Category: कलाप्रेस

  • रोएर फिल्म चलाएको आरोपपछि पूजा शर्मा झण्डै रोइन् !

    रोएर फिल्म चलाएको आरोपपछि पूजा शर्मा झण्डै रोइन् !

    काठमाडौं । पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा जति सफल छिन् त्यति नै विवादित पनि । उनलाई सामान्य ज्ञान नभएकोदेखि हलमा रोएर फिल्म हिट बनाएकोसम्म आरोप लागेका छन् ।

    उनै पूजा अभिनीत पछिल्लो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक गर्ने कार्यक्रम थियो आज । कार्यक्रममा हरियो ड्रेसमा चन्द्रमाझैँ धपक्कै बलेर आइपुगेकी थिइन् पूजा ।

    गाडीबाट झरेदेखि नै उनलाई पत्रकारहरूले घेरिहाले । रिलिज हुन तयार भए पनि कहिलेदेखि हलमा लगाउने भन्ने कुरामा अलमलमा परेको यो टिमले अन्ततः भदौ १७ गतेदेखि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर लाग्ने सूचना पनि यसै कार्यक्रममार्फत दिए ।

    यस चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम टोपडेनको मुख्य भूमिका रहेको छ । तर, आकाश भने कार्यक्रममा आएनन् । पछिल्लो समय आकाश र पूजाको चिसो सम्बन्धका कारण उनी नआउनु अपेक्षित नै थियो ।

    अब लागौँ आजको मुख्य सन्दर्भमा। पूजाको गीत हेरिसकेपछि सबैले उनको अभिनयको तारिफ गरिदिए । तारिफ सुन्दा पूजाको अनुहार झनै उज्यालियो । तर, उज्यालो अनुहारमा ग्रहण त्यतिखेर लाग्यो जब उनकै निकटका पत्रकारले नै पूजालाई ‘रुन्चे हिरोइन’ र ‘कन्ट्रोभर्सी क्विन’को ट्याग दिए ।

    पत्रकारको प्रश्न सुनेपछि पूजाको अनुहारमा एक्कासि कालो बादल छायो । अर्की पत्रकारले आकाशसँग जोडेर प्रश्न सोधेपछि त उनी झन् निःशब्द नै भइन् । आकाशको प्रश्नमा पूजाले मुखसम्म खोलिनन्।

    पूजा र पत्रकार बिचको सवाल जवाफ–

    पत्रकार– तपाई फिल्मलाई चर्चामा र हाइपमा ल्याउन रोनाधोना र कन्ट्रोभर्सी गर्नुहुन्छ । ‘सम्हालिन्छ कहिले मन’ को लागि चाहिँ के छ योजना ?

    पूजा शर्मा– ‘कन्ट्रोभर्सीले फिल्म चल्ने भए यत्रो मेकिङ किन गर्नु ? यत्रो दुःख किन गर्नु ? जहाँ सुटिङ गरे पनि हुन्छ, जस्तो झुर गीत बनाए पनि हुन्छ, म कन्ट्रोभर्सी गरिहाल्छु र पत्रकारहरूले विवाद बनाइदिइहाल्नुहुन्छ भने भइहाल्यो नि । मेहनत गर्नुपर्छ र मेहनत सँगसँगै त्यसलाई कसरी मार्केटमा लाने भन्ने हो । कन्ट्रोभर्सी त तपाईँहरूले बनाइदिने हो । म पूजा शर्मा हो । पूजा शर्मा अरू पूजा शर्मा हुँदैन । मेरो बोली मलाई ठिक लाग्छ भने अरूलाई नलाग्न सक्छ । त्यहीँ भएर म केही कुरालाई कन्ट्रोभर्सीको हिसाबले हेर्दिनँ । म आफूमा सच्चा छु र मलाई यो चिज मन पर्छ भने म गर्छु ।

    पूजाको उत्तर सकिन नपाउँदै सोही चलचित्रका निर्देशक सुदर्शन थापाले उनको बचाऊ गर्दै आफ्नो तर्क राखे ।

    सुदर्शन थापा– ‘कन्ट्रोभर्सी र रोएर चलाउने भनेर ‘म यस्तो गीत गाउँछु २’ को कुरा गर्नुभएको होला । त्यस्तो कति पत्रकार साथीलाई लाग्यो होला, कलाकारहरूलाई लाग्यो होला, नायिकाहरूलाई पनि लाग्यो होला । तर त्यतिखेरको माहोल नै अर्कै थियो । त्यति बेला हामीबाहेक अरू कलाकारहरू र पत्रकार साथीहरूको आँखामा पनि आँसु थियो । पूजा त्यतिकै रोएको थिएनन् होला । साँच्चीकै फिलिङ्सबाट रोएको थियो होला । रोएरै फिल्म चल्छ भने त एक–दुई वटा फिल्म अरूले पनि रोएर चलाएर हेरे हुन्छ ।’

    रिसले चुर पूजाले त्यसैमा थपिन्, ‘आजैदेखि सुरु गरे हुन्छ ।’

  • प्रि-पोण्ड भयो ‘झिँगेदाउ’

    प्रि-पोण्ड भयो ‘झिँगेदाउ’

    काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ’को २ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

    यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब भदौ १७ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । निर्माता देउजाले सिनेमाको रिलिज दुई हप्ता अगाडी प्रि-पोण्ड भएको बताए ।

    कोरोना महामारी अगाडी नै अधिकांश छायांकन सकिएको सिनेमाको केही दिन अगाडी मात्रै एक गीतको छायांकन गरिएको थियो ।

    पोस्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको सिनेमाको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ ।

    राम्रो सिनेमा बनेकाले पनि सिनेमा रिलिजका लागि उपयुक्त रिलिज मिति भदौ १७ नै लागेकाले वितरकको आग्रहमा रिलिज प्रिपोण्ड गरिएको निर्देशक देउजाले जानकारी गराए ।

    सिनेमामा केकी अधिकारी मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भुमिका निवार्ह गरेका छन् । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ ।

    प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमाका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।

  • प्रकाश सुवेदीलाई अन्तर्वार्ता नदिने भनेकी स्वस्तिमा सुवेदीको नयाँ कार्यक्रममा पहिलो गेस्ट !

