Category: कलाप्रेस

  • पहिलो गित ‘घामको झुल्को’बाट रायन बस्यालले पाए सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड

    पहिलो गित ‘घामको झुल्को’बाट रायन बस्यालले पाए सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड

    काठमाडौं । गायक तथा सर्जक रायन बस्यालले सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड प्राप्त गरेका छन् । बस्यालले एक वर्ष अघि बजारमा ल्याएको ‘घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड प्राप्त गरेका हुन् ।

    १२ औँ म्युजिक खवर अवार्डमा विभिन्न विधाका कलाकालाई सम्मान सङ्गै नेपालका लोकप्रीय तथा चर्चित कलाकालाई अवार्ड प्रदान गर्ने क्रममा उनलाई सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड प्रदान गरिएको हो ।

    अवार्ड प्राप्त गरेपछि उनले आफुलाई यस सम्मानले थप हौसला मिलेको छ र आगामि दिनमा साङ्गितिक क्षेत्रमा थप योगदान पुर्याउने प्रतिवद्धता जनाए । नेपालमा हुने अवार्ड मध्ये म्युजिक खवर अवार्ड एक उच्च स्तरको अवार्डका रुपमा गनिन्छ । युवा गायक तथा सर्जक बस्यालका गीत पछिल्लो समय चर्चा कमाउदैँ आएका छन् ।

    बस्यालको ‘घामको झुल्को’ पहिलो गित हो र पहिलो गित नै हिट भएको थियो । उक्त गीत युट्युवमा करिव ५६ लाख भन्दा धेरै पटक हेरिसकिएको छ । दोस्रो गित ‘घाम पानीको छाता’ (कलियुगको राधा कृष्ण) करोड क्लवको नजिकै पुगिसकेको छ । गोरखा स्थायी घर भएका बस्यालले भर्खरै मात्रै ल्याएको ‘गोरखाको भच्चेक बजारमा’ चलिरहेको छ ।

    सम्मानित हुनेमा म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ बाट बिशिष्ट गीतकार यादव खरेल, म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ बाट गायक तिलकसिंह पेला, म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल, म्युजिक खबर युवा सङ्गीत सम्मानबाट गायिका मिना लामा, बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटा, म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा।रमिल अधिकारीलाई प्रदान गरिएको छ । यस्तै म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्त, विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान प्रदान गरिएको छ ।

  • फ्राइडे रिलिज : ‘जन्ते बाख्रो’ प्रदर्शनमा

    फ्राइडे रिलिज : ‘जन्ते बाख्रो’ प्रदर्शनमा

    काठमाडौं । जेठ २३ आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमा’को प्रतिक्रिया पाएको यो सिनेमालाई प्रदर्शकले उत्साहजनक शो दिएका छन् । निर्देशक सिमोश सुनुवारले सिनेमाको नामले गर्दा पनि ‘जन्ते बाख्रो’ परम्परा र संस्कृतिलाई प्रचार गरेको बताए ।

    ‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शिर्षक ‘जन्ते बाख्रो’ राखेका छौँ । यसले नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छु’, निर्देशक सुनुवारले भने ।

    उनले सिनेमाको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन् ।

    सिनेमाले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ ।

    काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ ।

    पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ ।

    निर्माता सतोष गौतमले प्रिमियरमा सिनेमा रहेका सिनेकर्मीले दिएको प्रतिक्रिया र शुक्रबार दर्शकबाट पाइने प्रतिक्रियाले आगामी दिनमा शो संख्या बढ्ने विश्वास व्यक्त गरे ।

    प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    ‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

  • ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

    ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

    काठमाडौं । भोली शुक्रबारबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको सिनेमाले बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा मिलेको उत्साहजनक प्रतिक्रियाको प्रभाव भोली शुक्रबारबाट हलमा देखिने विश्वास निर्माण टिमको छ ।

    यसैबीच, देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङमा सिनेमालाई उत्साहजनक शो उपलब्ध गराएका छन् । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको हो । दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बिएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आउँदैछ ।

    सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

    आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट टिम० को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

  • मेकअप आर्टिस्टले सिफारिस गरेपछि ‘जन्ते बाख्रो’ मा छानिएका आसिफ साह

    मेकअप आर्टिस्टले सिफारिस गरेपछि ‘जन्ते बाख्रो’ मा छानिएका आसिफ साह

    काठमाडौं । लामो अन्तरालपछि चलचित्र ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् कलाकार आसिफ साह । त्यसो त मिडियामा चर्चामै रहिरहने पनि आशिफले चलचित्र भने निकै कम गरेका छन् ।

    ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आसिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’ मुख्य अभिनेताको रूपमा काम गरेका थिए । उनले ‘कर्कश’ नामक चलचित्रको निर्देशन पनि गरे ।

    म्युजिक भिडियो निर्देशकको रूपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले काम गरेको बताए ।

    ‘चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहा पाएको थिएँ । निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ । उहाँले आशिफ दाइलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ,’ आशिफले भने ।

    निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन् । तर, आफ्नो सोचाई अरूसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए । उनले भने, ‘हाम्रो साथीभाइ र काम गर्ने साथीभाइ उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरूबाट कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिएँ ।’

    चलचित्र अफर भएपछि आशिफले उत्साहित बने । विशेषतः चलचित्रमा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो । उनी टेलिभिजन भन्दा बाहिर चलचित्रमा आफ्नो कमाल देखाउन चाहन्थे । सार्वजनिक चलचित्रको गीत र ट्रेलरमार्फत उनले राम्रो प्रतिक्रिया पाएका छन् । उनको क्यारेक्टरको स्वभाव आफूसँग मिल्ने महसुस गरेका छन् ।

    ‘म सबैसँग सहज रूपमा खुल्न सक्दिन, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यही सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यस कारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रूप दर्शकसम्म आउँदैछ,’ आशिफले भने ।

    उनले चलचित्रको ट्रेलरमा बोकेर हिँड्ने डोरी, चलचित्रमा देखिने बाख्रो पनि कथासँग जोडिएको छ । टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब चलचित्रमा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन् । यस पटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाए ।

    ‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मद्दत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ । यो चलचित्रको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो । म सौगातबाट अभिनयमा शिक्षित भएको महसुस गरेको छु । उनको प्रभाव मेरो आगामी काममा देखिन्छ,’ उनले भने ।

    उनी चलचित्रको सफलताको श्रेय सबैले पाउने भएकाले ढुक्क छन् । चलचित्रलाई दर्शकले रुचाउँदा आफ्नो पात्र पनि रोजाइमा पर्ने आशिफ बताउँछन् । चलचित्रको शीर्षकले नै नेपाली परम्परालाई व्यक्त गर्ने भएकाले ‘जन्ते बाख्रो’ मार्फत नयाँ पुस्ता जिज्ञासु हुने विश्वास निर्देशक सिमोशले व्यक्त गरे ।

    ‘हामीले शीर्षक ‘जन्ते बाख्रो’ राखेपछि यो विषयमा नयाँ पुस्ताले सोधखोज गरेको पाएका छौँ । चलचित्र हेर्नु हुन्छ वा हेर्नु हुन्न त्यो अहिले भन्न सकिन्न तर हाम्रो एउटा परम्पराका बारेमा अवगत हुनुहुन्छ भन्ने लागेको छ । हाम्रो एउटा आशय नै नयाँ पुस्तालाई संस्कृति र परम्परालाई बुझाउँदै मनोरञ्जन दिनु हो’, निर्देशक सिमोशले भने ।

    चलचित्रमा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

  • प्रिमियर शोमा सेलेब्स रिभ्यू- ‘जन्ते बाख्रो’ पूर्ण पारिवारिक र मनोरञ्जनात्मक बनेको छ

