Category: कलाप्रेस

  • अनिता चलाउनेको तिज गीत ‘राख लेखेर’ सार्वजनिक

    अनिता चलाउनेको तिज गीत ‘राख लेखेर’ सार्वजनिक

    काठमाडौं ।  अहिले तिज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । यसैबीच गायिका अनिता चलाउनेको गीत राखलेखेर सार्वजनिक भएको छ ।

    गीतको भिडिओमा ट्विनी गर्ल्स प्रिज्मा र पिन्सी खतिवडाको नृत्य रहेको छ । भिडियोमा गायिका चलाउने पनि फिचर्ड छिन् ।

    विपिन किरणको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत छ ।

    अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेका छन् । गीतको म्युजिक भिडिओ शान थापाले गरेका हुन् भने, कोरियोग्राफी राजीव समरले गरेका छन् ।

    https://youtu.be/1PxeLjE042g

  • भारतीय बजारमा नेपाली फिल्म ! तर खुशी मनाउन हतार नगरौं

    भारतीय बजारमा नेपाली फिल्म ! तर खुशी मनाउन हतार नगरौं

    काठमाडाै‌ं । ‘प्रेमगीत ३’ को पोस्टर भारतको मुम्बइ सहरमा टाँगिएका तस्वीरहरु देखेर अहिले नेपाली मनहरु फुरुंग बनेका छन् । यसले सिंगो नेपाली चलचित्र क्षेत्रमै एकप्रकारको हर्षोल्लास ल्याइदिएको छ ।

    भारतीय फिल्मका पोस्टरले नेपालका सहर बजार रंगीएका दृष्यसँग अभ्यस्त छौं हामी । पोस्टर मात्र होइन, नेपालका हलहरु नै प्रायः भारतीय फिल्मको कब्जामा हुन्छन्, चाहे ती बलिउड फिल्म हुन् वा साउथ इन्डियन । त्यसैले बलिउडको मुटुमा नेपाली फिल्मको उपस्थिति मात्रै देखिनु पनि हाम्रो लागि सुखद आश्चर्य हो । तर, अहिल्यै खुशी मनाइहाल्नु चाहिँ अलिक हतारो हुने छ ।

    कोमल नहाटा, तरन आदर्श, रमेश बाला जस्ता ट्रेड एनालिस्ट तथा समीक्षकहरुले सोसल मिडियामा ‘प्रेमगीत’ बारे लेखेर फिल्मको ग्राफलाई उँचो बनादिएका छन् । सेप्टेम्बर २३ अर्थात् दशैंको छेकोमा रिलिज हुने फिल्मले नेपालमा हाइप मात्रै पाइरहेको छैन, दर्शकलाई व्यग्र पनि बनाइरहेको छ ।

    निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार यो फिल्म ओटीटी प्ल्याटफर्म अमेजन प्राइममा पनि रिलिज हुनेछ । जहाँ संसारभरका दर्शकले डिजिटल्ली नेपाली फिल्मको स्वादको परख गर्नेछन् । नेपाली फिल्मका लागि यो अर्को खुड्किलो हो । यदि अमेजनमा पनि यो फिल्म सफल भएमा यसले सम्भावनाका अनेकन ढोका अवश्य खोल्नेछन् । जहाँबाट नेपाली फिल्मले संसारभरका दर्शकलाई चिहाउने मेसो पाउनेछ ।

    तर, नेपाली फिल्म भन्नाले केलाई भन्ने ? नेपाली फिल्म क्षेत्र बलिउडको धङधङीबाट माथि उठ्न सकेको छैन । बलिउडबाट मुक्त हुने प्रयास भएका फिल्मले दर्शक पाएका छैनन् । सस्तो कमेडी, लोकालिटीको नाममा सतही अध्ययन, संस्कृतिको नाममा दुई थान थोत्रा लुगा र छोटेमोटे स्थानीय लवजमा अल्झिएका नेपाली फिल्महरुले खास नेपाली फिल्मको पहिचान खडा गर्न सकेका छैनन् । छिटफुट प्रयास भए पनि विश्व सिनेमामा बेग्लै अखडा बनाएर आफ्नो छुट्टै संरचना र भाष्य निर्माण गर्न सकिरहेका छैनन् । नेपालभन्दा पछि फिल्ममा छिरेका अन्य मुलुकहरुले आफ्नो अनुहार बनाइसक्दा नेपाली फिल्मले किन बनाउन सकेको छैन ? बहस, विमर्श हुँदै जाला ।

    यही बीचमा ‘प्रेमगीत ३’ बलिउड पुग्दैछ । एकातिर यो खुसीको बात भइगयो । अर्कातिर चुनौतीका चाङ लम्बेतान छन् । बलिउड पुग्नु मात्रै खुसी हो कि त्यहाँ ‘प्रेमगीत ३’ले दरिलो प्रभाव छाड्नु हो ? यसको उत्तर सेप्टेम्बर महिनाको अन्तिम अन्तिम दिनतिर प्राप्त हुनेछ । यदि हलमा लागेको भोलिपल्टै उत्रियो भने अहिलेको खुशी क्षणिक मात्र हुन सक्छ । फिल्म कस्तो छ, र यसले भारतीय दर्शक तान्ने क्षमता राख्छ कि राख्दैन भन्ने अहम् प्रश्न हो । अरबौं बजेटमा बनेका विश्वव्यापी क्रेज भएका स्टारहरुले भरिएका भारतीय फिल्मसँग टक्कर गरेर प्रेमगीतले दर्शक तान्नु पक्कै पनि फलामको च्यूरा चपाएसरह हुनेछ ।

    लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिनाका अनुसार यस घडीमा हामीले साउथका फिल्महरु ‘आरआरआर’, ‘पुष्पा’ जसरी चल्यो, त्यसैगरी चल्ला भनेर सोचिहाल्दा हाम्रै सोचहरुको दुर्घटना हुनेछ ।

    तिमिल्सिनाको भनाइ छ, ‘साउथ फिल्मले त्यसरी व्यापार गर्नुमा हामीले उनीहरुलाई टिभीमा लामो समयदेखि हेरिरहेका छौं । साउथको स्टारहरुलाई चिनिरहेका छौं । १०–१२ वर्षदेखि उनीहरुको बजार तयार हुँदै गएको थियो । त्यसकारण हामी र बलिउडले स्वीकार गरेको हो ।’