    प्रकाश सुवेदीलाई अन्तर्वार्ता नदिने भनेकी स्वस्तिमा सुवेदीको नयाँ कार्यक्रममा पहिलो गेस्ट !

    काठमाडौं । नेपालका चलचित्रकर्मीहरु कहिले कोसित नजिक हुन्छन् र कोसित टाढा हुन्छन् पत्तो नै हुँदैन । आज पानी बाराबार भएकाहरु भोलि गाला जोडेर हिँडिरहेको देखिन्छ । आज एक–अर्काको प्रशंसा गरेर नथाक्नेहरु भोलि एकअर्कालाई सत्तोसराप गरिरहेका भेटिन्छन् ।

    नयाँ सन्दर्भ चाहिँ नायिका स्वस्तिमा खड्काको हो । दुई वर्षअघि मात्रै उनी चर्चित रंग पत्रकार प्रकाश सुवेदीसँग नराम्ररी चिढिएकी थिइन् । लकडाउनका बेला स्वस्तिमा आफ्नो श्रीमान निश्चल बस्नेतलाई बुईमा बोकेर हिँडेको भिडियो टिकटकमा आएको थियो । उक्त भिडियोमाथि व्यंग्य गर्दै आफ्नो टीभी कार्यक्रममा सुवेदीले भनेका थिए, ‘नेपाली हिरोइनहरुको काम छैन, बुढो बोक्यो हिँड्यो ।’

    सुवेदीको उक्त टिप्पणी भाइरल भयो । यसबाट स्वस्तिमा र निश्चल आहत भए । उनीहरुले सामाजिक सञ्जालबाट नै जवाफ फर्काए ।
    स्वस्तिमाले लेखेकी थिइन्, ‘बरु बुढा बोकेर हिँडिन्छ । तर, जति फोन गरे पनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न  ! फाेन नउठाएर सारै रिसाउनुभएकाे रहेछ । सरी ल ।’

    निश्चलले पनि साेही भावकाे स्टाटस लेखेका थिए, ‘बरु बुढा बोकेर हिँडिन्छ । तर, जति फोन गरे पनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न ल ! भन्छे मेरी बुढी त ।’

    त्यसयता स्वस्तिमा र निश्चलको सुवेदीसँग पानी बाराबारकै जस्तो अवस्था थियो । सुवेदीको कार्यक्रममा स्वस्तिमा अन्तर्वार्ता दिन गइनन् पनि । तर, गत महिनाबाट उनीहरुको सम्बन्धमा ट्वीस्ट आयो, जब सुवेदीले पुरानो तिक्तता भुल्दै स्वस्तिमा दम्पतीलाई नै आफ्नी छोरीको विवाह पार्टीमा निम्तो गरे । स्वस्तिमा र निश्चलले पनि यसलाई सहज रुपमा लिएर सुवेदीको निम्तो स्वीकारे ।

    पार्टीमा उनीहरुबीच हल्का घोचपेच नभएको होइन । तर, त्यसबाट उनीहरुबीचको पुरानो तुष चाहिँ मेटियो । त्यसैको नतिजा हुनुपर्छ, स्वस्तिमा सुवेदीको नयाँ कार्यक्रममा अतिथि बन्न राजी भइन् ।

    प्रकाश सुवेदीले आफ्नै नामबाट सुरु गरेको नयाँ टेलिभिजन कार्यक्रममा स्वस्तिमा पहिलो अतिथिका रुपमा सहभागी भएकी हुन् । स्वस्तिमालाई आफू अभिनित चलचित्र ‘चिसो मान्छे’ को प्रमोसन पनि गर्नु थियो । उक्त अन्तर्वार्तामा पुरानो सन्दर्भमा पनि उनीहरुले खुलेर कुराकानी गरेका थिए ।

    स्वस्तिमाले सुवेदीसँग आफू रिसाउनुको कारण खोल्दै भनिन्, ‘मलाई तपाईंको कमेन्टसँग रिस उठेको होइन । तपाईंले मलाई अन्तर्वार्ताका लागि फोन गर्नुभएको थियो । तर, म विशेष कारणले आउन पाएको थिइनँ । त्यसको लगत्तै तपाईंले त्यस्तो कमेन्ट गरेकाले मेरो चित्त दुखेको हो ।’

    सुवेदीले चाहिँ आफूले राम्रै ढंगले उक्त कमेन्ट गरेको जिकिर गरे । पहिले व्यस्त हुने कलाकार अहिले यस्तो फुर्सदिला भएका छन् भनेर जनाउन आफूले त्यस्तो कमेन्ट गरेको उनको प्रस्टीकरण थियो । सुवेदीले आफ्नो पुरानो कार्यक्रममा अन्तर्वार्ता दिन नआएको भन्दै स्वस्तिमाको फेस सेभिङ गरिदिए ।

    जे होस्, हालकी नम्बर वान नायिका र कहलिएका सञ्चारकर्मीबीच ‘प्याच अप’ भएको छ । आखिर सञ्चार जगत र कलाकारिताबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । रंग पत्रकारका लागि कलाकार र कलाकारका लागि रंग पत्रकार अपरिहार्य नै हुन्छ । यसर्थ स्थायी वैरभाव नराखेकै राम्रो ।

  • ‘सम्हालिन्छ कहिले मन’ को जरुरी कुरा सार्वजनिक

    ‘सम्हालिन्छ कहिले मन’ को जरुरी कुरा सार्वजनिक

    काठमाडौं । कहिले प्रेमचर्चा त कहिले ब्रेकअपको चर्चाले नेपाली सिने जगतको माहोल तताइराख्ने पूजा-आकाश जोडीको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को एउटा गीत आज सार्वजनिक भएको छ ।

    ओएसआर डिजिटलबाट सार्वजनिक भएको यो चलचित्रको ‘जरुरी कुरा छ’ बोलको गीतमा अन्जु पन्त र सुरेश लामाले स्वर दिएका छन भने शब्द सुरेश वाग्ले र संगीत अर्जुन पोखरेलको रहेको छ । विदेशी भूमिका दृश्य र प्रेमभाव झल्किने उक्त गीतमा पूजा शर्मा र सोनम थोप्डेनको अभिनय छ ।

