Category: कलाप्रेस

  • रजतपट अंकलले छोरी अन्माउँदा सेलिब्रिटीको घुइँचो, को–को गएनन् ? (१५ तस्बिर)

    रजतपट अंकलले छोरी अन्माउँदा सेलिब्रिटीको घुइँचो, को–को गएनन् ? (१५ तस्बिर)

    काठमाडौं । ‘रजतपट अंकल’ भनेर चिनिने सञ्चारकर्मी प्रकाश सुवेदीलाई अन्तर्वार्ता दिन आजकल धेरै सेलिब्रिटीहरु हच्किन्छन् । उनको कार्यक्रममा अन्तर्वार्ता दिएर विवादमा मुछिने कलाकारहरुको सूची दिनदिनै लामो बनिरहेको छ ।

    तर, यसको मतलब सुवेदीसँग सबै कलाकारहरुको व्यक्तिगत सम्बन्ध सकिएको भने होइन । अन्तर्वार्ता दिन नआए पनि थुप्रै कलाकारहरु उनीसँग नजिक छन् । त्यसैले त प्रकाशले हिजो आफ्नी छोरी अन्माउँदा सेलिब्रिटीहरुको मेला नै लाग्यो ।

    एकाधबाहेक चलचित्र नगरीका अधिकांश परिचित अनुहारहरु विवाहमा वरबधुलाई आशीर्वाद दिन धुलिखेलको एक रिसोर्टमा उपस्थित भएका थिए ।

    बैवाहिक समारोहमा को–को सेलिब्रिटी गएभन्दा पनि को को गएनन् भन्नु सान्दर्भिक हुन्छ ।

    सुपरस्टार अनमोल केसी र सुहाना थापा परिवारसहित एकसाथ विवाहमा आएका थिए । भुवन केसी, झरना थापा, सुनील थापासहित अनमोल र सुहाना दुईवटा गाडीमा आएका थिए ।

    करिब ४५ मिनेट विवाहमा बिताएका अनमोल र सुहाना पानीपुरी खाएर एउटै गाडीमा फर्किए । भुवन, झरना र सुनील अलिबेर बसेर अर्को गाडीमा फर्किए ।

    अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापा एक सञ्चारकर्मीसँग विवाहस्थल पुगेकी थिइन् । यस्तै अभिनत्री करिश्मा मानन्धर श्रीमान विनोद मानन्धरसहित प्रकाशको निम्तो मान्न पुगिन् । नायिका आँचल शर्मा पनि श्रीमान उदीप श्रेष्ठसँग आएकी थिइन् । अभिनेत्री सञ्चिता लुइँटेल विवाहमा आए पनि उनका पति नायक निखिल उप्रेती भने देखिएनन् । वर्षा राउत श्रीमान सञ्जोग कोइरालासँग आएकी थिइन् ।

    विवाहमा पुगेका नायिकाहरुमध्ये आँचल शर्मा, नीता ढुंगाना र सञ्चिता लुइँटेलको पहिरनले चर्चा पाएको थियो । रेखा थापा र वर्षा राउत भने सामान्य पहिरनमा देखिए । सुहानाले हरियो लहेंगा लगाएकी थिइन् ।

    विवाहमा पुगेका चलचित्र क्षेत्रका अन्य चर्चित अनुहारहरुमा नीर शाह, तुलसी घिमिरे, रवीन्द्र खड्का, दिलीप रायमाझी, नीता ढुंगाना, छविराज ओझा, रामकृष्ण ढकाल, विल्सनविक्रम राई, जितु नेपाल, नम्रता सापकोटा आदि थिए ।

    को–को अनुपस्थित ?

    महानायक राजेश हमाल विवाहमा गएनन् । उनले आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए ।

    अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौला पनि अनुपस्थित रहे । ‘महानायक काण्ड’ यता प्रकाश सुवेदीसँग दीपक–दीपाको सम्बन्ध बिग्रिएको छ । प्रकाशको अन्तर्वार्तामा राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएपछि दीपा तीव्र विवादमा तानिएकी थिइन् ।

    विगतमा दीपाले प्रकाशलाई भाइटीकासमेत लगाइदिने गर्थिन् । तर, आफूलाई विवादमा पार्ने किसिमले प्रश्न सोधेर अन्तर्वार्ता प्रशारण गरेको भन्दै दीपा प्रकाशसँग रिसाएकी हुन् । अहिले पनि उनीहरुको राम्रो बोलचाल छैन ।

    यस्तै, प्रकाशसँग रिसाएकी अर्की अभिनेत्री पूजा शर्मा पनि विवाहमा आइनन् । रजतपटमा सामान्य ज्ञानको प्रश्नको जवाफ दिन नसक्दा पूजा ट्रोल भएकी थिइन् । त्यसपश्चात उनले प्रकाशसँग सार्वजनिक गुनासो गरिन् । त्यसका विरुद्ध प्रकाशले पूजालाई टेलिभिजन कार्यक्रममै ‘दाह्रा निस्केकी गायिका’ भनेर अपमानित गरेका थिए । त्यसयता प्रकाशसँग पूजाको राम्रो सम्बन्ध छैन ।

    तस्वीर सौजन्यः अनुप भट्टराई  

  • अब त्यो मरुभूमिमा फिर्ने छैनन् चन्द्र

    अब त्यो मरुभूमिमा फिर्ने छैनन् चन्द्र

    हाम्रो आँखाअघि तस्बिरमा सरक्क पल्टिदिने मरुभूमिको ‘इमेज’ कस्तो होला ? चर्को घाममा आङ सेकाइरहेको झैं देखिने आँखाले हेरुन्जेलसम्मको बालुवा नै बालुवाको मैदान । छिटफुट सिउँडीका बोटहरुमा झुलेका काँडाहरु र काँडाहरुबीच झुलेका सिउँडीका मसिना फूलहरु । हिँडेर कहिल्यै नथाकेका ऊँटका पैतालाहरु अनि ६० डिग्रीसम्म पुग्ने गर्मीको हपहपी ।

    मरुभूमि नटेकेका, तर मरुभूमिबारे अनेक कहावत सुनेकाहरुका लागि सम्भवतः मरुभूमिको सरदर चित्र यस्तै हुनसक्ला । मरुभूमिमै टेकेकाहरुका लागि भने त्यो दुःखको ज्याद्रो कहानी हो । आँसु र पसिनाको मृत सागर हो । बाध्यता र विवशताको महाकाव्य हो ।

    ‘त्यही मरुभूमिमा मैले जीवनको १५ वर्ष समय सकाएँ । त्यहाँ मेरो श्रम, पसिना र मेहनतको लामो कथा छ । तर, अब म फेरि बहराइन फर्कन्नँ’, कवि चन्द्र गुरुङ भन्छन् ।

    डेढ दशकसम्म चन्द्रलाई बहराइनमा मायावी दुःखले अल्झाइदियो । छलकपट गरिरहने दुःखसँग उनले १५ वर्ष उतै बिताइदिए । त्यही गर्मी, त्यही दुःख, त्यही विशाल मरुभूमि अनि काम ! १५ वर्षको जीवनको च्याप्टर पल्टाउँदा चन्द्रसँग यस्तैयस्तै गन्थनमन्थन छन् । डेढ दशकको रात र दिन सम्झँदा यस्तैयस्तै कहानीहरु छन् ।

