Category: कलाप्रेस

  • अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा भिड्दै, चुनाव चिह्न किताब

    अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा भिड्दै, चुनाव चिह्न किताब

    काठमाडौं । अभिनेता भुवन केसी पनि आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा भिड्ने भएका छन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् ।

    उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

    पछिल्लो समय कलाकाहरु विभिन्न पार्टीमा आबद्ध भइ चुनावी तयारी गरिरहेका छन् । केही समयअघि अभिनेतृ करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् ।

  • नेपालका जति राम्रा हिरोइन र ह्यान्डसम हिरो दुनियाँमै छैनन् : केपी ओली (भिडिओ)

    नेपालका जति राम्रा हिरोइन र ह्यान्डसम हिरो दुनियाँमै छैनन् : केपी ओली (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जति राम्रा हिरोइन र ह्याण्डसम हिरो दुनियाँमै कोही नभएको दाबी गरेका छन् ।

    सोमबार एमाले निकट युवा संघले नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गर्न चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो बताएका हुन् ।

    नेपाल वेद लय छन्द र संगितको उत्पति ठाउँ भएको र नेपालका हिरोइन र हिरो जती राम्रो व्यक्ती संसारमै कही नहुने ओलीको भनाइ छ ।

    उनले भने, ‘यही ठाउँ हो वेदको रचना भएको, संगीत त्यहीबाट सुरु भएको हो , छन्द लय वेदबाट सुरु भएको हो किनभने यत्तिकै भन्दा बिर्सिन्छ भनेर लयमा भनेको हो । हाम्रो कलाकारहरुले नि त्यसै गर्नुहुन्छ नि । अहिले मलाई तिम्रो माया लाग्छ, के साच्चिकै धेरै माया लाग्छ, तिम्रो अरु हल्लामा फलानाले तिम्रो माया गर्दैन भनेको कुरा नपत्याउन तिम्रो माया लाग्छ भन्दा हुन्थ्यो होला, पुग्थ्यो होला तर त्यो कुरा चाँही बिर्सिन्छ । यसैभन्दा त्यसकारण सजिलो तालले सालको पात टपरी गाँसेर टपरी हुँदैन सल्लैको हे बरै तिम्रो माया कती हो कती ए भर नपर हल्लैको कि के नलाउ पछी हल्लैको यो किन बनायो त यो मैले बिर्स्या छैन यो मैले बिर्स्या छैन भने अरुले बिर्सिने त कुरै हुँदैन ।

    नेपाल कलाको क्षेत्रमा प्रचुर सम्भावना बोकेको ठाउँ रहेको र नेपालले संसारकै राम्रो फिल्म बनाउन सक्ने ओलीको भनाइ छ ।

    उनले भने, ‘यो ठाउँ कलाको ठाउँ हो संगीतको ठाउँ हो.. ट्रेडिसनमै हाम्रो कलात्मकता छ हाम्रा जस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन, यदी हामीले अली ध्यान दियौँ भने ढुक्क भएर भन्न सकिन्छ नेपाली जति राम्रा हिरोइन दुनियाँमै कही हुन्छन् ? नेपाली जति राम्रा हिरोइन दुनियाँमा हुन त सम्भवनै छैन नि । अनी नेपाली हिरो जस्तो ह्यान्डसम हिरो दुनियाँमा कोही भेटिएला ? अब तिनिहरुलाई अलिकती कलात्मक बनाइदिए पछि र तिनिहरुको कथावस्तु उनिहरुले अभिनय त राम्रो गर्दिन्छन् । निर्देशकले सुन्दर अभिनय मिसाइदियो भने कसले कम्पीटीसन गर्ने ? ओस्करमा परिन्छ कि परिदैँन न्यायधिश को छ ? उसले बुझ्छ कि बुझ्दैन यो त कस्तो हुन्छ भने नेपाली सुन्दरता बुझ्नलाई त नेपाली आखाँ चाहियो नि । सुन्दरता बुझ्नलाई त एक पक्ष बुझेर हुँदैन समग्र पक्ष बुझ्नु पर्छ व्हाट इज ब्युटी ?’

    ओलीले लक्ष्मी प्रसाद देवकोटाले नोबेल पुरस्कार पाउन पर्नेसमेत दाबी गरे ।

  • पल शाहलाई नवलपुर पुर्‍याइयो, थुनछेक बहस हुँदै

    पल शाहलाई नवलपुर पुर्‍याइयो, थुनछेक बहस हुँदै

    काठमाडौं । नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगिएको छ ।

    नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौडेलले शाहलाई मुद्दाको प्रकृया अगाडि बढाउन ल्याउँदै गरेको बताए । शाह हाल तनहुँ जिल्ला कारागारमा रहेका छन् ।

    तनहुँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको अभियोग छ ।

    नाबालिगले पूर्वीनवलपरासीमा पनि शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सरकारी वकिल कार्यालयले १४ वर्षसम्म कैद सजाय माग गर्दै नवलपुर अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

    ‘यहाँ दर्ता भएको मुद्दाको पनि प्रकृया पूरा गर्नका लागि शाहलाई ल्याउन लागिएको हो’, श्रेस्तेदार पाण्डेले नेपाल प्रेससँग भने ।

  • एनवाइएफ शर्ट मुभी कम्पिटिशन: ‘प्रश्न’ लघु चलचित्र उत्कृष्ट (भिडिओ)

    एनवाइएफ शर्ट मुभी कम्पिटिशन: ‘प्रश्न’ लघु चलचित्र उत्कृष्ट (भिडिओ)

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।

    प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमशस् एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

    विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश२ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए ।

    कुल ७५ प्रतियोगी चलचित्र को सहभागीता रहेको उक्त शर्ट मुभी कम्पिटिशन ‘म केही गर्छु’ भन्ने मुलभावसहित युवाहरुमा सकरात्मक सोच बिकास गराउन र उनीहरुको सोच र सिर्जनशिलताको पहिचान,प्रस्फुटन र प्रवर्धन गर्नु यस्को मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

    संयोजक पौडेलका अनुसार कोभिड(१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिदै यस् प्रतियोगोताको अवधारणा तयार भएको बताए ।

    प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतीका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरुबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो ।

    चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्ये सोमबारको समारोहमार्फत् तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो ।

    साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्शकको टिकटक भिडियो प्रतियोगितसमेत घोषणा गरेको छ ।

  • कसरी खोज्ने फिल्म बनाउन विदेशी फण्ड ?

    कसरी खोज्ने फिल्म बनाउन विदेशी फण्ड ?

    मेरो पहिलो फन्डको किस्सा रोचक छ । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको थिएँ म । २४ जना छनोट गरेकोमा म पनि परेको थिएँ ।

    आमा भर्खरै बित्नुभएको थियो । दुःख र पीडामा भएकाले कोरिया जाने मुडमा म थिइनँ । तर, उनीहरूले छनोट भएकाहरूको नामसँगै वेस्ट फेलो अवार्ड भनेर पाँच हजार डलर पुरस्कार पनि राखेका रहेछन् । मलाई त्यो पुरस्कारले तान्यो । पाँच हजार जितेर आयो भने त सर्ट फिल्म बनाउन सक्छु अथवा नयाँ फिचर फिल्मका लागि स्क्रिप्ट लेख्छु भन्ने भयो ।

    नजिकका साथीभाइले पनि जानुपर्छ भने । मलाई पनि लाग्यो, म जानुपर्छ । त्यो पुरस्कार जसरी पनि जितेर ल्याउनुपर्छ ।

    तर, त्यहाँ कोर्स चाहिँ अंग्रेजी भाषामा हुने । त्यस वेला मेरो अंग्रेजी टुटे फुटेको मात्रै थियो । वर्कसप पो अंग्रेजीमा हुन्छ, तर पुरस्कार जित्न त सर्ट फिल्म बनाउनुपर्छ । त्यसले मलाई हिम्मत दियो । अवार्ड जित्दिनँ होला लागेको थियो । तर, त्यहाँ गएर फिल्म बनाउने कुराले म रोमाञ्चित भएँ ।

    त्यहाँ गएँ । अन्ततः अवार्ड पनि मैले जितेँ ।

    कोरिया गएकाले अर्को फाइदा पनि भयो । फन्डिङ एजेन्सीका मान्छेहरूसँग भेट भयो । सन् २०१३ मा ‘बाँसुली’ फिल्म भेनिस फिल्म फेस्टिभलमा पुग्दा उनीहरूसँग भेट भएको थियो । त्यसपछि दोस्रो भेट कोरियामा भयो ।

    म बाटोमा सुट गरिरहेको थिएँ कोरियामा । एजेन्सीको मान्छेहरू आएर मलाई पछाडिबाट समाते । र भने, ‘तिमी अझैँ यहाँ काम गरिरहेका छौँ ? तिमी त फिचर फिल्म बनाउनुपर्ने मान्छे ।’

    त्यसपछि नेपाल फिरेँ । नेपाल फिर्नसाथ ‘कालो पोथी’ फिल्मका लागि प्रोडक्सन फन्डमा अप्लाइ गरेँ । अफिसियल्ली मैले पहिलो स्विस फन्ड पाएँ ।

