Category: कलाप्रेस

  • हर्के हल्दार नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मार्फत देखिने

    हर्के हल्दार नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मार्फत देखिने

    काठमाडौ‌ । हर्के हल्दारको उपनामले परिचित कलाकार विष्णु सापकोटा अब नयाँ टेलिचलचित्र मार्फत देखिने भएका छन् । सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराईएको हो ।

    भद्र भुजेलको निर्देशनमा बनेको टेलिचलचित्रमा विष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रज्ञासी थापा, सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहने छ।

    प्रमुख अतिथि निर शाहको हातबाट टेलिचलचित्रको पोस्टर सार्वजनिक भएको थियो । कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकार तथा निर्देशक निर शाह, जितु नेपाल, दमन रुपाखेती, लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, सुरेन्द्र केसी, शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थियो ।

    हाँस्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाइ विशेष रुपमा प्रस्तुत गरिएको विष्णु सापकोटाले बताए ।

    गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट, प्रवेश पोखरेलको छायाँकन रहेको टेलिचलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ ।

  • राजेश पायल राई र दयाहाङ राईलेद्वारा करण राईको ‘द काइट्स’ एल्बम विमोचन

    राजेश पायल राई र दयाहाङ राईलेद्वारा करण राईको ‘द काइट्स’ एल्बम विमोचन

    काठमाडौं । नव गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरू लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार,निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ विमोचन गरेका हुन् ।

    एल्बम विमोचनपछि करणले २ गीतहरू ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भने ‘सानै उमेरदेखि गाउँथे, आज आएर पहिलो एल्बम उहाँहरूको हातबाट विमोचन गर्न पाउँदा चङ्गाजस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’

    बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने कारण उनले अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् । त्यस्तै ‘द काइट्स’ एल्बमको बारेमा बोल्दै कार्यक्रमका विशेष अतिथि राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्यक्तिको रूपमा चिनेको बताए ।

    राजेश पायलले भने ‘चङ्गा जसरी उड्यो भने त्यो सम्पूर्णं दुख, पिडा, रिस, राग, झिजोहरू उडिरहेको छ, हामीहरू संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यही कारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभईकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुन्जाउनेछ । सायारेम शुभकामना ।’ भुटनीज शरणार्थी क्याम्पमा जन्मिएका करणको बाल्यकाल सम्झिँदै राजेश पायलले भने ‘जन्म कहाँ हो भन्ने कुराले फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठुलो महत्त्व राख्छ ।’

    करणलाई बधाई दिँदै कार्यक्रमका विशेष अतिथि स्वरूप पुगेका दयाहाङ राईले पनि ‘द काइट्स’को प्रशंसा गर्दै गीत गज्जब भएको बताए। सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीतहरू समावेश गरिएको छ । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

  • वरिष्ठ पत्रकार भैरव रिसालको भोगाइको बन्यो तीज गीत, रचनाकार सुवासचन्द्र ढुंगेल (भिडिओसहित)

    वरिष्ठ पत्रकार भैरव रिसालको भोगाइको बन्यो तीज गीत, रचनाकार सुवासचन्द्र ढुंगेल (भिडिओसहित)

    भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार आफ्नो ९५ औं जन्म दिन मनाए । उनै पत्रकार रिसालको जीवनको भोगाइको तीज गीत तयार गरिएको छ । जसका रचनाकार हुन् वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल ।

    ‘जति चोट दिन्छौं, देऊ मायालु’, ‘चोट के हो, व्यथा के हो’ जस्ता कालजयी गीतका रचनाकार ढुंगेलले ‘मेरो राजा’ बोलको तीज गीत ल्याएका हुन् । आइतबार उक्त तीज गीत र म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा गीतकार ढुंगेलले उक्त गीत वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइमा आफ्नो भोगाइ पनि मिसाएको जानकारी दिए ।

    उक्त गीत ‘नारी जागरण तीज गीत’ को सज्ञा दिएका रचनाकार ढुंगेलले गीतमा श्रीमतीमार्फत आफ्ना श्रीमानलाई भ्रष्टाचार नगर्न सचेत गराएका छन् । श्रीमानले कालो धनबाट नौगेडी किनेर ल्याए त्यसले आफ्नो छाती बिझाउने तर इमानले किनेको पोतेले गला सजाउने भन्दै श्रीमतीले श्रीमानलाई अनियमितता र भ्रष्टाचार नगर्न खबरदारी गरेकी छन् ।

    गीतबारे ढुंगेलले यसरी बयान गरे-

    ‘भक्तपुरमा हामीले वरिष्ठ पत्रकार भैरव रिसालको सम्मान कार्यक्रम गरेका थियौं । सम्मानको क्रममा उहाँले आफूले केही पैसा बढी आफ्नी श्रीमतीलाई बुझाए भने ‘कहाँबाट आयो यो पैसा, केही गलत काम त गर्नुभएन ? कालो धन त होइन ? यस्तो हो भने म निको मान्दिनँ’ भनेर सचेत गराएको सुनाउनुभयो । उहाँले यति भनेपछि मलाई यसले छोयो । अनि गीत बनाउनुपर्छ भन्ने सोचें । फेरि म विश्वविद्यालय अनुदान आयोगमा प्रमुख कार्यकारी अधिकृत हुँदा अनुदानसम्बन्धी भ्रष्टाचारका मुद्दा हुन्थ्यो । यस्तो वेला म आफैं सयौं पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छु । भ्रष्टाचार पुष्टि भए हत्कडी लाग्थ्यो । यसले पनि मलाई गीतलाई विस्तार गर्न सघायो ।’