    तर, यही १५ वर्षे बहराइन बसाइले चन्द्रलाई कवि बनाएर स्थापित गराइदियो । मरुभूमिमा क्षणभरमै पुरिने र मेटिने बालुवाका बाटाहरुमा चन्द्रले कविताको गोहो तयार गरे, जो कदापि मेटिनेछैन । चन्द्रका लागि बहराइन भन्नु कविता भइदियो । त्यहाँको चर्को गर्मीमा पसिना र आँसु निचोरेर कविता लेखिदिए ।

    के के पाए र गुमाए होला चन्द्रले डेढ दशकसम्ममा ? उनको छोटो उत्तर छ, ‘के के गुमाएँ, त्यसको हिसाब छैन । के पाएँ भन्दा कविता पाएँ । जसले गुमाएका सबैथोकको क्षतिपूर्ति तिरिरहन्छ ।’

    २०५५ सालमा काठमाडौंमा बीकम पढ्न आएका चन्द्र सहरका गल्लीहरुमा भौतारिएपछि पत्तो पाए, ‘योग्यताले मात्रै काम गर्दैन रहेछ ।’
    उनको पहुँच थिएन ठूला देश जान । अन्ततः साउदी हान्निए । साउदीको उडानसँगै उनले कविताको भ्रुण पनि बोकेका रहेछन् । हजारौं लिटरले भिजाउन नसक्ने मरुभूमिमा पुगेका चन्द्रलाई भने कविताका मसिना विम्ब, प्रतीकहरुले निथ्रुक्क भिजाइदियो । कविता लेखनमा रमाउन थाले । कवितामै रस बस्दै गयो । अन्ततः कवि भए ।

    तीन वर्ष साउदीमै सकियो उनको । तलबको स्केलभन्दा ज्यादा क्याल्कुलेटर दबाएर बसे । महिना दिनमा झर्ने तलबको ३० दिनभन्दा सयौं गुणा बढी तलब आउने दिन र उक्त तलबको बाँडफाँटको हिसाब गरेर निदाए ।

    कहिलेकाहीँ विरक्तिन्थे । कहिलेकाहीँ ज्यादाजसो दुःखी हुन्थे । कहिले एक्लोपनले गिँजोल्थ्यो उनलाई । तर, सँगसँगै एक्लोपनको सारथीको रुपमा कविता कर्म आइदियो । यही कविको परिचयले सम्हालिन सिके साउदीमा ।

    साउदीबाट फिरे । फेरि पढाउन सुरु गरे प्यारागन स्कुल गौशालामा । कवितासंग्रह पनि ल्याए, ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ ।
    दुई वर्षसम्म प्यारागनमै रहे । २०६२ सालतिरको समय थियो । जनआन्दोलनको चहलपहल सुरु भइसकेको थियो । कविता–किताब ल्याएका कारण कविहरु स्वप्निल स्मृति, धर्मेन्द्रविक्रम नेम्बाङ, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापोलगायतको संगतमा परे । स्कुल–डेरा–बागबजार यस्तै यस्तै दैनिकी बन्यो ।

    स्कुलको जागिर र कविता कर्मले मात्रै चन्द्रलाई काठमाडौंमा बसिरहन दिएन । धेरैथोक मिलाउनुपथ्र्यो उनले । अन्ततः फेरि उडे बहराइन ।
    उनलाई कविताको लत लागिसकेको थियो । बहराइन पुगेपछि हिन्दी कविहरुको संगतमा परे सामाजिक सञ्जालमार्फत् । अनि अनुवादक पनि बने । मरमल मसरी, तोरम महमदलगायत अरबियन कविहरूको कविता अनुवाद गरे । सन् २०१८ मा ढाका ट्रान्सलेसन फेस्टिभलमा सहभागी पनि भए ।

    हुन त रोबर्ट फ्रस्टले भनेका छन्, ‘कविताको अनुवाद गर्दा शब्दहरू हराउँछन् ।’

    ग्रैबियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिट्युड’को अनुवादक ग्रेगरी रबस्साले भनेका थिए, ‘अनुवादले मूल रचनाको बराबरी कहिल्यै गर्न सक्दैन । नजिक आउने कोसिस गर्न सक्छ । र, यसको क्षमतामात्रै उसले हासिल गरेको शुद्धताबाट जाँच्न सकिन्छ ।’
    तर, पनि चन्द्र भने अनुवादमा पनि उत्तिकै लागिरहे । भन्छन्, ‘म जबरजस्ती अनुवाद गर्ने गर्दिनँ । म पेड अनुवादक होइन । कविताप्रतिको प्रेमले गरेको हो । जुन मनपर्‍यो, त्यही गर्छु ।’

    जब जब चन्द्र कविताको लतमा परे, त्यो दुखान्तको मात्रै कथा भन्ला जस्तो देखिने मरुभूमि उनलाई मनपर्न थाल्यो । मरुभूमि एउटी सुन्दरी जस्तो लाग्छ चन्द्रलाई । ऊसँग सौन्दर्य छ । तर उजाड–उजाड अनि बाँझो । कोही आउँछ भनेर कसैलाई पर्खिरहे जस्तो । मलाई सजाउला, बेहुली बनाउला भन्ने आशामा जीवन गुजारेजस्तो । खजुरका बोटहरू हुन्छन् । मरुभूमिको त्यस्तो विषम परिस्थितिमा पनि खजुरसँग हरिया पातहरू हुन्छन् । ती पातहरू देख्दा चन्द्रलाई लाग्छ, ‘खजुरले भन्न खोजेको होला, जीवनको आश अझै बाँकी छ ।’

    सिउँडीका फूलहरू त्यस्तो मरुभूमिमा पनि फुलिरहेका हुन्छन् । ऊँट हुन्छ, जो सीमाहीन मरुभूमिमा जीवनको बाटो खोजिरहेका हुन्छन् । अनि कवि अवतारका चन्द्रलाई लाग्न थाल्यो, ‘मैले पनि त मरुभूमिमा आफैभित्र हराएको जीवनको पदचाप खोज्नुपर्छ । मरुभूमिमा त सबैभन्दा सुन्दर र रहस्यमय जीवन अल्झिएको हुँदो रहेछ ।’

    अहिले त चन्द्र नेपाल फिरेको १५ महिना भइसक्यो । १५ वर्षे बहराइन यात्रालाई बिट मारिसकेका छन् । नयाँ कविता संग्रह ल्याउने तयारीमा छन्, ‘जब एउटा मान्छे हराउँछ ।’

    बहराइनबाट बिदामा नेपाल आएका थिए । नेपाल आइसकेपछि कसोकसो उनलाई बहराइन फेरि फिर्न मन लागेन । उनी सुनाउँछन्, ‘अहिले आएर घरपरिवारलाई समय दिनुपर्छ भन्ने महसुस भयो । सधैँ पैसाको पछि लागेर पनि हुँदैन । जीवनको एउटा विन्दुमा पुगेपछि नाइँ भन्न पनि सक्नुपर्दोरहेछ ।’

