Category: कलाप्रेस

  • भारतमा ‘प्रेमगीत ३’ काे पाेस्टर रिलिज

    भारतमा ‘प्रेमगीत ३’ काे पाेस्टर रिलिज

    काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी पोस्टर प्रक्षेपण कार्यक्रम इन्डियामा सम्पन्न भएको छ । पहिलो इन्डो–नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषाको डबसहित भारतमा रिलिज हुने भएको हो ।

    चलचित्र रिलिज हुने भएपछि भारतमा पोष्टर लन्च ईभेन्ट राखिएको थियो । जसका लागि चलचित्रका नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्देशक सन्तोष सेन पुगेका थिए ।

    पत्रकारले गरेका प्रश्नमा प्रदीपले आफू अभिनित चलचित्र भारतमा रिलिज हुन लागेकोमा आफू हर्षित भएको बताए । निर्देशक सुभाष कालेलाई धन्यवाद दिँदै उनले भने, ‘भारत र नेपालको सिमाना मात्रै खुल्ला होइन, पाहुनालाई स्वागत सत्कार गर्ने मन पनि खुल्ला छ । र मलाई विश्वास छ कि हामीलाई यहाँ स्वागत सँगसँगै यहाँका दर्शकहरुले अथाह माया पनि दिनुहुनेछ । धन्यवाद ।’

    भारतीय चलचित्र निर्माता सुभाष काले ‘प्रेमगीत ३’ का निर्माता हुन् । केही दिन अघि मात्र प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित चलचित्र ‘प्रेमगीत ३’ नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिज हुने खबर सार्वजनिक भएको थियो ।

    सो खबरलगत्तै भारतमा ‘प्रेमगीत ३’ को ट्रेलर रिलिज डेट र फिल्म रिलिज डेटसहितको भारतीय संस्करणको पोस्टर निर्माताले साँझा गरेका थिए ।

    भारत मात्र नभएर जी–म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टद्वारा फिल्मलाई विश्वभर रिलिज गराउने तयारी भइरहेको छ भने हल रिलिजको ठिक आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुनेछ । चलचित्र सेप्टेम्बर २३, २०२२ अर्थात यही असोज ७ गतेबाट भारतका सम्पूर्ण सिनेमाघरहरुमा रिलिज हुनेछ ।

  • त्रिसरामा राणेसँग फोटो खिच्न हानथाप, युवतीहरूको रुवाबासी !

    त्रिसरामा राणेसँग फोटो खिच्न हानथाप, युवतीहरूको रुवाबासी !

    काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिखेर नेपालमा छन् । आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

    बलिउडमा खासै चर्चा नपाएका यी नायकको नेपालमा भने राम्रै क्रेज देखियो । उनी कीर्तिपुरमा पुग्दा मानिसहरूको भिड जम्मा भएको थियो । राणेसँग फोटो खिच्नेको लर्को नै लाग्यो ।

    नेपालका फ्यानहरूको यस्तो क्रेज देखेर उनी हौसिएका थिए । उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गराए । खबर पाउने वित्तिकै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट बाटैदेखि टिकटक भिडियो बनाउँदै पुगेका थिए ।

    राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए । उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो । केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोए । केही ‘आई लभ यू’ भन्दै अटोग्राफ माग्दै थिए । छोटो समयको लागि पुगेका हर्ष ५० मिनेट बसेर त्यहाँबाट निक्लिए ।

    आफूले ५० मिनेटभन्दा बढी समय दिन नसकेकोमा उनले माफी पनि मागे । तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरेका छन् ।

    राणे भारतमा खासै चलेका कलाकार होइनन् । २०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए । सो चलचित्रमा उनको अभिनयमा प्रशंसा भएपछि राणेको खासै ठूलो चर्चा भएन । एक किसिमले भन्नुपर्दा उनी बलिउडमा ओझेलमा परेका नायक हुन् ।

  • सन्तोष सेनको रहर- अनि पुग्यो ‘प्रेमगीत- ३’ मुम्बई सहर

    सन्तोष सेनको रहर- अनि पुग्यो ‘प्रेमगीत- ३’ मुम्बई सहर

    बलिउड बजारमा नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिजको तयारीमा छ । भारतका हजारभन्दा बढी थिएटरमा लाखौं दर्शकलाई नेपाली फिल्मको परख गराउन तम्तयार छ फिल्म । सेप्टेम्बर २३ बाट रिलिज हुने फिल्मलाई भारतीय दर्शकले सप्रेम माया देलान् कि नदेलान्, त्यो हेर्नै बाँकी छ । तर, बलिउड फिल्मलाई सधैँ ‘वार्म वेलकम’ गरेका नेपाली दर्शकका लागि भने यो उत्सवमय क्षण हो ।

    भारतका थिएटरहरूमा ‘प्रेमगीत’ आफ्नो गीत बोकेर कसरी पुग्यो ! निर्माता तथा निर्देशक सन्तोष सेनले कसरी फिल्मलाई मुम्बाइका थिएटरमा पुर्‍याए ! यसको अन्तरकुन्तर केलाउन २०७६, चैत २८ मा फर्कनुपर्ने हुन्छ ।

    यदि कोरोनाले दुनियाँलाई त्राहीत्राही नबनाएको भए, ०७६, चैत २८ मा हलमा रिलिज भइसक्थ्यो । रिलिजका लागि तम्तयार फिल्म अचानक रोकियो । कोरोनाले ‘प्रेमगीत’ लाई मात्रै होइन, अन्य धेरै फिल्मलाई ठप्प पारिदिएको थियो । फिल्महरू मात्रै होइन, दुनियाँ नै ठप्प भएको थियो । मानिसहरू घरका साँघुरो कोठाहरूमा थुनिएका थिए । मान्छेहरूको सामिप्यताबाट मान्छेहरू नै अलग बनेका थिए ।

    त्यो भयानक मानवीय दुःखका बीचमा ‘प्रेमगीत ३’ रोकिनु उस्तो आश्चर्यजनक थिएन । तर, संसारभरका हजारौं फिल्म र निर्माताहरू तनावमा गएका थिए । तनावमा जानेहरूको एक प्रतिनिधि थिए, निर्माता सन्तोष सेन ।

    रिलिजका लागि ठिक्क परेको फिल्म रोकिँदै गर्दा सेनले सोचेका थिए, ‘अवस्था सामान्य भएपछि फेरि हलमा लगाउनु त छँदैछ ।’

    फिल्मको पोस्ट प्रोडक्सको कामलाई थाति राखेर टिभीमा रिमोट चलाउँदै गर्दा उनको नजर भारतीय टिभी च्यानलमा रोकियो । कोरोनाको त्रास र हल्लाले आफ्नो फिल्म नै बिर्सिसकेका सेनले पुराना साउथ फिल्महरू हेरे । प्रोडक्सन भ्यालु कमजोर भएका फिल्महरू हेर्दैगर्दा सेनको दिमागमा हरियो बत्ती बल्यो, ‘यस्तो क्वालिटी नभएका फिल्महरू त भारतको टिभीमा आउँछन् भने मेरो फिल्मलाई यी टिभीमा प्रसारण गर्न किन प्रयास नगर्ने !’

