Category: कलाप्रेस

  • ‘नपार दोधारमा’मा रोमान्टिक देखिए पुष्प र गीता (भिडिओसहित)

    ‘नपार दोधारमा’मा रोमान्टिक देखिए पुष्प र गीता (भिडिओसहित)

    काठमाडौं । रानी शाक्यको स्वरमा समावेश गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

    गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक रुपमा अभिनय गरेका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।

    भिडियोमा पुष्प र गीताको जोडी जमेको छ । उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।

  • पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलत्कारको मुद्दा, १४ वर्षसम्मको जेल सजाय माग

    पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलत्कारको मुद्दा, १४ वर्षसम्मको जेल सजाय माग

    ३ चैत, काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको छ ।

    नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

    अभियोगपत्रमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ ।

    उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

    घटना छँदा ‘पीडित’ नाबालिग १६ वर्षभन्दा मुनि भएको अभियोगपत्रमा जनाइएको छ ।

    पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।

  • निखिल-सञ्चिताको नयाँ घरमा होलीको रौनक, यस्तो रह्यो अन्य कलाकारको होली

    निखिल-सञ्चिताको नयाँ घरमा होलीको रौनक, यस्तो रह्यो अन्य कलाकारको होली

    काठमाडौं । आम सर्वसाधारणझैं कलाकारहरुले पनि यस वर्षको फागु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छन् । विगत दुई वर्ष कोरोनाका कारण खुलेर होली खेल्न नपाएकाले पनि यो वर्षको होली विशेष रहेको छ ।

    नायक निखिल उप्रेति र नायिका सञ्चिता लुईंटेलले आफ्नै घरमा सानो जमघट गरी होली मनाए । उनीहरुले हालै गोदावारीमा खरिद गरेको नयाँ घरमा होली आयोजना गरेका हुन् ।

    निखिल–सञ्चिताको घरमा होली खेल्न नायिका रेखा थापा र नायक रमेश उप्रेति पनि पुगेका थिए । सञ्चिताले यसपाली बाहिर नगई घरमै होली मनाएको बताइन् ।

    ‘नजिकका साथीभाइ र परिवारका सदस्यहरु मिलेर रमाइलो गरेका हौं,’ उनले भनिन् ।

    अन्य कलाकारहरुले पनि आआफ्नै तरिकाले होली मनाएका छन् । नायिका श्वेता खड्का र नायिका आँचल शर्मा आफ्नो श्रीमानसँग होलीमा रमाए । उनीहरुले सामाजिक सञ्जालमा होलीको तस्विर सेयर गरेका छन् । यस्तै, अभिनेता दिपकराज गिरी, अभिनेत्री दिपााश्री निरौला लगायतले आआफ्नो परिवारसँग होली मनाए ।

    विगतमा आफ्नो घरमा भव्य होली आयोजना गर्ने गरेकी अभिनेत्री करिश्मा मानन्धरले भने त्यो परम्परालाई निरन्तरता दिइनन् । कोरोना सुरु भएदेखि उनको घरमा होली कार्यक्रम हुन छोडेको थियो ।

  • पर्वत कलाकार समाजमा नयाँ नेतृत्व, अध्यक्षमा कुलेन्द्र

    पर्वत कलाकार समाजमा नयाँ नेतृत्व, अध्यक्षमा कुलेन्द्र

    पर्वत । पर्वत कलाकार समाजको अध्यक्षमा लोकगायक कलाकार कुलेन्द्र विश्वकर्मा चयन भएका छन् । काठमाडौंमा सम्पन्न समाजको दोस्रो अधिवेशनले कुलेन्द्रको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो ।

    समाजको वरिष्ठ उपाध्यक्षमा कृष्णसमीप सुवेदी , सचिवमा सुजा बराईली , कोषाध्यक्षमा सुष्मा लोहोनी र सहकोषाध्यक्षमा लक्षुप्रकाश मल्ललाई चयन गरिएको छ ।

    त्यस्तैगरी भीमबहादुर पौडेल, रेशम सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दीपिका पौडेल सदस्यमा छानिएका छन् ।

    अध्यक्ष विश्वकर्माले कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सिर्जनामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • होलीमा यसरी रमाए कलाकार (तस्बिरहरू)

    होलीमा यसरी रमाए कलाकार (तस्बिरहरू)

    काठमाडौं । काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा आज धुमधामका साथ होली मनारहेका छन् । आज सर्वसाधारणदेखि सेलिब्रिटीहरुले एक अर्कालाई रङ दलेर होली सेलिब्रेट गरिरहेका छन् ।

    धेरै कलाकारहरुले होली मनाएका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, दीपा श्री निरौला, रेखा थापा, स्वेता खड्का, पुष्प खड्का, एलिजा गौतम लगायतले फागुपर्व मनाएका तस्वीर सार्वजनिक गरेका छन् ।

    मोडल एलिजा गौतमले को–एक्टर पुष्पा खड्कासँग होली मनाएकी छन् भने रेखाले दिदी र भाइहरुसँग होली मनाएको तस्वीर सेयर गरेकी छन् । पुजा शर्माले भने यसवर्षको होली आफ्नो प्रेमी युद्ध बानियासँग मनाएकी छिन् ।

