Category: कलाप्रेस

  • ‘माइतीघर’ क्लाइमेक्स दृश्य खिचिरहँदा माग्ने बूढाहरु साँच्चिकै रुन थालेपछि…

    ‘माइतीघर’ क्लाइमेक्स दृश्य खिचिरहँदा माग्ने बूढाहरु साँच्चिकै रुन थालेपछि…

    काठमाडौं । चलचित्र ‘माइतीघर’को क्लाइमेक्स दृश्य खिच्दा कलाकारहरु नै भावुक भएर रुन थालेपछि चलचित्रको सुटिङ नै डेढ घण्टा रोकिएको छ । म्याग्दी जिल्लामा भइरहेको सुटिङमा क्लाइमेक्स दृश्य खिच्ने क्रममा कलाकारहरु साँच्चिकै रुन थालेपछि डेढ घण्टा सुटिङ अवरुद्ध भएको हो ।

    निर्माता रोहित अधिकारीका अनुसार क्लाइमेक्स दृश्यमा बिहेको पनि दृश्य थियो । बिहेको दृश्यमा बेहुली पक्षकाहरु रुने नै भए । तर, बेहुला पक्षका जन्तीहरु पनि रुन थालेपछि सुटिङ अवरुद्ध भएको हो । जन्तीका रुपमा मुख्य कलाकार माग्ने बूढा (केदारप्रसाद घिमिरे) नै रुन थालेपछि सुटिङ अघि बढाउन झनै समस्या भएको अधिकारीले बताए ।

    अधिकारीले भने, ‘हामीले क्लाइमेक्सको सट खिचिरहेका थियौं । धिरज मगर बेहुला थिए । माग्ने बूढा बेहुलाको तर्फबाट जन्ती थिए । भावुक हुनुपर्ने चाहिँ केटी पक्षकाहरु थियो । तर, बेहुला पक्षहरु नै भावुक हुन थालेपछि डेढ घण्टा सुटिङ रोक्नुपर्यो ।’

    भावनात्मक दृश्यका कारण चलचित्र नाटक मात्रै हो भन्ने जान्दाजान्दै पनि कलाकारहरु रोएको अधिकारीले बताए । अलि सम्हालिएपछि अधिकारीलाई माग्ने बूढाले भने, ‘थाहा पाई पाई हामी भावुक भयौं । हाम्रा घरमा पनि छोरीचेली भएका कारण त्यसरी भावुक भयौं ।’

    चलचित्रमा केटा पक्ष हास्ने हो, केटी पक्ष मात्रै भावुक हुने हो भनेर सम्झाएपछि क्लाइमेक्स दृश्यको रिसुट गर्ने माहौल बनेको अधिकारीले बताए ।

    अधिकारीका अनुसार म्याग्दीमा भइरहेको चलचित्रको सुटिङ अहिलेसम्म चलचित्रको ९५ प्रतिशत सक्किइसकेको छ ।

    आउँदो फूलपातिमा प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रमा माग्ने बूढाको साथमा प्रकाश सपूत, धिरज मगर, उपासनासिंह ठकुरी लगायत कलाकार छन् । चलचित्रको निर्देृशन मिलन तामाङले गरिरहेका छन् । यही चलचित्रबाट सिक्किमेली अभिनेत्री श्यामश्री शेर्पाले डेब्यु समेत गर्दैछिन् ।

     

  • ‘ऊनको स्वेटर’ लाई क्यूएफएक्सले दियो ‘सुपरहिट’ ट्याग, १० करोड कलेक्सन नाघेको निर्माण पक्षको दाबी

    ‘ऊनको स्वेटर’ लाई क्यूएफएक्सले दियो ‘सुपरहिट’ ट्याग, १० करोड कलेक्सन नाघेको निर्माण पक्षको दाबी

    काठमाडौं । चौथो हप्तामा प्रवेश गरेको चलचित्र ‘ऊनको स्वेटर’ ले हालसम्म १० करोड पाँच लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

    आटमान्डु नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्र चौथो हप्ता प्रवेश गरिसक्दा पनि देशभर सयभन्दा बढी शो पइरहेको छ । चौथो हप्ता पुग्दाको यो शो संख्या उल्लेखनीय मानिन्छ ।

    यद्यपि चलचित्र विकास बोर्डले भने आधिकारिक रूपमा ‘ऊनको स्वेटर’ को ग्रस कलेक्सन सार्वजनिक गरेको छैन । विकास बोर्डको तथ्यांक र निर्माताको दाबीमा केही लाख रकम तलमाथि हुने गरेको छ ।

    नवीन चौहान निर्देशित यस चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले दर्शकबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो ।

    हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको निर्माताको दाबी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई ‘सुपरहिट’ को ट्याग दिएको छ ।

  • राजावादी र एमालेको प्रदर्शनको मारमा ‘महाभोज’, हलहरूले शो हटाए, अग्रिम बुकिङको रकम रिफन्ड हुने

    राजावादी र एमालेको प्रदर्शनको मारमा ‘महाभोज’, हलहरूले शो हटाए, अग्रिम बुकिङको रकम रिफन्ड हुने

    काठमाडौं। राजावादी र नेकपा एमालेको प्रदर्शनको घानमा गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ परेको छ । देशभर फैलिएको विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडारियाले एक प्रेस विज्ञप्ती जारी गर्दै हाललाई ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् ।

    तर, हलहरुमा ‘महाभोज’को बुकिङ खुलिसकेको थियो । चलचित्र हलहरुले एड्भान्स बुकिङ खुलाइसकेका थिए । चलचित्रका अभिनेता दयाहाङ राईले हिजो मात्रै भिडियो सन्देश जारी गरेर अग्रिम बुकिङ खुलिसकेको भन्दै आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिसकेका थिए ।

    गणतन्त्र दिवसको दिन प्रदर्शन गर्ने भनेर निर्माण टिमले चलचित्रको प्रचारमा निकै मिहेनत गरिसकेको थियो । तर गणतन्त्र दिवसकै दिन राजावादी र एमालेले आन्दोलनको आह्वान गरेपछि उनीहरुको मिहेनत खेर गएको छ ।

    प्रचार गरिसकेर, अग्रिम बुकिङ खुलाइसकेर अचानक चलचित्रको प्रदर्शन स्थगित गर्नुपर्दा निर्माताले व्यहोर्ने क्षति अकल्पनीय हुने चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । साथै भोलिको प्रतिकूलतालाई मध्यनजर गर्दै ‘महाभोज’का निर्माताबाट प्रदर्शन स्थगित गरिएको वक्तव्य आएपछि आफूहरुले शोहरु हटाएको बताए ।

    उनले भने, ‘यस्ता बन्द, हड्ताल र आन्दोलनले मात्रै होइन, स–साना कुराले पनि चलचित्रको व्यापारलाई एकदमै असर गर्छ ।’

    उनले थपे, ‘निर्माताको करोडौं लगानी भएको हुन्छ । हामीले पनि हल भाडा र कर्मचारीको तलबमा लाखौं खर्च गर्नुपर्ने हुन्छ । यस्ता आन्दोलनहरुको मारमा नराम्रोसँग पिल्सिनुपर्छ हामी । देशका शान्ति सुव्यवस्था कायम भइदिए, हामीले निर्धक्क व्यापार गर्न पाए हुने नि । तर, त्यस्तो हुनन !’

    अनि अग्रिम बुकिङ खुलाएपछि दर्शकले काटेको टिकटको पैसा चाहिँ के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो त टिकट काट्ने दर्शकलाई नै रिफन्ड हुन्छ ।’

    दिनेश राउत निर्देशित ‘महाभोज’को हिजो मात्रै प्रिमियर गरिएको थियो । सहकारी पीडितको मुद्दामा बनेको यस चलचित्रको प्रिमियरमा सहकारी पीडितहरुलाई समेत देखाइएको थियो । चलचित्र हेर्न हलमा पुगेका सहकारी पीडितले हलमै नाराबाजी गरेका थिए । साथै प्रिमियरमा पुगेका अतिथिहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया समेत दिएका थिए ।

    चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली लगायत कलाकारको अभिनय छ । हाललाई स्थगित गरिएको चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने बताइएको छ ।

    ‘महाभोज’ मात्रै होइन, हलमा प्रदर्शनरत ‘नरसिंहा : अवतार’, ‘के घर के डेरा : घर नम्बर २’, ‘एन्जिला’, ‘ऊनको स्वेटर’ जस्ता चलचित्र पनि मारमा परेका छन् । राजावादी र एमालेको आन्दोलनले उनीहरुको प्रदर्शन समेत बिथोलिने देखिन्छ ।

  • ‘मिस युनिभर्स नेपाल’ अब रियालिटी शोको मोडलमा, विवाहितले पनि भाग लिन पाउने (भिडिओ)

    ‘मिस युनिभर्स नेपाल’ अब रियालिटी शोको मोडलमा, विवाहितले पनि भाग लिन पाउने (भिडिओ)

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो ।

    यो वर्ष प्रतियोगिता आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिने जानकारी कार्यक्रममा गराइयो । यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्ने आायोजकले जनाएको छ ।

    कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् । प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’

    उनले अगाडि थपिन्, ‘हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं । यो मञ्च आत्मविश्वास देखाउने, अवसर समाउने र सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो ।’

    दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्म मार्फत दर्ता गर्न सक्नेछन् । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।

    प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

    कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स राष्ट्रिय निर्देशक सङ्गीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की तथा मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीको विशेष उपस्थिति रहेको थियो ।

    प्रतियोगिताका टप प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ । ग्रान्ड फिनाले भदौमा महिनामा आयोजना गरिनेछ ।

    मिस युनिभर्स नेपालले यस वर्ष समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने घोषणा समेत गरेको छ ।

  • आन्दोलन र विषम परिस्थितिको कारण देखाउँदै ‘महाभोज’ को प्रदर्शन स्थगित

    आन्दोलन र विषम परिस्थितिको कारण देखाउँदै ‘महाभोज’ को प्रदर्शन स्थगित

    काठमाडौं । भोलि (जेठ १५ ) मा प्रदर्शनको तयारी गरिएको ‘महाभोज’ तत्काललाई स्थगित गरिएको छ । ‘देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थिति’ लाई कारण देखाउँदै निर्माता हिमाल कडरियाले प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित गरिएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’

    चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको विज्ञप्तिमा जनाइएको छ । अवस्था सामान्य भएपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने बताएको छ ।

    ‘महाभोज’ सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको चलचित्र हो ।

  • राजेश हमालको ‘नरसिंहा : अवतार’ले पिकअप लिँदै, ‘के घर के डेरा’को दुई साताको कलेक्सन कति ?

