Category: कलाप्रेस

  • लिटल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि अभिश्री र समीक्षालाई

    लिटल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि अभिश्री र समीक्षालाई

    काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको दोस्रो संस्करण राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि अभिश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन् ।

    इनोभेसन इभेन्ट म्यानेजमेन्ट (आईईएस) ले भक्तपुर निष्टसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा प्रतियोगीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह-ए बाट अभिश्री र समूह-बी बाट समीक्षाले उपाधि जितेका हुन् ।

    प्रतिस्पर्धामा समूह-ए बाट विशेषता पौडेल र समूह-बी बाट सिमोन बरुवाल फस्र्ट रनर अप भए् । त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह-ए बाट प्रज्ना भुसाल र समूह-बी बाट सुप्रिम खत्रीले प्राप्त गरे । यस्तै, थर्ड रनर अपमा समूह-ए बाट अर्थ ढकाल र समूह-बी बाट आकांक्षा पोख्रेल तथा फोर्थ रनर अपमा समूह-ए बाट स्नीग्धा ढकाल र समूह-बीबाट सूबीसा श्रेष्ठ चुनिएका छन् ।

    लिटल च्याम्प अफ द इभेन्टमा महिलातर्फबाट आश्रा बोहरा र पूरुषतर्फबाट प्रसिस चौलागाईं घोषित भएका छन् । कार्यक्रम पूर्णरुपमा सफल भएको आयोजक महेश केसीले बताए ।

    कार्यक्रमका निर्णायकहरूमा रुष्का श्रेष्ठ, जीवन गिरी, सुवर्ण खड्का, प्रमिला, अभिविन्द खानिया, आकांक्षा भट्टराई रिमाल, सनिस शाक्य, पवन आचार्य, धिरज तन्डुकार, ईरीना श्रेष्ठ र अनिसा शाक्य रहेका थिए ।

  • साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’ वैशाख २३ बाट प्रदर्शनमा

    साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’ वैशाख २३ बाट प्रदर्शनमा

    काठमाडौं । साइकोलोजिकल थ्रिलर सिनेमा ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउनेछ ।

    सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ ।

    क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा निर्देशक मिलन डि काप्रि हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दै छन् । कोरोना महामारी अगाडि नै निर्माण भएको सिनेमाको सम्पूर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए ।

    सिनेमामा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।

    शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

    सिनेमामा आङ्चेन लामाको छायाङ्कन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । यो सिनेमालाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

  • तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा, तारेखमा छाड्न माग

    तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा, तारेखमा छाड्न माग

    काठमाडौं । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।

    अदालतका उप-रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।

    फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिइएको शाहका वकिल कमलामोहन वाग्लेले नेपाल प्रेसलाई बताए ।

    १० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौ दिन शाह अदालत पुगेका हुन् ।

  • ओस्कार अवार्डमा थप्पड हान्ने विल स्मिथले माफी मागे, क्रिस रकले प्रहरीमा उजुरी नगर्ने

    ओस्कार अवार्डमा थप्पड हान्ने विल स्मिथले माफी मागे, क्रिस रकले प्रहरीमा उजुरी नगर्ने

    काठमाडौं । ओस्कार अवार्ड समारोहमा होस्टलाई थप्पड हानेका अभिनेता विल स्मिथले सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् । आफूले सीमाभन्दा बाहिर गएर सो हर्कत गरेको उनको स्वीकारोक्ति छ ।

    एक विज्ञप्ति जारी गरी स्मिथले भनेका छन्, ‘म तपाईं क्रिस रकसमक्ष सार्वजनिकरूपमा क्षमायाचना गर्न चाहन्छु । म सीमाभन्दा बाहिर गएको थिएँ र म गलत थिएँ ।’

    लस एञ्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा आफ्नी श्रीमतीमाथि मजाक गरेको भन्दै स्मिथले कार्यक्रमका होस्ट क्रिस रकलाई स्टेजमै जोडदार थप्पड हानेका थिए । रकले कुनै प्रतिवाद गरेका थिएनन् । पछि सर्वोत्कृष्ट अभिनेताका अवार्ड जितेपछि स्मिथले रकको नाम नलिइकन घटनाका लागि दु:ख व्यक्त गरेका थिए ।

    सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि स्मिथले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

    इन्स्टाग्राममा लेखेको स्टाटसमा उनले भनेका छन्, ‘सबैप्रकारका हिंसाहरु विषाक्त र ध्वंसात्मक हुन्छन् । हिजो राति एकेडेमी अवार्डमा मेरो व्यवहार अस्वीकार्य र माफीयोग्य समेत थिएन । श्रीमतीको स्वास्थ्यसँग जोडिएको विषयमा मजाक गर्दा म आवेशमा आएको थिएँ ।’

    स्मिथले एकेडेमी अवार्ड आयोजकसँग पनि क्षमा मागेका छन् ।

    यता, स्मिथको कुटाइ खाएका कमेडीयन रक भने उक्त घटनालाई लिएर कतै उजुरी गर्ने मुडमा छैनन् । लस एन्जेलस प्रहरीले यस विषयमा उनीसँग कुराकानी गर्दा उजुरी नगर्ने बताए ।

