Category: कलाप्रेस

  • ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा पर्‍यो उजुरी

    ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा पर्‍यो उजुरी

    काठमाडौं । नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि छुटिसकेका छन् । तर, यो प्रकरणले चलचित्र ‘कबड्डी ४’ लाई भने दुःख दिने देखिएको छ ।

    मिरुनाले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक संस्थाको नाममा उजुरी परेको हो । उनले भने, ‘उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौं । त्यसपछि निर्णय लिन्छौं ।’

    तर, दाहालले उजुरी हाल्नेको संस्थाकाे नाम खुलाउन चाहेनन् । दाहालका अनुसार बोर्डमा मात्रै नभएर प्रदर्शन रोक्नका लागि धेरै ठाउँमा उजुरी परेको छ । सत्यतथ्य छानबिन गरेरमात्रै बोर्डले निर्णय लिने उनले बताए ।

    मिरुनाले माफी नमागेसम्म चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग गर्दै आज केएल टावर अगाडि प्रदर्शन गरिएको थियो ।

  • ‘प्रकाश’को टिजर सार्वजनिक

    ‘प्रकाश’को टिजर सार्वजनिक

    काठमाडाैं । नेपाली चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार भिडियो साझेदारी सञ्जाल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केलाई फिचर्ड छन् । कर्णाली लुक्समा तयार पारिएको टिजरमा प्रदीप र दीया सशक्त भूमिकामा देखिएका छन् ।

    दिनेश राउतको निर्देशन रहेकाे चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाइएको छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ ।

    टिजरको पृष्ठभूमिमा बज्ने कर्णालीको लोक भाकाले त्यहाँको परिवेशसँग नजिक बनाएको छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको यसअघि नै फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो ।

    चलचित्र जुम्लामा छायाँकन गरिएकाे थियाे । चलचित्रमा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

    बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्र आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

  • मिरुनाको बयानः फ्यानसँग फोटो खिच्दै गर्दा तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानेँ, पछि आफै रोएँ

    मिरुनाको बयानः फ्यानसँग फोटो खिच्दै गर्दा तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानेँ, पछि आफै रोएँ

    काठमाडौं । नायिका मिरुना मगरले आफूलाई दुर्व्यवहार गरेको भन्दै एक युवा भिक्षुलाई प्रहरी हिरासत पुर्‍याएपिछ चर्को प्रतिक्रियाहरुको सामना गरिरहेकी छन् । धेरैले उनको भनाइमा विश्वास गरेका छैनन् र उनले निर्दोषलाई फसाएको आरोप लगाएका छन् ।

    यही सन्दर्भमा एउटा भिडियो पनि भाइरल भइरहेको छ । उक्त भिडियोमा हलबाट भीडभाडमा अन्य दर्शकहरुसँगै कबड्डी ४ का कलाकारहरु निस्किएको देखिन्छ । उक्त भिडियोमा मिरुना र आरोपी भिक्षु केही दूरीमा छन् । नायिकाको शरीरमा उनले हात पुर्‍याएको देखिँदैन । यही भिडियो हेरेर धेरैले भिक्षु निर्दोष रहेको बताइरहेका छन् ।

    तर, मिरुनाको भनाइअनुसार घटना भएको हलबाट निस्किसकेपछि हो । हलबाट निस्केर फ्यानहरुसँग फोटो/सेल्फी खिच्दै गर्दा ती व्यक्तिले आफ्नो शरीरमा पछाडिबाट तीनपटक बलियो गरी समातेको उनको भनाइ छ । युट्युव च्यानल ‘रमाइलो छ’ मा हिजो दिएको अन्तर्वार्तामा मिरुनाले घटनाबारे यसरी वर्णन गरेकी छन्ः

    ‘यति धेरै भीड थियो । हामी सेल्फी खिचिरहेका थियौं फ्यानहरुसँग । भीडमा छुने भइहाल्छ भनेर धेरैले भनिरहनुभएको छ मलाई । तर, त्यस्तो होइन ।

    म सुरुमा उभिइरहेको थिएँ र अगाडि फर्केर फ्यानहरुसँग फोटो खिचिरहेको थिएँ । त्यतिबेला मलाई पछाडि लेफ्ट बटममा (कसैले छोएको) फिल भयो । अलिकति हच्किएँ र अगाडि सरेँ । सुरुमा त होइन होला भन्ने भयो । फेरि सेकेन्ड चोटि अझ बढी टच भयो । तैपनि होइन होला जस्तो भइरहेको थियो । पब्लिक स्पेसमा त्यसरी हुन्छ भन्ने सोचिँदैन । त्यसमाथि फ्यानहरुले सर्कल गरेका थिए ।

    तर, थर्ड चोटिमा सार्‍है पक्रेर, पिन्च नै गरेर। स्क्वीज (हातले निमोठेको इशारा गर्दै) गर्‍याे । अहिले पनि सोच्दा फिल हुन्छ । मेरो बडीको फर्स्ट रियाक्सन चाहिँ । फर्केर एक स्ल्याप (थप्पड हानेको) गरेँ । मोंक (भिक्षु) को भेषमा हुनुहुन्थ्यो । त्यो देखेपछि अझै रिस उठेर आयो । म स्वयं पनि बुद्धिष्ट हो । यस्तो मान्छेले गर्न सक्छ र ? भन्ने भयो । अनि मेरो हात रोकियो ।

    हेर्दा एकदमै सानो भाइजस्तो देखिन्छ । हामीले आफ्नै दाजुभाइलाई पनि सिकाउनुपर्छ जस्तो लाग्छ । त्यसैले मैले सबैको अगाडि उसलाई कराएँ । त्यतिबेला म कलाकार र ऊ भिक्षुभनेर होइन, एउटा केटाले म एउटा केटी मान्छेलाई हात लगाएकोमात्रै कुरा थियो । मैले उसलाई गाली गरेको क्लीपहरु पनि होला । यस्तो युनिफर्म लगाएर नचाहिने काम गर्ने ? युनिफर्मकै इन्सल्ट भइरहेको छ भनेर औंला ठड्याएर गाली गरेँ । उसले कान समात्यो ।

    त्यहाँपछि मलाई लाज फिल भयो । सबैले रेकर्ड गरिराख्नुभएको थियाे । बाहिर गएर रोएँ । कस्तो कमजोर फिल गरेँ आफूलाई । मैले एक्सन त लिएँ । तर, संवेदनशील फिल गरेर बाहिर गएर रोएँ । एकछिन शान्त भएर सोच्दा आफूलाई सही भएन भन्ने भयो । पछि त्यो मान्छे आनन्दले हाँसेर हिँडिरहेको देखेपछि चित्त बुझेन । कानूनको सहायता लिनुपर्छ जस्तो लाग्यो । अनि, पुलिसमा कन्ट्याक्ट गरेर जिम्मा लगाएँ ।

    मलाई धेरै म्यासेजहरु आइरहेको छ । ट्याग गर्ने, कमेन्ट गर्ने अनि गालीगलौजहरु भइरहेको छ । क्यारेक्टरमै प्रश्न उठाइएको छ र थ्रेटसमेत आएको छ । सबैले एउटा भिडियो क्लीप हेरेर मूल्यांकन गर्नुभयो । त्यसमा एउटा साइडमात्र देख्नुभएको छ । त्यो हेरेर मलाई गाली गर्नुभएको हो । अहिले नोटिफिकेसन नै अफ गरेर बसेको छु ।

    यो केस अगाडि बढोस् भन्दा पनि योबाट उहाँले केही पाठ सिक्नुहोस् भन्ने मेरो कुरा हो । यस्तो कसैलाई पनि नदोहोरियोस् । आधी क्लीपहरुमात्रै सेयर गरेर जतिले मलाई गाली गरिरहनुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु कि आफ्नो दिदीबहिनीलाई यस्तो पर्दा आवाज उठाउन सिकाउनुहोला । आफ्नो दाजुभाइलाई पनि यस्तो अभद्र व्यवहार नगर्न भन्नुहोला ।

    हामी दर्शकलाई परिवार सम्झिन्छौं । त्यसैले सेक्युरिटीविनै जान्छौं । अब चाहिँ यसमा केही सोच्नुपर्ने आवश्यकता छ । गुड टच र ब्याड टचको सचेतना बढाउनुपर्छ । अहिले त्यो व्यक्तिले आफ्नो लुगाको फाइदा उठाएको हो नि त ! लामा भेषमा हुँदा कसैले केही गर्न सक्दैन भन्ने हो कि ? एउटा व्यक्तिको नियतको कुरा हो ।