    यस्तो फन्ड पाउनमा नेटवर्किङ महत्त्वपूर्ण हुन्छ जस्तो पनि लाग्छ होला धेरैलाई । तर, फन्ड पाउन त्यति सजिलो छैन । मलाई पनि फन्ड पाउँदा लागेको थियो, ‘फन्ड त सजिलै पाइँदो रहेछ ।’

    मैले फन्ड पाउनुमा त्यस वेला मेरो सर्ट फिल्म ‘बाँसुली’ भेनिस फिल्म फेस्टिभलमा गएको थियो । त्यो फिल्म मेरा लागि आइडेन्टिटी कार्ड जस्तो बन्यो । अनि दोस्रो पाटो चाहिँ एसियाबाट धेरै प्रतिस्पर्धा हुँदैन थियो ।

    तर पछिल्लो समय एसियामा दक्षिण कोरिया, जापान, चीन, ताइवान बाहेक अन्य देशले फिल्ममा ठूलो फड्को मार्दैन । त्यस्ता फन्डमा दर्ता भएका आवेदनमा ४० प्रतिशतसम्म त भारतको मात्रै आवेदन हुन्छ ।

    फन्ड पाउनका लागि मुख्य कुरा चाहिँ आफ्नो काम चाहियो ।

    फन्ड पाउनका लागि हामीसँग आइडिया छ, स्क्रिप्ट छ र प्रोजेक्ट पनि छ । टिम पनि छ । तर, त्यसपछि फन्डका लागि तय गर्नुपर्ने बाटो र प्रक्रिया हामी बिर्सन्छौँ । हाम्रो दिमागमा गोल के हो थाहा हुन्छ । फन्ड छ, बजार छ भन्ने पनि थाहा छ । तर, त्यो बिचमा जुन ग्यापिङ छ, त्यसका कारण हामी अल्झन्छौँ ।

    सबैलाई सगरमाथा चढ्न मन लाग्छ । तर, शेर्पाहरू बढी जसो चुचुरामा पुगिरहेका हुन्छन् । अन्य मानिसका लागि सगरमाथा चढ्न गाह्रो भएको बाटो र प्रक्रियाको कारणले हो । शेर्पाहरूले चाहिँ बाटो पनि तय गर्छन् र चुचुरोमा पुग्छन् ।

    हामी मेकरलाई त्यो बाटोको जानकारीको अभाव हुन्छ । अर्कातिर त्यो बाटो हिँड्नलाई चाहिने समयको अभाव हुन्छ । फन्ड आइन्जेलसम्म कसरी सर्भाइभ हुने हामी ? हामी यो तेस्रो अवस्थामा आएर अड्कन्छौँ । फन्ड पाए पनि त्यो पाउन दुई वर्ष अथवा कम्तीमा एक वर्ष लाग्छ । त्यस वेलासम्म फिल्ममेकर, स्क्रिप्ट राइटर, प्राविधिकहरू कसरी सर्भाइभ हुने ? त्यसैले पनि हामी बिच बाटोबाटै फर्कनुपर्ने हुन्छ ।

    यस कारणले पनि फन्डिङको कुरा धेरै गाह्रो भएको हो हामीलाई ।

    तर, फिल्मका लागि फन्डिङमा जाने कि नजाने ? मेकरको व्यक्तिगत छनोट हो । मेरो सवालमा कुरा गर्दा म जुन स्कुलिङबाट आएँ, जुन ठाउँबाट आएँ, त्यो ठाउँबाट हेर्दा फन्डिङ नपाएको भए कसैले मेरो फिल्ममा पैसा हाल्दैन थियो ।

    मैले फिल्म बनाउन सुरु गर्दा नजिकका साथीभाइको आर्थिक अवस्था बलियो थिएन । मेरो पनि बलियो थिएन । साथीभाइको गाँस खोसेर फिल्म बनाउने अवस्था पनि थिएन ।

    फेरि बजेटको कुरा फिल्मको विषय र लोकेसनले निर्धारण गर्छ । मेरो अघिल्लो फिल्म मुगुमा सुटिङ थियो । अहिले पनि हिमालमै छ । त्यसका लागि ठूलो पैसा लाग्छ । जसका लागि साथीभाइलाई भन्न सकिने अवस्था थिएन । मेरो अनुभवले के भन्छ भने फन्डिङ भएन भने पनि फिल्म बनाउन सक्ने मेकरलाई म एप्रिसियट गर्छु ।

    यता फन्डिङमा जानुका पनि फाइदा छन् । त्यसले प्रोजेक्टको भ्यालु बढाउने काम गर्छ । फन्डिङ पैसासँग मात्रै जोडिएको हुँदैन । त्यो प्रोजेक्ट, बजारले अन्तर्राष्ट्रिय रूपमा जुन बज सृजना सृजना गर्छ, त्यसले मेकरलाई ठूलो सहयोग गर्छ ।

    फन्डिङमा जाँदा प्रोजेक्टको भ्यालु बढाइदिँदैन मात्रै, फिल्म फेस्टिभलमा वितरकहरूले पनि वाच गरिरहेका हुन्छन् । त्यसले सजिलो हुन्छ भन्ने लाग्छ मलाई ।

    एकातिर फन्ड त छँदै छ, अर्कातिर नेपाली फिल्मको कुरा गर्दा हामीले दुईवटा शब्दसँग मात्रै आशक्ति राख्यौँ । त्यो हो नभनिएको कथा र रुचिपूर्ण कथा । तर, अहिले मलाई लाग्छ, म आफू के चाहन्छु ? यो पनि महत्त्वपूर्ण हुने रहेछ । म आफू चाहिँ कस्तो प्रकारको फिल्म हेर्न रुचाउँछु, त्यसले पनि अर्थ राख्दो रहेछ । नेपाली फिल्मको पहिचान सामूहिकताले दिने हो । तर, त्यसअघि व्यक्तिगत कुराहरू मुख्य हुन् । कुनै फिल्मको स्टोरी टेलिङ, मेकिङ, एडिटिङ सबै मन पर्छ भन्नुको मतलब कतै न कतै हाम्रो व्यक्तिगत कनेक्सन छ भन्ने नै हो ।

    अहिले म कुन ठाउँमा आइपुगेँ भने मलाई जे चिजले आकर्षित गर्छ, त्यो मेरो छनोट पनि हुँदो रहेछ । ‘कालो पोथी’, ‘बाँसुली’मा मेरो गाउँको कथा भन्ने लाग्यो । अहिले गाउँको कथाभन्दा थोरै पर सरेँ । मेरो गाउँको कथा भनेँ, त्यो ठिक छ । तर, सँगसँगै फिल्म मेकिङ भनेको विषयवस्तुगत, सैद्धान्तिक रूपमा कसरी लाने भन्ने पनि हो ।

    सुरुवाती चरणमा मैले जस्तो काम गरेँ, त्यसमा पछुतो छैन । त्यस वेला जे आउँथ्यो, जे कुराले आकर्षित गर्थ्यो, जुन मेरो जनजीवनमा थियो, त्यही विषयमा बनाएँ । अहिले आएर चाहिँ मलाई के लाग्छ भने त्यति मात्रै फिल्म होइन रहेछ । यो ठाउँमा आएर आफ्नो भित्री रुचि पत्ता लगाउनु पनि ठूलो कुरा रहेछ । त्यसपछि हामी सबैको व्यक्तिगत–व्यक्तिगत आवाजको सामूहिक आवाज के हुन्छ, त्यसले आफैँ बाटो तय गर्छ फिल्म क्षेत्रले ।

    कोरिया, जापानका फिल्म उद्योगमा ‘यस्तो फिल्म बनाऔँ’ भनेर पचास वर्षसम्म बहस चलेन होला । छोटो समयमै चीनमा फिफ्थ जेनेरेसन, दक्षिण कोरिया, ताइवान, हङकङले आफ्नो भाष्य निर्माण गरे । उनीहरूले पनि बहस गर्छन्, तर हाम्रो जस्तो पचास वर्ष लगाएर बहस नगरी रहँदा रहेछन् । एउटा विन्दुमा पुगेर ‘हाम्रो सिद्धान्त यस्तो हुनुपर्छ’ भने मात्रै पुग्ने रहेछ ।

    पचास वर्षसम्म हामीले नेपाली फिल्म यस्तो हुनुपर्छ भनेर वकालत मात्रै गर्‍यौं । सय जनाको झुण्डमा बोलिरह्यौँ, तर कस्तो फिल्म बनाउने भनेर लागेनों ।

    अहिले भारतमा दुवै प्रकारको अभ्यास चलिरहेको छ । एकातिर हलिउडलाई चुनौती दिने फिल्महरू आइरहेका छन् । अर्कातिर आर्ट हाउसको कुरा पनि नजानिँदो पाराले आइरहेको छ । तर, हाम्रोमा चाहिँ भाष्य निर्माणलाई लिएर गाह्रो चिजहरूको बहस भइरहेको छ । त्यस्तो बहस गर्न हाम्रो समाजको संरचना र विविधताले दिँदैन । धेरै थरीको मान्छेले बनेको समाजमा गाह्रो हुने रहेछ । जति धनी वा गरिब भए पछि फ्रेन्चहरूको घरमा खानेकुरामा सलाद हुन्छ । हामी नेपालीको त त्यो पनि छैन । हामी यति विविध छौँ ।