    लस एन्जेलस पुलिस डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एकेडेमी अवार्ड कार्यक्रममा दुई व्यक्तिहरुबीच भएको घटनाबारे प्रहरी जानकार छ । उक्त घटनामा पीडित पक्षले प्रहरीमा रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको छ । यदि पछि उजुरी दर्ता गर्न आएमा हामी यसलाई छानविनको विषय बनाउन सक्छौं ।’

    कमेडीयनले भने एक विज्ञप्तिमार्फत घटनामा आफ्नै गल्ती रहेको बताएका छन् । उनले विल स्मिथ र उनकी पत्नीप्रति दु:ख व्यक्त गरेका
    उनले भनेका छन्, ‘कमेडीयनका रूपमा प्रस्तुति दिँदै गर्दा कतिबेला आफ्नो सीमा तोडिएको हुन्छ भन्ने भेउ पाइँदैन । त्यो राति मैले आफ्नो सीमा तोडेँ र त्यसबापत महंगो मूल्य चुकाएँ । कमेडीको अर्थ मानिसहरूको पीडामाथि मजाक बनाउनु होइन । म मेरा मित्र विल स्मिथ र जाडा पिन्केट स्मिथसँग क्षमायाचना गर्न चाहन्छु ।’

  • जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

    जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

    तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ ।

    पलका पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

    पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानूनी व्यवस्थाअनुसार पुनरावेदन दिँदैछौँ,ु उनले भने ।

    घटना भएको लामो समयपछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरबाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानूनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।

    ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

    गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

    अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मासर्मपण गरेका थिए ।

  • मेलिनाको ‘मन मनै त हो’ मा अमिका र ध्रुव

    मेलिनाको ‘मन मनै त हो’ मा अमिका र ध्रुव

    काठमाडौं । लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा नयाँ रोमाञ्चक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बीच अमिका महत क्षेत्रीको मन मनै त हो भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियो दुई कन्या काव्या श्रेष्ठ र वृष्टि पुन श्रेष्ठले सार्वजनिक गरेका थिए ।

    अर्जुन रत्न भिखारीको शब्द, सुनील मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लन्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ । म्युजिक भिडियोमा लन्डनवासी नायक ध्रुव दत्त र अमिका महतले अभिनय गरेका छन् । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यु प्रोजेक्ट हो ।

    म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरू ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आप्mनो अनुभव सुनाएका थिए। उनीहरूले कुशलको निर्देशकीय क्षमतामा काम गर्न निकै सहज भएको बताए । पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जितेन्द्र महत अभिलाषीकी पुत्री हुन् ।

    कार्यक्रमका वक्ताहरूले बेलायतमा सीमित श्रोत र साधनका बीच पनि म्युजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखेका थिए । कार्यक्रममा इनास यूकेले कलाकारलाई सम्मान गरेको थियो ।

  • विमानस्थलमा ओलीसँग राजेश हमालको जम्काभेट, के भयो कुराकानी ?

    विमानस्थलमा ओलीसँग राजेश हमालको जम्काभेट, के भयो कुराकानी ?

    काठमाडौं । चुनाव नजिकिँदै जाँदा पार्टी प्रवेश अभियान चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कलाकारहरूतिर पनि नजर दौडाइरहेका छन् ।

    हालै अभिनेत्री करिश्मा मानन्धरलाई पार्टीमा भित्र्याएका उनी आज अभिनेता राजेश हमालसँग बातचित गरिरहेका देखिए । तर, यो भेट योजनाबद्ध नभएर आकस्मिक थियो ।

    त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा ओलीसहितको एमाले टोलीसँग हमालको छोटो भेट भएको हो । ओली आफ्नो दलबलसहित कपिलवस्तु जाँदै थिए । उनीसँग अभिनेत्री करिश्मा पनि थिइन् । सुरुमा करिश्मा र राजेश हमाल भेटेर गफ गर्ने क्रममा नेताहरू पनि मिसिएका थिए । उनीहरूबिच केही बेर ख्यालठट्टा चलेको थियो ।

    स्रोतका अनुसार ओलीले सुरुमा हमाललाई ‘एक्लै कता जाँदै हुनुहुन्छ ?’ भनेर सोधे । जवाफमा हमालले भने, ‘फलानो ठाउँ जाँदै छु । के गर्नु उहाँलाई (करिश्मालाई देखाउँदै) तपाईँले लगिहाल्नु भो ।’

    ओलीले जवाफ दिए, ‘(तपाईँहरूका लागि) बाटो खोलिदिएको हो ।’

    हमालले एमालेका शुभचिन्तकहरू सबै क्षेत्रमा रहनुपर्ने बताउँदै आफू कलाकारितामै ठिक रहेको संकेत गरे ।

  • दुर्गेशको चेतावनीपछि हटाइयो कमेडी क्लबको प्रोमो, कार्यक्रमबाट पनि काटिने

    दुर्गेशको चेतावनीपछि हटाइयो कमेडी क्लबको प्रोमो, कार्यक्रमबाट पनि काटिने

    काठमाडौं । कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग टेलिभिजनमा प्रसारण नहुँदै विवादमा परेको छ ।

