Category: कलाप्रेस

  • प्रेमीसँग केकीको भाेलि बिहे : यी हुन् उनका श्रीमान्

    प्रेमीसँग केकीको भाेलि बिहे : यी हुन् उनका श्रीमान्

    काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिन लागेकी छन् । व्यवसायी रोहित तिवारीसँग उनले भाेलि एउटा सानो जमघटमा लगनगाँठो कस्ने भएकी हुन् ।

    केकी र रोहित केही समयदेखि प्रेममा थिए । तर, आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि पत्तो छैन।

    केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । केकीका सीमित साथीहरूलाई उनीहरूको सम्बन्धबारे थाहा थियो । विवाहअघि आज मेहेन्दी समाराेह भएकाे थियाे, जसमा परिवारका सदस्य र केही साथीहरू उपस्थित थिए ।

    कसैलाई थाहा नदिई सुटुक्क बिहे गर्ने केकीको पहिलेकै योजना थियो ।

    (परिमार्जित समाचार)

  • केकी अधिकारी विवाहवन्धनमा बाँधिदै

    केकी अधिकारी विवाहवन्धनमा बाँधिदै

    काठमाडौं । नायिका केकी अधिकारीले भाेलि विवाह गर्ने भएकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गर्न  लागेकी हुन् ।

    केकीले विवाह गर्न लागेकाे स्रोतले पुष्टि गरे पनि कोसँग विवाह गरेकी हुन् भन्ने बताउन चाहेन ।

    ‘सबै कुरा भोलि थाहा हुन्छ,’ स्रोतले भन्यो । केही समयदेखि एक युवकसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।

    केकीनिकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।

    ‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन् ।

  • के केकी अधिकारीले आजभोलि नै गर्दैछिन् सुटुक्क बिहे ?

    के केकी अधिकारीले आजभोलि नै गर्दैछिन् सुटुक्क बिहे ?

    काठमाडौं । धेरै कलाकारहरू छन्, जो आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन हिच्किचाउँदैनन् । ‘फलानोले गरिन् प्रेमी सार्वजनिक’ भन्ने टाइपका समाचारहरूसँग पाठक अभ्यस्त नै छन् ।

    यस मामलामा फरक छिन् नायिका केकी अधिकारी । लामो फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक चर्चामा आएनन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता उनको छ । यस्ता विषयमा उनी मिडियासँग कहिल्यै खुलिनन् ।

    यसैबीच, आज अचानक केकीले गुपचुप विवाह गर्न लागेको हल्ला भुसको आगो झैं फैलिएको छ । पुष्टि भने हुन नसकेको हल्लाअनुसार केकी आजभोलि नै एकदमै गोप्यरूपमा विवाहवन्धनमा बाँधिन लागेकी हुन् ।

    हल्लाका विषयमा बुझ्न खोज्दा उनको फोन रिसिभ भएन । उनी निकटस्थ कलाकारहरूले सकारात्मक संकेत गरे पनि पुष्टि गर्न चाहेनन् ।

    केकीनिकट एक अभिनेत्रीले भनिन्, ‘उनले पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिञ्जेल प्रतीक्षा गर्नुस् ।’

    केकी कसैसँग रिलेसनसीपमा भए-नभएको विषयमा पनि उनले खुलाउन चाहिनन् ।

    ‘उनी हामीजस्तो आफ्नो प्राइभेट लाइफमा पनि बाहिर फतर-फतर गर्दै हिँड्ने कलाकार होइनन् । उनको प्राइभेसीको हामीले सम्मान गर्नुपर्छ,’ उनले भनिन् ।

    हामीले केकीका बुबा निर्देशक बद्री अधिकारीसँग पनि बाहिर चलेको चर्चाका विषयमा जिज्ञासा राख्यौं । उनले न स्वीकार गरे, न अस्वीकार ।
    यति मात्र भने, ‘म बाटोमा छु, यो विषयमा अहिले बोल्न मिल्दैन ।’

    स्रोतका अनुसार केकी एक युवकसँग अफेयरमा थिइन् । उनी उमेरले केकीभन्दा कान्छा हुन् ।

  • आमा बनिन् काजल अग्रवाल

    आमा बनिन् काजल अग्रवाल

    काठमाडौं । काजल अग्रवाल र पति गौतम किचलुले मंगलबार आफ्नो पहिलो सन्तानलाई स्वागत गरेका छन् । काजलकी बहिनी निशाले इन्स्टाग्राम स्टोरीमा तस्बिर राखेकी छन् । उनले लेखेकी छिन्,‘यो खुसीको दिन हो। म तपाईंहरू सबैसँग केही विशेष समाचार साझा गर्न पर्खन सक्दिन ।’

    पछि इन्डियन एक्सप्रेसले उनको हवाला दिँदै छोरा जन्मिएको उल्लेख गरेको छ ।

    गर्भवती हुँदा काजलले आफ्नो मातृत्व यात्राबारे प्रशंसकहरूसँग लगातार अपडेट गरिरहेकी थिइन् । उनको अन्तिम पोस्ट उनको श्रीमान् गौतम किचलुलाई समर्पण थियो ।