    नभन्दै गीतमा भ्रष्टाचार गरी कमाए भाेलि हातमा हत्कडी लाग्ने र त्यसले समाजमा उल्टै लाज हुने र सबैले गिज्याउने भन्दै श्रीमतीले श्रीमानलाई भ्रष्टाचार र आर्थिक अनियमितता नगर्न बारम्बार सचेत गराएकी छन् ।

    ‘श्रीमान त्यसै बिग्रिँदैन । श्रीमतीको कारण ऊ भ्रष्ट बन्छ, कालो धन थुपार्नतिर लाग्छ’, वरिष्ठ गीतकार ढंगेलले भने, ‘श्रीमती पनि त्यसै बिग्रिँदैन । श्रीमानको कारण नियन्त्रणबाहिर जान्छिन् । त्यसैले श्रीमान र श्रीमतीले एकअर्कालाई सत्मार्गमा दोहोर्‍याउनुपर्छ ।’

    गीतमा श्रीमान बनेका कलाकार सुरेन्द्रले श्रीमती पूनमको चाहना होला भन्दै लाखौं रुपैयाँ घूस लिएर नाैगेडी, हार, महँगा साडीलगायत किनेर ल्याउँछन् । त्यत्तिकैमा श्रीमतीले कालो धनले ल्याएको नौगेडीले आफ्नो छातीमा बिझाउने र भ्रष्टाचार पुष्टि भए हत्कडी लाग्ने र समाजमा बेइज्जत हुने सुनाउँछिन् । त्यसपछि उनले आफ्नो साथीसँग पैसा सापटी मागेर श्रीमतीलाई सुनको बाला ल्याउँछन् । त्यसमा पनि श्रीमतीले प्रश्न गर्छिन् । सुरेन्द्रले साँचो बताएपछि मात्रै पूनम सुनको बाला लगाउन राजी हुन्छिन् ।

    गीतकार ढुंगेलले बजारमा चलेको भन्दा फरक धारको तीज गीत ल्याएर देशप्रति आफ्नो जिम्मेवारीबोध गरेको सुनाए ।

    ‘आजभोलि बजारमा पेटीकोट, के के जाति अश्लील तीज गीत चलेका छन्’, उनले भने, ‘तर, मैले चलाउन गीत लेखेको होइन । देशप्रति आफ्नो जिम्मेवारीबोधको लागि लेखेको हो । देश श्रीलंका बन्दैछ भनेर हल्ला फैलाइएको छ । यदि नेता, कर्मचारी सबैले भ्रष्टाचार गर्ने हो भने ढिलोचाँडो देश श्रीलंका बन्न बेर लाग्दैन ।’

    म्युजिक भिडिओसहितको उक्त गीतको आइतबार चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सार्वजनिक गरेका हुन् । नायक खड्काले गीत र भिडिओ राम्रो बनेको प्रतिक्रिया दिए ।

    गीतकार ढुंगेलका क्लासमेट खड्काले उनी स्वामीमानी लेख भएको तर यो गीतको प्रायोजनको लागि अख्तियार, शिक्षा मन्त्रालयलगायत धाएको भए सजिलै पाउने बताए ।

    गीतमा बुनु श्रेष्ठ र रीतु कँडेलले आवाज दिएका छन् । त्यस्तै संगीत विनोदराज ढुंगेलले भरेका छन् । गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडिओमा सुरेन्द्र बसेल र पूनम श्रेष्ठले अभिनय गरेका छन् । भिडियाे रचनाकार ढुंगेलकाे अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ ।

  • भदौ ३ देखि प्रदर्शनमा आउँदै ‘माइकल अधिकारी’, प्रचार तीव्र, पूर्वी नेपाल पुगेर के भने कलाकारले ?

    भदौ ३ देखि प्रदर्शनमा आउँदै ‘माइकल अधिकारी’, प्रचार तीव्र, पूर्वी नेपाल पुगेर के भने कलाकारले ?

    काठमाडौं । भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘माइकल अधिकारी’ यतिबेला चर्चामा छ ।

    सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमाले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई अझ तीव्र बनाएको छ ।

    यसैबीच शनिबार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख शहर बिर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ ।

    बिर्तामोडको ’वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा सिनेमाको गीतमा कलाकारहरुले प्रस्तुति दिए ।

    प्रेसमिटमा बोल्दै अभिनेता सौगातले ’माइकल अधिकारी’मा फरक कथामा मनोरञ्जनको डोज रहेको बताए । झापा र ईलाममा छायांकन गरिएका कारण पनि पूर्वेली दर्शकले सिनेमामा अपनत्व महसुस गर्ने दाबी गरे ।

    यस्तै निर्माता निरक पौडेलले हाम्रै समाजको कथा भएकाले सिनेमा हेरेर दर्शक निराश नहुने बताए । उनले भने, ’सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरञ्जन लिन सक्नु हुनेछ । मनोरञ्जनको हकमा यसले निराश बनाउदैन ।’

    रञ्‍जित रौनियारको निर्देशन रहेको सिनेमामा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । एक गरिब दम्पतीले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा दिने) निर्णय गर्छन् । त्यसपछि दम्पतीको जीवनमा आउने उतारचढाव सिनेमामा देखाइएको छ ।

    सिनेमामा सौगात र सृष्टिका अलावा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ ।

    मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

    उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।

  • विदेशी प्रेमिकासँग कोर्ट म्यारिज गरेको एक वर्षपछि भोज खुवाउँदै कर्मा

    विदेशी प्रेमिकासँग कोर्ट म्यारिज गरेको एक वर्षपछि भोज खुवाउँदै कर्मा

    काठमाडौं । अभिनेता कर्माले एक वर्षअघि विवाह गरेको सार्वजनिक भएको छ ।

    विदेशी प्रेमिका एनी सोफीसँग कोर्ट म्यारिज गरेका उनले आउँदो भदौ ४ गते प्रितिभोज आयोजना गरेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै कर्माले गत वर्षको १ सेप्टेम्बरमा अदालति विवाह गरेको जानकारी दिए । त्यसबेला कोरोनाको प्रकोपका कारण वैवाहिक समारोह आयोजना गर्न नसकेकाले अहिले आएर प्रितिभोज गर्न लागेको उनको भनाइ छ ।

