Category: कलाप्रेस

  • विजय बरालको फ्लप फिल्म ‘यो मन त…’ ले मनायो ५१ दिन ! केक काटेर गरियो धुमधाम

    विजय बरालको फ्लप फिल्म ‘यो मन त…’ ले मनायो ५१ दिन ! केक काटेर गरियो धुमधाम

    काठमाडौं । कुनै हिट चलचित्रले हलमा प्रदर्शनको ५१ दिन मनाउनु सामान्य हो । तर ५१ दिन मनाउँदैमा त्यो फिल्म हिट भन्ने चाहिँ नहुने रहेछ ।
    हालैमात्रै एउटा नेपाली चलचित्रले ५१ दिन पार गरेको भन्दै उत्सव मनायो । चलचत्रिको नाम हो ‘यो मन त मेरो नेपाली हो’ । अहिलेका जल्दाबल्दा अभिनेता विजय बरालले अभिनय गरेको यो चलचित्र करिब दुई महिना अगाडि प्रदर्शनमा आएको थियो, तर पानी पनि भन्न पाएन। चलचित्र फ्लप भएको बराल स्वयम्ले स्वीकार्ने गरेका छन् ।

    तर, अहिले अचानक फिल्मले ५१ दिन मनाएको खबर सुनेर फिल्मकर्मीहरु नै ट्वाँ परेका छन् । असार २७ गते बाट प्रदर्शनमा आएको यो चलचित्रको निर्माण टिमले बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।

    खासमा यो चलचित्र फ्लप मात्र हैन, कहिले रिलिज भयो र हलबाट कहिले उत्रियो भन्ने समेत धेरै दर्शकलाई थाहा छैन । न यो चलचित्रको प्रचारप्रसार बलियो गरिएको थियो, न त प्रदर्शनपछि चलचित्र हेर्न हलमा दर्शक नै थिए । तर पनि अष्टनारायण हलमा केक काटेर सेलिब्रेशन गरियो ।

    सेलिब्रेसन कार्यक्रममा केक काटेपछि निर्माता तथा कलाकार रोशन श्रेष्ठले आफुले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको बताए ।

    उनले भने, ‘जति दर्शक आउनुभयो, स्वतस्फुर्त टिकट काटेर आउनुभएको हो । हाम्रो फिल्मको चर्चा भएन होला तर पनि फिल्मले ५१ औँ दिन पार गरेको छ । हामी यसमै खुशी छौं ।’

    कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रबिन्द्र खड्का लगायत केही फिल्मकर्मीहरुको सहभातिाग थियो । तर त्यत्रो सेलिब्रेसनमा चलचित्रको मुख्य अभिनेता विजय बराल नै उपस्थित थिएनन् । उनीबिनै चलचित्रको ५१ औं दिनको सेलिब्रेसन सप्पन्न भयो।

    सेलिब्रेसन कार्यक्रममा केक काट्दै चलचित्रको टिम तथा

    सञ्चारकर्मीहरुलाई मायाको चिनोसमेत प्रदान गरियो । तर कुरा यतिमा मात्र सिमित रहेन । सेलिब्रेसनसंगै ‘यो मन त मेरो नेपाली हो’ टिमले अर्को चलचित्र ’स्वाहः’ को पनि निर्माण घोषणा गर्यो । कार्यक्रममै एक पोस्टर सार्वजनिक गर्दै टिमले ‘स्वाहः’ को घोषणा गरेको हो जसको लागत रहेको छ, चार करोड ।

    ‘स्वाहः’ पनि ‘यो मन त मेरो नेपाली हो’ कै निर्देशक तथा लेखक मित्र प्रधानले निर्माण तथा निर्देशन गर्न लागेका हुन । अब यहाँ एउटै चलचित्रले लगानी उठाउन सकेको छैन, अर्को चलचित्र बन्ने पक्का भइसक्यो । खैर, निर्देशक मित्र प्रधान पुन अर्को चलचित्र बनाउन जुट्नुलाई भने साहसकै रुपमा लिनुपर्छ । आशा गरौं उनको नयाँ चलचित्र ‘स्वाहा’ मा गरिएको लगानी पनि स्वाहा नहोस् ।

    ‘यो मन त मेरे नेपाली हो’ मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ । ‘पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालि’को प्रस्तुतिमा बनेको यो चलचित्रको निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

  • `जेरी अन टप´ को टिजर वर्ल्डवाइड ट्रेन्डिङमा, अनमोल भन्छन्- मनै भरियो

    `जेरी अन टप´ को टिजर वर्ल्डवाइड ट्रेन्डिङमा, अनमोल भन्छन्- मनै भरियो

    काठमाडौं । नायक अनमोल केसी र नायिकाद्वय आँचल शर्मा र जसिता गुरुङ अभिनित चलचित्र ‘जेरी अन टप’ को टिजर वर्ल्डवाइड ट्रेन्डिङमा परेको छ । गत सोमबार सार्वजनिक भएको चलचित्रको टिजर नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ’ को शीर्ष स्थानमा पर्न सफल भएको हो ।

    नेपालमा भने ‘जेरी अन टप’ को टिजर ट्रेन्डिङ नम्बर एकमा छ । टिजरलाई हालसम्म दर्शकले १५ लाख बढी पटक हेरिसकेका छन् । त्यस्तै, चलचित्रको टिजर अष्टेलियामा ट्रेन्डिङ नम्बर ३, पोर्चुगलमा ट्रेन्डिङ नम्बर ४, रोमानिया र माल्टामा ट्रेन्डिङ नम्बर ५, हङकङमा ट्रेन्डिङ नम्बर ८, जापानमा ट्रेन्डिङ नम्बर ९, कुवेत, कतार र यु.ए.ईमा ट्रेन्डिङ नम्बर १३, मलेसिया र साउथ कोरियामा ट्रेन्डिङ नम्बर १४ र साउदी अरबमा ट्रेन्डिङ नम्बर २४ मा पर्न सफल भएको छ।

    आफ्नो चलचित्रको टिजर वर्ल्डवाइड ट्रेन्डिङमा परेपछि खुसी व्यक्त गर्दै नायक अनमोल केसीले एक स्टाटससमेत लेखेका छन् ।

    दर्शकलाई धन्यवाद दिँदै उनले लेखेका छन् ,’आज मेरो मन भरिएको छ । हाम्रो चलचित्र जेरी अन टपको टिजर वर्ल्डवाइड ट्रेन्डिङमा छ र यो सबै तपाईँहरूको कारणले हो । ममाथि विश्वास गरि संसारको हरेक कुनाबाट म र मेरो टिमको मेहेनत र प्रयासलाई सफल पार्दिनुभएकोमा धन्यवाद ।’

    ‘यो क्षण केवल मेरो मात्र होइन, यो हामी सबैको हो। माया, समर्थन र सकारात्मकताका साथ यो यात्रालाई सँगै जारी राखौं । सधैँ आभारी,’उनले जोडेका छन् ।

    त्रिकोणात्मक प्रेम सम्बन्धसहित हिमाल आरोहणको कथा रहेको यो चलचित्रमा सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशन छ। चलचित्र आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउँदैछ। यो चलचित्रमा अनमोल, आँचल र जसीताका अलावा केदार प्रसाद घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भुमिका छ।

    ‘जेरी अन टप’को कथा हेमराज बिसीले लेखेका हुन । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

  • तिहारमा आउँदै प्रकाश सपुतको ‘सोल्टिनी’, कार्यकारी निर्मातामा ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’

    तिहारमा आउँदै प्रकाश सपुतको ‘सोल्टिनी’, कार्यकारी निर्मातामा ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’

    काठमाडौं । नायक तथा गायक प्रकाश सपूत अभिनित चलचित्र ‘सोल्टिनी’ अब तिहारको भाइटिकामा आउने भएको छ। पहिला यो चलचित्र संविधान दिवसको अवसर पारेर असोज ३ गते आउने पक्का थियो। अहिले भने निर्माण टिमले प्रदर्शन मिति सारेर कार्तिकको ६ गतेलाई रिलिज मिति तय गरेको हो।

    यो चलचित्रको कार्यकारी निर्माताको रूपमा ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङले गर्छन्। तर यो चलचित्रमा भने उनको संलग्नता छैन । चलचित्रको मिडिया कोडिनेटर जीवन पराजुलीको अनुसार हर्क साम्पाङको टिम भए तापनी उनी चलचित्रमा आवद्ध छैनन् । ‘अ हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ मा आवद्ध अन्य व्यक्तिहरुले मात्र चलचित्रलाई विभिन्न तरिकाले सघाउने पराजुलीको भनाई छ।

    रिलिज मिति घोषणासंगै चलचित्रको एकसाथ पाँच पोस्टर सार्वजनिक गरिएको छ। चार वटा फरक-फरक पोस्टरहरू चलचित्रको कथावस्तुमा आधारित छ भने एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेषभुषा र गहनामा सजिएकी छिन् भने अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिकालाई देखाईएको छ। एक सामूहिक पोस्टरमा भने नायक-नायिका सहित अन्य पात्रहरूलाई पनि समेटिएको छ।

    अर्जुन सुवेदीले निर्देशन गरेको यो चलचित्रमा प्रकाश सपुतको अलावा परीक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल सुजन खतिवडालगायतका कलाकारहरूको अभिनय छ। प्रशान्त सिवाकोटीको संगीत रहेको गीतमा सुशन प्रजापतिको छायांकन र अर्जुन सुवेदी र कुमार भट्टराईको लेखेन छ।

    प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह-निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् ।

  • आजबाट नाजिर हुसेन अभिनित ‘गुन्यो चोलो’ प्रदर्शनमा, हलमा अरु कुन-कुन नेपाली चलचित्र छन् ?

    आजबाट नाजिर हुसेन अभिनित ‘गुन्यो चोलो’ प्रदर्शनमा, हलमा अरु कुन-कुन नेपाली चलचित्र छन् ?

    काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । देशभर ९० बढी शोसहित यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

    ‘गुन्यो चोलो’ संगै अहिले हलहरुमा थप तीन चलचित्रहरु पनि प्रदर्शनमा छन। अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) मुख्य भुमिकामा रहेको चलचित्र ‘माग्नेराजा’ र अर्का अभिनेता विजय बराल मुख्य भुमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे’ दोश्रो हप्तामा चलिरहेको छ भने नायक पल शाह अभिनित ‘मोहर ले प्रदर्शनको चौथो हप्ता टेकेको छ। गत हप्ताहरुबाट रिलिजमा आएका यी तिनैवटा चलचित्रको अकुपेन्सी मध्यम छ।

    आजबाट प्रदर्शनमा आएको ‘गुन्यु चोलो’लाई निर्देशक समुन्द्र भट्टको निर्देशन गरेकी हुन । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन मुख्य भूमिका छन भने उनले चलचित्रमा पारालैंगिक महिला अर्थात ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् ।

    नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको महत्वपूर्ण भूमिका छ। नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

    चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। यो चलचित्र केही समयअघि अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा पनि छनोट भएको थियो ।

  • प्रेम, अपहरण र फिरौतीको वरिपरि घुमेको ‘अभिमन्यु :  च्याप्टर–१’ को ट्रेलर सार्वजनिक

    प्रेम, अपहरण र फिरौतीको वरिपरि घुमेको ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

    ट्रेलरले चलचित्रको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमको नाटक गरेर अपहरण गरी, उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा चलचित्रमा रहेको ट्रेलरले देखाएको छ ।घरबारविहीन एक युवकले पैसाका लागि केसम्म गर्न सक्छ भन्ने कुरा ट्रेलरले समेटेको छ ।

    चलचित्रमा कामेश्वर चौरासिया मुख्य भुमरीमामा छन् । कामेश्वरका अलावा चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ। भदौ २७ गते रिलिज हुने यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् अर्थात् सेप्टेम्बर २२ मा रिलिज हुनेछ ।

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

  • नेपाली चलचित्रबीच शाे खाेसाखाेस: भाेलि, रिलिज हुने `गुन्युचाेलाे´ले कति पायाे ?

    नेपाली चलचित्रबीच शाे खाेसाखाेस: भाेलि, रिलिज हुने `गुन्युचाेलाे´ले कति पायाे ?

    काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यु चोलो स्द ड्रेस’को प्रि–बुकिङसंगै शो बाँडफाट भएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको शो निकाल्दै हलहरुले प्रि–बुकिङ ओपन गरेको हो।

    चलचित्रले देशब्यापी ८४ शो पाएको छ। हलमा नेपाली चलचित्र धेरै भए तापनि गुन्यो चोलोु ले सन्तोषजनक शो पाएको हो । अहिले हलमा गत हप्ता प्रदर्शनमा आएका तिन चलचित्रहरु ‘मोहर’, ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’ सहित आजैबाट प्रदर्शनमा आएको ‘कोशेढुंगा’ लागिरहेको छ। सबै चलचित्रलाई शो दिनुपरेकाले ‘गुन्यु चोलो स् द ड्रेस’ को भागमा सिमित शो परेको हो । तर, पनि चलचित्रले पाएको शोलाई लिएर निर्माण टिम सन्तुष्ट छ।

    देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिनको लागी यो चलचित्रलाई १४ शो दिएको छ । त्यस्तै, यो चलचित्रलाई आइ।एन।आई सिनेमाजले ८ शो, वान सिनेमाले ४ शो, एफ।क्युबले २ शो र बिग मुभिजले २ शो दिएको छ। चलचित्रलाई अन्य चेनहरुले पनि सुखद शो दिएका छन् । दर्शक बढे हलहरूले शो बढाउनेछन् ।

    समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो स् द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिर हुसेनले पारालैंगिक महिला अर्थात ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् ।

    नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको मुख्य भूमिका छ। नेपाली र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ ।

  • ५० लाख खर्चेर खिचिएको ‘माइतीघर’ को रिमेक गीतः पुरानोभन्दा कति फरक ?

    ५० लाख खर्चेर खिचिएको ‘माइतीघर’ को रिमेक गीतः पुरानोभन्दा कति फरक ?

    काठमाडौं । रिलिजको पर्खाइमा रहेको चलचित्र ‘माइतीघर’ को शीर्ष गीत ‘यो हो मेरो माइतीघर’ आज सार्वजनिक गरिएको छ । पुरानो चलचित्र माइतीघरको कालजयी गीतको रिमेक हो यो ।

    ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा भारतीय गायिका सञ्जिवनीले स्वर दिएकी छन् । किरण खरेलको शब्दमा स्वर्गीय जयदेवले संगीत दिएका छन् ।

    यो गीतको ओर्जिनल भर्सनमा अर्की भारतीय गायिका आशा भोस्लेको स्वर थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । पुरानो गीतमा माला सिन्हासँगै अभिनेता सीपी (चिदम्बर प्रसाद) लोहनीलाई समेत देखाइएको थियो ।

    चलचित्रका निर्माता रोहित अधिकारीले यो गीतको भिडियो खिच्न ५० लाख खर्च भएको बताएका थिए । एउटै गीत खिच्न ११ दिन लागेपछि भिडियोको बजेट बढेको उनको भनाइ थियो ।

    यति ठूलो रकम खर्च गरिएको गीतको भिडियो कस्तो छ तरु मेकिङ हिसाबले हेर्ने हो भने उत्कृष्ट नै छ । चलचित्र निर्माण टिमले यो गीतको भिडियोको लागी राम्रै मेहेनत गरेको देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ । लोकेशन र छायांकन पक्षले पनि दर्शकलाई आकर्षित गर्न सक्छ ।

    तर, पुरानो गीतमा कलाकार र लोकेसन परिवर्तन गर्दैमा गीतले धमाका गर्छ भन्न सकिदैन । पुराना गीतलाई रिमेक गर्दा सोचेजस्तो सफल नभएका धेरै उदाहरणहरु छन् । त्यसैले, ‘माइतीघर’ को यही गीतले मात्र ५० लाखको लगानी रिकभर गर्छ या गर्दैन वा दर्शकले यो रिमेकलाई पुरानो गीतलाई झैं स्विकार्छन– स्विकार्दैनन्, त्यो हेर्न भने केही दिन कुर्नुपर्नेछ।

    ५९ वर्षअघि र अहिलेको गीतमा के फरक छ ?

    धेरैको नोस्टालजियामा रहेको गीत हो, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’। वि.सं. २०२३ सालमा प्रदर्शित ‘माइतघर’ चलचित्रको शीर्ष गीत हो यो । पुरानो गीतमा माला सिन्हाको एकल नृत्य थियो । नयाँ गीतमा दुई गाउँले युवतीले डाँडाकाँडा, खोला छहरामा गीत गाउँदै र नाच्दै हिँडेका छन् । गीतको कोरियोग्राफीमा निकै मिहेनत गरिएको छ । कोरस नृत्यलाई राम्रोसँग संयोजन गर्न खोजिएको छ । श्यामाश्रीलाई भन्दा उपासनाले बढी स्क्रिन टाइम पाएकी छन् ।

    गीतमा दुवैजनाको क्लोजअप सटहरु पनि छन् । यी सटहरुमा दुवैको अनुहारको एक्सप्रेसन राम्रो मिलिरहेको देखिँदैन । लङ सटहरुमा अलिअलि यस्ता गल्ती हुन्छन् । तर, क्लोजअपमा सानातिना हेलचेक्राइँ नगरेको भए हुन्थ्यो ।

    पुरानो गीतभन्दा नयाँ गीतको म्युजिक एरेन्जमेन्ट राम्रो छ । पुरानो गीतले अभिनेत्रीसँगै बेलाबेला अभिनेतालाई पनि फिचर्ड गरेर ससपेन्स सृजना गर्न खोजेको थियो । नयाँ गीतमा भने दुई अभिनेत्रीलाई नचाइएको मात्रै छ । चलचित्रमा उपासना र श्यामाश्रीको अलवा धिरज मगर, केदार घिमिरे माग्ने बूढा, प्रकाश सपूत लगायत कलाकारको अभिनय रहेको छ ।

    रोहित पौडेल निर्माता रहेको चलचित्रको निर्देशन मिलन तामाङले गरेका हुन्।यो गीतमा भिडियो प्रतियोगीताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका हुन् । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडियो बनाउन सक्नेछन् ।

  • रामकृष्ण ढकालको ‘मालती मंगले’ को शुभ मुहुर्त, विजय–वर्षासहित कोको छन् कलाकार ?

    रामकृष्ण ढकालको ‘मालती मंगले’ को शुभ मुहुर्त, विजय–वर्षासहित कोको छन् कलाकार ?

    काठमाडौं । लोकप्रिय गायक राम कृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र ‘मालती मंगले’ को आज शुभ मुहुर्त गरिएको छ । रानी म्युजिक इन्टरनेसनल प्रा.लि.को ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको आज कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहुर्त गरिएको हो ।

    भाद्र १४ गते देखि छायांकन सुरु हुने चलचित्र ‘मालती मंगले’ मा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू रहेका छन ।

    चलचित्रमा पटकथा तथा संवाद लेखन संयोग गुरागाईंको रहेको छ । मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका हुन् । चलचित्रको छायांकन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा हुने छ । चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् । सहनिर्माता रविन श्रेष्ठ र बाबु सुवेदी रहेको फिल्ममा हरि लम्साल, राजनराज सिवाकोटी, उज्वल सागरको संगीत रहनेछ। ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा बन्न लागेको हो ।

  • अबदेखि आइएनआईका हलहरूमा क्यामेरा र बुम तेर्साएर दर्शकलाई आतङ्कित गर्न नपाइने

    अबदेखि आइएनआईका हलहरूमा क्यामेरा र बुम तेर्साएर दर्शकलाई आतङ्कित गर्न नपाइने

    काठमाडौं । पछिल्लो समय हलभित्र चलचित्र हेर्न छिरेका दर्शकहरू क्यामेरा र बुमको आतंकले आजित छन् । दर्शकहरूको इच्छाबिना अचानक बुम तेर्साउँदा उनीहरूले अप्ठ्यारो महसुस गरिरहेको भिडियोहरू सामाजिक सञ्जालमा भेटिन्छन् ।

    यसरी बुम तेर्साउनेहरू कोही नभएर प्रदर्शनरत चलचित्रका निर्माण टिम हुन्, जसले चलचित्रको प्रचारप्रसारका लागि दर्शकहरूको स्वीकृतिबिना भिडियो प्रतिक्रिया लिइरहेका हुन्छन् । अचानक बुम तेर्साएर प्रतिक्रिया लिन खोज्दा प्राइभेसी हनन भएको भनेर सञ्जालमा विरोध पनि भएको थियो ।

    अब भने यसरी दर्शकको बिनाअनुमति कुनै पनि दृश्य खिच्न नपाइने आईएनआई सिनेमाजले नियम नै बनाएको छ । आईएनआई, बानेश्वरका सञ्चालक तथा अभिनेता दीपकराज गिरीका अनुसार यसरी दर्शकमाथि बुम तेर्साइँदा उनीहरूको प्राइभेसी हनन हुन्छ । दर्शकको आनन्दले मनोरञ्जन लिने अधिकार र उनीहरूको प्राइभेसीको सम्मान गर्दै यस्तो नियम ल्याइएको गिरीले बताए ।

    उनले भने, ‘सबै दर्शक क्यामेराप्रेमी हुन्छन् भन्ने हुँदैन । चलचित्र हेरेर उनीहरू हाँसिरहेका हुन सक्छन् वा रोइरहेका हुन सक्छन् । तर, उनीहरूको त्यो इमोसनलाई व्यापारको माध्यम बनाउनु हुँदैन । हलबाहिर मास्क लगाएका दर्शकले हलभित्र मास्क नलगाएका हुन सक्छन्, उनीहरूलाई क्यामेरा र बुमले आर्तक सृजना गर्न सक्छ । उनीहरूको त्यही संवेदनशीलतालाई ख्याल गरेर हामीले हलभित्र क्यामेरा र बुम लान नपाइने नियम ल्याएका हौं ।’

    यदि दर्शकको प्रतिक्रिया नै निर्माण टिमले लिन चाहेमा हल बाहिर दर्शकको अनुमति लिएर मात्रै लिने पाइने गिरीले बताए । आईएनआईका अहिले चारवटा मल्टिप्लेक्स चेन छन् । एनबी सेन्टर नयाँ बानेश्वर, लोत्से मल गोंगबु, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरमा आईएनआई अन्तर्गत हलहरू सञ्चालनमा रहेका छन् ।

  • झण्डै १५ करोडको क्षतिपुर्तीबाट धीरज मगरलाई राहत, निर्मातासंग मिल्यो कुरा

    झण्डै १५ करोडको क्षतिपुर्तीबाट धीरज मगरलाई राहत, निर्मातासंग मिल्यो कुरा

    काठमाडौं । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद सकिएको छ । बुधबार छलफलपछि धिरज र चलचित्र निर्माताको कुरा मिलेको हो।

    अभिनेता धिरज मगर विरुद्ध चलचित्र ‘ऐरी’ को निर्माण कम्पनी मल्टी म्याट प्रा।लिले १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गर्दै निर्माता संघमा उजुरी दिएको थियो। मल्टी म्याट प्रालिका सञ्चालक कमलबहादुर आलेले दिएको उजुरीमा धिरजले सम्झौता बमोजिम काम नगरेर धोका दिएको कुरा उल्लेख गरिएको थियो ।

    उजुरीमा धिरजले चलचित्रका लागि कागजी सम्झौता गरेर अग्रिम भुक्तानी लिइसकेपछि १६ दिन मात्र छायांकनमा गइ, बाकीको २८ दिन छायांकनमा समय नदिएको र उनको गैरव्यवसायीक, गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठूलो क्षति पुगेको कुरा पनि उल्लेख गरिएको थियो। सोही क्रममा पुगेको क्षतिको क्षतिपूर्ति माग गर्दै निर्माण टिमले धिरजविरुद्ध उजुरी हालेका थिए जुन भदौ २ गते संघमा दर्ता भएको थियो ।

    उजुरीपछि चलचित्र निर्माता संघले बुधबार धीरज र फिल्मका निर्मातालाई बोलाएर छलफल गरेको हो । छलफलपछि संघको रोहबरमा दुवैपक्षबीच सहमति भएको संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् । छलफलपछि तोकिएको अवधिमा धीरजले छायांकनका लागि समय दिने सहमति भएको छ भने अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म फिल्मको छायांकन समय तोकिएको छ ।

  • सुरक्षा पन्तको ‘कोशेढुङ्गा’ ले पायो युनिभर्सल सर्टिफिकेट, चलचित्र सबै वर्गका दर्शकले हेर्न मिल्ने

    सुरक्षा पन्तको ‘कोशेढुङ्गा’ ले पायो युनिभर्सल सर्टिफिकेट, चलचित्र सबै वर्गका दर्शकले हेर्न मिल्ने

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्त मुख्य भुमिकामा रहेको चलचित्र ‘कोशेढुङ्गा’ ले युनिभर्सल सर्टिफिकेट ‘यू सर्टिफिकेट’ पाएको छ। सेन्सर बोर्डले आज, यो चलचित्र सबै वर्गका दर्शकले हेर्न मिल्ने बताउँदै युनिभर्सल सर्टिफिकेट दिएको हो ।

    केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो चलचित्रको रनटाइम २ घण्टा २२ मिनेट १९ सेकेण्ड छ । चलचित्रमा सुरक्षा पन्तको अलावा आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा र निति शाह मुख्य भुमिकामा छन्।

    ‘कोशेढुङ्गा’ अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन। यो चलचित्रको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ अहिले सामाजिक संजाल, विशेषत टिकटकमा भाइरल छ।

    चलचित्रको आज काठमाडौंस्थित सिभिल मलमा रहेको क्युएफएक्समा पृमियरको आयोजना गरिएको छ भने चलचित्र यहीँ शुक्रबार, भदौ १२ गतेबाट प्रदर्शनमा आउँदैछ। निर्देशक सरोज पौडेलकै कथा रहेको चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्मातामा भने दिनेश खड्का छन् ।

  • ‘हरिबहादुरको जुत्ता’ टिजर : चोरदेखि कारुणिक पात्रसम्म

    ‘हरिबहादुरको जुत्ता’ टिजर : चोरदेखि कारुणिक पात्रसम्म

    काठमाडौं । दशैँको अवसरमा रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएको छ।

    हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ । सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरुलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ। निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।

    असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्यको पात्र) केन्द्रमा रहेपनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।

    टिजरमा प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छिन भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का ले गरेका छन्। संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् भने स्वरमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाई रहेका छन् ।

    दशैँमा दर्शकलाई हाँसो, रमाइलो र भावनात्मक यात्रा दिने वाचा गर्दै ‘हरिबहादुरको जुत्ता’रिलिज हुन लागेको छ।

  • ‘जेरी अन टप’ को टिजर हिट, तर माग्ने बुढाका फ्यान ‘खिस्रिक्क’ !

