Category: कलाप्रेस

  • राजनीतिको चस्का लागेका कलाकार, को कति सफल ?

    राजनीतिको चस्का लागेका कलाकार, को कति सफल ?

    काठमाडौं । सामान्यतया कुनै पनि पेशामा आबद्ध भइ आफ्नो कर्ममार्फत उल्लेखनीय ख्याती प्राप्त गरेका व्यक्तिहरूलाई ‘सेलिब्रेटी’ भनेर बुझ्ने गरिन्छ । यद्यपि, व्यवहारमा सेलिब्रेटी शब्दको प्रयोग धेरैजसो कलाकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि हुने गरेको छ ।

    सेलिब्रिटी वा कलाकारहरू सबैका साझा हुन्छन् भन्ने विश्वास गरिन्छ । कुनै पनि राजनीतिक ‘वाद’ वा विचारसँग नजिक नभइकन कलामार्फत सबैको मन जित्नु कलाकारको धर्म पनि हो । तर, यो मान्यतालाई खण्डित गर्दै कलाकारहरू प्रत्यक्षरूपमा राजनीतिमा संलग्न भएका थुप्रै उदाहरण विश्वव्यापीरूपमा छन् ।

    छिमेकी मुलुक भारतमा कलाकारितामा नाम कमाएका थुप्रै हस्तीहरूले पछि राजनीतिमा आफ्नो स्थान बनाउन सफल भए । कलाकारितापछि राजनीतिमा इन्ट्री गरेका बलिउड हस्तिहरूको नाम लिनुपर्दा सुनिल दत्त, विनोद खन्ना, राज बब्बर, स्मृति इरानी, हेमा मालिनी, जया प्रदा, जया बच्चन, गोविन्दा, शत्रुघ्न सिन्हा लगायत दर्जनौं छन् ।

    पछिल्लो समय नेपालमा पनि कलाकारहरूको राजनीतमा चासो र आवद्धता बढेको पाइन्छ । धेरै कलाकारहरू राजनीतिक विभिन्न राजनीतिक पार्टीसँग झुकाव राख्छन् भने केही कलाकारहरू सक्रिय राजनीतिमै होमिएका छन् । सक्रिय राजनीतिमा होमिएकाहरूको संख्या धेरै ठूलो छैन । न त उनीहरू एउटै पार्टीमा स्थिर भएर रहन नै सकेका छन् ।

    सरकारले आगामी स्थानीय चुनावको मिति घोषणा गरेसँगै नेपालमा चुनावी रौनक बढ्न थालेको छ । राजनीतिक दलका नेताहरू चुनावकेन्द्रित गतिविधिमा व्यस्त छन् । पार्टी प्रवेश अभियानलाई पनि उच्च महत्व दिइरहेका छन् पार्टीहरूले । यस क्रममा उनीहरूको आँखा कलाकारितामा नाम कमाएका सेलिब्रिटीहरूतिर पनि छ । नाम चलेका सेलिब्रिटीहरूलाई पार्टीमा भित्र्याउन पाए उनीहरूलाई पछ्याउने लाखौं मानिसहरूको भोट आकर्षित गर्न सकिने राजनीतिक दलहरूको विश्वास छ ।

    यहाँ हामी कलाकारितामा नाम कमाएपछि विभिन्न दलमार्फत प्रत्यक्ष राजनीतिमा होमिएका केही कलाकारहरूबारे चर्चा गर्न गइरहेका छौं ।

    कोमल वली

    लोकसंगीतमा स्थापित नाम हुन् कोमल वली । कुशल समाचारवाचिकाका रूपमा पनि उनी चर्चित थिइन् । रेडियो नेपालको जागीर छोडेर राप्रपामार्फत उनले आफ्नो राजनीतिक जीवन सुरू गरेकी हुन् ।

    २०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिन पुगेकी थिइन् । तर, उनी राप्रपामा लामो समय टिक्न सकिनन् । सो पार्टीसँग चाँडै विरक्तिएर उनी एमाले प्रवेश गरिन् । एमालेमा भने उनलाई राम्रै फलिफाप भयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने वली हाल पार्टीको केन्द्रीय सदस्य छिन् । उनले हालै मात्र राष्ट्रियसभा सदस्यको रूपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेकी हुन् ।

    निर शाह

    नेपाली सिने क्षेत्रका पुराना हस्ती तथा टेलिभिजनकर्मी निर शाह पनि कांग्रेसमार्फत सक्रिय राजनीति गर्ने सुरसारमा छन् । कांग्रेसले उनलाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनीत गर्ने वचन दिएको चर्चा अहिले व्यापक छ ।

    त्यसो त शाह पहिले माओवादीसँग निकट थिए । माओवादी खुल्ला राजनीतिमा आएपछि एक सयभन्दा बढी कलाकार सो पार्टीमा प्रवेश गरेका बेला उनको पनि त्यसमा नाम थियो । माओवादीले नै मुलुकका लागि केही गर्छ भन्दै अभिव्यक्ति दिएका उनी अरु कलाकारले झैं टीका लगाएर पार्टी प्रवेश भने गरेनन् । यद्यपि, माओवादीप्रति समर्थन भने जनाइरहेका थिए ।

    तर, दोस्रो संविधान सभा निर्वाचनमा भने शाहले नेपाली कांग्रेस रोजे । कांग्रेसमा औपचारिक प्रवेश गरेर उनी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई भोट माग्न खटिएका थिए । उनले त्यसबेला दर्जनौं आमसभामा सम्वोधन गरेका थिए ।

    भुवन केसी

    सदावहार नायक भुवन केसी ‘परिवर्तनको बाहक एमाले हो’ भन्दै २०७० सालको संविधान सभा चुनाव अगाडि एमाले प्रवेश गरेका थिए । केसीलाई एमालेले काठमाडौं क्षेत्र नं १ मा उम्मेदवारको बनाउने तयारीसमेत थियो । तर पार्टीभित्र तीव्र विरोध भएपछि अन्तिम समयमा उनलाई टिकट दिने निर्णयबाट एमाले ब्याक भएको थियो । हातमै आएको टिकट टिकट खोसिएपछि भुवन केसी विरक्तिए । पछिल्लो समय उनी राजनीतिमा खासै सक्रिय छैनन् । एमाले सरकारका पालामा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न निकै प्रयास गरेको भए पनि सरकारले उनलाई पत्याएन । अहिले उनी चलचित्रमा नै व्यस्त छन् ।