    यसो हुँदा संसारभरका दर्शकले नेपाली फिल्मको स्वाद चाख्ने नै भए, साथै नेपाली फिल्म नै नहेरेका दर्शकसम्म फिल्म पुग्ने भयो । सेनको दिमागमा च्वास्स पसेको सोचको भ्रूण हुर्कँदै गयो । अन्ततः सेन ठोस निर्णयमा पुगे, ‘कमसेकम स्याटेलाइट रिलिज भयो भने पनि हुन्छ । एकपटक त प्रयास गरिहेर्छु ।’

    रिमोट घुमाउँदै गर्दा जन्मेको सोचलाई आकार दिन निर्णय लिएर मात्रै केही हुनेवाला थिएन । मुम्बईको गल्ली चाहर्नुपर्ने चुनौती सामुन्ने खडा थियो । लाखौं सपनाहरूको सहर, लाखौं असफलताहरूको सहरमा पुगेर फिल्मको स्याटेलाइट रिलिजबारे डिल गर्नु सानो सहरबाट गएका सेनका लागि खुद्रा विषय थिएन । तैपनि अजनवी सहरमा एकपटक कोसिस गरिरहेर्ने ध्येयले नायक प्रदीप खड्का र सेन मुम्बई हान्निए ।

    अर्का निर्देशक छेतेन गुरुङ परलोक भइसकेका थिए । अपरिचित र अन्जान मान्छेहरूको सहरमा फिल्म बोकेर गएका सेन र खड्कासित कुनै क्लु थिएन कि कहाँ कसरी पुग्ने ! कसलाई भेटेर डिल गर्ने ! अलमलै अलमलबीच पुगेका सेन र खड्काको दिमागमा आशाको मसिनो सलेदो चाहिँ सल्किइरहेको थियो ।

    सन्तोष र खड्काको मुम्बईसम्मको त्यो सफरलाई कुनै फिल्मजस्तो मान्ने हो भने त्यसको मध्यान्तर र क्लाइमेक्स बाँकी नै थियो । भर्खरै ओपनिङ सिन सकिएको थियो ।

    टिभीमा फिल्म रिलिज गर्ने अनिश्चित चाह बोकेर मुम्बई पुगेका सेनले एजेन्ट भेट्टाए । उनीहरूलाई फिल्म स्क्रिनिङ गराउनुपर्ने अभिभारा आइपर्‍यो । वितरकलाई देखाउनुपर्ने भयो । फिल्मको दृश्यपानपछि उनीहरूले निक्र्यौल गर्ने थिए, ‘फिल्म चलाउने वा नचलाउने !’

    नायक खड्का ‘प्रकाश’ फिल्मको सुटका लागि नेपाल फिरिसकेका थिए । एकातिर सेन र उनका भाइ, अर्कातिर १० जनाको जम्बो टिम छ । दुई पत्रकार पनि छन् । उनीहरू एक एक सिन टिपोट गरिरहेका छन्, कुन कुन मुद्दा छन्, केके कुराले दर्शकलाई खिचिराख्न सक्छ । ‘भुलभुलैया’ जस्ता फिल्म वितरण गरेको मधु इन्टरटेनमेन्टका प्रतिनिधिले फिल्म हेर्न सुरू गरे ।

    उनीहरू फिल्म हेरिरहेका थिए, सेन उनीहरूलाई हेरिरहेका थिए । उनीहरूले के भन्लान् ! यदि उनीहरूलाई बोर लाग्यो भने बीचमै रोकेर पुग्यो भन्लान् कि ! छेवैको बान्द्रामा किनारसँग ठोक्किइरहने छालभन्दा ज्यादा हलचल भइरहेका थिए सेन । के थाहा, ‘हम ने देखा, बन्द कर दिजिए’ पो भन्लान् कि !

    तैपनि जसोतसो उनीहरूले मध्यान्तरसम्म फिल्म हेरे । मध्यान्तर भयो । फिल्मको क्लाइमेक्स त बाँकी नै थियो । सेनको मनमा उठिरहेको छालजस्तो डरको पनि क्लाइमेक्स बाँकी नै थियो । उनीहरूले गर्ने एक निर्णयले मात्रै सेनलाई शान्त बनाउन सक्थ्यो । मध्यान्तरपछि एक प्राविधिकले मधु इन्टरटेनमेन्टका प्रतिनिधिहरूलाई ‘टी ब्रेक’ लिने कि भनेर सोधे ।

    तर, उनीहरूले फिल्म नै निरन्तर हेर्ने बताए । यसले सेनलाई थोरै उत्साहित बनाइदियो । उनीहरू लगातार फोन काटेर फिल्म हेरिरहेका थिए । जब क्लाइमेक्स आयो, उनीहरूको आँखामा पनि आँसु आयो । त्यो सुन्दर क्षणबारे सेन भन्छन्, ‘मैले त फिल्म पचासौं पटक हेरिसकेको थिएँ । उनीहरूको अनुहार हेर्नु थियो मलाई । उनीहरूको आँखामा आँसु देखेपछि लाग्यो, फिल्म मन पराए ।’

    यसपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरू भयो । चर्चित कलाकारलाई ल्याएर भ्वइस ओभर गर्न लगाए सेनले । अन्ततः अहिले भारत–नेपाल र संसारभर एकैपटक रिलिजको तरखरमा छ फिल्म ।

