Category: कलाप्रेस

  • पुष्प खड्काको ‘तिम्रै हुन पाउँ’ बोलको म्यूजिक भिडिओ रिलिज (भिडिओ)

    पुष्प खड्काको ‘तिम्रै हुन पाउँ’ बोलको म्यूजिक भिडिओ रिलिज (भिडिओ)

    काठमाडौं । देवी घर्ती मगर र ध्रुव बिस्कोको स्वरमा ‘तिम्रै हुन पाउँ’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त गीतको भिडिओमा पुष्प खड्का र मनिषा थापाको अभिनय छ ।

    गीतमा गायक बिस्कोकै कथा, पटकथा र निर्देशन रहेको छ भने भिडिओमा पुष्प र मनिषासँगै कलाकारहरु दिनेश डिसी, रश्मी भट्ट, जेरी भण्डारी र बर्षा भण्डारीको अभिनय छ ।

    पत्नी वियोगमा परेका पतिको अवस्थालाई भिडिओमा देखाइएको छ । ज्ञानेन्द्र हुँमागाईको छायाँकन रहेको छ भने भिडिओलाई डिन्सन शाहले सम्पादन गरेका छन् ।

    गायक ध्रुव बिस्कोले यस अगाडी ‘मायाले जित्यो’ बोलको गीत ल्याएका थिए । सोही भिडिओबाट उनले निर्देशन गर्न थालेका हुन् ।

  • क्लाइमेक्स सुटिङलाई मुस्ताङ पुग्यो फिल्म ‘लाखे’ युनिट

    क्लाइमेक्स सुटिङलाई मुस्ताङ पुग्यो फिल्म ‘लाखे’ युनिट

    काठमाडौंँ । फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो ।

    मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । ‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको विषेश छ’ निर्माता ठकुरीले भने ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’

    सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् ।

    सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

    फिल्म काठमाडौँको छायांकन पछि मुस्ताङ पुगेको हो । मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौँमा केही दिन छायांकन हुने निर्माण युनिटले जानकारी दिएको छ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

     

  • सरोज र निशाको फिल्म ‘म’ जेठ २० गते रिलिज हुने

    सरोज र निशाको फिल्म ‘म’ जेठ २० गते रिलिज हुने

    काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्र ‘म’को २०७९ जेठ २० गते रिलिज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलिज को सम्झौता गरेका छन् ।

    डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर चलचित्र रिलिज गर्नेछन् । ‘म’को निर्देशन समिक्षात्मक रुपमा सफल चलचित्र ‘सुनगाभा’का निर्देशक सुर्वण थापाले गरेका छन् ।

    यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सीइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् । चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् ।

    फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको छ ।

  • दर्शकसँग बसेर फिल्म हेर्ने पल शाहको इच्छा, प्रहरी भन्छ- असम्भव

    दर्शकसँग बसेर फिल्म हेर्ने पल शाहको इच्छा, प्रहरी भन्छ- असम्भव

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले पक्राउ पर्नुअघि जारी गरेको भिडिओ सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

    उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस् ।’

    ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले आज स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

    उनले लेखेका छन्, ‘तिमीले चलचित्रबाट देखेको सपना तिमीलाई माया गर्ने दर्शकहरूले चलचित्र हेरेर मन पराइ दिएर पूरा गर्दिनु भएको छ । दिनप्रतिदिन दर्शकको साथ दोब्बर हुँदै गएको छ । साथै तिमीलाई सिनेमाघरमा दर्शकहरुले धेरैनै खोज्दै छन् । हाम्रो टिमको र दर्शकको पनि तिमीसँग बसेर सिनेमा हेर्ने सपना छ । छिट्टै सबैको सपना पूरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

    प्रहरी स्रोतले भने यस्तो कुरालाई हास्यास्पद संज्ञा दियो । बलात्कारजस्तो गम्भीर अपराधमा पक्राउ परेको अभियुक्तलाई सुरक्षा दिएर हलमा फिल्म हेर्न लैजाने कुरा असम्भव रहेको स्रोतको भनाइ छ ।

    पल हिजो जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । हिजो नै जिल्ला अदालत तनहुँले उनलाई सात दिनको म्याद थप गरिसकेको छ । सामान्यतया तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने अपराधमा धरौटीमा छुट्ने सम्भावना पनि क्षीण हुन्छ । पलमाथिको आरोप प्रमाणित भए उनीमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने सम्भावना छ ।

    ‘कम्तीमा १० वर्ष कैद सजाय हुन सक्ने अपराधमा मुछिएको व्यक्तिले प्रहरी नियन्त्रणमै हलमा गएर फिल्म हेर्ने कुरा गर्नु हास्यास्पद हो,’ स्रोतले भन्यो ।

  • के फिल्म चलाउन इमोसनल ब्ल्याकमेलिङ गर्दैछिन् पुजा ?

    के फिल्म चलाउन इमोसनल ब्ल्याकमेलिङ गर्दैछिन् पुजा ?