    उनले, ‘यति निस्स्वार्थ भएकोमा धन्यवाद, मेरो गर्भावस्था बेला लगभग हरेक रात मसँग उठ्नुभएकोमा, मसँग हप्तासम्म सोफामा क्याम्पिङ गरेकोमा किनकि त्यो मेरो लागि सुत्ने सबैभन्दा सहज ठाउँ थियो । कहिल्यै केहीमा नहिचकिचाई मलाई राम्रो महसुस गराउनुभएकोमा, मेरो हेरचाह गरेकोमा र अन्तमा सबै कुरामा मलाई माया गरेकोमा ।’

    काजल अग्रवाल प्रख्यात तमिल र तेलुगु अभिनेत्री हुन् । उनले सन् २००४ मा ‘क्यू !हो गया ना’ चलचित्रबाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले पछि अजय देवगनको सह-अभिनेता भएर ‘सिंघम’, अक्षय कुमारसँग ‘स्पेशल २६’ र ‘दो लफ्जों की कहानी’ जस्ता हिन्दी फिल्महरूमा अभिनय गरिन् ।

    अब ‘आचार्य’, ‘पेरिस पेरिस’ र कमल हसनको ‘इन्डियन २’ मा उनी देखिने छिन् ।

  • मुख्यमन्त्री प्रमुख अतिथि रहेको सुन्दरी प्रतियोगितामा सहभागीलाई यसरी झुक्याइयो

    मुख्यमन्त्री प्रमुख अतिथि रहेको सुन्दरी प्रतियोगितामा सहभागीलाई यसरी झुक्याइयो

    इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि भएर आयोजना गरिएको सुन्दरी प्रतियोगितामा आयोजकले प्रतियोगीहरूलाई छलेको पाइएको छ ।

    ‘मिस इटहरी २०२२’ नामक सुन्दरी प्रतियोगिताका विजेताले मिस नेपालमा स्वतः सहभागिता पाउने आयोजक ग्लोबल ड्रीम म्यानेजमेन्ट प्रालिले सार्वजनिक दाबी गरेको थियो ।

    इटहरीको होटेल मादेन इनमा सोमबार साँझबाट मध्यरातसम्म भएको प्रतियोगिताका विजेताले मिस नेपालमा सहभागिता जनाउन पाउने उद्घोषकले पटक पटक सुनाएकी थिइन्। तर, आयोजकको यो दाबी झूटो भएको मिस नेपाल आयोजकले नेपाल प्रेसलाई बतायो ।

    मिस नेपाल आयोजक हिडेन ट्रेजर स्रोतले आफ्नो नाम नलेख्न आग्रह गर्दै मिस इटहरी २०२२ को विजेता मिस नेपालमा सहभागिता हुने बारेमा सम्झौता नभएको बतायो । स्रोतका अनुसार अहिलेसम्म मिस सुदूरपश्चिमले मात्रै सहभागिता जनाउने प्रावधान छ ।

    ‘२० देखि २५ सहभागी छानेर मिस नेपाल आयोजना हुन्छ । अडिसन धरान, धनगढी, पोखरा, सुर्खेत, वीरगन्ज, नेपालगञ्जमा हुने हो । मिस इटहरी २०२२ ले पनि प्रतियोगितामा भाग लिन चाहे अडिसनबाटै आउनुपर्छ ।’

    आयोजक ग्लोबल ड्रीम म्यानेजमेन्ट प्रालिका प्रमुख स्मित कार्कीले भने मिस नेपालमा सिधा सहभागी हुने सम्झौता भएको दाबी गरे । तर, नेपाल प्रेसले सम्झौता माग्दा उनले दिन सकेनन् ।

    हिडेन ट्रेजरसग सन २०२० मा मात्रै सम्झौता भएको तर २०२२ को लागि कुनै अद्यावधिक नभएकोले यो संस्करणका विजेताले सहभागी हुन नपाउने एडमीन अफिसरले नेपाल प्रेसलाई जानकारी दिइन्।

    चैत्र ६ बाट क्लोज क्याम्प सुरु गरेर अगाडि बढेको मिस इटहरीको ‘ग्रान्ड फिनाले’ सोमबार साँझबाट मध्यरातसम्म भएको थियो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि थिए । यार्सागुम्बा रक्सीले प्रायोजन गरेको कार्यक्रममा मुख्यमन्त्री राईले मदिरा विदेशीलाई बेचेर डलर ल्याउनुपर्ने भाषण गरे ।

    समारोहमा मिस इटहरी २०२२ कि विजेता डिना कटुवाललाई घोषणा गरिएको थियो । यस्तै, फर्स्ट रनर अप र सेकेन्ड रनरअपमा क्रमशः विपना शाह शंकर र सारा राई छानिएका थिए । झन्डै एक महिना एक हप्ता भएको सुन्दरी प्रतियोगितामा १४ सहभागी क्लोज क्याम्पमा थिए । विजेताहरू बाहेक अरूलाई दिने अन्य टाइटलहरू आयोजकले नबाँडेपछि प्रतियोगीहरू रुष्ट भएका छन् ।

    नेपाल प्रेससँग बोल्दै एक सहभागीले भनिन्, ‘हामीलाई फिनालेको दिन पनि राम्रो प्रस्तुति दिनेभन्दा हजार रुपैयाँ गोटाका टिकट विक्री गर्नमै दबाब थियो । भोटिङको लगानी उत्तिकै थियो । तर, अन्य टाइटल दिइएन ।’

