Category: कलाप्रेस

  • व्यवसायी विकाश राणाको स्वरमा रहेको ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक

    व्यवसायी विकाश राणाको स्वरमा रहेको ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक

    काठमाडौं । व्यवसायी विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ ।

    लोडियस गीतमा संगीत संयोजन शशी विक्रम थापाको संगीत संयोजन रहेको छ। गीतमा शैलुंगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ।

    नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका छन्।

    सौखिन तिमल्सिनाले सम्पादन गरेको भिडियो विकाश राणाको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

  • ‘भारतीय मिडियाले बुझेरै लेखे होला, म सहर्ष स्वीकार्छु’

    ‘भारतीय मिडियाले बुझेरै लेखे होला, म सहर्ष स्वीकार्छु’

    काठमाडौं । रोमान्टिक नायकको छवि बनाएका प्रदिप खड्का अहिले दुईवटा चलचित्रलाई लिएर चर्चामा छन् । पहिलो, उनले फरक भूमिकामा अभिनय गरेको चलचित्र ‘प्रकाश’ यही भदौ १० गतेबाट रिलिज हुँदैछ । दोस्रो, उनले अभिनय गरेको चलचित्र ‘प्रेमगीत–३’ ले विश्वकै ठूलो फिल्म बजार मुम्बइमा प्रवेश पाएको छ ।

    भारतीय सहरमा प्रेमगीत २ का पोष्टरहरु टाँगिएको समाचारले नेपाली सञ्चारमाध्यममा राम्रै चर्चा बटुल्यो । उक्त चलचित्रको भारत मै आयोजना गरिएको प्रेसमिटमा प्रदिप पनि सहभागी भए । चलचित्र रिलिज हुन भने अझै केही समय प्रतिक्षा गर्नुपर्ने छ ।

    नायक खड्का यतिबेला उत्साहित त छन् नै, सँगसँगै केही नर्भस पनि । दिनेश राउत निर्देशित चलचित्र प्रकाशमा उनले चुनौतिपूर्ण भूमिका निर्वाह गरे, तर यसको रिजल्ट कस्तो आउला भन्ने व्यग्रता छ । अहिलेसम्म बनाएको रोमान्टिक हिरोको छापलाई यो चलचित्रले तोड्न सक्छ र उनलाई नयाँ उचाई दिन सक्छ । तर, दर्शकले रुचाएनन् भने उनको मिहिनेत खेर जान पनि सक्छ ।

    अर्कोतर्फ, योभन्दा ठूलो परीक्षा प्रेमगीत ३ मा दिनुपर्ने छ, आगामी असोजमा । नेपालसँगै भारतमा पनि यो चलचत्रि रिलिज हुँदैछ । पहिलोपटक कुनै नेपाली चलचित्रले भारतीय बजारको मेनस्ट्रिममा प्रवेश पाएको हो । अब यसले कस्तो ब्यापार गर्ला भन्ने सबैले चासोका साथ हेरिरहेका छन् ।

    यी दुई विषयमा केन्द्रीत रहेर खड्कासँग नेपाल प्रेसले गरेको कुराकानीः

    चलचित्र ‘प्रकाश’ का लागि अफर आउँदा कतिको च्यालेन्जिङ लागेको थियो ?

    प्रकाश गर्नुअघि मैले यो चलचित्र गरुम् या नगरुम् भनेर एकचोटी पनि सोचिनँ । बरु एक्टिङ क्लास सुरु भएपछि चाहिँ मलाई ‘ओहो गल्ती गरेँ कि क्या हो’ जस्तो महसुस भएको थियो । मैले अलि अल्छी गरेको र व्यक्तिगत प्रतिबद्धता मिट गर्न नसकेकाले कुनै पल चाहीँ नचाहिने पङ्गा उठाए कि क्या हो जस्तो भएको थियो ।

    मैले प्रकाश गर्दा एकचोटी पनि केही सोचिनँ भन्नुभयो । त्यसोभए कुनै पनि चलचित्र छनौट गर्दा के–के कुरालाई ध्यान दिनुहुन्छ ?

    म तीनवटा कुरालाई जहिल्यै पनि बेस बनाएर काम गर्छु । स्क्रिप्ट त कहिल्यै सुन्दा पनि सुन्दिनँ । पहिलो–चलचित्रमा नयाँपन के छ ? दोस्रो– चलचित्रको वान लाइन आइडिया के हो वा भनौँ चलचित्रले के सन्देश दिन खोजेको छ ? तेस्रो– चलचित्रको सुरु, मध्य र अन्त्यमा के हुन्छ ?

    यति सुनेपछि म आफ्नो दिमाग खेलाउँछु । उहाँहरुले आफ्नो विचार भन्नुहुन्छ । अनि त्यहीँबाट अरु नयाँ कुराहरुको पनि सिर्जना हुन्छ । मलाई म्याटर गर्ने भनेको चलचित्र बनाउनुको मुख्य मनसाय के हो भन्ने मात्र हो । मनसाय राम्रो भए त्यहीँबाट स्क्रिप्ट जन्मिन्छ । फिल्म बनाउनेको नियतमा म प्रश्न गर्छु । नियत ठीक भए सबै आफैँ ठीक हुन्छ ।

    प्रेमगीतको टिमले पनि प्रकाशलाई सपोर्ट गरिरहनुभएको छ । त्यही भएर त अहिलेसम्म प्रेमगीतको कुनै गीत वा ट्रेलर सार्वजनिक भएको छैन । कन्टेन्टले चलचित्र चल्ने हो । कन्टेन्ट के हो भन्ने कुरा टिजर र ट्रेलरमार्फत दर्शकहरुमाझ पुगिसक्यो भन्ने कुरामा मलाई पूर्ण विश्वास छ ।

    हाल आइरहेका अन्तर्वार्ताहरुमा तपार्ईले आफूले आफूलाई अलिक आध्यात्मिक र प्रेरक किसिमको व्यक्तिको रुपमा प्रस्तुत गरिराख्नुभएको छ । आफू अभिनित चलचित्र रिलिज हुने समय आएकाले गर्दा असल छवि देखाउन खोज्नुभएको हो ?

    यस्तो हो । तपाईले मेरो चार–पाँच वर्ष अगाडिका अन्तर्वार्ताहरु हेर्नुभयो भने पनि मैले यस्तै कुराहरु गरेको देख्न सक्नुहुन्छ । फरक के भयो भने त्यतिबेला म लभ स्टोरी चलचित्रहरु गर्दै थिएँ । त्यही भएर पनि होला, मेरा शब्दहरुलाई त्यो समयमा दर्शकहरुले त्यति ध्यान दिनुभएन । लभ हिरो भएकाले मेरा कुनै पनि शब्द वा वाक्यहरुलाई गम्भीर नलिनुभएको हुनसक्छ । अहिले म गम्भीर रोलमा छु । त्यसैले सबैले गम्भीर हिसाबले लिनुभएको होला ।

    आध्यात्मिक कुराहरुका सन्दर्भमा, यो मेरो आफ्नै पृष्ठभूमिले गर्दा हो भन्छु म चाहिँ । जब म कक्षा नौ, १० मा पढ्थेँ त्यतिबेला दुई–चारवटा त्यस्ता संघ–संस्थामा आवद्ध थिएँ, जहाँ धर्मका कुराहरु हुन्थे । जहाँ वेदका पाठहरु हुन्थे । म बैंगलोरमा कक्षा ११, १२ मा पढ्दाखेरि नै त्यहाँ हुने हरेक वेदका पाठहरु वाचन गर्थेँ । त्यसैले पनि मलाई आध्यात्मिक कुराहरुको ज्ञान अलिक धेरै छ ।

    भनेपछि चलचित्रमा गम्भीर भूमिका निर्वाह गरिएन भने दर्शकले पनि हल्का रुपमा लिँदा रहेछन् हगी ?