    राजेश हमालको ‘नरसिंहा : अवतार’ले पिकअप लिँदै, ‘के घर के डेरा’को दुई साताको कलेक्सन कति ?

    काठमाडौं । अभिनेता राजेश हमालले आठ वर्षपछि कमब्याक गरेको चलचित्र ‘नरसिंहाः अवतार’ले पिकअप लिने संकेत गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले डेढ करोडमाथि ग्रस गरिसकेको स्रोतले बतायो । आज बुधबारको दिन पनि हलहरुमा ६०/७० प्रतिशत अकुपेन्सी छ । यद्यपि आज बुधबार टिकट दरमा पचास प्रतिशत छुट लागू हुने गरेको छ ।

    अपेक्षित ओपनिङ गर्न नसके पनि चलचित्रले विस्तारै पिकअप लिने अपेक्षा निर्माताहरुको छ । तथापि ‘नरसिंहा : अवतार’का लागि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ भारी पर्न सक्छ । सहाकारी पीडितको जल्दोबल्दो मुद्दा उठाएको ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली लगायत कलाकार छन् ।

    त्यस्तै, दुई सातअघि प्रदर्शनमा आएको मल्टीस्टार चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ले पनि औसत व्यापार गरेको छ । वितरक करण श्रेष्ठ क्रेजीका अनुसार दुई सातामा चलचित्रले एक करोडमाथि मात्रै ग्रस कलेक्सन गरेको छ । खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल लगायत कलाकार रहेको यो चलचित्रले दुई सातामा गरेको व्यापार अपेक्षित होइन ।

    तत्कालको बक्स अफिस कलेक्सन हेर्दा यी दुवै चलचित्रलाई लगानी उठाउन निकै गाह्रो हुने देखिन्छ । यद्यपि आउँदा दिनमा चलचित्रले गर्ने व्यापार कस्तो हुनेछ, त्यसले लगानी सुरक्षित हुने कि नहुने भन्ने निक्र्यौल गर्नेछ ।

    ‘के घर के डेरा : घर नम्बर २’ का निर्माता आज साँझसम्ममा दुई साताको कलेक्सन सार्वजनिक गर्ने तयारीमा छन् । भोलि बिहीबार ‘नरसिंहा : अवतार’ बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने योजनामा यस चलचित्रका निर्माता छन् । भोलिसम्ममा चलचित्र दुई करोड ग्रस कलेक्सन गरिसक्ने अँँकलन निर्माताहरुको छ ।

     

  • साढे दुई दशकअघिको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेर पत्र काटेपछि नयाँ शब्दहरू राख्ने सूरमा संगीतकार शान्तिराम (भिडिओ)

    साढे दुई दशकअघिको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेर पत्र काटेपछि नयाँ शब्दहरू राख्ने सूरमा संगीतकार शान्तिराम (भिडिओ)

    काठमाडौं । ‘तिमी तारे भीर’ बोलको गीत आफैंले किन गाइनँ होला ?’

    कहिलेकाहीँ संगीतकार शान्तिराम राईको दिमागमा खेल्ने फन्टुस सवाल हो यो । साढे तीन दशकअघि निर्मित यो गीत अहिलेको जेन–जी पुस्ताको पनि प्रिय गीतमध्ये एक हो । रियालिटी शोहरूमा यो गीत प्रायःजसो बजेकै हुन्छ । गायक शान्तिरामले संगीतकारको अवतार लिएको पहिलो गीत यही नै हो ।

    साढे तीन दशक पछाडि फर्कने हो भने त्यसवेला शान्तिराम सिर्फ गायक थिए । गायक बन्नलाई नै खोटाङको सोल्माबाट काठमाडौं हान्निएका थिए, २०४५ सालमा । २०४६ सालमा त रेडियो नेपालमा भ्वाइस टेस्ट नै पास गरेका थिए । गायक शम्भु राईको संगीतमा समेत गीत रेकर्ड गराउन भ्याइसकेका थिए ।

    गायकको लय पक्रिएका शान्तिराम अन्ततः गीतहरूको लय निर्माणतिर लागे । गीतको गर्भ-कथा सुनाइरहँदा मैले फ्याट्टै प्रश्न गरेँ, ‘अनि आफैंले चाहिँ यो गीत किन गाउनुभएन ?’

    एकछिन अकमकिए उनी । फिस्स हाँसेर बोले, ‘मैले यो गीत किन गाइनँ ? मैले म आफैंलाई गर्ने प्रश्न हो यो । सायद मैले गाएको भए यति मीठो हुँदैनथ्यो कि ? मैले गाएको भए यति धेरै बाजागाजाले सुसज्जित हुँदैनथ्यो कि ? गीतमा लगानी गर्ने पैसा नभएकाले पो आफैंले गाउनेबारे सोचिनँ कि ?’

    अनि काठमाडौं

    साढे तीन दशकअघिका उनका कतिपय सम्झना धमिला भइसके । कतिपय सम्झना मेटिएरै गइसके । कतिपय सम्झना रहलपहल छन् ।

    काठमाडौं हान्निनुअघि उनी दिक्तेल बहुमुखी क्याम्पस पढ्थे । क्याम्पसमा पढाइतिर कम, गायनतिर ज्यादा लगाव थियो उनको । एक दिन क्याम्पसले गायन प्रतियोगिता गर्‍यो । प्रतियोगीको रूपमा शान्तिराम तेस्रो भए । स्वर सुनेर मोहित भएका साथीभाइले उक्साए, ‘तिमी काठमाडौं जाऊ, रेडियो नेपालमा गएर गाऊ !’

    रेडियो नेपालमा चौतारी कार्यक्रम प्रख्यात थियो । यस कार्यक्रमको नियमित स्रोता थिए शान्तिराम । गाउनमा पनि असाध्यै रुचि राख्थे । आगोमा घिउ खन्याए झंै शान्तिरामको गायक बन्ने रुचिमा साथीभाइले हौसला खन्याइदिए । ‘सबैले राम्रो गाउँछस्’ भनेपछि उनी पनि हौसिए ।

    अनि काठमाडौं हान्निए । काठमाडाैंमा लाजिम्पाट बस्थे । रेडियो नेपालको स्टेसनमा पुग्न सिंहदरबार धाउँथे । सिंहदरबारभित्र छिर्ने परिस्थिति निर्माण गर्नै समय लाग्यो उनलाई । केही समयपछि सिंहदरबार छिरे । चौतारी कार्यक्रममा आफ्नो नाम टिपाए ।

    ‘तीन महिनापछि मेरो पालो आयो, गएर गीत गाएँ’, शान्तिराम सम्झिन्छन्, ‘आफ्नै स्वर रेडियोमा सुन्दा ठीकै रैछ भन्ने लाग्यो ।’

    अलि पछि दोस्रो पटक उनी चौतारीमा गीत गाउन गएँ । त्यहाँ उनको एक गायकसँग भेट भयो ।

    ‘रेडियो स्टेसनमा राई राई अनुहार परेको मान्छे देखियो । काठमाडौंमा राई भेट्नु भनेको घरै पुगे जस्तो हुने समय थियो । उनी गायक शम्भु राई रहेछन्’, शान्तिराम सुनाउँछन्, ‘बुलु मुकारुङ दाइलाई पनि चिनेँ, तर उहाँसित बोल्न अलि आँट आएन । कपाल पालेको, गोगो पाइन्ट लगाएको, मोटरसाइकल चढेर आउनुहुन्थ्यो । हेर्दै अलि गुन्डा जस्तो ! शम्भु दाइ चाहिँ नरम स्वभावको भएकाले छिटो घुलमिल भयो ।’

    शम्भुको ‘आलु दम चना’ जस्ता गीतहरू चर्चित भइसकेका थिए । रेडियो नेपालमा तारादेवी, नातिकाजी, मीरा राणा, अम्बर गुरुङ, गोपाल योञ्जनहरूलाई पनि उनले भेटे ।

    कलाकर्मीको माहोलमा कवि श्रवण मुकारुङसँग पनि शान्तिरामको चिनजान भयो । दिक्तेलमा हापेको क्याम्पसको पढाइ आरआर क्याम्पसबाट पुनः सुरुसमेत गरे ।

    शान्तिराम-श्रवणको मैतीदेवीमा बसाइ पनि नजिक-नजिक नै थियो । राष्ट्रिय नाचघरमा पूर्वबाट आएकाहरूको जमघट हुन्थ्यो । शम्भु राई नाचघरमै जागिरे थिए । गणेश रसिक जीएम थिए ।

    ‘अनुहार पनि मिल्ने, गाला, आँखा मिल्ने । भाषा र लवज पनि मिल्ने भएपछि त्यहाँ जमघट हुन्थ्यो’, उनी थप्छन्, ‘असनमा गएर राँगाको छोयला, कचिला पनि खान्थ्यौं ।’