    सो अन्तर्वार्तामा अभिनेता सौगात मल्लले पनि मिरुनाको भनाइमा साथ दिएका छन् । आफूलाई पनि सो घटना याद रहेको भन्दै उनले युवकको कपडाको कारणले गर्दा त्यहाँ ठूलो रियाक्सन नभएको बताएका छन् ।

    ‘उहाँको कपडालाई सबैले रेस्पेक्ट गरेकाले उहाँ बच्नुभएको हो । तर, जे गल्ती गर्नुभएको छ । त्यसको (सजाय) भोग्नुपर्छ’, सौगातले भनेका छन् । उनले अबदेखि हलमा दर्शकसँग फिल्म हेर्न जाँदा तयारीका साथ जानुपर्ने पनि बताएका छन् ।

  • हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी ४’ को प्रदर्शन रोकियो

    हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी ४’ को प्रदर्शन रोकियो

    काठमाडौं । एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो ।

    अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ ।

    पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो । मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

    चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् ।

    प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन् । उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो ।

  • मण्डला थिएटरमा ‘चोरको स्वर’ मञ्चन हुँदै

    मण्डला थिएटरमा ‘चोरको स्वर’ मञ्चन हुँदै

    काठमाडौं । आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक ‘चोरको स्वर’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक विशेषगरी लिम्बू समुदायमा हुने भागी विवाहमा आधारित भएर प्रस्तुत गरिएको छ ।

    कोही केटाले केटी भगाएपछि केटा पक्षबाट ‘हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा-भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनेर रीतसहित जानकारी दिन आउने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ ।

    माइती पक्षले रीत अर्थात चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ । त्यस प्रचलनलाई म्युजिकल फिल्ममार्फत कथा भन्दै आइरहेको आर्टमान्डुले यसपटक फरक माध्यममार्फत कथा भन्ने तयारी थालेको हो । नवीन चौहानको कथालाई अनिल सुब्बा र अन्वेश राई थुलुङले परिकल्पना तथा निर्देशन गरेका छन् ।

    यो नाटक आगामी जेठ २० देखि असार १५ गतेसम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ । नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राईलगायतका कलाकारहरूको अभिनय छ ।

    नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ बजेबाट मञ्चन हुने निर्माण टिमले जनाएको छ । अतिरिक्त शो भने शनिबार दिउँसो १ बजे हुनेछ ।

  • ‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन, फिल्मको पोष्टर जलाइयो (तस्बिरहरु)

    ‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन, फिल्मको पोष्टर जलाइयो (तस्बिरहरु)

    काठमाडौं । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए ।

    प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।

    मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।

  • नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ-संस्थासँग छलफलमा

    नायिकामाथि ‘ब्याड टच’ प्रकरणः तामाङलाई छुटाउने तयारी, कबड्डीको टिम बुद्धिष्ट संघ-संस्थासँग छलफलमा

    काठमाडौं । कबड्डी-४ कि नायिका मिरुना मगरलाई हलभित्र ‘ब्याड टच’ गरेको आरोपमा थुनिएका युवालाई छुटाउने तयारी गरिएको छ । सामाजिक सञ्जालमा तीब्र प्रतिक्रया उत्पन्न भएपछि मिरुना समझदारीमा जान लचक बनेको स्रोतले बतायो ।

    सिभिल मलभित्र फिल्म हेरेर निस्कने क्रममा तामाङ थरका युवकले आफूमाथि पिठ्यूमा गलत तरिकाले छोएको नायिकाको आरोप छ । उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिनदेखि तामाङ प्रहरी हिरासतमा छन् । मिरुनाले हिजो उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद थपसमेत गरेको छ ।

    तर, योबीचमा सामाजिक सञ्जालमा उल्टै आलोचना खेप्नुपरेपछि मिरुना तनावमा परेकी छन् । यथार्थ नबुझीकन आफूमाथि नकारात्मक टिप्पणी गरिएको उनको गुनासो छ ।

    स्रोतले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘जुन भिडिओ बाहिर आएको छ, त्यसमा घटनाको दृष्य कैद भएको छैन ।’

    यद्यपि, यो विषयमा मिरुना अहिले मिडियासँग मुख खोल्न तयार छैनन् । बारम्बार प्रयास गर्दा पनि उनको फोन रिसिभ भएन ।

    मिरुनालाई निकटस्थहरूले पनि तामाङविरुद्धको उजुरी फिर्ता लिन सल्लाह दिएका छन् । उनले थप्पड हिर्काएको र आरोपीले माफीसमेत मागिसकेकाले मुद्दा चलाउनु अतिशयोक्ति हुने धेरैको टिप्पणी छ ।

    रामबाबु भन्छन्ः छलफलमा छौं

    ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले यो घटनाले ठूलो रुप लिएपछि समाधानका लागि आफूहरू प्रयासरत रहेको बताए । एकातिर धार्मिक व्यक्ति र अर्कोतिर महिला भएकाले सबैले पर्याप्त संवेदनशीलता देखाउनुपर्नेमा उनको जोड छ ।

    ‘घटना ठ्याक्कै के हो भन्ने हामीलाई पनि थाहा छैन । हामीले दुवै पक्षको कुरा सुन्ने हो । तर फिल्म प्रमोसन गर्न गएको मान्छेले स्पष्ट आधारबिना कुनै दर्शकलाई रहरले यस्तो आरोप लगाउने त कुरै आउँदैन नि,’ उनले भने ।

    उनले तामाङका विभिन्न संघ-संस्थाहरूसँग छलफल सुरू भएको बताए । तामाङ घेदुङ संघ, बौद्ध समाजमा सम्पर्क गरेर आफूहरूले नै समझदारीको पहल गरेको उनको भनाइ छ ।

    हिरासतमा रहेका तामाङलाई छुटाउने विषयमा प्रश्न गर्दा गुरुङले जवाफ दिए, ‘मेलमिलाप गर्दा जे गर्नुपर्ने हो त्यही अनुसार जानेछौं ।’

    सुरक्षाबिना हलमा सेलिब्रिटी

    आफ्नो चलचित्र रिलिज भएपछि सेलिब्रिटीहरू प्रमोसनका लागि हल-हलमा जाने परम्परा छ । उनीहरू दर्शकसँगै बसेर फिल्म हेर्न र आफ्नो वाहवाही सुन्न मन पराउँछन् ।

    ‘कबड्डी ४’ ले हाउसफुलको व्यापार गरिरहँदा यसका कलाकारहरू पनि हल-हलमा पुगेर दर्शकसँग संवाद गरेका थिए । यही क्रममा आइतबार सिभिल मलमा फिल्म हेरेर निस्कने क्रममा घटना भएको थियो ।

    सार्वजनिक एउटा फुटेज हेर्दा नायिका मिरुना, अभिनेता सौगात मल्लसहित चलचित्रका कलाकारहरू दर्शकसँगै भिडभाडमा हलबाट बाहिर निस्किरहेका देखिन्छन् । भिडिओमा आरोपी तामाङ पनि देखिएका छन् । तर, उनले नायिकालाई टच गरेको दृष्य भिडिओमा कैद छैन ।

    https://www.tiktok.com/@karmasinghh/video/7103226341511728410?is_copy_url=1&is_from_webapp=v1&q=karmasinghh&t=1653887392853

    आम दर्शकहरूसँगै बाहिर निस्कँदा सेलिब्रिटीहरूका लागि सुरक्षा सतर्कता नअपाउनु फिल्म निर्माण पक्ष र हल सञ्चालकको कमजोरी देखिएको छ ।

    निर्देशक गुरुङले भने सेलिब्रिटीहरूका लागि ४-५ जना मान्छे खटाइएको दाबी गरे । तर, यस्तो घटनाको अनुमान नगरिएको उनको भनाइ छ ।

    चलचित्रलाई असर गर्ने संकेत

    नायिका विवादमा परेपछि कबड्डी ४ को उत्साहजनक व्यापारमा असर गर्न सक्ने जोखिम देखिएको छ । नायिकाले निर्दोषलाई फसाएको दाबी गर्दै सामाजिक सञ्जालमा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताइरहेका छन् ।