    अनि हामी भनिरहेका छौँ, नेपाली फिल्मको भाष्य निर्माणमा एक ठाउँमा जुटौँ । मलाई लाग्छ, हामी ठूलो मूर्खताको बहस गरिरहेका छौँ आजकल । अथेन्टिसिटी भनेको व्यक्तिगत विचारमा अडिने कुरा हो । अनि त्यसलाई आकार दिन लाग्नुपर्छ । दक्षिण कोरियामा सबै व्यक्ति आ–आफ्नै तरीकाले खटेर आ–आफ्नो रुचिको फिल्म बनाए । अनि हामी हेर्नेहरूले कोरियन फिल्म यस्तो हो भनेर महसुस गर्छौँ ।

    अर्कातिर फेस्टिभलमा जाने नेपाली फिल्ममा सहरको कथा कमै छन् । जहिल्यै गाउँको गरी बको कथा आउँछ । सहरको कथा पनि आइदिए राम्रो हुन्थ्यो । सहरको कथा न साहित्यमा, न फिल्ममा, कतै पनि पाएनौँ खासमा हामीले ।

    (डिस्क्लेमर : मीन भामलाई पनि गाउँको, जनयुद्धको कथा बेच्यो भन्ने आरोप लाग्छ ।)

    त्यतिखेर मैले ‘कालो पोथी’ बनाउँदा विदेशमा बिक्छ भनेर बनाएको होइन । बनिसकेको फिल्मका लागि मैले झुटो बोल्नुपर्ने कुरै छैन । त्यो वेलाको मेरो बुझाइको सीमितताले त्यो फिल्म बनाउन बाध्य बनायो ।

    सहरको मान्छेको कथा त म भर्खर सहरको भाषा सिक्दै गरेकाले कसरी सक्नु ! अहिले म जुन भाषा बोलिरहेको छु, त्यो राम्रोसँग बोल्न नसक्ने अवस्थामा काठमाडौं आएको मान्छेले सहरको कथा भन्न गाह्रो थियो ।

    उसो त मैले जे चिज भन्दै थिएँ, त्यो चिज नै विदेशमा बिक्छ भन्नका लागि हामीसँग नजिर नै के थियो र ! नवीन सुब्बा दाइ र छिरिङरितार शेर्पा दाइ बाहेक अरू को थिए र फेस्टिभलतिर गएका ! हामीले गाउँको, जनयुद्धको मात्रै होइन, साइफाइ फिल्म बनायो भने पनि बर्लिनमा फिल्म फेस्टिभलमा गएर अवार्ड जित्न सक्छ नि ! त्यसका लागि कथा वाचन, कथा मुख्य कुरा न हो ।

    मैले चाहिँ गाउँको कथा भन्दै गर्दा दोषको भारी हो जस्तो लाग्दैन । म गाउँमै हुर्किएँ । गाउँमै बसेँ । बल्लतल्ल अहिले सहरको परिवेश बुझ्दै छु ।

    (नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गेट वे टु वर्ल्ड सिनेमा’ शीर्षकमा निर्देशक मीन बहादुर भामले राखेको विचारको सम्पादित अंश ।)

  • राजु लामा र दिया पुन सगरमाथा आरोहण गर्दै, क्याम्प २ मा कन्सर्ट

    राजु लामा र दिया पुन सगरमाथा आरोहण गर्दै, क्याम्प २ मा कन्सर्ट

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन् ।

    मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गाएक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए।

    यसैगरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झन्डा हस्तान्तरणसमेत गरेका थिए । गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए। उनले भने, ‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्ध्न गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।’

    उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिइन् ।

  • ओटीटीलक्षित गर्दै जोन भन्छन्- २ सय ९९ मा बिक्दिनँ

    ओटीटीलक्षित गर्दै जोन भन्छन्- २ सय ९९ मा बिक्दिनँ

    मुम्बई । बलिउड अभिनेता जोन अब्राहम यतिबेला आफ्नो एक्सन फिल्म ‘अट्याक’का कारण चर्चामा आएका छन् । शुक्रबार (अप्रिल १)बाट हलमा रिलिज भएको ‘अट्याक’ले बक्स अफिसमा ‘आरआरआर’सँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

    जोन अब्राहमले हालै एक अन्तरवार्तामा ओटीटी प्लेटफर्ममा पाइला चाल्न निकै गाह्रो भएको बताएका छन् । उनले म २९९ रुपैयाँको लागि नभएको बताए । तर पनि यसमा केही गलत नभएको उनको दाबी छ ।

    जोनले आफू ठूलो पर्दाको नायक भएको र ठूलो पर्दामा मात्रै देख्न चाहेको बताए । यसका लागि हथौडा हान्दा पनि आफूलाई कुनै समस्या नभएको उनले बताए ।

    ‘अट्याक’को दोस्रो स्विक्वेलबारे जोनले भने, ‘पहिलो सिक्वेलको सफलता वा असफलताका आधारमा धेरैले पार्ट–२ तयार पार्छन् । तर, यो सोल्जरको कतै जानुपर्छ, केही त हुनैपर्छ भन्ने जोनलाई लाग्थ्यो । उनका अनुसार जब तपाइले यो फिल्म हेर्नुहुन्छ, हेरेपछि जसरी अन्त्य हुन्छ तपाईंले महसुस गर्नुहुनेछ कि यसले दोस्रो पार्टलाई संकेत गर्दछ ।’

    ‘अट्याक’ फिल्मले आफू वरपर के भइरहेको छ भन्ने कुरा दर्शकलाई सचेत गराएको जोनले बताए । उनले भनेका छन्, ‘अट्याक’ हाम्रो मेक इन इन्डिया हिरो हो र यो हाम्रो सुपर सोल्जर हो।

    लक्ष राज आनन्दले निर्देशन गरेको यो एक्सन ड्रामा फिल्ममा जोन सुपर सैनिकको भूमिकामा देखिएका छन् । यो फिल्ममा जोन सहित रकुल प्रीत सिंह र ज्याकलिन फर्नान्डिज पनि मुख्य भूमिका रहेको छ ।

  • सुशान्तको मृत्‍यु भएको दुई वर्षपछि काममा फर्किइन् रिया

    सुशान्तको मृत्‍यु भएको दुई वर्षपछि काममा फर्किइन् रिया

    काठमाडौं । सन् २०२०मा बलिउड अभिनेता सुशान्त सिहं राजपुतले आत्महत्या गरे । उनले आत्महत्या गरे पश्चातको समय उनकी प्रेमिका रिया चक्रोवर्तीको लागि अत्यन्तै कष्टकर बन्न पुग्यो ।

    आफ्नो प्रेमी गुमाउनुको पिडासँगसँगै लागुऔषध दुरव्यसनीको आरोपमा उनले लामाे समयसम्म मिडिया ट्रायल फेस गर्नुपर्‍यो ।

    सुशान्त सिहंको मृत्‍युको कारणनै रिया हुन् भनेर उनी माथि अनेक आरोप प्रत्यारोपसमेत भयो जसका करण लामो समयदेखि मिडिया र आफ्नै कामबाट टाढा रहेकी अभिनेत्री रिया चक्रोवर्ती काममा फर्किएकी छिन् ।

    हालै मात्र उनलाई पुणेमा भएको एक फेसन शोको र्याम्पमा देखिएको थियो भने उक्त सो पश्चात उनले विस्तारै आफू काममा फर्किने प्रयास गरिरहेको बताएकी थिइन् ।

    उनी कुन चलचित्रमार्फत बलिउड सिनेमामा फर्किने भन्ने नखुलाए पनि छिट्टैनै केही राम्रो हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

  • अनिता र प्रविणको आवाजमा ‘लैजाउ लैजाउ’ सार्वजनिक, भिडिओमा आर्यनदेखि रुबिनासम्म

    अनिता र प्रविणको आवाजमा ‘लैजाउ लैजाउ’ सार्वजनिक, भिडिओमा आर्यनदेखि रुबिनासम्म

    काठमाडौं । अनिता चलाउने र प्रवीण वेडवालद्वारा स्वरवद्ध ‘लैजाउ लैजाउ’ बोलको गीत आज सार्वजनिक गरिएको छ । गीतमा थुप्रै चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

    अर्जुन पोखरेलको शब्द र संगति रहेको गीतको टिजर एक महिना अगाडि रिलिज गरिएको थियो ।

    अनामनगरको नेभरमाइन्ड रेस्ट्रोमा आज एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

    अनिता चलाउनेको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आर्यन सिग्देल र केकी अधिकारी तथा आकाश श्रेष्ठ र रुबिना थापालाई जोडीका रुपमा हेर्न पाइन्छ ।

    गीत मेलोडियस छ भने भिडियो पनि दमदार छ । रामजी लामिछानेले भिडियो निर्देशन गरेका हुन् ।

  • ‘प्वाल परेको घैँटोजस्ता हौं हामी कलाकार, कहिल्यै भरिन्नौं’