  • पल शाहको मुद्दामा पीडितका बुवा पनि होस्टाइल, अरूले उकासेर जाहेरी दिन गएको जिकिर

    पल शाहको मुद्दामा पीडितका बुवा पनि होस्टाइल, अरूले उकासेर जाहेरी दिन गएको जिकिर

    काठमाडौं । अभिनेता पल शाहीविरुद्द जबरजस्ती करणीको आरोपमा जाहेरी दिएका पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् ।

    जिल्ला अदालत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।

    पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

    पलको पक्षबाट मुद्दा लडिरहेका वकिल कमला मोहन वाग्लेले पीडितका बुवाले पनि होस्टाइल भएर बकपत्र गरेको बताए ।

    बकपत्रको ब्यहोरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत दबाबमा पारेर झूटो जाहेरी दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जाहेरीमा भएको जस्तो वारदात केही भएको होइन ।’

    ‘पीडित’ का बुवाले आफूलाई दबाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

    अधिवक्ता वाग्लेले अभिनेता पललाई अदालतले सफाइ दिन सक्ने सम्भावना बढेको बताए । यद्यपि, बकपत्रभन्दा बाहेक भौतिक प्रमाणलाई हेरेर न्यायाधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

    ‘अदालतले भौतिक प्रमाणलाई आधार बनाएर पनि न्याय निरूपण गर्न सक्छ । तर यो मुद्दामा भौतिक प्रमाण पर्याप्त छैनन् । जबरजस्ती करणी भएको थियो भने केटा र केटीबीच झगडा हुने, एकले अर्कालाई पिट्ने, कराउने, लुगा च्यातिने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अदालतले हाम्रो पक्षमा फैसला गर्ने आशा छ,’ उनले भने ।

    वाग्लेले भौतिक प्रमाण नभएको दाबी गरे पनि पल स्वयम्ले गायिकासँग सम्बन्ध राखेको स्वीकारोक्तिको अडियो अदालतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।

  • रणवीर-आलियाको विवाहमा हिराको हारदेखि फ्ल्याटसम्म उपहार, कसले के दिए ?

    रणवीर-आलियाको विवाहमा हिराको हारदेखि फ्ल्याटसम्म उपहार, कसले के दिए ?

    मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले १४ अप्रिलमा रणवीर कपुरसँग विवाह गरेकी थिइन् । विगत ५ वर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरु रणवीर कपुरको मुम्बईस्थित निजी निवासमा हिन्दू परम्पराअनुसार विवाह गरे । जसमा उनीहरूका नजिकका साथीहरू र परिवारका सदस्यहरू मात्र उपस्थित थिए।

    बलिउड लाइफको रिपोर्टका अनुसार, कट्रिना कैफ, दीपिका पादुकोण र सिद्धार्थ मल्होत्रा ​​जस्ता धेरै सेलिब्रेटीहरू विवाहमा सहभागी भएनन्, तर उनीहरूले जोडीलाई महँगो उपहार पठाए।

    अर्कोतर्फ, आमा नीतु कपूरले आफ्ना छोरा र बुहारीलाई २६ करोडको ६बीएचके फ्ल्याट उपहार दिएकी छन् । यी कलाकारले दिए रणवीर र आलियालाइ महँगो उपहारहरू :

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार रणवीरकी पूर्व प्रेमिका कट्रिना कैफले आलिया भट्टलाई प्लेटिनम ब्रेसलेट उपहार दिएकी छिन्, जसको मूल्य १४.५ लाख रुपैयाँ रहेको बताइएको छ ।

    यस्तै दीपिका पादुकोणले आफ्नो अनुमोदित ब्राण्ड चोपर्डबाट जोडीलाई घडीको सेट दिएकी छिन् । यी घडीहरूको मूल्य १५ लाख रुपैयाँ रहेको छ ।

    सिद्धार्थ मल्होत्राले आलियालाई भर्सासे ह्यान्डब्याग उपहार दिए, जसको मूल्य ३ लाख रुपैयाँ रहेको बताइएको छ ।

    वरुण धवनले आफ्नो मिल्ने साथी आलियालाई गुच्ची हाई हिल स्यान्डल पनि उपहार दिएका छन्, जसको मूल्य ४ लाख रुपैयाँ रहेको बताइएको छ ।

    प्रियंका चोपडाले आलियालाई हिराको हार उपहार दिएकी थिइन्, जसको मूल्य ९ लाख रुपैयाँ रहेको बताइएको छ ।

    अर्जुन कपूरले आफ्ना साथी रणबीर कपूरलाई गुच्ची जिपर ज्याकेट उपहार दिएका छन्, जसको मूल्य १.५ लाख रुपैयाँ रहेको बताइएको छ ।

  • महेश बाबुले लिए १ करोड १९ लाख बराबरको ‘अडी ई ट्रन’

    महेश बाबुले लिए १ करोड १९ लाख बराबरको ‘अडी ई ट्रन’

    काठमाडाैं । टलिउडका चर्चित महेश बाबुले इलेक्ट्रिक कार भएका कलाकारहरूको सूचीमा आफ्नो नाम थपेका छन् । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका सुपरस्टार महेश बाबुले हालै १.१९ करोडको नयाँ इलेक्ट्रिक गाडी ‘अडी ई ट्रन’ किनेका हुन् । अभिनेताले सामाजिक सञ्जालमा आफ्नो नयाँ खरिदको प्रशंसा गर्दै तस्बिर सार्वजनिक गरेका थिए।

