Category: कलाप्रेस

  • पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

    पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

    काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

    यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

    शाहलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिएको थियो । भोलीबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।

    शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए ।

    नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।

  • गायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    गायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गी ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपीका रिमाल थापाको शब्द रहेको छ भने संगीत गायक स्वयंको छ । स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । गीतमा युवयराज पौडेल एरेन्ज छ ।

    छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले बोलेको छ । प्रेम छुटेपछिको परिकल्पना गर्दै त्यसले दिने पीडा गीतका शब्दमार्फत व्यक्त गरिएका छन् । कुमार कटुवालले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन पदम तिमल्निाले गरेका हुन् । भुषण दाहालले निर्देशन गरेको म्यूजिक भिडियोमा भिडियोमा गायक युवराज र चर्चीत मोडल अञ्जली अधिकारीको अभिनय छ । गायक चौलागाईले आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

  • अमेरिकी स्टार किमले गरिन् सम्बन्धविच्छेद

    अमेरिकी स्टार किमले गरिन् सम्बन्धविच्छेद

    न्यूयोर्क । अमेरिकी रियालिटी स्टार किम कार्दासियन र गायक कान्ये वेस्टको वैवाहिक सम्बन्ध टुटेको छ । किम विवाह गरेको ८ वर्षपछि वेस्टसँग अलग भएकी छन् ।

    दुईबीच सम्बन्धविच्छेदको मुद्दा विगत केही महिनादेखि चलिरहेको थियो । अदालतले आधिकारिकरुपमा अविवाहित घोषणा गरेपछि किमले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट कान्येको थर पनि हटाएकी छन् ।

    किमले इन्स्टाग्राममा यसअघि आफ्नो नाम किम कार्दासियन वेस्ट राखेकी थिइन् भने अब किम कार्दासियन छ।

    किम कार्दासियन र कान्ये वेस्टबीच सम्बन्धविच्छेदको मुद्दा अदालतमा मुद्दा चलिरहेको बेला केनीले किम, उनका प्रेमी र उनको परिवारका बारेमा लगातार बयान दिइरहेका थिए । जसका कारण किमले लस एन्जलस अदालतमा आधिकारिक रूपमा अविवाहित हुन अपील गरेकी थिइन् ।

    यो जोडीले सन् २०१२ मा डेटिङ सुरु गरेका थिए । दुई वर्ष सम्बन्धमा रहेपछि दुवैले सन् २०१४ मा विवाह गरेका थिए । ७ वर्षपछि दुवैबीच झगडा सुरु भयो र दुवै अलग बस्न थाले । अहिले किम र केनी दुवै फरक व्यक्तिसँग सम्बन्धमा छन् ।

  • मायावी सहरमा फसेको कवि

    मायावी सहरमा फसेको कवि

    केही वर्षअघिसम्म कविहरु उपन्यासमा फड्को मार्ने लहरै चलेको थियो । त्यही लहरमा एउटा हल्ला आयो, ‘कवि राबतले उपन्यास लेखिरहेका छन् ।’

    यो हल्ला हाल्ला मात्रै थिएन, सत्य थियो । लेख्न सुरु गरेका थिए । यम्बुरी बुक्सबाट अग्रीम भुक्तानी पनि बुझिसकेका थिए, एक लाख । तर, एक लाख लिएको छ वर्षपछि लाखपटक लेखिँदा पनि राबतको पाण्डुलिपी तयार हुन सकेन । बरु खाका तयार भएको उपन्यास तीन टुक्राहरुमा विभाजित भयो ।

    अहिले राबतलाई लाग्छ, ‘अब त्यो उपन्यासबाट तीनवटा जति कथा झिकिएला कि !’

    उपन्यासको ‘कन्सेप्ट’ तयार गरेका थिए । प्लटहरु डायरीमा रेखामा उतारेका थिए । तर, रेखाको अन्तिमतिर सदाको लागि विन्दु लाग्यो, पूर्णविराम लाग्यो ।

    उपन्यासका लागि अफिसमा २० दिनको बिदा मागेका थिए । गाउँको कथा थियो, गाउँ जानुपर्ने थियो । तर, बिदा स्वीकृत भएन ।

    ‘कविता, गीत लेखेजस्तो नहुँदो रहेछ । एक वर्षमा सकिएला कि भनेर हिम्मत जुटाएको थिएँ,’ गम्भीर भएर बोलेपछि फिस्स हाँस्दै ०७२ सालको प्रसंग सुनाउँछन्, ‘अल्छे गोरु टाइपको परियो । पछाडि पुच्छर निमोठेपछि हिँड्ने टाइपको परियो । कुन दिन प्रकाशक ब्याज सहित एड्भान्स लिन आयो भने तनाव छ ।’

    राबतले काठमाडौं, बेसीँगाउँको डेरामा बसेर गाउँको कथा बाउआमाबाट सुने । तर, गाउँ नपुगी उपन्यासमा सास भरिनेवाला थिए । गाउँ जाने बाटो जागिरले रोकिदियो, उपन्यास लासमा परिणत भयो ।

    राबतकै शब्दमा, ‘उपन्यासको भ्रूण हत्या भयो ।’

    ०००

    राबतको चर्चित कवितासंग्रह छ, ‘राजधानी मास्तिरको राजधानी ।’

    संग्रहमा जम्माजम्मी २५ कविता छन् । लेखनमा राबत सुस्त छन्, उनी आफैं स्वीकार्छन् । संग्रहका कविता पनि दश वर्षको अन्तरालमा लेखिभ्याएका थिए । किताब नै निकाल्ने प्रसंग सुरु भएपछि कनिकुथी पनि लेखेका थिए ।

    ‘कविता धेरै थिएन, किताबै निकाल्ने भएपछि किताबको साइजमा त हुनुपर्‍यो । प्रकाशकले पनि हौसला दियो,‘ राबत भन्छन्, ‘नत्र त पहिलादेखि नै स्लो हो म । धुइँधुइँती लेख्न नसक्ने । कसैले डेडलाइन दिएर, समय तोकेर, योजना बनाएर कहिल्यै लेखिएन । मेरो जिन्दगी पनि कुनै योजनामा भएन, लेखन जस्तै भयो, अनप्लान्ड !’

