Category: कलाप्रेस

  • समिक्षा अधिकारीको नयाँ स्टाटस: आफ्नो नजरबाट गिर्नु नपरोस् !

    समिक्षा अधिकारीको नयाँ स्टाटस: आफ्नो नजरबाट गिर्नु नपरोस् !

    काठमाडौं । गायिका समिक्षा अधिकारी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छिन् । स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनी अहिले सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी हुन् ।

    केही दिनअघि उनले ‘तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी थिइन् । पछि त्यसमा संशोधन गर्दै उनले यो एउटा गीतको अंश भएको उल्लेख गरिन् ।

    आज समिक्षाको अर्को नयाँ स्टाटस आएको छ । उनले एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’

    यो स्टाटसमार्फत उनले कुन सन्दर्भलाई ईंगित गर्न खोजेकी हुन् भन्ने त स्पष्ट नै छ । जे होस स्टाटसमा उनलाई सबैले राम्रै प्रतिक्रिया दिइरहेका छन् ।

  • कलाकारहरूले पनि गरे मतदान (तस्बिरहरू)

    कलाकारहरूले पनि गरे मतदान (तस्बिरहरू)

    काठमाडौं । स्थानीय चुनाव २०८९ आज सम्पन्न भएको छ । सबै देशवासीले जस्तै चलचित्र क्षेत्रका सेलिब्रेटीहरु पनि चुनावमा उत्साहपूर्वक सहभागी भए ।

    कतिपय कलाकारले चुनावमा भोट हालेका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले भोट खसाइरहेको तस्बिर पोस्ट गर्दै लेखे– मैले त मतदान गरेँ, तपाईँले गर्नुभयो ?

    अभिनेत्री करिश्मा मानन्धरले पनि श्रीमान् र छोरीसँगै मतदान गर्न गएको तस्बिर सार्वजनिक गरेकी छन् । उनीहरूसँग वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा पनि देखिन्छन् ।

    यस्तै, अभिनेत्री सञ्चिता लुइँटेल, सरिता लामिछाने, मनोज गजुरेल लगायतले पनि सामाजिक सञ्जालमा भोट हालेको तस्बिर पोस्ट गरेका छन् ।

  • अनमोलको ठाउँमा भित्रिए बलिउड अभिनेता अभिमन्यु, छिन्लान् त अनमोलको स्टारडम ?

    अनमोलको ठाउँमा भित्रिए बलिउड अभिनेता अभिमन्यु, छिन्लान् त अनमोलको स्टारडम ?

    काठमाडाैं । दिवाकर भट्टराईद्वारा निर्देशित चलचित्र ‘हनी बनी’ को छायांकन सुरु हुने भएको छ। नायकनायिका नै फाइनल हुन गाह्रो परेको यो चलचित्रमा अन्ततः मुख्य भूमिकामा बलिउडका मोडल तथा अभिनेता अभिमन्यु तोमर अनुबन्धित भएका छन् । अभिमन्यु भित्रिनुअघि उक्त चलचित्रमा अनमोल केसीले अभिनय गर्ने तयारी थियाे ।

    चलचित्र ‘हनी बनी’ मा तोमरले नेपाली नायिका जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्नेछन् । नायिकाकै कुरा गर्ने हो भने जसिता अगाडि नायिका सारा सिपाइलीले यो चलचित्र गर्ने कुरा थियो । तर, साराको लन्डनको भिसा नआएपछि निर्माण टिमले जसितालाई लन्डनमै अनुबन्धित गरेको थियो । चलचित्रमा नायक सलोन बस्नेतलाई पनि मुख्य भूमिकामा देख्न सकिनेछ । छायांकनको लागि सलोन पनि लण्डन पुगिसकेका छन् ।

    चकलेटी अनुहार र आकर्षक व्यक्तित्व भएका तोमरले अनमोलको ठाउँ लिन सक्लान् त भन्ने धेरैमा कौतुहल छ । अभिमन्यु र जसिताको जोडी दर्शकले मन पराउलान् या नपराउलान् अथवा अनमोलको स्टारडम खोस्लान् या नखोस्लान्, त्यो त आउने दिनमा थाहा हुने नै छ।

    को हुन् अभिमन्यु ?

    दिल्लीमा जन्मिएका अभिमन्यु तोमरले सन् २००९ देखि ‘इमेज बजार’ को लागि फोटोसुट गरेर आफ्नो मोडलिङ करियर सुरु गरेका थिए । उनले थुप्रै चर्चित फेसन डिजाइनरहरूको लागि र्‍याम्प वाकसमेत गरिसकेका छन् । उनलाई ‘स्प्राइट’, ‘ग्याट्सबी’ र ‘सुजुकी एक्सेस १२५’ जस्ता ब्रान्डका टीभी विज्ञापनहरूले पनि फिचर गरिसकेका छन् ।

    सन् २०१९ मा अभिमन्युले दिव्या खोस्ला कुमार र शिविन नारंगसँग ‘याद पिया कि आने लगी’ गीतको म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनको यो गीतले थोरै समयमै धेरै चर्चा बटुलेकाे थियो। गीत तुरुन्तै हिट भयो र रिलिजको केही दिनमा नै २० मिलियन भ्यूज पार गरेको थियो।

  • १९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ

    १९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ

    न्यूयोर्क । अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो पेन्टिङ न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो ।

    पेन्टर एन्डी वारहोलले अभिनेत्री मुनराेको मृत्यु भएको दुई वर्षपछि सन् १९६४ मा यो पेन्टिङ बनाएका थिए । लिलामीबाट प्राप्त रकम अनाथहरूलाई सहयोग गरिनेछ ।

