काठमाडौं । मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–सिजन २ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
इन्ट्रा फाउन्डेसन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जनालाई विमानस्थलमा स्वागत गरिएको हो । पञ्चेबाजासहित उनीहरूलाई स्वागत गरिएको थियो ।
स्वागतपश्चात् त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्याइएको थियो ।
ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार प्रसारण भइरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।
अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लीला गजमेर, संगीता बोगटी छन् ।
यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सव्य विष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।
यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुवै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरूलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बानियाले जानकारी दिए ।
‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् ।
यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी, सञ्चिता लुइँटेल र नरमान राई छन् । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।
कार्यक्रममा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूलाई स्वागत गरेका थिए ।
काठमाडौं । १७ दिनमा १७ करोडभन्दा बढी कलेक्सन गर्दै रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ ले व्यापारको अभूतपूर्व कीर्तिमान कायम गरेको छ ।
छक्कापञ्जा ३ को लाइफटाइम कलेक्सनलाई उछिन्दै अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रका रूपमा कबड्डी ४ दरिएको हो ।
चलचित्रका वितरण गोविन्द शाहीले आइतबारसम्म चलचित्रले १७ करोड ६५ लाख ग्रस कलेक्सन गरिएको जानकारी दिए । सोमबारको रिपोर्ट भने प्राप्त भइसकेको छैन । चलचित्रमा अझै दर्शकहरूको चाप उच्च रहेको उनले बताए ।
‘दर्शकको यस्तो फ्लो आजका दिनसम्म कुनै पनि नेपाली चलचित्रमा देखिएको थिएन,’ शाहीले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म पनि अधिकांश हलहरूमा हाउस फुल चलिरहेको छ ।’
उनले गत शुक्रवार रिलिज भएका भारतीय चलचित्रहरूलाई पनि कबड्डी ४ ले विस्थापित गरिदिएको बताए । भारतीय सुपरस्टार अक्षय कुमारको चलचित्र ‘सम्राट पृथ्वीराज’ र दक्षिण भारतीय सुपरस्टार कमल हसनको फिल्म ‘विक्रम’ शुक्रवार विश्वव्यापी रिलिज भएका थिए । तर, नेपालका हलहरूमा कबड्डी ४ सँग टिक्न नसकेपछि यी दुवै चलचित्र सीमित शोमा खुम्चिएका छन् ।
‘विदेशी महँगो बजेटका विदेशी चलचित्रले नेपाली चलचित्रलाई धेरै पटक हलबाट विस्थापित गरे, तर अहिले ठिक उल्टो दृश्य देखिएको छ,’ शाही भन्छन्, ‘कबड्डीले भारतीय चलचित्रहरूलाई हलबाट विस्थापित गरिरहेको छ ।’
रिलिज भएको दिनदेखि नै कबड्डी ४ ले कीर्तिमानी व्यापार गर्दै आएको छ । पहिलो शनिवार फिल्मले तीन करोडभन्दा माथिको व्यापार गरेको थियो । दोस्रो शनिवार पनि दर्शकहरू कबड्डी ४ हेर्न हलमा ओइरिए । शाहीका अनुसार दोस्रो शनिवार अढाई करोड कलेक्सन भएको छ । आइतबार र सोमबार ८० लाखको हाराहारी व्यापार गरिरहेको उनले बताए ।
फिल्मको लाइफटाइम कलेक्सन ३० करोडसम्म पुग्न सक्ने अनुमान निर्माण पक्षले गरेको छ । यो चलचित्र ३ करोडको लागतमा बनेको हो । दोस्रो हप्तासम्म करिब १८ करोड कलेक्सन हुँदा निर्माताले ९ करोड रुपैयाँ कमाइसकेका छन् ।
यस चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । अस्ट्रेलिया, अमेरिका, युरोपदेखि जापानसम्म कबड्डी ४ ले व्यापारको नयाँ रेकर्ड कायम गर्ने देखिन्छ ।
बेइजिङ । चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ जहिल्यै जुनको मध्यमा हुने गर्दथ्यो । तर यसपटक भने कोरोना महामारीका कारण फेस्टिभल स्थगित भएको छ ।
महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ । आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् । आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा मागेको छ ।
‘यदि कोरोनाबाट केही राहत मिल्यो र सर्तअनुसार सञ्चालनका लागि अनुमति मिल्यो भने दोस्रो ६ महिनामा प्रासंगिक फिल्म समारोह र थिम वाला कार्यक्रमहरुको योजना बनाइनेछ । त्यसैअनुसार फेस्टिभलको आयोजना गरिनेछ’, आयोजकले विज्ञप्तिमार्फत भनेको छ ।
