Category: कलाप्रेस

  • मेलिना राईले सार्वजनिक गरिन् प्रेमी, दुई वर्षअघि नै ईंगेजमेन्ट भएको खुलासा

    मेलिना राईले सार्वजनिक गरिन् प्रेमी, दुई वर्षअघि नै ईंगेजमेन्ट भएको खुलासा

    काठमाडौं । चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् ।

    प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन् ।

    मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन् ।

    नेपालप्रेससँग कुरा गर्दै मेलिनाले आफूहरु चाँडै बिहेको तयारीमा रहेको जानकारी दिइन् ।

    ‘डेट फाइनल भएको छैन, तर यसै वर्ष विवाह हुन्छ,’ उनले भनिन् ।

    हिजो नयाँ वर्षको अवसर पारेर तस्बिर सार्वजनिक गर्ने योजना भए पनि आफू बाहिर भएकाले एक दिन ढिला भएको मेलिनाले बताइन् ।

    मेलिना नेपालकी सफल र चर्चित गायिमामा पर्छिन् । युट्यूवमा हालसम्मकै सर्वाधिक भ्यूज पाएको नेपाली गीत ‘कुटुमा कुटु’ उनले गाएकी हुन् ।

  • चलचित्र ‘प्रेमगन्ज’को टिजरमा कपीराइट फ्री, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

    चलचित्र ‘प्रेमगन्ज’को टिजरमा कपीराइट फ्री, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

    काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले बढीभन्दा बढी दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्री गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युव, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

    निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    सेनले भने, ‘फिल्मले भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युव च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियर सोमा रेडकार्पेटसहित आकर्षक पुरुस्कार प्रदान गरिनेछ ।’

    निर्माता अनन्तमान श्रेष्ठका अनुसार यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ । चलचित्रको टिजर यही तीन गते तीन बजे सार्वजनिक हुँदै छ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युव च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

    परिच्छेद सेनकै लेखन रहेको यो चलचित्रबाट बैंकर पृष्ठभूमिका तेज गिरीले डेब्यू गर्दैछन् । फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

    यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

  • सोनम कपुरको घरमा बहुमूल्य गहना चोरी गर्ने दुईजना पक्राउ

    सोनम कपुरको घरमा बहुमूल्य गहना चोरी गर्ने दुईजना पक्राउ

    काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुरको घरबाट एक करोड भारुभन्दा बढीको गहना चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार सोनम कपुरकी सासुकी पर्सनल केयर टेकर अर्पना रुथ विलसन र उनका पती नरेश कुमार सागरलाई चोरी भएका केही गहनासहित पक्राउ गरिएको हो ।

    प्रहरीले उनिहरुबाट १०० वटा हिरा, ६ वटा सुनका सिक्री, १ वटा हिराको बाला, २ वटा मुन्द्रा र १ वटा कार बारामद गरेको छ । बारामद भएका वस्तुहरुको मुल्य १ करोड भारुभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

    गत फेब्रुअरी २३ मा सोनम कपुरको परिवारले २ करोड ४० लाख मूल्य बराबरको गहना चोरी भएको प्रहरीलाई जानाकारी गराएको थियो । पक्राउ परेका दुवै जनाले आफ्नो गल्ति स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

  • यसरी भयो रणविर र आलियाको विहे (तस्बिरहरु)

    यसरी भयो रणविर र आलियाको विहे (तस्बिरहरु)

    काठमाडौं । चर्चित बलिउड स्टारद्वय रणवीर कपुर र आलिया भट्ट विवाहबन्धनमा बाँधिएका छन् । विगत ५ वर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले आज रणवीर कपुरको मुम्बईस्थित निजी निवासमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

    विवाहपश्चात आलियाले आफ्नो इन्स्टाग्राममार्फत विवाहका फोटोहरु सार्वजनिक गरेकी छन्। आफ्ना नजिकका आफन्त र साथीभाईहरुको सहभागितामा ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकोमा आफू उत्साहित रहेको उनले बताएकी छिन् । विवाह समारोहमा नितु कपुर, महेश भट्ट, आर्यन मुखर्जी, करिश्मा कपुर, करिना कपुर लगायतका कलाकारहरुको उपस्थिती थियो ।

  • जस्तो मदनकृष्णका लागि हरिवंश, त्यस्तै मेरोलागि दिपाश्रीः दिपकराज गिरी

    जस्तो मदनकृष्णका लागि हरिवंश, त्यस्तै मेरोलागि दिपाश्रीः दिपकराज गिरी

    काठमाडौं । सफल हास्यकलाकार, सफल फिल्म निर्माता अर्थात् दिपकराज गिरी । आज उनको जन्मदिन । नयाँ वर्ष र जन्मदिन एकै दिन पर्ने सुखद संयोग उनलाई जुरेको छ ।

    रेडियो, टेलिभिजन हुँदै ठूलो पर्दामा होमिएका दिपकराज विभिन्न कारणले चर्चामा आइरहन्छन् । मनमा लागेको निर्धक्क अभिव्यक्त गरिहाल्ने स्वभावले उनलाई बारम्बार विवादमा पनि पार्छ । यद्यपि, उनी आफ्नो शैलीमा कायम छन् ।

    हरेक व्यक्तिको जन्मदिन आफूलाई पछाडि फर्केर हेर्ने एउटा अवसर पनि हो । दिपकराजले पछाडि फर्केर हेर्दा के पाउँछन् ? आफैंलाई आफूले कसरी मूल्यांकन गर्छन् ? जन्मदिनका अवसरमा उनीसँग गरिएको संवाद:

    कति वर्ष पुग्नुभयो, खुलासा गर्न मिल्ला ?

    म आफूलाई सँधै ३५ को महसुस गर्छु । मेरो लागि उमेर कुनै अंक होइन, यो एउटा भाव हो ।

    पहिलो जन्मदिन शुभकामना कोबाट पाउनुभयो ?

    एकैचोटि धेरै जनाको आएको थियो । ठ्याक्क याद गर्न अलिक गाह्रो छ । मेरो श्रीमतीले गरेकी थिइन् । तर मलाई हरिवंश दाईले गरेको याद छ र एकदम विशेष लाग्छ ।

    जन्मदिन आउँदा कस्तो महसुस हुन्छ ?

    म दुखमा हुर्केको मान्छे हुँ । गाउँघरमा जन्मदिन कहिले हो भन्ने पनि थाहा नहुने माहोलमा हुर्केँ । अहिले आएर सबैले शुभकामना दिईराख्दा, केक काट्दा अनौठो महसुस हुन्छ । म यति धेरै सम्मान पाउन योग्य छु र जस्तो लाग्छ ।

    बुढो हुँदै गएको कुरामा कत्तिको चिन्ता लिनुहुन्छ?