    ‘जेरी अन टप’ को टिजर हिट, तर माग्ने बुढाका फ्यान ‘खिस्रिक्क’ !

    काठमाडौ‌ । हालै अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’ को एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरियो । सार्वजनिक भएको टिजरले चलचित्रमा त्रिकोणात्मक प्रेम सम्बन्धसहित हिमाल आरोहणको कथा रहेको संकेत गर्छ ।

    चलचित्रको टिजरले राम्रै चर्चा र प्रशंसा पाइरहेको छ । अहिलेसम्म युट्यूवमा १० लाखभन्दा बढी भ्यूज पनि प्राप्त गरेको टिजरमा चलचित्रको मेकिङ उच्चस्तरको देखिन्छ । टिजर आएपश्चात अनमोलका फ्यानहरु रिलिजको व्यग्र पर्खाइमा छन् ।

    चलचित्रमा अनमोलका अलावा केदार घिमिरे माग्नेबूढा, भुवन केसी, आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । टिजरमा माग्ने बुढालाई भने धेरै स्पेस दिइएको छैन । झण्डै दुई मिनेट लामो टिजरमा उनी एक दुई सिनमा झल्याक झुलुक मात्रै देखिन्छन् ।

    अनमोलभन्दा महंगो पारिश्रमिक लिन थालेको भनेर चर्चा कमाएका माग्नेबुढालाई प्रचार सामग्रीमा कम महत्व दिनुमा निर्माण पक्षको आफ्नो रणनीति हुन सक्छ । जे भए पनि माग्नेबुढाका फ्यानहरु टिजर हेरेर अलिकति खिस्रिक्क परेका छन् ।

    माग्ने बुढाको लिड रोल रहेको चलचित्र ‘माग्ने राजा’ अहिले हलहरुमा सफलताका साथ प्रदर्शन भइरहेको छ । यो फिल्म हिट हुँदा पुरा क्रेडिट माग्नेबुढाले पाउने छन्, जसले अन्तत्वगत्वा ‘जेरी अन टप’ लाई पनि फाइदा पुग्ने निश्चित छ । नेपाली फिल्म इन्डष्ट्रीका सर्वाधिक महंगा दुई कलाकारलाई दर्शकले एकसाथ हेर्न पाउने छन् ।

    यद्यपि, पोस्टर र टिजरबाट माग्नेबुढाका फ्यानहरु अलिकति खिस्रिक्क परेका छन् । अब चलचित्रको ट्रेलरमा माग्नेबुढालाई न्याय मिल्ने उनीहरुको आशा छ । माग्ने बुढा स्वयम्ले भने यो विषयमा कुनै पनि गुनासो गरेका छैनन् । उनी टिजर रिलिज कार्यक्रममा उत्साहसाथ उपस्थित भएका थिए ।

    चलचित्रको प्रदर्शन मिति आउँदो असोज ३१ गतेलाई तय गरिएको छ । करिब ५० दिनको अवधिमा धेरै कामहरुको चटारोमा छ निर्माण टिम । गीतदेखि ट्रेलर सार्वजनिक गर्दै चलचित्रको प्रचारप्रसारमा पनि लाग्नुपर्ने छ ।

    अर्कोतिर ‘जेरी अन टप’ को सुटिङ अझै सकिएको छैन । काँधको हड्डी फ्याक्चर भएर माग्ने बूढाले एक महिना आराम गर्नुपर्ने भएपछि चलचित्रको बाँकी सुटिङलाई असर गर्नसक्ने देखिएको छ । हिजो मात्रै ब्याडमिन्टन खेल्ने क्रममा माग्नेबूढा घाइते भएका थिए । आज अस्पताल जाँदा उनको काँधको हड्डी फ्याक्चर भएको रिपोर्ट आएको छ भने डाक्टरले कम्तीमा चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएका छन् ।

    आफूले एक महिना आराम गर्नुपर्ने भएपछि ‘जेरी अन टप’ को बाँकी सुटिङ रोकिएको माग्ने बूढाले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हड्डी फ्याक्चर भएकाले जेरी अन टपको बाँकी सुटिङ रोकिने अवस्था आयो ।’

    चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् ।

     

  • ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बूढाको काँधको हड्डी फ्याक्चर, एक महिना आराम गर्नुपर्ने

    ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बूढाको काँधको हड्डी फ्याक्चर, एक महिना आराम गर्नुपर्ने

    काठमाडौं । दायाँ काँधको हड्डी फ्याक्चर भएपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले एक महिना आराम गर्नुपर्ने भएको छ । हिजो कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा उनी घाइते भएका थिए ।

    हिजो घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, आज दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्ट आएको हो ।

    डाक्टर सम्पूर्ण महर्जनले चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएको माग्ने बुढाले बताए ।

    उनले भने, ‘अब चार हप्ता आराम गर्नुपर्ने छ । चलचित्रको प्रचार प्रसारको काम त हुन्छ नै, तर सुटिङका कामहरू चाहिँ रोकिने भएको छ ।’

    अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा चलिरहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पनि पाइरहेको छ । आउँदो दशैँ फूलपातीमा उनको ‘माइतीघर’ प्रदर्शन हुँदैछ भने लगत्तै ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छ ।

  • प्रदर्शन मिति नजिकिएपछि ‘गुन्यूचोलो’ निर्देशक समुन्द्र भट्ट भन्छिन् : मन साह्रै आत्तिएको छ

    प्रदर्शन मिति नजिकिएपछि ‘गुन्यूचोलो’ निर्देशक समुन्द्र भट्ट भन्छिन् : मन साह्रै आत्तिएको छ

    काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यो चोलोः द ड्रेस’ यहीँ शुक्रबार, भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ। आफुले गर्दै आइरहेका अन्य चलचित्रहरुमा भन्दा, यो चलचित्रमा नाजिर फरक अवतारमा देखिएका छन् । उनले यो चलचित्रमा पारालैंगिक महिला अर्थात ट्रान्सवुमनको भूमिका निर्वाह गरेका छन् ।

    चलचित्रमा पुर्ण रूपमा फरक अवतार निभाउनुपरेकाले धेरै मेहेनत र समय लागेको चलचित्रका मुख्य अभिनेता नाजिरको भनाई छ्। उनी भन्छन् ,‘यो चलचित्रमा मैले मेरो प्राण हालेको छु। झण्डै ३ वर्ष लाग्यो चलचित्र दर्शकमाझ आउन। लामो समयको पर्खाई त छदै छ, यो चलचित्रमा मैले निकै मेहेनत गरेको छु। त्यहीँ भएर पनि मेरो आत्मा बसेको छ यो चलचित्रमा। चलचित्रलाई लिएर ठूलो अपेक्षा छ।’

    दशक अगाडि चलचित्र ‘होस्टेल’ले रामेश्वर यादवको पहिचान दिएको थियो नाजिरलाई। अब यो चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’ ले आफूलाई नयाँ चरित्रमार्फत दर्शकमाझ चिनाउने नाजिरको भनाई छ।

    ‘गुन्यो चोलो’ लाई लिएर चलचित्रकी निर्देशक समुन्द्र भट्ट पनि उत्तिकै आशावादी छिन् । ‘मन सारै आत्तिएको छ। डर पनि उत्तिकै लागिरहेको छ। हाम्रो टिमले हरेक पल, हरेक श्वासको मेहनत हालेर यो फिल्म तयार पारेको हो, ‘चलचित्रबारे समुन्द्र भन्छिन्,‘अबको यात्रालाई अगाडि बढाउन दर्शकको साथ र मायाले मात्रै सम्भव हुन्छ। त्यहीँ भएर सबैले एकपटक मौका दिनुहोस्। दर्शकको एउटा कदमले हाम्रो सम्पूर्ण टिमको मेहनतलाई अर्थ दिनेछ।’

    चलचित्रको ट्रेलरले जस्तै सकारात्मक प्रतिक्रिया र माया पाए ‘गुन्यो चोलो’ सफल हुने समुन्द्र बताउछिन् । उनी भन्छिन् ,‘नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली यो चलचित्रले बोलेको छ। त्यहीँ भएर एकपटक सबैले चलचित्र हेर्नै पर्छ। दर्शकले चलचित्रको ट्रेलरलाई जति मात्र माया गर्दिए पनि, हाम्रो चलचित्र सफल हुन्छ।’

    यो चलचित्र केही समय अगाडी अमेरिकाको प्रतिष्ठित ‘तस्वीर फिल्म मार्केट’ मा समेत छनोट भएको थियो । प्रदर्शन मिति नजिकिएसंगै, चलचित्रको बुकिङ पनि खुलिसकेको छ।

    निर्देशक समुन्द्र भट्टको निर्देशन रहेको गुन्यु चोलोः द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको चलचित्र हो। नाजिर हुसेन मुख्य भुमिकामा रहेको चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्वपूर्ण भूमिका छ।

    नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ । भने चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिरै गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको हो ।

    चलचित्रमा चलचित्र ‘ग्ल्याडिएटर– २’ मा स्वर दिएकी हलिउडकी कलाकार लिजा जेरार्डले पनि स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको यो चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ।

  • गंगालाई जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताको आह्वान

    गंगालाई जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताको आह्वान

    सिन्धुपाल्चोक । टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको फाइलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गंगा सोनाम लाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताहरूले जिल्लावासीलाई अपिल गरेका छन् ।

    सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० बडहरे निवासी गंगा सोनाम नेपाल आइडलको विभिन्न चरण पार गर्दै टफ फाइभ अर्थात् फाइनलमा प्रवेश गरेकी छन् । गंगालाई भोट मार्फत नेपाल आइडलको विजेता बनाउन आग्रह गरेका हुन् ।

    सिन्धुपाल्चोक प्रतिनिधिसभा-१ का सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल लगायतका नेताहरूले गंगालाई भोट मार्फत जिताउन अपिल गरेका हुन् ।

    कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले गंगालाई जिताउनका लागि ५० हजार रुपियाँ बराबरको भोट गरेका छन् । त्यस्तै सांसद माधव सापकोटा लगायत सबै नेताहरूले भोट सहित सहयोगका लागि अनुरोध पनि गरेका हुन् ।

    ग्रामीण परिवेशबाट उठेर आफ्नो सुमधुर आवाज र असाधारण सांगीतिक प्रतिभामार्फत दशौं लाख दर्शक एवं श्रोताको मन जितिरहेकी गंगा संघर्षपूर्ण यात्रा हामी िसबैका लागि प्रेरणादायी र गर्व गर्न लायक भएकाले उनलाई भोट मार्फत जिताउन आग्रह गर्दछु प्रतिनिधि सभा-१ का सांसद माधव सापकोटाले भनेका छन् ।

    इन्द्रावती-१० बडहरेकी दलित समुदायमा जन्मेर गंगाले टेलिभिजन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गरेकीले उनलाई सबैले भोट गरेर जिताउन एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अनुरोध गरेका छन् ।

    एपी वान टेलिभिजनबाट प्रत्येक साताको शुक्रवार र शनिवार नेपाल आइडल प्रसारण हुँदै आएको थियो । भदौ १५ गते ग्रान्ड फिनाले हुँदैछ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल र गंगाको एउटै वडा हो ।

    गंगालाई जिताउनका लागि गाउँपालिकाले समेत सहयोग गर्न लागेको इन्द्रावती गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए । भदौ १३ गते कार्यपालिकाको बैठक छ, त्यहीबाट गंगालाई सहयोग गर्नै निर्णय गरिने प्रवक्ता आचार्यले बताए ।

  • अझै सल्टेन ‘रिमै’को विवाद, अझै पारिश्रमिक क्लियर नभइसकेको दयाहाङको दाबी

    अझै सल्टेन ‘रिमै’को विवाद, अझै पारिश्रमिक क्लियर नभइसकेको दयाहाङको दाबी

    काठमाडौं । यही भदौ २० गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को विवाद अझै सल्टिनसकेको खुलेको छ । चलचित्रको प्रमोसनको क्रममा पत्रकारसँगको भेटघाटका अभिनेता दयाहाङ राईले अझै पनि पूर्ण रूपमा पारिश्रमिक क्लियर नभइसकेको बताएका छन् ।