    चर्चित गायिकाले रिजेक्ट गरेको ‘तिमी तारे भीर’

    एक दिन श्रवणले दुई गीत लिएर आए- ‘तिमी तारे भीर’ र ‘बाटो हेरे हुन्छ आमा’ । संगत बढ्दै गएपछि श्रवणले बेलाबेला भन्थे, ‘कहाँ गीत गाएर हुन्छ शान्तिरामजी ? अम्बर गुरुङ, गोपाल योञ्जनजस्तो पो हुनुपर्छ ।’

    श्रवणले ल्याएकामध्ये पहिलो गीतको कम्पोज सुरु गरे शान्तिरामले ।

    ‘श्रवणजीसँग हर्लिक्सको बोतलमा ल्याएको सेतो रक्सी खाँदै, भटमास र अदुवाको सितन लिँदै रातको १ बजेसम्म गीतको कम्पोज गरियो । म हार्मोनियम बजाउथेँ, उहाँ गितार बजाउनुहुन्थ्यो । गीत गाउँदै टेप रेकर्डमा रेकर्ड गर्दै सुन्थ्यौं’, उनी भन्छन्, ‘आफैंले कम्पोज गरेको गीत सुनेपछि आहा, खत्रा बनेछ भन्थ्यौं । गीतले खायो खायो भन्थ्यौं ।’

    गीतको कम्पोज तयार भएपछि एक जना चर्चित गायिकालाई सुनाउन दुईजना कुपण्डोल पुगे । श्रवणले शान्तिरामलाई कन्भिन्स गरेका थिए, ‘मैले चिनेको छु उहाँलाई । एक सटमै मान्नुहुन्छ ।’

    परिस्थिति श्रवणले भने जस्तो भएन । ती गायिकाले गीतलाई सीधै रिजेक्ट गरिदिइन् । गीत यतिकै थन्कियो । अलि पछि निर्देशक नवीन सुब्बाले गायिका पवित्रा सुब्बालाई गीतबारे बताएछन् । पवित्रालाई गीत सुनाउन दुवै जना गए । पवित्राले पनि गीत मन पराइन् ।

    ‘मन परेरै भन्दा पनि त्योवेला क्यासेटमा आठ वटा गीत राख्नुपर्ने थियो । उहाँ गीतको खोजीमा हुनुहुँदा हाम्रो गीत फेला परेको रहेछ’, शान्तिराम सुनाउँछन्, ‘गीत बनेपछि उहाँले क्यासेटको ‘बी’ साइडमा राख्नुभयो । ‘ए’ साइडतिर चाहिँ राम्रा र छानिएका गीत हुन्थे । ‘बी’ साइडमा फिलर गीत हुन्थे । त्यसवेला हाम्रो गीतलाई ‘ए’ साइडमै एक नम्बरमा राखेको भए के जान्थ्यो भन्ने भएको थियो ।’

    तर शान्तिराम-श्रवणका लागि गीत रेकर्ड हुनु नै ठूलो कुरा थियो । उनीहरू यही एउटा कारणले खुसी भए । यो गीतलाई उस्तो प्रमोसन नगरिए पनि विस्तारै अरु गीतलाई थिच्दैथिच्दै लोकप्रिय हुन थाल्यो । यति लोकप्रिय भयो कि पवित्रा, शान्तिराम र श्रवण तीनै जनाको मास्टरपिस गीतमध्ये एक बन्यो ।

    अर्को ‘बाटो हेरे हुन्छ आमा’ शान्तिरामको संगीतमा शम्भु राईले गाए । यो गीत पनि हिट भयो ।

    पारिजातको गीत पारिजात प्रतिष्ठानले ‘हटाइदिनू’ भनेपछि…

    डुल्न मन लाग्छ मायालु साँझसँगै बताससँगै
    मर्न मन लाग्छ मायालु रातसँगै दिनसँगै
    सधैं चिसो इनारभित्र हिउँदो वसन्त साँचिरहेछु
    एकान्तमा सधैं एक्लै वारिसविना बाँचिरहेछु
    डढ्न मन लाग्छ मायालु, घामसँगै आगोसँगै
    जल्न मन लाग्छ मायालु रापसँगै खरानीसँगै

    साढे दुई दशकअघि शान्तिरामले अञ्जानवश साहित्यकार पारिजातको यो गीत कम्पोज गरेका थिए । दिवंगत गायिका लासमीत राईको स्वरमा रेकर्ड भएको यो गीत पछि राजेशपायल राईले पनि गाएका छन् । उल्लेखित शब्द पारिजातको हो भन्ने शान्तिरामलाई थाहा थिएन । उनका एक साथी सिंगापुर प्रहरीमा कार्यरत थिए । उनैले एक दिन भने, ‘एल्बम गर्नु छ, गीत बनाइदिनुस् ।’

    ‘मैले गीतहरू कम्पोज गरिदिएँ । उहाँले उताबाट पैसा पठाइदिनुभयो । यता गीत रेकर्ड पनि गरेँ । क्यासेटको फ्ल्याप पनि बन्यो । एल्बममा उहाँको र मेरो फोटो पनि राखियो’, शान्तिराम सुनाउँछन्, ‘पछि गीतकार टीका चाम्लिङले यो गीतको सर्जक पारिजात भएको बताउनुभयो । म त छक्क परेँ ।’

    शान्तिराम थप्छन्, ‘सम्भवतः पारिजातको शब्द हो भनेको भए म कम्पोज पनि गर्दिन थिएँ । कम्पोज गर्ने हिम्मत पनि आउने थिएन । म सानो बच्चाले त्यति ठूलो साहित्यकारको गीत कम्पोज गर्ने आँट नै आउँदैनथ्यो ।’

    पछि ती गीतकारले पनि पारिजातकै शब्द भएको स्वीकार गरे । ‘यसरी अरुको शब्दमा आफ्नो नाम राख्दा मुद्दा लाग्छ’ भनेर गीतकारलाई सम्झाए । गीतकारले भने, ‘उसो भए उहाँकै नाम राखिदिनू, मेरो नाम हटाइदिनू ।’

    पारिजातकै नाम राखेर गीत सार्वजनिक भयो । गीत अत्यधिक चल्यो । पछि राजेश पायलले समेत गाए । अहिले पनि यो गीत चर्चित छ, तर ५-६ महिनाअघि शान्तिरामलाई पारिजात प्रतिष्ठानबाट एउटा चिठी आयो । चिठीमा ‘आफूहरूलाई नसोधी गाएको’, ‘शब्दहरू हेरफेर गरेको’लगायत आरोप थिए । सँगै ‘यो गीत सबैतिरबाट हटाइदिनू’ भन्ने ‘आदेश’समेत थियो ।

    ‘पारिजात प्रतिष्ठानको चिठी हात पर्दा खुसी लागेको थियो । आहा, पुरस्कारको लागि पो हो कि भन्ने भएको थियो । गीत रेकर्ड गरेकै २०-२५ वर्ष भइसक्यो, बल्ल प्रतिष्ठानले सम्झिएछ भन्ने लागेको थियो’, शान्तिराम दुःखेसो पोख्छन्, ‘तर धम्कीपूर्ण चिठी देख्दा साह्रै दुःख लाग्यो । मैले राजेश पायललाई पनि भनेँ, उहाँलाई पनि त्यही व्यहोराको चिठी गएको रहेछ । अहिले यो गीतको शब्दहरू हटाइदिने सल्लाह भइरहेको छ, तर यसो गर्न बाध्य हुनुपर्दा बडो पीडा महसुस भइरहेको छ मलाई । पारिजातको सृजनामा अर्कै शब्द भर्दा कस्तो होला भन्ने सोचले पनि पीडा दिएको छ ।’

    शान्तिराम थप्छन्, ‘अञ्जानमा त्यस्तो भयो । तपाईंहरू भन्नुहुन्छ भने गीत नै हटाइदिन्छु भनेर जवाफ पठाइदिएको छु । सम्भवतः सबै प्ल्याटफर्मबाट गीतहरू हटाउन बाध्य हुनुपर्ने अवस्था आउला जस्तो छ ।’

    अनुमति नलिएको आरोपमाथि शान्तिरामले थप्छन्, ‘अहिले पो कपीराइटको कुरा आयो । रोयल्टी संकलन समाज हामीले नै स्थापना गरेका हौं । प्रतिलिपि अधिकारको मुद्दालाई हामीले नै कार्यान्वयन गरेको हो । त्यो समय नै बेग्लै थियो । रेडियो नेपालबाहेक अन्य ठाउँबाट पारिश्रमिक त पाउँदैनथ्यौं ।’

    गीत हटाए पनि पारिजातप्रतिको अगाध सम्मानमा कुनै कमी नहुने, तर फाउन्डेसनले किन त्यस्तो चिठी लेख्यो भनेर अचम्ममा परेको शान्तिराम बताउँछन् । उनी थप्छन्, ‘उहाँहरूलाई मैले भयंकर कमाएँ भन्ने लागेको होला । पर्फमरहरूले कमाए होलान् । मैले त सन्तुष्टिमात्रै कमाएँ ।’

    ‘यहाँ गायकगायिकालाई फलानोको संगीत तथा शब्दमा निर्माण भएको गीत गाएर पैसा कमाइरहेको छु भन्नेसम्म त थाहा छैन । कृतज्ञता दिने चलनसम्म त छैन’, शान्तिराम आफैं दुःखेसो पोख्छन्, ‘मानौं तपाईंको घुर्यानमा फलेको सुन्तला बटुवाले लुड्याएर खायो, गयो । हाम्रो संगीत गायकगायिकालाई त्यस्तै भएको छ ।’

    ‘दुर्गेश थापा बन्न सक्दिनँ’ भन्न पाउनुपर्‍यो

    शान्तिरामको संगीतमा दर्जनौं गायकगायिकाले पैसा कमाए । दर्शक, स्रोता कमाए । दुई हजार बढी गीतमा संगीत भरे ।

