Category: कलाप्रेस

  • मिस युनिभर्स नेपालका उत्कृष्ट १८ घोषणा, पहिलो सबटाइटल नीना मण्डललाई

    मिस युनिभर्स नेपालका उत्कृष्ट १८ घोषणा, पहिलो सबटाइटल नीना मण्डललाई

    मिस युनिभर्स नेपाल २०२० का उत्कृष्ट १८ घोषणा भएका छन् । यो प्रतिष्ठित ब्युटी पेजेन्टले पहिलो सबटाइटल मिस ब्रेभ बोल्ड ब्युटीफूलको विजेता समेत सार्वजनिक गरेको छ ।

    जसमा नीनाकान्त मण्डलले यो सबटाइटल जितेकी छन् । मिस एसिया रसिया २०१८ की विजेता समेत रहेकी उनले महामारीको समयमा भएको मानसिक स्वास्थ्यको मुद्दालाई भिडियोमार्फत उठान गरेकी थिइन् ।

    यो सबटाइटल जितेसँगै उनी उत्कृष्ट १० भित्र सीधै प्रवेश गरेकी छन् । ‘म स्वयं मानसिक स्वास्थ्यसँग जुधिरहेकी थिएँ । एक्लै हुँदा कसरी समस्यासँग जुध्नुपर्छ भन्ने अनुभव मलाई थियो’ जितपछि इन्स्टाग्राममा प्रतिक्रिया दिंदै उनले भनिन् ।

    मिस युनिभर्स नेपालले उत्कृष्ट १८ पनि घोषणा गरेको छ । क्वाटरफाइनलमा प्रवेश पाउनेहरुमा परीक्षा विष्ट, रजनी मिश्र, रोजिना श्रेष्ठ, सौरभी खनाल, नीनाकान्त मण्डल, सुदती श्रेष्ठ, रोजी, जित बस्नेत, प्रिया हाडा, अन्सिका शर्मा, प्रिया सिग्देल, ज्योती भट्टराई, रोशनी खत्री, दिक्त थापा, एन्जल लामा, अरीका रानाभाट, परमिता राणा, न्यान्सी खड्का छन् ।

    मिस युनिभर्स नेपालको घोषणा चाहिं डिसेम्बर ३० मा हुनेछ ।

  • नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म

    नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म

    न्यूयोर्क फेसन विकको चर्चित नाम हो वर्षा थापा । सुपरमोडलको रुपमा विश्व चर्चित यी नेपाली डीभाले अब संगीत कम्पोजमा समेत डेब्यु गरेकी छन् । उनले यसैसाता आफ्नो मातृभाषा नेपालीमा चार गीत रिलिज गरेकी छन् ।

    ती चारै गीतको लेखन एवं कम्पोज उनी स्वयंले गरेकी हुन् । यीमध्ये अधुरो बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो इन्टरनेट लन्च भएको छ । गत वर्ष सीता भर्जिन ब्यान्डका सदस्य रब मास्ट्रियानीले वर्षालाई गिटार सिकाएका थिए ।

    एल्बमको नाम ‘माया’ राखिएको छ । गत अप्रिलमा रिलिज भएको एल्बममा अधुरो बोलको गीत संग्रहित छ । ‘यो एल्बम मेरो सिकाइको सुरुआत हो’ उनले भनिन्, ‘समय सबथोक हो । बितेको वर्षदेखि मैले यो कुरा महसूस गरिरहेकी छु ।’

    ‘नेपालीमै गीत लेख्नुको अर्थ चाहिं भावना व्यक्त गर्न असमर्थ नेपाली महिलाहरुलाई उत्प्रेरणा दियोस् भन्ने उद्देश्यले हो’ भन्छिन्, ‘अर्को वर्ष यिनै गीतलाई अंग्रेजी भाषामा रुपान्तरण गर्नेछु जसले गर्दा अन्तर्राष्ट्रिय दर्शक र श्रोता बढ्नेछन् ।’ गीतमा वर्षा स्वयमको सुरिलो आवाज सुन्न सकिन्छ । ‘अधुरो’ बोलको उक्त गीत चाहिं उनले आफ्ना दिवंगत पिताको सम्झनामा लेखेकी हुन्। वर्षा आठ वर्षकी छँदा उनका पिताको देहान्त भएको थियो ।

    विश्व फेसनका चर्चित नाम बोर्टेगा भेनेटा, प्रबल गुरुङ, राल्फ लाउरेन, मुग्लेर, अलेक्जेन्डर वाङ, हर्मिज र हालै ब्रान्डेल म्याक्सवेलको डिजाइनमा वर्षाले रनवे नापिसकेकी छन् । प्रायः उनी हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा देखिने गर्छिन् ।

  • नेपाल–अमेरिका फिल्म फेस्टिभलले माग्यो फिल्म, विश्वभरबाट आवेदन दिन सकिने

    नेपाल–अमेरिका फिल्म फेस्टिभलले माग्यो फिल्म, विश्वभरबाट आवेदन दिन सकिने

    नेपाल–अमेरिका फिल्म फेस्टिभलको चौथो संस्करण आगामी असार ४ देखि ६ सम्म वासिङ्टनमा हुने भएको छ । फेस्टिभलका लागि आयोजकले विश्वभरबाट आवेदन खुलाएको छ ।

    फेस्टिभलमा नेपाली फिचर, वृत्तचित्र, छोटा फिल्म, एनिमेसनलगायत विधाका फिल्म देखाइने भएको छ । नेपालबाहेक अमेरिका र दक्षिण एसियाली मुलुकका इन्डिपेन्डेन्ट फिल्मलाई उच्च महत्व दिने आयोजकले जनाएको छ ।

    वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय फिल्म निर्मातालाई प्रोत्साहन गर्न डीएमभी क्लोजअप समेत प्रदर्शन हुने भएको छ । ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडाको सहकार्यमा फिल्महरु समेत प्रदर्शन हुने भएका छन् ।

    आवेदन परेकामध्येबाट उत्कृष्ट हुने फिल्मलाई पुरस्कृत गरिने भएको छ । फेस्टिभल अवधlमा फिल्म संस्कृति र सूचनाप्रविधिबारे प्यानल छलफल समेत हुने भएको छ । फिल्म प्रदर्शनपछि निर्माता, कलाकार एवं निर्देशकसँग छलफल चलाइने भएको छ ।

    अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाभाइरस महामारीले गत वर्षको संस्करण स्थगित भएको थियो ।

  • फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म

    फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म

    कोरोना महामारीकै बीच शुक्रबारदेखि नेपाली फिल्म हल खुल्दैछन् । ओभर द टप (ओटीटी) प्लेटफर्ममा पनि फिल्म रिलिज हुनेछन् । शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् ।

    नेपाल प्रेसलाई वितरकले उपलब्ध गराएको विवरणअनुसार हलमा चल्दाचल्दैका फिल्म पुनः रिलिज हुनेछन् । ओटीटीमा शुक्रबारदेखि नयाँ फिल्म लाग्नेछ । नौ महिनापछि हल खुलाउन अहिले धमाधम हलको सरसफाइ र उपकरण मर्मतको काम भैरहेको छ ।

    एप्पल इन्टरटेनमेन्टले डिज्नेको ‘मुलान’ र भिन डिजेलको ‘ब्लडसट’लाई पुनः रिलिज गर्ने निश्चित भएको छ । कम्पनीका रुबेन श्रेष्ठका अनुसार दुबै फिल्मको कन्टेन्ट तयारी अवस्थामा छ । गत चैत ११ गते लकडाउन लगत्तै यी दुईको प्रदर्शन रोकिएको थियो । ‘मुलान’को भने पहिलो रिलिज हो ।

    चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ फिल्मको पनि प्रदर्शन सुचारु हुने भएको छ । ‘नेपालीतर्फ यी दुईवटा फिल्मसहित अन्य हिट फिल्म पनि पुनः प्रदर्शन गर्ने तयारी छ’ चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले भने, ‘सबै हललाई शुक्रबारदेखि खोल्न र यी फिल्मलाई देखाउन सर्कुलर गरेका छौं ।’

    वितरण कम्पनी गोपिकृष्ण मूभिजले शुक्रबारदेखि ज्याकी च्यान स्टारर फिल्म ‘भ्यानगर्ड’लाई नेटटिभी र डीसहोमसहितका नेपाली ओटीटी प्लेटफर्ममा रिलिज गर्दैछ । कम्पनी प्रमुख नीरज पौडेलका अनुसार जनवरी ७ मा सलमान खानको फिल्म ‘कागज’ र १४ मा फिल्म ‘पावर’ ओटीटीमा रिलिज हुनेछन् ।

    ‘तत्काल हलमा फिल्म रिलिज गर्ने तयारी हाम्रो छैन’ पौडेलले भने, ‘अवस्था हेरेर हल रिलिजबारे निर्णय गर्छौ ।’ उनका अनुसार वरुण धवन स्टारर बलिउड फिल्म ‘कुली नम्बर वान’ नेपालमा ओटीटी र हल दुबै प्लेटफर्ममा रिलिज हुनेछैन ।

    चलचित्र संघले शुक्रबारदेखि संचालनमा ल्याउन लागेका हलमा कोभिड मापदण्डको कडाइका साथ लागु गर्ने भएको छ । अध्यक्ष प्रधानका अनुसार सबै हलमा एकजना स्वास्थ्यकर्मीलाई राखिनेछ । ‘संक्रमणको बीचमै फिल्म माहौल निर्माण हुनेछ’ उनले भने ।

  • किम्फमा उत्कृष्ट सात फिल्म इन्टरनेट रिलिज, विहीबारसम्म दर्शकले निःशुल्क हेर्न पाइने

    किम्फमा उत्कृष्ट सात फिल्म इन्टरनेट रिलिज, विहीबारसम्म दर्शकले निःशुल्क हेर्न पाइने

    काठमाडौंं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)का विजयी फिल्मलाई इन्टरनेटमा रिलिज गरिएको छ । फेस्टिभलको अफिसियल वेबसाइटमा विहीबारसम्म दर्शकले निःशुल्क फिल्म हेर्न सक्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी भएको इरान र फिलिपिन्सको फिल्म ‘द सिलहुट्स’ लाई हेर्न सकिनेछ । इरानी निर्देशक अफसानेह सालारीको यो फिल्म ८० मिनेट लामो छ । अफगानिस्तानको राजनीतिक अस्थिरताले घरेलु शरणार्थीको कठिन जीवनलाई यसले चित्रण गरेको छ ।

