Category: कलाप्रेस

  • पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    पत्रकार खत्रीको नियात्रा संङग्रह ‘स्कार्फ’ सार्वजनिक

    काठमाडौं । डायनामिक स्काउट क्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ ।

    युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा. रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा विमोचन गरिएको हो ।

    युवा तथा खेलकुद मन्त्री तामाङले खेलकुद र युवा उत्थानका लागि आफ्नो प्रयास सुरु हुने बताएका छन् । राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकूद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उल्लेख गरे । उनले स्काउटमा देखिएका समस्या समाधान गर्दैै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गरे । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

    कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण राखे ।

    स्काउट लिडर डा. रविन्द्र प्रसाद पाण्डेले यात्रासँगै स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।

    तीनकुने स्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रकमा उपस्थितिहरुले स्काउटीङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझन यो पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।

    १४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् ।

  • बिहे तयारीका लागि रणवीर–आलियाको परिवार जयपुरमा, करण जोहर र दीपिका पादुकोण पनि पुगे

    बिहे तयारीका लागि रणवीर–आलियाको परिवार जयपुरमा, करण जोहर र दीपिका पादुकोण पनि पुगे

    बलिउडका दुई खानदानी परिवार यतिबेला चिसो छल्न जयपुर र रणथंभर सेरोफेरोको इलाकामा पुगेका छन् । कपुर र भाट परिवार अहिले रणथंभरस्थित एउटा रिसोर्टमा बसिरहेको छ । 

    बलिउड स्रोतका अनुसार रणवीर कपुर र आलिया भाटको बिहे छिनोफानो गर्न दुई परिवार त्यहाँ पुगेका हुन् । बिहेको सम्भावना बलियो छ । आलियाका काकाले चाहिं बिहेबारे अहिले नै यकिनका साथ केही भन्न सकिंदैन । बिहे निश्चित भएमात्र आफूले सबै कुरा मिडियालाई बताउने जनाए ।

    स्रोतका अनुसार रणवीर र आलियाको बिहेलाई यतिबेला करण जोहरले गोप्यरुपमा व्यवस्थापन गरिरहेका छन् । आलियाले आफ्नो जीवनको यो महत्वपूर्ण क्षणको साक्षी बस्न रणवीर सिंह र दीपिका पादुकोणलाई रिसोर्टमा बोलाएकी छन् ।

    सोही रिसोर्टमा आफ्नो टीम लिएर करण पनि पुग्दैछन् । केही दिनदेखि नै धर्मा प्रोडक्सनको टीम रणथंभर र जयपुरमै बसिरहेका थिए । उनीहरु सबै बिहेको तयारीमा जुटेका छन् । यसबारेमा नीतू कपुर, आलिया भाट, सोनी राजदान र रणवीरले केही बोलेका छैनन् ।

  • नेपाली अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

    नेपाली अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

    नेपाली अभिनेत्री जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं स्थानमा परेकी छन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सय उत्कृष्टको सूची सार्वजनिक गरेको हो ।

    इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया सूचीको पहिलो स्थानमा सूचीकृत गर्दै संसारकै सुन्दरी युवतीको रुपमा चिनिएकी छन् । टीसी क्यान्डलर र इन्डिपेन्डेन्ट क्रिटिक्सले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छन् ।

    २४ वर्षीया पोखरेली अभिनेत्रीले फिल्म ‘लिलिबिली’बाट अभिनय करियर थालेकी थिइन् । प्रदीप खड्काको लिड अपोजिटमा देखिएकी उनले यही फिल्मबाट प्रसिद्धि हासिल गरिन् । यो सूचीमा हलिउडको ‘वन्डर वुमन’ अभिनेत्री गल ग्याडट २१औं स्थानमा छिन् ।

    सूचीमा आफू समावेश भएपछि नेपाल प्रेससँग प्रतिक्रिया दिंदै जसिताले आफूलाई सरप्राइज मिलेको बताइन् । ‘स्तब्ध छु’ उनले भनिन्, ‘यसले मलाई काम गर्ने प्रेरणा मिलेको छ ।’ फिल्म लिलिबिलीको बेला पनि जसिताको सौन्दर्यको प्रशंसा भएको थियो । टीसी क्यान्डलरले विगत ३० वर्षदेखि सौन्दर्य मापन गर्दै आएको छ ।

  • ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३२ फिल्म छायांकनमा जाने तयारीमा, संयुक्त लगानीका ‘क्याराभान २’ र ‘चिसो वर्ष’ बैशाखदेखि

    ३० भन्दा बढी फिल्म तत्काल छायांकनमा जाने तयारीमा छन् । सरकारले फिल्म सुटिङ फुकुवा गरेपछि माघ–फागुनदेखि फ्लोरमा जाने फिल्मको लाइन छ । अन्तराष्ट्रिय संयुक्त लगानीका फिल्म चाहिँ नेपाली नयाँवर्षदेखि जाने तयारीमा छन् ।

    सरकारले लकडाउन घोषणा गरे लगत्तै सात फिल्मको सुटिङ रोकियो भने १५ फिल्म छायांकनमै जान पाएनन् । झन्डै दर्जन फिल्म फ्लोरमा जाने तयारीमा छन् । सरकारले छायांकन अनुमति दिएपछि भने निर्मातालाई हाइसञ्चो भएको छ ।

    गणपति, भाँडाकुटी, चिलगाढी, प्रकाश, हुतुतु, चिसो वर्ष, दिपेश सापकोटा र प्रवेश पौडेलका फिल्म छायांकनमा जाने तयारीमा छन् । साथै, छक्का पञ्जाको नयाँ सिरिज, गोर्खा वारियर्स २, रानी महल, मनपरेसी, अल्लारे २, प्रेमपूजा, नाइँ नभन्नू ल ६, छड्के २, बेन्जो, पर्खिबसेँ २, सुदूर, सँगसँगै, पारस, चिसो मान्छे पनि सुटिङमा जाने छन् ।

    लकडाउनले गर्दा सुटिङ रोकिएका परेदशी २, दुई नम्बरी, ए मेरो हजुर ४, गुञ्जन, देशान, तीन जन्तु, होल टाइमर र विच्छेद पुनः फ्लोरमा जाने तयारीमा छन् । चिसो सकिएलगत्तै छायांकन सुचारु गरिने सम्बन्धित निर्माताहरुले जनाएका छन् ।

    मीनबहादुर भामले निर्देशन गर्ने अन्तराष्ट्रिय संयुक्त लगानीको फिल्म ‘चिसो वर्ष’ चाहिँ बैशाखदेखि छायांकन हुने तयारीमा छ । कास्टिङको अन्तिम चरणमा रहेको फिल्मका प्राविधिक विदेशबाट आउनुपर्ने भएपछि छायांकनमा ढिलाइ हुने भएको हो । दीपक रौनियारको फिल्म ‘राजा’ पनि छायांकनमा जाने तयारीमा छ । एरिक भ्याली आउने वर्ष क्याराभान २’ छायांकन लाने तयारी गर्दैछन् ।

  • खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

    खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

    नेपालको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल मंगलबारदेखि संचालनमा आएका छन् । मिडटाउन सिनेमाज् र क्यूएफएक्स आउटलेटले नौ महिनापछि प्रदर्शन सुचारु गरेका हुन् ।

    कोरोना भाइरस महामारीको कारण सरकारले गत चैत ११ बन्दाबन्दी गरेपछि ती हल बन्द थिए । गत शुक्रबारदेखि व्यसायीले एकपक्षीयरुपमा हल संचालन गरेका हुन् ।

    सरकारले भने फिल्म हल संचालन फुकुवा गरेको छैन । आधिकारिकरुपमा हल संचालन नहुँदा सेन्सर लगायतका काम रोकिएपछि तत्काल नयाँ फिल्म लाग्नेछैनन् । चल्दाचल्दैका र पुराना हिट फिल्मलाई रि–रिलिज गरेर हल चल्दैछन् ।

    चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको प्रेसमिटमा मिडटाउन सिनेमाज्ले स्वास्थ्य मापदण्ड पालना गर्दै हल संचालनमा ल्याएको जानकारी दियो । प्रबन्ध निर्देशक निकेश द्धाले दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै हल संचालन गरिने जनाए ।

    दिउँसो १ बजे, अपरान्ह ३ः४५ बजे र साँझ ६ बजे फिल्म प्रदर्शन गरिने भएको छ । ‘सुरुमा पैसा कमाउनेभन्दा पनि माहौल बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ’ द्धाले नेपाल प्रेससँग भने, ‘दर्शकलाई हलसम्म तान्नको लागि बानी पार्ने जमर्को गर्दैछौं ।’

    सरकारले आफ्नो पीडा नसुनेकाले बाध्य भएर सिनेमा घर चलाएको द्धाको भनाइ छ । ‘बैंकबाट ऋण लिएर हल चलाएका छौं । अब किस्ता कसरी तिर्ने ?’ द्धाले प्रश्न गरे । आफ्नो हल संचालन नहुँदा ४५ जना कर्मचारीको रोजगारी गुमेको उनले जनाए ।

  • कोरोनापछिको फिल्म : के दर्शक हलमा फर्किएलान् ?

    कोरोनापछिको फिल्म : के दर्शक हलमा फर्किएलान् ?

    पोखरामा जारी नेपाल साहित्य मेलामा बुधबार ‘कोरोनापछिको सिनेमा’ शीर्षक विषयमा छलफल सत्र भयो । चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले मोडरेट गरेको छलफलमा प्रदर्शक भाष्कर ढुंगाना, निर्देशक मीनबहादुर भाम र अभिनेत्री प्रियंका कार्कीले भाग लिए । कोभिड–१९ पछि नेपाली फिल्मको मूल्य, कला, बजार र शैलीबारे गरिएको अन्तक्रियाको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

    भाष्कर ढुंगाना
    कोरोनाले गर्दा फिल्म बिजनेसमा ठूलो क्षति पुगेको छ । सबैभन्दा प्रभावित क्षेत्र सिनेमा क्षेत्र नै हो । सबैभन्दा पहिले बन्द भएको र सबैभन्दा अन्तिममा खुल्ने पनि यही नै हो । तर, रोचक कुरा के भने, सिनेमा क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्र भनेर घोषणा पनि गरेको छैन । व्यापार हेर्ने हो भने अरु क्षेत्रमा ६० प्रतिशत घटेको छ होला तर हाम्रोमा चाहिँ ९५ प्रतिशत घटेको छ ।

    मीन भाम
    हामीले प्रोजेक्ट सुरु गर्नै लागेका थियौं । त्यो चाहिँ घाटा हो । तर, व्यक्तिगतरुपमा मलाई फाइदा पुग्यो । स्क्रिप्टमा मैले फेरि वर्कआउट गर्न पाएँ । मेरो फिल्मको लगानीकर्ता सुरुमा जसरी खोज्नुपर्ने दबाब थियो । लकडाउनमा टाइम लिएर मजाले खोज्न पाएँ । मलाई नीजिरुपमा फाइदा पुग्यो तर, समग्रमा उद्योगलाई धेरै पछाडि धकेल्दियो । पहिले घुम्न छुटाएका हिमालका सबै डाँडाहरु घुम्न पाएँ । नौ चोटी मनाङ, हुम्ला, डोल्पा घुम्न पाएँ ।

    भाष्कर ढुंगाना
    हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेर हेर्ने हो भने फिल्म जगतमा भएको पात्र र साथीभाइमा हामी यति धेरै कनेक्टेड रैछौं भन्ने सोच पलायो । नेपाली फिल्मका निर्माताले पनि के कुरा महसुस गरे भने कोरोनाले सबै कुरालाई छ्याङ्ग बनाइदिएको छ । हिन्दी फिल्म आएन भने पनि त डुब्ने रैछ भन्ने कुरा । बजार कसरी चलेको छ भन्ने कुरालाई प्रष्ट बनाइदिएको छ । यो एउटा सिल्भर लाइनिङ हो । हामीले यसलाई अवसरको रुपमा परिणत गर्छौं कि गर्दैैनौं भन्ने कुरामा प्रश्न छ ।

    प्रियंका कार्की
    सबैकुरा सामान्य हुन थालिसक्या छ तर हाम्रो फिल्म उद्योगको हल संचालन एवं फिल्म छायांकन हुने कुरामा समय लाग्छ । यो कुरामा धेरैजनालाई आर्थिकरुपमा क्षति पुगेको छ । सामाजिक संजालमा आधारित डिजिटल प्लेटफर्मलाई प्रयोग गर्न सकियो भने हामीले काम गर्न सक्छौं । लकडाउन खुलिसकेपछि मैले एउटा कथा लेखेँ । सानो कथा, सानो क्रिउ र धेरै ट्राभल गर्न नपर्ने गरि ४५ मिनेटको छोटो फिल्म सुट पनि गरेँ । लेख्नलाई त आठ महिनै थियो हामीसँग । अर्को एउटा फिचर लेङ्थ फिल्ममा पनि लेख्न थालेँ ।

    डिजिटल प्लेटफर्मलाई पनि मैले एक्सप्लोर गरेँ । गतवर्ष डिजिटल प्लेटफर्मको प्रयोगबारे प्रयोगमूलक सिरिजमा काम गरेको थिएँ । त्यसलाई पनि अगाडि बढाएँ । आफूलाई व्यस्त राख्ने प्रयास गरेँ । सबैको लागि अनुत्पादक वर्ष बन्यो तर, आफ्नै सीमित स्रोधसाधनलाई प्रयोग गरेर काम गर्न सकिन्छ भन्ने चाहिँ लाग्यो । खाली चाहिँ बसिन न । केही काम गरेँ ।