    म सोच्दै सोच्दिन । म एकदम धार्मिक मान्छे हुँ । भगवानप्रति धेरै आस्था छ । जुन दिनसम्म म दगुर्न सक्छु, त्यतिन्जेल दगुर्छु । दगुर्न नसकेको दिन म हिँड्छु । जुन दिन मेरो उमेर पुग्छ, त्यो दिन फेरि म बालक जस्तो बामे सर्छु ।

    जन्मदिन कसरी सेलिब्रेट गर्न मन पर्छ ?

    विशेष गरेर आजको दिन मलाई भव्य पार्टीहरु भन्दा पनि मन्दिर गएर, शान्त वातावरणमा भगवानप्रति आस्थावान अनि नतमस्तक भई बिताउन मनपर्छ । हामी जस्तो सानो मान्छेलाई आफ्नो ईश्वरीय शक्तिले यतिको बनाइदिनुभयो, त्यसको लागि म सधैं आभारी छु।

    नयाँ वर्ष र जन्मदिन एकैदिन पर्दाको केही फाइदा छन् ?

    फाइदा त त्यस्तो केही छैन । अहिले ‘ए मेरो हजुर ४’ र ‘केजीएफ’ लागे जस्तै होला ।

    अहिलेसम्म तपाईंले जन्मदिनमा पाउनुभएको सबैभन्दा मूल्यवान उपहार के हो ?

    म सामानहरुलाई मूल्यवान भन्दिन । म आफू पनि कसैलाई उपहार दिन्न र अरुबाट पनि लिन त्यति रुचाउँदिन । मैले मानेको र अग्रज व्यक्तिहरुबाट शुभकामना आउनु नै मेरो लागि मूल्यवान उपहार हो ।

    विगतका दिन फर्केर हेर्दा आफूलाई कत्तिको सफल व्यक्ति पाउनुहुन्छ ?

    सफल व्यक्ति भन्दा पनि मैले पाएको चिजलाई निरन्तरता दिने व्यक्तिको रुपमा लिन्छु म ।

    तपाईंको विचारमा तपाईंका सवल पक्ष र दुर्वल पक्ष के हुन् ?

    म आलोचना सँगसँगै नै आफूलाई अघि बढाउँछु । कुनै कुरा मनपर्यो भने म कहिल्यै साथ छोड्दिन र मेरो छवि जस्तो भए पनि म अरुको दुख देख्न सक्दिन । छिट्टै आँशु आउँछ । यही मेरो सवल पक्ष हुन् । दुर्वल पक्ष भनेको चैं म छिटो रिसाउँछु, प्याच्च बोल्छु । अलिक कूटनीतिक छुइनँ । कलाकार भएपछि म हरेक कुरामा प्रमिस गर्न सक्दिन, त्यसैले कहिलेकाहीँ घरपरिवार, साथीभाईहरुमा नराम्रो हुन्छु ।

    तपाईंले जीवनमा गर्नुभएको सबैभन्दा ठूलो गल्ति ?

    मान्छेको जिन्दगी हो, गल्ति त धेरै हुन्छन् । म ती गल्तिहरु सम्झन चाहन्न, जुनबाट मैले पाठ सिकेँ । म ती गल्ति सम्झिन्छु जुन गल्ति गरेर पनि मैले पाठ सिकिनँ ।

    तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण तीन व्यक्तिको नाम लिनुपर्दा को–को लाई सम्झिनुहुन्छ ?

    यो धेरै कठिन प्रश्न हो । मैले उत्तर भन्दा सायद अन्याय होला । म मेरो जन्म दिने बुवाआमालाई पहिलो स्थानमा, मलाई शिक्षा दिने अनि अक्षर चिनाउने गुरुहरुलाई दोश्रो स्थानमा र मेरो हरेक पाइलामा साथ दिने जति पनि हुनुहुन्छ जस्तै मेरो जिवनसाथी,स ाथीभाईहरु सबैलाई तेस्रो स्थानमा राखेर सम्भन चाहन्छु ।

    तपाईंको जीवनको सबैभन्दा ठूलो लक्ष्य के हो?

    हामी सबल छौं । अहिलेको समयमा नेपाली सिनेमा पनि उत्तिकै सबल छ । जतिसुकै बलिया र चम्किला बाहिरका चलचित्र आएपनि हाम्रो आफ्नै पहिचान छ भन्ने कुरा बुझाउनु छ ।

    फिल्म क्षेत्रबाहिर तपाईंका योजनाहरु केही छन् ?

    फिल्म क्षेत्रबाहेक मेरो योजना फिल्म नै छ । मलाई यहीँ कलाकारिता क्षेत्रमा र आफू जन्मेको ठाउँको लागि केही गर्नुछ । भगवानले मलाई जेको लागि पठाउनुभएको हो, म त्यहीँ रमाउन चाहन्छु ।

    फिल्म इन्डष्ट्रीबाट अवकाश लिनेबारे कुनै योजना छ ?

    जब समय आउँछ, अवकाश लिन पनि सकिन्छ ।

    फिल्म क्षेत्रमा लागेर गुमाउनुभएका कुराहरु के के छन् ?

    धेरै छन् । यही भन्न सकिन्न । स्वतन्त्रता गुमाईयो, धेरै कुराहरु गुमाईयो ।

    जीवनको उत्तराद्र्ध कस्तो होस भन्ने चाहनुहुन्छ ?

    उत्तराद्र्धमा समाजसेवा गर्न पाइयोस्, कला क्षेत्रको लागि केही गर्न सकियोस्, घरपरिवारसँग बितोस त्यही हो ।

    यतिका वर्ष पार गरेर यहाँसम्म आइपुग्दा तपाईंको विचारमा आखिर जिन्दगी के रहेछ?

    जिन्दगी कुनै शब्दमा बयान गर्न सकिने चिज हैन । ठूलाठूला किताबहरु, उपन्यास, शब्दकोशहरुले पनि जिन्दगीको परिभाषा दिन सकेको छैन । जिन्दगी भोगाई हो, आइपरेका कुराहरुसँग लड्ने लडाईं हो । जसले जसरी भोग्छ त्यसरी नै बुझ्छ ।

    तपाईंको जिन्दगीमा दीपा श्री निरौलाको भूमिका कस्तो छ ?