    ‘प्वाल परेको घैँटोजस्ता हौं हामी कलाकार, कहिल्यै भरिन्नौं’

    एउटा कलाकारलाई दर्शकले कहिले स्वीकार गर्ला ? त्यसका लागि कतिवटा फिल्म खेल्नुपर्ला ? कस्ता पात्रहरूको भूमिका निभाउनुपर्ला ? यो प्रश्नको उत्तर मसँग ठ्याक्कै छैन । कुन अवस्थामा स्वीकार गर्नुहुन्छ भनेर म अनभिज्ञ छु ।

    मलाई लाग्छ, जब नजिकका साथीहरू र परिवारले स्वीकार गर्न थाल्छन्, तब दर्शकले अब स्वीकार्न थाल्नुभयो भन्ने हुँदोरहेछ । मिल्ने साथीहरू र परिवारले नजिकबाट चिनेका हुन्छन् । उहाँहरूले ‘मेरो साथी, मेरी छोरी कलाकार हो है’ भनिदिँदा चाहिँ ‘ओेके’ भन्ने हुँदोरहेछ ।

    किनभने उहाँहरूलाई थाहा हुन्छ, हामी कहाँ रोइरहेका छौं वा अभिनय गरिरहेका छौं । मेरो फिल्म हेर्न बेस्ट फ्रेण्डहरू हलमा आउँथे । अनि म रोइरहेको सिनमा हाँसिदिन्थे । किनभने उनीहरूलाई मबारे राम्रोसँग थाहा छ ।

    तर, जब फिल्ममा आफू रोइरहेको बेला उनीहरू पनि रोइदिन्छन्, आफू हाँसिरहेको बेला उनीहरू पनि हाँसिदिन्छन् । त्यसबेला चाहिँ लाग्छ, ‘म कलाकार भएँ ।’

    मेरो परिवारमा मेरी ममी पहिलो दर्शक हो मेरो फिल्मको । उहाँ त छोरी जे गर्‍यो, इमोसनल भइदिइहाल्ने । बुबाले चाहिँ ‘धनपति’ र ‘आमा’ फिल्मपछि गर्व महसुस गर्नुभएको थियो । बुबाहरूको स्वभाव के हुन्छ भने उहाँहरू चाँडो प्रतिक्रिया दिनुहुन्न । हामी चाहिँ बुबाले प्रतिक्रिया देओस् भनेर बस्दा रहेछौं । अनि कहिले भनिदिनुहुन्छ भन्ने पखाइ नै हाम्रा लागि ऊर्जा रहेछ । तर, ‘धनपति’ र ‘आमा’ पछि मलाई बुबाको सल्लाहर आउन थाल्यो । मलाई कलाकारको रूपमा स्वीकार गर्नुभयो ।

    ०००

    मलाई लाग्छ, जति छोटो भूमिका, उति नै बढी इम्प्याक्ट हान्न सकिन्छ लाग्छ । छोटो भूमिका राम्रोसँग लेखिएको हुन्छ । त्यसमा डिटेलमा काम गर्ने फुर्सद हुन्छ । अझै धेरै डिटेल्स थप्न सकिन्छ । छोटो समयमा जादु देखाउन सकिन्छ ।

    पूरै फिल्ममा लामो भूमिका छ भने फिल्म राम्रो भए पनि नभए पनि दर्शकलाई असर गर्छ । कि त पात्र नै बाँचेर प्रस्तुत हुनुपर्‍यो । नत्र खाए खा, नखाए घिच भनेजस्तै भइदिन्छ । दर्शकले चाहे अभिनय सोचोस् या नसोचोस्, कलाकारको अनुहार याद गरिरहेको हुन्छ । तर, छोटो भूमिका भनेको जादु जस्तो हो ।

    मलाई त लाग्छ, अलिकति काम गर्दै जानुभएका कलाकारले छोटा सिनहरू पनि गर्नुपर्छ । मलाई चाहिँ १०-१५ मिनेट लामो भूमिका भयो भने दर्शकमा अझैं धेरै असर छाड्न सक्छु जस्तै लाग्छ ।

    हामीले मानिआएका क्राफ्टमा काम गर्ने निर्देशकहरूले राम्रा फिल्म बनाउनुहुन्छ । उहाँहरूले चाहिँ लिड रोलमा अफर गरिदिनुभए हुन्थ्यो लाग्छ । कथित व्यवसायिक सिनेमामा चाहिँ छोटो रोल भए पनि पुग्छ ।

    ०००

    यो क्षेत्रमा सफलता भनेको के हो ? सफलताको मात चढ्दै गयो भने तपाईं मात्तिनुहुन्छ । जीवनमा यस्तो पल पनि आउनुपर्छ, जहाँ आफूले सोचेजस्तो नतिजा आएको नहोस् । त्यो असफलतालाई आफूले महसुस गर्न पाइयोस् । त्यस्तो हुँदा म आफैंले आफूलाई नियाल्न पाउँछु ।

    ‘ल सुरक्षा तँलाई किन रिस उठिरहेको छ ? तैंले के अपेक्षा गरेको थिइस् र ?’ यसरी प्रश्न गर्दै आफैंले आफैंलाई हेर्ने मौका पाइन्छ असफल हुँदा । तर, सफलतामा चाहिँ त्यस्तो हुँदैन । अर्को स्टेप चालिहालिन्छ । तर सोचेजस्तो नभइदिँदा चाहिँ आफूले आफैंभित्र के भइरहेको छ भनेर नियाल्न पाइन्छ ।

    कलाकारका लागि त यस्ता असफलताहरू झनै राम्रो हो । आफ्नो इमोसनलाई आफैं नजिकबाट हेर्न पाउँदा झनै मजा आउँछ ।

    अर्कातिर, कुनै चिज आफूले सोचेभन्दा राम्रो भइदियो । त्यसपछि त झनै धेरै उत्तरदायित्व आउँछन् असफलताको तुलनामा । सफलता दबाब पनि हो । अब के गर्ने ?

    सफलतामा उत्साहहरू यति धेरै भइदिन्छ कि निराशाहरूमा पनि लगिदिन्छ । आफैंले आफैंलाई फेरि प्रमाणित गर्नुपर्ने हुन्छ सफलतामा । तर, हामी कलाकार कहिलेकाहीँ असफल हुँदा लुक्न पाउँछौं । हराउन पाउँछौं । कलाकारहरू हराउन, लुक्न पाइरहेका हुँदैनन् ।

    एउटा कलाकार लाइफलाइटमा आइसकेपछि उसका कामहरू सफल भयो भने सबैले हेरिरहेका हुन्छन् । के गर्छ, कसरी बोल्छ भनेर नियालिरहेका हुन्छन् । त्यस्तो वातावरण कलाकारका लागि कहिलेकाहीँ घातक भइदिन्छ । त्यस्तो परिवेशले गर्दा हामीले क्राफ्टमा काम गर्न पाइरहेका हुँदैनौं । लुक्न पाइरहेका हुँदैनौं । एउटा गुफामा छिर्नुपर्छ कलाकारहरू बेलाबेलामा ।

    मलाई लाग्छ, असफलता भनेको गुफा हो । त्यहाँ उसले आरामले आफ्नो काम गर्न सक्छ ।

    ०००

    केही जान्ने जिज्ञासा, आफूलाई फैलाउने इच्छाले निरन्तर काम गरिरहेकी छु मैले कलाकारको रूपमा । हुन त इन्जिनियर पनि हुँ । तर, कलाकारको रूपमा चाहिँ हामी प्वाल परेको घैँटोजस्तै हौं । जति भरे पनि पानी चुहिरहेको हुन्छ ।

    त्यो चुहिरहेको घैँटो भर्ने कौतुहलता पनि भइरहेको हुन्छ । त्यो प्वाल टाल्ने मन पनि हुँदैन । र त्यो घैँटो भरिरहनका लागि कहाँबाट सिक्ने, कहाँबाट फरक दृष्टिकोण निर्माण गर्ने, आफ्नै बुझाइलाई कहाँबाट चुनौती दिने भनेर सोचिरहेका हुन्छौं । त्यो जिज्ञासाले लागिपरिरहेका हुन्छौं ।

    धेरै मानिसहरू अनेक पेशामा आबद्ध छन् । ती पेशामा भएमा मान्छेहरू पहिल्यै कोड अफ कन्डक्टमा हुन्छन् । उनीहरू पहिल्यै अनुशासनमा हुन्छन् । उनीहरू कहिलेकाहीँ अनुशासनबाट बाहिर निस्कन खोज्छन् । उनीहरू अनुशासनमा अराजकता खोजिरहेका हुन्छन् । हामी कलाकार चाहिँ अराजकतामा अनुशासन खोजिरहेका हुन्छौं ।

    ०००

    सामाजिक संजालमा अहिले जुन अल्गोरिदम बनेको छ, त्यसलाई हाम्रो दिमागले भ्याउँछ जस्तो लाग्दैन । तर, त्यहाँ निजी कुरा राख्ने नि नराख्ने, व्यक्तिको नित्तान्त निजी निर्णय रह्यो । कसैलाई निजी कुरा राख्न मन लाग्छ भने राख्दा हुन्छ ।