    प्रिमियर शोमा सेलेब्स रिभ्यू- ‘जन्ते बाख्रो’ पूर्ण पारिवारिक र मनोरञ्जनात्मक बनेको छ

    काठमाडौं । आगामी शुक्रवारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

    बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिइन् ।

    उनले भनिन्, ‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’

    वर्षा रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै सिनेमाले मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामीण परिवेशसँगै सिनेमामा कैद भएका सुन्दर दृश्यको तारिफ गरे । ‘तपाईँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ । ग्रामीण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ’, संजोगले भने ।

    अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । सिनेमा हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।

    ‘मलाई सिनेमा बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो । रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु । सिनेमा हेरिरहँदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ । यो सिनेमामार्फत एउटा राम्रो निर्माता सन्तोष गौतमको आगमन भएको छ । उहाँले सिनेमालाई राम्रो बनाउन कहीँ कतै कन्जुस्याइँ गर्नुभएको छैन’, उनले भने ।

    गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरे’, गायक काफ्लेले भने ।

    निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन । ‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहीँ कतै बोर नलागेको प्रतिक्रिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन् ।

    पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको सम्मिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन । ‘पहिलो पटक सिनेमाको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरि घुम्छ’, उनले भनिन् ।

    अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए । उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामो समयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए ।

    प्रिमियर पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले गाउँको सेटअपमा पहिलो पटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए । ‘यो पारिवारिक सिनेमा हो, यसमा हाँसो छ, रोदन छ, यो एउटा पूर्ण सिनेमा हो । सबै मिश्रण गरिएको छ । आज हामीले पाएको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ, यस्तै प्रतिक्रिया शुक्रवारदेखि दर्शकबाट पाउनेमा आशावादी छु’, उनले भने ।

    अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात् दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।

    निर्माता सन्तोष गौतमले आफूले निर्माताको रूपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रवारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भइसकेको छ । प्रदर्शकले प्रचार सामग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।

    गाउँघरबाट हराउँदै गएको भुईँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

  • ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ : सौगात मल्ल

    ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ : सौगात मल्ल

    काठमाडौं । अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाँच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् ।

    ‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाइयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने ।

    उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन् । यद्यपि, कुनै पात्र तयार गर्दै गर्दा उनको व्यक्तिगत भोगाई पनि त्यहाँ मिसिन्छ । निर्देशकले देख्ने र अभिनेता मल्लले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ । उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुटै प्रतिफल आउने उनको बुझाइ छ ।

    ‘मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आस नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र, म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो । कहिलेकाहीँ फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु । तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो’, अभिनेता मल्लले भने ।

    उनले सिनेमा ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामीण जीवनलाई स्मरण गराएको बताए । विशेषतः गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाए ।

    ‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो । किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधिमा सघाउने प्रचलन छ । मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ । यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ’, उनले भने ।

    अभिनेता मल्लले को स्टारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलो पटक काम गरेका हुन् । यद्यपि, आशिफसँग भने ‘कागवेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए । उनीहरूले सँगै सहकार्य गर्ने छलफल पनि भएको थियो, तर त्यो छलफलले पूर्णता पाएन ।

    ‘मैले पहिला देखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाईँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला । यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ । सोही कुरा फिल्मका दृश्यमा बिम्बित भएको छ’, अभिनेता मल्लले भने ।

    सिनेमाले परम्पराका विषयमा जानकारी दिँदै मनोरञ्जन दिने बुझाइ उनको छ । उनका अनुसार ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ । एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर ९भोज० मा खाइन्छ । फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको अभिनेता मल्लले बताए ।

    ‘हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ । पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ ले बदलेको छ । त्यहीकारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मीयता पाइन्छ’, अभिनेता मल्लले भने । उनले आफ्नो विवाह बारे सोधिएको प्रश्नमा भव्यता भन्दा पनि सरलता मन पर्ने बताए । उनी आफ्नो स्वभाव अनुसार नै जीवनयापन गर्न चाहन्छन् ।

    ‘भव्यताले मलाई कहिले पनि आकर्षित गरेन, मेरो विवाह हुँदा पनि सरल नै हुन्छ किनकि म त्यस्तै रुचाउँछु’, उनले भने । फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    अहिले गाउँघरबाट हराउँदै गएको भुईँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ ।सिनेमामा हरि हुमागाईँको छायांकन निर्देशन, उत्तम हुमागाईँको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

  • श्रेय अगस्तीको स्वरमा ‘संघर्ष’ सार्वजनिक

    श्रेय अगस्तीको स्वरमा ‘संघर्ष’ सार्वजनिक

    काठमाडाैं । गत शनिबार गीतकार संघ नेपालबाट ‘संघर्ष’ म्युजिक भिडियो सार्वजनिकीकरण गरिएको छ । अग्रज गीतकार हरिभक्त बुढाथोकीको शब्द, चेतन चुँडालको संगीत र श्रेय अगस्तीको स्वरमा रहेको संघर्षको संगीत संयोजन चाँद सिंह, मिक्स मास्टर महेश्वर मान राजभण्डारीको छ ।

    सरोज खनाल, दिपेन्द्र सोनाम र दिपेन्द्र राज गिरीको संयुक्त अभिनय एवं आएल्प शेर्पाको बाल अभिनयमा बनेको उक्त म्युजिक भिडियोको शृंगार पुनम चौधरी, छायांकन दिनेश पराजुली, सम्पादन विकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन् भने कथा साक्षी-श्रेय र भिडियो व्यवस्थापन संकेत अगस्तीको हो ।

    संघर्ष म्युजिक भिडियोमा मानिसको जीवनको संघर्ष एवं एउटा पिता र उसको सन्तानको बिग्रेको सम्बन्धलाइ जताइएको छ । सर्जक बुढाथोकी भन्छन्, ‘हिजो हामी जन्मिनु अघि अन्धकारमा थियौं, आज दियो झैं बालेर उज्यालो फैलाई रहेका छौं, भोलि फेरि त्यही अन्धकारमा विलिन हुने छौं । जीवन र मृत्युविचको गुज्रिएको पल नै जीन्दगी हो ।’

    ८५ वर्षीय गीतकार हरिभक्त बुढाथोकीको यसअघि ‘मेरो बाबा’, ‘बुढेसकाल’, ‘नजर लाग्ला नी’, ‘दुरी मलाइ हुनु छैन’ र ‘मलाइ हार्न दिंदैन’ चर्चित गीतहरुमा पर्छन् ।

  • रसिकलाई सम्झिँदै हिरण्य भोजपुरे : ‘तुस’ बनेर बल्झिरहने भो ६० वर्ष लामो आत्मियता

    रसिकलाई सम्झिँदै हिरण्य भोजपुरे : ‘तुस’ बनेर बल्झिरहने भो ६० वर्ष लामो आत्मियता

    काठमाडौं । गायक, गीतकार तथा संगीतकार गणेश रसिकको निधनप्रति अर्का गायक तथा गीतकार हिरण्य भोजपुरेले दुःख प्रकट गरेका छन् । भोजपुरेले भावुक हुँदै लेखेका छन्, ‘गणेश रसिक गएछन् । अरु जानेहरू गए जसरी गए । दैवले उनलाई हुनी दुःख दिएनन् । अब त दैवले पनि उनलाई दुखाउन सक्दैनन् ।’

    रसिक र भोजपुरेले पाँच दशकभन्दा लामो समय लेकाली समूह चलाए । गाउँ-गाउँमा गएर जनताको घरघरमा प्रगतीशील गीतहरूमार्फत् चेतना फैलाउने काम गरेका थिए ।