    जस्तो भूमिका मदनकृष्ण श्रेष्ठको जिन्दगीमा हरिवंश आचार्यको छ, त्यस्तै भूमिका दीपाश्री निरौलाको मेरो जिन्दगीमा छ । मजस्तो अव्यवस्थित मान्छेलाई व्यवस्थित बनाउन उहाँको ठूलो भूमिका छ । उहाँ धेरै नै केयरिङ, दयालु र कलामा समर्पित हुनुहुन्छ । उहाँ जस्तो काममा समर्पित मान्छे मैले देखेको छैन ।

    -प्रस्तुतिः तपस्या राणा

  • विदेशी फिल्म देखाउन राति १ बजे हल खोल्नेमाथि कारवाहीको तयारी, आन्तरिक राजश्वलाई बोर्डको पत्र

    विदेशी फिल्म देखाउन राति १ बजे हल खोल्नेमाथि कारवाहीको तयारी, आन्तरिक राजश्वलाई बोर्डको पत्र

    काठमाडौं । एउटा भारतीय चलचित्र चलाउन अस्वभाविक उत्साह देखाउँदै काठमाडौंका दुईवटा हलहरु आज कुटाइममा खोलिए । दुवै शो हाउसफुल पनि भए । तर, यसवापत ती दुवै हल सञ्चालकले दण्डित हुनुपर्ने देखिएको छ ।

    केएल टावरमा रहेको एफ क्यूव र सिटी सेन्टरमा रहेको विग मुभिज क्रमशः आज राति १ बजे र तीन बजे खोलिएका थिए । दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ मा दर्शकको फ्लो अत्यधिक देखिएपछि मालामाल व्यापार गर्ने धुनमा बिनाअनुमति हल खोलिएको पाइएको छ ।

    कोरोनाको कहर शान्त भएसँगै पछिल्लो समय मनोरञ्जन क्षेत्रलाई सरकारले २४ घन्टा खुल्ला गरेको छ । तर, सिनेमा हलको हकमा नियमित भन्दा बढी शो सञ्चालन गर्नका लागि चलचित्र विकास बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार दुवै हललाई यस्तो अनुमति दिइएको थिएन ।

    उनले नेपाल प्रेससँग भने, ‘हिजो साढे चार बजेपछि अनुमतिका लागि दुईवटा हलहरुबाट इमेल आएको रहेछ । तर म ४ बजे निस्किसकेकाले हेर्न पाइनँ । यसरी हल चलाउनका लागि कार्यालय समयभित्रै अनुमति लिइसक्नुपर्थ्यो । त्यो उहाँहरुबाट पालना भएन ।’

    नियम उल्लंघन गरेर हल चलाइएकाले कारवाहीका लागि आफूले भोलि बिहानै आन्तरिक राजश्व कार्यालयमा पत्राचार गर्ने दाहालले जानकारी दिए ।

    ‘राजश्वमा मैले आजै इमेल गरिसकेको छु, अफिसियल चिठी चैं बिहान १० बजे नै पुर्याउने छु,’ उनले भने ।

    अनुमतिबिना हल सञ्चालन गरेर दर्शकसँग मनोमानि पैसा उठाइएको भन्दै तिनीहरुले बेचेको टिकटमाथि छानविन गर्न बोर्डले आन्तरिक राजश्वलाई पत्र पठाएको हो ।

    कुटाइममा हल सञ्चालन गर्दा अरु नियमहरु पनि उल्लंघन भएको पाइएको छ । राति हलमा आएका दर्शकहरुले अत्यधिक मादक पदार्थ सेवन गरेको, हलहरुले बिहानको शोमा दिनुपर्ने छुट नदिएको, सिट संख्याभन्दा धेरै दर्शक प्रवेश गराइएको लगायतका गुनासोहरु बोर्डमा आएका छन् । यस विषयमा अध्ययन गर्न बोर्डले आजबाट स्थलगत अनुगमन सुरु बनाएको छ । अध्यक्ष दाहालले आफू स्वयम् विभिन्न हलमा पुगेर अनुगमन गरिरहेको जानकारी दिए ।

    चलचित्र विकास बोर्डभित्र बक्स अफिस सञ्चालन गर्ने सम्वन्धमा कार्यविधि २०७६ छ । सो कार्यविधिअनुसार बक्स अफिस सञ्चालनमा रिपोर्टिङ गरे-नगरेको, बक्स अफिसको सफ्टवेयर अनुसार टिकेटिङ गरे नगरेको लगायतका विषयहरु बोर्ड आफैंले हेर्न सक्छ । यसका अतिरिक्त, विक्री गरेको टिकटअनुसार बिल काटे-नकाटेको, काटिएको बिल बराबरको भ्याट रकम बोर्डमा गणना भए-नभएको विषयमा आन्तरिक राजश्व विभागले छानविन गर्न सक्छ ।

    यस विषयमा हिजो विकास बोर्डले आन्तरिक राजश्व विभागसँग छलफल गरेको थियो । छलफलमा बोर्ड र विभागका कार्यालयहरुको संयुक्त टोलीले हलहरुमा अनुगमन गर्ने समझदारी भएको विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिए ।
    ‘हल कतिबेला खोल्न पाउने भन्ने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, तर विक्री भएको टिकट अनुसार राजश्व तिरिएको छ वा छैन भन्ने चाहीँ हाम्रो चासोको विषय हो,’ उनले भने ।

    बोर्डबाट आज पठाइएको इमेल आफूले हेरिनसकेको उनले बताए ।

    ‘आज सरकारी बिदा भएकाले मैले इमेल हेर्न पाएको छैन । भोलि कार्यालय पुग्नासाथ हेरेर जवाफ दिनेछु,’ उनले भने ।

  • राष्ट्रपतिबाट पदक थापेपछि दिपाश्री भन्छिन् : राज्यले सम्झियो, गौरवान्वित छु

    राष्ट्रपतिबाट पदक थापेपछि दिपाश्री भन्छिन् : राज्यले सम्झियो, गौरवान्वित छु

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाका लागि विशेष अविस्मरणीय बनेको छ । उनले एकसाथ खुशी हुने धेरै कारणहरु पाइन् ।

    पहिलो त अरु जस्तै नयाँ वर्षको उमंगमा थिइन् उनी पनि । त्यसबाहेक उनका सहकर्मी तथा सबैभन्दा निकटका मित्र दिपकराज गिरीको जन्मदिन । त्यतिले नपुगेर दिपाश्रीले आजकै दिन राज्यबाट सम्मानित हुने अवसर पाइन् ।

    लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय दिपाश्री आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएकी हुन् । उनलाई प्रबल जनसेवाश्री चौंथो पदक दिइएको छ ।