    त्यस्तो पनि अलिक भन्न मिल्दैन । सायद त्यतिखेर मैले प्रस्तुत गरेको ढाँचा अलिक गहकिलो नभएको हुनसक्ला । जे पनि हुनसक्छ । दर्शकहरु र उहाँहरुको मानसिकता पनि परिवर्तन भएको हुनसक्छ । त्यतिबेला म लभ हिरो हुँदा सायद दर्शकहरुलाई त्यही मात्र मन पथ्र्यो होला । त्यो समयदेखि आजकोे समयसम्म आइँपुग्दा दर्शकहरुको टेस्ट परिवर्तन भयो होला । त्यसैले आज मलाई यो भूमिकामा रुचाउनुभएको हुनसक्छ र मैले बोलेको कुराहरुलाई मन पराउनुभएको हुनसक्छ ।

    कोही व्यक्ति सिधा बाटोमा हिँडदा मात्र टर्निङ प्वाईन्ट आउने हो । अहिले म आफूले आफूलाई वृद्धि र उत्थान गर्ने बाटोतर्फ लैजाँदै छु । टर्निङ प्वाईन्टभन्दा पनि यो चलचित्रले मेरो करियरमा एउटा सफलताको सिँढी थप्ला ।

    प्रकाशको क्यारेक्टरमा आफूलाई ढाल्न कतिको गाह्रो भयो ?

    धेरै गाह्रो भएन । त्यो समय म त्यति व्यस्त थिइनँ । प्रेमगीतको सुटिङ पनि सकेर लगभग सात, आठ महिनादेखि फ्री नै बसिरहेको थिएँ । त्यसैले पनि यो चलचित्रको लागि तयारी गर्न मलाई कुनै मानसिक दबाब भएन । पर्याप्त समय पाएँ । त्यही हो, मनमा चलचित्रलाई न्याय दिन सक्छु कि सक्दिन भन्ने मात्र डर थियो ।

    यो चलचित्रबाट कत्तिको आशावादी हुनुहुन्छ ?

    म चाहिँ फेरि ‘होप फर द बेस्ट, प्रिपेयर फर द वर्स्ट’ भन्ने सिद्धान्तलाई मनमा राखेर हिँडने मान्छे हो । मेरो अपेक्षा जहिल्यै पनि बेस्ट नै रहन्छ । तर म वर्स्ट परिस्थितिको लागी पनि तयार भएर बस्छु ।

    जताततै भइरहेको प्रेमगीतको चर्चाले प्रकाशलाई ओझेलमा पारेको पनि चर्चा छ नि ?

    अहिले भईरहेको प्रेमगीतको चर्चाले दर्शकहरुको मनमा यस्तो प्रश्न उठनु स्वभाविक हो । ५०, ६० वर्षको इतिहासमा केही नयाँ कुरा हुँदा यतिको चर्चा जरुरी पनि छ जस्तो लाग्छ । प्रेमगीतको ७, ८ दिनको चर्चाले प्रकाशलाई छायाँमा पार्‍यो होला त्यो पनि म मान्छु । तर भोलि घरमा बिहे हुँदैछ भन्दैमा आज मान्छे भोकै त पक्कै बस्दैन होला । रिलिज डेटमै एक महिनाको ग्याप छ । प्रेमगीतको लागि भनेर एक महिनादेखि घरबाटै कोही ननिस्की वा कुनै चलचित्र नहेरी त बस्नुहुन्न होला ।

    म स्टार यताउता भन्दा पनि कहिलेकाहीँ आफैँ कलाकार हो कि हैन भन्ने कुराको सोचमा पर्छु । कहिले पनि मेरो मनमा म हिरो बन्छु, चलचित्र खेल्छु भन्ने थिएन । दर्शकहरुको मायाले आज म यहाँ छु ।

    प्रेमगीतको टिमले पनि प्रकाशलाई सपोर्ट गरिरहनुभएको छ । त्यही भएर त अहिलेसम्म प्रेमगीतको कुनै गीत वा ट्रेलर सार्वजनिक भएको छैन । कन्टेन्टले चलचित्र चल्ने हो । कन्टेन्ट के हो भन्ने कुरा टिजर र ट्रेलरमार्फत दर्शकहरुमाझ पुगिसक्यो भन्ने कुरामा मलाई पूर्ण विश्वास छ ।

    प्रदीपको जीवनमा प्रकाश चलचित्र एउटा टर्निङ प्वाईन्ट बन्ला ?

    कोही व्यक्ति सिधा बाटोमा हिँडदा मात्र टर्निङ प्वाईन्ट आउने हो । अहिले म आफूले आफूलाई वृद्धि र उत्थान गर्ने बाटोतर्फ लैजाँदै छु । टर्निङ प्वाईन्टभन्दा पनि यो चलचित्रले मेरो करियरमा एउटा सफलताको सिँढी थप्ला ।

    प्रकाश चलचित्रका लागि स्थानीय भाषा सिक्न कत्तिको गाह्रो भयो ?

    मलाई एउटा कलाकार जस्तो परिस्थितिमा पनि भिज्न सक्ने हुनुपर्छ जस्तो लाग्छ । रचनात्मक त निर्देशक हुने हो । मैले कहिल्यै पनि स्क्रिप्ट हेरेर यो कसरी गर्ने होला भनेर सोचेर बसिनँ । दिएको स्क्रिप्टलाई मैले त्यहाँका बासिन्दाहरुले कसरी बोल्छन् भन्ने कुरालाई मनमा राखेर, त्यहाँको बारेमा अध्ययन गरेर अभ्यास गरेँ । त्यहाँका बासिन्दाहरुको मुखबाट ‘तपाई त हामी जस्तै बोल्नुहुन्छ’ भन्ने वाक्य नआइन्जेल मैले भाषाको तयारी गरेको हो ।

    प्रेमगीत र प्रकाशमध्ये एउटा छान्नुपर्दा कुन छान्नुहुन्छ ?

    के आधारमा छान्ने भन्ने नै कुरा आउँछ । स्टोरी कन्सेप्टको कुरा गर्ने हो भने प्रकाशलाई छान्छु । स्कोपको कुरा गर्ने हो भने प्रेमगीत ।

    भनेपछि ‘प्रेमगीत’ को स्टोरी कन्सेप्ट कमजोर छ ?

    त्यस्तो भन्न खोजेको हैन । स्कोप मतलब धेरैभन्दा धेरै दर्शहरुलाई तान्न सक्छ भन्ने हो । स्टोरीको कुरा गर्ने हो भने तपाई प्रेमगीतमा यस्तो होला कहानी भनेर अनुमान गर्न सक्नुहुन्छ । लभ कन्सेप्टमा बनेको चलचित्र भएकाले । तर प्रकाशको स्टोरी तपाईलाई अनुमान गर्न गाह्रो हुन्छ ।

    यदि फिल्म ‘प्रेमगीत’ नायिका पूजा शर्मा र ‘प्रकाश’ कि अभिनेत्री दिया मास्केमध्ये एक छान्नुपर्यो भने ?