    गायक दुर्गेशले आफूमाथि गरिएको व्यंग्यलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले कार्यक्रमको प्रोमो नै युट्यूबाट हटायो ।

    प्रसारित प्रोमोमा उक्त कार्यक्रमका कमेडीयन सजन श्रेष्ठले दुर्गेशको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।

    प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा…। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’

    दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिएका थिए ।

    नेपाल प्रेससँगको कुराकानीमा दुर्गेशले अदालतमा विचाराधीन विषयमा आफ्नो चरित्रहत्या गर्ने विषयवस्तु देखेपछि आपत्ति जनाएको बताए । उनले दिपाश्री निरौला र कमेडीयन साजनसँग आफूले कुरा गरेको जानकारी दिए ।

    ‘अदालतमा पुगेको यति गम्भीर विषयमा हलुका तरिकाले कमेडी गर्नु हुँदैनथ्यो, मैले यही कुरा निर्माण पक्षलाई सम्झाएको हुँ,’ उनले भने ।

    दुर्गेशले प्रोमो नहटाएमा कानूनी प्रक्रियामा जाने सन्देश पनि दिएका थिए । त्यसपछि निर्माण पक्षले प्रोमो हटाएको हो । पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने जानकारी प्राप्त भएको छ ।

    कमेडी विथ च्याम्पियन अध्यक्षको भूमिकामा रहेकी दिपाश्री निरौलाले अदालतमा विचाराधीन विषय भएको हुँदा अनावश्यक विवाद नआओस् भनेर प्रोमो हटाइएको बताइन् ।

    उनले भनिन्, ‘हामीले यसलाई व्यंग्यका रुपमा मात्रै लिएका थियौँ । तर दुर्गेश भाइले पनि फोन गरेर असन्तुष्टि व्यक्त गर्नुभयो । हामी आफैँले पनि अदालतमा विचाराधीन केसमा किन छेड छाड गर्ने भन्ने महसुस गरेर हटाउने निर्णय लिएका हौँ । पूरा कार्यक्रमबाट पनि यो दृश्य हटाएर प्रसारण हुन्छ ।’

    कमेडी विथ च्याम्पियनको दोस्रो भाग आज नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

  • ओस्कार अवार्डः विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडि‌ओ)

    ओस्कार अवार्डः विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडि‌ओ)

    काठमाडौं । लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोमा अनपेक्षित दृष्य देखिएको छ । सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर होस्टलाई दरिलो थप्पड हानेका छन् ।

    समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपश्चात उत्तेजनामा आएका स्मिथ सरासर मञ्चमा गएर गालामा बजाएका थिए । स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो ।

    कमेडिया रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए । स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद गरेनन् । हाँसेर टारे । कार्यक्रममा उपस्थितहरू भने स्तब्ध बनेका थिए । यो कार्यक्रम लाइभ टेलिकास्ट भइरहेको थियो ।

    अवार्ड लिएपश्चातको सम्बोधनमा स्मिथले कुनै सन्दर्भ उल्लेख नगरी क्षमायाचना गरे । उनले क्रिस रकको पनि नाम लिएनन् । स्मिथले करिअरमा पहिलोपटक ओस्कार अवार्ड जितेका हुन् ।

  • ओस्कारमा ‘कोडा’ सर्वोत्कृष्ट, ‘डुन’ ले जित्यो ६ अवार्ड (सूचीसहित)

    ओस्कारमा ‘कोडा’ सर्वोत्कृष्ट, ‘डुन’ ले जित्यो ६ अवार्ड (सूचीसहित)

    काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा ‘कोडा’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । तीनवटा विधामा मनोनयनमा परेको यो चलचित्रले तीनवटै अवार्ड जित्न सफल भयो । चलचित्रले सर्वोच्कृष्ट पटकथा र सर्वोत्कृट सहअभिनेताको अवार्ड जितेको हो ।

    ओस्कारमा सर्वाधिक अवार्ड भने ‘डुन’ले हात पारेको छ । दश विधामा मनोनयनमा परेको यस चलचित्रले ६ वटा अवार्ड जितेको हो । यस्तै, १२ वटा विधामा मनोनयमा परेको चलचित्र ‘पावर अफ द डग’ भने एउटा अवार्डमा सीमित भयो । चलचित्रबाट जेन क्याम्पियन सर्वोत्कृष्ट निर्देशक छानिए ।

    अभिनेता विल स्मिथले ‘किङ रिचार्ड’बाट आफ्नो करिअरको पहिलो ओस्कार अवार्ड प्राप्त गरेका छन् । उनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड द आइ अफ टम्मी फायबाट जेसिका चास्टाइनले जितिन् ।

    हेर्नुस् अवार्ड बिजेताको सूची

    सर्वोत्कृष्ट चलचित्र

    कोडा

    सर्वोत्कृष्ट अभिनेता

    विल स्मिथ (किङ रिचार्ड)

    सर्वोत्कृष्ट अभिनेत्री

    जेसिका चास्टाइन (द आइज अफ टाम्मी फाय)

