Category: कलाप्रेस

  • आमा बनिन् पप गायिका रिहाना

    आमा बनिन् पप गायिका रिहाना

    न्यूयोर्क । हलिउड पप गायिका रिहानाले छोरा जन्माएकी छन् । सञ्चारमाध्यम टीएमजेडका अनुसार रिहानाले लस एन्जलसको एक अस्पतालमा मे १३ मा छाेरा जन्माएकी हुन् । र्‍यापर रकी रिहानाका प्रेमी हुन् । यी दुबै चाँडै विवाह बन्धनमा बाँधिने जनाइएको छ ।

    रकी र रिहाना लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए । यद्यपि दुबैले २०२१ मा आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिए ।

    पिपल म्यागजिनका अनुसार रिहाना र रकी बच्चाको साथ लस एन्जलसको घरमा छन् । रिहाना अहिले पूर्णतया स्वस्थ छिन् र आमाबाबु दुवै धेरै उत्साहित छन् ।

    गर्भावस्थामा केही महिनाअघि प्रेमी रकीले रिहानालाई धोका दिएकोसमेत आरोप लगाएका थिए ।

    रकीले आफ्नी गर्लफ्रेन्ड रिहानाको ब्रान्ड फेन्टी फुटवेयरको डिजाइनर अमिना मुआदीसँग डेट गरिरहेकोबारे सञ्चारमाध्यमहरुले खबर फैलाएका थिए । तर, अमिनाले यी सबै खबरलाई खारेज गर्दै सामाजिक सञ्जालमार्फत  स्पष्टीकरण दिएकी थिइन् ।

  • सुन्दरी प्रतियोगिताका आयोजकमाथि यौनशोषणको आरोपबारे अनुसन्धान गर्दै प्रहरी, युवतीसँग सम्पर्क प्रयास

    सुन्दरी प्रतियोगिताका आयोजकमाथि यौनशोषणको आरोपबारे अनुसन्धान गर्दै प्रहरी, युवतीसँग सम्पर्क प्रयास

    काठमाडौं । ८ वर्षअघि आयोजित एक सुन्दरी प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भनी एक युवतीले सुनाएको घटनालाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    प्रहरीको महिला सेल, उपत्यका प्रहरी अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी कार्यालयलगायतका युनिटले सूक्ष्म अनुसन्धान थालेका हुन् ।

    ती युवतीलाई सम्पर्कमा ल्याएर अनुसन्धानलाई अगाडि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ । उनले सुन्दरी प्रतियोगिताका आयोजकले आफूलाई बेहोस बनाई बलात्कार गरेको तथा तस्वीर र भिडिओ रेकर्ड गरेर ६ महिनासम्म लगातार ब्ल्याकमेलिङ गरेको आरोप लगाएकी छिन् । घटना सार्वजनिक भएपछि दबाबमा परेको प्रहरीमा कुन कसुरमा अनुसन्धान अगाडि बढाउने भन्नेमा अन्योल देखिएको छ ।

    ‘बलात्कारमा चलाउने हो भने हदम्याद सकिएको छ । अन्य कुन कसुर आकर्षित हुने भन्नेमा अध्ययन गर्दैछौँ । घटनामा संलग्न भएका भनिएकालाई नजिकबाट निगरानी गरिरहेका छौं’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

  • मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो !

    मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो !

    काठमाडौं । सामाजिक सञ्जालमा आफूले हालेको ‘कविता’ लाई चोरीको वात लागेपछि कवि अर्जुन पराजुलीले निकै तनाव खेपे । एक पुस्तक प्रकाशकले आफ्नो सिर्जना पराजुलीले कपि गरेको भन्दै ‘चोर’ को संज्ञा दिएका थिए ।

    पराजुलीले उक्त रचना आफ्नो भएको प्रमाणहरु सार्वजनिक गरेपछि विवादको तत्काल मैझारो भएको छ । तर, आरोप लगाउने भुपेन्द्र खड्काले अझै पनि गल्ति स्वीकार्न तयार छैनन् । उनी आफूले एक कमिक्सबाट ‘इन्स्पायर’ भएर ती पंति रचेको दावी गर्छन् । खैर, उनको चोरी पुष्टि भइसकेको छ ।

    यस घटनाबाट वयोवृद्ध कवि पराजुली भने विरक्तिएका छन् । आफ्नो विरक्तिभाव कवितामार्फत नै पोखेका छन् उनले । उनको यस्तो कविता यस्तो छः

    यसैबीच भुपेन्द्रले अरुको स्टाटस चोरेर पोष्ट गर्ने गरेको अर्को तथ्य पनि भेटिएको छ । उनले २०१४ को अक्टोबर १५ मा हालेको स्टाटस सोही वर्षको १९ सेप्टेम्बरमा अर्को व्यक्तिले गरेको पोष्टबाट कपि गरेको पाइएको हो ।