    मुनरोको पेन्टिङको नाम ‘शट सेज ब्लू मर्लिन’ हो । यो कलाकृति म्यानहट्टनस्थित क्रिस्टीको मुख्यालयमा चार मिनेटमा १९५ मिलियन डलरमा बिकेकाे हाे । बिक्रीसँगै यो चित्र २० औं शताब्दीको सबैभन्दा महंगो कलाकृतिमा दरिएको छ । तर, चित्र किन्ने व्यक्तिको परिचय भने खुल्न सकेको छैन । लिलामीकर्ताले सोमबार राति यो कलाकृति अज्ञात खरिदकर्ताले किनेको बताए ।

    तस्विरको बिक्रीबाट प्राप्त रकम थोमस एण्ड डोरिस अम्मान फाउन्डेसन जुरिचमा पठाइनेछ । यस फाउन्डेसनले पेन्टिङ बिक्रीबाट आएकाे सहयोग रकम अनाथ बालबालिकाकाे स्वास्थ्य सेवा, शिक्षा प्रदान गर्न खर्चनेछ ।

    क्रिस्टीका अनुसार बिक्री हुनुअघि यो तस्बिरको मूल्य करिब २० करोड डलर हुने अनुमान गरिएको थियो । योभन्दा अलि कममा बिक्री भए पनि यसले २०औं शताब्दीको अघिल्लो रेकर्ड तोड्ने थियाे ।

    यसअघि यो कीर्तिमान पाब्लो पिकासोको ‘वुमन अफ अल्जियर्स’ को नाममा थियो । जुन सन् २०१५ मा १७९.४ मिलियन डलरभन्दा बढीमा बिक्री भएको थियो।

    मर्लिन मुनरो को हुन् ?

    मर्लिन मुनरोको जन्म सन् १९२६ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो । मर्लिन एक अमेरिकी अभिनेत्री र मोडेल थिइन् । उनले तीनपटक विवाह गरेकी थिइन् । उनको पहिलो विवाह १६ वर्षको उमेरमा भएको थियो।

    मुनरोको नाम अमेरिकी राष्ट्रपति जोन अफ केनेडीदेखि गायक फ्रान्क सिनात्रा र बेसबल खेलाडी जो डिम्यागियोसँग जोडिएको छ । उनको सन् १९६२ मा ड्रग ओभरडोजको कारण मृत्यु भएकाे थियो । कतिपयले यसलाई हत्या पनि भनेका छन् । तर, आजसम्म मर्लिनको मृत्यु रहस्यमय बन्दै आएकाे छ ।

  • मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ ।  मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे । याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन ।

    तर, माैन अवधि बिर्सिँदै केही कलाकारले काठमाडाैं महानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहकाे पक्षमा आज पनि सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो ।

    सुरुदेखि नै बालेनको पक्षमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्काले केही बेरअघि  ‘भोट फर बालेन’ ह्यासट्यागसहित नयाँ पोष्ट गरेकी छन् । बालेन शाहको एउटा पुरानो पोष्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘बुलेटभन्दा ब्यालेट शक्तिशाली हुन्छ । हामी इतिहासलाई उपेक्षा नगरौं र भविष्यलाई परित्याग नगरौं ।’

    एक लाख ३७ हजारभन्दा बढी फलोअर्स भएको आफ्नो पर्सनल अकाउन्टमा स्वस्तिमाले यो स्टाटस लेखेकी हुन् । उनको १२ लाखभन्दा बढी  फलोअर्स भएको भेरिफाइड फेसबुक पेजमा पनि यो पोष्ट गरिएको छैन ।

    स्वस्तिमाले कलाकारलाई मौन अवधि नलाग्ने सुनेर बालेनको पक्षमा भोट मागेको बताइन् ।

    उनले नेपालप्रेससँग कुरा गर्दै कलाकारले पनि मौन अवधिमा भोट माग्न नपाउने हो र भन्दै अनविज्ञता जनाइन् ।

    उनले भनिन्, ‘राजनीतिक पार्टीले मात्र नपाउने सुनेको थिएँ । हामीले पनि नपाउने हो र ? मलाई त थाहा नभएर शेयर गरेको हुँ ।’

    मौन अवधि शुरु भइसकेपछि पनि अरु कलाकारले पनि जानेर वा नजानेर यस्ता पाेष्ट गरेका छन् ।

    कलाकार निर्मल शर्माले मौन अवधि शुरु भएको ७ घण्टा पछाडि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका र्यापर बालेन शाहलाई भोट मागेका छन्। उनले ४ घण्टा अघि बालेन शर्माको पोस्ट सामाजिक सञ्जालमा शेयर गर्दै उनको पक्षमा भोट मागेका हुन् ।

    यस्तै अभिनेत्री वर्षा राउतले पनि मौन अवघि तोड्दै बालेन शाहको पक्षमा भोट मागेकी छन् । अभिनेत्री राउतले ३ घण्टाअघि बालेन शाहको फेसबुकमा भोट माग्दै गरेको पोस्ट शेयर गर्दै भोट फर चेन्ज भनेर लेखेकी छन् ।

    मोडल गरिमा शर्माले रुटिन अफ नेपाल बन्दले बालेन शाहको बारेमा राखेको पोस्ट शेयर गर्दै बालेनको पक्षमा उभिएकी छन् । उनले पनि मौन अवधि तोड्दै ४ घण्टा अघि बालेन शाहलाई मेन्सन गर्दै शुभकामना दिएकी छन् ।

    (नेपाल प्रेसमा समाचार प्रकाशित भएपछि नायिका स्वस्तिमा खड्काले आफ्नो पोष्ट डिलिट गरेकी छन् ।)