    सर्वोत्कृष्ट मौलिक गीत

    नोटाइम टु डाइ

    सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर

    समर अफ सोल

    सर्वोत्कृष्ट साभार (पटकथा)

    सियान हेदर (कोडा)

    सर्वोत्कष्ट मौलिक पटकथा

    केन्नेथ ब्रानाघ (बेलफास्ट)

    सर्वोत्कृष्ट कस्टुम डिजाइन

    जेन्नी बिभान (क्रुयल्ला)

    सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर

    ड्राइभ माइ कार (जापान)

    सर्वोत्कृष्ट सह अभिनेत्री

    एराइना डिबोस (वेस्ट साइड स्टोरी)

    सर्वोत्कृष्ट सह अभिनेता

    ट्रोइ कोटसर (कोडा)

    सर्वोत्कृष्ट एनिमेटेड फिचर

    एन्कान्टो

    सर्वोत्कृष्ट मौलिक गीत

    हान्स जिमर (डुन)

    सर्वोत्कृष्ट सिनेमाटोग्राफी

    ग्रेग फ्रासर (डुन)

    सर्वोत्कृष्ट भिजुअल इफेक्ट

    डुन

    सर्वोत्कृष्ट फिल्म सम्पादन

    जोइ वाल्कर (डुन)

    सर्वोत्कष्ट साउन्ड

    डुन

    सर्वोत्कष्ट प्रोडक्सन डिजाइन

    डुन

    सर्वोत्कृष्ट मेक अप एन्ड हेयर स्टाइल

    द आइज अफ टाम्मी फाये

    सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट

    द लङ गुडबाइ

    सर्वोत्कृष्ट एनिमेटेड सर्ट

    द वाइन्डसिल्ड पिपर

    सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट

    द क्वीन अफ बास्केटबल

  • सलमान खानको तस्वीरमा फ्यानको कमेन्टः गोहीको भूमिका पाउनुभयो कि कसो ?

    सलमान खानको तस्वीरमा फ्यानको कमेन्टः गोहीको भूमिका पाउनुभयो कि कसो ?

    मुम्बई । सलमान खान कामबाट समय निकालेर आफ्नो पनवेल फार्म हाउसमा छुट्टी मनाउन जाने गर्छन् । हालै सलमानले त्यहाँका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरे । तस्बिरमा उनी पानीमा डुबेका छन् । उनको तस्बिरमाथि अनेकन कमेन्टहरु आइरहेका छन् । सलमानका फ्यानदेखि बलिउड सेलिब्रेटीले पनि कमेन्ट गरिरहेका छन् ।

    सलमानले सार्वजनिक गरेको तस्बिरमा उनी घाँटीसम्म पानीमा डुबेको देखिन्छ । उनको यो तस्बिरमा अभिनेत्री प्रीति जिन्टाले लेखेकी छिन्, ‘म तिमीलाई मिस गर्दैछु ।’

    अभिनेत्री राखी सावन्तले लेखेकी छिन्, ‘ओ भाइ वाह !’

    टिना दत्तले कम्प्लिमेन्ट गर्दै लेखेकी छिन्, ‘ओ गड, तिमी तस्बिरमा कति प्यारो देखिन्छौ ।’

    सलमानका एक प्रशंसकले रमाइलो कमेन्ट गर्दै लेखेका छन्, ‘सर, अर्को फिल्ममा गोहीको भूमिका पाउनुभयो कि कसो ?

    फेरि अर्का फ्यान लेख्छन्, ‘भाइ होसियार हुनु, पानीमा सर्प पनि हुन्छ ।’

    अर्का एक प्रशंसक भन्छन्, ‘भाइको झलक, सबैभन्दा अलग ।’

  • भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

    सर्लाही । भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् ।

    सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार सर्लाही पुगेका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजे मात्र कार्यक्रम स्थल पुगेका थिए ।

    उनलाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो । कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो ।

    कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरे । आयोजकको तर्फबाट उनलाई ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

    मलंगवा नगरपालिका वडा नम्बर २ स्थित कभर्डहलमा महाधिवेशन उद्घाटन समारोह चलिरहेको छ । उद्घाटन समारोह राति अबेरसम्म चल्ने आयोजक गोपाल सेवा समितिले सर्लाहीले जनाएको छ ।

    राति अबेर हुने बन्दशत्रमार्फत गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने आयोजकले जनाएको हो । स्थल मार्ग हुँदै सर्लाही आइपुगेका उनी उद्घाटन समारोहकै बीच फर्किएका छन् ।

  • आफ्नै मृत्युको झुटो खबरबारे यस्तो भन्छन् अभिनेता खान

    आफ्नै मृत्युको झुटो खबरबारे यस्तो भन्छन् अभिनेता खान

    मुम्बई । पछिल्लो केही वर्षयता मिडियाहरुमा बलिउड अभिनेता फरदीन खानको दुईपटक मृत्यु भएको हल्ला चलेको छ । उनको कार दुर्घटनामा परि मृत्यु भएको हल्ला थियो । फरदीनले यसप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, ‘यो झुटो खबरको बारेमा आफ्नो परिवार वा साथीभाइले थाहा पाए भने के होला ?’