    के आधारमा छान्ने भन्ने कुरा आउँछ । याक्टिङ, सबैसँग घुलमिल हुने स्वभाव, प्रकृति र मिलनसारको आधारमा म दिया मास्के छान्छु ।

    यहाँ मान्छे अनुसारको कुरा हुन्छ । कोही धेरै लुक्यो भने चर्चा हुन्छ भन्छन्, कोही कन्ट्रोभर्सी निकाल्यो भने । कन्ट्रोभर्सीकै कुरा गर्नुपर्दा मलाई चाहिँ कन्ट्रोभर्सीले हाईप बढ्छ भन्ने लाग्दैन । दर्शकको मन कामले जित्ने हो, कन्ट्रोभर्सीले होइन ।

    केही भारतीय मिडियाहरुमा तपाईंलाई नेपालको सबैभन्दा ठूलो स्टार भनेर चित्रण गरियो । के यो चलचित्रले तपाईंलाई नेपालको नम्बर १ स्टार बनाउला ?

    म स्टार यताउता भन्दा पनि कहिलेकाहीँ आफैँ कलाकार हो कि हैन भन्ने कुराको सोचमा पर्छु । कहिले पनि मेरो मनमा म हिरो बन्छु, चलचित्र खेल्छु भन्ने थिएन । दर्शकहरुको मायाले आज म यहाँ छु ।

    जति पनि भारतीय मिडियाहरुबाट ठूलो स्टार भन्ने समाचारहरु आयो, ती सबै मिडियाहरु भारतका एकदमै प्रामाणिक र भरपर्दा मिडियाहरु हुन् । मैले व्यक्तिगत रुपमा उहाँहरुसँग कुरा गरेर मेरो बारेमा लेख्नु पनि भनेको हैन । न त उहाँहरु कुनै पैसामा बिक्ने व्यक्तिहरु नै हो । उहाँहरुले मेरो बारेमा लेख्नुअघि पक्कै केही अध्ययन र सर्वेक्षण त गर्नुभयो होला । त्यसै केही नसोची लेख्नुभएन होला । अध्ययन गर्दा उहाँहरुलाई जे लाग्यो त्यही लेख्नुभयो । म उहाँहरुलाई ईज्जत गर्छु र उहाँहरुले लेखेका कुरालाई सहर्ष स्विकार्छु ।

    तपाईंले चलचित्रमा पारिश्रमिक नलिएको कुराहरु बजारमा फैलियो । एक्कासी यो कुराहरु उठ्नु चलचित्र चलाउने एउटा रणनीति हो ?

    यदि पारिश्रमिक नलिएको कुरा चलचित्र चलाउने रणनीति हो भने यो सात, आठ वर्ष अघिको नै रणनीति हो भन्छु म । योभन्दा अघिका कति चलचित्रहरुमा पारिश्रमिक नलिएका कुराहरु मैले त्यतिबेला पनि भनेकै हो । त्यतिबेला यस्तो केही कुरा आएन । यदि अहिले यस्तो कुरा आउँछ भने यो बुझिन्छ कि म खत्रैै रहेछु। सात–आठ वर्षदेखि यत्रो रणनीति सोचेर बस्नु सानो कुरा हैन नि त ।

    कन्ट्रोभर्सी जति आयो त्यति कलाकारलाई फाइदा हुन्छ भनिन्छ । तपाईंको मान्यता के छ ?

    यहाँ मान्छे अनुसारको कुरा हुन्छ । कोही धेरै लुक्यो भने चर्चा हुन्छ भन्छन्, कोही कन्ट्रोभर्सी निकाल्यो भने । कन्ट्रोभर्सीकै कुरा गर्नुपर्दा मलाई चाहिँ कन्ट्रोभर्सीले हाईप बढ्छ भन्ने लाग्दैन । दर्शकको मन कामले जित्ने हो, कन्ट्रोभर्सीले होइन ।

    तपाईं आफूले आफूलाई तीन वाक्यमा बर्णन गर्नुप‍र्‍यो भने कसरी गर्नुहुन्छ ?

    समय र परिस्थितिअनुसार जहाँ र जस्तो माहोलमा पनि भिज्न सक्ने, जिन्दगीमा जेजस्तो भए पनि ओके भनेर अघि बढ्न सक्ने र समय, अवस्था र भाग्यलाई विश्वास गर्ने ।

  • भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा (भिडियाे)

    भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा (भिडियाे)

    काठमाडौं । भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ ।

    एक महिनाअघि सार्वजनिक गीतमा चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत रहेको छ । गीत मंगलबारसम्ममा युट्युबमा एक करोडलाई बढी पटक हेरिएको छ ।

    यो यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये करोड क्लबमा पुग्ने एक मात्रै गीत हो । युट्युबमा एक लाख १५ हजार बढीले लाइक गरेको उक्त गीतलाई ८ हजार भन्दा बढीले प्रतिक्रिया दिएका छन् । गीत सार्वजनिक भएको एक साता नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेर एक साताभन्दा लामो समयसम्म बसेको थियो ।

    गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

    प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य रहेको छ । सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् ।

    गायक भागिरथले ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको प्रतिकृया जनाए । अहिले तीज गीतलाई यति धेरै रुचाइदिएकोमा भागिरथले यसको श्रेय स्रोता र दर्शक भएको भन्दै नेपाल प्रेसमार्फत धन्यवाद व्यक्त गरेका छन् ।

    गीत रिलिज गर्दा एक किसिमका अपेक्षा भएपनि यति धेरै चर्चाको आशा नगरेको बताए । उनले भने, ‘गत वर्षको ‘थोपडाले धोका दियो बरिलै’ यूट्वुवमा ५० लाखले हेरेका हुनाले त्यो भन्दा बढी गइदेओस् भन्ने त थियो तर, त्योभन्दा धेरै नै बढी चर्चित बन्यो ।’

    आफ्नो गीत टिकटकमार्फत बढी भ्यूज गएको उनको बुझाइ छ । उनले थप्दै भने, ‘टिकटकमा चल्न थालेपछि चौँथौ र पाँचौं दिनबाट बल्ल भ्युज बढेको हो ।’

    ७५ भन्दा बढी गीतमा स्वर दिएका भागिरथको ‘झमझम झम्काना’ करोड क्लवमा पुग्ने दोस्रो गीत हो । यद्यपि यसपालि करोड क्लबमा पुग्ने तीज गीत भने पहिलो हो ।

    भिडिओः

  • ‘२ नम्बरी’को टिजर सार्वजनिक

    ‘२ नम्बरी’को टिजर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ । चलचित्र असोज २१ गतेबाट रिलिज गर्ने तयारी गरिर्एको छ ।

    चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरू दयाहाङ राई र सौगात मल्लबिचको मित्रतालाई देखाइएको छ । साथमा, दयासँग उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबिचको प्रेमकथालाई समेत रमाइलो शैलीमा देखाइएको छ ।

    चलचित्रमा सौगात मल्लको गेट अप र संवाद बोल्ने शैली समेत फरक छ । यसले दर्शकलाई आकर्षित गर्न सक्छ । चलचित्रमा यी चार कलाकारको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरी, सतिस सिंह कार्की, गणेश बस्याल र राजकुमार राईको अभिनय छ ।

    सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

    चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङ्नी सह–निर्माताको रूपमा छिन् ।

  • मदन पुरस्कारको सर्ट लिस्टमा परेकी ‘परदेशी’ कवि, जो कोरियामा श्रम गर्दै कोर्छिन् कविता

    मदन पुरस्कारको सर्ट लिस्टमा परेकी ‘परदेशी’ कवि, जो कोरियामा श्रम गर्दै कोर्छिन् कविता