    तस्बिर स्रोत : सामाजिक सञ्जाल

  • नेपाली दर्शकलाई अक्षय कुमारकाे सन्देशः फिल्म हेर्नुस्, निराश बनाउँदैन

    नेपाली दर्शकलाई अक्षय कुमारकाे सन्देशः फिल्म हेर्नुस्, निराश बनाउँदैन

    काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् ।

    ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपालाई भरपुर मनोरञ्जन दिनेछ’ अक्षयले भिडियोमा भनेका छन् ।

    अभिनेता अक्षय टाइटल रोलमा रहेको फिल्म ‘बच्चन पाण्डे’ मा देखिएको उनको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् । एक्सन र कमेडी मिक्स फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगाएतको अभिनय रहेको छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

    नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए।वि इन्टरनेशनल प्रा।लि।ले नेपाली र हिन्दी फिल्म वितरणमा समेत सक्रियता बढाएको छ । केही समय अगाडि हिन्दी फिल्म ’मरजावा’ वितरण गर्दै हिन्दी फिल्म वितरणमा पाइला टेकेको ए।वी इन्टरनेशनल आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ नेपाल रिलिज गर्दै छ ।

    ‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ,’ ए।वी इन्टरनेशनलले जनाएको छ । यसै कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ ।

  • पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

    पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता टप ३० मा सीमित

    काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको ताज पहिरिएकी छिन् । नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् ।

    अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् ।

    त्यस्तै प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् ।

    यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।

    मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् ।

    कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइएको थियो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइएको थियो ।

    फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुगेका थिए ।

  • कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर तुलसीलाल अमात्य भवनमा एमाले प्रवेश गर्दै करिश्मा

    कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर तुलसीलाल अमात्य भवनमा एमाले प्रवेश गर्दै करिश्मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि उनले पार्टी प्रवेशको चाहना राखेकी थिइन् ।

    अध्यक्ष ओलीसँगकै सल्लाह बमोजिम पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते मानन्धर एमाल प्रवेश गर्दैछिन् । एमाले केन्द्रीय सचिवालय बैठकले यस वर्ष वडादेखि केन्द्रसम्म पार्टी स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

    मानन्धर तुलसीलाल अमात्य भवनबाट एमालेमा प्रवेश गर्ने बताइएको छ । उनले गत साता ललितपुरका सांसद नवराज सिलवाल र गंगा चौधरीसहित अध्यक्ष ओलीसँग भेट गरेकी थिइन् ।

  • पल शाहलाई नवलपुरबाट तनहुँ फर्काइयो

    पल शाहलाई नवलपुरबाट तनहुँ फर्काइयो

    तनहुँ । नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ फर्काइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।

    ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।

    डीएसपी खड्का अनु्सार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् ।

    प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।

    उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पु¥याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो ।

    घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • ‘कृष्ण लीला’ कृष्ण जन्माष्टमीमा प्रदर्शन हुने

    ‘कृष्ण लीला’ कृष्ण जन्माष्टमीमा प्रदर्शन हुने

    काठमाडाैं । चलचित्र कृष्ण लीला आउँदो कृष्ण जन्माष्टमीमा प्रदर्शन हुने तय भएको छ ।

    चलचित्र निर्माण टिमले भदौ ३ गते कृष्णजन्माष्टमीको दिन चलचित्र प्रदर्शन गर्ने तय भएको जनाएको छ ।

    दीपक ओलीको निर्देशन रहेको चलचित्र ‘कृष्ण लीला’ गत वर्षको चैत २७ गते प्रदर्शन गर्ने तयारी भएपनि कोरोनाका कारण रोकिएको थियो ।

    चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    लभस्टोरी जनरामा निर्मित चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

    रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्मातामा छन् ।

  • ‘पीर’ बारे दीपकराजको पीर- मौका यही हो भनेर माओवादीलाई सराप्न थाले

    ‘पीर’ बारे दीपकराजको पीर- मौका यही हो भनेर माओवादीलाई सराप्न थाले

    काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘पीर’ लाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएका बेला अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि प्रतिक्रिया जनाएका छन् । केही मानिसले मौका यही हो भनेर माओवादी पार्टीलाई सराप्न थालेको उनको गुनासो छ ।

    ‘पीर’ गीत असाध्यै राम्रो रहेको र आफूलाई पनि छोएको गिरीले बताएका छन् । तर, यो गीतले दर्शाएको अवस्था जुनसुकै पार्टीमा रहेको भन्दै उनले माओवादीका आलोचकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    ‘कुन चाहिँ पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोक छैन ? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ?’, गिरीले प्रश्न गरेका छन्, ‘उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ?’

    गीत बन्द गर्न दबाब दिनु चाहिँ गलत भएको उनको भनाइ छ ।

  • ‘बच्चन पाण्डे’ को धमाकेदार प्रमोसनमा अक्षय कुमार

    ‘बच्चन पाण्डे’ को धमाकेदार प्रमोसनमा अक्षय कुमार

    मुम्बई । बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो बहुप्रतिक्षित एक्सन इन्टरटेनर ‘बच्चन पाण्डे’ को धमाकेदार प्रमोसन गरेका छन्। अक्षयले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोसन एकदमै फरक ढंगले गरिरहेका छन् ।

    अक्षयले ‘बच्चन पाण्डे की सवारी’ लाई फ्ल्याग अफ गरेका छन् । सो ट्रक सवारी जुन मुम्बईबाट दिल्लीका सहरहरूमा जानेछ।

    फिल्ममा अक्षयलाई ट्रक चलाएको पात्रको रुपमा देख्न सकिन्छ त्यसकारण पनि फिल्मको हाइलाइटहरू मध्ये यो एक हो ।