    अचानक चन्द्रलाई कसोकसो फेरि उतै फर्कन मन लागेन । उता बस्दा बढी नै कवितामा डुबेर बस्थे । यता बस्दा अब कविता सँगसँगै परिवार पनि हुने भए । यसैले पनि बिदामा नेपाल आएका चन्द्र फेरि फिर्न चाहेनन् । अब सधैँका लागि नफिर्ने सोच पनि बनाएका छन् ।

    तर, १५–१५ वर्ष विदेश बसाइ त गाह्रै होला है ? चन्द्रको जवाफ छ, ‘म ढिला गएको हुँ विदेश । विदेश जाँदा ३० प्लस भइसकेको थिएँ । तर, बसाइ गाह्रो हुनु स्वाभाविक हो । विवाहित मान्छेलाई परिवारको सामीप्यको महसुस हुन्छ । याद आउँछ, सम्झना आउँछ । तर, त्यहाँको माहोल नै यस्तो हुन्छ कि बिहानदेखि रातिसम्म कामैकाम । बिदाको दिन पनि ओभरटाइमले लोभ्याएर कामैकाम । मलाई चाहिँ लेखनतिर लागेकाले सहज भयो ।’

    अहिले बितेको समयलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

    जुन समयमा परिवारसँग बस्नुपर्ने थियो, त्यो समयमा बस्न पाइएन । चाहना र रहर पनि त्यति धेरै छैन । उमेर ढल्कँदो अवस्थामा छ । देशको राजनीतिक, सामाजिक अवस्थाले विदेशिन बाध्य भएको थिएँ । ऊर्जाशील समय आफ्नै परिवारसित बिताउनुपर्ने थियो । तर, बितिहाल्यो । बित्दो रहेछ यसैयसै ।

    अहिले फर्केर हेर्दा हिजोजस्तो पनि लाग्छ । केही छुट्यो कि पनि लाग्छ । केही छुटेको जस्तो पनि लाग्दैन । जुन स्टेजमा परिवारलाई छाडेर गएको थिएँ, त्यही स्टेजमा पो छु कि जस्तो महसुस हुन्छ ।

    अनि कविता लेखनले पनि विदेश बसाइ सहज बनायो होला है ?

    विदेश बसाइलाई उपलब्धिमूलक नै मान्छु । कविताको नजिकमा पुगेँ । कवितामा रमाउन पुगेँ । कविता लेख्न थालेँ । कवितामा लागेकाले परिवारदेखि सबै प्रकारका दुःख, एक्लोपनलाई छेक्न थेरापी जस्तो बन्यो । कविताले मान्छेलाई बाँच्न पनि सहज बनाउँदोरहेछ । कविताले जिन्दगीको धेरै नजिक लाँदोरहेछ ।
    ०००
    चन्द्र गुरुङको एक कविता : जब एउटा मान्छे हराउँछ
    …..
    एउटा घाम हराउँछ
    त्यो घाम झुण्डिने आकाश हराउँछ
    आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ
    पहाडलाई भेटन आउने जून हराउँछ
    हराउँछन् रातमा जून नदेख्दा ताराहरु
    जब एउटा मान्छे हराउँछ ।

    एउटा आँगन हराउँछ
    त्यहीँ टेक्दै आउने खुट्टाहरु हराउँछन्
    ती खुट्टाका आहट पर्खी बसेको ढोका हराउँछ
    आँखाहरु देखादेख हुने झ्याल हराउँछ
    हराउँछ एउटा घर
    हराउँछ एउटा परिवारको सुगन्ध
    जब एउटा मान्छे हराउँछ ।

    दैनिकीको सुरताल हराउँछ
    आँसु थाप्ने हातको स्पर्श हराउँछ
    समयको रुपरंग हराउँछ
    चराचुरुङ्गीको मधुर चिरबिर हराउँछ
    हराउँछ मनको भित्ताबाट खुसीयालीको चित्र
    जब एउटा मान्छे हराउँछ ।

    एउटा छहरा हराउँछ
    त्यो छहराले भेट्न जाने समुद्र हराउँछ
    समुद्रसित एकान्तमा बात मार्ने वैँशालु रात हराउँछ
    रातसित हात मिलाएर गएको दिन हराउँछ
    हराउँछ दिनले उजियालो पार्ने सुन्दर संसार
    जब एउटा मान्छे हराउँछ ।

    गीतको लय हराउँछ
    शीतको विम्बले पातमाथि कोर्ने कविता हराउँछ
    मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
    कथाको एउटा पात्र हराउँछ
    हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरु
    जब एउटा मान्छे हराउँछ ।

    त्यही अनुहार आँखाभरि सम्भाल्दै बस्ने
    आमाको आशीर्वाद हराउँछ
    भत्किएको घरको डीलमा झोक्रिरहेको
    बूढो बाको भरोसा हराउँछ
    एउटा सिउँदोलाई बेर्ने अँगालो हराउँछ
    हराउँछ गालामा बस्न आउने चुम्बनको पुतली
    जब एउटा मान्छे हराउँछ ।

    एउटा नदी हराउँछ
    त्यहीँ किनारमा उदास समयमा उभिने गथ्र्यौं
    साथ उक्लने देउराली हराउँछ
    बाटोको छातीबाट एउटा पाइताला हराउँछ
    आपतमा आश्वस्त पार्ने स्वर हराउँछ
    हराउँछ सिंगो पृथ्वी
    जब एउटा मान्छे हराउँछ !

  • ऋतिकले प्रेमीकाको तरिफ गर्दै यस्तो भने

    ऋतिकले प्रेमीकाको तरिफ गर्दै यस्तो भने

    मुम्बई । बलिउड सुपरस्टार ऋतिक रोशनले हालै सामाजिक सञ्जालमा आफ्नी प्रेमिका सबा आजादको तारिफ गरेका छन् । उनले आफ्नो इन्स्टाग्राममा स्टोरी सबा स्टारर ‘द रकेट ब्वाईज’ सिरिजको पोस्टर सेयर गर्दै साबालाई आफ्नो लागि प्रेरणाको रूपमा वर्णन गरेका छन्।

    ऋतिकले दुई स्टोरी सेयर गरेका छन्, पहिलो पोस्टमा उनले ‘द रकेट ब्वाईज’ को पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हामीले यो सिरिजबाट धेरै कुरा सिक्न पाउँछौं। सम्पूर्ण टिमले अचम्मको काम गरेको छ। यो धेरै गर्वको कुरा हो।’ यो शृङ्खला हामीमध्ये एकले भारतमा बनाएका छौं।

    दोस्रो स्टोरीमा ऋतिकले सिरिजका सबै कलाकारलाई ट्याग गरेका छन् र उनीहरुको कामको तारिफ गरेका छन् । सबा आजादलाई ट्याग गर्दै ऋतिकले लेखेका छन्, ‘मैले भेटेका उत्कृष्ट अभिनेतामध्ये तिमी एक हो । तिमीले मलाई प्रेरित गर्छौं ।’

    ऋतिक र सबा हालै गोवास्थित पार्टीमा देखिएका थिए । ऋतिककी पूर्व पत्नी सुजैनले गोवामा एउटा रेस्टुरेन्ट खोलिन्, जसमा ऋतिक आफ्नी प्रेमिका सबासँग देखिएका थिए ।

    अर्कोतर्फ, सुजैन खान आफ्ना प्रेमी अर्सलान गोनीसँग पार्टी गरिरहेको देखिएकी छिन् । ऋतिक र सबा पहिलोपटक मुम्बईको एक रेष्टुरेन्टमा एक साथ हात मिलाएर हिँडेको देखिएका थिए ।

  • थप्पड प्रकरण : के विल र जाडाको सम्बन्धविच्छेद हुन लागेको हो ?