    केही प्राविधिक, निर्देशन टिपार्टमेन्ट र कलाकारले सम्झौता अनुरुप समयमा पारिश्रमिक नपाएपछि निर्माण टिम र कलाकारबीच विवाद उत्पन्न भएको थियो । यही विवादका कारण मुख्य कलाकार दयाहाङ र पटकथा लेखक उपेन्द्र सुब्बाले चलचित्रको टिजर र पोस्टर सेयर गरेका थिएनन् ।

    अलि पछि चलचित्र प्रदर्शनअघि पारिश्रमिक भुक्तानी गर्ने सर्तपछि दयाहाङले चलचित्रको ट्रेलर र गीत सामाजिक सञ्जालमा सेयर गरेका थिए । तर, अझैसम्म पनि निर्माण टिमले केही प्राविधिक र कलाकारको पारिश्रमिक क्लियर नगरेको बताएका छन् । उनले भने, ‘अहिले पनि केही प्राविधिकको पारिश्रमिक बाँकी नै छ ।’

    दयाहाङले थप भने, ‘हाम्रो त्यस्तो ठूलो विवाद थिएन । पारिश्रमिकको सन्दर्भमा भोलि अप्ठ्यारोमो परिन्छ भनेर त्यसलाई सल्टाएर जाऔँ भन्ने अडानमा म थिएँ । सायद यसपछि आ–आफ्नै व्यस्तताले निर्माता र म सम्पर्कविहीन भयौँ होला । तर, बजारमा आएजस्तो नराम्रो केही छैन ।’

    सुटिङको दौरान पनि आर्थिक संकट परेकाले काठमाडौं पुग्नसाथ पारिश्रमिकको केस सल्टाउने बचन आफूले प्राविधिकहरूलाई दिएको, तर त्यो पूरा नभएपछि अलिकति समस्या परेको दयाहाङले बताए ।

    चलचित्र प्रदर्शनअघि सबै पैसा क्लियर गर्नलाई लागिपरेको निर्माता वीरवल घलेले बताउने गरेका छन् । खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’मा दयाहाङको अलवा रिश्मा गुरुङ, अर्पन थापा, गौमाया गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । अहिले दयाहाङले चलचित्रको प्रचारमा खुलेर साथ दिइरहेका छन् ।

  • सुगम पाेखरेलले ल्याए महादेवकाे भक्तिगीत, गगन थापाद्वारा लाेकार्पण

    सुगम पाेखरेलले ल्याए महादेवकाे भक्तिगीत, गगन थापाद्वारा लाेकार्पण

    काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ।

    यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा गरिएको थियो।

    डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण गरेको यो गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।

    गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो। यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ। निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ।

    भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ। निर्माण नियन्त्रक दिपेन गौतम ‘माइकल’ हुन्।

    पूर्व पर्यटन मन्त्री समेत रहेका जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने बताए। उनले भने, “यस भिडियोले हामी सबैलाई झकझक्याउनेछ। हाम्रा स्रोत प्रचुर छन् तर कानुनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो।’

    महामन्त्री थापाले गीतप्रति विशेष प्रशंसा व्यक्त गर्दै भने, “सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको छ। कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थलहरू पनि छन् भन्ने सन्देश यसले दिएको छ। सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ।”

    निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लङ्काका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसङ्ग स्मरण गर्दै भने, “हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौँ र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौँ।” निर्माण पक्षले यस म्युजिक भिडियोले विश्वभरि नै नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश पुर्‍याउँदै पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

    कार्यक्रममा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो र यसलाई डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

     

  • एलिनाको निचोड : तीजको व्रत आफ्नो आयु बढाउन बस्नु पर्ने रहेछ

    एलिनाको निचोड : तीजको व्रत आफ्नो आयु बढाउन बस्नु पर्ने रहेछ

    काठमाडौं । गायिका एलिना चौहान अहिले अमेरिका टुरमा छिन् । अमेरिकाका विभिन्न सहरहरुमा आयोजना हुने कन्सर्टमा प्रस्तुति दिइरहेकी छन् । यसपटकको तिजमा उनको गीत ‘छोरीको शीर आमा’ पनि चर्चामै छ ।

    यो गीतलाई अहिलेसम्म ६१ लाख बढीले युट्युबमा हेरिसकेका छन् । उनको अर्को तिज गीत ‘पृथ्वी छोडेर’ले पनि उल्लेख्य मात्रामा भ्युज बटुलेको छ । यस गीतलाई अहिलेसम्म ३८ लाख बढीले युट्युबमा हेरिसकेका छन् ।

    तर, एलिनाको वैवाहिक जीवन भने राम्रो भएन । अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँग उनको पारपाचुके भइसकेको छ । त्यही विगतलाई सम्झेर उनले एक भावुक स्टाटस लेखेकी छन् । स्टटसमा तिजको व्रत कसैका लागि नभएर आफ्नो आयु बढाउन बस्नुपर्ने उल्लेख गरेकी छन् ।

    हिन्दु महिलाहरु आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्ने रात नै उनले लेखेकी छन्, ‘मैले पुजेर जल खाएका तिम्रा खुट्टा मेरो छातिमा बजाएपछि थाहा भयो, तिजको व्रत आफ्नो आयु बढाउन बस्नुपर्ने रहेछ ।’

    उनका वैवाहिक जीवन निकै कठिन भएको र घरेलु हिंसा समेत सहेको उनको स्टाटसको आशयबाट बुझ्न सकिन्छ । यद्यपि दुवै अहिले अलग्गिएर आ–आफ्नै बाटो लागिसकेका छन् । एलिना सांगितिक कर्ममै सक्रिय भइरहेकी छन् । उनका गीतहरु पनि लगालग हिट भइरहेका छन् ।

  • नेपोटिजमको बहस समीर भट्टले बन्द गरिदिएको भुवन केसीको प्रष्टाेक्ति

    नेपोटिजमको बहस समीर भट्टले बन्द गरिदिएको भुवन केसीको प्रष्टाेक्ति

    काठमाडाैं । आज एक कार्यक्रमका बीच अनमोल केसीको प्रतीक्षित चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भयो । टिजर सार्वजनिक कार्यक्रममा अनमोललाई पारिश्रमिकदेखि विराज–समीर भट्टसम्म, बक्स अफिसदेखि बाबु–छोराको सम्बन्धसम्मका प्रश्नहरु सोधिए ।

    पत्रकारसँगको अन्तरक्रियाको क्रममा एक पत्रकारले विराज–समीर भट्टको सुपरहिट चलचित्र ‘१२ गाउँ’को प्रसंग निकाले । १९ करोडमाथि ग्रस कलेक्सन गरेको चलचित्रको प्रसंग निकाल्दै भुवन केसीलाई सोधियो, ‘बाबुछोराको स्टारडम देख्ला तपाईंलाई लोभ लागेको थियो कि थिएन ?’

    भुवनले गम्भीर हुँदै जवाफ दिए, ‘सबैभन्दा पहिला विराज नै मेरो भाइ हो । हामीले धेरै फिल्म सँगै गरेका छौं । त्यसैले विराजको छोरा मेरो पनि छोरा जस्तै हो । समिरलाई म आफ्नै छोराजस्तै सम्झिन्छु ।’

    भुवन यतिमै रोकिएनन् । नोपोटिजमको सन्दर्भ पनि कोट्याए । उनले भने, ‘नेपालमा धेरै कलाकार साथीभाइको छोराछोरी फिल्म उद्योगमा आउनुहुन्छ । तर, अनमोल उद्योगमा आउनसाथ उसले नेपोटिजमको आरोप सहनु पर्यो ।’

    भुवनले थपे, ‘तर समर आएर उसले नेपोटिजमको बहस नै हटाइदियो ।’

    यसपछि पत्रकारले अनमोललाई सोधे, ‘मेगास्टारको ५० करोडको आँकडामाथिको चलचित्र दर्शकले खोजिरहेका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गर्दा शीर्ष २५ सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने चलचित्रको सूचिमा तपाईंको चलचित्र आएन । १० करोडभन्दा माथि ग्रस गर्ने चलचित्रमा काम गर्न कत्तिका रहर छ ? अहिलेसम्म त्यस्तो चलचित्र किन नआएको हो ?’

    यो लामो प्रश्नको अनमोलले छोटो जवापफ दिए, ‘एउटा कलाकारको रुपमा मैले गर्ने भनेको कर्म हो । फलको त्यति आश गर्दिनँ ।’

    बक्स अफिसको प्रश्नपछि प्रसंग बाबुछोराकै केमेस्ट्रीमाथि सोझिए । पत्रकारले सोधे, ‘टिजरमा हेर्दा चाहिँ भुवन सरले झापड हान्नुभएको छ । कति टेकमा ओक्के गरिएको सट थियो यो ?’

    जवाफमा अनमोल भन्छन्, ‘प्रश्न त यो रुचिपूर्ण हुन्थ्यो कि मैले घरमा झापड खाएको छु कि छैन । बुवाले मलाई लङ सटमा रियल थप्पड नै हान्नुभयो । क्लोज सटमा हान्नुभएन ।’

    पत्रकारले पु्न भुवनलाई नै किन क्लोज सटमा हान्नुभएन भनेर प्रश्न गर्छन् । यसमा भुवन भन्छन्, ‘रियल लाइफमा थप्पड त परको कुरा, अनमोललाई कडा शब्दले गालीसम्म गरको छैन । स्क्रिनमा हान्नुपर्दा कठिन भएको थियो मलाई । स्क्रिनमा रियालिटी आओस्, तर छोरालाई नलागोस् भन्ने पनि थियो ।’

    ‘जेरी अन टप’मा अनमोल र माग्ने बूढाले पहिलोपटक सहकार्य गरेका छन् भने उनीहरुसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी पनि मुख्य भूमिकामा छन् । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रले सगरमाथा आरोहण र प्रेमकथालाई केन्द्रमा राखेको छ । यही असोज ३१ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

  • आफूले भन्दा बढी पारिश्रमिक माग्ने बूढाले डिजर्भ गर्ने अनमोलको प्रतिक्रिया

    आफूले भन्दा बढी पारिश्रमिक माग्ने बूढाले डिजर्भ गर्ने अनमोलको प्रतिक्रिया

    काठमाडाैं । पछिल्लो समय अभिनेता केदार घिमिरे माग्ने बूढाले ६१ लाख पारिश्रमिक लिएको गसिपले बजार पिट्यो । तथापि यो हल्लालाई माग्ने बूढा स्वयंले खारेज गरिसकेका छन् । आफूले ६१ लाख पारिश्रमिक नलिएको बताइसकेका छन् । तर, पारिश्रमिकको बहस भने अझैं सेलाइसकेको छैन ।

    आज ‘जेरी अन टप’ चलचित्रको टिजर रिलिज कार्यक्रममा पनि यही विषय उप्कियो । आज पनि पारिश्रमिकको विषय उप्किनुमा अनमोल र माग्ने बूढा सँगै हुनु पनि हो । केही समयअघि ‘फर्की फर्की’ चलचित्रमा अनमोलले ५० लाख पारिश्रमिक लिएका अनमोल महँगो अभिनेतामा दरिएका थिए ।

    अनमोल र माग्ने बूढा दुवैजना सँगै उपस्थित भएको कार्यक्रममा पत्रकारले अनमोललाई सोधिहालिन्, ‘अहिले कत्तिको खुसी हुनुहुन्छ ? बजारमा अनमोल सबैभन्दा महँगो नायक भनिन्थ्यो । अहिले त्यो माग्ने बूढामा सरेको छ । त्यो कुराले कत्तिको खुसी हुनुहुन्छ र दुःखी हुनुहुन्छ ?’