    भुपेन्द्र बुकहिल नामक प्रकाशनगृहका संस्थापक हुन् । अरु स्रष्टाका सिर्जनालाई संरक्षण गरेर प्रकाशन गर्ने जिम्मेवारी बोकेका व्यक्ति आफैं रचना चोरीमा संलग्न भएको भन्दै आलोचना भइरहेको छ ।

  • माल्भिकाको प्रतिरक्षामा ३ पूर्व मिस नेपाल, केकी र पूजाले पनि मुख खोले

    माल्भिकाको प्रतिरक्षामा ३ पूर्व मिस नेपाल, केकी र पूजाले पनि मुख खोले

    काठमाडौं । एक युवतीले आफूमाथि यौन शोषण भएको भन्दै घटना विवरण बाहिर ल्याएपछि सामाजिक सञ्जालमा तरङ्ग आइरहेको छ । धेरैले उनीप्रति सहानुभूति दर्साएका छन् र न्यायको माग गरेका छन् ।

    यस प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि तानिएकी छन् । ती युवतीले आफूले माल्भिकासँग सहायताका लागि अनुरोध गर्दा उनले बेवास्ता गरेको आरोप लगाएकी थिइन् । यस विषयमा माल्भिकाले सामाजिक सञ्जालमार्फत लामो प्रष्टीकरण दिइसकेकी छन् ।

    अहिले माल्भिकालाई गालीगलौज भइरहँदा तीन पूर्व मिस नेपालहरूले उनको प्रतिरक्षामा मुख खोलेका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।

    साथै दुई नायिकाहरू केकी अधिकारी र पूजा शर्माले पनि पनि यो विषयमा मुख खोलेका छन् । हेरौँ कसले के लेखे ?

    श्रृङ्खला खतिवडा

    उहाँ (माल्भिका) गलत हुनुहुन्थ्यो । उहाँ एक नारीवादी अभियन्ता भएकाले धेरै महिलाहरूको अधिकार र सुरक्षाको कुरा आउँछ, यो अर्को तहमा गलत थियो । तर, म एक जनामाथि दोष केन्द्रित गर्ने र दोषारोपण गर्ने प्रवृत्तिमा योगदान दिन चाहन्न ।

    उहाँलाई अनफलो गर्नुहोस्, घृणा गर्नुहोस्, अपमान गर्नुहोस्, तर उहाँमाथि नै सबै दोष नथुपार्नुहोस् । सबै दोष उहाँमाथि लगाउनु उहाँको लागि अन्याय हो ।

    यसले दुर्व्यवहार गर्नेलाई मात्र फाइदा हुन्छ । यसले समस्या समाधान गर्न कतै पनि मद्दत गर्दैन । यहाँ व्यक्तिको खराब नैतिक निर्णय भन्दा पीडितको समस्या ठूलो छ ।

    यस केसमा पीडितले औँल्याएको मानिसदेखि लिएर धेरै व्यक्तिहरू थिए जसले त्यति बेला सही समयमा पीडितलाई यो दलदलबाट निकाल्न सक्थे । जस्तै उनको परिवार, साथी–सहकर्मी, मालिक, साझेदार र सल्लाहकार आदि । सबैले उनलाई मद्दत गर्न सक्थे ।

    जेनिशा मोक्तान (मिस नेपाल २००९)

    हामी त्यस चिजबाट नै निराश हुन्छौं जसबाट हामीले उच्च अपेक्षा राखेका हुन्छौं । तपाई (माल्भिका)ले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ । आफूले आफूलाई कमजोर नबनाउनु दिदी । तपाईँले अनगिन्ती महिलाहरूलाई सशक्त बनाउनुभएको छ, समर्थन गर्नुभएको छ । र तपाईँलाई तल झार्नु कुनै अर्को महिलालाई समर्थन गर्ने तरिका होइन । धेरै माया ।

    सीताश्मा चन्द (मिस नेपाल २००७)

    मलाई लाग्दैन कि उनले पोस्टमा उल्लेख गरेको र उनले भोगेका सबै कुराको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ ।

    तर यो सत्य हो कि तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो ।
    दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।

    हामी सबैले कहीँ न कतै गल्ती गरेका छौँ । जिम्मेवारी स्वीकार गर्ने, माफी माग्ने र सकेसम्म यसलाई ठिक गर्न प्रयास गरौँ । तपाईँले दशकौँदेखि कति मानिसहरूलाई प्रेरित, उत्प्रेरित र मद्दत गर्नुभएको छ, त्यो हामी बिर्सन सक्दैनौँ । एउटा गल्तीले तपाईँले गर्नुभएका र हासिल गर्नुभएका अरू सबै कुरालाई ढाक्न सक्दैन र ढाक्नु पनि हुँदैन । तपाईँलाई शक्ति मिलोस् ।