    आफ्नो लागि यो सम्मानले निकै ठूलो महत्व राख्ने बताउँछिन् दिपाश्री । यो सम्मानले आफूलाई नयाँ उर्जा मिलेको र आगामी दिनमा राष्ट्रलाई थप योगदान दिनका निम्ति प्रेरणा प्राप्त भएको उनले बताइन् ।

    दिपाश्रीले फिल्म क्षेत्रमा थुप्रै अवार्ड र पुरस्कार पाइसकेकी छन् । तर, राष्ट्रका तर्फबाट पाएको सम्मान चाहिँ यो पहिलो हो । त्यसैले गौरवान्वित बनेकी छिन् उनी ।

    उनले भनिन्, ‘तीन करोड नेपाली जनताबाट छानिनु चानचुने कुरा होइन । चलचित्र क्षेत्रको अवार्डको आफ्नो महत्व छ, तर राज्यले दिने सम्मानको अर्कै अर्थ हुन्छ । यसले आफ्नो मान–प्रतिष्ठा बढेको महसुस भयो । काम गर्दै जाँदा योगदानको कदर हुँदोरहेछ भन्ने विश्वास जागेको छ ।’

    कतिपय कलाकारले भन्ने गर्छन्– मलाई दर्शकको माया नै सबैभन्दा ठूलो पुरस्कार हो । दिपाश्री चाहिँ यो भनाइमा कति विश्वास गर्छिन् ?

    ‘दर्शककै मायाको कारण यहाँसम्म आइपुगेको हुँ । यसरी सम्मान पाउनुमा पनि दर्शकको मायाकै सबैभन्दा ठूलो हात छ । दर्शकले घच्घच्याएर नै राज्यले कलाकारलाई सम्मान दिने हो । त्यसैले दर्शकको माया र राज्यको सम्मानलाई अलग राखेर हेर्न मिल्दैन,’ उनले भनिन् ।

    दिपाश्रीलाई अहिले बधार्इका फोन र सन्देशहरुको जवाफ दिन भ्याइनभ्याइ छ । उनको घरमा आजै सत्यनारायणको पुजा पनि थियो । शीतलनिवासबाट सम्मान थापेर फर्केपछि उनी आरतीमा सहभागी भइन् । त्यसपछि दिपकराजको जन्मदिनको कार्यक्रममा पुगिन् । दिपकराजलाई उनले ‘सरस्वतीपुत्र’ भन्दै कलम उपहार दिएकी छन् ।

  • खेम प्रसाईंको ‘शुभकामना’ गीत बजारमा (भिडिओ)

    खेम प्रसाईंको ‘शुभकामना’ गीत बजारमा (भिडिओ)

    काठमाडौं । नयाँ वर्ष २०७९ लाइ लच्छित गरि गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडिओ शुभकामना सार्वजनिक भएको छ ।

    प्रसाईंको म्युजिक भिडिओमा राजनीति, प्रशासन, बालबालिका, युवा लगायत समग्र विषय र पेशालाई सम्बोधन गरिएको पाइन्छ ।

    गायक दीपक लिम्बुको स्वर रहेको उक्त गीतमा गायिका बेनिसा पौडेलले पनि स्वर भरेकी छन् । गीतकार खेम प्रसाईंको शब्द सिर्जना रहेको उक्त गीतमा महेश खड्काले संगीत भरेका हुन्। उक्त भिडिओमा प्रसाईं आफैंले पनि अभिनय गरेका छन् ।
    प्रसाईंको उक्त म्युजिक भिडिओको मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । यस्तै सिनेमाटोग्राफी अर्जुन तिवारीले गरेका हुन् । जसमा प्रशान्त मगरको कोरियोग्राफी रहेको छ।

    म्युजिक भिडियोमा गीतकार प्रसाईंसहित संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

    शिक्षण पेसामा समेत रहेका गीतकार प्रसाईं लामो समयदेखि सिर्जनामा पनि सक्रिय रहँदै आएका छन् । यसबाहेक उनले अन्य थुप्रै गीत तथा साहित्य सिर्जना गरिसकेका छन् ।

  • प्रकाश सपूतदेखि अनमोल केसीसम्म राष्ट्रपतिबाट विभूषित (तस्बिरहरू)

    प्रकाश सपूतदेखि अनमोल केसीसम्म राष्ट्रपतिबाट विभूषित (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट सुशोभन भएकामा कलाकारिता क्षेत्रका पनि छन् ।

    सरकारको सिफारिसका आधारमा शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिबाट कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले विभूषित गरिएको छ ।

    संगीतकार शम्भुजित बास्कोटालाई कृतिमय राष्ट्रदीप पदक, गीतकार कालिप्रसाद रिजाल, भजन शिरोमणि तथा संगीतकार भक्तराज आचार्य, र कलाकार गौरी मल्ललाई सु- प्रवल जनसेवाश्री पदकबाट सम्मान गरिएको छ ।

    कलाकारहरू रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, चन्द्रप्रसाद शर्मा, कुलेन्द्र वि.क, देविका प्रधान, विष्णु माझी, नवल खड्का, प्रकाश घिमिरे र कस्तुप पन्तलाई प्रवल जनसेवा श्रीले विभूषित गरिएको छ ।

    हेमन्त शर्मा, प्रकाश सपूत, केकी अधिकारी, अनमोल केसी, कमल गाउँले, मिलन चाम्लिङ राई, महेश प्रसाद हाडा, नविनकुमार पौडेल, सुजल बम, तेरिया फौजा मगर, शिवशंकर रिजाल ‘जोगेन्द्र’ राजकुमार राई, रन्जु झा र राधिका हमाल जनसेवाश्री पदकबाट सुशोभित भएका छन् ।

  • अनमोलको अभिनयमा प्रश्न उठाउनेले ‘ए मेरो हजुर ४’ हेर्नुपर्छ : सलोन बस्नेत

    अनमोलको अभिनयमा प्रश्न उठाउनेले ‘ए मेरो हजुर ४’ हेर्नुपर्छ : सलोन बस्नेत

    काठमाडौं । आज रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ को हिजो आयोजित प्रिमियर शोमा चलचित्रका एक प्रमुख कलाकार सलोन बस्नेत अनुपस्थित भए । चलचित्रको प्रमोसनमा पनि कतै नदेखिएका सलोन प्रिमियरमा पनि अनुपस्थित रहनु अर्थपूर्ण मानिएको छ ।

    हालै एक कार्यक्रममा सलोनका बुवा तथा निर्देशक सोभित बस्नेतले चलचित्रको प्रचार सामग्री तथा ट्रेलरमा सलोन नअटाएको गुनासो गरेका थिए । के यसलाई लिएर सलोन स्वयम् पनि निर्माण पक्षसँग असन्तुष्ट छन् ? हामीले सलोनलाई नै सोध्यौं ।

    उनीसँग ए मेरो हजुर ४ र करिअरका अन्य विविध पक्षमा गरिएको संवाद

    अहिले ‘ए मेरो हजुर ४’ को पोस्टर र कुनै पनि गीतमा तपाईंको नाम देखिएन, किन होला ?

