Category: कलाप्रेस

  • पदभार ग्रहण गर्दै भुवन केसीले भनेः चाँडै सर्वपक्षीय सम्मेलन गरेर सबैको समस्या सुन्छु (भिडिओ)

    पदभार ग्रहण गर्दै भुवन केसीले भनेः चाँडै सर्वपक्षीय सम्मेलन गरेर सबैको समस्या सुन्छु (भिडिओ)

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताए ।

    पत्रकारहरुसँग कुरा गर्दै केसीले भने, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’

    उनले सम्मेलनबाट निस्किने निस्कर्षका आधारमा एउटा योजना बनाएर अघि बढ्ने उल्लेख गरे ।केसीलाई राजनीतिक पार्टीको सहारामा विकास बोर्डमा पुगेको आरोपबारे पत्रकारले सोधेका थिए । उनले नेपाली चलचित्र क्षेत्रको उत्थानका लागि आफू जे गर्न पनि तयार रहेको जवाफ दिए ।

    ‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जाने हो । मेरो तन मन धन नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो । त्यसैले म शहिद भएर, भिक्टिम भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने त्यसका लागि तयार छु ।’

  • भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत

    भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरुले स्वागत गरे ।

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् ।

    बोर्ड प्रवेश गर्दा कर्मचारीहरुले खादा र माला लगाइदिएका थिए । त्यस अवसरमा बाक्लो संख्यामा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

    तस्बिर: उमेश कार्की

  • बलिउडमा रणवीरअघि क–कसले गरेका थिए न्यूड फोटोसुट ?

    बलिउडमा रणवीरअघि क–कसले गरेका थिए न्यूड फोटोसुट ?

    काठमाडौं । जुलाई २२, २०२२ मा भारतका चर्चित अभिनेता रणवीर सिंहले प्रसिद्ध ‘पेपर म्यागेजिन’ का लागी गरेको नग्न फोटोशूटहरु सार्वजनिक भएपछि अहिले भारतीय मिडियाहरूमा एक किसिमको भुइँचालो आएको छ ।

    रणवीरको उक्त नग्न फोटोसुटका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि र उनको चौतर्फी ट्रोल बन्न थालेका छन् । त्यसपछि उनले उनले पेपर म्यागेजिनलाई एक अन्तर्वार्तासमेत दिएका थिए। सो अन्तर्वार्तामा उनले भनेका छन् , ‘शारीरिक रूपमा नग्न हुनु मेरो लागि कुनै ठूलो कुरा होइन । मलाई हजारौँ मानिसको अगाडि नग्न हुनु पनि केही जस्तो लाग्दैन । मलाई त्यो रूपमा हेरेर अरू कसैलाई अप्ठ्यारो लाग्छ भने त्यो उनीहरूको समस्या हो।’

    हाल उनको ‘न्यूड’ फोटोशुटको विरोध गर्दै मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरीसमेत परेको छ। महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो ।

    उनको उक्त तस्बिरहरू साझा भएपछि धेरैले रणवीर त्यसरी नग्न फोटोसुट गर्ने पहिलो भारतीय व्यक्ति भएको दाबी गरिरहेका छन् । तर उनी अघि पनि अरू धेरै भारतीय कलाकारहरूले यस्ता खालका नग्न फोटोसुटहरु गरिसकेका छन् । जसमध्ये आज हामी पाँच त्यस्ता फोटोसुट गर्ने भारतीय कलाकारहरूको चर्चा गर्नेछौँ –

    १. मिलिन्द सोमनको नग्न फोटोसुट

    चर्चित अभिनेता मिलिन्द सोमन अझै पनि भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्येका एक हुन् । उनी आफ्नो असाधारण फेसन सेन्स र फिटनेसको लागि प्रसिद्ध छन् ।

    प्रेम र विवाहको बारेमा उनको बोल्ड दर्शन र खुला विचारका बारेमा सबैलाई थाहा भएता पनि उनले तीन पटक क्यामेराको अगाडि नग्न भएर फोटोसुट गरेको भने कुरा धेरैलाई थाहा छैन ।

    मिलिन्द सोमनले सन् १९९५ मा पहिलो पटक क्यामेराको अगाडि जुत्ताको विज्ञापनको नग्न फोटोसुट गरेका थिए । उक्त तस्बिरमा उनी भारतीय सुपर मोडल मधु सप्रेसँग सर्पमा बेरिएर पोज दिइरहेका देख्न सकिन्छ।

    दोस्रो पटक मिलिन्दले दिल्लीको प्रख्यात रिजमा नग्न फोटोसुट गरेका थिए। त्यो समय उनको तस्बिर भन्दा पनि उनको शरीर र कपालको धेरै चर्चा भएको थियो । यद्यपि धेरै दर्शकहरू र सेलिब्रेटीहरूले सोमनले उनको तस्बिरमार्फत मानिसहरूलाई अश्लीलता र कलाबीचको महत्त्वपूर्ण भिन्नता बुझाउने काम गरेको भन्दै उनी सम्मान र प्रशंसाको हकदार भएको दाबी गरे।

    ४ नोभेम्बर, २०२० मा मिलिन्द सोमन जब ५५ वर्षको पुगे तब उनले आफ्नो जन्मदिनको अवसरमा आफैँलाई शुभकामना दिँदै आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत एक तस्बिर साझा गरेका थिए । तस्बिरमा चर्चित अभिनेता तथा मोडल पूर्ण नग्न भएर समुद्र तटमा दौडिरहेको देख्न सकिन्छ । उक्त तस्बिर केही समयमै सामाजिक सञ्जालमा भाइरल भयो । भाइरल भएको सो तस्बिरले उनको बोल्ड चालबाट मानिसहरूलाई प्रेरणा मिलेको भन्ने खालका प्रशंसा बटुल्न सफल भएको थियो ।