    फिल्मका निर्माताहरूले ट्रकमा आफ्नो प्रकारको सडक यात्राको योजना बनाएका थिए, जुन मुम्बईको सन–एन–स्यान्ड होटलबाट सुरु गर्नुपर्ने थियो।

    यस्तो अवस्थामा यो १२ मार्च दिउँसो २ बजे मुम्बईको स्याटेलाइट टावर हुँदै ओबेरोय मल्ल जाने बाटोमा फिल्म सिटीमा फिल्म देखिएको थियो । साथै ‘बच्चन पाण्डेको सवारी’ १२ मार्चदेखि १५ मार्चसम्म मुम्बईका विभिन्न ठाउँमा देखिनेछ।

    फरहाद साम्जीद्वारा निर्देशित फिल्म ‘बच्चन पाण्डे को ट्रेलरले दर्शकहरुको अत्याधिक प्रतिक्रिया पाइरहेको छ । फिल्ममा कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको मूख्य भूमिका छ ।

  • प्रकाश सपूतको प्रश्न- मैले गलत गरेको हो कि ? तपाईंहरूले गलत बुझ्नु भएको हो ?

    प्रकाश सपूतको प्रश्न- मैले गलत गरेको हो कि ? तपाईंहरूले गलत बुझ्नु भएको हो ?

    काठमाडौं । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रष्टिकरण दिएका छन् । सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सधैँ कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई मर्का परेको प्रकाशले बताएका छन् ।

    उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’

    ‘पिर’ बाट आफूले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीतमार्फत आफूले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।

    ‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् ।

    यसअघिका गीतहरूमा बुनेका कथा, बनाएका पात्र, टिपेका टुक्का, हालेका लय र रेकर्ड/छायांकन गरेजस्तै प्रक्रियामा यो गीत लेखेको उनको भनाइ छ ।

    उनले गीतको पृष्ठभूमिका बारेमा समेत लेखेका छन् ।

    उनले लेखेका छन्- ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने-बजाउने- पकाउने-पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आममानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।’

    एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाइ बुझाउन पनि नसकिने उनको भनाइ छ ।

     

  • चोरी अभियोगमा पक्राउ परिन् अभिनेत्री रुपा दत्ता

    चोरी अभियोगमा पक्राउ परिन् अभिनेत्री रुपा दत्ता

    काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री रुपा दत्ता चोरीको मामलामा पक्राउ परेकी छन् । रुपा बंगाली फिल्मकी अभिनेत्री हुन् ।

    उनलाई इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याकेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले रुपाबाट ७५ हजार भारतीय रुपैंयाँ बरामद गरेका छन् । यो घटना शनिबार राति भएको हो । कोलकाताको विधाननगर नर्थ पुलिस स्टेसनका अनुसार एक महिलाले फोहोरको डिब्बामा ब्याग फ्याकेपछि तत्कालै अन्य प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रुपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रुपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।

    सन् २०२० मा रुपाले निर्माता तथा निर्देशक अनुरागमाथि अश्लील सन्देश पठाएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा उनले अरु कोही पुरुषसँग फेसबुकमा कुराकानी गरेको खुलेको थियो । संयोगले त्यो पुरुषको नाम अनुराग नै थियो । त्यो समयमा रुपाले आफ्नो ट्वीटर हेण्डलमा अनुरागसँग च्याट गरिएको कैयौं सन्देश स्क्रीनसट शेयर गरेकी थिइन् ।

  • प्रकाश सपुतको प्रष्टीकरणः एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन

    प्रकाश सपुतको प्रष्टीकरणः एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन

    काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।

    सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’

    पीरले युद्धकै जड र बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको प्रकाशको भनाइ छ ।

    ‘समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ,’ उनले भनेका छन् । प्रतिकात्मकरुपा राखिएको दृष्यले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै उनले यसमा आत्मालोचना व्यक्त गरेका छन् ।

  • ‘मेरो लागि बजेट ठूलो हो, एउटा फिल्मलाई ५० दिनभन्दा बढी समय दिन सकिँदैन ’

    ‘मेरो लागि बजेट ठूलो हो, एउटा फिल्मलाई ५० दिनभन्दा बढी समय दिन सकिँदैन ’

    मुम्बई । बलिउडका सबैभन्दा व्यस्त र सफल अभिनेता हुन्, अक्षय कुमार । अक्षयले हरेक वर्ष धेरै फिल्ममा काम गर्छन् र उनका अधिकांश फिल्म हिट भएका छन् ।

    अक्षयले हालै एक अन्तर्वार्तामा आफ्नालागि बजेट सबैभन्दा ठूलो पक्ष भएकाे बताएका छन् । उनी ‘बजेट हिट त फिल्म हिट’मा विश्वास राख्छन् । उनले भने, ‘म १०० दिनभन्दा बढी सुटिङ गर्नुपर्ने फिल्ममा काम गर्दिनँ । जसको बजेट सिमित हुन्छ र निश्चित समयतालिकामै पूरा हुन्छ त्याहाँ काम गर्छु।’

    अक्षयले भने, ‘कुनै पनि फिल्मलाई ५० दिनभन्दा बढी समय दिन सकिँदैन । र यदि यो समयमा तपाई फिल्मको सुटिङ गर्नुहुन्छ भने तपाईको बजेट सधैं कन्ट्रोलमा हुने गर्दछ ।’