    थप्पड प्रकरण : के विल र जाडाको सम्बन्धविच्छेद हुन लागेको हो ?

    काठमाडौं । अस्कर अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक भने उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएका छन् ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीचको सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको सम्बन्धविच्छेदको खबर हलिउड फिल्म क्षेत्रमा आएको छ ।

    समाचारका अनुसार अस्कर अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर अस्कर अवार्डको घटनापछि यो विवाद भने गहिरिएको छ ।

    यदि यो रिपोर्टका अनुसार विल र जाडा अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउँनेछिन् । विल स्मिथको कूल सम्पत्ति ३५० मिलियन डलर अर्थात करिब २ हजार करोड छ । यदि यस्तो भयो भने यो उद्योगमा संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ।

    विल स्मिथले सन् २०२२ को अस्कर अवार्डमा कमेडियन क्रिस रकलाई स्टेजमा थप्पड हानेका थिए। क्रिस रकले विलकी श्रीमतीको टाउकोको बारेमा मजाक गरेकोमा उनले स्टेजमा गएर क्रिसलाई थप्पड हानेका थिए । केही दिनपछि विलले पनि यस घटनाका लागि माफी मागेका थिए ।

  • यस्तो देखियो वर्षाको मेहेन्दी (तस्बिरहरु)

    यस्तो देखियो वर्षाको मेहेन्दी (तस्बिरहरु)

    काठमाडौं । नायिका वर्षा शिवाकोटीले शुक्रबार लगनगाँठो कसेकी छन्। नायिका केकी अधिकारीले सट्याकसुटुक बिहे गरेको भोलिपल्ट वर्षाले पनि बिहे गरेकी हुन् ।

    अमेरिका बस्दै आएका आशिष गेलालसँग वर्षाको विवाह भएको हो । उनी टिकटक स्टार प्रिन्सी(प्रिज्मा खतिवडाका आफन्त हुन् ।

    वर्षा ती पुरुषसँग केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका आशिष इन्जिनियर हुन् ।

    वर्षा दुई महिनाअघि मात्रै अमेरिका गएर फर्किएकी थिइन् । त्यहीबेला विवाहको निधो भएको अनुमान गरिएको छ । विवाहमा सीमित आफन्त र साथीभाइलाइ बोलाइएको छ ।

    आफु विवाह बन्धनमा बाधिएको भन्दै वर्षाले मेहेन्दी लगाएको फोटो सार्वजनिक गरेकी थिइन् । वर्षाले सार्वजनिक गरेको मेहेन्दीको फोटोमा निकै उत्साहित देखिन्छिन् ।

    उनले विवाहको फोटो भने सार्वजनिक गरेकी छैनन् । उनीहरुले शुक्रबार रानीवनको एक होटलमा विवाह गरेका थिए ।

     

  • आखिर के हो ‘षट्कोण’ ?

    आखिर के हो ‘षट्कोण’ ?

    काठमाडाैं । आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘षट्कोण’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरियो । चलचित्रको पहिलो पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्री र निर्माता तथा अभिनेता विराज कडरिया उपस्थित थिए ।

    कार्यक्रममा निर्देशक मिलनले ‘षट्कोण’ युवाहरुको टिमले बनाएको साइकोलोजिकल थ्रिलर सिनेमा रहेको बताए । ‘हामीले नेपालमा बन्ने अन्य सिनेमाभन्दा केही फरक बनाउने कोसिस गरेका छौं । मेरो सिनेमामा हिरोहिरोइनको फाइट र नाचगान छैन’, उनले भने, ‘तर, कथा सुहाउँदो गीत चाहिँ राखेको छु ।’

    त्यसैले नेपालमा केही फरक सिनेमा निर्माण गर्ने प्रयासमा सबैको साथको खाँचो रहेको मिलनले उल्लेख गरे ।

    सिनेमाका मुख्य कलाकार कर्माले आफू नेपाली सिनेमामा स्टार बन्न नआएको बताए । त्यसैले पनि आफ्नो रोजाइमा फरक सिनेमा बढी पर्ने उनले सुनाए । अभिनेता कर्माले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भए पनि आफू तारा बन्न सिनेमा क्षेत्रमा नआएको बताए । ‘मलाई तारा बन्नु पनि छैन । स्टार भनेको चम्किरहने हो । मैले नाम त रोजेँ, त्यो बेग्लै कुरा हो । मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईंमा बसेर । तर, स्टार बन्ने मेरो इच्छा छैन ‘, उनले भने ।

    क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र यही बैशाख २३ गतेबाट नेपालभर रिलिज हुनेछ । कोरोना महामारीअगाडि नै निर्माण भएको चलचित्र सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेका थियाे । अहिले समय उत्तम लागेकाले रिलिज गर्न  लागिएको निर्माण टिमको भनाइ छ ।

    चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

    चलचित्रमा आङ्छेन लामाको छायाँकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीकाे सम्पादन रहेकाे छ ।

  • को हुन् वर्षाका श्रीमान् ?

    को हुन् वर्षाका श्रीमान् ?

    काठमाडौं । नायिका वर्षा शिवाकोटीले आज लगनगाँठो कसेकी छन्। नायिका केकी अधिकारीले सट्याकसुटुक बिहे गरेको भोलिपल्ट वर्षाले पनि बिहे गरेकी हुन् ।

    अमेरिका बस्दै आएका आशिष गेलालसँग वर्षाको विवाह भएको हो । उनी टिकटक स्टार प्रिन्सी-प्रिज्मा खतिवडाका आफन्त हुन् ।

    वर्षा ती पुरुषसँग केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका आशिष इन्जिनियर हुन् ।

    वर्षा दुई महिनाअघि मात्रै अमेरिका गएर फर्किएकी थिइन् । त्यहीबेला विवाहको निधो भएको अनुमान गरिएको छ । विवाहमा सीमित आफन्त र साथीभाइलाइ बोलाइएको छ । धेरै चलचित्रकर्मीहरू उनको विवाहबारे जानकार छैनन् ।

  • अमिताभदेखि शाहरुखसम्म, कुन बलिउड कलाकारको कति थियो पहिलो पारिश्रमिक ?