    तिमिल्सिनाको थप तर्क छ, ‘बलिउडले न अनमोल केसी चिनेको छ, न प्रदीप खड्का । हामीले साउथले जसरी बजार हल्लाउन सक्छौं भनेर सोचिहाल्नु हुँदैन । तर, यसलाई एउटा सुरुवात मानेर त्यही लेभलको कन्टेन्ट रेगुलर दिन सक्यौं भने त्यहाँसम्म पुग्छौं होला । हामी जुन स्केलको फिल्म बनाउँछौ, त्यो स्केलको फिल्म उनीहरुले बनाइरहेका छन् । ग्राउण्डमा कम्पिट गर्न सक्दैनौं । फिल्मले कुन प्रकारकोे फ्याक्चुअल नतिजा ल्याउँछ, त्यसअनुसार नेपाली फिल्म अगाडि जान्छ । होइन भने सामाजिक संजालमा खुसी मनाउनु शिवाय केही हुँदैन ।’

    नेपालकै कथा, नेपालकै लोकेसन, नेपालकै कलाकार, नेपालकै प्राविधिकले निर्माण गरेको फिल्म बलिउडसम्म पुग्नु एक सिँढी सफलता पक्कै हो । चाहे फिल्मले धमिलो र साँघुरो रेखा मात्रै कोरोस्, त्यसले भविष्यमा असर देखाउनेछ । हलिउड, बलिउड र साउथ फिल्मलाई वर्षौंदेखि हेरिरहेका दर्शकका लागि ‘प्रेमगीत ३’ले कस्तो स्वाद पस्कनेछ, रिलिज भएपछि मात्रै यकिनका साथ भन्न सकिनेछ ।

    त्यसैले त निर्माता तथा निर्देशक सेन लेख्छन्, ‘हाम्रो मिहेनत बलिउड बजारमा मात्रै होइन, संसारका अत्याधुनिक दजनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि सबैको रोजाइमा पर्‍यो भने हाम्रा परिकार मज्जाले बिक्नेवाला छ ।’

    बलिउड रिलिजले राख्ने प्रभावबारे सेनको आँकलन छ, ‘यसले नेपाली फिल्मको विश्वयात्राको ढोका खोलिदिएको छ । आशा छ, त्यो ढोकामा चुकुल लाग्ने छैन । हामीले शसक्त दबदबा कायम राखिराख्न दर्शकको आँखामा छारो हाल्ने काम गर्नुहुँदैन ।’ सेनको इंगित छ, यदि बलिउडको बजारमा नेपाली फिल्मले खुट्टा राखिरहने हो भने फिल्म रिलिजअघि नै लगानी सुरक्षित मात्रै हुने छैन, ओटीटीमार्फत् करोडौं फाइदा पनि हुनेछ ।

    तीनचार करोड बजेटमा बन्ने नेपाली फिल्मले मिनिमम ग्यारेन्टीको रुपमा पाँच सात करोड भारतीय बजारबाट सजिलै उठाउन सक्छन् । पाँच सात करोड सुनिश्चित हुनसाथ नेपाली फिल्मको निर्माण बजेट पनि बढेर जानेछ । झनै राम्रो क्वालिटीको फिल्महरु बन्नेछन् । राम्रो प्रविधि उपयोग गर्ने सहुलियत पनि प्राप्त हुनेछ । नेटफ्लिक्स, अमेजनजस्ता ओटीटी प्ल्याटफर्मको आँखा पर्नेछ । यसले अन्ततः नेपाली फिल्मको सुदूर भविष्यलाई जरुर सुन्दर बनाउनेछ । त्यसको पहिलो कदम ‘प्रेमगीत ३’ले चालिरहेको छ ।

    नेपाली फिल्महरु भारतमा रिलिज नभएका होइनन् । अस्ति भर्खरै नेपालमा राम्रो व्यापार गरेको ‘कबड्डी ४’ भारतमा रिलिज भयो । ‘हजार जुनीसम्म’, ‘आप्पा’ पनि भारतमा रिलिज भयो । ‘कुसुमे रुमाल’, ‘मायालु’ जस्ता पुराना नेपाली फिल्म दार्जिलिङ सिक्किममा रिलिज भएका थिए । तर, हिन्दी भाषामा डब भएरै हलमा रिलिज भएको ‘प्रेमगीत ३’ पहिलो नेपाली फिल्म हो ।

    नेपाल–भारत सहकार्यमा पनि ०४१ सालमा नेपालले बंगाली मुलका निर्देशक बासु भट्टाचार्यसँग मिलेर ‘पंचवटी’ नामक सिनेमा बनाएको थियो । शाही चलचित्र संस्थान र भट्टाचार्य मिलेर बनाइएको उक्त फिल्म जेठाजु–बुहारी सम्बन्धमा आधरित रहेका कारण नेपालका हलमा रिलिज हुन दिइएन । फिल्म भारतमा प्रदर्शन भए पनि नेपालको भने नौ लाख लगानी डुबेको समीक्षक तिमिल्सिना बताउँछन् ।

    अहिले फेरि नेपालमै बनेको ‘प्रेमगीत ३’ भारत पुगेको छ, हिन्दीमा डब भएर । फिल्मले भारतमा कस्तो व्यापार गर्ला, भन्न सकिँदैन । तर, फिल्मको हाइपले नेपालमा भने राम्रो व्यापार गर्ने कुरामा द्धुविधा छैन । भारतमै पनि लगानी करिबकरिब सुरक्षित भइसकेको सेनको दाबी छ । यसले के देखाउँछ भने यदि नेपाली फिल्म भारतको बजारमा मात्रै पुग्ने हो भने रहरले फिल्म निर्माण गरेर निर्माताहरु लापत्ता हुनु पर्दैन । फिल्म डुबेको खण्डमा निर्माताहरु सडकमा आइपुग्नु पर्दैन ।

    त्यसैले त होडिङ बोर्डको फोटो पोस्ट गर्दै अभिनेत्री सुरक्षा पन्त लेख्छिन्, ‘सिनेमा कस्तो हुने हो, त्यो पक्कै हेर्न बाँकी छ । तर, एउटा कठिन पाटो छ पर्दापछाडि दौडधुपको । चाहे आर्थिक रुपमा होस् या मानसिक । सन्तोष सेन जी र टिमले जुन प्रयास गर्दै नेपाली सिनेमालाई यो होडिङ बोर्ड र सिनेमा घरसम्म पुर्‍याउने काम गर्नुभएको छ, त्यो प्रशंसनीय हो । आँट्नु धेरै ठूलो कुरा हो ।’ सँगै निर्देशक दिपेन्द्र के खनालले बलिउड नगरीमा नेपाली फिल्मको उपस्थिति देखिँदा खुसी प्रकट गरेका छन् ।

    चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि भारतमा ‘प्रेमगीत ३’ रिलिज हुनु खुसीको कुरा रहेको उल्लेख गरेका छन् । फिल्मले इतिहास लेख्ने र नेपाली फिल्म उद्योगलाई अझैं विस्तारमा लैजाने अपेक्षा व्यक्त गरेका छन् । तमाम चुनौतीका बीच नेपाली फिल्म बलिउड पुग्नु एक प्रकारको उपलब्धि छँदैछ । तर, यस फिल्मको चुनौती यतिमै सकिएको छैन । रिलिजपछि कस्तो प्रदर्शन गर्ला, त्यसले नेपाली फिल्महरुको भविष्यलाई दिशानिर्देश पक्कै गर्ने छ । नेपाली फिल्मको अपार ढोका यस फिल्माको व्यापारले पक्कै खोल्नेछ ।

  • पूजा, आकाश र सोनाम स्टारर ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

    पूजा, आकाश र सोनाम स्टारर ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

    सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो साथ पाउने निर्माण टिमको विश्वास छ । करिब ३ मिनेटको ट्रेलरमा मुख्य तीन पात्र पूजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धको वरिपरि घुम्छ । निर्देशक सुदर्शन थापाले आफूले सम्हालिन्छ कहिले दर्शकको अपेक्षा अनुसार नै राम्रो लभ स्टोरी सिनेमा निर्माण गरेको बताए ।

    भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही सिनेमाबाट अभिनेताको रूपमा डेब्यू गर्दैछन् ।

    एबी इन्टरनेशनलको ब्यानरमा निर्मित सिनेमाको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन रहेको सिनेमाको निर्मातामा अमित बस्नेत, परी राना र अजित कुमार थापा छन् ।

  • विचार नमिलेको भन्दै मेलिना राईले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट

    विचार नमिलेको भन्दै मेलिना राईले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट

    काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् ।

    संगीतकर्मी बराइलीसँग मेलिनाको इन्गेजमेन्टको खबर गत वैशाखमा सार्वजनिक भएको थियो । भविष्यमा सँगै जीवन बिताउने सोचसहित सो निर्णय लिएको भए पनि वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेको मेलिनाको भनाइ छ ।

    उनले लेखेकी छन्, ‘धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’

    मेलिना थप्छिन्, ‘सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्ने बाध्यता नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छु ।’

    यसबीचमा शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति मेलिनाले क्षमा याचना गरेकी छन् । भविष्यमा सांगीतिक क्षेत्रमा अझै मिहिनेतका साथ सेवा गरिरहने प्रतिबद्धता उनले जनाएकी छन् ।

  • ‘सम्झना बिर्सना’ पनि भारतमा प्रदर्शन हुने

    ‘सम्झना बिर्सना’ पनि भारतमा प्रदर्शन हुने

    काठमाडौं । नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो ।

    निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए ।

    ‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौँ,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरहरूमा प्रदर्शन गर्दैछौ ।’

    उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘भारतमा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ । तर, हामीले सही बजार खोज्न सकेका छैनौँ,’ उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए ।

    निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौँ । नेपाली नबुझ्नेहरूका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

    रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् ।

    दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ । प्रेम गीत–३ पनि २३ सेप्टेम्बरमा भारतका हलमा प्रदर्शन हुँदै छ ।

  • ‘पापाकी परी’की गायिका सुशिला के भन्छिन् ?

    ‘पापाकी परी’की गायिका सुशिला के भन्छिन् ?

    काठमाडौं । ‘पापाकी परी’ की गायिका सुशिला पाठकले गीतबारे आएका टिप्पणीका विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएकी छन् ।

    बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पाठकले सो जानकारी दिएकी हुन् । गीतमा कुन पक्षलाई मनोरञ्जनको रुपमा लिने र कुनलाई शिक्षाको रुपमा लिने आफ्नै विवेकमा भर  पर्ने उनको भनाइ छ ।

    शिव हमालको शब्द आशिष अविरलको संगीत तथा संगीत र पाठकको स्वरमा रहेको गीतका केही शब्द तथा दृश्यमा टिकाटिप्पणी भएका छन् । त्यस्तै, गीतमा अभिनय गर्नेहरुले पेटिकोट लगाएर नाचेको विषयमा पनि नकारात्मक टिप्पणीहरु आएका छन् ।

  • ‘पापाकी परी’ले तताउला तिज ? चर्चामा करिश्मा ढकालको ‘पेटिकोट डान्स’

    ‘पापाकी परी’ले तताउला तिज ? चर्चामा करिश्मा ढकालको ‘पेटिकोट डान्स’

    काठमाडौं । हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ ।

    सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।

    यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।

    विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ । गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।

    गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः

    के हुन्छ होला है बिहेको राति
    अँध्यारो कोठामा अञ्जान साथी
    के गरौं के गरौं लौ संगी तँ भन्
    तँलाई पो भनेँ त अरुलाई नभन्
    सम्झेरै गइसक्यो सातो बरिलै

    यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् । लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ । यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।

    तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् । यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूवबाट गीत हटाउने कुरा गर्न थालेका छन् । यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् ।

    हेर्नुस् भिडियोः

    https://www.youtube.com/watch?v=OboRa3l4gSk&t=8s

  • ‘भल्गर’ बन्दै ब्लाइन्ड डेट, हिमालय टेलिभिजनबाट प्रशारण बन्द

    ‘भल्गर’ बन्दै ब्लाइन्ड डेट, हिमालय टेलिभिजनबाट प्रशारण बन्द

    काठमाडौं । डेढ वर्षअघि लकडाउनको समयमा एउटा रियालिटी शो सामाजिक सञ्जालमा एकाएक चर्चामा आयो । खासगरी युवापुस्ता र टिनएजर्समा लोकप्रियता कमाएको उक्त शो थियो– ब्लाइन्ड डेट ।

    पहिलो सिजन हिट भएपछि हौसिएको निर्माण पक्षले छोटो अन्तरालमै दोस्रो सिजन सुरु गर्यो, जुन अहिले प्रशारण भइरहेको छ । तर, पहिलो सिजनको जस्तो चार्म अहिले छैन । मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि यो शोले राष्ट्रिय टेलिभिजनको प्लेटफर्मसमेत गुमाएको छ ।