    ‘आइडी काडैले’ र ‘इन्टरनेटैमा’ बोलको गीतमार्फत सत्यकला राई संसार घुमिन् । अन्य गायकगायिकाको सन्दर्भ पनि सत्यकलासँगै मिल्छ । चर्चित गीत सृजना गर्ने शान्तिराम भने जहाँको तहीँ रहे । उनको ‘धोका दियौ तिमीले’ बोलको गीतको ट्र्याक बनाएर वरिष्ठ गायिका सुकमित गुरुङले पनि संसार विचरण गरिन् । बुद्धवीर लामाले लेखेको यो गीत इलामका लेखु विवश भन्ने गायकले शान्तिरामलाई कम्पोज गर्न लगाएका थिए, तर पछि लेखुलाई कम्पोज मनपरेन ।

    एक दिन चाबहिलको डेरामा यही गीत गुनगुनाउँदै बसिरहेका थिए । औंलामा चुरोट च्यापेर धुवाँ उडाउँदै आएका घरभेटी सरोजकुमार श्रेष्ठले भने, ‘यो गीत म गाउँछु ।’

    गायनको सौखिन भए पनि सरोजकुमारको स्वर भने थिएन । ‘घरभेटीले भनेपछि कसरी नमान्ने ? झनै अलि पर भट्टीमा लगेर छोयला, कचिला र रक्सी खुवाइहाल्यो, म खुश भइहालेँ’, शान्तिराम हाँस्दै सुनाउँछन्, ‘चारपाँच हजारमा गीत रेकर्ड नै गरियो ।’

    गीत रेकर्ड भए पनि एक वर्षसम्म गीत चलेन । त्यही समयमा देविका बन्दनाको स्वर रहेको ‘यस्तै रहेछ यहाँको चलन’ बोलको गीत पुरुष गायकले पनि गाएका थिए । यही चलन पछ्याउँदै गीतकार बुद्धवीर लामाले शान्तिरामलाई भने, ‘सुकमित गुरुङको आवाजमा गीत रेकर्ड गरौं न ।’

    सुकमित त्यो समयको सुपरहिट गायिका थिइन् । एकेडेमीमा जागिरे थिइन् । उनलाई भेटेर शान्तिरामले गीत गाउन अफर गरे । गीत सुनाए । सुकमित गाउन तयार भइन् ।

    ‘गीत रेकर्ड गराइयो । हप्तादिनपछि त रेडियोमा फर्माइस आउन सुरु भयो । दिनमा तीन पटकसम्म उहाँको गीत बज्न थाल्यो । पछि स्टेजमै डिमान्ड हुन थालेपछि उहाँले ट्र्याक बनाएर गाउन थाल्नुभयो’, शान्तिराम दुःखेसो पनि सुनाउँछन्, ‘हामीले त जमानामा साँच्चै दुःख गरेर गीत निर्माण गर्थ्यौं । अहिले संगीतमा दुर्गेश थापा जस्ता इन्टरटेनरहरू धेरै आए । हामीले संगीतको बगैंचा निर्माण गरेका थियौं । त्यहाँ उहाँहरू आएर रमाइरहनुभएको छ ।’

    अनि दुर्गेशहरू चाहिँ संगीतमा आउन नहुने हो र ?

    शान्तिराम भन्छन्, ‘मैले त्यसो भनेकै छैन । संगीतको कर्म र धर्मका लागि हामी छौं । यसलाई व्यवसाय बनाएर खान उहाँहरूले पाइरहनुभएको छ । अब मैले दुर्गेश थापा बन्न सक्दिनँ भन्न त पाइयो नि ! यति हो, म संगीतको न्यूनतम धर्म बचाउने काममा चाहिँ लागिरहन्छु । मैले यति भन्न त पाएँ नि !’

    शान्तिराम नोस्टालजिक हुन्छन्, ‘एक पटक नेशनल इन्भाइरोमेन्ट म्युजिक कम्पिटिसन भएको थियो । मैले पनि भाग लिएको थिएँ, तर पुरस्कृत हुन्न जस्तो लागेपछि म निस्किएँ । पछाडि जजमा गोपाल योञ्जन दाइहरू हुनुहुन्थ्यो । मलाई फस्ट बनाउनुभएछ । पुरस्कार त मैले निकै पछि लिन गएको थिएँ । पछि गोपाल दाइसँग भेट हुँदा उहाँले भन्नुभएको थियो- चाउचाउ, चकलेट संगीततिर नलाग्नू । जिब्रोमा एकछिन चहकिलो हुने अनि हराएर जाने संगीत नगर्नू । तिम्रो संगीतमा माटोको सुवास छ । गुन्द्रुकको बासना छ र नेपालीपन छ । यसलाई निरन्तरता दिनू । गोपाल दाइले भन्नुभएको यो कुरा त्यसवेलाका मिडियाले पनि छापेका थिए । यस्तै यस्तै कारणले म आफ्नो संगीतको धर्म छाड्दिनँ ।’

  • ‘महाभोज’ मा लुकाइएकी सुरक्षा, भूमिका कमजोर भएर कि कन्ट्रोभर्सीमा परेर ?

    ‘महाभोज’ मा लुकाइएकी सुरक्षा, भूमिका कमजोर भएर कि कन्ट्रोभर्सीमा परेर ?

    काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को आज विशेष शो आयोजना गर्दा एउटा सरप्राइजको रिभिल भएको छ । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त पनि अटाएकी छन् ।

    पछिल्लो समय कन्ट्रोभर्सीमा रहेकी सुरक्षालाई निर्माण पक्षले गोप्य राखेको थियो । पोस्टरदेखि ट्रेलर कतै पनि उनलाई देखाइएको छैन । चलचित्रको पर्दामा एकैपटक देख्दा मिडियाकर्मी र दर्शकहरु सरप्राइज्ड भएका थिए ।

    तर, महाभोजमा सुरक्षाको भागमा ठूलो भूमिका परेको छैन । उनले आर्यन सिग्देलको पत्नीको भूमिका निभाएकी छिन् । उनी मुस्किलले चारवटा दृष्यमा कैद भएकी छिन् । चलचित्रमा दुई अभिनेत्री अन्जना बराइली र मलिका महतको सुरक्षाभन्दा लामो र बलियो भूमिका छ ।

    निर्माण पक्षले सुरक्षालाई गोप्य राख्नुको दुईवटा कारण हुन सक्छन् । पहिलो उनको भूमिका छोटो हुनु । दोस्रो, पछिल्लो समय कन्ट्रोभर्सीमा पर्नु ।

    सुरक्षा पछिल्लो एक अन्तरवार्ताका कारण विवादित बनेकी थिइन् । एउटा टेलिभिजन कार्यक्रममा उनले पूर्वनवयुवराज हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजासंस्था समर्थकहरु उनीमाथि खनिएका थिए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा कमै देखिएकी छन् । उनलाई प्रचारमा ल्याउँदा ‘राजसंस्था समर्थक दर्शक’ भड्किन सक्ने भयले पनि निर्माण पक्षले सतर्कता अपनाएको हुन सक्छ ।

    चलचित्रका मिडिया कोअर्डिनेटर जीवन पराजुली भने केमियो भूमिका भएकै कारण सुरक्षालाई एक्सपोज नगरिएको बताउँछन् ।

    ‘उहाँको भूमिका छोटो छ, त्यही भएर आपसी सहमतिमा नै बाहिर नल्याइएको हो,’ उनले भने ।
    यद्यपि, चलचित्रको एउटा गीतमा मात्रै नाचेका निश्चल बस्नेत भने महाभोजको प्रेसमिटमा गएका थिए । त्यसक्रममा एक युट्युवरसित उनको चर्काचर्कीसमेत गरेको थियो ।

    सुरक्षा भने चलचित्रको विशेष शोमा पनि देखिइनन् । आज सिभिल मलको क्यूएफएक्समा आयोजित विशेष प्रदर्शनमा चलचित्रको युनिटका सबैलाई बोलाइएको थियो ।

    तर, सुरक्षा भने अनुपस्थित रहिन् । पराजुलीले अन्य चलचित्रको सुटिङमा रहेकाले नआएको हुन सक्ने बताए ।

    आजकाे विशेष शाेमा चलचित्रले राम्राे प्रतिक्रिया पायाे । सहकारी पिडितहरुलाई पनि विशेष शाेमा निम्त्याइएकाे थियाे ।

  • सहकारी पीडितहरूलाई ‘महाभोज’ मा निम्तो, आज विशेष शो

    सहकारी पीडितहरूलाई ‘महाभोज’ मा निम्तो, आज विशेष शो

    काठमाडौं । आगामी शुक्रवारबाट रिलिज गर्न लागिएको चलचित्र ‘महाभोज’ को आज विशेष शो गरिँदै छ । उक्त शोमा सहकारी पीडितहरूलाई पनि निम्ता गरिएको मिडिया कोअर्डिनेटर जीवन पराजुलीले जानकारी दिए ।

    दिनेश राउत निर्देशित यो चलचित्र सहकारी पीडितको कथामै निर्माण गरिएको हो । मल्टिस्टाटर चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

    आजको विशेष शोमा चलचित्रको युनिटसँगै पत्रकारहरूलाई बोलाइएको छ । चलचित्रभन्दा बाहिरका सेलिब्रिटीहरुलाई निम्त्याइएको छैन । देशभरका ५०–६० जना सहकारी पीडितहरू पनि विशेष शोमा सहभागी हुने पराजुलीले बताए ।