    पूजा शर्मा

    हे भगवान् । यो एक जना पीडितमाथि मात्र हुने शारीरिक हिंसा होइन, यो सम्पूर्ण मानवतामाथिको आक्रमण हो । उनी बलियो छिन् किनकि उनले आफूमाथि भएको दुर्व्यवहारलाई निडर भएर पोखिन् ।

    म देख्न सक्छु कि उनी डरको बाबजुद पनि कडा रूपमा प्रस्तुत भइन् । तिमी पाइला चाल । हामी तिम्रो साथमा छौँ । उसको तुच्छ कामलाई सबैमाझ देखाउनै पर्छ ।

    केकी अधिकारी

    महिला संयन्त्र, पुलिस, अदालत, खबरदार । काम सुरु गर । किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा राज्यको सरोकारवाला हरेक अंगहरु जबाफदेही हुनु पर्छ ।

    वर्चस्वशाली व्यक्तिले किशोरीहरूमाथि गरेको जघन्य अपराधको छानबिन गर्ने र न्याय दिलाउने उचित संरचना बनाउनु पर्छ ।

    सम्पूर्ण चेतनशील र संवेदनशीलहरू पीडितलाई न्यायपूर्ण सहज जीवनका लागि सहयात्री बन्दा मात्र यो काम हुनसक्छ ।

    हुन त, यो व्यवस्थाले दिने न्यायमा, पूर्ण भरोसा छैन, तर पनि अहिले भएकै संरचनाबाट न्यायको माग गर्ने तत्कालका लागि सही विकल्प हो ।

  • कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्रीहरुको रेड कार्पेट लुक्स

    कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्रीहरुको रेड कार्पेट लुक्स

    अहिले ७५ औँ कान्स फिल्म फेस्टिभल चलिरहेको छ । यो वर्ष भारत कान्समा ‘कन्ट्री अफ अनर’ को रूपमा चयन भएको छ भने भारतीय अभिनेत्री दीपिका पादुकोण पनि निर्णायक समिति अर्थात जुरी मेम्बरमा छिन् । २१ चलचित्रहरूमध्ये एक चलचित्रलाई प्रतिष्ठित ‘पाल्मे डी ओर’ विजेताको रूपमा घोषणा गर्ने जिम्मेवारी निर्णायकको हो ।

    यस वर्षको फिल्म फेस्टिभलमा पूजा हेगडे, ऐश्वर्या राई, हीना खान, तमन्ना भाटिया, एआर रहमान, नवाजुद्दिन सिद्दिकी, उर्वशी रौतेलालगायतका विभिन्न भारतीय सेलिब्रेटीहरूले आफ्नो उपस्थिति जनाउँदैछन्। ७५ औँ कान्स फिल्म फेस्टिभल मे १७ बाट सुरु भई मे २८ मा समापन हुनेछ ।

    बलिउड अभिनेत्रीहरुको रेड कार्पेट लुक्स

    १) दीपिका पादुकोण


    २) उर्वशी रौतेला


    ३) तमन्ना भाटिया


    ४) ऐश्वर्या राय


    ५) हेली शाह


    ६) पूजा हेगडे


    ७) मासूम मिनावाला


    ८) हीना खान

  • ‘पीडित’ लाई सहयोग नगरेकोबारे माल्भिकाको प्रस्टीकरण र क्षमायाचनाः त्यसबेला म आफै डिप्रेसनमा थिएँ

    ‘पीडित’ लाई सहयोग नगरेकोबारे माल्भिकाको प्रस्टीकरण र क्षमायाचनाः त्यसबेला म आफै डिप्रेसनमा थिएँ

    काठमाडौं । आफू यौन उत्पीडनमा परेको बताउँदै सहयोग मागेकी एक युवतीलाई बेवास्ता गरेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले गल्ती स्वीकार्दै क्षमायाचना गरेकी छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो कथा सुनाएपछि माल्भिकाको आलोचना भएको थियो ।

    सन् २०१४ मा आयोजित एउटा सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई ६ महिनासम्म बलात्कार गरेको भन्दै पीडित युवतीले इन्स्टाग्राममा हालेको श्रृंखलाबद्ध भिडियो अहिले भाइरल भइरहेको छ । ती युवतीले आफू पीडित भएको भन्दै न्यायका लागि माल्भिकासँग सहयोग माग्दा उनी पन्छिएको आरोप लगाएकी छन् । यस विषयमा प्रस्टीकरण दिँदै माल्भिकाले गल्ती स्वीकारेकी हुन् ।