    लेखन मात्रै ‘अनप्लान्ड’ होइन, जीवन पनि त्यस्तै छ राबतको । उमेरले ४० छुन लागिसके । वैवाहिक जीवन, घरगृहस्थीको कुनै गुन्जायस अथवा लक्षण छैन ।

    उनको दाबी छ, ‘विवाह मेरो अवधारणामै परेन कहिल्यै । मेरो सेड्युल नै भएन त्यो ।’

    जीवनलाई एक खालको लयमा राख्नेबारे अधिकांश मानिस सोच्छन् ।

    राबतको प्रश्न छ, ‘मान्छेले जे सोच्छन्, त्यही किन गर्नुपर्‍यो र ! म त एकलकाँटे टाइपको, मेरो आफ्नै फिलोसोफी छ ।’

    राबतका भाइको बालबच्चा भइसकेका छन् । घर परिवारमा सबैले गाली गर्छन् उनलाई । उनकी आमा भन्थिन्, ‘जेठो छोरोको बुहारी नहेरिकन जान्नँ ।’ तर, आमा पनि कराउँदा कराउँदै बितिन् ।

    ०००

    नुवाकोटको तामाङ वस्तीमा हुर्किएका राबतको समाज यस्तो थियो, जहाँ पढ्ने संस्कृति उत्तिसाह्रो थिएन । थोरबहुत अक्षर चिनेपछि पुग्यो भनिन्थ्यो । पढेर डाक्टर, इन्जिनियर बन्ने सपना त के, सोचसम्म पनि दूरको विषय थियो ।

    तर, राबत अलि तगडा विद्यार्थीमै गनिन्थे । एसएलसीपछि कलेज गएर के पढ्ने ? अन्धाधुन्ध काठमाडौं पसेर आरआर कलेज छिरे । आइए, बीए पढे ।

    सँगै साहित्यप्रति पनि रस बस्दै गयो ।

    ‘पहिला घरमा पत्रिपत्रिका पढ्ने वातावरण थिएन । खानदानमा बीए पास मैमात्र हो । अब पो आउने पुस्तालाई थाहा हुन्छ, आर्टस्, म्यानेजमेन्ट, साइन्स के हो भनेर,’ राबत गाउँतिर फर्किएर भन्छन्, ‘घरमा कला संस्कृतिको कुरो नै हुँदैनथ्यो । काठमाडौं आएर पढ्दा पो थाहा पाइयो त !’

    काठमाडौं प्रवेशपछि साहित्य बुझेका राबतले गजल लेख्न थाले । गीत, कविता लेख्न थाले । तर, समकालीन साथीभाइको तुलनामा एकदमै पातलो ।

    ‘पातलो त लेख्न नसकेर हो । मन त हुन्छ, खत्रा लेखूँ, लेखिरहूँ भन्ने । तर, नलेखेपछि पातलो हुन्छ,’ हाँस्दै सुनाउँछन् राबत ।

    ०००

    लेखनमा आफूले दैनिक बाँच्ने तरीकाले पनि असर गरेको बताउँछन् । दैनिक भोगिने अभावले असर गर्‍यो, चाहेको किताब पढ्न पाएनन् । अहिले पनि त्यो समस्या यथावत् छ राबतको ।

    ‘पढ्ने बानी बस्यो, लेख्नेभन्दा दुईचार घण्टा किताब पढ्न पाए हुन्थ्योजस्तो लाग्छ । तर, भनेजस्तो नमिल्ने,’ राबत खुल्छन्, ‘अहिले पढ्नलाई किताब छैन् । किन्न पनि महँगो छ । कसैले किताब उपहार दिए पनि हुन्थ्यो लाग्छ ।’

    राबतको लेखनलाई अभावले मात्रै होइन, जागिरले पनि उत्तिकै धक्का दियो ।

    ‘हामी भूइँमान्छेको जीवन हाउ टु सर्भाइभमै सकिँदो रहेछ । भनेको वेला केही गर्न नपाइने । एउटा कोठामा बसेर त कत्ति लेखिन्छ र ! आँखाले देखेको, छोएको कुरा बढी मज्जाले लेखिने हो । साँघुरो कोठामा बसेर साध्य नै नहुँदो रहेछ,’ राबतको अनुभव छ ।

    राबतले लेखनका लागि २१ वर्षे जागिरे जीवन छाड्ने योजना जतिपटक बनाए, उत्तिपटक नै भत्कियो । अझैं छाड्ने मनसायमा छैनन् । भाइ बुहारी, भाइका दुई छोरी, बाउ छन् । पहिला भाइ विदेश गएकाले थोरबहुत भरथेग भएको थियो । अहिले भाइले ‘म विदेश नगइन्जेल नछोड्’ भनेका छन् ।

    राबतको योजना छ, ‘भाइ विदेश गएपछि छाड्छु ।’

    ०००

    यावत् समस्याको तामासाबीच बाँचिरहँदा पनि केही छुटेजस्तो लाग्दैन राबतलाई ।

    ‘छुटेको कुरा सोच्दा पनि सोच्दिनँ । पछाडि फर्केर दुःखी हुँदिनँ,’ राबत हाँस्दै भन्छन्, ‘दुःखलाई पनि मान्यो भने पो दुःख त ! नमानेपछि दुःख पनि डराउँदो रहेछ । यो त अटेरी रहेछ भनेर छाड्दो रहेछ ।’

    दुःखभन्दा पर कहिलेकाहीँ भावनात्मक कुराहरुले राबतको आँखा छचल्काउँछ । आफैंले हुर्काएको भान्जाभान्जीले राम्रोसँग पढ्न नपाउँदा, उनीहरु टाढा–टाढा जाँदा रुन्छन् । तर, एक्लै रुन्छन् ।

    ‘म त भिडमा पनि १५ मिनेट समय मागेर रुने गर्छु । अत्ति भावुक भइन्छ कहिलेकाहीँ मदिरासँग भएको वेला,’ आफूलाई खोल्छन् राबत, ‘आँसु जैवीक कुरा हो । रोएपछि फ्रेस गराउँछ । भित्रको तुषहरु पखालिन्छ । विकारहरु फालिन्छ । मनमा लागेको बोल्न नपाउँदा गाह्रो हुन्छ । त्यो भँडास पोख्ने ठाउँ पनि हो आँसु ।’

    २२÷२५ वर्षको उमेरलाई ‘योङ ब्लड’ भन्छन् राबत । त्यसवेला धेरै भावुक नहोइने अनुभव छ उनको । अब त अरुका कथाहरु पनि आफ्नैजस्तो लाग्ने बताउँछन् । भूइँमान्छेको संघर्ष, सफलताको कथा पढ्दा पनि आँसु आउने अवस्था छ राबतको ।

    भन्छन्, ‘मैले विचार गरिरहेको छु, म धेरै कमजोर भएँ कि लाग्छ कहिलेकाहीँ ।’

    राबतको आँसु प्रेम–सम्बन्धका कारण चाहिँ आएको रहेनछ ।

    ‘प्रेम जानीजानी पनि गरिएन । जानीजानी प्रेम हुने पनि होइन होला । प्रेम भइहाले पनि लाइफ ज्याकेट लगाएर प्रेममा पर्छु । पहिला सेफ हुने अनि जाने, ट्राजेडी त हुनु नै छ,’ यत्ति भनेर जोडले हाँस्छन् राबत ।

    एसएलसी दिनेवेला एकजनालाई मनपराएका थिए उनले । केटीले पनि संकेत दिएकी थिइन् । एकअर्काको प्रेमलाई उजागर चाहिँ गरेनन् । ‘अनटोल्ड लभस्टोरी’ भयो राबतको त्यो ।