    पछिल्लो समय फिल्म प्रिमियरको पुरानो स्टेरियोटाइप पनि बदलिन थालेको छ । प्रिमियरमा विभिन्न कलाकारहरूलाई निम्त्याएर उनीहरूले गर्ने रेडिमेड प्रशंसा खासै प्रभावकारी हुन छोडेपछि फिल्मकर्मीहरूले नयाँ शैली अपनाउन थालेका छन् । केही दिनअघि रिलिज भएको चलचित्र ‘के घर के डेरा’ को प्रिमियरमा १८० जनाभन्दा बढी सर्वसाधारणलाई सहभागी गराइएको थियो ।

  • ‘भुइँ मान्छे’ माथि धनगढीमा समालोचनात्मक चर्चा

    ‘भुइँ मान्छे’ माथि धनगढीमा समालोचनात्मक चर्चा

    कैलाली । डा. विन्दा पाण्डेयद्वारा लिखित ‘भुइँ मान्छे’ पुस्तकमाथि कैलालीको धनगढीमा समालोचनात्मक छलफल भएको छ । नेपाल बुद्धिजीवी परिषद्, कैलालीको आयोजनामा देव तालिम केन्द्रमा आयोजित कार्यक्रममा पुस्तककी लेखिका पाण्डे स्वयं उपस्थित थिइन् ।

    कार्यक्रममा उनले पुस्तकको विषयवस्तु, सन्देश, र समसामयिक सन्दर्भहरूमा प्रकाश पारिन् । उपस्थित वक्ताहरूले पुस्तकले नेपाली समाजमा लुकेर रहेका पात्रहरूको जीवन संघर्ष, सामाजिक असमानता र मौन पीडालाई उजागर गरेको धारणा राखे ।

    पुस्तक छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाह, प्रदेशसभा सदस्यहरू धर्मराज पाठक र जानकी कुँवर, नेकपा (एमाले) का सुदूरपश्चिम सचिव रणबहादुर चन्द, पुराना नेता जीवन राई, यज्ञराज बास्तोला लगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिक विश्लेषक र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

    वक्ताहरूले समाजमा विद्यमान वर्गीय विभाजन, संघर्षशीलता, र समानताको आकांक्षा ‘भुइँ मान्छे’ ले उठाएको भन्दै यस्ता साहित्यिक कृतिहरूले समाज रूपान्तरणमा सशक्त भूमिका खेल्ने उल्लेख गरे ।

     

  • ‘जन्ते बाख्रो’ चलचित्रको ट्रेलर सार्वजनिक

    ‘जन्ते बाख्रो’ चलचित्रको ट्रेलर सार्वजनिक

    काठमाडौं । सन्तोष गौतमको लगानी रहेको सिनेमा ‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

    चलचित्रका निर्देशक सिमोस सुनुवार हुन् । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा निर्माण भएको चलचित्र यही जेठ २३ गते नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

    मुइन इन्टरटेन्मेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय छ ।

    चलचित्रमा हरि हुमागाईंको डीओपी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टीम)को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

  • ऊनको स्वेटर’ हेरेपछि एरिक भ्यालीको प्रतिक्रिया- चलचित्रको छयांकन, स्क्रिप्ट र अभिनय अब्बल छ

    ऊनको स्वेटर’ हेरेपछि एरिक भ्यालीको प्रतिक्रिया- चलचित्रको छयांकन, स्क्रिप्ट र अभिनय अब्बल छ

    ‘काठमाडौं । ‘क्याराभान’ फेम्ड फ्रान्सेली निर्देशक एरिक भ्यालीले हलहरुमा प्रदर्शनरत चलचित्र ‘ऊनको स्वेटर’ गज्जबको चलचित्र रहेको प्रतिक्रिया दिएका छन् ।

    हिजो मात्रै काठमाडौंमा चलचित्र हेरेका भ्यालीले नवीन चौहान दिर्नेशित चलचित्रबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘नेपाली चलचित्रको प्रगति भएको देख्दा एकदमै खुसी लागेको छ । ‘ऊनको स्वेटर’को कथा मन छुने खालको छ । साथै भावनात्मक रुपमा सबैलाई जोड्न समेत सक्षम छ ।’

    उनले थप भनेका छन्, ‘प्राय नेपाली फिल्मको स्क्रिप्ट राम्रो हुँदैन । तर, यो फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ । खिचाइ पनि सुन्दर छ । अभिनय पनि अब्बल छ । इमोसन र राम्रा सटहरुको कम्बिनेसनले चलचित्रलाई अब्बल बनाएको छ ।’

    एरिक भ्यालीद्धारा निर्देशित ‘क्याराभान’ ७२ औं ओस्कार अवार्डमा उत्कृष्ट विदेशी चलचित्र अन्तर्गत मनोनयनमा परेको थियो । यो पहिलो ओस्कार अवार्डमा मनोनयन हुने पहिलो नेपाली भाषाको चलचित्र हो ।

    गत वैशाख २६ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘ऊनको स्वेटर’ले घरेलु बक्स अफिसमा राम्रो ब्यापार गरिरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना नगर, प्रतिक्षा लिम्बु लगायत कलाकारको अभिनय रहेको छ ।

  • लण्डन इन्फा अवार्ड : १७ विधाका उत्कृष्ट ५ को मनोनयन

    लण्डन इन्फा अवार्ड : १७ विधाका उत्कृष्ट ५ को मनोनयन

    काठमाडौं । इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड २०२५, लण्डन) को मनोनयन सार्वजनिक गरिएको छ । बेलायतको लण्डन शहरमा भदौ २८ मा अवार्ड वितरण हुनेछ । इन्फा इभेन्टस् युके लि.र इन्फा नेपाल लि. को आयोजना हुने यस अवार्डको जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश बुढाथोकी र करुण थापा छन् ।

    सन् २०२४ जुन २८ (असार १४) पछि प्रदर्शनमा आएका फिल्ममध्येबाट उत्कृष्ट पाँचको मनोनयन छनोट गरिएको छ १७ विधाका मनोनयन यसप्रकार छन् ।

    १. उत्कृष्ट फिल्म

    एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि

    छक्का पन्जा ५– आमा सरस्वती मुभिज

    कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्

    पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा

    तेल भिसा– वेल डन क्रियसन

    २. उत्कृष्ट निर्देशक

    अञ्जिला– मिलन चाम्स

    छक्का पन्जा ५– दीपाश्री निरौला

    कार्साङ– यम शेर्पा

    पुर्ण बहादुरको सारङ्गी– सरोज पौडेल

    तेल भिसा– शंकर घिमिरे

    ३. उत्कृष्ट अभिनेता

    दयाहाङ राई– कार्साङ्

    दीपकराज गिरी– छक्का पन्जा ५

    जीतु नेपाल– ज्वाइँ साब

    प्रदीप खड्का– पिताम्बर

    विजय बराल– पुर्ण बहादुरको सारंगी

    ४. उत्कृष्ट अभिनेत्री

    स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली

    वर्षा सिवाकोटी– छक्का पन्जा ५

    नीता ढुंगाना– ह्रस्व दीर्घ

    उपासना सिंह ठकुरी– खुस्मा

    मलिका महत– सतिदेवी

    ५. उत्कृष्ट पटकथा

    प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला

    दीपकराज गिरी– छक्का पन्जा ५

    यम शेर्पा– कार्साङ

    विवेक महर्जन र दिर्घ धामी– आउटलः दफा २१९

    महेश दवाडी–पुर्ण बहादुरको सारंगी

    ६. उत्कृष्ट सम्पादक

    मिलन श्रेष्ठ– अञ्जिला

    विपिन मल्ल– छक्का पन्जा ५

    साहिल खान– आउटलः दफा २१९

    बन्दे प्रसाद– पिताम्बर

    सुरेन्द्र पौडेल– पुर्ण बहादुरको सारंगी

    ७. उत्कृष्ट छाँयाकार

    नरेन्द्र मैनालीः एक्टर टेक १

    हरि हुमागाँई– छक्का पन्जा ५

    पुरुषोत्तम प्रधान– कार्साङ

    दीपक बज्राचार्य– खुष्मा

    पुरुषोत्तम प्रधान– पिताम्बर

    ८. उत्कृष्ट खलनायक

    दिव्य देव– एक्टर टेक वान

    प्रमोद अग्रहरि– पिताम्बर

    सुमन भण्डारी– आउटलः दफा २१९

    कविराज भाम – द्रौपदी

    नाजिर हुसेन– देवी

    ९. उत्कृष्ट सह–अभिनेता

    केदार घिमिरे–छक्का पन्जा ५

    कामेश्वर चौरासिया– रेशम फिलिली

    जितु नेपाल– कार्साङ

    सौगात मल्ल– पिताम्बर

    मुकुन भुसाल– पुर्ण बहादुरको सारंगी

    १०. उत्कृष्ट सह–अभिनेत्री

    श्रृजना सुब्बा– अञ्जिला

    दिया मास्के– कार्साङ

    सुरक्षा पन्त– पिताम्बर

    सीता घिमिरे –सानो संसार

    ऋचा घिमिरे– तेल भिसा

    ११. उत्कृष्ट नव–अभिनेता

    प्रिन्स थापा– एक्टर

    विवेक कर्माचार्य– वर एण्ड वधु

    रवि ओड– द्रौपदी

    पारस बम ठकुरी– होस्टेल ३

    उत्पल झा– सारंग

    १२. उत्कृष्ट नव–अभिनेत्री

    दिव्या रायमाझी– एक्टर टेक वान

    एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला

    सिम्रन खड्का– बेहुली फ्रम मेघौली

    श्रृजना निङलेखु– कार्साङ

    शिक्षा संग्रौला– आउटलः दफा २१९

    १३. उत्कृष्ट द्वन्द्व निर्देशक

    राजु तामाङ– ह्रस्व दीर्घ

    चुल्ठे काजी– आउटलः दफा २१९

    हिमाल केसीः पिताम्बर

    श्री श्रेष्ठ – रावायण

    सम्राट बस्नेत– ताण्डवम्

    १४. उत्कृष्ट नृत्यनिर्देशक

    सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा ५

    प्रदीप लामा– फेरि रेशम फिलिली

    सुष्मा सुनाम– ह्रस्व दीर्घ(उठेर नाचिस्यो)