    आफूलाई ती युवतीले फोन गरेर सहयोग मागेको माल्भिकाको स्वीकारोक्ति छ ।

    उनले लेखेकी छन्, ‘म कुनै बहानाबाजी गर्दिनँ । मलाई पूरा विवरण याद छैन । तर, यो सम्झिएकी छु कि तिमीले मलाई कल गरेकी थियौ र दुर्व्यवहार गरिएको विषयमा कुरा गर्न खोजेकी थियौ । तर, ‘बलात्कार’ शब्द नै प्रयोग गरेको याद छैन । म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ । यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन । तर, म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु । तिमीले मसँग रिसाउने सबै कारणहरु छन् र मैले जेजस्तो घृणाहरु पाइरहेकी छु, त्यसको म हकदार छु ।’

    माल्भिकाका अनुसार ती युवती अफेयरमा रहेको उनले हल्ला सुनेकी थिइन् ।

    उनले लेखेकी छन्, ‘मैले महसुस गर्नुपर्थ्याे कि जब मैले हल्लाहरु (उनीहरु अफेयरमा छन् भन्ने) सुन्न थालेँ, त्यसबेला तिमी केवल १६–१७ वर्षकी थियाै । मैले आयोजकहरुसँग कुरा गर्नुपर्थ्याे र दृढ अडान लिनुपर्थ्याे । तर, मैले त्यसो नगर्ने निर्णय लिएँ ।’

    उनले त्यसबेला आफ्नो मानसिक स्वास्थ्य राम्रो अवस्थामा नरहेको उल्लेख गरेकी छन् । यद्यपि यसलाई बहाना नबनाउने माल्भिकाको भनाइ छ ।

    ‘म आफै डिप्रेसनसँग लडिरहेको थिएँ, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो केसमा संलग्न नहुने निर्णय लिएँ । अहिले मैले महसुस गरेको छु कि यदि म संलग्न भएको भए मेरो मानसिक स्वास्थ्यलाई थोरै असर पर्थ्याे होला । तर, उनको लागि ठूलो मद्दत हुन्थ्यो । मैले त्यो समयमा आफूसँग त्यस्तो क्षमता रहेको महसुस गर्न सकिनँ ।’

    अब आफूले आफैलाई पहिलेको नजरमा हेर्न नसक्ने उनले बताएकी छन् । ‘तिम्रो पोष्टहरु हेरेपछि सबै कुराका लागि म जिम्मेवार छु भन्ने महसुस भएको छ र मैले आफूलाई कहिल्यै माफी दिने छैन’, माल्भिकाले भनेकी छन् ।

    उनी थप लेख्छिन्, ‘त्यो प्रतियोगितापछि पीडितले अहिले बताएकोभन्दा फरक कुरा सुनेको थिएँ र त्यसमा विश्वास गरेँ । त्यसपछि मैले प्रतियोगिता आयोजकसँग सबै सम्बन्ध तोडेँ ।’

    आफूलाई अहिले फोन र म्यासेजमा विभिन्न खाले धम्कीहरु आइरहेको र त्यसको पनि आफू हकदार रहेको माल्भिकाले बताएकी छन् ।

    ‘मलाई घृणाका सन्देशहरु आइरहेका छन् । ज्यान मार्नेदेखि बलात्कार गर्नेसम्मका धम्कीहरु आइरहेका छन् र सायद त्यसको म हकदार छु । यदि तपाईंहरु म यो अवस्थाबाट बाहिर ननिस्केको हेर्न चाहनुहुन्छ भने सायद म त्यसको पनि हकदार छु’, माल्भिकाले भनेकी छन् ।

    उनले अब लैंगिक समानता र महिला अधिकारसँग सम्बन्धित कुनै पनि कार्यक्रममा भाग नलिनेसमेत बताएकी छन् ।

  • कान्समा पहिलो पहिलोपटक नेपाली अभिनेत्रीको रेड कार्पेट इन्ट्री, यस्ती देखिइन् सुरक्षा (तस्बिरहरु)

    कान्समा पहिलो पहिलोपटक नेपाली अभिनेत्रीको रेड कार्पेट इन्ट्री, यस्ती देखिइन् सुरक्षा (तस्बिरहरु)

    काठमाडौं । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छिन् ।

    आफू अभिनित फ्रेन्च चलचित्र ‘द एट माउनटेन्स’ प्रिमियरका लागि सुरक्षा फ्रान्स पुगेकी हुन् । ‘द एट माउन्टेन्स’ मा उनको सानो भूमिका रहेको बताइएको छ ।

    कान्स फेस्टिभलको रेड कार्पेटमा वाक गर्ने पहिलो अभिनेत्री बनेकी सुरक्षा रातो नै पहिरनमा सजिएकी छिन् । कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ।