    त्यो प्रेमको किस्सा सुनाउँछन् राबत, ‘पछि उसको बिहा भयो, निकै गाह्रो भयो । तर, त्यो पीडा पनि दुईचारमाना रक्सी खाइदिएर पचाइदिइहालेँ ।’

    पछि म्युच्युर्ड हुँदै गएपछि बुझेर प्रेम भएन । अहिले त झनै उनलाई प्रेमले छुँदै छुँदैन । लामो हाँसोपछि नाडीको छाला देखाउँदै भन्छन्, ‘अहिले त मन पनि गैँडाको छालाजस्तो भयो । छिमोट्यो भने छ महिनापछि दुख्ने ।’

    तर, यत्ति क्रुर भएर पनि भएन ! भोलि फेरि प्रेम हुनसक्छ । जोगी पाराले पनि प्रेम हुनसक्छ । सम्भावना अझैं छ अविवाहित भएको नाताले उनको । भोलि मैनजस्तो पग्लिएर देवदास पनि हुनसक्छन् ।

    ‘प्रेम गरे पनि क्रेजी भएर चाहिँ गर्दिनँ जस्तो लाग्छ । मेरो प्रेमको त जहिल्यै भ्रूण हत्या हुन्छ भन्या,’ राबत सुनाउँछन् ।

    ‘कतिपय प्रेमिल सम्बन्ध टुट्नुमा जीवनशैलीले पनि असर गर्‍यो होला । तपाईंलाई त मदिराप्रेमी ज्यादा भन्छन् त बजारमा ?,’ मैले सोधेँ ।

    ‘बजारमा हल्ला आए जस्तो मदिराप्रेमी होइन म । मेडिकल कलेजमा जागिर खानेले सधैं खान त सकिँदैन । साथीभाइसँग बस्दा एकसातासम्मै खाइदिने, अफिस पनि लगभग मिलाउने बानी थियो । त्यसले गर्दा प्रेम प्रस्ताव पनि आउँदैन । बिहेका लागि बाउआमाले दुईचार ठाउँ त लगेका थिए, तर कहिले के नमिल्ने, कहिले के नमिल्ने । तर, सातादिनसम्म मदिरा पिउनका लागि इन्टिमेसी मिल्नुपर्‍यो । कतिपय दाइसँग बस्दा किताब पढेजस्तो नै हो । पिउने त बहाना मात्रै हो नि, !’

    ‘मदिराले स्वास्थ्यमा असर त गर्‍यो होला ?’

    ‘म नियमित पिउँदिनँ । एक्लै कहिल्यै पिउँदिनँ । एकजना साथी चाहियो । बाहिरतिर ठूल्ठूला मान्छेसँग बसेर पिउन चाहिँ डर लाग्छ । ठूल्ठूला लेखकहरु, बौद्धिकहरुको नजिक नपर्न पाए हुन्थ्यो लाग्ने ! मास फोबिया टाइपको ठूला मान्छेको अघि बोल्नै नसकिने । मदिरा पिएपछि चाहिँ अलिअलि बोल्न सकिन्छ ।’

    ०००

    राबत जोरपाटी र गोकर्णबीच बेंसीगाउँ बस्छन् । कुनाको भेग भएकाले त्यति साथीभाइसित भेट हुँदैन । पहिला साथीभाइलाई भेट्न बागबजार, भृकुटीमण्डप आइपुग्थे । त्यतै बास बस्थे । अहिले भने एक्लै बस्न मजा आउन थालेको अनुभूति छ राबतको ।

    एक्लै बसेर गाउँ सम्झन्छन् । पूर्वस्मृतितिर फर्कन्छन्,– गाउँका काका–मामाको जीवनमा कुनै ‘ट्वीस्ट’ नै छैन । घट्टदेखि घर, घरदेखि घट्ट पुग्छन् । कत्तिले त नजिकैको काठमाडौं पनि देखेका छैनन् ।

    ‘उनीहरुले भ्रष्ट्राचार गरेनन्, पोलुसन फैलाएनन् । चराचुरुंगीजस्तो पृथ्वीमा आए, खाए, हगे, मुते, आफ्नो तालमा बाँचेर गए । हाम्रो जीवन बाँच्ने लय त आनन्द रहेछ । उनीहरुले पृथ्वीलाई हानी गरेका छैनन् कम्तीमा । अहिले त ठूलो काम गर्नु होइन, केही नगर्नु नै प्रकृतिमाथिको योगदान हो । विषादी नफैलाउनु, हर्कत नगर्नु नै ठूलो कुरा हो,’ एक प्याराग्राफ नै निरन्तर बोल्छन् राबत ।

    उपन्यास लेख्ने जमर्को गर्दा राबतले गाउँलाई चुने । तर, सहरमा पनि पाइला पाइलामा कथा भएको उनको अनुभव र अनुभूतिले भन्छ । साथमा सहरमा दुःख छ, राबत स्वीकार्छन् । अनि सहरमा के रहेछ त्यस्तो जसले राबतलाई निरन्तर अल्झाइरहेको छ ?

    ‘हरेक सहरमा मोहनी हुन्छ । अवसर, दुःख, संघर्ष, प्राप्ति र गोल सहरमै छ । ढिँडो पिठो खाएको हामीलाई त सहरले यत्तिकै आकर्षित गरिहाल्छ ।’

    ‘कुनै दिन राबतले सहर छाड्ने सम्भावना कतिको छ ?’

    ‘सहर छाड्ने सम्भावना त जहिले पनि रहन्छ । छाड्ने योजना छैन, तर छाड्नैपरे पनि पछुतो चाहिँ हुने छैन । गाउँ जानुप¥यो भने पनि पछुतो हुन्न अब चाहिँ । तर, त्यसपछि सहरको सम्झनाले सताउँछ, जसरी अहिले गाउँको सम्झनाले सताउँछ । सहरलाई जति गाली, घृणा गरे पनि २०÷२५ वर्ष बसेको ठाउँमा प्रेमको भ्रुण जन्मिसकेको हुन्छ । छाडेर गए पनि सम्झना त आइहाल्ला नि !

    धुलो धुवाँ खाने बानी भयो । जति नै दुःख भए पनि यहीँको दुःखसँग प्रेम भइसक्यो । साँघुरो गल्ली, कोठामै प्रेम भइसक्यो । पहिला घरभेटीले गाली गर्ने, मट्टितेल नहुने कोठामा फर्कन नपाए हुन्थ्यो लाग्थ्यो । अहिले त्यो कोठाको पनि सम्झना आउँछ । घृणाबाट पनि प्रेम जन्मिँदोरहेछ आखेरी । मान्छेको जातै यस्तै रहेछ, जे गरे पनि नहुने ।’

    ०००

  • युट्यूवमा आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा रेखा थापाको उजुरी

    युट्यूवमा आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा रेखा थापाको उजुरी

    काठमाडौं । अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।

    आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।

    साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको पुष्टि गरे ।

    उनले भने, ‘उहाँको निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौं,’ उनले भने ।

    आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।

  • हिरासतमा भेट्न पुगेकी पुजालाई के भने पल शाहले ?