    गम्भीर बिष्ट– ज्वाइँ साब( कसम बत्तीको)

    सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा (रुकुम मैकोट)

    कविराज गहतराज– पिताम्बर( म त फ्यान भएँ यार)

    १५. उत्कृष्ट पाश्र्व गायक

    प्रताप दास– तिमीसँग (वर एण्ड वधु)

    विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्व दीर्घ)

    एसडी योगी– रुकुम मैकोट(खुस्मा)

    सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)

    आशिष अविरल– रैया चाँदीको (पुर्ण बहादुरको सारंगी)

    १७. उत्कृष्ट संगीतकार

    थानेश्वर गौतम– रात किन हुन्छ हजुर(अञ्जिला)

    अर्जुन पोखरेल–तिमी सँग(वर एण्ड वधु)

    एसडी योगी– रुकुम मैकोट(खुष्मा)

    बसन्त उदास– च्यातिएको चोली(लाज शरणम्)

    आशिष अविरल– रैया चादीको(पुर्ण बहादुरको सारंगी)

    १६. उत्कृष्ट पाश्र्व गायिका

    शान्ती श्री परियार– रुकुम मैकोट(खुष्मा)

    अन्जु पन्त– तिमी सँग(वर एण्ड वधु)

    अस्मिता अधिकारी– यो माया बनाउने को हो( छक्का पन्जा ५)

    मेलिना राई– रैया चादीको(पुर्ण बहादुरको सारंगी)

    इन्द्रकला राई– उडायो मन(बेहुली फ्रम मेघौली)

    यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले बताए ।

    इन्फा अवार्डको दोस्रो संस्करणमा यूके कमिटीमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त रहेका छन् भने नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्दने लामा, मनिष कार्की रहेका छन् ।

  • नरसिंहा अवतार : राजेश हमालको फितलो कमब्याक

    नरसिंहा अवतार : राजेश हमालको फितलो कमब्याक

    कुनै समय अन्यायको विरुद्धमा उभिएर ‘हे…’ भन्दै राजेश हमालले बोल्ने संवादको तरंगले हल थर्काउँथ्यो, दर्शकलाई जुरुक जुरुक उचाल्थ्यो । दलन र अन्यायमा पारिएका निमुखा जनताको पक्षमा मुखियाको विरुद्ध उँचो स्वरमा बोल्ने परिवर्तनकारी संवादका कारण उनी आमदर्शकमाझ लोकप्रिय भए । त्यसैले नेपाली चलचित्रप्रेमी दर्शकबीच अभिनेता हमाल र ‘हे…’बाट सुरू हुने संवादबीच अन्योन्याश्रित सम्बन्ध छ ।

    यही अन्योन्याश्रित सम्बन्धलाई निर्देशक दिवाकर भट्टराईले ‘नरसिंहा : अवतार’मा पक्रन खोजेका छन् । यो मामलामा निर्देशक भट्टराई कति सफल भए त ? यसका लागि हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

    तर, दर्शकसँगको हमालको भावनात्मक सम्बन्धलाई पक्रिएर चलचित्र बनाउँदै गर्दा निर्देशक भट्टराईले पक्रन बिर्सेको एकै चिज हो,- समय ।

    कथालाई अझै चुस्त बनाएको भए र त्यसमा हमालको मिहेनत परेको भए ‘नरसिंहा : अवतार’ अर्कै तहको चलचित्र हुने थियो ।

    ‘युगदेखि युगसम्म’, ‘देउता’ जस्ता चलचित्रमा हमालले गर्ने ‘हे…’ र ‘नरसिंहा : अवतार’ मा हमालले गर्ने ‘हे’ बीच समयको ठूलो खाडल छ । कुनै समय नेपाली चलचित्रको फ्रेमभित्र नपर्नेहरू अहिले कलाकारको रूपमा स्थापित भइसकेका छन् ।

    अहिले चलचित्रका विषयहरूमा बदलाव आएको छ । दर्शकको स्वादमा फेरबदल आएको छ । समयसंँगै दर्शकको चेतना बदलिएको छ ।  पछिल्ला चलचित्रहरूमा कलाकार होइन, कथा प्रधान बनेर आइरहेका छन् । कथामै पनि मौलिक कथाहरूको प्रभाव ज्यादा देखिन्छ ।

    यस्तो परिदृश्यमा निर्देशक भट्टराईले हमाललाई आठ वर्षपछि कमब्याक गराएका छन् । हमालमा निहीत क्रेजलाई पक्रन खोजेको देखिन्छ । चलचित्रमा हमालले पनि निकै मिहेनत गरेको देख्न सकिन्छ । उनले दाह्री जुँघा पाल्नेदेखि कपालसम्म काटेका छन् । पात्रभित्र बाँच्ने कोसिस गरेको पनि देखिन्छ । तर, चलचित्रको कथा एकदमै फितलो भइदिनाले हमालको मिहेनत खेर गएको छ ।

    अपराधको संजाल फैलाएका डिजेन्द्र प्रताप (प्रशान्त ताम्राकार) र एसपी अविनाश विक्रम (राजेश हमाल)बीचको संघर्ष चलचित्रको मूल मियो हो । यसमा सुवास (राज कटुवाल)को परिवारमाथि डिजेन्द्रले गरेको हिंसात्मक अत्याचार र सुवासले लिने बदलाको कथा पनि सँगसँगै अगाडि बढ्छ ।

    एकातिर अविनास-डिजेन्द्रबीचको टसल अगाडि बढिरहेको हुन्छ, ‘नरसिंहा : अवतार’को गुण्डागर्दी सरसफाइ अभियान समेत चलिरहेको हुन्छ । अर्कातिर छुस्स छुस्स सुवास र कुसुम (सनिशा भट्टराई) को प्रेमकथा अगाडि बढिरहन्छ । अविनास-डिजेन्द्रको टसलबीच आइपुग्ने सुवास-कुसुमको कथाले चलचित्रमा झिँजो मात्रै थप्छ । बिनासन्दर्भ, बिनाप्रसंग आइपुग्ने सुवास-कुसुमको प्रेमकथाको ससपेन्स क्लाइमेक्स नजिक पुग्दा खुल्न त खुल्छ । तर, ससपेन्स खुल्ने समयसम्म दर्शकको धैर्यताको बाँध टुटिसकेको हुन्छ । निर्देशक भट्टराईले दर्शकलाई कथाको दोभानमा पुर्याउने सन्दर्भमा यति धेरै समय खर्च नगरेको भए हुन्थ्यो ।

    मूल एन्टागोनिस्ट डिजेन्द्रको हैसियत यतिसम्म छ कि ऊ गृहमन्त्रीसम्म फेर्न सक्छ । तर, टोले गुन्डाभन्दा माथिको हैसियत नबनाएको डिजेन्द्रले राजनीतिमै चलखेल गरेको स्वभाविक लाग्दैन । ऊ मान्छे कुट्दै, गोली पड्काउँदै हिँड्छ । प्रहरीको आईजीपीलाई थर्काउँछ । अस्वभाविक त त्यहाँ लाग्छ, जहाँ आईजीपीले समेत गृहमन्त्रीलाई थर्काएको छ/पढाएको छ । कतिपय यस्तो सन्दर्भमा सिनेम्याटिक लिबर्टी लिन पाइयो, तर कतिसम्म लिबर्टी लिने भन्ने कुरा निर्देशकलाई थाहा हुनुपर्छ ।

    हमालमा निहीत क्रेजलाई पक्रन खोजेको देखिन्छ । चलचित्रमा हमालले पनि निकै मिहेनत गरेको देख्न सकिन्छ । उनले दाह्री जुँघा पाल्नेदेखि कपालसम्म काटेका छन् । पात्रभित्र बाँच्ने कोसिस गरेको पनि देखिन्छ । तर, चलचित्रको कथा एकदमै फितलो भइदिनाले हमालको मिहेनत खेर गएको छ ।

    कतिसम्म भने काठमाडौं उपत्यका प्रमुखको भूमिकामा रहेका अविनाश पदीय हिसाबले एसपी हुन् । जब कि काठमाडौं उपत्यकाको प्रमुखको रूपमा एसएसपी हुन थालेको एक दशक बढी भइसक्यो । यति मात्रै होइन, दृश्यहरुमा समेत तादम्यता देखिँदैन । अविनाशसँग जोडिएको दृश्य आइरहँदा अचानक सुवास-कुसुमको दृश्य आइपुग्छ । यी दुई दृश्यबीच न कुनै समानता छ, न केही छ । एक प्रसंगको दृश्य चलिरहँदा अचानक अर्को प्रसंगको दृश्य ल्याउनुपर्दा मेकरहरुले जम्प कटको प्रयोग गर्छन् । यहाँ त यो सामान्य नियम समेत उल्लंघन गरिएको छ ।

    चलचित्रको ओपनिङ दृश्यमै मिटरब्याजीबाट पीडित परिवारलाई रुवाइएको छ । यो दृश्य यति अस्वाभाविक लाग्छ कि दर्शकले आफूमा रिलेट नै गर्न सक्दैनन् । आँखाबाट बरर खसेको आँसुसँग दर्शकको कुनै साइनो रहँदैन । कलाकारलाई यसरी भलभल्ती नरुवाइदिएको भए पनि हुने थियो । सँगै बज्ने लाउड ब्याकग्राउण्ड म्युजिकले दर्शकमाथि अर्को झमेला थपिदिएको छ ।