    विगत सम्झँदै भोजपुरेले फेसबुकमा लेखेका छन्, ‘उनले लेकालीलाई चुलीतिर पुर्‍याउन कम कसरत गरेका होइनन् । उनले लेकालीहरूलाई उचाले । लेकालीहरूले उनलाई अग्लो बनाए । साहित्य, स्वर र संगीतका कलकल निनाद गणेश रसिक ।’

    भोजपुरे थप्छन्, ‘तिमी सर्वदा बुडुली बनेर हाम्रो मनमा बिम्झिरहने छौ । ६० वर्षभन्दा लामो हाम्रो आत्मियता अब त तुस बनेर भित्रभित्र बल्झिरहने भो ।’

    छ महिना जति मन्जुल, रायन, रामेश र नोरेमसँग राल्फामा बसेपछि छुट्टिएर रसिकले भोजपुरेसँग मिलेर लेकाली समूह गठन गरेका थिए । यही समूहको प्रमुख पात्र थिए रसिक र भोजपुरे । उनीहरूले ‘रातो भाले क्वायँ क्वायँ’, ‘नखेल्नू जुवा तास’, ‘त्यो माथिबाट’, ‘खोलातिर नाचेर’ लगायत दर्जनौं गीत सृजना गरे । यिनै गीतहरू गाउँदै गाउँ गाउँ डुल्थे ।

    भोजपुरे अचेल अमेरिका बस्दै आएका छन् ।

    प्रोस्टेड क्यान्सरबाट पीडीत रसिकको २ दिनअघि ७८ वर्षको उमेरमा निधन भयो ।

  • ‘भिजिट भिसामा’ फेरि चर्चामा : कसरी तयार भएको थियो यो गीत ?

    ‘भिजिट भिसामा’ फेरि चर्चामा : कसरी तयार भएको थियो यो गीत ?

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरेपछि सात वर्षअघिको गीत ‘भिजिट भिसामा’ पुनः चर्चामा आएको छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह लगायत कलाकारले अभिनय गरेको ‘दाल भात तरकारी’ चलचित्रको यो गीत पुनः चर्चामा आएको हो ।

    युट्युबमा चार करोड भ्युज पाइसकेको यो गीतमा ‘भिजिट भिसा प्रकरणपछि’ सयौं संख्यामा नयाँ कमेन्टहरु थपिएका छन् । सबैले पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर कमेन्टहरु गरिरहेका छन् ।

    गीत पुन चर्चामा आएपछि कस्तो लाग्यो ? भनेर हामीले ‘दालभात तरकारी’का निर्देशक सुदन केसीलाई सोध्यौं । उनको सीधा जवाफ थियो, ‘यो गीत त्यतिवेलै सान्दर्भिक थियो । अहिले झनै सान्दर्भिक भयो । सिंगो सिस्टम नसुध्रिएसम्म यो गीत सान्दर्भिक नै भइरहन्छ ।’

    सन् २०१८ को कुरा हो, सुदन केसी, किरण केसी, महजोडीहरु नयाँ चलचित्रको तयारीमा थिए । गीतहरु अरु नै थिए । चलचित्रको स्क्रिप्ट पुनर्लेखन गर्न तथा छाँटकाँट गर्नलाई निर्देशक सुदनलाई हरिवंशले सिंगो स्क्रिप्ट दिए ।

    चलचित्रमा नक्कली दलाल बाबाले पात्र रामहरिलाई भिजिट भिसामा गायक बनाएर विदेश लैजाने कथा थियो । नक्कली बाबाले एम्बेसीले सोधेमा सांस्कृतिक कार्यक्रमको लागि विदेश जान लागेको भने भन्नु भनेर पेनड्राइभमा गीत हालेर दिन्छन् । त्यो गीत चाहिँ यही भिजिट भिसामा हुन्छ ।

    हरिवंशले स्क्रिप्ट पढ्दै जाँदा ३०/३५ मिनेटपछि धेरै कलाकार चाहिने दृश्य थियो । त्यस्तो नभए मोन्टाज खेलाउनलाई गीत चाहिने भयो । हरिवंश अमेरिका गएका थिए छोरो भेट्नलाई । नेपालमा सुदनले स्क्रिप्टमा काम गरिरहेका थिए ।

    ‘राति १२ बजे उहाँले मलाई म्यासेन्जरमा फोन गरेर यो गीत सुनाउनुभयो । शब्द यही नै थियो,’ सुदन सुनाउँछन्, ‘त्यसपछि हरिवंश अंकल अमेरिकाबाट फर्कनुभयो । शम्भुजित बाँसकोटालाई शब्द दियौं । दुई तीन दिनमै उहाँले ट्युन बनाउनुभयो ।’

    हरिवंश र शम्भुजितको सहकार्यले धेरै अघि नै राष्ट्रिय पुरस्कार जितिसकेको थियो । ‘जे भो राम्रै भो’ चलचित्रको ‘तिम्रो माया कति छ कति छ’ बोलको गीतबाट हरिवंशले उत्कृष्ट गीतकार तथा शम्भुजितले उत्कृष्ट संगीतकारको अवार्ड जितिसकेका थिए । उक्त अवार्ड चलचित्र विकास बोर्डले दिएको थियो ।

    गीत तयार भएपछि सुदन गीतको सुटमा लागे । एयरपोर्ट, हायात रिजेन्सीको ग्राउण्ड र नागपोखरीको शहीद पार्कमा गीतको सुट भयो । यसरी प्रमोसनल गीत मात्रै बनाउने भनेर काम गर्दा ‘भिजिट भिसामा’ चलचित्रको सिक्वेन्समै अटाएको थियो ।

    गीतको सान्दर्भिकताबारे सुदन सुनाउँछन्, ‘चलचित्रको कथा काल्पनिक रुपमा लेखे पछि कतै न कतै वास्तविक जीवनबाट प्रभावित भएरै लेखिएको हुन्छ । यो गीत र चलचित्र पनि वास्तविक जीवनबाट प्राभावित भएरै बनाइएको सृजना थियो ।’

    निर्देशक सुदनको यो चलचित्र डेब्यु निर्देशन हो ।

  • इन्जिनियर घिमिरेको ‘सिसा झ्यालैमा’  लोकदोहोरी गीत सार्वजनिक

    इन्जिनियर घिमिरेको ‘सिसा झ्यालैमा’ लोकदोहोरी गीत सार्वजनिक

    काठमाडौं ।  मौलिक झ्याउरे लयमा आधारित लोकदोहोरी गीत “सिसा झ्यालैमा” दिनेश क्षेत्री युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

    चर्चित गायिका देवी घर्ति, ई. सुजित घिमिरे र सर्जक दिनेश क्षेत्रीको स्वर रहेको गीतमा गण्डकी प्रदेशको सांगीतिक पहिचान झल्किन्छ।

    गीतको शब्द र लय दिनेश क्षेत्रीको रहेको छ भने निर्देशन राजकुमार मगरले गरेका छन्। एलिना रायमाझी र रायन बस्यालले अभिनय गरेको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन्।

    स्याङ्जाका दिनेश क्षेत्री र बाग्लुङकी देवी घर्ति लोकसंगीतमा स्थापित नामहरू हुन्। अर्का गायक ई. सुजित घिमिरे नेपाल विद्युत प्राधिकरणमा कार्यरत सिभिल इन्जिनियर हुन्, तर लोकदोहोरीप्रति बाल्यकालदेखि रुचि राख्ने उनी अब गायकको रूपमा उदाएका छन्।