    अमिताभदेखि शाहरुखसम्म, कुन बलिउड कलाकारको कति थियो पहिलो पारिश्रमिक ?

    काठमाडौं । बलिउडमा नाम चलेका प्राय सबै कलाकार अहिले करोडपति छन् । एकदमै नाम चलेका सुपरस्टार अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार लगायतका कैयौँ कलाकारहरूले त एउटा फिल्ममा सय करोडसम्मको आम्दानी गर्ने गरेको बताइन्छ ।

    हाल करोडौँमा खेलिरहेका यी बलिउड सुपस्टारहरुले आफ्नो जीवनको पहिलो पारिश्रमिक कति लिएका थिए होलान् ? आज हामी बलिउडका केही चर्चित सुपरस्टारहरूको पहिलो पारिश्रमिक बारे चर्चा गर्ने छौँ ।

    अक्षय कुमार

    हाल बलिउडमा सर्वाधिक कमाइ गर्ने सुपरस्टारको रूपमा स्थापित अक्षय कुमारले आफ्नो जीवनको पहिलो पारिश्रमिकको रूपमा १५ सय भारु प्राप्त गरेका थिए ।

    बलिउडमा आउनु पूर्व बैंककमा सेफको रूपमा कार्यरत रहँदा उनले सो पारिश्रमिक प्राप्त गरेको एक अन्तरवार्तामा बताएका छन् ।

    शाहरुख खान

    शाहरुख खान हाल बलिउडमा किङ्ग खानको नामले चिनिन्छन् । यती मात्र नभएर शाहरुख विश्वकै सर्वाधिक लोकप्रिय अभिनेता पनि हुन् । चलचित्र र विज्ञापन मार्फत बलिउडका धनाढ्य अभिनेताका रूपमा स्थापित शाहरुखको पहिलो कमाइ मात्र ५० भारु थियो । उनले सो पारिश्रमिक पंकज उदासको कन्सर्टमा काम गर्ने समयमा प्राप्त गरेका थिए ।

    अमिताभ बच्चन

    बलिउडमा एङ्ग्री योङ्ग म्यानको नामले चिनिने अमिताभ बच्चन फिल्म क्षेत्रमा आउनु पूर्व कलकत्ताको एक शिपिङ कम्पनीमा काम गर्थे जहाँ उनको कमाइ मात्र ५०० भारु थियो ।

    प्रियंका चोपडा

    हाल बलिउडमा मात्र नभएर हलिउडमा समेत नाम कमाइ सकेकी प्रियंका चोपडाले मोडलिङ मार्फत नै पहिलो कमाइ गरेकी थिइन् र उनको पहिलो कमाइ थियो ५ हजार भारु ।

    दीपिका पादुकोण

    हाल दीपिका बलिउडकी सर्वाधिक कमाइ गर्ने नायिका मध्येमा पर्छिन् । फिल्म सँगसँगै उनी पनि विभिन्न ब्राण्डहरुसँग अनुबन्धित छन् । यद्यपि उनको पहिलो कमाइ भने मात्र २ हजार भारु मात्र थियो ।

    आमिर खान

    थोरै तर अत्यधिक सफल हुन सक्ने प्रबल सम्भावना बोकेका चलचित्र मात्र खेल्ने अभिनेताको छवि बनाएका आमिर खानले पहिलो कमाइ चलचित्र बाटै गरेका थिए । उनको पहिलो पारिश्रमिक थियो ११ हजार भारु ।

  • बलिउडका ‘हाईएस्ट पेड एक्टर’ अक्षय कुमारको ब्राण्ड भ्यालू एक हजार करोड बढी

    बलिउडका ‘हाईएस्ट पेड एक्टर’ अक्षय कुमारको ब्राण्ड भ्यालू एक हजार करोड बढी

    मुम्बई । चर्चित बलिउड सुपरस्टार कुमार अक्षय सुर्तीजन्य पदार्थ कम्पनीसँग सम्झौता गरेर फेरि एकपटक चर्चामा आएका छन् । केही समययता पान मसला बेच्ने कम्पनीको विज्ञापन गरेको कारण अक्षय ट्रोल हुँदै आएका थिए । सम्झौता सकिएपछि अभिनेताले यसबारे माफी मागेका छन् र अनुमोदनबाट कमाएको रकम समाजसेवामा खर्च गर्ने भएका छन् ।

    विराट कोहली र रणवीर सिंहपछि अक्षय कुमार भारतको तेस्रो ब्रान्ड भ्यालू सेलिब्रेटी हुन् । उनी फिल्मको साथसाथै विज्ञापन, प्रोडक्सन हाउस र व्यक्तिगत लगानीबाट पनि मनग्य आम्दानी गर्छन् । अक्षयसँग रसना, हार्पिक, नीति बजार, डलर क्लब जस्ता ठूला कम्पनीका धेरै ठूला विज्ञापन छन् ।

    चलचित्र बराबर विज्ञापनबाट कमाइ गर्छन् अक्षय

    अक्षय कुमार हरेक वर्ष सबैभन्दा धेरै फिल्म दिन्छन्, तर उनी फिल्मभन्दा विज्ञापनबाट बढी कमाइ गर्छन् । अक्षयले हरेक विज्ञापनको करिब ६ करोड शुल्क लिने गरेका छन् । हाल अक्षयसँग होन्डा, रसना, माइक्रोम्याक्स, पोलिसी बजार, डलर क्लब, रिभाइटल एज, लिभगार्ड, सुथोल, प्रिन्स पाइप्स, लोढा ग्रुप, लिभर आयुष जस्ता दर्जनौं कम्पनीका विज्ञापन छन्। तिनीहरूको ब्रान्ड मूल्य १४ करोड डलर रहेको छ ।

    हरेक वर्ष ४–५ वटा फिल्म दिने अक्षय कुमार बलिउड इन्डस्ट्रीको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । फिल्म र ब्रान्डका साथै अक्षयले फिल्म निर्माण गरेर पनि मनग्य आम्दानी गरेका छन् । सन् २००८ मा अक्षयले हरि ओम प्रोडक्सन हाउस सुरु गरेका थिए । २०१२ मा, अक्षयले अर्को उत्पादन कम्पनी, ग्रेजिङ गोट पिक्चर सुरु गरे।

    अक्षय कुमार विश्व कबड्डी लीग टोली खालसा वारियरका मालिक हुन् जसलाई बलिउड सिनेमाको मिस्टर बैंकर पनि भनिन्छ। यी सबै पक्षको लगानीसँगै अक्षय उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन्। अभिनेताले तीन सय करोडभन्दा बढीको व्यक्तिगत लगानी गरेका छन् । उनले २०२० मा केयर कोषमा २५ करोड रुपैयाँ डोनेसन गरेका छन्।

    अक्षय कुमार २७३ मिलियन डलर अर्थात करिब २०५० करोडको सम्पत्तिका मालिक हुन् । उनले करिब १०० फिल्ममा अभिनय गरिसकेका छन् । उनीसँग मर्सिडिज बेन्ज, बेन्टले, होन्डा सीआरभी र पोर्शलगायत ११ वटा लक्जरी कारको कलेक्सन छ। अक्षय जुहु मुम्बईमा बस्छन्।