    रेखा थापा

    नेपाली सिने क्षेत्रकी सफल नायिका, निर्देशक तथा निर्माताको छवी बनाउन सफल नायिका रेखा थापा पनि पछिल्लो समय चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय छिन् । २०७३ सालदेखि राप्रपामा संलग्न रहेकी उनी अहिले पार्टीको केन्द्रीय सदस्य छिन् । राप्रपाको हालै सम्पन्न महाधिवेशनमा उनी महामन्त्री लडेर पराजित बनेकी थिइन् ।

    राप्रपाअघि रेखा नेकपा माओवादीसँग निकट थिइन् । अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादीमा प्रवेश गरेकी रेखा त्यहाँ धेरै टिकिनन् । रेखालाई माओवादीले सांसदको टिकटसमेत दिने तयारी गरेको थियो । तर, मतदाता सूचीमा नाम नभएका कारण रेखाको त्यो अवसरबाट वञ्चित भइन् । पछि उनी माओवादी छोडेर राप्रपा प्रवेश गरिन् । राप्रपाको एकता महाधिवेशनबाट उनी लोकप्रिय मत पाउँदै केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

    करिश्मा मानन्धरः

    नेपाली सिने क्षत्रकी अर्की सफल अभिनेत्री करिश्मा मानन्धर भर्खर अर्थात चैत ८ गते नेकपा एमाले प्रवेश गरेकी छिन् । पार्टी अध्यक्ष केपी ओलीको भिजन र उर्जाबाट प्रभावित भएको भन्दै पार्टी प्रवेश गरेकी करिश्मालाई नेकपा एमालेले एक भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

    डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमार्फत करिश्मा राजनीतिमा होमिएकी हुन् । तर, सो पार्टी छिन्नभिन्न बनेसँगै उनी राजनीतिमा सक्रिय थिइनन् । डा. भट्टराई हाल जनता समाजवादी पार्टीको अध्यक्ष छन्, तर करिश्मा उनीसँग गइनन् । बरु एमालेप्रति उनको मोह जाग्यो । अध्यक्ष केपी ओलीसँग भेटेपछि उनी एमाले प्रवेश गर्न तयार भएकी हुन् ।

    उद्धव पौडेलः चलचित्र वितरण, निर्माण तथा प्रदर्शनमा उच्च स्थान बनाएका उद्धव पौडेल पनि राजनीतिमा सक्रिय छन् । कमल थापानिकट मानिएका पौडेल राप्रपाका पूर्वकोषाध्यक्ष समेत हुन् ।

    कमल थापाले राप्रपा छोडेसँगै पौडेल पनि सो पार्टीबाट अलग भएका छन् । उनले गत माघ २६ गते राप्रपालाई एकताबद्ध बनाउन आफू असफल भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । अहिले उनी कमल थापाले गठन गरेको राप्रपा नेपालमा छन् ।

    बालेन शाह

    स्ट्रक्चरल इन्जिनियर तथा र्‍यापर बालेन शाह युवा पुस्तामाझ चर्चित नाम हो । आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गर्दै उनी पनि राजनीतिमा होमिएका छ्न् । यद्यपि उनले कुनै राजनीतिक पार्टीसँग भने आवद्द नहुने बताउँदै आएका छन् । उनको उम्मेदवारीले युवा मतदातामा चर्चा पाइरहेको छ ।

    रविन्द्र खड्का

    पुरानो पुस्ताका अभिनेता रविन्द्र खड्का राजतन्त्रका पक्षधर हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी काभ्रेको मेयरमा मनोनीत गरिएका थिए । तर, पछि प्रत्यक्ष चुनाव लड्दा उनले दुई सय भोट पनि कटाउन सकेनन् । पछिल्लो समय उनी राजनीतिमा धेरै सक्रिय छैनन्, तर उनी राजावादीकै रूपमा चिनिएका छन् । हाल उनी कलचित्र कलाकार संघको निर्वाचित अध्यक्ष पनि हुन् ।

    राजनीतीमा आफ्नो भविष्य खोजिरहेका चर्चित सेलिब्रेटीहरू एउटै पार्टीमा भने टिक्न नसकेको जस्तो देखिन्छ । कुनै पनि कलाकारले एउटै पार्टीमा स्थिर भएर राजनीतिक जीवन अघि बढाउन सकेका छैनन् ।

    राजनीतिमा लागेका कलाकार कति सफल ?

    सफल निर्माता तथा अभिनेता दीपकराज गिरीले कलाकारीता क्षेत्रमा काम पाउन छोडेपछी राजनीतिमा लाग्नुभन्दा देशको समुन्नत विकासमा उल्लेखनीय टेवा पुर्‍याउनसक्ने क्षमता विकास गरेर मात्र राजनीतिमा होमिनु अर्थपूर्ण हुने बताउँछन् । कलाकारिताबाट राजनितीमा लागेकाहरू खासै स्थापित हुन नसकेको गिरीको भनाइ छ ।

    ‘अहिले राजनीतिमा लागेका अधिकांश कलाकारमध्ये कोमल वली अलिक स्थापित हुन सफल भएको देख्छु, अरु साथीहरूले खासै केही उपलब्धी हासिल गरेको देखिदैन,’ उनले भने, ‘मलाई ज्ञान भएसम्म कलाकारीता हुँदै राजनीतिमा लागेका साथीहरूमध्ये वलीजी राष्ट्रियसभा सदस्यसम्म बन्नुभयो । अरु त सबै पार्टीको कार्यकर्ता न हुनुहुन्छ । कलाकारहरूले त टिकट पाएको पनि खास्सै सुन्नमा आउँदैन ।’

    लेखक तथा कवि श्रवण मुकारङ नेतृत्वदायी भूमिकामा पुग्न सके मात्र कलकारिता क्षेत्रका व्यक्तीहरू राजनितीमा लागेको अर्थपूर्ण हुने बताउँछन् ।

    ‘नेपालमा पछिल्लो समय कलाकारिता क्षेत्र हुँदै राजनीतिमा लाग्ने परिपाटी बढेको देख्छु तर आजसम्म राजनीतिमा लागेका नेपाली कलाकारहरू कुनै नेतृत्वदायी भूमिकामा पुगेको भने देख्दिन,’ उनले भने, ‘भारततिरको हेरेर नेपाली कलाकारहरू राजनीतिक दलमा आवद्ध भएका हुन् कि जस्तो पनि लाग्छ, तर भारतको र यहाँको परिवेश छुट्टै छ ।’