जनवरी २०२० को अन्त्यदेखि जुलाई २०२१ सम्म चीनमा कोरोना महामारीको दर उच्च थियो । यही बेला लकडाउन लागू गर्दै सबै फिल्म हल बन्द गरिएका थिए ।
कोरोना संक्रमण विस्तारै घटदै गएपछि सबै खुला गरिएको थियो । तर कोरोनाका डेल्टा भेरियन्ट आएपछि पुनः चीनमा लकडाउनको अवस्था आयो । यद्यपि १ जून २०२२ मा संघाई पुनः खोल्न अनुमति दिए पनि अहिले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नयाँ नियम लागू गरिएको छ ।
काठमाडौं । ८ वर्षअगाडि कुनै ठूलो चर्चा र तामझामविना रिलिज भएको थियो चलचित्र ‘कबड्डी’ । हलहरूमा स्लो स्टार्ट गरेको यो चलचित्रले विस्तारै पिकअप लियो । अन्ततः ‘हिट’ मा दरियो ।
ब्लकबस्टर फिल्म ‘लुट’ का निर्देशक निश्चल बस्नेतले निर्माण गरेको चलचित्र भनेर कबड्डीको प्रमोसन गरिएको थियो । यद्यपि ‘लुट’ को तुलनामा कैयौं गुणा उत्कृष्ट थियो कबड्डी । एकदमै अर्गानिक स्वादमा बनेको यो चलचित्र वास्तवमा एउटा ‘मास्टरपिस’ हो । मौलिक विषयवस्तु, मन छुने दृश्यहरू, झर्रा संवाद, कलाकारहरूको जीवन्त अभिनयको बलमा कबड्डी लामो समय दर्शकको मनमस्तिष्कमा बस्न सफल भयो ।
दयाहाङ राईलाई नेपाली चलचित्रमा बलियोसँग स्थापित गराएको यही चलचित्रले हो । यो चलचित्रपछि उनी मोस्ट डिमान्डेड बने । दाेस्राे चलचित्रबाटै रामबाबु गुरुङले आफूलाई अब्बल निर्देशकको कोटीमा उभ्याए । उनको लेखन र निर्देशकीय प्रतिभाको चौतर्फी तारिफ भयो । विषयवस्तु मौलिक छ भने सानो बजेटमा पनि उत्कृष्ट र मनोरञ्जनात्मक चलचित्र निर्माण हुन सक्छ भन्ने गुरुङले प्रमाणित गरिदिए ।
कबड्डी ४ मा गज्जबको केही छ भने त्यो हो- ‘केशरी’ गीत । एसडी योगीले एउटा कालजयी सिर्जना दिएका छन् । जुन रोमान्टिक संगीतको आकाशमा अनन्तकालसम्म गुञ्जिइरहने छ । चलचित्रमा दर्शक तानिनुको एउटा कारण केशरी पनि हुन सक्छ ।
कबड्डीबाट पाएको प्रशंसा र सफलतालाई क्यास गर्न गुरुङले एक वर्षपछि ल्याए कबड्डी कबड्डी । ‘कबड्डी’ मा काजीको बिहे हेर्न नपाएर धीत नमरेका दर्शक गुटुङटुङ हलमा ओइरिए । चलचित्रले पहिलेभन्दा ठूलो व्यवसायिक सफलता कमायो । ‘कबड्डी’ कै स्तरमा नभए पनि कबड्डी-२ हेर्नलायक चलचित्र नै थियो ।
तेस्रो सिक्वेलका रूपमा आयो ‘कबड्डी कबड्डी कबड्डी’ । यो चलचित्रलाई पनि दर्शकले उत्तिकै साथ दिए । र, चौथो तथा अन्तिम सिक्वेल ‘कबड्डी-४’ यतिबेला हलहरूमा हाउसफुलका साथ चलिरहको छ । नेपाली चलचित्रका सबै रेकर्डहरू तोड्ने बाटोमा रहेको चलचित्रले पैसा छापिरहेको छ भन्दा फरक पर्दैन । यो चलचित्रले पाएको व्यवसायिक सफलताले धेरै फिल्म निर्माताहरूलाई उत्साही तुल्याएको हुनुपर्छ ।
तर, यदि ‘कन्टेन्ट’ मा जाने हो भने चाहिँ ‘कबड्डी-४’ किन यस्तरी चल्यो भनेर उदेक लाग्छ । तुलना नै गर्ने हो भने ‘कबड्डी’ को घुँडा-घुँडा पनि आउँदैन ‘कबड्डी ४’ । चलचित्र सुरूदेखि अन्त्यसम्म निरश छ, बोरिङ छ । चलचित्रका दृश्यले दर्शकलाई न पेट मिचिमिची हँसाउन सक्छन्, न भावुक बनाउन, न कौतुहल जगाउन । कलाकारहरूको भूमिका र अभिनयमा अघिल्ला तीन सिक्वेलको भन्दा नयाँपन केही पाइँदैन ।
दयाहाङको अभिनय पूरै ‘स्टेरियोटाइप’ छ । सौगात मल्लले केही फरक गर्ने कोसिस गरे पनि त्यो पर्याप्त छैन । खासमा दयाहाङ र सौगातले आफ्नो अभिनयको गहिराइ देखाउने ठाउँ नै पाएका छैनन् । नायिका मिरुना मगरको अभिनय फितलो छ । विजय बराल र बुद्धि तामाङ पनि पुरानै ढर्रामा बगेका छन् ।
कथावस्तुमा एउटै फरकपना भेटिन्छ, अघिल्ला सिक्वेलमा काजी सोल्टिनीको पछि लाग्थ्यो, यसमा सोल्टिनी काजीको पछि लागेकी छन् । चलचित्रको क्लाइमेक्स बच्चाले पनि पूर्वानुमान गर्न सक्ने खालको छ । चलचित्रमा पात्रहरूले एक-अर्कालाई लखेटेका दृश्यहरू बारम्बार दोहोरिन्छन्, तर तिनले कुनै रोमाञ्च पैदा गर्दैनन् ।
मुख्य कुरा स्क्रिप्ट नै कमजोर छ । कथा बेस्वादको छ । पटकथामा अनेकाैं त्रुटि छन् । संवाद पनि पहिलेजस्तो टेसिलो छैन । समग्रमा चलचित्रभित्र मनोरञ्जनको सर्वथा कमी छ । धेरै दृश्यहरूमा दर्शक बोर हुन्छन् । अब हँसाउला वा अब रुवाउला भन्दाभन्दै चलचित्र नै सकिन्छ ।
स्थापित ब्रान्ड, स्टार पावर र ‘केशरी’ गीतका कारण ‘कबड्डी ४’ ले सुरूवातमा आक्रामक व्यापार गर्नु अपेक्षित नै थियो । तर, दुई सातासम्म पनि चलचित्रलाई दर्शकले बलियो साथ दिइरहेका छन् । देशभित्र मात्र नभएर बाहिर पनि चलचित्रले राम्रो आर्जन गरिरहेको छ । प्रश्न उठ्छ, आखिर चलचित्रमा दर्शकले रुचाएको चाहिँ के हो ?