  • दीपेन्द्रको ‘के घर के डेरा’मा सुरक्षा अनुबन्धित

    दीपेन्द्रको ‘के घर के डेरा’मा सुरक्षा अनुबन्धित

    काठमाडाैं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने ‘के घर के डेरा’ चलचित्रमा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । गत आइतबारमात्रै ‘आमा’ चलचित्रकाे लागि राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी अभिनेत्री पन्तसँग निर्माण टिमले शुक्रबार ‘के घर के डेरा’को मुख्य भूमिकामा औपचारिक रुपमा लिखित सम्झौता गरेको हो ।

    सुरक्षाको प्रवेशसँगै चलचित्रमा चार जना मुख्य कलाकार भएका छन् । यसअघि अभिनेता दयाहाङ राई, विपीन कार्की, वर्षा राउत र रवीन्द्र झा फाइनल भएका थिए । चलचित्र बैशाख २२ गतेबाट छायाँकनमा जानेछ । चलचित्रको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।

    ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायाँकन रहेको चलचित्र आगामी वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य रहेकाे निर्माण टिमले जनाएकाे छ । चलचित्र वितरणको जिम्मा जीजीए ग्रुपले लिएको छ ।

  • वर्षा शिवाकोटी इन्जिनियर प्रेमीसँग आज लगनगाँठो कस्दै

    वर्षा शिवाकोटी इन्जिनियर प्रेमीसँग आज लगनगाँठो कस्दै

    काठमाडौं । नायिका केकी अधिकारीले सट्याकसुटुक बिहे गरेको भोलिपल्ट अर्की नायिकाले पनि उही शैलीमा लगनगाँठो कस्दैछिन् । आज गोप्य तवरले विवाह गर्न लागेकी यी नायिका हुन् वर्षा शिवाकोटी ।

    अमेरिका बस्ने एक पुरुषसँग वर्षाले आज विवाह गर्न लागेको निकट स्रोतले बतायो । ती पुरुषसँग उनी केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका ती पुरुष इन्जिनियर हुन् ।

    वर्षा दुई महिनाअघि मात्रै अमेरिका गएर फर्किएकी थिइन् । त्यहीबेला विवाहको निधो भएको अनुमान गरिएको छ । विवाहमा सीमित आफन्त र साथीभाईलाइ बोलाइएको छ । धेरै चलचित्रकर्मीहरु उनको विवाहबारे जानकार छैनन् ।

  • पुजा शर्माको दुखेसो: मेरो हरेक फिल्मको अफर पहिले अनमोलकहाँ जान्छ, तर सँगै काम गर्न जुरेन

    पुजा शर्माको दुखेसो: मेरो हरेक फिल्मको अफर पहिले अनमोलकहाँ जान्छ, तर सँगै काम गर्न जुरेन

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार अनमोल केसीसँग काम गर्न धेरै नायिकाहरु लालायित छन् । तर, वर्षमा एउटा मात्रै फिल्म खेल्ने भएकाले उनीसँग काम गर्ने मौका थोरैलाई मात्रै जुर्छ । त्यसमाथि उनले हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग काम गर्ने गरेका छन् ।

    अनमोलसँग काम गर्न आतुर नायिकाहरुको सूचीमा आउँछिन् पुजा शर्मा पनि । आफैंले फिल्म निर्माणसमेत गर्ने गरेकी पुजाले हिजो सार्वजनिक रुपमा नै अनमोलसँग काम गर्न नजुरेको दुखेसो पोखिन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ हेर्न हलसम्म पुगेका बेला सञ्चारकर्मीसँग उनले यस्तो दुखेसो गरेकी थिइन् ।

    पुजाले चलचित्रमा अनमोल र नायिका सुहाना थापाको अभिनयको खुलेर तारिफ गरिन् । चलचित्र राम्रो बनेको भन्दै उनले निर्देशक झरना थापालाई धन्यवाद दिइन् ।

    पूजालाई सञ्चारकर्मीले अनमोलसँग एकसाथ पर्दामा देखिने सम्भावनाबारे सोधेका थिए ।

    जवाफमा उनले भनिन्, ‘अनमोल र म एकैसाथ ईन्डस्ट्रीमा आएका हौं । उसको कलाकारितामा निखर आएको देखेर म एकदमै खुसी छु । तर खोई लक नभएको हो कि नजुरेको हो, कहिल्यै एकसाथ पर्दामा सँगै हुन पाइएन ।’

    त्यसो त पुजा र अनमोलको भेट नै ७ वर्षपछि भएको हो । तर, आफूले निर्माण गरेका हरेक चलचित्रमा अनमोललाई पहिले अफर गर्ने गरेको पूजाले सुनाइन् ।

    ‘मैले चलचित्र बनाउँदा होस् या मैले खेलेको चलचित्रमा, सुरुमा अफर अनमोललाई नै जान्छ । तर सायद फिल्म जुधेर हो या कामको व्यस्तताले कहिल्यै अवसर जुरेन,’ पूजाले भनिन् ।

    अनमोलले आफू पूजाको ठूलो फ्यान भएको बताउँदै अब छिट्टै एकसाथ काम गर्ने आश्वासन दिए ।

    स्मरणीय छ कि, यसअघि पुजाले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रिमियरमा निम्तो पाएर पनि अनमोल गएका थिएनन् । यसमा पूजाको चित्तदुखाइ पनि थियो । हिजो भेट हुँदा सञ्चारकर्मीकै अगाडि पूजाले आफ्नो चलचित्र हेर्न नआएको भन्दै जिस्केर अनमोलको कान निमोठिदिएकी थिइन् ।

  • गृहमन्त्री खाण र कलाकार तथा चलचित्र निर्माताविच भेटवार्ता

    गृहमन्त्री खाण र कलाकार तथा चलचित्र निर्माताविच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्मातासँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् ।

    नागरिकलाई राष्ट्र, राष्ट्रियता, सस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाणले बताए । भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याउन पहल गरिदिन गृहमन्त्री खाणलाई आग्रह गरेका थिए ।

    साथै कलाकारका समस्या सुन्न गृह मन्त्रालयमा बोलाएकोमा कलाकर्मीले गृहमन्त्रीलाई धन्यवादसमेत दिएका थिए । भेटमा नायक भुवन केसी, नायिका एवं हास्य कलाकार दिपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतले गृहमन्त्रीले आफूहरूलाई मन्त्रालयमा बोलाएर आफ्ना समस्या राख्न दिएकोमा आभार व्यक्त गरेका थिए ।

    उनीहरुले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने उर्जा प्रदान गरेकोसमेत बताए । चलचित्र निर्माणमा भोग्नु परेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराउँदै उनीहरुले त्यसमा सहजीकरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह  गरेका थिए । गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी भएकाे भेटमा विदेशी चलचित्रले नेपालबाट बाहिर पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्रयाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले नेपाली चलचित्रलाई विदेशमासमेत चल्न सक्ने नीति निर्माणको पहल गरिदिन आग्रह गरेका थिए ।