    काठमाडौं । नायक पल शाहमाथि जबरजस्ति करणीको आरोपमा जाहेरी परेसँगै यसले नेपालको कला क्षेत्रमा ठूलै हलचल पैदा गरेको छ ।

    कलाकर्मीहरु कोही पीडितप्रति सहाभूति दर्शारहेका छन् त कोही पलको बचाउ गरिरहेका छन् । अधिकांश कलाकारहरु भने खुलेका छैनन् ।

    पलको पक्षमा खुलेर आएका कलाकारहरुको कुरा गर्दा सबैभन्दा पहिलो नम्बरमा छन् पुजा शर्मा । उनले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ मा पलको मुख्य भूमिका छ । यो चलचित्र गत शुक्रबार हलहरुमा रिलिज भएको थियो । चलचित्रले राम्रो व्यापार गरिरहेको छ । तर, पुजामाथि दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ गरिरहेको आरोप पनि लागेको छ ।

    चलचित्र रिलिज हुनुअघि पुजा निकै ठूलो त्राशमा थिइन् । चलचित्रको प्रिमियर कार्यक्रममा उनको त्राश र पिडा एकसाथ छचल्किएको थियो । पलको बदनामीका कारण दर्शक हलसम्म नआउने त्राश र आफ्नो सहकलाकार जेल जान लागेको पिडामा परेकी पुजा प्रिमियरमा धरधरी रोएकी थिइन् ।

    चलचित्रको रिलिजको दिन र भोलिपल्ट पुजा विभिन्न हलमा पुगिन् । त्यसक्रममा केही युवतीहरु पलको नाम लिँदै उनीसामू ‘ड्वाँ… ड्वाँ…’ रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ गर्न यस्तो नौटङ्की रचिएको आरोप पनि कतिपयले लगाएका छन् ।

    बलात्कारको संगीन आरोप लागेका पलको तस्बिर अंकित टिसर्ट लगाएर पुजा हलमा पुगेकी थिइन् ।

    सञ्चारकर्मीसँग प्रक्रिया दिने क्रममा पनि उनले पलको बचाउमा धेरै शब्द खर्चिइन् । उनले पलबिना आफू अधुरो रहने भन्दै उनका फ्यानहरु रिझाउने प्रयास गरिन् ।

    आज उनले सामाजिक सञ्जालमार्फत पलप्रति झुकाव दर्शाएकी छन् । बिहान फेसबुकमा पलले हालेको स्टाटस सेयर गर्दै पुजाले भनेकी छन्– सम्मान छ हाम्रो रियल हिरोलाई । सत्यको अवश्य जित हुनेछ । हामी तिमीलाई माया गर्छौं ।’

    अहिले सामाजिक सञ्जालमा पलप्रति यथेष्ट सहानुभूति देखिएको छ । उनले अभिनय गरेको चलचित्र पनि ठीक यही बेला रिलिज भएकाले यो फिल्मको सेल्फ पब्लिसिटी भइरहेको छ ।

    पुजाले पलप्रति देखाएको समर्थन उनको व्यक्तिगत आत्मियताका कारण मात्र हो वा आफ्नो फिल्ममा दर्शक तान्न अतिरिक्त भावुकता देखाएकी हुन्उ ? उत्तर उनैलाई थाहा होला ।

  • पल प्रकरणमा ज्योती मगरको ठोकुवा : बलात्कार त हुँदै होइन !

    पल प्रकरणमा ज्योती मगरको ठोकुवा : बलात्कार त हुँदै होइन !

    काठमाडौं । गायिका ज्योती मगरले पल शाहको बलत्कार प्रकरणमा विवादास्पद टिप्पणी गरेकी छन् । उनले नाबालिग गायिकामाथि पल शाहले बलात्कार नगरेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेकी हुन् ।

    स्वयम् विवादित छविकी गायिकाले लेखेकी छन्, ‘हाम्रो संस्कारमा छोरी मान्छे १५/१६ बर्षको हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ, जसअनुरुप पुरुषहरु अझै यहि सोच्छन कि १५/१६ बर्ष मा शारीरिक तथा मानसिक रुपमा यौन सम्पर्क र प्रेमलाप को लागि योग्य हुन्छन् । सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)… बलत्कार त हुँदै होइन ।’

    उनी थप्छिन्, ‘सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल … पललाई बर्बाद गर्न लागिपर्नुभएका महानुभावहरुले समीक्षालाई नि बर्बाद गर्दिए …’

    कानूनलाई गलत प्रयोग गर्नेहरुका कारण साँच्चिकै पीडितहरूले न्याय नपाएको ज्योतीको तर्क छ । उनले पूर्व सभामुख कृष्णबहादुर महराको काण्डमा पनि महिलाको दोष देखाएकी छन् ।

    ‘रोशनीजीले सरकारी पद नपाउँदा कृष्ण महराजी जेल, १८ बर्ष नपुगेकोले समीक्षाजिलाई बिहे गर्न नमान्दा पल शाह जेल…’

    यद्यपि आफू पल र गायिका दुवैको पक्षमा रहेको उनको भनाइ छ ।

  • पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति (भिडिओ)

    पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति (भिडिओ)

    काठमाडौं । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

    तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

    शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

    एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

    तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले शाहविरुद्ध आवश्यक अनुसन्धान हुने बताए ।

    प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

  • तनहुँ प्रहरी कार्यालयमा पल शाहकाे इन्ट्री (भिडिओ)

    तनहुँ प्रहरी कार्यालयमा पल शाहकाे इन्ट्री (भिडिओ)

    काठमाडौं । नाबालिगमाथि करणीको आरोपमा जाहेरी परेपछि फरार रहेका नायक पल शाह आज पक्राउ परेका छन् । उनी आफैंले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर गिरफ्तारी दिएको बताइएको छ ।

    पलले सामाजिक सञ्जालमार्फत आज प्रहरीमा उपस्थित हुने पूर्वजानकारी गराएका थिए । सामाजिक सञ्जालमै उनी जिप्रका प्रहरीमा उपस्थित भएको भिडिओ सार्वजनिक भएको छ ।

    खैरो क्याप, चश्मा र मुखमा मास्क लगाएर शाह जिप्रका प्रवेश गरेका थिए । एक महिला प्रहरीलाई उनले आफ्नो विवरण टिपाएको भिडिओमा देखिन्छ ।

  • तनहुँ प्रहरीमा उपस्थित हुनुअघि कहाँ थिए पल ?

    तनहुँ प्रहरीमा उपस्थित हुनुअघि कहाँ थिए पल ?