    नेपालमा राजनीतिक दलहरूले कलाकारलाई भोट बढाउने माध्यमको रूपमा मात्रै प्रयोग गर्दै आएको उनको भनाइ छ । मुकारुङले वर्तमान परिवेशमा राजनीतिमा सक्रिय कलाकारहरूमा विचारधारा, सिद्धान्त र भिजनकै कमी रहेको पनि बताए ।

    ‘जति पनि कलाकारहरू अहिले राजनीतिमा सक्रिय देखिएका छन्, उनीहरूमा चेतना, विचारधारा र सिद्धान्तकै कमी भएको देख्छु । उनीहरूले केही उल्लेखनीय काम गरेर देखाउँलान् भन्ने चाँही मलाई लाग्दैन,’ उनले भने ।

  • ‘सरी मम’ को शुभमुहुर्त, दशैं-तिहारको बीचमा रिलिज गर्ने लक्ष्य

    ‘सरी मम’ को शुभमुहुर्त, दशैं-तिहारको बीचमा रिलिज गर्ने लक्ष्य

    काठमाडौं । भद्रकाली मन्दिरमा बिहिबार शुभमुहूर्त गर्दै चलचित्र ‘सरी मम’ को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकनमा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए ।

    निर्माता तथा वितरक गोपालकाजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जित रानाले गरेका थिए । विनोद लामाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । चलचित्रको सम्पुर्ण छायांकन वागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

    एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रलाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्न लागेका हुन् ।

    ३० दिनको छायांकन सेड्युल राखिएको चलचित्रलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने चलचित्र आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद

    लामाले बताए ।

  • पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

    पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
    तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

    एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

    तीनै पीडितले शाहविरुद्ध पूर्वीनवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ ।

  • न्यायाधीशले आदेश लेखिरहँदा अदालतबाहिर पलका समर्थकको धर्ना

    न्यायाधीशले आदेश लेखिरहँदा अदालतबाहिर पलका समर्थकको धर्ना

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई मुद्धा पुर्पक्षका लागि के गर्ने भन्नेबारे तनहुँ जिल्ला अदालतले केहीबेरमा आदेश सुनाउँदै छ।

    थुनछेकको बहस सुनिसकेपछि तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाले आदेश लेखिरहेका छन्। अदालतबाहिर भने पल समर्थकहरुले धर्ना दिइरहेका छन्। आदेश कुरेर बसिरहेका मानिसको ठुलो संख्या अदालतबाहिर देख्न सकिन्छ।

    शाह र अर्का प्रतिवादी कृष्ण जोशीलाई धरौटी र साधारण तारेखमा छाड्ने वा थुनामा पठाउनेमध्ये एउटा आदेश हुने छ। प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका थिए।

    एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

    तीनै पिडितले शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ।

    तस्बिरहरु : प्रकाशचन्द्र भट्टराई

  • यौनकर्मलाई तुच्छ नजरले नहेरौं, म भए ‘पीर’ को भिडिओ हटाउने थिइनँः सुरक्षा पन्त(भिडिओ)

    यौनकर्मलाई तुच्छ नजरले नहेरौं, म भए ‘पीर’ को भिडिओ हटाउने थिइनँः सुरक्षा पन्त(भिडिओ)

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले यौनकर्मीलाई तुच्छ दृष्टिले हेर्न नहुने बताएकी छन् । नेपालमा धेरैजसो यौनकर्मी महिला बाध्यतावश यो पेशामा लागेको आफूले पाएको उनको भनाइ छ ।

    गायक प्रकाश सपूतको ‘पीर’ गीतका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । सुरक्षाले पीर गीतले यौनकर्मलाई देखाउनु गलत नभएको तर्क गरिन् ।

    उनले भनिन्, ‘म आफैंले नेपालका यौनकर्मीको बारेमा अध्ययन गरेको थिएँ । करिब ४० देखि ६० हजार महिला र पुरुषहरू यस व्यवसायमा हुनुहुन्छ । उहाँहरूले बाध्यतावस यो पेशा अंगाल्नुभएको हो । यसलाई हेय दृष्टिकोणले हेरिनु हुँदैन ।’

    गीत-संगीतले समाजको चित्रण गर्ने भएकाले ‘पीर’ गीतमा यौनकर्म देखाउनु कुनै आपत्तिजनक नभएको उनको भनाइ छ ।

    ‘यो पेशा नेपालमा अवैध छ । तर, अवैध कुराहरूलाई कलाकारितामा उठान गर्नुपर्ने आवश्यक हुन्छ,’ उनले भनिन् ।

    आफू प्रकाश सपुतको ठाउँमा भएको भए ‘पीर’ गीत सम्पादन नगर्ने उनले बताइन् ।

    सुरक्षाले भनिन्, ‘सर्जकले आफ्नो कुरा अरुलाई सुनाउने मात्र होइन, अरुको कुरा पनि सुन्नुपर्छ । त्यही अनुसार प्रकाश सपूतले गीतको भीडिओ सम्पादन गर्नुभएको हो । तर, म उहाँको ठाउँमा भएको भए पुरानो भिडियो हटाउने थिइनँ ।’

  • म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत (भिडिओ)

    म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत (भिडिओ)

    काठमाडौं । गायक प्रकाश सपुतले कसैसँग डराएर वा झुकेर आफूले ‘पीर’ को भिडियो डिलिट नगरेको बताएका छन् ।

    जनयुद्धपछि माथि उठेको एउटा तप्कालाई टार्गेट गरेर आफूले गीत बनाएको तर, अर्को पिडित समूहले पनि चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको उनले प्रष्टीकरण दिए ।

    सपुतले ‘पीर’ माथि उत्पन्न विवाद र उठेका प्रश्नहरुबारे जवाफ दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यस क्रममा उनले आफू कतैबाट परिचालित नभएको बताए ।

    उनले भने, ‘मैले आम मानिसले भोगेको समस्या देखाउन खोजेको हो, आम मानिसको पीर भन्न खोजेको हो । त्यस्ता पिडित मानिसहरुको विगतको कोट्याउँदा यस्तो कथा बन्यो ।’