  • टुप्पोमा पुगेपछि धन्य भएँ जस्तो लाग्यो, त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ : राजु लामा

    टुप्पोमा पुगेपछि धन्य भएँ जस्तो लाग्यो, त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ : राजु लामा

    काठमाडाैं । नेपालका चर्चित गायक तथा गीतकार राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किसकेका छन् । उनी फर्किँदा उनलाई एयरपाेर्टमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो । उनले सगरमाथाको आरोहणमात्र नभई ७९०० मिटरमा पुगेर एकल कन्सर्टसमेत गरेर आएका छन् ।

    उनी भन्छन, ‘सक्दिनँ कि भन्ने डर थियो तर भगवानको कृपाले सफल भए । चुचुरोमा पुग्दा ४ बजेर ५७ मिनेट गएको थियो । त्यहाँ पुगेर आधा घण्टा बसेँ । टुप्पोमा पुगेपछि धन्य भए जस्तो महसुस भयो । अलिक भावनात्मक पनि भए । आँसु खस्यो । म त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ ।’

    विशेष गरेर युवाहरुलाई प्रोत्साहन होस् र जलवायु परिवर्तनले आम जनजीवनमा परेको असरबारे सबैमाझ सन्देश पुगोस् भन्ने नै आफ्नो मुख्य लक्ष्य भएको उनले बताए । गायक लामाले अघिल्लो वर्ष पनि लोबुचे शिखर चढेका थिए । सगरमाथाको आरोहण भने यो उनको पहिलो पटक हो ।

  • वसन्त चौधरीलगायतका स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

    वसन्त चौधरीलगायतका स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

    काठमाडौं । कवि तथा गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो ।

    गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरुका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको नाम छनाेट गरेको छ ।

    २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्ष लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिने गुठीले जनाएको छ ।

    यसैगरी २०७६ सालकाे छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम चयन भएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनेछिन् ।

    २०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत हुने गुठीले जनाएको छ । यो वर्ष लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।

    उनका अनुसार पुरस्कार वितरण २०७९ असार २६ गते विशेष समारोहबीच गरिनेछ । सो दिन गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति पनि हो ।

  • जब ‘चोर’ले नै अर्जुन पराजुलीमाथि साहित्य चोरीको बात लगाए…

    जब ‘चोर’ले नै अर्जुन पराजुलीमाथि साहित्य चोरीको बात लगाए…

    काठमाडौं । लोककवि अर्जुन पराजुलीले आफ्नो हस्ताक्षरमा हिजो चार पंक्तिको एउटा ‘कविता’ फेसबुकमा पोष्ट गरे । त्यसलगत्तै उनीमाथि ‘प्लेगियारिज्म’को गम्भीर आरोप लाग्यो ।

    एक प्रकाशन गृहका संस्थापक भुपेन्द्र खड्काले आफूले ९ वर्षअगाडि लेखेर सामाजिक सञ्जालमा राखेको कविता पराजुलीले चोरेर हालेको दाबी गर्दै स्टाटस लेखे । उनले सन् २०१३ मा हुबही तीनै पंक्ति फेसबुकमा पोष्ट गरेको स्क्रिनसटसमेत देखाएपछि धेरैलाई पत्याउन कर लाग्यो ।

    बुढेसकालमा यसरी साहित्य चोरीको बात लागेपछि कवि पराजुली रन्थनिनु स्वभाविक थियो । उनले यो कविता २५ वर्ष अगाडि आफूले नै लेखेर कयौंपटक वाचन पनि गरेको भन्दै बचाउ गरे । त्यसलाई पनि खड्काले स्वीकार गरेनन् । उनले कविता आफैंले लेखेको दाबी गर्दै पराजुलीलाई प्रमाणसहित आउन चुनौती दिए । अन्ततः पराजुली प्रमाणसहित आएका छन् ।

    पराजुलीले दुईवटा अकाट्य प्रमाण दिएका छन् । तीनै पंक्ति लक्ष्मीप्रसाद पराजुली नाम गरेका व्यक्तिले सन् २०१० मा अर्जुन पराजुलीलाई क्रेडिट दिँदै सामाजिक सञ्जालमा पोष्ट गरेका रहेछन् । उक्त स्क्रिन सट अर्जुन पराजुलीले सार्वजनिक गरेका छन् । अझ त्योभन्दा पनि अगाडि सन् २०६३ असोजमा ‘जनमत’ नामक साहित्यिक मासिकको पूर्णांक ११५ पनि उक्त पङ्ति छापिएको रहेछ ।

    यसरी प्रमाण सार्वजनिक गर्दै पराजुलीले लेखेका छन्, ‘आफ्नो सिर्जना अरूले चोरेर चोरले उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।’