    ‘युगदेखि युगसम्म’, ‘देउता’ जस्ता चलचित्रमा हमालले गर्ने ‘हे…’ र ‘नरसिंहा : अवतार’ मा हमालले गर्ने ‘हे’ बीच समयको ठूलो खाडल छ । कुनै समय नेपाली चलचित्रको फ्रेमभित्र नपर्नेहरू अहिले कलाकारको रूपमा स्थापित भइसकेका छन् ।

    पहिलो हाफ जिकज्याक भए पनि दोस्रो हाफबाट चलचित्रले अलि गति लिएको छ । दोस्रो हाफपछि ससेन्सहरू खुल्दै जाने भएकाले पनि चलचित्र गतिशील लाग्छ । मूल एन्टागोनिस्ट डिजेन्द्रबाट पिडीत प्रोटागोनिस्टहरू एक अर्कासित जोडिएर जाने भएकाले पनि चलचित्र केही हदसम्म गतिशील लाग्छ ।

    चलचित्रमा दर्शकलाई स्वाद पर्ने चाहिँ एक्सन दृश्यहरूमा हो । एक्सन दृश्यहरूमा निर्देशक भट्टराई र द्वन्द्व निर्देशक राजु तामाङको मिहेनत देखिन्छ । राज कटुवालको एक्सन दृश्यहरू गज्जबका छन् । सँगै हमालको एक्सन दृश्य शानदार छ । यी दुई कलाकारको एक्सन दृश्यले नै चलचित्रलाई केही हदसम्म हेर्नलायक बनाएको छ । यसमा हमालका वजनदार संवादहरुले पनि स्वाद थपेको छ ।

    हरेक पात्रको आफ्नै पृष्ठभूमि हुन्छ र त्यो पृष्ठभूमिबाट उसले गर्ने यात्रा अलग्गै हुन्छ । ती पात्रले यात्रा गर्दा जोडिने, ठोक्किने हरेक घुम्तीहरुले मूल कथालाई बिझाउनु हुँदैन, बरु मूल कथालाई अझैं बलियो बनाउँदै लैजानुपर्छ । कथालाई अझै चुस्त बनाएको भए र त्यसमा हमालको मिहेनत परेको भए ‘नरसिंहा : अवतार’ अर्कै तहको चलचित्र हुने थियो ।

    समग्रमा निष्कर्ष के हो भने आठ वर्षपछि हलमा कमब्याक गरेका हमालको मिहेनत कमजोर कथाका कारण खेर गएको छ । कमजोर कथाकै कारण हमालको फितलो कमब्याक भएको चलचित्र हो, ‘नरसिंहा : अवतार’। उत्साहित बनेर हलमा पुगेका हमालका फ्यानहरुलाई चलचित्रले निराश बनाउँछ ।

  • चलचित्र ‘जन्ते बाख्रो’को प्रचार अभियान तीव्र

    चलचित्र ‘जन्ते बाख्रो’को प्रचार अभियान तीव्र

    काठमाडौं । जेठ २३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचार अभियानलाई तीव्रता दिएको छ । सिनेमाको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरू भएको हो ।

    पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरुमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरेको निर्माता गौतमले जानकारी दिए ।

    ‘हामीले राम्रो सिनेमा निर्माण गरेकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं । झापाका मुख्य शहरहरूमा सिनेमाका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौं । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो’, निर्माता गौतमले भने ।

    सिनेमाको प्रचारका क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

    सिनेमाको ट्रेलर सोमबारदेखि इन्टरनेटमा पनि उपलब्ध हुनेछ । सिनेमाकका गीत संगीत तथा ट्रेलर डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत हेर्न सकिनेछ ।

    सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमाका निर्देशक सुनुवारका अनुसार यसको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ ।

    सिनेमा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ । निर्माण पक्षका अनुसार सिनेमा जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

  • पल शाह र गरिमा शर्माको अभिनयमा नरेश खातीको म्युजिक भिडियो ‘राजा’ सार्वजनिक (भिडिओ)

    पल शाह र गरिमा शर्माको अभिनयमा नरेश खातीको म्युजिक भिडियो ‘राजा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक एवं मोडल नरेश खातीले नयाँ सिर्जना बजारमा ल्याएका छन् । दर्शकको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै युट्युव च्यानल मेक्सम नरेश अफिसियल च्यानलबाट ‘राजा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    ‘मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ बोलको लोकगीतमा नेपालका चर्चित नायक एवं मोडल पल शाहले अभिनय गरेका छन् । साथै गरिमा शर्माले पनि गीतमा अभिनय गरेकी छन् ।

    काठमाडौंमै छायांकन गरिएको गीतमा बाल कलाकार पनि सहभागीता रहेको छ । बालकलाकारमा प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाले अभिनय गरेका छन् । गीतमा नरेश खाती र एलिना चौहानको स्वर रहेको छ । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा अन्य धेरै कलाकार सहभागिता रहेको छ । गीतले नेपालको मौलिकतालाई नै झल्काएको छ ।

    व्यक्तिमा हुने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा अर्कोले पनि त्यस्तै व्यवहार गर्छ भन्ने विषयलाई उतार्न खोजिएको छ । चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ कसैलाई पनि कम आँक्ने र व्यहोरा देखाउने कार्य हानिकारक हुने विषयलाई गीतले उजागर गर्न खोजेको छ ।

    सानालाई माया र ठूलालाई सम्मान गर्ने समाजको रित भएकोले सबैले त्यो बाटो अंगाल्नुपर्ने गायक खाती बताउँछन् । पछिल्लो समय दर्शकहरु झुम्नका लागि यो गीतले भूमिका खेल्ने उनको दाबी छ ।

  • डिभोर्सपछि अरुणिमाले भनिन्ः हामीले एक-अर्कालाई दिएको गरगहना फिर्ता गर्यौं

    डिभोर्सपछि अरुणिमाले भनिन्ः हामीले एक-अर्कालाई दिएको गरगहना फिर्ता गर्यौं

    अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठसँग डिभोर्सअघि विवाहमा एक-अर्कालाई दिएको गरगहना फिर्ता गरिएको बताएकी छिन् । अमेरिकाबाटै एक भिडिओ वक्तव्य जारी गर्दै उनले सो जानकारी दिएकी हुन् ।

    अरुणिमा र युवराजको गत वैशाख ३० गते डिभोर्स भएको थियो । डिभोर्स पेपरमा हस्ताक्षर गर्नुअघि श्रीमानले गहना फिर्ताको शर्त राखेको अरुणिमाको भनाइ छ ।

    उनी भन्छिन्, ‘उहाँले दुवैले दिएको गहनाहरु फिर्ता गरौं, त्यसपछि मात्रै हस्ताक्षर गर्छु भन्नुभयो । त्यही अनुसार मैले अमेरिकाबाट तुरुन्ताको तुरुन्तै गहना उता पठाइदिएँ । काठमाडांबाट तुरुन्तै चतरा गएर, इनरुवामा अदालत अगाडि बसेर वकिलको रोहबरमा गहना साटासाट गरिसकेपछि उहाँले साइन गरिदिनुभएको हो ।’

    आफूले श्रीमानबाट केही पनि अंश नलिएको अरुणिमाले प्रष्ट पारेकी छन् ।

  • गैरबहरलाई गजल नै होइन भन्नु अतिवाद हो: शीतल कादम्बिनी (भिडियो)

    गैरबहरलाई गजल नै होइन भन्नु अतिवाद हो: शीतल कादम्बिनी (भिडियो)

    काठमाडाैं।  ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’, ‘धेरैचोटी मरेँ त म धेरेचोटी बाँचेँ’, ‘झुमा झुम्कावाली’ जस्ता लोकप्रिय गीत तथा गजलहरु पक्कै सुन्नुभएकै होला । दर्शक, स्रोताको हृदयलाई झंकृत बनाउने यस्ता कर्णप्रिय सृजनाका सर्जक हुन्, शीतल कादम्बिनी ।

    शीतल आफ्ना गीत एवं गजलले मानिसहरुको भावनालाई सहजै छोएर जान्छन् । त्यसैले उनका सृजनाहरु विशेष हुन्छन् । गुरुङ संस्कृतिमा आधरित रहेर ‘सिन्का पाउँरु’ उपन्यास लेखिसकेकी उनी बहर, गैरबहर र छन्दमा समेत गजल लेख्ने विषेशताका कारण प्रख्यात छिन् ।

    उनले लेखेको ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ गजल गायक शिव परियारको मास्टरपिस गजल गायनमध्ये एक हो । यो गजलबारे शीतल सुनाउँछिन्, ‘कतिपय सृजनाले आफ्नै भाग्य लिएर आउँदो रहेछ । २०६२ सालमै ल्याएको ‘सुगन्ध यात्रा’ गजलसंग्रहमा पनि यो गजललाई राखेको थिइनँ । मलाई यो गजल कमजोर गजल लाग्थ्यो । पछि शिव परियार भाइले यही गजल ठिक छ भनेर छान्नुभयो ।’
    शिव परियारले छानेको यही गजल शिव–शीतल दुवैको विशेष गजल–गीत बन्यो ।

    शीतलको गजल लेखनको सुरुवात भने सिनर्जी एफएमबाट भएको थियो । साढे दुई दशकअघि शीतल चितवनतिर बस्थिन् । भर्खरै खुलेको सिनर्जी एफएममा अर्जुनमणि पौडेलले ‘अनुराग’ नामक कार्यक्रम चलाउँथे । कार्यक्रममा अर्जुनमणिले गजलहरु बाचन गर्थे ।