    श्रीमन्थुडु अभिनेता बाबुले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग रु १.०१ करोडको अडी ई ट्रोनको मूल्य भारतमा १.१९ करोड पुगेको समाचार साझा गरे । साथसाथै उनले, ‘सफा, हरियो र दिगो भविष्य घर ल्याउँदै। अडी अनुभवको लागि उत्साहित’ भनेर आफ्नो सामाजिक सञ्जालमा स्टाट्स समेत लेखेका छन् ।

    महेश बाबुले कार मात्र किनेका छैनन्, उनी नयाँ इलेक्ट्रिक भर्सनलाई प्रमोट गर्नका लागि अडीको नयाँ ब्रान्ड एम्बेसडर समेत भएका छन् ।

    पछिल्लो समय हाइब्रिड र प्लगइन विद्युतीय सवारी साधनले कम इन्धन खपत हुने र वातावरणमैत्री पनि भएकाले लोकप्रियता पाइरहेको छ ।
    भारतका धेरै सेलिब्रेटीहरू पनि वातावरणीय मुद्दालाई लिएर इलेक्ट्रिक कारहरूमा सर्दै छन् ।

  • सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

    सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

    काठमाडौं । कन्सर्ट गर्ने सपनासहित हिमाल चढिरहेका गायक तथा गीतकार राजु लामाले सगरमाथाको ६११९ मिटर उचाइमा रहेको लोबुचे शिखरमा पाइला टेकेका छन् । ६५०० मिटरभन्दा माथि गितार बजाएर कन्सर्ट गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गरिरहेका लामाले हिजो राति लोबुचेमा पाइला टेकेका हुन् ।

    उनले यहीं अप्रिल १० तारिकदेखि आधिकारिक रूपमा सगरमाथा चढ्न सुरु गरेका हुन्। गायक लामाले अघिल्लो वर्ष पनि लोबुचे शिखर चढेका थिए। लोबुचेबाट उनले शुभचिन्तकप्रति आभार पनि प्रकट गरेका छन् ।

    ‘अझै ८, ९ दिन लाग्छ बेसक्याम्प पुग्न। त्योभन्दा अगाडि लोबुचे शिखर हुँदै जान्छौ। धेरै अगाडिदेखिको योजना थियो, भाग्यवश अहिले जुरेको छ’, लामाले भनेका छन् ।

    लोबुचे नेपालको सबैभन्दा प्रख्यात पदयात्रा शिखरहरूमध्ये एक हो।

     

  • कांग्रेसले इटहरीमा मेयर नपाउने चर्चाले आकस्मिक रुपमै भयो गीत लोकार्पण (भिडिओ)

    कांग्रेसले इटहरीमा मेयर नपाउने चर्चाले आकस्मिक रुपमै भयो गीत लोकार्पण (भिडिओ)

    इटहरी । सोमबार मात्रै नेपाली कांग्रेस इटहरीको चुनावी गीतको सम्पुर्ण काम सकिएको थियो। हप्तौं लगाएर इटहरी कांग्रेस सचिव विक्रम घिमिरे र नेपाली कांग्रेसका शुभेच्छुक निमेष घिमिरेले तयार गरेको गीतको लोकार्पण इटहरी कांग्रेसका हस्तीहरु ल्याएर गर्ने तयारी थियो।

    लोकार्पणमा इटहरीकै बासिन्दा नेपाली कांग्रेस केन्द्रिय सदस्य राजिब ढुङ्गानादेखि मेयरका तीन प्रत्यासी हेमकर्ण पौडेल, रोहित प्रसाईं र भिम पौडेल लगायतका नेताकार्यकर्ता ल्याउने तयारी थियो । तर सोमबार एकाएक हतारोमा भयो। इटहरी ६ को होटल इनटुरिष्टमा साँझ साढे पाँच बजे गीत र भिडियो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो।

    ‘भबय कार्यक्रम गरेर लोकार्पणको तयारी थियो तर हतारोमा गर्नुपर्यो’ गीतकार विक्रम घिमिरेले भने ‘यस्तो हतारोको पनि राजनीतिक कारण छ।’

    घिमिरेले भनेको राजनीतिक कारण इटहरीमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयर टिकट नपाएर नेकपा एसले पाउने चर्चा नै हो। सोमबार गठबन्धनको बैठकको त्यो चर्चाकै कारण हतारोमा गीत लोकार्पण गरिएको बताउँछन् अर्का गीत अभियानका सदस्य निमेष घिमिरे ।

    उनी भन्छन्, ‘सिधा कुरा गर्दा कांग्रेस जिताउन बनाइएको चुनावी गीत हो। कांग्रेसले नै मेयर नपाउदा गाह्रो हुने भएकोले हतारमा सार्वजनिक गरिएको हो।’

  • बद्री पंगेनी, कुलेन्द्र विक र रामजी खाँणसहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत (भिडिओ)

    बद्री पंगेनी, कुलेन्द्र विक र रामजी खाँणसहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत (भिडिओ)