    पराजुलीले प्रमाणहरु सार्वजनिक गरेपछि खड्काले आफ्ना पोष्टहरु फेसबुकबाट हटाएका छन् । तर, आफूले पराजुलीको कविता चोरेको स्वीकारेका छैनन् ।

    पोष्टहरु हटाएपछि उनले दिएको स्पष्टीकरण यस्तो छ, ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु ।’

    उनी थप लेख्छन्, ‘मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैं सृजना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु ।’

    यस विषयमा नेपाल प्रेसले कुरा गर्दा उनले उक्त सिर्जना आफ्नै रहेको दाबी गर्न छोडेनन् ।

    ‘त्यसबेला चुनावको माहोलमा मैले आफैंले लेखेर पोष्ट गरेको हुँ, कसरी अर्जुन पराजुलीको कवितासँग मिल्न गयो भनेर अचम्भित छु,’ उनले भने ।

    आफूले हिन्दी कमिक्सबाट ‘इन्स्पायर’ भएर सो कविता लेखेको उनको दाबी छ ।

    ‘मैले त्यो बेलासम्म अर्जुन पराजुलीको नाममा त्यो कविता कतै पनि पढेको थिइनँ, चोर्ने कुरै आउँदैन,’ उनले भने ।

    यदि तपाईं सही हो भने फेसबुकबाट आफ्नो पोष्टहरु किन डिलिट गर्नुभयो त ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘नानाथरि कमेन्टहरु आउन थाले, सबैलाई जवाफ दिएर साध्ये हुँदैन भनेर हटाएको हुँ ।’

  • ७ तस्बिरमा नियाल्नुस् उषा उप्रेतीको सुन्दरता

    ७ तस्बिरमा नियाल्नुस् उषा उप्रेतीको सुन्दरता

    काठमाडौं । टिकटकबाट म्युजिक भिडियोमा जम्प गरेका सुन्दरीहरूको सुची दिनदिनै लामो बनिरहेको छ ।

    कोही सफल छन् त कोही असफल । उषा उप्रेती चाहिँ न धेरै सफल न असफलको मझदारमा छिन् ।
    टिकटकमा १५ लाख फलोअर्स भएकी यी सुन्दरी म्युजिक भिडियोमा भित्रिएको २ वर्ष जति भयो ।

    उनको रुपरंग यस्तो छ, मानौँ म्युजिक भिडियो वा चलचित्रकै लागि बनेकी हुन् । यद्यपि, सुन्दरता र क्षमताको तुलनामा उनले सफलताको स्वाद चाख्न बाँकी नै छ ।

    उषाका म्युजिक भिडियोहरू औसत चलेका छन् । पछिल्लो समय उनको व्यस्तता बढिरहेको छ । पल शाहदेखि पुष्प खड्काजस्ता चल्तीका स्टारहरूसँग उनले काम गरिसकेकी छन् । कामसँगै चर्चा पनि पाइरहेकी छन् ।

    उषालाई अब प्रतीक्षा छ बिग स्क्रिनमा आउने । नायिका बन्नका लागि उनमा केहीको कमी छैन । सुन्दर रूप । वान्की परेको शरीर । नृत्यमा पारङ्गत । अभिनयमा अब्बल । अरू के चाहियो ? ढिलो चाँडो उनी चलचित्रमा छाउने नै छिन् ।

    हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ का केही एपिसोडहरूमा उषाले अभिनय गरेकी थिइन् । तर, त्यसमा निरन्तरता दिइनन् । उनका प्रशंसकहरू उनलाई चलचित्रमै देख्न चाहन्छन् । उषा पनि चलचित्रमा आउन व्यग्र छिन् ।

    हेरौँ कुन निर्देशकले उनलाई डेब्यू गराउँछ । त्यो भन्दा पहिले चाहिँ हेरौँ, उषाका ७ वटा फ्रेस तस्बिरहरू जुन उनले आज आफ्नो फेसबुक पेजमा सेयर गरेकी हुन् :

  • नाेभेम्बर-डिसेम्बरमा बिहे गर्ने मलाइका र अर्जुनको तयारी

    नाेभेम्बर-डिसेम्बरमा बिहे गर्ने मलाइका र अर्जुनको तयारी

    कट्रिना कैफ–विक्की कौशल र रणवीर कपूर–आलिया भट्टपछि बी–टाउनको अर्को जोडी चाँडै नै विवाह बन्धनमा बाँधिने अपेक्षा गरिएको छ । ४ वर्षभन्दा बढी समयदेखि एकअर्कालाई डेट गर्दै आएका अर्जुन कपूर र मलाइका अरोराले सन् २०१९ मा आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् ।