    उनी भन्छन्, ‘म कहिल्यै पैसा बर्बाद गर्दिन र सबैको समयलाई सम्मान गर्छु । म मेरा को–एक्टर र क्रूको समयलाई सम्मान गर्छु, ताकि समयले मलाई सम्मान गर्न सकोस् ।’

    उनले भने, ‘म मेथड एक्टर होइन । न त म आफूलाई कोठामा बन्द गर्नेहरू मध्ये एक हो । मेरो लागि एक्टिङ गर र घर जाउँ हो ।’

    उनी अहिले चैत १८ मा रिलिज हुन लागेको फिल्म ‘बच्चन पाण्डे’ को प्रमोशनमा व्यस्त छन् । अक्षय कुमार छिट्टै ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओ माई गॉड २’ मा देखिने दैनिक भास्करले जनाएको छ । उनले हालै फिल्म ‘राम सेतु’ को छायांकन सकिसकेका छन् ।

  • ‘बोलमाया’ देखि ‘पीर’ सम्म : प्रकाश सपुतका कालजयी ६ गीत

    ‘बोलमाया’ देखि ‘पीर’ सम्म : प्रकाश सपुतका कालजयी ६ गीत

    काठमाडौं । गायक प्रकाश सपुत फेरि एकपटक आफ्नो सिर्जनामार्फत चर्चाको केन्द्रमा छन् । उनको नयाँ गीतले ‘पीर’ ले सांगीतिक क्षेत्रको दायरा नाघेर राजनीतिक वृत्तमा नै तरंग ल्याइदिएको छ ।

    संगीत मुलतः मनोरञ्जनको माध्यम हो । तर, यदि संगीतले खास विचार र मुद्दालाई पनि बोकेको छ भने त्यसले समाजमा नयाँ बहसको सिर्जना गरिदिन सक्छ । संगीतमार्फत वैचारिक मुद्दाको उठान गरेर बहसको तुफान सिर्जना गर्नु प्रकाश सपुतको खुबी हो । योभन्दा अघि उनले सिर्जना गरेको ‘कुरा बुज्न पर्च’ बोलको गीतले लैंगिक मुद्दामा बहस छेडेको थियो ।

    प्रकाशले जुन गीत गाए पनि त्यो ट्रेन्डिङको १ नम्बरमा आउनु त नियमितता नै भइसक्यो । ‘पीर’ले पनि २४ घन्टाभित्रै ट्रेन्डिङको शीर्षस्थानमा कब्जा जमाइसकेको छ । वास्तवमा यो गीत चर्चामा आउनुमा शब्द/संगीत/स्वर भन्दा पनि भिडियोको ठूलो हात छ । गीतका शब्द सुन्दा राजनीतिक आशय झल्किँदैन, तर भिडियोले बेग्लै कथा बोकेको छ ।

    प्रकाश सपुत आफुले गाएका गीतको रचना संगीत मात्र होइन, भिडियोको निर्देशनसमेत आफैंले गर्ने गर्छन् । अहिलेसम्म उनका गीतहरु हिट हुनुमा भिडियोको पनि हात ठूलो छ । अनि, हरेक गीतमा फरक ‘थिम’ र प्रस्तुतिकरण प्रकाश सपुतको अर्को विशेषता हो । उनी सिंगै चलचित्र बन्न सक्ने कथा एउटा गीतमा अटाइदिन्छन् ।

    यहाँ हामी सपुतका ६ सिर्जनाहरुको चर्चा गर्दैछौं, जसले उनलाई संगीत क्षेत्रमा चिनाए र स्थापित गराए ः

    १ बोलमाया

    प्रकाश सपुतलाई अलग पहिचानका साथ नेपाली संगीतमा स्थापित गराउने कालजयी गीत हो– बोलमाया । लोकधुन मिश्रित करुणरसमा गाइएको यो गीतमा शब्द, संगीत र स्वरको बेजोड संगम रहेको छ । २०७५ जेठ ४ गते सार्वजनिक भएको यो गीतमा प्रकाश सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन् ।

    गीतका केही शब्द यस्ता छन् :

    धन ल्याउछु भन्दै गएका थियौ उडेर आकाशमा

    कस्तो भइ गयौ कस्तो भइ आयौ काठैको बाकसमा

    संगै जाम स्वर्ग भनेको भए मै जाने थिइन र

    जबाफ देउ प्यारा एक बचन बोल बोल्दैनौ किन र ?

    बोल माया ….एक वचन बोल

    तिम्रै बोलि छ मलाई अनमोल

    बोलमायाको भिडियो पनि उत्तिकै जिवन्त थियो । यही गीतमा गरेको मर्मस्पर्शी अभिनयले अञ्जली अधिकारीलाई मोडलिङमा स्थापित गरायो । यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

    यो गीतको भिडियो आजका दिनसम्म २ करोडभन्दा बढीपटक हेरिएको छ । गीतमा आएका १८ हजारभन्दा बढी प्रतिक्रियामा सतप्रतिशत सकारात्मक छन् । गीतले दुई लाख २४ हजार लाइक्स पाएको छ ।

    २. गलबन्दी

    प्रकाश सपुतको अहिलेसम्मकै सर्वाधिक लोकप्रिय सिर्जना हो– गलबन्दी । ‘बोल माया’ को सिक्वेलका रुपमा ल्याइएको भए पनि यो गीतको मुड र धार बोलमायाभन्दा बेग्लै छ । यो टिपिकल लोकभाकाको गीत हो, जुन एक समयमा सबैको जिभ्रोमा झुण्डिएको थियो ।