    टिभीमा फिल्म लगाउन पाए हुन्थ्यो भनेर पुगेका सेनको कथामा यस्तो ट्वीस्ट आयो कि अहिले थिएटरमै रिलिज हुन आँटेको छ ‘प्रेमगीत- ३’ । नेपाल प्रेसको कार्यालयमा सेन अनुहार उज्यालो बनाएर भन्छन्, ‘अहिले त मलाई लागिरहेको छ कि मैले ५० वर्षपछि पाउने सफलता अहिले पाइरहेको छु । त्यहाँको प्रोडक्सन हाउसले हिन्दी भाषामा डब गरेर विश्वभर रिलिज गर्दैछ । मलाई त लाग्छ, हामीमा पनि केही दम रहेछ ।’

    दम भएको फिल्म बनाउनेबारे सेन र छेतेन गुरुङको पाँच-सात वर्षअघि नै गफगाफ भएको थियो । छेतेनले भनेका थिए, ‘म पिरियड ड्रामा बनाउँछु । बाइसे, चौबीसे राज्यको कथामा बनाउँछु ।’

    त्यतिखेरको छेतेन-सन्तोष संवाद अहिले यस्तो चुनौती मोल्नका लागि रै’छ जस्तो लाग्छ सेनलाई । सेन उत्साह पोख्छन्, ‘विदेशी फिल्मले जस्तो विषय उठान गरेर क्वालिटीको फिल्म बनाउँछौं भनेर चुनौती मोलेका थियौं । अहिले मेरो टिमको मिहेनतले यसरी रिलिज गर्न पायौं ।’

    ‘प्रेमगीत ३’ पिरियड ड्रामा भए पनि यो नित्तान्त काल्पनिक कथा भएको बताउँछन् सेन । लोमान्थाङ लोकेसन हन्टिङमा जाँदा सेनहरूले थाहा पाए, कुनै समय त्यहाँ विष्ट राजाले शासन गर्थे । हिमाली भेगको राज्यमा एक गाउँबाट अर्को गाउँ निकै पर हुन्थ्यो । हिँडेर पनि एक दिन, दुई दिन लाग्थ्यो । जाडो याममा विष्ट राजालाई जनताले करस्वरूप अनाज बुझाउनुपर्थ्यो । उक्त अनाजले राजाले सेनाहरू पाल्थे । सेनाहरूले छिमेकी राज्यबाट हुनसक्ने आक्रमणबाट गाउँलेलाई जोगाउँथे ।

    सेनले फिल्ममा त्यही समयको कथालाई क्यास गरेका छन् । साथै हिमालय वरिपरिको कथा भएकाले पनि मधु इन्टरटेनमेन्टलाई मन परेको आँकलन गर्छन् सेन ।

    हिमालयको कथा, हिमालमै सुट गर्नुपर्ने । सेन सम्झिन्छन्, ‘हामी सुटमा जाँदा स्थानीयबासी जाडो थेग्न नसकेर तल बेँसी झरेका थिए । खाद्यन्न सबै बोकेर झरेका थिए । तर, हाम्रो डेढ सयजनाको युनिट भने सुटका लागि उक्लिरहेको थियो । उनीहरूले हामीलाई बहुलाएको भने । बानी नभएको मान्छेहरू त्यस्तो जाडोमा टिक्न सक्दैन भने । तर, हामी भने टिकेर फिल्म खिच्ने आँट लिएर गएका थियौं ।’

    जाडो यस्तो थियो कि ट्वाइलेटमा पानी उमालेर लानुपर्थ्यो । तातो पानीले नुहाउँदा एकैछिनमा कपालमा बाँकी रहेको पानी वरफ बनिहाल्थ्यो । तैपनि सेनहरूले १२० दिन जति सुट गरे । प्राय फिल्महरू बढीमा ५०-६० दिन मात्रै सुट हुन्छन् । यस्तो दुःख गरेर फिल्म बनाउन किन परेको सेनलाई ? सेनको फिल्मसँगको लगाव र झुकाव के हो ?

    सेन सुनाउँछन्, ‘पहिलो त म मीठो दर्शक हो । समयले मलाई यहाँ ल्याइपुर्‍यायो ।’

    सेन ‘चंखे, शंखे पंखे’ नामक फिल्मबाट इन्भेस्टरको रूपमा उद्योगमा छिरे । फिल्म निर्माणबारे सामान्य ज्ञानसमेत नबटुली हाम फालेका सेनलाई थाहै थिएन, निर्माताको भूमिका के हो ! पैसा हाल्ने मान्छे नै निर्माता हो त ? पैसा हाल्दैमा निर्माता होइँदैन, फाइनान्सर मात्रै होइन्छ भनेर सेनले पहिलो फिल्मबाट बुझे ।

    फिल्म असफल भयो, तर सेनले धेरैथोक सिके । फिल्मको गहिराइमा जान थाले । सेन भन्छन्, ‘पछि प्रेमगीत आउँदा निर्माता हुन लायकको बनेँ । निर्माता बन्नु मेरो चाहना थियो, अहिले त्यसमै लगाव छ ।’

    उनले पहिलो फिल्मबाट पाँच सात लाख मात्रै पाएका थिए । तर, पैसा भने डेढ करोड डुबेको थियो । प्रायः नेपाली फिल्ममा लगानी गर्ने निर्माता एक फिल्ममा लगानी गरेर डुबेपछि फिल्म क्षेत्रबाटै लापत्ता हुन्छन् । सेन भन्छन्, ‘डेढ करोड त डुबाइसकेँ । अब एकपटक ट्राइ गर्नुपर्छ । सधैँ ब्याडलक नलाग्ला नि भनेर सोचेर प्रेमगीत बनाएँ !’