    हालै उनले एक अन्तवार्तामा भने, ‘दुईपटक मेरो दुर्घटनामा मृत्यु भएको खबर फैलिएको थियो । यो झुटो समाचारले मलाई विचलित तुल्यायो, यदि मेरी आमाले यो देखेको भए हर्टअट्याक नै हुने थियो । मेरो श्रीमती या कसैले यो समाचार पढे भने, त्यसैले मलाई यो गैरजिम्मेवारीपनले रिस उठ्यो। मलाई लाग्छ यो धेरै पहिलेको कुरा हो जब रामपालले मलाई पहिलो पटक ‘तिमी ठीक छौरु’ भनेर फोन गर्यो । मलाई थाहा छैन कि उनले म मरेको छु वा जिउँदै छु भनेर फोन गरेका थिए ।

    फरदीन हरर ड्रामा फिल्म ‘विस्फोट’ बाट बलिउडमा कमब्याक गर्दैछन् । अभिनेता पछिल्लो पटक २०१० मा आएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए, जसमा सुस्मिता सेन पनि मुख्य भूमिकामा थिइन् ।

    चलचित्रलाई लिएरउनी निकै उत्साहित छन्, उनले सन्देश लेख्दै भनेका छन्, ‘फिल्ममा आउन पाउँदा खुसी छु, तपाईहरू सबैलाई भेट्नको लागि उत्साहित छु, चाहे त्यो टिभि पर्दामा होस् वा सिनेमा पर्दामा। फरदीनको बारेमा तपाईहरुले के सोच्नुहुन्छ भनेर हेर्न म पर्खन सक्दिन।’

  • याद…

    याद…

    साँचो भनौँ त
    मैले तिमिलाई याद गर्दिन

    तिमी आफै याद आउँछौ
    ठिक, उस्तै
    जसरी वर्षात पछि
    माटोको सुगन्ध आउँछ
    ठिक, उस्तै
    मेरो झ्याल बाहिरको गुलाबको
    फूलको सुगन्ध मेरो कोठा सम्म आउँछ
    ठिक, उस्तै
    जसरी वसन्तमा
    बोट बिरुवाहरूमा नयाँ हरियाली आउँछ ।

    जब तिम्रो याद आउँछ
    एक भ्रम नै सही
    तर हरेक समय
    मनलाई यही महसुस हुन्छ की
    तिमी यही कहीँ छौ
    मेरो वरिपरि मेरै साथमा ।

    न म बादल बन्छु
    न तिमी पहाड नै
    फेरि पनि हामी मिल्छौ
    ठिक, उस्तै
    जसरी घाँस मिल्छ माटोसँग
    ठिक, उस्तै
    जसरी रुखहरू मिल्छन् पातहरूसँग
    ठिक, उस्तै
    जसरी माछा मिल्छन् पानीसँग
    ठिक, उस्तै
    जसरी दुख मिल्छ एकान्तसँग
    ठिक, उस्तै
    जसरी नदी मिल्छन् समुन्द्रसँग ।

    तिम्रो प्रेममा परेर मैले यो कुरा थाहा पाए कि
    प्रेम त्यो हैन जसको साथमा हामीले
    आफ्नो समय खर्च गर्छौ
    प्रेम त त्यो रहेछ
    जो साथमा नहुँदा पनि
    उसको हिस्सा आफ्नो हृदयको कुनामा
    सजाएर राख्ने गर्छौ ।

    लेखक :-जयराज जाेशी

  • सलमान खानका लागि सरकारसँग दुई हजार सुरक्षाकर्मी माग, ३० हजारले कन्सर्ट हेर्ने दावी !

    सलमान खानका लागि सरकारसँग दुई हजार सुरक्षाकर्मी माग, ३० हजारले कन्सर्ट हेर्ने दावी !

    काठमाडौं । भारतीय अभिनेता सलमान खान आउँदो जेठ १४ गते एउटा कन्सर्टका लागि काठमाडौं आउँदैछन् । एक निजी कम्पनीले निकै ठूलो धनराशी खर्चेर सलमानलाई नेपाल ल्याउन लागेको हो ।

    आयोजक ओडीसी इन्टरनेटमेन्टका अनुसार दशरथ रंगशालामा हुने कन्सर्टका लागि कुल १८ करोड खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये सलमान एक्लैले ३ करोड भारु (४ करोड ८० लाख रुपैयाँ) पारिश्रमिक लिनेछन् ।

    सलमानसँग करिब १०० जनाको टोली नेपाल आउँदैछ । उनीहरुमध्ये नौ जना सेलिब्रिटी हुन् भने अन्य ब्याक डान्सर र वाद्यवाधकहरु हुन् । सलमानको टोलीमा ज्याकलिन फर्नान्डिस, सोनाक्षी सिन्हा, प्रभू देवा, गुरु रान्धवा, सहीद मन्जेरकर, मनिष पल, कमाल खान र अर्का एकजना छन् ।

    सोनाक्षीले ५२ लाख र ज्याकलिनले ४० लाख भारु पारिश्रमिक लिएका छन् । अन्य कलाकारहरुको १०–१५ लाखको हाराहारी छ । कुल मिलाएर ४ करोड ८० लाख भारु कलाकारको पारिश्रमिकमा खर्च हुने छ ।