    फिनल्यान्ड र नर्वेको संयुक्त लगानीको फिल्म ‘द बिलभ्ड डटर’ किम्फमा दोस्रो भएको थियो । ७१ मिनेट लामो यो फिल्मले नेपालको बालविवाह सम्बन्धी मुद्दालाई मुख्य पात्रमार्फत पेश गरेको छ । टीन म्याडिसन निर्देशित यो फिल्म भोजपुरी भाषामा छ ।

    किम्फमा अमेरिकी फिल्म बाटो तेस्रो भएको थियो । लुकास मिलर्ड र केटी स्ट्राइकर निर्देशित फिल्मले पूर्वी नेपालको सडक अवस्था र त्यहाँको जनजीवन चित्रण गर्छ । अमेरिकाकै ‘युनाइटेड स्टेट्स अफ जोएज’ले जुरी स्पेसल मेन्सन अवार्ड जितेको थियो ।

    नेपाली पानोरमातर्फ टेक्सी शेर्पाको फिक्सन फिल्म ‘सङ्स अफ क्लाउड्स’ उत्कृष्ट भएको थियो । यही खण्डतर्फ उत्कृष्ट डकुमेन्ट्री अवार्ड चाहिं सोनम छेकी लामाको ‘द स्नो लियोपार्ड कलिङ’ले जित्यो । जुरी स्पेसल मेन्सन सिकुमा राई निर्देशित ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जितेको थियो । फेस्टिभल निर्देशक रम्यता लिम्बूले विहीबारसम्म किम्फको वेबसाइटमा विजयी फिल्मलाई दर्शकले निःशुल्क हेर्न सक्ने बताइन् ।

  • नेपाल आइडल बुद्ध लामा र अनमोल केसीबीच टीमअप

    नेपाल आइडल बुद्ध लामा र अनमोल केसीबीच टीमअप

    अभिनेता अनमोल केसी र नेपाल आइडल बुद्ध लामाले नयाँ फिल्मका लागि टीमअप गरेका छन् । सुपर काजल फिल्मसले निर्माण गर्ने नयाँ प्रोजेक्टमा मुख्य भूमिका अनमोलको हुनेछ । बुद्धले यही फिल्मबाट पाश्र्वगायनमा डेब्यु गर्नेछन् ।

    शनिबार सम्पन्न ‘डान्सिङ विथ द स्टार्स नेपाल’ नामक रियालिटी सोमा बुद्ध र उनकी जोडी केबिका खत्रीले फस्ट रनरअप उपाधी हासिल गरेका थिए । उक्त सोको फिनालीमा पुगेका अभिनेता एवं निर्माता भुवन केसीले बुद्ध र केबिकालाई अपकमिङ प्रोजेक्टमा अनुबन्धित गरिएको जानकारी गराए ।

    भुवनका अनुसार बुद्धले एउटा गीत गाउनेछन् भने केबिकाले उक्त गीतलाई कोरियोग्राफ गर्नेछिन् । नेपाल आइडल भएपछि सुस्ताएका बुद्ध यो डान्स रियालिटी सोबाट चर्चामा आएका थिए । सुपर काजल फिल्मसले ‘पारस : द अनलक्की म्यान’ वा ‘एन्टीहिरो’मध्ये कुनै एउटा फिल्मको छायांकन चाँडै सुरु गर्दैछ ।

    भुवनले आफ्नो फिल्ममा यो डान्सिङ जोडीलाई लिने घोषणा गरेपछि बुद्ध र केबिका खुशि देखिए । नयाँ प्रतिभालाई अवसर दिन निर्माण कम्पनीले यस्तो निर्णय गरेको उनले बताए । यी दुबै फिल्ममा अनमोलको मुख्य भूमिका हुने जनाइएको छ ।

  • संसद विघटन प्रकरणमा करिश्माको सुझाव : नेताहरु सत्ता मोह त्याग्नूस !

    संसद विघटन प्रकरणमा करिश्माको सुझाव : नेताहरु सत्ता मोह त्याग्नूस !

    समकालिन अभिनयको क्षेत्रमा करिश्मा मानन्धर ‘पल्टिकल कन्सस’ भएकी अभिनेत्री हुन् । सौन्दर्यसँगै राजनीतिमा उनको लगावको चर्चा फिल्म वृत्तमा हुने गर्छ । बाबुराम भट्टराईको पूर्वदल नयाँ शक्ति पार्टीको नेतृको रुपमा उनले काम गरिन् र पछाडि दल त्यागको निर्णय गरिन् ।

    संसद विघटन प्रकरणप्रति पनि करिश्माको आवाज मुखररुपले व्यक्त भएको छ । उनले पूर्वप्रतिबद्धताको पालना गर्न नेताहरुलाई आग्रह गरेकी छन् । जनताको भावनाको कदर गर्न समेत करिश्माको सुझाव छ ।

    उनी लेख्छिन् : कठै बरा नेपाली जनता आफूलाई सबैखाले ज्ञान हुँदाहुँदै पनि सत्तामोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न बाध्य छौं । यहाँ कहाँ छ देशप्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनीहरु आफैले गरेको प्रतिबद्धता ? जय होस् ।

    करिश्मा मात्र हैन अभिनेता दीपकराज गिरी, राजेश हमाल, कृष्ण मल्ल, हरिवंश आचार्य, निर्मल शर्मा लगायतले पनि संसद विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

  • राजेश हमालको असन्तुष्टि : अस्थिर राजनीतिले तन्नेरी पुस्तालाई ‘कन्फ्युज’ बनायो

    राजेश हमालको असन्तुष्टि : अस्थिर राजनीतिले तन्नेरी पुस्तालाई ‘कन्फ्युज’ बनायो

    अभिनेता राजेश हमालले अस्थिर राजनीति र सूचना प्रविधिको कारण वर्तमान पुस्ता ‘कन्फ्युज’ भएको टिप्पणी गरेका छन् । ‘हामीले बाँचिरहेको समय चुनौति र अन्यौलले भरिएको छ’ नेपालप्रेससँग उनले भने, ‘यसका लागि धैर्य गर्न सिक्नुपर्छ ।’

    ‘महानायक’ हमाल प्रायः तन्नेरी पुस्तालाई जीवनको भोगाइ र भविष्यका टिप्स दिन रुचाउँछन् । ‘अवश्य पनि हामीले बाँचिरहेको समयले हामीलाई कन्फ्युज बनाएको छ’ भन्छन्, ‘यसमा अस्थिर राजनीति र सूचना प्रविधि मुख्य जिम्मेवार छ ।’

    ‘अहिलेको पुस्तामा पाँच सेकेन्ड पनि धैर्य गर्ने क्षमता छैन । हतार गर्ने बानीले झनै अन्यौल बनाएको छ’ हमाल भन्छन्, ‘पाँच मिनेटभित्र रिप्लाइ आएन भने हामी दुःखी हुन्छौं । तर, पहिलेको पुस्तामा एक घन्टामा रिप्लाइ आयो भनेपनि खुशि हुने बेला थियो । अहिलेको जेनेरेसनको मुख्य समस्या अधैर्य हुनु हो ।’

    अबको बीस वर्षमा सूचना प्रविधि र आर्टिफिसियल इन्टिलेजेन्सले झनै चुनौति थप्ने भन्दै हमालले युवाहरुलाई बदलिँदो परिस्थितीअनुसार अपग्रेड हुन आग्रह गरे । ‘सिकाइ भनेको कहिल्यै सकिँदैन । अबको दसबीस वर्षमा सूचना प्रविधिले गर्दा अहिलेको सीपलाई नष्ट गर्न सक्छ । बरु सिक्दै र सिकाउँदै अगाडि बढ्नुपर्छ ।’

    आर्टिफिसियल इन्टिलेजेन्सले युज र युजलेसजस्ता दुई वर्ग खडा गर्ने भन्दै हमालले प्रविधिको अपग्रेडसँग आफूलाई विकास गर्न आग्रह गरे । ‘राजनीति पनि यही हो । युवा पुस्ताको भावनालाई बुझेर नेताहरुले राजनीति गर्नुपर्छ’ हमालको कथन छ, ‘अस्थिर राजनीतिले हामीले बाँचिरहेको समयलाई चुनौतिपूर्ण बनाएको छ । यसको अन्त्य हुनैपर्छ ।’

    गतमहिनासम्म नेपाली टेलिभिजनमा जातको प्रश्न नामक टकसो होस्ट गरेका हमालले अर्को एक नयाँ होस्टका लागि तयारी गरिरहेको बुझिएको छ ।

  • डिलेट गरिएको ‘डक्टर स्ट्रेन्ज’ दृश्यमा काठमाडौं कथा, पशुपति खोज्दै बेनेडिक्ट कम्बरब्याच

    डिलेट गरिएको ‘डक्टर स्ट्रेन्ज’ दृश्यमा काठमाडौं कथा, पशुपति खोज्दै बेनेडिक्ट कम्बरब्याच

    मार्भल सिनेम्याटिक युनिभर्सको भविष्यका लागि ‘डक्टर स्ट्रेन्ज’ पात्रको भूमिका महत्वपूर्ण हुनेगर्छ । केही वर्षअघि यो सुपरहिरो फिल्मको छायांकन काठमाडौंमा गरिएको थियो । नेपालमै छायांकन भएकाले पनि घरेलु दर्शकका लागि यो प्रतिक्षाको विषय थियो ।

    फिल्मको दोस्रो श्रृंखला छायांकन तयारीमा छ । जसको टाइटल राखिएको छ– डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस । यही पात्र स्पाइडरम्यानको आगामी श्रृंखला ‘स्पाइडरम्यान ३’ मा पनि देखिदैंछ । निर्माताले यही छेकोमा नेपालमा छायांकन गरिएको फिल्म डक्टर स्ट्रेन्जको डिलेट गरिएका केही दृश्य सार्वजनिक गरेका छन् ।

    तर, यो दृश्यप्रति फ्यानको खुशि देखिएन । उनीहरुले फिल्मको कथासँग यी दृश्यको कुनै अर्थ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । डिलेट गरिएको दृश्यमा मुख्य पात्र डा. स्टेफन स्ट्रेन्ज काठमाडौं आइपुगेपछि एउटा सडक कुकुरलाई सुम्सुमाएको देख्न सकिन्छ ।

    यात्राको क्रममा उक्त पात्र थकित पनि देखिन्छ । डिलेट गरिएको दृश्यमा मुख्य पात्रलाई पशुपति नाथ मन्दिर कहाँ परेको भन्दै सर्वसाधारणलाई सोध्दै हिँडेको देख्न सकिन्छ । घाइते कुकुरलाई स्याहार गरेको देख्न सकिन्छ अर्को दृश्यमा । केही दर्शकले चाहिँ सुरुमा स्वार्थी देखिएको मुख्य पात्रले कुकुरलाई देखाएको सहानुभूतिको खास अर्थ नरहेको बताएका छन् ।

  • संसद विघटन प्रस्तावप्रति दीपकराजको व्यंग्य : दुई तिहाइ दुई तुहाइ भो !