विदेशी चलचित्रको ट्रेन्ड हेर्ने हो भने पनि धेरै दृष्टान्तहरू भेटिन्छन्, जहाँ झूरभन्दा झूर चलचित्रले पनि स्टार पावर र ब्रान्डमा टेकेर बम्पर व्यापार गरेका छन् । भारतमा अक्षयकुमार, सलमान खान, साहरूख खानहरूका पछिल्ला चलचित्रहरू हेर्ने हो भने अधिकांश गतिला छैनन् । तर, उनीहरूका चलचित्रले रेकर्डमाथि रेकर्ड बनाएको पाइन्छ । विषयवस्तु र सिर्जनशीलतामा अत्यन्तै कमजोर दक्षिण भारतीय चलचित्रहरूले पनि मेकिङको बलमा विश्वव्यापी रूपमै दर्शक उरालिरहेका छन् ।
नेपालमा पनि स्टार पावर र ब्रान्डले चलचित्र चल्ने ट्रेन्ड भित्रिएको पाइन्छ । पछिल्लो समयमा जति पनि चलचित्र हिट भएका छन्, अधिकांश सिक्वेल नै छन् । छक्का पञ्जा, नाई नभन्नु ल, ए मेरो हजुर, म यस्तो गीत गाउँछु, प्रेमगीत, जात्राजस्ता सिक्वेल फिल्महरूले मनग्गे पैसा कमाए । तर, बाँकी चलचित्रलाई दर्शकको खडेरी लागेको छ ।
दयाहाङको अभिनय पूरै ‘स्टेरियोटाइप’ छ । सौगात मल्लले केही फरक गर्ने कोसिस गरे पनि त्यो पर्याप्त छैन । खासमा दयाहाङ र सौगातले आफ्नो अभिनयको गहिराइ देखाउने ठाउँ नै पाएका छैनन् । नायिका मिरुना मगरको अभिनय फितलो छ । विजय बराल र बुद्धि तामाङ पनि पुरानै ढर्रामा बगेका छन् ।
कबड्डीमा फर्किउँ । कबड्डीदेखि कबड्डी ४ सम्म आइपुग्दा केही बदलिएको छ भने त्यो नायिका अर्थात् सोल्टीनी मात्रै हो । अन्यथा विषयवस्तु र प्रस्तुतिमा कुनै नवीनता पाइँदैन । दर्शकले रुचाइरहेकै छन् भनेर निर्देशकले सिक्वेलमा कुनै नयाँ प्रयोग गर्न चाहेनन् ।
कबड्डी ४ मा गज्जबको केही छ भने त्यो हो- ‘केशरी’ गीत । एसडी योगीले एउटा कालजयी सिर्जना दिएका छन् । जुन रोमान्टिक संगीतको आकाशमा अनन्तकालसम्म गुञ्जिइरहने छ । चलचित्रमा दर्शक तानिनुको एउटा कारण केशरी पनि हुन सक्छ । यसबाहेक चलचित्रभित्र कुनै पनि तारिफयोग्य चिज यो पंक्तिकारले चाहिँ फेला पार्न सकेन ।
तर, कुनै पनि फिल्ममेरका लागि दर्शक नै सबैथोक हुन् । दर्शकले रुचाएपछि सकियो । दर्शकको रोजाइको कुनै पूर्वानुमान र विश्लेषण गर्न नसकिने रहेछ । कबड्डीको हकमा पनि दर्शकले के रुचाएर हलमा ओइरिएका हुन् भन्ने निर्क्याेल गर्न कठिन भएको छ ।
मुख्य कुरा स्क्रिप्ट नै कमजोर छ । कथा बेस्वादको छ । पटकथामा अनेकन त्रुटि छन् । संवाद पनि पहिलेजस्तो टेसिलो छैन । समग्रमा चलचित्रभित्र मनोरञ्जनको सर्वथा कमी छ । धेरै दृश्यहरूमा दर्शक बोर हुन्छन् । अब हँसाउला वा अब रुवाउला भन्दाभन्दै चलचित्र नै सकिन्छ ।
जे भए पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्नु सुखद समाचार हो । भारतीय र दक्षिण भारतीय चलचित्रमा दर्शक लहसिएर नेपाली चलचित्र नै संकटमा देखिएको बेला कबड्डीको व्यापारले सकारात्मक संकेत गरेको छ । मल्टिप्लेक्समा पनि नेपाली चलचित्रमा दर्शक प्रशस्त छन् भन्ने सन्देश दिएको छ । अबका दिनमा दर्शकको यो पंतिलाई निराश नतुल्याउन निर्माता-निर्देशकले पनि आफ्नो मेहनत बढाउनुपर्ने देखिन्छ । सिक्वेलले मात्रै सधैँ चलचित्र उद्योग धान्न सक्दैन ।
‘कबड्डी’ देखि ‘कबड्डी ४’ सम्म आइपुग्दा सायद निर्देशक आफै मोनोटोनस भएर यसलाई ‘फाइनल म्याच’ को संज्ञा दिएका छन् । अर्थात् यो सिक्वेल अब बन्द भएको छ । कबड्डी ४ हेरिसकेपछि निर्देशकको यो निर्णयमा दु:खमनाउ गर्नुपर्ने देखिन्न । आशा गरौं आगामी चलचित्रमा गुरुङले आफ्नो सिर्जनशीलता ब्युँताएर फेरि एउटा नयाँ स्वादको उत्खनन् गर्नेछन् ।
काठमाडौं । पत्रकार रिना मोक्तानले ५ वर्षअघि आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति हाल चलचित्र पत्रकार संघको नेतृत्वमा रहेको आरोप लगाएपछि संघले छानबिन समिति बनाएको छ । आज बसेको संघको बैठकले समिति गठन गरेको हो ।
संघका अध्यक्ष दिनेश सिटौलाद्वारा जारी विज्ञप्तिअनुसार समितिको संयोजकमा कार्यसमिति सदस्य सुरक्षा भट्टराई छिन् ।
यसै गरी, सदस्यहरूमा श्रृष्टी पोखरेल, गोपीकृष्ण चापागाईँ, अञ्जना दाहाल र आशिष् ओली रहेका छन् ।
संघ आफ्ना सदस्यहरू तथा जोकोहीमाथि हुने सबै प्रकारका दुर्व्यवहार तथा हिंसाको विरुद्धमा सदैव दृढतापूर्वक उभिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