    पत्रकारको यस्तो प्रश्नपछि अनमोल मुस्कुराउँछन् । पत्रकारहरुले माग्ने बूढालाई पनि सँगै उभाएर जवाफ दिन लगाउँछन् । माग्ने बूढालाई अनमोलसँगै राखिन्छ । अनि अनमोलले मु्स्कुराउँदै भन्छन्, ‘उहाँको उमेर हेर्नुहोस् । उहाँको ऊर्जा हेर्नुहोस् । उहाँको फिल्मप्रतिको लगाव हेर्नुहोस् । मेरो नजरमा त मलाई लाग्छ, मैले भन्दा बढी डिजर्भ गर्नुहुन्छ ।’

    यसपछि पत्रकारले माग्ने बूढालाई सोध्छन्, ‘तपाईंको भन्नु केही छ ?’ माग्ने बूढाले हाँस्दै भन्छन्, ‘मेरो त धन्यवादभन्दा केही छैन ।’

    ‘जेरी अन टप’मा अनमोल र माग्ने बूढाले पहिलोपटक सहकार्य गरेका छन् । उनीहरुसँगै आँचल शर्मा र जसिता गुरुङ पनि मुख्य भूमिकामा छन् । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रले सगरमाथा आरोहण र प्रेमकथालाई केन्द्रमा राखेको छ । यही असोज ३१ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

  • ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै बंगाली गायक अर्को मुखर्जी

    ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै बंगाली गायक अर्को मुखर्जी

    काठमाडौँ। आगामी भदौ २८ र २९ गते ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन्।

    यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रूपमा रहेका छन्। महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन्। २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति हुनेछ।

    बंगाली चलचित्रहरुमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपाली संगीतप्रति विशेष लगाव छ। उनले हिट नेपाली गीतहरूलाई कभर भर्जनमा ल्याएर नेपाली दर्शकहरूको मन जितिसकेका छन्। लोक संगीतमा झुकाव राख्ने उनले उकालीमा हजुर, भैँसी लड्यो, लाहुरेको रेलिमै, मोहनी लाग्ला है, सिन्धुली गढी, ए कान्छालगायत थुप्रै नेपाली हिट गीतलाई कभर भर्जनमा सार्वजनिक गरेका छन्।

    यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन्। उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।

    यस पटकको संस्करणको मूल विषय ‘सीमापारि ः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ।

    महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।

  • हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ।

    ‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्’, उनले भनेका छन्।

    ‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन् ।

    ‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु ।’

    मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो ।

    ‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरुपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कवितासङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रुपमा प्रकट भएको छ ।’

    ‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ ।

    ‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ’, पराजुलीले लेखेका छन् ।

    कवितासङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो ।

     

  • तीज गीतको भ्यूजः विष्णु माझी नै अगाडि, पछ्याउँदै कोशेढुंगा र एलिना

    तीज गीतको भ्यूजः विष्णु माझी नै अगाडि, पछ्याउँदै कोशेढुंगा र एलिना

    काठमाडौं । यस वर्ष पछि गायिका विष्णु माझीको गीत ‘म त नराउरी’ सर्वाधिक हेरिने तीज गीत बनेको छ ।

    अघिल्ला वर्षका गीतहरूले जस्तो ठूलो चर्चा नपाए पनि भ्युजको मामलामा उनको गीत नै शीर्ष स्थानमा छ । अहिलेसम्म माझीको गीतलाई ७३ लाख बढीले हेरिसेका छन् ।

    माफीको पछिपछि चलचित्र ‘कोशेढुंगा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले पनि राम्रै भ्युज पाएको छ । खेम सेन्चुरी र समीक्षा अधिकारीको स्वर रहेको यो गीतलाई अहिलेसम्म ६४ लाखले हेरेका छन् । गीतमा अभिनेत्रीत्रय सुरक्षा पन्त, नीति शाह र ऋचा शर्माले ठुम्का लगाएका छन् ।

    सँगै चर्चामा रहेको अर्को तीज गीत छ, ‘छोरीको शिर आमा’ । एलिना चौहानको स्वर रहेको यस गीतले अहिलेसम्म ६१ लाख भ्युज पाइसकेको छ । लक्ष्मी मल्लाको स्वर रहेको ‘तीजका गीत हुन्थे सुन’लाई पनि अहिलेसम्म ६० लाख बढीले हेरिसकेका छन् । त्यस्तै एलिनाकै ‘पृथ्वी छोडेर’ बोलको गीतले ३८ लाख भ्युज पाइसकेको छ ।

  • शाहरुख खानकै जस्तो फ्यान फलोइङ पलको भएको नीति शाहको दाबी

    शाहरुख खानकै जस्तो फ्यान फलोइङ पलको भएको नीति शाहको दाबी

    काठमाडौं । ‘खजुरे ब्रो’, ‘ज्वाइँ साब’ र ‘नरसिंहा स् अवतार’ असफल भएपछि अभिनेत्री नीति शाहले ‘मोहर’मार्फत् सफलताको स्वाद चाखिन् । ‘मोहर’ नीतिको अलवा पल शाह, बेनिशा हमाल पनि मुख्य भूमिकामा छन् । यस चलचित्रमा नीतिको अभिनयको प्रशंसा पनि भइरहेको छ ।

    अब यही हप्ता नीतिको अर्को चलचित्र ‘कोशेढुंगा’ प्रदर्शनमा आउँदैछ । ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको यस चलचित्रमा पनि नीतिसँगै सुरक्षा पन्त, आर्यन सिग्देल लगायत कलाकारको मुख्य भूमिका छ ।

    यही ‘कोशेढुंगा’को प्रमोसनको दौरान ‘द प्रकाश सुवेदी शो’मा पुगेकी नीतिले अभिनेता पल शाहको फ्यान फलोइङलाई बलिउड अभिनेता शाहरुख खानसँग तुलना गरेकी छन् ।

    उनले पलबारे भनेकी छन्, ‘मलाई चाहिँ पल शाह कस्तो लाग्यो भने बलिउडको शाहरुख खानको फ्यान फलोइङ छ नि ? नेपालको फ्यान फलोइङ भएको अहिलेको हाम्रो पुस्ताको अभिनेता पल शाह हुनुहुन्छ ।’

    नीतिको जस्तै ‘मोहर’ले पलको पनि अभिनय करियरलाई राहत प्रदान गरेको थियो । ‘रावायण’ र ‘मायावी’ लगालग फ्लप भएपछि ‘मोहर’ले उनलाई पनि राहत दिएको थियो । चलचित्रले हलबाट लगानी सुरक्षित गरिसकेको छ ।

  • ‘माग्ने राजा’ मा हल्का रमाइलो !

    ‘माग्ने राजा’ मा हल्का रमाइलो !

    ‘माग्ने बूढा’ भन्नासाथ गरिबी र अभावले थिचिएको तर अरुलाई हँसाउने पात्रको इमेज दिमागमा आउँछ । मैला लुगा र कानेटोपी लगाउने, अगाडिको दाँत फुस्केको, ङिच्च हाँस्दै ‘हल्का रमाइलो…’ भन्ने, वल्लो घर-पल्लो घर ऐंचो पैंचो गरेर गुजारा चलाउने, मौका पाए चोरचार समेत गर्ने माग्नेबुढा पात्र हामी सबैको नोस्टाल्जियामा गहिरोसँग गढेर बसेको छ ।

    यो पात्रले हास्य रससहित गाउँले परिवेशमा गाउँकै गरिबी बोल्थ्यो, त्यसैले दर्शकमाझ लोकप्रिय बन्यो । अहिले पनि उत्तिकै लोकप्रिय छ । यही लोकप्रियताले खडा गरेको आधारस्तम्भमा निर्मित चलचित्र हो, ‘माग्ने राजा’, जो अहिले हलहरूमा चलिरहेको छ ।

    हिजो टिभीमा आउने माग्नेबूढा ‘माग्ने राजा’ मा कुवेर शर्मा बनेर ठूलो पर्दामा छाइरहेको छ । फरक यत्ति हो, चलचित्रमा माग्ने बूढाको हँसी दाँतमा कालो लगाइएको छैन, टाउकोमा काने टोपी लगाएको छैन । बोल्ने शैली र कमेडीलाई भने टपक्क टिपेर ल्याइएको छ । अनि माग्ने बूढालाई चलचित्रको फ्रेममा ढाल्नलाई एउटा कथा निर्माण गरिएको छ ।

    ‘माग्ने राजा’ को सबैभन्दा सबल पक्ष नै कथा हो । माग्ने बूढाको कमेडीको आवरणमा चलचित्रले समसामयिक राजनीतिक मुद्दाहरूलाई पनि समेटेको छ । पछिल्लो समय फाट्टफुट्ट रूपमा युवाहरूले उठाइरहेको ‘नो नट अगेन’ र निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दालाई पनि समेटेको छ । तथापि चलचित्रको मूल मर्म भने कमेडी नै हो । कमेडीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनु नै ‘माग्ने राजा’ को मूल उद्देश्य हो । यो उद्देश्यमा चलचित्र एक हिसाबले सफल पनि भएको छ ।

    हाकाहाकी भन्ने हो भने माग्ने बूढाको क्रेजको ब्याज खानलाई बनाइएको चलचित्र हो यो ।

    कथा सिम्पल छ, मगन्त नारायणको जीवनमा अचानक करोडौं पैसा आइपुग्छ । बाजेले खाएको ऋण तिर्न नसकेर गाउँलेबाट भागिरहेको मगन्त नारायणले एक्कासी करोडौं पाएपछि के गर्ला ? कथा यही प्रश्नको मियोमा घुमिहिँडेको छ ।

    सामान्य वित्तीय ज्ञानसमेत नभएको मगन्त नारायणले बाबुले गाडेको पुलिकको भाँडो फेला पर्छ । उक्त पुलिक बिक्री गरेर ऊ रातारात करोडपति बन्छ । करोडपति बनेपछि उसको जीवनमा आउने उतारचढावको कथामा केन्द्रित छ, ‘माग्ने राजा’ ।

    ऊ साइनोले मीत भान्जा (विल्सनविक्रम राई) सँग पैसाको व्यवस्थापनमा लाग्छ । सहकारीमा लगेर करोडौं पैसा राख्छ । करोडौंको बीमा गर्छ । आलीसान बंगला किन्छ । हेलिकप्टरमा गाउँ गएर गाउँलेलाई लाखका लाख बिटा पैसा बाँड्छ । आमा ऊसितै सहर जान मान्दिनन्, एक्लै सहर फिर्छ । कागजको टुक्रा जसरी पैसा उडाउँछ । सहरको मोजमस्तीमा रमाउँछ ।

    सारा चिजको व्यवस्थापनका लागि सेक्रेटरी श्री (वर्षा शिवाकोटी) लाई राख्छ । ऊसँग जोडिएका सारा मान्छेको गिद्धे नजर भने मगन्त नारायणको पैसामा परेको हुन्छ । पैसाकै लागि ऊसँग सबै मान्छे जोडिएका हुन्छन् । पैसाको उन्मादले लठ्ठ परेको उसले यतातिर ध्यानै दिँदैन ।

    यहीबेला उसको कान्तिपुर नगरपालिकाका मेयरसँग टकराव पर्छ । वल्लो घर र पल्लो घरमा छिमेकी बनेर बसेका दुई बीचमा इगोले डेरा जमाउँछ । मेयरले डोजर ल्याएर घरको गेट नै उडाइदिन्छ । सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा समेत हालिदिन्छ । अदालतले उसको बैंक खातादेखि सम्पूर्ण सम्पत्ति रोक्का गरिदिन्छ । यहाँबाट चलचित्रले राजनीतिक बाटो पनि समात्छ । ऊसँग स्वार्थले जोडिएकाहरूको मुखौटा खुल्दै जान्छ ।

    मुद्दाहरू जे जस्तो ल्याएर घुसाए पनि ‘माग्ने राजा’ पूर्णतया कमेडी चलचित्र हो । यद्यपि चलचित्रमा राजनीतिक मुद्दाहरू घुसाएपछि त्यसलाई तर्कसंगत रूपले किनारा पनि लगाउनुपर्थ्यो ।

    प्रोटागोनिस्ट र एन्टागोनिस्टबीचको द्वन्द्व सघन हुनलाई कारण पनि बलियो हुनुपर्छ । ‘माग्ने राजा’ मा मेयर र मगन्त नारायणबीचको टसल यति उत्कर्षमा पुग्छ कि मेयरकै विरुद्धमा चुनाव लड्ने अवस्थामा ऊ पुग्छ । उनीहरूबीचको यो टसलको जग भने एकदमै कमजोर छ ।

    आफैँमा भ्रष्ट मेयरले सम्पत्ति शुद्धीकरण विभागमा आफ्नै छिमेकी मगन्त नारायणविरुद्ध उजुरी दिनुको कुनै तुक देखिन्न । उजुरी दिने, घरमा डोजर ल्याएर गेट उडाइदिने तहको उनीहरूबीचको द्वन्द्व राम्रोसँग स्थापित नै भएको छैन । मगन्त नारायणले मेयरको के बिगारिदियो, जसका कारण उसलाई सिध्याउनै लागिपर्‍यो ? यसको तर्कसंगत जवाफ चलचित्रले दिन सकेको छैन । बलियो कारणबिना नै दुईबीचको लफडालाई उत्कर्षमा पुर्‍याइएको छ ।

    अर्कोतिर अमेरिकाबाट फिरेका व्यक्ति (आर्यन सिग्देल) मेयरले चुनावअघिका बाचा पूरा नगरेका कारण अनसनमा बस्छ । मेयरले जालसाजी गरेर उसको अनसन तोडाउँछ । अमेरिकाबाटै राजनीतिक महत्वकांक्षा लिएर फिरेको मान्छेले स्थानीय तहको निर्वाचनमा मगन्त नारायणलाई सघाउँछ । यहाँ ती व्यक्तिले आफू नउठेर मगन्त नारायणलाई सपोर्ट गर्नुका पछाडि अनुहार र हुलिया कारक रहेको हास्यास्पद तर्क गर्छ । जो मान्छे एजेन्डा र मुद्दालाई केन्द्रमा राखेर मेयरविरुद्ध उभिएको छ, उसैले अनुहार र हुलियाका कारण भोट आउने कुरा गर्छ ।