    संसद विघटन प्रस्तावप्रति दीपकराजको व्यंग्य : दुई तिहाइ दुई तुहाइ भो !

    संसद विघटन प्रस्ताव गर्ने सरकारी कदमको विपक्षमा सेलेव्रिटी पनि उत्रिएका छन् । उनीहरुले मन्त्रीपरिषद् निर्णयलाई निराशजनक भन्दै जनताको भावना विपरितको निर्णय भनेका छन् ।

    राजनीति पुनः अस्थिर भए यसको प्रत्यक्ष असर फिल्म उद्योगमा पनि पर्ने उनीहरुको चिन्ता छ । अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन् : पाँचवर्षे सरकार नदेखि मरिएला जस्तो छ । दुई तिहाइ पनि दुइ तुहाइ भो ।

    फिल्म लेखक प्रदीप भारद्धाज लेख्छन् : अलोकप्रिय केपी ओलीले प्रधानमन्त्री हुन मन हुने लोकप्रियहरुलाई चुनाब जितेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् ।

    बरिष्ठ अभिनेता कृष्ण मल्ल लेख्छन् : लाग्थ्यो यस्तो हुन्छ भन्ने । किचलो गर्नुभन्दा पार लाउनु ठीक । हल व्यवसायी प्रदीप उदयले चाहिँ संसद विघटनको प्रस्ताव गर्दा पनि मन्त्रीहरुको राजिनामा नआउनु आश्चर्य भएको भन्दै लेखेका छन् । मनोरञ्जन क्षेत्रका अन्य व्यक्तिहरुले पनि संसद विघटनप्रति विरोध व्यक्त गरेका छन् ।

  • नवौं नेपाल साहित्य महोत्सव भर्चुअलरुपमा पोखरामा हुने

    नवौं नेपाल साहित्य महोत्सव भर्चुअलरुपमा पोखरामा हुने

    पोखरा – नेपाल साहित्य महोत्सवको नवौं संस्करण भर्चुअलरुपमा हुने भएको छ । आगामी पुस १४ र १५ गते पोखरामा फेस्टिभल हुने बुकवर्म फाउन्डेसनले प्रेसमिट गरि जानकारी दिएको छ ।

    महोत्सवको यो संस्करणमा १६ सत्र र ४० जनाभन्दा बढी वक्ता रहेका छन् । साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ठ व्यक्ति वक्ताको रुपमा छन् । फेस्टिभलका सबै सत्र सामाजिक संजालबाट लाइभ प्रसारण गरिने भएको छ ।

    निर्देशक अजित बरालले भर्चुअल रुपमै भएपनि फेस्टिभललाई निरन्तरता दिन लागिएको बताए । कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड प्रोटोकल पालना गर्दै फेस्टिभल गर्न लागिएको जनाए ।

    सहआयोजक संस्था र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलको माध्यमबाट पोखराको पर्यटनलाई प्रवद्र्धन गर्नु उद्देश्य रहेको बताए । ‘माछापुच्छ्रे र फेवातालपछि पोखरा साहित्यले पनि चिनिन थालेको छ’ उनले भने ।

    पुस १३ गते महोत्सवको पूर्वसन्ध्यामा शुभारम्भ साँझको आयोजना गरिने भएको छ जहाँ प्रदीप रोदनसँग अमृत सुवेदीको महफिल हुने भएको छ । लिटरेचर फेस्टिभल गतवर्ष पनि पोखरामा भएको थियो ।

  • साहित्य सन्ध्यामा प्रविधिमैत्री कविता

    साहित्य सन्ध्यामा प्रविधिमैत्री कविता

    काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४११औँ शृङ्खला आज प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सम्पन्न भएको छ ।

    भर्चुअल रुपमा आयोजित कार्यक्रममा मुलुकभरका स्रष्टाहरूका सिर्जना वाचन गर्ने उद्देश्यले इलामदेखि नेपालगन्जसम्मका कविहरूको सहभागिता गराइएको थियो ।

    कार्यक्रममा नेपालगञ्जबाट उर्मिला पन्त पाण्डेय र पुष्पमणि प्रधान, इलामबाट बालकृष्ण लामिछाने, झापाबाट पुण्यप्रसाद खरेल, काठमाडौँबाट राम विनय, प्रमोद स्नेही, डा राजेन्द्रप्रसाद अधिकारी, सम्पत काफ्ले, गणेश घिमिरे ‘मार्मिक’, ललिता दोषी, सीताराम नेपाल, डा बालचन्द्र मिश्र, डा सावित्री श्रेष्ठ, गोपाल मैनाली, विधान आचार्य, वैरागी जेठालगायतले आआफ्ना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गरेकाे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

  • रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

    रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

    काठमाडौं । नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिवार वितरण गरिएको छ ।

    रमेश विकल साहित्य प्रतिष्ठानले शनिवार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कार वितरण गरेको हो ।

    प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ ।

    यसैगरी २० हजार रुपैया राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई दिइएको छ ।

    साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरियो ।

    रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।

    वागमती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे लगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

    प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्धय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के. के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेल लगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधि बारे चर्चा गरेका थिए ।

  • सुटिङ सेटमै को-स्टारसँग टम क्रुजको डेटिङ

    सुटिङ सेटमै को-स्टारसँग टम क्रुजको डेटिङ

    ‘मिसन इम्पोसिबल’ अभिनेता अहिले दुई कारणले चर्चामा छन् । पहिलो –सुटिङ सेटमा कोभिड प्रोटोकल उल्लंघन गर्ने क्रु मेम्बर्सलाई गाली गरेर । दोस्रो –सोही फिल्मकी को–स्टार हेली एटवेलसँगको डेटिङले ।

    यी दुई कारणले अन्तराष्ट्रिय संचारमाध्यमले क्रुजलाई चर्चामा ल्याएका छन् । फिल्म सेटमै ५८ वर्षिय अभिनेताले ३८ वर्षकी अभिनेत्रीलाई डेटिङ गरिरहेका छन् । अहिले मिसन इम्पोसिबलको सातौं सिक्वेल छायांकन लकडाउनका बाबजुद बेलायतमा भैरहेको छ ।

    सन् २०१२ मा पूर्वपत्नी केटी होमेजसँग डिभोर्सपछि अभिनेता क्रुज एक्लै थिए । एट्वेल पनि बेलायती मोडेल इभान जोन्ससँगको ब्रेकअपपछि सिंगल छिन् । छायांकनले गर्दा यी दुईजनालाई निकट तुल्याएको क्रु मेम्बर नै बताउँछन् । लकडाउन लगायतको कारणले पनि यी दुईलाई झनै नजिक तुल्याएको बताइन्छ ।

  • ‘क्याराभान-२’ २०२१ देखि छायांकन हुने

    ‘क्याराभान-२’ २०२१ देखि छायांकन हुने

    अस्कर मनोनित फिल्म क्याराभानको दोस्रो सिक्वेल नयाँवर्ष २०२१ देखि छायांकनमा जाने भएको छ । कोभिड–१९ को कारण छायांकनमा ढिलाइ भएकाले प्रोजेक्ट अवरुद्ध छ ।

    फिल्मको नेपाल व्यवस्थापन हेरिरहेको फिल्म क्रिउ नेपालका अनुसार कोभिडको संक्रमण सामान्य भएपछि मात्र छायांकन सुचारु हुनेछ । नेपाल सरकारले भने छायांकनलाई फुकुवा गरिसकेको छ ।

    लकडाउन अघि नै लोकेसन स्काउटिङ सकिएको छ । जुम्ला, डोल्पा र काठमाडौंमा दुई चरणमा गरेर फिल्म छायांकन हुनेछ । काठमाडौंको ठमेलमा फिल्मांकन हुनेछ । फिल्मका पटकथा लेखक लकडाउनअघि नै तीनपटक नेपाल घुमेर फर्किसकेका छन् ।

    निर्देशक एरिक भ्याली पनि अहिले कोभिड महामारीले गर्दा पेरिसमै अड्किएका छन् । उनले गतवर्ष काठमाडौंमा केही कलाकारको अडिसन लिएका थिए । दुईजना पुरुष पात्र तय भएपनि महिला पात्रको अडिसन अझै बाँकी छ । थिन्ले ल्हामो र मेनुका प्रधानसँग निर्देशकले भेटेका थिए ।

    फिल्मलाई सेकेन्ड युनिटका सिनेम्याटोग्राफर विष्णु कल्पितले पनि खिच्दैछन् । फस्ट युनिटको छायांकार भने अस्करकै टीमबाट लिने तयारी छ । फिल्मको प्रिक्वेलले ७२ औं अस्कर अवार्डमा विदेशी भाषी फिल्मतर्फ छानिएको थियो ।

  • ठमेलका डान्सबार मंगलबारदेखि खुल्ने, पोखरामा खुलिसके

    ठमेलका डान्सबार मंगलबारदेखि खुल्ने, पोखरामा खुलिसके

    काठमाडौं । ठमेलको रात्रीकालिन व्यवसाय शनिबारदेखि संचालनमा आउने भएका छन् । सरकारले अनुमति दिएपछि खुल्न लागेको ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।

    त्यहाँस्थित पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल संचालनमा आउने भएका छन् । ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालनको अनुमति दिएको छ ।

    व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डका साथै प्रत्येक चार चार घण्टामा डिसइन्फेक्ट गर्नुपर्ने, प्रत्येक टेबलु र स्टेजको दूरी दुई मिटरको हुनुपर्ने छ । व्यवसायीले भने रातको १२ बजेसम्म मात्र नभएर पहिलेजस्तै रातभर खोल्नुपर्ने माग राखेका छन् ।