    हिरासतमा भेट्न पुगेकी पुजालाई के भने पल शाहले ?

    काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरयता नायिका पुजा शर्मा लगातार चर्चा र गसिपमा छिन् । पललाई बचाउन विभिन्न अन्तर्वार्तामा ‘बच्कना’ अभिव्यक्ति दिँदा उनको ट्रोल पनि भइरहेको छ ।

    चलचित्र प्रदर्शनको एक साता पूरा गरेको दिन आज निर्देशक सुदर्शन थापासहित पूजाले पहिले प्रेस मिट फेस गरिन् । चलचित्रले पहिलो साता उत्साहजनक व्यापार गरेपनि पुजा र सुदर्शनको अनुहारमा भने उत्साह थिएन । खासगरी पुजा प्रेसमिटमा निकै उदास र भावुक देखिएकी थिइन् ।

    प्रेस मिटको सुरूमै चलचित्रसम्वन्धी मात्रै प्रश्न राखिएको थियो । तर, सञ्चारकर्मीको चासो चाहिँ पलकै विषयमा केन्द्रित थियो । यसपालि भने पूजाले विवादित अभिव्यक्तिबाट बच्ने प्रयास गरिन् । कानूनले नै ठीक-बेठीक छुट्याउने भन्दै उनले आफू कसैको पक्ष वा विपक्षमा नरहेको बताइन् । चलचित्रमा गरेको मिहिनेत भन्दा कन्ट्रोभर्सीलाई बढी हाइलाइट गरिएकोमा उनको गुनासो थियो ।

    पूजाले अस्ति मात्रै तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेर पललाई भेटेकी थिइन् । उक्त भेटमा भएको कुराकानीबारे पनि सञ्चारकर्मीले उनलाई सोधेका थिए ।

    पूजाले भनिन्, ‘मैले सबैतिर हलहरूमा पुग्दा दर्शकले तिमीलाई खोजिरहेका छन् भनेर सुनाएँ । पलले पनि मेरो हृदयभरिको माया दर्शकलाई सुनाइदिनू है पुजा भनेको छ ।’

    पुजाले यस चलचित्रको प्रिमियरमा भक्कानिँदै भविष्यमा चलचित्र क्षेत्रबाटै बाहिरने सोचसमेत सुनाएकी थिइन् । यस विषयमा पनि सञ्चारकर्मीले जिज्ञासा राखे ।

    अब फेरि चलचित्र निर्माण गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा पुजाले भनिन्, ‘अब त सोच्नैपर्छ जस्तो लागिरहेको छ ।’

    बाहिरबाट जेजस्तो आक्रमण भए पनि आफूलाई फरक नपर्ने पुजाले बताइन् ।

    उनले भनिन्, ‘मलाई वार गर्नेहरूलाई दर्शकले नै छेकेर बस्नुभएको छ । १०० मा ९० प्रतिशतले मलाई साथ दिनुभएको छ । १० प्रतिशतले आक्रमण गरेर केही फरक पर्दैन ।’

    प्रेसमिटमा निर्देशक सुदर्शन थापाले स्क्यान्डलका कारण चलचित्र हिट भएको आरोपको खण्डन गरे ।

    उनले भने, ‘कुनै पनि चलचित्र राम्रो भयो भने मात्रै चल्ने हो । हामीले यसमा मिहिनेत गरेका थियौं । त्यसकै नतिजा प्राप्त भएको छ ।’

  • पल शाहको स्क्यान्डलले फाइदामा ‘म यस्तो गीत गाउँछु २’, एक हप्तामै ५ करोड कलेक्सन !

    पल शाहको स्क्यान्डलले फाइदामा ‘म यस्तो गीत गाउँछु २’, एक हप्तामै ५ करोड कलेक्सन !

    काठमाडौं । जब पल शाहको स्क्यान्डल बाहिर आयो, सबैभन्दा चिन्तामा परेको थियो ‘म यस्तो गीत गाउँछु २’ को निर्माण टिम । उनीहरूले सोचेका थिए- अब फिल्म डुब्यो । तर, सोचेको भन्दा उल्टो नतिजा आएको छ ।

    पल शाह प्रकरणले यो चलचित्रलाई व्यापारिकरुपमा फाइदा भयो । पहिलो दिनबाटै आक्रामक व्यापार गरेको चलचित्रले अहिले पनि देशभर उल्लेख्य संख्यामा दर्शक बटुलिरहेको छ । चलचित्रकी निर्मात्री तथा नायिका पुजा शर्माले एक हप्तामै चलचित्रले करिब पाँच करोडको व्यापार गरेको सार्वजनिक दावी गरेकी छन् ।

    पुजाले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको विवरणअनुसार फिल्मले पहिलो हप्ता ४ करोड ९५ लाखको कलेक्सन गरेको हो । यदि यो दाबी सत्य हो भने करिब अढाइ करोडको बजेटमा बनेको फिल्मले पहिलो हप्तामै लगानी लगभग उठाइसकेको छ । आगामी दिनको व्यापारले फिल्मको मुनाफा सुनिश्चित गर्नेछ ।

    सुदर्शन थापा निर्देशित यो चलचित्रमा पल शाह र पुजा शर्माले मूख्य भूमिका निभाएका छन् । पल यतिबेला जबरजस्ति करणीको मुद्दामा जेलमा छन् । चलचित्रको प्रिमियरकै दिनमा प्रहरीमा उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको केही दिनमा उनले आफैं जिप्रका तनहुँ पुगेर गिरफ्तारी दिएका थिए ।

    पल गिरफ्तार भएसँगै फ्यानहरुको सहानुभूति उनीप्रति वर्षिएको छ । यसको फाइदा ‘म यस्तो गीत गाउँछु’ लाई भएको हो । पल पक्राउ प्रकरणका कारण फिल्मले सेल्फ पब्लिसिटीसमेत पाएको छ । नायिका पुजा शर्मा विभिन्न हलमा पुगेर पललाई सम्झीँदै रुने-कराउने गरिरहेकी छन् ।

  • एलिना चौहानले पलप्रति देखाइन् सहानुभूति, गायिका नाबालिग भएकोमा आशंका

    एलिना चौहानले पलप्रति देखाइन् सहानुभूति, गायिका नाबालिग भएकोमा आशंका

    काठमाडौं । गायिका एलिना चौहानले जबरजस्ति करणी आरोपमा पक्राउ परेका पल शाहप्रति सहानुभूति दर्शाएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले जाहेरी दिने गायिका ‘नाबालिग’ भएको विषयमा आशंका समेत व्यक्त गरेकी छन् ।

    एलिना उमेरले समिक्षाभन्दा सिनियर भए पनि कलाकारितामा समकालीन हुन् । उनीहरुले एकसाथ गीत पनि गाएका छन् । आफ्नो स्टाटसमा एलिनाले आफूहरुले झण्डै एउटै समयमा यस क्षेत्रमा पाइला अघि बढाएको स्मरण गरेकी छन् ।