    सर्जक क्षेत्रीका “आकाशैले भुइँलाई हेरेको”, “केशरी”, “माया काखैमा” जस्ता गीत चर्चित छन् भने गायिका घर्ति पाँच हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्।

     

  • हिन्दू धर्मसँग जोडिएपछि विवादमा फस्ने भयले ‘जनै हराएको बाहुन’को नाम फेरियो

    हिन्दू धर्मसँग जोडिएपछि विवादमा फस्ने भयले ‘जनै हराएको बाहुन’को नाम फेरियो

    काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ रहने भएको छ ।

    हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ ।

    पोस्टर सेयर गर्दै चलचित्रका मुख्य अभिनेता विजय बरालले लेखेका छन्, ‘तपाईंहरुकै सल्लाह सुझावबाट हामीले नाम परिवर्तन गरेका छौं ।’

    भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।

    रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो निर्माणपक्षले विजयलाई एउटा ट्याग पनि दिएको छ । विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो ।

    चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो । चलचित्रको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने बरालसँगै केही अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

  • ‘ऊनको स्वेटर’ हेरेपछि तुलसी घिमिरे : निर्देशकलाई सुटुक्कै भनेँ, आरिस लाग्यो 

    ‘ऊनको स्वेटर’ हेरेपछि तुलसी घिमिरे : निर्देशकलाई सुटुक्कै भनेँ, आरिस लाग्यो 

    काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले ‘ऊनको स्वेटर’ हेरेपछि निर्देशकको काम आरिसलाग्दो भएको बताएका छन् । उनले भने, ‘चलचित्र हेरेर बाहिर निस्केपछि सबैभन्दा पहिला निर्देशकलाई भेटेँ, अनि सुटुक्क भनेँ, ‘आरिस लाग्यो ।’
    त्यस्तै घिमिरेसँगै चलचित्र हेरेर वरिष्ठ संगीतकार रञ्जित गजमेरले पनि चलचित्रको गीत र ब्याकग्राउण्ड म्युजिक शानदार लागेको प्रतिक्रिया दिएका छन् ।
    पाँचौं हप्तामा चलिरहेको ‘ऊनको स्वटेर’ शैलीको प्रस्तुतिले नेपाली चलचित्र क्षेत्रलाई दह्रिलो दिशा दिने निर्देशक घिमिरेले बताए ।
    ‘ऊनको स्वेटरमा धेरै कुरा हुन्छन् । आजकल त ऊनको स्वेटर बुन्ने मेसिन हुन्छ । पहिला दुई काँटाले बुनिन्थ्यो । त्यो बुनिँदै गरेको स्वेटरमा धेरै सोचहरु मिसिएको हुन्थ्यो । स्वेटरसँग बात मार्दै बुनिन्थ्यो,’ घिमिरेले संक्षिप्तमा भने, ‘यो चलचित्र ऊनको स्वेटर बुन्दा पनि समय लागेको छ । फरक ठाउँ छ, फरक सिजन छ । सांस्कृतिक रुपमा समृद्ध चलचित्र बनेको छ ।’
    नवीन चौहान निर्देशित ‘ऊनको स्वेटर’ २०८२ सालको पहिलो हिट चलचित्र हो । मल्टिप्लेक्स चेन क्युएफएक्सले भने यस चलचित्रलाई सुपरहिटको ट्याग दिइसकेको छ । अहिलेसम्म चलचित्रले १० करोड माथि ग्रस कलेक्सन गरिसकेको निर्माताको दाबी छ ।
    चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु लगायत कलाकारको अभिनय छ । चलचित्र गत वैशाख २६ गतेबाट प्रदर्शनमा आएको हो ।
  • नमिताको ‘म त एक्लै ज्यूँछु’ गीतमा स्वरसहित एलिनाको अभिनय

    नमिताको ‘म त एक्लै ज्यूँछु’ गीतमा स्वरसहित एलिनाको अभिनय

    काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

    गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।

    प्रेमीले रुवाएर दुनियाअघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले भिडिओमा प्रस्तुत गराएका छन् ।

    भिडिओमा एलिनाकै अभिनय छ । भिडि‌ओको छायांकन सुविन गोदार र सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन् । निर्माता निमिसा दवाडी छिन् ।

    गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन् ।

  • आन्दोलनको मारमा परेको ‘महाभोज’ निर्देशक भन्छन्- जेठ ३० बाट पछि हट्दैनौँ

    आन्दोलनको मारमा परेको ‘महाभोज’ निर्देशक भन्छन्- जेठ ३० बाट पछि हट्दैनौँ

    काठमाडौं । गणतन्त्र दिवको दिन कार्यक्रमको घोषणा गर्दै राजावादी समूह र नेकपा एमालेले आक्रामक अभिव्यक्ति नदिएका भए चलचित्र ‘महाभोज’ गत जेठ १५ मै प्रदर्शन भइसक्ने थियो । तर, राजावादीले कार्यक्रमका लागि रत्नपार्क नछोड्ने र एमालेले भृकुटीमण्डप नछोड्ने अडान लिएपछि चलचित्र प्रदर्शन मितिबाट पछाडि हट्न बाध्य भयो ।

    दुवै पक्षले कार्यक्रम अगाडि दिएको उत्तेजक अभिव्यक्तिले त्यस दिन जे पनि हुनसक्ने सम्भावना देखिएपछि तीन करोड लगानीमा निर्मित ‘महाभोज’ले जोखिम मोल्न चाहेन । विज्ञप्ति जारी गर्दै बुकिङ खुलिसकेको चलचित्रको निर्धारित मितिमा प्रदर्शन नगर्ने जनायो ।

    यद्यपि राजावादी र एमालेले संयमता अपनाए । कुनै घटना घटेन । तर, तीन करोडमाथि लगानी गरिएको दिनेश राउत निर्देशित ‘महाभोज’ले राजावादी र एमालेले दिएको भयपूर्ण अभिव्यक्तिको घानमा पिसियो ।

    प्रदर्शन रोकिएकोबारे निर्देशक राउत भन्छन्, ‘उहाँहरूको अभिव्यक्ति र आन्दोलनको घोषणाका कारण हामी डरायौँ । त्यति धेरै लगानी गरिएको चलचित्र डुबिहाल्यो भने कसले व्यहोरिदिन्छ ? राज्य हाम्रो पेशाप्रति गम्भीर देखिएको छैन ।’

    राउतले थपे, ‘हाम्रो पेशा त मनोरञ्जनको क्षेत्र हो । सानातिना कुराले पनि ठूलो असर गरिरहेको हुन्छ । दुवै पक्षले त्रासको वातावरण सृजना गरिदिएपछि हामी पछाडि हट्यौँ । सबैभन्दा पहिलो प्राथमिकता मान्छेको ज्यान हो । अब चलचित्र हेर्ने दर्शककै ज्यानको खतरा भएपछि दर्शकमै भर परेका हामी चलचित्रकर्मी पछाडि हट्नुको विकल्प रहेन ।’

    सिर्फ देशको परिस्थिति र अवस्था मात्रै ठिक भइदिए पनि हुने भन्ने अवस्थामा पुगेको राउत बताउँछन् ।

    राउतको टिमले गणतन्त्र दिवसको सार्वजनिक बिदाको सदुपयोग गर्न खोजेको थियो । प्री–शोको समेत आयोजना गरेको थियो । मिडियाकर्मी, चलचित्रकर्मी र सहकारी पीडितहरूलाई चलचित्र देखाइएको थियो । सहकारी पीडितहरूकै मुद्दामाथि बनेको चलचित्र भएकाले उनीहरूलाई पनि बोलाइएको थियो ।