    मीन भाम
    कोभिड नभएको भए हामीले अर्को कुनै छलाङ मार्ने कुरामा म चाहिँ विश्वास गर्दिन । यसले गर्दा धेरै चीजलाई ब्रेक त ग¥यो । कोभिड नआउँदा पनि ९५ प्रतिशत सिनेमा त असफल नै हुन्थे बिजनेसको हिसाबले । त्यो राम्रो थियो र अब चौपट भयो भन्ने पनि हैन । एस्थेटिक र विश्वमा बजारमा हामी कहाँ थियौं भन्ने कुरा त हामी एकदमै फेलियर थियौं । हामी स्वीच भएर अर्को फड्को मार्ने यो मौका हुन सक्छ । दक्षिण कोरिया, ताइवान र जापान गृहयुद्धले ध्वस्त भैसकेपछि त्यहाँका फिल्मले जसरी छलाङ मारे र प्यार्टन, बजेट, स्टोरी टेलिङ र प्यार्टनमै चेन्ज भयो । यो किसिमले हेर्दा नेपाली फिल्म उद्योगका लागि उत्तम मौका पनि हुनसक्छ ।

    नेपाली फिल्मको व्यापार हेर्दा सिनेमा उद्योगका इन्भेस्टरले पूर्णरुपमा लगानी नगरेको व्यापारको रुपमा हेर्छु म चाहिँ । कहिले होटेल व्यवसायीले सिनेमा निर्माण गरिदिनुपर्ने । कहिले म्यानपावरका मालिकले फिल्ममा पैसा हाल्दिनुपर्ने । इन्डष्ट्रिभित्रै लगानी नभएको उद्योग हो हाम्रो । यो हाम्रा लागि गतिलो मौका हो कि पूर्णरुपमा इन्डिपेन्डेन्ट हुने उद्योगको रुपमा विकसित हुने मौका हो । होटल खुलाउनको लागि सिनेमाको मान्छे गएर लगानी गर्ने भन्ने होइन । हाम्रो व्यापार चाहिँ पूर्णरुपमा विपरित दिशामा छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर चाहिँ फिल्म उद्योगमा पर्छ । टेक्निसियन जसले यो समयलाई सदुपयोग गर्न पाउनु भएन, उहाँहरुलाई अबको समय झन् कठिन हो । लगानी र व्यवसाय एउटा कुरा हो । अन्तरिकरुपमा उद्योगभित्र भएका मान्छेको पलायन डरलाग्दो कुरा हो । लेखक, निर्देशक र अभिनेतालाई त्यति गहिरोरुपमा असर गरेको छ जस्तो लाग्दैन । एस्थेटिकरुपमा फड्को मार्ने मौका हुनसक्छ ।

    भाष्कर ढुंगाना
    हामी नेपालीहरु फड्को मार्ने, छलाङ मार्ने भन्ने कुरा गर्छौैं । नेताहरुले पनि आशा ठूलो देखाइदिनुहुन्छ । हामीले राजनीतिक बाहेक केही पनि छलाङ मारेका छैनौं । फिल्म उद्योगमा विकास भएको छ हेर्दा, म बीस वर्ष अगाडि आउँदा एउटा नेपाली फिल्मले ३० देखि ४० लाख ग्रसको कूल आम्दानी गथ्र्यो । आजको दिनमा बीस करोडभन्दा बढी गर्ने क्षमता छ । यसलाई छलाङ नै मान्नुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो कन्टेन्टको गुणस्तर सोचेजस्तो भएन होला तर, यो खासमा विकास नै हो । कोभिड नभएको भए हामी एउटा गतिमा गइसकेको हुन्थ्यौं । फिल्म मनोरञ्जन र कला पनि हो ।

    हल त एउटा माध्यम मात्र हो । हलमा मान्छे आउँदैन भन्छ तर सिनेमा अनुभव भनेको गृहयुद्ध र महामारी र प्रविधिको परिवर्तन गरेको फम्र्याट हो । यसलाई यत्तिकै एउटा महामारीले हल्लाउन सक्छ जस्तो लाग्दैन । सिनेमा मानवीय कनेक्सनको एउटा पुँजी हो । यसले तोड्न सक्दैन । ओटीटी प्लेटफर्म सिनेमाको प्रतिस्पर्धी पनि हो । ओटीटीले फिल्म हेर्ने संस्कृति पनि बढाइरहेको छ । विश्वव्यापी तथ्यांक हेर्दा पनि हन्ड्रेड विलियनले मात्र सिनेमा हेर्छ । प्रतिस्पर्धी हैन, एकअर्कोलाई सहयोग पनि गर्छन् ।

    मीन भाम
    ओटीटीले खासै परिवर्तन ल्याउँदैन । फिल्मका दर्शक बढाउने कुरा त फाइदैको कुरा हो । नेपालमा उपलब्ध नेपाली सिनेमाको कन्टेन्टले कति रिभेन्यु पाउँछ त्यो महत्वपूर्ण कुरा हो । हामीले जुन जुन अनलाइनमा सिनेमा राख्छौं, न कसैले पैसा तिरेर क्रेडिट कार्डबाट नेपाली सिनेमा हेर्छ भन्ने लाग्दैन । यसले दर्शक बढाउन मद्दत गर्छ राम्रै कुरा । अन्ततः यसले रिभेन्यु सिर्जना गर्छ वा गर्दैन, मुख्य कुरा त्यो हो । व्यक्तिगतरुपमा मेरो धेरै चासो केमा हो भने, हामीले कुनै ग्राहकलाई रेष्टुरेन्ट आउने बानी बसाल्यौं भने पनि भोलि उसले अनलाइन अर्डर गरेर खानसक्छ ।

    बिजनेस पर्सपेक्टिभबाट त्यो राम्रो कुरा हो तर ओटीटीको नाममा हामीले नेपाली सिनेमालाई सित्तैमा उपलब्ध गराउन थाल्यौं । यसको एउटा ठूलो क्षति भोलि दर्शक थिएटरमा नआउने पो हुन् कि भन्ने ठूलो डर हो । म के कुरामा सहमत छु भने, मेनस्ट्रिम फिल्मकै बुइ चढेर हामीले काम गर्ने हो । हामीले सिनेम्याटोग्राफर हलिउडबाट ल्याउन सकौंला, तर लाइटम्यान ल्याउन सक्दैनौं । मेनस्ट्रिम फिल्म सर्भाइभ भयो भनेमात्र हाम्रो पनि अस्तित्वको कुरा आउँछ ।

    भाष्कर ढुंगाना
    बौद्धिक सम्पत्ति अर्थात सिर्जनाको भ्यालु गर्ने कि नगर्ने ? यसका लागि पैसा तिर्ने कि नतिर्ने भन्ने सबैभन्दा ठूलो कुरा भएर आउँछ । हाम्रो समाजमा संगीतको लागि कसैले पैसा तिर्दैन, डाउनलोड गरेर पाइरेटेड रुपमा हेर्छ सुन्छ । टोरेन्टबाट डाउनलोड गर्ने बानी भएकाले युट्युवमा निःशुल्क हेर्छ । हाम्रो समाजले नै सिर्जनाको मूल्यलाई सम्मान गर्ने संस्कार सिकाउँदैन ।