  • ‘द कश्मीर फाइल्स’ सिङ्गापुरमा ब्यान्ड

    ‘द कश्मीर फाइल्स’ सिङ्गापुरमा ब्यान्ड

    काठमाडौं । सिङ्गापुरले विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित भारतीय चलचित्र ‘द कश्मीर फाइल्स’ लाई विभिन्न समुदायहरूबीच दुश्मनी पैदा गर्ने र देशमा धार्मिक सद्भावमा खलल पार्न सक्ने भनेर प्रतिबन्ध लगाएको छ।

    कश्मीरी पण्डितहरूको पीडा, संघर्ष र आघातको हृदय विदारक कथालाई झल्काउने यो चलचित्रमा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, र पल्लवी जोशीको अभिनय देख्न सकिन्छ।

    समाचार एजेन्सी पीटीआईका अनुसार, देशको इन्फोकम मिडिया विकास प्राधिकरणले, ‘मुस्लिमहरूको उत्तेजक र एकतर्फी चित्रण र कश्मीरमा चलिरहेको द्वन्द्वमा हिन्दूहरूलाई सताइएको चित्रणको लागि फिल्मलाई वर्गीकरण गर्न अस्वीकार गरिनेछ।’ भन्ने भनाइ राखेका छन् ।

    १९९० को दशकमा कश्मीरको विवादित क्षेत्रबाट बाट कश्मीरी हिन्दूहरूको पलायनमा आधारित यो फिल्मले मार्चमा रिलिज हुँदा भारतमा पनि तूफान ल्याएको थियो।

  • बलिउडले मलाई किन्न सक्दैन, त्यसैले हिन्दी फिल्ममा काम गर्दिन : महेश बाबु

    बलिउडले मलाई किन्न सक्दैन, त्यसैले हिन्दी फिल्ममा काम गर्दिन : महेश बाबु

    मुम्बई । हिन्दी फिल्म इन्डस्ट्री र साउथ इन्डस्ट्रीमा भाषा विवादको बीचमा  महेश बाबुले बलिउडलाई लिएर आफ्नो बयान दिएका छन् । उनले एक ट्रेलर सार्वजनिक कार्यक्रममा बलिउडले मलाई किन्न सक्दैन, त्यसैले म हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न चाहन्न भनेका छन् ।

    महेश बाबु फिल्म मेजरको ट्रेलर लञ्च कार्यक्रममा पुगेका थिए । जब मिडियाले उनलाई बलिउड डेब्यूको बारेमा सोधे, महेशले भने, ‘यस्तो होइन कि मलाई अफर आएन, तर मलाई लाग्छ कि उनीहरूले मलाई किन्न सक्दैनन्। मलाई किन्न नसकिने हिन्दीमा काम गरेर म आफ्नो समय बर्बाद गर्न चाहन्न।’

    उनी भन्छन्, ‘मेरो साउथ इन्डस्ट्रीमा मैले पाएको स्टारडम र सम्मान ठूलो छ। त्यसैले यो उद्योग छोडेर अर्को उद्योगमा काम गर्ने सोच्न पनि सक्दिनँ । म सधैं फिल्म गर्ने र ठूलो बन्ने सोच गर्छु। मेरा सपनाहरू अब साकार हुँदैछन्।’

    महेशले थपे, ‘मेरो उद्देश्य आफूलाई इन्डिया स्टारका रूपमा प्रस्तुत गर्ने होइन, साउथ फिल्मलाई भारतभर सफल बनाउने हो । म सधैं तेलुगु फिल्महरू गर्न चाहन्थें र भारतभरका मानिसहरूले यो हेर्न चाहन्छन्। अहिले यो भइरहेको छ, म धेरै खुसी छु। म सधैं विश्वास गर्छु कि मेरो तागत भनेको नै तेलुगु फिल्महरूमा छ। यही हो जसले सबै सीमा पार गरेर बलिउड, टलिउड, भारतीय सिनेमा बनाएको छ ।’

    महेश बाबुले बाल कलाकारको रुपमा चलचित्रमा डेब्यु गरेका थिए । सन् १९८३ मा रिलिज भएको उनको पहिलो फिल्म ‘पोरतम’ थियो । यसपछि महेश बाबु सन् १९९९ मा रिलिज भएको तेलुगु फिल्म ‘राजा कुमारुडु’ मा मुख्य अभिनेताको रुपमा देखा परेका थिए ।

    उनीहरुको अधिकांश आम्दानी चलचित्र र विज्ञापनबाट हुने गरेको छ । उनले एउटा फिल्मका लागि ५५ करोड भारु लिन्छन भने विज्ञापनका लागि पनि करोडौं रुपैयाँ लिन्छन् ।

  • विदेशी फिल्मको दबदबा छिचोल्दै हिट भयो अनमोलको ‘ए मेरो हजुर ४’, झरना भन्छिन्- नाफामा गइसक्यौं

    विदेशी फिल्मको दबदबा छिचोल्दै हिट भयो अनमोलको ‘ए मेरो हजुर ४’, झरना भन्छिन्- नाफामा गइसक्यौं

    काठमाडौं । महंगो बजेटको दक्षिण भारतीय फिल्मसँग सिधा टक्कर लिएको अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ सुपरहिट भएको छ । प्रदर्शनमा आएको चौंथो हप्तासम्म यो चलचित्र हलहरुबाट उत्रिसकेको छैन ।

    नयाँ वर्षको अवसर पारी गत वैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज गरिएको थियो । सोही दिन विश्वव्यापी हाइप बनाएको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ पनि नेपाल भित्रिएको थियो । विदेशी चलचित्रलाई काखा र नेपाली चलचित्रलाई पाखा गर्दै प्रदर्शकहरुले केजीएफ २ लाई अत्यधिक शो दिएका थिए भने ‘ए मेरो हजुर ४’ लाई सीमित शोमा खुम्च्याएका थिए । यसले ‘ए मेरो हजुर ४’ को लगानी जोखिममा पर्न सक्ने देखिएको थियो ।