    बलिउड लाइफको एक रिपोर्टअनुसार उनीहरुले विवाह गरेर आफ्नो सम्बन्धलाई एक कदम अगाडि बढाउने निर्णय गरेका छन् । मलाइका र अर्जुन दुवैलाई जाडो मौसम मनपर्ने भएकाले जाडोको महिनामै अर्थात यही वर्षको नोभेम्बर वा डिसेम्बरमा मिति फाइनल गर्ने र भव्य विवाह छाडेर आफ्ना नजिकका र परिवारका सदस्यहरूबीच अन्तरंग विवाह गर्ने निर्णय गरेका हुन् ।

    सदस्यहरूमा सम्पूर्ण कपूर परिवार, मलाइकाका आमाबाबु र धेरै नजिकका साथीहरूमात्र समावेश हुनेछन् । आफ्नो विवाह दर्ता गरेपछि मात्र विवाह पार्टी आयोजना गर्ने तयारी भइरहेको बलिउड लाइफको खुलासा छ । यो जोडीको एकदमै नजिक रहेकीले गर्दा करिना कपुर खान पनि पाहुनाको सूचीमा छिन् ।

    लभबर्ड्सले भने समाचारमा आएको खबरको बारेमा अहिले केही बोलेका छैनन् ।

  • कांग्रेसतिर झुकाव राख्न थालेकी पूजा जब देउवाको बचाउमा उत्रिइन्

    कांग्रेसतिर झुकाव राख्न थालेकी पूजा जब देउवाको बचाउमा उत्रिइन्

    काठमाडौं । नायिका पूजा शर्माको राजनीतिक ज्ञान शून्य नै छ । उनले केही समयअघि एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्यासमेत भन्न सकेकी थिइनन् ।

    सामाजिक सञ्जालमा पनि राजनीतिक विषयमा कहिल्यै टिप्पणी नगर्ने उनै पूजाले हिजो अचानक प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउमा स्टाटस लेखेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा देउवाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पूजाले उनको बचाउ गरेकी हुन् । तर, कुनै राजनीतिक कोणबाट नभइ उनले मानवीय पक्षलाई समातेकी छन् ।

    पूजाको स्टाटस यस्तो छः

    ‘देउवाज्यू बेचैनीमा रहेको भिडिओहरू भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस वेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । बिचरा देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पूरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाई कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली ।’

    धेरै कलाकारहरू यतिबेला विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने होड चलिरहँदा पूजाले कुनै पार्टीमा झुकाव देखाएकी छैनन् । केही दिनअघि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटा कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । ओलीसँग फोटोसमेत खिचाएकी थिइन् । त्यसबेला पूजा एमालेमा जान लागेको चर्चासमेत चल्यो जसलाई उनले खण्डन गरिन् ।

    निकटस्थहरूका अनुसार पछिल्लो समय पूजा नेपाली कांग्रेसतिर ढल्किएकी छन् । यसको कारण हो उनका प्रेमी युद्ध बानिया कांग्रेस समर्थक हुनु । नेपाली कांग्रेसका बाग्मती अञ्चल सभापति इन्द्र बानिया युद्धका काका हुन् । युद्ध पनि नेपाली कांग्रेसप्रति आस्थावान् रहेको बताइन् । पूजाले देउवाको बचाउमा स्टाटस लेख्नुको उद्देश्य पनि प्रेमीलाई खुसी पार्न हुन सक्ने आँकलन गरिएको छ ।

  • कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै सुरक्षा

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै सुरक्षा

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छन् । संसारकै फिल्म मेकरहरूको कुम्भ मेला लाग्ने यस फिल्म फेस्टिभल यही मे १७ देखि २८ सम्म फ्रान्समा सम्पन्न हुनेछ ।

    पन्तले ‘द एट माउन्टेन्स’ फिल्मको केही भाग नेपालमा छायाकंन हुँदा यस फिल्मको एक पात्रको रूपमा अभिनय गरेकी थिइन् ।

    नोबेल पुरस्कार बिजेता पुस्तक ‘द एट माउन्टेन्स’मा आधरित यस फिल्मको निर्देशन बेल्जियन फिल्ममेकर फेलिक्स भान ग्रोएनिगेनले निर्देशन गरेका हुन् । यो फिल आउँदो जेठ ४ मा कान्समा प्रिमियर हुने भएसँगै पन्तले पनि सहभागी हुने अवसर पाएकी हुन् ।

    यसअघि नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा निर्देशक दिपक रौनियार कान्समा छोटो फिल्म ‘चौकट लिएर पुगेका थिए भने ट्रान्सजेन्डर मोडेल अन्जली लामाले सन् २०१८ मा क्याटवाक गरेकी थिइन् ।

  • ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।

    ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।
    रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् ।

    सोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने छन् ।

    अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकको उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानु पर्नेछ । असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ ।