    पहिलो सिजनको लोकप्रियतालाई हेरेर हिमालय टिभीले भ्यूजको आकर्षणमा ब्लाइन्ड डेट भित्र्याएको थियो । गत वर्षको माघमा उक्त कार्यक्रमका निर्देशक रोसन दाहालले टिभीसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार गत जेठबाट प्रशारण सुरु भएको हो । तर, पहिलो एपिसोडबाटै समस्या देखियो ।

    पैसा धेरै खर्च गरिएको दोस्रो सिजन कन्टेन्टका हिसाबले भने झूर छ । दर्शकलाई मनोरञ्जन दिने धुनमा क्यारेक्टरहरुलाई जोकरका रुपमा प्रेजेन्ट गरिएको छ । द्विअर्थि र अश्लिल संवादहरु बोल्न लगाइएको छ । घिनलाग्दा हर्कतहरु हुने गरेका छन् । यसभित्र रियालिटी केही पनि बाँकी छैन ।

    प्रशारण गर्नै नमिल्ने सी ग्रेडका कन्टेन्टहरु उत्पादन गर्न थालेपछि हिमालय टेलिभिजनले उक्त शोलाई ‘किक आउट’ गरेको हो । सम्झौताको शर्त उल्लंघन भएकाले यसलाई निरन्तरता दिन नसकिएको टेलिभिजन स्रोतले बतायो ।

    ‘जति सेन्सर गर्दा पनि प्रशारण गर्न कठिन भएपछि हामी सम्झौता रद्द गर्न बाध्य भयौं,’ टेलिभिजन स्रोतले भन्यो ।

    युवापुस्तामा विकृति फैलाउने यस्तो शोलाई राष्ट्रिय टेलिभिजनले स्थान दिन नहुने जनगूनासो बढिरहेको थियो । अन्ततः टेलिभिजनले आठौं एपिसोडपछि यो शोलाई बिदा दिएको छ । हिमालय टेलिभिजनबाट ब्लाइन्ड डेट अन्तिमपटक गत असार १० गते प्रशारण भएको थियो ।

    टेलिभिजनले हटाए पनि युट्यूवबाट यो शोको प्रशारण जारी छ । अहिलेसम्म १८ एपिसोड प्रशारण भइसक्दा यसको लोकप्रियता भने गिर्दो अवस्थामा छ । पहिलो, दोस्रो र तेस्रो एपिसोडले क्रमशः १६ लाख, ११ लाख र ११ लाख भ्यूज पाएका थिए । तर, पछिल्ला एपिसोडहरु ६–७ लाख भ्यूजमा खुम्चिरहेका छन् ।

    संसारमा धेरै टेलिभिजनहरुले यस्तो प्रकृतिको रियालिटी शो प्रशारण गर्ने गर्छन् । आपसमा अञ्जान युवा–युवतीलाई डेट गराएर जोडी बाँधन सघाउने यस्तो शोको मुल ध्येय हुन्छ ।

    यसअनुसार विभिन्न जोडीहरुलाई सँगै टाइम स्पेन्ड गर्ने र एक–अर्कालाई बुझ्ने अवसर प्रदान गरिन्छ । त्यही आधारमा उनीहरुले आफ्नो जोडी छान्न सक्छन् । यही अवधारणा नेपालमा भित्र्याइँदा पहिलो सिजनलाई दर्शकले रुचाएका थिए ।

    थोरै बजेटमा निर्माण पक्षले रमाइलो शो तयार गरेको थियो । स्क्रिप्टेड भए पनि मनोरञ्जनात्मक भएकाले यसले राम्रो भ्यूज बटुल्न सफल भयो र कार्यक्रम निर्माताको गोजी टनक्क भरियो । यसका सहभागीहरु सामाजिक सञ्जालमा भाइरल बने ।

    स्क्रिप्टेड भए पनि पहिलो सिजनले दर्शकको आँखामा छारो हाल्न सफल भएको थियो । यसमा विजेता बनेका सिलु र गोल्डी नामका पात्रले शो सकिएपछि विवाह नै गरेका थिए । यद्यपि, उनीहरु शोमा आउनु अगावै श्रीमान–श्रीमती थिए भन्ने चर्चा नचलेको होइन । जे भए पनि शो आफ्नो उद्देश्यमा सफल देखिएको थियो ।

    तर, पहिलो सिजनको स्तर दोस्रोमा कायम रहन सकेन । दोस्रो सिजनमा सबै कुरा अति नाटकीय बनाइएको छ । यसमा उभ्याइएका कुनै पनि पात्रहरु गतिला र विश्वासिला छैनन् । उनीहरुलाई पुराना ननभेज जोक्सहरु भन्न लगाएर दर्शक हँसाउने चेष्टा गरिएको छ ।

    यो छाडा शो बन्द गर्नुपर्ने भनेर धेरैले कमेन्ट गर्न थालेको देखिन्छ । निर्माण पक्ष भने टिकटकमा भाइरल भएका फुटेजहरु हेरेर नै दंग छ ।

  • बुवाको रोल गर्न महँगो रकम अफर गरिएकाेबारे हमालको प्रतिप्रश्न- यो बाबु हुने उमेर हो मेरो ?

    बुवाको रोल गर्न महँगो रकम अफर गरिएकाेबारे हमालको प्रतिप्रश्न- यो बाबु हुने उमेर हो मेरो ?

    काठमाडौं । अभिनेता राजेश हमाल बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगेका थिए । कार्यक्रममा सञ्चारकर्मीसँग उनले हँसीमजाक सँगसँगै चलचित्र ‘प्रेमगीत ३’ लाई शुभकामना र हालै चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भुवन केसीलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सुझाव दिए । उक्त भलाकुसारीमा हमाललाई बावुको रोल गर्न आएको प्रस्तावबारे प्रश्न गरिएको थियो ।

    एकदमै महँगो रकम दिँदा पनि चलचित्रमा हिरोको पिता वा बाबु बन्न आएको अफरलाई तपाईंले सीधै अस्वीकार गर्नुभयो रे नि भन्ने प्रश्नमा राजेशले हाँस्दै उत्तर दिए, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु। छोराछोरीको बाबु चाहिँ हुँदिनँ । यो बाबु हुने उमेर हो मेरो ? तलदेखि माथिसम्म हेर्नुहोस् न ! अलिकति अँध्यारो भयो, लाइट कम भयो भन्दैमा तपाईंले यस्तो भन्ने ?’