    काठमाडौं । २०७८ सालका लागि मदन पुरस्कारको अन्तिम सूचीमा परेका आठ लेखकको नाम सार्वजनिक भएको छ । उनीहरूमध्ये एक जनाले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्ने छन् ।

    गत वर्ष प्रकाशितमध्ये मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट श्रेष्ठ ८ पुस्तक छानिएका हुन् । डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘गृष्मको नीलो बाकस’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती ः इतिहास र मीमांसा’ र पद्म सुन्दर जोशीको ‘हिटी प्रणाली’ पुस्तक टप ८ मा परेका छन् । उनीहरूमध्ये कम परिचित नाम हुन् दिपा मेवाहाङ राई ।

    कवितासंग्रह ‘यादको सन्दुक’की सर्जक राई आधा दशकदेखि दक्षिण कोरियामा श्रम गर्दै आएकी छन् । दैनिक १६ घण्टा मेसिन जसरी काममा जोतिने उनी जेनतेन समय निकालेर कलम चलाउँछिन् । खाजा खाने र खाना खाने समयमा पनि उनी कविता फुराउँछिन् । करिब पाँच वर्षको साधनापछि उनले कविता संग्रह निकाल्न सफल भएकी हुन् ।

    आफ्नो पुस्तकबारे राई भन्छिन्, ‘यो मेरो पहिलो एकल कविता सङ्ग्रह हो । परदेशमा रहँदा देश, आफन्त, साथीसंगीहरुको यादहरूलाई एकदमै जतन साथ समेटेको छु ।’

    उनी थप्छिन्, ‘परदेशमा रहँदा दिक्दार लाग्दो दैनिकीबाट आफूलाई थोरै रिफ्रेस बनाउन लेखिएका शब्दहरू हुन् यी कविता । मेरो लागि कविता भन्ने बित्तिकै बिहान झुल्किँदै गरेको घाम जस्तै हो । जसलाई हेरेर, पढेर, लेखेर म आफूलाई एकदमै न्यानो अनि फ्रेस महसुस गर्छु ।’

    राईलाई विदेशमा बस्नसाथ ‘डायस्पोरा’ भनेर अलग्याएको मन पर्दैन । नेपालका कविहरूले जसरी कविता लेखिरहेका छन्, त्योभन्दा व्यस्त समयबाट थोरै समय निकालेर लेखिएका कवितालाई ‘डायस्पोरा’को ट्याग झुन्ड्याइदिनु ननिको लाग्छ उनलाई । नेपालमा बसेर जति समर्पणका साथ कविता लेखिइरहेका छन्, आफूहरूले पनि त्यही समर्पण र श्रद्धाका साथ कविता लेख्ने गरेको उनको दाबी छ ।

    आफ्नो पहिलो कविता संग्रह नै मदन पुरस्कारको सूचिमा पर्दा उनको खुशीको सीमा छैन ।

    भन्छिन्, ‘एकदमै खुसी लागेको छ । थप जिम्मेवारी थपिएको महसुस भएको छ ।’

    उनै कविता दिपा मेवाहाङ राईको दुई कविता :–

    सेतो फूल

    लगाएर एउटै काखको सिरानी

    भरेर एउटै सासको त्यान्द्रा

    हुर्किएका थियौँ एउटै आँगनमा

    खेलेका थियौँ एउटै मझेरीमा ।

    देखेका थियौँ हामीले

    सगरमाथाभन्दा अग्लो सपना

    बनाएका थियौँ अरुण जतिकै लामो

    भविष्यका योजनाहरू

    सजाएका थियौँ आकाशको क्यानभासमा खुसीहरू

    त्यही सपनाको उडान भर्न

    तँलाई जिम्मेवारीको पिँजडामा थुनेर

    आफू हिँडेको थिएँ

    मेसिनको सहरमा मेसिनको मान्छे बन्न

    थाहा नपाई तँ त भासिँदै थिएछस् आफू भित्रभित्रै

    गल्दै थिएछ काँधका मांसपेशीहरू

    ओंठमा बनावटी मुस्कान फुलाएर

    फुल्दै थिएछस् पारिजात बनेर ।

    तँ एक भूगोलमा घाम बनेर उदाइरहँदा

    मैले अर्को भूगोलमा पाएको थिएँ न्यानोपन

    एकातिर तँ दुःखको पिल्लर बनेर उभिइरहँदा

    अर्कोतिर मैले भरिरहेको थिएँ सुखको उडान

    विडम्बना भनौँ, या कुनै नराम्रो सपना

    एक साँझ घाम डुब्नुअघि

    डुबेछस् तँ कहिल्यै नउदाउने गरी हाम्रो आकाशबाट

    तँ जानुअघि

    सुनाउनु पर्ने थिए होलान् कति कुरा

    बुझाउनु पर्ने थियो होला जिन्दगीको परिभाषा

    सम्झाउनु पर्ने थियो होला छुटेका अनगिन्ती हिसाबहरू

    माग्नु पर्ने थियो होला अजम्बरी वाचाहरू

    थिचेको थिएछस् मोबाइलमा बारबार फोन कलहरू

    पारेको थिएछ्स् म्यासेजका वर्षाहरू

    त्यति बेला म

    नाप्दै थिएँ आफ्नै जिन्दगीको इन्चीटेप

    जोड्दै थिएँ आफ्नै फुटिसकेको भाग्य बटुलेर

    रोप्दै थिएँ आफ्नै पसिनाको बिउ

    जुध्दै थिएँ मेसिनसँगै मृत्युको रिङमा

    जब साँझ ढलेर रात पर्‍यो

    यता मोबाइलको स्क्रिन उज्यालो बनेर बल्यो

    उता कहिल्यै उज्यालो नफर्किने गरी

    सधैँका लागि उज्यालो हरायो हाम्रो अनुहारबाट

    दिदी, तँ सकिएछस् मैनबत्ती झैँ

    फेरि कहिल्यै नबल्ने गरी

    मेरो कलिला हातको बलियो खम्बा बनेर

    मेरो कोमल पैतालालाई नबिझ्याउने जमिन बनेर

    हिँड्न सिकाएको थिइस् गोरेटोमा

    कुद्न सिकाएको थिइस् जिन्दगीको दौड

    मेरो दुखाईमा बनेर पेनकिलर

    मेरो आँसु झर्दा बनेर रुमाल

    निराश बन्दा हौसलाको प्रतिमूर्ति बनेर

    जति बेला पनि बसिरन्थिस्

    मनको पकेट बक्समा

    परिस्थितिले यसरी दासी बनाउँछ कि

    लाचार बनेर कुनै स्क्रिनमा केही दृश्य हेरे जसरी

    हेर्दै छु दर्शक बनेर तेरो मृत्युको खेल

    यति बेला गर्नै सक्छु मैले के नै ?

    सक्दिनँ तँलाई अन्तिम पटक छातीमा टाँसेर रुन

    सक्दिनँ तँ जाने बाटोमा बार लगाउन

    सक्दिनँ रोक्न तेरो यात्रामा बाधा पुर्‍याउन

    शरीर काँपिरहेछ

    गला अवरुद्ध छ

    आँखाहरू बगिरहेछन् खहरे बनेर

    मन डढेको छ खरानी बनेर..