    भदौ बाट रिलिज हुन लागेको यो चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठसँगसँगै सोनम थोप्देनलाई पनि मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

  • मिरुना प्रकरणको साइडइफेक्ट: बडीगार्डसहित हलमा स्वस्तिमा

    मिरुना प्रकरणको साइडइफेक्ट: बडीगार्डसहित हलमा स्वस्तिमा

    काठमाडाैं । केही समय अगाडि ‘कबड्डी ४’ को हल भिजिट हुँदा अभिनेत्री मिरुना मगरमाथि फ्यानबाट भएको दुर्व्यवहारले नेपाली सिने जगतमा एक किसिमको भूइचालो आएको थियो । ‘कबड्डी ४’को विषयमा दर्शकको प्रतिक्रिया बुझ्न सिभिल मलमा पुगेकी नायिका मिरुना मगरले आफूलाई अनुचित तरिकाले ‘ब्याड टच’ गरेकाे भन्दै फुर्वा तामाङलाई सबैको अगाडि थप्पड हानेकी थिइन् ।

    मिरुनाको उजुरीपछि प्रहरीले मुगुका फुर्वालाई पक्राउ गरी हिरासतमा समेत लिएको थियो । फुर्वाका समर्थकहरुले उनलाई तत्काल रिहा गर्नुपर्ने, चलचित्रको प्रदर्शन रोक्नुपर्ने, मिरुनाले माफी माग्नुपर्ने माग राख्दै फुर्वा रिहा नभएसम्म र मिरुनाले माफी नमागेसम्म विरोध गर्ने घोषणा गरेका थिए ।

    मिरुना र फुर्वा प्रकरणले आजबाट देशभर लागेको चलचित्र ‘चिसो मान्छे’ को टिमलाई सतर्कता अप्नाउन प्रेरित गरेको छ । फिल्मको हल ‘भिजिट’मा वान सिनेमाज् र बिग मुभिजमा बिहानै पुगेकी स्वस्तिमाको दायाँबायाँ दुई बडीगार्ड पनि सँगसँगै देखिएका छन् । मिरुना प्रकरणले झस्क्याएको हो ? भन्ने प्रश्नमा चलचित्रकी निर्माता शर्मिला पाण्डे भन्छिन, ‘हिजो के भयो, त्यो हामीलाई थाहा छैन। कलाकार लिएर हिँडेपछि दर्शकहरुले फोटो खिच्न खोज्नुहुन्छ। त्यसैले तलमाथि केही नहोस् भनेर हो ।’

    त्यहीँ प्रश्नमा स्वस्तिमा भन्छिन, ‘अहिले मलाई केही नभएसम्म फिल नहोला । मलाई अहिलेसम्म त्यस्तो केही भएको पनि छैन । तर, भोलि केही नहोला भन्न सकिँदैन । हजार जनाको भीडमा एकजना नराम्रो व्यक्ति निस्किन पनि सक्नुहुन्छ । त्यसैले केही हुनुअघि नै सतर्कता अपनाउनु ठीक हो । जुन सुरक्षाको सुरुवात हाम्रो टिमले गर्नुभएको छ । त्यसको म कदर गर्छु । र, यस्तो व्यवस्था हुनु पनि पर्छ ।’

  • ‘राधा प्यारी’मा प्रिन्ससँग रोमान्टिक गरिमा (भिडिओ)

    ‘राधा प्यारी’मा प्रिन्ससँग रोमान्टिक गरिमा (भिडिओ)

    काठमाडौं । गायक सुरेन चन्द ठकुरी र गायिका प्रतिमा केसीको स्वरमा रहेको ‘राधा प्यारी’को म्यूजिक भिडिओ सार्वजनिक भएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

    किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडिओमा मोडल गरिमा शर्माको अभिनय रहेकोछ भने गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।

    भिडिओमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग गज्जबले खुलेकी छिन् ।

    एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने भिडिओमा कोरियोग्राफी पनि निर्देशक स्वयमकै रहेको छ ।

    प्रकाश खड्काको छायांकन रहेको भिडिओको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् । इनाक्छी इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडिओ र अडिओको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

  • ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

    ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

    काठमाडौं । नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आएकाे  छ ।

    कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खड्काको अभिनय हेर्न सकिन्छ ।

    सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

  • पत्रकार रिनाले सार्वजनिक गरिन् ६ वर्ष अघि भएको यौन दुव्र्यवहारको वृत्तान्त

    पत्रकार रिनाले सार्वजनिक गरिन् ६ वर्ष अघि भएको यौन दुव्र्यवहारको वृत्तान्त

    काठमाडौं । कान्तिपुरकी पत्रकार रिना मोक्तानले आफूमाथि चलचित्र पत्रकार संघका एक पदाधिकारीले गरेको ‘यौन दुव्र्यवहार’ सार्वजनिक गरेकी छिन् । केही दिन अघि उनले यौन दुव्र्यवहार गर्ने व्यक्ति नै जुरीमा रहेको भन्दै आफूलाई संघले दिने भनेको पुरस्कार बहिष्कारको घोषणा गरेकी थिइन् ।

    रिनाले कान्तिपुरमा लेख लेख्दै आफूमाथि भएको घटनाको वृतान्त बताएकी हुन् । उनका अनुसार घटना २०७३ साल फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव भएको रातको हो । आफू भर्खरै चलचित्र पत्रकारितामा आएका बेला ‘पिडक’सँग सोही चुनावका क्रममा नजिकिएको उनले बताएकी छन् । ‘पिडक’ उक्त चुनावबाट संघको सचिवमा निर्विरोध निर्वाचित भएको खुलासासमेत उनले गरेकी छन् ।

    राति मतगणनाका क्रममा अबेला भएपछि आफूले विश्वास गरेको दाईसँग घर जाने भनेर हिँडेको तर उनले होटलमा लगेर दुव्र्यवहार गरेको रिनाको आरोप छ ।