    निर्देशक गुरुङ भने चलचित्रको व्यापार अहिले प्रमुख विषय नभएको बताउँछन् ।

    ‘व्यापार खस्किन्छ कि खस्किँदैन भन्नेमा अहिले हाम्रो सरोकार होइन,’ उनले भने, ‘विषय अत्यन्त संवेदनशील भएको हुँदा दुवै पक्षलाई समझदारीमा ल्याएर समाधान निकाल्नु पहिलो प्राथमिकता हो ।’

    गत शुक्रबार रिलिज भएको ‘कबड्डी ४’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । फिल्मले ३ दिनमै ८ करोडको व्यापार गरेको दाबी गरिएको छ ।

     

  • नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा, १ वर्ष जेल हुन सक्ने

    नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा, १ वर्ष जेल हुन सक्ने

    काठमाडौं । कबड्डी ४ कि नायिक मिरुना मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको उनको आरोप छ ।

    सिभिल मलबाट पक्राउ परेका तामाङ थरका युवक हिजोदेखि प्रहरी हिरासतमा छन् । आज प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको स्रोतले बतायो । १ वर्षभन्दा कम सजाय हुने कसुरमा जिप्रकाले म्याद थप गर्ने गर्छ ।

    यदि तामाङमाथि लगाइएको अभद्र व्यवहारको आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउन सक्नेछन् । हिजो सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । नायिकाले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तामाङले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

  • २६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

    २६ वर्ष कान्छी प्रेमिकासँग ‘लिभ इन’मा राजेशपायल, विवाह कहिले ?

    काठमाडौं । राजेशपायल राईलाई सधैँ पछ्याइरहने प्रश्न हो– बिहे कहिले गर्नुहुन्छ ? उमेरले अर्धशतक नजिक पुगे पनि उनले अहिलेसम्म लगनगाँठो कसेका छैनन् । अब भने उनले यो प्रश्नबाट चाँडै मुक्ति पाउन सक्ने सम्भावना बढेको छ ।

    राजेशपायल एक युवतीसँग लिभिङ टुगेदरमा छन् एक वर्षदेखि । साङबुङ राई नामकी युवतीसँग उनले चाँडै बिहे गर्न सक्ने निकटस्थहरु बताउँछन् । यद्यपि, राजेशपायल स्वयम् भने विवाहको विषयमा मौन छन् ।

    राजेशपायल र साङबुङ करिब दुई वर्षदेखि गोप्य प्रेम सम्बन्धमा थिए । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । बताइएअनुसार एक साथीमार्फत अनौपचारिक तवरले उनीहरुको भेट भएको थियो । दुवै एक–अर्काप्रति आकर्षित बनेका थिए । त्यसपश्चात केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको निकटस्थ स्रोतको भनाइ छ ।

    साङबुङले आफ्नो टिकटक अकाउन्टमा राजेशपायलसँगका भिडियोहरु बारम्बार अपलोड गरेपछि उनीहरुको सम्बन्धबारे लख काट्न थालिएको थियो । तर, यो एउटा सेलिब्रिटी र फ्यानको सम्बन्धमात्रै पनि हुन सक्थ्यो । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउन सफल भएका थिए । नजिकका केही साथीभाइलाई राजेशपायल आफैले प्रेम सम्बन्धबारे बताउने गरेका छन् ।

    साथीभाइले पनि अब उमेर छिप्पिएकाले चाँडै बिहे गर्न राजेशपायललाई सुझाव दिएका छन् । राजेशपायल उमेरले ४६ वर्षका भए । उनकी प्रेमिका साङबुङ भने भर्खर २० वर्षमा हिँडिरहेकी छन् । उनीहरुको उमेरमा २६ वर्षको विशाल अन्तर छ ।

    काठमाडौंको शान्तिनगर र नक्सालमा दुईवटा घर छन् राजेशपायलका । शान्तिनगरमा भने परिवारका सदस्यहरु बस्छन् । नक्सालको आफ्नो घरलाई भने उनले आफ्नो सांगीतिक यात्राहरुको संग्रहालय जस्तो बनाएका छन् । उनले बजारमा ल्याएका एल्बमहरु, सम्मानहरु सबै त्यही घरमा सजाएका छन् । त्यही घरमा राजेश पायलले आफ्नो स्टुडियो पनि बनाएका छन् । आफ्ना निकटस्थहरुसँग त्यही घरमा बसेर नयाँ प्रोजेक्ट, कन्सर्टका सेड्युलबारे छलफल गर्ने गर्छन् ।

    नक्सालको त्यही घरमा राजेशले आफ्नी प्रेमिकालाई राखेका छन् । निकटस्थका अनुसार सुरुमा उनी यो सम्बन्धमा धेरै सिरियस थिएनन् । तर, पछिल्ला दिनमा भने बिहेको मनस्थितिमा पुगेको निकटस्थहरु बताउँछन् । परिवारबाट सधैं विवाहको दबाब झेल्दै आएकाले पनि राजेशपायल साङबुङसँग भने विवाहबारे गम्भीर भएका हुन् ।

    राजेश र साङबुङ लिभ इनमा बस्न थालेपछि नजिकका साथीभाइले बधाई दिएका थिए । राजेशपायलका आफन्त पनि खुसी भएका थिए । त्यसो त विवाहमात्र नभएर राजेशपायल र साङबुङले छिट्टै अर्को ‘सरप्राइज न्यूज’ पनि दिन सक्ने बताइएको छ ।

  • नियतवस पिठ्यूमा छोएको भन्दै मिरुनाले एक दर्शकलाई झापड हानेर प्रहरीमा बुझाइन् (भिडिओ)

    नियतवस पिठ्यूमा छोएको भन्दै मिरुनाले एक दर्शकलाई झापड हानेर प्रहरीमा बुझाइन् (भिडिओ)

    काठमाडौं । अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेकाे कबड्डी ४ की नायिका मिरुना मगरले एक दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् । तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आरोप छ ।

    सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घटना भएको थियो । तामाङले आफूलाई दुर्व्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन् । त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

    तामाङ अहिले पनि प्रहरी हिरासतमै छन् । तर, मिरुनाले उनीविरुद्ध जाहेरी दिएकी छैनन् । यदि मिरुनाले जाहेरी दिएमा म्याद थप गरिने नत्र आजै छाड्ने तयारी भएको प्रहरी स्रोतको भनाइ छ ।

    काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले चलचित्रकी एक महिला कलाकारले आफूमाथि दुर्व्यवहार गरेको भनेर मौखिक उजुरी गरेपछि एक पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

    उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा भिडभाडबीच मिरुनाले लामा पहिरनमा रहेका एक पुरुषलाई थर्काइरहेको देखिन्छ ।

    ‘अब आइन्दा कसैलाई यस्ता गरिस भने…डु यु थिंक इट्स जोक ’ भन्दै थर्काएर मिरुना हिँड्छिन् । त्यसपछि ती व्यक्तिले सबैका अगाडि कान समातेरर माफी मागेका छन् ।

    https://www.tiktok.com/@karmasinghh/video/7103226341511728410?is_copy_url=1&is_from_webapp=v1&q=karmasinghh&t=1653887392853

  • लन्डनमा ५ दिन नेपाली फिल्म फेस्टिबल हुने

    लन्डनमा ५ दिन नेपाली फिल्म फेस्टिबल हुने

    काठमाडौं । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ ।

    शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोजक केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

    ’हामीले नेपाली परिवेशको , नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै नेपाली कला , संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ’ अध्यक्ष केसीले भने, ’हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के-कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए । ’हामी कहाँ के कस्ता फिल्महरु बनिरजेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरि छ । त्यसैले हामीले सेलेक्ट गरेर केहि फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।

    थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।

    युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरु मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

    थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’

    महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए । ’हामीले नेपाली फिल्मको बजारलाई अगाडी बढाउन यस्ता गतिविधिले मदत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनु पर्छ’ नीरले भने । उनले आयोजक मध्येका एक मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशीभूमिमा पुर्याएको स्मरण समेत गरे ।

    ’मनोजले नेफ्टालाई विदेशीभूमिमा गर्छु भन्दा फिल्मकर्मीले पत्याएनन् । सहयोग पनि गरेनन् । तर , मनोज सफल भए र आज विदेशमा सयौँ कलाकार लगेर अवार्ड गर्ने गरिन्छ । त्यसैले यस्ता कार्यक्रमलाई फिल्मकर्मी भएका नाताले सहयोग गरौँ । किनकी यसले केहि नकेहि टेवा त पुर्याउछ’ नीरले भने ।