    मैले तँलाई बिदा दिनै पर्छ

    अब तँ यस लोकको रहिनस्

    पराइस् बनिस् दिदी ।

    अब कहिल्यै हाम्रो हुने छैनस्

    हामीसँग केही वास्ता हुने छैन तेरो

    तैँले अब आफ्नो बाटो लिएर जानू

    दुःख मन नगर्नु आफ्नो भाग्यमाथि

    अर्को जन्म लिएर आउँछस् भने

    आउनु सँगै एउटै कलेजोको सिरानी लगाएर

    भर्नु सासको त्यान्द्रामा आयु पुग्ने गरी

    भेट्न आउनु यही ठाउँमा ।

    दिदी,

    म तेरो प्रतीक्षामा बस्नेछु

    सेतो फूल बोकेर ।

    २. मेसिन भित्रको मान्छे

    दिनभरि यो सहरले मलाई

    मेसिन बनाउँछ

    समयको चालसँगै दौडाउँछ

    मनमा विद्रोहको आगो बल्छ

    निभाएर चुप लाग् भन्छ

    दुख्छु थाक्छु

    सहेर बस् भन्छ

    दुःख लुका भन्छ

    जब रात पर्छ

    तब मान्छे हुन खोज्छु

    दिल खोलेर रुन्छु

    उन्मुक्त हाँसो हाँस्छु

    साँच्चै मान्छे बनिनलाई

    दिल खोलेर रुन सक्नु पर्ने रहेछ ।

    ०००

  • ‘कृष्ण-लीला’ टिमद्वारा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण

    ‘कृष्ण-लीला’ टिमद्वारा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण

    काठमाडौं । चलचित्र कृष्ण लीलाका कलाकारहरूले साउने सोमबारको अवसरमा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका छन् ।

    भाद्र तीन गते प्रदर्शनमा आउन लागेको चलचित्रका नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्री निर्देशक दीपक ओली लगायतले पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरेका हुन् ।

    प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सह निर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

    चलचित्रमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ ,रवीन्द्र झा,नवीन रेग्मी,भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाईँ,आयुषा क्षेत्री,पीताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

    आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित चलचित्रको वितरक पनि आरआर फिल्मस नै हो । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले लिएको छ।

    साउने सोमबारमा पशुपति क्षेत्रमा दर्शनार्थीको निकै भिड हुने गर्दछ । आज साउनको चौथो सोमबार हो ।

  • प्रिती आले र राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक (भिडियो)

    प्रिती आले र राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक (भिडियो)

    काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ ।

    गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको म्यूजिक भिडियोलाई गायिका प्रिती आलेले नै निर्देशन गरेकी हुन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्तिमगरले सम्पादन गरेका छन् । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारले अभिनय गरेका छन् ।

  • मदन पुरस्कारको उत्कृष्ट ८ पुस्तक सार्वजनिक, कुनकुन पुस्तक परे ?

    मदन पुरस्कारको उत्कृष्ट ८ पुस्तक सार्वजनिक, कुनकुन पुस्तक परे ?

    काठमाडौं । मदन पुरस्कार २०७८ को अन्तिम सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट मदन पुरस्कार- २०७८ श्रेष्ठ सूचीमा ८ पुस्तकहरू छानिएका छन् ।

    डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सति- ईतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक श्रेष्ठ सूचिमा परेका हुन् ।

    मदन पुरस्कार गुठीले एक विज्ञप्ति जारि गर्दै यी ८ पुस्तक मध्ये एक पुस्तकलाई ०७८ सालको मदन पुरस्कार दिइने बताएको छ ।

  • आर्यनले साइन गरे नयाँ फिल्म ‘सायरा’

    आर्यनले साइन गरे नयाँ फिल्म ‘सायरा’

    काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो , ‘सायरा’ ।

    उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।

    उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।

    उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

    उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।

    पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केहि समय अगाडी निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ झैँ सुनिने उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन् । केहि फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन् ।

    रघु परियार , प्रस्तुतकर्ता:

    एउटा स्तरीय नेपाली फिल्म बनाउने प्रयाश स्वरूप थालनी गरेका हौँ । यसमा मसँगै अन्य व्यक्तिहरु पनि जोडिनु भएको छ । फिल्ममा आर्यन सिग्देल अनुबन्धित हुनु भएको छ भने अन्य कलाकारहरुसँग कुराकानी भइरहेको छ ।

    विशेषत फिल्ममा बलिउडमा रहेका निर्देशकसँग फिल्म निर्देशनको बारेमा कुराकानी भइरहेकाले उनी अनुबन्धित भएपछि उनकै सल्लाह अनुसार अन्य प्राविधिक लाइन–अप गरिने छ । फिल्मको छायांकन असोजमा सुरु गर्ने तयारी छ ।

    यसको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि नेपालमा पनि गरिने छ । फिल्म सामाजिक कथावस्तुमै आधारित छ । आर्यनजी भएपछि लभ स्टोरी त स्वाभाविक भयो नै ।

  • छड्के- २ को वर्कशपमा अनमोलको ग्याङस्टार लुक्स

    छड्के- २ को वर्कशपमा अनमोलको ग्याङस्टार लुक्स

    काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला चितवनमा  छन् । नयाँ फिल्ममा ‘छड्के २’ काम शुरु गर्नुअघि नै अनमाेल केसीकाे  लुक्स सार्वजनिक भएको छ । छायांकनको तयारीमा रहेको उक्त फिल्मका अभिनेता केसी कार्यशालामा व्यस्त छन् । उनको नयाँ लुक्स सार्वजनिक भएको हो ।

    निगम श्रेष्ठको पटकथा र निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायांकनभदौ १ गतेबाट शुरु हुदैछ । काभ्रे फिल्मको ब्यानरमा बन्ने उक्त फिल्मको निर्माता भने प्रशान्त गिरी र लक्ष्मण काफ्ले  रहेका हुन् ।

    फिल्ममा कलाकारहरु अनमोल केसी , रविन तामांग , कमल मणि नेपाल रहेका छन् । निर्देशक श्रेष्ठका अनुसार अहिले चितवनमा वर्कशप भएको छ। अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गरिरहेको उनले बताए ।

    उनले भने,‘एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जिवन्त बनाउन गरेको यो संघर्षले टिमलाई उर्जा मिलेको छ। हामीले सोचेको भन्दा बढी मेहनत अनमोलले आफ्नो क्यारेक्टरमा प्रस्तुत हुन् गरिरहेका छन्।’

    साउनकै तेस्रो साताबाट छायांकनमा जाने भनिएता पनि विविध कारणसँगै मौसम प्रतिकुलहुँदा रि(सेड्युल गरेर भदौ १ गतेबाट छायांकनमा जाने तयारी रहेको निर्माता गिरीले बताए ।

    ग्याङ्गस्टर फिल्मलाई छायांकन गर्न अहिले ६० दिनको सेड्युल रखिएको छ। फिल्मको ब्राण्ड भ्यालुलाई खस्किन नदिन निर्माताको पक्षबाट कुनै सम्झौता नगरिएको उनले बताए । उनले भने, ‘निर्देशक र कलाकारलाई चाहिने सम्पूर्ण कुराहरु उपलब्ध गराएका छौँ। बाँकी कलाकार सहित टिमलाई छायांकन प्रारम्भ भएसँगै परिचित गराउने छौँ।’

  • सत्ताले फोर्न नसकेको ढुंगो अर्थात् खुवालुङ

    सत्ताले फोर्न नसकेको ढुंगो अर्थात् खुवालुङ

    ०७७ फागुन ८ मा विराटनगर पुगेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘पानीजहाजले चतराबाट ११ मिनेटमा भोजपुर पुर्‍याउँछ र ल्याउँछ । त्यहाँ बाधा भएको एउटा ढुंगोलाई क्रेन लगाएर फुटाउँदैछौं । र नदीको बाटो क्लियर गर्दैछौं ।’

