Category: कलाप्रेस

  • फुर्पाको दाबी- हिरोइनलाई बचाउन मिलापत्रमा सही गरेँ (भिडिओ)

    फुर्पाको दाबी- हिरोइनलाई बचाउन मिलापत्रमा सही गरेँ (भिडिओ)

    काठमाडौं । ‘ब्याड टच’ प्रकरणमा नायिका मिरुना मगर र आरोपी फुर्पा लामाबीच मिलापत्र भइसकेको छ । तर, अझै पनि यो प्रकरण सेलाएको छैन ।

    फुर्पाले आफ्नो गल्ती स्वीकार्दै मिरुनासँग क्षमायाचना गरेपछि दुई पक्षबीच मिलापत्र भएको थियो । मिरुनाले मिलापत्रमा आफ्नो भाइ सम्झेर फुर्पालाई माफी दिएको उल्लेख गरेकी छन् । उत्पन्न अप्रिय परिस्थितिप्रति स्वयम्‌ले पनि क्षमायाचना गरेकी छन् ।

    आरोपी फुर्पाले प्रहरीसँग गल्ती स्वीकारेको भए पनि बाहिर निस्केर भने आफू निर्दोष भएको दाबी गरिरहेका छन् । हालै उनको एउटा भिडिओ सार्वजनिक भएको छ । कामी शेर्पा नामक बुद्धधर्मका एक अगुवाले फुर्पासँग भिडिओ च्याट गरेका थिए । उक्त कुराकानीमा फुर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मिरुनालाई नियतवस नभइ भीडभाडमा झुक्किएर छुन पुगेको उनको दाबी छ ।

    साथै, उनले मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको दाबी गरेका छन् । नायिकालाई मानिसहरूले नराम्रो नभनुनन् भनेर आफूले मिलापत्रमा हस्ताक्षर गरिदिएको उनको भनाइ छ ।

    फुर्पाको भनाइ जस्ताको तस्तैः

    त्यस दिन म फिल्म हेर्न गएको थिएँ । फिल्म सकिएपछि सेलिब्रिटीहरू आए । म पनि सेलिब्रिटी हेर्न गएँ । एकदम भीड थियो । मलाई मनदेखि फोटो खिच्न मन लाग्यो । सेलिब्रिटीसँग फोटो खिच्न बेलाबेला मात्र पाउँछ । त्यहाँ त्यो केटी भेटियो । सबैले उसित फोटो खिचिरहेका थिए । मलाई त्यो केटी हिरोइन हो भन्ने थाहा थिएन । मैले पनि फोटो खिचेँ ।

    खिचिसकेर यता फर्केको थिएँ । धकेलाधकेल हुँदा हात यस्तो भएको थियो… मिस्टेकले लाग्यो । उहाँले एक थप्पड हान्यो । मैले सरी भनेँ । मान्छेलाई सरी भन्नुपर्छ नि त । सरी… सरी… भनेँ । मलाई डर लागेको थियो । मेरो अरु मान्छे देखिनँ । त्यसपछि त्यहाँबाट जान लागेँ ।
    उता गएपछि साथीहरू भेटेँ । उनीहरूले जाउँ जाउँ भनेर हिँडे । लिफ्टबाट झर्न लाग्दा माथिबाट एउटा मान्छे कुदेर आयो । मलाई त्यहीँ समातेर माथि लिएर गयो । त्यहाँबाट थानामा लग्यो ।

    थानाभित्र मलाई कुटपिट त गरेन । तर, म एकदम नर्भसमा थियो । धेरै डर लागेको थियो । के हुन्छ भनेर केही थाहा थिएन । म कहिले निस्किन्छु भन्ने मात्रै थियो दिमागमा ।

    त्यो कागज गरेको चाहिँ थानामा होइन । अन्तै हो । कसरी मिल्ने भनेर कुराकानी भएको थियो । धेरै समयसम्म कुराकानी हुँदाखेरि हामीले चाहिँ ‘मिसअन्डरस्ट्यान्डिङ’ भएकोमा दुवैले माफी माग्ने भनेर कुरा गरेका थियौं । तर, हिरोइनले मानेन । उसले मलाई मान्छेहरूले नराम्रो भनिरहेको छ, त्यस्तो लेख्यो भने झन् गाली गर्छ भन्यो र रोयो । यो शब्दमा धेरैबेरसम्म विवाद भयो ।

    हामीले मिलापत्र गरेको कागज नपठाएसम्म फिल्म पनि चल्न नदिने भनेर कुरा आइरहेको थियो । त्यसैले कागज गर्नैपर्छ भनेर सबैजनाले प्रेसर दियो ।

    मैले हिरोइनलाई अरुले नराम्रो नभनोस् भनेर उसलाई बचाउनका लागि त्यसमा सही गरेको हो । मलाई पढ्न-लेख्न आउँदैन । अरुले पढेर सुनाउनुभएको थियो ।

  • ‘पल शाहको न्यायका लागि’ हाम्रो टिम नेपाल सडकमा उत्रिने !

    ‘पल शाहको न्यायका लागि’ हाम्रो टिम नेपाल सडकमा उत्रिने !

    काठमाडौं । बलात्कार आरोपी पल शाहको रिहाइको माग एउटा संस्थाले आन्दोलन सुरू गर्ने भएको छ । थुप्रै सामाजिक काममा सक्रिय रहेको ‘हाम्रो टिम नेपाल’ ले आज माइतीघरमा पल शाहको पक्षमा प्रदर्शन गर्दै आन्दोलनको सुरूवात गर्न लागेको हो ।

    पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो । पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् । यो निर्णय त्रुटिपूर्ण रहेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

    ‘जसलाई पीडित भनिएको छ, उसले नै आफूमाथि बलात्कार नभएको भनेर बयान दिइसकेपछि अझै पनि थुनामा राख्नु अन्यायपूर्ण छ,’ उनले भने, ‘अब हामी मौन बसिरहन सक्दैनौं ।’

    उनले पलको न्यायका लागि आज ४ बजे र भोलि पनि माइतीघरमा प्रदर्शन गरिने जानकारी दिए । यो आन्दोलन निरन्तर अघि बढ्ने उनको भनाइ छ ।

    अदालतको आदेशका विरुद्धमा सडकबाट दबाब दिनु उचित हो त भन्ने प्रश्नमा पन्तले भने, ‘यो मैले मात्र नभएर हाम्रो टिम नै बसेर गरेको निर्णय हो ।’

    उनले पल शाहको न्यायसँगै देशको राजनीतिक व्यवस्था नै परिवर्तन गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको बताए । अहिलेको प्रणालीले देशलाई ठीक दिशामा नलगेकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने उनको तर्क छ ।