    सामान्य वित्तीय ज्ञानसमेत नभएको मगन्त नारायणले बाबुले गाडेको पुलिकको भाँडो फेला पर्छ । उक्त पुलिक बिक्री गरेर ऊ रातारात करोडपति बन्छ । करोडपति बनेपछि उसको जीवनमा आउने उतारचढावको कथामा केन्द्रित छ, ‘माग्ने राजा’ ।

    पैसाको व्यवस्थापन गर्ने क्रममा मगन्त नारायणले भान्जाको पछि लागेर करोडौं रूपैयाँ सहकारीमा राख्छ । पछि के भयो त मगन्तको त्यो बचत ? यसको जवाफ नदिइकन मगन्तले हाँसीखुसी सहकारी पीडितहरूलाई नै बाटो खर्च र बचत फिर्ता दिइरहेको हुन्छ ।

    समग्रमा चलचित्र केदार घिमिरेले निर्वाह गर्ने पात्र मगन्त नारायण वरिपरि घुमेको छ । घिमिरेको अभिनय ठिकठाक छ । चलचित्रको सुरूवातमै मगन्त नारायण भरियालाई डोकोमा पैसा बोकाएर घोडामा गाउँ आउँछ । यो मगन्त नारायणले गरेको कल्पना मात्रै हो । तर, यस्तै कल्पना किन गर्छ त कोही कसैले ? यथार्थमा कतैबाट केही पार नलागेपछि, अभावै अभावको खाडलमा पुरिएपछि मान्छे यस्तो खाले कल्पनामा हराउन/रमाउन थाल्छ । चलचित्रको ओपनिङ दृश्य यही कारण विशेष छ ।

    श्रीको भूमिकामा वर्ष शिवाकोटीको अभिनय ठिकै छ । भान्जाको भूमिकामा विल्सनविक्रमको अभिनय गज्जब छ । राईले अनुहारको भावभंगीमा राम्रोसँग मिहेनत गरेका छन् । आर्यन सिग्देलको भूमिका खास्सै लामो छैन, अभिनय पनि ठिकै छ । शिशिर बाङ्देलको मेयरको भूमिका रोचक छ ।

    ब्याकग्राउण्ड स्कोर ठिकठाकै छ । केही ठाउँमा हल्का लाउड छ । ‘सुतेर उठेको पैसामा’ गीतलाई रमाइलोसँग कथामै जोडेर प्रस्तुत गरिएको छ । कमर्सियल नेपाली चलचित्र जसरी खिचिन्छ, त्यसरी नै खिचिएको छ । सिनेम्याटोग्राफीमा नयाँ, नौलोपन केही छैन । फेरि सिनेम्याटोग्राफीमा खत्रै प्रयोग गर्न खोज्दै बनाउन लागिएको चलचित्र पनि होइन यो । हाकाहाकी भन्ने हो भने माग्ने बूढाको क्रेजको ब्याज खानलाई बनाइएको चलचित्र हो यो ।

    ऋषि लामिछानेको निर्देशनका कारण भन्दा पनि कथाका प्लटहरूले चलचित्र हेर्नलायक बनेको छ । ‘मेरी बास्सै’ को माग्ने बूढाको प्रसंशकहरूलाई केदार घिमिरेमय बनेको चलचित्रले साढे दुई घण्टा दर्शकलाई होल्ड गरेर राख्न सक्षम छ । चलचित्रमा प्रशस्त मात्रामा रहेको ट्वीस्टहरूले दर्शकलाई खिचिरहन सक्छ । क्लाइमेक्स झनै रोचक छ, यसका लागि भने हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

  • रिमैको ट्रेलरः प्रेम र परिवारको संघर्षमा दयाहाङ

    रिमैको ट्रेलरः प्रेम र परिवारको संघर्षमा दयाहाङ

    काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ ।

    करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिँरहेका छन् ।

    रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।

    निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन् । संवाद, छायांकन र ब्याग्राउण्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ । यसअघि सार्वजनिक पोस्टर र टिजरले नै चर्चा कमाइसकेको ‘रिमै’ ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाएको छ ।

    गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

    कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।

    सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

  • चलचित्र ‘माग्ने राजा’मा हाउसफुल

    चलचित्र ‘माग्ने राजा’मा हाउसफुल

    काठमाडौं । निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ले अपेक्षाअनुरुप नै हलमा दर्शक फर्काएको छ । शुक्रबार बिहानीको सोमा औसत दर्शक पाएको चलचित्रले मध्यान्नको समयदेखि हाउसफुल दर्शकको साथ पाएको थियो । शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै चलचित्रले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको थियो ।

    सिनेमाले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । सिनेमाको निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले सिनेमाले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

    सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गर्ने गरेका छन् । जसले गर्दा दर्शकमाझ उनको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । सिनेमाका मुख्य अभिनेता केदार घिमिरे पनि आफु भुइामान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताउँछन् । त्यससँगै आगामी दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ ।

    चलचित्र वितरक रोहितकुमार कट्टेलका अनुसार ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि इनिसियल दर्शक पाएको हो । कट्टेलले चलचित्रले सदाबहार दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र होइन चाडबाडमा मात्र हाउसफुल व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको बताएका छन् । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले चलचित्रले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।

    ‘पछिल्लो समय वैशाखमा प्रदर्शन भएको ऊनको स्वेटरले सुरुवातदेखि नै राम्रो व्यापार गरेको थियो । त्यसपछिको राम्रो व्यापार माग्ने राजाकै मान्नुपर्छ । अझ यो चलचित्रले मंगलबारपछि आक्रामक कमाइ गर्ने मेरो अनुमान छ,’ कट्टेलले भने । मंगलबार तीजको बिदा रहेको र चलचित्रका महिला दर्शक त्यसपछि फुर्सद हुने हुनाले यसको फाइदा चलचित्रलाई पुग्ने उनको तर्क छ ।

    निर्देशक ऋषि लामिछाने पनि तीज पछि चलचित्रका दर्शक थप बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने चलचित्र रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भने ।

    मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले मनोरञ्जन र सन्देशलाई सुन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । छक्का पञ्जा सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रुपमा चलचित्रलाई हाँकेका केदार घिमिरेको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । चलचित्रमा वर्षा सिवाकोटी , विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिएका छन् ।

  • जनै हराएको मान्छे: मनै रूझाउने चलचित्र

    जनै हराएको मान्छे: मनै रूझाउने चलचित्र

    धार्मिक आस्थासँग जोडिएको पवित्र धागो हो, जनै । जनै धारण गरेपश्चात् हरेक पुरुषले निश्चित नीति-नियम र आचारसंहिताभित्र बस्नुपर्ने हिन्दु धर्मशास्त्रमा वर्णित छ । व्रतबन्धपछि कुनै कारणवश जनै चुँडियो वा हरायो भने पुनः अर्को धारण नगर्दासम्म बोल्नु हुँदैन भन्ने धार्मिक मान्यतालाई अग्रजहरूले अनुसरण गर्दै आएका छन् । यही मान्यताको जगमा एउटा घतलाग्दो चलचित्रको निर्माण भएको छ, जसको नाम हो `जनै हराएको मान्छे´ ।

    सुरुमा यसको नाम ‘जनै हराएको बाहुन’ थियो । पछि कन्ट्राेभर्सी निम्तिन सक्ने भयले गर्दा मेकर्सले ‘बाहुन’लाई ‘मान्छे’ बनाइदिएका हुन् । तर, ‘जनै हराएको मान्छे’ भन्दा ‘जनै हराएको बाहुन’ शीर्षक नै बढी सान्दर्भिक थियो, किनभने सबै मान्छेले जनै लगाउँदैनन् । युवा पुस्तामा त बाहुनले नै लगाउन छोडिसके । खैर, शीर्षकमा धेरै गलफती नगरौँ ।

    सर्व कालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालले लिड रोल निभाएको चलचित्रका रूपमा ‘जनै हराएको मान्छे’ ले एक किसिमको हाइप बनाएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’बाट पूर्ण क्रेडिट लिएका विजयसामु फेरि एक पटक सिङ्गो चलचित्रको भार थाम्नुपर्ने चुनौती आइलागेको छ ।

    यदि ‘जनै हराएको मान्छे’ पनि हिट भएको खण्डमा नेपाली चलचित्र उद्योगमा विजयको विजय यात्रालाई कसैले रोक्न सक्ने छैन । उनी नेपाली चलचित्र उद्योगकै एक बलिया खम्बाको रूपमा स्थापित हुन सक्ने छन् । तर फिल्म चलेन भने सबैभन्दा ठुलो धक्का पनि उनलाई नै लाग्ने निश्चित छ ।

    ‘पूर्णबहादुरको सारङ्गी’जस्तै जनै हराएको मान्छेको मूल कथा पनि बाबुछोराकै सम्बन्धमा उनिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’मा विजय बाबु थिए भने यसमा छोराको भूमिकामा छन् । दुवै चलचित्रले कारुणिक धार नै समातेका छन् । तर कथावस्तु र प्रस्तुतीकरणको दृष्टिकोणले यी दुई चलचित्रमा धेरै समानता छैन । ‘पूर्णबहादुरको सारङ्गी’लाई बिर्साउने गरी ‘जनै हराएको मान्छे’ हरेक हिसाबले उत्कृष्ट छ । दर्शकको आँखामा आँसु ल्याउने मात्र होइन मन र मथिङ्गल हल्लाउने सामर्थ्य यस चलचित्रले राख्छ। नढाँटी भन्नुपर्दा ‘पूर्णबहादुरको सारङ्गी’भन्दा ‘जनै हराएको मान्छे’ले हृदयलाई अझ बढी स्पर्श गर्छ ।

    हुन त नेपालमा पछिल्लो समय चलचित्र हिट बनाउन दर्शक रुवाउनैपर्छ भन्ने खालको भाष्य जबरजस्तरुपमा स्थापित बनिरहेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ पछि अधिकांश मेकर्सहरु सिनेमाघरभित्र आँसुको भेल बगाउने होडबाजीमा छन् ।

    ‘जनै हराएको मान्छे’ले पनि त्यो ध्येय राखेको छैन भन्न मिल्दैन। चलचित्रमा दर्शकले आँशु थाम्न मुस्किल पर्ने थुप्रै दृश्यहरू धेरै छन् । तर चलचित्रमा फगत आँशु वा दुख मात्र चाहिँ छैन । सुख, दुख, हाँसो, आँसुको काेलाज छ । यस्तो किन भयो, कसरी भयो भन्ने खालका सवालहरूले दिमागलाई हिर्काइरहेका हुन्छन् । चलचित्र हेरेको घण्टौँसम्म पनि यसका दृश्यहरू मानसपटलमा घुमिरहन्छन् । पात्रहरूले पछ्याइरहन्छन् । कुनै पनि चलचित्रका लागि सबैभन्दा ठूलो सफलता नै यही हो ।

    अब अलिकति कथावस्तुमा जाऊँ ।
    ब्राह्मण परिवारमा जन्मिएको एउटा सिधासाधा गाउँले युवक सितारामको कथा हो यो, जुन भूमिका विजय बरालले निभाएका छन् । बाल्यावस्थामै मातृ वियोगमा परेपछि सितारामलाई उनका पुरोहित बुवाले हुर्काउँछन् । युवा वयमा प्रवेश गरेसँगै सिताराम एक थान सपना बोकेर काठमाडौं छिर्छ– कोरिया गएर पैसा कमाउने ।

    गाउँकै एक युवकसँग इख लिएर ६ महिनाभित्र कोरिया टेक्ने अठोटसहित काठमाडौं आउँछ सिताराम । सितारामभन्दा पहिल्यै उसकी दिदी गीता (केकी अधिकारी) कथित तल्लो जातका युवकसँग भागी विवाह गर्दै यही खाल्डोमा भासिएकी थिइन् । रूढिवादी चिन्तनबाट ग्रस्त बाबुले विवाह स्वीकार नगरेपछि गीता काठमाडौंमा श्रीमानसँग बसेर जसोतसो गुजारा गरिरहेकी छिन् ।

    सिताराम भने काठमाडौं आएपछि एकपछि अर्को लफडा र झमेलामा फसिरहन्छ । केही समय दिदी–भिनाजुकहाँ बस्छ । तर भिनाजुसँग झगडा परेपछि निस्किएर हिँड्छ । यहीबीच चोरहरूसँगको एउटा मुठभेडमा उसको जनै चुँडिन्छ र खोलाले बगाउँछ ।

    सितारामलाई बाल्यकालमा व्रतबन्धपछि उसकी आमाले भनेकी थिइन्– यदि जनै हरायो वा चुँडियो भने अर्को नलगाउँदासम्म बोल्नु हुँदैन, अन्यथा ठूलो अनिष्ट हुन्छ । एक पटक विद्यालयमा खेल्दै गर्दा उसको जनै चुँडियो । तर, उसले आमाले भनेअनुसार नबोलि बस्न सकेन । त्यस लगत्तै आमाको निधन भयो । उक्त घटनापछि सितारामलाई मनमा बलियोसँग गढेको छ कि जनै नलगाएको बेला बोल्यो भने साँच्चिकै ठूलो अनिष्ट हुने रहेछ ।