    २. पूजा बेदीको कन्डमको विज्ञापन

    पूजा बेदी ९० को दशककी भारतीय फिल्म उद्योगको होनहार अभिनेत्री मध्येकी एक हुन । सन् १९९१ मा उनले गरेको कामुक कन्डमको विज्ञापनले उनलाई झन् रातारात चर्चित बनायो । सो विज्ञापनले भारतमा एक किसिमको यौन क्रान्ति नै ल्यायो । तर धेरै कामुकता झल्काउने तस्बिर भएकाले गर्दा रिलिज भएको केही महिनामा नै पूजा बेदीको उक्त कन्डमको विज्ञापनमा प्रतिबन्ध लगाइएको थियो ।

    ३. सपना भवनानीको ‘पेटा’ को लागि नग्न फोटोशूट

    चर्चित सेलिब्रेटी हेयरस्टाइलिस्ट सपना भवनानी दशकौंदेखि आफ्नो बोल्ड स्टाइलहरूले दर्शकमाझ आफ्नो छाप छोड्न माहिर छिन् । यही क्रममा उनले पेटा (से नो टु लेदर एण्ड फर) को एक अभियानका लागि नग्न फोटोशूट गरेकी थिइन् जसले भारतीय मिडियामा ठूलो विवाद सिर्जना गरेको थियो ।

    ४. शर्लिन चोर्पाको कामसूत्र थ्रीडीको सेटको नग्न तस्बिर

    शर्लिन चोपडा भारतकी सबैभन्दा बोल्ड अभिनेत्री हुन् भन्दा खासै फरक पर्दैन । हामीले उनलाई धेरै चलचित्रहरूमा कामुक दृश्यहरू गरेको देखेका पनि छौ ।

    शर्लिनले पहिलो पटक आफ्नो एडल्ट फिल्म ‘कामसूत्र थ्रीडी’ को सेटमा खिचेको आफ्नो नग्न तस्बिर अपलोड गरी आफूलाई समाचारको हेडलाइन्स बनाएकी थिइन् ।

    सार्वजनिक भएको केही समयमा नै उक्त तस्बिर इन्टरनेटमा भाइरल भएको थियो । तस्बिरमा शर्लिनलाई क्यामेराको अगाडि नग्न अवस्थामा कुर्सीमा बसेर कफी खाइरहेको देख्न सकिन्छ ।

    तस्बिर साझा भएपश्चात् उनलाई धेरैले नकारात्मक टिप्पणीहरू गरे । यद्यपि, शर्लिनले नकारात्मक टिप्पणीहरूमा कुनै ध्यान नदिई आफ्नो फिल्म कामसूत्र थ्रीडीमा केन्द्रित भएर लागिन् । जुलाई २०१२ मा चोपडा प्लेब्वाय म्यागेजिनको लागि नग्न पोज दिने पहिलो भारतीय महिला समेत बनेकी थिइन् तर उनको सो तस्बिरहरू भने दुई वर्ष पछि मात्र साझा गरिएको थियो।

    ५. ‘पीके’ मा आमिर खानको नग्न तस्बिर

    बलिउडका परफेक्शनिस्ट आमिर खानले पनि आफ्नो ब्लकबस्टर फिल्म ‘पीके’ का लागि नग्न तस्बिर खिचाएका थिए । फिल्म रिलिज हुनु अघि आफ्नो नग्न अवतारलाई फिल्मको आधिकारिक पोस्टको रूपमा राख्ने छनौट गररे आमिरले हेडलाइन सँगसँगै सबैको ध्यान खिच्न सफल भएका थिए । पोस्टरमा आमिरलाई परम्परागत रेडियोले आफ्नो प्राइभेट पार्ट्स लुकाएर उभिएको देख्न सकिन्छ । सो पोष्टर साझा भएपछि धेरैले चित्त दुखाएका थिए । तर अधिकतम प्रतिक्रियाहरू सकारात्मक आएपछि सो कुरा त्यतिकै सेलाउँदै गयो । यो प्रयास आमिर र फिल्म निर्देशक राजकुमार हिरानीको लागि एक मास्टरस्ट्रोक थियो ।

  • राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय

    राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय

    काठमाडौं । गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका उनको ‘तोडियो तोडियो’ ‘कालो कालो’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

    कान्छीमा सुन्दर मगरको शब्द संगीत र अभि जंग क्षत्रीको संगीत संयोजन रहेको छ । फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ ।

    उत्सव ढकालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम हुन् भने भिडियो निर्माणमा केदार उप्रेती छन् । देवीथान म्युजिक च्यानलबाट कान्छी सार्वजनिक गरिएको हो ।

     

  • सदाबहार अभिनेताको विकास बोर्डमा इन्ट्रीः चलचित्र क्षेत्रमा ल्याउलान् बहार ?

    सदाबहार अभिनेताको विकास बोर्डमा इन्ट्रीः चलचित्र क्षेत्रमा ल्याउलान् बहार ?

    काठमाडौं । चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता भुवन केसीले लामो प्रयासपछि अन्ततः चलचित्र विकास बोर्डको बागडोर पाएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले केसीलाई विकास बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    सूचना तथा सञ्चार मन्त्रालयले तीन जनाको नाम बोर्ड अध्यक्षका लागि क्याबिनेटमा पठाएको थियो । भुवनसहित नरेशकुमार पौडेल र सुस्मा कार्की मन्त्रालयको सिफारिसमा परेका थिए । उनीहरुमध्ये भुवनलाई बोर्ड अध्यक्षमा चयन गरिएको खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालप्रेसलाई जानकारी दिए ।

    दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले गत असार १५ गते सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आवेदन मागेको थियो । विभिन्न मापदण्ड तोक्दै मागिएको आवेदनमा १० जनाले दरखास्त दिएका थिए ।

    भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुस्मा कार्कीले दरखास्त दिएका थिए । अरु नौ जनालाई पन्छाएर भुवनले बाजी मारेका छन् ।

    चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रकै अभिभावक तथा नियमनकारी संस्था हो । त्यसैले धेरै चलचित्रकर्मीहरु बोर्डमा जान मरिहत्ते गर्छन् । तर, बोर्ड अध्यक्ष हुन प्रधानमन्त्रीदेखि सञ्चारमन्त्री र उनको पार्टीलाई समेत खुशी बनाउनुपर्ने अवस्था छ । भुवनले पनि राजनीतिक लविङ गरेरै यो पद हासिल गरेका हुन् ।

    अघिल्लो पटक नै उनले बोर्डमा जान प्रयास गरेका थिए । केपी ओलीको सरकारका पालामा उनको प्रयास खेर गयो । यसबाट निराश उनी गत वैशाखमा कांग्रेस प्रवेश गरे । बोर्ड अध्यक्ष बनाउने शर्तमा केसी कांग्रेसमा गएको चर्चा त्यतिखेर भएको थियो । तर, केसीले आफू पदको बार्गेनिङ गरेर नगएको बताएका छन् ।

    पार्टीको फेरो समातेर जानु गलत भए पनि भुवन केसी चलचित्र बोर्ड अध्यक्षका निम्ति ‘डिजर्भिङ’ व्यक्ति नै हुन् । उनले नायक वा अभिनेताका रुपमा नभएर निर्माताका रुपमा पनि चलचित्रमा योगदान दिएका छन् । उनी नेपाली चलचित्रका पहिलो सुपरस्टार मानिन्छन् । रोमान्स किङदेखि सदाबहार अभिनेतासम्मको उपमा उनलाई प्राप्त छ ।

    २०३७ सालमा बनेको ‘जूनी’ चलचित्रबाट भुवनको नेपाली चलचित्रमा इन्ट्री भएको थियो । त्यसको एक वर्षपछि निर्माण भएको ‘सम्झना’ चलचित्रबाट उनले पहिलो सफलताको स्वाद चाखे । सम्झना सुपरहिट भएपछि भुवनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

    नेपालमा सबैभन्दा बढी हिट फिल्म दिने नायकको कुरा गर्दा भुवन अग्रस्थानमा आउँछन् । कुसुमेरुमाल, सन्तान, कन्यादान, चिनो, दुई थोपा आँसु, दक्षिणा, सपना, करोडपति लगायतका उत्कृष्ट र ब्लकबस्टर चलचित्रहरु उनले दिएका छन् । संख्यात्मक रुपमा राजेश हमालले भुवनभन्दा कैयौं गुणा धेरै चलचित्र खेले पनि सफल र सम्झनलायक चलचित्र भुवनका धेरै छन् ।

    सपना चलचित्रमार्फत भुवन पहिलोपटक निर्माणमा होमिएका थिए । उक्त चलचित्र हिट भएको थियो । नेपाली चलचित्र खराब अवस्थाबाट गुज्रिरहेको बेला भुवनले करोडपति निर्माण गरे । यसमा पनि उनी सफल भए । करोडपतिले संकटग्रस्त अवस्थामा रहेको नेपाली चलचित्रलाई बौरिन मद्दत गरेको थियो ।

    भुवन आफूमात्र होइन, श्रीमती र छोरालाई पनि चलचित्रमा प्रवेश गराए । उनले आफैं निर्माण गरेको चलचित्रमा पत्नी सुस्मिता बम्जनलाई नायिका बनाएका थिए । भुवनका छोरा अनमोल केसी अहिले नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल र महंगा स्टार हुन् ।

    भुवन केसीको व्यक्तिगत र पारिवारिक जीवन भने विवादित रह्यो । उनले पहिलो पत्नी विजया केसीसँग डिभोर्सपछि सुस्मितासँग दोस्रो विवाह गरेका थिए । तर, यो विवाह पनि उनले टिकाउन सकेनन् । सुस्मितासँग पनि डिभोर्सपछि भुवन अहिले जिया केसीसँग लिभिङ टुगेदरमा छन् । चलचित्र क्षेत्र र बाहिरका विभिन्न युवतीहरुसँग भुवनको नाम जोडिने गरेको थियो ।

    विकास बोर्डको अध्यक्षमा नियुक्त भएसँगै भुवनसामु ठूलो अवसर र चुनौती खडा छन् । उनले समग्र नेपाली चलचित्रको नेतृत्व गर्ने अवसर पाएका छन् । आफूलाई प्रमाणित गरेर देखाउने चुनौती पनि छ । चार दशकसम्म चलचित्र क्षेत्रमा काम गरेर हासिल गरेको अनुभव उनले अब बोर्डमा खन्याउन सक्छन् ।

    अहिले नेपाली चलचित्रको सबैभन्दा ठूलो बाधा भनेको विदेशी चलचित्रको दबदबा हो । बिग बजेटमा बन्ने भारतीय र दक्षिण भारतीय चलचित्रहरुका कारण नेपाली चलचित्रले हल पाउनै गाह्रो पर्ने अवस्था छ । पाइहाले पनि दर्शक तान्न सक्दैनन् । राम्रा भनिएका चलचित्रहरु पनि भटाभट फ्लप भइरहेका छन् । भुवनको सबैभन्दा पहिलो र ठूलो चुनौती भनेकै विदेशी चलचित्रको बेलगाम आयात नियन्त्रण गर्नु हो ।

    व्यापार घाटा कम गर्ने भन्दै विभिन्न वस्तुहरुको उत्पादनमा संकुचन गर्ने नीति लिएको सरकारले चलचित्रमा ध्यान दिएको छैन । तर, चलचित्रमार्फत पनि बर्सेनि अर्बौं रकम विदेशिने गरेको छ । चलचित्रसँगै भित्रिने विदेशी संस्कृतिले नेपाली समाजलाई विकृतितर्फ धकेलिरहेको छ । त्यसैले भुवनले सबैभन्दा पहिले निश्चित संख्यामा मात्रै विदेशी चलचित्रहरु चलाउन पाउने गरी कोटा निर्धारण गर्नु अत्यावश्यक छ । यसका निम्ति सरकारलाई पनि विश्वासमा लिएर उनले काम गर्नुपर्ने हुन्छ ।