    सहकारी पीडितहरूले चलचित्रले आफूहरूको कुरा बोलेको, अलि अगाडि नै यस्तो चलचित्र बन्नुपर्ने प्रतिक्रिया दिएका थिए भने हल परिसरमै नाराबाजी समेत गरेका थिए ।

    चलचित्रको प्री–बुकिङ समेत खुलिसकेको थियो । क्युएफएक्स लगायत मल्टिप्लेक्सहरुले राम्रो शो दिएका थिए । फाट्टफुट्ट बुकिङ पनि सुरु भइसकेको थियो । तर, गणतन्त्र दिवसको दिन राजावादी र एमालेका कारण परिस्थिति अन्योलग्रस्त देखिएपछि ‘महाभोज’ ब्याक भएको थियो ।

    ‘हामीले ३५ लाखमाथि प्रमोसनमा खर्च गरिसकेका थियौँ,’ राउतले भने, ‘प्रमोसनमा गरिएको खर्च खेर नै गइसकेको त छैन । दर्शकहरूले हाम्रो चलचित्रबारे थाहा पाउनुभयो । तर, त्यस दिन प्रदर्शन गर्न पाएको भए बिदाको सदुपयोग हुन्थ्यो । व्यापारमा राम्रो आँकडा पार गर्न सक्थ्यो ।’

    अहिले चलचित्र टिमले आउँदो जेठ ३० गते प्रदर्शनको नयाँ मिति तय गरेको छ । यस मितिबाट भने आफूहरु पछाडि नहट्ने राउतले बताए । अब पुनः प्रमोसनमा खटिने सुरमा छन् राउत । तर, एक झमट प्रमोसनमा सक्रिय भइसकेका कलाकारहरू अन्य चलचित्रहरूमा जोडिइसकेका छन् । उनीहरूको कार्यतालिका व्यस्त भएका कारण कसरी चाँजोपाँजो मिलाउने भनेर राउतहरूले योजना बनाइरहेका छन् ।

    तर, अन्तिम समयमा आएर चलचित्र प्रदर्शनको निर्धारित मिति रोक्नुपर्दा आफू अत्यन्त दुखी भएको राउतको दुखेसो छ ।

    उनले भने, ‘म त सामान्य चलचित्र मेकर हो । मेरो सल्लाह र सुझाव सुन्न यो राज्य तयार छैन । मैले गुनासो गरेर पनि केही हुनेवाला छैन । तर, देशको परिस्थिति ठीक नहुँदा मैले जे जस्तो दुःख भोगेँ, अर्को मेकरले भोग्नु नपरोस् ।’

    चलचित्र सहकारी पीडितको कथामाथि भए पनि धेरेले अनुमान गरेजस्तो रास्वपा सभापति रवि लामिछाने लक्षित नभएको राउतले बताए । उनले थपे, ‘सहकारीमा हजारौँ पीडित छन्, हजारौँ पीडक छन् । न्यायालयभित्र छिरिसकेको विषयमा म केही भन्दिनँ । तर, ‘महाभोज’ले पीडितहरूको पीडा कुन तहमा छ, उनीहरू कसरी पीडित भए, कसरी पीडकहरू जन्मिए भन्ने सन्दर्भलाई उप्काउन खोजेको छ ।

    जेठ ३० गतेबाट प्रदर्शनमा आउने ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायत कलाकार छन् ।

  • कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ सार्वजनिक

    कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ सार्वजनिक

    इलाम । कवि कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ विमोचन भएको छ । कवि गाउँलेको गृहजिल्ला इलामको फिक्कलमा ‘फाटकमा घाम’ सार्वजनिक भएको हो ।

    कार्यक्रममा कवि मनप्रसाद सुब्बा, प्राज्ञ राजन मुकारुङ, कवि राई लगायतले पुस्तकको विमोचन गरेका थिए ।

    प्रमुख अतिथिको रूपमा रहेका सुब्बाले पुस्तकमाथि चर्चा गर्दै भने, ‘कविले फाटकका घाममा जनजीविकाका सवाल बडो मज्जाले ल्याउनुभएको छ । यही कारण यो कवितासंग्रह विशेष बनेको छ ।’

    त्यस्तै सिक्किमका कवि प्रवीण खालिङले राईका कुनै कुनै कविता आफ्नै घरभित्रको कथाजस्तो लाग्ने बताए । उनले भने, ‘नारीवादी कविता भएर पनि उहाँका कवितामा कुनै पनि किसिमको उग्रता छैन । साथै उहाँले बिम्बका रूपमा पनि वरिपरिका मौसम, डाँडाकाँडा र विशेष ढुंगालाई प्रयोग गर्नुभएको छ ।’

    कवितासंग्रहका सर्जक गाउँलेले आफूले देखेको, भोगेको कुरालाई सहज र सरल ढंगले कवितामा उतारेको बताइन् । उनले भनिन्, ‘समाजका विभिन्न पक्षलाई समेटेर संग्रहको रूपमा प्रकाशन गरेको हुँ । पाठकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

    कार्यक्रममा कवि देवान किराँती, विमल वैद्य, कृष्ण बराल, राजन मुकारुङ लगायतले कविता संग्रहमा समेटिएका कविता वाचन गरेका थिए । कविता संग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

    २०४८ सालबाट कविता लेखन सुरु गरेकी गाउँलेको ‘फाटकका घाम’ पहिलो कवितासंग्रह हो । यस कृतिमा उनका ४९ वटा कविता समेटिएका छन् ।

  • ‘जन्ते बाख्रो’ निर्माण टिमले प्रचारमा फरक शैली अपनाउँदै

    ‘जन्ते बाख्रो’ निर्माण टिमले प्रचारमा फरक शैली अपनाउँदै

    काठमाडौं । जेठ २३ गते शुक्रबारबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जन्ते बाख्रो’ निर्माण टिमले प्रचारमा फरक शैली अपनाइरहेको छ । यसअघि देशभरका विभिन्न ठूला शहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले हिजो शनिबार राजधानीमा फरक शैलीको सिनेमा प्रचारको कार्यक्रम आयोजना गरेको थियो।

    सिनेमा‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम शनिबार सिटी स्क्वायर मलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ ।

    अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थल सम्म बिबाहको शैलीमा पन्चे वाजासहित पुर्याएको थियो । जहाँ सिनेमाको निर्माण टिमले ‘जन्ते बाख्रो साँझको आयोजना गरिएको थियो । त्यहाँ सिनेमामा समावेश गीतहरु ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’का गायक गायिकाहरु बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले सयौं दर्शकलाई झुमाएका थिए।

    सिनेमाको निर्माण टिमले आयोजना गरेको जन्ते बाख्रो साँझमा सिनेमाका मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदिप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति रहेको थियो।

    यस्ता, प्रमोसनल इभेन्टले सिनेमासँग दर्शकलाई प्रत्यक्ष जोड्न सघाउने भएकाले पनि आयोजना गरिएको निर्देशक सुनुवारले बताए ।

    अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

    सिनेमालाई सन्तोष गौतमले निर्माण गरेका हुन् । सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ र ट्रेलर लाई दर्शकले रुचाइसकेका छन् । यो सिनेमा आगामी जेठ २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

  • डा. भुसालले ल्याए सन्देशमूलक गीत

    डा. भुसालले ल्याए सन्देशमूलक गीत

    काठमाडौं । नेपाल सरकारका सहसचिव एवं गीतकार डा. भीष्मकुमार भुसालका गीतहरूको शृङ्खलामा अरू दुई गीत थपिएका छन्।