    केही समय अगाडि हमालले महँगो रकम अफर गर्दा पनि बुवाको लागि आएको रोल अस्वीकार गरेको खबर बाहिरिएको थियो ।

    ठट्टामा उडाउँदै उत्तर दिएपछि उनले फेरि सच्याउँदै थपे, ‘कलाकारको लागि भूमिका यो त्यो भन्ने हुँदैन । भूमिका राम्रो छ, सशक्त छ, मुख्य क्यारेक्टरवाला छ र एउटा गहनता बोकेको छ भने कलाकारले जुन भूमिका पनि गर्छ । सशक्त चाहिँ हुनुपर्‍याे ।’

  • भ्वाइस अफ नेपालमा दिप र तृष्णा बाहिर, राजेशपायल र प्रविशाको इन्ट्री

    भ्वाइस अफ नेपालमा दिप र तृष्णा बाहिर, राजेशपायल र प्रविशाको इन्ट्री

    काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ ले चौथो सिजनका लागि प्रशिक्षक परिवर्तन गरेको छ । तीनवटै सिजनदेखि मुख्य कोच रहँदै आएका दीप श्रेष्ठ र गतवर्ष कोच रहेकी तृष्णा गुरुङ यो सिजनमा भने नरहने भएका छन् ।

    हिमालय टेलिभिजनबाट प्रशारण हुने शोकोे हरेक सिजनमा एक महिला कोच परिवर्तन हुँदै आएकोमा आयोजकले यसपटक भने दुई जना कोच परिवर्तन गरेको हो ।

    अबको एक महिनापछि प्रशारण हुन गईरहेको ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनमा दीप श्रेष्ठ र तृष्णा गुरुङको सट्टामा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारी नयाँ प्रशिक्षकमा रुपमा भित्रिने भएका छन् । राजु लामा र प्रमोद खरेलले भने यथावत् नै रहनेछन् ।

    ‘द भ्वाइस अफ नेपाल’ सिजन चारको डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्ये १२० प्रतिभाशालीहरुले ब्लाईन्ड अडिसनको लागी तयारी गरिरहेका छन् । यसपटकको अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गर्ने नेपाली भाषी प्रतिभाहरुको पनि सहभागिता रहेको छ ।

  • बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

    बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

    नयाँ दिल्ली । ‘कोई मिल गया’, ‘सत्य’ जस्ता थुप्रै हिट फिल्ममा अभिनय गरेका अभिनेता मिथिलेश चतुर्वेदीको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको छ । मिथिलेशका ज्वाइँ आशिष चतुर्वेदीले बिहीबार बिहान आफ्नो फेसबुक पोस्टमार्फत उक्त खबरको पुष्टि गरेका हुन् ।

    लखनउको दर्पण थिएटर ग्रुपमा मिथिलेशसँग धेरै नाटकहरूमा काम गसिकेका दिग्गज थिएटर अभिनेता अनिल रस्तोगीले पनि उनको मृत्युको पुष्टि गरेका छन्। अनिलका अनुसार मिथिलेशलाई हृदयघात भएपछि पछिल्ला केही दिनदेखि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

    आशिषले आफ्नो सञ्जालमा भावुक स्टाट्ससहित स्वर्गीय अभिनेताका तस्बिरहरू पोष्ट गरेका छन्। उनले लेखेका छन, ‘तपाई दुनियाँको सबैभन्दा सर्वश्रेष्ठ पिता हुनुहुन्थ्यो। तपाईले मलाई एक ज्वाँई मात्र नभएर छोराको पनि माया दिनुभएको थियो। तपाईको आत्मालाई शान्ति मिलोस्। ’

    मिथिलेशले सन् १९९७ मा फिल्म ‘भाइभाइ’बाट आफ्नो करियर सुरु गरेका थिए। उनले गदर–एक प्रेम कथा, अशोका, रेडी, मोहल्ला अस्सी, र क्रिस लगायतका धेरै फिल्महरूमा काम गरेका छन। उनी टेलिभिजन श्रृंखला ‘कायमत’ र ‘सिन्दूर तेरे नाम’ का पनि हिस्सा थिए।

  • मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै

    मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै

    काठमाडौं । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो ।

    जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पुरा भइसकेको जानकारी दिए । ‘लगभग अडिसनको तयारी पुरा भइसकेको छ, अडिसनको अघिल्लो दिनसम्म प्रतियोगिले आवेदन दिन सक्ने छन्,’–सिईओ चौधरीले भने ।

    प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने छ । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क ६०० तोकिएको छ ।

    थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरुमा अडिसन सुरु हुँदैछ । आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ ।

    अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् ।

    यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।

    पत्रकार सम्मेलनमा अडिसन कोअडिनेटर प्रधुम्न चौधरीलगायतले प्रतियोगिता बारे जानकारी गराएका थिए । कार्यक्रम जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • कृष्ण लीलाको अष्ट्रेलिया राइट बिक्री

    कृष्ण लीलाको अष्ट्रेलिया राइट बिक्री

    काठमाडौं । चलचित्र कृष्ण लीलाको अष्ट्रेलिया राइट बिक्री भएको छ । अष्ट्रेलियाका लागि निकेश मानन्धरले चलचित्रको राइट खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधवार राजधानीमा हस्ताक्षर भएको हो ।

    दीपक ओली निर्देशित चलचित्र फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहँदै आएको छ । त्यसमाथि चलचित्रका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर…अटल वाचा गरेँ’ औधी हिट भएकाले देश मात्र नभई विदेशमा पनि ‘कृष्ण लीला’ ‘डिमाण्डेड’ भएको छ ।

    कृष्ण जन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी,हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बाल कलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।

    आरआर फिल्मको  ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।

    पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर रमेश तामाङ हुन् ।

    लक्ष्मण सुवेदी लिखित चलचित्र शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

  • ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्ने महेश बाबु हिन्दी फिल्ममा डेब्यू गर्दै

    ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्ने महेश बाबु हिन्दी फिल्ममा डेब्यू गर्दै

    काठमाठौं । केही समय अगाडि ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएका दक्षिण भारतीय अभिनेता महेश बाबुले हिन्दी फिल्ममा डेब्यू गर्ने भएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गर्ने आगामी फिल्मबाट महेशले हिन्दी चलचित्रमा डेब्यू गर्न लागेका हुन् ।

    मुख्य रूपमा तेलुगु सिनेमामा काम गर्ने भारतीय चलचित्र निर्देशक र पटकथा लेखक राजामौली भारतीय सिनेमामा उत्कृष्ट रेकर्ड राख्ने निर्देशकहरू मध्ये एक हुन् । एपिक–ड्रामा ‘आरआरआर’ ले बक्स अफिसमा तहल्का मच्चाएपछि राजामौलीले आफ्नो निर्देशनमा तुरुन्तै अर्को काम सुरु गर्न लागेका हुन् ।