    ‘प्रेमगीत’ सफल मात्रै भएन, अघिल्लो फिल्ममा डुबेको लगानी समेत उठाउन सफल भयो । अहिले ‘प्रेमगीत’कै सिरिज बनाएर बलिउडसम्म पुगेका छन् सेन । यति खुसी र उल्लासको क्षणमा सेनले कसैलाई अत्याधिक ‘मिस’ गरिरहेका छन् भने उनी निर्देशक छेतेन नै हुन् ।

    छेतेनलाई आफ्ना लागि ‘देउता’ भनिदिन्छन् सेन । सेनलाई निर्देशक बनाउने पनि छेतेन नै थिए । सेनले छेतेनलाई निर्देशकको बागडोर सम्हाल्ने प्रस्ताव गर्दा उनले भनेका थिए, ‘हजुरले निर्देशन गर्ने हो । म निर्माता भएर पूरा सपोर्ट गर्छु । प्री प्रोडक्सन, फिल्डदेखि पोस्ट प्रोडक्सनमा पनि सपोर्ट गर्छु ।’

    तर, ठूलो क्यानभासको फिल्म भएकाले छेतेनले नै दाजुभाइ मिलेर निर्देशन गर्ने प्रस्ताव गरे । र दुवैले संयुक्त रूपमा निर्देशन गरे ।

    अहिले रिलिजको संघारमा छेदेनलाई पल प्रतिपल सम्झिरहेका सेन भन्छन्, ‘विश्वभर नेपालीहरू छरिएर रहनुभएको छ । नेपाली फिल्म हिन्दीमा आउँदैछ, उहाँहरूले थिएटरमा गएर हेरिदिन अनुरोध छ । रिलिज गर्ने कम्पनीले नेपाली दर्शक रहेछ भनेर विश्वास गर्छ । र बाँकी नेपाली फिल्मलाई बलिउडको बाटो सहज हुँदै जान्छ ।’

  • प्रकाश सपुत अभिनीत पहिलो चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ गीत सार्वजनिक (भिडिओ)

    प्रकाश सपुत अभिनीत पहिलो चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी अभिनीत चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक भएको छ ।

    रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत रहेको उक्त गीतमा निशान भट्टराईले स्वर दिएका छन् । रीमा इन्टरटेन्मेन्टबाट साझा भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

    सार्वजनिक भएको ‘के बर मागी फर्क्यौ’ गीत रमेश पौडेलले २०४९ सालमा नै लेखेका थिए । ३० वर्ष पछाडि उक्त गीतलाई भिडियोमा उतारिएको हो ।

    असोज १४ बाट देशभर एकसाथ रिलिज हुन लागेको चलचित्र ‘परदेशी २’ २०७२ सालमा रिलिज भएको चलचित्र ‘परदेशी’ को दोस्रो भाग हो । प्रशान्त तामाङ र रजनी केसी अभिनीत चलचित्र ‘परदेशी’ सो वर्षको शीर्ष १० चलचित्रहरू मध्ये एक समेत घोषित भएको थियो ।

    गायकबाट नायक बन्न होमिएका सपुतको भने यो डेब्यु चलचित्र हो । प्रकाश र केकी लगायत यस चलचित्रमा वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, निर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की, आदिको अभिनय रहेको छ ।

  • ‘कमेडी हब’ कन्ट्रोभर्सी: माफी माग्दै माग्ने बुढाले हटाए विवादित दृष्य

    ‘कमेडी हब’ कन्ट्रोभर्सी: माफी माग्दै माग्ने बुढाले हटाए विवादित दृष्य

    काठमाडौं । टेलिभिजन शो ‘कमेडी हब’ को ट्रेलर विवादित बनेपछि हटाइएको छ ।

    आइतबार राति सार्वजनिक गरिएको ट्रेलरमा भगवान् शिवजीलाई मजाक बनाएर धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै आलोचना भएको थियो । हास्य कलाकार सीता न्यौपानेले महादेवसँग टिकटक बनाएको भिडिओ ट्रेलरमा राखिएको थियो ।

    कार्यक्रमका निर्देशक केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले माफी माग्दै उक्त दृष्य युट्यूब, टिकटक, फेसबुकबाट हटाएको जानकारी गराएका छन् ।

    ‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष हामी क्षमा माग्दछौ ।’ घिमिरेले लेखेका छन् ।

  • ‘प्रेमगीत ३’ बन्यो पहिलो इन्डो–नेपाली फिल्म, नेपाल र भारतमा एकसाथ रिलिज हुने

    ‘प्रेमगीत ३’ बन्यो पहिलो इन्डो–नेपाली फिल्म, नेपाल र भारतमा एकसाथ रिलिज हुने

    काठमाडाैं । नायक प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित चलचित्र ‘प्रेमगीत ३’ नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिज हुने भएको छ। यो चलचित्र हिन्दीमा डब भएको पहिलो इन्डो–नेपाली चलचित्र हो। निर्माताले भारतीय संस्करणको पोस्टरसहित ‘प्रेमगीत ३’ सेप्टेम्बर २३, २०२२ अर्थात यहीँ असोज ७ गते भारतका सम्पूर्ण सिनेमाघरहरुमा रिलिज हुने सार्वजनिक गरेका हुन्।

    चलचित्रको ट्रेलर भने भदौ १६ मा साँझा हुनेछ। ‘प्रेम गीत ३’ २०१६ मा रिलिज भएको सुपरहिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण हो। तीनवटै संस्करणमा नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता प्रदीप खड्काले मुख्य भूमिका निर्वाह गरेका छन्।

    जी–म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टद्वारा फिल्मलाई विश्वभर रिलिज गर्न लागिएको हो। निर्माताले महंगो मूल्यमा फिल्मको राइट्स भारतलाई बेचेका हुन। भारतमा रिलिज हुने यो चलचित्रमा चारवटा गीतहरु छन् जसमा चर्चित गायक अंकित तिवारी, पलक मुछाल, देव नेगी, राहत फतेह अली खान, पवनदीप राजन आदिले स्वर दिएका छन् ।

    ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङका अलावा शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको पनि अभिनय रहेको छ । चलचित्रलाई सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेका हुन् भने सेन फिल्मका निर्मातासमेत हुन। हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुनेछ ।

  • भ्रामक विज्ञापनमा तस्बिर दुरुप्रयोग भएको केकीको गुनासो

    भ्रामक विज्ञापनमा तस्बिर दुरुप्रयोग भएको केकीको गुनासो

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले भ्रामक विज्ञापनमा आफनो तस्बिर दुरुप्रयोग भएको बताएकी छन् ।

    केकीको प्रयोग गर्दै तस्बिर ‘बेटर मी’ नामक एक ब्रान्डले तौल घटाउने औषधी भन्दै प्रचार गरेपछि केकी उक्त विज्ञापनमा आफनो तस्बिर दुरुप्रयोग भएको बताएकी हुन् ।