    तर, दर्शकको बलियो साथ पाएपछि ‘ए मेरो हजुर ४’ ले लगानी सुरक्षित गर्न सफल भएको हो । निर्देशक झरना थापाका अनुसार चलचित्रले चौंथो हप्ताबाट मुनाफा कमाउन थालिसकेको छ । साथै विभिन्न देशका लागि प्रदर्शन अधिकारहरु धमाधम बिक्री भइरहँदा चलचित्रले राम्रो मुनाफा कमाउन सक्ने देखिएको छ ।

    चलचित्रले दोस्रो हप्तासम्म ४ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । तेस्रो हप्ताको आम्दानी भने सार्वजनिक गरिएको छैन । अहिले चौंथो हप्तामा पनि देशभरका थुप्रै हलमा फिल्म चलिरहेको झरनाले बताइन् ।

    ‘हामीकहाँ सबै रिपोर्ट त आइसकेको छैन । तर, अहिले पनि दर्शकले हाम्रो चलचित्रलाई साथ दिइरहनु भएको छ’, उनले भनिन्, ‘फिल्म लगानी उठाएर नाफाको बाटोमा गइसक्यो ।’

    झरनाका अनुसार यो चलचित्रको निर्माण लागत करिब २ करोड रहेको छ । लगानी उठाउन चलचित्रले ६ करोडभन्दा माथिको व्यापार गर्नुपर्ने चुनौती थियो ।

    किन चल्यो ?

    अत्यन्त प्रतिकूल अवस्थामा पनि ‘ए मेरो हजुर ४’ ले गरेको व्यापार यस चलचित्रका निर्माताका लागि मात्रै नभएर समग्र नेपाली चलचित्रकै लागि सुखद समाचार हो । यद्यपि यही चलचित्रको व्यापारले समग्र नेपाली चलचित्रको प्रतिनिधित्व भने गर्दैन । ‘ए मेरो हजुर ४’ पछि रिलिज भएका दुई वटा नेपाली चलचित्रको व्यापारिक रिपोर्ट राम्रो छैन ।

    यो चलचित्र चल्नुमा सबैभन्दा पहिलो श्रेय नायक अनमोल केसीले पाएका छन् । उनको स्टारडम र क्रेजको ‘ए मेरो हजुर ४’ ले पुनः पुष्टि गरेको छ । चलचित्र रिलिज अगाडि निर्माता सुनीलकुमार थापाले दक्षिण भारतीय चलचित्रसँग डराएको अभिव्यक्ति दिएका थिए । त्यसबेला अनमोलले आत्मविश्वासपूर्वक भनेका थिए, ‘तपाईंले डराउनुपर्दैन । तपाईंसँग म छु ।’

    अनमोलले देखाएको आत्मविश्वासलाई दर्शकले काँध थापेका छन् । अघिल्ला चलचित्रमा अनमोलको अभिनयलाई लिएर आलोचना हुने गरेकोमा यस चलचित्रमा उनको अभिनयले पनि प्रशंसा पायो । अभिनयमा उनले धेरै सुधार गरेको प्रतिक्रिया दर्शकहरुले दिइरहेका छन् । यद्यपि चलचित्रमा धेरै कमिकमजोरी छन् ।

    निर्देशक झरना भने चलचित्र राम्रो भएकैले दर्शकको साथ पाएको बताउँछिन् । उनले भनिन्, ‘कुनै पनि चलचित्र चल्न सबैभन्दा पहिले त यसको कथावस्तु र प्रस्तुतीकरण नै राम्रो हुनुपर्छ । त्यसपछि मात्रै अरु कुराहरु आउँछन् ।’

    चलचित्रको सफलताको जस आफैले लिन खोजेको उनको अभिव्यक्तिको आशयबाट बुझिन्छ । उनले निर्देशन गरेको अघिल्लो चलचित्र ‘ए मेरो हजुर ३’ पनि बक्स अफिसमा हिट भएको थियो । सो चलचित्रमा पनि अनमोल र सुहानाकै जोडी थियो । झरना आगामी चलचित्र ‘भागवत गीता’ को निर्देशन गर्दैछिन् । सो चलचित्रमा अनमोल नहुन सक्छन् । अनमोलविनाको चलचित्रले गर्ने व्यापारबाट झरनाको वास्तविक परीक्षा हुनेछ ।

  • फेरि सुरु हुने भयो करण जोहरको ‘कफी विथ करण’

    फेरि सुरु हुने भयो करण जोहरको ‘कफी विथ करण’

    मुम्बई । फिल्म निर्माता करण जोहरले आफ्नो टक शो ‘कफी विथ करण’ को ७ औं सिजनको सेटबाट आफ्ना तस्बिरहरू सेयर गरेका छन् । जोहरले ‘कफी विथ करण’ सिजन ७ को सेटका तस्बिरहरू सेयर गर्दै फ्यानहरूलाई पहिलो अतिथि को हुनेछ ? भनेर प्रश्न राखेका छन् ।

    तस्बिरहरू साझा गर्दै करणले स्टाटसमा, ‘कफी विथ करणको सिजन ७ सुरु भयो। मैले यो शो सुरु गरेको पनि १८ वर्ष भइसक्यो। मलाई विश्वास लाग्दैन कि म यति लामो समयदेखि यो कुप्पा बनाउँदै छु। सबैको मायाको लागि धन्यवाद।’ भनेर आफ्नो खुसी व्यक्त गरेका छन्।

    गत हप्ता, करणले आफ्नो सामाजिक संजालको स्टाट्समार्फत आफ्ना फ्यानहरूलाई शो को नयाँ सिजन अब नआउने र शो बन्द हुने खुलासा गरेका थिए। पछि फेरी उनले आफ्नो स्टाटस परिवर्तन गरेर उक्त शो टिभीमा नआउने तर ओटीटी मा आउने कुरा स्पष्ट पारे।

    शोको अन्तिम सिजन २०१९ मा प्रिमियर गरिएको थियो ।

  • सोनाक्षीले गरिन् इन्गेजमेन्टको संकेत !! को हुन् तस्बिरमा देखिएका युवक ?