    ट्रेलरमा नाम छँदै छ । यो मेरो जिन्दगीको, मेरो करिअरको एउटा माइलस्टोन चलचित्र हो । जे भए पनि ‘ए मेरो हजुर’ मेरो मनको नजिक छ, त्यही हो ।

    प्रचार सामग्री, ट्रेलरमा आफू नअटाएकोमा केही गुनासो छैन ?

    हैन ठीकै छ । झुक्किनुभयो होला । अरु केही भयो होला । झरनाजी, सुनिलजीसँग भेट भएपछि कुरा होला नि ।

    आफू बोल्न नसकेर बुवालाई बोल्न लगाउनुभएको हो भन्ने चर्चा छ नि ?

    मलाइ यसको बारेमा थाहा भएन । ड्याडीलाई नि सायद मनमा लाग्यो होला । नोटिस गर्नुभयो होला । त्यही भएर भन्नुभयो कि?

    तपाईंले निर्माण पक्षसँग यो विषयमा कुनै गुनासो राख्नुभएको छैन?

    उहाँहरुसँग हल्का कुरा चैं भएको थियो, तर गुनासो त्यस्तो केही छैन ।

    यो फिल्मको प्रमोसनमा तपाईंलाई सहभागी नगराइएको हो कि तपाईं आफैंले बहिष्कार गर्नुभएको हो ?

    त्यस्तो केही हैन । मलाई बोलाउनुभएको थियो, तर मेरो व्यस्तताको कारणले म उपस्थित हुन सकिनँ ।

    ए मेरो हजुरमा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ?

    ए मेरो हजुर १,२,३ मा जस्तो भूमिका निभाएको छु, ४ मा नि त्यस्तै खालको भूमिका छ ।

    आफ्नो भूमिकामा आफू सन्तुष्ट हुनुहुन्छ त ?

    एकदमै सन्तुष्ट छु । झन् यो ‘ए मेरो हजुर ४’ को रोल त मलाई पर्सनलि नै धेरै मनपरेको छ ।

    यतिबेला दक्षिण भारतीय चलचित्र केजीएफसँग तुलना गरेर ‘ए मेरो हजुरलाई’ सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ, यसलाई कसरी लिनुहुन्छ ?

    यो गसिप यताउताभन्दा पनि मुख्य कुरा भनेको वैशाख १ गतेदेखि नेपाली चलचित्र लाग्दैछ । सबैलाई थाहा पनि छ । अहिलेसम्म जसरी साथ दिनुभएको छ, त्यसरी नै साथ दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

    अनमोल र तपाईंले एउटै फिल्मबाट डेब्यू गर्नुभयो । अनमोल मेगास्टार भनेर चिनिँरहँदा आफू पछि परेको महुसस हुँदैन ?

    हुँदैन । मलाई अनमोलदेखि त गर्व लाग्छ । हाम्रो नेपाली चलचित्र क्षेत्रलाई अगाडी बढाउन सक्ने नायकको रुपमा लिन्छु म उसलाई ।

    अनमोल र तपाईको आपसी सम्बन्ध कस्तो छ?

    हामी एकदमै मिल्ने साथी हौँ । बाहिर समाचारमा के आउँछ त्यो मलाई थाहा भएन । तर तिनपुस्ते दोस्ती छ हाम्रो । हजुरबुवा, बुवादेखि हामीसम्म ।

    अनमोलसँग फिल्म खेल्दा कत्तिको इन्जोइ गर्नुहुन्छ?

    मज्जा आउँछ उसँग काम गर्न । कति कुराहरु भन्दै नभनि पनि बुझिन्छ । सहज महसुस गर्छौ एक अर्कासँग । अब ‘हनिबनि’ मा पनि एकसाथ काम गर्दैछौं ।

    अनमोलको अभिनयलाई लिएर धेरै नै आलोचनाहरु हुने गर्छन्, तपाईंलाई चैं यो सुनिरहँदा कस्तो लाग्छ ?

    त्यो आलोचना गर्ने मान्छेहरुलाई ‘ए मेरो हजुर ४’ हेर्नुस् भन्न चाहन्छु ।

    अनमोलको मनपर्ने एउटा बानी?

    उ एकदमै इज्जत गर्छ सबैको ।

    अनमोलको परिवर्तन गर्न मन लागेको एउटा बानी ?

    एकदमै टोलाउँछ कहिलेकाहीँ ।

    तपाईंको बुवाले सिर्जना गर्नुभएको महानायक काण्डले तपाईंको क्यारियरलाई कति असर पुर्‍यायो ?

    छैन त्यस्तो केही । त्यो एक समयको हुरीबतास थियो । फेरि समर आइहाल्छ, घाम लागिहाल्छ, फूल फुलिहाल्छ ।

    तपाईं प्राय हिरोको साथीको रुपमा देखिनुहुन्छ । लिड हिरोमा तपाईंलाई अफर नआएको हो त?

    कस्तो हुँदो रहेछ भने दर्शकले आफूलाई जेमा रुचाउनुहुन्छ त्यस्मै ढल्नुपर्दो रहेछ । ‘होस्टेल’ चलचित्रदेखि यहाँसम्म आइपुग्दा मलाई कहिले लागेन कि म बर्बाद भएँ, लिडमा भइनँ भनेर ।

    कहिलेसम्म हिरोको साथी मात्रै भएर खेल्ने त ?

    दर्शक भगवान हुन् । जेमा रुचाउनहुन्छ म त्यसमै खुसी छु । मेरो पकेट लिस्टमा भएको कतिवटा सिनेमा मैले भन्न मिल्दैन । आगामी दिनमा देखिँदै जान्छ ।

    आफू सबैभन्दा कस्तो भूमिकामा फिट हुन्छु जस्तो लाग्छ ?

    मलाई सांगीतिक सिनेमामा फिट हुन्छु जस्तो लाग्छ ।

    तपाईंलाई गर्न मन लागेको तर गर्न नपाएको कुनै भूमिका छ ?

    मलाई रकस्टारको भूमिका निर्वाह गर्न मन छ, तर खै अहिलेसम्म बनेको छैन कि आएको छैन ।

    ‘ह्सवदीर्घ’मा नि अनुबन्धित हुनुभएको छ । के कुराले यो चलचित्रमा आकर्षित हुनुभयो?