    काठमाडौंमा जनै हराएसँगै सिताराम एउटा गुन्डा ग्याङको जालोभित्र पर्छ । त्यसबाट बाहिर निस्किन गरेको रोचक सङ्घर्षले फिल्मलाई अघि बढाएको छ । यहाँबाट बढी कथा नखोलौँ । सितारामसँग उसको बाबुको फेरि भेट हुन्छ या हुँदैन, दिदी भाइको सम्बन्धले कुन रूप लिन्छ, अन्तरजातीय बिहे गरेकी छोरीलाई तिरस्कार गरेका बाबुको मन कसरी फिर्छ ? सिताराम कोरिया जान पाउँछ कि पाउँदैन ? यी प्रश्नहरूको उत्तर खोज्न चाहिँ तपाईँ हलसम्मै जानुपर्ने हुन्छ ।

    चलचित्रको सुरुवात त्यति दमदार छैन । पहिलो २०–२५ मिनेट परम्परागत र सुस्त छ । सिताराम काठमाडौं गएपछि कथाले बिस्तारै गति लिन्छ । ज्वरो नाप्दा थर्मामिटरमा पारो चढे जसरी चलचित्रमा मनोरञ्जनको पारो चढ्दै गएको छ ।

    सितारामले भिनाजुसित मिलेर सडकमा जादु देखाएको दृश्य औधी मनोरञ्जक छ । यसलाई निर्देशकले निकै रोचक अनि यथार्थपरकरुपमा प्रस्तुत गर्न सफल भएका छन् । यहाँबाट चलचित्रमा फरकपनको आभास हुन थाल्छ ।

    मध्यान्तरपछि चलचित्र अनवरतरुपमा उत्कृष्ट छ । दर्शकले सोच्दै नसोचेको दिशामा चलचित्र अगाडि बढ्छ । कल्पनै नगरेका ट्विस्टहरु आउँछन् । दर्शकको शरीरमा `गुजबम्प्स´ आउने आँखाबाट थाहै नपाई आँशु खस्ने धेरै दृश्यहरू छन् । मनलाई शीतलता दिने र हाँसो फुत्काउने क्षणहरू पनि छन् ।

    चलचित्रमा के छैन त भन्दा हिंसा र मारकाट छैन । नायक–नायिकाबीचको रोमान्स अनि चुम्माचाटि छैन । खासमा नायक-नायिका नै छैनन् । केवल ‘क्यारेक्टर’हरु छन् ।

    चलचित्रको ‘क्लाइमेक्स’ अत्यन्तै शक्तिशाली छ । नेपाली चलचित्रमा आमरुपमा देखिने समस्या भनेको कमजोर क्लाइमेक्स हो । उत्कृष्ट बन्न सक्ने धेरै चलचित्रहरू क्लाइमेक्समै चिप्लिएका छन् । तर, ‘जनै हराएको मान्छे’लाई भने क्लाइमेक्सले नै कालजयी बनाएको छ भन्दा फरक नपर्ला । यसका लागि लेखक र निर्देशक बधाई का पात्र छन् ।

    यो चलचित्रको हिरो भनेको वास्तवमा लेखक भानुभक्त ढकाल हुन् । यति मौलिक र रोमाञ्चकारी कथा–पटकथाका लागि उनलाई साधुवाद दिनैपर्छ । संवादमा भने उनको मिहिनेत अलि पुगेन । कथा–पटकथालाई संवादले राम्ररी न्याय गर्न नसकेको प्रतीत हुन्छ । पञ्चलाइनहरुको कमि छ । संवादमा एक राउन्ड अझै काम गर्नु आवश्यक थियो ।

    चलचित्रका निर्देशक हिमाल न्यौपानेको कामको तारिफ नगरिरहन सकिन्न । डेब्यु निर्देशनमै उनले एउटा मास्टर पिस दिएका छन् । पहिलो प्रयासमा नै यो स्तरको चलचित्र बनाउने निर्देशकबाट भविष्यका लागि धेरै आशा गर्न सकिन्छ ।

    अब चर्चा गरौँ कलाकारको अभिनयको । चरित्रका हिसाबले `जनै हराएको मान्छे´ पूर्णरुपमा विजय बरालको चलचित्र हो भन्दा हुन्छ । पुरै चलचित्र उनको सेरोफेरोमा घुमेको छ । केही अघिसम्म ‘हिरोको चम्चा’ मै सीमित रहेका कलाकारले अहिले यत्ति बलियो र एकछत्र भूमिका पाउनु भनेको विजय बरालको करिअरमा विशाल फड्को हो । उनको आफ्नो चरित्रलाई अभिनयबाट पक्कै न्याय गरेका छन् ।

    यद्यपि, उनको अभिनयमा नयाँपनको अभाव भने खट्किन्छ । पूर्णबहादुरको सारङ्गी र जनै हराएको मान्छेमा उनको अभिनय उस्तै–उस्तै लाग्छ । दर्शकले रुचाउँदै आएका विजय बरालको फिल्मी क्यारेक्टरमा सबैभन्दा बलियो पाटो भनेको उनको हास्य भङ्गिमा´ हो । तर, पूर्णबहादुरको सारङ्गी र जनै हराएको मान्छेमा भने बराल पुरापुर गम्भीर भूमिकामा देखिए, जसले गर्दा अलिकति अलिनो महसुस हुन्छ । अब मेकर्सहरुले उनलाई लिड रोलमै लिँदा पनि उनको चरित्रलाई हल्का कमेडी टच दिए हुने हो ।

    चलचित्रमा केकी अधिकारीको भूमिका धेरै लामो नभए पनि सशक्त छ, उनले त्यसमा गहिरो छाप छोडेकी छन् । विजय बरालको दिदीको भूमिकामा देखिएकी उनी आफ्नो क्यारेक्टरमा यसरी डुबेकी छन्, जसरी इनारको पानीमा बाल्टी डुब्छ । केकीले आफ्नो नायिका छविबाट बाहिर निस्किएर सहजतापूर्वक आफूलाई ‘अभिनेत्री’ मा ढालेकी छन् । उनको करिअरमा एक यादगार चलचित्र यो पनि हुने छ ।

    गौरव पहरीले जादुगरको भूमिका निभाएका छन् । यो उनको लागि फरक र चुनौतीपूर्ण भूमिका थियो । पहरीले सक्दो प्रयास गरेका छन् । मिरुना मगरको भूमिका प्रभावशाली छ भने अभिनय ठिकठाक छ । भोलाराज सापकोटा औसत छन् । सुशांक मैनाली, रियर राई, कविता आलेलगायत अन्य कलाकारहरूले आफ्नो भूमिकामा न्याय गरेका छन् ।

    प्राविधिक पक्षहरूमा ठ्याक्कै औँला उठाउने ठाउँ छैन । पाश्र्वध्वनीलाई अझै कर्णप्रिय बनाउन सकिन्थ्यो । चलचित्रमा गीत–सङ्गीतलाई त्यति स्पेस दिइएको छैन । विजय बराल, गौरव पहारी, केकी अधिकारी र मिरुना मगरलाई फिचर्ड गरिएको ‘मसुरीको दाना’ बोलको गीत युट्युबमा मात्र छ, चलचित्रमा छैन । थानेश्वर गौतमले गाएको ‘आधा आधि सपना’ ले मात्र चलचित्रमा अ समावेश गरिएन ।

    चलचित्रमा एकाध कमीकमजोरी पनि छन् गरौँ । माथि पनि चर्चा गरियो सुरुवात अलि फितलो छ । दिदी भाइको केमेस्ट्रीलाई सुरुमा राम्रोसँग स्थापित गराइएन, जसले गर्दा पछि उनीहरूको भेट हुँदा दर्शक आवश्यक मात्रामा कनेक्ट हुँदैनन् । बाबु–छोराकै सम्बन्धलाई पनि बलियोसँग उनिएको छैन । भावुकतालाई आवश्यकताभन्दा बढी जोड दिइनु पनि कमजोरी नै हो ।

    अहिलेको जमानामा एउटा युवक शरीरमा जनै नभएकै कारण लामो समय नबोली बस्नु र ठूलै लफडामा पर्दा पनि मुख नखोल्नु पत्यारिलो लाग्दैन । यद्यपि, लेखकले यसलाई `जस्टिफाइ´ गर्ने भरपुर कोशिष गरेका छन् । एउटा मनोरञ्जनात्मक चलचित्रमा यत्तिसम्म अतिरञ्जना स्वीकार्न सकिन्छ । तर जनै लगाइसकेपछि पनि नबाेल्नुकाे चित्तबुझ्दो कारण दर्शकले पाउँदैनन् ।

    कथाको केन्द्रमा छ जनै । धार्मिक आस्था जोडिएको चिजलाई शीर्षकमै जोडेर चलचित्र बनाउनु संवेदनशील थियो । यस्तोमा थोरै पनि चुक गरेको खण्डमा कन्ट्रोभर्सी निम्तिनसक्ने जोखिम हुन्छ । यो चलचित्रले जनैलाई केवल कथा बुन्ने धागोका रूपमा प्रयोग गरेको छ । यसमा कुनै पनि स्पष्ट सन्देश बोकिएको छैन । चलचित्रमा लेखक–निर्देशकले जनैको न पक्षपोषण गरेका छन् न विरोध । त्यसैले कन्ट्रोभर्सीको खतरा रहेन ।

    चलचित्रले बाबुछोराको मात्र होइन, बाबु र छोरीको सम्बन्धलाई पनि मिठोसँग चित्रण गरेको छ । लामो समयदेखि टाढिएकी छोरी श्रीमानसहित अस्पतालमा बुवालाई भेट्न आएको दृश्य निकै मर्मस्पर्शी छ । त्यहाँ निर्देशकले पात्रहरूलाई रोनाधोना पनि गराउन सक्थे, तर गराएनन् । बाबुले छोरीलाई माफ गरिदिएको देखाउन कुनै संवाद र शारीरिक हाउभाउको प्रयोग गरिएको छैन, केवल छोरीले छोडेर गएको स्वेटर बुवाले लगाएको देखाएर प्रतिकात्मकरुपमा पेश गरिएको छ । यस्ता सन्दर्भ धेरै छन् ।

    समग्रमा जनै हराएको मान्छे सिङ्गो इन्डष्ट्रीले गर्व गर्न लायक एउटा मनमोहक चलचित्र हो । यत्तिको चलचित्रलाई दर्शकले प्रोत्साहन गर्नै पर्छ ।

     

  • कवि दोस्ताजको ‘यो पागल दुनियाँ’ को ट्रिजर सार्वजनिक (भिडियो)

    कवि दोस्ताजको ‘यो पागल दुनियाँ’ को ट्रिजर सार्वजनिक (भिडियो)

    काठमाडौं । कवि दोस्ताजको आधुनिक नेपाली गीत ‘यो पागल दुनियाँ’को ट्रिजर सार्वजनिक गरिएको छ । प्रसाईँ फिल्म्सको प्रस्तुतिमा बनेको उक्त गीतको ट्रिजर सोही यूट्यूब च्यानलमा सार्वजनिक गरिएको हो ।

    दोस्ताजको शब्दमा निर्माण भएको गीतमा स्वर रवि शर्माको रहेको छ । संगीतमा रवि शर्मा र दोस्ताज दुवैको संयुक्त योगदान छ भने म्युजिक प्रोड्युसर पुष्कर खत्री रहेका छन् । गीतको रेकर्डिङ रियाज प्रोडक्सनमा भएको हो । गीतलाई साजन शाहले मिक्स गरेका छन् ।

    गीतमा सञ्जय ढुङ्गाना र ईश्वरी बरालको मुख्य अभिनय रहेको छ । भिडियोलाई विकास प्रसाईँले निर्देशन गरेका हुन् । सम्पादन पनि उनले नै गरेका छन् भने कलरिङ कल्पेश विश्वकर्माले गरेका छन् ।

    कथाको कन्सेप्ट विकास प्रसाईँ र अदित्य ठकुरीले मिलेर तयार पारेका हुन् । भिडियोलाई छायांकन सुमन गहतराजले गरेका छन् ।

    गीतमा सह-निर्माताका रुपमा प्रविन आचार्य छन् भने निर्माता वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रासाई रहेका छन् ।

    भिडियोमा सहयोगी कलाकारका रूपमा कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनिल शर्माको पनि अभिनय देख्न सकिन्छ ।

    मार्मिक कथा बोकेको गीत सोही च्यानलमा यही भदौ १२ गते सार्वजनिक हुने बताइएको छ ।

    https://youtu.be/c3hsTspCoqQ

  • आशिष अविरलको स्वरमा झलकमानको कालजयी गीत ‘आमाले सोध्लिन्’ सार्वजनिक

    आशिष अविरलको स्वरमा झलकमानको कालजयी गीत ‘आमाले सोध्लिन्’ सार्वजनिक

    काठमाडौं । गायक तथा संगीतकार आशिष अविरलको स्वरमा अग्रज स्रष्टा झलकमान गन्दर्भको गीत ‘हे बरै आमाले सोध्लिन्’ सार्वजनिक भएको छ । यो गीतलाई अविरलको स्वरमा पुन: स्वरांकन गर्दै सार्वजनिक गरिएको हो । यो गीत प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोशेढुंगा’मा समावेश गरिएको छ ।

    परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसकेको अवस्थालाई चित्रण गरिएको यो मार्मिक गीतमा आफूले स्वर भर्न पाउँदा गौरान्वित महसुस भएको अविरलले बताए । उनले भने, ‘झलकमान गन्दर्भजस्तो सम्मानित र अग्रज स्रष्टाको गीतमा आफ्नो स्वर राख्न पाउँदा को खुसी हुँदैन होला र !’