    सबै कलाकारसँग बेग्लाबेग्लै सम्झौता गरेर उनीहरुको खातामा पैसा गइसकेको ओडीसी इन्टरनेटमेन्टका प्रमुख सीमान्त गुरुङले जानकारी दिए । यसअघि २०७४ सालमा नै यो कन्सर्ट गर्न खोजिएको थियो । त्यसबेला सबै कलाकारहरुलाई पारिश्रमिक बैंकबाट पठाइसकिएको थियो, तर अन्तिम समयमा विप्लव माओवादीको थ्रेटका कारण कार्यक्रम स्थगित भयो ।

    लामो समयसम्म कन्सर्ट हुन नसकेपछि ओडीसीले सलमानसँग अग्रिम भुक्तानी भएको पैसा फिर्ताका लागि ताकेता गर्यो । तर सलमानले फिर्ता गर्न चाहेनन् । बरु आफू नेपाल आउन इच्छुक रहेको भन्दै उपयुक्त समयमा कन्सर्ट गर्न सुझाए । त्यसैबमोजिम पहिले भुक्तानी भएको पैसामा केही थप गरेर अहिले उनलाई ल्याउन लागिएको गुरुङले बताए ।

    उनले भने, ‘हामीले चार वर्षअगाडि नै साढे दुई करोड आईसीभन्दा बढी पेमेन्ट गरिसकेका थियौं । अहिले थपिएका केही कलाकारका लागि थप पैसा पठाउनुपर्यो । अरु पहिल्यै भुक्तानी गरिएको पैसा हो ।’

    कलाकारहरुको पारिश्रमिक बाहेक उनीहरुको आउजाउ र नेपालमा बस्ने–खाने खर्च पनि आयोजकले व्यहोर्नुपर्ने छ । यस्तै स्टेज तयारी, प्रचारप्रसार र अन्य व्यवस्थापकीय कामहरुमा गरी कुल १८ करोड खर्च हुने अनुमान गरिएको गुरुङले बताए । कार्यक्रम हुने दिनभन्दा एक हप्ताअघि देखि टिमका सदस्यहरु आउन थाल्ने र सलमान भने अघिल्लो दिन आउने उनको भनाइ छ ।

    अघिल्लोपटक कार्यक्रम स्थगित हुँदा ओडीसीलाई ठूलो आर्थिक क्षति भएको थियो । त्यसबेला आफूहरुलाई करिब ४ करोड घाटा लागेको गुरुङले बताए । कार्यक्रमका लागि केही हजार टिकट पनि विक्री गरिएको थियो । तर, कार्यक्रम हुन नसकेपछि ती सबै टिकट फिर्ता गरिएको उनको भनाइ छ ।

    २ हजार सुरक्षाकर्मी माग

    सलमानको कन्सर्टका लागि आयोजकले सरकारसँग कडा सुरक्षाको माग गरेको छ । अहिलेसम्म कतैबाट प्रत्यक्ष ‘थ्रेट’ नआएको भए पनि धेरै संख्यामा दर्शकहरु उपस्थित हुन सक्ने अनुमान गर्दै आयोजकले आवश्यक सुरक्षाको प्रवन्ध गर्न सरकारलाई आग्रह गरेको हो ।

    गुरुङका अनुसार १५ सयदेखि २ हजार प्रहरी कन्सर्टस्थलमा परिचालन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको छ ।

    ‘हामीले १५ सयदेखि २ हजार मागेका छौं, अब उहाँहरु के निर्णय गर्नुहुन्छ थाहा छैन,’ गुरुङले भने ।

    सीडीओ कार्यालय स्रोतका अनुसार आयोजकले मागेको आधारमा भन्दा पनि आवश्यकताका हिसाबले सुरक्षाको बन्दोबस्त गरिनेछ । यस विषयमा प्रहरीलाई पत्राचार गरिसकिएको जिप्रका काठमाडौं स्रोतले बतायो ।

    सरकारले दिने सुरक्षासँगै आफ्नो तर्फबाट पनि ७–८ सय जनाको ‘सेक्यूरिटी’ र २–३ सय जना स्वयम्सेवक परिचालन गरिने गुरुङको भनाइ छ । प्रहरीले खटाउने जनशक्तिलाई खाजा खर्च कम्पनीले उपलब्ध गराउने उनले जानकारी दिए ।

    अघिल्लोपटक विप्लव माओवादीले कार्यक्रम रोक्न थ्रेट दिएको थियो । यसपाली अहिलेसम्म सो पार्टीका तर्फबाट कुनै प्रत्यक्ष चेतावनी आएको छैन । तर, पार्टीनिकट जनसांस्कृतिक संगठनका नेताले यो कार्यक्रम गर्न नदिइने बताएका छन् ।

    नेपाली कलाकार को–को ?