    काठमाडौं । जबर्जस्ती करणीसम्बन्धी एक नाबालिकाको उजुरीपछि तीव्र खोजी भइरहेका नायक पल शाह आइतबार अपराह्न तनहुँ प्रहरीमा उपस्थित भएका छन्। प्रहरीले अब शाहलाई अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्नेछ।

    आइतबार बिहान शाहले आइतबार प्रहरीमा आफैं उपस्थित हुने सामाजिक सन्जालमार्फत जानकारी दिएका थिए। प्रहरीका अनुसार तनहुँ जिल्ला पुगेपछि उनले फागुन ११ गते एक नाबालिकाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै बुबामार्फत तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि शाह फरार भएका थिए। त्यसयता शाहल‍े तीनपटक मोबाइल नम्बर प्रयोग गरेको अनुसन्धान अधिकारी बताउँछन्।

    फागुन ११ गते मध्यरातमा उनले बोक्दै आएको नम्बरको लोकेसन ललितपुरको बालकुमारीमा देखिएको थियो। केही छिनपछि उक्त नम्बर प्रयोग भएको मोबाइल स्वीच अफ भएको थियो। फागुन १२ गते राति उक्त नम्बरको लोकेसन ठमेल क्षेत्रमा देखिएको थियो। तर केही बेरमै मोबाइल स्वीच अफ भएको थियो।

    फागुन १३ गते राति उनी नयाँ नम्बरबाट मन्डिखाटारमा देखिएका थिए। उक्त नम्बर प्रयोग भएको मोबाइल पनि केहीबेरमा स्वीच अफ गरिएको थियो। आइतबार बिहान शाहले तनहुँमा पुगेर फेसबुक स्टाटस राख्दा पनि अर्कै नम्बरको प्रयोग भएको अनुसन्धान अधिकारी बताउँछन्।

    प्रहरीले यसबीचमा शाहसँग सम्पर्कमा आउनसक्ने विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि उनी पक्राउ पर्न सकेका थिएनन्।

  • पक्राउ पर्नुअघि प्रहरीसँग पलको आग्रह- एकपटक फिल्म हेर्न दिनुहोला (भिडिओ)

    पक्राउ पर्नुअघि प्रहरीसँग पलको आग्रह- एकपटक फिल्म हेर्न दिनुहोला (भिडिओ)

    काठमाडौं । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नायक पल शाहको पक्राउ पर्नुअघिको भिडिओ सार्वजनिक भएको छ । फेसबुकमा सार्वजनिक भएको भिडिओमा पलले आफ्नो घर व्यवहार मिलाउनु परेकाले पक्राउ दिन ढिलाइ भएको बताएका छन् ।

    पलले भनेका छन्, ‘म घरको एक्लो गार्जियन हो । घर-व्यवहार मिलाउनु थियो । प्रहरीमा सरेन्डर गरेपछि घरमा जे पनि अवस्था आउन सक्छ । घरमा बुवा, मम्मी र बहिनी मात्र छन् । त्यसैले सबै मिलाउनुपर्दा प्रहरीमा उपस्थित हुन ढिलाइ भएको हो । यसका लागि माफी चाहन्छु ।’

    पलले आफू अभिनित नयाँ चलचित्रले राम्रो व्यापार गरेको भन्दै खुसी व्यक्त गरेका छन् । साथै यो चलचित्र एकपटक दर्शकसँग बसेर हेर्ने मौका दिन उनले प्रहरीलाई आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन-चार वर्षदेखिको सपना थियो । मैले सुने अनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे । त्यसमा खुसी लागेको छ । मेरो एउटा इच्छा छ । अब सम्भव हुन्छ कि हुँदैन । एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु’ हेर्न चाहन्छु । सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला ।’

    पलले आफूलाई सुरुदेखि फसाउँदै यहाँसम्म पुर्याइएको बताए । आफूसँग भएको सबै प्रमाण अदालतलाई दिने उनको भनाइ छ ।
    पलले आजै तनहुँ प्रहरीमा गिरफ्तारी दिइसकेका छन् ।

  • जबर्जस्ती करणीको आरोपमा पल शाह पक्राउ

    जबर्जस्ती करणीको आरोपमा पल शाह पक्राउ

    काठमाडौं । पल शाह पक्राउ परेका छन् । जिप्रका तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

    पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

    पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

  • गिरफ्तारी दिन पल शाह तनहुँमा

    गिरफ्तारी दिन पल शाह तनहुँमा

    काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका नायक पल शाहले आज तनहुँ प्रहरीमा गिरफ्तारी दिने भएका छन् । उनी प्रहरीको निगरानीमै तनहुँ पुगिसकेको स्रोतले बतायो ।

    शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए । यद्यपि, कुन प्रहरीमा भन्ने खुलाएका थिएनन् । उनीमाथि तनहुँ जिप्रकामा जाहेरी परेका कारण त्यहीँ गिरफ्तारी दिन इच्छा देखाएपछि प्रहरीले ‘कन्सिडर’ गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनले तनहुँबाटै सो स्टाटस पोष्ट गरेका थिए ।

    ‘काठमाडौंमा गिरफ्तारी दिँदा युट्यूवरले तमासा गर्ने भएकाले पनि उहाँ तनहुँ जानुभएको हो,’ स्रोतले भन्यो ।

    प्रहरीले पललाई नियन्त्रणमा लिइसकेको बताएको छैन । तर, उनलाई प्रहरीको निगरानीमा नै तनुहुँको दमौली पुर्‍याइएको स्रोतको भनाइ छ । उनी करिब एक घण्टामा जिप्रका तनहुँ पुग्ने स्रोतको दाबी छ ।

    एक नाबालिग गायिकाले चार दिनअघि दमौली प्रहरीमा जाहेरी दिएयता पल फरार थिए । उनलाई पक्राउ गर्ने काठमाडौंमा प्रहरीका पाँच टोली खटाइए पनि फेला परेका थिएनन् ।