    मलाई चाहिँ निजी कुरा राख्न त्यति मन लाग्दैन । मलाई लाग्छ, कलाकारका केही चिज यस्तो होस्, जसले दर्शकलाई कौतुहल बनाइरहोस् । दर्शकले मेरो बारेमा सबै थाहा नपाउनुको सौन्दर्य जुन छ, म त्यसलाई काम राख्न चाहन्छु ।

    मिडियाले व्यक्तिगत कुरा सोध्छन् । तर, दर्शकले त्यसरी सोधेको याद छैन मलाई । मिडियाले सोध्नु भनेको ठोसेको हो, तपाईंलाई चाख लाग्न सक्छ है भनेर ।

    हामी सबैको फ्यान्टासीहरू हुन्छन्, जुन झ्याप्प एक्सप्रेस गर्दैनौं । तर, त्यसैलाई कोट्याइदियो भने त्यो अराजक हुन्छ । मिडियाले त्यो कोट्याउने काम मात्रै गर्छ । कसैलाई पनि कुनै कुराप्रति व्यक्तिगत रुचि बढ्ने भन्ने हँदैन, तर परिवेश सृजना भएपछि जसलाई पनि रुचि लाख्छ ।

    तर, निजी कुरा कति बाहिर ल्याउने वा नल्याउने ? म निजी कुरा भन्न त्यति रुचाउँदिनँ । दर्शकलाई त्यसमा रुचि छ जस्तो पनि लाग्दैन । यदि रुचि नै छ भने पनि कामले ढाकिदिनुपर्‍यो त्यसलाई । काम नै हेर्न पाए हुन्थ्यो भन्ने तलतल सृजना गर्न सकियो भने त्यो प्राप्ति हो ।

    ०००

    मेरो स्वभाव कस्तो छ भने निर्देशकले स्क्रिप्ट दिँदा ‘तपाईंको मात्रै पार्ट दिन्छु है’ भन्दा चित्त बुझ्दैन । ‘पूरै स्क्रिप्ट दिनुस्’ भन्छु ।

    त्यस्तो स्वभावलाई कतिपय निर्देशकले रुचाउनुहुन्न रहेछ । तर, मलाई चाहिँ फिल्मको आइडिया के हो, त्यसले के नतिजा दिन्छ, मैले कस्तो महसुस गर्छु दर्शकको रूपमा, त्यसले अर्थ राख्छ ।

    नेपालमा कुनै पनि आइडिया हिट भएपछि त्यसैको अरु भर्सन आउने चलन छ । कुनै पनि चिजको ब्रेक नै हुँदैन । अहिले महिलाकेन्द्रित फिल्म आइरहेका छन् । त्यो पनि निरन्तर जानुपर्छ जस्तो मलाई लाग्दैन । हाम्रोमा कुनै पनि चिजलाई ब्रेक गर्न सक्ने, ट्रान्सफर्म गर्न सक्ने क्षमता नै छैन ।

    लैंगिक हिसाबमा पनि कहिलेकाहीँ महिलाकेन्द्रित होस् यो, यही नै गर्छु भनेर भन्दिनँ । मानौं, मलाई दुईवटा अफर आयो । एउटामा पुरुष मुख्य पात्र छ, अर्कोमा महिला मुख्य पात्र छ । तर, कुन फिल्म छनोट गर्ने, त्यो फिल्मको आइडियाले अर्थ राख्छ । त्यहाँ लैंगिक कुरै आउँदैन ।

    (नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘योङ ट्यालेन्ट इन फिल्म’ शीर्षकमा अभिनेत्री सुरक्षा पन्त, निर्देशक केदार श्रेष्ठ र अभिनेता दिव्य देवले आफ्ना विचार राखेका थिए । सन्ध्या थापाले सहजीकरण गरेको उक्त छलफलमा अभिनेत्री पन्तले राखेका विचारहरूको सम्पादित अंश ।)

  • पूर्ख्यौली घरमै बिहे गर्ने रणवीरको चाहना

    पूर्ख्यौली घरमै बिहे गर्ने रणवीरको चाहना

    मुम्बई । बलिउड सुपरस्टार जोडी रणवीर कपुर र आलिया भट्टको विवाहको चर्चा लामो समयदेखि चलिरहेको छ । भारतीय मिडियाका अनुसार दुवै जना यही अप्रिलमा विवाह बन्धनमा बाँधिने भएका छन् । दुवैले आफ्नो व्यक्तिगत जीवनलाई लाइमलाइटबाट टाढा राखिरहेका छन् ।

    रिपोर्टका अनुसार आलिया र रणवीरको विवाह मुम्बईमा हुने भएको छ । रणवीर आफैंले आफ्नो पुर्ख्यौली घर आरके हाउसको विवाह स्थल फाइनल गरेका छन् । उनका आमाबाबु ऋषि कपूर र नीतु कपूरको विवाह २० जनवरी १९८० मा आरके हाउसमा भएको थियो। त्यसैले रणवीर पनि आफ्नी प्रेमिका आलियासँग चेम्बुरको घरमा विवाह गर्न चाहन्छन् ।

    यस विवाहमा ४५० पाहुनाको सहभागिता रहनेछ जसका लागि ‘शादी स्क्वाड वेडिङ प्लानर’ नियुक्त गरिएको छ । तर, विवाहको मिति भने खुलाइएको छैन ।

    विवाहमा सहभागी हुने व्यक्तिहरुलाई भने अप्रिलको दोस्रो सातादेखि फ्रि हुन भनिएको छ । उनीहरुको विवाह साथिभाई र परिवारबीच हुनेछ ।

  • रामचरणदेखि आलिया भट्टसम्म आरआरआरका लागि कसले कति लिए पारिश्रमिक ?

    रामचरणदेखि आलिया भट्टसम्म आरआरआरका लागि कसले कति लिए पारिश्रमिक ?

    काठमाडौं । बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित चलचित्र आरआरआर हाल सर्वाधिक कमाइको रेकर्ड राख्न सफल चलचित्रको रूपमा स्थापित भएको छ ।

    ४ सय करोडको कुल लगानीमा निर्माण गरिएको बताइएको यस चलचित्रका कलाकारहरूका लागि पनि राम्रै लगानी गरिएको देखिन्छ । चलचित्रमा अभिनीत कलाकारहरूको पारिश्रमिक यस प्रकार रहेको छ ।

    राम चरण :

    रिपोर्टका अनुसार क्रान्तिकारी सितारामा राजुको पात्रको रूपमा प्रस्तुत भएका भारतीय सिनेमाका सुपरस्टार राम चरणले यस फिल्मको पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएका थिए । राम चरणले चलचित्रमा ब्रिटिस औपनिवेशिक शासन विरुद्ध सशस्त्र अभियानको नेतृत्व गर्ने स्वतन्त्रता सेनानीको पात्रको रूपमा अभिनय गरेका छन् ।

    जे आर एनटिआर :

    देशको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरू मध्ये एक जेआर एनटीआरले पनि यस चलचित्र मार्फत पारिश्रमिक स्वरूप ४५ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

    आलिया भट्ट :

    पुरै चलचित्रमा लगभग १० मिनेट मात्र स्क्रिनमा देखिएकी अभिनेत्री आलिया भटले यस फिल्मको पारिश्रमिक स्वरूप ९ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

    अजय देवगण :

    चलचित्रमा अतिथि कलाकारको जस्तै मात्र भूमिका निभाएका अजय देवगणले पनि यस चलचित्र मार्फत मोटै पारिश्रमिक हात परेका छन् । रिपोर्टका अनुसार उनले यस चलचित्र मार्फत ३५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

    एसएस राजामौली :

    फिल्म निर्देशक एसएस राजामौलीले यस चलचित्र मार्फत निश्चित पारिश्रमिक नलिए पनि कुल फाइदाको ३० प्रतिशत पाउने जनाइएको छ ।

  • अविवाहित कविसँग प्रेम संवाद: पूर्वप्रेमिकाहरु छोराछोरीको विहेमा डाक्छन्

    अविवाहित कविसँग प्रेम संवाद: पूर्वप्रेमिकाहरु छोराछोरीको विहेमा डाक्छन्

    चाकुपाटस्थित कवि तथा लोक संस्कृतिविद् तुलसी दिवसको घरमा ‘मंकी पजल ट्री’का अग्ला-अग्ला तीनवटा रुख छन् । ५० वर्ष हाराहारीका ती रुख दिवसका बाआमा, भाइ, बहिनीले रोपेका हुन् । दिवस स्वयं ८१ वर्षका भइसके । तर, उनलाई ८१ वर्ष मिलिकमा सकिएझैं लाग्छ ।

    घरका ती एक्ला रुखझैं एक्लै बाँचेका दिवसलाई थाहा छ, बितिसकेको समय जम्मा तीन सेकेण्डको मात्रै हुन्छ । कसैलाई पर्खनुपर्यो‍ भने मात्रै घडीको काँटा एकदमै विस्तारै चल्छ ।