    सलमान खानको कन्सर्टमा नेपाली कलाकारहरुलाई पनि समावेश गर्ने तयारी गरिएको छ । यद्यपि, अहिलेसम्म कलाकारको टुंगो लागि नसकेको गुरुङ बताउँछन् ।

    ‘नेपाली कलाकार त राख्नैपर्छ । हामी नेपालका २–३ जना पुरुष र २–३ जना महिला कलाकारहरुलाई कन्सर्टमा सामेल गराउँछौं । नेपाली कलाकारले एक–डेढ घन्टाको प्रस्तुति दिनुहुनेछ,’ गुरुङले भने ।

    नेपाली कलाकारलाई दिइने पारिश्रमिकबारे उनले बताउन चाहेनन् ।

    बिक्ला टिकट ?

    सलमानको कन्सर्टका लागि टिकटको मूल्य निकै महंगो छ । न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको टिकट राखिएको हो । आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

    ‘३० हजार जतिले टिकट काटेर हेर्नुहुुन्छ भन्ने हाम्रो अनुमान हो, त्यसो भयो भने ३०–३५ करोड टिकटबाट उठ्छ र ८–१० करोड रुपैयाँ प्रयोजकहरुबाट उठाउछौं,’ उनले भने ।

    उनले अघिल्लोपटक ठूलो घाटा लागेको भन्दै सधै घाटा खाएर चल्न नसकिने बताए ।

     

     

  • सलमानको कन्सर्टमा नाच्न माला लिम्बु फाइनल, अरु नेपाली कलाकार खोजिँदै

    सलमानको कन्सर्टमा नाच्न माला लिम्बु फाइनल, अरु नेपाली कलाकार खोजिँदै

    काठमाडौं । भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा केही नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । डान्सर नायिका माला लिम्बुले कन्सर्टमा प्रस्तुति दिने निश्चित भएको छ ।

    आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङका अनुसार कन्सर्टमा ५–६ जना नेपाली कलाकारहरुलाई सहभागी गराइने छ । अहिलेसम्म माला लिम्बु मात्रै फाइनल भएको उनले जानकारी दिए ।

    ‘बलिउड र नेपाली चलचित्र उद्योगलाई जोड्ने हाम्रो प्रयास हो । हामी २–३ जना पुरुष र २–३ जना महिला कलाकारहरु नेपालबाट सहभागी गराउने छौं । उहाँहरुले एक–डेढ घन्टा प्रस्तुति दिनुहुने छ,’ गुरुङले भने ।

    उनले केही कलाकारहरुसँग कुरा भइरहेको तर तय भइनसकेको बताए ।

  • ए मेरो हजुर ४ को ट्रेलर लन्च : ९०० करोडको फिल्मसँग भिड्न अनमोल तयार ! (भिडिओ)

    ए मेरो हजुर ४ को ट्रेलर लन्च : ९०० करोडको फिल्मसँग भिड्न अनमोल तयार ! (भिडिओ)

    काठमाडौं । अनमोल केसीको फिल्म यसै पनि प्रतीक्षित हुन्छ । त्यसमाथि सुनिल कुमार थापाको हिट सिरिज ‘ए मेरो हजुर’ को सिक्वेल । आम दर्शकको चासो हुने नै भयो । आउँदो वैशाख १ गते प्रदर्शनमा आउन लागेको यो फिल्मले कस्तो व्यापार गर्ला त ?

    निर्माता सुनिल भने केही नर्भस देखिएका छन् । ए मेरो हजुर ४ सँगसँगै एउटा भारतीय चलचित्र पनि रिलिज हुने कुराले उनलाई भित्रभित्रै अत्त्याएको रहेछ । उनको यस्तो मनोदशा हिजो आयोजित ट्रेलर रिलिज कार्यक्रममा पनि प्रकट भयो । उनले ९ सय करोडको फिल्मसँग ३ करोडको फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने भएको गुनासो गरे । यति मात्र होइन, उनले यसलाई नेपाल र भारतबीचको फुटबल म्याचसँग तुलना समेत गरे ।

    ‘अरू त केही छैन, तर मलाई एउटै डर छ । ९०० करोडमा बनेको चलचित्र नेपालमा ३ करोडमा बनेको चलचित्रसँग भिड्दै छ । मलाई यस्तो लाग्दै छ, नेपाल र इन्डियाको फुटबल म्याच हुँदै छ १ गते,’ थापाले भने ।

    उनले थपे, ‘हाम्रै रङ्गशालामा फुटबल भयो भने हामी कसरी जान्छौँ नेपाली झण्डा बोकेर, नेपाली मन लिएर । त्यो (भारत) बलियो भए पनि एक गोल त छिराउँछु छिराउँछु भनेर जान्छौँ नि । त्यही गर्ने आँट छ मलाई । तपाईँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

    सुनिलले यसो भने लगत्तै अनमोलले माइक मागे र उनलाई हौसला दिए । आफू अभिनीत चलचित्र ‘क्याप्टेन’ को मुख्य पात्र ईशान खड्कालाई उनले सम्झिए ।

    अनमोलले सुनिललाई भने, ‘दाइ फुटबल म्याचजस्तो भयो भने पनि डराउनु पर्दैन, किनभने तपाईँसँग नेपालको टिमबाट खेल्न क्याप्टेन ईशान खड्का छ ।’

    अनमोलले ए मेरो हजुर ४ एउटा उत्कृष्ट चलचित्र बनेको भन्दै दर्शकले नाक खुम्च्याउन नपर्ने बताए ।