    यसैबीच, पोखराका डान्सबार, दोहोरी र डिस्कोथेकहरु खुलेका छन् । स्थानीय प्रशासनले राती १० बजेसम्म खुलाउन अनुमति दिएको छ । पुस महिना सुरु भएपछि क्रिसमस र अंग्रेजी वर्ष सुरु हुन्छ । नौ महिनादेखि बन्द व्यवसायलाई राहत पुग्ने जनाइएको छ ।

  • मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्रिसमसदेखि खुल्ने, अर्को शुक्रबार ‘मुलान’ रिलिज हुँदै

    मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्रिसमसदेखि खुल्ने, अर्को शुक्रबार ‘मुलान’ रिलिज हुँदै

    मुलुककै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज् क्रिसमसदेखि खुल्ने भएको छ । अफिसियल फेसबुक पृष्ठमार्फत जानकारी दिँदै उसले पुस १० गतेदेखि हल पुनःखोल्ने उल्लेख गरेको हो ।

    नौ महिनापछि हल खोल्न थालेको जानकारी क्यूएफएक्सले दिएको हो । प्रमुख नकिम उद्दिनका अनुसार हलिउड फिल्म ‘मुलान’ ओपनिङसँगै रिलिज हुनेछ । ‘मुलान रिलिजको तयारीमा छ’ प्रमुख नकिम उद्दिनले भने, ‘अरु फिल्म छलफल हुँदैछ ।’

    ‘मुलान’ लकडाउनपछि रिलिज हुने पहिलो फिल्म हुनेछ । गत चैत ११ गते सरकारले बन्दाबन्दी घोषणा गरे लगत्तै उक्त डिज्ने फिल्मको प्रदर्शन अन्तिम समयमा रोकिएको थियो । चलचित्र संघले भने, घरेलु फिल्म रिलिजको टुंगो अझै लगाएको छैन ।

    रोकिएको फिल्म निर्माणको गतिविधि पनि सुचारु भएको छ । अध्यक्ष उद्दिन लकडाउनपछि रोकिएको हल निर्माण सुरु गर्न शुक्रबार वीरगञ्जतर्फ प्रस्थान गरेका छन् । क्यूएफएक्सले सुरुमा सिभिल, लाबिम, छायाँ मलमा रहेका हल चलाउने तयारी थालेको छ ।

  • बिकनीदेखि एप्रोनसम्म : अक्सफोर्डसँग मिलेर भ्याक्सिन आविष्कारमा विश्व सुन्दरी !

    बिकनीदेखि एप्रोनसम्म : अक्सफोर्डसँग मिलेर भ्याक्सिन आविष्कारमा विश्व सुन्दरी !

    कुनैबेला बिकनी लगाएर मिस इङ्ल्यान्डको क्राउन जितेकी क्यारिना टिरेलको भूमिका यसपटक बदलिएको छ । उनी यसपटक सेतो एप्रोन लगाएर कोरोना भाइरसविरुद्धको खोप आविष्कार जुटेकी छन् ।

    चिकित्सक एवं प्राध्यापक समेत रहेकी ३१ वर्षिया टिरेल अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भ्याक्सिन बनाउन व्यस्त छिन् । यस्तो उदाहरणीय कामबापत उनलाई विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाले पनि बधाइ दिएको छ ।

    सन् २०१४ मा मिस इङ्ल्यान्डको ताज जितेकी टिरेललाई बेलायतमा सर्वाधिक युवा मस्तिष्कको रुपमा पनि डेली मेल लगायतका संचारमाध्यमले प्रशंसा गरेका छन् । १२ महिनादेखि उनी अक्सफोर्डको टीममा सामेल भएर वैज्ञानिकको रोल निर्वाह गरिरहेकी छन् ।

    क्याम्ब्रिज विश्वविद्यालयबाट मेडिकल डिग्री हासिल गरेकी टिरेलले सय वर्षयताकै ठूलो स्वास्थ्य संकटविरुद्ध काम गर्न पाउँदा खुशि लागेको बताएकी छन् । बेलायती दम्पत्तिबाट स्वीटजरल्यान्डमा जन्मिएकी टिरेलले सुन्दरीले पनि समाजको लागि काम गर्न सक्ने बताइन् ।

    तर, उनको वाल्यकालिन सपना भने मलेरियाजस्ता रोगविरुद्ध काम गर्नु थियो । १५ वर्षकै उमेरदेखि मोडलिङमा लागेकी उनी इङ्ल्यान्डमै चर्चित मोडेल पनि हुन् ।

  • सरकारले ल्यायो फिल्मलाई राहत प्याकेज : नयाँ रिलिज हुने फिल्मले ५/५ लाख पाउने

    सरकारले ल्यायो फिल्मलाई राहत प्याकेज : नयाँ रिलिज हुने फिल्मले ५/५ लाख पाउने

    चलचित्र विकास बोर्डले आउँदो ६ महिनाभित्र प्रदर्शन हुने फिल्मलाई ५/५ लाख रुपैयाँको दरले राहत रकम प्रदान गर्ने भएको छ । कोभिड–१९ प्रभावित फिल्म क्षेत्रलाई ब्युँताउन र निर्मातालाई आकर्षित गर्न यस्तो प्याकेजको घोषणा गरिएको जनाइएको छ ।

    राहत प्राप्त गर्नको लागि फिल्मले आगामी ६ महिनाभित्र प्रदर्शन मिति स्पष्ट तोकेको हुनुपर्छ । यसका लागि निर्माता संघको सिफारिस अनिवार्य गरिएको छ । राहत प्याकेजको विस्तृत विवरण चाँडै सार्वजनिक हुनेछ र चलचित्र घरलाई पनि सम्बोधन हुने चर्चा छ ।

    नयाँ रिलिज हुने फिल्मले मात्र राहत रकम प्राप्त गर्नेछन् । ‘फिल्मको प्राविधिक काम गर्नको लागि यो रकम महत्वपूर्ण हुनेछ’ निर्माता संघका महासचिव रोज राणाले भने, ‘यसले फिल्म रिलिज गर्न र माहौल तयार पार्ने काममा सहयोग पुग्नेछ ।’

    यसैबीच, बोर्डले चलचित्र प्रोजेक्ट बिमा संचालन कार्यविधि २०७७ संचालनमा ल्याएको छ । यसअन्तर्गत सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि निर्माण इजाजत लिने फिल्मको हकमा यो कार्यविधि लागु हुनेछ । यसरी सुटिङमा जाने फिल्मलाई डेढलाख सम्मको बिमा सुविधा उपलब्ध हुने उल्लेख छ ।

    सरकारले फिल्म छायांकनलाई फुकुवा गरेपनि हल संचालनमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । व्यवसायीले पुस १० गतेदेखि एकपक्षीयरुपमा फिल्म हल खुलाउने घोषणा गरिसकेका छन् ।

  • यसवर्ष अस्करमा छैन नेपालको प्रतिनिधित्व, ९० विदेशी भाषी फिल्मबीच प्रतिस्पर्धा हुँदै

    यसवर्ष अस्करमा छैन नेपालको प्रतिनिधित्व, ९० विदेशी भाषी फिल्मबीच प्रतिस्पर्धा हुँदै

    यसवर्ष अस्कर फिल्म अवार्डमा नेपालको सहभागिता नहुने भएको छ । योग्य फिल्म नभएपछि प्रतिनिधित्व नभएको काठमाडौंस्थित अस्कर कमिटिले जनाएको छ ।

    आमा र सरिता दुई फिल्म छनौटको प्रतिस्पर्धामा थिए तर, कमिटिले यी दुबैलाई सिफारिस गरेन । ‘योग्य फिल्म नभएपछि सिफारिस नगरिएको हो’ कमिटि सदस्य सामिप्य तिमल्सिनाले भने, ‘अस्करकै गुनासोपछि योग्य फिल्मलाई मात्र पठाउने निधो भएको हो ।’

    यसवर्षको ९३ औं संस्करणमा अन्तराष्ट्रिय फिचर विधातर्फ ९० फिल्मको सहभागिता रहेको एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले जनाएको छ । आगामी फेब्रुअरी २१ मा यस विधाको मनोनयन सार्वजनिक हुनेछ ।

    अन्तराष्ट्रिय विधामा यस संस्करणमा क्यानडा, चिली, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इरान, इजरायल, जापान, पोल्यान्ड, रोमानिया, रसिया, स्लोभाकिया, दक्षिण कोरिया, स्पेन र स्वीडेनबाट सिफारिस बलिया देखिएको गोल्ड डर्बीले प्रक्षेपण गरेको छ ।

    नेपालले पहिलोपटक फिल्म सिफारिस नगरेको हो । अहिलेसम्म एरिक भ्याली निर्देशित फिल्म ‘हिमालय’ मात्र अस्करको अन्तराष्ट्रिय विधामा उत्कृष्ट पाँचमा छानिन सकेको छ ।

  • ३५६ करोडसहित अक्षय कुमार बलिउडमा सर्वाधिक कमाउने फोर्ब्स सूचीमा

    ३५६ करोडसहित अक्षय कुमार बलिउडमा सर्वाधिक कमाउने फोर्ब्स सूचीमा

    सर्वाधिक कमाउने सेलेव्रिटीको फोर्ब्स सूचीमा अक्षय कुमार परेका छन् । ३५६ करोड भारुसहित उनी यो सूचीमा समावेश हुने एकमात्र बलिउड अभिनेता हुन् । फोर्ब्सले वर्षेनि संसारको मनोरञ्जन उद्योगमा सर्वाधिक कमाउनेको सूची तयार पार्छ ।

    कोरोना महामारीले विश्व फिल्म र संगीत उद्योग नै ठप्प भएको बेला अक्षय कुमारको आम्दानी भने बढिरह्यो । ४८.५ मिलियन डलरसहित अक्षय सूचीको ५२औं नम्बरमा छन् ।

    आगामी दुई फिल्म ‘बच्चन पाण्डे’ र ‘बेल बटम’मा अक्षय कुमारमाथि निर्माताले १३ मिलियन डलर लगानी गरेको फोर्ब्सले जनाएको छ । उनी अहिले ‘पृथ्वीराज’ छायांकनमा व्यस्त छन् । ‘बेल बटम’ सुटिङ सकिएको छ । अतरङ्गी रे, सूर्यवंशी, रामसेतु, रक्षा बन्धन लगायतका प्रोजेक्ट रिलिज पाइप लाइनमा छन् ।