  • यसरी भयो केकी र रोहितको विवाह

    यसरी भयो केकी र रोहितको विवाह

    काठमाडौं । नायिका केकी अधिकारी व्यवसायी रोहित तिवारीसँग विवाह वन्धनमा बाँधिएकी छन् । उनीहरुले आज एउटा सानो समारोहमा परम्परागत तवरले लगनगाँठो कसेका हुन् ।

    विवाहपश्चात केकीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विवाहको शुभ समाचार बाँड्न पाएको आफू हर्षित रहेको बताएकी छन् । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा आफूहरुले सबैको आशिर्वादको अपेक्षा राखेको उनीहरुले बताएका छन् ।

    ‘यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं,’ उनले भनेकी छन् ।

    करिब एक वर्षको प्रेम सम्वन्धपछि केकी र रोहितले दाम्पत्य जीवन सुरु गरेका हुन् ।

  • ए मेरो हजुरले पहिलो सातामा कमायो ४ करोड १० लाख

    ए मेरो हजुरले पहिलो सातामा कमायो ४ करोड १० लाख

    काठमाडौं । भारतीय चलचित्रको दवदवाका बीच झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ ले पहिलो सातामा सुखद व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार गत बिहिबार रिलिज भएको चलचित्रले ७ दिनमा ४.१ करोड रुपैयाँ कलेक्सन गरेको हो । यद्यपि, चलचित्रको लगानी सुरक्षित भइसकेको छैन ।

    महंगो बजेटमा बनेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ को होहल्लाबीच ‘ए मेरो हजुर ४’ को व्यापार संशयमा परेको थियो । सिनेमा हलहरुले केजीएफ २ लाई काखी च्याप्दै नेपाली चलचित्रलाई सिमित शोमा खुम्च्याएका थिए । यसका बाबजुद अनमोल केसीको स्टार पावर र बलियो ब्रान्डको बलमा चलचित्र ‘हिट’ हुनेतर्फ अग्रसर भएको हो ।

    चलचित्रले पहिलो दिन बिहिबार ८८ लाखको व्यापार गरेको थियो भने दोस्रो दिन ६६ लाख र तेस्रो दिन शनिबार ८९ लाख ग्रस कलेक्सन गरेको थियो । त्यसपछिका चार दिनमा क्रमस ४५ लाख, ४१ लाख, ३६ लाख र ३६ लाखको व्यापार गर्दै ४ करोड कलेक्सन नघाएको हो । आउँदो शनिबार चलचित्रले उच्च व्यापार गर्ने निर्माण पक्षको आशा छ । अर्को साता पनि अहिलेको रफ्तारलाई निरन्तरता दिएको खण्डमा चलचित्रले निर्मातालाई नाफा दिलाउने सम्भावना छ ।

    चलचित्र रिलिजअघि केजीएफसँग तुलना गरेर सामाजिक सञ्जालमा नेपालीहरुले नै ए मेरो हजुरलाई ट्रोल गरेका थिए । रिलिजपछि भने चलचित्रले सुखद प्रतिक्रिया पाइरहेको छ । अभिनेता अनमोल केसीले चलचित्रको व्यापारिक विवरण पोष्ट गर्दै दर्शकलाई धन्यवाद दिएका छन् ।

    करिब ३ करोडको लागतमा बनेको फिल्मले लगानी उठाउनका लागि मात्रै ७-८ करोडको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ ।

  • यी हुन् सलमान खानको कन्सर्टमा प्रस्तुति दिने नेपाली सेलिब्रेटी

    यी हुन् सलमान खानको कन्सर्टमा प्रस्तुति दिने नेपाली सेलिब्रेटी

    काठमाडौं । चर्चित बलिउड सुपरस्टार सलमान खानको आगामी महिना हुन गइरहेको ‘दबङ टुर’ कन्सर्टमा १ दर्जनभन्दा बढी नेपाली कलाकारहरुले पनी प्रस्तुती दिने भएका छन् ।

    आयोजक कम्पनी ओडीसीले आज बिहीबार सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको नाम सार्वजनिक गरेको हो।

    ओडीसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले जानाकारी गराए अनुसार कन्सर्टमा शिव परियार, सुबानी मोक्तान , त्रिशला गुरुङ, सबीर श्रेष्ठ, रोहित शाक्य, सुशान्त केसी, संगीता दुलाल टुनाबेल थापा, स्वप्न सुमन , डिजे प्रेम र रेडमसले डिजेइङको सांगितिक प्रस्तुति रहने छ भने माला लिम्बु र मुना गौचनले नृत्य प्रस्तुत गर्ने छन् ।

    यस बाहेक पनि अझ केही नेपाली कलाकार थपिन सक्ने आयोजकको भनाइ छ । जेठ १४ गते दशरथ रगंशालामा आयोजना हुने उक्त कन्सर्टमा नेपाली सेलीब्रेटीहरुले २ घण्टाभन्दा बढी समयको लागि प्रस्तुति दिने सिमान्तले बताए ।

    कन्सर्टमा बलिउडका सुपरस्टार सलमान खानसँगै प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फन्ड्यान्डिस, कट्रिना केफ गुरु रन्धवालगायतका कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

  • रोहित र एन्जिलाको अभिनयमा ‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडिओ)

    रोहित र एन्जिलाको अभिनयमा ‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘चुपचाप मन पराएँ’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओमा रोहित बस्नेतले अभिनय गरेका छन् ।

    गाउँको एक धनि परिवारको घरमा काम गर्ने कामदार रुपमा अभिनय गरेका बस्नेतले घरबेटीको छोरीको रुपमा अभिनय गरेकी एन्जिला बानियाँसँग भिडिओमा रोमान्स गरेका छन् ।

    प्रमोद भट्टराईको शब्द तथा रचना रहेको उक्त गीतको कृति न्यौपानेले संगीत भरेका हुन् । भिडिओलाइ ओमप्रकाश अवस्थी निर्देशन गरेका हुन् ।

     

  • प्रियंका चोपडाकाे छोरीको नाम मालती

    प्रियंका चोपडाकाे छोरीको नाम मालती

    मुम्बई । प्रियंका चोपडा र निक जोनस २०२२ जनावरी १५ मा सरोगेसीमार्फत छोरीका आमाबुवा बने। तर, दुवैले आफू छोरीको आमाबुवा बनेका हौं भन्ने पुष्टि भने गरेका छैनन् ।

    अन्तर्राष्ट्रिय सञ्चरमाध्यमका अनुसार प्रियंका र निक छोरीको आमाबुवा बनेका छन् र उनीहरुले छोरीको नाम पनि राखेका छन् । प्रियंकाले छोरीको नाम मालती म्यारी चोपडा जोनास राखेकी छिन् ।

    उनीहरुले मालती म्यारी चोपडा जोनासको जन्मदर्ता गरिसकेको हलिउड पोर्टल टीएमजेडले जनाएको छ । यस जन्मदर्ताका अनुसार मालतीको जन्म जनवरी १५ मा क्यालिफोर्नियाको सान डिएगोमा राति ८ बजेपछि भएको थियो ।