    यस्तै, नेपालमा बनेका चलचित्रलाई अन्तर्राष्ट्रिय बजार खोज्न पनि भुवनको प्रयास अपेक्षित छ । नेपाली बजारबाट मात्रै नेपाली चलचित्र धानिनसक्ने अवस्था नरहेकाले अन्य देशका बजार खोज्न विकास बोर्डमार्फत उनले पहलकदमी लिनुपर्नेछ ।

    भुवन आफ्नो जिम्मेवारीमा कति खरो उत्रिनेछन्, त्यसका लागि प्रतीक्षा नै गर्नुपर्छ । अहिले चाहिँ उनलाई सफल कार्यकालका निम्ति शुभकामना दिउँ ।

  • महिला संवेदनाको अपमान गरेको भन्दै रणवीरविरुद्ध उजुरी

    महिला संवेदनाको अपमान गरेको भन्दै रणवीरविरुद्ध उजुरी

    काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको ‘न्यूड’ फोटोशुटको विरोध गर्दै उजुरी परेको छ । महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पछिल्लो साता रणवीरले अमेरिकी म्यागजिन पेपरका लागि नग्न फोटोशूट गराएका थिए । रणवीरको उक्त फोटोले मानिसहरुलाई श्लील कि अश्लील भन्ने विषयमा ठूलै बहस सुरु भएको थियो ।

    फोटोशुट सार्वजनिक भएसँगै भारतमा आलोचना सुरू भयो । सामाजिक सञ्जालहरुमा कसैले उनको फोटोलाई कलाको एउटा प्रतिक मान्दै श्लीलको पगडी पहिराइदिए त कसैले भद्दा र अश्लीलको संज्ञा दिँदै उनलाई ट्रोल तथा गालीसमेत गरेका थिए ।

     

  • सुनिताको ‘यो रमाइलो तीजैमा’ सार्वजनिक (भिडिओ)

    सुनिताको ‘यो रमाइलो तीजैमा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायिका सुनिता दुलालको ‘यो रमाइलो तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ । उन्नति बोहरा ‘शिला’ को शब्दमा शम्भुजीत बास्कोटा संगीत भरेको यो गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्याम श्वेत रसाइलीले यो गीतको मिक्सिङ तथा मास्टरिङको काम गरेका हुन् ।

    गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय रहेको छ । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन तथा सिमोन लामाले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले यो भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।

    ‘तीज क्वीन’ को रूपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक वर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि कोभिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन् ।

    योसँगै यसपालि नि खाने दर, म त छम छम, तीजको आयो लहर, चुप्प म्वाइँ खाउँला आमा, सधैँ तीजमा व्रत, पोहोरको तीजमा रातो, नाच्नलाई पैताला, यसपालिको तीजमा, अलि फरक भाकी छु, चुरा टिका लाली, अर्ग्यानिक तीज, तीज भनेकै नाच्न गाउन, दर खाने दिन लगायतका चर्चा पाएका तीज गीत दुलालकै नाममा छन् ।

  • कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की ! प्रहरीमा दिए उजुरी

    कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की ! प्रहरीमा दिए उजुरी

    काठमाडौं । एक अज्ञात व्यक्तिबाट सामाजिक सञ्जालमार्फत आफूहरुलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलले प्रहरीमा उजुरी दिएका छन् ।

    धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् ।

    समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार मुम्बई पुलिसले कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की दिने सो अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ ।

    एक हप्ताअघि कट्रिनाको फ्यान क्लबले अज्ञात व्यक्तिलाई अभिनेत्रीको तस्वीर र भिडिओहरु नखिच्न र उनलाई नपछ्याउन सल्लाह दिएका थिए ।

    सल्लाह दिएपश्चात पनि ति व्यक्तिले फ्यान क्लबलाई नै गाली गर्दै कट्रिना आफ्नी श्रीमती भएको र यदि उनले आफूसँग भेट्न नमाने हत्या गर्ने बताएको फ्यान क्लबको दाबी छ ।

    अज्ञात व्यक्तिबाट आएको सो टिप्पणीपछि फ्यान क्लबले ट्वीटरमा स्क्रिनसटहरू समेत सार्वजनिक गरेका थिए । यद्यपि अहिलेसम्म दम्पतीलाई ज्यान मार्ने धम्की दिने र फ्यान क्लबलाई मेसेज गन व्यक्ति एकै हो भन्‍ने आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

  • ‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना

    ‘छक्कापञ्जा-४’ मा बाहिरिए जितु, शुभमुर्हूतमा पुगेर दिए शुभकामना

    काठमाडौं । तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने भएका छन् । चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार जितु फूल लिएर भक्तपुर पुगेका थिए ।

    आमा सरस्वती मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ को सोमबार सूर्य विनायक मन्दिर, भक्तपुरमा घोषणा तथा शुभमुर्हूत कार्यक्रम सम्पन्न भएको थियो ।

    दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुनसक्ने धेरैको अनुमान छ ।

    चौथो संस्करणमा जितु नहुनु बारे दीपकराज गिरी भन्छन्, ‘अब सबैले यहीँ प्रश्न गर्नुहुन्छ जुन स्वाभाविक हो । आपसी दुस्मनी वा मनमुटाब भएर जितु यो भागमा नभएका हैनन् । मनमुटाब भएको भए उहाँ यहाँसम्म शुभकामना दिन पनि आउनु हुन्न थियो । आफैँ विचार गर्नुहोस् कि हामीले सबै भागमा एउटै कलाकार दोहोर्‍याएका छैनौँ । कथाले कुन पात्र माग्छ कुन माग्दैन भन्ने पनि हुन्छ । मुख्य कुरा त हामी सेटमा भेटिँदा वा चलचित्र गर्दा मात्र ओहो भन्ने मित्र होइनौँ । हामी चाहे सँगै काम गरौँ या नगरौँ तर सधैँ सँगै नै हुन्छौँ ।’