  • लोकेसन खोज्दै हिरोइन, ‘भाँडाकुटी’ लिड लेडीमा बेनिशा

    लोकेसन खोज्दै हिरोइन, ‘भाँडाकुटी’ लिड लेडीमा बेनिशा

    अस्कर कलेजका फिल्म विद्यार्थीद्धय किरण विक र गोपाल आचार्य फिल्म निर्माणको चटारोमा छन् । लकडाउन खुलेलगत्तै पहिलोपटक फिल्म घोषणा भएको हो । यी तन्नेरीले आगामी फागुन १ गतेदेखि ‘भाँडाकुटी’ फिल्म छायांकन सुरु गर्दैछन् ।

    किरणले निर्देशन गर्ने फिल्मलाई गोपालले एसोसिएट निर्देशन गर्नेछन् । बेनिशा हमाल र मुकुन भुषाल मुख्य भूमिकामा छन् । ‘कालोपोथी’ एक्ट्रेस बेनिशाले यसमा दलित युवतीको भूमिकामा अभिनय गर्नेछिन् । मुकुन उनको लभ इन्ट्रेस्टको भूमिकामा हुनेछन् ।

    बेनिशासहितको टोलीले केही समय पहिले बुटवलको मोतीपुर, सिद्धबाबा र फूलबारीमा छायांकनको लागि लोकेसन हन्टिङ गरेको छ । यही सेटिङमा छायांकन गरिने फिल्मलाई लभ, कमेडी र सोसल ड्रामा जनरामा राखिने भएको छ । प्रेममा जातिय विभेदको असर र सामाजिक द्धन्द्धलाई फिल्मले चित्रण गर्नेछ ।

    फिल्म गतिविधि ठप्प भैरहेको बेला निर्माणको घोषणा गर्ने यी तन्नेरीको पहललाई सकारात्मक रुपमा लिइएको छ । ‘फिल्म बनाउनका लागि यो सहि समय पनि हो’ निर्देशक विकले भने, ‘माहौल बनाउने मात्र हैन, फिल्मलाई नयाँ ढंगबाट सुरुआत गर्न अहिलेको समय महत्वपूर्ण छ ।’

    एक करोड लगानीमा बन्ने फिल्मलाई कलम खड्का, डिराज ठकुरी र शीतल खड्काले बनाउन लागेका हुन् । गैरआवसिय नेपालीको लगानी यसमा छ । दृश्यालय सिनेमाले बनाउने फिल्मलाई नयाँवर्षमा प्रदर्शन गर्ने योजना छ ।

  • कांग्रेस प्रवक्ता टेलिभिजन कार्यक्रमका होस्ट !

    कांग्रेस प्रवक्ता टेलिभिजन कार्यक्रमका होस्ट !

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रमका होस्ट बन्ने भएका छन् । उनले संचालन गर्ने कार्यक्रम कान्तिपुर टेलिभिजनबाट माघ ७ गतेदेखि प्रसारण हुने भएको छ ।

    सामाजिक मुद्दाको उठान गर्ने उक्त कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । कार्यक्रमको नाम राखिएको छ –ऐना । विहिबार राजधानीमा आयोजित प्रेसमिटमा कार्यक्रमको औपचारिक घोषणा गरियो ।

    २६ श्रृंखलासम्म प्रसारण हुने कार्यक्रमलाई होराइजन मिडियाले निर्माण गर्ने भएको छ । प्रेसमिटमा बोल्दै निर्देशक अधिकारीले सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर कार्यक्रम गरिने जनाए ।

    निर्माता कम्पनी होराइजन मिडियाका अनुसार स्थलगत अध्ययन र अवलोकन गरेर कार्यक्रम उत्पादन गरिनेछ । सरोकारवाला निकायसँग अन्तर्वार्तामूलक ढंगले कार्यक्रम चलाइने भएको छ । उक्त अवसरमा बोल्दै संचालक शर्माले टेलिभिजनमा काम गर्न लागेकोमा उत्साह व्यक्त गरे ।

  • माओवादीले श्रम शिविरमा लगेका बालबालिकामाथि फिल्म बनाउँदै ‘अवतार’ अभिनेता

    माओवादीले श्रम शिविरमा लगेका बालबालिकामाथि फिल्म बनाउँदै ‘अवतार’ अभिनेता

    न्यूयोर्क टाइम्सको बेस्ट सेलिङ पुस्तक ‘लिटल प्रिन्सेस’माथि फिल्म निर्माण हुने भएको छ । हलिउडको ब्लकबस्टर फिल्म ‘अवतार’ अभिनेता जोएल डेभिड मुर्रेले स्थापना गरेको बाल्कोनी नाइन प्रोडक्सनले फिल्म निर्माण गर्ने भएको हो ।

    नेपाली सडक बालबालिकाको अवस्था चित्रण गरिएको उक्त पुस्तकमाथि फिल्म एडप्टेसन हुने भएको छ । यो पुस्तकले नेपाली सडक बालबालिकालाई आश्रय दिन एक मान्छेले गरेको संघर्ष चित्रण गर्छ । ऐतिहासिक ड्रामा ‘द म्यान हु न्यू इन्फिनिटी’ लेखक एवं निर्देशक म्याट ब्राउनले फिल्म निर्देशन गर्नेछन् ।

    कोनोर ग्रेनन लिखित उक्त पुस्तकले न्यूयोर्क टाइम्समा सर्वाधिक विक्री हुने पुस्तकको रेकर्ड राखेको थियो । ग्रेनन सगरमाथा हाइकिङमा नेपाल आएको बेला उनले सडकमा भेटेका बालबालिकालाई आश्रय दिएको कथा यसमा छ । हलिउड रिपोर्टरले ती बालबालिकालाई तत्कालिन विद्रोही माओवादीले श्रम शिविरमा जबर्जस्ती लगेको लेखेको छ ।

    ग्रेनन ती बालबालिकालाई पुनः खोज्दै काठमाडौं आएको कथा यसमा छ । बाल्कोनी पिक्चर्सले फिल्म निर्माणका लागि हार्बिङ्गर पिक्चर्स र नेटी बर्कससँग सहकार्य गर्दैछ । यी कम्पनीहरुले अस्कर विजेता फिल्म ‘द हेल्प’ पनि निर्माण गरेका थिए ।

  • जन्मदिनकाे छेकोमा एलिजाको घोषणा : देशभर ७७० घर बनाइदिने

    जन्मदिनकाे छेकोमा एलिजाको घोषणा : देशभर ७७० घर बनाइदिने

    अभिनेत्री एलिजा गौतमले गरिब तथा विपन्न परिवारका लागि सहयोगी हात अघि बढाएकी छन् । ‘अनुराग’ एक्ट्रेसले आफ्नो जन्मदिनको छेको पारेर देशका ७७ वटै जिल्लामा घर बनाइदिने घोषणा गरेकी छन् ।

    चैत ११ को बर्थडेमा धादिङदेखि घर बनाउने उनको अभियान थालनी हुनेछ । सबै जिल्ला पिच्छे १० घर बनाउने योजनामा उनी जुटेकी छन् । दुर्गम भेगका विपन्न परिवारलाई लक्षित गरेर भूकम्प प्रतिरोधी घर बनाउने उनको योजना छ ।

    ‘पहिल्यैदेखि समाजसेवाको क्षेत्रमा ठूलै केही गरौं भन्ने योजना थियो’ नेपाल प्रेससँग उनले भनिन्, ‘गरिब परिवारका लागि बस्ने आवास बनाइदिने योजना छ । त्यसको सुरुवात मेरो जन्मदिनदेखि हुनेछ ।’ सकेसम्म मुलुकका सबै जिल्लामा घर बनाउने उनको योजना छ ।

    एलिजा फाउन्डेसनको तर्फबाट उनले घर बनाउन लागेकी हुन् । अनुराग फिल्मकी डेब्यु अभिनेत्रीले चाँडै नयाँ फिल्म समेत घोषणा गर्ने भएकी छिन् । ‘मनोरञ्जनसँगै सामाजिक कार्यलाई पनि अघि बढाउनेछु’ एलिजाले भनिन्, ‘लामो समयदेखिको मेरो सपना चाँडै पुरा हुने विश्वासमा छु ।’

  • वरुण-सारा स्टारर ‘कुली नम्बर वान’को नेपाल रिलिज संकटमा

    वरुण-सारा स्टारर ‘कुली नम्बर वान’को नेपाल रिलिज संकटमा

    भारतमा हाइव्रिड मोडेलको फिल्म रिलिज प्रणालीबारे बहस भैरहँदा यता नेपालमा भने वरुण धवन–सारा अली खान स्टारर रोमान्टिक ड्रामा कुली नम्बर वानको रिलिज संकटमा परेको छ ।

    नेपाली वितरकहरुका अनुसार आगामी डिसेम्बर २५ मा उक्त फिल्म रिलिज हुने सम्भावना अन्यौलमा परेको हो । पहिलो –फिल्मको भारतीय वितरकले झन्डै एक करोड मूल्यको प्रस्ताव गर्नू । दोस्रो –नेपाल सरकारले आधिकारिक रुपमा फिल्म हल खोल्ने अनुमति नदिनु र तेस्रो –तत्काल हल खोल्दा दर्शक नआए लगानी संकटमा पर्नसक्नु ।

    यी तीन कारणले गर्दा प्रतीक्षित बलिउड फिल्मको नेपाल रिलिजमा निधो नभएको हो । भारतमा भने अमेजन प्राइमले ओटीटी प्लेटफर्मसँगै केही हलमा फिल्म रिलिज गर्दैछ । हल र ओटीटीमा एकैसाथ रिलिज हुने भएपनि भारतीय मल्टिप्लेक्सले भने फिल्म रिलिज नगर्ने भएका छन् ।

    भारतमा हजार हल बन्द हुनसक्ने
    पोस्ट–कोभिड कालमा बलिउडसहित विश्व फिल्मको माध्यम परिवर्तन हुने सम्भावना छ । लकडाउनपछि डिजिटल प्रभुत्वमा वृद्धि भएपछि यसको थ्रेट फिल्म हललाई सीधै पर्नेछ ।