    काठमाडौं । पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।

    ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

    चर्चित गायक खाँण नेपाली कांग्रेस निकट मानिन्छन् । त्यस्तै कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी, हे बरै नहुने सल्लैको’ बोलको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

    यसपटक लोकप्रिय कलाकारहरु समेटर चुनावी गीत ल्याएको हो । डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायत निर्माता रहेको सो गीतमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

    गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी उनीहरुको छ । सैं पनि एमाले बोलको गीतले ४२ लाख बढी भ्युज कलेक्सन गरेर त्यो बेला युट्युब ट्रेण्डिङमा थियो । ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत युट्युबमा अपलोड भएको एक घण्टामै ५ हजार बढी भ्युज कटेको छ । यो गीत पनि पहिलेको जस्तै लोकप्रिय हुने कलाकारहरुले विश्वास लिएका छन् ।

    सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

  • फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण

    फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकास समेटिएको पुस्तक लोकार्पण

    काठमाडौं । काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।

    झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेखेको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक फुटुङ्गमै आयोजित कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

    पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ट विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताए । पुस्तक प्रकारको सांस्कृतिक लघु विश्व कोष झैँ लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रूपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे । उनले पुस्तक स्थानीय विशिष्ट ग्रन्थको रूपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार लब गाउँले र डा. घनश्याम पुडासैनी, उद्यमी हरिकृष्ण रावल, संस्कृतिकर्मी भक्तीनारायण महर्जन, तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्साल लगायतले पुस्तकबारे चर्चा गरेका थिए ।

    पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने विषय समेटिएको लेखक फुटुङ्गको भनाइ छ । उनका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरूप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो ।

    पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र सांस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः सहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।

    पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, बस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ ।

    लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातीय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले वर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो ।

    त्यस्तै, उनीहरूको परम्परा र गुठीसम्बन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहलसम्बन्धी विवरण पुस्तकमा समेटिएको छ । पुस्तक अनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।

    कुनै समय कृषि पेसामा अङ्गाल्ने यस क्षेत्रका बासिन्दाहरूको जीवनशैलीमा आएको परिवर्तन र परिवर्तित सन्दर्भमा पुस्तान्तरणले पारेको प्रभाव र असरलाई पुस्तकले महत्त्व दिएको छ । त्यस्तै, फुटुङ्गमा शिक्षा शीर्षकको खण्डमा फुटुङ्गमा भएको शैक्षिक विकास र औपचारिक शिक्षाको संघर्षपूर्ण छ दशकलाई चित्रण गरिएको छ ।

    त्यसै गरी स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनसँगै भौतिक विकासमा भएका उपलब्धि तथा सामाजिक संघसंस्थाको भूमिकाबारे चर्चा गरिएको पुस्तकले सामाजिक र चेतना विकासमा महत्त्वपूर्ण पहल भए पनि निरन्तरताको अभाव भएको यथार्थलाई औँल्याएको छ ।

    फेरिएको फुटुङ्ग शीर्षकको खण्डमा सडक, यातायात सञ्चालनबारे २०५० को दशकपछि भएका परिवर्तन तथा निजी घर र आवासमा भएको वृद्धि र सहरीकरणको घटनाक्रमको व्याख्या गरिएको छ । पहिला छुट्टै गाउँ विकास समिति भएकोमा संघीय प्रणाली लागू भएपछि अहिले तारकेश्वर नगरपालिकामा परेको फुटुङको स्थानीय विकास, कला संस्कृति र शैक्षिक–सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको परिचय र कथालाई पुस्तकमा उतारिएको छ ।

    भौतिक पूर्वाधारमा अघि बढे पनि समग्र विकासका लागि गर्नुपर्ने १७ वटा कामको सूचि राखेर पुस्तकलाई सामाजिक विकासको दृष्टिले महत्त्व दिन खोजिएको छ । स्थानीय चुनावको सन्दर्भमा आएको यस्तो सूचिले दलहरूलाई आफ्नो विकासको एजेण्डा बनाउनमा सहयोगी हुने विश्वास लेखक श्रीराम फुटुङ्गेको छ ।

  • राष्ट्रिय चलचित्र पुरस्कार : दीपकराज र सुरक्षा बने सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, उत्कृष्ट चलचित्र ‘आमा’

    राष्ट्रिय चलचित्र पुरस्कार : दीपकराज र सुरक्षा बने सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, उत्कृष्ट चलचित्र ‘आमा’

    काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कारमा दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘आमा’ सर्वोत्कृष्ट ठहरिएको छ । सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको पुरस्कार दीपकराज गिरी र सुरक्षा पन्तले पाएका छन् ।

    गिरीले २०७६ सालमा निर्मित चलचित्र ६ माया छपक्कैबाट उत्कृष्ट अभिनेता ठहरिएका हुन् । यस्तै, आमाबाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।

    यस्तै आमा चलचित्रबाटै दीपेन्द्र के खनालले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । प्रदीप भट्टराईले सर्वोत्कृष्ट कथाकारको अवार्ड जात्रैजात्राबाट पाएका छन् ।

    शीतल निवासमा आयोजित कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी थिइन् ।

  • निशानको ‘यो बन्द कोठामा’ एलिसको अभिनय

    निशानको ‘यो बन्द कोठामा’ एलिसको अभिनय

    काठमाडौं । युवा कलाकार एलिस खनालको अभिनयमा ‘यो बन्द कोठामा’ बोलको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