    घोषणा गरिएको सो चलचित्र २०१६ मा बनेको ब्लकबस्टर हास्य चलचित्र ‘छक्का पञ्जा’ को चौथो संस्करण हो ।

    तेस्रो सिरिजसम्म चलचित्रलाई निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले निर्देशन तथा निर्माण गरेकी थिइन् । तर यो चौथो संस्करणलाई भने निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन् ।

    चलचित्रमा कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, बेनिशा हमाल, मलिना जोशी र केदार घिमिरे (माग्ने बूढा) अनुबन्धित भइसकेका छन् । चलचित्र यसै असोज महिनामा रिलिज हुने निर्माण टिमको भनाई छ ।

  • गीतकार दिनेश अधिकारीले पाए अरुण थापा स्मृति सम्मान

    गीतकार दिनेश अधिकारीले पाए अरुण थापा स्मृति सम्मान

    काठमाडौं । कवि एवं गीतकार दिनेश अधिकारीले यस वर्षको ‘अरुण थापा स्मृति सम्मान २०७९’ पाएका छन् । २३ औं अरुण थापा स्मृति दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले शनिबार कवि एवं गीतकार अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो ।

    समाजले भक्तपुरस्थित अक्सफोर्ड इङ्गलिस स्कुलमा आयोजना गरेको अरुण थापा स्मृति दिवस मा वरिष्ठ संगीतकार दीपक जंगमले गीतकार अधिकारीलाई दोसल्ला ओढाउँदै उक्त सम्माज वितरण गरेका थिए ।

    भर्खरै सम्पन्न ‘सा रे ग म प लिटिल च्याम्प’मा राम्रो प्रतिभा देखाएका भक्तपुरकी बाल प्रतिभा अविज्ञा घिमिरेलाई समेत सम्मान गरिएको थियो ।

    कार्यक्रममा भक्तपुरका कलाकारहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व. थापाका गीतहरु प्रस्तुत गरेका थिए ।

    त्यसैगरी वाद्यवादनमा कृष्णसुन्दर सुजखू, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य, विजय बज्राचार्य र यजु आचार्यले साथ दिएका थिए ।

    देशप्रेमले ओतप्रोत ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल’ बाट सुरु भएको स्मृति दिवसमा ‘लाग्न थाल्यो जीवनमा’, ‘आँखाको निद चोरी लाने’, ‘भुलेका कथा तीतामीठा’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो, व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘पग्लेर जाने हिउँ म हैन’, ‘म रोए पनि तिमी हाँसिदिनु’ जस्ता थापाका चर्चित एवं कम सुनिएका गीतहरु प्रस्तुत गरिएको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए ।

    कार्यक्रममा वरिष्ठ संगीतकार जङ्गमले नेपालमा मरेपछि सम्मान दिने र कृतिप्रति चासो दिने गलत परम्परा रहेको औंल्याए । नेपालमा जनता र सरकारबाट अझै पनि कलाकारको सही पहिचान हुन नसकेको उनको भनाइ थियो ।

    प्राज्ञ ध्रुव मधिकर्मीले सम्मानित श्रष्टा अधिकारीको गीत र कविताका विविध पक्षबारे चर्चा गरेका थिए ।

    वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले कार्यक्रम सञ्चालन गर्दै अरुण थापाका जीवनका विविध पाटा र गीत-संगीतसँग सम्बन्धित घटनाबारे चर्चा गरेका थिए ।

    कोरोना महामारीका कारण विगत दुई वर्ष औपचारिकतामा सीमित स्मृति दिवस यस वर्ष बृहत रुपमा गरिएको थियो । समाजले स्व. थापाको स्मृतिमा लगातार पाँचौं पटक स्मृति दिवस मनाएको हो ।

  • आयकर विभागले किन घरमै पठायो अक्षयकुमारको सम्मानपत्र ?

    आयकर विभागले किन घरमै पठायो अक्षयकुमारको सम्मानपत्र ?

    नयाँ दिल्ली । बलिउड अभिनेता अक्षयकुमारलाई आयकर विभागले फिल्म उद्योगमा सबैभन्दा बढी कर तिरेकोमा सम्मानपत्र पठाएको छ । अक्षयकुमार सुटिङको लागि देशबाहिर रहेकाले आईटी विभागले सम्मानपत्र पठाएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अक्षयकुमार टिनु देसाईको आगामी फिल्मको सुटिङका ​​लागि बेलायतमा छन् । त्यसैले सम्मानपत्र उनको टोलीले बुझेको हो ।

    अभिनेता अक्षयकुमारले यस्तो सम्मान पाएको यो पहिलोपटक भने होइन । पछिल्लो ५ वर्षदेखि अक्षय सबैभन्दा बढी कर तिर्नेको सूचीमा छन् ।

    समाचारअनुसार अक्षयसँग उनको क्रेडिटमा धेरै फिल्महरू छन् र पर्याप्त अफरहरू छन् । उनलाई भारतमा सबैभन्दा बढी कर तिर्नेहरूको सूचीमा देख्नु अचम्मको कुरा होइन ।

    अक्षय हालै करण जोहरको च्याट शो कफी विथ करणमा सामन्था रुथ प्रभुसँग देखिएका थिए । करणले अक्षयलाई आफ्नो उमेरभन्दा कान्छी नायिकासँग काम गरेको कारण ट्रोल भएको भन्दै प्रश्न गरेका थिए ।

    यसैमा अक्षयले भनेका थिए, ‘यसको कारणले गर्दा मानिसहरू मसँग ईर्ष्या गर्छन्। म युवा अभिनेत्रीहरूसँग काम गर्नसक्छु । के म ५५ वर्षको देखिन्छु ? म यो समस्या बुझ्दिनँ ।’