    सोनाक्षीले गरिन् इन्गेजमेन्टको संकेत !! को हुन् तस्बिरमा देखिएका युवक ?

    मुम्बई । बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक संजालमा एक पोस्ट सेयर गरिन् जसले सबैलाई चकित बनाएको छ ।

    अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिरहरू सेयर गरेकी छिन् जहाँ उनलाई एक युवकको साथमा आफ्नो रिङ औलामा भएको औंठीलाई शो गर्दै गरेको देख्न सकिन्छ।

    उनको एउटा तस्बिरमा ती युवक उनको छेऊमा उभिएको र अर्को तस्बिरमा उनको हात पर्केको देखिएतापनि उक्त युवकको अनुहार भने देखिएको छैन।

    उनले तस्बिरसँगसँगै एक स्टाट्स पनि पोष्ट गरेकी छिन, ‘आज मेरो लागी सबैभन्दा ठूलो दिन हो। मेरा ठूला सपनाहरु मध्ये एउटा सपना अब पूरा हुदैंछ। त्यसैले म यो सपनालाई हजुरहरुमाझ साझा गर्न पर्खन सक्दिन।’

    सिन्हाको यी पोष्ट र तस्बिरहरु देखेपछि उनका प्रशंसकहरू खास कुरा के हो भन्ने विषयमा अलमल्ल परिरहेका छन्। कतिले उनलाई ईन्गेजमेन्ट भएको भन्दै बधाई दिईरहेका छन् भने कतिले सिन्हाको इन्गेजमेन्ट उनकै अफवाह फैलिएका प्रेमी जहीर इकबालसँग त भएन भन्ने कौतुहलतालाई कमेन्टमार्फत पोखिरहेका छन्।

    २०१० मा फिल्म दबंगबाट आफ्नो अभिनयको सुरुवात गरेकी सोनाक्षीको हाल केही कुराको खुलासा गरेकी छैनन्। बलिउडमा औपचारिक रुपमा विवाहको सिजन सुरु भएकोले गर्दा कतै सिन्हाले नि विवाह गर्न आटेकी त हैनन् भन्ने लाग्नु सामान्य नै हो तर अभिनेत्रीले ईन्गेजमेन्ट गरेकी हुन् या आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेका पोस्टहरू प्रचारात्मक हुन त्यो भने आगामी दिनमा प्रष्ट हुने छ।

  • हाम्रो जीवनको अर्को अध्याय अब सुरु हुँदैछ : प्रियंका

    हाम्रो जीवनको अर्को अध्याय अब सुरु हुँदैछ : प्रियंका

    मुम्बई । मे ८ मा मदर्स डेको दिन प्रियंका चोपडाले आफ्नी छोरीको पहिलो तस्बिर सार्वंजनिक गरेकी छिन् । प्रियंका र निकले छोरीलाई १०० दिनपछि अस्पतालबाट घर ल्याएका हुन् ।

    प्रियंकाले छोरी मालती म्यारी चोपडा जोनासको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘यो मदर्स डेमा हामीले पछिल्ला केही महिनादेखि रोलरकोस्टर जस्तो उतारचढावबाट गुज्रने सोचेका थियौं। हामीलाई थाहा छ कि यो हामी मात्र होइन, हामी जस्ता अन्य धेरै व्यक्तिहरूले पनि यस्तै अनुभव गरेको हुनुपर्छ। आइसीयूमा १०० दिन भन्दा बढी बिताएपछि, हाम्रो सानो परी अन्ततः घर आएको छ ।’

    प्रियंकाले थपिन्, ‘हरेक परिवारको यात्रा फरक हुन्छ र यसमा विश्वास चाहिन्छ । पछिल्ला केही महिनाहरू हाम्रा लागि कठिन थिए, तर फर्केर हेर्दा हरेक पल कत्तिको मूल्यवान र उत्तम छ भन्ने स्पष्ट हुन्छ। हाम्रो सानो परी घर आएकोमा हामी धेरै खुसी छौं। हामी लस एन्जलसको रेडी चिल्ड्रेन्स ला जोला र सिडर सिनाई अस्पतालका प्रत्येक डाक्टर, नर्स र विशेषज्ञहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले निःस्वार्थ रूपमा बाटोको हरेक पाइलालाई समर्थन गर्नुभयो। हाम्रो जीवनको अर्को अध्याय अब सुरु हुँदैछ। ’

    प्रियंका चोपडा र निक जोनस २०२२ जनावरी १५ मा सरोगेसीमार्फत छोरीका आमाबुवा बनेका थिए । मालती म्यारी चोपडा जोनासको जन्मदर्ताका अनुसार जनवरी १५ मा क्यालिफोर्नियाको सान डिएगोमा राति ८ बजेपछि भएको थियो ।

  • अक्षय कुमार अभिनित ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    अक्षय कुमार अभिनित ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    मुम्बई । चन्द्रप्रकाश द्विवेदी निर्देशित र यशराज फिल्म्सद्वारा निर्मित अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को ट्रेलर सार्वजनिक भएको छ।

    चाहमना वंशका राजा पृथ्वीराज चौहानको जीवनमा आधारित यो एक ऐतिहासिक महाकाव्य युद्ध एक्शन ड्रामा फिल्म हो।

    यसमा अक्षय कुमारले चौहान वंशका राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गरेका छन्। यसै फिल्मबाट बलिउडमा डेब्यु गरिरहेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अक्षयको साथमा संयोगिताको भूमिकामा देखिनेछिन् भने सञ्जय दत्त पृथ्वीराजको दृष्टिविहीन काकाको रूपमा र सोनू सूद पृथ्वीराजको वफादार साथी चन्द्रवरदाइको भूमिकामा देखिनेछन्।