    मालती शब्द संस्कृतबाट आएको हो, यसको अर्थ सुगन्धित फूल र चाँदनी हो । भने म्यारी ल्याटिन भाषा स्टेला मारिसबाट आएको हो। यसको अर्थ समुद्री तारा हो। यसको एक बाइबलीय नाम पनि छ, जसको फ्रान्सेलीमा अर्थ मरियम, येशूकी आमा हो।

    प्रियंका र निकले सामाजिक सञ्जालमार्फत आमाबुवा बनेको खबर सार्वजनिक गरेका थिए । प्रियंकाको बच्चाको जन्म चिकित्सकले दिएको समयभन्दा १२ साता पहिले नै भएको थियो ।

  • ‘ए मेरो हजुर ४’ हेर्न जब एक साथ सिनेमा हल पुगे राजेश, शिव र भुवन

    ‘ए मेरो हजुर ४’ हेर्न जब एक साथ सिनेमा हल पुगे राजेश, शिव र भुवन

    काठमाडौं । नेपाल चलचित्र क्षेत्रका तीन पुराना हस्ति शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालको आपसी सम्बन्धलाई लिएर मिडियामा बारम्बार चर्चा हुने गर्छ । केही समयअघिको महानायक काण्डमा खासगरी भुवन–शिव एकातिर र राजेश अर्कोतिर देखिएका थिए ।

    आ–आफ्नो कालखण्डमा नेपाली चलचित्रलाई काँधमा बोकेका यी तीन अभिनेता हिजो एकसाथ सिनेमा हलमा देखापरे । नेपाली चलचित्रको उत्थानमा चलचित्रकर्मीहरुबीच नै एकता हुन नसकिरहेको टिप्पणीकाबीच उनीहरु ‘ए मेरो हजुर ४’ हेर्न एकसाथ सिनेमा हल पुगेका हुन् । भुवनका पुत्र अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्मलाई सबैले एकसाथ सह्राहना पनि गरे ।

    फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिव श्रेष्ठले अहिलेसम्म कुनै पनि फिल्म हेरेर यति नरोएको प्रतिक्रिया दिए ।

    उनले भने, ‘यो चलचित्रले मेरो मुटुमा छोयो । अब नेपाली चलचित्रलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन । यति ठूलो बजेटको हिन्दी चलचित्रसँग पनि लडेर ए मेरो हजुरले हासिल गरेको सफलता चानचुने होइन ।’

    हमालले पनि आफूलाई फिल्म मन परेको बताए । फिल्म हेर्दा इन्जोइ गरेको भन्दै उनले प्रस्तुती र निर्देशनको प्रशंसा गरे । सबै पक्षबाट राम्रो चलचित्र बनेको छ, दर्शकले साथ दिनुहुनेछ,’ उनले भने ।

    तीन अभिनेताबीच ख्यालठट्टा पनि चलेको थियो । भुवनले शिव श्रेष्ठको छोराको फिल्म आफूले हेरेको र शिवले आफ्नो छोराको फिल्म हेरेको भन्दै अब राजेशको छोराको फिल्म हेर्ने चाहना लागेको बताए ।

    राजेशले पुरानै ठट्टा दोहो¥याए, ‘म त अहिले बच्चै छु, बच्चाको बच्चा हुन टाइम लाग्छ नि ।’

    शिवले पनि ठट्टा गर्दै भने, ‘हामी यसमा राजेशलाई पूरा साथ दिनेछौं ।’

    राजेशले जवाफ दिए, ‘होइन, मलाई यसमा सहयोग चाहिँदैन । म आफ्नै मिहिनेतले जन्माउँछु ।’

    शिवले भने, ‘तपाईंको छोरालाई फिल्म खेलाउन साथ दिने भनेका हौं ।’

    निर्देशक झरना थापाले सिंगो फिल्म इन्डष्ट्री आफ्नो साथमा रहेको महसुस भएको प्रतिक्रिया दिइन् । ‘सबैको साथ सहयोग र आशिर्वादका लागि एकदमै आभारी छु,’ उनले भनिन् ।

    अनमोलले पनि यो क्षण आफ्नो लागि निकै महत्वपूर्ण भएको बताए ।

    तस्बिर स्रोत : रुटिन अफ नेपाल बन्द

  • अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

    अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

    काठमाडौं । चर्चित बलिउड सुपरस्टार अक्षय कुमार बलिउडका सबैभन्दा अनुशासित स्टारको रुपमा चिनिन्छन् । जहाँ पनि समयमै पुग्ने, स्वास्थ्यमा अत्याधिक ध्यान दिने र सामाजिक सेवामा पनि लागि पर्ने बलिउडका खेलाडी कुमारले हालै भने आफ्ना फ्यानहरुसँग माफि माग्नु परेको छ ।

    त्यो पनि एउटा विज्ञापनको विषयलाई लिएर । वास्तवमा कुरो के हो भने अक्षयले हालै मात्र पान मसला बेच्ने एउटा कम्पनीको लागि इलाईचीको विज्ञापन गरेका थिए । उक्त विज्ञापनमा अक्षयसँग शाहरुख खान र अजय देवगन पनि थिए ।

    यधप्पी पान मसला गुटखा, चुरोट आदीको खुलेर खण्डन गर्ने गरेका अक्षयले आँफै एक पान मसला कम्पनीको विज्ञापन गरेको भन्दै उनको सामाजिक संजालमा खुब आलोचना हुन पुग्यो । उनी ट्रोलको शिकार पनि भए । तत्त पस्चात उनले आफूबाट गल्ती भएको भन्दै फ्यानहरुसँग माफी मागेका हुन् ।

    उनले उक्त कम्पनीमार्फत प्राप्त पारिश्रमिक पनि कुनै एउटा राम्रोकामको लागि दान गरिदिने र अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने पनि घोषणा गरेका छन् ।

    सामाजिक संजालमा उनी लेख्छन् , ‘मलाई माफ गरिदिनुहोस्, मेरा फ्यान र मेरा सबै शुभचिन्तकहरुसँग म माफी माग्न चाहन्छु । पछिल्लो केही समयमा तपाईंहरुले दिएको प्रतिकृयाले मलाई अत्यन्तै प्रभावित पारेको छ । मैले कहिल्यै पनि तम्बाकुको प्रचार गर्ने गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन । तपाईंहरुको भावनालाई कदर गर्दै म यो भन्न चाहन्छु कि मैले केवल उक्त कम्पनीको इलार्इचीको प्रचार गरेको हुँ तर पनि मैले अब उक्त कम्पनीसगँ कुनै पनि कामको लागि नजोडीने निर्णय गरेको छु । मैले हालैको विज्ञापनबाट प्राप्त सबै पारिश्रमिक पनि दान गर्ने निर्णय गरेको छु । मैले उक्त कमपनीसँग गरेको सम्झौताको आधारमा उक्त विज्ञापन केही समयसम्म प्रसारण भने भइराख्ने छ तर आगामी दिनहरुमा यस्ता निर्णय गर्नुपूर्व एकदमै होस् पुर्याउने छु ।’