    अहिलेसम्मको नेपाली चलचित्रमा भएभन्दा फरक कुरा छ यसमा । यसको कथा नै भिन्न छ । टिम सबै फाइनल हुनेबित्तिकै जानकारी गराउनेछौं ।

    प्रस्तुतिः तपस्या राणा

  • मन्त्री आलेको प्रशंसा गर्दै सोहेल खानले भने : उहाँलाई व्यापारको पनि राम्रो ज्ञान रहेछ (भिडिओ)

    मन्त्री आलेको प्रशंसा गर्दै सोहेल खानले भने : उहाँलाई व्यापारको पनि राम्रो ज्ञान रहेछ (भिडिओ)

    काठमाडौं । बलिउड सिनेमाका सुपरस्टार सलमान खानको आगामी महिना आयोजना हुन लागेको कन्सर्ट दबगंको तयारीका लागि काठमाडौं आएका उनका भाइ तथा अभिनेता सोहेल खानले सँस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेदेखि निकै प्रभावित भएको बताएका छन् ।

    कन्सर्टका विषयमा जानकारी गराउन सोल्टी होटलमा जारी पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    उनले भने, ‘विश्वभरमा नेपाललाई पहिचान दिलाउने व्यक्तिमा हुन पर्ने सबै गुण उहाँ (प्रेम आले)मा पाएँ , म उहाँबाट अत्यन्तै प्रभावित भएको छु । हाम्रो पहिलो भेटमै मैले थाहा पाएको थिएँ उहाँलाई व्यापारको पनि राम्रो ज्ञान छ, त्यो भेटमा हामीले सुरुको पाचँ मिनेटसम्म एकअर्काको परिवारको बारेमासमेत सोधेनौँ, हामीले पर्यटन विकासको मात्र कुरा गर्‍याैं र वास्तवमा त्यही नै महत्वपूर्ण कुरा हो । हुन त हाम्रो सम्बन्ध भर्खर सुरु भएको छ तर यसलाई अघि बढाउनको लागि हामी तत्पर छौं। आउँदै गरेको कन्सर्टलाई पनि उहाँले कुनै पनि ढगंबाट बोझको रुपमा लिइदिनु भएन, उहाँ वास्तवमा नै हामीले चाहे जस्तै हुनुहुन्छ।’

  • सलमान खानका भाइ भेट्न सोल्टी होटल पुगे मन्त्री आले

    सलमान खानका भाइ भेट्न सोल्टी होटल पुगे मन्त्री आले

    काठमाडौं । बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन् । काठमाडौंमा आउँदो महिना आयोजना हुने सलमान खानको कन्सर्टको तयारीका लागि सोहेल आएका हुन् ।

    कन्सर्टका विषयमा जानकारी गराउन आज सोल्टी होटलमा पत्रकार सम्मेलन राखिएको छ । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन स्थलमै पुगेर सोहेल खानसँग भेटेका छन् ।

    पत्रकार सम्मेलन सुरु हुनुभन्दा अगाडि पुगेका आलेले सोहेलसँग फोटो खिचाएर फर्केका थिए । उनी पत्रकारहरुसँग बोलेनन् । सोहल खानको पत्रकार सम्मेलन भने जारी छ ।

  • रचना रिमाल फ्यानबाटै किन यसरी लखेटिइन् ? (बयानसहित)

    रचना रिमाल फ्यानबाटै किन यसरी लखेटिइन् ? (बयानसहित)

    काठमाडौं । पब्लिक क्रेज कुनै पनि कलाकारको सम्पत्ति हो । तर, यस्तो क्रेजले कहिलेकाहीँ उनीहरूलाई दु:ख र हैरानी पनि दिन्छ । लोकप्रिय गायिका रचना रिमाललाई यस्तै भयो हिजो ।

    रचनालाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ । उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान लगाइरहेका छन् ।
    आखिर भएको के थियो ? हामीले यथार्थ बुझ्न रचनालाई नै सम्पर्क गर्‍यौं ।

    रचनाकै शब्दमा घटना विवरण यस्तो छ :

    म इजरायलबाट इलामको प्रोग्राम भ्याउने गरी अस्ति मंगलबार नेपाल फर्किएको थिएँ । मंगलबार नै इलामबजारमा एउटा महोत्सवमा मैले गीत गाउनुपर्ने थियो । त्यसको लागि एडभान्स पनि लिइसकेको थिएँ । अनि त्यसको भोलिपल्ट हिजो मोरङमा अर्को कार्यक्रम थियो ।

    म दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थल ल्यान्ड भएँ । मेरो झापाका लागि ३ बजेको फ्लाइट थियो । तर, फ्लाइट झण्डै ४ घन्टा ढिलो भयो । म बेलुका ७:४० मा झापा पुगेँ । त्यहाँबाट इलाम पुग्दा रातिको ९:५० भयो । म पुग्दा त्यसदिनको कार्यक्रम बन्द भइसकेको रहेछ । अरु दिन १०-११ बजेसम्म चल्ने भए पनि त्यसदिन केही लफडा भएर चाँडै बन्द भएको आयोजकले बताउनुभयो । अनि मलाई आजको साटो भोलि आफ्नो प्रस्तुति दिन भन्नुभयो । मैले बिहीबार गीत गाउने भनेर भिडियो पनि बनाएर हाल्नुभयो ।

    भोलिपल्ट म मोरङमा पुग्नुपर्ने भएकाले मेरो प्रस्तुति चाँडै राख्न भनेको थिएँ । मैले दिउँसो नै गाउने सेड्यूल थियो । तर, दर्शकहरू आउन ढिला भएपछि मेरो प्रस्तुति पनि ढिलो भयो । बल्ल साढे ४ बजे गाउन पाएँ । करिब ३० मिनेट लगाएर ५ वटा गीत गाएँ । मलाई मोरङबाट लिन गाडी आइसकेको थियो । म एकदम हतारिएको र आत्तिएको थिएँ ।

    पहिले नै वचन दिइसकेको हुँदा मैले मोरङको कार्यक्रम भ्याउनैपर्थ्यो । उताबाट आउनुभएका व्यक्तिहरूले मलाई ‘गाडी आइसक्यो कुद कुद…’ भन्नुभयो । म पनि केही नसोची दौडिएँ । यता दर्शकहरु मसँग फोटो/सेल्फी खिचाउन आतुर हुनुहुन्थ्यो । तर, मसँग समय थिएन । त्यसैले म दौडिँदै गाडीसम्म गएँ । बीचमा एउटा बच्चासँग चाहिँ फोटो खिचाएँ, त्यो भिडिओमा देखिएको छैन ।