    उनले यस्तो विज्ञापनमा काम नगरेको उनले बताइन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्ता विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेकी छन् ।

    उनले लेखेकी छन्,‘ मेरो नाम र तस्वीरहरुको चरम दुरुपयोग गरि यस्ता भ्रामक बिज्ञापनमा प्रयोग गरिएको पाइएकोमा यसमा कुनै सत्यता नभएको र यसमा बिश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’

  • नीता ढुंगानालाई एपेन्डिसाइटिस, मेडिसिटीमा भर्ना भइन्

    नीता ढुंगानालाई एपेन्डिसाइटिस, मेडिसिटीमा भर्ना भइन्

    काठमाडौं । भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

    आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

    नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

    नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।

  • नेपाली कर्मचारीहरूको प्रथम कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक

    नेपाली कर्मचारीहरूको प्रथम कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक

    इटहरी । नेपाली निजामती कर्मचारीहरूको काव्य ग्रन्थ इटहरीमा सार्वजनिक भएको छ ।

    एकीकृत सरकारी कर्मचारी संगठन नेपालको सुनसरी जिल्ला कार्यसमितिले प्रकाशन गरेको १२३ पूर्व र वर्तमान कर्मचारीहरूको ‘राष्ट्रसेवक काव्यकुन्ज’ को लोकार्पण भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा गीतकार राजन राईले ग्रन्थ लोकार्पण गरेका हुन् ।

    कार्यक्रमका वक्ता कवि मनु मन्जिलले कर्मचारीहरूको साझा काव्य ग्रन्थ आफूले पहिलो पटक यही देखेको बताए ।

    सल्लाहकार प्रकाश राईले यो संग्रहले नेपाली कविता इतिहासमा नयाँ अध्याय लेखेको र विद्यार्थीहरूलाई शोध गर्न संग्रह लायक हुने बताए ।

    १२३ कवि समेटिएकोमा पूर्व कर्मचारी सत्यमोहन जोशी, दिनेश अधिकारी देखि वर्तमान कर्मचारीहरूको कविताहरू संग्रहमा अटाएका छन् । कार्यक्रममा संग्रहमा अटाएका ६ कवि र अन्य ६ अतिथि कविले समेत कविता सुनाएका थिए ।

  • हलिउड अभिनेता लियोनार्डोले किन दिए नेपाललाई बधाई ?

    हलिउड अभिनेता लियोनार्डोले किन दिए नेपाललाई बधाई ?

    काठमाडौं । चर्चित हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् । २०२२ सम्ममा नेपालमा रहेका जंगली बाघको संख्या दोब्बर गराउने लक्ष्य प्राप्त गर्न सफल भएकोमा लियोनार्डोले सामाजिक सञ्जाल मार्फत नेपाललाई बधाई दिएका हुन् ।

    ‘यो वर्षको विश्व बाघ दिवस वास्तवमा नै खास बनेको छ । नेपालले २०१० मा गरेको विश्वव्यापी प्रतिबद्धता अनुरूप २०२२ मा बाघको संख्या दोब्बर भएको घोषणा गरेको छ । यो कोषेढुंगा पार गरेकोमा नेपाललाई बधाई।’ उनले लेखेका छन् ।

    उनी थप्छन्, ‘सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा हाल बाघको संख्या ३५५ छ । सन् २०१० मा यो संख्या १२१ मात्र थियो । यो एक अविश्वसनीय उपलब्धि हो । यो विगत १२ वर्षदेखि नेपाल सरकार तथा विश्व वन्यजन्तु कोष लगायतका निकाय वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो।’

    बाघको संख्या बढेसँगै यसले सिकार गर्ने संख्या पनि बढ्ने भएकोले बाघबाट जोगिन कदम चाल्नुपर्ने पनि लियोनार्डोको भनाई छ ।

    उनले नेपालले वन्यजन्तुसँग सुरक्षित रहन ‘प्रधानमन्त्री मानव वन्यजन्तु उद्धार तथा राहत कोष’ सुरु गर्नु पनि प्रशंसनीय रहेको पनि बताएका छन् ।

    सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले पनि सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने विश्वव्यापी प्रतिबद्धता गरेको थियो । नेपालले हालै मात्र सो प्रतिबद्धता पुरा गरेको घोषणा गरेको छ ।

  • रणविर र श्रद्दा अभिनित फिल्मको सेटमा आगलागी, एक जनाको मृत्‍यु

    रणविर र श्रद्दा अभिनित फिल्मको सेटमा आगलागी, एक जनाको मृत्‍यु

    काठमाडौं । बलिउडका दुई चलचित्रहरुको सेटमा आगलागी हुँदा एक जनाको मृत्‍यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार लभ रन्जनद्वारा निर्देशित रणवीर कपुर तथा श्रद्दा कपुर अभिनित चलचित्र र राजश्री प्रोडक्सनको ब्यानरमा निर्माणाधिन चलचित्रहरुको सेटमा आगलागी भएको हो ।

    आगलागीमा परी ३२ वर्षिय कर्मचारी मनिस देवासीको मृत्‍यु भएको छ भने अर्का एकजना कर्मचारी गम्भिर घाइते भएका छन् । चित्रकुट मैदान पश्चिम अन्धेरीको सेटमा शुक्रबार भएको आगलागी नियन्त्रण गर्न ५ घण्टाभन्दा बढी समय लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    घटनामा परी ज्यान गुमाएका कर्मचारीले लभ रन्जनको सेटमा लाइटिङ्गको काम गर्ने गरेको पश्चिमी भारत सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले भारतिय संचार माध्यमहरुलाई जानाकारी गराएका छन् ।

    आगलागीको कारण भने हालसम्म पत्ता लागिसकेको छैन । लव रन्जनको फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका फिल्म निर्माता बोनी कपूरले शुक्रबार बम्बे टाइम्ससँग आगलागी हुँदा सेटमा लाइटिङ्गको काम मात्र भइरहेको र शनिबारबाट छायांकन सुरु गर्ने अपेक्षा गरिएको जनाएका छन् ।

    राजश्री प्रोडक्सनको फिल्मबाट बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेका धर्मेन्द्रका नाति र सनी देओलका कान्छो छोरा राजवीर देओल पनि आगलागीको समयमा फ्लिमकै सेटमा रहेको बताइएको छ ।