    उनले भिजिटिङ प्रोफेसर बनेर जापानका विश्वविद्यालयमा पढाए । भिजिटिङ स्कलर भएर हवार्ड विश्वविद्यालयमा, क्याम्ब्रिज विश्वविद्यालयमा पढाए । संसारका कुनाकुनामा पुगेर लोकसंस्कृतिबारे व्याख्यान दिएका दिवस अहिले चाकुपाटको आफ्नै घरमा बस्छन् । घरका झ्यालहरुमा, भित्ताहरुमा, पेन्टिङहरुमा सम्झनाका खतहरु खोजिबस्छन् । घरभन्दा ठूलो भएको लस्सीको फेदमा स्मृतिहरु बल्झाइबस्छन् । आफ्नै पुराना पुस्तकहरुमा पुराना मेमोयरहरु पल्टाइबस्छन् ।

    लामो सुस्केरा तान्दै भन्छन्, ‘जिन्दगी सोचेजस्तो हुँदैन, चाहेजस्तो हुँदैन । जिन्दगीको आफैंमा कुनै अर्थ छैन । जिन्दगी बाँच्नेले जे गर्छ, त्यसैबाट अर्थ पनि पाउँदो रहेछ । जिन्दगी त खाली कागजको पन्ना हो, मान्छे स्वयंले अर्थपूर्ण बनाइदिनुपर्छ ।

    अनि मान्छे स्वयंले दिएको अर्थले जिन्दगीको त्यति ठूलो क्यानभासलाई अर्थ्याउन सक्ला त ?

    हरेक मान्छेको जिन्दगीको क्यानभासको साइज आ-आफ्नै हुन्छन् । मान्छेले एउटा टोलमै, गाउँमै जिन्दगी बिताइदिन सक्छ । उसका लागि विशाल ब्रह्माण्ड के हो, त्यो आवश्यक हुँदैन । जिन्दगीलाई बढी आदर्शीकृत गरेर हेर्नु हुँदैन । यथार्थको धरातलबाट हेर्नुपर्छ । जिन्दगीलाई एज इट इज ग्रहण गर्नु र जिन्दगीको आफ्नै सीमाभित्रबाट स्वीकार गरेर आफैंले अर्थ दिने कोसिस गर्नु राम्रो हो ।

    तर, मान्छेहरु जिन्दगीलाई बढी आदर्शीकृत गरे, आदर्शको ढोङ ओडेर बाँच्दा रहेछन् !

    जिन्दगी दर्शनमा मात्रै बाँच्दैन । दर्शन आवश्यक छ । तर, दर्शनकै निमित्त जिन्दगी समर्पण हुनुपर्छ भन्ने कुरामा विस्वास छैन मलाई । जिन्दगी व्यवहार हो । चिन्तन, दर्शन छन्, हुन्छन् । तर त्योभन्दा बढ्ता जिन्दगी आचरण र व्यवहार हो ।

    हाम्रा अनेक दर्शन छन् । विविध सोचाइ, चिन्तन छन् । जीवनअघि र पछिका कुरा छन् । यस्ता अघि–पछिका कुराभन्दा पर जिन्दगीलाई जिन्दगीकै सीमाभित्र राखेर बाँच्नुपर्छ । अगाडि के थियो, पछि के हुन्छ भनेर हामीले अनुभव गर्नै नसक्ने कुराको अर्थ छैन । जसलाई हामी स्मृतिमा ल्याउन सक्दैनौं, अनुभूत गर्न सक्दैनौं भने त्यसबारे बढी सोच्नु अनावश्यक हो ।

    मान्छे एक्लै बाँच्दैन । प्रत्यक्षरुपले समाज र परिवारसँग गाँसिएको हुन्छ मान्छे । त्यहाँबाट फुत्कन कोसिस गरे पनि सक्दैन । जिन्दगी चाहेजस्तो हुँदैन, हुन आवश्यक पनि छैन । जे घट्छ, जस्तो रुपमा आउँछ, त्यसलाई स्वीकार्नु अनिवार्य भइदिन्छ । अरु उपाय पनि छैन ।

    मानिस समाज, परिवारमा बाँच्छ भन्दै गर्दा तपाईंले विवाह चाहिँ गर्नुभएन है ?

    एक्लै भएर पनि मान्छे समाजमा बाँच्छ । समाज, परिवार भनेको विवाह गरेर छोराछोरी हुनु मात्रै होइन । विवाह नगर्दैमा मान्छे एक्लो हुँदैन । एक्लो भएर पनि मान्छे भीडमा हुनसक्छ, भीडमा भएर पनि मान्छे एक्लो हुनसक्छ । जिन्दगीलाई हिसाबको दृष्टिकोणबाट हेर्नु हुँदैन ।

    विवाह नगरे पनि विवाहलाई हेर्ने तपाईंको आफ्नै दृष्टिकोण त होला !

    निश्चित उमेर भइसकेपछि आवश्यकता हो विवाह । त्यसको नीति, नियम छ । रीति छ । नीति, नियमभित्र नबसी पनि विवाह हुन्छ । पन्चेबजा बजाइहाल्नुपर्ने आवश्यकता पनि हुँदैन । विवाह नै नगरेर पनि मान्छे सम्बन्धमा हुनसक्छ । कतिपय मान्छेले सम्बन्धमा भएर पनि विवाह नभएको जस्तो महसुस गर्न सक्छ । एउटा उमेर पुगेको मान्छेको मात्रै होइन, चराचर सबै प्राणीको सम्बन्ध हुन्छ । त्यसलाई विवाहकरण गर्ने कि नगर्ने, वैयक्तिक छनोट हो ।

    मान्छेको जिन्दगी योजनाभित्र हुँदैन । जीवनको चामत्कारिक विशेषता भनेकै अनिश्चितता हो, अनियमितता हो । मान्छेले विवाह, जीवनलाई जसरी सोच्छन्, त्यो सोचाइसँग एकाकार हुने अवस्था र पक्षमा म छैन । अर्को मान्छेको कुरा भन्ने छुट पनि मलाई छैन । सामाजिक रिवाजहरु, एक अर्कोले गर्ने प्रेम, घृणा, वियोग सबै छन् यहाँ । प्रेम गर्नेले पनि घृणा गर्छन् । विवाह नगरी मर्छु भन्नेहरु पनि बाँचिरहेकै छन् ।

    विवाह नगर्दा जीवनको एउटा पाटो छुट्छ भन्ने मान्छेहरु पनि भेटिन्छन् । तपाईंको केही छुटेको छैन वैवाहिक नहुँदा ?

    मान्छेले जैविक स्थिति र अवस्थाअनुसारको आवश्यकतालाई आफ्नै ढंगले पूर्ति गर्नुपर्ने हुन्छ । हाम्रो ज्ञान अगाडि बढ्छ, समय अगाडि बढ्छ । एक समय दियालो बाल्थ्यौं, पछि कुपी आयो, लालटिन आयो, पेट्रोम्याक्स आयो । अनि बिजुली आयो । बत्ती नहुँदाको विस्वास र आस्था जो थिए, त्यो भत्किएर गए । त्यसैले विवाह नगर्दा नै धेरैथोक छुट्छ भन्ने म मान्दिनँ ।

    एकातिर परिवारको जोडबलमा गरिएका विवाहका कारण फ्रस्टेसनमा गएका मान्छेहरु पनि भेटिन्छन् । अर्कातिर परिवारले खोजिदिएका आदर्श विवाहहरु पनि भेटिन्छन् । तपाईंले चाहिँ घरका मान्छेले दिएको विवाहको दबाबलाई कसरी पन्छाउनुभयो ?

    मेरो सवालमा त्यस्तो दबाबको स्थिति र अवस्था आएन । मेरो परिवारको चाहना त थियो होला विवाह गरोस् । तर, मलाई दबाब नै दिने प्रवृत्तिको अनुभव गरिनँ । चाहँदाचाहँदै धेरै कुरा हुँदैन, त्यो नभएको कुरा विवाह भइदियो मेरा लागि । नचाहँदा नचाहँदै पनि धेरै कुरा हुन्छन्, त्यो कुरा प्रेम भइदियो मेरा लागि ।

    यथार्थमा धेरै महिलाहरु सम्पर्कमा आए । विवाह गर्न चाहनेहरु पनि आए । देशभित्रको मात्रै होइन, संसारभरका महिला आएका थिए । तर पनि मैले विवाह गरिनँ । किनभने चाहेर पनि नहुने रहेछ, फेरि नचाहेर पनि धेरै कुरा हुने रहेछ ।

    खोज्दैमा सबै चिज पाइन्छ र ? चाहँदैमा सबैथोक पाइन्छ र ? जीवनको सत्य यही हो । यो सत्यलाई नमानेर, हिसाबकिताबमा बाँचेर, स्वर्ग, नर्कका कुरा गरेर जिन्दगीलाई जटिल बनाइएको छ । म अहिले जहाँ छु, यही नै हो यथार्थ । यथार्थलाई स्वीकार गर्नुपर्ने अनिवार्य आवश्यकता सहित बाँच्छ मान्छे ।

    तपाईंका प्रेम सम्बन्धहरु चाहिँ थुप्रा भए ?