    ४ दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गायक निशान ढकाल ‘रियाज’ को शब्द संगीत रहेको गीतमा अरेन्ज सुलभ घिमिरेले गरेका छन् भने स्वर निशानकै रहेको छ । भिडिओ मुकेश हुमागाईले छायांकन गरेका छन् ।

    म्युजिक भिडिओमा एक विद्यार्थी सहरमा संघर्ष गर्दै गर्दा भोगेका दुःख र पीडालाई देखाइएको छ । जीवनका हर उतारचढाव, जीवनको यात्रामा आएका अवरोधलाई एलिसले अभिनयमा देखाएका छन् ।

  • पल प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्, होस्टाइल बनाइएको संकेत

    पल प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्, होस्टाइल बनाइएको संकेत

    काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

    आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

    पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।

    नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ ।

    यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।

    उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।

    बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

  • यातायात कार्यालयको फेसबुक पेजबाट ‘केजीएफ’ को प्रचार !

    यातायात कार्यालयको फेसबुक पेजबाट ‘केजीएफ’ को प्रचार !

    काठमाडौं । १४ हजार भन्दा बढी फलोअर्स रहेको गण्डकी प्रदेश नवलपुर यातायात व्यवस्था कार्यालय कावासोतीको आधिकारीक फेसबुक पेजबाट भारतीय चलचित्र केजीएफको प्रचार सामाग्री अपलोड गरिएको छ ।

    शनिवार साँझ उक्त पेजबाट ‘केजीएफ च्याप्टर टु’ को प्रचार सामाग्री अपलोड भएको थियो । तर अपलोड भएको केही समयमै उक्त सामाग्री हटाइएको छ ।

    उक्त पेजबाट सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा मिति, परीक्षाको नतिजा, ट्रायल मिति लगायतका सूचना प्रवाह गर्नका निमित्त प्रयोग हुँदै आएको थियो ।

    यातायात व्यवस्था कार्यालयले भने अहिले यो पेज आफ्नो नियन्त्रणमा नरहेको जनाएको छ । सोही पेजमा आफ्नो नियन्त्रणभन्दा बाहिर गएको पोस्ट शेयर भएको छ । साथै उक्त पेजलाई रिपोर्ट गरिदिन आग्रह समेत गरिएको छ ।

    केही दिन अगाडिबाटै फेसबुक पेज नियन्त्रणमा नरहेपछि यातायात व्यवस्था कार्यालय नवलपुर कावासोतीले नयाँ फेसबुक पेज बनाएर सूचना प्रवाह गरिरहेको छ ।

  • तेस्रो दिनमा ‘ए मेरो हजुर ४’, ९५ प्रतिशत दर्शक हलमा (तस्बिरहरू)

    तेस्रो दिनमा ‘ए मेरो हजुर ४’, ९५ प्रतिशत दर्शक हलमा (तस्बिरहरू)

    काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर ४ ले राम्रो व्यापार गरिरहेको छ ।

    प्रदर्शनको पहिलो दिन ८८ लाखको व्यापार गरेको सो चलचित्रले दोस्रो र तेस्रो दिनमा सन्तोषजनक व्यापार गरिरहेको छ ।

    प्रदर्शनको पहिलो दिन हाउस फुल रहेकोमा दोस्रो र तेस्रो दिन ९५ प्रतिशत दर्शकहरू चलचित्र हेर्नका लागि हलसम्म पुगेका छन् ।

    विहानका सबै सो हरुमा ९५ प्रतिशत दर्शक थिए । दिउँसो भने शतप्रतिशत दर्शकहरु हलसम्म पुगेका छन् ।

    आज कलाकारहरू बिहानै देखि उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

    हेर्नुहोस् आजका केही तस्बिरहरू

  • प्रदीप रोदन: ‘शेर’हरुका ‘शेर’

    प्रदीप रोदन: ‘शेर’हरुका ‘शेर’

    चिया अड्डातिर साहित्यिक अनुरागीबीचका चिया–गफ हुन्छ, ‘नेपालमा गन्नै नसकिने संख्यामा गजलकार छन् ।’ कतिले त भन्छन्, ‘असनको भीडमा पाँचवटा ढुंगो फाल्यो भने तीनवटा ढुंगो गजलकारलाई लाग्छ ।’

    गजलकारलाई हियाउने, उडाउने जमातको कमी छैन । र पनि गजल लेखिरहेका छन् प्रदीन रोदनहरु । कविता र कथा, उपन्यासका सारहरुलाई दुई लाइनको शेरमा भनिदिन सक्छन् रोदनहरु ।

    अहिले चुनावी माहौल छ । पार्टीका घोषणपत्र र पर्चाहरुको फालाफाल छ । पार्टी त्याग र प्रवेशको श्रंखला जारी छ । चुनावी रनाहले मुलुक तरंगित छ । अनि प्रदीप रोदन

    लेख्छन्–

    रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा ?
    जहाँ अन्तिम परीक्षासम्म किताब आउँदैन !