    जागरण गीतमा कलम चलाउँदै आएका डा. भुसालको पाँचौं शृङ्खलाका रूपमा ‘स्वर्ग यहीँ लुकेको छ’ आएको छ भने छैटौँ प्रस्तुतिका रूपमा ज्येष्ठ नागरिकको भावना एवं जीवन पस्किएको ‘थरिथरि पात झरे’ छ।

    उनका यी दुई गीत आफ्नो जन्मदिन तथा जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक गरेका हुन्।

    डा. भुसालका गीतहरु सन्देश र प्रेरणाले भरिएका हुन्छन्। यसअघि उनले ‘वाचा’, ‘यो प्रण’, ‘अब उठ जाग’, ‘उड्ने चरी’ ल्याइसकेका छन्।

    गैरे सुरेशको सङ्गीत रहेको स्वर्ग यहीँ लुकेको छ बोलको जागरण गीतमा स्वरूप राज आचार्य, रूपा गुरुङ, अञ्जलि राई र रमिला मगरले स्वर दिएका छन्।

    यस गीतले नेपाल बनाउने देवदूत अरू कोही हैन, हामी प्रत्येक नेपाली हौँ भन्ने वास्तविकता उजागर गरेका छन्। उनले यस गीतले राष्ट्र निर्माणमा सबैजना जुट्न र यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ।

    त्यसै गरी, उनको दोस्रो गीत ‘तरितरी पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गर्दै आफू पनि बुढो भइन्छ भन्ने कुरालाई मनन गरेर ज्येष्ठ नागरिकहरूलाई दुःखी हुन नदिन उनीहरूलाई साथ दिनुपर्ने सन्देश दिएको छ।

    यस गीतमा रामकृष्ण ढकालको स्वर, बिबि अनुरागीको एरेन्ज र उत्तम पौडेलको सङ्गीत रहेको छ ।

  • लेखनको लत लागेछ, लेख्न नसक्दा बिरामी झैं हुन्छु: सञ्जीत फलाना

    लेखनको लत लागेछ, लेख्न नसक्दा बिरामी झैं हुन्छु: सञ्जीत फलाना

    काठमाडौं । पछिल्लो छिमलका कवि सञ्जीत फलानाको कविता संग्रह ‘पेरुङ्गे चेप र नागबेली सपना’ भर्खरै बजारमा आएको छ । संग्रहमा सञ्जीतका ४४ कविता समावेश छन् । सञ्जीतका कविताहरूले मूलतः किनारीकृतहरूको पहिचानसहितको आवाजलाई सम्बोधन गर्ने गरेका छन् ।

    सीमान्तमा बाँचेका मानिसहरूको पक्षमा कलम चलाउन रुचाउने इलामका सञ्जीत समालोचना तथा आख्यानमा पनि उत्तिकै दख्खल राख्छन् । करिब एक दशक शिक्षण पेशामा बिताएका उनी लामो समयदेखि लेखनमा सक्रिय छन् । हाल उनी सम्भव समूहमा आवद्ध रहेर लेखनसँग सम्बन्धित विभिन्न गतिविधि र अभियानमा समेत सक्रिय छन् ।

    उनै कवि सञ्जीत फलानालाई अर्का कवि उत्तम तुम्सा लिम्बूले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंशः

    – हालसालै ‘पेरुङ्गे चेप र नागबेली सपना’ बजारमा ल्याउनुभयो । यो नामको अर्थ खुलाइदिनुस् न !

    खासमा यो कृतिको नाम सुरुमा अर्कै केही थियो, तर पछि अलि बढी सार्थक बनाउँ भनेर ‘पेरुङ्गे चेप र नागबेली सपनाहरू’ राखेँ । यो नामको त्यस्तो मूर्त अर्थ त छैन, तर यसले मेरा कविताहरूको आधारभूमिप्रति भौगोलिक नोस्टाल्जिया समेटेको छ ।

    – तपाईंले अहिले शिक्षण पेशा अचानक छाड्नुभयो । यसरी अचानक जागिर छाड्नुका पछाडिको कारण कविता नै हो वा अरू केही ?

    खासमा म २०७१ बाट २०८१ सालसम्म लगभग एक दशक शिक्षण पेसामा आवद्ध रहेँ, तर मैले शिक्षणमा उति इन्जोय गर्न सकिनँ । त्यही भएर यही वर्षबाट छँदाछँदैको राहतको जागिरबाट स्वेच्छिक राजीनामा दिएँ । जागिर छोड्नुको पछाडिको कारण कविता र कविता जस्तै अरू केही नै हो ।

    – तपाईं किन कविता लेख्नुहुन्छ ? कस्तो अवस्थामा तपाईंलाई कविता फुर्छ ?

    सुरुमा त रहरले लेखे हुँला । पछिपछि लेख्ने लत बस्यो । नलेखी बस्दा मन मान्न छाड्यो । लेख्न नसक्दा त झन् बिरामी भए झैँ हुन्थ्यो । आत्मसन्तुष्टि र स्वान्त सुखायको निम्ति लेख्दालेख्दै कविताप्रतिको जिम्मेवारीबोधले बाँध्यो । अहिले भने प्रगतिशील र समाजको लागि आवश्यक चेतना निर्माणमा केही इँटा थपौँ भनेर लेख्ने गर्छु ।

    अर्को कुरा, कविता फुर्न अवस्थाले अर्थ राख्छ । मलाई कुनै घटनाले तत्काल क्लिक गर्‍यो भने वा कुनै विचारले लामो समयसम्म दिमागलाई तरंगित बनायो भने त्यो क्षण कविताको लागि ओथारो बस्ने समय बन्छ ।

    – भनिन्छ, राम्रो कविले कवितामा आफ्नै सिग्नेचर भाषा, संरचनाको निर्माण गरेका हुन्छन् । अनि तपाईं चाहिँ सिग्नेचर बनाइसकेको कवि कि सिकारु ?

    कवितामा आफ्नै सिग्नेचर भाषा बनाउन लर्तरो कुरा होइन । त्यसको लागि लामो समयसम्मको निरन्तर साधना र अथक मेहनेत साथै कविताप्रति नवीन दृष्टिकोण चाहिन्छ । जस्तो कि अग्रज कविहरू श्रवण मुकारुङ, स्वप्निल स्मृति र मनु मञ्जिललगायतले आफ्नै सिग्नेचर भाषा र संरचनाको डक्ट्रिन निर्माण गरेका छन् ।

    मेरा कविताहरू विचारप्रधान भए पनि लेख्दाखेरि भरसक क्राफ्टमा खेल्न मन पराउँछु । नयाँ क्राफ्ट बनाउन पाउँदा मलाई साह्रै खुसी लाग्छ । यस आफ्नो सिग्नेचर भाषा र संरचनाको निर्माणमा सचेत भएर सकेसम्म मेहनत भने गरेको छु, तर अझै पनि त्यो कर्मले सार्थकता भने पाएको ठान्दिनँ ।

    – तपाईं त अरुको कृतिमाथि पनि समीक्षा लेख्नुहुन्छ । अन्य कविको सवल र दुर्बल पक्ष छुट्याइरहँदा आफ्नै कविताहरू दुर्बल हुनबाट जोगाउन सक्नुभयो त ?