    ‘मैले विवाहको खबर लुकाउन चाहेको होइन, समय अनुकल नभएकाले जमघट गर्न सकिएन,’ उनले भने ।

    ललितपुरस्थित न्याखाचोकमा रहेको नाकाबहिलमा आगामी शनिबार पार्टी आयोजना गरिएको छ । कर्माले आफन्त, साथीभाइ तथा चलचित्र क्षेत्रका व्यक्तिहरुलाई पार्टीमा निम्तो गरिरहेका छन् ।

    एक दशकभन्दा बढी समयदेखि नेपाली चलचित्रमा सक्रिय कर्माले सन् २००८ मा ‘सानो संसार’बाट डेब्यू गरेका हुन् । त्यसयता उनले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी अभिनित सर्वाधिक सफल फिल्म ‘लुट’ हो ।

  • स्वर्गीय क्रिकेट खेलाडी शाहीको सम्झनामा म्यूजिक भिडियो ‘मेरो दाइ’ सार्वजनिक (भिडियो)

    स्वर्गीय क्रिकेट खेलाडी शाहीको सम्झनामा म्यूजिक भिडियो ‘मेरो दाइ’ सार्वजनिक (भिडियो)

    कैलाली । स्वर्गीय क्रिकेट खेलाडी बिरेन्द्र शाहीको सम्झनामा ‘मेरो दाइ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्वर्गीय शाहीको जन्मदिनको अवसर पारेर शनिबार कैलालीको लम्किमा आयोजित स्मृति सभामा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

    स्वर्गीय खेलाडी शाहीका भाई शाहिल शाहीले स्वर दिएको म्यूजिक भिडियोको रचना रविन स्वारले गरेका हुन् भने पुष्कर खत्रीले एरेन्ज गरेको हुन् । म्यूजिक भिडियोमा गायक शाहिल शाही, कौशल अवस्थी र रमेश शाहीले अभिनय रहेको छ । पत्रकार सागर परियारले व्यवस्थापन गरेको म्यूजिक भिडियोको सम्पादन अमित विकले गरेका हुन् ।

    रविन स्वारले नै निर्देशन गरेको म्यूजिक भिडियोमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको श्रदाञ्जली तथा समवेदता सन्देश पनि समेटिएको छ । म्यूजिक भिडियो शनिबार नै गायक शाहिल शाहीको यूट्युव च्यानलमार्फत सार्वजनिक पनि भइसकेको छ ।

  • ‘बहुबली’ मा राज मातालाई स्वर दिएकी कलाकारले ‘प्रेम गीत ३’ मा पनि स्वर दिँदै (भिडिओ)

    ‘बहुबली’ मा राज मातालाई स्वर दिएकी कलाकारले ‘प्रेम गीत ३’ मा पनि स्वर दिँदै (भिडिओ)

    काठमाडौं । नायक प्रदीप खड्का र क्रिस्टिना गुरुङ स्टारर पहिलो इन्डो–नेपाली चलचित्र ‘प्रेम गीत ३’ को हिन्दी संस्करणमा डब भइरहेको भिडियो अहिले सामाजिक सञ्जाल र टिकटकमा भाइरल भइरहेको छ।

    चलचित्र नेपाल र हिन्दी भाषासहित भारतमा एकैसाथ (भारतमा सेप्टेम्बर २३, २०२२ र नेपालमा यहीँ असोज ७ गते) रिलिज हुने भएपछि सो चलचित्रले अहिले एक किसिमको छुट्टै हाईप्स बटुलिरहेको छ। मुम्बईका विभिन्न सहरहरूमा राखिएका होर्डिङ्स बोर्डहरूले यो चलचित्रको सान झनै बढाएको छ।

    भाइरल भएका उक्त भिडियोहरूमा भारतका चर्चित भ्वाइसओभर आर्टिस्टहरुले ‘प्रेम गीत ३’मा अभिनीत भिन्न पात्रहरूको लागी आफ्नो स्वर दिइरहेको देख्न सकिन्छ। बक्स अफिसमा तहल्का मच्चाएको चलचित्र ‘बहुबली’ मा राज मातालाई स्वर दिएकी चर्चित भ्वाइसओभर आर्टिस्ट सविना मलिक मौसमले पनि सो चलचित्रमा आफ्नो स्वर भरेकी छिन् ।

    चलचित्रको मुख्य पात्र गीतको लागी स्वर दिइरहेकी आर्टिस्ट पूजा पन्जाबीले आफूले गीतको लागी डब गर्न पाएकोमा अत्यन्तै खुसी लागेको र दर्शकको नजरमा हेर्नुपर्दा पनि चलचित्र आफूलाई अत्यन्तै मन परेको बताइन् ।

    उनी भन्छिन्, ‘यो मेरो अहिलेसम्मकै सबैभन्दा राम्रो अनुभव हो । फिल्म धेरै राम्रो छ । कलाकारहरूको पर्फमेन्स धेरै राम्रो छ । स्क्रिप्ट, स्क्रिप्टमा भएका अभिव्यक्ति, लाइन र भावनाहरूले मलाई नै छोएको छ ।’

    ‘बहुबली’ मा राज मातालाई स्वर दिएकी सविनाले यस चलचित्रमा पनि बलियो पात्रको रूपमा प्रस्तुत भएकी माताको लागी आवाज दिएकी छिन् । चलचित्रमा प्रेमको दाइको लागी आवाज डब गरिरहेका चर्चित आर्टिस्ट मनोज पाण्डेले यो आफ्नो पहिलो नेपाली डब चलचित्र भएको र आफूलाई कुनै पनि हिसाबबाट यो नेपाली फिल्म नलागेको बताएका छन् ।