    तपाईंलाई कसैले परिचालित गरेको आरोप छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिए :
    ‘म यो समाजबाट परिचालित छु । म मानिसहरुको कथा आम मानिसले भोगेको समस्या र कथाव्यथाबाट परिचालित छु । अरु कुनै शक्तिले मलाई परिचालित गर्न सक्दैन ।’

     

    भिडियो प्राइभेट गर्दैमा गीतको हत्या नभएको उनले बताए ।

    ‘मैले गीत डिलिट नै गरेर छोडेको भए म कसैसँग डराएको भन्न मिल्थ्यो । यसलाई भावनात्मक हिसाबले सोचिदिनुहोला । मैले जनयुद्धबाट माथि उठेको एउटा तप्काको चित्त दुखाउनै खोजेको थिएँ । तर, जसलाई पिडितको रुपमा देखाएँ उनीहरुले पनि चित्त दुखाएपछि सोच्न वाध्य भएको हुँ । भिडियो सम्पादन भए पनि मैले दिन खोजेको सन्देश यथावत छ,’ उनले भने ।

    कार्यक्रममा उपस्थित अभिनेत्री तथा गीतकी कलाकार सुरक्षा पन्तले आफू भए भिडियो डिलिट नगर्ने बताइन् ।

    उनले भनिन्, ‘सर्जकले आफ्नो कुरा सुन्ने मात्र होइन, अरुका कुरा पनि सुन्नुपर्छ । यही अरुका कुरा सुनेर प्रकाशजीले गीत हटाउनुभएको हो । तर, उहाँको ठाउँमा भएको भए हटाउने थिइनँ ।’

  • अस्कर अवार्ड २०२२ : यी हुन् मनोनयनमा परेका १६ चलचित्र

    अस्कर अवार्ड २०२२ : यी हुन् मनोनयनमा परेका १६ चलचित्र

    काठमाडौं । सिने जगतको सबै भन्दा प्रतिष्ठित अवार्ड समारोहको रुपमा चिनिँदै आएको अस्कर अवार्ड २०२२ को मुल समारोह मार्च २७ का लागि तय भएको छ ।

    उक्त समारोहले अघिल्लो वर्ष प्रदर्शनमा आएका उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई सम्मान गर्ने छ । अघिल्लो वर्ष प्रदर्शन आएका मध्य विभिन्न विधामा सबैभन्दा बढी मनोनयनमा पर्ने १६ चलचित्रहरु यस् प्रकार छन् ।

    १) द पावर अफ द डग

    आफ्नो भाईकी नयाँ श्रीमती र उनकी छोरालाई क्रुर यतना दिईरहेको पात्रको कथामा आधारित यो चलचित्र विभिन्न १२ वटा विधामा मनोनयनमा परेको छ । जेन कम्पियनद्धारन निर्देशित यस् चलचित्रले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पोल्टोमा पार्न सक्ने अनुमान गरिएको छ । फ्लिमकी निर्देशक जेन दुई पटकसम्म उत्कृष्ट निर्देशकको मनोनयनमा पर्ने पहिलो महिला निर्देशक हुन् । यो चलचित्र नेटफ्लिक्समा हेर्न सकिन्छ ।

    २) कोडा

    कोडा शब्दको अर्थ हुन्छ बहिरा मातापिताबाट जन्म लिएका सन्तान , यो चलचित्रले रुबी नामक पात्रको कथा भन्छ उनी आफ्नो परिवारको एक मात्र कान सुन्ने सदस्य हुन् । संगितमा आफ्नो भविष्य बनाउन चाहिरहेकी रुबीले परिवारलाई सहयोग गर्नेको करियरलाई अगाडि बढाउने भन्ने अन्तरद्वन्दको वरिपरी चलचित्रको कथावस्तु घुमेको छ । कलाकार ट्रोए कस्टुरले यस् फ्लिम बाट उत्कृष्ट सपोर्टिङ रोलमा अवार्ड हात पार्ने अनुमान गरिएको छ भने हाल यस् फ्लिमले ‘द पावर अफ दि डग’लाई उत्कृष्ट चलचित्रको विधा गतिलो टक्कर दिन सक्ने बताइएको छ । यो चलचित्र एप्पल टिभी प्लसमा हेर्न सकिन्छ ।

    ३) ड्युन

    १० वटा विधामा मनोनयनमा परेको यो चलचित्र फ्र्याक हर्बेट्सको साइन्स फिक्सन उपन्यास ‘दि सन अफ दि नोबल फ्यामिली’ मा आधारित छ । यो चलचित्रले उत्कृष्ट छायकंन, सम्पादन, प्रोडक्सन डिजाइन, साउण्ड तथा भिजुवल डिजाइनमा जस्ता विधामा उत्कृष्ट ठहरिन सक्ने अनुमान गरिएको छ ।

    ४) बेल्फास्ट

    विभिन्न ७ वटा विधामा मनोनयनमा परेको यो चलचित्रले बेल्फास्ट नामक किशोर कसरी हुर्किरहेको छ भन्ने विषयलाई प्रस्तुत गरेको छ । यस् चलचित्रलाई उत्कृष्ट पटकथा र उत्कृष्ट सिनेमाको विधामा अवार्ड हात पार्न सक्ने मानिएको छ ।

    ५) वेष्ट साइड स्टोरी

    ७ वटा विधामा मनोनयनमा परेको यो चलचित्रले न्युयोर्क सहरमा कसरी गल्ली गुण्डागर्दी सुरु भयो भन्ने कथा भन्छ , साथ–साथै चलचित्रमा टोनी र मारिया नामक पात्रहरुको प्रेम कथा पनि हेर्न पाईन्छ । यस् चलचित्रमार्फत अरियाना डिबोसले उत्कृष्ट सपोर्टिङ याक्टरको अवार्ड हात पार्ने अनुमान गरिएको छ ।

    ६) किङ रिचार्ड

    यो चलचित्र प्रख्यात टेनिस खेलाडीका सेरिना विलियम्स र भिनस विलियम्सका पिता तथा टेनेसी प्रशिक्षक रिचार्ड विलियम्सको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा विलियम्सको भूमिका विल स्मिथले निभाएका छन् भने यो चलचित्र विभिन्न ६ वटा विधामा मनोनयनमा परेको छ । यस् अघी पनि दुई पटक उत्कृष्ट अभिनेताको विधामा मनोनयनमा परेर पनि अवार्ड हात पार्न नसकेका विल स्मिथले यो चलचित्रमार्फत भने अवार्ड हात पार्ने आशा गरिएको छ ।