    मैले पछिल्लो तीन वर्षमा कविताहरूमाथि लगभग आधा दर्जन समीक्षा लेखेँ । समीक्षक भएर सिर्जनाहरूमाथि बोल्नु जति सजिलो छ, कविता लेख्न उति नै गाह्रो छ । मेरा कविताहरू मेरो ज्ञान, अनुभूति, बुझाई र वैचारिकीले निर्मित भएका छन् । त्यसमा केही सबल पक्षहरू साथै केही दुर्बल पक्ष पनि होलान् । आशा छ, समीक्षाको कठघरामा म उभ्याइनेछु र उभिन पनि जरुरत छ ।

  • ३५ वर्षअघिको ‘तिमी तारे भीर’को रचना गर्भ: तीन सर्जकका आआफ्नै तर्क

    ३५ वर्षअघिको ‘तिमी तारे भीर’को रचना गर्भ: तीन सर्जकका आआफ्नै तर्क

    काठमाडौं । ३५ वर्षअघि निर्मित गीत ‘तिमी तारे भीर’ यस्तो गीत हो, जुन गीतले संगीतकार, गीतकार र गायिकाकै करियरलाई माथि उठाउन सहयोग गर्‍यो । यो गीत पछिल्लो पुस्ताका स्रोता/दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छ ।

    संगीतकार शान्तिराम राईको डेव्यु संगीत रहेको यो गीतमा कवि तथा गीतकार श्रवण मुकारुङको शब्द छ भने पवित्रा सुब्बाको स्वर । पछिल्लो समय गायक रेवत राईले यस गीतको मेल भर्सन गाएका छन् ।

    एउटा सुन्दर गीत बन्नुमा कसको मुख्य भूमिका हुन्छ ? संगीतकारको, गीतकारको वा गायकगायिकाको ? सबैको आआफ्नै तर्क होलान् । धेरैले के विश्वास गर्छन् भने शब्दलाई जिउँदो बनाउने संगीतले हो । राम्रो संगीतविना जुनसुकै महान शब्द पनि मृत बनेर जान्छ । अर्काथरीको विश्वास हुन्छ, राम्रो शब्द नभइकन राम्रो संगीत निस्कन सक्दैन । राम्रो संगीत नभइकन राम्रो गायन सम्भव हुन्न ।

    मूल कुरा के हो भने राम्रो गीत बन्नुमा संगीतकार, गीतकार र गायकगायिका तीनै चिजको महत्वपूर्ण भूमिका हुन्छ । यतिमात्रै होइन, गीत तयार हुँदा वाद्यवादनमा आफ्नो जादु भर्ने कलाकार, संगीत एरेन्ज गर्ने एरेन्जरलगायत धेरैको मेहनत र पसिनाको उपज हो एउटा सुन्दर गीत । धेरै दर्शक/स्रोताको के विश्वास छ भने ‘तिमी तारे भीर’ पनि सबै कुराको संयोजन भएको सुन्दर गीत हो, तर यो गीतको रचना गर्भमाथि शान्तिराम, श्रवण र पवित्रा तीनै जनाको आआफ्नै प्रसंग छन् । सँगै तीनै जनाको आआफ्नै नोस्टालजियासमेत छन् ।

    तीनै जना सर्जकले नेपालप्रेसमा फरक-फरक समयमा यो गीतको रचना गर्भ सुनाएका छन् । नेपालप्रेसकर्मी नवीनकाजी राईलाई तीनै सर्जकले सुनाएको रचना गर्भको फरक-फरक सन्दर्भलाई यहाँ एकतित्र गरिएको छ ।

    पवित्रा सुब्बाले फिलर गीतको रूपमा एल्बममा समेट्नुभएको थियो: शान्तिराम राई

    गायक शान्तिरामले संगीतकारको अवतार लिएको पहिलो गीत यही नै हो । त्यसवेला शान्तिराम सिर्फ गायक थिए । गायक बन्न नै खोटाङको सोल्माबाट काठमाडौं हान्निएका थिए, २०४५ सालमा । २०४६ सालमा त रेडियो नेपालमा भ्वाइस टेस्ट नै पास गरेका थिए । गायक शम्भु राईको संगीतमा समेत गीत रेकर्ड गराउन भ्याइसकेका थिए ।

    गायकको लय पक्रिएका शान्तिराम अन्ततः गीतहरूको लय निर्माणतिर लागे । त्यसवेला उनी लाजिम्पाटमा बस्थे । रेडियो नेपालको स्टेसनमा पुग्न सिंहदरबार धाउँथे । सिंहदरबारभित्र छिर्ने परिस्थिति निर्माण गर्नै समय लाग्यो उनलाई ।

    विस्तारै कला क्षेत्रका मानिसहरूसँग शान्तिरामको संगत बढ्दै गयो । त्यही माहोलमा कवि श्रवण मुकारुङसँग उनको चिनजान भयो । शान्तिराम-श्रवणको मैतीदेवीमा बसाइ पनि नजिक नजिक नै थियो ।

    एक दिन श्रवणले दुई गीत लिएर आए- ‘तिमी तारे भीर’ र ‘बाटो हेरे हुन्छ आमा’ । संगत बढ्दै गएपछि श्रवणले बेलाबेला भन्थे, ‘कहाँ गीत गाएर हुन्छ शान्तिरामजी ? अम्बर गुरुङ, गोपाल योञ्जन जस्तो पो हुनुपर्छ ।’

    श्रवणले ल्याएकामध्ये पहिलो गीतको कम्पोज सुरु गरे शान्तिरामले ।

    ‘श्रवणजीसँग हर्लिक्सको बोतलमा ल्याएको सेतो रक्सी खाँदै, भटमास र अदुवाको सितन लिँदै रातको १ बजेसम्म गीतको कम्पोज गरियो । म हार्मोनियम बजाउथेँ, उहाँ गितार बजाउनुहुन्थ्यो । गीत गाउँदै टेप रेकर्डमा रेकर्ड गर्दै सुन्थ्यौं’, उनी भन्छन्, ‘आफैंले कम्पोज गरेको गीत सुनेपछि आहा ! खत्रा बनेछ भन्थ्यौं । गीतले खायो खायो भन्थ्यौं ।’

    गीतको कम्पोज तयार भएपछि एक जना चर्चित गायिकालाई सुनाउन दुई जना कुपण्डोल पुगे । श्रवणले शान्तिरामलाई कन्भिन्स गरेका थिए- ‘मैले चिनेको छु उहाँलाई । एक सटमै मान्नुहुन्छ ।’

    परिस्थिति श्रवणले भने जस्तो भएन । ती गायिकाले गीतलाई सीधै रिजेक्ट गरिन् । गीत यतिकै थन्कियो । अलि पछि निर्देशक नवीन सुब्बाले गायिका पवित्रा सुब्बालाई गीतबारे बताएछन् । पवित्रालाई गति सुनाउन दुवै जना गए । पवित्राले पनि गीत मन पराइन् ।

    ‘मन परेरै भन्दा पनि त्योवेला क्यासेटमा आठ वटा गीत राख्नुपर्ने थियो । उहाँ गीतको खोजीमा हुनुहुँदा हाम्रो गीत फेला परेको रहेछ’, शान्तिराम सुनाउँछन्, ‘गीत बनेपछि उहाँले क्यासेटको ‘बी’ साइडमा राख्नुभयो । ‘ए’ साइडतिर चाहिँ राम्रा र छानिएका गीत हुन्थे । ‘बी’ साइडमा फिलर गीत हुन्थे । त्यसवेला हाम्रो गीतलाई ‘ए’ साइडमै एक नम्बरमा राखेको भए के जान्थ्यो भन्ने भएको थियो ।’

    निर्देशक नवीन सुब्बाले भन्नुभएपछि पवित्रा सुब्बालाई गीत दिएको हो: श्रवण मुकारुङ

    त्यसवेला श्रवण २२-२३ वर्षका थिए, युवा गीतकार तथा कविको छवि बनाइसकेका थिए । त्यहीवेला शान्तिरामसँग उनको भेट भयो । किराँत राई यायोख्खाले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा श्रवणले आफ्नै गीत गाए, ‘जानु छ साथी मायाको देशमा, कुन फूल लिएर जाउँ ?’