    ‘तिमीसँगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकके सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनिरहेका कुराहरु कहिल्यै सुनाएकि थिएनौ ।’ एलिनाले भनेकी छन् ।

    उनी थप्छिन्, ‘तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौ तर कानूनले प्रमाणमा विश्वास राख्छ र त्यो तिमीले कानूनलाई बुझाएकी छौ होला । नाबालिका प्रमाणित भएको खण्डमा कानूनले त्यसकै अनुरुप तिमीलाई न्याय दिनेछ ।

    आरोपी पलप्रति सहानुभूति दर्शाउँदै एलिनाले आज लागेको आरोपले उनीप्रतिको सम्मान थोरैपनि विचलित नभएको बताएकी छन् ।

    ‘आज जुन आरोपले तपाईं प्रहरी हिरासतमा बस्नु परेको छ, त्यो झूटो सावित भयो भने सबैभन्दा पहिला तपाईंको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जीवनमा धेरै महंगो पाठ सिकेँ भनेर महसुस गर्नुहोला ।’

    पलले आफैं प्रहरीको हिरासतमा गई अनुसन्धानलाई सघाउनु नै ठूलो कुरा भएको एलिनाको भनाइ छ ।

    यस्तो छ एलिनाको स्टाटस

    केहि दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केहि भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।

    बहिनी समिक्षालाई

    प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुराहरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरोप के हो, त्यसको वास्तबिक्ता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कैपनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामापनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।

    दादा पललाई

    आदरणीय दाई पल शाहा प्रति मेरो उत्तिकै सम्मान छ । तपाई मा लागेको आजको आरोपले तपाई प्रतिको सम्मानमा थोरैपनि बिचलित बनाएको छैन । एउटा सामान्य भिडियो इडिटर भएर कलाकारीता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कैपनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागी प्रेरणाको स्रोत बनेको थियो । हजुरसंग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजुरको काम प्रतिको लगनशील्ता र आत्मविश्वासले गीत संगीत क्षेत्रलाई अझ माथी उठाएको पक्कै हो । आज जुन आरोपले तपाई प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जिवनमा धेरै महंगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ । हो त्यस्को आहारा भन्नु पर्यो तपाई आज । बाहिर आएको अडियोहरुमा के कतिको सत्यता छ त्यसलाई अहिलेनै बिचार गरी हाल्न सक्ने अवस्था र बौदिक्ता म मा छैन । हजुर स्वयं प्रहरीको रिरासतमा गई अनुसन्धानलाई सगाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरीए तपाईसंगै मपनि खुशीको पात्र बन्ने छु ।

    शुभचिन्तकलाई

    आज गरेको कर्मले भोलीको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोहि समिक्षा बहिनीलाई सहि मान्दै हुनु हुन्छ होल त कति समिक्षाका शुभचिन्तक उनि गलत हो भनेर बस्नु भएको होला । तपाईहरु त हाम्र लागी जिउँदो भग्वान हो । तपाईहरु बिना हामी अधुरा छौ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष बिपक्ष भई आ-आफ्नो मान्छेलाई साथ दिई रहनु भएको छ । तपाई दर्शकहरु कहिल्यौ गलत हुनु हुन्न र हुन सक्नुपनि हुन्न । तपाईहरुलाई गलत देख्ने त हामी गलत हौ । तपाईहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होईनौ कि हरेक गलत कुरालाई तपाईहरु सहि मानि दिनु हुन्छ । तपाई दर्शकहरुको नगरमा जे गलत छ त्यो गलतनै हुनेछ ।

    गीत संगीतमा बहिनी समिक्षा र दाजु पल ले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यती सानो उमेरमा यती मीठो गाउने अर्को समिक्षा पाउला न नै यती लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तीनै आवस्यक छ र रहनेछपनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारीफ मा तारीफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।

    कानुनका खाका पल्टाउँदै जाँदा को कति दोशी छ त्यो त भोली अदालतले आफ्नो फौसलामा समाबेस गर्ला र त्यहि बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुन भन्दा माथी कोहि छैन त्यसैले कानुनको फौसला नमानेर कोहि बिजेता हुनेछैन । अब लडाई समिक्षा र पलको होईन न नै समिक्षा र पलले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्धवानहरुले लडाई लड्ने छन् । हामी त बस सत्यताको पर्खाईमा छौ । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।
    नोटः पिडित पक्षको नाम खुलाउन नमिल्ने भएतापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकी हुँ । माथी उल्लेखीत कुराहरुमा म गलत भए माफि चाहान्छु ।

  • चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ)

    चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ)

    काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एउटा सिक्वेल रिलिजको संघारमा छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘लप्पन छप्पन २’ को आज प्रिमियर शो आयोजना गरियो ।

    कोरोना महामारीका कारण यो चलचित्रको रिलिज पटक-पटक स्थगित भएको थियो । बिग मुभिजमा आयोजित प्रिमियरमा आएर चलचित्र हेरेका कलाकार तथा सञ्चारकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुस्ताङमा छायांकन भइरहेको सिनेमा ‘लाखे’को छायांकनमा व्यस्त भएका कारण सौगात मल्ल र अर्का अभिनेता अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् । शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ प्रिमियरमा उपस्थित थिए । यस्तै, अभिनेता अर्पण थापा, अभिनेत्री क्यारोलिन कोलिन्डा, निर्देशक मुकुन्द भट्ट र निर्माताहरु आएका थिए ।

    नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्याण्ड्समा छायांकन गरिएको मल्टिस्टारर सिनेमाले राजनीति र अपराधको कथा भन्ने छ । सन् २०१७ मा रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’ को यो दोस्रो सिरिज हो । चलचित्रमा अभिनेता शिव श्रेष्ठ र छोरा शक्तिले सिनेमामा सँगै काम गरेका छन् ।

    प्रिमियरपछि कुरा गर्दै अभिनेता श्रेष्ठले सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित सिनेमा भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपील गरे । महामारीपछि बक्सअफिसलाई चलायमान बनाउन सिनेमाले भूमिका खेल्ने उनको अपेक्षा छ ।
    सिनेमाका एक मुख्य कलाकार अर्पण थापाले हलसम्म फर्किन नपाएका दर्शकलाई ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे ।

    ‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका सिनेमा हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

    एक्सन ड्रामामा प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

    ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुने बताइएको छ ।

    तस्बिरहरु: उमेश कार्की

  • कस्तो मनोदशामा छिन् गायिका ?

    कस्तो मनोदशामा छिन् गायिका ?