    यस वर्षको अन्तिमबाट छायांकनमा जाने बताइएको चलचित्रमा आलिया भट्ट हुन सक्ने चर्चा भएतापनि अहिलेसम्म अभिनेत्री भने फाइनल भइसकेको छैन । अहिले चलचित्रको स्क्रिप्टमा काम भईरहेको छ ।

    ‘नीडा’ बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका महेश केही समय अगाडि आफूले दिएको अभिव्यक्तिकै कारण विवादमा तानिएका थिए । उक्त अभिव्यक्तिपश्चात उनलाई अधिकतम भारतीय फ्यानहरुले नकारात्मक टिप्पणी समेत गरेका थिए ।

  • ‘मर्डर’ की नायिका मल्लिकाले खोलिन बलिउडको यस्तो राज

    ‘मर्डर’ की नायिका मल्लिकाले खोलिन बलिउडको यस्तो राज

    काठमाडौं । बलिउड नायिका मल्लिका शेरावत चलचित्रमा दिने बोल्ड अन स्क्रिन क्यारेक्टरका लागि परिचित छिन् । ख्वाइश, मर्डर, आदि जस्ता चलचित्रमा उनले दिएको कामुक पर्फमेन्सले उनलाई हट नायिकाको रूपमा चिनाएको छ ।

    उनी जति अन स्क्रिन खुल्छिन्, अफस्क्रिन पनि त्यति नै खुल्ला हिसाबले मिडियामा प्रस्तुत हुने गर्छिन् । मल्लिका जस्तो प्रश्नहरू पनि बिना डर र हिचकिचाहट जवाफ दिने नायिकामा पर्छिन् ।

    आफ्ना विचारहरू सधैँ छर्लङग्ग राख्ने मल्लिकाले हालै भएको एक अन्तर्वार्तामा सबैलाई चकित पार्ने बलिउडको कालो सत्यको खुलासा गरेकी छिन ।

    उनले चलचित्र पाउन वा गर्न कलाकारले गर्ने सम्झौता र त्यस्ता सम्झौता अस्वीकार गर्दा आफूले गुमाएका प्रोजेक्टहरूको बारेमा बोलेकी छिन ।

    भारतीय सञ्चारमाध्यमसँग कुराकानीको क्रममा मल्लिकाले आफूले कम्प्रमाइज नगर्ने भएकाले बलिउडका सबै ए–लिस्टर नायकहरू उनीसँग काम गर्न अस्वीकार गर्ने बताइन् ।

    उनी भन्छिन्, ‘एकदम सामान्य छ। निर्देशक वा कलाकारहरू त्यस्ता अभिनेत्रीहरू मन पराउँछन् जसलाई उनीहरू नियन्त्रण गर्न सक्छन् । जो उनीहरूसँग सम्झौता गर्न तयार हुन्छन्। तर म त्यो श्रेणीमा पर्दिन । मेरो व्यक्तित्व त्यो होइन। म आफूलाई कसैको इच्छा र चाहनाको अधीनमा राख्न चाहन्न र राख्दिन ।’

    पत्रकारले तपाईँले भन्नुभएको सम्झौताको अर्थ के हो भनेर स्पष्ट पार्न लाउँदा उनले थपिन, ‘बसभन्दा बस , उठभन्दा उठ्, जे गर भन्यो त्यहीँ गर्नुपर्ने । यदि तपाई कुनै फिल्म गर्दै हुनुहुन्छ भने बिहान ३ बजे हिरोले फोन गरेर ‘मेरो घर आऊ’ भन्यो भने पनि जानुपर्छ । यदि तपाईँ जानुभएन भने, तपाईँ फिल्मबाट आउट ।’

    बलिउड उद्योग र सञ्चारमाध्यमको एक वर्गले आफूलाई एक किसिमको मानसिक यातना दिँदै आएको र मानिसहरूले आफ्नो शरीर र ग्ल्यामरको मात्र कुरा गर्ने तर कसैले आफ्नो अभिनयको कुरा नगर्ने गुनासो उनले सो अन्तर्वार्तामा राखिन् ।

    शेरावत सन २००४ मा रिलिज भएको चलचित्र ‘मर्डर’ मा उनको ब्रेक आउट भूमिकाका लागि प्रख्यात छिन । तर पछिल्ला केही वर्षहरूमा भने उनी हिन्दी चलचित्रहरूमा खासै देखिन छोडेकी छन् ।

    चलचित्रमा नदेखिनु बारे उनी भन्छिन्, ‘मैले सक्दो राम्रो गर्ने प्रयास गरेको हो। राम्रो भूमिका खोज्ने प्रयास पनि गरेँ । सबैले जस्तो मैले पनि केहि गल्ती गरेँ होला । कतिपय भूमिका राम्रा थिए, कतिपय नराम्रा । यो त एक अभिनेताको यात्राको भाग नै हो तर समग्रमा भन्नुपर्दा मैले जति गरे जस्तो गरे एकदमै राम्रो गरे । म गर्व गर्छु आफूप्रति । हरियाणाबाट आएर मैले मर्डर चलचित्र गरे जुन यति लोकप्रिय भयो कि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दुई पटक सम्म भेट्ने मौका पाएँ । ज्याकी च्यान जस्तो महान् व्यक्तित्वले मलाई उहाँको फिल्ममा कास्ट गर्नुभयो। ’

  • डिजे सन्तोषको सम्झना : रिमिक्स गीतले सारंगी र मादलको डिमाण्ड बढाइदिएको थियो

    डिजे सन्तोषको सम्झना : रिमिक्स गीतले सारंगी र मादलको डिमाण्ड बढाइदिएको थियो

    डिजे सन्तोषलाई नसुन्ने संगीतप्रेमी कमै होलान् । चलेका हिट नेपाली गीतहरूको रिमेक उनैले गरेका थिए । कुनै समय उनी आफ्नो स्टुडियोबाट गीतहरू एरेन्ज र कम्पोज गर्थे । यही क्रममा उनलाई अचानक एक रिमेक एल्बममा काम गर्ने प्रस्ताव आयो । एड्भान्समै राम्रो पैसा दिएका थिए निर्माताले । उनले राम्रो गीत तयार गर्नुपर्ने थियो ।