    उनले लेखेको घटना विवरण यस्तो छः
    २०७३, फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव थियो । भर्खरै रेडियोबाट युट्युबतिर लागेको थिएँ म । फिल्म क्षेत्रको रिपोर्टिङमा एकदमै नयाँस त्यसमाथि चुनाव पनि नयाँ । चुनावी माहोलमा घुलमिल हुन त्यतिबेला साथी आशीष ओली र एक जना पत्रकार दाइ (पीडक)ले गाइड गरिरहेका थिए । हामीले समर्थन गरेका व्यक्ति एकै थिए, त्यसैले पनि ती दाइ हामीसँग चुनावको समयदेखि नजिकिएका थिए । त्यस दिन उनी पनि सचिवमा निर्विरोध चुनिए ।

    ‘चुनावको नतिजा सुनेरै घर फर्कनू । बरु ढिला भए घर पुर्‍याइदिऊँला‚’ उनले यति भनेपछि, म मतपरिणाम कुरेर बसें । चुनाव सकिँदा रातको साढे ९ बजिसकेको थियो । उनले घर पुर्‍याइदिन्छु भन्दै स्कुटर निकाले । सँगैका आशिषले ढुक्कले मलाई बिदाइ गरे । स्कुटर बानेश्वरको अर्याल होटलबाट भक्तपुरतर्फ गुड्यो ।
    कोटेश्वरमा पुगेपछि, उनले‚ ‘तिम्रो घर त टाढा रहेछ । स्कुटरको पेट्रोल सकिन लाग्यो । तिमी मेरो घरमा बस्नू, भाउजू सँगै भइहाल्नुहुन्छ‚’ भने ।

    उनको गर्लफ्रेन्डलाई हामी त्यतिबेला भाउजु भन्थ्यौं । निकै राति भइसकेको थियो । मैले पनि भाउजूुसँग बस्नु ठीक ठानें । ट्याक्सी चढेर घर जान्छु भनेको थिएँ तर उनले मलाई बारम्बार भाउजुको नाम लिएर कन्भिन्स गर्न खोजे, अरु विकल्प पनि थिएन । स्कुटर फर्काएर बानेश्वर हुँदै अनामनगरतर्फ मोडियो । अनामनगर पुग्दै गर्दा उनले मलाई ‘अबेर भइसकेकाले परिवार सबै सुतिसकेको हुन सक्ने र ढोका बन्द हुने बताउँदै हनुमानस्थान नजिकैको एउटा होटलमा पुर्‍याइदिएर आफू घर फर्किने बताए । अर्काको घर गइरहनुभन्दा होटलमै बस्नु सजिलो लाग्योस मैले ‘हस्’ भने । हनुमानस्थानको होटलमा कोठा नपाएपछि उनले मलाई पुतलीसडकको एउटा होटलमा लगे ।

    उनले चोकैपिच्छे कुरा बनाउँदै हिँडेकाले मनमा शंका नउब्जिएको पनि होइन तर, दाइ ठानेकाले पनि सुरक्षित ठाउँमै छाडिदेलान् भन्ने विश्वास भने थियो । उनले मलाई ‘रत्नराज्यलक्ष्मी क्याम्पस’ को पछाडिपट्टिको ‘कान्तिपुर होटल’ लगे । त्यसपछि उनले रिसेप्सनमा गएर दुईवटा चाउचाउ र पानी किनिदिए । रजिस्ट्रेसनमा आफ्नो नाम पनि टिपाएजस्तो लाग्छ । त्यसपछि म ढुक्क भएँ सुरक्षित महसुस गरें । तर‚ त्यसपछि होटल सञ्चालकसँग चाबी मागेर उनी सरासर ‘बहिनीको रुम कस्तो छ म हेरेर जान्छु’ भनेर उक्लन थाले । अनि मन चिसो भयो ।

    एकछिन अघिको सुरक्षाभाव क्षणभरमै अत्यासमा बदलियो । कोठामा प्रवेश गरेपछि एकछिन आराम गरेर ‘फर्कन्छु’ भन्दै उनी पलङमा पल्टिएपछि मन आत्तिन थाल्यो । मैले अवस्थालाई सामान्य बनाउन अनुहारमा डर झल्कन दिइनँ । अर्को पलङमा बसेर चाउचाउ खाने कोसिस गरें तर, घाँटी अड्किरहेको थियो । उनी पलङको भित्तामा अडेस लागेर ढल्किए । दिमागमा अनेकथरि कुरा खेल्न थाल्यो म एकोहोरिएछु ।

    ‘बहिनी मेरो छेउमा बसेर चाउचाउ खाऊ’ भन्दा पो झल्याँस्स भएँ । दिमागले केही सोच्नै सकिरहेको थिएन । ‘दाइसँग डराको ?’ भन्न थालेपछि म छेउमा गएर चाउचाउ खान थालें । म निकै आँत्तिएकी थिएँ । त्यतिकैमा उनले मेरो कम्मर समाए । ‘दाइ मलाई यस्तो मन पर्दैन,’ डरले काँप्दै भनेँ ।
    ‘केही गर्दिनँ’ भन्दै फेरि कम्मरमा हात लगे मैले हात झट्कारिदिएँ । रुन थालें त्यसपछि उनी अलिकति डराए । म जोडले रुन खोज्थें तर आवाज भित्रै दबिन्थ्यो ।

    त्यसपछि म अर्को पलङमा बसेर रुन थालें शरीर लगलग काँपिरह्यो । आफूले दाइ मानेको व्यक्तिले यस्तो गर्लान् भनेर एक प्रतिशत पनि लागेको थिएन । उनलाई विश्वास गरेर होटलसम्म पुगेकोमा आफैंलाई दोषी ठानिरहेँ पछुताइरहें रोइरहें । आमाको याद आयो, साथी आशिषलाई सम्झें । फोन गरुँ फोनमा चार्ज थिएन । रुनबाहेक गर्न केही सकिनँ । त्यतिन्जेलमा उनी निदाए ।