    काठमाडौं । उमेरले उनी नबालिग नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ ।

    जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।

    पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

    ‘रियल हिरो’ कहलिएिका स्टारविरुद्ध जबर्जस्ती करणीको जाहेरी हालेयता उनले सामाजिक सञ्जालमा निकै तीखा प्रतिक्रियाहरू सामना गर्नुपर्‍यो । सुरू-सुरूमा त्यस्ता प्रतिक्रियाहरू पचाउन निकै गाह्रो भएको थियो उनलाई । कमेन्टमा कसैले ‘रिप’ लेखेको देखिन् भने धेरैबेरसम्म बिथोलिन्थिन् । बारम्बार रुन्थिन् ।

    तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् ।

    जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् ।

    ‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।

    काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् । दिदी-भिनाजु पनि उनीसँगै छन् ।

    प्रहरीमा जाहेरी दिएयता किशोरीले आफ्नो फेसबुक खोलेकी छैनन् । उनको मोबाइल छानविनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमै छ । उनी दिदीको मोबाइलमा दिदीकै फेसबुक हेर्छिन् । टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् ।

    आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ । उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् । दिदी र भिनाजुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ । पहिले-पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन ।

    जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् । खासगरी कलाकारिता क्षेत्रमा महिला सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत जनाएको समर्थनले उनी हौसिएकी छन् ।

    नाबालिग गायिकाका बुबाआमालाई पनि यो परिस्थितिको सामना गर्न सहज छैन । छरछिमेकी र आफन्तहरूले उनीहरूलाई प्रश्नमाथि प्रश्न तेर्स्याइरहेका हुन्छन् । युट्यूवमा आउने भिडिओहरू हेरेर यस्तो रहेछ नि ? भन्दै घोचपेच गर्नेहरू पनि थुप्रै छन् । यद्यपि, साथ दिने र हौसला बढाउनेको पनि कमी भने छैन ।

    चरित्रहत्या नगर्न आग्रह

    युट्यूवमा ‘नयाँ खुलासा’ भन्दै विभिन्न व्यक्तिहरूलाई उभ्याएर गायिकाको पृष्ठभूमि खोतल्ने काम भइरहेको छ । उनी विगतमा अर्को पुरुषसँग लिभिङमा रहेको दाबी गर्दै केही व्यक्ति भाइरल भएका छन् । यस्तै भिडिओहरू हेरेर उनीमाथि गाली वर्षाउने क्रम चलिरहेको छ ।

    गायिकानिकट स्रोतले उनको सन्देश सुनाउँदै भन्यो, ‘कृपया वास्तविकता नबुझी चरित्रहत्या गर्ने खालका पोष्ट र कमेन्टहरू नगरिदिनु होला ।’

    पहिले लिभिङमा रहेको भन्ने दाबीलाई गायिकाले खण्डन गरेकी छन् ।

    उनको भनाइ उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘अन्तरवार्ता दिएर भाइरल हुनुभएको महिलालाई म चिन्दिनँ । खोइ, किन त्यस्तो भन्नुभयो । तर, जो व्यक्तिसँग मेरो नाम जोडिएको छ, उहाँ मेरो दाइजस्तो हो । सुटिङको क्रममा हाम्रो गाउँमा आउनुहुँदा भेट भएको थियो । लिभिङमा बसेको भनेर मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ । कृपया यस्तो नगरिदिनुहोला ।’

  • पललाई भेट्न दमौली पुगिन् पुजा शर्मा, शनिबार हलमा लगेर दर्शकसँगै फिल्म हेराउने गफ

    पललाई भेट्न दमौली पुगिन् पुजा शर्मा, शनिबार हलमा लगेर दर्शकसँगै फिल्म हेराउने गफ

    काठमाडौं । जबरजस्ति करणीको आरोपमा पल शाहविरुद्ध किटानी जाहेरी परेदेखि नै उनको समर्थनमा खुलेर बोल्दै आएकी हुन् नायिका पुजा शर्मा । अहिले पनि उनी पलको पक्षमा बयानबाजी गर्न हिच्किचाइरहेकी छैनन् ।

    पुजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ र सुखद व्यापार गरिरहेको छ । यो चलचित्रमा पल शाह मुख्य भूमिकामा छन् ।

    चलचित्रको प्रमोशनका क्रममा विभिन्न हलहरुमा पुग्दा पुजालाई सञ्चारकर्मीले राख्ने जिज्ञासा पलकै विषयमा हुन्छ । उनी खुलेर जवाफ पनि दिन्छन् ।

    हिजो एउटा हलमा सञ्चारकर्मीसँग कुरा गर्दै पल बिना आफूलाई एक्लो फिल भइरहेको बताएकी थिइन् । शनिबारसम्म पललाई दर्शकसामू फिल्म हेराउने धोको रहेको उनको भनाइ थियो ।

    ‘म भोली पललाई भेट्न जान्छु । कति मनमा लागेका कुराहरु रोकेर राखेको छु । अहिले पल र म भए कति सहज हुन्थ्यो । एक्लो फिल भइराखेको छ । भोली बिहानै तनहुँ गएर शनिबारसम्म सबै दर्शकसामु ल्याउने ठूलो रहर छ,’ पुजाले भनिन् ।

    उनले थपिन्, ‘मान्छेको इच्छा त हुन्छ नि त । उसले गरेको छ या छैन भन्ने प्रुफ भएको छैन । उसको सपना यो छ (फिल्म हेर्ने) भनेपछि जसरी पनि पूरा गर्नु नै पर्छ ।’

    पललाई प्रहरीले हातमा हत्कडी लगाएकोमा उनले चित्त दुखाइन् ।

    पुजाले भनिन्, ‘यहाँ कलाकारको भ्यालु बुझिएन । पललाई हत्कडी लगाएको देख्दा मलाई यस्तोसम्म नराम्रो लाग्यो… उ दोषि प्रुभ भइसकेपछि त ठीक छ, मानिन्छ । अहिले त प्रुभ भइसकेको छैन नि । नेपाली कलाकारलाई केही सम्मान छैन, भ्यालु पनि छैन भन्ने फिल गरेँ मैले । एउटा कलाकारलाई जे गर्दा पनि भयो, जे भन्दा पनि भयो । देश यत्तिकै पछि परेको होइन ।’

    सुरुवातदेखि नै पललाई फसाइएको जस्तो आफूलाई फिल भएको पुजाले बताइन् । जबरजस्ति उनलाई पाउन प्रयास भएको भन्दै उनले सबै कुरा प्लानिङमा भएको दावीसमेत गरिन् ।

    ‘यदि बलात्कारी हो भने बलात्कारीसित बिहे गर्छु भन्छ कसैले ? मैले यो केसलाई यति मिलाउन खोजेँ, तर सबै प्लानिङमा भएको रहेछ । माया भनेको मागेर पाईंदैन । माया भनेको त्याग हो । माया एकतर्फी कहिल्यै हुँदैन । उसले सोच्नु पर्ने कुरा हो,’ पुजाले भनिन् ।