    सार्वजनिक गरिएको ट्रेलरमा चलचित्र प्रेम (अनमोल) र आर्या (सुहाना) को प्रेम छचल्किएको छ । चलचित्रमा आर्यालाई नेवारी समुदायकी पात्रको रूपमा चित्रण गरिएको छ । ट्रेलर अनुसार चलचित्रले अन्तरजातीय प्रेममा आइपर्ने चुनौतीहरूलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ ।

    ट्रेलरमा देखाइएको कोको नामक कुकुर र प्रेम पात्रले आर्याको बुवालाई झपारेको दृश्यहरू हेर्दा बलिउड चलचित्र ‘मैने प्यार किया’ र ‘कबिर खान’को सिनबाट प्रभावितजस्तो देखिन्छ ।

    तस्बिरहरु : उमेश कार्की

  • ब्रेकअप हल्लाबारे श्रद्धाले भनिन् ‘और सुनाओ ?’

    ब्रेकअप हल्लाबारे श्रद्धाले भनिन् ‘और सुनाओ ?’

    मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर र रोहन श्रेष्ठको सम्बन्ध चिसिएकोबारे सञ्चारमाध्यमहरुमा चर्चा भइरहेको छ । श्रद्धाले हल्ला चलिरहँदा इन्स्टाग्राममा तस्बिर सेयर गर्दै ‘और सुनाओ ???’ भनेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् ।

    श्रद्धा र रोहनले आफ्नो सम्बन्धलाई स्वीकार नगरे पनि उनीहरुको विवाहको हल्ला भने अहिले पनि चलिरहेको छ ।

    श्रद्धा र रोहन विगत ४ वर्षदेखि सम्बन्धमा थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोहन श्रद्धाको जन्मदिनको पार्टीमा पनि सहभागी भएका थिएनन् । फेब्रुअरीमा नै दुवै अलग भएको बताइएको छ ।

    गत वर्ष श्रद्धा र रोहनको विवाहको हल्ला चलेको थियो । यसबारे प्रतिक्रिया दिँदै अभिनेत्रीका बुवा शक्ति कपूरले रोहनका बुवालाई धेरै वर्षदेखि चिनेको हुँनाले रोहन पारिवारिक साथी हो भने ।

  • ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

    ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा

    काठमाडौं । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो ।

    विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको थियो ।

    महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

    यसपटक प्रतियोगितामा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

    प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार पाँच लाख, दोस्रोले तीन लाख, तेस्रोले दुई लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।

  • पल शाह पुनरावेदनमा जाने, अदालतको आदेशप्रति यस्ता छन् असहमति

    पल शाह पुनरावेदनमा जाने, अदालतको आदेशप्रति यस्ता छन् असहमति

    काठमाडौं । तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । दुई-तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले नेपाल प्रेसलाई बताए ।

    जिल्ला अदालतले हिजो पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन । अधिवक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मुद्दामा पुनरावेदन गरिनेछ ।

    ‘फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ उनले भने ।

    अदालतले प्रतिवादीलाई थुनामा राख्न चाहिने तथ्य प्रमाण मुद्दाको मिसिलमा नरहेको वाग्लेले दावी गरे । अदालतको आदेशप्रति उनको असहमतिका विषयहरू यस्ता छन्-

    ‘अदालतले पल शाहलाई थुनामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं । पहिलो कुरा, पीडित भनिएकी ‘व्यास-१२’ (प्रहरीले दिएको नाम) ले जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ । अस्पतालमा उनले स्खलन पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौनीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।

    वैशाख १४, २०७८ को बेलुका ११:५० मा घटना भएको भनिएको छ । तर, त्यसको भोलिपल्ट बिहानै ‘व्यास १२’ कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन । राति बलात्कार भएको हो भने भोलिपल्ट बिहान हारगुहार गरेर प्रहरीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उजुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उजुरी गर्नु अविश्वसनीय हो ।

    घटना भएको भनिएको घरमा एउटा परिवार बसेका छन् । बलात्कार भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हारगुहार गरिएको हुनुपर्‍थ्यो । त्यो अवस्था पनि छैन । उनले अलग-अलग कोठामा सुतेको स्वीकार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको बयान छ । यसले पति गायिका र पल सँगै नसुतेको देखिन्छ ।

    जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो । प्रहरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन । पलले अदालतमा नै आफूलाई दबाबमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उनले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् ।

    गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका ? यसको स्पष्ट जवाफ छैन ।
    अडिओका प्रसंगमा पनि बदमासी भएको छ । सार्वजनिक भएको अडिओमा धेरै कुरा सम्पादन भएको पलले बताएका छन् । पलले अगाडि र पछाडि बोलेका कुराहरु जोडजाड गरेर नराम्रो हिसाबले प्रस्तुत गरिएको छ ।

    समग्रमा पलको विरुद्ध पूरै साजिस गरिएको छ भन्ने हामीलाई लाग्छ । अदालतले यसलाई राम्ररी मनन गर्न सकेन । हामी एक-दुई दिनमै पुनरावेदनमा जानेछौं । पोखरा उच्च अदालतबाट न्याय मिल्ने आशा छ ।