पाइन्छ कि पाइँदैन ?
पक्कै पाइन्छ । अहिले चलचित्रको कथावस्तुले यो प्रकारको पात्र मागिरहेको छ, त्यसैले यो भूमिकाहरू निभाइरहेको छु । भोलि अर्को चलचित्रले फेरि रोमान्टिक पात्र माग्ला । त्यो बेला म फेरि त्यही अनुसार पात्रमा ढल्छु ।
पुजार सार्कीबाट तपाईँको करिअरमा नयाँ ट्वीस्ट आएको हो ?
पुजार सार्कीले मेरो पहिचानमा थप निखारता ल्याइदिएको हो, यो कुरालाई म एप्रिसियट गर्छु । यही चलचित्रबाट दर्शक र मेकर्सले मेरो भिन्न रूप देख्न पाउनुभयो । यसपछि नै यो प्रकारका चलचित्रहरूमा मलाई अफर आउन थाल्यो । पुजार सार्की मेरो करियरको नयाँ ट्वीस्ट भन्दा फरक पर्दैन ।
आजकाल तपाईँलाई आजकाल सोलो हिरोको अफर आउन छाडेको हो ?
हैन। अहिले प्राय चलचित्र र कथावस्तु नै सामूहिक हिसाबको बन्न थालेको छ । फेमिली ओरियन्टेड चलचित्र बनिरहँदा कलाकार धेरै हुनु त स्वभाविक नै भइहाल्यो । त्यस्तो चलचित्रहरूमा मैले सोलो गर्छु भन्न मिल्दैन । सामूहिक रूपमा काम गर्दा मज्जा पनि आउँछ । त्यही भएर हो ।
अहिले जस्तो भूमिका पाए पनि गर्न थाल्नुभएको आरोप पनि लाग्न थालेको छ नि ?
यदि यो आरोप मलाई लागेको छ भने, म खुसी छु । किनकि मैले त जस्तो पनि भूमिका गर्न सक्ने रहेछु । मेरो भर्सटालिटिमा यदि कसैले कुरा गर्नुहुन्छ भने, त्यो मेरो लागि तारिफ नै हो ।
अब आउने चलचित्रहरूबाट कत्तिको आशावादी हुनुहुन्छ?
पहिला कुरा गरौँ महाभोजको । यो समसामयिक विषयमा बनेको चलचित्र हो । देशमा भइरहेको समस्यालाई यो चलचित्रले उठान गरेको छ । कथा राम्रो छ । अर्को चलचित्र भयो, ‘के घर के डेरा’ । यो चलचित्रको मूल तागत निर्देशक दीपेन्द्र के खनाल हुन्, जो माटोको कथा बनाउन खप्पिस मान्छे हो । ‘पशुपति प्रसाद’ पछि ‘के घर के डेरा’ आफूलाई छोएको चलचित्र हो भनेर, उ आफैँले पनि भनिरहेको छ । चलचित्र पनि एकदम राम्रो बनेको छ । दुवै चलचित्र पहाडदेखि तराइसम्म, धनीदेखि गरिबसम्मलाई छुने चलचित्र बनेको छ । त्यसैले दुईटै चलचित्रबाट म आशावादी छ ।
महाभोजमा तपाईँलाई कस्तो रूपमा देख्न पाइन्छ ?
मैले अहिले नै चलचित्रमा मेरो यो भूमिका छ वा म यस्तो रूपमा छु भनेर खुलाउन मिल्दैन । मेरो पात्रबारे बताउन, चलचित्रको कथावस्तु नै खुलाउनु पर्ने हुन्छ । त्यसैले अहिलेलाई यति भने, महाभोजमा दर्शकले मलाई अहिलेसम्म देख्दै नदेखेको पात्रमा देख्न पाउनु हुनेछ ।
अस्ति महाभोजको प्रेसमिटमा भएको वादविवादबारे तपाईँको भनाइ के छ ?
म यो विषयमा म त्यो बेला पनि मौन थिए, अहिले पनि मौन छु । मलाई यो विषयमा केही भन्नै छैन । मान्छेले जति बुझेको छ, त्यति बोल्ने हो । हामी सिनेमा बनाउन हिँडेको मान्छे हो, हामीले सिनेमा बनाएका छौँ । बाँकी अरू कुरै छैन । यसमा धेरै बोल्नु मलाई उचित लाग्दैन ।