    त्यतिबेलै भाग्ने सोचेको पनि हो तर, ढोकाको आवाजले ब्युँझिएर जबरजस्ती नै गर्ने हो कि भन्ने लाग्यो । मलाई कतिखेर उज्यालो होला भन्ने भइरह्यो । त्यतिबेला १२ देखि १ बजेको हुँदो हो । मध्यरातसम्म रोएरै बसें । बिहान ३ देखि ४ बजेपछि मानिसको चहलपल बढेसँगै विक्षिप्त मानसिकतामै घर पुगें । त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मुटु काँप्छ ।

  • ३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

    ३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घन्टा सोघपुछ गरेको थियो । सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ ।

    ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ । कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ ।

    निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

  • करणवीर बोहराविरुद्ध दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर

    करणवीर बोहराविरुद्ध दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर

    काठमाडौं । करणवीर बोहरा टिभी उद्योगका एक प्रमुख अनुहार हुन् । उनी कसौटी जिन्दगी के, नागिन, बिग बोस, किचेन च्याम्पियन र अन्य धेरै रियालिटी शोहरूको हिस्सा भइसकेका छन्।

    पछिल्लो समय उनी कंगना रनौतको शो ‘लक अप’ को हिस्सा बनेपछि हेडलाइन्समा आए। शो जित्न नसके पनि विभिन्न कारणले उनी चर्चामा आइरहे। अहिले फेरि उनी नयाँ मसालामा मुछिएका छन् ।

    रिपोर्टका अनुसार करणवीर बोहरा र केही अन्य विरुद्ध ४० वर्षीया महिलालाई १ करोड ९९ लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

    समाचार एजेन्सी एएनआईद्वारा गरिएको ट्विट अनुसार, ‘२.५ प्रतिशत ब्याजमा फिर्ता गर्ने वाचा गरेर ४० वर्षीया महिलालाई १.९९ करोड रुपैयाँ ठगी गरेको आरोपमा अभिनेता मनोज बोहरा उर्फ ​​करणवीर बोहरा सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।’

    अहिलेसम्म एक करोड रकम मात्रै फिर्ता भएको र जब आफूले पैसा माग्यो तब करणवीर र उनकी श्रीमतीले सही जवाफ नदिएको उक्त महिलाले दाबी गरेकी छिन।

  • बाबरीको गीत सार्वजनिक

    बाबरीको गीत सार्वजनिक

    काठमाडौं । सिनेमा ‘बाबरी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रङ्ग’ बोलको गीतमा अभिनेत्री अदिति बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।

    सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिएकी छन् ।

    गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए ।

    गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिति बुढाथोकीले बताइन् ।

    सिनेमा मुख्य अभिनेता धिरजले पनि सिनेमाको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

    सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशिला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् ।

    सुष्मा गुरुङ सह निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाईँ र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

    सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् ।

    सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

    नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

  • इन्दिरा र शरदको तीन वर्षे प्रेम यात्रा विवाहमा परिणत

    इन्दिरा र शरदको तीन वर्षे प्रेम यात्रा विवाहमा परिणत

    काठमाडाैं । चर्चित गायिका इन्दिरा जोशी र प्रेमी शरद केडियाको विवाह समारोह सम्पन्न भएको छ । करिब तीन वर्षको लामो प्रेम यात्रालाई इन्दिरा र शरदले आज विवाहमा परिणत गरेका हुन् ।

    विवाह सम्पन्न भए लगत्तै इन्दिराले आफ्नो सामाजिक सञ्जालमा आफूहरू आजदेखि आधिकारिक रूपमा पति र पत्नी भएको भन्दै दुवैको तस्बिर सार्वजनिक गरेकी छिन।

    चितवनको बाराही जंगल लजमा समापन भएको उक्त विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त सहित सीमित व्यक्तित्वहरू मात्र उपस्थित थिए।

    शरद पेसाले फेसन डिजाइनर हुन । शरदले डिजाइन गरेका ड्रेसहरू इन्दिराले थुप्रै कार्यक्रमहरूमा लगाएकी छिन्। गत वर्ष फेसन डिजाइनर शरद केडिया र गायिका इन्दिरा जोशी हेलिकप्टरबाट खुम्बु पुगेका थिए।

    खुम्बु पुगेपछि शरदले इन्दिरालाई त्यहीँ नै विवाह प्रस्ताव राखेका थिए। इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।

    उनीहरू चढेर गएका हेलिकप्टरको क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो सार्वजनिक गरेका थिए।

    खुम्बु पुगेपछि इन्दिरा जोशीको इन्गेजमेन्टको भिडियो त्यति बेला सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो।

  • रिया चक्रवर्ती भन्छिन्, ‘म तिमीलाई हरेक दिन मिस गर्छु सुशान्त’

    रिया चक्रवर्ती भन्छिन्, ‘म तिमीलाई हरेक दिन मिस गर्छु सुशान्त’

    काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज दोस्रो पुण्य तिथि । १४ जुन २०२० मा निधन भएका राजपूतको पुण्य तिथिमा उनका फ्यान र नजिकका साथीहरूले सामाजिक सञ्जालमार्फत सम्झेका छन्।

    यसै क्रममा सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीले पनि सम्झना स्वरूप आफूहरूले बिताएका पलका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा साझा गरेकी छिन ।

    चक्रवर्तीले तस्बिर सेयर गर्दै भनेकी छन्, ‘म तिमीलाई हरेक दिन मिस गर्छु।’

    उदाउँदो ताराका रूपमा चिनिएका राजपूत मुम्बईको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। मृत्यु हुनु अघिसम्म रिया र सुशान्त एक अर्कालाई डेट गरिरहेका थिए।

    उनको मृत्युको केही दिनपछि सुशान्तका बुबा केके सिंहले रियालाई आत्महत्या गर्न दुरुत्साहन गरेको र मनी लन्ड्रिङ गरेको आरोप लगाउँदै एफआईआर समेत दायर गरेका थिए।

    सम्पत्ति शुद्धीकरण र लागूऔषध कारोबारको अभियोगमा अनुसन्धान गरिरहेको प्रवर्तन निर्देशनालय र लागूऔषध नियन्त्रण ब्युरोसँगको मुद्दालाई केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो ।

    सेप्टेम्बर २०२० मा रिया र उनको कान्छो भाइ शौक चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग सम्बन्धित लागू औषध मुद्दामा पक्राउ गर्‍यो।