    ‘बोलमाया’ की बिरही पात्र अञ्जलीलाई प्रकाश सपुतले गरेको छेडछाड र अञ्जलीको लजालु अभिनय धेरैले मन पराए । गायनमा प्रकाश सपुतलाई शान्ति श्री परियारले नै साथ दिएकी छन् । गीतका शब्दहरु प्रकाश सपुतकै हुन् ।

    वरिष्ठ गायक शम्भु राईले आफ्नो एउटा पुरानो ‘देउसी भैलो’ गीतको लयसँग मिल्दोजुल्दो रहेको भनेर विवादसमेत उब्जाएका थिए । विवाद मत्थर पार्नका लागि गीतको सर्जकका रुपमा शम्भुको समेत नाम समावेश गरिएको छ ।

    प्रकाश सपुतले गाएकामध्ये सर्वाधिक भ्यूज पाएको गीत हो गलबन्दी । आजका दिनसम्म यो गीतलाई पाँच करोडपटक भन्दा बढी हेरिएको छ । गीतमा १८ हजारभन्दा बढी कमेन्ट छन् भने ५ लाख २४ हजारभन्दा बढीले लाइक बटम थिचेका छन् । यो गीत २०७६, जेठ १० गते युट्यूवमा रिलिज गरिएको थियो ।

    ३. बदला बरिलै

    व्यवसायीकताभन्दा टाढा रहेर प्रकाश सपुतले गरेको विसुद्ध सन्देशमुलक सिर्जना हो, बदला बरिलै । अहिलेसम्म करोड भ्यूज नकटाएको भए पनि सपुतका कालजयी सिर्जनमा यसलाई राख्न हिच्किचाउनु पर्दैन ।

    निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले राष्ट्रिय चर्चा पाइरहँदा बलात्कारको थिममा यो गीत प्रकाशले ल्याएका थिए । यो गीतमा प्रकाशले स्वर दिएका छैनन् । यद्यपि, रचना, संगीत र भिडियो निर्देशन उनको हो । देवी घर्तिको आवाजमा यो गीत सजिएको छ ।

    गीत जति बुलन्द छ, त्यत्तिकै उत्कृष्ट छ भिडियो । नायिका केकी अधिकारीले मूख्य भूमिकामा अभिनय गरेकी छन् । उनले गीतको भावले छोएर आफूले बिनापारिश्रमिक यसमा काम गरेको बताएकी थिइन् । यो गीतमा सिंगो एउटा चलचित्र बन्न सक्ने कथा अटाएका छन् प्रकाशले ।

    सन् २०७७, साउन १७ गते युट्यूवबाट प्रिमियर गरिएको यस गीतले हालसम्म ९१ लाखभन्दा बढी भ्यूज पाएको छ । गीतमा करिब २० हजार प्रतिक्रिया आएका छन् ।

    ४. मेरो पनि होइन र यो देश

    प्रकाश सपुत मधुर गायनका लागि चिनिन्छन् । गत वर्ष उनले सार्वजनिक गरेको ‘मेरो पनि होइन र यो देश’ बोलको विद्रोही गीतमा भने उनी आक्रामक सुनिए । यो गीतमा जातीय तथा सामाजिक उत्पीडनको विरुद्धमा उनले आगो ओकलेका थिए ।

    स्वयम् एउटा दलित परिवारको सदस्य भएकाले पनि प्रकाश सपुत यो गीतमा गज्जबसँग पोखिएका छन् । भावमा डुबेर सुन्दा यो गीतले जोकसैको शरीरमा काँडा उमार्छ । गीतको शब्द, संगीत र स्वर प्रकाशकै हुन् । गीतलाई उत्पीडनमा परेकाहरुको साझा आवाजको रुपमा स्वीकारिएको छ ।

    २०७८, वैशाख १० गते सावर्जजनिक भएको यो गीतले पनि एक करोड भ्यूजको दायरा कटाइसकेको छैन । गीतमा करिब २५ हजार प्रतिक्रिया आएका छन् भने ३ लाख ३५ हजारभन्दा बढी लाइक्स आएका छन् ।

    ५. कुरा बुज्न पर्च

    यसै वर्ष सार्वजनिक भएको ‘कुरा बुज्न पर्च’ पनि प्रकाश सपुतको सर्वाधिक लोकप्रिय सिर्जनाभित्र पर्छ । यद्यपि, यसमा प्रकाशले स्वर भने दिएका छैनन् । गायिकाद्वय शान्ति श्री परियार र समिक्षा अधिकारीले स्वर दिएको गीत झट्ट सुन्दा मनोरञ्जक तर गहकिलो सन्देश बोकेको छ ।

    महिला सशक्तीकरण गीतको मूख्य थिम हो, तर केही महिलावादीहरुले नै गीतका केही शब्दहरुमा असन्तुष्टि जनाएका थिए । दर्शक÷स्रोताले सहजै टिप्ने र गुन्गुनाउनले शब्दहरु भएकाले यो गीत तत्काल लोकप्रिय बनेको थियो । साथै गीतको भिडियोले पनि दर्शकको मन जित्यो । नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माको जोडी गीतमा खुबै जमेको छ । धन–सम्पत्ति भएको भन्दा पनि माया गर्ने श्रीमान चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ यस गीतले ।