  • यस्तो छ छक्का पञ्जा ४ मा दीपकराज गिरिको लुक्स

    यस्तो छ छक्का पञ्जा ४ मा दीपकराज गिरिको लुक्स

    काठमाडौं । आजकल कही नभेटिने भिडियो टिकटकमा छ्यापछ्याप्ती भेटिन्छन् । टिकटकमा राखिएकै भिडियोको कारण केहीलाई न्याय मिलेको छ भने त्यही टिकटकमा राखिएकै भिडियोको कारण तनाव पनि बेहोरिरहेका छन् ।

    अहिले ठ्याक्कै यस्तै भएको छ छक्का पञ्जाको टिमलाई । लगातार ३ वटा सिरिज हिट भएपछि छक्का पन्जा ४ निर्माण गरिरहेको उक्त चलचित्रको सुटिङ केही दिन अघिबाट शुरु भएको थियाे ।

    फिल्मको छायांकन विभिन्न ठाउँमा भइरहेको छ । फिल्म सुटिङ भइरहेको हेर्न मानिसहरुको भीड लागेको छ ।  त्यही सुटिङ हेर्न पुगेका एक व्यक्तिले सुटिङ भइरहेको भिडियो खिचे र टिकटकमा छक्का पञ्जा ४ मा दीपकराज गिरिकाे फस्ट लुक भन्दै भिडियो अपलोड गरे ।

    ती व्यक्तिले सार्वजनिक गरेको भिडियोमा पाँचखाल कारागारबाट निस्कदै गरेको दीपकराज गिरीलाई पञ्चेबाजाले स्वागत गरेको देखिन्छ । यो भिडियो सार्वजनिक भएलगतै यता निर्माण पक्ष तनाबमा छन् ।

    निर्माण पक्षले उक्त भिडियो टिकटकबाट हटाउन आग्रह गरिसकेको छक्का पन्जा ४ की कलाकार दीपाश्री निरौलाले बताइन् ।

    उनले नेपालप्रेससँग भनिन्,‘ मैले पनि त्यो भिडियो हेरे । हामीले हटाउनु भनेको छौं । अब के गर्ने भनेर टिमसँग छलफल गछौं । ’अहिले सम्म उक्त भिडियो हटाएको छैन । छक्का पन्जा ४ घोषणा हुनुअघि निर्माण पक्षले अर्के नाममा फिल्म बनाउने भनेर दर्शकलाई झुक्काएको थियो ।

  • एलिस राईको ‘स्कुल प्राङ्क’ ट्रेन्डिङ १ मा, तर पहिलो पार्टभन्दा दम अलि कम

    एलिस राईको ‘स्कुल प्राङ्क’ ट्रेन्डिङ १ मा, तर पहिलो पार्टभन्दा दम अलि कम

    काठमाडौं । आफूलाई ‘प्राङ्कस्टार’ भन्नेहरुको भिडमा एलिस राई फरक नाम हुन् । उनी अरूले झैँ मान्छेलाई आतंकित बनाएर वा रुवाएर कन्टेन्ट बनाउँदैनन् । बरु आफैँ अनेक खालका उटपटाङ हर्कतहरु गरेर मनोरञ्जन दिने कोसिस गर्छन् ।

    एलिसका प्राङ्कहरुको कुरा गर्दा सबैभन्दा लोकप्रिय र सिर्जनात्मक मानिएको प्राङ्क हो– भाइस प्रिन्सिपल । काठमाडौंका दुई वटा स्कुलमा ‘नयाँ भाइस प्रिन्सिपल’ को अवतारमा पुगेर उनले शिक्षक–शिक्षिकाहरूलाई बहुतै ल्याङ गरेका थिए । करिब तीन वर्षअघि अपलोड गरिएको उक्त प्राङ्क २९ लाखपटक हेरिएको छ भने झण्डै १० हजार कमेन्ट आएका छन् ।

    त्यही सुपरहिट प्राङ्कको बहु-प्रतीक्षित पार्ट २ राईले भर्खरै ल्याएका छन् । आउनासाथ हट-केक बनेको यो प्राङ्क अहिले नेपालको युट्यूवको एक नम्बर ट्रेन्डिङमा छ । एक हप्ताअघि सार्वजनिक भएको पार्ट २ ले अहिलेसम्म करिब १२ लाख भ्यूज पाइसकेको छ भने ७ हजारभन्दा बढी कमेन्ट पनि आइसकेका छन् ।

    पहिलेझैं यसपाला पनि एलिसले दुई वटा स्कुलमा गएर सञ्चालकहरुसँगको मिलेमतोमा शिक्षक–शिक्षिकालाई उल्लु बनाएका छन् । फरक यति मात्रै छ कि पहिले उनले टाइसुट लगाएका थिए भने अहिले दौरासुरुवाल लगाएका छन् । यद्यपि पहिलो पार्टजस्तो चोटिलो भने दोस्रो पार्ट अलि छैन । एलिसले ठाउँठाउँमा ‘ओभरएक्ट’ गर्दा चुकेका छन् । साथै, अनावश्यक रुपमा केही पुराना जोकहरु घुसाएका छन् । शिक्षक–शिक्षिकाहरुले बोल्दा ‘दम पुगेन’ भन्ने एलिसको यो प्राङ्कमा अलि दम नपुगेको महसुस हुन्छ ।

    यद्यपि, यसमा रोचक संवाद र पेट मिचिमिच हाँस्ने दृश्यहरू नभएका होइनन् । कथित भाइस प्रिन्सिपलले अति फ्रस्टेट गर्दा पनि शिक्षक–शिक्षिकाको धैर्यता र विनम्रताले सबैको मन छुन्छ । निजी स्कुलका शिक्षक–शिक्षिकाहरू कति कडा अनुशासनभित्र बाँधिएका हुन्छन् भन्ने छनक पनि यो भिडियोले दिन्छ । अन्तिमतिर शिक्षिकाहरुले हाँसो थाम्न नसकेको तथा प्रिन्सीपललाई बोलाएर एलिस ग्वाँ ग्वाँ रोएका दृश्यहरू निकै रमाइला छन् ।