    उनी भन्छन्, ‘ जुन हिसाबले यो चलचित्र सुट भएको छ, लाग्दैन कि यो नेपाली चलचित्र हो। कुनै चिजमा कमी नै छैन । एकदमै राम्रो निर्देशन अनि एकदमै राम्रो प्रस्तुति । कलाकारिताको त कुरै नगरौँ। नेपालमा पनि यति राम्रा कलाकारहरू छन् भन्ने मलाई थाहा थिएन।’

  • रिपोर्टर्स क्लबमा गाईजात्रा : हास्य कलाकारले यसरी हँसाए (भिडिओ)

    रिपोर्टर्स क्लबमा गाईजात्रा : हास्य कलाकारले यसरी हँसाए (भिडिओ)

    काठमाडौं । गाईजात्राका अवसरमा हास्य कलाकारहरुले मुलुकको वर्तमान अवस्थाका बारेमा नेताहरुप्रति व्यङ्ग्य गरेका छन् ।

    रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरको गाईजात्रा विशेष साक्षात्कार कार्यक्रममा हास्य कलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरुले जनता हँसाउन र कलाकारहरु पार्टीमा हाम फाल्न थालेको टिप्पणी गरे । उनले देश सिंगापुर जस्तो भए हाँसो व्यंग्य गर्न नपाइने भन्दै ठट्टा गरेका थिए । आफूहरुको प्रस्तुतिमाफर्त समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ ।

    त्यस्तै, चर्चित हास्य कलाकार किरण केसीले देशमा जति आन्दोलन भएपनि जनताको अवस्था पुरानै छ भन्दै नेताहरुप्रति व्यङ्ग गरे । त्यसैगरी, अर्का कलाकार जितु नेपालले अर्थमन्त्रालयको सिसि क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यंग्य गरेका थिए । नेपालले शतप्रतिशत बोलेको पु¥याउने एकमात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यंग्य गरे ।

    त्यस्तै, अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरीबतास आएमा कहाँ पानी पर्छ र..?’ बोलको कवितामार्फत सरकारप्रति व्यंग्य गरे भने हास्य कलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरुलाई उम्मेदवारी नदिन आग्रह गरे ।

  • एक्स ९ मा अनुबन्धित भए सुदर्शन

    एक्स ९ मा अनुबन्धित भए सुदर्शन

    काठमाडौं ।  अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् ।

    केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । फिल्मको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ । निर्देशक भट्टले फिल्ममा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताएका छन् ।

    सुदर्शनले राम्रो टिम र बलियो चरित्र भएकाले फिल्ममा काम गर्न इच्छुक भएको बताए । एक दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गरेका उनी कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँछन् । उनी क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित छन् ।

    फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो फिल्मबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यु गर्दै छिन् ।

  • करिश्माले सार्वजनिक गरिन् निहारिकाका निजी तस्बिर

    करिश्माले सार्वजनिक गरिन् निहारिकाका निजी तस्बिर

    काठमाडौं । नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।

    यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ ।

    घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा र आफ्नो जीवनलाई असर हुने गरी अगाडि नबढ्न सल्लाह पनि दिएकी छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ । कत्ति नावालि जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ?  तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?

  • ‘परदेशी २’ को रिलिज मिति फागुनमा सर्‍यो

    ‘परदेशी २’ को रिलिज मिति फागुनमा सर्‍यो

    काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दसैँको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए ।

    उनले वितरक, हल सञ्चालक र चलचित्रकर्मीहरूसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए । उनका अनुसार आफूहरूले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भिडभाड भएकाले पछि सर्ने निर्णय गरिएको हो ।

    भदौदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले प्रदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेम गीत ३’ रिलिज हुँदै छ । भारतमा समेत रिलिज हुने तयारीमा रहेको यस चलचित्रको उत्तिको महत्त्व रहेको वंशल बताउँछन् ।

    ‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं’ बंशल भन्छन् ।

    दसैँ तिहारमा चलचित्र प्रदर्शनको भिडभाड हुँदा उक्त समयमा चलचित्र रिलिज गर्दा पछिसम्म र धेरै दर्शकसम्म पुर्‍याउन गाह्रो हुनसक्ने आँकलन गर्दै पछि सारिएको वंशलको भनाई छ ।

    दसैँ तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्न सक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि सशक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्‍याउन सकिने निर्देशक नारायण रायमाझी बताउँछन् ।

    उनी चलचित्रको केही प्राविधिक काम पनि बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले पनि रिलिज मिति पछाडि सार्ने निर्णय लिइएको बताउँछन् । निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’

    ‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा रमेश बिजीले तयार पारेका हुन् ।

  • ‘प्रेमगन्ज’को लिरिकल गीत सार्वजनिक

    ‘प्रेमगन्ज’को लिरिकल गीत सार्वजनिक

    काठमाडौं । रिलिजको दिन नजिकिँदै गर्दा फिल्म ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले बिछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ ।

    सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् भने गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ ।

    भदौ ३ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ ।

    चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।

    अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदै छ ।

    योसँगै फिल्म युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

    अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ ।

    फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।

    https://youtu.be/EkEkg1Hn7mw

  • विकास-सम्झनाले गल्ती स्वीकारेपछि गोपाल योञ्जनको परिवार लचक, प्रहरीमा मिलापत्र हुने

    विकास-सम्झनाले गल्ती स्वीकारेपछि गोपाल योञ्जनको परिवार लचक, प्रहरीमा मिलापत्र हुने