    भारतस्थित केपीएमजी इंडियाज डिजिटल फ्युचरले गरेको एक सोधअनुसार सन् २०२३ सम्म एकहजार भारतीय सिनेमा घर बन्द हुनसक्छन् भने तीनवर्षभित्रै ओभर द टप (ओटीटी) प्लेटफर्मको सब्सक्राइव् संख्याले ५० करोडको आँकडा पार गर्नेछ ।

    बाहुबलीलाई ५ करोडले मात्र हलमा हेरेको अनुमान गरिन्छ । ट्रेड एनालिस्टका अनुसार अब ठूला स्टारहरु पनि आफ्नो फिल्म प्रचार र रिलिजका लागि ओटीटी प्लेटफर्मतर्फ अघि बढ्नेछन् । अमिताभ बच्चन, आयुष्मान खुराना, आलिया भाट, अक्षय कुमार, वरुण धवनले आफ्ना फिल्म ओटीटीमा रिलिज गर्दैछन् ।

    पीडब्लुसीको रिपोर्ट अनुसार सन् २०१८ मा भारतमा ओटीटीको बजार जम्मा चारहजार ४ सय ६४ करोड मात्र थियो । सन् २०२३ मा ११ हजार ९ सय ७६ करोड भारु पुग्ने प्रक्षेपण छ । ट्रेड विश्लेषक सलिलकुमार अंडेका अनुसार आगामी दिन सिनेमा घर र टेलिभिजनको भविष्यको लागि थप चुनौतिपूर्ण बन्नेछन् ।

    पछिल्लो समय भारतीय टेलिभिजनका चर्चित सिरिज कौन बनेगा करोडपति र बिगबोसको टीआरपीमा भारी गिरावट आएको छ । केही टिभी निर्माताहरु सलमान खान र अभिताभलाई हटाएर भएपनि घाटा पूर्ति गर्ने विकल्पबारे सोचिरहेका छन् । यसले ओटीटी प्लेटफर्मतर्फ जाने यात्रालाई बल प्रदान गर्नेछ ।

  • भजन गायनमा मनिषा, आफ्नै आवाजमा रेकर्ड गराइन् गीत

    भजन गायनमा मनिषा, आफ्नै आवाजमा रेकर्ड गराइन् गीत

    क्यान्सर निको भएपछि अभिनेत्री मनिषा कोइरालाको जीवनमा ठूलो आध्यात्मिक मोड आयो । यी बलिउड डिभा पछिल्लो समय काठमाडौंस्थित घरमै बसेर प्रकृतिसँग नजिक भैरहेकी छन् । जीवन जगतलाई हेर्ने उनको दृष्टिकोणमा आधारित रहेर अटोबायोग्राफी पनि प्रकाशन भैरहेका छन् ।

    भर्सटाइल स्वभावकी मनिषाको जीवनमा अर्को रुचि थपिएको छ, त्यो संगीत । म्युजिकमा पनि भजन जनरा । सुरसुधा ब्यान्डसँग मिलेर उनले शाष्त्रीय भजन पनि गाएकी छन् । उक्त भजन रेकर्ड भैसकेर पनि अहिले धमाधम म्युजिक भिडियो छायांकन भैरहेको छ ।

    मनिषाले गाएको भजन चाहिँ ‘महामृत्युञ्जय मन्त्र’मा आधारित छ । जसले जीवन र जगतलाई हेर्ने गहिराइबारे बोध गराउँछ । सुरसुधा ब्यान्डका संस्थापक सदस्य सुरेन्द्र श्रेष्ठका अनुसार मनिषाकै आवाजमा गीत स्वरांकन भैसकेको छ ।

    लकडाउनकै क्रममा नेपाल आइपुगेकी मनिषा त्यसयता काठमाडौंमा रहेर समाजसेवा र आफ्ना रुचिमा सक्रिय छिन् । अहिले कुचो लगाउने, खाना पकाउने र बगैंचा स्याहार्नेजस्ता घरेलु कामको सिकाइमा उनी व्यस्त छिन् । लकडाउनअघि नेटफिल्क्सको एउटा फिल्म सकेकी मनिषाले समाजसेवामा आफू सक्रिय हुने जनाइन् ।

  • कवि गाउँले अब गीतकार (भिडियो)

    कवि गाउँले अब गीतकार (भिडियो)

    केटी : बालो जोबन सुम्प्याँ मैले बाला साइका हात,
    केटा : ज्यान गया लै मेरी सुवा छोड्न्याँ छैन साथ…

    सुदूरपश्चिम प्रदेशको स्थानीय लवजमा लेखिएको यस गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ । प्रेम समर्पणको भाव बोकेको गीत ‘बालो जोबन’ इन्टरनेट रिलिज भएको छ । शब्दहरु सोझो गाउँलेले कोरेका हुन् । गीतमा विष्णु भट्टले सङ्गीत भरेका छन् । थारु गीतकी गायिका अन्नु चौधरी र विष्णु भट्टले यसमा स्वर दिएका छन् ।

    केटी : रानीलेक हिउँ पड्याको राई सल्लो ढल्याको
    साई तम्रा सासले मेरो धुकधुकी चल्याको ।
    केटा : पिपलबोट पिङ हाल्याको एक डोरी चुन्ड्याको
    सुवाका घाँटीउँदो मेरो परानी झुन्ड्याको ।

    लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् । भिडियोमा याम गुरुङको निर्देशन र वीरेन्द्र भाटको सम्पादन छ भने महेश महराले क्यामरा चलाएका छन् । मस्कोमा आयोजित ‘प्रिन्सेस अफ दि युनिभर्स (२०१७) की विजेता रक्षा थापा, २०१९ कि नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ती बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।

    भाषा संस्कृतिको जगेर्ना गर्दै परिस्थिति अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएको गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाइ छ । प्रतिभावान कलाकारलाई अवसर दिएको र उनीहरुले मिहिनेतका साथ खटेर काम गरेकाले गीत श्रोतादर्शकले रुचाइदिने विश्वास उनको रहेको छ ।

  • बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    कोदोको खिर चखाएर नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी शीर्ष ४ मा पुगेका हुन् ।

    प्रतियोगितामा सन्तोषले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि बनाएका थिए । उनले नेपाली खाना चखाउन यो प्रतियोगितामा भाग लिएका थिए । नेपालमा पाइने मौलिक खानाहरु जजलाई खुवाएर मन जितेका थिए । साथै उनले लोप भइसकेको खानालाई पुन: एकपटक विश्व माझ चिनाएका छन् ।

    सिरहाका सन्तोषले यो प्रतियोगिताको प्रथम चरणदेखि नै नेपाली खानाको परिकार पस्किरहेका छन् । उनले यो फाइनल राउन्डका ६ प्रतियोगीलाई पछि पार्दै शीर्ष ४ स्थान बनाउन सफल भए । उनी दुई दशकदेखि यो पेसामा आवद्ध छन् । यही क्रममा उनले भारत र बेलायतमा  धेरै वर्ष सेफको क्रममा काम गरे ।

    मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । ३५ वर्षीय सन्तोष शीर्ष ४ मा पुगेकोमा उनकी आमाले खुसी व्यक्त गरेकी छिन् । आमाले भनेकी छिन्, ‘मलाई मेरो छोरा फाइनलमा पुगेको एकदमै खुसी लागेको छ । तर उनले चाडैँ नै विवाह गरिदिओस भन्ने इच्छा छ मेरो ।’

  • यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ?

    यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ?

    काठमाडौं।  बन्द भएको नौ महिनापछि नेपाली फिल्म हल खुल्ने तयारीमा छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गरेपछि हल बन्द थिए । चलचित्र हल व्यवसायीले आगामी पुस १० गते एकपक्षीय रुपमा हल खुलाउने निर्णय गरिसकेका छन् ।

    व्यवसायीले हल खुलाए भने पनि सरकारले हस्तक्षेप नगर्ने संकेत दिएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले निर्माता संघका पदाधिकारीलाई हस्तक्षेप नगर्ने जनाउ दिएका छन् ।

    पचास प्रतिशत मात्र दर्शक राखेर मुलुकका हलहरू सञ्चालनमा आउने चलचित्र संघले जनाएको छ । आधा प्रतिशत दर्शक राखेर हल चलाउनुको अर्थ केही समय हल व्यवसायीले घाटा व्यहोरेर  पनि प्रदर्शनलाई निरन्तरता दिनुपर्ने हुन्छ । पुस १० गतेदेखि हल खुल्ने भएपछि हल सञ्चालक र वितरकले तयारी सुरु गरेका छन् ।

    क्यूएफएक्सले तत्काल सिभिल र लाबिम मात्र खोल्ने
    मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले तत्काल सिभिल मलस्थित सेन्ट्रल सिनेमा र लाबिम मलस्थित हल सञ्चालनमा ल्याउने तयारी थालेको छ । उपत्यकाबाहिरका अन्य हल सञ्चालनमा ल्याउने वा नल्याउने बारे चाँडै टुंगो लाग्ने क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए ।

    चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार सुरुमै मुलुकका दुईसय हल खुल्ने छैनन् । संक्रमणको स्थिति हेरेर केही हल मात्र खुल्ने भएका छन् । ‘हल सफाइ, उपकरण मर्मत र कर्मचारी व्यवस्थापनको पाटो पनि हेर्नुपर्ने हुन्छ,’ प्रधानले नेपाल प्रेससँग भने, ‘कुन फिल्म रिलिज गर्ने भन्ने बारेमा चाहिँ वितरकसँग बसेर मात्र सल्लाह गर्छौं ।’ गोपीकृष्ण मूभिजले तत्काल ओम नमः शिवाय नामको अडिटोरियम मात्र खुलाउने भएको छ । दर्शकको प्रवाह हेरेर मात्र थप हल हल खुलाउने टुंगो लाग्ने अध्यक्ष प्रधानले बताए ।

    यस्तो हुनेछ कोभिड प्रोटोकल
    सामाजिक दुरी, मास्क र सरसफाइलाई सबै हलले अनिवार्य गर्नुपर्ने भएको छ । एक सिट छाडेर दर्शकीय सिटको लाइन व्यवस्था गरिने भएको छ । एकै परिवारका बाहेक अन्य दर्शकलाई एक सिट छाडेर राखिनेछ । अनलाइन टिकटलाई प्रोत्साहन गरिने भएको छ ।