  • प्रहरीसामु आज आफैं उपस्थित हुने पल शाहको घोषणा

    प्रहरीसामु आज आफैं उपस्थित हुने पल शाहको घोषणा

    काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।

    आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।

    साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

    ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन् ।

    एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता प्रहरीको खोजीमा रहेका पल फरार रहँदै आएका छन् ।

  • सुदर्शनलाई छोड्दै प्रहरीले भन्यो- पलबारे जानकारी पाए हामीलाई खवर गर्नु

    सुदर्शनलाई छोड्दै प्रहरीले भन्यो- पलबारे जानकारी पाए हामीलाई खवर गर्नु

    काठमाडौं । चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ ।

    नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्रहरीले जनाएको छ । शाहविरुद्ध एक नाबालिक गायिकाले जवरजस्ती करणीको मुद्दा दायर गरेपछि फरार रहेका छन् ।

    प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि भेटाउन सकेको छैन् ।

    पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक थापालाई शाहको बारेमा ससोधपुछ गर्न बोलाइएको प्रहरीले जनाएको छ ।

    प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको थियो ।

    सामान्य सोधपुछका क्रममा प्रहरीले पलसँग सम्पर्क भए/नभएको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गरेको उनले नेपाल प्रेसलाई बताए । उनले अहिले आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताएका छन् । उनीसँग सम्पर्क भए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

  • पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट पक्राउ

    पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट पक्राउ

    काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

    बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

    प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले बतायो ।

  • सीमापारीका ५ कविका ५ कविता

    सीमापारीका ५ कविका ५ कविता

    भनिन्छ, कविताको कुनै भूगोल हुँदैन । तर, भाषा एकै भएर पनि राष्ट्रको नाममा ठडाइएका पर्खालले मानिसहरुलाई फरक मुलुकको नागरिक बनाइदिन्छ । फरक मुलुकको नागरिकता बोकेर पनि भाषा, संस्कृति र भावनाले एक ठाउँमा जोडिनु, त्यसमा पनि कविताको माध्यमबाट एकै अनुभूतिसँग बाँच्नु गज्जबको विषय हो । साथै दुवै मुलुकमा राज्यको दलनबाट खोजिने मुक्तिको लडाइँ युगौँदेखि लडिरहिएकै छ । यो निरन्तर लडिनै नै छ ।

    नेपाली संगीत, साहित्यमा दार्जिलिङ, सिक्किमले कला मार्फत् नेपाली भाषालाई समृद्ध मात्रै होइन, परिवर्तनको लडाइँमा पनि ठूलो योगदान दिएका छन् । इन्द्रबहादुर राईदेखि अम्बर गुरुङजस्ता महान् सर्जकहरु हुँदै पछिल्लो छिमलका नवप्रतीभाहरु आइरहेका छन् । नेपाली साहित्य, संगीतलाई अझ समृद्ध बनाइरहेकै छन् ।

    यसपटक हामीले ‘सीमा पारीका पाँच कविका पाँच कविता’ भनेर दार्जिलिङ, सिक्किमका नवोदित कविका कविताहरु प्रकाशित गरेका छौं । तर, सवाल उठ्न सक्छ, हामीले ‘सीमा पारी’ भनेर किन भन्ने ? उताबाट हेर्दा यता सीमा पारी, यताबाट हेर्दा उता सीमा पारी, ‘सीमा पारी’ले यत्ति मात्रै अर्थ बोकोस् !

    १.

    स्मिता सोताङ राई

    बुद्ध उपक्रम

    कुनै क्षण
    या त कुनै मौसम
    निस्कन सक्छौ तिमी,
    संघार, आँगन नाघ्दै फराकिलो सडकतिर
    तिमीलाई रोक्न भनेर बनाइएको कुनै बाँध छैन
    थुनेर राख्ने तिम्रो पाइलालाई
    कुनै साँध सीमाना कोरिएको छैन
    तिमीलाई बन्देज लगाउने
    घडीका काँटाहरु छैनन्
    छैनन्, तिमीलाई औंला ठहर्याउने
    कुनै मूल ढोकाहरु

    तिमी जहिल्यै, जहाँ जान सक्छौ
    तिमी जहिल्यै, जहाँबाट फिर्न पनि सक्छौ
    र प्रमाणित गर्न सक्छौ आफूलाई
    एक आदर्श बाबु
    एक चरित्रवान लोग्ने
    तिमीलाई प्रश्न सोध्ने आँट कोसँग छ ?
    तिम्रो पत्नीव्रता जोख्ने आगोको भुंग्रोे कहाँ छ ?
    तिम्रो विरुद्धमा उठ्ने औंला कोसँग छ ?
    तिमीलाई हरथोक सहज छ,
    तिम्रा लागि हरथोक सामान्य छ

    जस्तो कि मध्यरातमा
    दुधे छोरा र निदाइरहेकी स्वास्नी छोडेर
    शान्तिको खोजीमा कतै लुप्त हुन सजिलो थियो बुद्धलाई
    जस्तो कि, आगोको भंग्रोेअघि सीताको पतिव्रता जोख्न सहज थियो रामलाई

    अप्ठ्यारो त,
    छात्तीभित्र उर्लिएको दुख्दो ज्वारभाटाहरु
    आफूभित्रै लुकाएर केही, केही, केही नभए जस्तो
    चुपचाप, चुपचाप बस्नुमा हुन्छ

    जहिल्यै आफूतिर तेर्सिएको प्रश्नतिर
    मौनता साँधेर बस्नु जोखिम हुन्छ
    हरेक रात वेग अभिप्साको भंग्रोेमा पग्लिएर
    फेरि चीसै कोल्टे फेर्नु गाह्रो हुन्छ