    प्रस्ताव आएपछि डिजे सन्तोष उत्साहित हुनु स्वाभाविक थियो । सँगै निर्माताले ३ लाख एड्भान्स दिएपछि उत्साह झनै थपियो । उनले डान्स म्युजिक सृजना गर्नुपर्ने थियो । सन्तोष त्यो प्रस्ताव सम्झिँदै भन्छन्, ‘त्यति बेला एल्बम नै निकाल्दा पनि यति पैसा थिएन । यो राम्रो प्रस्ताव थियो ।’

    ‘एडिक्सन’ नामक यस एल्बममार्फत पैसा कमाउने मात्र नभएर नेपाली साङ्गीतिक आकाशमा नयाँ इतिहास लेख्ने अवसर पनि उनलाई जुर्‍यो । सबै रिमिक्स गीतहरू समावेश गरेर निकालिएको यो पहिलो एल्बम थियो । एल्बमलाई दर्शकहरूले पनि खुबै रुचाइदिए ।

    ‘रातो र चन्द्र सूर्य’, ‘घरबेटी नानी’, ‘लेकाली हे चोयाको डोको’, ‘बाइरोडको बाटोमा’ लगायत यस एल्बमका सबै गीतहरू चले । एल्बममा त्यस्ता केही गीतहरू पनि थिए, जसलाई नयाँपन दिन निकै मुस्किल थियो । सन्तोष सुनाउँछन्, ‘पुरानो घरलाई नयाँ रेक्टोफिटिङ गरे जस्तै हो गीतलाई रिमिक्स गर्ने काम । कुनै समय त्यो निकै चलेको हुन्छ, तर नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ । त्यस्ता गीतलाई नयाँ फ्लेवरमा प्रस्तुत गर्दा फेरि चर्चा पाउँछ ।’ साथै रिमेक गीतमा नयाँ र पुरानो पुस्ता दुवैले अपनत्व महसुस गर्न सक्ने सन्तोषको अनुभव छ ।

    त्यति बेला रिमिक्समा पाश्चात्य र नेपाली लोकबाजाको मिश्रण निकै मधुर सुनिने गर्थ्यो । जस कारण पनि सन्तोषका गीतहरू निकै चले । पश्चिमा बाजा र फेशनबाट प्रभावित त्यति बेलाका युवाहरूले हाम्रा लोक बाजाहरूलाई खासै महत्त्व नदिएजस्तो देखिएको समयमा एल्बम सार्वजनिक भएपछि सारंगी, बाँसुरी र मादल बजाउनेको डिमाण्ड नै बढेको मीठो अनुभव छ सन्तोषसँग ।

    उनी भन्छन्, ‘किनकि यस गीतले सारंगीलाई ग्ल्यामरस र कलात्मक तरिकाले देखायो । मानिसहरूको ध्यान गितार नभएर सारंगीले खिचेको थियो ।’

    त्यसबेला बिहे तथा पार्टीहरूमा नाच्नका लागि नेपाली गीतहरू कमै मात्र थिए । त्यसैले पनि उनले पुराना गीतहरूलाई तत्कालीन पुस्ताको फ्लेवरमा तयार गरेकाले गीतहरू निकै चले । रिमिक्स शैलीमा आएपछि नै कतिपय गीतहरूले त्यति बेला पुनः चर्चा पनि पाएका थिए । तर, ती गीतहरू फेरि हिट हुनुमा आफ्नो भूमिकालाई खास ठूलो मान्दैनन्, सन्तोष । भन्छन्, ‘मैले रिमेक गरेका गीतहरू त्यसअघि नै चलेका थिए । अग्रज स्रष्टाहरूले संकलन गर्नुभएका वा रचना गर्नुभएका लोक भाका थिए । ती गीतहरूको आफ्नै इतिहास छ । सर्जकहरूको आफ्नै इतिहास छ ।’

    बरु आफूले ती गीतहरूमार्फत नै आफ्नो परिचय बनाएको उनको दाबी छ । तिनै गीतका कारण दर्शक श्रोतामाझ चिनिन सकेको बताउँछन् । कालजयी गीतहरूलाई रिमेक गर्दा थोरै भए पनि न्याय गर्न सकेकाले नै दर्शकहरूले मन पराइदिएको सन्तोषको भनाइ छ ।

    यसपछि सन्तोषले ‘एडिक्सन २’ नामक अर्को एल्बम निकाले । एल्बममा ‘कति बस्छौँ माइतीकै कौसीमा’, ‘नाचिदेऊ मैच्याङ’, ‘मै छोरी सुन्दरी’, ‘चियाबारी’, ‘को हो त्यो’, ‘वनमा फूल्यो फूल’ लगायत चर्चित गीतको रिमेक छ । यस एल्बमका गीतहरू पनि निकै चले ।

    ‘एडिक्सन २’ पछि संगीत र साउन्ड रेकर्डिङमा थप अध्ययन गर्न थाइल्यान्ड पुगेका डिजे सन्तोष त्यसपछि लामो समय हङकङ बसे । थाइल्यान्ड गएको बेला त्यहाँ भेटिएका साथीहरूले नै बोलाएपछि सन्तोष हङकङ गएका थिए । त्यहाँ उनले लामो समय संगीत सम्बन्धी काम गरे ।

    सन्तोष भन्छन्, ‘पछिल्लो समय मैले त्यहाँको चर्चित कम्पनीले साउथ एशियन म्युजिक हेर्ने जिम्मा मलाई दिएको थियो । अहिले पनि संगीत वरिपरि नै काम गरिरहेको छु ।’

    लामो समयपछि सन्तोष फेरि नयाँ गीत लिएर आउँदै छन् । उनका अनुसार एक–दुई दिनभित्रै नयाँ गीत सार्वजनिक हुनेछ ।

  • अल्लु अर्जुनको लुक्स ‘पुष्पा २’ कै हो त ?

    अल्लु अर्जुनको लुक्स ‘पुष्पा २’ कै हो त ?

    काठमाडौं । तेलुगु सुपरस्टार अल्लु अर्जुनको नयाँ लुक्सको तस्बिर सार्वजनिक भएसँगै अहिले हरेक मिडियादेखि दर्शकको मनमा उक्त लुक्सले कौतुहलता जगाएको छ ।

    बक्स अफिसमा सुपर–डुपर हिट साबित भएको भारतीय तेलुगु चलचित्र ‘पुष्पा’ को दोस्रो संस्करणको लागी सुपरस्टार अल्लु अर्जुनले आफ्नो तयारी सुरु गरेका हुन् भन्ने हरेकले अनुमान गरिरहेका छन् । के ‘पुष्पा’ रिलिज भएको ८ महिना नबित्दै अल्लु अर्जुन ‘पुष्पा २’ को तयारीमा लागेका हुन् त ?