  • दीपक र दीपाले गरे छक्का पञ्जा ४ को शुभ साइत

    दीपक र दीपाले गरे छक्का पञ्जा ४ को शुभ साइत

    काठमाडौं । छक्का पन्जा ४ निर्माणको घोषणा गरेको छ । छक्का पन्जा ४ को घोषणा लगतै चलचित्रको शुभमुर्हत गरिएको छ ।

    आमा सरस्वती मुभिजको निर्माण हुने छक्का पन्जा ४ को सोमबार भक्तपुरस्थित सुर्यबिनायकमा शुभमुर्हत गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको शुभसाइत गरेका थिए ।

    निर्देशक हेम राज बिसिको निर्देशनमा बन्न लागेको उक्त चत्रचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य लगायतका कलाकार रहेका छन् । निर्माण पक्षले उक्त चलचित्र असोजमा ल्याउने तयारी गरेको छ ।

    यसअघि तीन सिरिजमा दिपाश्री निर्देशक थिइन् ।

  • रानीको ‘खर्च माग्दिनँ’ बोलको तीज गीतमा विनाको छमछमी

    रानीको ‘खर्च माग्दिनँ’ बोलको तीज गीतमा विनाको छमछमी

    काठमाडौं । तीजको गीतमा महिलाहरूले भन्ने कथा फेरिएका छन् । केही वर्ष अगाडिसम्म तीज गीतमा महिलाहरूले सासू, श्रीमान् र घरको कथा सुनाउँथे । तर, अहिलेका तीज गीतमा महिलाहरूले स्वावलम्बी भएका कथा सुनाउन थालेका छन् ।

    गायिका रानी शाक्यको स्वरमा समावेश ‘खर्च माग्दिनँ’ बोलको तीज गीतमा पनि यस्तै भावना पोखिएको छ । सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ ।

    भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरूको साथमा नृत्य गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।

    विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

    गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दिनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।

  • रणवीरको ‘न्युड’ फोटोसुटले भारतमा तहल्का

    रणवीरको ‘न्युड’ फोटोसुटले भारतमा तहल्का

    काठमाडौं । अतरंगको ड्रेसिङ स्टाइलले बेला– बेलामा चर्चामा आइरहेने पात्र हुन् भारतिय अभिनेता रणवीर सिहं ।

    उनले विभिन्न स्थानमा लगाएको कपडाहरु भारतीय सञ्चार माध्यमहरुमा ठुलै गसिप बन्ने गर्छन् ।

    ड्रेसिङ स्टाइलका कारण चर्चा तथा ट्रोल भइरहने रणवीर सिहं यतिबेला भने कपडा नलगाएको कारण चर्चामा आएका छन् अर्थात ‘न्युड’ फोटोसुटका कारण चर्चामा आएका छन् ।

    पेपर म्यागजिनका लागि ‘न्युड’ फोटो सुट गरेका रणवीरको तस्वीरहरु सार्वजनिक भएसँगै हाल भारतमा उनका ति फोटोहरु श्लील कि अश्लील भन्ने विषयमा ठूलै बहस सुरु भएको छ ।

    उनले यसअघि पनि आफू हजारौँ मानिसको अगाडि नग्न हुन सक्ने बताएका थिए । ‘मलाई हजारौँ मानिसको अगाडि नग्न हुनु केही जस्तो लाग्दैन । मलाई त्यो रुपमा हेरेर अरु कसैलाई अप्ठ्यारो लाग्छ भने त्यो उनीहरुको समस्या हो’, उनले भनेका थिए ।

    तस्वीरः पेपर म्यागाजिन

  • प्रहरीको दाबी- यसकारण गायिका दिलमायाको हत्या

    प्रहरीको दाबी- यसकारण गायिका दिलमायाको हत्या

    काठमाडौं । रहस्यमय तरिकाले मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले सुनारको हत्या अभियोगमा मुद्दा चलाउन राय दिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले त्यसैबमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।

    दिलमायाका प्रेमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैद माग गर्दै अभियोगपत्र दर्ता भएको छ । असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । त्यसपछि असार १० गते राति दिलमायासँगै सुतेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठले मध्यरातमा दिलमाया झुन्डिरहेको देखेपछि खाटमा झारेर आफू निस्किएको भन्दै हत्या आरोप अस्वीकार गरेका छन् ।

    यता पोस्टमार्टम रिपोर्टले पनि दिलमायाको झुन्डिएर ज्यान गएको तथा शरीरका बाहिरी र भित्री भागमा कुनै चोटपटक नरहेको देखाएको छ । यद्यपि प्रहरी श्रेष्ठले दिलमायाको हत्या नै गरेको निष्कर्षमा पुगेको छ ।

    प्रहरीले अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले नै हत्या गरेको हो भन्ने किसिमले केही आधारहरु देखाएको छ । विवाहित श्रेष्ठ परिवारसहित गोठाटारमा सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

    प्रहरीका अनुसार लोकदोहोरीमा काम गर्ने दिलमाया लामो समयदेखि त्यसमा जान छाडेकी थिइन् । श्रेष्ठले बाहिर निस्कन नदिएको र आफूसँग समेत लिएर हिँड्न नमान्ने गरेको प्रहरीको दाबी छ ।

    यस्तै श्रेष्ठले दिलमाया झुन्डिएको बताए पनि दिलमाया लडेको अवस्थामा भेटिनु र उनी राति नै भाग्नुलाई पनि शंकास्पद मानेको छ । दिलमायाले झुन्डिन प्रयोग गरेको भनिएको सल लुकाउनुलाई पनि प्रहरीले श्रेष्ठले हत्या गरेको आधार मानेको छ ।