    ओलीले संकेत गरेको ढुंगो किराती समुदायको आस्थाको केन्द्र हो । त्यही ढुंगोलाई मियो बनाएर निर्मित मिथक र कथनहरुबाटै किराती सभ्यता र ऐतिहासिकताको फेहरिस्त निस्किन्छ ।

    तर, ओलीको त्यस्तो अभिव्यक्तिपछि राई समुदाय आक्रोशित बन्यो । सामाजिक संजालमा टिकटिप्पणी भए । वर्षमा दुईपटक टुँडिखेलमा दौरा सुरुवाल र गुन्यूचोलो लगाएर ‘छ्याङ’ खानकै लागि मात्रै पुग्ने पुस्ताले पनि ‘खुवालुङ’बारे थाहा पाए । विरोध चर्कियो, आन्दोलन भए । खुवालुङ नै पुगेर अभियन्ताहरुले नाराबाजी गरे । अन्ततः प्रदेश १ सरकारले बजेट विनियोजन गरिसकेका ढुंगो फुटाउने ‘प्रोजेक्ट’ रोकियो । र किरातीहरुको मुन्दुमी मान्यता र विश्वासमा बाँचेको ‘खुवालुङ’ जोगियो ।

    दूधकोशी–सुनकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित त्यही खुवालुङमाथि अहिले मण्डला थिएटरमा नाटक मन्चन भइरहेको छ । राजन मुकारुङद्धारा लिखित र किरण चाम्लिङद्धारा निर्देशित ‘खुवालुङ’ले किरात सभ्यताको विस्तार, माटो र प्रकृतिमाथिको आदिवासी विस्वास, जीवन दृष्टिकोणका अवयवहरुलाई केलाउने प्रयास गरेको छ ।

    आउनुहोस्, नाटक चिरफारमा जानुअघि ‘खुवालुङ’को रोचक मिथकलाई एकफेर मज्जाले नियालौं ।

    ‘खुवा’ अर्थात् राज्य, सीमा, क्षेत्र र ‘लुङ’ भन्नाले ढुंगो । संस्कृतिविद् चन्द्र हतुवाली ‘किरात राई संस्कृति’ पुस्तकमा लेख्छन्, ‘प्राचीन किरात बसोेबास क्षेत्रको सीमा ढुंगोका रुपमा खुवालुङलाई लिइन्छ ।’

    धनकुटा, भोजपुर र उदयपुरको सिमानामा पर्ने खुवालुङबारे मुन्दुममै पनि जब बिजुवाले सृष्टिको कथा भन्न सुरु गर्छन्, खुवालुङको प्रसंग आउने गर्छ । खुवालुङ आएपछि बिजुवाले गीत र नाचको लय बदल्छन् ।

    राजनीतिक र पुरातात्विक महत्व बोकेको मैनामैनीगढी अहिले पनि उदयपुरमा छ । भनिन्छ, सप्तकोसी किनार क्षेत्रमा किरातीले राज्य गर्दा उदयपुरको बेलकागढी केन्द्र थियो । अहिले बेलकागढी उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्छ भने खुवालुङ बेलकाको सिमानामा पर्छ ।

    मिथक अनुसार किरातीहरुका पुर्खा मुकुबुङ(भोटे), हर्कबुङ(किरात) र रिब्लुङ(थारु) तीन दाजुभाइ थिए । उनीहरु मधेसतिरबाट नदीको किनार पछ्याएर हिँड्दै खुवालुङ आइपुग्दा त्यहाँको ढोका बन्द थियो । तर, जेठो मुकुबुङले जुरेली चराको भोग दिएपछि ढोका खुल्यो र नदी तरे ।

    माइलो हर्कबुङले पार गर्न सकेनन्, पारी पुगेका दाइलाई सोध्दा ‘चेलीको रगत पार्नू’ भने । अनि चेलीको खुट्टाको कान्छी औंला काटेर रगत दिएपछि ढोका खुल्यो र तरे । तर, चेलीको खुट्टामा रगत रोकिएन । तुरुन्तै चेलीको मृत्यु भयो । चेलीको रगत केराको पातमा खसेको थियो । त्यो पात बाख्राले खायो । त्यसैले राईहरुले बाख्रालाई कुलपित्रमा चलाउँदैनन् । बाख्राको मासु खान नहुने पनि जनविस्वास छ ।

    खुवालुङबाट फैलिएका किराती पुर्खाहरु तमोर पछ्याउनेहरु लिम्बु भए । अरुण पछ्याउनेहरु मेवाहाङ, याम्फु, लोहोरुङ आदि भए । दुधकोशी पछ्याउनेहरु राईहरु अर्थात् खम्बुहरु भए । सुनकोशी पछ्याउनेहरु सुनुवार, जिरेल, सुरेल भए ।

    यही मिथकलाई टेकेर अहिले ‘खुवालुङ’ चलिरहेको छ । राजनीति छेउछेउ बगेर जोगिएको खुवालुङ अर्थात् ढुंगोको कथा पनि राजनीतिक घटनाक्रमबाटै विकास गरिएको छ । मेयर, ठेकेदारहरु जहाजमा चढेर सयर गरिरहेको वेला अचानक जहाजमा बाधा आइपर्छ । जहाज अगाडि जान नसक्ने अवस्थामा पुग्छ । दूरबिनले हेर्दा थाहा हुन्छ, त्यहाँ ढुंगो छ । र उक्त ढुंगो फुटाएर बाटो क्लियर गर्न नेपथ्यबाट आदेश प्राप्त हुन्छ ।

    दृश्यमा हाँसीमजाकमै त्यत्रो विश्वास र आस्था बोकेको ढुंगो फुटाउन निर्णय गरिएको छ । हाँसीमजाक किन ? हाम्रा राजनीतिक नेतृत्व कहिल्यै आदिवासी तथा भूमिपुत्रमाथि गम्भीर बन्यो ? कहिल्यै सीमान्तकृत र राज्यको पहुँचबाट टाढा रहेकाहरुप्रति उदार बन्यो ?

    मजाक–मजाकमै उनीहरु निर्णय गर्दछन् । मजाक–मजाककै उनीहरु रंगशालाका नाममा आदिवासी चिहान उधिन्न उद्दत बन्छन् । रमाइलोमै उनीहरु आदिवासीको देउथानमा डोजर कुदाउँछन् । राज्यसत्ता जहिल्यै अनुदार किन ?

    चेफा बगाइरहेका बाजे–नातीलाई किनारमा साक्षी राख्दै ढुंगो फुटाउन उद्दत राज्यसत्तामाथि गम्भीर सवालहरु छाडेर नाटक मिथकभित्र प्रवेश गर्छ । नाटकमा मिथकमा झैं दाजुभाइ छन् । मिथकमा भनिए झैं उनीहरुको आफ्नै मौलिक परम्परा छ । जीवनशैली र विश्व दृष्टिकोण छ । मूलभूत पाटो त उनीहरु माटोलाई असाध्यै श्रद्धा गर्छन् ।

    नाटकमा सम्बन्ध छ, प्रेम छ, जिम्मेवारी छ । नाटकमा रमाइलो छ, गम्भीरता छ । नाटकमा बाहिरबाट कोही उनीहरुको खोरियामा हमला गर्न आइपुग्छ । शत्रु पक्षका मुख्य नाइकेलाई नियन्त्रणमा लिइन्छ । सबै आक्रोशित भएर मार्न तम्तयार बन्छन् । तर, नाटककी मुख्य पात्र तथा चेली हाङसामाले मार्न दिँदिनन् । मुन्दुममा मान्छेलाई मार्नेबारे नलेखिएको बताउँछिन् । उनलाई मनले होइन, दिमागले सोच्न सबैले सुझाउँछन्, तर हाङसामा मान्दिनन् । र शत्रु–नाइकेको ज्यान बच्छ ।