    यस्तै करिश्माले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडी बढ्ने प्रेरणा मिल्ने बताइन । ’हामीले विदेशी मार्केटमा नेपाली फिल्मको बढाउने गतिविधिले नै भोलि दर्शक बढ्ने हुन् । झनै यस्तो महोत्सवले राम्रा फिल्म हेर्ने मौका पाउछन । यसको सहि सदुपयोगिता हुनु पर्छ’ करिश्माले भनिन् । कार्यक्रममा उपस्थित सरोज खनालले आफूले नेपाली फिल्म प्रवर्द्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।

    ’यस किसिमको कार्यक्रमले हाम्रो कला , संस्कृतिलाई टेवा पुर्याउछ । म यसमा सहभागी भएर प्रस्तुति दिन समेत आतुर छु’ उनले भने । अभिनेत्री नीरुता सिंहले आफू नेपाली फिल्मको प्रवर्द्धनका निमित सदैव साथमै रहेको बताइन । मुम्बईबाट नेपाल आइपुगेकी नीरुताले अब नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नु पर्ने बताइन । ’हाम्रो नेपाली पन बोकेको फिल्म देखाएर दर्शक बढाउनु पर्छ । अब हामीले नेपालमै मात्र हाम्रो बजार सिमित राख्न हुदैन’ नीरुताले भनिन् ।

    नेफ्टा अवार्ड मार्फत नेपाली कलाकारहरुलाई विदेशी भूमिकमा लगेर अवार्डको सुरुवात गर्ने मनोज केसीले अवार्ड कार्यक्रमले दर्शक बढ्नेमा आफु विश्वस्त रहेको बताए । घोषणा कार्यक्रममा नम्रता सापकोटा , गायक विक्रम जंग शाह , अभिनेता भुवन केसी , चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा , फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना , अभिनेता यशराज ग्राच , अभिनेत्री पुजना प्रधान , निर्देशक सम्झना उप्रेती रौनियार , वरिष्ठ फोटोग्राफर विकाश रौनियार , गायक यम बराल , कलाकार दमन रुपाखेती , कलाकार शुलेमान शंकर ’इकु’ लगायतको उपस्थिति रहेको थियो ।

  • कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म ‘लोरी’ले जित्यो अवार्ड

    कान्स फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म ‘लोरी’ले जित्यो अवार्ड

    काठमाडौं । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो ।

    अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ ।

    कान्समा यसपटक १४० देशका ३ हजार ५०७ फिल्मले आवेदन दिएका थिए । जसमध्येबाट उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

     

     

     

     

  • अदिती र धिरज अभिनित फिल्म ‘बाबरी’को टिजर रिलिज

    अदिती र धिरज अभिनित फिल्म ‘बाबरी’को टिजर रिलिज

    काठमाडौं । अदिती बुढाथोकी र धिरज मगर अभिनित सिनेमा ‘बाबरी’को अफिसियल टिजर रिलिज गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । सिनेमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

    सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

  • शाकिराकाे अपिल अदालतले गर्‍याे खारेज, करछलीमा मुद्दा चलाउने बाटो खुल्यो

    शाकिराकाे अपिल अदालतले गर्‍याे खारेज, करछलीमा मुद्दा चलाउने बाटो खुल्यो

    काठमाडौं । कोलम्बियाली पप स्टार शाकिरा ठगी मुद्दाका कारण अहिले चर्चामा छिन् । स्पेनको एक अदालतले कर छलीमा शाकिराको अपिल खारेज गरेको छ । त्यसपछि उनीविरुद्ध मुद्दा चलाउने बाटो खुलेको छ ।

    शकिरामाथि कर छलीको आरोप सन् २०१८ मा पहिलो पटक समाचारमा आएको थियो । त्यसबेला स्पेनका वकिलहरूले सन् २०२१ देखि २०१४ सम्म सिंगरले करिब १५ करोड ५० लाख डलर वा १२० करोड कमाइ जम्मा नगरेको आरोप लगाएका थिए ।

    यस मामिलामा शाकिरा पनि सन् २०१९ को जुनमा अदालतमा हाजिर भएकी थिइन् । उनले आफ्नो गल्ती अस्वीकार गरेकी छन् । उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।

    यस मुद्दाको सुनुवाइ गर्दै अदालतले भन्यो, ‘शाकिराले कर नतिरेको र नियम पालना नगरेको हामीसँग पर्याप्त प्रमाण छ।’ यस्तो अवस्थामा गायकमाथि मुद्दा चलाउन सकिन्छ ।

    यदि उनीमाथि लगाइएको आरोप सत्य प्रमाणित भएमा र अदालतले दोषी ठहर गरेमा उनलाई सजाय हुन सक्छ या उनलाई जेलसँगै जरिवाना पनि हुन सक्नेछ । यद्यपि यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

  • कबड्डी हेर्न उर्लिएका दर्शक (तस्बिरहरु)

    कबड्डी हेर्न उर्लिएका दर्शक (तस्बिरहरु)

    काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ दोस्रो दिन पनि हलहरु हाउसफुल भएको छ ।

    पहिलो दिन नै आक्रमक ओपनिङ गरेको ‘कबड्डी ४ ले दोस्रो दिन पनि हलहरुमा हाउसफुल भएको छ । आज शनिबार बिहानैदेखि हलमा दर्शकको घुइँचो लागेको छ । दर्शकको उपस्थिति राम्रो भएपछि अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना  मगरसहितको टोली उपत्यकाको हलमा विहानै पुगेका थिए ।

    पानी परिरहेपनि हलहरुमा भने दर्शकको उत्साहजनक उपस्थिति रहेको छ ।
    कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने वितरक गोविन्द शाहीको आँकलन छ । यो अहिलेसम्म नेपालमा कुनै पनि चलचित्रले एक दिनमा गरेको सर्वाधिक व्यापार हो ।

    यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । शाहीका अनुसार सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेकोमा त्यो रेकर्ड ‘कबड्डी ४’ ले तोडेको छ ।

    आइतबार पनि सार्वजनिक बिदा भएकाले फुल अकुपेन्सीको अनुमान छ । त्यसो भएको खण्डमा तीन दिनमै चलचित्रले झण्डै सात करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सक्छ ।

    कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो । यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट् विक्रीबाट पहिल्यै तीन करोड रुपैयाँ कमाइसकेको छ ।

    सन् २०१४ मा पहिलो पटक कबड्डी चलचित्र बनेर रिलिज भएको थियो । अर्ग्यानिक विषयवस्तुमा बनेको चलचित्रलाई दर्शकले रुचाए । त्यसपछि उही कथालाई तन्काउँदै ४ सम्म ल्याइएको छ । अझै पनि दर्शकले रुचाइरहेकै छन् । कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् । मिरुनालाई पाउनका निम्ति दया र सौगातको संघर्ष नै चलचित्रको मुख्य विषय हो ।

     

  • कबड्डी ४ को क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती, हलभित्र भिडिओ खिच्न नदिन संघको आग्रह

    कबड्डी ४ को क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती, हलभित्र भिडिओ खिच्न नदिन संघको आग्रह

    काठमाडौं । शुक्रबारबाट प्रर्दशनमा आएको कबड्डी ४ फिल्मको क्लिप टिकटक, फेसबुक,युट्युबमा छ्यापछ्याप्ती भेटिएपछि निर्माण पक्ष यतिबेला तनावमा छन् ।

    चत्रचित्र हेर्न गएका दर्शकले सिनेमा हलभित्र मोवाइल लगेर फिल्मको क्लिप खिचेर सामाजिक सञ्जालमा हाल्न थालेपछि निर्माणपक्षलाई तनाव भएको हो ।

    चलचित्र प्रदर्शन भइरहेको अवस्थामा क्यामरा र मोबाइलबाट चलचित्रका केही दृश्यहरु कैद गरी यूट्युब, फेसबुकबाट सार्वजनिक भएको गुनासो निर्माता पक्षले  नेपाल चलचित्र संघलाई ध्यानाकर्षण गराएको छ ।

    सरोकारवालाहरुको स्वीकृति नलिई चलचित्र प्रतिलिपि अधिकार ऐन विपरीत कार्य गरेमा कानूनी कारबाही हुने भएकोले चलचित्र घरमा कसैलाई पनि प्रदर्शन भइरहेको चलचित्रका दृश्यहरु कैद गर्न नदिन चलचित्र संघले प्रदर्शक सदस्यलाई आग्रह गरेको छ ।