    २०७८, साउन २२ मा सार्वज्निक भएको गीतलाई अहिलेसम्म करिब २ करोड ८० लाख भ्यूज प्राप्त भइसकेको छ । यसमा करिब १२ हजार कमेन्ट आएका छन् भने ३ लाख ३८ हजारले लाइक बटम थिचेका छन् ।

    ६. पीर

    https://youtu.be/Gep3jLq32OI

    दुई दिनअघि सार्वजनिक भएको ‘पीर’ बोलको गीत प्रकाश सपुतको पछिल्लो सिर्जना हो, जुन अहिले ‘टक अफ दि टाउन’ बनिरहेको छ । आम दर्शक÷स्रोताले निकै तारिफ गरेको गीतमा माओवादी पार्टीका कार्यकर्ताले भने चित्त दुखाइरहेका छन् ।

    पहिलोपटक प्रकाश सपुतले बिसुद्ध राजनीतिक विषयवस्तुको उठानका गरेका हुन् । यद्यपि, गीतका शब्दहरु भने राजनीतिक छैनन्, भिडियोले बोल्ने कथामा माओवादी जनयुद्धलाई विषयवस्तु बनाइएको छ । जनयुद्धका पूर्वलडाकुहरु आज कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ ।

    एक महिला लडाकु अहिले देहव्यापारमा संलग्न भएको देखाइँदा माओवादी पंतिले असन्तुष्टि जनाएका हुन् । कतिपयले गीतलाई युट्यूवबाटै हटाउनसमेत माग गरेका छन् । देहव्यापारको ठाउँमा अरु कुनै पेशा देखाइएको भए विवाद नउब्जिन सक्थ्यो ।

    प्रकाश सपुतको स्तरमा हेर्दा यो औसत स्तरको गीत हो । तर, भिडियोले बोलेको कथाका कारण यो यतिधेरै चर्चित बन्यो । चुनावका मुखमा माओवादी जनयुद्धलाई नकारात्मक चित्रण गर्ने गीत आउँदा जनमत प्रभावित बन्ने त होइन भन्ने चिन्ता पार्टी पंतिमा देखिएको छ ।

  • बंगलामुखीमा शुभमुहुर्त गरेर मुस्ताङ हिँड्यो ‘परस्त्री’ टिम

    बंगलामुखीमा शुभमुहुर्त गरेर मुस्ताङ हिँड्यो ‘परस्त्री’ टिम

    काठमाडौं । सुरज पाण्डेको डेव्यु निर्देशन रहने सिनेमा ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा सिनेमाको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । सिनेमाको निर्माण टिम गीत खिच्न आजै मुस्ताङ हिँडेको छ ।

    नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने सिनेमाको शुभमुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

    सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई निरज पाण्डेले खिच्ने छन् । निर्देशम पाण्डेले आफु र आफ्नो टिमले लामो समयदेखि सिनेमाको प्रि–प्रोडक्सनको राम्रो तयारी गरेकाले पनि राम्रो सिनेमा बन्ने विश्वास व्यक्त गरेका छन् ।

  • सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर

    सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर

    आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु कलाकार प्रकाश सपूतको विशेषता नै हो । उनी आम मानिसको दुःख र बाध्यताहरुमा मुटु छेड्ने विम्बहरु चलाउन माहिर छन् । दर्शक–स्रोताको मन रेट्न, आँखा रुझाउन सिपालु छन् । आम मानिसले झेल्ने अप्ठ्याराहरुलाई सरल भाषामा पोख्न पोख्त छन् ।

    अहिले उनै सपूतको गीत ‘पीर’ को चर्चा छ । १६ मिनेटको गीतले १६ वर्षअघि शान्तिप्रक्रियामा आएको माओवादी जनयुद्ध र त्यसपछि घर फर्किएको घाइते लडाकुको अन्तरकुन्तर खोतल्ने प्रयास गरेको छ । जो राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी लगाएर युद्ध लडेका थिए ।

    परिवर्तनका लागि बम र बारुदको धुवाँमा मृत्युको चित्कार सुन्दै मुठ्ठी कसेर हिँड्नु चानचुने हिम्मतको कुरा थिएन त्यसवेला । बन्दुकको आवाज र धुवाँमा रुम्मलिएको कठिन जीवन झेले योद्धाहरुले । यसपछि माओवादी शान्तिपूर्ण प्रक्रियामा मात्रै आएन, ०६४ सालको पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी बनेर निस्कियो ।

    मुक्तिको, न्यायको, समानताको सपना देखेर जंगलबाट घर फर्किएका योद्धाहरुमा उत्साह र जाँगर कम थिएन । एक दशकसम्म बन्दुक बोकेको काँधले गोलीका दागहरु बिर्सिएको थियो । भाँचिएका हातखुट्टालाई बिर्सिएको थियो । किरिया गर्नका लागि टालोसम्म नभेटेका आफन्तहरुको आँसुले आकार पाउलाजस्तो भएको थियो । तर, सोचेजस्तो केही भएन ।

    ‘माओवादी शिविर’ का ‘कम्रेड’ हरु रोल्पामा अन्तिमपटक पिलित्त रोएका थिए । अहिले भन्न सकिन्छ– त्यो आँसु, आँसु मात्रै थिएन, लडाकुले मुठ्ठी पारेर भन्ने ‘लालसलाम’ माथिको उपहास थियो ।