    केही दिन अगाडि तेलुगु जगतका चर्चित अभिनेता अल्लु अर्जुनले आफ्नो सामाजिक सञ्जालमा आफ्नो नयाँ लुक्सको एक तस्बिर साझा गरेका थिए । तस्बिरमा अल्लुलाई भिन्न लुक्समा चुरोट समातेको देख्न सकिन्छ ।

    सो तस्बिर ‘पुष्पा २’ को तयारीको लागि नभएर एक विज्ञापनको लागि सुट गरिएको हो । अल्लुको सुटमा श्रिङ्गारकर्ता रहेकी प्रीति शीलले सो तस्बिर एउटा अ्याड सुट रहेको दाबी गरेकी छन् ।

    अल्लुले आफू अभिनित फिल्म ‘पुष्पाः द राइज’को सफलतासँगै बक्स अफिसमा इतिहास रचेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अल्लु अर्जुनले ‘पुष्पा २’ को लागि पनि आफ्नो तयारी सुरु गरिसकेका छन् ।

    आफ्नो क्यारेक्टरको लागि उनले एक नभएर दुईवटा लुक्सको परीक्षण गर्दै छन् । उनले फिल्मको लागि आफ्नो फाइनल लुक्सको बारेमा फाइनल निर्णय दिन भने अझै बाँकी छ ।

  • डिस्चार्ज भइन् नीता ढुंगाना

    डिस्चार्ज भइन् नीता ढुंगाना

    काठमाडौं । ‘एपेन्डीसाइट’ को सफल अप्रेशन पश्चात् नायिका नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

    आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् । अप्रेसनपछि मंगलबार उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

    केही दिन अगाडि मात्र विवाह बन्धनमा बाँधिएकी निता आइतबार लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाँदै थिइन् । बाटोमै अचानक पेट दुख्न थालेपछि उनलाई अस्पताल लगिएको थियो ।

    अप्रेसनपछि नीताका श्रीमान हरिहर अधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत संलग्न डाक्टर र अस्पताललाई धन्यवाद दिँदै निता डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

  • ‘प्रकाश’ले कविता प्रतियोगिता गर्दै, विजेताले १ लाख पाउने

    ‘प्रकाश’ले कविता प्रतियोगिता गर्दै, विजेताले १ लाख पाउने

    काठमाडौं । नेपाली चलचित्र प्रकाशले अन्तर कलेज कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    आफ्नो गुरुको विशेषता वा महत्त्व बारे कविता प्रतियोगिता आयोजना हुन लागेको हो ।

    विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण समूहले जनाएको छ । यस्तै दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    कविता साउन २० देखि भदौ २० सम्म पठाइसक्नुपर्नेछ ।

    सहभागिताका लागि १२ देखि १८ वर्ष उमेर समूहका (कक्षा १२ सम्म अध्ययन गर्ने) विद्यार्थीहरू भाग लिन पाउनेछन् ।

    नेपाली वा अंग्रेजी भाषामा कविता पठाउन सकिने छ ।

    पुरस्कार प्रभु बैङ्कको फिक्स डिपोजिटमा जम्मा हुनेछ ।

    कविता बनाएर (मोबाइल वा क्यामेराबाट खिचेर) १ देखि साढे १ मिनेटसम्मको भिडियो फर्म्याटमा पठाउनुपर्नेछ ।

    राम्रो भिडिओलाई क्यानडा नेपालको युट्युब च्यानलमा प्रकाशन प्रसारण गरिनेछ ।

    कविता पठाउने ठेगाना : prakashthefilm@gmail.com

  • महिलाविरुद्ध विवादास्पद टिप्पणी गरेकाे मुद्दामा करण, हार्दिक र केएल निर्दोष सावित

    महिलाविरुद्ध विवादास्पद टिप्पणी गरेकाे मुद्दामा करण, हार्दिक र केएल निर्दोष सावित

    काठमाडौं । चर्चित भारतीय फिल्म निर्माता तथा टेलिभिजन प्रस्तोता करण जोहर, भारतीय क्रिकेटर हार्दिक पाण्डे र केएल राहुललाई जोधपुर उच्च अदालतले महिलाविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता गरेको तीन वर्षपछि राहत दिएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उच्च अदालतले तीनै जना निर्दोष साबित पाएपछि डा मेघवालले दायर गरेको मुद्दा रोकेको हो । मेघवालले जोधपुरको लुनी पुलिस स्टेशनमा भारतीय दण्ड संहिताको धारा अन्तर्गत मुद्दा दर्ता गरेका थिए ।

    करणले सञ्चालन गर्ने ‘कफी ह्वीथ करण’ मा विवाद हुनु वा कार्यक्रममा उपस्थित कलाकार वा अतिथि कन्ट्रोभर्सीमा पर्नु सामान्य कुरा हो ।

    यस्तै कन्ट्रोभर्सीमा परेका थिए क्रिकेटर हार्दिक पाण्डे र केएल राहुल जब २०१८, जनवरी ६ मा ‘कफी ह्वीथ करण सिजन ६’ मा भएको उनीहरुको अन्तर्वार्ता अन एयर भयो ।

    करणको शोमा यौनसम्बन्धको कुरा हुनु कुनै ठूलो कुरा होइन । उनी आफ्नो शोमा आएका हरेक अतिथिसँग यौनका कुरा खुलेयाम गर्ने गर्छन् । सन २०१८ मा खिचिएको हार्दिक पाण्डे र केएल राहुलको अन्तर्वातामा पनि त्यस्तै भएको थियो ।

    अन्तर्वार्तामा तीनै जना आफ्नो यौन जीवनका कुराकानीमा गर्दै थिए । शोभरी करणको हरेक प्रश्नमा राहुल सावधानीपूर्वक जवाफ दिंइरहेका थिए भने यता हार्दिक घमण्डका साथ आफूले धेरै महिलाहरूसँग हुक अप गरिसकेको कुरा सुनाइरहेका थिए ।

    सोही समय भएको यौनवादी र नस्लवादी कुराहरु र महिलालाई लिएर गरेका आपत्तिजनक टिप्पणीहरुका कारणे उनीहरु विवादमा तानिएका थिए ।

    विवादपश्चात भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यी दुई खेलाडीहरूलाई नै निलम्बन गरी अष्ट्रेलिया पठाएको थियो ।