    एलिसले ९ महिनापछि नयाँ प्राङ्क भिडियो लिएर आएका हुन् । उनका प्राङ्कको प्रतीक्षामा धेरै दर्शकहरू हुन्छन् । ‘चुरोट किन खाएको ?’ प्राङ्कबाट भाइरल बनेका एलिसका प्राङ्कहरु मौलिक र अर्ग्यानिक हुने गर्छन् । उनको सेन्स अफ ह्यूमर गज्जबको छ । एलिस विभिन्न टेलिसिरियलमा अभिनय पनि गर्दै आएका छन् ।

  • विवाह गरेको ६ वर्षपछि विपाशा बासु आमा बन्दै

    विवाह गरेको ६ वर्षपछि विपाशा बासु आमा बन्दै

    काठमाडौं । ग्ल्यामरस नायिका विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले आफ्नो पहिलो सन्तानलाई जन्म दिने भएका छन् ।

    उनीहरूले आफैँ यो खबर सार्वजनिक नगरे पनि दम्पतीसँग नजिकको अनलाइन पोर्टलहरूमार्फत उनीहरू छिट्टै आमाबुवा बन्न लागेको खबर साझा भएको हो । भारतीय मिडियाहरूका अनुसार विपाशा र करण छिट्टै आधिकारिक रूपमा आफ्नो गुड न्यूज घोषणा गर्न र आमाबुवा बन्न उत्साहित छन् ।

    सन २०१५ मा विपाशा र करण चलचित्र ‘अलोन’ को सुटिङको दौरानमा एक अर्काको प्रेममा परेका थिए। सोपश्चात् यो जोडीको अन–स्क्रिन केमेस्ट्री अफ–स्क्रिन प्रेममा परिवर्तन भएको थियो । आफ्नो प्रेमसम्बन्धलाई उनीहरूले अप्रिल ३०, २०१६ मा विवाहमा परिणत गरेका थिए ।

  • सबैलाई धन्यवाद दिँदै भुवनले भने- नेपाली सिनेमालाई फरक शिराबाट अघि बढाउँछु

    सबैलाई धन्यवाद दिँदै भुवनले भने- नेपाली सिनेमालाई फरक शिराबाट अघि बढाउँछु

    काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नवनियुक्त अभिनेता भुवन केसीले आफूलाई जुन घरले आश्रय दियो आज त्यसैको अभिभावक बनेको बताएका छन् ।

    वुधबार पदभार ग्रहण गरेपछि शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

    उनले करिब चार दशक अघि जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको बताउँदै त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम नभएको उल्लेख गरेका छन् ।

    तैपनि निरन्तर हिँडरहँदा आफूले पत्तै नपाई चालिस साल बिताएको केसीले स्टाटसमा लेखेका छन् । त्यसपछि कसो कसो यो क्षेत्र पनि आफ्नो कर्मघर बनेकाे उनकाे भनाइ छ । आफूले यो घरको स्याहारसुसार र रंगरोगनमा जवानी खर्चिएको बताए ।

    ‘मलाई जुन घरले आश्रय दिएको थियोे, आज म त्यही घरको अभिभावक बन्न पुगेको छु’, उनले भने, ‘तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रिलाई नयाँ उचाइमा पुर्‍याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।’

    केसीले सामाजिक सञ्जालमार्फत सम्पूर्ण परिवारजन तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका हुन् । स्टाट्समा उनले मन्त्रिपरिषद् र नेपाल सरकारप्रति पनि आफू आभारी रहेको बताए ।

    यस्तो छ केसीको स्टाटसः

    नमस्कार म भुवन केसी,

    सर्वप्रथम त चलचित्रकर्मीको सर्वोच्च संस्था नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकोमा मलाई शुभकामना व्यक्त गर्ने मेरो परिवार , देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तक, वरिष्ठ चलचित्रकर्मी, समकालीन चलचित्रकर्मी, पेशागत संघ संस्था तथा पदाधिकारी र मलाई यो यात्रामा प्रत्यक्ष र परोक्ष रुपमा साथ दिने यहाँहरु सबैलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । साथै यो जिम्मेवारीका लागि योग्य सम्झने सन्चार तथा सूचना प्रविधि मन्त्रालय, सन्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यू, मन्त्रीपरिषद् तथा नेपाल सरकारप्रति पनि आभार प्रकट गर्दछु ।

    आज भन्दा झण्डै चार दशक अघि मैले जानी नजानी कलाकारिता क्षेत्रमा पाइला राखेको थिएँ । त्यो समय कलाकारिता गर्न र फिल्म बनाउनु सजिलो काम थिएन । तैपनि म र मेरो समूहले नेपाली सिनेमाको स्तर उन्नति र प्रगतिको लागि हरदम काम गरिरह्यौँ । र पत्तै नपाई चालिस साल बिताएपछि कसो कसो यो क्षेत्र पनि मेरो घर नै बनेको छ, कर्मघर । मैले यो घरको स्याहारसुसार र रंगरोगनमा जवानी खर्चिएको छु ।

    हिजोबाट मेरो भूमिका फेरिएको छ, सम्मानित मन्त्री परिषद्को निर्णयले मेरो भूमिका झन् गहन र संवेदनशील बनाई दिएको छ । मलाई जुन घरले आश्रय दिएको थियोे, आज म त्यही घरको अभिभावक बन्न पुगेको छु । तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर इन्डष्ट्रिलाई नयाँ उचाइमा पुर्याउने समय आएको छ र त्यो समयको नेतृत्वको बागडोर मेरो हातमा आइपरेको छ । यसलाई मैले गौरवपूर्ण चुनौतीको रुपमा लिएको छु ।

    बदलिँदो समयको मागसँगै नेपाली सिनेमालाई पृथक शिराबाट अगाडि बढाउन सम्पूर्ण कलाप्रेमी, पत्रकार, उद्योग व्यवसायी, राजनीतिज्ञ, समाजसेवीलगायत सम्पूर्ण सरोकारवालाहरुको साथ, सहयोग, सल्लाह सुझावलाई आत्मसात् गर्दै आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने वाचा गर्दछु । फेरि पनि यहाँहरुले देखाउनु भएको सद्भावका आगि अनुग्रहित भएको स्मरण गर्दै भविष्यमा पनि यहाँहरुको स्नेहको अपेक्षा राख्दछु ।
    – उही तपाईंहरुकै भुवन केसी।