    ट्रेलरमा एक भव्य समारोहमा पृथ्वीराजलाई दिल्लीको शासकको रूपमा राज्याभिषेक गरेको र उनको बहादुरीका कथाहरूले संयोगितालाई कसरी जिते भन्ने विषयलाई झल्र्काको छ।

    कोरोना महामारीका कारण ढिलाइको सामना गर्नुपरेको यो चलचित्र यहीँ जुन ३ मा रिलिज हुने भएको छ। चलचित्र तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ । यसमा साक्षी तन्वर, आशुतोष र ललित तिवारीलाई पनि मुख्य भूमिकामा देख्न सकिने छ।

  • अमेरिका सेटल हुने योजना छैन : वर्षा शिवाकोटी

    अमेरिका सेटल हुने योजना छैन : वर्षा शिवाकोटी

    काठमाडौं । नायिका वर्षा शिवाकोटीले अमेरिकामा बस्दै आएका अशिष गेलालसँग हालै विवाह गरिन् ।

    विवाहपछि श्रीमान आशिष अमेरिका फर्किसकेका छन् भने वर्षा नेपालमै छिन् । यो विछोड कहिलेसम्मलाई ?

    शनिबार इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधे– अब तपाईं अमेरिका बस्ने कि नेपाल ?

    वर्षाले जवाफ दिइन्– श्रीमान जहाँ, म पनि त्यहीँ ।

    वर्षाको यो जवाफले धेरैलाई उनी अमेरिकामै सेटल हुन लागेको भन्ने परेको छ । यस विषयमा नेपाल प्रेसले प्रश्न गर्दा उनले त्यस्तो सम्भावना अहिले नरहेको बताइन् ।

    ‘अमेरिका सेटल हुने योजना छैन,’ उनले भनिन् ।

    त्यसो भए इन्स्टाग्राममा किन त्यसो भनिन् त ?

    वर्षाका अनुसार उनका श्रीमान नै अमेरिकाबाट फर्किन सक्ने सम्भावना पनि छ । यदि नेपाल फर्किने भए दुवै सँगै हुने भए । वर्षा फ्यानहरु चाहन्छन् कि उनी स्वदेशमै रहुन् । विगतमा थुप्रै प्रतिभाशाली कलाकारहरु अमेरिका भासिए । त्यो क्रम पछिल्लो समय केही घटेको छ । बर्षाले पनि नेपाली चलचित्रमा धेरै योगदान दिन बाँकी नै छ नि ।

  • मुनावर फारुकी बने ‘लक अप सिजन १’ को पहिलो विजेता

    मुनावर फारुकी बने ‘लक अप सिजन १’ को पहिलो विजेता

    काठमाडाैं । शनिबार राति सम्पन्न रियालिटी शो ‘लक अप सिजन १’ को ग्रान्ड फिनालेमा अभिनेत्री पायल रोहतगीलाई पछि पार्दै मुनावर फारुकी पहिलो विजेता बन्न सफल भएका छन् ।

    आधारभूत आवश्यकताका लागि ७० दिनसम्म संघर्ष गरेपछि फारुकी लक अपको विजेता घोषित भएका हुन् । मुनावरले फ्यानहरूबाट सबैभन्दा धेरै भोट र होस्ट कंगना रनौतको अनुमोदन पनि जितेर उपाधि हात पारेका हुन् ।

    आफ्नो जीतपछि एक अन्तर्वार्तामा मुनावरले पायललाई कडा प्रतिस्पर्धा ठाने तापनि विजेताको रूपमा नदेखेको बताए । शनिबार राति कंगनाले मुनावरलाई शीर्ष तीनमा पर्न सफल हुनेहरूमध्ये पहिलो प्रतियोगीको रूपमा घोषणा गरे सगँसँगै उनले १८ लाखभन्दा बढी भोट पाएको खुलासा गरेकी थिइन् । शोबाट मुनावरले २० लाख नगद पुरस्कार, एउटा कार र इटाली यात्राको लागि सबै खर्च–भुक्तानी प्राप्त गरेका छन् ।

    मुनावर फारुकी एक भारतीय स्ट्यान्ड–अप कमेडियन र र्‍यापर हुन् ।

  • अदिती बुढाथोकी बनिन् इन्स्टाग्राममा २० लाख फलोअर्स पार गर्ने पहिलो नेपाली अभिनेत्री

    अदिती बुढाथोकी बनिन् इन्स्टाग्राममा २० लाख फलोअर्स पार गर्ने पहिलो नेपाली अभिनेत्री

    काठमाडाैं । अदिती बुढाथोकी इन्स्टाग्राममा २० लाख फलोअर्स पार गर्ने पहिलो नेपाली मोडल तथा अभिनेत्री बनेकी छिन्। चर्चामा आइराख्ने धेरै अरु कलाकारहरु पनि छन् । तर, सामाजिक सञ्जालमा आदितीलाई टक्कर दिने भने कोही छैनन् । सामाजिक सञ्जालमा उनको सुन्दरता, व्यक्तित्व र उनका तस्विरहरुको खुबै तारिफ हुने गर्छ ।

    को हुन् अदिती ?