    असहज त,
    काँडै काँडाबीच उनिएर पनि
    दुख्दै नदुख्नुमा हुन्छ
    आत्मसम्मानको लडाइँ
    आफ्नैसँग लडिरहनु, हारिरहनु र बचाइराख्नु
    पो स्वाभिमान असहज हुन्छ

    तर, दुख्नुको अनुभाव नै कहाँ छ र तिमीलाई ?
    आफैसँग परास्त हुनुको पीडा कहाँ छ तिमीसँग ?
    जान्दैनौं यी सब,
    बारको घोचा न हौ तिमी
    म त उहिले उहिलेदेखि नै सियोको टुप्पोमै
    उनिएर सिलाउदै सिलाउदै आइरहेकी छु आफ्नै ओंठ
    मानौं, असहज केही छैन मेरा लागि
    अप्ठ्यारो कहीँ छैन मेरा लागि
    शान्त छु, साम्य छु
    ध्यानमा लीन थमथमाइरहेछु
    आफ्नै अन्तरध्वानीहरुलाई

    प्रिय !
    मेरो मौनताको परीक्षा नलेऊ यस्तरी,
    ध्यान भङ्ग भएको दिन म पनि बुद्धै हुनेछु ।

    २.
    कृतिका दाहाल

    शरद

    ओंठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर,
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा ्
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले
    मेरो शरदलाई
    उसलाई भेट्दा
    बाहिर हावा बगिरहेको थियो
    बौलाहा धूलो भूइँमा बस्न मानेको थिएन
    रूखहरू निर्लज्ज भएर नाङ्गो भइरहेका थिए
    एक पछि अर्को गर्दै पातहरू कहिले
    हावाको गीत कहिले मायाको रीत त कहिले सिपैसिप बनेर
    भुइँ भरी र आकाश–धर्ती बीचको ठाउँमा नाचिरहेका थिए
    उसलाई भेट्दा यही दृश्य वरपर छरिएका थिए
    यसैले ऊ मेरो शरद भएको हो

    शरदलाई पहिलो पटक यत्ति नजिकबाट देखेकी हुँ मैले
    शरदलाई पहिलो पटक यत्ति ध्यान दिएर हेरेकी हुँ
    उसका लोलाएका आँखाहरुले अटोको बाहिर हेरिरहेको देख्दा आहँ
    उसको नजरबाट यो संसार मलाई पनि हेर्न मन लागेको हो
    के खोजेको, सायद हराएका उसका भावना पो हो कि
    के कोरेको, भन्न न सकेका चाहना पो हो
    के केलाएको, गन्न न सकेका ताराहरूको गुनासो पो हो कि
    के चाहेको, धान्न न सकेको काम तमाम पो हो कि
    के मन पराएको, फूलहरू, घाम, बादल, रूख, कुनै बच्चाको कलिलो हाँसो
    जस्ता हजार प्रश्नहरूले मलाई
    बारबार झकझक्काएर
    ‘शरद तेरो हो’ ‘शरद तेरो हो’
    भनेर जिस्काइरहेको थियो
    म ठीक उसको अघि बसेको थिएँ
    ऊ मेरो अघि
    हाम्रो अनुहार
    आँखा
    नजर सबै जुधेका थिए
    यहाँसम्म कि उसका दुई गोडा मेरा गोडासंँ अटोको ब्रेकको साथ ठोक्किरहेका थिए
    उसका हातमा लागेको आल्ता
    उसको चुरा, झुम्का शिरबन्दी, गजरा
    संसारले मान्ने देवी झैं देखिएकी ऊ
    शायद मलाई बुझ्ने
    मेरा भावनाको बौलाहा छालमा
    मसँगै बगिदिने साथी पो भेट्टाए मैले

    मैले खोजी हिँडेको एफ्रोदेटी नै पो भेट्टाएँ
    मलाई मेरो प्रतिबिम्बअघि उभिएको झैं आभाष हुँदाहुँदै पनि
    एक शब्द बोल्ने आँट गरिनँ

    ‌ओठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले
    मेरो शरदलाई
    अब
    मसँग उसको नाम, ठहर, अत्तोपत्तो नभएकी शरद !
    उसलाई माया गर्ने चाह हुँदाहुँदै अलमलिएकी म
    आफुलाई खोज्नु कि उसलाई
    उसलाई भेटेँ भने के भन्नु
    मैंले आफैंलाई भेटे भने के गर्नु
    मेरो पहिचान पनि त आफैं अन्योलमा छ
    मेरो आमाको भाषामा मेरो समलैंगिक पहिचान छैन

    के भनेर चिनाउँ म आफूलाई,
    के भनेर बोलाओस उसले मलाई
    मायालाई भाषा चाहिँदैन
    भावनालाई भाषा चाहिँदैन
    तर मायालाई मायाको दर्जा दिन
    मायालाई समाजमा ठाउँ दिन भाषा चाहिन्छ
    बोली चाहिन्छ
    व्यक्त गर्न लवज चाहिन्छ
    संसारले बनाएको लिङ्ग र योनीको नियमबीच
    लिङ्ग र योनीको भित्ताबीच
    लिङ्ग र योनीको भिन्नताबीच
    लिङ्ग र योनीको भिढान्तबीच
    युद्ध क्रन्दन आक्रोशबीच
    शरद र मेरो जस्तो मिठो भावना हराएर जान्छन्
    बिलाएर जान्छन्
    लाखौं लाखौं रहरलाग्दो मायाका कथाहरू सुरु हुनुअघि यसरी नै
    कि त डरले
    किज्ञ त करले
    कि त मौनताले मर्छन् हगी ?
    शरद… अनि म
    म अनि शरद !