  • रोमानियामा विवेकसँग रोमान्टिक आँचल

    रोमानियामा विवेकसँग रोमान्टिक आँचल

    काठमाडाै‌ं ।  नायिका आँचल शर्मा विगत केही हप्तादेखि रोमानियामा छिन् । रोमानियामा चलचित्र ‘वर एण्ड वधु’को छायांकनका लागि रहेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छिन् । टेलिभिजनमा चलचित्रको छायांकनको रिपोर्ट प्रशारण गरिएको थियो । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टिभीमा अन्तरवार्ता समेत दिएकी थिइन् ।

    यसैविच, चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।

    चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।

    रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

    रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदिप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । तर, निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरले चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने निश्चित छ ।

  • शमिता शेट्टी र राकेश बापटको ब्रेक अप

    शमिता शेट्टी र राकेश बापटको ब्रेक अप

    काठमाडौं ।  बलिउड डिभा शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापटले सौहार्दपूर्ण रूपमा अलग हुने निर्णय गरेका छन् । गत वर्ष मात्र शमिता र राकेशको चर्चित रियालिटी शो ‘बिग बोस ओटीटी’ मा भेट भएको थियो । सोपश्चात् यो जोडीले एक अर्कालाई डेट गरिरहेको खबर औपचारिक रूपमा नै साझा भएको थियो ।

    आ–आफ्नो सामाजिक सञ्जालमार्फत यो जोडीले आफूहरू अब सँगै नभएको र छुटिएको खबर सार्वजनिक गरेका हुन् । केही समय अगाडिदेखि नै शमिता र राकेश अलग्गिएको हल्ला चलेता पनि यो जोडीको ब्रेकअपको बारेमा कुनै आधिकारिक पुष्टि भने भएको थिएन । तर मङ्गलवार अन्ततः शमिता र राकेशले मौन तोड्दै सामाजिक सञ्जालमार्फत अलग भएको घोषणा गरेका हुन् ।

    ब्रेकअपबारे शमिता लेख्छिन्, ‘मलाई यो स्पष्ट पार्नु जरुरी छ जस्तो लाग्छ। राकेश र म अब सँगै छैनौँ वा भनौँ केहि समय अगाडिदेखि नै साथ छैनौँ। जसरी अगाडि माया गर्दिनुभएको छ त्यसरी नै आउने दिनमा पनि माया गर्दिनुहुन्छ भन्ने आशा छ । सकारात्मकता र नयाँ क्षितिजको लागि सबैलाई माया र कृतज्ञता छ ।’

    शमिताले मात्र नभएर राकेशले पनि आफ्नो स्टोरीमा लेखेका छन्, ‘म सबैलाई जानकार गराउन चाहन्छु कि शमिता र म अब सँगै छैनौँ । नियतिले असाधारण परिस्थितिहरूमा पनि हाम्रो बाटो मिलाइदिएको छ । सम्पूर्ण ‘सारा’ परिवारलाई यो साथ र मायाको लागी धन्यवाद दिन चाहन्छु । म सार्वजनिक रूपमा हामी छुटिएको खबर साझा गर्न चाहँदिन थिए तर मलाई लाग्छ कि यो कुरा सबैलाई थाहा हुन जरुरी छ । यो घोषणाले तपाईंहरूको हृदय टुट्ला । तर आशा छ कि तपाईंहरूले आफ्नो मायाको वर्षा जारी राख्नुहुनेछ । तपाईंहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’

  • ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

    ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

    काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ ।

    अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

    रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । सिनेमामा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् ।

    सिनेमाको यसअघि सार्वजनिक गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिमले यो गीतबाट पनि दर्शकको मन जित्ने अपेक्षा राखेको छ ।

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

    भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।

    सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले पहिलो पटक एकसाथ पर्दा सेयर गरेका हुन् ।

    भिडियो:

  • इण्डियन आइडल प्रशान्त तामाङलाई पुत्रीलाभ

    इण्डियन आइडल प्रशान्त तामाङलाई पुत्रीलाभ

    काठमाडौं । इण्डियन आइडल सिजन ३ का विजेता तथा अभिनेता प्रशान्त तामाङ पिता बनेका छन् । आफू पिता बनेको खबर उनले सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका हुन् । छोरीको नामसहित उनले सम्पूर्ण शुभचिन्तकहरुलाई अटुट साथ र मायाको लागि धन्यवाद दिएका छन् ।

    प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तान छोरीको नाम आरिया राखेका छन् । आरियाको अर्थ पर्सियन भाषामा ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

    सबैलाई धन्यवादसहित प्रशान्तले आफ्नो सञ्जालमा सानो स्टाट्स लेख्दै छोरी आरियालाई स्वागत गरेका छन् । उनले लेखेका छन, ‘ मेरी सानी राजकुमारी आरियालाई यस सुन्दर संसारमा स्वागत छ ।’

    प्रशान्त र पूर्वएयर होस्टेस मार्थाले तीन वर्षअघि लगनगाँठो कसेका थिए ।

  • भुवन केसीलाई बधाई दिँदै अनमोलले भनेः आजबाट तपाईंको भूमिका अझ गहन भएको छ

    भुवन केसीलाई बधाई दिँदै अनमोलले भनेः आजबाट तपाईंको भूमिका अझ गहन भएको छ

    काठमाडौं । नेपाली सिने जगतका दिग्गज कलाकार एवं सफल अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि खुसी व्यक्त गर्दै छोरा अनमोल केसीले आफ्नो सामाजिक सञ्जालमा एक स्टाट्स लेखेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष केसीले आजैबाट पदभारसमेत ग्रहण गरिसकेका छन् ।

    बुवाले अध्यक्षको पदभार सम्हाल्ने खबर साझा भएपछि खुशी व्यक्त गर्दै अनमोलले भुवन आफ्नो पितामात्र नभएर मार्गदर्शक तथा प्रेरणा रहेको र आफूले पनि त्यही पाइलालाई पछ्याएर यहाँसम्म पुग्न सफल भएको बताएका छन् ।

    ‘बाटो हिँड्ने मान्छेभन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु’, उनी लेख्छन्, ‘आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु, यो गौरवशाली अवसर प्राप्त गर्नुभएकोमा, धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’