    कला र अभिनय गर्ने कुराले राम्रो पैसा पाउनुपर्छ भन्ने कुरै सिकाएको छैन । डाक्टर इन्जिनियर भएपछि पैसा पाउनुपर्छ तर कलाकार भए पैसा पाउनुहुँदैन भन्ने कुरा छ । समाजको सोच नै बदलिनुपर्छ । हाम्रो जग नै गलत छ कि सिर्जनात्मक कुरालाई पाइरेट गर्नुपर्छ भन्ने सोच छ । हाम्रो राष्ट्रिय चरित्रको खाडल नै त्यहीँ छ । यसलाई पुर्नुपर्छ ।

    हामीले चोर्न दिएको भएर नै नेपाली फिल्म इन्डष्ट्रि बिग्रेको हो । बजारमा हलिउडको फिल्म ३० रुपैयाँमा पर्छ अनि म २०० रुपैयाँ तिरेर नेपाली फिल्म हेर्न जाने ? खासमा ३० रुपैयाँमा आउने फिल्म हैन, खासमा चोरेर त्यति पैसामा आएको हो नि त । विदेशीको क्षति हुन्छ, नेपालीको हुँदैन भनेर सरकार र हामीले चोर्न दियौं । यसै त हाम्रो कमजोर उत्पादन र महंगोमा बेच्नुपर्ने भएकाले समस्या भएको हो । धेरै कुराहरु बिग्रिएको छ । अहिले बनेको कुरालाई बिगार्ने चाहिँ नगरौं । त्यसलाई मात्र संरक्षण गरौं भन्ने हो ।

    मीन भाम
    मान्नूस या नमान्नूस, ज–जसलाई जे –जे आउँछ, त्यही रुपमा फिल्म उद्योग अगाडि बढ्छ । मेरो इच्छा चाहिँ क्राफ्टम्यानसिपमा हामीले मिहेनत गर्नुपर्छ । स्क्रिप्ट राइटर नभएकाले हामी आफैले लेख्नुपरेको छ । सिनेमाले साहित्य जोड्न चाहेन कि सकेन कि ? दुईटा फरक–फरक पाटोतर्फ उछिट्टयो । फिल्मभन्दा नाटकले नेपाली साहित्यलाई छिटो समात्यो ।

    त्यसको फाइदा पनि थिएटरले छिटो पायो । हामीले सिनेमा के को लागि बनाउने भन्ने प्रश्न छ । हामीले सिनेमा लिट्रेसीलाई पछ्याउने कि नाइँ ? लकडाउनले बढाइदिएको सबैभन्दा ठूलो चुनौति भनेको लकडाउनले धेरैजनाको भिजुअल लिट्रेसी धेरै बढाइदियो । मेरो आन्टीहरु जीवनमा इरानी फिल्म हेर्नुभएन, लकडाउनमा हेर्नुभयो । भिजुअल लिट्रेसी ह्वात्तै बढेको छ । यो फाइदा पनि हो र चुनौति पनि । प्राविधिकरुपमा त हामीले धेरै फड्को मारिसक्यौं ।

    भाष्कर ढुंगाना
    यो समस्या फिल्म उद्योगको मात्र हैन । साहित्यको समेत हो । जुनसुकै उद्योगको कुरा गर्दा पनि समस्या छ । हाम्रो समाजको मुख्य कुरा के हो भने, हामीले भ्यालुजलाई चेन्ज गर्नुपर्छ । चेन्ज गर्नुभनेको सहकार्य भन्ने हो । सहकार्य कसरी गर्ने ? ब्यापारमा पनि निर्माता, प्रदर्शक र वितरकले आफूलाई टापु मात्र नबनाएर पुल कसरी बनाउने भन्ने हो । हामी संघसंस्था बनाउन माहिर छौं । तर, लिडरसिपको जग नेपालीलाई विभाजन गर्ने भन्ने छ । अहिलेको लिडरसिप आफ्नो कुर्सी र पदमात्र स्थापित गर्न खोज्छ । सहकार्य र सहमति भन्ने छैन । मान्छेहरुले उद्योगलाई जोड्ने काम चाहिँ गरेको छैन । जबसम्म लिडरसिपमा जोड्ने मान्छेहरु आउँदैन, तबसम्म चुनौति रहिरहन्छन् ।

  • फिल्म ‘गणपति’ निर्माण घोषणा, मुकुन–मेनुकाले जोडी बाँध्ने

    फिल्म ‘गणपति’ निर्माण घोषणा, मुकुन–मेनुकाले जोडी बाँध्ने

    कोरोनाभाइरस महामारीकै बीच सोसल ड्रामा फिल्म ‘गणपति’ निर्माण घोषणा भएको छ । सरकारले फिल्म छायांकन फुकुवा गरे लगत्तै पहिलोपटक फिचर फिल्म निर्माण हुन लागेको हो ।

    मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले फिल्म बनाउने जानकारी दिए । मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्मलाई डेब्यु निर्देशक सविन अधिकारीले निर्देशन गर्ने छन् ।

    ‘भगवान र मान्छेबीचको फरक’ भन्ने बटमलाइनमा बन्ने फिल्ममा भुषालले मुख्य पात्रको भूमिका गर्नेछन् । ‘यो भूमिका मेरा लागि चुनौतिपूर्ण छ र यसका लागि मानसिकरुपमा पनि रेडी छु’ नेपाल प्रेससँगको प्रश्नमा उनले भने, ‘मेरो चरित्र एउटा वास्तविक घटनामा आधारित हुनेछ ।’

    नौ महिनापछि सरकारले फिल्म छायांकन खुला गरे लगत्तै परिस्थितीलाई सामान्य बनाउन आफूले फिल्म निर्माणमा अग्रसरता लिएको निर्माता लक्ष्मण थापाले बताए । ‘हल तत्कालै खुल्ला वा नखुल्ला तर, हामी फिल्मलाई राम्रोसँग बनाउने तयारीमा छौं’ उनले भने ।

    निर्देशक अधिकारीले लकडाउन कालखण्डमा दर्शकको फिल्म ज्ञानमा वृद्धि भएकाले सोही अपेक्षाअनुसारको फिल्म बनाउनुपर्ने चुनौति थपिएको बताए । ‘यो विशुद्ध नयाँ र वास्तविक कथा हो । राम्रो फिल्म बन्नेछ’ निर्देशक अधिकारीले भने, ‘दर्शकले हाम्रो कामलाई रुचाइदिनुहुन्छ भन्ने विश्वास छ ।’

    माघदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन मिति तय छैन । फिल्ममा सूर्यमाला शर्मा, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव बिएल र सुशिल पोखरेलको मुख्य भूमिका हुनेछ ।