    चलचित्र घरहरुले क्यामरारमोबाइलबाट चलचित्रका दृश्यहरु कैद गर्ने कार्यलाई कडाइका साथ रोक्न समेत आग्रह गरेको छ ।

    निर्देशक निश्चल बस्नेतले पनि टिकटकमा क्लिप बनाउँदै हाल्यो भने अरु हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु भएको बताएका छन् । उनले यसरी क्लिप हल्दा कबड्डीका निर्मातालाई घाटा तिर धकेल्नु भएको समेत बताएका छन् । साथै हल सञ्चालकले पनि ध्यान दिन आग्रह गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्,‘अनुरोध…
    चलचित्रलाइ माया गर्नु भनेको मनपरेको चलचित्र हेर्न टिकट काटेर हलसम्म पुगेर मस्त मजा लिनु हो।
    टिकटकमा क्लिप बनाउँदै हाल्नुभयो भने अरु हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु हो र कबड्डीका निर्मातालाई घाटा तिर धकेल्नु हो । यति त बुझिदिनुपर्यो दर्शकहरुले । कसैले खिचेकोो देखे त्यसो नगर्न भनिपनि दिन हुन अनुरोध ।
    हल संचालकहरले पनि याद गर्नु पर्यो हजुर ।।। सुरुमा लेखेको DISCLAIMER ले मात्र पुगेन ।’

    आसुरी फिल्मस र सुषमा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरिएको नेपाली चलचित्र कबड्डी-४ (कलाकारहरु दयाहाङ राई, सौगात मल्ल आदि) जेष्ठ १३ शुक्रबारदेखि नेपालभर प्रदर्शन भइरहेको छ ।

  • ‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

    ‘लघु फिल्म प्रतियोगिता’मा उत्कृष्ट ‘द बास्केट’ लाई १ लाख ५० हजार

    काठमाडौं ।नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र विकास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको यो फिल्मले २ लाख नगदसहित पुरस्कार जितेको हो ।

    प्रतियोगितामा सहभागी हुन आएका ५६ फिल्ममध्ये २० फिल्मलाई दर्शकले मत दिन पाउने गरी आयोजकले सामाजिक सञ्जालमा राखेका थिए । यही आधारमा दर्शकको ५० प्रतिशत अंक भार र जुरीको ५० अंक भार जोडी चार विजेता छनोट गरिएको हो ।

    २० फिल्ममध्ये सुरेन्द्र प्रजापतिको ‘शुन्य’ दोस्रो र राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ तेस्रो भएको थियो । शर्मा क्रिएसनको ‘अछोप’ले सान्तवनामा चित्त बुझाएको थियो । उनीहरुले क्रमशस् १ लाख ५० हजार, ५० हजार र २५ हजार रुपैंयाँ प्राप्त गरे । विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र दिएको थियो ।

    निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए ।

    प्रतियोगिताको जुरीमा कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, निर्माता, निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए ।

     

     

  • आफ्नै नामले साह्रै डिस्टर्ब उपेन्द्र सुब्बा भन्छन्- परिचय बेकारको भारी हुँदोरहेछ (भिडिओ)

    आफ्नै नामले साह्रै डिस्टर्ब उपेन्द्र सुब्बा भन्छन्- परिचय बेकारको भारी हुँदोरहेछ (भिडिओ)

    काठमाडाैं । उपेन्द्र सुुब्बा को हुन् ? सुब्बा स्वयंसँगै यस प्रश्नको ठ्याक्कै उत्तर पत्तो छैन । आफैलाई आफैले ठोसरुपमा ‘मेरो परिचय यो हो’ भनेर भन्न सक्दैनन् ।

    ‘खोलाको गीत’ कविता संग्रहका कविताका पंक्तिहरुमा झुम्यो, उनी कवि हुन् । ‘लाटो पहाड’ कथासंग्रहका पन्नाहरु पल्टायो, उनी कथाकार हुन् । ‘कबड्डी’ फिल्मको सिरिजदेखि केही फिल्मका नामहरु सरसर्ती पढ्योे, उनी पटकथा लेखक हुन् । प्रदर्शन हुन बाँकी ‘जारी’ फिल्मलाई सम्झ्यो, उनी निर्देशक हुन् । ‘कबड्डी’मा झाँक्रीले खिर खुवाएको दृश्य हेर्‍यो, उनी कलाकार हुन् । केही गीतहरुलाई श्रवण गर्‍यो, उनी गीतकार हुन् ।

    एकै परिचय भए पो ठ्याक्कै ‘यो हुँ’ भन्न सकोस् सुब्बाले । उनी स्वयं पनि कहिलेकाहीँ अलमलमा पर्छन् । साहित्य सर्कलका साथीभाइका लागि कवि, कथाकार हुन् । संगीतज्ञहरुका लागि गीतकार । फिल्म क्षेत्रका लागि सफल पटकथा लेखक र निर्देशक ।

    यी परिचयमध्ये एक प्रिय परिचय छान्नुपर्दा सुब्बा भन्छन्, ‘म त साँच्चै कन्फ्युज भएँ । साँच्चिकै धेरै काम गरेछु । एकै ठाउँ नअडिएको रहेछु । एक कुनै विषयमा दख्खल नपुर्‍याएपछि मान्छे यसरी भौतारिँदोरहेछु ।’

    यता पो हुन्छ कि उता पो हुन्छ कि भनेर अनेक क्षेत्रमा भौतारिएको बताउँछन् सुब्बा । उनी बेलाबेला कवि श्रवण मुकारुङ सम्झन्छन्, जो बेजोड कविता लेख्छ र कविताबाहेक अरुथोक गर्नु नै छैन । उनी गर्विलो आख्यान लेखिरहेका साथीहरुलाई हेर्छन्, जसलाई आख्यान लेख्नुबाहेक अर्थोक गर्नु नै छैन । सुब्बा सुनाउँछन्, ‘मैले चाहिँ त्यसो गर्न नसक्दो रहेछु । त्यसो गर्न नसके पनि मलाई पनि आनन्द, खुसी चाहियो नि त ! अनेक क्षेत्रमा हात हाल्नु मेरो आफ्नै खोजी होला । धेरै क्षेत्रमा काम गरेँ । तर, कतै सन्तुष्ट छैन म ।’

    यति भनिसकेर आँखा छोपिने गरी लामो सिग्नेचर हाँसो हाँस्छन् सुब्बा ।

    भनिन्छ, मान्छे एक क्षेत्रमा असफल भएपछि अर्को क्षेत्रमा जान्छन् । त्यही क्षेत्रमा सफल हुन्छन् । अर्काथरि मान्छे एक क्षेत्रमा असफल हुन्छन् । फेरि असफल हुन्छन् । फेरि हुन्छन् । र, अन्त्यमा एक दिन सफल हुन्छन् । सुब्बाको पोल्टामा भने उस्तो असफलता आइपरेन । जुन जुन क्षेत्रमा लागे, त्यही त्यही क्षेत्रमा सफल नै भए । सुब्बालाई भने आफू त्यस्तो सफल र राम्रो नभएको लाग्छ । भन्छन्, ‘मैले क्षेत्र फेरिरहनुमा एकै विषय, एउटै दिनचर्या नरुचाएर पनि होला । कवि भएर दश बाह्र वर्ष हिँडेँ । फिल्मतिर स्क्रिप्ट लेखेर दश बाह्र वर्ष बिताएँ । अहिले मेरो दानापानी चल्ने यसैले हो ।’

    र, अहिले फिल्म निर्देशनमा पनि हात हालेका छन्– ‘जारी’ । रहर अनि जिम्मेवारीले निर्देशनमा हात हालेको बताउँछन् । तर, सुब्बाको अहिलेको भव्य परिचय त पटकथा लेखन नै हो । ‘कबड्डी’को प्रचारप्रसारमा जाँदा पनि उनलाई थुप्रैले सोधेका थिए, ‘तपाईं त नेपालको व्यस्त पटकथा लेखक होला !’