कान्तिपुरमा आबद्ध पत्रकार मोक्तानले आफूमाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति निर्णायक मण्डलमा रहेको भन्दै चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार बहिष्कार गर्ने बताएकी छन् ।
काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिने भनेको पुरस्कार बहिष्कार गर्ने घोषणा गरेकी छन् । उक्त पुरस्कारको आयोजक कमिटीका एक पदाधिकारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले पुरस्कार नलिने बताएकी हुन् ।
सामाजिक सञ्जालमा रिनाले लेखेअनुसार उनीमाथि पाँच वर्षअघि यौन दुव्यवहार भएको थियो । उनलाई दुर्व्यवहार गर्ने व्यक्ति अहिले घोषित ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ को आयोजक र निर्णायकमण्डल सदस्यसमेत रहेको उनको भनाइ छ ।
‘मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु,’ रिनाले लेखेकी छन् ।
उक्त संस्थाका अन्य पदाधिकारीको साथ-सहयोग पहिलो पनि रहेको र अब पनि सहकार्य हुने उनको भनाइ छ ।
उनी थप्छिन्, ‘महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर, आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्टाटस लेखेको हुँ ।’
चलचित्र पत्रकार संघले तीन वर्षदेखि थाती रहेको पुरस्कार तथा सम्मानबारे गत वैशाखमा निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिने निर्णय त्यसबेला नै भएको हो । उक्त पुरस्कार गत ७ जेठमा नै वितरण गर्ने कार्यक्रम थियो ।
तर, चुनावका कारण कार्यक्रम स्थगित भएको छ । पुरस्कार अब कहिले वितरण हुन्छ भन्ने टुंगो नलागिसकेको अवस्थामा रिनाले बहिष्कार घोषणा गरेकी हुन् ।
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को दक्षिण भारतीय कलाकारहरू जोडिँदै छन् ।
गजनीका खलनायक प्रदीप रावतपछि पुष्पाका खलनायक सुनिल बर्माको पनि यस चलचित्रमा इन्ट्री भएको छ । स्रोतकाअनुसार अझै केही नामहरू खुलासा हुन बाँकी छन् ।
त्यसो त नीताले आफ्नो चलचित्रमा बलिउडकै एक चर्चित अभिनेत्रीलाई पनि भित्र्याउने प्रयास गरेकी थिइन् । उनको यो प्रयास भने सफल भएन । ती अभिनेत्री हुन् जुही चावला ।
कुनै जमानाकी चर्चित नायिका जुहीको अहिले बलिउडमा खासै डिमान्ड छैन । तर, उनले नेपाली चलचित्रबाट अफर आउँदा भने चर्को डिमान्ड राखिन् ।
हिरोकी आमाको भूमिकामा अभिनयको प्रस्ताव गर्दा उनले झण्डै १ करोड मागेको स्रोतले बतायो ।
धान्नै नसक्ने डिमान्डपछि नीता हच्किएकी छन् । चलचित्रमा हिरोकी आमाको भूमिका शक्तिशाली भएकाले यसमा चर्चित अभिनेत्रीलाई नै खेलाउने उनको चाहना छ । अब सम्भवतः उनले नेपालकै अघिल्लो पुस्ताकी कुनै नायिकालाई अनुबन्धित गर्नेछिन् ।
ह्रस्व दीर्घ अहिलेसम्मकै महँगो बजेटमा बन्न लागेको नेपाली चलचित्र हो । यो चलचित्रको निर्माण लागत झण्डै १० करोड पुग्ने बताइएको छ ।
भारतीय कलाकारहरूलाई खेलाएर उनले आफ्नो चलचित्र भारतमा समेत प्रदर्शन गर्ने योजना बुनेकी छन् । यसमा कति सफल हुन्छिन् त्यो चाहिँ भविष्यले बताउने छ । यदि सफल भइन् भने नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणका लागि नयाँ ढोका खुल्न सक्छ ।
चलचित्रको निर्देशन चन्द्र पन्तले गर्दै छन् । चलचित्रमा नीता र उनका रियल जोडी हरिहर अधिकारीको मुख्य भूमिका रहने छ ।
गत वर्ष गायक एकदेव लिम्बूले एक गीत ल्याए, ‘शिरफूल २’ । गीत युट्युबमा सार्वजनिक भएपछि लिम्बूलाई चर्चित भारतीय र्यापर बादशाहले इन्स्टाग्राममा डिएम गरे, ‘यो लभ शिरफूल–२ । ह्वाट अ स्टिक भाइव’ ।
अचानक बादशाहको म्यासेज आउँदा लिम्बू अचम्मित भए । उनले साथीहरुलाई बादशाहको म्यासेजबारे बताए । लगत्तै फेसबुक पेज रुटिन अफ नेपाल बन्दले लेख्यो, ‘चर्चित भारतीय र्यापर बादशाहले नेपाली गीत शिरफूल २ लाई एप्रिसियट गरेका छन् । साथै गायक एकदेव लिम्बूलाई इन्स्टाग्राममा डिएम गरेका छन् ।’