    फिल्मको पटकथा स्वयम निर्देशक अधिकारीको हुनेछ । हरिबहादुर घलेको छायांकन, गोविन्द शाहीको वितरण, अनिश अधिकारीको संगीत हुनेछ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा फिल्म छायांकन हुने जानकारी गराइएको छ ।

    सरकारले छायांकन अनुमति दिएलगत्तै आगामी माघ र फागुनदेखि अन्य फिल्म पनि सुटिङमा जाने तयारीमा छन् ।

  • ‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन

    ‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन

    काठमाडौं । ‘मदन पुरस्कारको चर्चाअनुसार पुस्तकबाट तपाईंले कति अर्थ आर्जन गर्नुभयो ?’ आईएमई लिटरेचर फेस्टिभलको दोस्रो दिनको पहिलो सेसनमा २०७६ को मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सोधियो । प्रश्नकर्ता थिए, पत्रकार राजकुमार बानियाँ । यस वर्ष बेस्ट सेलरको रुपमा बिक्री भइरहेको पुस्तकका लेखकको रोयल्टीबारे आमपाठकलाई चासो थियो । तर, लेखकको जवाफ थियो– मैले किताब लेखेर पुरस्कार रकमबाहेक छापेबापतको एक छाक भात पनि खाएको छैन ।

    उनले भने, ‘अहिलेसम्म लेखेर कोही धनी त परै जाओस् बाँच्न पनि मुस्किल छ । म त स्थापित लेखक होइन । कसले पो किताब छाप्ला भनेर खोज्दै हिंड्ने मान्छे ।’

    संवादको अन्तिमतिर प्रस्तोताले राखेको जिज्ञासा मात्र थियो यो । ‘महारानीको राजनीति’ नाम दिएको सेसनमा महत्वपूर्ण कुरा अर्को पनि थियो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाश पोखराका बासिन्दा । पोखरामा निकै समयदेखि गुप्तवास बसेका उनलाई पोखराले नै चिन्दैनथ्यो । प्रस्तोता राजकुमार बानियाँले प्रश्न तेर्स्याए, ‘मदन पुरस्कार पाएपछि पोखरालाई सरप्राइज भयो होला नि ?’

    तर, चन्द्रप्रकाशको ठम्याइमा पोखरालाई हर्ष न विस्मात थियो । दुई चार ठाउँमा कार्यक्रम गरिए पनि अझै आफू पोखराको लागि गुमनाम रहेको उनले प्रष्ट पारे ।

    मदन पुरस्कारलाई ठूलो पुरस्कारको रुपमा लिइने नेपालमा चन्द्रप्रकाश अचम्मित छन् । ‘मलाई थाहा छैन, यो पुरस्कार मलाई किन दिइयो ?’ उनी भन्छन् ।

    उनी आफू लेखक हुँ भनेर पनि स्वीकार गरिहाल्दैनन् । फाट्टफुट्ट पढ्ने र लेख्ने पात्रको रुपमा आफूलाई चित्रण गर्छन् । यसो भनिरहनुमा उनीसँग तर्क छ । भन्छन्, ‘मान्छेलाई धेरै कुराले प्रेरित गर्न सक्छ । त्यसमध्ये पनि एउटा कुराले मान्छेलाई कुदाउँछ । त्यो हो रहर । रहरले मान्छेले लेख्न थाल्छ । त्यो रहर बानीमा परिणत हुन्छ । अर्कोचाहिं मान्छेले प्रशस्त अध्ययन गर्छ र अनुभव सँगाल्छ । त्यसको ज्ञानरुपी मस्तिष्कको सागर भरिन्छ । जब ज्ञानले निकास खोज्छ अनि लेखिन्छ ।’

    उनी आफूलाई दुवैको कित्तामा पार्दैनन् । पुरस्कार पाउँदा चन्द्रप्रकाश खुशी त भए । तर, उनको मत छ, ‘सम्मान पुरस्कार भनेको गौरव गर्ने कुरा हो गर्व गर्ने कुरा हैन ।’

    महारानीले निकै चर्चा र परिचर्चा बटुल्यो । हरेक दिनजसो समीक्षा समेत लेखिए । ‘महारानी’ लगत्तै उनको निबन्ध संग्रह प्रकाशित भयो, ‘भौंज्याहा’ । तर, त्यसको चर्चा कतै सुनिएन । प्रस्तोताको प्रश्न थियो, ‘पुरस्कार पाएपछि मात्र चर्चा गर्ने कस्तो मानसिकता हो नेपाली साहित्यको ?

    ‘भौंज्याहा’ प्रकाशित गर्ने बेलामा अनुकूलता मिलेन कि भन्ने चन्द्रप्रकाशको आशय थियो ।

    को हुन् महारानी ?

    चन्द्रप्रकाशले म्याग्दीको इतिहासमा हात हाले । बाइसे चौबिसे राज्यमध्येको एउटा राज्य हो पर्वत राज्य । चन्द्रप्रकाश भन्छन्, ‘कसैले नलेखेको सामग्री मसँग थिए । मसँग थुप्रै कथा छन् । त्यसलाई मैले समाजलाई सुनाउनुपर्छ भन्ने लाग्यो ।’

    त्यही कथा समाज र नयाँ पुस्तालाई भन्नका लागि नै चन्द्रप्रकाश आफूले उपन्यास लेखेको बताउँछन् । महारानीको रहस्यबारे उनले भने, ‘म्याग्दीमा चर्चित महारानीको पूजास्थल छ । त्यहाँ दिनहुँ मान्छेहरूको भीड लाग्छ । पूजास्थललाई धेरैले देवी ठान्छन् । तर, हैन । ती कुनै राजाको रानी थिइन् । त्यो जानकारी दिनको लागि उपन्यास लेखें ।’

    राजनीतिमा संन्यासपछि साहित्य

    २०५० सालमा चन्द्रप्रकाशलाई ब्रेन ट्युमर नभएको थियो भने उनी सक्रिय राजनीतिमै हुन्थे यतिबेला । सांसद समेत बनेका चन्द्रप्रकाशले राजनीति छाडेर साहित्यमा लागे । राजनीति छाडेकोमा चन्द्रप्रकाशलाई पछुतो छैन । उनी भन्छन्, ‘मलाई पश्चाताप छैन । बाँचिएको छ । अर्को क्षेत्रमा लागेर प्रतिष्ठा आर्जन गरिएको छ । मन्त्री भएको भए दुनियाँको सराप खाने न हो । मलाई अर्को बाटो हिंड्न परेकोमा खुसी छु ।’

    महारानीमाथि सिनेमा र टेलिसिरियल बनाउने प्रस्ताव चन्द्रप्रकाशलाई आइरहेका छन् । प्रस्तोताको प्रश्नलाई जोड्दै उनले भने, ‘सिनेमा बनाउने कि भन्नेबारे टुंगोमा पुगेको छैन । सायद राम्रो निर्माता पाएँ भने बनाउन दिन्छु होला ।’

  • अब कस्तो कथा भन्नुपर्छ ?