    हाङसामा एक उदाहरण मात्रै हुन्, आदिवासीहरु मनले बढ्ता सोच्ने भएकाले घुमुवा शत्रुहरुले कत्लेआम गरेका इतिहास प्रशस्तै छन् । प्रकृतिको पूजा गर्नु, कसैको कुभलो नचिताउनु, आपसमा रमाइलो गरेर बाँच्नु उनीहरुको पुख्र्यौली जीवनशास्त्र हो । उनीहरुको यही निर्दोषिताको फाइदा उठाउँदै घुमन्तेहरुले कत्लेआम गरे । नाटकको अन्त्यमा हाङसामा पनि त्यही शत्रु–नाइकेलाई बचाउन खोन्दा खुवालुङमा बग्छिन् । माछासँगै उकालो जान चाहेकी हाङसामालाई माछासँगै उभौलीमा आउनू, उधौलीमा चरासँगै जानु भनिन्छ ।

    कान्छो भाइ सुत्केरी श्रीमतीसँग नदी तर्न सक्दैन । डोरीलाई पानीले बगाइसकेको हुन्छ । र ऊ उतै सृष्टि गरिखान्छु भन्छ । मिथक अनुसार त्यो कान्छा नै अहिलेको थारु हो ।

    नाटक केही लामो छ । तर, दर्शकलाई बोर महसुस गराउँदैन । स्लो चलिरहेको दृश्यमा अचानक फास्ट ट्रयाक आइपुग्छ । उक्त ट्रयाकसँग नाटकले गति लिन्छ । विशेष गरेर संगीतको उत्कृष्ट संयोजनले दर्शकलाई खिचिरहन्छ । तर, पाश्र्व संगीतमा अझैं स्पष्टसँग किराती संस्कृति झल्किने बाजाहरु प्रयोग गरिएको भए हुन्थ्यो ।

    शान्तसँग बजिरहेको पाश्र्व संगीतमा अचानक बाघ आउँछ । एक दृष्यमा हाङसामाको विजयोत्सवमा पाश्र्वमा ‘ङर्र ङर्र’ गरेर बाघ घुर्छ । बाघ नघुरेको भए पनि हाङसामाले विजय प्राप्त गरेकी थिइन् नै !

    नाटक मिथकको बाटो समात्न बिर्सेर मधेसतिरै चारकोसे झाडीतिर अलमलिन्छ । नदीमा बगिरहेको पानीसँगै तिरमिर तिरमिर अलमलिन्छ । मिथकको लय छाड्नुमा नाटकलाई अझै सुन्दर बनाउनका लागि पनि निर्देशकले जोखिम लिएका हुन सक्छन् । तर, मिथक बिगार्ने अधिकार मिथकलाई नै छ । अथवा त्यसको जिम्मा समयलाई छँदैछ । निर्देशकले मिथक बिगार्ने प्रयास गरेर थोरै खल्लो महसुस अवश्य गराएका छन् ।

    कलाकारहरुको जीवन्त अभिनयले नाटकलाई बलियो पक्कै बनाएको छ । दर्शकलाई हरेक पात्रसँगै खुवालुङको ढुंगोमा मिसिन बाध्य बनाउने कलाकार नै हुन् । उनीहरु विशेष धन्यवादका लायक अवश्य छन् । सँगै पर्दा पछाडि बसेर नाटकलाई सुन्दर बनाउने प्राविधिकहरुका्े भूमिका बडो कलात्मक लाग्छन् । नाटकमा गीत र त्यसका लयहरुले माझकिँरातमा बसेर नाटक हेरेको महसुस गराइरहन्छ ।

    दर्शकलाई विशेष गरेर कस्ट्युमले खिच्छ । अनि कस्ट्युम अनुसारको लाइटले । सानो स्टेजमा डेढ–दुई घण्टाको परिधिमा जुगको कथा र अहिलेको कथा सँगै देखाउनु चुनौतीपूर्ण छ । तर, चुनौती मोलेका किरण चाम्लिङको नतिजा सुखद छ । राजनीतिक रुपमा नाटक यति सचेत छ कि त्यो ‘सचेतता’ नै नाटकको सबैभन्दा ठूलो शक्ति हो । आग्रह, पूर्वाग्रह नराखी राजनीतिक प्रवृत्तिलाई नाटकले छेडेको प्रश्न ती आदिवासीले चलाउने तीरभन्दा तीखा छन् ।

  • महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

    महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ ।

    एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् । अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् ।

    प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् ।

  • झिंगेदाउको सुटिङमा किन भयो केकी र आँचलबीच कपाल लुछालुछ ? तीन वर्षपछि आरोप-प्रत्यारोप !

    झिंगेदाउको सुटिङमा किन भयो केकी र आँचलबीच कपाल लुछालुछ ? तीन वर्षपछि आरोप-प्रत्यारोप !

    काठमाडौं । नेपालमा कोरोना आउनुअघि नै सुटिङ सुरु भएको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘झिंगेदाउ’ को आज ट्रेलर सार्वजनिक गरियो । ट्रेलर रिलिजका लागि आयोजित प्रेसमिटमा उपस्थित थिए नायिकाद्वय केकी अधिकारी र आँचल शर्मा ।

    यस चलचित्रमा केकी र आँचलले देउरानी–जेठानीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनीहरुबीच झैंझगडादेखि कपाल भुत्लाभुत्लीका दृष्यहरु छन् । आजको प्रेसमिटमा यही भुत्लाभुत्लीको प्रसंगमा केन्द्रीत भयो । नायिकाद्वयले तीन वर्षअघिको सुटिङका क्रममा आफूलाई दुख्ने गरी भुतालेको भन्दै एक–अर्काप्रति गुनासोको भारी बिसाए ।

    सञ्चारकर्मीले उनीहरुलाई सोधेका थिए, ‘त्यो भुत्लाभुत्लीको सुटिङपछि तपाईंहरुबीच बोलचाल नै बन्द भएको कुरा सत्य हो ?’

    केकीले ठट्यौलो जवाफ दिइन्, ‘ठीक भन्नुभयो । त्यो अन्तिम दिनको सुटिङ थियो । त्यसपछि हामी आआफ्नो काममा व्यस्त भयौं । ३–४ दिनसम्म हाम्रो बोलचाल नै हुन पाएन ।’

    त्यसपछि आँचलले आफ्नो अनुभव सुनाइन् ।

    ‘खासमा म सुरुदेखि डराएकी थिएँ । मेरो हात अलि साह्रो छ, त्यसैले केकीजीलाई दुख्ने हो कि भनेर बिस्तारै भुतालेकी थिएँ । तर, केकीजीले चाहिँ साँच्चै बल लगाएर भुताल्नुभयो । निर्देशकले पनि उहाँलाई नै दुख्यो कि भनेर सोध्दा मेरो अलिक चित्त दुखेको थियो ।’

    यता केकीले चाहिँ आँचलले बिस्तारै भुताले पनि आफूलाई राति निकै दुखेको बताइन् । त्यो भुत्लाइका कारण आफ्नो कपाल झर्ने समस्या बढेको उनको भनाइ थियो ।
    केकीले भनिन्, ‘मैले कपाल खौरिएर फेरि पलाएपछि पनि झर्ने समस्या समाधान भएको छैन ।’