    दुवैलाई मुम्बईको भायखला जेलमा पठाइएको थियो जहाँ रियाले एक महिना बिताइन भने शौकले तीन महिनापछि जमानत पाए।

    गत वर्ष मात्र मुम्बईको अदालतले रियाको ल्यापटप, मोबाइल फोन र अन्य ग्याजेटहरू फिर्ता गर्न आदेश दिएको थियो जुन अनुसन्धानको क्रममा जफत गरिएको थियो।

  • लगनगाँठाे कस्दै ‘तीतो सत्य’ का बाल कलाकार राज र मोडल सुनिशा 

    लगनगाँठाे कस्दै ‘तीतो सत्य’ का बाल कलाकार राज र मोडल सुनिशा 

    काठमाडाैं । चर्चित हास्य श्रृंखला ‘तीतो सत्य’ मा बाल कलाकारकाे रुपमा ख्याति कमाएका राज आचार्य र मोडल सुनिशा बजगाईं यही असार ७ गते विवाह बन्धनमा बाँधिने भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाका छोराकाे भूमिकामा प्रस्तुत भएका राजले चार्टर एकाउन्टेन्टको अध्ययन सकाइसकेका छन् ।

    राज र सुनिशा प्रेममा रहेको हल्ला घरीघरी चले तापनि उनीहरुले आफूहरु प्रेममा रहेको स्वीकार भने गरेका थिएनन् । अहिले बिहेको समाचार एक्कासी छाउन थालेपछि राजले आफ्नो सामाजिक सञ्जालबाटै आफूहरु आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएका छन् ।

    राजले अहिले फेसबुकको प्रोफाइलमा आफ्नाे एकल तस्विर परिवर्तन गरी सुनिशासँगको जोडी तस्विर राखेका छन् । पेशाले मोडल सुनिशाले थुप्रै म्युजिक भिडियोमा काम गरेकी छन । चलचित्र ‘ईन्टु मिन्टु लण्डन’ मा पनि उनको अभिनय देख्न सकिन्छ।

  • सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक

    सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक

    काठमाडौं । भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ ।

    सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने सिक्किम सरकारले निर्णय गरेको हो ।

    सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म राज्यमा कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन्।

    बौद्ध भिक्षु फुर्वा तामाङ र अभिनेत्री मिरुना मगर बीचको तनावको कारण पछिल्लो समय विवादमा तानिएको नेपाली कथानक चलचित्र कबड्डी ४ ले फिल्ममा बौद्ध धर्म र भिक्षुलाई अन्याय गरेको भन्दै सिक्किममा उक्त फिल्मको प्रदर्शनमा रोक लगाउन माग गरिएको थियो ।

    सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गत जेठ २२ गते गान्तोकमा पत्रकार सम्मेलन गर्दै ‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको बताउँदै उक्त फिल्म यदि सिक्किममा रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिने चेतावनी दिएका थिए।

    सोही विवादका कारण सिक्किमका मुख्यमन्त्री प्रेम सिहं तामाङ गोलेले विवादको समाधान नभएसम्म फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।

  • ‘मेरो डान्स कप यूएसए- ४’को निर्णायकमा संचिता अनुवन्धित

    ‘मेरो डान्स कप यूएसए- ४’को निर्णायकमा संचिता अनुवन्धित

    काठमाडाै‌ं । नायिका संचिता लुइटेलले एक चर्चित रियालिटी शोको निर्णायकमा रहेर काम गर्ने भएकी छिन् ।

    इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२’को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । संचिता ‘मेरो डान्स कप यूएसए–४’को निर्णायक बन्ने पक्का भएको हो ।

    नयिका संचिता लुइटेलले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

    संचितासँग संझौता गरेपछि उत्साहित हुँदै इन्ट्रा फाउन्डेशन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष संजित भण्डारीले चर्चित नायिकालाई शोमा भित्राउन पाउँदा आफूहरु उत्साहित भएको बताए । उनले भने–‘संचिताजी नेपाली फिल्मको लोकप्रिय नायिका हुनुहुन्छ । उहाँको अभिनय र नृत्यले दर्शकको मन जितेको हो । यसैले, उहाँसँग काम गर्न पाउँदा हामीले शोको गरिमा पनि बढ्ने विश्वास गरेका छौं ।’

    ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।

    ‘मेरो डान्स कप यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई र संचिता लुइटेल पक्का भएका छन् । शोको नेपाल छायांकन आजबाट सुरु गरिएको छ ।

  • चोरको स्वर : भागी विवाहले देखाएको लिम्बू संस्कृति र सौन्दर्य

    चोरको स्वर : भागी विवाहले देखाएको लिम्बू संस्कृति र सौन्दर्य

    काठमाडाैं । सिनेमामा कथा भन्नका लागि मल्टिपल फ्रेमहरुले निकै सहज बनाउँछ । पात्रहरुको चुडान्त विगत् होस् या सम्झनलायक अतित, सिनेमामा देखाउन सहज छ । फरक सेटिङ र समयमा पात्रहरुलाई क्यामेराको फ्रेमभित्र समेट्नु सिनेमामा जति सहज हुन्छ, त्यति सहज नाटकमा पक्कै हुँदैन ।

    एउटा स्टेजमा अनेक पात्रहरुको अनेक कथाहरु पस्कनु र ती कथामा दर्शकको अटेन्सन खिचिराख्नु आफैमा चुनौतीपूर्ण हुन्छ नै । आर्टमाण्डु टिमले थापागाउँस्थित मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटकमार्फत् यही चुनौती मोल्ने प्रयास गरेको छ ।

    लिम्बू समुदायमा हुने भागी विवाहलाई मूल मियो बनाएर तयार पारिएको नाटकले विवाहकोे संस्कार र त्यसको रोमाञ्चकतालाई मात्रै पस्किएको छैन, विकासका नाममा आदिवासीको पहिचानमाथि डोजर कसरी कुद्छ ? डोजरको समाजशास्त्र के हो ? किन डोजर गाउँको बाटो नआएर चिहानघारितिर पुग्छ ? यी प्रश्नको अन्तरकुन्तर खोतल्ने प्रयत्न गरेको छ नाटकले । हामीले भनिरहेको विकास र त्यसले पुर्‍याउने क्षतिमाथि सांकेतिक प्रश्न तेर्साएको छ नाटकले ।