    ७) नाइटमेअर एले

    विभिन्न कलाहरुको प्रयोग गर्दै सहरका मान्छेलाई ठगिरहेको एक ठगको कथामा आधारित छ नाइटमेअर एले । यो चलचित्र विभिन्न ४ वटा विधामा मनोनयनमा परेको छ । यस् चलचित्रलाई डिज्नी प्लसमा हेर्न सकिन्छ ।

    ८) ड्राइभ माई कार

    यो चलचित्र प्रख्यात जापनिज लेखक हारुकी मुराकामी को एक कथामा आधारित छ भने चलचित्र कथा दुई पात्रहरुले सँगै तय गरेको एक यात्रामा आधारित छ । विभिन्न चार विधामा मनोनयनमा परेको यस् चलचित्र मार्फत निर्देशक र्युसुक हामागुचीले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सक्ने अनुमान गरिएको छ ।

    ९) लिसोरिस पिज्जा

    १९७० को दशकको समयमा आधारित रहेर दुई पात्रहरुको प्रेम कथालाई देखाएको चलचित्र हो लिसोरिस पिज्जा । यो चलचित्र ३ वटा विधामा मनोनयनमा परेको छ । यस् चलचित्रका निर्देशक पौल थोमस एन्ड्रेसन पनि अवार्डका मुख्य दाबेदारको रुपमा लिइएका छन् ।

    १०) द लस्ट डटर

    बिदा मनाई रहेकी एक महिला बिदामै रहँदा अर्की एक महिला र उनकी छोरीको जीवन देखेर लालायित हुन्छिन् , आफ्नै अतितिका यादहरुमा रुमलिन्छिन् । यही विषयवस्तुमा आधरित चलचित्र हो ‘द लस्ट डटर’ । यो चलचित्र विभिन्न ३ वटा विधामा मनोनयनमा परेको छ । यो चलचित्रमार्फत अभिनेत्री ओल्भिया कोलमेनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्ने अनुमान गरिएको छ । कोलमेनले यस् अघी पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारीसकेकी छिन् ।

    यस् सँग–सगैँ डन्ट लुक अप , दि ट्र्याजेडी अफ म्याक्बेथ, बिईङ दि रिकार्डोस , नो टाइम्स डाई , फ्ली र इन्कान्टो पनि विभिन्न विधामा उत्कृष्ट ठहरिन सक्ने प्रबल दाबेदारको रुपमा लिईएको छ ।

  • पल शाह धरौटीमा छुट्लान् ? आज आदेश आउन सक्ने

    पल शाह धरौटीमा छुट्लान् ? आज आदेश आउन सक्ने

    काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको अहिले तनहुँ जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ ।

    मतियारकारूपमा पक्राउ परेका उनका म्यानेजर कृष्ण जोशीका कानून व्यवसायीले पनि बहस गरेका छन् । तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले शाहका ७ जना कानून व्यवसायीले बहस गरिसकेको बताए ।

    ‘ अहिले प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गरिरहेका छन् । अझै तीन-चार जना कानून व्यवसायीले पालो पाउन बाँकी छ। उहाँहरुले सकेपछि जाहेरवालाका कानुन व्यवशायीले पनि केही समय लिन सक्छन्’, कुँवरले भने ।

    यसअघि बुधबार जाहेरवालाका तर्फबाट ७ जनाले बहस गरेका थिए । कुँवरले बेलुकासम्म आदेश आउन सक्ने बताए । ‘कम्तीमा आज बहस सकिन्छ । आदेश चाहीँ भन्न सकिन्न’, उनले भने ।

    आज तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भइरहेको छ । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

  • गीतकार दर्पण राई पक्राउ, ४८ लाखभन्दा धेरै ठगीको आरोप

    गीतकार दर्पण राई पक्राउ, ४८ लाखभन्दा धेरै ठगीको आरोप

    काठमाडौं । ४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्‍याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।

    महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेकी थिइन् । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो ।

    उजुरी परेपछि फरार राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडितहरूका अनुसार राईले अन्य धेरैलाई लाखौं ठगेका छन् । ४० लाख ठगिएका एक पीडितले भोलि राईविरुद्ध अर्को उजुरी हाल्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।

    पीडितहरुका अनुसार राईले बानेश्वर चोक, एभरेस्ट बैंकपछि घर भएको, चक्रपथमा शेर्बो सहकारी र म्यानपावर कम्पनी भएको र कतारमा क्यापिटल पेन्टिङ ग्रुप पनि आफ्नो स्वामित्वमा रहेको बताउँदै ठग्ने गरेका थिए । आफूहरु ठगिएको थाहा पाएपछि खोज्दै जाँदा राईले भनेको कम्पनी र घरको ठेगाना सबै झूटो पाइएको पीडितहरूको गुनासो छ ।

    राईले आफूलाई व्यवसायी र गीतकारको रुपमा चिनाउने गरेका थिए । उनका ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतको भाग एक र भाग दुई चर्चित छन् ।

    उजुरीबारे बुझ्दा राईले नेपाल प्रेससँग भने, ‘कारोबार गरियो, मैले गरेकै हो । तर, खाएरै हिँड्ने भन्ने होइन । ढिलो छिटो भएको मात्रै हो । केही समयका लागि मैले माफ माग्दै आएको हो । मैले म्यानेज गरिरहेकै थिए । तर, उहाँहरूले उजुरी हाल्नुभएछ ।’

    राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।

  • २५ लाख पुरस्कार राशीको र्‍याप रियालिटी शोको अडिसन सुरु

    २५ लाख पुरस्कार राशीको र्‍याप रियालिटी शोको अडिसन सुरु

    काठमाडौं । २५ लाख पुरस्कार राशीको नेपाली र्‍याप रियालिटी शो रबार्जको अडिसन सुरु भएको छ । शोको लागि पोखरा, चितवन, काठमाडौं, नेपालगन्ज, बुटवल, सुर्खेत र विराटनगरलगायत जिल्लामा अडिसन भइरहेको छ । साथै भारतको सिक्किम र दार्जिलिङ, सिलिगुडीमासमेत अडिसन हुनेछ ।

    जजको भूमिकामा कवि जि, हाकिम, र लेजि रहने भएका छन् भने कार्यक्रमको फाउन्डर कोलिन बिक्रम राना हुन् । रबार्जले यसपटकको शोका लागि आईएनसी इन्टरटेन्मेन्टसँग सहकार्य गरेर रियालिटी शोको आयोजना गरेको हो ।