    काठमाडौं । ख्यातिप्राप्त संगीतकार स्व. गोपाल योञ्जनको गीतहरु दुरुपयोग गरेको विषयमा उनको परिवार र सम्झना रौनियारबीच उब्जेको विवाद समाधानउन्मूख बनेको छ । विकास-सम्झनाले गल्ती स्वीकार्दै क्षमायाचना गर्न तयार भएपछि योञ्जन परिवार विवाद समाधानका लागि लचिलो भएका हुन् ।

    गोपाल योञ्जनकी छोरी सृजनाले आफ्नो बुबाले सिर्जना गरेका गीतहरूलाई सम्झना विकासले अनुमतिविना युट्यूवमा हालेर आयआर्जन गरेको भन्दै सञ्चार मन्त्रालय र प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी दिएकी थिइन् । प्रतिलिपि अधिकार कार्यालयले यस सम्बन्धमा केही दिनअघि प्रहरीलाई पत्राचार गरेको थियो । यो मुद्दा अहिले अपराध अनुसन्धान कार्यालय टेकुले हेरिरहेको छ ।

    गोपाल योञ्जनको गीत संग्रह विमोचनका लागि उनकी श्रीमती रिञ्छेन योञ्जन र छोरी सिर्जना केही दिनअघि अमेरिकाबाट नेपाल आएका छन् । प्रहरीले अस्ति दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । सिर्जनाले आफ्नो बुवाको गीत दुरुपयोग गरेको स्वीकारेर सम्झना-विकासले सार्वजनिक क्षमायाचना गर्नुपर्ने र गीतबाट भएको सबै आम्दानी आफूहरुलाई दिनुपर्ने सर्त राखेकी थिइन् । विकासले निर्णयमा पुग्न एक दिन समय मागेका थिए ।

    सिर्जनाको माग अनुसार गीतको अनधिकृत प्रयोग गरेको स्वीकार्दै क्षमायाचना गर्न विकास-सम्झना तयार भएका छन् । सिर्जनाको परिवारले नै ड्राफ्ट गरेको विज्ञप्तिमा हस्ताक्षर गरेर उनीहरुले जारी गर्ने तयारी छ । साथै, युट्युवबाट भएको आम्दानीको आधा हिस्सा योञ्जनको परिवारलाई दिन पनि उनीहरू तयार भएका छन् । सिर्जनाको माग बमोजिम शतप्रतिशत रोयल्टी दिन भने नसकिने विकासले बताए ।

    ‘कानूनतः सर्जकले १५ प्रतिशत रोयल्टी पाउने व्यवस्था छ । तर, पनि विवाद समाधानका लागि लचक भएर ५० प्रतिशत दिन तयार भएका हौं,’ उनले भने ।

    यस्तो छ विवाद

    गीतकार, संगीतकार तथा गायक गोपाल योञ्जनको निधनपछि कानूनतः उनका गीतहरूको प्रतिलिपि अधिकार श्रीमती रेन्छिन योन्जनसँग सुरक्षित रहेको छ । सोही अधिकारमुताबिक योञ्जनका गीतहरूको संरक्षण प्रबर्द्धन, भण्डारणदेखि पुनः रेकर्डिङका कार्यहरू पनि परिवारले नै गर्दै आएको छ ।

    चलचित्र निर्देशक सम्झना रौनियार र उनका फोटोग्राफर श्रीमान् विकास रौनियारको कम्पनी सबस्ता इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘मेघा’ मा योञ्जनका केही गीतहरू उनको परिवारको स्वीकृति लिएर प्रयोग गरिएको थियो । त्यसमा योञ्जन परिवारले नै स्टुडियो खर्चदेखि गायक-गायिका, बाद्यवादक, संगीत संयोजकको पारिश्रमिकहरू व्यहोरेको थियो । सबस्ता इन्टरटेनमेन्टले कलाकारहरूको खाजा र यातायात खर्च मात्रै व्यहोरेको सिर्जनाको भनाइ छ । उनको दाबी अनुसार ‘मेघा’ चलचित्रको ९५ प्रतिशत स्क्रिप्ट पनि उनैले निःशुल्क रिराइट गरिदिएकी थिइन् ।

    योञ्जन परिवारले अडिओको प्रमोसन र प्रबर्द्धनको जिम्मा म्युजिक नेपाललाई सन् २०१४ मा दिएका थिए । योञ्जनका गीतहरू सबस्ता इन्टरटेनमेन्टलाई चलचित्रमा प्रयोग गर्न दिएपछि योञ्जनकी श्रीमती रेन्छिनले आवश्यक सर्तहरू राखेर एक एमओयू गर्न प्रस्ताव गरेका थिए सम्झना र विकासलाई । तर, सम्झना र विकासले फाइनल एमओयू नपठाएको सृजनाले सञ्चार मन्त्रालयमा दिएको निवेदनमा उल्लेख गरेकी छन् ।

    उनले निवेदनमा थप लेखेकी छन्, ‘यसपश्चात् निजहरूले उक्त गीतहरू हामीलाई सोध्दै नसोधी, हाम्रो अनुमतिविना युट्युबमा अपलोड गरी आर्थिक लाभसमेत उठाएको व्यहोरा हाम्रो सामु आयो ।’

    यस विषयमा योञ्जन परिवारले आपत्ति जनाएपछि सम्झना-विकासले युट्यूवबाट मेघाका सबै गीतहरू हटाए । चलचित्रमा प्रयोग गरिएका गीतहरूलाई पनि म्युट गरिएको छ । तर, त्यतिबेलासम्म युट्यूवबाट भएको आम्दानीमा योञ्जन परिवारले दाबी गरेका हुन् ।

    यद्यपि, नेपाल प्रेससँगको कुराकानीमा सिर्जनाले यो संघर्ष आफूहरूले पैसाका लागि नगरेको बताइन् ।