    यस्तै त्यस रात १ बजे दिलमायाको फेसबुक अकाउन्टमा लेखिएको सुसाइड नोटजस्तो स्टाटस सूर्य आफैले लेखेको हुनसक्ने र दिलमायाको मोबाइल अझैसम्म नभेटिनुले उनको हत्या नै भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

    सुर्खेत स्थायी घर भएकी दिलमायाको करिब १० वर्षअघि श्रीमानसँग सम्बन्धबिच्छेद भएको थियो । त्यसपछि केही वर्ष खाडीमा काम गरेर उनी नेपाल फर्कीएकी थिइन् । त्यसपछि काठमाडौंका दोहोरी साँझहरुमा उनले दोहोरी गाउने गरेकी थिइन् ।

    लकडाउनका समयमा चरम आर्थिक संकटमा पुगेकी दिलमायाले यसअघि एकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

  • सौगात र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

    सौगात र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लामो ट्रेलरमा सौगात र सृष्टि श्रीमान र श्रीमतीको भूमिका प्रस्तुत भएका छन् ।

    रन्जित रौनियार निर्देशित सिनेमाले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दम्पतीमा आर्थिक समस्याले उत्पन्न हुने घरझगडा र पैसाका लागि कोख भाडामा लगाउने महिला आमा बन्छिन् । आफ्नो बच्चा अरुलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई कथाले प्रस्ट्याउन खोजेको छ ।

    निर्देशक रन्जितको कथा रहेको सिनेमा आगामी भदौ ३ गतेबाट नेपालभरका रिलिज हुँदैछ । मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको छ ।

    उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको सिनेमामा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रुण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसी आमाको कथामा सिनेमा निर्माण भएको हो ।

     

  • गायनमा चम्केकी प्रचण्डकी नातिनी स्मिता डिस्टिङ्सनसहित मास्टर्स पास

    गायनमा चम्केकी प्रचण्डकी नातिनी स्मिता डिस्टिङ्सनसहित मास्टर्स पास

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी चर्चित गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पुरा गरेकी छन् । लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स गरेकी हुन् ।

    स्मिता संगीतबाट छोटो विश्राम लिँदै उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन् । त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन् । नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रीत भइन् ।

    स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी हुन् । उनी बाल्यकालबाटै संगीतमा सक्रिय छिन् । ११ वर्षको उमेरमा स्मिताले राष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन् । स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ ।

    छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन् । डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले बताएकी छन् ।

    स्मिता मास्टर्सको अध्ययन सकेर केही समयअघि स्वदेश फर्किएकी थिइन् । अहिले कन्भोकेसनका लागि कलेजले बोलाएपछि फेरि लन्डन पुगेकी छन् । सम्भवतः अब उनलाई संगीत क्षेत्रमै सक्रिय देख्न पाइनेछ ।

  • मलाई ह्यारेस गरियो, तर आत्महत्या गर्दिनँ : तनुश्री दत्ता

    मलाई ह्यारेस गरियो, तर आत्महत्या गर्दिनँ : तनुश्री दत्ता

    काठमाडौं । आशिक बनाया आप्ने, चकलेट, ढोलजस्ता चर्चित चलचित्रहरुमा फिचर्ड भईसकेकी नायिका तनुश्री दत्तले आफू उत्पीडनको शिकार भएको र सुसाइड गर्न सोच्नेसम्मको अवस्थामा पुर्‍याएको बताएकी छन् ।

    उनले आफ्नो सामाजिक सञ्जालमार्फत लामो नोट साझा गर्दै बलिउड प्रवेश गर्दा पनि आफूलाई टर्चर भएको खुलाइन् ।

    बलिउडमा पहिला प्रवेश गर्दा पनि एक वर्षसम्म आफूलाई टर्चर आएको र त्यसको केही समयपश्चात आफूले पिउने पानीमा औषधि र स्टेरोइड मिसाएर गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपरेको उनको दाबी छ ।

    उनले नोटमा लेखेकी छन्, ‘कृपया कसैले केही गर्नुहोस् । मलाई धेरै नराम्रो तरिकाले उत्पीडनको सिकार बनाइ राखिएको छ । सबैले कान खोलेर सुने हुन्छ म कुनै हालतमा आत्महत्या गर्ने छैन न त मुम्बई छोडेर नै कतै जानेछु । म यहाँ आफ्नो करियरलाई पहिले भन्दा ठूलो उचाइमा पुनरुत्थान गर्न आएकी हुँ ।’

    तनुले आफूले पर्दाफास गरेका एनजीओहरु, मीटु अपराधी, बलिउड माफिया तथा महाराष्ट्रको पुरानो राजनीतिक चक्रद्वारा आफू ह्यारेसमेन्टको शिकार भएको बताएकी छन् । पहिलाजस्तै अहिले पनि आफ्नो फ्ल्याट बाहिर शंकास्पद घटनाहरु घट्ने गरेको कुरा उनले नोटमा उल्लेख गरेकी छन् ।

    ‘मलाई थाहा छ धेरैले मलाई बलिउडबाट खारेज गर्ने प्रयास गरिरहेका छन् । चीजहरू सबै मेरो हातबाट बाहिर जाँदैछन् । यो गम्भीर मानसिक, शारीरिक र मनोवैज्ञानिक उत्पीडन हो । यो कस्तो ठाउँ हो जहाँ केटा र केटीहरूलाई उत्पीडन गरेर मार्ने गरिन्छ । आज म, भोलि तपाईँ र पर्सि जो पनि हुन सक्छ ।’, उनी थप्छिन्, ‘यो सहरमा कुनै कानून र व्यवस्था छैन । म चाहन्छु कि महाराष्ट्रमा राष्ट्रपति शासन र सैन्य शासन स्थापित होस् ।

    सन २०१० देखि तनुश्रीले बलिउडबाट अनिश्चितकालीन ब्रेक लिएकी थिइन् । करिब ८ वषै पछाडि सन् २०१८ मा मात्रै उनले बलिउडमा आफ्नो कमब्याक गरेकी थिइन् ।