    २०६२ साल असोज ५ गते माओवादीको चुनबाङ बैठकका क्रममा सांस्कृतिक प्रस्तुति दिइएको थियो । कार्यक्रममा कलाकारले पूर्ण घर्तीद्वारा लिखित गीत ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? कसले भन्छ योद्धाहरुको जीत हुँदैन ?’ मा प्रस्तुति दिएका थिए । गीतमा अर्को लाइन थियो, ‘एक–दुई हार हुनसक्छ, तर मुटु स्पात बन्छ ।’

    मोहित श्रेष्ठ र कर्ण परियार ‘विद्रोही’ले गाएको गीतको स्रोता थिए, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, रामबहादुर थापा लगायत शीर्षस्थानका नेता ।

    गम्भीर भएर गीत सुनिरहेका प्रचण्ड भावुक बने । नेताहरु भावुक बने । झनै सूर्य विकले ‘जित्नैपर्छ यो अन्तिम लडाइँ’ गाउँदा प्रचण्डका आँखाबाट धाराप्रवाह आँसु बगेको देख्ने स्रष्टाहरु नै छन् । आँसु रोक्न नसकेपछि दुवै हातले आँखा छोपेर घोप्टो फर्किएका प्रचण्ड पूर्वलडाकुहरुको स्मृतिबाट अझैं हटेका छैनन् ।

    ‘शीर्षस्थानका नेताहरु सबै रोए,’ पत्रकार दिलिप कुँवर भन्छन्, ‘प्रचण्ड मात्रै रोएनन्, उनका सबै सहयोद्धाहरु रोए । कसैले गलबन्दीले आँसु पुछे त कसैले रुमालले । नेत्र विक्रम चन्द विप्लव स्तब्ध बने । एकोहोरो टोलाइरहे । त्यस दिन कसैको आँखा ओभानो रहेन ।’

    प्रचण्डहरुको चुनबाङमा बगेको त्यही आँसुसँगै क्रान्ति बगेर गयो । कसैले सिंहदरबारमा आँसुलाई पुछे । कसैले शीतल निवासमा आँसुलाई पुछे । कसैले संसद भवनमा आँसुलाई पुछे । कसैले कालो गाडीमा हुइँकिएर बनेपाको होटलतिर मदिराको प्यालाले आँसुलाई पुछे । कसैको बहुराष्ट्रिय कम्पनीको पिँधमा आँसुलाई थिग्राए । कसैले दलालीको हत्केलामा आँसुलाई थमाइदिए ।

    उता छातीमा गोली थापेर नेतृत्वलाई बचाएका लडाकुहरुको आँसु निरन्तर बगिरह्यो । कसैको आँसु सहरका गल्लीहरुमा बगिरह्यो । कसैको डान्सबार र गेस्टहाउसमा बगिरह्यो । कसैको युद्धका ट्रमाहरुमा बगिरह्यो । कसैको घाइते ज्यान र मनमा आँसु बगिरह्यो । कसैको अरबको मरुभूमिमा आँसु सोसिइरह्यो ।

    ‘प्रचण्ड’हरुलाई पो चुनबाङमा अन्तिमपटक रोएपछि पुग्यो, तर युद्धमा निःस्वार्थ परिवर्तनका खातिर होमिएका हजारौं योद्धाहरु त अहिले पनि निरन्तर रोइरहेकै छन् । उनीहरुको आँसुले गिलो बनाएको सडकमा कम्रेडहरु चिल्ला गाडीमा सवार भइरहेका छन् । सपूतले यही यथार्थलाई गीतमार्फत् उजागर गरिदिए ।

    गीतको भिडियोमा गोलीको दाग बोकेर श्रीमती अरब उड्छिन् । विमानस्थलमा श्रीमान् र छोरीसँग छुटिँदै गर्दाको दृश्यले मुटु चिर्छ । सपूतले खिचेको त्यो दृश्य फिक्सन हो । तर, फिक्सन मात्रै होइन, बिमानस्थलमा धेरैपटक देखिएको यथार्थ पनि हो ।

    रोल्पा नगरपालिका, खुमेलकी फूलमाया थापा मगर १२ वर्षकी हुँदा भूमिगत भएकी थिइन् । युद्धमा होमिएकी थिइन् । युद्ध सकियो, अन्य लडाकुसँगै घर फिरिन् । त्यो पनि जनवादी विवाह गरेको श्रीमानसँग । श्रीमानले तल खोलाबाट चामल बोक्ने टालोमा बारुद माथि लाँकुरी डाँडामा पुर्‍याउँथ्यो । फूलमाया भने बन्दुकमा त्यही बारुद भरेर युद्धमा निस्किन्थिन् ।

    दश वर्षपछि घर फिरेकी फूलमायाले बन्दुकले लड्नुपर्ने परिवर्तनको युद्ध टुंगाएकी थिइन् । बन्दुक बिसाएकी थिइन् । तर, उनले आफैं लड्नुपर्ने युद्ध भने सकिएको थिएन ।

    सपना पूरा भएको भ्रममा उत्साहित भएर घर फिरेकी फूलमायाको गर्धनमा टेक्ने भएर निस्कियो नेतृत्व । उनको गर्धनमा टेकेर नेतृत्वले उनले लडेको युद्धलाई नै उपहास गर्न थाल्यो । र आजित भएर विदेशिइन् ।