    हलभित्र उपलब्ध खानेकुरा वितरण र सरसफाइमा विशेष ध्यान दिने तयारी छ । प्रत्येक दर्शकलाई टिकटसँगै मास्क वितरण पनि उपलब्ध गराइने कतिपय मल्टिप्लेक्सले जनाएका छन् । एउटा फिल्मको सो सकिएपछि हललाई अनिवार्य निसंक्रमण तुल्याइने र एउटा सो र अर्कोको ग्यापबीच लामै अन्तर राखिने भएको छ ।

    पोखरास्थित मिडटाउन ग्यालरीका प्रमुख निकेश द्धाले कोभिड–१९ मापदण्ड पालनामा कुनै कसर बाँकी नराख्ने बताए । ‘हामी सरसफाइ र प्रोटोकल पालनामा पुरै प्रतिबद्ध छौं,’ द्धाले भने, ‘सुरुमा माहोल तयार पार्ने कार्य हुनेछ ।’ जसअनुसार मिडटाउन ग्यालरीले यही साता कर्मचारीलाई पोस्ट–कोभिड स्क्रिनिङबारे तालिम पनि दिने भएको छ ।

    कुन-कुन फिल्म रिलिज हुँदैछन् ?
    हल खुल्ने भए पनि सुरुमै नयाँ नेपाली फिल्म रिलिज नहुने अवस्था छ । पुरानै ब्लकबस्टरलाई रिलिज गर्ने कि भन्ने बारेमा संघले सूची तयार पार्दैछ । ‘हामी वितरकसँग बैठक बस्दैछौं र कन्टेन्टको बारेमा निधो हुनेछ,’ चलचित्र संघ अध्यक्ष प्रधानले भने ।

    सम्भवतः हलिउड फिल्म मुलान वा टेनेटमध्ये कुनै एउटा विदेशी फिल्म रिलिज हुनेछ । मुलान रिलिज हुन केही दिन बाँकी छँदा लकडाउन भएपछि रिलिज रोकिएको थियो । कन्टेन्ट अझै सुरक्षित भएकाले मुलान रिलिजको तयारीमा एप्पल इन्टरटेनमेन्ट छ । ‘हामी क्रिस्टोफर नोलनको फिल्म टेनेट रिलिजको छलफलमा पनि छौं,’ क्यूएफएक्स सिनेमाज् निर्देशक नकिम उद्दिनले भने, ‘हामी छलफलकै चरणमा छौं ।’

    सम्भवतः छक्का पञ्जाको कुनै एक सिरिज पनि पुनःरिलिज हुनसक्छ । यसका लागि चलचित्र संघले निर्माता एवं अभिनेता दीपकराज गिरीसँग छलफल चलाएको छ । गिरी स्वयम् पनि दर्शकीय माहोल बनाउने यो प्रस्तावसँग सहमत छन् । बिग बजेटका नेपाली फिल्म तत्काल रिलिज हुने तयारी छैन । माहोल बनेपछि मात्र ठूला र नयाँ फिल्म रिलिज गर्ने अधिकांश निर्माताको मनसाय छ ।

  • केली जेनर विश्वकै सर्वाधिक महंगी सेलेव्रिटी

    केली जेनर विश्वकै सर्वाधिक महंगी सेलेव्रिटी

    सन् २०२० मा धेरै सेलेव्रिटी बेरोजगार बने । तर, केही सेलेव्रिटीको आम्दानी भने उक्त वर्ष दिनप्रतिदिन चुलियो । फोर्ब्सको सूचिमा मेकअप आर्टिस्ट केली जेनर सर्वाधिक महंगी सेलेव्रिटी बनेकी छिन् । फोर्ब्सले जुन २०१९ देखि २०२० मेसम्मको कमाइको आधारमा केलीलाई पहिलो स्थानमा राखेको हो । उनको कमाइ ५९० मिलियन डलर रह्यो ।

    कोटी नामको ब्रान्डबाट कस्मेटिक सामाग्री विक्री गरेबापत केलीको कमाइमा उछाल आएको हो । उनका भिनाजु नाता पर्ने अमेरिकी गायक केनी वेस्टको कमाइ भने १७० मिलियन डलर रह्यो । केनीले एडिडास र एजी पहिरनबाट कमाइ गरे ।

    खेलाडीहरु रोजर फेडेरर, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी क्रमशः सूचिको तेस्रो, चौंथो र पाँचौं स्थानमा छन् । ९७ मिलियन डलर कमाउँदै अभिनेत्री ट्रेलर पेरी छैठौं नम्बरमा छिन् । उनले ‘मेडी’ फिल्म श्रृंखलाबाट उक्त कमाइ गरेकी हुन् । गतवर्ष पेरीले एटलान्टामा ३ सय ३० एकडमा फैलिएको टेलर पेरी स्टुडियो खोलेकी थिइन् ।

    फिल्म अभिनेत्री डाउने रक जोन्सन ८७.५ मिलियन डलरसहित दशौं स्थानमा छन् । गायिका एरियाना ग्रान्डे ७२ मिलियन डलरसहित १७ औं स्थानमा छिन् । द चेनस्मोकर्स ब्यान्ड ६८ मिलियनसहित २१ नम्बरमा, एड सिरिन ६४ मिलियनसहित २३ नम्बरमा छन् । टेलर स्वीफ्ट ६३.५ मिलियनसहित २५ स्थानमा छिन् ।

  • टीकटकमा प्रधानमन्त्रीदेखि जुम्ल्याहा किशोरीसम्म, यी हुन् टपटेन नेपाली टीकटक स्टार

    टीकटकमा प्रधानमन्त्रीदेखि जुम्ल्याहा किशोरीसम्म, यी हुन् टपटेन नेपाली टीकटक स्टार

    प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो साझेदारी एप टीकटक ज्वाइन गरेको खबरले टाइमलाइन तात्यो । कुटनीतिक वृत्तमा चर्चा मात्र चलेन इन्डिया टुडेकी वैदेशिक मामिला संवाददाता गीता मोहनले नेपाली प्रधानमन्त्रीले चिनियाँ एप प्रयोग गरेको ट्वीट गर्दै त्यसलाई कुटनीतिक रङ दिने प्रयास गरिन् ।

    एकैरातमा प्रधानमन्त्रीको उक्त खातालाई ३५ हजारभन्दा बढीले फलो गरे । अहिले ओलीलाई टीकटकमा ६४ हजारभन्दा बढीले फलो गरेका छन् । अमेरिका र भारतमा प्रतिबन्ध लगाइएको यो चिनियाँ एपले पछिल्लो वर्ष नेपाली नेटिजनमाझ लोकप्रियता कमाइरहेको छ ।

    @kpsharmaoli_official

    भ्रष्टाचार जाेसुकैले गरे पनि अक्षम्य अपराध (part 2)

    ♬ original sound – KP Sharma Oli – KP Sharma Oli

    टीकटकमा नृत्य, अभिनय, सूचना र ज्ञान बाँड्ने तन्नेरी पुस्ताको जमात तयार भैसकेको छ । लकडाउनपछि पोखरेली आकाशमा उड्ने प्याराग्लाइडरको भीड होस् वा तनहुँको मानुङकोटबाट दृश्यपान गर्नेको क्राउड, बन्दाबन्दीपछि सुनसान पर्यटनलाई टीकटकले उकास्ने जमर्को गरेको छ ।

    यहाँ नेपालका टपटेन टीकटक प्रयोगकर्ताबारे चर्चा गरिनेछ ।

    प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा
    यी दुई जुम्ल्याहा दिदीबहिनी टीकटकमा सर्वाधिक हेरिने नेपाली प्रयोगकर्ता हुन् । ६.६ मिलियन फलोअर्सले यी दुईलाई पछ्याएका छन् भने ४१.१ मिलियनले लाइक गरेका छन् । टीकटकमा हिट भएपछि उनीहरुको डिमान्ड म्युजिक भिडियो र टेलिभिजन सिरियलमा हुन थालेको छ । 

    @twinny__girls

    Timrai Mayale Song❣️ Released on Meksam Naresh official youtube channel.Link is on the bio🥰 #timrai_Mayale ❣️

    ♬ original sound – Prisma_Princy👭

    अन्जु भण्डारी

    यी किशोरीको टीकटकलाई ७.२ मिलियन जनाले पछ्याएका छन् । ८९.६ मिलियनले लाइक गरेका छन् । अन्जुले प्रायः डान्स स्किलका भिडियो पोस्ट गर्ने गरेकी छन् ।

    @anzu_bb

    Hello 🦋.

    ♬ original sound – Tabeen

     

    दीपा र दमान्ता
    टीकटकमा आफ्ना डान्स र अभिनय कैद गरेर अर्को एक दिदीबहिनीको जोडी हिट भएको छ । २.५ मिलियन जनाले यो जोडीलाई फलो गरेका छन् । ४१.३ मिलियन लाइक छ । रियालिटी टीभी सो ‘डान्सिङ विथ द स्टार्स’मा समेत यी दुईको नृत्य हेर्न पाइन्छ ।

    https://www.tiktok.com/@deepadamanta/video/6906061055147904258?sender_device=pc&sender_web_id=6906716902870566402&is_from_webapp=1

    सञ्जु महर्जन
    १.७ मिलियनद्धारा पछ्याइएका सञ्जु महर्जनले डान्स र एक्टिङको कलामार्फत धेरैको मन जितेका छन् । ४९ंं.८ मिलियन लाइक बटुलेका उनले टीकटकमार्फत फेसनको ज्ञान पनि बाँड्ने गरेका छन् । कोरियन लुक्सका उनलाई फलो गर्ने टीनएज किशोरी बढी छन् ।

    @sanjumaharjan44

    Instagram: sanjumaharjan44 ⚡️#sanjumaharjan44 #foryou #fyp #love #nepal #trending

    ♬ IK VAARI AA – Sushant Singh Rajput & Kriti Sanon & Jim Sarbh & Varun Sharma

    अमु गुरुङ शाह
    आफ्ना अनौठो व्यंग्य कलामार्फत अमुले टीकटक प्रयोगकर्ताको मन जितेकी छिन् । १.३ मिलियन फलोअर्स र ३८.४ मिलियन लाइकसँगै उनी नेपाली टपटेनमा अटाएकी छन् । बेजोड हँसाउने कलामार्फत उनलाई पछ्याउनेको संख्या बढेको छ ।