    हाम्रो टिम नेपालले कपडा बैंक सञ्चालन गर्नेदेखि नि:शुल्क खाना वितरण गर्नेलगायतका काममा संलग्न रहँदै आएको छ । लकडाउनको समयमा यस संस्थाले काठमाडौंका विपन्न जनतालाई नि:शुल्क खाना खुवाएको थियो ।

    संस्थाको अभियानमा विगतमा पल शाह पनि जोडिएका थिए । उनले विभिन्न स्थानमा नि:शुल्क खाद्यान्न वितरणमा सहयोगसमेत गरेका थिए ।

  • पल शाह प्रकरण : वकिलले पीडितको बकपत्र सुनाए तर न्यायाधीशले वास्तै गरेनन्

    पल शाह प्रकरण : वकिलले पीडितको बकपत्र सुनाए तर न्यायाधीशले वास्तै गरेनन्

    काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाएपनि न्यायाधीशले बेवास्ता गरेको पाइएको छ ।

    उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत तनहुँ र पूर्वीनवलपरासीले गरेका आदेशलाई सदर गरिसकेको छ । पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्दा जिल्ला अदालतले टेकेका आधारहरुलाई नै उच्च अदालतले पनि टेकेको छ ।

    पीडितले बलात्कार भएको जाहेरी दिएको, आरोपी शाह घटना भएको रात पीडीतको कोठामा पुगेको, आरोपीले सार्वजनिक भएको अडिओमा यौन सम्पर्क भएजसरी कुरा गरेको लगायत विषयलाई आजको इजलासले टेकेको छ । तर, बहसका क्रममा शाहका कानुन व्यवसायीहरूले पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई भने वास्ता गरेको देखिँदैन । प्रहरीसमक्ष पीडितले दिएको जाहेरी र बयान तथा आरोपीले प्रहरी र अदालतसमक्ष गरेको बयानलाई मात्र टेकिएको छ ।

    आदेशमा भनिएको छ, ‘आज भएको बहसको क्रममा अधिवक्ताहरूले तहाँ अदालतमा भएको पीडित र जाहेरवालासमेतको बकपत्रको प्रतिलिपि पेस गरेको देखिँदा अब अन्य बुझ्नुपर्ने प्रमाणहरू भए अविलम्ब बुझी निरन्तर सुनुवाइको प्रकृया अवलम्बन गरी यथाशीघ्र फैसला गर्नुहोला ।’

    जिल्ला अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि आरोपी शाह र उनका कानुन व्यवसायीहरू उच्च अदालतबाट आदेश उल्टने अपेक्षामा थिए । अब सम्भवत: जिल्ला अदालतले फैसला नगर्दासम्म आरोपी शाह कारागारमै रहने छन् ।

  • रियालिटी शोमा सोनिकाको उत्तेजक नृत्यः यो गुड टच कि ब्याड टच ?

    रियालिटी शोमा सोनिकाको उत्तेजक नृत्यः यो गुड टच कि ब्याड टच ?

    काठमाडौं । अहिले गुड टच र ब्याड टचको बहस उत्कर्षमा छ । महिलाहरुको संवेदनशील अंगकमा पुरुषले नियतवश छुनुलाई ‘ब्याड टच’ भन्ने गरिन्छ, जुन यौनजन्य दुव्र्यवहार अन्तरगत पर्छ ।

    हालै नायिका मिरुना मगरले आफूमाथि ब्याड टच गरेको भन्दै एक युवकलाई प्रहरी हिरासतमै पुर्याइन् । र, यही बेला चर्चा छ एउटा नृत्यको । हिमालयन टेलिभिजनमा प्रशारण हुने ‘डान्सिङ विथ स्टार्स’ को १७ औं एपिसोडमा मोडल सोनिका रोकायाले कोरियाग्राफर दिलिप ओखेडासँग उत्तेजक नृत्य प्रस्तुत गरेकी थिइन् ।

    ‘गल्ति गरौं न’ बोलको गीतमा नृत्य गर्ने क्रममा कोरियोग्राफर ओखेडाले पटकपटक सोनिकाको संवेदनशील अंगमा हात र मुख पुर्याएको देखिन्छ । यो ‘ब्याड टच’ हो कि होइन भन्ने प्रश्न उठेको छ । राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने र परिवारसहित हेरिने रियालिटी शोमा यस्तो नृत्य सुपाच्य मानिदैन । कमेन्टमा धेरैले यसलाई ‘अश्लिल’ संज्ञा दिएका छन् ।

    यद्यपि, उक्त शोका तीनैजना निर्णायहरुले कुनै प्रश्न उठाएनन् । रेनेशा राईले उठेरै ताली बजाइन् भने दिलिप रायमाझी र गौरी मल्लले पनि वाहवाही नै गरे । दिलिप त अझ ‘म पनि गल्ति गर्छु’ भन्दै स्टेजमै पुगेर सोनिकासँग उसैगरी लहसिन खोजेका थिए ।

    निश्चय पनि यो नृत्यका क्रममा सोनिका र दिलिपले केही शानदार स्टेपहरु देखाएका थिए । सोनिकाको शरीरको स्फुर्ति र लचकता प्रशंसालायक थियो । तर, अत्यधिक कामूकता र संवेदनशील अंगहरुमा गरिएको स्पर्शले उनको गज्जबकाे नृत्य ओझेलमा पारिदियो ।

    यो एपिसोड टप ८ को प्रतिस्पर्धा अन्तरगत गत २७ मेमा प्रशारण भएको थियो । डान्सिङ विथ स्टार्सको टप ७ मा सोनिकासहित धिरज राई, प्रिती आले, भगवति खड्का, अमर–अमृत दाहाल, छिरिङ शेर्पा र परमिता राणाले प्रतिस्पर्धा गरिरहेका छन् । डान्सिङ विथ स्टार्सको यो दोस्रो सिजन हो ।

    हेर्नुस् सोनिकाको नृत्यका केही झलकः

  • पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाेखरामा पुनरावेदन गरेका थिए ।

    बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।

    शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।

  • पल शाहको मुद्दामा बहस सकियो, आजै तारेखमा छुट्लान् ?

    पल शाहको मुद्दामा बहस सकियो, आजै तारेखमा छुट्लान् ?