अन्तर्राष्ट्रिय कलाकारले नेपाली प्रतिभालाई रिकग्नाइज गर्नु खुसीको कुरा भनेर लेखेको छ । साथै सम्भव भएसम्म लिम्बूसँग सहकार्य गर्ने पनि बताएको छ । गायक लिम्बू एकदम कम गीत गाउने गायकमा पर्छन् । बढीमा वर्षमा तीन-चारवटा गीत ल्याउँछन् । तर, उनका प्रायः गीतले दर्शक-स्रोताको मन जितिरहेकै हुन्छ । ‘तिम्रो मुटुमा’ ‘आँखामा आउने सपनी’, ‘शिरफूल’ लगायत गीतले करोडौं भ्युज पाएका छन्, युट्युबमा ।
लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमैमात्र आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।
‘सिउँदो’ गीतबाट चर्चामा आएका लिम्बूका समकालीन गायकगायिका प्रायःजसो व्यस्त हुन्छन् । एउटा गीत चल्नासाथ उनीहरुलाई गीत रेकर्ड गराउन भ्याइनभ्याइ हुन्छ । दिनमै आधा दर्जन गीतहरु रेकर्ड गराइरहेका हुन्छन् ।
भनिन्छ, यस क्षेत्रमा चल्ने अथवा चम्कने भनेको एकपटक हो । चम्किएकै समयमा आफूलाई बेच्न सक्नुपर्छ । कमाउने बेला पनि चलेकै बेला हो । त्यसैले पनि एकपटक चलिसकेपछि गायकगायिका लगातार गीतहरु गाइरहेका हुन्छन् । ‘आफैले कुन गीत गाएँ’ भन्ने थाहा नपाउने गरी गाइरहेका हुन्छन् । एकदेव लिम्बूको सवालमा भने यो फर्मुलाले काम गरिरहेको छैन ।
उनी भन्छन्, ‘हाम्रो क्षेत्रमा दुई खालका कलाकार छन् । एक खालकाले अरुको कम्पोज र शब्दमा गाउनुहुन्छ । तर, हामी भने सकेसम्म आफ्नै कम्पोज, शब्दमा आफ्नै युट्युब च्यानलका लागि निकाल्ने कोसिस गर्छौं । त्यही भएर पनि गीतहरु कम गाइँदोरहेछ ।’
लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमै मात्रामा आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।
लिम्बू थप्छन्, ‘मैले पनि चाहेको भए अरुले जसरी गाउन सक्थेँ होला । तर, मलाई थोरै गीत आओस् भन्ने नै लाग्छ । सकेसम्म आफ्नै च्यानलमा काम गरौं भन्ने लाग्छ । थोरै चिज सुन्न पनि मज्जा आउँछ । त्यही भएर थोरै चिज निकाल्छु, राम्रो निकाल्छु भन्ने हो ।’
अब चाँडै नै लिम्बू अस्ट्रेलिया टुरमा जाँदैछन् । नेपालमा पनि कन्सर्टहरु गरिरहेका छन् । तर, पैसा छापिहाल्न र छिट्टै पाखा लागिहाल्ने सोच छैन लिम्बूको । विस्तारै समयको गतिअनुसार नै अगाडि बढ्ने उनी बताउँछन् । भन्छन्, ‘पैसा सबैलाई चाहिन्छ । तर, चलेकै बेला सबै खाउँ, काम गरिहालौं, सबै भ्याउँ भन्ने लाग्दैन । उसो त म त्यस्तो चलिसकेको पनि छैन । भर्खरै त करियर सुरु गरेको छु ।’
लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।
लिम्बू सुनाउँछन्, ‘मेरो गीत पनि केही समय सुन्नुहुनेछ दर्शक-स्रोताले । अलि पछि नयाँ पुस्ता आउनेछ, नयाँ टेस्ट आउनेछ । त्यहीअनुसारका नयाँ गीत आउनेछन् । त्यसका लागि तयार भएर बस्नुपर्छ ।’
आफू भोलिका दिनमा आइपर्ने हरेक अफ्ठ्यारालाई स्वीकार्न तयार भइसकेको बताउँछन् । उनको भनाइ छ, ‘भोलिका दिनमा आउने खराब समय पनि स्वीकार्छु । त्यो देखिआएकै हो । भोगिसकिएको पनि हो । जतिबेलासम्म मलाई अडियन्सले सुन्नुहुनेछ, त्यतिबेलासम्म काम गरिरहन्छु । तर, मौका आएको बेला धेरै पैसा छापौं भन्ने चाहिँ लाग्दैन ।’
लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।
लिम्बूलाई गीत ल्याउनै धेरै समय लाग्छ । एक वर्षमा चारवटा गीतलाई पनि धेरै मान्छन् उनी । शब्द, कम्पोज, भिडियोदेखि सम्पादनसम्म खटिनुपर्ने भएकाले पनि समय लागेको उनको भनाइ छ ।
लिम्बुको सांगितिक यात्राको एउटा बिन्दु थिए, गायक यशकुमार । उनैले ‘सिउँदो’ गीत लिम्बूलाई गाउन दिएका थिए । लिम्बू स्वयं पनि आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण मान्छे मान्छन् यशकुमारलाई ।
लिम्बूलाई गीत संगीतको दुनियाँमा आइपुग्ने वातावरण घरमै बनेको थियो । उनका बुवा पनि अलअलि गाउँथे । अलि पछि लिम्बूका बहिनी तथा गायिका सुनिता थोगिम गीत रेकर्ड गराउन काठमाडौं आएकी थिइन् । त्यसपछि आफूलाई पनि गीत रेकर्ड गराउने रहर पलाएको उनी बताउँछन् ।
त्यसपछि काठमाडौं छिरेका लिम्बूले पुतलीसडक र अनामनगरमा कति जुत्ता घिसारे, यकिन हिसाब छैन । कति कम्पोजरले गीत देला कि भन्ने आशमा हिँडे, त्यसको पनि हिसाब छैन । अहिले त पुतलीसडक-अनामनगरतिर खासै हिँड्दैनन् पनि ।