    ओठमा चाहिएको भन्दा बढी लाली
    गालामा बढी फाउन्डेशन
    आँखामा लाइनर
    परेलीमा नक्कली परेली थपिएको
    जमानाले सुन्दर करार गरिएको भन्दा
    सुन्दर ढाँचामा भेटेकी हुँ मैले मेरो शरदलाई ।

    ३.
    विशाल नाल्बो

    मिस्त्रीको मृत्यु

    पाँच तल्ला माथिको
    बिल्डिङको छतमा बेल्चाको डोरी तानिरहेको
    उसको हात अचानक फुस्कियो
    र झर्यो भूइँमा थुपारिएको इँटाको थाकमाथि उसको जीउ
    त्यो बेला उसले अन्तिम पटक
    बेस्मारी हेर्यो पृथ्वीलाई र फेर्यो अलिकति सास

    मान्छेहरु अनदेखा गरिरहेका थिए उसलाई
    थियो त गहिरो शोकपीडामा उसले चलाउने गरेको मार्तोल

    उसको वरिपरि थिए मलामीको नाउँमा
    इँटाको चोइटा, हम्मरको हतासो
    खिया लागेर आधा भएको बेल्चाको बिँड

    छेउमा गरिरहेका थिए
    कामदारलाई जस्तो दुवर्््यवहार
    उसको लासलाई पनि उसको मालिक

    उसको मृत्युभन्दा ठूलो
    हानी नोक्सानीको सुर्ता थियो उसको मालिकलाई

    उसले चलाउँदा चलाउँदै छोडिराखेको
    आधाबोरा सिमेन्ट
    इँटा जोड्दा हातको सुरक्षाको निम्ति लगाउने
    उसको एक जोड् पञ्जा
    पसिना बेचेर उसले किनेको पुरानो मोडलको गम्बुट
    र सधै गाउँको सम्झना बोकी ल्याउने
    उसको सादा मोबाइल फोन

    उसको मृत्युशोकमा अलापबिलाप गरिरहेका थिए

    आधा बिल्डिङको पोस बुनेर छोडेको रिङसुल
    आधा बुन्न बाँकी रडको टुक्रा
    प्लास्टर गर्नलाई छोडिराखेको रुसा कर्नी
    र चौकटको निम्ति सोज्याउँदै गरेको काटी मार्तोल

    सबका सब अचम्मित थिए उसको मृत्युमा

    तर उसको मालिक सोधिरहेथ्यो
    कल्ले गर्छ मेरो नोक्सानीको पुर्ती ?
    कल्ले गर्छ येल्ले आधाकल्चो छोडेको काम ?

    गुमान गरी गरी बलिरहेको थियो आगो
    आगैमाथि थियो उसको लास भैसकेको शरीर

    जुगौं हिँडी आएर जीवनदेखि
    कहिले नथाकेको पहिला उसको खुट्टा जल्यो
    त्यसपछि जल्यो दुःखको पाहाडै उचाल्न सक्ने उसको हात
    र जल्यो अभागी नाउँको टाउको
    तर कस्सै कस्सै कस्सै गरी जल्न मानेन उसको छाती
    जहाँ उसको अदृश्य रहरहरुले
    बनाएको थियो सिंगो एउटा ब्रामण्ड ।

    उ मिस्त्री थियो

    कुनै मिस्त्रीको मृत्यु यति लापरबाही किन हुन्छ ?

    ४.

    मिलन थुलुङ

    सपना

    सधैँ रहरहरू मर्ने आँखामा
    जति उमेर पाक्दै जान्छ
    सपना पनि काँडा बन्दोरहेछ

    तरै पनि कति लोभ लागेको
    उमेर खाएका औँलाहरूलाई

    मलाई सपनाको लोभ छैन
    भनौँ भने
    सधैँ हिँडी नै रहेको छु
    पखेटा फिँजाएर उडेका सपनाहरू समेट्न

    सपना मर्नु भनेको
    जीवनले बाँच्नुको अर्थ गुमाउनु हो

    संसारमा मानचित्र पाइसकेका जीवनहरूको
    आत्मकथा पल्टाएर हेर
    त्यहाँ सपना फुलेको हुन्छ

    त्यसर्थ,
    सफलतालाई आफ्नो बनाउन चाहने आँखाहरुले
    सपना रोप्नु पर्छ
    सपना उमार्नु पर्छ
    सपना फुलाउनु पर्छ

    किनभने जीवन हाँस्नु
    सपना फल्नु पर्छ ।

    ५.
    आरती ठकुरी

    युद्ध

    डरको भारी बोकाएर
    घिसार्दै पछ्याउन लगाउने
    समयले आफ्नो रफ्तार बिर्सेको छ

    समय अनि डरको म्याराथनमा
    अहिले समय डरसँग हारेको छ

    काँडहरू आएर रोपिए
    कोमल छातीहरूमा
    न रगत बग्यो न पसिना
    निर्देशक मौन छ

    दिशाहरू अलमल परेर
    अलपत्र छरिएका छन्

    पानी उम्रन्छ, खोला बन्छ
    दुईवटा आकारलाई स्वतन्त्र गराउन
    खोला अखबारमा चर्चित भएर बगेपछि
    कतिले दूध मानेर पिउँछन्,
    कतिले पानी त कतिले रगत

    विचारका स्वादहरू नमिलेपछि
    काटिए
    टुक्रिए
    चोइटिए
    कति बने धारिलो हतियार
    कति बने घरको देवल
    बने बालुवा कति
    कति बने बन्न नसकेका आकार
    अनि फालिए बगरछेउ
    सायद
    पानीसँग बग्नलाई स्वतन्त्रता

    मृत्युहरू अहिले काल पर्खेर बसेका छन्
    सडक लम्पसार परेर भाग्दै गरेका खुट्टाहरूलाई लंकी थापिरहेको छ
    नालाहरू, डिलहरू चिच्च्याइरहेका छन् आर्तनाद बोकेर
    घरका भित्ताहरू, झ्याल ढोकाहरू चिच्च्याउँदै गुहारिरहेका छन्
    तर
    मन्दिर/ गिर्जा/ मस्जिद सबै निस्तब्ध छन्