    शोका विजेताले २५ लाख पाउनेछ भने दोस्रो हुनेले १० लाख र तेस्रो हुने प्रतियोगीले ५ लाख पुरस्कार पाउनेछन् ।

    अहिले भइरहेको अडिसनमा हरेक दिन सयजनाभन्दा बढीले अडिसन दिइसकेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशमा रहेका नेपालीहरुमाझ पनि यो रियालिटी शो आयोजना भइरहेको छ ।

    काठमाडौंका लाजिम्पाटस्थित त्रिशारा होटेल शंकर, बत्तीसपुतलीको ग्राटिया सेन्टरमा अडिसन सम्पन्न भएको छ । पोखरा, चितवनमा पनि अडिसन सकिसकेको आयोजकले बताएको छ ।

  • आफैँले खनेको खाडलमा परेका पलका म्यानेजर जोशी

    आफैँले खनेको खाडलमा परेका पलका म्यानेजर जोशी

    काठमाडौं । नायक पल शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जबरजस्ती करणीको जाहेरीमा कृष्ण जोशीको नाम कतै उल्लेख थिएन । नाबालिगका तर्फबाट उनका बाबुले दर्ता गराएको जाहेरीमा शाहविरुद्ध मात्र किटानी गरिएको थियो । तर, प्रहरीले शाहलाई हिरासतमा लिएको एक सातापछि उनका म्यानेजर जोशीलाई पनि पक्राउ गर्‍यो ।

    मंगलबार तनहुँ जिल्ला अदालतमा दर्ता गराएको अभियोग पत्रमा भने जोशीलाई पनि प्रतिवादी कायम गरिएको छ । शाहलाई हुने सजायको आधा सजाय उनको विरुद्ध माग गरिएको छ ।

    बलात्कारजस्तो घटनामा पीडितले किटानी नै नगरेका व्यक्तिविरुद्ध कसरी प्रतिवादी कायम गरियो ? यसलाई बुझ्न शाहविरुद्ध जाहेरी दर्तापछि विकास भएका घटनाक्रमहरू बुझ्न जरुरी हुन्छ ।

    आफूविरुद्ध जाहेरी दर्ता भएको भोलिपल्ट शाहले सामाजिक सञ्जालमार्फत केही अडिओ क्लिपहरू सार्वजनिक गरेका थिए । उनले त्यसमार्फत आफू निर्दोष भएको दाबी गर्दै दुर्गेश थापा, सरोज ओली र कृष्ण जोशी र सम्राट चौलागाईले नाबालिगलाई प्रयोग गरेर आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

    प्रहरीले शाहलाई खोजी गरिरहेका बेला जोशीले एक युट्यूबरलाई उत्तेजक अन्तरवार्ता दिए । यो अन्तर्वार्ता उनका लागि निकै घातक बनेको देखिन्छ । उनले त्यसमा थापा, ओली, चौलागाई र आफ्नो व्यक्तिगत रिसईबीका कारण शाहलाई सिध्याउन योजनाबद्धरूपमा षड्यन्त्र गरेको बताएका थिए । शाहलाई मार्नेसम्मको योजना रहेको उनले दाबी गरेका थिए ।

    उक्त समूहले आफूलाई आर्थिक प्रलोभन देखाएको पनि जोशीको भनाइ छ । उनले गायिकालाई पनि समग्र घटनाक्रममा ‘भिलेन’ का रूपमा चित्रित गरेका छन् । यसरी शाहले आफूलाई सिध्याउन षड्यन्त्र गर्ने भनेर नाम उल्लेख गरेका व्यक्तिले नै गल्ती गरेको बताएपछि प्रहरीले जोशीको खोजी गरेको थियो । अनि पीडित भनिएकी नाबालिगको तर्फबाट उनका बुबाले जोशीविरुद्ध ‘पूरक’ जाहेरी दिए ।

    नाबालिगले प्रहरीसँग गरेको बयानमा भनेकी छिन्, ‘प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग घुम्न जाऊ, निजले भनेको मान भनी फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा सहयोग पुर्‍याई मतियारको रूपमा रहेका हुन् ।’

    पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासीमा शाहविरुद्ध दर्ता गरेको बलात्कारकै अर्को जाहेरीमा भने जोशीलाई प्रतिवादी बनाइएको छैन । जिल्ला सरकारी वकिल कार्यालयले शाहलाई मात्र प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको थियो ।

    बार्गेनिङ गर्ने योजना बनाइरहेको सुनिने अडिओमा सामेल थापा, ओली र चौलागाईलाई दुवै मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएको छ । यति बेला तनहुँ जिल्ला अदालतमा शाह र जोशीको बयानपछि थुनछेकको बहस तयारी भइरहेको छ । थुनछेकको बहसपछि न्यायाधीशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश सुनाउनेछन् ।

  • गीतकार दर्पण राईविरुद्ध ४८ लाखको ठगी उजुरी

    गीतकार दर्पण राईविरुद्ध ४८ लाखको ठगी उजुरी

    काठमाडौं । चर्चित गीतकार दर्पण राईविरुद्ध ठगीको उजुरी परेको छ । स्रोतका अनुसार दुई जनाले उनी विरुद्ध ४८ लाख रुपैयाँको चेक बाउन्सको ठगी उजुरी दर्ता गरेका छन् । दुवै उजुरी महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा दर्ता भएका छन् ।

    वृत्तका एक अधिकारीका अनुसार बर्सु गुरुङले पाँच महिनाअघि १३ लाख रुपैयाँको चेक बाउन्स र छेवाङ लामाले डेढ महिनाअगाडि ३५ लाख रुपैयाँको चेक बाउन्सको उजुरी दिएका हुन् । राईले दिएको चेक नसाटिएपछि दुवै जना पीडित प्रहरीकहाँ पुगेका थिए । बैङ्कले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरेको थियो ।

    पीडितका अनुसार राईले अन्य केहीलाई पनि ठगी गरेर हिँडेका छन् । उनीहरू पनि उजुरी गर्ने तयारीमा रहेका छन् ।