    प्रश्नैप्रश्नको बीचबाट मानवीय संवेगहरु लिएर नाटक अगाडि बढेको छ । नाटकले सम्बन्ध, प्रेम, जिम्मेवारी र त्यसले दिने सकारात्मक ऊर्जालाई पस्केको छ । नाटक शेर्मा र चेमजोङ गाउँको कथामा आधारित छ । विकासले झल्लमल्ल चेमजोङ गाउँ र अँध्यारोमै रहेको शेर्मा गाउँबीचको घाउ पुरानै छ । पुलको लठ्ठा काट्नेदेखि एक अर्कालाई देखिनसहने अवस्था छ । चेमजोङ गाउँकी मनमाया र शेर्मा गाउँका सुनुहाङ लिम्बूको रीत नै खाइदिएका छैनन् चेमजोङ गाउँकाले ।

    यी दुई गाउँको यही पुरानो घाउलाई पुनः आलो बनाइदिन्छ सीमा र भिमाङको भागी विवाहले । पुरानो घाउ आलो भइसकेपछि त्यहाँ नूनचुक छर्किइन्छ कि ओखतीमुलो गरिन्छ ? मानिस भएको नाताले त्यो घाउमा पक्कै ओखतीमुलो गरिन्छ । कुँडिएको मन माझामाझ गरिन्छ । चित्त दुखाइहरु साटासाट गरिन्छ । ‘चोरको स्वर’को मूल कथा यही हो ।

    यही कथामा लिम्बूको सांस्कृतिक सौन्दर्यहरु देखिन्छन् । यही कथामा लिम्बूहरुको परम्परागत मान्यताहरु देखिन्छन् । हुन त संसारभरका आदिवासीहरुको जन्म, विवाह र मृत्यु संस्कार रोचक नै हुने गर्छन् । रोचकमात्रै होइन, त्यसले बोक्ने ऐतिहासिकता र सभ्यताको पहिलो पदचिन्हको अर्थ र आन्तर्य बेग्लै हुन्छ । लिम्बू समुदायको विवाहले पनि आफ्नो सभ्यताको पहिलो पाइलाको कथादेखि अहिलेको समयको गतिसम्मलाई मुन्धुममार्फत् जोड्छ ।

    लिम्बू समुदायमा चोरको ‘सोर’ भन्नाले केटोले केटी भगाइसकेपछि केटाका अगुवाहरु रीतसहित ‘तपाईंहरुको छोरीचेली हामीसँग छन्, हामी उसलाई दुःख दिने छैनौं’ भनेर केटीको माइतीमा पुग्छन् । जसको छोरीचेली भगाएको छ, उसैले आएर यस्तो भन्ने चलनलाई ‘चोरको सोर’ भनिन्छ । चोरको सोर केटीको घरमा पुगेपछि त्यहाँ घगडान बहस, छलफल, सवाल-जवाफ हुन्छन् । त्यहाँ भीषण सवालहरुको वर्षा हुन्छ । माइती पक्षले उठाएको हरेक सवालहरुको चित्तबुझ्दो र भरपर्दो जवाफ दिनुपर्ने अभिभारा र दायित्व केटा पक्षका भद्र भलाद्मीमा हुन्छ ।

    त्यहाँ हुने गरमागरम बहस बडो काव्यिक हुन्छ । केटी पक्षले काव्यिक तवरले जवाफ दिन्छ । विम्ब र प्रतीकमा हुने सवाल-जवाफको सौन्दर्य अर्कै हुन्छ । जस्तो भनिन्छ, ‘सेवारो ! तपाईंहरुको गाउँघरमा एउटा सुन्दर फूल फुलेको रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’

    केटी पक्ष सहमत भएपछि रीत खोलेर चोरको सोरलाई स्वीकार्ने अवस्था बन्छ । त्यससँगै वैवाहिक संस्कारको सुरुवात हुन्छ । विवाहको बेला राई-लिम्बू समुदायमा एक प्रकारको चलन हुन्छ । एउटा घरमा विवाह हुँदा गाउँका सबैले सघाउँछन् । आफ्नो बलबुताले भ्याएसम्म अन्न, रक्सी, नगद, जिन्सी सहयोग गर्छन् । उनीहरुको कसैको घरमा भोज खानभन्दा पनि सहयोग गर्न पुग्छन् । गाउँका सबैको सहयोगमा एउटा घरको विवाह उठ्छ । उक्त विवाहमा कसले कति सहयोग गरे, त्यो टिपेर राखिन्छ । अर्कोपटक अर्को घरमा बिहेकार्जे हुँदा त्यसअनुसार नै सहयोग दिने चलन छ ।

    विवाहमै अरु थुप्रो भागी विवाहहरु हुने अवस्था बन्छ । ‘चोरको स्वर’मा पनि सेसेहाङ र फुंगा भागेर विवाह गर्छन् । त्यसलाई पनि गाउँलेले स्वीकारेका छन् । तर, कसैको चेली ल्याइसकेपछि उसलाई घर भित्राउनुअघि ‘राजी कि बिराजी ?’ भनेर सोध्ने चलन छ । यसको मतलब महिलाको इच्छाविपरीत केही पनि हुँदैन ।

    नवीन चौहानको कथा र अनिल सुब्बा, अन्वेश थुलुङ राईको निर्देशन तथा परिकल्पना रहेको ‘चोरको स्वर’ले लिम्बू समुदायको यस्तै मिहिन पाटालाई कलात्मक तवरले केलाएको छ । नाटकले अधिकजसो दर्शकलाई हसाउँछ । लिम्बू टोनमा डेलिभर गरिने संवादपिच्छे दर्शकहरु हाँस्छन् । तर, ती दर्शक हसाउने संवादहरु प्रायः मसलाको रुपमा मात्रै प्रयोग गरिएजस्ता लाग्छन् । कहिलेकाहीँ त आमीर खानको ‘लगान’ फिल्ममा साउथ इण्डियन कमेडियन ब्रह्मानन्दन छिरेजस्तो पनि लाग्छ ।