    झापाकाे दमकमा जन्मिएकी अदिती नेपाली मोडल तथा अभिनेत्री हुन् । सूचना प्रविधिमा स्नातक उनी बलिउडमा दर्शन रावलको हिट म्युजिक भिडियो ‘हावा बन्के’ मा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । नेपालमा जन्मिए पनि उनी आफ्नो अभिनयको सपना पूरा गर्न भारत गएकी हुन् । धेरै म्यागाजिन कभरहरूमा प्रस्तुत भइसकेपछि उनले २०१८ मा सुरेन्द्र पौडेल निर्देशित नेपाली रोमान्स ड्रामा एक्सन फिल्म ‘कृ’ बाट अभिनय सुरुवात गरेकी थिइन् । उनले पञ्जाबी गीतहरुमा पनि अभिनय गरेकी छिन् ।

    हाल इन्स्टाग्राममा २० लाख फलोअर्स पार गरेर उनी थप चर्चामा छिन् । इन्स्टाग्राममा मात्र नभएर फेसबुक पेजमा पनि उनका ९ लाख ७४ हजार फ्यान फलोअर्स रहेका छन् । उनलाई पछ्याउँदै १० लाख फलोअर्स बनाएर अर्की चर्चित अभिनेत्री प्रियंका कार्की दोस्रो स्थानमा छिन् ।

  • एरेन्ज म्यारिज गरेको हुँ, लभ पर्नै नपाइ श्रीमान अमेरिका फर्किनुभो: वर्षा शिवाकोटी

    एरेन्ज म्यारिज गरेको हुँ, लभ पर्नै नपाइ श्रीमान अमेरिका फर्किनुभो: वर्षा शिवाकोटी

    काठमाडाै‌ं । नायिका वर्षा शिवाकोटीले कुनै हल्लाखल्ला बिना केही दिनअघि सुटुक्क विहे गरिन् । यतिबेला उनले सबैसँग गुपचुप बिहे गरेको बारे स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ ।

    अमेरिका निवासी आशिष गेलालसँग गत ९ वैशाखमा लगनगाँठो कसेकी वर्षा केही दिन सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गर्न विजी भइन् । श्रीमानसँग पोखरा पुगेर सर्ट हनिमून मनाइन् । अहिले केही फुर्सदमा छिन् उनी । किनकी श्रीमान आशिष अमेरिका फर्किसकेका छन् ।

    नवविवाहित वर्षा आज आफू अभिनित चलचित्र ‘लक्का जवान’ को विशेष शो हेर्न सिनेमा हलमा पुगेकी थिइन् । साडी चोलाे र सिउँदोमा सिन्दुर लगाएर फिल्म हेर्न पुगेकी वर्षाले त्यहाँ पुगेका पत्रकारलाई विवाहको बारे प्रष्टीकरण दिनुपरिहाल्यो । वर्षाले छोटो तयारीमा सानो जमघटमा विवाह गरेको जानकारी गराइन् ।

    ‘एक हप्ताको मात्रै तयारीमा हामीले विवाह गरेका हौं,’ उनले भनिन्, ‘थोरै मान्छे बोलाउने भनेका थियौं, तर दुवैतिरका गरी ५०–६० जना त भइहालियो ।’

    धेरैलाई यो पनि कौतुहल छ कि उनले प्रेम विवाह गरेकी हुन् वा मागी विवाह ? वर्षाले यो मागीविवाह भएको बताइन् । आफन्तहरुमार्फत कुरा आएर दुवैले एक अर्कालाई मन पराएपछि विवाह गरेको उनको भनाइ छ । आफू केही समयअघि अमेरिका गएर केटासँग भेटेपछि विवाहको सोच बनाएको उनले जानकारी दिइन् ।

    ‘लभ त पर्नै पाएको छैन,’ वर्षाले गुनासो सुनाइन्, ‘उहाँ केही दिन मात्र छुट्टि लिएर नेपाल आउनुभएको थियो, विहे गरेको ४–५ दिनपछि नै अमेरिका फर्किनुभयो ।’

  • शाहरुख फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित

    शाहरुख फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित

    मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानलाई विश्वभरको सांस्कृतिक विविधतामा उनको उल्लेखनीय योगदानको कदर गर्दै फ्रान्सको सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लिजन अफ अनर’ ले सम्मानित गरिएको छ।

    उनलाई मङ्गलबार, मे ३ मा फ्रान्सका विदेशमन्त्री लरेन्ट फाबियसले उक्त सम्मान प्रदान गरेका हुन्। उक्त समारोह मुम्बईको ताजमहल प्यालेस होटलमा भएको थियो।

    सम्मान पाईसकेपछि खानले फ्रान्सेली राष्ट्रपति र फ्रान्सलाई सम्मानका लागि उपयुक्त मानेकोमा धन्यवाद दिदैँ एक विज्ञप्तिमा ‘जीवनमा विभिन्न पलहरू आउँछन् जसले तपाईंलाई महसुस गराउँछ कि तपाईं सही ट्रयाकमा हुनुहुन्छ र मेरो लागी यो त्यो एक क्षण हो। यो सम्मान पाउँदा म साँच्चै नै गर्व गर्छु। यो सम्मानले भारतीय सिनेमालाई स्वीकृति, प्रेम र महिमाको अर्को तहमा लैजान प्रेरित गरेको छ ।’ भनेका छन्।

    फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार १८०२ मा नेपोलियन बोनापार्टद्वारा सिर्जना गरिएको थियो। यो फ्रान्सले प्राप्तकर्ताहरूको राष्ट्रियताको पर्वाह नगरी देशको लागि उत्कृष्ट सेवा गर्नेहरुको लागि प्रदान गर्ने सर्वोच्च पुरस्कार हो।

  • ‘के घर के डेरा’को शुभमुहूर्त, जेठ २ गतेदेखि छायांकन

    ‘के घर के डेरा’को शुभमुहूर्त, जेठ २ गतेदेखि छायांकन

    काठमाडौं । शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को स्वंयम्भुस्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दृश्य पनि छायांकन गरिएको थियो ।

    अहिले शुभमुहूर्त गरिएपनि सिनेमाको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए । सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको छ । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले सिनेमामा आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पुर्ण खुराक पाउने विश्वास व्यक्त गरे ।

    ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् ।

    सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । सिनेमाले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव साटे ।

    यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

  • ४ वर्षको प्रेमपछि विवाह : को हुन् स्वप्न सुमनकी जीवनसाथी ज्योत्सना ? (तस्बिरहरु)

    ४ वर्षको प्रेमपछि विवाह : को हुन् स्वप्न सुमनकी जीवनसाथी ज्योत्सना ? (तस्बिरहरु)

    काठमाडौं । फ्यानहरुलाई सरप्राइज दिँदै गायक स्वप्न सुमनले दुई दिनअघि आफ्नी प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसे । कमलपोखरीको एउटा होटलमा आयोजित सानो समारोहमा परम्परागत तवरबाट उनीहरुले लगनगाँठो कसेका थिए ।

    ४ वर्षदेखि रिलेसनसीपमा रहे पनि उनीहरु सार्वजनिकरुपमा खुलेका थिएनन् । स्वप्न सुमनले एकाएक विवाहको तस्वीर सामाजिक सञ्जालमा हालेपछि उनका धेरै लेडी फ्यानहरु जिल्लिए । खैर, यी गायकलाई अहिले बधाई र शुभकामना सन्देश लिन भ्याइनभ्याइ छ ।

    विवाह लगत्तै स्वप्नले एउटा रोमान्टिक गीत सार्वजनिक गरेका छन्, जुन उनले आफ्नी पत्नीका लागि लेखेका हुन् । आज युट्यूवमा श्रीमतीसहित लाइभ आएर उनले गीत लञ्च गरेका थिए । ज्योत्सनाको हातबाट स्वप्नले ‘बाचा भयो’ बोलको गीत लञ्च गरेका हुन् । गीतको भिडियोमा स्वप्न र ज्योत्सना एकसाथ देखिन्छन् । उनीहरुको विवाहका केही फुटेज पनि भिडियोमा समावेश गरिएको छ ।

    को हुन् स्वप्न सुमन र ज्योत्सना ?

    युवायुवतीहरुमाझ अत्यधिक क्रेज भएका गायक हुन् स्वप्न सुमन । युट्यूवबाट चर्चामा आएका उनले छोटो समयमा लोभलाग्दो फ्यान फलोइङ कमाए ।

    स्वप्नको ‘कसरी भनुँ’ बोलको गीत सर्वाधिक हिट छ । ५ वर्षअघि युट्यूवमा रिलिज भएको यो गीतको लिरिकल भिडियोले अविश्वसनीयरुपमा ५ करोड २० लाख भ्यूज बटुलेको छ । कुनै पनि नेपाली गीतको लिरिकल भिडियोले पाएको सम्भवत यो सर्वाधिक भ्युज हो । यस्तै ‘म तिम्रो’ बोलको गीतले पनि २ करोड भन्दा बढी भ्यूज पाएको थियो । स्वप्नले सन् २०१२ बाट संगीत करिअर सुरु गरेका हुन् ।

    स्वप्नकी पत्नी ज्योत्सना पनि कलाकारिता क्षेत्रमै सक्रिय छिन् । उनले ‘म त तिम्रै हुँ’ नामक चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी थिइन्, जुन चलचित्र २०१५ मा रिलिज भएको थियो । चलचित्रले व्यापारिक सफलता हासिल नगरेकाले उनी चर्चामा आउन सकिनन् । ज्योत्सनाले मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ मा पनि अभिनय गरेकी छिन् । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज गरिएको थियो ।

    पछिल्लो समय उनी म्युजिक भिडियो तथा मोडलिङमा सक्रिय छिन् । एमबीएसम्मको अध्ययन गरेकी ज्योत्सना पार्ट टाइममा आइइएलटीएसका विद्यार्थीहरुलाई पढाउने पनि गर्छिन् ।

    लभ क्लोजअप नामक वेव सिरिजमा स्वप्न र ज्योत्सनाले सँगै अभिनय गरेका थिए । प्रेमी–प्रेमिकाको रुपमा नखुले पनि स्वप्नले ज्योत्सनासँग थुप्रै टिकटक भिडियो बनाएका छन् ।

  • पार्टीले कलाकारको हितमा काम गर्‍याे भने अरु कलाकार पनि कांग्रेस प्रवेश गर्छन् : भुवन केसी

    पार्टीले कलाकारको हितमा काम गर्‍याे भने अरु कलाकार पनि कांग्रेस प्रवेश गर्छन् : भुवन केसी

    काठमाडौं । नेपाली कांग्रेस प्रवेश गरेको दुई दिनपछि अभिनेता भुवन केसीले नेपाली कांग्रेसले कलाकारको हितमा लागि परेमा अरु कलाकारहरु पनि कांग्रेसमा प्रवेश गर्ने बताएका छन् ।

    दरबारमार्ग स्थित क्युज सिनेमाजमा आयोजित कांग्रेसको चुनावी गीत रिलिज कार्यक्रममा अभिनेता केसीले यस्तो बताएका हुन् ।

    उनले चलचित्र क्षेत्रमा दिएको ४० औं वर्षको योगदान नेपाली कलाकारीताको माध्यमबाट कलासंस्कृति विश्वभरि पुर्‍याइ कांग्रेसको साथमा हातमा हात मिलाइ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    कांग्रेसको नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका प्रमुख तथा नेका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा स्थानीय तह निर्वाचन सम्बन्धि गीत सार्वजनिक समारोह भएको थियो । उक्त कार्यक्रममा नीर शाह , भुवन केसी लगायतको उपस्थित थियो भने स्वेता खड्का आउने भनिएको थियो तर उनी उपस्थित भइनन् । उनी पनि अभिनेता केसीसँगै दुई दिन अघि कांग्रेस प्रवेश गरेकी थिइन् ।