    जेनतेन मैले मोरङको कार्यक्रम भ्याएँ । तर, म दौडिएको भिडिओ भाइरल भइरहेको रहेछ । हेरेर आफैंलाई नरमाइलो लाग्यो । म खासमा त्यसरी दौडिनु नहुने थियो । तर, हतारको बेला केही सोच्न सकिनँ । फ्यानहरूसँग भागेजस्तो भयो । सबैले फोन गरेर सोधिरहनुभएको छ । म खालि यस्तै यस्तै कुरामा फस्न पुगिरहेको छु । चाहेर होइन । खोइ के भएको हो । दिक्क लागिसक्यो ।

    म सकेसम्म आफ्ना दर्शकहरुसँग घुलमिल हुन चाहन्छु । फोटो/सेल्फी खिच्न आउनेहरुसँग भ्याएसम्म खिच्ने गरको पनि छु । हिजो चाहिँ त्यस्तै भयो । म सबै दर्शकसँग माफी चाहन्छु । अब चाहिँ यसरी कहिले पनि दौडिन्न ।

    https://www.tiktok.com/@rktamang43/video/7086058619233406234?is_copy_url=1&is_from_webapp=v1&q=rktamang43&t=1649917819615

  • भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु)

    भारतीय फिल्मको दबदबाबीच ‘ए मेरो हजुर’ पहिलो शो हाउसफुल, प्रिमियरमा पनि पायो प्रशंसा (तस्बिरहरु)

    काठमाडौं । दक्षिण भारतीय फिल्मको प्रभूत्व र सामाजिक सञ्जालमा भइरहेका ट्रोलहरुलाई चिर्दै ‘ए मेरो हजुर ४’ले रिलिजको पहिलो दिन सुखद सुरुवात गरको छ । काठमाडौंसहित देशभरका हलहरुमा पहिलो शो हाउसफुल रहेको निर्माण पक्ष तथा प्रदर्शकहरुले जानकारी दिएका छन् ।

    नेपाल प्रेस प्रतिनिधि क्यूएफएक्समा पुग्दा सिटहरु भरिभराउ थिए । आजका अन्य शो हरु पनि शतप्रतिशत अकुपेन्सी नजिक रहेको जानकारी हल सञ्चालकहरुले दिएका छन् । नयाँ वर्षको बिदा भएकाले आज फिल्मको अकुपेन्सी अपेक्षित हो । भोलि र पर्सीको व्यापर सुखद रहने अपेक्षा छ । फिल्मको वास्तविक परीक्षा चाहिँ आइतबारबाट सुरु हुने छ ।

    अनमोल केसीको स्टार पावर र हिट ब्रान्डको बलमा फिल्मले इनिसीयल व्यापार राम्रो गरेको हो । तर, दक्षिण भारतीय फिल्म केजीएफ २ मा दर्शक उर्लिएकाले ए मेरो हजुरको भविष्यमाथि अझै संशय छ । केजीएफले धेरै हलहरु कब्जा गरेकाले ‘ए मेरो हजुर ४’ ले उल्लेख्य शो प्राप्त गरको छैन । हल सञ्चालकहरुले केजीएफलाई उच्च महत्व दिएर ए मेरो हजुरलाई सीमित शोमा खुम्च्याएका छन् ।

    करिब ३ करोडको लगानीमा बनेको ए मेरो हजुरले नाफाको व्यापार गर्न १० करोड नजिक कलेक्सन गर्नुपर्ने हुन्छ । यो निकै चुनौतीपूर्ण छ । आगामी दिनमा मिडियामा आउनले समीक्षा र वर्ड अफ माउथले फिल्मको दिशा तय गर्न सक्छ ।

    रिलिजअघि हिजो ए मेरो हजुरको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा उपस्थितहरुले फिल्मको खुलेर प्रशंसा गरेका छन् । नायक अनमोल केसीले अभिनयमा निकै सुधार गरेको धेरैको टिप्पणी छ ।

    चलचित्रका निर्माता सुनिलकुमार थापाले पहिलो शोमा देखिएको अकुुपेन्सीबाट आफूहरु खुशी रहेको बताए । उनले शनिबारसम्म हाउसफुलको व्यापार गर्ने निश्चित भइसकेको र त्यसपछि पनि आफूहरु आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।

    ‘प्रिमियरमा प्राप्त भएको प्रतिक्रियाले पनि हामीलाई धेरै उत्साह मिलेको छ,’ उनले भने ।

  • केजिएफका लागि बिहान ३ बजेदेखिको शो सबै सोल्ड आउट, ए मेरो हजुर ४ को शो भने ७ बजेबाट

    केजिएफका लागि बिहान ३ बजेदेखिको शो सबै सोल्ड आउट, ए मेरो हजुर ४ को शो भने ७ बजेबाट

    काठमाडौं । केजिएफ च्याप्टरका भोलिका सबै शोहरू मल्टिप्लेक्सहरूमा सोल्ड आउट भएको छ ।

    शो सोल्ड आउट भएपछि मल्टिप्लेक्सहरूले बिहानको शोहरू पनि थपेका थिए ।

    उक्त शोहरू पनि सोल्ड आउट भइसकेको बताइएको छ ।

    बिग सिनेमामा केजिएफ च्याप्टरको सबै शो प्याक भएपछि बिहानको ४ बजेको शो थपिएको थियो । तर, उक्त शो पनि सोल्डआउट भइसकेको छ ।

    साथै एफक्युब सिनेमा केएल टावरमा बिहान ३ बजे, ३:४५ बजे र ४ बजेको शो चलाइएको छ ।

    तर, यी शोहरू पनि सोल्ड आउट हुने तरखरमा रहेको नेपालका लागि वितरक कम्पनी बैंकटेस फिल्मका एक प्रतिनिधिले बताए ।

    यसरी बिहान ३ बजेको शो नेपाली हलहरूको इतिहासमै पहिलो हो ।

  • ‘ए मेरो हजुर ४’ को प्रिमियरमा नीर शाहदेखि बालेनसम्म (तस्बिरहरु)

    ‘ए मेरो हजुर ४’ को प्रिमियरमा नीर शाहदेखि बालेनसम्म (तस्बिरहरु)

    काठमाडौं । नयाँ वर्षको शुभारम्भसँगै प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ४ को प्रिमियर भएको छ ।

    अनमोल केसी र सुहाना थापाको मुख्य भूमिकामा रहेको चलचित्र वैशाख एक गतेबाट प्रदर्शनमा आउँदै छ ।