    काठमाडौं । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ ।

    जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

    त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट पाँच जना र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् ।

    यसअघि जिल्ला अदालतमा पीडित नाबालिगको तर्फबाट दर्जनौं कानून व्यवसायीहरूले बहस गरेका थिए । तर, पीडितले बयान फेरेसँगै उनीहरू सबैले मुद्दाबाट हात झिकेका छन् । आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरे । जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरे ।

    बहस सकिएकाले आजै न्यायधीशले आदेश सुनाउने छन् । शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने तीन विकल्प छन् ।

  • पल शाहको मुद्दामा सुनुवाइ जारी

    पल शाहको मुद्दामा सुनुवाइ जारी

    पोखरा । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सुरू भएको छ ।

    न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् ।

    उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो ।

    १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

  • पाँच वर्षअघि निर्देशकले नै गरेका थिए मिरुनामाथि ह्यारेसमेन्ट, यसरी राखियो घटना गुपचुप

    पाँच वर्षअघि निर्देशकले नै गरेका थिए मिरुनामाथि ह्यारेसमेन्ट, यसरी राखियो घटना गुपचुप

    काठमाडौं । नायिक मिरुना मगर यतिबेला सामाजिक सञ्जालमा चर्चा र बहसको पात्र बनिरहेकी छन् । एक भिक्षुले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि समाज उनको पक्ष र विपक्षमा बाँडिएको छ । यद्यपि, सडक र सामाजिक सञ्जालको दबाबपछि उनले आरोपीसँग सम्झौता गर्न बाध्य भइन् ।

    मिरुना ह्यारेसमेन्टको शिकार बनेको यो पहिलो घटना भने होइन । उनलाई पाँच वर्षअघि एक फिल्म निर्देशकले नै दुर्व्यवहार गरेका थिए, जुन घटना सार्वजनिक भएन । मिरुनाले न यसबारे मिडियामा बोलिन् न कतै उजुरी गरिन् । चलचित्रमा नयाँ भएकाले पनि उनले घटना सार्वजनिक गर्ने हिम्मत नराखेकी हुन् ।

    यो घटना हो २०७४ सालको । एउटा चलचित्रमा उनी नायिकाको रूपमा आबद्ध भएकी थिइन् । चलचित्रको ७५ प्रतिशत सुटिङ सकिइसकेको थियो । साँगामा छायांकन चलिरहँदा एक दिन निर्देशकले उनलाई स्क्रिप्टमाथि छलफल गर्ने बहानामा त्यहाँ रहेको साँखु रिसोर्टमा निम्त्याए । उनले मिरुनामाथि दुर्व्यवहार गरे । मिरुनाले प्रतिकार गरेर निर्देशकबाट फुत्किइन् । फिल्म निर्मातालाई घटना सुनाइन् ।
    त्यसपछि निर्माताले तत्काल एक्सन लिएर निर्देशक र दुई सहायक निर्देशकलाई ‘फायर’ गरे भने मिरुनालाई घटना बाहिर नल्याउन आश्वस्त तुल्याए । मिरुना पनि सहमत भइन् ।

    २५ प्रतिशत छायांकन सम्पन्न भए पनि निर्देशक फालिएसँगै यो चलचित्रको काम अवरुद्ध भयो । चलचित्रको निर्माण नै पूरा हुन सकेन । यसका निर्माता अहिले अमेरिकामा छन् ।

    000

    मिरुनाले निगम श्रेष्ठ निर्देशित चलचित्र ‘लालपुर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । धरानमा जन्मेकी उनको स्थायी बसोबास बेलायतमा छ । उनका पिता बेलायती नागरिक र आमा नेपाली हुन् । मिरुना २०७२ सालको भूकम्पपछि समाजसेवाको उद्देश्यले नेपाल आएकी थिइन् । त्यसपछि यतै रमाइन् ।

    कलाकारिता क्षेत्रमा सानैदेखि रुची भएकी उनले नेपालमै अभिनय सिकेकी थिइन् । त्यसपछि उनलाई ‘लालपुर्जा’ मा अफर आएको हो । यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन ।

    ‘लालपुर्जा’ पछि उनले ‘रोज’, ‘साइनो’ ‘चचहुईं’ लगायतका चलचित्रमा काम गरिन् । तर, यी सबै चलचित्र बक्स अफिसमा फ्लप भए । मिरुनाले ‘कबड्डी ४’ बाट पहिलोपटक सफलताको स्वाद चाखेकी हुन् । यससँगै करिअरले नयाँ गति लिने आशा उनले राखेकी छन् । तर, अहिलेको स्क्यान्डलले उनको करिअरमा के-कस्तो असर पर्ने हो आगामी दिनमा देखिनेछ ।

  • निर्दोष ठहरिए जोनी डिप, पूर्वपत्नीलाई १५ मिलियन क्षतिपूर्ति तिर्न अदालतको आदेश

    निर्दोष ठहरिए जोनी डिप, पूर्वपत्नीलाई १५ मिलियन क्षतिपूर्ति तिर्न अदालतको आदेश

    काठमाडौं । प्रख्यात हलिउड स्टार जोनी डिप र उनकी पूर्वपत्नी एम्बर हर्डबीच चलिरहेको मानहानीसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाएको छ । ६ हप्तादेखि चलिरहेको बहस र बयानपश्चात अदालतले जोनी डिपलाई निर्दोष ठहर गर्दै एम्बर हर्डलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्ने आदेश दिएको हो ।

    हर्डले आफू घरेलु हिसांमा परेको, डिपले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको र सार्वजनिक स्थानमा समेत दुर्व्यवहार गरेकोलगायतका आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर गर्नुपूर्व हर्डले द वासिङ्टन पोस्टमा आफू घरेलु हिसांमा परेको भनेर एक लेखसमेत प्रकाशित गरेकी थिइन् ।

    डिपले भने सुरुदेखि नै हर्डको आरोपलाई अस्वीकार गर्दै आएका थिए । अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि डिपले सम्पूर्ण न्यायाधीश र शुभचिन्तकहरुलाई धन्यवाद प्रकट गर्दै उक्त निर्णयले आफ्नो जीवन फर्किएको बताएका छन् ।

    यता एम्बरले भने अदालतको निर्णयले आफू स्तब्ध र निःशब्द भएको जनाएकी छिन् ।

  • मिरुनालाई सम्बोधन गर्दै उपेन्द्र सुब्बाले लेखे- सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ

    मिरुनालाई सम्बोधन गर्दै उपेन्द्र सुब्बाले लेखे- सरी नानी, हाम्रो समाज यति साम्प्रदायिक भइसकेछ

    काठमाडौं । लेखक उपेन्द्र सुब्बाले नेपाली समाज संकीर्ण र साम्प्रदायिक बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुब्बाले भनेका छन्, ‘म पहिचानको पक्षमा बीस वर्षयता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर, मलाई पत्तै भएन हाम्रो समाज यति संकीर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइसकेछौं ।’

    ‘होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पा भाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ?’