    ‘रेडियोमा गजल सुन्दासुन्दा मलाई पनि गजल लेख्न मन लाग्यो । जसोतसो लेखेर खामबन्दी गरेर एफएमको ठेगानमा पठाइदिएँ,’ शीतल हाँस्दै सुनाउँछिन्, ‘मेरो गलल बाचन भयो । अन्तिममा उहाँले ‘शीतलको गीतल’ भन्नुभयो ।’

    यसपछि शीतललाई लाग्यो, गजल लेखन नसिकी भएन ।

    उनले छन्दकवि गोविन्दराज विनोदीलाई गजल सिकाइदिन अनुरोध गरिन् । गोविन्दराजले गजलको संरचना सिकाए । यसपछि शीतलले सुरु गरेको गजल लेखनले अन्ततः उनलाई बेग्लै पहिचान दिलायो ।

    अहिले पनि गोविन्दराजलाई गुरु मान्छिन् शीतल । भन्छिन्, ‘उहाँलाई म अहिले पनि गुरु मानेर ढोग्छु । भेट नै भएन भने पनि गुरु पूर्णिमाको दिन फोन गर्छु ।’

    त्यसरी गजल लेखन सुरु गरेर आएकी उनले पछिल्लो समय गजल लेखनमा बहर, गैरबहर भनेर विवाद निस्किएको पनि देखिन् । बहरमा लेख्नेले गैरबहरमा लेख्नेलाई नमानेको, गैरबहरमा लेख्नेले पनि बहरमा लेख्नेसँग विवाद गरेको देखिन् ।

    यी विवादमाथि शीतलको टिप्पणी छ, ‘बहरमा गजल लेख्दा राम्रै हुन्छ । अनि गैरबहरमा लेखिएका गजललाई गजल नै होइन भन्नु पनि अतिवाद हो । बहरले संरचनालाई विकास गरेको छ । गैरबहरले भाव पक्षलाई शशक्त बनाएको छ । गैरबहरमा भाव पक्ष बहरमाभन्दा शशक्त भएर आउनुमा लेखनमा स्वतन्त्रता भएर पनि हो ।’

    गजलकारहरुको विवाद व्यर्थ लाग्छ शीतललाई । मूल रुपमा पाठकलाई छुने खालको सृजना गर्नु नै सर्जकको धर्म भएको बताउँछिन् । बहर, गैरबहर दुवैमा गजल लेख्न सक्ने शीतल गीतकारको अलवा लेखक पनि हुन् । यसको पुष्टि उनको उपन्यास ‘सिन्का पाउँरु’ले गर्छ ।

    यस उपन्यासमा शीतलले गुरुङ समुदायमा रहेको प्रथाजन्य कानुन सिन्का पाउँरुलाई केन्द्रमा राखेर उपन्यासको धरातल निर्माण गरेकी छन् । सिन्का पाउँरु भनेको छोडपत्र वा पारपाचुके हो ।

    यस प्रथामा गुरुङ समुदायको आफ्नै कानुन, अदालत र न्यायाधीश हुन्छन् । गाउँको मुखिया न्यायाधीश, आँगन, चौतारी न्यायालय हुन्छ । अनि प्रत्यक्षदर्शीहरु पनि हुन्छन् ।

    कुनै केटा र केटीबीच विवाहपश्चात् मनमुटाव हुन्छ । उनीहरुको सम्बन्धमा तीतोपन आउँछ र छुट्टिने हालतमा पुग्छन् भने यसको निर्णय गाउँ समाज र मुखियाले गर्छन् ।

    ‘मुखियाले उनीहरुलाई पटकपटक सँगै बस्न मन छ भने बस भन्छन् । छुटेर बसेको भन्दा मिलेर बसेको राम्रो भन्छन् । तर, केटा र केटीले नमानेपछि छलफल सुरु हुन्छ । केटाको गल्ती छ भने पाँच रुपैयाँ दिने, केटीको गल्ती छ भने नौ मोहर दिने चलन छ,’ शीतल सुनाउँछिन्, ‘यसपछि केटीले अर्को जीवन सुरु गर्नुपर्छ । उसलाई आफ्नो भागमा पर्ने सुन, गरगहना दिइन्छ । मुखियाले सिन्का भाँचेर आधा सिन्का एकातिर र आधा सिन्का अर्कोतिर फाल्छ । पाउँरु भनेको चाहिँ फल हो, त्यसालई फुटालेर आधा एकातिर, अधा अर्कोतिर फाल्छ । सिन्का चाहिँ पुरुष विम्ब हो भने पाउँरु चाहिँ महिला बिम्ब हो । यसपछि उनीहरु आ–आफ्नो बाटो लाग्छन् ।’

    गुरुङ प्रथालाई केन्द्रमा राखेर उपन्यास समेत लेखिसकेकी गीतकार तथा गजलकार उनै शीतलसँग गरिएको कुराकानी हेर्नुहोस्:-

  • डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई वर्ष २०८१ पुरस्कारले सम्मान गरिने

    डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई वर्ष २०८१ पुरस्कारले सम्मान गरिने

    काठमाडौं । तानसेन प्रज्ञा प्रतिष्ठानले लेखक डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई वर्ष २०८१ पुरस्कारले सम्मान गर्ने भएको छ ।

    प्रतिष्ठानले लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ वर्षभित्र प्रकाशित साहित्यका कृतिमध्ये एक सम्मान गर्ने घोषणासँगै खनालको सावर्णिलाई छनौट गरेको हो ।

    प्रतिष्ठानले यसै वर्षदेखि प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा गरी कृति आह्वान गरेको थियो । प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा कीर्तिमध्ये, निर्णायक समितिले सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

    एक समारोहका बीच खनाललाई ६८ हजार रुपैयाँ नगद र ताम्रापत्र सहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

    उक्त उपन्यास बुक हिल पब्लिकेसनबाट प्रकाशित भएको थियो । ए.आई. र मानव भविष्यलाई नौलो शैलीले प्रस्तुत गरेका कारण रोचक लागेको पाठकहरुले प्रतिक्रिया दिएका थिए ।

    उक्त कृतिलाई नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन पनि दाबी गरिएको छ ।

     

     

  • ‘गाउँ फर्क’ को प्रोमो सार्वजनिक, जेठ १५ बाट मिडिया हबमा प्रसारण हुँदै

    ‘गाउँ फर्क’ को प्रोमो सार्वजनिक, जेठ १५ बाट मिडिया हबमा प्रसारण हुँदै

    काठमाडौं । टेलिसिरियल ‘गाउँ फर्क’को प्रोमो मिडिया हबको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गाउँ फर्कको पूरा भाग भने यही जेठ १५ गते (गणतन्त्रको दिवसको दिन) देखि बिहीबार साँझ ६ः४५ बजे आउने छ ।

    एलबी कटवाल र विश्वमणी घिमिरेको लेखन तथा निर्देशनमा बनेको उक्त सिरियलमा बिदेसिएका नेपाली र गाउँ रित्तिनुको कथा समेटिएको छ ।

    रहर वा बाध्यताले गाउँ छाड्नले अहिले गाउँ बस्तीहरू रित्तिएको र गाउँको रीतिरिवाज, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नको लागि यो सिरियल बनाईएको कटवालले बताए ।

    कटवालले भने, ‘गाउँमा मान्छे मर्‍यो भने पनि लास उठाउने र उसको परिवारलाई सान्त्वना दिने मान्छे छैनन् । युवाहरूलाई गाउँमा गरिने श्रम लज्जाको विषय बन्दै गएको छ । तर, सहर वा विदेशमा गएर जे पनि गर्न तयार हुन्छन् । अहिले गाउँमा खेती योग्य जमिन बाँझो बनाई खाडी मुलुकमा श्रम बेच्न जानुलाई गर्व ठानिन्छ । गाउँ जोगाउने कुरा सबैले बिर्सिए । अब हामीले यसलाई रोक्नु पर्छ ।’

    उनले राज्य नै अब गाउँको प्राथमिकतामा लागेर काम गर्नु पर्ने बताए । उनले भने, ‘राज्यको नीति नै गाउँ बनाउनेमा केन्द्रित हुनुपर्छ । यो भएमा हाम्रो देश कृषिमा आत्मनिर्भर भएर जान्छ । राज्यको आर्थिक स्रोतको मुख्य आधार कृषि मानिन्छ । तर कृषि योग्य जमिनहरू सबै जङ्गलमा परिणत भई सके । अबको पुस्तालाई हामीले गाउँ बनाउने र जाग्ने शिक्षा दिनु पर्छ । खेतबारी बाँझो नराख्ने, कृषिमा प्रविधि, मल, बिउ बिजन, सिँचाइ, अनुदान, राहत, क्षतिपूर्ति र बिमाको सहुलियत देखि किसानको ग्यारेन्टी सरकारले लिई युवाहरूलाई राज्यले नै गाउँ फर्काउन लाग्नु पर्छ । मेहनेत र परिश्रम गरे गाउँमै सब थोक छ ।’

    उनका अनुसार गाउँ फर्क सिरियल युवापुस्ता विदेश पलायन भइरहेको समयमा आफ्नै गाउँमा उत्पादनसँग जोड्ने उद्देश्यले तयार पारिएको हो ।

    गाउँ फर्क टेलिसिरियलमा मनमाया कटवाल, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, अस्मिता बस्नेत, मेलीना ठकुरी, शिवशङ्कर रिजाल ‘जोगिन्दर’, दिवाकर घिमिरे, इच्छासिंह ठकुरी, प्रतीक्षा काफ्ले, चन्दा भट्टराई, अगम कटवाल लगायत स्थानीय कलाकारले अभिनय गरेका छन् ।

    भिडियोको छायाङ्कन राहुल राईले गरेका हुन् । ‘गाउँ फर्क’ टेलिसिरियको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको छ । धनकुटाको झिलिमिलेको ग्रामीण भेगलाई सिरियलको परिवेश बनाइएको छ ।