अहिले लिम्बूका साथीहरुको आफ्नै स्टुडियो छ । त्यही गीतहरु रेकर्ड गराउँछन् । तर, सिनेमामा भने अहिलेसम्म गाउन पाएका छैनन् । भन्छन्, ‘सिनेमामा गाउन राम्रो लिंक हुनुपर्छ भन्ने सुनेको छु । म त आफ्नै टीम र सर्कलमा हराइरहेको हुन्छु । वर्षमा तीन-चारवटा गीत ल्याइरहेको छु । यसैले पुग्दो छ मलाई ।’
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ ।
सलमानका बुवा बिहान जगिङमा जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।
यो चिठीमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला गरिदिने’ उल्लेख भएको बताइएको छ । पन्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको गत साता पन्जाबको मान्सा गाउँमा दिनदहाडै हत्या भएको थियो । उनीमाथि २५–३० गोली प्रहार भएको थियो ।
प्रहरीले एफआइआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ ।
बिहान साढे सात देखि ८ को बीचमा उक्त पत्र सलीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
समाचारहरूमा जनाइएअनुसार सलिमका बडीगार्डले सुरुमा सो पत्र देखेर सलिमलाई दिएका थिए ।
मुसेवालाको हत्यापछि सरकारले सलमानको सुरक्षा बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रहरीले त्यसको खण्डन गरेको छ ।
काठमाडौं । संसदीय चुनावको मिति घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर सुरु भएको छ । पछिल्लोपटक गायक सञ्जय श्रेष्ठले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
कुनै समयमा चर्चित पप गायका श्रेष्ठ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताएका छन् ।
श्रेष्ठले लेखेका छन्, ‘मेरो पार्टीले मलाइ टिकट दिए पनि नदिए पनि मैले आउँदो मङ्सिरताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरे। अब बाँकि तपाइँहरुको साथ र विश्वास ।’
गायक श्रेष्ठले २०७० सालको दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालको तर्फ काठमाडौं- ६ मै प्रतिस्पर्धा गरेका थिए । तर, उल्लेख्य मत ल्याउन सकेनन् । त्यसपछि राजनीतिमा निस्क्रिय बनेका उनी गत मंसिरमा राप्रपा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएका थिए ।
‘माया मेरी माया…’ बोलका गीतबाट कुनै समय तहल्का पिटेका पपगायक श्रेष्ठ पछिल्लो समय भने संगीतमा सक्रिय छैनन् ।
काठमाडौं । ब्लकबष्टर दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मालाई नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित गरिएको छ । यस चलचित्रमा आवद्ध हुने उनी दोस्रो हाइ प्रोफाइल दक्षिण भारतीय अभिनेता हुन् ।
हाइ बजेटमा बन्न लागेको फिल्ममा नीताले यसअघि ‘गजनी’ चलचित्रका खलनायक प्रदिप रावतलाई अनुवन्धित गरिसकेकी छन् ।
सुनील बर्मा पनि जोडिएपछि चलचित्रको स्टारकास्ट दमदार देखिएको छ । सुनीललाई केही दिन अगाडि नै निर्देशक चन्द्र पन्तले विशेष भूमिकाका लागि साइन गराएको बुझिएको छ ।
काठमाडौं । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् ।
नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता साँधिरहेका छन् ।
स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् । यसअघि नायिकाद्वय केकी अधिकारी र वर्षा शिवकोटीभन्दा फरक नीता–हरिहरको विवाह भने तामझामपूर्ण हुने छ । चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको स्रोतले बतायो ।
नीता हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावत पनि सहभागी हुने तय भएको छ । भारतको सुपरहिट चलचित्र ‘गजनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएका यी कलाकार नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा अनुबन्धित छन् ।
विवाहको विषयमा हरिहरलाई नेपाल प्रेसले प्रश्न गर्दा उनले खुल्न चाहेनन् । अहिलेसम्म विवाहको टुंगो नलागेको उनले दाबी गरे ।
‘हामी छलफलमै छौँ, टुंगो लागेपछि भनौँला नि’ अधिकारीले भने ।
नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । नीताको भनाइ अनुसार उनका भाइ र हरिहर साथी थिए । भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच हाई हेल्लो भएको थियो । नीताको जन्मदिनमा आयोजित पार्टीमा हरिहर सहभागी भएपछि उनीहरूको सम्बन्ध प्रगाढ बन्न थालेको थियो ।
नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् । उनले ७ वर्षकै उमेरमा बालकलाकार भएर अभिनय गरेकी थिइन् । हरिहर भने चलचित्रमा आएको धेरै भएको छैन । ज्योतिष पेसामा रमाइरहेका उनले केही चलचित्रमा नायक भएर अभिनय गरेका छन् । तर चलचित्रमा उनलाई खासै सफलता मिलेको छैन ।
काठमाडौं । कोलम्बियन पपस्टार शाकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेले सम्बन्ध विच्छेद गरेका छन् ।
दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग हुन लागेको जानकारी दिएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा दुःख लागेको छ । हाम्रो प्राथमिकता भनेको हाम्रा बालबच्चा हुन् र हामी उनीहरूको गोपनीयताको सम्मान गर्छौ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरू सम्बन्धमा रहेको ११ वर्षपछि छुट्टिन लागेका हुन्। सन् २०११ देखि उनीहरू सम्बन्धमा थिए । ४५ वर्षीया शकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् ।
सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु केहीअघि मात्र यी दुईबीच भेट भएको थियो ।
विश्वकपमा शाकिराले ‘वाका वाका’ गीतको भिडिओ छायांकन गर्ने क्रममा उनीहरू नजिकिएका थिए ।
जेरार्ड पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन्।
रुपन्देही । चिकित्सा सेवामा रहेकी बुटवलकी डा. दिलाशा डोटेल मिस नेपाल– २०२२ को फाइनलमा भिड्ने भएकी छन् ।
उनले बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलबाट एसईई र प्लस टु गरेको कलेजका सहायक प्राचार्य गोपाल आचार्यले बताए । उनी चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण गरी सोही कलेजमा कार्यरत छन् । डा. डोटेलसहित २४ जना युवती यो प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
दिलाशा अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेसनलको चाइल्ड कोर्डिनेटर र ओरल हेल्थ नेपालको भाइस प्रेसिडेनटको रुपमा समेत सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
डा. दिलाशाले खल्ती डटकम एपमार्फत आफूलाई धेरैभन्दा धेरै भोट दिएर मिस नेपाल २०२२ को फाइनलमा जिताउन अपिल गरेकी छन् । ४ असारमा प्रतियोगिताको फाइनल हुंदैछ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो ।
चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्ने छन् ।
‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।
काठमाडौं । अभिनेता मनिष राउतले फिल्म ‘शमशेर’बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । फिल्मको मुख्य भुमिकामा अभिनय समेत उनले गर्दैछन् । यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन् ।
ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेब्यु गर्न लागेका अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडि बढाउने सोचमा रहेका छन् । हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन ।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । सिनेमामा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने सिनेमामा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।
सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।
काठमाडौं । बलात्कार आरोपी पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ ।
‘हाम्रो टिम नेपाल’ ले आह्वानमा माइतीघरमा विराेध प्रदर्शन गरिएको हाे ।
आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गरेका छन् ।
उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
भोलिको प्रदर्शनमा भने नायिका पूजा शर्मा लगायतका सेलिब्रेटीहरु सहभागी हुने तयारी छ ।
पललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो ।
पीडित भनिएकी नाबालिगले आफ्नो बयान बदलेपछि पलले छुट्कारा पाउनेमा आशावादी उनका समर्थकहरू उच्च अदालतको उक्त निर्णयले निराश बनेका छन् । यो निर्णय त्रुटिपूर्ण रहेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
काठमाडौं । एम्बर हर्ड र जोनी डिपको मुद्दामा अदालतबाट दोषी ठहर भएकी एम्बरले जरिवाना बापतको १ करोड ५० लाख डलर तिर्न नसक्ने बताएकी छन् ।