    मुकारुङलाई गायक शम्भु राई र स्वर्गीय प्रवीण गरुङले साथ दिए । सो कार्यक्रममै संगीतकार शान्तिरामले चाम्लिङ भाषामा लोकगीत गए ।

    श्रवण सुनाउँछन्, ‘त्यही हाम्रो परिचय भयो । दोस्ती सुरु भयो । हामी दुवै मिलेर केही गीत बनायौं ।’

    एक दिन निर्देशक नवीन सुब्बा श्रवण र शान्तिरामकहाँ आएर भने, ‘धरानकी एक जना बहिनी हुनुहुन्छ पवित्रा सुब्बा । आवाज राम्रो छ । उहाँलाई एउटा गीत दिनुस् न ।’

    ‘मैले पवित्राको नाम त सुनेको थिइनँ । तैपनि ‘तिमी तारे भीर’ गीत उहाँलाई नै दिएँ । उहाँले आफ्नो एल्बम ‘शैली’मा गीतलाई समावेश गर्नुभयो’, श्रवण सुनाउँछन्, ‘त्यो समय आधुनिक गीतले बजार खाइरहेको थियो । एउटा गीतमा पाँच-दश वटा त माया, धोका र आँसु शब्द हुन्थे । अनि मैले चाहिँ फरक ढंगले कसरी लेख्ने त ? त्यसका लागि लहरा, तारेभीर प्रतीक प्रयोग गरेँ ।’

    पवित्राबारे मुकारुङ थप्छन्, ‘उहाँको आवाज बडो मिस्ट्रिरियस रहेछ । उहाँको आवाज आध्यात्मिक महसुस गराउने आवाज हो । कता हो कता पुर्‍याउने आवाज हो उहाँको । उहाँले त्यो आवाजलाई निरन्तर रूपमा चाहिँ अगाडि बढाउनुभएन, तर उहाँको आवाज एकदमै जादुमयी आवाज हो ।’

    स्टुडियोमा गीत सुनेपछि गीतकार र संगीतकार बोल्नै सक्नुभएन : पवित्रा सुब्बा

    ‘२०४६/४७ सालतिर म सोलो एल्बमको तयारीमा थिएँ । मलाई केही राम्रा गीतहरू चाहिएको थियो’, पवित्रा सुनाउँछिन्, ‘गीतकै खोजी गर्ने क्रममा निर्देशक नवीन सुब्बाले सुझाउनुभयो, ‘दुई जना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरूसँग एक पटक छलफल गर्नू ।’

    त्यो समय श्रवण र शान्तिराम शहरमा संघर्षरत थिए भने पवित्राले फाट्टफुट्ट गीत गाइसकेकी थिइन् । नवीन सुब्बाको सुझावअनुसार पवित्राले श्रवण र शान्तिरामसँग चिनापर्ची गरिन् । भेटकै क्रममा शान्तिरामले नयाँ गीत सुनाए- ‘तिमी तारे भीर’ ।

    पवित्रा भन्छिन्, ‘मलाई त गीत सुन्नासाथ यति साह्रो मनपर्‍यो कि यो गीत चाहिँ म नै गाउँछु भनेर उहाँहरूलाई भनेँ । पछि गीत रेकर्ड हुँदा थाहा भयो, मन परेको गीत गाउन त एकदमै सजिलो हुँदोरहेछ । मैले सहज तरिकाले गाएँ ।’

    त्यसवेला कुपण्डोलमा सङ स्टुडियो थियो । त्यो समयकै राम्रोमध्ये एक स्टुडियो थियो । उनले त्यही गीत रेकर्ड गराइन् र गीतकार-संगीतकारलाई गीत सुन्न निम्ता दिइन् । दुवै आए, गीत सुने ।

    साढे तीन दशकअघिको त्यो पल सम्झिन्छिन् पवित्रा- ‘उहाँहरू गीत सुनेपछि बोल्नै सक्नुभएन । तारिफ गर्न पनि सक्नुभएन । शान्तिरामजीले ‘एकदमै राम्रो छ’ भन्नुभाथ्यो । श्रवणजी त कम बोल्नुहुन्थ्यो, उहाँले टाउकोमात्रै हल्लाउनुभयो ।’

    ‘शैली’ एल्बममा समावेश यो गीतसँगै अर्को हिट गीत पनि छ पवित्राको, ‘प्रीतिको फूल’ । यी दुई गीतले नै पवित्रालाई त्यसवेला सेलिब्रेटी बनायो । यी दुई गीतले नै पवित्रालाई स्टेज चढायो । यी दुई गीतले नै पवित्रालाई हजारौं स्रोतामाझ पुर्‍यायो ।

    अहिले पनि पवित्रा भन्छिन्, ‘मैले उति धेरै गीत गाइनँ । जति गाएँ, तीमध्ये यी दुई गीत मेरो सांगीतिक करियरकै विशेष गीत रह्यो ।’

  • गुरुङ सुशान्तको ६५ वटा समीक्षा समेटिएको ‘इतर समीक्षा’ सार्वजनिक

    गुरुङ सुशान्तको ६५ वटा समीक्षा समेटिएको ‘इतर समीक्षा’ सार्वजनिक

    काठमाडौं । डेढ दशकदेखि कविता, आख्यान, गैरआख्यान, काव्य, फिल्म र नाटकको समीक्षा लेखिरहेका लेखक तथा समीक्षक गुरुङ सुशान्तको निबन्धात्मक गैरआख्यान किताब ‘इतर समीक्षा’ सार्वजनिक भएको छ । १८ औं गणतन्त्र दिवस पारेर राजधानीको प्रज्ञा प्रतिष्ठानमा किताब लोकार्पण गरिएको हो ।

    कार्यक्रममा वक्ताहरू खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाईं र दोभान राईले किताबमाथि टिप्पणी र समीक्षा गरेका थिए । कवि शकुन्तला जोशीले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार कुमार नगरकोटीले जीवन–जगत्‌का दुःख, खुसी र सपना दर्शाउने दुईवटा कविता वाचन गरेका थिए भने यसपछि उनले समीक्षा–किताब ‘इतर समीक्षा’लाई सदीक्षा र शुभकामना दिए ।

    लेखक संग्रौलाले ‘इतर समीक्षा’ समीक्षाको नयाँ आविष्कार भएको बताउँदै भने, ‘केही समीक्षकले समीक्षा र समालोचनाको बीउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ । लेख्ने कोही नभएका बेला प्रभावकारी र गुणस्तरीय समीक्षा लेख्ने दुस्साहस गर्नु नै यो किताबको महत्त्वपूर्ण र सुन्दर पक्ष हो ।’

    निर्देशक सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत एक दशकको नेपाली चित्र र चरित्र देखाएको बताए । उनले भने, ‘पुस्तकमै फिल्म समीक्षा पनि सुरु गरेकोमा लेखक गुरुङ सुशान्त धन्यवादका पात्र भएका छन् । सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले पक्कै गरेको छ ।

    समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको बताइन् । लेखक तथा विश्लेषक उज्जवल प्रसाईंले भने ‘यो किताब नेपाली साहित्यमा समीक्षा विधाको दस्तावेज भएर रहनेछ । किताबले गुणस्तरीय समीक्षाको अभाव पनि पूर्ति गरेको छ र यो सानो सर्वेक्षणका रुपमा प्रकाशित भएको छ ।’

    लेखक गुरुङ सुशान्तले आफू पुस्तक पढ्ने लोभले समीक्षक बन्न पुगेको सुनाए । ६५ वटा समीक्षा संग्रहित ‘इतर समीक्षा’मा कवि विनोदविक्रम केसीको लामो निबन्धात्मक भूमिका समेटिएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।