    आशिषका अनुसार चलचित्रको निर्माण टिमले झलकमानको परिवारबाट अनुमति लिइसकेपछि कसलाई गाउन दिने भनेर सल्लाह गरेका थिए । त्यसबेला आफ्नो नाम फाइनल भएको भन्ने कुरा आफूले पछि थाहा पाएको उनले बताए ।

    गीतको रोयल्टी झलकमानको परिवारले समेत प्राप्त गर्ने गरी सम्झौता भएको आशिषले बताए । नेपाली लोक संगीतका लिजेन्ड झलकमानलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गरेर ‘कोशेढुंगा’मा राखिएको हो ।

    परदेश गएको परिवारको मुख्य सदस्यलाई अप्ठ्यारो परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई सम्बोधन गर्दै बिदा मागेको भावलाई गीतमा समेटिएको छ ।

    भिडियोमा फिल्मका कलाकार मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने चरित्र चित्रणमा छन् । ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेल निर्देशित आगामी चलचित्र ‘कोशेढुंगा’ १२ भदौमा प्रदर्शन तयारीमा छ ।

    चलचित्रमा कलाकार सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल लगायत कलाकारको अभिनय छ ।

  • लक्ष्मण रिजालको निर्देशनमा ‘काजी’ शुभमुहूर्त, भदौ ८ गतेबाट छायांकन

    लक्ष्मण रिजालको निर्देशनमा ‘काजी’ शुभमुहूर्त, भदौ ८ गतेबाट छायांकन

    काठमाडाैं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्तसँग छायांकनको लागि स्याङ्जा निस्केको छ ।

    भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् ।

    आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

    आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी सिनेमालाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् ।

    यो सिनेमा निर्माणमा आफुले यसअघिका सिनेमामा देखिएका कमकमजोरीलाई सच्याउँदै उत्कृष्ट बनाउने प्रयास रहने बताउँछन् । यो सिनेमाको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।

    सिनेमामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य कलाकार को-को रहेका छन् भन्ने विस्तारै सार्वजनिक गर्दै जाने जानकारी निर्माण टीमले दिएको छ । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई चिन्तनराज भण्डारीले खिच्दै छन् ।

    सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन् । यो सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।

     

  • ‘माइतीघर’को एउटै गीतमा ५० लाख रुपैयाँ खर्च ! निर्माता अधिकारी भन्छन्- खिच्नै ११ दिन लाग्यो

    ‘माइतीघर’को एउटै गीतमा ५० लाख रुपैयाँ खर्च ! निर्माता अधिकारी भन्छन्- खिच्नै ११ दिन लाग्यो

    काठमाडौं । नेपालमा कुनै पनि चलचित्रको एउटा गीतको भिडियो खिच्न बढीमा कति लाग्ला ? १० लाख, २० लाख वा तीस लाखसम्मको आँकलन गर्न सकिन्छ ! तर एउटै चलचित्रको गीतको भिडियो खिच्न ५० लाख लाग्यो भन्दा पत्याउन कि नपत्याउने ?

    सन्दर्भ हो, असोज १३ गते रिलिज हुन लागेको चलचित्र ‘माइतीघर’ को । यसका निर्माता रोहित अधिकारीले आफनो चलचित्रको एउटा गीत सुट गर्न ५० लाख खर्च भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन् ।

    ‘माइतीघर’ मा ‘पुरानो माइतीघर’ को कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ लाई नै रिमेक गरेर शीर्ष गीतको रुपमा समावेश गरिएको छ । गीत अर्को साता सार्वजनिक हुने भए तापनि निर्माणपक्षले भने केही समयअघि नै यो गीतमाथि एक प्रतिस्पर्धाको आह्वान गरिसकेको छ ।

    निर्माण टिमले उक्त प्रतिस्पर्धाको विजेतालाई पाँच लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । उक्त गीतमा डान्स गरेर ४० सेकेन्डदेखि दुई मिनेटसम्मको उत्कृष्ट भिडिओ बनाउनेले यो पुरस्कार पाउनेछन् ।

    चलचित्रमा समावेश यही शिर्ष गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको हो । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार यो एउटै गीत खिच्न ११ दिन लागेको थियो । ४ दिनको सेडयुल बनाएर गए पनि, मौसम र करिब डेढ सय जनाको जम्बो टिमको कारण गीतको छायांकन ७ दिन लम्बियो ।

    यो गीतको पहिलो दिनको छायांकन बाग्लुङमा गरिएको थियो । तर, कारणवश त्यहाँ खिचिएका कुनै पनि दृश्य गीतमा राखिएन । भिडियो सबै नयाँ शैलीमा नै खिच्ने सल्लाह भएपछि बाग्लुङमा खिचिएका दृश्यहरु हटाइएको उनी बताउँछन् ।

    एउटै गीतको भिडियो खिच्न किन यत्रो खर्च ? भन्ने प्रश्नको उत्तर दिँदै निर्माता अधिकारी भन्छन्, ‘भिडियोमा चलचित्रका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाबाहेक ६० जना कोरसलाई नचाइएको छ । मौसमका कारण एउटै दृश्य खिच्न दिनभरी कुर्नुपथ्र्यो । त्यहीँ भएर पनि लागत बढेको हो ।’

    अधिकतम २० लाखको बजेट तय गरेर गए पनि माहोल सोचेअनुरुप नभएपछि ५० लाख माथि खर्च भएको रोहित सुनाउँछन् ।

    ‘ऐतिहासिक गीत भएकाले पनि भिडियो मेकिङमा कुनै सम्झौता गर्न चाहेनौं । यो गीत बिग्य्रो भने बर्बाद हुन्छ भन्ने थियो,’ उनले जोडे, ‘त्यही भएर सक्दो न्याय दिन खोजेका छौं । गीतले हिमाल, पहाड, झरना, आदि जस्ता थुप्रै नेपालको प्राकृतिक सौन्दर्यको कुरा गरेको छ । ती सबै समेट्दा पनि समय लाग्यो ।’

    भारतीय गायिका सञ्जिवनीको स्वर रहेको यो गीतको भिडियोमा नाच्न अधिकारीले जम्बो कोरस टीम काठमाडौंबाटै लगेका हुन् । उनीहरुका लागि प्रतिदिन ५ लाख खर्च भएको उनको भनाइ छ । यति महँगो रकम खर्च गरेर एउटै भिडियो बनाएको आफूलाई अहिलेसम्म थाहा नभएको उनी बताउँछन् ।

    रोहित अधिकारी फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्रको बजेट पनि ठूलो छ । कलाकारमा बढी खर्च भएकाले झन्डै ५ करोड बजेट पुगेको अधिकारी सुनाउँछन् ।

    मिलन तामाङको निर्देशन रहेको यो चलचित्रमा कलाकारहरु केदार प्रसाद घिमिरे (माग्ने बुढा), प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दी तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको अभिनय छ ।

    चन्द्रकुमार दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको चलचित्रमा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र रविन शेरचन र धिरज तामाङको लगानी छ ।

  • आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

    आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

    काठमाडौं । आजदेखि चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदैछन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ ।

    एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’ मा ‘माग्ने बुढा’ को उपनामले चिनिनुभएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन् । आफूलाई नै हेरेर लेखेकले पात्र र चलचित्रको कथा तयार गरेको लागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताए ।

    उनले भने, ‘यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ ।’

    उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारले अभिनय गरेका छन् । मुनाल घिमिरेले निर्माण गर्नुभएको उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।

    आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र हो । दश दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रुपमा चिनिएका आशान्त शर्माले निर्देशन गरेको उक्त चलचित्रमा मृत्यु कल्पेर हिँडेको युवकले एक अधवैँसे महिला भेटेपछि उनको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ ।

    रङ्गमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गर्नुभएको जानकारी दिए । “नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनुभयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो’, शर्माले भने, ‘त्यसै कारण ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएको हुँ ।’

    रङ्गमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनी बताउँछन् । उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय गरेका छन् ।

    आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ अभिनेता विजय बरालका कारण चर्चामा छ । उनले यसअगाडि मुख्य भूमिका निर्वाह गरेको ‘पूर्णबहादुरको सारङ्गी’ ले पाएको सफलताका कारण यसपटक यो चलचित्र दर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित छ । चलचित्र अभिनेता बरालमै केन्द्रित छ । अभिनेता बरालले आफ्नो बुबाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताए ।

    हिमाल न्यौपानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

  • ‘चिठ्ठी’ निर्देशक खरेल भन्छन्- कथालाई दर्शकले मनपराएपछि स्टार कलाकार नभए नि हुन्छ

    ‘चिठ्ठी’ निर्देशक खरेल भन्छन्- कथालाई दर्शकले मनपराएपछि स्टार कलाकार नभए नि हुन्छ

    काठमाडाैं । चाडपर्व नजिकिएसँगै नेपाली चलचित्रहरु प्रदर्शनका लागि लाग्ने गरेका छन् । सँगसँगै ठूला बजेट र ठूला स्टारले भरिएका चलचित्रहरु जुध्ने गरेका छन् । कोही नराम्रोसँग पछारिने गरेका छन् त कोही सुपरहिट समेत हुने गरेका छन् । यो भदौ महिनामा मात्रै आठ चलचित्र प्रदर्शन हुँदैछन् ।

    भोलि मात्रै नाम चलेका कलाकार केदार घिमिरे र विजय बरालको चलचित्र ‘माग्ने बूढा’ र ‘जनै हराएको मान्छे’ भिड्दैछन् । अर्को साता नाजिर हुसेनको प्रतीक्षित चलचित्र ‘गुन्यु चोलो’ प्रदर्शन हुँदैछ भने यही भदौ २० गते माधवराज खरेल निर्देशित हरर कमेडी चलचित्र ‘चिठ्ठी’ प्रदर्शन हुँदैछ । यही मितिमा दयाहाङ राई स्टारर ‘रिमै’ प्रदर्शन हुँदैछ ।

    ठूला स्टार र ठूला बजेटको चलचित्रसँग भिड्न तम्तयार रहेको ‘चिठ्ठी’को निर्देशक खरेल भने आफ्नो चलचित्रलाई लिएर आफू ढुक्क भएको बताउँछन् । आफ्नो चलचित्रको कथा बलियो भएकाले र पछिल्लो समय स्टारभन्दा कन्टेन्ट राम्रो भएको चलचित्र दर्शकले रुचाइरहेकाले आफूलाई रत्तिभर डर नभएको खरेलको भनाइ छ ।

    ‘चलेका स्टार र ठूलो बजेटका आधारमा चलचित्र चल्छ भन्ने कुरामा म विश्वास गर्दिन । पहिलो कुरा त दर्शकले स्वीकार गर्नुपर्यो । दर्शकले स्वीकार गरेपछि सबै कुरा गौण हुन्छन्,’ खरेलले भने, ‘दर्शकले विषय र प्रस्तुतिलाई मनपराउनुभयो भने सक्कियो । कलाकारभन्दा पनि चलचित्रको कथा महत्वपूर्ण हुन्छ । त्यसैले हामीलाई कुनै भय छैन।’

    ‘चिठ्ठी’ सस्पेन्स थ्रिलरका तत्वहरु मिसिएको डार्क कमेडी फिल्म हो । चलचित्रमा खड्क बहादुर पुन ‘खबपु’, ‘छन्दे’ उपनामबाट परिचित गोपाल ढकाल लगायत कलाकारको अभिनय छ । आफ्नो चलचित्रमा लोकप्रिय कलाकारहरु भए पनि वितरकदेखि मिडियासम्मलाई कन्भिन्स गराउनु परेको दुखेसो खरेको छ ।

    उनले भने, ‘प्रदर्शनका लागि वितरकलाई कन्भिन्स गर्नुपर्यो । मिडियालाई समेत समाचारका लागि कन्भिन्स गराउनुपर्यो । यस्ता कन्भिन्सिङका पाटाहरु धेरै छन् । यी पाटाहरुले मलाई धेरै सिकाइरहेका पनि छन् ।’

    ‘चिठ्ठी’ यही भदौ २० गतेबाट प्रदर्शन हुँदैछ ।