    तस्वीरहरु : उमेश कार्की

  • गीतिनाटक ‘सपना अनेक अनेक’, थप एक हप्ता मञ्चन हुने

    गीतिनाटक ‘सपना अनेक अनेक’, थप एक हप्ता मञ्चन हुने

    काठमाडौं । साउन ५ गतेदेखि मञ्चन भएको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ । वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए ।

    विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको मल्लले बताए । यो नाटकसँगै सर्वनाम थिएटरले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो ।

    हाउसफूल दर्शकहरुको साथ पाइरहेको नाटक गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको हो । सर्वनामले चार दशकको इतिहासमा पहिलो पटक गीतिनाटक प्रस्तुत गरेको हो । गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ ।

    गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरेको निर्देशक अशेष मल्ल बताउँछन् ।

    नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेकमार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे ।

    ‘प्रस्तुत गीतिनाटकमार्फत् पूर्ण संगीतकार भएको महसुस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीतिनाटकमा विशेष योगदान पु¥याउने विश्वास लिएको छु’, उनी भन्छन्, ‘दर्शकको उत्साहजनक सहभागिताले यो नाटक आफ्नो सांगीतिक यात्रामा कोशेढुगांको रुपमा कायम भएको छ ।’

    गायक सत्यराज आचार्यले गीतिनाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए । ‘यो गीतिनाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरू गाएँ । प्रायः हर दिन गीत गाइरहेकै हुन्छु । तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ’, आचार्यले भने, ‘संगीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुतिमा साँच्चै नै नवीतम प्रयोग भएको छ ।’

    विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगेपनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगेपनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो विम्व नै नाटकको सार हो । गीतिनाटकमा कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ ।

    मञ्चन अवधि थपिएसँगै गीतिनाटक यही २८ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे मञ्चन हुनेछ ।

  • झिंगेदाउको ट्रेलर सार्वजनिक

    झिंगेदाउको ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र झिंगेदाउको ट्रेलर सार्वजनिक भएको छ ।

    ज्ञानेन्द्र देउजाको निर्देशनमा रहेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय लगायतको अभिनय रहेको छ ।

    विवाहपछि पारिवारिक सम्बन्धमा कसरी उल्झन आउँछ भन्ने कुरालाई ट्रेलरमा देखाइएको छ । विशेष गरी दाजुभाइको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।

    चलचित्र भदौ १७ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

  • मोदिकाको ‘तीज आयो घुमेर’ मा गीता ढुंगानाको छमछमी (भिडिओ)

    मोदिकाको ‘तीज आयो घुमेर’ मा गीता ढुंगानाको छमछमी (भिडिओ)

    काठमाडौ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढ्दै गर्दा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको गीत सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतमा भुवन पौडेलको शब्द रहेको छ भने अनिल शाहीले संगीतसँगै एरेञ्ज पनि गरेका छन् ।

    मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छमछमी ठुम्का लगाएकी छिन् । मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक म्युजिक भिडियोमा गीतासँगै गायिका मोदिकाको नृत्य पनि देख्न सकिन्छ । गीतमा रेश्मा खड्गीको कोरियोग्राफी रहेको छ ।

    भिडिओ:

  • चेत र रचनाको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक (भिडिओ)

    चेत र रचनाको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको ‘मन बिग्रने त्यति खेर’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ । बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायककै साथमा बिना बिश्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन् । गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

    गोकुल कुमारी श्रेष्ठको निर्माणमा बनेको भिडियोको निर्देशन बुढाथोकीले गरेका छन् । सन्देश रिमालको कोरियोग्राफी रहको भिडियोमा दिनेश पराजुलीको छायाँकन, पदम सुवेदीको सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

    ‘पछिल्लो समय यु ट्युब च्यानलमा सोचेको जस्तो भ्युज नगए पनि दर्शकको प्रतिक्रियाले सन्तुष्ट छु’, गायक बुढाथोकीले भने । गीतको भ्युज जानु नै सफलता होइन आफुलाई सन्तुष्ट मिल्नु पनि हो उनले थपे ।

    भिडिओ:

  • जिनियस म्युजिक अवार्ड : पुष्प खड्कालाई ‘वेस्ट मोडल’ अवार्ड

    जिनियस म्युजिक अवार्ड : पुष्प खड्कालाई ‘वेस्ट मोडल’ अवार्ड

    काठमाडौं । नायक पुष्प खड्का जिनियस म्युजिक अवार्डबाट सम्मानित भएका छन् ।

    शनिवार सम्पन्न कार्यक्रममा खड्का वेस्ट मोडल अवार्डबाट सम्मानित भएका हुन् ।

    बेचेर सपना मैले गीतका लागि उनलाई वेस्ट मोडल अवार्ड प्रदान गरिएको हो ।

    यस्तै वेस्ट मोडलको अवार्ड यस्तो मायाका लागि उषा उप्रेतीले पाएकी छन् ।

    वेस्ट डान्स डाइरेक्टरको अवार्डबाट रामजी लामिछाने सम्मानित भएका छन् । लामिछानेलाई रमरम मराैटीका लागि अवार्ड दिइएको हो ।

    यसैगरी जिनियस म्यूजिक अवार्डमा वरिष्ठ गीतकार डा. भोला रिजाललाई दिर्घ साधना सम्मान प्रदान गरिएको छ ।

    वरिष्ठ स्त्री रोग विशेषज्ञ समेत रहेका डा. रिजालका शब्दमा तयार भएका थुप्रै गीतहरु लोकप्रिय रहेका छन ।

    यसअघि असार २३ गते हुने भनिएको अवार्ड तयारी नपुगेकाले कार्यक्रम शनिवार गरिएको आयोजक संस्थाले जनाएको छ ।

    कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

  • ‘पापाकी परी’ विवादमा परेपछि ‘पेटिकोट’को दृश्य हटाइयो

    ‘पापाकी परी’ विवादमा परेपछि ‘पेटिकोट’को दृश्य हटाइयो

    काठमाडौं । भिडिओ सार्वजनिक भए लगत्तै निकै विवादित बनेको तिज गीत ‘पापाकी परी‘बाट केही दृश्यहरू हटाइएको छ ।

    गीतमा समावेश पेटिकोटको दृश्यहरू हटाइएको निर्माण पक्षले जनाएको छ ।

    करिश्मा ढकाल लगायतका अभिनय रहेको गीतको सो दृश्य निकै भाइरल र आलोचित बनेको थियो ।

    शिव हमालको रचना रहेको सो गीतमा आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको थियो ।

    https://youtu.be/OboRa3l4gSk

  • दुर्गेश थापाको बिच्च बिच्चमा ६ ‘सन्देशमूलक’

    दुर्गेश थापाको बिच्च बिच्चमा ६ ‘सन्देशमूलक’

    काठमाडौं । दुर्गेश थापाले बिच्च बिच्चमा ६ सार्वजनिक गरेका छन् । शुक्रवार सार्वजनिक गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ सिक्वेल हो । गीतमा उनको शब्द, संगीत र स्वरमा रहेको छ ।

    पहिलो गीतहरूमा निकै आलोचना खेपेका दुर्गेशले यस पटक भने केही सन्देश दिने प्रयास गरेका छन् ।

    गीतलाई श्यामश्वेत रसाइलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

    भिडियोमा दुर्गेश सँगै बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको अभिनय छ । उत्सव दाहालले खिचेको भिडिओको निर्देशन तथा सम्पादन क्रान्ति केसीको रहेको छ ।

    https://youtu.be/8n8xZnQHWEQ