    ‘म त आदिवासी हुनुमा गर्व गर्थेँ । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बू सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ।’

  • कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’

    कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’

    नेपाली सिनेमाको बजार सानो छ । छिमेकी भारतीय चलचित्रले नेपालमा करोडौंको ब्यापार गर्दा हाम्रा सिनेमा भने पोस्टर टाँस्न प्रयोग हुने गमको रकम समेत ‘कलेक्सन’ गर्न असमर्थ बनेको तितो यथार्थबीच केही सिनेमाले रहरलाग्दो व्यापार गरेका छन् ।

    गत शुक्रबारबाट नेपाली सिनेमाघरमा प्रर्दशनमा आएको कबड्डी सिरिजको चौथो श्रृङ्खला कबड्डी –४ ले रहरलाग्दो व्यापार गर्ने चलचित्रमा आफूलाई दर्ज गर्न सफल भएको छ । प्रर्दशनको एक साता नपुग्दै १३ करोड व्यापारनजिक पुग्नु नेपाली सिनेमाको लागि एउटा उत्साहजनक समाचार हो । रामबाबु गुरुङद्वारा लिखित तथा निर्देशित कबड्डी–४ को व्यापारले कथा र पात्रको संयोजनलाई सही ढंगले प्रयोग गर्न सके नेपाली चलचित्र पनि अब्बल बन्छ भन्ने प्रमाणित गरेको छ ।

    २०–२५ रुपैयाँमा पाइने एक ग्लास लोकल तीनपाने रक्सीको स्वाद जत्तिको मीठो हजारौं रुपैयाँ पर्ने ‘ह्स्किी’मा पनि हुन्न भन्ने सराबीहरुको मान्यतालाई ठ्याक्कै प्रमाणित गर्दै ‘लोकल स्टोरी’ समावेश भएका, विनातामझामका चलचित्रले ‘ब्राण्डेड कलेक्सन’ गरेका छन् ।

    पछिल्लो केही वर्षदेखि नेपालमा रिलिज भएका छक्कापञ्जा सिरिज, कबड्डी सिरिजले एउटा सानो गाउँको कथालाई समावेश गरेर सहरीया अर्थात आफूहरुलाई ‘ब्राण्डेड सोसाईटी’मा रहेको बताउने दर्शकहरुको ध्यान खिच्न सफल भएको छ । नेपाली मल्टीप्लेक्समा धेरै शोहरु पाउने विदेशी चलचित्रलाई समेत विस्थापित गर्दै लोकल कथा समावेश भएका नेपाली सिनेमाले ‘ब्राण्डेड’ कलेक्सन गर्न थालेका छन् ।

    छक्का पञ्जा तथा कबड्डीले नेपालको एउटा गाउँको समसमयिक कथालाई केन्द्रमा राखेर सहरीया दर्शकबाट करोडौं कमाउन सफल बन्नुले नेपाली गाउँले समाजमा रहेको विविधतालाई दर्शकले रुचाउने रैछन भन्ने सोचलाई अझ अघि बढाएको छ । नेपालको ७० प्रतिशतभन्दा धेरै क्षेत्र ग्रामीण छ । त्यहाँको जीवनशैलीलाई मीठो ढंगबाट उठान गर्नसके नेपाली ‘अग्र्यानिक’ सिनेमाले करोडौं क्लबमा आफूलाई सहजै उभ्याउन सक्छन भन्ने मान्यता पछिल्लो समय सफल भएका चलचित्रबाट बुझ्न सकिन्छ ।

    कथा सामान्य गाउँले भएपनि त्यसलाई प्रस्तुत गर्ने निर्देशकीय क्षमता, त्यसमा अभिनय गर्ने कलाकारको कौशलताले ती चलचित्रलाई भव्य बनाउछ भन्ने मानक स्थापित भएको छ । करोडौं लगानी गरेर निर्माण भएका सेट, लाखौँ रुपैँया खर्च गरेर विदेशमा छायाङ्कन हुने गीतका भिडिओे र चलचित्रलाई भव्य देखाउन सहरको पाँचतारे होटल भाडामा लिनु पर्छ भन्ने मान्यतालाई पछिल्लो समय सफल भएका गाउँले चलचित्रले खारेज गरिदिएको छ ।

    अझ नेपाली दर्शकहरुले सहरीया वातावरणमानै निर्माण गरिएको गाउँले चरित्र, संघर्षरत मानिसहरुको जीवनशैली भएका चलचित्रलाई समेत मन पराएको पाइएको छ । जात्रा सिरिज र पशुपतिप्रसाद यसको उदाहरण हुन् । आधुनिक जीवनशैलीमा आधारित भएर करोडौंको लगानीमा निर्माण भएका चलचित्र असफल भैरहेको अवस्थामा गाउँले कथाका चलचित्र सफल मात्र भएका छैनन्, नाफामा पनि गएका छन् ।

    विभिन्न गाउँबाट सहर छिरेर आफूलाई सफल बनाउन अनेक क्रियाकलाप गर्ने, फस्ने, फसाउने युवाहरुको कथालाई मीठो ढंगबाट प्रस्तुत गर्दै निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ सफल भएपछि सुरु भएको भएको नेपाली चलचित्रको ‘न्यू ट्रेन्ड’ले नयाँ कथा र सुहाउँदो तथा जीवन्त अभिनय गर्ने कलाकार भए चलचित्र सफल हुन एउटा खाईलाख्दो ‘हिरो’ चाहिँदैनरैछ भन्ने धारणा स्थापित गर्न सफल बनेको छ ।

  • मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं

    मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं

    काठमाडौं । पछिल्लो समय विवाद एवम् चर्चामा रहेकी नायिका मिरुना मगरले ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्– कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।

    अन्यायविरुद्ध लड्न अहिले कठिन भएपछि भोलिका दिनमा अवश्य परिवर्तन हुने विश्वास व्यक्त गर्दै उनले लेखेकी छन्– कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।

    कबड्डी– ४ की नायिका मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुव्र्यवहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ ।

  • गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी

    गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी

    काठमाडौं । प्रख्यात संगीतकार, गायक गोपाल योन्जन आज हामीमाझ छैनन् । तर, उनका सयौँ कालजयी गीतहरू अझैँ गुन्जिइरहेका छन् । उनका सिर्जनाले नेपाली आधुनिक संगीतलाई नै एउटा उचाइ प्रदान गरेको छ ।

    उनै योञ्जनको परिवार भने अहिले तनावमा छ । आफूहरू अन्यायमा परेको भन्दै छोरी सृजनाले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएकी छन् । गत जेठ १६ गते उनले सप्रमाण दिएको निवेदन नेपाल प्रेसलाई प्राप्त भएको छ ।