    बलिउड फर्किएपछि तनुश्रीले एक अन्तर्वार्तामा चलचित्र ‘हर्न ओके प्लिज’ को एक गीत सुटिङका ​​क्रममा आफू मीटुको सिकार भएको भन्दै अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

  • अनिलको देउडा गीत ‘रेलिमोई’ मा इटालियन मोडेल मार्गोस तटेला

    अनिलको देउडा गीत ‘रेलिमोई’ मा इटालियन मोडेल मार्गोस तटेला

    काठमाडौं । ‘आई लभ यू’, ‘प्रेमपत्र’, ‘डुब्न देउ’, ‘इञ्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानिसके’ लगायतका दर्जन बढी सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत सार्वजनिक गरेका हुन् ।

    पप गीतबाट नाम कमाएका अनिलले यसपटक देउडा गीत ल्याएका हुन् । आफ्नै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ ।

    सप्तरङ्ग नामक सांगीतिक टुरमा रहँदा अनिललाई देउडा गीत गाउने प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् ।

    गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडिओमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ । यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेको हो ।

    अनिलले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन । आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फलोअर्स छन् ।

    उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यु २ गीत छिट्टै दर्शकसमक्ष ल्याउँदैछन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संगृहीत गर्दैछन् ।

  • ‘सम्झना-बिर्सना’को बिर्सनलायक व्यापार, तीन दिनमै हलबाट उत्रेपछि पूजा-आकाशको स्टारडममा प्रश्न

    ‘सम्झना-बिर्सना’को बिर्सनलायक व्यापार, तीन दिनमै हलबाट उत्रेपछि पूजा-आकाशको स्टारडममा प्रश्न

    काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’ रिलिज भएको तीन दिनमै हलबाट उत्रेको छ । भदौ ३१ बाट देशभर एकसाथ रिलिज भएको यो चलचित्रले नेपाली बजारमा तहल्का पिट्ने अनुमान थियो । तर, रिलिज भएको केही दिनमै हलबाट फिल्म उत्रिन थालेपछि नम्बर वान कहलिएकी नायिका पूजा शर्माको स्टारडममाथि नै प्रश्न उठेको छ ।

    पहिलो र दोस्रो दिन न्यून व्यापार गरेको चलचित्रले तेस्रो दिनदेखि खासै व्यापार गर्न सकेन । पूजा भएपछि जस्तोसुकै चलचित्र र म्युजिक भिडियो पनि चल्छ भन्ने सोचले अहिले प्रायः निर्माताहरुबीच उनलाई लिने होडबाजी नै चलेको छ । जस्तोस्तरको फिल्म बनाए तापनि चल्तीका कलाकार राखे चलचित्र चल्छ भन्ने सोच राख्ने निर्देशक र निर्माताको लागि यो चलचित्र एउटा झापड बनेको छ ।

    यस्तै आशा राखेर बसेका ‘सम्झना बिर्सना’ चलचित्रको निर्माण टीम चलचित्र नचलेपछि ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैं भएर बस्नुपरेको छ ।

    केही समय अगाड रिलिज भएको चलचित्र ‘कबड्डी ४’ ले अहिलेसम्मकै सबैभन्दा धेरै शो पाएर नेपाली सिने जगतमा इतिहास रचेको थियो । चलचित्र ५१ दिन मनाउन सफल भएको छ ‘कबड्डी ४’ले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएर सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राखेको छ ।

    तर, ‘सम्झना बिर्सना’ लाई भने करोड क्लबमा पस्न पनि धौधौ परिरहेको छ । कति हलबाट यो चलचित्र उत्रिसक्यो भने कति हलमा उत्रिने क्रम जारी छ । फिल्मले ५ दिनमा मात्र ५१ लाखको ग्रस कलेक्सन गरेको छ ।

    चलचित्रको प्रोमोशनको लागि भनेर केही साताअघि देखि नै निर्माण टीम प्रचारप्रसार कार्यक्रममा दौडिरहेको थियो । प्रोमोशनको समयदेखि नै पूजाले आफूहरुलाई साथ नदिएको भन्दै निर्माण टीमले गुनासो व्यक्त गर्दै आएका थिए । रिलिज भइसकेपछि शर्मा ‘सम्झना बिर्सना’ लाई छाडेर आफ्नो ब्यानरको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को लागि अष्ट्रेलिया उडेकी थिइन् । यसबाट निर्माण टीम खिस्रिक्क पर्नुबाहेक अरु कुनै विकल्प रहेन ।

    चलचित्र रिलिज भएको दोस्रो दिन पूजा-आकाश हल भिजिट र दर्शकको प्रतिक्रियाको लागि अष्टनारायण हल पुगेका थिए । हलमा सामान्य दर्शकभन्दा पूजा-आकाशको फ्यान क्लबको लर्को लामो देखिन्थ्यो । तर, आफ्नै चलचित्र हेर्न पुगेका दर्शकमाथि पूजा आक्रोशित भएर जवाफ दिएपछि माहोल खलबलिएको थियो । भीडमा आफ्नो नाम कम र आकाशको नामको हुटिङ धेरै आएपछि पूजाले फ्यानहरुलाई नै गाली गरेकी थिइन् ।

    कुनै समय चुम्बकजस्तो सम्बन्ध भएको यो जोडी अहिले आफ्नै चलचित्रको प्रोमोशनमा पनि अलग-अलग हिसाबले आउँछन् । केही हुँदा एकै ठाउँमा भेला हुने दुईजनाको फ्यानसमेत अहिले दुई भागमा विभाजित छन् । पूजा-आकाशको जोडीमा आएको खटपटी, फ्यान विभाजन र बेलाबेलामा आइराख्ने तीता विवादहरुले यो जोडीको चलचित्र नचलेको हुनसक्ने धेरैको अनुमान छ ।