    ‘हाम्रो लागि यति प्रतिशत उतिप्रतिशत रोयल्टी ठूलो कुरा होइन । मुख्य कुरा स्रष्टाको सम्मान हो । कुनै पनि स्रष्टाको गीत निजको अनुमतिविना प्रयोग गरेर आर्थिक लाभ गर्ने कुराहरूलाई नजरअन्दाज गर्दैजाने हो भने भोलि धेरै स्रष्टाहरू पीडित हुन सक्छन् । हामीलाई पैसाभन्दा पनि उहाँहरूले आफ्नो गल्ती रियलाइज गर्नु महत्वपूर्ण छ,’ उनले भनिन् ।

    आफूहरूले चाहेको जस्तो क्षमायाचना आएको खण्डमा विवादलाई लम्ब्याइरहने मनसायमा नरहेको उनले बताइन् ।

    विकास-सम्झनाको क्षमायाना विज्ञप्ति आइसकेपछि सम्भवतः आइतबार प्रहरीमा गएर दुवै पक्षबीच सम्झौता हुन सक्छ ।

    यो पनि पढ्नुस्  : गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी

  • भुवन र स्वेतापछि अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

    भुवन र स्वेतापछि अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

    काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रमकाबीच अभिनेता शाही कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । उनले विरविक्रम, पुरानो बुलेट, हुर्रे लगायत दुई दर्जन बढी फिल्म खेलेका छन् । यसअघि चलचित्र बोर्डका अध्यष भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका थिए ।

  • दिया मास्केको रोचक अभिव्यक्ति : निर्देशक र कलाकार सेक्सबिनाका श्रीमान–श्रीमतीजस्तै

    दिया मास्केको रोचक अभिव्यक्ति : निर्देशक र कलाकार सेक्सबिनाका श्रीमान–श्रीमतीजस्तै

    काठमाडौं । नेपाली चलचित्रमा बेग्लै खालको छवि बनाएकी अभिनेत्री हुन् दिया मास्के । चलचित्रको पर्दामा प्राय दुखी चरित्र निभाउने उनी पर्दाबाहिर भने बोल्ड छिन् ।

    उनै दियाको अहिले एउटा रोचक अभिव्यक्ति चर्चामा आएको छ । आफ्नो नयाँ चलचित्र ‘प्रकाश’ को प्रेस मिटमा उनी हिजो चलचित्रको टिमसँगै उपस्थित भएकी थिइन् । जहाँ उनलाई चलचित्रमा अभिनय गर्दाको अनुभव सोधिएको थियो ।
    दियाले प्रकाशको सुटिङमा सुरु–सुरुमा गाह्रो भए पनि विस्तारै सहज हुँदै गएको सुनाइन् । त्यस क्रममा उनले निर्देशक र कलाकारको सम्वन्धबारे पनि आफ्नो व्याख्या गरिन् ।

    दियाले भनिन्, ‘निर्देशक र कलाकारको सम्वन्ध सेक्सबिनाको श्रीमान–श्रीमतीजस्तै हुनुपर्छ ।’

    उनको भनाइ यसप्रकार थियोः

    यो चलचित्रको क्यारेक्टर सुरुदेखि च्यालेन्जिङ नै थियो । तर टिमले सपोर्ट गरेकाले ओभरकम गर्न सकेँ । प्रकाश गर्ने भइयो भनेपछि वर्कसप, अडिसनहरु भए । वर्कसप गराउने बेला दिनेशजी अगाडि आएर बस्नुहुन्थ्यो । तर हाम्रो कुराकानी चाहिँ धेरै अनुप सर (दियाका श्रीमान तथा चलचित्रका सहकलाकार) सँग हुन्थ्यो । अनुप सरलाई मैले भनेको पनि थिएँ, हामीले दिनेशजीसँग धेरै इन्टरएक्सन गर्नुपर्छ भनेर । अनुप इज नट डिरेक्टर नि त । दिनेश जी इज डिरेक्टर । जे हुनुपर्छ दिनेश राउतसँगै हुनुपर्छ भनेर अनुप सरलाई भन्थेँ बारम्बार । त्यसपछि पनि आएर बसिराख्ने र सिनहरु हेर्ने गर्नुहुन्थ्यो ।

    उता गइसकेपछि चाहिँ प्रदिपले भनेकोजस्तै दिनेशजी एकदम मिस्टिरियस लाग्छ मलाई पनि । बुझ्न टाइम लाग्छ । सिम्पल सिनबाट सुटिङ सुरु गरौं, गाह्रो सिनपछि गरौं भन्ने योजना थियो । तर, दुई हप्ता अगाडि नै म त्यहाँ गइसकेको थिएँ । कठिन सिनहरु अगाडि नै गर्नुपर्ने अवस्था आयो ।

    नयाँ टिमसँग समय लाग्छ फ्रेन्डली हुन् । तर नेभर गिभ अप वाला एटिच्युड छ मेरो । अगाडिको सिनहरुमा अलि टफ भए पनि बिस्तारै सहज भयो ।

    क्यारेक्टरको साइकोलोजी हुन्छ नि । डिरेक्टरले एक्टरलाई र एक्टरले डिरेक्टरलाई नबुझ्दासम्म अलिकति गाह्रो हुन्छ । मलाई के लाग्छ भने… कस्तो सुनिन्छ थाहा छैन… मेरो लागि डिरेक्टर र एक्टर हसबेन्ड वाइफ विथआउट सेक्स हुनुपर्छ । त्यति इन्टिमेट हुनुपर्छ । तर अरेन्ज म्यारिजजस्तो भयो । जे होस, नतिजा राम्रो आयो । उहाँको सोचमा म ढलेँ ।

  • चलचित्र विकास बोर्डमा भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै रिट

    चलचित्र विकास बोर्डमा भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै रिट

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका ५ जनाले आज सर्वोच्चमा संयुक्त रिट निवेदन दिएका हुन् ।

    गत श्रावण ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की सर्ट लिस्टमा परेका थिए । उनीहरुमध्ये तीन जनाको नाम छनोट गरी सञ्चार मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा रहेका केसीलाई मन्त्रीपरिषदले अध्यक्ष नियुक्त गरेको हो ।

    केसीलाई नियुक्त गर्दा नाजायज तरिकाले मापदण्ड संसोधन गरिएको आरोप आज रिट दायरहरुले लगाएका छन् । निवेदकमध्येका एक नरेश पौड्यालले कुनै पनि सरकारी निकायमा नियुक्ति गर्न स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीका लागि बाटो खोलिएको बताए ।

    नेपाल प्रेससँग उनले भने, ‘अरु सबैतिर स्नातक चाहिने, बोर्डमा चाहिँ प्लसटु पास भएर हुन्छ ?’