    त्यो पनि भयो । आफूले चाहेको होइन, उसैले चाहेपछि आफूले पनि नचाहेर धर नहुने भयो । सम्बन्ध भनेको सधैं अनप्रिडिक्टेबल हुन्छ ।

    मान्छे हिँडिरहन्छ, त्यसैले सँगै त कोही पनि भइरहँदैन । गाडी त्यहाँसम्म सँगै हिँड्छ, जहाँसम्म प्यासेन्जरको लक्ष्य मिल्छ । एउटा नयाँ सडकको गेटमा उत्रिन्छ भने अर्को बाँसबारीमा उत्रिन्छ । एउटा प्यासेन्जर नयाँ सडकसम्म जान्छ अनि झर्छ । तर, महाराजगन्जसम्म हिँडेको छ भने अलि परसम्म जान्छ ।

    बारबार प्रेम हुन सम्भव छ ? मान्छेहरु त भन्छन् कि प्रेम एकैपटक हुन्छ, अन्तिम हुन्छ ।

    बारबार नै हुन्छ प्रेम । एउटै व्यक्तिमा सीमित हुने भन्ने हुँदैन । यदि कसैले त्यसो भन्छ भने त्यो अन्धो प्रेम हो । मसँग धेरै सम्पर्कमा आए । कोहीकोही धेरैबेरसम्म बसे । भौतिक नभए पनि आत्मिकरुपमा धेरै परसम्म साथ दिए । तर, ऊ नभए पनि जिन्दगी त हिँडिरहन्छ । जिन्दगी त चल्नुपर्यो, बग्नुपर्यो अनि हिँड्नुपर्यो । जमेर बसेर त भएन नि ! बाटो मिलेन भने छुट्टिन्छ मान्छे ।

    छुटेपछि पछुतो हुँदैन ?

    पछुतो भए पनि के अर्थ छ र ? हुन सक्ला । तर, पछुतोले के अर्थ दिन्छ र ? जे भयो त्यो भयो, त्यसलाई नभएको बनाउन सकिँदैन । जे भएन त्यो भएन, त्यसलाई भएको बनाउन पनि सकिँदैन । त्यो बनायो भने अर्कै स्थिति र परिस्थितिमा बन्छ । त्यही स्थिति र परिस्थिति आउँदैन । तर, त्यसैसँग टाँस्सिइरहन खोज्यो भने पेच खुस्किने सम्भावना हुन्छ ।

    मेरो घरअघिको रुख ५० वर्ष हाराहारी भएको छ । जबसम्म म रहन्छु, यो रुख रोप्नेलाई सम्झिन्छु । सम्झनाहरु कहिलेकाही यसरी रुखसँग टाँस्सिन्छन् । सम्झना घरको झ्यालमा टाँस्सिन्छन् । आँगन, बूइँगलमा टास्सिन्छन् । बार्दली, कोठासँग टाँस्सिन्छन् । र ती ठाउँमा तरंगित भएर फ्लासब्याकमा जानसक्छ मान्छे । तर, हामी त धेरै वर आइसकेका हुन्छौं ।

    ती सम्झना, स्मृतिहरुले कहिलेकाहीँ हिर्काउँछ होला है तपाईंलाई ?

    त्यो पीडा दिने स्थितिबाट म मुक्त भइसकेँ । अब फेरि त्यो सम्झनाको आगोले आफूलाई पोलाउने स्थितिमा म छैन । सम्झना आउनु स्वभाविक हो । तर, सम्झनामै लट्टु भएर पागल हुने कुरा त आएन नि ! त्यहाँ त्याग गर्नैपर्छ । जुन कुरा प्राप्त हुँदैन, त्यही कुराको पछि लाग्न थाल्यो भने मान्छे आफैं बोल्न थाल्छ, हिँड्न थाल्छ । स्वस्थ मान्छे नै पागल हुन्छ ।

    तर, तपाईंसँग प्रेममा जोडिएका मान्छेले विवाहको विन्दु खोज्थे होलान् । तपाईंले कसरी ट्याकल गर्नुभयो ?

    विवाहलाई मैले मात्रै पन्छाइनँ । एकजनाले मात्रै पन्छाएर हुँदैन । हिँड्दाहिँड्दै भेटघाट हुन्छ, सँगै यात्रा गरिन्छ । सँगै हिँड्न चाहँदाचाहँदै अगाडि मृत्यु पनि छ । जिन्दगीलाई परम्परागत दृष्टिकोणबाट बाहिर ल्याउनुपर्छ । सिद्धान्तबाट जिन्दगीलाई किचेर, त्यही रङमा राख्ने, त्यही आकारमा ढालेर हेर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । र सबै सम्भव छ ।

    तपाईंका टुटेका ती सम्बन्ध नटुटेका भए हुन्थ्यो लाग्दैन ?

    सायद त्यसरी सोच्नुको आवश्यकता नै छैन । त्यसरी सोच्न थालियो भने अगाडि बढ्न सकिँदैन । नातिनातिना खेलाइरहेका छन् ती मान्छेहरु, त्यहाँ फेरि जान सम्भव हुँदैन । जीवनको कोर्समा करेक्सन भन्ने नै हुँदैन । क्रस गरिसकेपछि गरियो । अर्को दोबाटोमा भेट्न सकिन्छ त्यो मान्छेलाई । तर, पहिला जस्तो थियो, त्यसरी भेट हुँदैन ।

    कतिले मलाई उनका छोराछोरीको विवाहमा डाकेका छन्, म गएको छु । नेपालकै मात्रै होइन, जापानदेखि ब्रिटेनसँग, दक्षिण अमेरिकादेखि उत्तर अमेरिकासम्म फैलियो मेरो सम्बन्ध । हिँड्दा, डुल्दा धेरै देश र संस्कृतिका मान्छे सम्पर्कमा आउँछन् । अनि सम्पर्कमा आउँदा कहिलेकाहीँ च्वाट्ट आँखा लाग्नसक्छ, च्वाट्ट मन बसिदिन सक्छ । तर, त्यस्तो स्थितिबाट पनि छुटिन्छ मान्छे । जसरी आउँछन्, त्यसरी नै लिएर हिँड्नुपर्छ ।

    मेरो घरमा अमेरिकन नै आएर बसेकी छे । ब्रिटिस त विवाह नै गर्न आएकी थिइन् । नेपाली पनि विवाह गर्ने भन्दाभन्दै गरिएन । तर, विवाह नगर्नुको कारण भने सामान्य नै हुन्छन् ।

    अहिले पनि अफेयरमै हुनुहुन्छ ?

    अफेयर नै भनेर छैन । कति मान्छे मसँग रिलेसन चाहनेहरु छन् । मैले वास्ता नगरेको पनि छु । ज–जसले चाहन्छन्, उनीहरुसँग हिँड्न सम्भव छैन । मेरो पनि त मन राख्ने, कतै दिलको खोपामा दियो बाल्ने हुनुपर्यो नि !

    तपाईंका जीवनमा कस्ता कस्ता मान्छेहरु ठोक्किए ?

    धेरै प्रकारका ठोक्किए । बुद्धि र सौन्दर्यले एकदमै सुन्दर मान्छेहरु पनि आए । तर, सोचेजस्तो हुँदैन रिलेसनसिप भनेको । यो अनिश्चत छ जिन्दगीजस्तै । त्यसैले रमाइलो छ । धेरै मान्छेको सम्बन्ध अनप्रेडिक्टेबल देखेको छु । खुब खुसीसाथ जिन्दगी बिताउला भनेको जोडी तीन महिनापछि छुटेको देखेको छु । र सम्बन्धमा कसैले ठोकुवा गर्ने आँट गर्नु हुँदैन ।

    मैले त्रिचन्द्रदेखि पद्मकन्यासम्म पढाएँ नेपालमा । गुरुआमादेखि विद्यार्थीहरु कति हो कति चाहनेहरु थिए । म ब्याडमिन्टन खेल्ने, टेबलटेनिस खेल्ने, भलिबल, फुटबल खेल्ने, नाटक लेख्ने, नाटकमा खेलाइदिने, कविता लेख्ने मान्छे । गाउने, नाच्ने, पेन्टिङ गर्ने, फिल्मको हिरोजस्तो भइदिने । अनि यसै हल्ला चलाइदिन्थे ।

    मेरो स्वभावैले धेरै सम्पर्कमा आउँथे । पद्मकन्यामा मैले कम्तीमा सात, आठ हजार अटोग्राफ लेखिदिएको छु । अटोग्राफमा चिठी आउँथ्यो । त्यसलाई आफ्नो ढंगले ग्रहण गर्नु, नगर्नु अर्को पाटो हो । कसैलाई सीधै पीडा दिने पक्षमा म छैन । उसको इमोसनसँग खेल्ने पक्षमा पनि म छैन । मेरो इमोसनसँग कसैले खेलेको पनि म हेर्न चाहन्नँ ।

    अन्ततः अहिले आइपुग्दा जिन्दगी कस्तो लाग्छ ?