    उनले बलात्कारको अर्थ नै अहिलेसम्म आफूले बुझ्न नसकेको बताइन् ।

    ‘पलले आएर कपडा सपडा च्यातिदिने गरेको जस्तो त लाग्दैन । पल त्यस्तो क्यारेक्टरको केटा नै होइन । खासमा मैले बलात्कारको मिनिङ नै बुझेको छैन । अहिले बल्ल बुझ्दैछु,’ पुजाले भनिन् ।

    पुजा आज पललाई भेट्न दमौली पुगिसकेकी छन् । अहिले उनी दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा युट्यूवरको भिडमा प्रवेश भइसकेकी छन् ।

  • रेडक्यापले ल्याए अर्को र्‍याप (भिडिओसहित)

    रेडक्यापले ल्याए अर्को र्‍याप (भिडिओसहित)

    काठमाडौं । उदीयमान कलाकार गौरव पौडेल (रेडक्याप)ले अर्को र्‍यापगीत सार्वजनिक गरेका छन् । उनले यसपटक ‘हाँस हाँस’ शीर्षकको र्‍यापगीत बजारमा ल्याएका हुन् ।

    र्‍यापगीतप्रति आफ्नो क्रेजलाई प्रस्तुत गर्दै रेडक्यापले उक्त गीत ल्याएका हुन् । उनको गीतमा समसामयिक विषयका धेरै सवाल प्रस्तुत भएका छन् ।

    गीतको शब्द उनैले लेखेका हुन् । उनले आगामी दिनमा फरक स्वादका गीत पस्कँदै जाने बताए ।

    उनले यसअघि ‘ताल न बेताल’ शीर्षकमा दोहोरी र र्‍यापको मिश्रण शैलीको गीत बजारमा ल्याएका थिए । रेडक्यापको शब्द रहेको उक्त गीतमा दृष्टि पौडेलले आवाज दिएकी छन् । गीतको र्‍याप भागमा रेडक्यापले नै स्वर भरेका छन् ।

    भिडिओ हेर्न यो लिंकमा क्लिक गर्नुस्

  • नाबालिगको संरक्षण गर्नु राज्यको जिम्मा : ऋचा शर्मा

    नाबालिगको संरक्षण गर्नु राज्यको जिम्मा : ऋचा शर्मा

    काठमाडौं । पल शाह प्रकरणमा मुख खोल्दै अभिनेत्री ऋचा शर्माले नाबालिगको संरक्षण गर्नु राज्यको जिम्मा हुने बताएकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् ।

    ऋचाले लेखेकी छन्, ‘मुलुकी अपराध संहिताले भन्छ १८ वर्ष मुनिकासँग यौनसम्बन्ध राख्नु बलात्कार हो। कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी । हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै ।’

    उनले नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको बताएकी छन् ।

    ‘यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न,’ उनले भनेकी छन् ।

    नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्रहत्या गर्नु नहुने उनको टिप्पणी छ ।

    ‘नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ उनले भनेकी छन् ।

  • पल शाह प्रकरणमा मुख खोल्दै सञ्चिताले भनिन्- चरित्रहत्या बन्द गरौं

    पल शाह प्रकरणमा मुख खोल्दै सञ्चिताले भनिन्- चरित्रहत्या बन्द गरौं

    काठमाडौं । पल शाह प्रकरणमा मौन रहेका कलाकारहरु विस्तारै खुल्न थालेका छन् ।

    अभिनेत्री सञ्चिता लुईंटेलले भने यस घटनासँग सम्वन्धिक अलिक फरक विषयको उठान गर्दै स्टाटस लेखेकी छन् ।

    पल शाह प्रकरणसँग जोडेर आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् । यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद भएको उनको भनाइ छ ।

    फेसबुकमा उनले लेखेकी छन्, ‘पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो ।’

    कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरु बन्द गर्न सञ्चिताले आह्वान गरेकी छन् । यसमा उनले प्रहरीको पनि ध्यानाकर्षण गराएकी छन् ।

    ‘दोषि र निर्दोषी छुट्याउने काम कानून र अदालतको हो’ उनी लेख्छिन्, ‘त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ ।’

  • निफ चैत १७ देखि, ३८ देशका ८९ चलचित्र प्रतिस्पर्धामा (भिडिओ)

    निफ चैत १७ देखि, ३८ देशका ८९ चलचित्र प्रतिस्पर्धामा (भिडिओ)

    काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’(निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । गत वर्ष कोरोनाभाइरसका कारण महोत्सव भर्चुअल माध्यमबाट गरिएको थियो ।

    यसवर्ष भने राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको आयोजक सस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा यता परिस्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए ।

    शाहले भने, ‘यो निफलाई मैले पहिलो संस्करणको बेलादेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै बढी अघि बढाएर लैजानु पर्छ ।’

    यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।

    महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।

  • समीक्षाको समर्थनमा खुलिन् रेखा थापा, समाजले बालिकाको संरक्षण गर्नुपर्ने तर्क

    समीक्षाको समर्थनमा खुलिन् रेखा थापा, समाजले बालिकाको संरक्षण गर्नुपर्ने तर्क

    काठमाडौं । पल शाह प्रकरणमा चलचित्र क्षेत्रका अधिकांश कलाकर्मीहरूले मौनता साँधिरहेका बेला नायिका रेखा थापाले मुख खोलेकी छिन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले समीक्षा अधिकारीको पक्षमा आफूलाई खुलाएकी हुन् ।

    २० वर्षमुनिका छोरीहरू बालिका हुने भएकाले उनीहरुले सबैप्रकारका सुरक्षा र अभिभावकत्व पाउनुपर्ने रेखाको तर्क छ ।

    उनले लेखेकी छन्, ‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कतिपटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानूनलाई मतलब हुनु हुँदैन ।’

    उनी थप्छिन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनकरूपमा नेपालमा व्याप्त छ ।’

  • लेखनाथ पोखरेलको हाँस्य-निबन्ध ‘चिबे नकटो’ बजारमा

    लेखनाथ पोखरेलको हाँस्य-निबन्ध ‘चिबे नकटो’ बजारमा

    काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको हाँस्य-निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ र कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याउनुभएका पोखरेलको तेस्रो कृति ‘चिबे नकटो’ बजारमा आएको हो ।

    सावित्री पोखरेल प्रकाशक रहेको २८० पेजको यो हाँस्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई रोचक ढंगले प्रस्तुत गरिएकोे छ । कृतिभित्रै कै एक हाँस्य–निबन्ध ‘चिबे नकटो’लाई लिएर पुस्तकको नाम राखिएको छ ।

    पुस्तकमा ‘हस् हाकिमसाब !, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झँक्रीबा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ !’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि !’, ‘दोषी सपना’ र ‘सुर्तीको फूर्ति’ ‘मेरो गुरु साह्रै सिपालु’, ‘वैशाखनन्दका कथा’, ‘म बुढो भएँ अरे !’, ‘रानीमत्ताको लेख’, ‘पुर्पुरोमा हात’, ‘सगोत्रीको मोह’, ‘प्रवृत्ति’, ‘म त ट्वाँ परेँ नि !’, ‘पण्डितजीको पटियाला पेग’, ‘अब बाजे भने फरक पर्दैन’, ‘साहेब ध्यानमा होइसिन्छ’, ‘नबल्झिएको च्याँखे’, ‘ब्योमवाला’, ‘टाइमपास’, ‘सम्पन नेपाली’ र ‘कोरोनाकाल’ जस्ता हास्य-निबन्ध समेटिएका छन् ।

    लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर हाँस्य-निबन्धको मालामा उनेका छन् ।

    कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म व्यहोरेका, अनुभूत र समाजभित्रका विकृति र विसंगतिलाई हाँस्यवंग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताउँछन् ।

    ‘प्रस्तुत कृतिमा एक प्रकारले समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिबिम्ब भएको पाइन्छ । यस कृति जति हास्यव्यंग्यले पूर्ण छ त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो’, दाहालले भने ।

    समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैं बनेर लेखनलाई अगाडि बढाउने क्रममा हाँस्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताए ।

    आफ्ना यसअघिका कृति जस्तै यो हाँस्य–निबन्धले पनि पाठकको मन जित्नेमा आफू आशावादी रहेको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उनले आग्रह गरे ।

    पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं.प्रेस, प्रा.ली. मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

    स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उनको अर्को कृति उपन्यास ‘रूपान्तरण’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।

  • जीवनमा आफूले पाएको राम्रो-नराम्रो सल्लाहबारे दीपिकाले यस्तो खुलाइन्

    जीवनमा आफूले पाएको राम्रो-नराम्रो सल्लाहबारे दीपिकाले यस्तो खुलाइन्

    मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई हालै एक अन्तर्वार्तामा मानिसहरूबाट पाएको सबैभन्दा राम्रो र नराम्रो सल्लाह के हो भनेर सोधिएको थियो । जवाफमा उनले सबैभन्दा नराम्रो सल्लाह आफूलाई १८ वर्षको हुँदा पाएको बताइन् ।

    उनले भनेकी थिइन्, ‘त्यतिबेला मलाई कसैले ब्रेस्ट सर्जरी गर्न सल्लाह दिएका थिए । यो कुरालाई मैले गम्भीररूपमा नलिएको हुँदा म खुसी छु ।’

    दीपिकाले भनिन्, ‘मैले सबैभन्दा राम्रो सल्लाह शाहरुख खानबाट पाएँ र मैले उहाँबाट पनि धेरै कुरा सिकेको छु । उहाँले आफूलाई जसको साथमा काम गर्न मन लागेको छ ऊसँग सधैँ काम गर्नुपर्छ भन्नुभयो । किनकि जब तपाईं फिल्म बनाउनुहुन्छ, तब एउटा जिन्दगी जिउने गर्छौ । त्यो समयमा केही सम्झनाहरू र धेरै अनुभवहरू हुन्छ ।’

    दीपिकाले सन् २००७ मा फराह खानको फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा आफ्नो करिअर सुरू गरेकी थिइन् । यस फिल्ममा दीपिकासँगै शाहरुख खान र अर्जुन रामपाल पनि थिए ।

    यो फिल्म गर्दा दीपिका २१ वर्षकी थिइन् । पछि उनले ‘ये जवानी है दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू इयर’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत्’ आदि धेरै फिल्महरूमा काम गरिन् । हालै उनी अनन्या पाण्डे, धैर्य करवा र सिद्धान्त चतुर्वेदीसँग फिल्म ‘गेहराइँ’ मा देखिएकी छिन् ।

  • ‘हाम्रो शान, हाम्रो मान पल शाह’ भन्दै तनहुँमा समर्थकको र्‍याली

    ‘हाम्रो शान, हाम्रो मान पल शाह’ भन्दै तनहुँमा समर्थकको र्‍याली

    काठमाडौं । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका नायक पल शाहको पक्षमा तनहुँमा प्रदर्शन गरिएको छ । पलको समर्थनमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित समर्थकले प्रदर्शन गरेका हुन् ।

    करिब एक दर्जन युवा-युवतीले ‘पल शाह जिन्दावाद’, ‘हाम्रो मान, हाम्रो शान पल शाह’ दिनदु:खीको हिरो पल शाह, जस्टिस फर पल शाहलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए । उनीहरूले पल शाहमाथि अन्याय भएको सञ्चारकर्मीसँग बताए ।

    एक युवतीले भनिन्, ‘यदि बलात्कार भएको भए पीडितको लुगा च्यातचुत भएको हुनुपर्थ्यो । त्यो प्रमाणहरू खोई पुलिसमा दिएको ? एक वर्षपछि केस दिनु भनेको सरासर फसाइएको हो । दादा निर्दोष हुनुहुन्छ ।’

    एक युवाले पल शाहले न्याय पाउनुपर्ने बताए ।

    उनले भने, ‘समीक्षालाई जबर्जस्ती गरिएको भए आजभन्दा एक वर्षअगाडि यो कुरा किन आएन । जबर्जस्ती गरेर कसैको माया पाइन्छ ? पल शाहलाई न्याय दिनुपर्छ ।’

    अर्का युवकले पल शाहको समीक्षाजस्ता हजारौं लाखौं फ्यान भएको दाबी गरे ।

    उनले भने, ‘कुनै पनि पल शाहको डाइ हार्ड फ्यानले उहाँको कारणले मर्दैछु भनेर सुसाइड गर्यो भने त्यसमा पनि पल शाहलाई दोषी मान्ने त ? अडिओ क्लिप्सहरू आइसकेपछि अपराधी स्वयम्ले म अपराधी हो भनेर चारजनाको नाम लिनुभयो । त्यो चारजनालाई खोइ अनुसन्धानका लागि लगेको ? दुर्गेशले कार्यक्रममा जहाँ पनि हिँड्न पाउने ? नारीले आफ्नो यौवनलाई ब्रम्हास्त्र बनाएर पुरुषलाई प्रहार नगरोस । समीक्षा बहिनी तिमी पनि गलत छौ ।’

    नायक पल शाहले हिजो तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए । जिल्ला अदालत तनहुँले उनको सात दिन म्याद थप गरेको छ ।

  • अनमोल केसी अभिनित फिल्म ‘हनी बनी’ असोज १४ गते रिलिज हुने

    अनमोल केसी अभिनित फिल्म ‘हनी बनी’ असोज १४ गते रिलिज हुने

    काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘हनी बनी’को रिलिज मिति घोषणा गरिएको छ। फिल्म आगामी वर्षको दशैं अर्थात असोज १४ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

    अभिनेता अनमोल केसी र सलोन बस्नेतको फिल्ममा मुख्य भुमिका रहने छ भने मुख्य अभिनेत्रीको भने छनोट भैरहेको छ ।

    मार्चबाट फ्लोरमा जाने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

    एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।

    यही टिमले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । फिल्मको चाँडै नयाँ रिलिज मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ । पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भुमिका रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।