    आफूहरुले यो नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेको उनको भनाइ छ ।

    रिट निवेदन हाल्नेहरुमा पौड्यालसहित अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ रहेका छन् । रिटमाथि पहिलो सुनवाइ ३० साउनमा हुने भएको छ ।
  • रोशनको नयाँ गीत ‘पीडा’ सार्वजनिक

    रोशनको नयाँ गीत ‘पीडा’ सार्वजनिक

    भक्तपुर । गायक रोशन धौभडेलले आफ्नो नयाँ गीत ‘पीडा’ सार्वजनिक गरेका छन् । भक्तपुरकै गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीत तथा म्युजिक भिडिओ बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

    नेपालका पहिलो ड्रमर देव राणाले सार्वजनिक गरेको गीतको एरेन्ज तथा संगीत गायक धौभडेलले गरेका हुन् । आभाश्री प्रोडक्सनले तयार गरेको म्युजिक भिडिओको निर्देशनसमेत धौभडेलले नै गरेका छन् । रोजगारीका लागि परदेश गएका नेपालीहरुको पीडालाई गीत र म्युजिक भिडिओमार्फत प्रस्तुत गरिएको छ ।

    गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गमा छन् । लब्जेम्बर्गस्थित फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत चालिसेका आमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई उत्कलले शब्दमार्फत प्रस्तुत गरेका छन् । म्युजिक भिडिओमा समेत उत्कल फिचरिङ छन् ।

    गीत तथा म्युजिक भिडिओ सार्वजनिक गर्दै वरिष्ठ संगीतकार राणाले गीत मर्मस्पशी रहेको भन्दै सबैले आफूभित्रको पीडालाई व्यक्त गर्न नसक्ने औंल्याए ।
    गीतको लागि रचनाकार र गायक प्रमुख हुने र संगीतकारले गीतको मेलोडीमा मात्रै सहयोग गर्ने उनले बताए ।

    वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले बजारमा चलिरहेको धार विपरीत गीत आएको सुनाउँदै भने, ‘गीत राम्रो बनेको छ । कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा उदाहरण हो ।’

    उनले बिग हाउस र कर्पोरेट चलनले कम बजेटका राम्रा गीतहरु समेत ओझेलमा पर्ने गरेको बताए ।

    त्यस्तै संगीतकार एवं गायक राजनराज सिवाकोटीले आफूलाई पनि आधुनिक र सुगम गीत गाउन मन लागे पनि मौका नमिले सुनाए । उनले अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत चर्चामा नआएको बताए ।

    ‘नयाँ पुस्ताका आधुनिक एवं सुगम गीतहरु चर्चामा छैनन् । बजारमा यस्ता गीत सुन्न पाइँदैन’, सिवाकोटीले भने, ‘किन छायाँमा परे, शब्द, संगीत र गायनमा कमी भयो कि मेहनत पुगेन कि ? खोजी गर्नपर्‍यो ।’

    उनले पनि गीतकार उत्कल चालिसको एउटा गीत गाउँदैछन् । आफैले संगीत भरेको गीतको बोल ‘म बुढो भएको बेला’ रहेको सिवाकोटीले जानकारी दिए ।

    गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन र कम्पोजलगायत गर्न २ वर्ष लागेको सुनाए । उनले यसअघि करिब एक दर्जन गीत गाइसकेका छन् । ‘वन्ली यू’ नामक म्युजिक एल्बम ल्याइसकेका रोशनले एउटा राष्ट्रिय र अर्को नेवारी गरी दुइटा गीतको म्युजिक भिडिओ तयार गर्ने काम भइरहेको जानकारी दिए ।

    कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतकाे म्युजिक भिडिओ आभाश्री प्राेडक्सनकाे अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ ।

  • रामबाबु गुरुङको निर्देशनमा ‘फूलबारी’ घाेषणा, काे- काे छन् कलाकार ?

    रामबाबु गुरुङको निर्देशनमा ‘फूलबारी’ घाेषणा, काे- काे छन् कलाकार ?

    काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने फूलबारी चलचित्रको बुधबार घोषणा भएको छ। सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गरेको हो ।

    उक्त चलचित्रकाे कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।  सामाजिक नेपाली कथामा  आधारित उक्त चलचित्रमा विपीन कार्की, दयाहाङ राई, मिरुना मगर र प्रियंका कार्कीकाे  मुख्य भुमिका रहेकाे छ ।

    झन्डै दुई वर्षको ग्यापपछि प्रियंकाले पहिलो चलचित्र साइन गरेकी हुन् । चलचित्र यशोदा फिल्मकाे ब्यानरमा निर्माण हुन लागेको हो । फुलबारीको छायांकन भदौ  पहिलाेसातादेखि शुरु हुने निर्माण पक्षले बताएको छ ।

    गुरुङले निर्देशन गरेको कबड्डी सिरिज निकै सफल मानिएको छ । कबड्डी ४ त अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा पहिलो नम्बरमा छ ।

  • आयो विष्णु माझीको तिज गीत, तर नयाँ बोतलमा पुरानै रक्सी !