    नाटकमा भिमाङकी आमाले बुहारी आएको भोलिपल्ट सोधेका सवाल र आफ्नो अतितको असफल प्रेमकथाले दर्शकलाई भावनात्मक न्यानो महसुस गराउँछ । सेसेहाङ र फुंगाको काव्यिक जुहारीमा निस्किएको भावना र कविताले दर्शकलाई न्यानोमा राखिरहन्छ अथवा सीमा र उसकी भाउजूको छुटिने बेलाको दृश्यले दर्शकलाई भावनात्मक बनाइदिन्छ । त्यसमा सीमाको दाइ आएपछि दृश्य झनै सुन्दर बनिदिन्छ ।

    थिएटरमा एउटा स्टेज हुन्छ । तर, कथा अनेकौं हुन्छन्, नाटक अनेकौं हुन्छन् । नाटकमा कहिलेकाहीँ चाहिँ हाटबजार भरेजस्तो पनि लागिदिन्छ । स्टेजमा एकातिर सोल्टी-सोल्टिनीको राख-रवाफ छ, सँगै छ भद्र भलादमीका बोलीहरु, सँगै छ च्याब्रुङको आवाज, छेवैमा छ सीमा र उनकी भाउजूको विछोडको बेला बगिरहेको आँसु । कुन दृश्य चाहिँ हेर्ने ? दर्शक अलमलमा पर्न सक्छन् ! सिनेमामा भएदेखि सहज हुन्थ्यो होला, नाटकमा एउटा दृश्यलाई अटेन्सन दिइरहन दर्शकलाई गाह्रो पर्न सक्छ ।

    सेटको डिजाइन, लाइटहरुको प्रयोग सुन्दर छ । तर, कतिपय फरक मुड र भावका दृश्यहरुमा एकै लाइटको प्रयोग गरिएजस्तो पनि लाग्न सक्छ । कलाकारहरुले दर्शकलाई निराश बनाइरहँदैनन् । अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा, देवना राई, नुशा लिङदेन आदि कलाकारले ‘चोरको स्वर’लाई जीवन्त बनाइदिएका छन् । झनै जीवन्त त मञ्चभन्दा पछाडि बसेर नाटकलाई भव्य बनाउन भूमिका खेल्ने नाट्यकर्मीहरुले बनाइदिएका छन् ।

    नाटकले अन्त्यसम्म निराश बनाउँदैन । न विवाहको यो रीतिथिति नै अचम्म लाग्छ दर्शकलाई । जसले आदिवासीको जीवन पद्धतिलाई नजिकबाट नियालेका छन्, जसले आदिवासीको जीवन, जगतलाई हेर्ने सौन्दर्यको शक्तिलाई बुझेका छन्, उनीहरुले यो चाहिँ थाहा पाउनेछन् कि अबको हजारौं वर्षपछि पनि आदिवासीले आफ्नो सभ्यताको पहिलो पदचिन्हलाई कहिल्यै छाड्ने छैनन् ।

  • जी-बब र उनका आमाबुबाबीच भयो तीन बुँदे सम्झौता

    जी-बब र उनका आमाबुबाबीच भयो तीन बुँदे सम्झौता

    काठमाडौं । चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब) र उनका आमा बुबाबीच तीन बुँदे सम्झौता भएको छ।

    सम्झौतामा जी-बब बस्ने भनिएको पुनर्स्थापना केन्द्र समर्पण नेपाल पनि एक अंग रहेको छ ।

    तीन बुँदे सम्झौताअनुसार जी९बबलाई उनको इच्छा अनुसार हाल समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह राख्ने सहमति भएको छ ।

    यस्तै केहि समयको लागि निजले चाहेको समयमा आमा बुबालाई भेट गराउने व्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने र कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनु पर्ने उल्लेख छ।

  • बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

    बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

    काठमाडौं । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।

    बौद्ध धर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् ।

    १२३१/२०७९/२/३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबड्डी –४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मान मर्यादामा गम्भीर हानि नोक्सानी पुर्याइ अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’

    यसअघि तत्काल सो फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।

  • लागुऔषध सेवन गरेकाे आराेपमा शक्ति कपूरका छाेरा सिद्धान्त पक्राउ

    लागुऔषध सेवन गरेकाे आराेपमा शक्ति कपूरका छाेरा सिद्धान्त पक्राउ

    काठमाडाैं । शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन् । सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयाेग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन् । उनको ड्रग्स परीक्षण पनि पाेजिटिभ आएको छ ।

    भारतीय समाचार स्रोतका अनुसार प्रहरीले सूचना पाएपछि एमजी रोडस्थित होटलमा छापा मारेको थियो । छापापश्चात प्रहरीले ३५ जनाको नमुना लागूऔषध परीक्षणका लागि पठाएको थियो । सिद्धान्त कपुर ६ मध्ये एक हुन्, जसको पाेजिटिभ नतिजा आएको हाे। उनलाई अहिले उल्सूर पुलिस स्टेशनमा ल्याइएको छ ।

    यस्तो घटना बाहिर आएपछि सिद्धान्तका बुवा शक्तिले आफूलाई यो कुरा पत्याउन गाह्रो भएको र यो सम्भव नै नभएको बताएका छन् ।

    सिद्धान्त र अन्यले पार्टीमा लागूऔषध सेवन गरे वा बाहिर सेवन गरेर होटेलमा पुगे भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन ।

    को हुन् सिद्धान्त कपूर ?

    सिद्धान्त शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइसँगै एक अभिनेता हुन् । उनले २०२० मा आएको वेब सिरिज ‘भौकालमा’ चिन्टु देढाको भूमिका निभाएका थिए । यसबाहेक उनले सुटआउट एट वडाला, अग्ली, हसिना पार्कर, चेहरेलगायतका चलचित्रमा पनि अभिनय गरेका छन् । भागम भाग, चुप चुप के, भूल भूलैया, ढोल जस्ता चलचित्रमा पनि उनलाई सहायक निर्देशकका रुपमा देख्न सकिन्छ ।