उनका वकिलले एक अन्तरवार्तामा ऐलेनले एम्बर जोनीलाई फैसला तिर्न सक्षम नभएको बताइन् ।
वकिल ऐलेन ब्रेडहफ्टले भनेकी छन्, ‘अदालतमा एम्बरलाई नराम्रो बनाइयो। यस अदालतमा धेरै कुराहरूलाई अनुमति दिइएको थियो जुन गर्नु हुँदैनथ्यो, र यसले निर्णायकलाई अलमलमा पार्यो। हामीले उनीहरूलाई अदालतमा जान भन्यौँ। हामीले उनीहरूलाई बेलायतको निर्णयबारे बताउन अनुमति दिएको थिएन। जब यो निर्णय बेलायतमा आयो, यसलाई २ नोभेम्बर २०२० मा रोकियो ।
२०२० बेलायतको मुद्दाको बारेमा कुरा गर्दै एम्बरको वकिलले भनिन्, त्यहाँको अदालतले डेपलाई कम्तीमा १२ घरेलु हिंसाको आरोप लगाउनु पर्ने थियो जसमा एम्बरविरुद्धको यौन हिंसा पनि हो, तर यो कुरा न्यायधीशलाई बताउन अनुमति दिइएको थिएन । यसबाट डेपको टोलीले के सिक्यो ? अदालतमा एम्बरलाई गलत प्रमाणित गर्न प्रमाणहरू लुकाउने । हामीसँग धेरै प्रमाणहरू थिए जुन यस मुद्दामा दबाइएका छन्, जब उनीहरू बेलायतको केसमा थिए। जब बेलायतमा मुद्दाको फैसला आएको थियो मुद्दा एम्बरले जितेकी थिइन् ।’
हर्डले डेपविरुद्ध आफू घरेलु हिंसामा परेको, आफूलाई शारीरिक तथा मानसिक यातना दिएको र सार्वजनिक स्थानमा समेत दुर्व्यवहार गरेको लगायतका आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । डिपले भने सुरुदेखि नै हर्डको आरोपलाई अस्वीकार गर्दै आएका थिए ।
६ हप्तादेखि चलिरहेको बहस र बयानपश्चात् अदालतले जोनी डिपलाई निर्दोष ठहर गर्दै एम्बर हर्डलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्ने आदेश दिएको थियो ।
अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि डिपले सम्पूर्ण न्यायाधीश र शुभचिन्तकहरूलाई धन्यवाद प्रकट गर्दै उक्त निर्णयले आफ्नो जीवन फर्किएको बताएका छन् । यता एम्बरले भने अदालतको निर्णयले आफू स्तब्ध र निःशब्द भएको जनाएकी छिन् ।
हर्ड र डेपले २०१५ मा विवाह गरेका थिए । मे २०१६ मा, हर्डले डेपविरुद्ध घरेलु हिंसाको आरोप दायर गरेकी थिइन् । दम्पतीले २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए ।
काठमाडौं । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले पनि सदर गरेपछि जबर्जस्ती करणीका आरोपी अभिनेता पल शाहले अब फैसला कुर्ने भएका छन् ।
जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहे पनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताए ।
‘सर्वोच्च अदालत जाँदा त्यहाँ धेरै समय लाग्ने देखियो । फेरी सर्वोच्चमा हालेपछि जिल्लाको फैसला पनि अड्किन्छ । त्यसैले हामी फैसलामै केन्द्रित हुने तयारीमा छौँ,’ कानून व्यवसायी वाग्लेले भने ।
एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकामा त्यहाँको अदालतले पनि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । दुवै अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि शाह छुट्न सक्नेमा उनका कानून व्यवसायीहरू आशावादी देखिएका थिए ।
उच्च अदालत पोखराका न्यायाधीशहरू उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतले नै टेकेका आधारहरूलाई टेक्दै आदेश सदर भएको जनाएको छ । अदालतमा पीडित भनिएकी युवती र जाहेरवालाले बयानलाई इजलासले बेवास्ता गर्दै त्यसलाई फैसलाकै क्रममा हेरिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।
वाग्लेकाअनुसार अदालतमा प्रमाण बुझ्ने कामअन्तर्गत पूर्वी नवलपरासी अदालतमा एक जना चिकित्सक र एक जना मौकामा कागज गर्ने व्यक्तिको मात्र बकपत्र हुन बाँकी छ । त्यसका लागि जेठ ३१ गते पेशी तोकिएको छ । यस्तै तनहुँ जिल्ला अदालतमा एक जना डाक्टर र मौकामा कागज गर्ने १४ जनाको बकपत्र हुन बाँकी छ । बकपत्रका लागि जेठ २३ गतेलाई पेशी तोकिएको छ ।
‘बकपत्रको काम सकिएपछि फैसलाका लागि सबै अंग पुग्छ । हामीले बढीमा असारभित्र फैसला आउने अपेक्षा गरेका छौँ,’ वाग्लेले भने ।
उनले तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतमा छुट्टाछुट्टै सुनुवाइ हुने बताए । दुवै घटनामा सरकारी वकिलले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरेका छन् ।