    तर, वास्तविकता भने मान्छेले सोचेभन्दा निकै नै फरक रहेछ । उनी सुनाउँछन्, ‘मसँग त्यस्तो धेरै प्रोजेक्ट छैन । त्यही कबड्डी सिरिज लेखेको छु । कबड्डीले गर्दा पनि मान्छेले कामको चाप छ ठान्लान् । तर, मेरो हातमा प्रोजेक्ट नै छैन । लेखकको रुपमा बिजी हुनुपर्ने हो, छुइनँ । मान्छेले सुनेजस्तो होइन रहेछु म ।’

    नेपालमा वर्षमा सरदर सय फिल्म बन्छन् । सयमध्ये वर्षको दुईवटामात्रै लेख्न पाउँदा पनि सुब्बाको जीविका चल्ने हो । तर, उनले चाहे जसरी प्रोजेक्ट पाएकै छैनन् । सुब्बा लामो हाँसोपछि थप्छन्, ‘अभिनयको कुरा गर्दा पनि फुलुकमा लागेको दाउ जस्तो हो झाँक्री । अभिनय म गर्नै सक्दिनँ । मान्छेहरु सोच्लान्, यो सुब्बालाई फिल्ममा पनि अफर आयो होला । मैले चाहिँ अफर नै पाएको छुइनँ । झाँक्री त अनुहार मिलेकाले, केके मिलेकाले हिट भएको हो । मलाई सफल कथाकारभन्दा प्रकाशकहरु पछि लागेका होलान् भन्ने सोच्लान् । तर, प्रकाशक खोजेर मै हिँडिरहेको छु । मसँग किताब छाप्नलाई रेडी छ । प्रकाशकले लेखकहरुलाई दश लाख, पन्ध्र लाख दिएर लेख्न लगाउँछन् रे ! तर, म चाहिँ प्रकाशक नै भेट्दिनँ ।’

    वास्तविकता निकै नै क्रूर हुने सुब्बाको अनुभव छ ।

    ०००

    सुब्बा उमेरले ५० हिर्काइसकेका मान्छे हुन् । यतिबेला उनको निर्देशन रहेको फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ । कबड्डी फिल्म बम्पर बुकिङ भइरहेको छ । कथासंग्रहको पाण्डुलिपिसँग छन् ।

    भनिन्छ, सृजनशील हुने पनि समय हुन्छ । एक समयमा मात्रै मान्छे औधी सृजनशील हुनसक्छ । अनि त्यसको ब्याज खाँदै बस्नुपर्ने स्थितिमा मान्छे पुग्छन् पनि भनिन्छ । उमेरले म्याच्युअर्ड हुँदै जाँदा सुब्बा पनि झण्डै झण्डै सृजनाहरुको ब्याज खाने स्थितिमा पुगेका स्रष्टा हुन् । तर, उनको सवालमा सृजनशीलताको ‘हदम्याद’ किन लागू भएन ?

    सृजनशीलताको समय हुन्छ, सुब्बालाई पनि यो महसुस हुन्छ । उनीसित जति कथाहरु थिए/छन् ती सबै युवाकालमै लेख्छु भनेर सोचेका थिए । फिल्मका जति कामहरु भएका छन्, ती सबै कुनै समय गरिसकेका थिए । भन्छन्, ‘देखिँदा अहिले गरिरहेजस्तो । तर, पहिला गर्न नपाएका काम हुन् यी । एक खालको उमेर आएपछि मान्छेले सिक्न चाहिँ छाड्दोरहेछ । मलाई पुग्यो, योभन्दा धेरै जान्नु आवश्यक छैन भन्ने अवस्था आयो भने अथवा मैले जानिसकेँ भन्ने भयो भने चाहिँ सिक्ने प्रक्रिया सकिँदोरहेछ मान्छेको ।’

    सुब्बालाई लाग्छ, सिक्ने जाँगर भएसम्म मान्छे सृजनशील भएरै छाड्छ । आफू सृजनशील भइरहनुमा विधा परिवर्तन गरिरहनु हो भन्ने पनि लाग्छ उनलाई । उनले गीत लेखे, कविता लेखे, कथा लेखे, फिल्म लेखे, निर्देशन गरे । यसरी फरक विधा टेस्ट गर्दा नयाँ नयाँ सिक्नुपर्ने कुराहरु धेरै हुन्छन् । यसैले पनि आफूलाई नयाँ नयाँ विधामा जान रमाइलो लाग्ने बताउँछन् ।

    उनी थप्छन्, ‘यसरी काम गर्दा रमाइलो पनि हुन्छ, मलाई सृजनशील बनाइरहन्छ पनि । नयाँ विधाले उत्साह र जाँगर पनि थप्छ । अनि आत्मविश्वास पनि दिन्छ ।’

    ४० कटेपछि मान्छे थोरै स्लो हुन्छ भनिए पनि ४० वर्षपछि प्रसिद्ध लेखक पाउलो कोएल्हो लेखनमा लागे । सुब्बा त पचास पुगिसके । यो उमेरमा आफू थोरै स्लो भए पनि काम गर्न मज्जा आइरहेको बताउँछन् ।

    बच्चाको उमेरमा युवाकालको प्रतीक्षा हुन्छ । युवाकालपछि आउने प्रौढकाल चाहिँ मान्छेले अलि डरलाग्दो मान्छन् । तर, सुब्बालाई लाग्छ, जीवन चाहिँ त्यस्तो होइन । ‘म पचास छिरेँ । प्रौढकाल कस्तो बनाउने भन्दा त्यसबेला के कुरामा इन्जोय गर्ने भन्ने कुरामा भर पर्छ होला । बच्चामा जे कुराले सन्तुष्टि मिल्थ्यो, युवाकालमा त्यसले मिल्दैन । युवामा जे जे कुरा मिल्छ, प्रौढमा त्यो मिल्दैन । कोही मान्छे प्रौढ भयो र युवाकाल जसरी नै बाँच्न चाह्यो भने सन्तुष्टि मिल्दैन’, सुब्बा थोरै फिलोसोफिकल हुँदै आफ्नै स्वभावमा आइपुग्छन्, ‘प्रौढमा गर्ने मेरा काम यी हुन्, यी काम गर्दा आनन्दित हुन्छु भन्ने निर्धारण गरियो भने गज्जब हुन्छ । कति खुसी हुने, कसरी बाँच्ने भन्ने मानसिकता न हो । प्रौढ त भयंकर सुन्दर उमेर हो, मान्छेहरुले नबुझेकोमात्रै हो । यसबेला केही नगरे पनि आदर मिल्छ । बाजे भन्छन्, ढोग्छन्, हप्काउँदैनन् । म त छिटो ७० पुगूँ भन्ने इच्छा राख्छु ।’

    विधा परिवर्तन गरिरहने सुब्बाले पचास छोए पनि पटकथा लेखन छोएको करिब १० वर्षको वरिपरिमै छ । एक दशक एकै क्षेत्रमा बिताइसक्दा अब त सुब्बालाई बोर लाग्न थालिसक्यो होला । तर, पटकथा लेखन आफ्नो दालचामलको समस्या भएको बताउँछन् । जुन काम पाएसम्म गर्ने उनको ध्येय छ । उनले जानेको काम पनि यही हो । तर, उनका अनुसार कसैले पत्याउँदैनन् । सामान्य बनिरहेको नेपाली फिल्मभन्दा राम्रो लेख्छु भन्ने पनि लाग्छ उनलाई, त्यसको प्रमाण पनि छन् । तर, मान्छेले नपत्याउने बताउँदै हाँस्छन् ।

    ०००

    परबाट हेर्दा भने सुब्बासँग कामकै चाप छ । उनका प्रोजेक्टहरु दर्शकले रुचाइदिएका छन् । उनले लेखेका सिनहरुमा खेलेर कति कलाकारले करियर तन्काएका छन् । यस हिसाबले पनि सुब्बालाई डिमान्डेडमात्रै होइन, उत्तिकै महँगा लेखक होलान् भन्ने देखिन्छ । तर, आफू त्यस्तो नभएको बताउँछन् उनी ।

    भन्छन्, ‘मैले मलाई यति देऊ भनेर डिमान्ड गर्नै पाएको छैन । त्यसरी लेखाउन कोही आएका पनि छैनन् । टाढादेखि देख्दा त्यस्तो लाग्दोरहेछ । जे होस्, बाँचिरहेको छु । पुग्दो छैन ।’

    नेपाली सिनेमा हलमा कबड्डी प्रदर्शन भइरहेको छ । प्रदर्शनअघि फिल्म युनिटले देशभर प्रमोसन गर्‍यो । मुख्य कलाकारसँगै प्रमोसनको मुख्य हिस्सा बनेर सुब्बा पनि डुले । कलाकारसँगै स्टेजमा उभिए, बोले ।