    डिसक्लेमरः

    लेखक खगेन्द्र संग्रौला गजलकारहरुलाई व्यंग्य गर्दै लेख्छन्,– ‘गजल नलेख्नू । किनभने गिनिपिगको विविधतारहित बगालको अरुचिकर सम्झना गराउने प्रायः उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निसास्सिएको छ । भो काजी, अबलाई पुग्यो । तथापि, गजलमा मात्रै अस्तित्वको घिडघिडो र अमरत्वको फिलुङ्गो देखे जम्मा एउटा गजल लेख्नू । आजीवन स्वर हल्लाउन र हाटहुटे थप्पडिको स्वागत पाउन एउटै गजल मनग्गे हुन्छ ।’

    संग्रौलाको यो डिसक्लेमर पढेपछि तपाईंहरुलाई लाग्न सक्छ, गजलकारबाट आजित भइसकेका रहेछन् खगेन्द्र संग्रौला पनि । तर, संग्रौलाले यो ‘डिस्क्लेमर’ जमानामा लेखेका हुन् । जमानामा गजल वाचनहरुले हृदय सुख्खा र खण्डहर बनाएपछि संग्रौलाले लेखेका होलान् ।

    तर, पछिल्लो समय केही गजलकार आएका छन्, जसले एउटा होइन, धेरै गजल लेखेका छन् । जसका गजलहरुले हाटहुटे थप्पडि होइन, पाठकका मन जितेका छन् । मीठो शब्दशिल्प र गहिरो अर्थसित आएका गजलका सेरहरुले पाठकका हृदयलाई भिजाएका छन् ।

    रोदनको एउटा शेर छ–

    डाक्टर सा’ब म चामल बेचेर जचाउन आएको हुँ
    बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनोस् !

    प्रदीप रोदन गोर्खा बस्छन् । शिक्षण पेशामा छन् । १७÷१८ वर्ष भइसक्यो, उनले विद्यार्थीलाई पढाउन थालेको । उनले पढाएका विद्यार्थी कहाँ कहाँ पुगिसके, उनी त्यहीँ पढाइरहेका छन् । त्यहीँ सानो गाउँको सानो टहरोमा बस्छन् । त्यहीँ सानो गाउँको सानो संसारमा डुल्छन् । अनि मानिसहरुका ठूल्ठूला दुःख लेख्छन् । मानिसहरुको मनमा गढेका चोटहरुलाई दुई लाइनको शेरमा कुँद्छन् । दुःखका फेहरिस्तहरुलाई मन्त्रजस्तो बनाइदिन्छन् । मानिसहरुका आरोह–अवरोहहरुलाई जादु जसरी लेखिदिन्छन् ।

    रोदन लेख्छन्–

    बा को काँधमा चढेर छोरा हुर्कियो
    छोराले काँध हालेकै दिन बा जले

    कहिलेकाहीँ मात्रै सहर झर्ने साइत जुर्छ रोदनको । कहिलेकाहीँ मात्रै काठमाडौंमा पाइला राख्छन् । गाउँमै छ उनको संसार, गाउँमै छ उनको दुनियाँ । गाउँका स–साना नानी र पाठशालामै छन् गजलका शेरहरु ।

    कुराकानीको क्रममा सुनाउँछन्, ‘मेरो त गोर्खातिरै बसाइ छ । अब कहिलेकाहीँ मेसो मिलेको वेला हिँड्न मिल्छ ।’

    उनलाई काठमाडौं झर्न साहित्यिक कार्यक्रमहरुको साइत जुर्नुपर्छ । नत्र किन आउने काठमाडौं ? त्यतै स–साना नानीहरुलाई भविष्यको बाटो देखाएर उनलाई फुर्सद छैन ।

    रोदन लेख्छन्–

    बच्चाहरु त असिना खेलिरहेछन्
    बाली चुटेको पिर बालाई परेको हो !

    मानिसहरुले गजललाई जति कमजोर विधा भने पनि रोदनलाई त्यस्तो लाग्दै लाग्दैन । विधा हेरेर मात्रै कलम चलाएकाहरुलाई लाग्न सक्ला । राम्रो उपन्यासकारको पनि कमजोर उपन्यास भइदिन सक्छ ।

    रोदन भन्छन्, ‘कुनै पनि विधा आफैंमा कमजोर हुँदैन । बरु हामीभित्रै चाहिँ कमजोरी होलान् ।’

    रोदन थप्छन्, ‘मेरो अनुभवमा लेखनको दुईवटा पाटा होलान् । मनलाई केन्द्रमा राख्ने कि मस्तिष्कलाई ? मेरो लेखनको स्वभाव भनेको चाहिँ हृदय हो । मेरो लेखनको इपिसेन्टर हृदय हो । हृदयलाई छुने कुराले अरुलाई पनि हुन्छ । तर्क त काटिन पनि सक्छ ।’

    रोदनको एउटा शेर छ–

    आफ्नो आफ्नो भाग्य भनेको यही हो सायद
    एक फूल मन्दिरमा पर्यो, अर्को चिहानमा पर्यो

    उनको अर्को एउटा शेर छ–

    जिन्दगी के हो भनेर सोध पहरालाई
    तिमीले जे प्रश्न गर्यौ त्यही उत्तर फर्किन्छ ।

    नेपाली गजल सामाजिक संजालमा सबैभन्दा बढी विवाद भइरहने विधा हो । संजालमा कोही छन्दको वकालत गरिरहेका हुन्छन्, कोही स्वतन्त्र गजलको वकालत गरिरहेका हुन्छन् । कोही ह्रस्वदीर्घ हेरिरहेका हुन्छन्, कोही अक्षर गनिरहेका हुन्छन् ।