    हारका गाढा घाउहरूमा
    मलम लगाइरहेछ समयले
    मानसिक युद्धले दिएको यातनाबाट मुक्ति पाउन
    समयले समयलाई नै पर्खिरहेको छ ।

  • आरआरआरदेखि २.० सम्मः युक्रेनमा सुटिङ भएका यी भारतीय फिल्म

    आरआरआरदेखि २.० सम्मः युक्रेनमा सुटिङ भएका यी भारतीय फिल्म

    दिल्ली । रुस–युक्रेन विवाद अहिले युद्धमा परिणत भएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको आज दोस्रो दिन हो।

    रुसले युक्रेनमा लगातार गरेको हवाई आक्रमणले सबै क्षेत्रका जनतामा अहिले त्रास फैलिएको छ । लगातारको विस्फोटका कारण युक्रेनको सुन्दर स्थानहरु धुवाँको मुस्लो बनिरहेको छ । हवाई आक्रमणका कारण यहाँका भवनहरुसमेत ध्वस्त भएका छन् ।

    भारतीय फिल्ममा युक्रेनमा विनाश हुनुअघि पनि यस ठाउँको सौन्दर्यलाई देखाइएको छ । यी चलचित्रहरूमा युक्रेनको सुन्दर दृश्यहरु समावेश छन् ।

    आरआरआर

    एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को छायांकन युक्रेनमा भएको छ । फिल्मको अन्तिम समयतालिका युक्रेनमा सकिएको थियो, यस बाहेक भारतका विभिन्न स्थानमा पनि फिल्मको छायांकन गरिएको छ । चलचित्र यसअघि जनवरी ७ मा रिलिज हुने तय भएपनि हलहरु बन्द भए मार्च २५ मा रिलिज हुनेछ ।

    २.०

    रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सन स्टारर फिल्म २.० को रोजा काधलको गीत युक्रेनमा छायांकन गरिएको छ । एआर रहमानले कम्पोज गरेको गीत युक्रेनको सुन्दर स्थानमा रोमान्टिक दृश्यहरु खिचिएको छ ।

    ९९ सँग्स

    सन् २०१९ मा रिलिज भएको फिल्म ९९ संँग्सको छायांकन भारत र युक्रेनको विभिन्न स्थानमा गरिएको छ । ओस्कार विजेता संगीत निर्देशक एआर रहमानले यो फिल्म लेखेका हुन् । फिल्ममा एडस्ले वार्गस, एहान भट्ट, आदित्य सिल, लिजा रे र मनिषा कोइरालाको महत्वपूर्ण भूमिका छ ।

    देव


    कार्ती, रकुल प्रीत सिंह, राम्या कृष्णन र प्रकाश राज स्टारर तमिल फिल्म देवको पनि युक्रेनमा छायांकन गरिएको हो । यो रोमान्टिक ड्रामा फिल्म हो जुन २०१९ मा रिलिज भएको थियो । चलचित्रको छायांकन चेन्नई, हैदरावाद, बैंगलोर, मुम्बई, पुणे, कुल्लु, मनाली, हिमालय, गुलमर्ग र युक्रेनमा गरिएको छ । युक्रेनमा फिल्मको समयतालिका २०१८ मा पूरा भएको थियो।

    विनर​​​​​​​​​​​​​​

    २०१७ मा रिलिज भएको तेलुगु कमेडी फिल्म ‘विनर’का तीनवटा गीत युक्रेनमा खिचिएका छन् । फिल्मका निर्देशक गोपीचन्द मालिनानीले युक्रेनमा सुटिङ हुने यो पहिलो भारतीय फिल्म भएको बताए । सुटिङका ​​क्रममा युक्रेनको तापक्रम माइनस २ डिग्री थियो ।

  • पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर हल पुगेकी पुजाले भनिन्- पलबिना अधुरो छु

    पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर हल पुगेकी पुजाले भनिन्- पलबिना अधुरो छु

    काठमाडौं । प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।

    सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् ।

    पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए । पुजाले यसरी जवाफ दिइन् –

    ‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ । मेरो काँधमा यसो गरिरहेको छ ।’

    उनले थपिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेमगीत-२ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला ? उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’

    ‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।

  • चद्रशेखरसँग रिलेसनसीपमा रहेकाे ज्याकलिनकाे स्वीकाराेक्ति

    चद्रशेखरसँग रिलेसनसीपमा रहेकाे ज्याकलिनकाे स्वीकाराेक्ति

    मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले मनी लाउन्ड्रिङ केसमा नयाँ खुलासा गरेकी छिन् । ज्याकलिनले हालै ईडीले गरेको सोधपुछमा सुकेश चन्द्रशेखरसँग रिलेसनसिपमा रहेको खुलाएकी हुन्। सुकेशले हिराको औंठी दिएर प्रपोज गरेको समेत उनले बताइन् ।

    ईडीको रिपोर्ट अनुसार अभिनेत्रीले सोधपुछका क्रममा सुकेशबाट करोडौंको गिफ्ट लिएको बताएकी छन् । उनले भनिन्, ‘सुकेशले मलाई डाईमण्डको रिङ दिएर प्रपोज गरेका थिए र हामी प्रेमसम्बन्धमा थियौ । यो रिङमा जे र एस लेखिएको थियो ।’

    सुकेशले ज्याकलिनलाई एस्पुएला नामको घोडा, ३ गुच्ची डिजाइनर झोला, २ वटा गुच्ची जिम वेयर, एक जोडी लुई भिटो जुत्ता, दुई जोडी हिराको झुम्का र रुबी ब्रेसलेट, दुई हर्मेस ब्रेसलेट र एउटा मिनी कुपर कार दिएका थिए ।