    अन्तर्राष्ट्रिय अभ्यासअनुसार सर्जक बितेको पचास वर्षसम्म उसको आधिकारिक हकवालासँग प्रतिलिपी अधिकार हुन्छ । तर, आफूहरूकाे अनुमतिबिना याेञ्जनका गीतहरूकाे व्यवसायिक प्रयाेग गरिएकाे गुनासो सृजनाले गरेकी छन् ।

    गोपाल योञ्जनको सृजना कति मान्छे, कम्पनीले गैरकानूनी रूपमा अपचलन गरे, त्यसको खोजीनिती गर्न बाँकी नै छ । यसपटक भने सृजनाले चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार र फोटोग्राफर  श्रीमान विकास रौनियारविरुद्ध उजुरी गरेकी हुन् ।

    उनले निवेदनमा ‘अयोग्य उम्मेदवारका बारे सतर्कता’ विषय उल्लेख गरी लेखेकी छन्, ‘चाँडै नै रिक्त हुन लागेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सम्झना उप्रेती रौनियारको नाम प्रस्तावित भएको देखेर म यो पत्र लेख्न बाध्य भएकी छु । उनी सञ्चालक रहेको सबास्ता इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड नामक कम्पनीले म र मेरो परिवारसँग गरेको अनैतिक व्यवहार उपर यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सृजनाले प्रतिलिपि अधिकार ऐन २०५९ का अनुसार योञ्जनको देहावसानपछि गीत, संगीत र रचनाहरूको प्रतिलिपि अधिकार योञ्जनकी श्रीमती रेन्छिन योन्जनसँग सुरक्षित रहेको बताएकी छन् । सोही अधिकार प्रयोग गरेर योञ्जनका सृजनाहरूको संरक्षण, प्रमोसन, भण्डारण र पुनः रेकर्डिङको व्यवस्था पनि परिवारले नै मिलाउँदै आएको बताइएको छ ।

    सम्झना र विकासले निर्माण गरेको ‘मेघा’ चलचित्रमा योञ्जनको सृजना राख्न अनुमति मागेका थिए । यसपछि योञ्जन परिवारले नै स्टुडियो खर्च, गायक–गायिकाको पारिश्रमिक, बाद्यवादकहरुको पारिश्रमिक, संगीत संयोजकको पारिश्रमिक लगायत सबै खर्च व्यहोर्यो ।

    सबास्ता इन्टरटेनमेन्टले कलाकारहरूको खाजा र यातायात खर्च व्यहोरेको थियो । सृजनाको दाबी अनुसार ‘मेघा’ चलचित्रको ९५ प्रतिशत स्क्रिप्ट पनि उनैले निःशुल्क रिराइट गरिदिएकी थिइन् ।

    योञ्जन परिवारले अडिओको उचित प्रमोसन र प्रवर्द्धनको जिम्मा म्युजिक नेपाललाई सन् २०१४ मा दिएका थिए । योञ्जनका गीतहरू सबास्ता इन्टरटेनमेन्टलाई चलचित्रमा प्रयोग गर्न दिएपछि योञ्जनकी श्रीमती रेन्छिनले आवश्यक सर्तहरू राखेर एक एमओयु गर्न प्रस्ताव गरेका थिए सम्झना र विकासलाई । तर, सम्झना र विकासले फाइनल एमओयु नपठाएको सृजनाले निवेदनमा उल्लेख गरेकी छन् ।

    उनले निवेदनमा थप लेखेकी छन्, ‘यसपश्चात् निजहरूले उक्त गीतहरू हामीलाई सोध्दै नसोधी, हाम्रो अनुमतिबिना युट्युबमा अपलोड गरी आर्थिक लाभ समेत उठाएको ब्यहोरा हाम्रो सामु आयो । मैले यस विषयमा प्रश्न गर्दै सम्झनालाई फोन गर्दा ‘यस विषयमा मलाई केही थाहा भएन दिज्यू, यसबारे विकाससँग कुरा गर्नु भनी विकासलाई फोन दियो । त्यस वेला विकासले मलाई आफूले एक पैसा पनि नलिएको र सबै म्युजिक नेपालले लिएको हुनुपर्ने भन्यो ।… म्युजिक नेपालसँग सोध्दा पहिले उनीहरुले स्ट्राइक डाउन गरेको तर पछि विकासले ‘यो त हामीले रि–रेकर्ड गरेकाले तपाईँहरूको दाबी लाग्दैन’ भनेपछि स्ट्राइक डाउन गरेर तुरुन्तै हटाएको थाहा पाएँ ।’

    यसपछि अन्यौलता हटाउन जुम मिटिङ गरेको पनि निवेदनमा उल्लेख गरिएको छ निवेदनमा । यसमा पनि विकासले कुनै रकम लिएको छैन भनेर दाबी गरेको प्रमाण अहिले सुरक्षित रहेको सृजनाले बताएकी छन् ।

    यसपछि लगातार विकास रौनियारले कुनै प्रकारको रकम बुझाउन नपर्ने भन्दै अन्य अपाच्य वाक्यहरू लेखेर इमेल गरेको सृजनाको दाबी छ ।

    निवेदनमा लेखिएको छ, ‘म्युजिक नेपालले मध्यस्थता गरी मिटिङ गर्न बोलाउँदा संचालकद्वय उपस्थित भएको, तर त्यस वेला सम्झनाले अझैँ बढी बांगोटिंगो कुरा गरे । यसपछि मेघा चलचित्रका सबास्ता इन्टरटेनमेन्टद्वारा युट्युबमा अपलोड गरिएको सम्पूर्ण गीतहरू स्ट्राइक डाउन गर्न बाध्य भयौँ । अझै पनि यिनीहरुले कति रकम अवैध रूपमा कमाए, सो बुझाएका छैनन् ।’

    निवेदनमा सृजनाले प्रश्न गरेकी छन्, ‘स्रष्टालाई सम्मान गर्न नजान्ने, प्रतिलिपि अधिकार ऐनको ख्याल नराख्ने सबास्ता इन्टरटेनमेन्टका सञ्चालक सम्झना उप्रेती रौनियार चलचित्र निर्देशक बोर्डको अध्यक्ष पदमा कतिको शोभनीय होला ?’ निवेदनमा प्रमाणस्वरुप जुम मिटिङको भिडियो रेकर्ड र इमेलहरू पनि राखिएको छ ।