    दुईपटक विदेश गइसकेकी उनको अभिभारा श्रीमान्, तीन छोराछोरी र एक सासुलाई पाल्नु मात्रै छैन, मरुभूमिमा आफूलाई पनि बचाउनु छ । जीवनको युद्ध लड्नु छ । अहिले त उनलाई ‘कम्रेड’ शब्दप्रति नै वितृष्णा छ । भन्छिन्, कमरेडहरु कम्रेड रहेनन् । बन्दुकको नालमा ज्यानको बाजी थापेर हिँडेको हाम्रो सपना तुहाइदिए ।’

    धेरै फूलमायाहरु विदेशमा छन् । यता ठमेलमा मसाज सेन्टर खोलेर बसेका छन् । गैंती हानेर, बालुवा छानेर बसेका छन् । सपूतले यिनै प्रतिनिधि कथालाई गीतमा केलाएका हुन् । मसिनो गरी छुन्छ गीतले । भावुक बनाउँछ । माओवादी जनयुद्धको अँध्यारो पाटोलाई मिहिन ढंगले उधिन्न सफल भएका छन् सपुत ।

    तर, सपूतको यो कालजयी सिर्जनामा असन्तुष्ट बनेको छ माओवादीको पार्टीं पंति । गीतले माओवादीका कथाव्यथालाई व्यवसायीकरण गरेको आरोप उनीमाथि लगाइएको छ । साथै, देशको लागि ज्यानको आहुति दिन तयार भएका पूर्वलडाकु महिलाहरु अहिले देहव्यापारमा संलग्न भएको देखाएर जनयुद्धको विद्रुपीकरण गरिएको गुनासो पनि माओवादी पंतिको छ ।

    एउटा राजनीतिक विषयवस्तुमा सिर्जना बुन्न खोज्नु कुनै पनि कलाकारका निम्ति सबैभन्दा जोखिमको विषय हो । किनकि यस्तो विषयमा हात हाल्दा सबैलाई एकैचोटि सन्तुष्ट पार्न सकिन्न, जसरी अन्य हल्काफुल्का सिर्जनाबाट सकिन्छ । सपुतले यो जोखिम मोलेकै हुन् ।

    सपुतको गीतले माओवादी जनयुद्धको एउटा पाटोलाई चित्रण गरेको छ, जुन सत्यको एकदमै नजिक पनि छ । तर, यही नै पूर्णता भने होइन । यस आन्दोलनले जन्माएका उज्याला बिम्बहरु पनि छन्, जस्तो कि धाविका मिरा राई । बम र बारुदको धुँवाबाट बाहिर निस्किएकी उनी ‘अयोग्य लडाकु’ हुँदै संसारका पहाडहरुमा दौडेर आफूलाई चिनाएकी उनको सफलताको कथा पनि कम रोचक र कम भावुक छैन । साथै, देशमा आएका राजनीतिक परिवर्तनका लागि माओवादी जनयुद्ध नै मुख्य कारकतत्व थियो भन्ने बुझाइ उक्त पार्टीभित्र छ । त्यसैले पनि यो गीतले जनयुद्धलाई न्याय नगरेको उनीहरुले महसुस गरेका हुन सक्छन् ।

    गीतप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने हक जोकोहीलाई छ । तर, उत्तेजित प्रतिक्रिया दिएर सिर्जनामाथि आक्रमण गर्नु चाहिँ वाञ्छनीय हुँदैन । प्रकाश सपूतले बहसको विषय छेडिदिएका छन् । माओवादी पंतिले यसमाथि पर्याप्त बहस गर्ने ठाउँ छ । तर, गीतलाई नै दण्डित गर्ने, युट्यूवबाट हटाउने जस्ता अतिरञ्जित प्रतिक्रिया दिएर उनीहरुले आलोचना पचाउनै नसक्ने बिन्दूमा आफूलाई उभ्याएका छन् । यो स्वभाविक छैन ।

    सपूतले जे प्रयास गरेका छन्, त्यसले जरुर पुराना सवालहरुलाई पुनः ब्युँताइदिएको छ । युद्ध केका लागि थियो, कसका लागि थियो ? युद्धले हामीलाई के दियो ? युद्धलाई क–कसले चलाए, क-कसले प्रयोग गरे र क-कसले फाइदा लिए ?

    स्थानीय चुनावको संघारमा सार्वजनिक भएको सपूतको गीतले ठूलै राजनीतिक अर्थ राख्ने नै छ । यो गीतले दिने राजनीतिक लाभ–हानीको हिसाबकिताबको चर्चा सुरु भइसकेको छ । तर, यो गीतको राजनीतिकरण भन्दा पर सपूतले ‘पीर’ मार्फत् माओवादी शिविरमा जसरी बारुद पड्काएका छन्, यसले टुक्रा–टुक्रामा विभाजित माओवादी शिविरलाई समीक्षा गर्न वाध्य बनाएको छ ।

  • प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी

    प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, माफी मागेर यूट्युवबाट हटाउन चेतावनी

    काठमाडौं । गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ ।

    माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।

    गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज  नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनिय भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘पीर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ । ’

    उनले अभाव, निराश र गरिब महिलाहरुले देह व्यापार नै गर्छन ? भनेर समपुतलाई प्रश्न समेत गरेका छन् ।

    यसैगरी वाईसीयल अध्यक्ष सुमन देवकाेटाले पनि गीत हटाउन चेतावनी दिएका छन् ।

    यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् ।

    उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।

    सामाजिक सञ्जालमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि केही माओवादी नेताहरुले भने गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै विरोध जनाइरहेका छन् ।