    चलचित्रको प्रिमियरमा विभिन्न कलाकारहरूको सहभागिता रहेको छ । काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका र्यापर बालेन शाहदेखि वरिष्ठ कलाकार नीर शाहसम्म प्रिमियरमा सहभागी छन् ।

    यस्तै अनुराधा कोइराला, स्वस्तिमा खड्का, सुपुस्पा भट्ट, दीपकराज गिरी, भुवन केसी, अशोक शर्मा र सुशील श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

  • समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

    समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक

    काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

    पल शाह प्रकरणपछि युट्यूवमा आएको यो उनको पहिलो गीत हो ।

    आज सार्वजनिक भएको नो मनि फनफनी बोलको गीतमा समीक्षालाई कृष्ण काफ्लेले साथ दिएका छन् ।

    गीतको लिरिक्स विजय गिरी र संगीत सरोज प्याकुरेलको रहेको छ । गीतको भिडियोमा सुरेश कोहली र मनीषा थापाले अभिनय गरेका छन् ।

    समीक्षा अहिले कास्कीमा परिवारसँग बसिरहेकी छन् ।

    पल शाहको प्रकरणपछि उनी केही समय संगीतमा निष्क्रिय बनेकी थिइन् । अब फेरि सक्रियता बढाउने तयारीमा उनी छन् ।

  • चलचित्रकर्मीसँग झरनाको प्रश्न : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बाँकी राख्ला ?

    चलचित्रकर्मीसँग झरनाको प्रश्न : आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बाँकी राख्ला ?

    काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र ए मेरो हजुर ४ निर्धारित मितिमै प्रदर्शन हुने बताएकी छन् ।

    विदेशी चलचित्रसँग एक्लै लड्नु परे पनि मैदान छाडेर नभाग्ने उनको अठोट छ ।

    यही वैशाख १ गतेबाट नयाँ वर्षको अवसर पारेर ‘ए मेरो हजुर ४’ रिलिज हुँदै छ । सोही मितिमा एक दक्षिण भारतीय चलचित्र पनि रिलिज हुने भएकाले ए मेरो हजुर ४ को व्यापारमा कति असर गर्ला भन्ने अनुमानहरू भइरहेका छन् ।

    निर्देशक झरना थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो चलचित्रको प्रदर्शन स्थगित गरेको भनेर झुटो हल्ला फैलाइएको बताएकी छन् ।

    उनको स्टाटसमा भनिएको छ, ‘चाहे जस्तो सुकै परिस्थिति आवस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौँ । यसमा नेपाली चलचित्रको भलो नचाहनेहरू ढुक्क भए हुन्छ ।’

    उनले आफ्नो चलचित्रलाई चलचित्रकर्मीबाटै राम्रो साथ नमिलेको घुमाउरो गुनासो गरेकी छन् ।

    झरना लेख्छिन्, ‘अहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नु परेको छ, भोलि तपाईँले पनि लड्नुपर्ने नै छ । बुढी मरिभन्दा पनि काल पल्किएको हेक्का राख्नुहुन मेरो विनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरू, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईँलाई बाँकी राख्छ त रु यो तथ्यलाई विचार गर्नुहोला ।’

  • पशुपति शर्माको कटाक्ष- लाज पचेकाहरूले हो गठबन्धन गर्ने, कार्यकर्ता र जनता कति भेडा हुन्छौ ?

    पशुपति शर्माको कटाक्ष- लाज पचेकाहरूले हो गठबन्धन गर्ने, कार्यकर्ता र जनता कति भेडा हुन्छौ ?

    काठमाडौं । ‘लुट्न सके लुट कान्छा’ बोलको गीत निकाल्दा तत्कालीन नेकपाको संस्थापन पक्षको तारो बनेका गायक पशुपति शर्माले स्थानीय चुनावमा हुन लागेको सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’ भनेका छन् ।

    शर्माले फेसबुक स्टाटसमार्फत आफूमा विश्वास नभएकाहरूले जनताको विश्वास कसरी जित्छौ ? भन्दै कटाक्ष गरेका छन् । उनले कार्यकर्ता र जनतालाई भेडा नबन्न सुझावसमेत दिएका छन् ।

    शर्माले भनेका छन्, ‘लाज पचेकाहरूले हो गठबन्धन गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावी घोषणापत्र आफ्ना-आफ्ना छन्, के हो यो गठबन्धन ? आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौ ? कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’

  • जन्मदिनमा माग्नेबुढालाई दिपाश्रीको उपहार : हर्लिक्स र ललीपप (तस्बिर/भिडियो)

    जन्मदिनमा माग्नेबुढालाई दिपाश्रीको उपहार : हर्लिक्स र ललीपप (तस्बिर/भिडियो)

    काठमाडौं । चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे उर्फ माग्ने बुढाले आज ४७ औ जन्मोत्सव मनाएका छन् । रेडियो अडिओले उनको जन्मदिन विशेष कार्यक्रम आयोजना गरेको थियो ।

    समारोहमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । यस्तै, हास्यकलाकारहरु सन्दीप क्षेत्री, जितु नेपाल मुन्द्रे, दिपाश्री निरौला, मनोज गजुरेल लगायतको सहभागिता थियो ।

    समारोहमा सहभागी कलाकारहरूले माग्ने बुढालाई सुस्वास्थ्य दीर्घायु तथा सफल कलाकारिता जीवनको लागि शुभकामना व्यक्त गरे । हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले भने अनपेक्षित उपहारसमेत दिइन् । समारोहमा केही ढिला गरी पुगेकी दिपाले माग्ने बुढालाई हर्लिक्स, सुगर फ्री बिस्कुट र ललिपप उपहार दिएकी हुन् ।

    दिपाले अहिले माग्ने बुढा एकदमै दुब्लाएका कारण हर्लिक्स उपहार ल्याइदिएको बताइन् । जन्मेको दिन केही मिठो खानु पर्ने भन्दै उनले आफ्नै हातले माग्नेबुढालाई ललिपप खुवाइदिएकी थिइन् ।

    ‘माग्नु अहिले धेरै नै व्यस्त छ । अहिले वास्तवमा भेट हुनै गाह्रो भएको छ त्यही भएर मैले यो बिस्कुट, हर्लिक्स, ललिपपहरू किन ल्याइदिएको भने एकदम तन्दुरुस्त भएर भाइ र हाम्रो भेट भइराखोस् भनेर । भाइ एकदमै खान छोडेर पेट धप्कार बसिरहेको छ,’ उनले भनिन् । साथै उनले माग्ने बुढालाई एक फोटोसमेत उपहार दिएकी छिन् ।

    तस्बिर भिडिओ : उमेश कार्की