    रौनियार भन्छिन्: मानहानिको मुद्दा हाल्छौँ

    निर्देशक सम्झना उप्रेती रौनियार भने सृजनाको आरोपहरूलाई इन्कार गर्छिन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘सञ्चार मन्त्रालयबाट हामीलाई सम्पर्क गर्नुभएको छैन । उहाँले फेसबुकमा पनि राख्नुभएको छ अनेक लेखेर । उहाँहरूले प्रमाणको रूपमा सार्वजनिक गरेको कागजातमा हामी स्रष्टाले पाउने १० देखि १५ प्रतिशत रोयल्टी दिन्छौँ भनेर पठाएको इमेल राख्नुभएको छैन । उहाँहरूले ८० प्रतिशत रोयल्टी दाबी गरेर पठाएको इमेल पनि राख्नुभएको छैन । उहाँहरूले फेसबुकमा हालेको देखेपछि हामी कपी राइटको वकिलसँग पनि बसेका छौँ । मानहानिको उजुरी हाल्नेबारे छलफल भइरहेको छ ।’

    सृजना योन्जनहरुले आफ्नो नियतवश चरित्र हत्या गर्न खोजेको सम्झनाको दाबी छ । आफूले कुनै पनि स्रष्टालाई अन्यायमा नपार्ने भन्दै उनले स्रष्टाको हक अधिकारका लागि नै वर्षौँदेखि लडेर आएको उल्लेख गरिन् ।

    अन्तर्राष्ट्रिय अभ्यास अनुसार रोयल्टी दिन खोज्दा योञ्जन परिवारले ८० प्रतिशत रोयल्टी दाबी गरेकाले गाह्रो भएको उनको भनाइ छ ।

    उनले भनिन्, ‘हामी कानुनी रूपमै यसको समाधान खोज्ने तयारीमा छौँ । यो सरासर चरित्र हत्या हो । उहाँ कतैबाट परिचालित भएको हो ।’

  • मिरुनाले फुर्पासँग मिलापत्र गरेपनि जिप्रकामा मुद्दा यथावत, सजाय हुन सक्ने !

    मिरुनाले फुर्पासँग मिलापत्र गरेपनि जिप्रकामा मुद्दा यथावत, सजाय हुन सक्ने !

    काठमाडौं । आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मिरुना सिंहले एक बौद्ध भिक्षुविरुद्ध प्रहरीमा जाहेरी दिइन् । तर सामाजिक सञ्जालमा तिव्र आलोचना भएपछि उनी आरोपीसँग सम्झौता गर्न बाध्य भइन् ।

    हिजो कबड्डी टिमको रोहबरमा मिरुना र आरोपी पक्षबीच वार्ता भएर मिलापत्र गराइएको थियो । महिला हिंसा वा यौनजन्य अपराधसँग सम्बन्धित मुद्दामा यसरी कानूनी दायराभन्दा बाहिर मिलापत्र गराइनु अनुचित र गैर कानूनीसमेत हुन्छ । यस्तोमा मिलापत्र गराउन सहयोग गर्नेहरूलाई समेत सजाय हुन सक्छ । तर, यस प्रकरणमा प्रहरीले यौनजन्य अपराधको साटो अभद्र व्यवहारको मुद्दा चलाएको छ । यद्यपि, यसरी मिलापत्र गर्दैमा यो मुद्दा भने नटुङ्गिने प्रहरी तथा प्रशासनका स्रोतहरूले बताएका छन् ।

    मिरुनाले आफूलाई सिभिल मलमा एक व्यक्तिले दुर्व्यवहार गरेको भन्दै आइतबार प्रहरीलाई खबर गरेकी थिइन् । लगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट आएका प्रहरीहरूले आरोपी मुगु स्थायी घर भएका फुर्पा तामाङलाई पक्राउ गरेर लगे । त्यसको भोलिपल्ट मिरुनाले तामाङविरुद्ध जनसेवामा जाहेरी दिएपश्चात् प्रहरीले सिडिओ कार्यालयमा लगेर अभद्र व्यवहारको मुद्दामा म्याद थप गराएको थियो ।

    तर, यो विषयले निकै ठूलो विवाद सिर्जना गर्‍यो र सडकमा मिरुनाविरुद्ध प्रदर्शनहरू गरिए । सामाजिक सञ्जालमा चर्को गालीगलौज आउन थालेपछि मिरुना अभिनीत चलचित्र ‘कबड्डी ४’ को टिमले दुई पक्षबीच संवादको पहल लियो । मङ्गलवार दुई पक्ष छलफलमा रहँदा काठमाडौंका सिडिओले ३ हजार धरौटीमा फुर्पालाई छोड्ने आदेश दिए र उनी छुटे ।

    हिजै बेलुकी दुई पक्षबीच सहमति भएर मिरुना र फुर्पाले एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मिरुनाको तर्फबाट कबड्डीको टिम र फुर्पाको तर्फबाट बुद्धिस्ट संस्थाका व्यक्तिहरू त्यसमा साक्षी बसेका थिए । उक्त मिलापत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गर्दै मिरुना समक्ष माफी मागेको उल्लेख छ । मिरुनाले पनि उत्पन्न परिस्थितिलाई लिएर बौद्ध धर्माबलम्बिसँग क्षमा याचना गरेकी छन् ।

    यो सम्झौता पत्रमा आरोपीले गल्ती स्वीकार गरेकाले यत्तिकै आपसी सहमति गर्न नमिल्ने जानकार बताउँछन् । आरोपीसँग सम्झौता गरे पनि यो विषयमा अहिलेसम्म प्रहरी र प्रशासनलाई कुनै जानकारी गराइएको छैन ।

    सम्झौतामा पनि जाहेरी फिर्ता लिने भनिएको छैन । त्यसैले मुद्दाको प्रक्रिया जारी रहने भएको छ ।

    प्रहरीले फुर्पालाई पक्राउ गरेको तेस्रो दिन नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

    एक वर्षभन्दा कम सजाय हुने मुद्दामा जिप्रकामार्फत कारबाही हुने प्रावधान छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले धरौटीमा छाड्ने आदेश गरे मङ्गलवार । यसको मतलब फुर्पाले अब जिप्रकामा तारेख धाउनुपर्छ । आरोप प्रमाणित भएमा उनीमाथि एक वर्षसम्म कैद सजाय हुन सक्छ ।

    घटनामा संलग्नबीच मिलापत्र भए पनि मुद्दा भने कायम रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीले दीपक पौडेलले बताए ।

    ‘भिक्षुविरुद्धको मुद्दामा मङ्गलवार थुनछेक आदेश मात्र भएको हो । अब फैसलाका लागि आवश्यक प्रक्रियाहरू सुरु हुन्छन्,’ पौडेलले भने ।

    बाहिर मिलापत्र भए पनि मुद्दा फिर्ता भएको नमानिने उनको भनाइ छ ।

    ‘मिलापत्र हुन्थ्यो भने त प्रहरीमा सुरुमै हुन्थ्यो होला । यो विषय पनि अलिक संवेदनशील नै छ,’ पौडेलले भने ।

    काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले अनुसन्धान टुङ्ग्याएर मङ्गलवार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको बताए ।

  • कान्समा अवार्ड जित्न सफल नेपाली निर्देशकलाई प्रियंका चोपडाले दिइन् बधाई

    कान्समा अवार्ड जित्न सफल नेपाली निर्देशकलाई प्रियंका चोपडाले दिइन् बधाई

    काठमाडौं । युरोपमा आयोजना हुने तीन ठुला फिल्म फेस्टिभल मध्ये कान्स फिल्म फेस्टिभललाई पनि एक मानिन्छ ।

    मुलधारका व्यवसायिक चलचित्र भन्दा अलिक फरक ‘फिल्म एज अ आर्ट’ भन्ने भावनालाई प्राथमिकता दिएर चलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरुको लागि त कान्स महाकुम्भ नै मानिन्छ भने उक्त फेस्टिभलमा अवार्ड जित्न सफल धेरै निर्देशक तथा चलचित्रकर्मीहरुको सो अवार्डबाट विश्वभरनै चर्चा हुने गर्छ ।

    कान्स २०२२ मा लघु चलचित्र ‘लोरी’ मार्फत स्पेसल मेन्सन अवार्ड जितेर चर्चाको शिखरमा रहेका त्यस्तै एउटा निर्देशक हुन अविनाशविक्रम शाह । हाल उनको चर्चा यति सम्म चुलिएको छ कि चर्चित बलिउड तथा हलिउड सुपरस्टार प्रियंका चोपडाले उनलाई बधाई दिएकी छिन् ।

    प्रियंकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा शाहको तस्विर सेयर गर्दै बधाई व्यक्त गरेकी हुन् । ‘कान्स २०२२ का सबै विजेतालाई बधाई छ । खासगरी एसियाका प्रतिभाशाली विजेताको जितलाई लिएर मनैदेखि बधाई दिन चाहन्छु ।’ उनले लेखेकी छिन्।

    प्रियंकाले शाहसँगै अवार्ड जितेका दक्षिण कोरियाका पार्क चन वुक, अभिनेता सङकाङ हो, इरानी अभिनेत्री जार अमिर इब्राहामी र पटकथा लेखक तारिक सलेहको पनि तस्बिर सेयर गरेकी छिन् ।

  • ‘मोम्चो’ कथा संग्रहः पत्रकारले लेखेको समाजको कथा

    ‘मोम्चो’ कथा संग्रहः पत्रकारले लेखेको समाजको कथा

    काठमाडौं । आख्यानकार बसन्त पराजुलीद्वारा लिखित कथा संग्रह ‘मोम्चो’बारे परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी समालोचक, साहित्यकार तथा समीक्षकहरुले ‘मोम्चो’ले नेपाली समाजका यथार्थ कथाहरुलाई अभिव्यक्त गरेको बताए ।

    चितवनमा २ दशकभन्दा लामो समयदेखि पत्रकारिता गरेका पराजुलीको दोस्रो कथा संग्रह ‘मोम्चो’मा ११ वटा कथा संग्रहित छन् । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको ‘मोम्चो’बारेको परिचर्चामा भाग लिँदै वरिष्ठ समालोचक डा. लक्ष्मणप्रसाद गौतमले पत्रकारले लेखेको कथा भएकाले पनि समाजको यथार्थ चित्रण कृतिमा समेटिएको बताए ।

    चेपाङ समुदायका महिलाको अवस्था, बाल विवाहले निम्त्याएको सामाजिक समस्या र नारी संवेदनासँग जोडिएका कथाहरुले ‘मोम्चो’लाई सशक्त बनाएको गौतमले बताए ।

    ‘मोम्चो’माथि परिचर्चा गर्दै साहित्यकार सावित्री कक्षपतीले ‘मोम्चो’मा संग्रहित कथाले समाजमा विद्यमान लैगिंक विभेद र सरोकारलाई उत्खनन् गरेको बताइन् । ‘नारीलाई भोग्यमात्रै ठानिएका र नारीले भोग्न चाहेका दुवैखाले सन्दर्भका कथा समेटिएका छन् । ‘मोम्चो’का कथाहरुले लेखक बसन्त पराजुलीलाई महिला संवेदना बुझेको स्रष्टाका रुपमा स्थापित गरेको छ’, उनले भनिन् ।

    वरिष्ठ नाट्यकर्मी अशेष मल्लले हरेक स्रष्टाका कथाले पात्र र परिवेशलाई सशक्त ढंगले उठान गर्नुपर्ने बताउँदै ‘मोम्चो’मा त्यो सम्भावना देखेको बताए । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले लामो समय पत्रकारिता गरेका लेखक पराजुलीले प्रारम्भिक २ कृतिबाट आफूलाई सशक्त कथाकारका रुपमा स्थापित गरेको बताए ।

    ‘उहाँको पहिलो कथासंग्रह ‘कुमाता’ र दोस्रो कथा संग्रह ‘मोम्चो’ले प्राप्त गरेको सफलताले नै उहाँको उपस्थितिलाई समकालीन साहित्यमा दर्‍हाे बनाइसक्यो’, उनले भने ।

    पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजका यथार्थ कथाहरुसँग पत्रकारहरुको नियमित घुममिल भइरहने हुँदा पत्रकारले लेखेको कृतिमा काल्पनिकतामात्रै नभएर यथार्थ चित्रणसमेत हुने उल्लेख गरे । ‘मोम्चो’का लेखक बसन्त पराजुलीले आफूलाई प्राप्त सुुझाव र प्रतिक्रियाले लेखकीय निखारता बढाउन मद्दत गर्ने भन्दै धन्यवाद ज्ञापन गरे ।

  • नेपालमा पहिलो पटक ‘स्टार्ट अप फेस्ट’ हुँदै

    नेपालमा पहिलो पटक ‘स्टार्ट अप फेस्ट’ हुँदै

    काठमाडौं । नेपालमा स्टार्टअप्स (नवप्रवर्तनकारी व्यवसाय० को प्रवद्र्धन गर्ने लक्ष्यकासाथ पहिलो पटक स्टार्ट अप फेस्ट आयोजना हुने भएको छ ।

    कन्फीडिरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ आन्ट्रपेनुअर्स फोरमको आयोजनामा आगामी असार ११ गते राजधानीको होटल याक एण्ड यतीमा उक्त कार्यक्रम आयोजना हुने जनाइएको छ ।

    कन्फीडिरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ आन्ट्रपेनुअर्स फोरमका अध्यक्ष अमुन थापाका अनुसार नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो।

    पछिल्लो समय स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था समेत गर्दै आएको र त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि सरकारसँग सहकार्यक्रमा समेत काम गर्न सकिने थापाको भनाई छ ।