    प्रायः नेपाली फिल्मका पटकथा लेखकहरु प्रमोसनमा खासै खोजिँदैनन् । प्रिमियरको दिन पनि लेखक कता हुन्छन्, मान्छेले पत्तो पाउँदैनन् ।

    आफू त्यसरी प्रमोसनमा पनि पुग्नुपर्ने अवस्थाको पछाडि यस सिरिजले बिताएको लामो समयलाई कारक देख्छन् । भन्छन्, ‘अब रामबाबु गुरुङ गएन । उसको सट्टा उभिनुपर्‍यो । कसैले सोधेको प्रश्नको उत्तर दिनुपर्‍यो । रामबाबु मिडियामा आउन कमै रुचाउँछ । त्यो भएर पनि होला ।’

    ०००

    बलिउड फिल्ममा जावेद अख्तर, सलिम खानहरु एक सय हिरोभन्दा ठूला स्टार थिए । हिरोभन्दा महँगा थिए । त्यो उनीहरुले आफ्नै मेहनतले बनाएका थिए । पटकथा लेखकहरुले त्यसरी नै आफूलाई निर्माण गर्नुपर्ने देख्छन् सुब्बा । ‘यसको मतलब म क्षमतावान भएर भन्न खोजेको होइन । कबड्डी हाम्रै प्रोडक्सन र सिरिज भएकाले होला । तर, नेपाली फिल्ममा स्क्रिप्टलाई गम्भीर रुपमा नलिइँदा लेखकहरु छायाँमा पर्छन् ।’

    नेपाली मिडियामा भने मेकरहरु यतिउति पैसा दिन्छु, लेख्ने कोही छ भनेर धमास दिइरहेका हुन्छन् । जति नै धमास दिए पनि मेकरहरुले त्यसरी लेखाएको चाहिँ सुब्बाका आँखाले देखेका छैनन् । फिल्म राम्रो बन्न स्क्रिप्ट नै गतिलो हुनुपर्छ भन्ने बुझे पनि, मिडियामा आएर बोले पनि वास्तविकता त्यस्तो नभएको बताउँछन् सुब्बा ।

    नेपाली फिल्ममा पटकथा नै झूर हुन्छ भन्ने गरिन्छ । त्यसका लागि चाहिँ लेखकलाई पत्याएर काम लगाएर नतिजा निकाल्न सुझाव दिन्छन् सुब्बा । भन्छन्, ‘जे लेख्यो, त्यही बनायो भने त कहाँबाट हुन्छ र ! राम्रो र नराम्रो छुट्याउन र लेखकलाई काममा मेहनत गराउन सक्नुप¥यो मेकरले । अलि धेरै गफ गर्छन् यो फिल्म लाइनमा ।’

    सुब्बाले पटकथा लेखेको कबड्डी सफल भयो । सफल हुँदै जाँदा चौथो सिरिजसम्म आइपुग्यो । अब त कबड्डीको सिरिजले पुग्यो होला ! त्यही भएर नै यो फाइनल बनाएको बताउँछन् सुब्बा । भन्छन्, ‘योभन्दा धेरै तन्कँदैन, निचोरेर कति निकाल्ने भनेर फाइनल बनाएको हो । यो स्टोरी चाहिँ फाइनल गरौं भनेर नै हो ।’

    ०००

    सुब्बाको दाबी छ, ‘कबड्डी’ सुरुवातदेखि नै सफल हुँदै आउनुमा मेकरले चुनौती मोल्ने आँट गरेर नै हो, खतरा मोल्न सकेर नै हो । मेकरहरुले जे चल्छ, त्यस्तै बनाउन खोजेर समस्या देखिएको हो । आँट गरेपछि ‘कबड्डी’ फरक बन्यो । ‘लुट’ चलिरहेको फिल्मभन्दा फरक थियो, खतरा मोल्यो, चल्यो ।’

    नेपाली मेकरहरु खतरा मोल्न तयार नभइदिनाले गतिला फिल्महरु कम आएको बताउँछन् । अर्कातिर संसारभर लगानीको पाँच प्रतिशत पटकथालाई छुट्याइन्छ । नेपालमा तीन करोडमा फिल्म बन्छ भने १५ लाख लेखकलाई छुट्याउनुपर्ने हो । यसो गर्दा वर्षमा दुईवटामात्रै फिल्म लेख्दा एक लेखकले सरदर नेपालीको अनुसार जीवन चलाउन सक्ने बताउँछन् सुब्बा । तर, पटकथालाई त्यसरी नलिइँदा कमसल फिल्महरु ज्यादा बन्ने गरेको उनको तर्क छ ।

    – अनि, स्क्रिप्टभन्दा छुट्टै प्रसंगको कुरा गरौं । कबड्डीले अहिलेसम्मकै सबैभन्दा धेरै शो पाएको छ । तर, हल सञ्चालकहरुले नेपाली फिल्मलाई शो नै दिएन भन्ने गुनासो ज्यादा सुनिन्छ । उनीहरुले शो दिनका लागि कस्तो फिल्म बन्नुपर्ने रहेछ ?

    हल सञ्चालक, वितरक व्यापारी भए । हल सञ्चालकहरुको आफ्नै सञ्जाल हुन्छ । उनीहरुले फिल्म कस्तो छ भनेर आफ्नै तरिकाले बुझ्छन् । हाइपअनुसार शो दिन्छन् । हलिउड, बलिउडका ठूला फिल्ममा पनि दर्शकको चासोअनुसार शो दिन्छन् । नेपाली फिल्मलाई पनि त्यसै गर्ने हुन् । सत्य चाहिँ हामीले फिल्म बनाउनै नसकिएको हो । ‘कबड्डी’ चाहिँ सिरिज भयो, काजीको पनि आफ्नै दर्शक छन् । हल सञ्चालक पनि दर्शक आउनेमा विश्वस्त भएर शो दिएका हुन् ।

    – भनेपछि राम्रो शो पाउन फिल्म नै राम्रो बनाउनु पर्ने रहेछ ?

    हो, व्यापारीले कमाउने नै सोच्छ । उसको हल भरिभराउ हुनुप¥यो । जुन फिल्मले हल भर्छ, त्यसलाई नै शो दिने हो । उनीहरुको उद्देश्य नै त्यति हो ।

    यसपछि सुब्बाले आफ्ना दुईवटा कविता हामीलाई सुनाए । कविता सुनाइसकेपछि भने, ‘अस्ति धरानमा कविता सुनाउन गएँ । तर, एकदम व्यापक डिजास्टर अनुभव भयो । रेस्टुरेन्टको ओपनिङ थियो । मैले कविता सुनाउनुअघि नै दर्शक बियर र ह्वीस्की खाएर बसेका थिए । उनीहरुलाई कविता कसरी सुनाउनु ? अब चाहिँ रेस्टुरेन्टमा कविता सुनाउन जान्नँ । कविलाई दर्शक, स्रोता छुट्टै र सचेत चाहिने रहेछ । मदहोसवाला भए भने नमज्जा आउने रहेछ । हामीलाई त हाम्रा कविता सुनिदेओस् भन्ने हुन्छ । एउटा फिलमा वाचन गरिएको हुन्छ । तर, त्यहाँ यस्तो टाउको दुख्यो कि, अब त नाइँ… ।’

    अनि लामो हाँसो हाँसे सुब्बा ।

    – अन्त्यमा, तपाईंलाई अनेक सम्बोधनमध्ये कुन सम्बोधन प्रिय लाग्छ ?