    तर, रोदनलाई लाग्छ, ‘सृनाको पहिलो सर्त हो लेख्नु । नलेखिकन सृजना हुँदैन । पहिलो सर्तलाई एकातिर राखेर आलोचनातिर गएका छौं । पहिलो सिँढी नचढीकन एकैपटक दुई चार सिँढीमाथि गएर बहस गरिरहेका छौं ।’

    उनै रोदनका थप शेरहरु पढ्नुहोस्–

    हामी उमेर हुन्जेल घरको तला थप्छौं
    बूढेसकालले फेरि भुइँतला खोज्छ ।

    ०००

    तिमीलाई दुख्ला, त्योअघि निस्किएर जाऊ
    मलाई मेरै छातीमा मुड्की बजार्न मन छ !

    ०००

    काँधमा हालेको सलजस्तै हो सम्बन्ध पनि
    जसलाई बेला बेलामा मिलाइरहनु पर्छ !

    ०००

    आओ चोटहरु हो, मलाई ‘म’ बनाएर जाओ,
    कपासलाई सिरक बन्न हिर्काइरहन पर्छ !

    ०००

    पछि छाती टेकेर हिँड्छ, मुटु जलाएर हिँड्छ
    यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिँड्छ ।

    ०००

    यतिसम्म हुन्छ फर्किने रहर, फर्किन्छ ।
    एक परदेशी मरेर पनि घर फर्किन्छ ।

    ०००

    जसलाई बाटो छोड्दा म लडेँ, ऊ हाँसेर गयो
    महोदय ! अरुको भलो चिताउने त जमाना छैन ।

    ०००

    फुटपाथमा लुगा बेच्नेहरुलाई जरिवाना छ यहाँ
    कलिलो नानीको लुगा च्यात्नेलाई जरिवाना छैन ।

    ०००

    हारेर छोडेँ मैले, मनखत भयो मलाई
    छोड्नै त जित्नेले नि मैदान छोड्नपर्छ ।

    ०००

    कसैले चिन्दैनन्, यो पिर लाग्दैन मलाई
    मुख छोप्न नपरोस्, कसैले चिन्छ भनेर ।

    ०००

    उचाइ नहुनेले झर्ने पिर गर्नु पर्दैन
    म भुइँफूल हुँ र त मैले झर्नु पर्दैन ।

    ०००

    म तिमी लडेको बाटो बनाउन लागेँ
    तिमी आँसु पुछिदिनेको भइसकेछौ ।

    ०००

    मैले चामल अड्कल्ने बेलैमा हजुरलाई सम्झेको हुँ
    हजुरले चुठ्ने बेलासम्म पनि मलाई सम्झिनु भएन ।

    ०००

    बा हेर्नुस् त ! ‘खाना पाइन्छ’ लेखिएको छ त्यहाँ
    थाहा छ बाबू ! ‘सित्तैमा पाइन्छ’ लेखिएको छैन ।

  • कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी भिडिओ बनाउनेलाई पौने ३ लाख पुरस्कार

    कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी भिडिओ बनाउनेलाई पौने ३ लाख पुरस्कार

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

    कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट श्रव्यदृश्य निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    उपसमितिका संयोजक डी.बी.गुरुङद्वारा जारी विज्ञप्तिमा कांग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने उल्लेख छ ।

    यसअघि नेकपा एमालेले पनि चुनावी प्रचारका लागि टिकटक प्रतियोगिता घोषणा गरेको थियो ।

  • ‘ए मेरो हजुर ४’ ले गर्‍यो १ दिनमै ८८ लाखको व्यापार

    ‘ए मेरो हजुर ४’ ले गर्‍यो १ दिनमै ८८ लाखको व्यापार

    काठमाडौं । नयाँ वर्ष देखी प्रदर्शनमा आएको सफल चलचित्र सिरिज ए मेरो हजुरको चौथो संस्करण ए मेरो हजुर ४ ले प्रदर्शनको पहिलो दिनमा ८८ लाखको व्यापार गरेको छ ।

    बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा केजीएफ २ सँग प्रतिस्पर्धा रहेको यस चलचित्र भारतीय सिनेमाको पेलाईमा पर्ने आकलन गरिएता पनि पहिलो दिनमा भने यस चलचित्रले सन्तोषजनक कलेक्सन गरेको छ ।

    ए मेरो हजुर ४ ले उपत्यकामा हिजो मात्र ४६ लाखको कमाई गरेको र उपत्यका बाहिर ४२ लाखको व्यापार गरेको चलचित्रका वितरक गोविन्द शाहीले बताएका छन् ।

    शाहीका अनुसार आइतबार देखी चलचित्रको सो हरू पनि बढाउने तयारी रहेको छ । ‘दर्शकहरूको प्रतिक्रिया राम्रो छ आइतबार देखी हलवालाहरूले सो पनि बढाउने कुरा गरिरहेका छन् , केएल टावरले त आज देखी नै एउटा सो बढाएको छ’, शाहीले भने ।

    झरना थापा निर्देशित उक्त चलचित्रमा अनमोल केसी , सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।