    उक्त कार्यक्रममा स्टार्टअप्सले लगानीका लागि प्रस्ताव पनि पेस गर्न सक्ने बताइएको छ भने फेस्टमा सहभागिता जनाउनको निमित्त कन्फीडिरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ आन्ट्रपेनुअर्स फोरमको अधिकारिक वेबसाइटमा गई जेठ २७ गतेसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ ।

    स्टार्ट अपहरुलाई लगानिको व्यवस्था मिलाउनको लागि आयोजकले ४ मिलियन डलर बाराबरको आसयपत्रमा हस्ताक्षर समेत गरिसकेको दाबी गरेको छ ।

    फेस्टमा विविन्न विधाका ७ ओटा स्टार्टअप्सहरुलाई सम्मान्नित सेमत गरिने छ । एक दिने उक्त कार्यक्रममा प्यानल डिस्कसन इन्भेस्टर डेटिङ्ग रोबोटिक फूटबल, ड्रोन गतिविधी तथा सांगितिक कन्सर्ट । जस्ता कार्यक्रम पनि समावेश गरिएका छन् ।

  • सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !

    सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !

    काठमाडौं । रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको चलचित्र कबड्डी– ४ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रमा सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान हो ।

    गत शुक्रबार रिलिज भएको फिल्मले तीन दिन लगातार हाउसफुलको व्यापार गरेको थियो । सोमबारदेखि रफ्तार केही कम भए पनि फिल्ममा दर्शकको आकर्षण घटेको छैन । पाँच दिनमा फिल्मले अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको फिल्मका वितरक गोविन्द शाहीले बताए ।

    पहिलो दिन चलचित्रले साढे तीन करोड कमाएर कीर्तिमान राखेको थियो । नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । दोस्रो र तेस्रो दिनमा पनि फिल्मको व्यापार उचाइमै रह्यो ।

    शनिबार फिल्मले ३ करोड १५ लाख र आइतबार २ करोड ९५ लाख रुपैयाँ कमाएको शाही बताउँछन् । यसरी तीन दिनमै फिल्मले ९ करोड ६० लाख रुपैयाँ बटुल्न सफल भयो ।

    चौथो दिन सोमबार फिल्मले दुई करोडको व्यापार गर्यो । मंगलबारको विवरण आइनसकेको तर अनुमानित एक करोड ८० लाख रुपैयाँको व्यापार गरेको शाहीले बताए । यसरी फिल्मले पाँच दिनमा १३ करोडभन्दा बढी कलेक्सन गरेको देखिन्छ ।

    रामबाबु गुरुङ निर्देशित कबड्डी– ४ करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो । यो चलचित्रले डिजिटल राइट्स र ओभरसिज राइट्स बेचेर रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको थियो । रिलिजपछि हलहरुबाट हुने आम्दानी सबै निर्माताको मुनाफा हो ।

    कबड्डी– ४ का मिडिया कोअर्डिनेटर दिनेश सिटौलाका अनुसार पहिलो हप्तामा फिल्मले हलहरुबाट गर्ने ग्रस कलेक्सनको ५० प्रतिशत सेयर निर्माताले पाउने सहमति छ । यस हिसाबले अहिलेसम्म निर्माता मणिराम पोखरेलले झण्डै ७ करोड रुपैयाँ मुनाफा कमाइसकेका छन् ।

    व्यापारको गतिमा तिव्र गिरावट आएन भने उनले अझै केही करोड मुनाफा थप्नसक्ने देखिन्छ । आउँदो शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज नभएकाले शनिबार र आइतबार पनि फिल्मको ब्यापारमा बढोत्तरी हुनसक्छ ।

    मिरुना प्रकरणको सम्भावित असर

    फिल्मले कीर्तिमानी व्यापार गरिरहँदा नायिका मिरुना मगर ठूलो कन्ट्रोभर्सीमा परिन् । उनले आफूमाथि एक दर्शकले दुव्र्यवहार गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि निकै आलोचना खेप्नुपरेको थियो ।

    यो विवाद अहिले समाधान भइसकेको छ । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले नै संयोजन गरेर दुई पक्षबीच समझदारी गराएको थियो । आरोपिले गल्ती स्वीकारेर क्षमायाचना गरेका छन् भने मिरुनाले पनि क्षमायाचना गरेकी छन् । यद्यपि, कतिपय दर्शक भने अझै उनीसँग सन्तुष्ट छैनन् ।

    फिल्मको हिजोको अनुमानित व्यापार हेर्दा भने धेरै ठूलो असर परेको देखिँदैन ।

    अहिलेको गति हेर्दा कबड्डी– ४ ले नेपाली चलचित्रमा व्यापारको नयाँ इतिहास रच्ने देखिन्छ । यसअघि सर्वाधिक लाइफटाइम कलेक्सन छक्का पञ्चा– ३ को नाममा थियो । सो चलचित्रले १८ करोड कलेक्सन गरेको थियो ।

    कबड्डी ४ उक्त कीर्तिमानभन्दा पाँच करोड मात्र पछाडि छ । यही हप्ता छक्कापञ्जाको रेकर्ड ब्रेक गरेर कबड्डी– ४ अगाडि बढ्न सक्छ ।

    यो चलचित्रका यसअघिका सिक्वेलहरुले पनि राम्रो व्यापार गरेका थिए । अर्गानिक विषयवस्तु र कलाकारहरुको जिवन्त अभियनले गर्दा कबड्डी सिक्वेलले दर्शकमा बेग्लै छाप छोड्न सफल भएको छ ।

    कबड्डी– ४ चाहिँ सिक्वेलको अन्तिम चलचित्र हुने निर्देशक गुरुङले बताइसकेका छन् । त्यसैले यो चलचित्रलाई ‘फाइनल म्याच’ भनिएको छ ।

  • ‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने

    ‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने

    काठमाडौं । नेपाली अभिनेता विपिन कार्कीले बलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । कार्की हिन्दी मुभी ‘एनिमल’मा चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने भएका हुन् ।

    साउथ इन्डियाकी चर्चित नायिका रस्मिक्षा मण्डनाको समेत अभिनय रहने उक्त चलचित्र छायांकनका लागि कार्की छिट्टै मुम्बइ जाँदैछन् ।

    उक्त मुभीको निर्देशन सनिप रेडीले गर्नेछन् ।

  • मिरुना र फुर्बाबीच सहमति, दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

    मिरुना र फुर्बाबीच सहमति, दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

    काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

    मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

    सहमतिपत्रमा साक्षीका रुपमा मिरुनाका तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई मणीराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्काेटा छन् । यस्तै, फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।