    अब कस्तो कथा भन्नुपर्छ ?

    साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरूले साहित्यको संवर्द्धनमा असर पार्छन् ।

    यो वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रिया यसको एक उदाहरण हो । अर्कोतिर साहित्यले अर्थशास्त्रलाई टेको दिन्छ । रूद्रराज पाण्डेको रूपमती उपन्यासमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे जान्न सकिन्छ भने बालकृष्ण समको मेरो कविताको आराधन पढ्दा राणाहरूले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुन्छ । सरदार भीमबहादुर पाँडेको त्यस बखतको नेपालले जुद्धशमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ । देवकोटाको मुनामदन र सीमापारिबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन् ।

    साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्छ। पुरानो युगको खाद्यान्न उपभोगको कुरा गरौं । नेपालको अर्थशास्त्र मात्रै पढ्ने हो भने खाद्यान्न उपभोगको तथ्यांक धेरै अघिसम्म जाँदैन । गरूडनारायण गोङ्गलले विसं १८४६ मा लेखेको सम्झना पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ । पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्ददासले गोर्खाली महाराजको ज्युनारको यसरी वर्णन गरेका छन्–

    नेपालको सिन्की लुटि मंरातको घिले भुटि

    पालपाको ल्याउ हिङ जिरो रि सिङ को ल्याउ पिरो !

    तनहुँको भातसित भिर्कोटको दालसित

    कन्चन कटौरा भरी स्वर्णका थलिया भरि

    अष्टदल चौकी बसी गंगाजल झारी भरि;

    पुरुव मुहुडा गरी

    महाराजको जिउनार बनाऊ है ।

    अर्थशास्त्र प्राय: ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आए जस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ । गोङ्गलले राजाको जीवनको लेखेको जस्तै अरु कसैले साधारण नेपालीको तत्कालीन भोजनबारे लेखिदिएको भए अन्य विस्तृत तथ्याङ्क नहुँदापनि अर्थशास्त्रीको ‘औसत’ नेपालीको जीवनस्तरसम्बन्धी जिज्ञासाको उत्तर मिल्थ्यो ।

    अब अर्काे उदाहरण हेरौं । आर्थिक नाकाबन्दीहरू हामीले नचाहँदा नचाहँदै हाम्रो जीवनको अभिन्न अनुभव भएका छन् । हामीलाई अहिले पनि नाकाबन्दीले के गर्छ भन्ने विस्तृत विवरण थाहा छैन । जतिखेर गोर्खा र काठमाडौंको लडाइँ भइरहेको थियो, त्यतिखेर, विशेषत: १८२० सालपछि काठमाडौंमा चरम आर्थिक नाकाबन्दी गरियो । मुख्यगरी नुन र कपासको नाकाबन्दीले काठमाडौंलाई समस्यामा पार्‍यो । विसं १८१२ मा जन्मेका उदयानन्द अर्ज्यालको वर्णन (जुन पछि पृथ्वीन्द्रोदय महाकाव्य भनेर प्रकाशित गरिएको छ)मा एक ठाउँमा जयप्रकाश मल्लले ललितपुरका प्रधानहरूलाई रिसाएर ‘तिमीहरू चोलो सिएर राजकोष भर्ने मान्छेले के गोर्खासँग लड्ने विदेशी सेना पाल्न सक्छौ’ भनेका छन् । कपडा बुन्ने पेसा ललितपुरका लागि त्यो बेला महत्त्वपूर्ण भएर त्यसो भनेका हुन् भने यो नाकाबन्दीले ललितपुरलाई गम्भीर प्रभाव पारेको हुँदो हो भन्ने अड्कल गर्न सकिन्छ । ललितपुरे राजा तेजनरसिंह मल्ल त गोर्खासँग नलडी भक्तपुरतिर भागेका थिए । यस्तै नुन नभएर पनि मानिसहरूले धेरै दु:ख पाएका थिए । कवि अज्र्यालले नाकाबन्दीले पारेको मुद्रास्फीतिलगायत प्रभावबारेमा यस्तो लेखेका छन्—

    चांगा च्यासिङ रुपैयाँ दश गनी त दिया थान दुवै मिल्छ जाँहा

    तेल घ्यु बेगर जोगी झांञी त प्रजा नङ्गी अंगी छ ताँहाँ

    सोहोरा ञिटमा छ मुख नुनकी सुख भोटिया बाज ताँहाँ

    पंछी नक्कलका प्रजा घरअघरै रोदनै भार माहा

    अर्थात् ‘१० रूपैयाँमा जम्मा दुई थान च्यासिङ कपडा मिल्छ । तेल, घिउ नभएर प्रजाहरू जोगी जस्तै धुस्रे भएका छन् । मान्छेहरू नुनको तलतल मेट्न इँटामा मुख लगाएर चाटिरहेका छन् । भोटिया बाज आउँदा चराहरू रोइकराइ गरे जस्तो घरघरै रोइकराइ छ ।’

    अर्ज्यालका अनुसार २५० वर्षअघि आर्थिक नाकाबन्दी हुँदा काठमाडौं यस्तो थियो !

     

    पुराना जमानाको म्याक्रोइकोनोमिक तथ्याङ्कहरूको अध्ययनमा प्राध्यापक एङ्गस म्याडिसनको निकै योगदान छ । उनका अनुसार संसारको अर्थतन्त्र समग्रमा सन् १००० देखि सन् २००० सम्म ३०० गुणा बढ्यो । मुख्यगरी यो वृद्धि सन् १८२० पछि भएको थियो । औसतमा एक विश्ववासीको कमाइ सन् १००० मा रू. १०० थियो भने सन् १८२० मा जम्मा १५० । हाम्रा पुर्खाहरूको कमाइ यो गतिमा पनि वृद्धि नभएको हुँदो हो । किनकि यो वृद्धि पनि धेरैजसो प्रमुख एसियाली र युरोपेली मुलुकमा भएको थियो । सन् १८२० तिरको अरु कुरा जान्न हाम्रो मुलुकमा अर्थशास्त्रका तथ्याङ्कहरू सङ्कलन गर्ने प्रचलन थिएन । नेपालमा त अझ राजाको सम्पत्ति गन्न हुँदैन भन्ने प्रचलन थियो ।

    सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको थियो । जर्मनीको मेन्ज सहरमा गुटेन्बर्गले बनाएको प्रिन्टिङ प्रेसको प्रमुख उद्देश्य धार्मिक किताब छाप्ने थियो । अमेरिकी अर्थशास्त्री ब्राड डेलोङका अनुसार जर्मनीमा त्यो बेला एउटा किताबको मूल्य एउटा बिएमडब्लू कारको जस्तो पथ्र्यो (जर्मन श्रमको मूल्यको हिसाब गरेर अहिले हेर्दा) । नयाँ प्रेस सुरूमा भगवान्, त्यसपछि ऐतिहासिक कथाका नायक, त्यसपछि अलौकिक र तिलस्मी चरित्रहरू छाप्नमा केन्द्रित भयो । सामाजिक यथार्थवादी धाराका साहित्यिक पुस्तक पछि आए । डिकेन्सले लन्डनको श्रमबजार र शोषणको यथार्थवादी चित्रणका कथा लेख्नु, जेन अस्टेनले प्राइड एन्ड प्रेजुडिस र एमिली ब्रोन्टीले वुदरिङ हाइट्समार्फत बेलायती गाउँका विषमताका कथा लेख्नुअघि नै रबिन्सन क्रुसो र गुलिभर ट्रावल्सले प्रिन्टिङ प्रेसको उपभोग सुरू गरेका थिए ।

    यसका पछाडि जनसाधारणका कथा छापाका अक्षरमा लेखिन योग्य छैनन् वा हुँदैनन् भन्ने विचार हुँदो हो । त्यसबाहेक लेखकहरू प्राय: पुरूष हुने भएकाले महिलाका कुराहरू लेखिएनन् । लेखे पनि महिलाको मनोविश्लेषण त्यसरी नै गरियो, जसरी पुरूषमनले महिलाले सोच्छन् भन्ने सोच्थ्यो । लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।

    नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरूको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।

    अर्थशास्त्रीहरूका लागि औसत जनताका दु:खकष्टको वर्णन राजामहाराजाको जत्तिकै महत्त्वपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युद्ध गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरू यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरू लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।

    पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरू, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पुर्‍याउँदा दु:खी भएका किसानहरू, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरूबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो । एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरू, युद्धले उठीबास लगाएका व्यक्तिहरू, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योद्धाहरू, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरू, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरू, वीर सेनापतिहरूले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरू, वीरहरूको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरू, युद्ध सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरू, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरूको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।

    लडाइँ शौर्यगाथा मात्र होइन, लडाइँपछि जनतालाई केही भएको थिएन, जे हुनु भइहाल्यो भन्ने जस्ता कुरा सही होइनन् । लडाइँ भनेको भयावह कुरा हो । यो कुरा अर्थशास्त्र र साहित्य दुवैमा आउन जरूरी छ । नेपालीहरूले धेरै लडाइँमा भाग लिएका थिए । कुनै हाम्रो आफ्नै मुलुकका लडाइँ थिए, कुनै अरुका लागि लडिएका । तर सबैको असर हाम्रा सर्वसाधारणलाई विभिन्न तरिकाले परेका थिए । लडाइँका आयामहरूलाई सबै आयामबाट हेरिनुपर्छ । गन विद द विन्डमा मार्गरेट मिचेलले लडाइँमा युवाहरू गएपछि घरमा बसेका महिलाहरूको दशाको कथा भने झैं हाम्रामा त्यसरी कथा भनिएनन् । केही अपवाद नभएका होइनन् । भाषावंशावलीमा पृथ्वीनारायण शाहले कब्जा गरेपछिको कान्तिपुरको वर्णन गर्दै भनिएको छ, ‘..येक नेवारका स्वास्नी अति राम्री थिइन्, गोर्षामहाराजबाट प्रवेश गर्‍या उप्रान्त डराई पैह्ले स्त्रीलाई मारी पछिबाट आफूले पनि ज्यान त्याग गर्‍यो ।’ लडाइँको विभीषिकाको वर्णन गर्दै सुन्दरानन्द बाँडाले आफ्नो त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन–

    ‘तहाँ रणभूमिमा श्येन भया, उलुक भया, काग भया, मसानकाग भया, ग्रिध्र भया,.. , स्याल भया, .. पशुजात पन्छीजातहरू शूरवीर सिपाहीका आलो मासु आलो रगत बोसो गिदी आन्त्रा भुँडीसमेत यथेष्ठ षान पाउँदा र्‍हीष्टपुष्टांग भयाका छन् ।’

    मोदीआइनमा महाभारत युद्ध नभइदेओस् भनेर प्रार्थना गरेर बसेका महिलाहरूको कथा छ, जो भगवान् कृष्णको युद्ध गराएरै छाड्ने प्रवृत्तिबाट रुष्ट छन् ।

    पृथ्वीनारायण शाह मर्दा नौ जना श्रीमती सती गएका थिए । उनकी कान्छी श्रीमतीको उमेर निकै कम हुँदो हो । यी सतीहरू मर्दाको स्थिति कहिल्यै सजिलो हुँदैनथ्यो । भक्तपुरका युवराज अच्युत सिंह मर्दा विष्णुमतीमा उनकी रानी सती गएको हेरेपछि गरूडनारायण गोङ्गल बेहोस भएका थिए । त्यसपछि रणजित मल्लले माया गर्दै भनेका थिए, ‘हेर ग‘ड, तँ यति कमजोर रोगी रहेछस्, कसरी मसँग काशी जालास् ? घरै फर्की ।’ त्यो बेलाको नेपालमा बाँच्न यसैले मुटु बलियो भएको हुनुपर्थ्यो ।

    पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि गोर्खामा युद्धको महिमा चर्को भएको हुनुपर्छ । नामहरूले कतिपय बेला त्यो युगको कथा बोलेका हुन्छन् । नामहरू हेर्दा कहिलेकाहीँ मानिसको परिवारको शिक्षाको स्तर पनि अड्कल गर्न सकिन्छ । जस्तो कसैका हजुरबुबाको नाम तपाईंले सोध्दा उसले कञ्चन भन्यो भने, रूपक भन्यो भने ती त्यो बेलाका तुलनात्मक रूपमा शिक्षित व्यक्तिका सन्तान रहेछन् भनेर अड्कल गर्न सकिन्छ । जेठो जन्मे कृष्ण, माहिलो जन्मे राम, साइँलो छोरो जन्मे हरि राख्ने व्यक्तिहरूले या नाम खोज्न धेरै मिहिनेत गरेका नहोलान् या अद्वितीय या आधुनिक नाम राख्ने शिक्षा नभएकाले त्यस्तो भएको हुँदो हो । आफ्ना छोराछोरीको नाम अरु कसैले नराखेको सुन्दर नाम राख्ने हुटहुटी थोरै व्यक्तिमा हुन्छ । झन् थोरै व्यक्तिले त्यसो गर्न सक्छन् । अर्कोतिर गाउँमा सबैभन्दा पीडित मानिसका छोराछोरीको नाम गोल्छे, पुड्के, दले, सन्ते, डल्ली भएको हुन सक्छ । पण्डितले पनि थोरै दक्षिणा बोकेर मन नलागीनलागी राखिदिएका नामहरू कहिलेकाहीँ सुन्दैमा चिन्न सकिन्छ ।