    जिन्दगी बितिसकेपछि दुई मिनेट, दुई सेकेण्डजस्तो लाग्दोरहेछ । मलाई ८० वर्ष पुगेको भन्छन्, तर आठ सेकेण्ड जति बाँचेको पनि लाग्दैन । नबित्दा मात्रै समय लामो हो । बितिसकेपछि एक सेकेण्ड जस्तो लाग्दोरहेछ ।

    जिन्दगीलाई करेक्सन गर्न पनि पाउँदैनौं । करेक्सन गर्न खोज्दा समय पनि परिवर्तन भइसकेको हुन्छ । मेरो घरअघिको रुखमा चराहरु आउँछन् । गुँड बनाउँछन् । बच्चा हुर्काउँछन् । अनि उडेर जान्छन् । तर, रुख त उड्दैन । जहाँ उभिएको छ, त्यहीँ सकियो । रुखको नियती र धर्म नै त्यही ठाउँमा उभिनु हो ।

  • हलिउड स्टार विल स्मिथले दिए ओस्कर्स एकेडेमीबाट राजीनामा

    हलिउड स्टार विल स्मिथले दिए ओस्कर्स एकेडेमीबाट राजीनामा

    न्यूयोर्क । हलिउड स्टार विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिएका छन्। एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमा थप्पड हानेपछि उनी विवादमा तानिएका थिए।

    एकेडेमीले उनको राजीनामा स्वीकृत गर्दै अनुशासनको कारबाहीको काम अगाडि बढाउने बताएको छ। बोर्डले जे निर्णय गर्छ, त्यो मलाई मान्य हुने अभिनेता विलले बताएका छन् ।

    राजीनामा दिएपछि विलले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो कामको जस्तोसुकै नतिजा भोग्न पनि तयार छु । ९४ औं ओस्करमा मैले जे गरेँ त्यो निकै स्तब्ध पार्ने थियो । मैले पीडा दिएका व्यक्तिहरूको सूची धेरै लामो छ। यो सूचीमा क्रिसको नाम पनि परेको छ । मैले एकेडेमीको विश्वासलाई धोका दिएको छु। अन्य विजेताहरूले समारोहमा मेरो कारणले उत्सव मनाउने मौका पाएनन्।’

    फिल्म एकेडेमीका अध्यक्ष डेभिड रुबिनले विल स्मिथको राजीनामापछि विलको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए।

    लस एञ्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिसलाई थप्पड लगाइदिएका थिए।

  • यो वर्षको अन्त्यमा बिहे गर्दै छन् आलिया र रणवीर

    यो वर्षको अन्त्यमा बिहे गर्दै छन् आलिया र रणवीर

    एजेन्सी । विगत चार वर्ष देखी प्रेम सम्बन्धमा रहेका बलिउड सुपरस्टार जोडी आलिया भट र रणवीर कपूर यही वर्षको अन्त्य तिर बिहे गर्ने तयारीमा रहेको बताइएको छ ।

    भारतीय सञ्चार माध्यम ‘द इकोनमिक्स टाइम्स’ काअनुसार हाल रणवीर र आलियाको परिवार उनीहरूको बिहेको तयारीमा जुटेका छन् । उनीहरूको बिहे आगामी अक्टोबरमा राजस्थानको रान्थाम्भबोरमा हुने सम्भावना रहेको छ ।

    यसअघि रणवीर र आलियाको बिहे यही अप्रिल महिनामा हुने हल्ला चलेको थियो भने रणवीर र आलियाले सोही अनुरूप आफ्नो फिल्म सुटिङको कार्यतालिका मिलाएको बताइएको थियो ।

    यद्यपि रणवीर र आलियाको बिहे पश्चात सँगै बस्ने घर कृष्ण राजको पूर्ण निर्माणको काम नसकिएको कारण बिहेको मिति पछाडि सरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • बलिउडका टप टेन सेलिब्रेटी, कसको ब्रान्ड भ्याल्यू कति ?

    बलिउडका टप टेन सेलिब्रेटी, कसको ब्रान्ड भ्याल्यू कति ?

    मुम्बई । भारतका पूर्व क्रिकेट कप्तन विराट कोहली २०२१ को टप बलिउड सेलिब्रेटीको स्थान बनाएका छन् । उनको ब्रान्ड भ्याल्यू २२ प्रतिशतले १८.५७ करोड डलर (लगभग १५५ करोड भारु) मा झरेको छ। सन् २०२०मा २३.७७ मिलियन डलर (लगभग १८०० करोड भारु थियो। अर्थात् ब्रान्ड मूल्य करिब ४०० करोडले घटेको छ ।

    कन्सल्टेन्सी फर्म डफ एण्ड फेल्प्सको सेलिब्रेटी ब्रान्ड भ्याल्यूएसन रिपोर्ट २०२१ काे जानकारी अनुसार टीम इन्डियाका कप्तान रोहित शर्मा ३२ मिलियन डलरको ब्रान्ड भ्याल्यूका साथ १३ नम्बरमा छन् भने महान भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर ४.७४ मिलियन डलर मूल्यका साथ ११ नम्बरमा छन् ।

    भारतका अर्का पूर्व कप्तान एमएस धोनी २०२१ मा आफ्नो ब्रान्ड मूल्य ६‍.१२ मिलियन डलरमा ६९ प्रतिशतले बढेर पाँचौं स्थानमा रहेका छन् । धोनी २०२० मा ११ औं स्थानमा थिए ।

    विराटपछि दोस्रो स्थानमा अभिनेता रणवीर सिंह परेका छन् । रणवीरको ब्रान्ड भ्याल्यू १५.८३ मिलियन डलर (लगभग १४०० करोड भारु) छ। रणवीर सिंहले अक्षय कुमारलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । अक्षय कुमार अहिले १३.९६ बिलियन डलरको ब्रान्ड भ्याल्यूका साथ तेस्रो नम्बरमा छन् ।

    ६.८१ मिलियन डलरको ब्रान्डभ्याल्यूकी अभिनेत्री आलिया भट्ट सन् २०२० बाट दुई स्थान माथि उक्लिएर चौथो स्थानमा पुगेकी छिन् । प्रतिवेदनका अनुसार, २०२१ मा शीर्ष २० सेलिब्रेटीहरूको कुल ब्रान्ड भ्यालू १.२ बिलियन डलर हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.९ प्रतिशतले बढेको छ।

    साथै अमिताभ बच्चन ५४.२ मिलियन डलरको मुल्यांकनका साथ छैटौं स्थानमा छन् भने दीपिका पादुकोण ५१.६ मिलियन डलरसहित सातौं स्थानमा छिन् ।

    हेर्नुस टप टेन बलिउड सेलिब्रेटीको ब्रान्ड भ्यालू :

  • मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो : करिश्मा

    मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो : करिश्मा

    काठमाडौं । हालै एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टीको एउटा जनसभामा दुई दिनअघि नयाँ खुलासा गरिन् । उनले आफ्नो न्वारनको नाम पनि ‘सुर्जेकुमारी’ रहेको भन्दै एमालेको चुनावचिन्हको प्रचार गरेकी थिइन् ।

    करिश्माको उक्त भाषण भाइरल भयो र विभिन्न टिकाटिप्पणी पनि भए । यस विषयमा उनले आज फेसबुकमा आफ्नो प्रतिक्रिया दिएकी छन् । करिश्माले आफ्नो नाम थाहा पाउँदा धेरैलाई पोलेको बताएकी छन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘सुर्य कुमारी , मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

  • आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    काठमाडौं । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

    गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।

    निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

     

  • ‘शमशेर’ फिल्ममा कमेडी च्याम्पियनका हिमेश र सुमन अनुबन्धित

    ‘शमशेर’ फिल्ममा कमेडी च्याम्पियनका हिमेश र सुमन अनुबन्धित

    काठमाडौं । अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहने सिनेमा ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् ।

    हाल सिनेमाको लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ ।

    सिनेमामा अभिनय गर्न लागेका हिमेश र सुमनको भुमिका कस्तो रहनेछ भन्ने चाहीँ खुलाइएको छैन् । सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।

    सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

  • ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्यूवबाट गायब, बुढासुब्बा भन्छ– च्यानल ह्याक भयो

    ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्यूवबाट गायब, बुढासुब्बा भन्छ– च्यानल ह्याक भयो

    काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्युवबाट उडेको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट हालिएको ट्रेलर र गीतको सम्पुर्ण प्रचार सामग्री एकाएक गायब भएपछि निर्माण पक्ष तनावमा परेको छ ।

    आज चलचित्रको नयाँ गीत सार्वजनिक गर्ने तयारी थियो । त्यसअगाडि नै २ गीत र ट्रेलर युट्युबबाट हराएको हो । च्यानल नै ह्याक गरेर ती सामग्री हटाइएको बुढासुब्बाको दावी छ । ट्रेलर र गीत फेरि युट्युबमा हाल्ने÷नहाल्नेबारे केही भनिएको छैन ।

    निर्माता सुनिल कुमार थापाले आफूले च्यानल ह्याक भएकाले समस्या आएको जानकारी बुढासुब्बाबाट पाएको बताए । फिल्मको गीत र ट्रेलरले लाखौं भ्युज पाइसकेको थियो ।

    वैशाख १ गतेबाट प्रदशनमा आउने उक्त चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् भने अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत कलाकारको अभिनय छ ।