    खासमा परिचय नै बेकारको भारी हुँदोरहेछ । पहिला कवि भनिदेओस् भन्ने लोभ लाग्थ्यो । पछि अरु परिचय थपिए । म ठूलो नाम भएको मान्छे त होइन । तर, मेरो परिचय छरपस्ट रहेछ । कसैले झाँक्री भन्छन्, कसैले कवि भन्छन् । शान्त बस्न दिइरहेको छैन आफ्नै नामले । बाटोमा हिँड्दा एकोहोरो सोच्दै हिँड्न मन लाग्छ । तर, बाटोमा पुलको छेउमा सेल्फी खिच्ने भेटिन्छन् । त्यसले दिक्क लाग्ने नि त ! रोक्यो, दाइ भन्यो, सेल्फी भन्यो । कुन मुडमा, दुःखमा होइन्छ, अनुहार पनि किचिमिची हुन्छ । तर, मानिदिनै पर्‍यो । हाँसिदिनै पर्‍यो । त्यसले आफ्नो सोचको निरन्तरता टुट्ने । त्यो बोर हुन्छ । अनि चिया पसल छिर्‍यो, चिया माग्यो, खास आफैसँग ठुस्क्यो अनि मुड बनाएर हिँड्यो । यो नामले मलाई साह्रै डिस्टर्ब भएको छ । नाम इन्जोय नगर्नेमा पर्दोरहेछु म ।’

    भिडिओ : नविनमुनि स्थापित

  • युट्युबमा ‘प्रेम लीला’

    युट्युबमा ‘प्रेम लीला’

    काठमाडौं । नेपाली सिनेमाको मार्केट हल बाहेक युट्युब पनि हो । त्यसैले हल रिलिज पछि सिनेमाहरू युट्युबमा पनि रिलिज हुने गरेका छन् ।

    यस्तै, लगभग २ वर्ष अगाडि रिलिज भएको सिनेमा ‘प्रेम लीला’ ओएसआर डिजिटलबाट आज रिलिज भएको छ ।

    त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको सिनेमा हिन्दी र नेपाली भाषामा छ ।

    भारतीय केटा नेपाली केटीको प्रेम देखाइएकोले सिनेमाका धेरै अंश हिन्दी भाषामा भएको हो ।

    दीपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका रहेको सिनेमालाई अभिनेत्री दीपशिखाकै स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

    फैजिल फिल्म्स र नानी मैया कार्कीले निर्माण गरेको सिनेमा नेपाल र भारतमा छायांकन गरिएको थियो ।

  • नेपाली चलचित्रमा ओइरिए दर्शक, कबड्डी ४ ले तोड्यो रेकर्ड

    नेपाली चलचित्रमा ओइरिए दर्शक, कबड्डी ४ ले तोड्यो रेकर्ड

    काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४– द फाइनल म्याच’ लाई नेपाली चलचित्रको इतिहासमै  सबैभन्दा ठूलो ओपनिङ मिलेको छ । पहिलो दिनमा फुल अकुपेन्सीका साथ चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्न सफल भयो ।

    नेपाली चलचित्रलाई हेला गर्ने परम्परा विपरीत कबड्डी–४ लाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका थिए । नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च संख्यामा शो पाएपछि र दर्शकले पनि त्यही अनुसार साथ दिएपछि कबड्डी ४ को व्यापार चम्किएको छ ।

    यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन् । आज सबै शोहरु हाउसफुल भए ।

    कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने वितरक गोविन्द शाहीको आँकलन छ । यो अहिलेसम्म नेपालमा कुनै पनि चलचित्रले एक दिनमा गरेको सर्वाधिक व्यापार हो ।

    यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । शाहीका अनुसार सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेकोमा त्यो रेकर्ड ‘कबड्डी ४’ ले तोडेको छ । देशभरका साना–ठूला सबै हलहरु हाउसफुल रहेको शाहीले बताए ।

    ‘यो अहिलेसम्मकै उच्च शो पाएको र उच्च व्यापार गरेको चलचित्र हो,’ उनले भने, ‘हलिउड र बलिउडका चलचित्रमा पनि यो लेभलको क्रेज देखेको थिइनँ । यसले अल नेपाल नयाँ इतिहास रचेको छ ।’

    चलचित्रका निर्देशक रामबावु गुरुङले पनि चलचित्रले उत्साहजनक ओपनिङ गरेको जानकारी पाएको बताए ।

    ‘मल्टिप्लेस वा थिएटरको स्क्रिनको हिसाब र शोको हिसाब गर्दा रेकर्ड ब्रेक नै भएको हो,’ उनले भने, ‘प्रामाणिक व्यापार कति गर्छ भन्ने चाहिँ अलिक पछि मात्रै थाहा हुन्छ ।’

    चलचित्रले अबको दुई दिन उच्च व्यापार गर्ने निधो भइसकेको छ । भोलि शनिवारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ भने आइतबारको ६५ प्रतिशत टिकट बिकिसकेको छ ।

    आइतबार पनि सार्वजनिक बिदा भएकाले फुल अकुपेन्सीको अनुमान छ । त्यसो भएको खण्डमा तीन दिनमै चलचित्रले झण्डै सात करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सक्छ ।

    वितरक शाही भन्छन्, ‘पछि कस्तो होला के होला थाहा छैन, तर नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म यस्तो दिन आएको थिएन । आउने दिनमा पनि यो रेकर्ड ब्रेक गर्न अरू चलचित्रलाई गाह्रो छ ।’

    रिलिज अगाडि नै लगानी सुरक्षित

    त्यसो त कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो । यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट् विक्रीबाट पहिल्यै तीन करोड रुपैयाँ कमाइसकेको छ ।

    चलचित्रको निर्माण पक्षका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रदर्शन अधिकार विक्री भएको छ ।

    ओभरसिज राइट र डिजिटल राइट विक्री गरेर फिल्मले तीन करोड रुपैयाँ पहिल्यै प्राप्त गरिसकेको थियो । अब नेपालका हलहरूबाट हुने आम्दानी फिल्मको पूर्ण मुनाफा हो ।

    निर्माताहरूका अनुसार पहिलो सप्ताहमा ग्रस कलेक्सनको करिब ३० प्रतिशत निर्माताको गोजीमा जान्छ । त्यस हिसाबले यदि फिल्मले पहिलो हप्ता ६ करोड हाराहारी व्यापार गर्‍यो भने निर्माताले झण्डै दुई करोड रुपैयाँ मुनाफा कमाउने छन् । त्यसपछि निर्माताको सेयर घट्दै जान्छ ।

    सिक्वेलमा भर परेको उद्योग

    पछिल्लो समय नेपाली चलचित्र राम्रो अवस्थाबाट गुज्रिरहेको छैन । अत्यन्त थोरै चलचित्रले मात्रै लगानी उठाउन सफल भइरहेका छन् ।

    कोरोनाले दुई वर्ष जति चलचित्र उद्योग ठप्प भयो । करिब एक वर्षदेखि कोरोनाको तेस्रो कहर सकिएर चलचित्र उद्योग सुचारु भएको हो । त्यसयता भारतीय चलचित्रको दबदबाले नेपाली चलचित्रलाई हलमा टिक्न गाह्रो परिरहेको छ । पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरू नेपाली चलचित्रका प्रमुख दुस्मन बनेका छन् ।

    हलहरु खुलेयता एक दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आइसके तर दुई वटा नेपाली चलचित्रले मात्रै राम्रो व्यापार गर्न सफल भएका थिए । ती दुवै सिक्वेल थिए । पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ र सुनिलकुमार थापाले निर्माण गरेको ए मेरो हजुर ४ ले निर्मातालाई राहत दिए । यी दुवै चलचित्र हिट सिक्वेल हुन् । अहिले दर्शक तानिरहेको कबड्डी ४ पनि सिक्वैल नै हो । यस अर्थमा नेपाली चलचित्र सिक्वेलमा निर्भर हुँदै गएको छ ।

    कहिलेसम्म सिक्वेलमा रमाउने त भन्ने प्रश्नमा कबड्डी निर्देशक गुरुङ भन्छन्, ‘दर्शकले रुचाउनुभएकाले नै सिक्वेलहरु बनेका हुन् । कबड्डी चाहिँ लगभग यो नै अन्तिम भनेर हामीले ‘द फाइनल म्याच’ भनेका हौँ । बनाएका हौँ र कथाको पनि अन्त्य भएको छ यो सिरिजमा । तर यदि समय र परिस्थितिको माग भयो भने जे पनि हुन सक्छ ।’

    सन् २०१४ मा पहिलो पटक कबड्डी चलचित्र बनेर रिलिज भएको थियो । अर्ग्यानिक विषयवस्तुमा बनेको चलचित्रलाई दर्शकले रुचाए । त्यसपछि उही कथालाई तन्काउँदै ४ सम्म ल्याइएको छ । अझै पनि दर्शकले रुचाइरहेकै छन् । कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् । मिरुनालाई पाउनका निम्ति दया र सौगातको संघर्ष नै चलचित्रको मुख्य विषय हो ।

    हिजो आयोजित प्रिमियरमा चलचित्रलाई राम्रो रेस्पोन्स मिलेको थियो ।

    यस चलचित्रको ‘केशरी’ बोलको गीत केही समयअघिदेखि बहुचर्चित छ ।

    दर्शकको मुखमुखमा झुण्डिएको यो गीतले चलचित्रको व्यापारमा पनि योगदान गरेको अनुमान गर्न सकिन्छ ।