  • राज गोस्वामीको नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक

    राज गोस्वामीको नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक

    काठमाडाै‌ं ।  गायक राज के गोस्वामी आफ्नो नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। बुद्ध जयन्तीको अवसर पारेर गायक गोस्वामीले आफ्नो पृथक शैलीको नयाँ गीत ‘चाहिँदैन मलाई’ सार्वजनिक गरेका हुन् ।

    गायक गोस्वामीले गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा स्वर दिएका छन् ।

    नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यस गीतमा प्रज्वल लामाले संगीत संयोजन गरेका छन् ।

    ओस्कार बार एण्ड ग्रिलमा छायांकन गरिएको यो गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् ।

    लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

  • राजु लामाले गरे सगरमाथाको सफल आरोहण

    राजु लामाले गरे सगरमाथाको सफल आरोहण

    काठमाडौं । चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो ।

    इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए । उनीहरुमध्ये ८ जना विदेशी र अन्य नेपाली हुन् । आरोहणको नेतृत्व मिङ्मा जीले गरेका थिए ।

  • चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित

    चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित

    काठमाडौं । सफल चलचित्र चपली हाइटमा नायकको रुपमा अभिनय गरेका राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्ष निर्वाचित भएका छन् । ललितपुरको गोदावरी नगरपालिका ३ बाट उनले नेकपा माओवादीबाट वडाध्यक्ष जितेका हुन् ।

    घिमिरेले ११ भोटको अन्तरले जित हासिल गरेका हुन् । उनले १०५९ भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले १०४८ भोट ल्याएर पराजित भए ।

  • पिताको देहान्तपछि विजय लामाले भने- मेरो हार भयो

    पिताको देहान्तपछि विजय लामाले भने- मेरो हार भयो

    काठमाडौं । अभिनेता तथा पाइलट विजय लामालाई पितृ शोक परेको छ । उनका पिता हेमबहादुर लामाको ९५ वर्षकाे उमेरमा आज दिउँसो १ः१५ बजे निधन भयो ।

    दुई हप्तादेखि स्वास्थ्यमा कठिनाइ आएपछि हेमबहादुरकाे मनमोहन अस्पतालमा उपचार भइरहेको थियो । आफ्नै हातमा पिताले अन्तिम सास फेरेको लामाले बताएका छन् ।

    उनी लेख्छन्, ‘मेरो आमा पनि यसै गरी मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ सेप्टेम्बरमा १ मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरु सँगै भएकोमा आफूलाई भाग्यशाली ठान्दछु तरर के गर्नु आखिर मन त हो नि ! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि !’

    लामाले आफ्नो पिता सबैका लागि मित्र र शक्तिको स्रोत भएको स्मरण गरेका छन् । भोलि बुद्ध जयन्तीको दिन बालुवाटारस्थित आफ्नै निवासमा अन्तिम बिदाइ गरिने उनले जानकारी दिएका छन् ।

    लामाको शवलाई बुद्ध धर्मको नियम अनुसार भोलि २ बजे स्वयम्भूनाथ घाटमा दाहसंस्कार गरिने छ ।

    लामाले लेखेका छन्, ‘बाउ तिमीबिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ । तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसी छौ, तिम्रो खुसी नै मेरो खुसी हुनेछ । अब म तिमिलाई कल्पनामा मात्र जिस्काउँछु है ? सायद झस्किन्छु होला तिमिलाई नपाउँदा ’ ए बाउ किन ? आखिर हार भयो नि मेरो ?’

    हेमबहादुर पुरानाे नेपाली चलचित्र ‘आदर्श नारी’ का निर्देशक हुन् ।

  • फ्रेन्चाइज डान्स रियालिटी शो ‘सुपर डान्सर नेपाल’ शुरु हुने

    फ्रेन्चाइज डान्स रियालिटी शो ‘सुपर डान्सर नेपाल’ शुरु हुने

    काठमाडौं । एडि रिलिजले पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ नामक शो ल्याउने भएको छ ।

    कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै ‘सुपर डान्सर नेपाल’ लाई सिघ्र गर्ने जानकारी दिएको हो ।

    ‘बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपाली प्रतिस्पर्धी डान्सर खोजेर उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने’ कम्पनीकी कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले दाबी गरिन् ।

    उक्त शो को अडिसन देशका प्रमुख शहर पोखरा , इटहरी , हेटौंडा , बुटवल , नेपालगञ्ज , काठमाडौं र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुमा समेत हुने आयोजकले जानकारी दिएको छ ।

    शो को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समुह वाइल्ड रिपर्ज रहेको आयोजकको भनाई छ ।

    तिन जना निर्णयक मण्डल रहने शो ३० भागमा कान्तिपुर टेलिभिजनबाट बिहीबार र शुक्रवार प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।