    आयो विष्णु माझीको तिज गीत, तर नयाँ बोतलमा पुरानै रक्सी !

    काठमाडौं । हरेक वर्षको तिजमा प्रतीक्षित हुने गर्छ विष्णु माझीको गीत । उनको गीत नआउँदासम्म तिजको फिल नै आउँदैन भन्नेहरू धेरै छन् ।
    अन्ततः प्रतीक्षाको घडी समाप्त भएको छ । उनको नयाँ तिज गीत आज रिलिज भएको छ । तर, यसले उनका फ्यानहरूको तिर्खा सम्भवतः मेट्न नसक्ला । कारण यो गीत आवरणमा मात्रै नयाँ छ । अघिल्लो वर्षको ब्लक बस्टर ‘चरी जेलैमा’लाई नै दोहोर्‍याएर बजारमा पस्किएका छन् विष्णु र उनका गीतकार श्रीमान् सुन्दरमणी अधिकारीले ।

    यस वर्षको तिज गीतका रूपमा उनीहरूले ‘चरी जेलैमा २’ ल्याएका हुन् । दोस्रो संस्करणमा सुन्दरमणीले चरम अल्छी गरेका छन् । यसमा लिरिक्सबाहेक नयाँपन केही पनि छैन । शब्दहरू ध्यान दिएर नसुन्ने हो भने यो गीत नयाँजस्तै लाग्दैन । गीतको उठानदेखि सबै धुनहरू हुबहु पुरानै छन् । संगीतमा कुनै नयाँ प्रयोग गरिएको छैन ।

    गीतको भिडियो नयाँ छ, तर यसले पनि खासै नयाँ अनुभूति गराउँदैन । भिडियोमा पहिलेकै कलाकार ललिता पौडेलले अभिनय गरेकी छन् । कोरस नृत्याङ्गना अत्यधिक प्रयोग गरिएको छ भने गीतको लोकेसन नयाँ छ ।

    चेरी जेलैमा २ लाई सुन्दरमणीको होम प्रोडक्सन सपना म्युजिक इन्डष्ट्रीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई दर्शकरश्रोताले कति रुचाउँछन् १–२ दिनमै थाहा हुन्छ । अघिल्लो वर्ष चरी जेलैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान पछि प्रकाश सपुतको ‘पिर’ ले तोडेको थियो ।

  • डा. डीआर उपाध्यायको चौधौं उपन्यास कृति ‘कसुर’ लोकार्पण

    डा. डीआर उपाध्यायको चौधौं उपन्यास कृति ‘कसुर’ लोकार्पण

    काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतका संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

    उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताए । उनले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताए । उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गरे ।

    यस्तै स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’का बदमासीका बारेमा पनि उल्लेख गरेको बताए । गीतकार देवकोटाले डा. उपाध्यायको मूल लेखन गीत नै भएपनि उहाँका लगातार उपन्यास पनि पाठकमाझ आइरहेको र डा.उपाध्याय वहुप्रतिभाका धनी रहेको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि विशिष्टि कलाकार निरौलाले डा. उपाध्यायका कर्महरूको प्रशंसा गर्दै उहाँको लेखन कार्य अझ मौलाउदै जाओस् भन्दै उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गरे ।

    स्रष्टा उपध्यायले लेख्दै जाँदा १४औं उपन्यास पाठकमाझ आइपुगेको बताउँदै नयाँ उपन्यासको तयारीमा पनि आफू रहेको जानकारी गराए । डा. उपाध्यायले भने, ‘बाल्यकालदेखि वृद्धावस्थासम्म जानी नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछ । केही कसुरका लागि उसले सामान्यदेखि गम्भीर प्रकृतिका सजाय पाउने गर्छन भने केहीमा समाजले नजर अन्दाजसमेत गरिदिन्छ । तर, कुनै कसुर यस्ता हुन्छन् जसबाट जिन्दगीभर पश्चातपको आहालमा डुब्नुबाहेक अर्को विकल्प हुन्न । आधुनिक पुस्तामा महत्वकांक्षाको प्रवाह अत्यन्त तीव्र छ । यसलाई नियन्त्रित राख्दै प्रतिस्पर्धा गर्नेहरू जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्छन् । तर, चूक गर्नेहरूका सारा उपलब्धि एउटा गल्ती खेल खत्तममा परिणत हुन्छ’, यस्तै यस्तै सेरोफेरोमा यो उपन्यास रहेको छ । उहाँले भन्नुभयो, ‘कसुरले निश्चित रुपमा तपाईंको मन–मस्तिष्कमा मेरो प्रयासप्रति गहिरो स्नेहको बिरुवा रोप्ने आशा एवं विश्वास लिएको छ ।’

    कार्यक्रमका अन्य अतिथिले डा. उपाध्यायलाई १४औं उपन्यास कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यासमा हाम्रो सामाजिक परिवेश, समाजमा घटने घटनाक्रम, माया प्रेम, दाजुभाईको ममता, घात अन्तर्घातका साथै सामाजिक सन्देश प्रस्तुत गरिएको बताएका थिए ।

    नारायणप्रसाद भण्डारीको भाषाविन्यास रहेको यो कृतिलाई शिखा बुक्स बागबजारले प्रकाशन गरेको हो । ज्ञानज्योति बुक्स पब्लिकेशन प्रा.लि. वितरक रहेको १७२ पृष्ठको उपन्यास कसुरलाई पैँतीस खण्डमा विभाजन गरिएको छ ।

    सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा गीत, संगीत, चलचित्र, सहित्य र सञ्चारक्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    गीतसंगीत तथा विविध बाट डा. उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गरेका छन् । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन ।

    कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ छन् । यस्तै, उहाँका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।