    सोधपुछमा सुकेशले भने, ‘म ज्याकलिनसँग सम्बन्धमा थिएँ । त्यसैले मैले ज्याकलिनलाई महँगो गिफ्ट दिएको थिएँ ।’

    सुकेशले आफ्नो बयानमा ज्याकलिनको २०० करोडको मनी लाउन्ड्रिङ केससँग कुनै सम्बन्ध नभएको पनि बताएका छन् ।

    पछिल्लो समय अभिनेत्री ज्याकलिनको र सुकेशसँगको निजी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले आफु कठिन समयबाट गुज्रिरहेको समेत बताइन् ।

    ज्याकलिनले इन्स्ट्रागाममा पोस्ट सेयर गर्दै पर्सनल स्पेसमा हस्तक्षेप नगर्न अपिल गरेकी छन् ।

    उनले लेखेका छन्, ‘यो देश र यहाँका जनताले मलाई सधैं अपार माया र सम्मान दिएका छन् । यसमा मेरा मिडिया साथीहरु पनि पर्छन् । मैले तपाईहरु सबैबाट केहि सिकेको छु। अहिले म कठिन र कठिन समयबाट गुज्रिरहेको छु । म मिडियामा रहेका मेरा साथीहरूलाई निजी र मेरो गोपनीयतामा हस्तक्षेप गर्ने यस्ता तस्बिरहरू प्रसारित नगर्न अनुरोध गर्दछु। तपाईं प्रियजनहरूलाई यो गर्नुहुन्न, त्यसैले मलाई लाग्छ कि तपाईंले मलाई त्यसो गर्नुहुने छैन। साथै छिट्टै न्याय होस् भन्ने कामना गर्दछु ।

    ज्याकलिनसँग २०० करोडको मनी लाउन्ड्रिङ केसमा सोधपुछ चलिरहेको छ भने यो मामिला धोखधडी मुद्दाको आरोप लागेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।

  • ‘म यस्तो गीत गाउँछु-२’ आजबाट हलमा, पलको स्क्यान्डलले फाइदा होला कि घाटा ?

    ‘म यस्तो गीत गाउँछु-२’ आजबाट हलमा, पलको स्क्यान्डलले फाइदा होला कि घाटा ?

    काठमाडौं । पल शाह र पुजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट सिनेमा घरहरूमा रिलिज भएको छ । दुई दिनअघि आयोजना गरिएको प्रिमियरमा कलाकर्मीहरूले चलचित्रको खुलेर प्रशंसा गरेका थिए ।

    विभिन्न कारणले ‘म यस्तो गीत गाउँछु’ को व्यापारलाई यतिबेला निकै चासोका साथ हेरिरहेको समग्र चलचित्र जगतले । सबैभन्दा ठूलो चासो त नायक पल शाहको काण्डले यो चलचित्रलाई कति असर पुर्‍याउँछ भन्ने हो । चलचित्रको नायक नै जबर्जस्ती करणीको गम्भीर अपराधमा मुछिन पुगेका छन् । पलविरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनको खोजी गरिरहेको छ । पल फरार छन् ।

    फिल्मको व्यापारलाई सामान्यतया स्क्यान्डलहरूले प्रायः फाइदा पुर्याएको पाइन्छ । त्यसै भएर कतिपय निर्माता/निर्देशकले फिल्म रिलिजको छेकोमा विभिन्न बनावटी स्क्यान्डल पनि बनाउने कोसिस गर्छन् । तर, यसो गर्दा कहिलेकाहीँ बुमर्याङ पनि हुन सक्छ, जस्तो केही समयअघि ‘डाँडाको वर पिपल’ लाई भयो ।

    उक्त चलचित्रका निर्देशक शोभित बस्नेतले फिल्मलाई चर्चामा ल्याउने हेतु रिलिजको बेलामा भुवन केसीलाई ‘महानायक’ को दर्जा दिन खोजे । तर, त्यो यति धेरै विवादित भयो कि पछि उनले बारम्बार माफी माग्दा पनि धर पाएनन् । चलचित्रले दर्शक पाएन ।

    अहिले पल शाह जुन काण्डमा मुछिएका छन्, त्यसले उनको व्यक्तिगत छवि ध्वस्त भएको छ । नायक नै बलात्कार आरोपमा मुछिएका बेला उनको चलचित्र हेर्न दर्शक आउलान् त भन्ने प्रश्न उठ्छ । तर, अर्को पाटो के छ भने यो घटनामा पल शाहप्रति सहानुभूति दर्शाउने पनि उत्तिकै छन् । पलका वास्तविक फ्यानहरू यो चलचित्र हेर्न जसरी पनि हलसम्म पुग्न सक्छन् । त्यसैले यो पलको स्टारडमको परीक्षा पनि हो ।

    अस्ति प्रिमियरमा धेरै कलाकारहरूले चलचित्रको कथावस्तु पल शाहकै जीवनसँग मिल्दोजुल्दो रहेको प्रतिक्रियासमेत दिएका थिए । यस चलचित्रको क्लाइमेक्समा पललाई प्रहरीले पक्राउ गरेको देखाइएको छ । चलचित्रमा उनले एउटा सुपरस्टार गायको भूमिका निर्वाह गरेका छन् ।

    साढे २ करोडको लागतमा निर्मित यो चलचित्रको निर्देशन सुदर्शन थापाले गरेका हुन् । चलचित्रमा पलसँग पुजा शर्माको जोडी छ ।

    कोरोनाका कारण यो चलचित्रको रिलिज दुई वर्षसम्म रोकिएको थियो । कोरोनाको तेस्रो लहर साम्य भएर हलहरू खुले पनि अहिलेसम्म नेपाली चलचित्रले दर्शक पाउन सकेको छैन । यस चलचित्रले हलमा दर्शक फर्काउने आशा राखिएको थियो ।