    उजुरीबारे बुझ्दा राईले नेपाल प्रेससँग भने, ‘कारोबार गरियो, मैले गरेकै हो । तर, खाएरै हिँड्ने भन्ने होइन । ढिलो छिटो भएको मात्रै हो । केही समयका लागि मैले माफ माग्दै आएको हो । मैले म्यानेज गरिरहेकै थिए । तर, उहाँहरूले उजुरी हाल्नुभएछ ।’

    राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।

  • मन्दिप र श्रृष्टी बने मिस्टर एण्ड मिस टिन नेपाल

    मन्दिप र श्रृष्टी बने मिस्टर एण्ड मिस टिन नेपाल

    काठमाडौं । अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिनको पाचौं संस्करण सम्पन्न भएको छ । काठमाडौंस्थित लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरी तर्फ श्रृष्टी महर्जनले मिस नेपाल टिन २०२२ को उपाधि हात पारिन् ।

    उनले अमेरिकाको मायामी स्टेटमा नाभेम्बरमा हुने मिस टिन युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी श्रृष्टी भुषालले मिस नेपाल चीन चार्मको उपाधि जितिन् । उनले कोलम्बियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् । यस्तै सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्र्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

    किशोरतर्फको उपाधि अर्घाखाँचीका मन्दिप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि जिते ।

    अन्य उपाधितर्फ मिस ट्यालेन्ट श्रृष्टी महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस श्रृष्टी भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक सञ्जना भण्डारी, मिस इन्टेलेक्चुअल श्रृष्टी भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटी विथ पर्पसको अवार्ड याशिका सिंहले हात पारिन् ।

    त्यसैगरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दिप भुसाल र राम एक्वाल यादवल् हेन्डसम विथ पर्पसको उपाधि हात पारे ।

  • धिरजको ‘लुकी लुकी’ २५ वर्षपछि पुनः सार्वजनिक (भिडिओसहित)

    धिरजको ‘लुकी लुकी’ २५ वर्षपछि पुनः सार्वजनिक (भिडिओसहित)

    काठमाडौं । गायक धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि युट्युवमा फेरि सार्वजनिक गरिएको छ । ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडिओ मेकिङ गर्दै नयाँ स्वरुप दिएको हाे ।

    २५ बर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडिओमा धिरज राईलाई मात्र देख्न सकिन्छ ।

    धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडिओमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ । भिडिओमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

    https://www.youtube.com/watch?v=JM-AdM02m-w

    कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा बोल्दै धिरजले भने– ‘मलाई दर्शकले सधैँ गीतको भिडिओ बनाउन भन्नुहुन्थ्यो । युट्युवमा गीत खोज्दा २५ बर्ष अगाडिको पुरानो भिडिओ मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडिओा बनाउने निर्णय गरेको हुँ ।’

    धिरजले आफूलाई अन्य थुप्रै कम्पनीले भिडिओको लागि प्रस्ताव गरेपनि तयार नभएको सुनाए ।

    कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन् ।

    निर्देशक माइकल चन्दले यो गीतको भिडिओ निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुवै भएको सुनाए । कार्यक्रममा शुभकामना दिदै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरुले उत्कृष्ट काम गरेको बताए ।

  • घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने

    घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने

    कैलाली । चलचित्र छायांकन र सम्पादनका लागि कैलालीको घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा चलचित्र छायांकन स्थलको विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण गरिने भएको हो ।

    मंगलबार छायांकन स्थल निर्माणका लागि चलचित्र विकास बोर्ड र घोडाघोडी नगरपालिकाबीच सम्झौता भएको हो ।  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् ।

    ‘सुदूरपश्चिम प्रदेशमा नेपालमै पहिलोपटक  प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ’ घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले भने, ‘यो घोडाघोडी नगरपालिकाको लागि ठुलो  उपलब्धि हो ।’

    सुन्दर सुदूरपश्चिममा नेपाली चलचित्र छायांकनको सिलसिला अत्यन्त कम भइरहेको अवस्थामा छायांकन स्थल निर्माणपछि यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगरप्रमुख चौधरीले बताए  ।

    नेपाल सरकारले गत आर्थिक वर्षमा सातै प्रदेशमा छायांकन स्थल पहिचान गर्ने कार्यक्रम ल्याएको थियो । गत वर्ष नै कैलालीको घोडाघोडी– २ मा चलचित्र छायांकन स्थल छनोट भएको थियो । नेपालमै पहिलो पटक घोडाघोडीमा छायांकन स्थल निर्माणका लागि सम्झौता भएको चलचित्र विकास बोर्डका सदस्य प्रकाश भट्टराईले बताए ।

    ‘पहिलो चरणमा डिपिआर र मास्टर प्लान निर्माण हुने छ’ उनले भने ‘त्यसै आधारमा आन्तरिक चलचित्र छायांकन स्थल, सम्पादक कक्ष, विभिन्न जातजातिको संस्कृति झल्किने संग्राहलय, प्रशासनिक भवन निर्माण गरिनेछ ।’

    नजिकै रहेको चिडिया तलमा छायांकनका लागि पनि विकास गर्ने नीति लिएको उनले जानकारी दिए ।  मन्त्रालयले जारी गरेको छायांकन स्थल मापदण्ड अनुसार नगरपालिकासँग सम्झौता गरिएको थियो ।

    चलचित्र विकास बोर्डका तर्फबाट हस्ताक्षर गर्न अध्यक्ष दाहाल बोर्ड सदस्य भट्टराई प्राविधिक सन्देश ढकाल घोडाघोडी पुगेका थिए ।

  • पलका म्यानेजरको स्वीकारोक्ती : ‘मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन’ भन्दै नाबालिगलाई धम्क्याएको हुँ’

    पलका म्यानेजरको स्वीकारोक्ती : ‘मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन’ भन्दै नाबालिगलाई धम्क्याएको हुँ’

    काठमाडौं । पल शाह प्रकरणमा पक्राउ परेका कृष्ण जोशीले आफूले बलात्कारको घटनामा मेलमिलाप गराउन प्रयास गरेको स्वीकार गरेका छन् । पल शाहले आफूलाई घटना मिलाउन सहयोग गर्ने सर्तमा तलब दोब्बर बनाइदिएको समेत उनको भनाइ छ ।

    सरकारी वकिलसमक्ष जोशीले दिएको बयान अनुसार उनी सुरुमा मासिक २५ हजार तलब लिएर पलको म्यानेजरका रूपमा काम गरिरहेका थिए । नाबालिग गायिका र पलबिच रहेको प्रेम सम्वन्बारे आफू जानकार रहेको उनले बताएका छन् । तर, व्यक्तिगत मनमुटाबका कारण पलले आफूलाई जिम्मेवारीबाट हटाएको उनको भनाइ छ ।