    @its_amita_grg

    Please don’t 😅my still a beginner in playing ukelele❤️#nepalitiktoker #nepal #nepali #spreadlove #minionssquad💫 #fyp

    ♬ original sound – AMU GRG SHAH – AMU GRG SHAH

    रेश्मा घिमिरे
    टीकटक क्वीनको नामले समेत चिनिने घिमिरेको अभिनय र गायन कलाले गर्दा उनलाई पछ्याउनेको संख्या १.२ मिलियन र लाइक गर्नेको संख्या २७.६ मिलियन पुगेको छ ।

    @reshmaghimire

    Last one on this song !! Suurrri laa !!! 😂#1MANepal #1MADance #again🥶🤗 #racefam #grappss

    ♬ Genda Phool (feat. Payal Dev) – Badshah feat. Payal Dev

    सुन्दर घलान
    अभिनय र डान्सको कलामार्फत टीकटकमा हिट भएका सुन्दरलाई फलो गर्नेको संख्या १ मिलियन र लाइक गर्ने १९.९ मिलियन छन् ।

    https://www.tiktok.com/@sundarghalan2/video/6904601093209148674?sender_device=pc&sender_web_id=6906716902870566402&is_from_webapp=1

    उषा उप्रेती
    बलिउड कलाकारको सपना देख्ने उषा उप्रेतीले अभिनय र डान्समार्फत टीकटकमा प्रसिद्धी बटुलेकी छिन् । महानायक राजेश हमालसँग उनले टीकटक बनाइन् । ९७६.७ हजार फलोअर्स कमाएकी उनले २६.६ मिलियन लाइक समेत पाएकी छिन् ।

    @ushauppreti01

    Mera dil disturb nahi hua hai 😅🙈 #ushauppreti1 #ushasquad #tiktok #ushasfamily #foryou #fyp #foryourpage #expression #keepsupporting #loveuall

    ♬ original sound – 🔥 Vimal Shahi Thakuri 👅

    वर्षा राउत
    नेपाली फिल्मकी अभिनेत्रीको रुपमा यसअघि नै स्थापित वर्षा पनि टीकटकमा हिट छिन् । उनी प्राय डान्स स्किल प्रस्तुत गर्छिन् । ९३४.८ हजार फलोअर्स र १५.२ मिलियन लाइकको साथ उनलाई हेरेर मनोरञ्जन लिनेको संख्या उच्च छ ।

    @barsharaut1

    @surendrabasel77

    ♬ original sound – Aayushi 😍

    आँचल शर्मा दवाडी
    आँचल पनि नेपाली फिल्ममा स्थापित नाम हो । थुप्रै व्यवसायिक हिट फिल्म पस्किएकी आँचल अहिले टीकटकमा व्यस्त छिन् । हिजोआज उनी आफ्ना पति उदिप श्रेष्ठसँग टीकटकमा प्रस्तुत हुन्छिन् । ६९०.३ के फलोअर्ससहित उनलाई लाइक गर्नेको संख्या १०.६ मिलियन छ ।

    @aanchalus

    #isthatok? #lovehim #hadtodothisone😁 @udipshrestha4

    ♬ original sound – Aanchal sharma(Dawad

  • ‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित

    ‘मिसन इम्पोसिबल’ सुटिङ सेटमा खनिए टम क्रुज, कोभिड गाइडलाइन उल्लंघन गर्नेमाथि आक्रोशित

    हलिउड एक्सन स्टारर टम क्रुज अहिले मिसन इम्पोसिबलको सातौं श्रृंखला छायांकनमा व्यस्त छन् । फिल्म छायांकन यस्तो बेला भैरहेको छ जतिबेला अमेरिका र युरोपमा कोरोना भाइरस महामारी उत्कर्षमा छ ।

    बेलायतस्थित फिल्मको सेटमा हालै एउटा रोचक घट्ना भयो । जहाँ अभिनेता क्रुज कोभिड–१९ गाइडलाइन उल्लंघन गर्ने क्रु मेम्बरमाथि खनिए । भेराइटी म्यागजिनका अनुसार ती दुईजना सदस्यमाथि क्रुज निकै आक्रोशित भए ।

    ती दुईजना सदस्यहरु मास्क बिनै कम्प्युटर स्क्रिन नेर सँगै उभिएका थिए । अनि क्रुजले यो देखेपछि तत्कालै प्रतिक्रिया जनाए : आइन्दा यस्तो देखेँ भने तिमीहरुले फिल्म सुटिङ नै छाड्नुपर्छ ।

    द सन् म्यागजिनले क्रुजले ती उल्लंघनकर्ता क्रु सदस्यहरुलाई गाली गरेको अडियो प्राप्त गरेको छ । जहाँ क्रुजले भनेका छन् : हामी सुनजत्तिकै महंगा छौं । हाम्रै कारणले तिमीहरु हलिउडमा फिल्म गर्न पाइरहेका छौं । किनभने तिनीहरु हामीमाथि विश्वास गर्छन् । मलाई प्रत्येक रातीजसो स्टुडियो, बिमा कम्पनी र निर्माताबाट फोन आउँछ । हामीले हजारौं रोजगारी सिर्जना गरिरहेका छौं । म अब आइन्दा यस्तो हर्कत कहिल्यै हेर्न चाहन्न ।’

    अभिनेता क्रुज सुटिङ सेटमा कोभिड–१९ मापदण्ड पालनालाई लिएर निकै कडा देखिएका छन् । अहिले बेलायतमा कडा लकडाउनकै बीचमा फिल्म छायांकन भैरहेको छ ।

    क्रुज अगाडि भन्छन् : यो कुरा तिनीहरुलाई भन्दिनु जो हाम्रो उद्योग ठप्प हुँदा घरवारविहिन भएका छन् । फिल्म नबन्दा टेबुलमा खाना र बच्चाको कलेज शुल्क पनि उठ्दैन तिमीहरुको । यही कारण म फिल्मको भविष्यसँगै प्रत्येक रात सुत्ने गर्छु । म यो गल्तीका लागि माफी माग्ने पक्षमा छैन ।

    ‘मैले भनिसकेको छु । म यस्तो कुरा दोहोरिएको हेर्न चाहन्न । यदि तिमीहरुले मैले भनेको मान्दैनौं भने काम छोडेर गए हुन्छ । तिमीहरुको गल्तीले फिल्म उद्योगलाई बन्द गर्नु छैन । बुझेऊ ? यदि मैले फेरि यस्तो पारा देखेँ भने, तिमीहरु जान सक्छौ ।’

    मिसन इम्पोसिबलको सातौं सिक्वेलको इटाली सुटिङमा हालै ढिलाइ भएको थियो जतिबेला फिल्मका १२ जना क्रु मेम्बर कोभिड–१९ पजेटिभ पाइएका थिए । त्यसको दुई सातापछि अहिले बेलायतमा सुटिङ सुचारु भएको हो । फिल्मलाई क्रिस्टोफर म्याक्वरीले निर्देशन गर्दैछन् । सन् २०२१ को नोभेम्बर १९ मा फिल्म रिलिज हुँदैछ ।

  • सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

    सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई सेलेना गोमेजले निर्माण गर्ने भएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गोमेज उक्त फिल्ममा लेस्बियन पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्दैछिन् ।

    पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा फिल्म नामाकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् । फिल्मलाई सेलेनाको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ ।

    लाभाडो सगरमाथा चढ्ने पहिलो पेरुभियन महिला हुन् । उनले आफूलाई खुलारुपमै गे महिलाको रुपमा चिनाउने गरेकी छिन् । मायान्स एमसी फेम्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले फिल्मलाई निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणमा सेलेनाले अस्कर विजेता डोना गिग्लिवटीसँग टीमअप गर्ने भएकी छिन् ।

    लाभाडोले यौन दुव्र्यहार पीडितको उद्दारमा खट्ने सामाजिक संस्थाको स्थापना पनि गरेकी छिन् । स्रोतका अनुसार उक्त फिल्मको छायांकन नेपालमा गर्ने सम्भावना छ । सेलेना यसअघि युनिसेफको कार्यक्रमको सिलसिलामा नेपाल आएकी थिइन् । त्यसबेला नेपाली संस्कृतिको प्रशंसा गर्दै नेपाल पुनः घुम्ने बताएकी थिइन् ।

    ‘सिल्भिया एउटा बहादुरीको प्रतीक हुन्’ गिग्लिटीले भनिन्, ‘साहस, एड्भेन्चर र मानवताको कथा भन्नको लागि स्कट र सेलेनासँग सहकार्य गर्न पाउँदा म हर्षित छु ।’ सेलेनाले यससँगै निर्माता सन् लेभीसँग हरर फिल्म ‘डल हाउस’ निर्माणमा सहकार्यको घोषणा गरेकी छिन् ।

  • ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा, १८ लाखमा अनुबन्धित

    ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा, १८ लाखमा अनुबन्धित

    दीपेन्द्र के. खनालले निर्देशन गर्ने फिल्म ‘चिसो मान्छे’को लिड लेडीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । उनी मुख्य भूमिकामा तय भएसँगै उनको जोडी अर्पण थापासँग बाँधिनेछ ।

    यही फिल्मसँगै स्वस्तिमा महंगीमध्येकी अभिनेत्रीको सूचिमा परेकी छिन् । यो सोसल ड्रामामा उनी १८ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएकी निर्माता एवं निर्देशक खनालले पुष्टि गरे । ‘कम्तीमा एकवर्ष अन्यत्र सक्रिय नहुने सर्तमा उक्त पारिश्रमिक दिलाएका हौं’ खनालले भने ।

    माघ अन्त्यदेखि छायांकन सुरु हुने फिल्मलाई आगामी भदौ ११ गते रिलिज गर्ने लक्ष्य राखिएको छ । फिल्मको निर्देशक, छायांकन र पटकथा लेखनलाई दीपेन्द्र स्वयमले सम्हाल्दै छन् । डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेसँग खनालले सहकार्य गर्दैछन् ।

    लकडाउनपछि सर्वाधिक पारिश्रमिक सम्झौता भएको यो पहिलो हो । उक्त मूल्यमा अनुबन्धित भएसँगै स्वस्तिमा उच्च पारिश्रमिक लिने टप थ्रीको सूचिमा आएकी छिन् । यसअघि ‘पोइ पर्‍यो काले’बाट पूजा शर्माले २० लाख र ‘रातो टीका निधार’मा बाट साम्राज्ञी शाहले १६ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।