    नाबालिगसँगको सम्बन्ध मिडियामा आएपछि पलले पुन आफूलाई सम्पर्क गरी सहयोग मागेको जोशीले बताएका छन् ।

    ‘प्रतिवादीले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्‍यो भन्दै मासिक तलबमा दोब्बर वृद्धि गरी रु. ५०,००० हजार रुपैयाँ तलबमा पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए,’ उनले भनेका छन् ।

    त्यसपछि आफूले नाबालिगलाई भेटेर मेलमिलापका लागि आग्रह गरेको जोशीले बताएका छन् । यस क्रममा आफूले ‘मलाई मान्छे मार्न केहीजस्तो लाग्दैन’ भनेर नाबालिगलाई धम्काएको पनि उनको स्वीकारोक्ति छ ।

    यस्तो जोशीको बयानको पूर्णपाठः

    मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक रु. २५,००० र (तलब लिई फिल्म, गीत, सङ्गीत र विज्ञापन तथा स्टेज कार्यक्रममा पूर्णविक्रम शाह सहभागी हुने तथा अभिनय गर्ने रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म पूर्णविक्रम शाहसँग अधिकांश समयसँगै हुने हुँदा पीडित नवालिका र प्रतिवादी पूर्णविक्रम शाहबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो ।

    पूर्णविक्रम शाहसँग मेरो मनमुटाब भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए । २०७८ सालको असार अन्तिम हप्तातिर पीडित ०७८/७९ व्यास-१२ ले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेपछि वास्ता गर्न छाडेका छन् भनेकीले म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नावालिकाले आफूलाई पूर्णविक्रम शाहले माया-प्रेम गरेको विश्वासमा पारी पटक-पटक जवर्जस्ती करणी गरेका कारण म पिडामा छु भनेकी र प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, व्वाईफ्रेण्ड बिचको अन्डरस्ट्यान्डिङमा भयो हैन, तैपनि हामीसँगै हुँदा केही भयो होला स्विकार्नै पर्छ, बिहे नै गर्नपर्छ भन्न चाहिन् मिल्दैन भन्ने शब्दहरू बोलेका थिए ।

    प्रतिवादी पूर्णविक्रम शाह र पीडित नावालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर रु. ५०,००० तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नावालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नववालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर, तिमीलाई मैले गीत-सङ्गीतमा सहयोग गर्छु भनेको थिएँ । तर निज दुर्गा अधिकारीले भनेअनुसार काम नगरेकीले निजलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ । निजले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो, देखी चिनेर सनाखत गरेँ ।
    मैले पीडितलाई सम्झाउने क्रममा ‘मलाई मान्छे मार्न केही जस्तो लाग्दैन’ भन्ने शब्दहरू प्रयोग गरेको हुँ ।

  • नाबालिग गायिकाको बयान- बिहे गर्ने आश्वासन दिएर पल शाहले शोषण गरे

    नाबालिग गायिकाको बयान- बिहे गर्ने आश्वासन दिएर पल शाहले शोषण गरे

    तनहुँ । अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी नाबालिग गायिकाले मायाका नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्ती यौन सम्बन्ध राखेको बयान दिएकी छन् ।

    पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको बयान दिएकी छन् ।

    नाबालिक गायिकाको बयान यस्तो छ:-

    मेरो सानै देखि सांगितिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा भिडिओ सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेकाले हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७/०९/१० गते पोखरास्थित प्राइम होटलमा, मिति २०७७/१२/०७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका र मिति २०७८/०१/१४ गते तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा छुट्टै कोठामा सुतेको अवस्थामा उक्त राति अन्दाजी १२ बजेतिर प्रतिवादीले म तिम्रो कोठामा आउँछु भनी म्यासेज गरी मेरो कोठामा आई मलाई विवाह गर्ने झूठो आस देखाई मैले हुँदैन भन्दा पनि ………….हुन् । प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको रुपमा रहेका हुन् ।

  • सोनम कपुर आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्प

    सोनम कपुर आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्प

    मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दै छिन् । उनले इन्स्टाग्राममार्फत पति आनन्द आहुजासँग आफ्नो बेबी बम्पको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको पुष्टि गरिन् ।

    उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘चार हातहरू, हमी उत्तम तरिकाले तिम्रो हेरचाह गर्न सकँ । दुई मुटु, जो तिमिसँगै धड्कनेछ। हाम्रो परिवार, जसले तिमिलाई माया र समर्थन गर्नेछ। हामी तिमिलाई स्वागत गर्न पर्खन सक्दैनौं।’

    सोनम र आनन्दले गर्भावस्थाका तस्बिर सार्वजनिक गरेसँगै बलिउड सेलिब्रिटीहरुले सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् ।

    अनिल कपूरकी छोरी सोनम कपुरले चार वर्षअघि आनन्दसँग विवाह गरेकी थिइन् ।

  • सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

    सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

    ललितपुर । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा कवि डा. गोविन्द आचार्यद्धारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य सार्वजनिक भएको छ । महाकाव्यको विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरेका थिए ।

    महाकाव्यको विमोचन गर्दै जोशीले भने, ‘इतिहास, साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् । तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो । यस महाकाव्यमा पनि मिथक, संस्कृतिको प्रयोग भएकोमा खुसी लागेको छ ।’

    जोशी निवासमा भएको विमोचन समारोहको सभापतित्व अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीले गरेकी थिइन् ।

    कार्यक्रममा प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेनासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले कवि आचार्यलाई बधाइ तथा शुभकामना दिँदै समालोचकीय मन्तव्य राखेका थिए ।

    कार्यक्रममा गायिका लोचन भट्टराई, साझा प्रकासनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, साहित्यकार भुवनहरि सिग्देल र कवि इन्दिरा दाहल लगायतले कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेका थिए । कवि आचार्यले आफ्नो काव्ययात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्किएका थिए ।

    साथै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वअनुभूति पनि पस्किएका थिए । कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य देखि प्राध्यपक, एमफी, पीएचडीका सोधार्थी साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।

  • अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौं नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन् । एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् ।

    दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई स्वागत गर्नेछन् ।

    चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।