    नेपाल देश बनेपछि पनि लामो समयसम्म साहित्य फस्टाउन पाएको थिएन । राजाहरू प्रताप सिंह, रणबहादुर, गीर्वाणयुद्ध कोही पनि ४० वर्ष पनि बाँचेनन् । अर्कोतिर भक्तपुरका अन्तिम चार राजाहरू रणजित मल्ल (४८ वर्ष), भूपतीन्द्र मल्ल (२६ वर्ष), जितामित्र मल्ल (२३ वर्ष) र जगतप्रकाश मल्ल (२९ वर्ष)ले औसत ३१ वर्ष शासन गरेका थिए । ती कलामा पारङ्गत भएर निस्किए । कतिले आफ्नै नाममा किताब लेखे । आज पनि दरबार क्षेत्र हेर्ने हो भने नेपालका पहिलाका राजाहरू कसैको पनि दरबार क्षेत्र सुन्दरता र भव्यतामा भक्तपुरकोसँग तुलनायोग्य छैन । गोर्खाले भक्तपुर विसं १८२६ मा सर गर्दा रणजित मल्ल ७४ वर्षका थिए, त्यतिको पाको र धीर राजा शाहवंशले कहिल्यै दिन सकेन । धेरै कुरामा यसको असर देखियो । साहित्यलाई आडभरोसा दिनुपर्ने, विद्यालय खोल्नुपर्ने जस्ता विषयमा हाम्रा शासकको ध्यान जानै सकेन । ती न साहित्यका उत्पादक भए, न खरिदकर्ता ।

    लाग्छ, लडाइँका बेला बरू साहित्यभन्दा युद्धप्रेम र उन्माद बढी थियो । त्यस बेलाको नाम हेरौं— रणबहादुर शाह त छँदै थिए, उनका छोरा रणोद्योत शाह र अर्को राजा भएका छोरा गीर्वाणयुद्धविक्रम शाहको नाम पनि युद्धसँग सम्बन्धित थियो । अमरसिंह थापाका छोराहरूको नाम रणवीरसिंह, रणसुर सिंह, रणध्वज सिंह, रणभीम सिंह, रणजोर सिंह आदि थियो । तुलाराम पाँडेका छोराहरूको नाम रणजित र जगजित पाँडे राखे । अनि नातिहरूका नाम पनि जङ्गवीर, वीरभञ्जन, सिंह वीर, शमशेरबहादुर थियो । दामोदर पाँडेका छोराहरूको नाम रणजङ्ग, रणदल, रणकेशर, रणबम आदि थियो । रामकृष्ण कुँवरका छोरा रणजित कुँवर थिए । जसवन्त भण्डारीका खलकमा पनि रणसुर भण्डारी, रणदेव भण्डारी थियो । शिवराम बस्न्यातका खलकमा झन् नहुने कुरै भएन । यिनका नातिहरूको नाम रणवीर सिंह, रणदीप सिंह, रणधीर सिंह थियो । भीमसेन थापाका भाइ नयनसिंह थापाका छोरा माथवरसिंह र नाति रणउज्वल थापा थियो । जङ्गबहादुरभन्दा अघिका प्रधानमन्त्री पनि राजखलकका चौतरिया फत्तेजङ्ग शाह थिए । यी नामले त्यो युगको जेटगेस्ट बुझ्न हामीलाई सहयोग गर्छ । साहित्य त्यस बेला सम्भवत: टाढाको कुरो थियो । नयाँ गोर्खाली विजेताहरू सामूहिक रूपमै नयाँ नाम खोज्ने र अद्वितीय नाम राख्ने हुटहुटी भएका शिक्षित व्यक्ति थिएनन् ।

    पोखराका धर्मराज थापाले लोकगीतहरू सङ्कलनका साथै मेरो गृहजिल्ला चितवन पुगेर त्यहाँको बारेमा चितवन दर्पण भन्ने पुस्तक नै लेख्नुभएको छ, जहाँ भर्खर बस्ती बसाइएको चितवनका निकै कथा छन् । त्यो गुन केही भए पनि तिर्न मैले कास्कीका केही कथा कास्केली वृद्धहरूसँग सुन्ने कोसिस गरेको थिएँ । तीमध्ये यहाँ एकदुई राख्न चाहन्छु । तिनले एक सय वर्षअघिको, डेढ सय वर्षअघिको कास्कीको परिवेश कस्तो हुँदो हो भन्ने कुराको उत्तरमा मलाई भनेका थिए–

    धेरै दु:ख थियो । … त्यसबेला मान्छेहरू ५५/६० वर्षमा मर्थे । ६० वर्षमा मर्दा त ओहो उमेर भएर गएछन् भन्ने हुन्थ्यो । लेकमा भन्दा तल बेसीमा बस्ने मान्छे चाँडै मर्थे । किरिया बस्नेहरू सानासाना बालख हुन्थे ।… रोग सबैतिर थियो । भुर्जुङ्खोलाका सुब्बाबाहेक सबै गाँडा थिए । घाचोक, काउँमान, लाचोकमा धेरै गाँडा र बोली बिग्रेका थिए; भिजुकीमा गाँडा थिएनन् । तोल्कामा थिए । सिसुवा, खुदीतिर विधवा बढी थिए । एक जना दिदीलाई सिसुवातिर बिहे गरेर नदिनू भन्दाभन्दै दिइयो, बिहे गरेको २७ दिनमा विधवा भइन् । पोखरामा नै औल लाग्छ भनेर मानिस बास बस्दैनथे । धिताल बाँस्कोटमा भने लाटा जम्मा दुई जना थिए ।

    मलाई लाग्छ, कास्कीकी गीतकार तथा गायिका हरिदेवी कोइरालाका कलामा अन्याय, लाहुरेका पीडा र नारीका दु:ख प्रतिबिम्बित हुनु कुनै संयोग होइन । यो स्थिति कास्कीको मात्र होइन, यो त्यो युगको देशभरिको स्थिति थियो । चाँडैचाँडै मान्छे मर्ने त्यो जुगमा आफ्ना साना छोराछोरीको भविष्यको चिन्ताले मानिसलाई सताउँथ्यो ।

    नेपाली साहित्यमा त्यसरी छटपटाएका आमाहरूको दु:ख शब्द बनेर पोखिएका विभिन्न उदाहरण पाइन्छन् । शङ्कर लामिछानेले देउताको काममा आमाबारे लेखेका छन्–

    … (उनी) क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन्, एक मिडल स्कुलमा । पढाएर आउने पैसाबाट आफू र छोराको खाना, कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो छल सम्पत्ति एकैपटक स्वाहा हुँदा.. आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेका बेला पाँच वर्षको छोरो यो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटीचिमोटी खाइरहेको हुँदो हो ।

    धनुषचन्द्र गोतामेको घामका पाइलाहरूमा रोगले थलिएकी आमा साना सन्तानको मोहले छटपटिएकी हुन्छिन् र बिरामी हुँदा अस्पतालमा भन्छिन्– मेरो पवनको बिचल्ली गराएर म के मर्थें, सबै थान्को लाएर आफ्नो सप्कोमा बाँधेको साँचो बुहारीलाई जिम्मा लाएर, घरबार सुम्पेर मात्र म सन्तोषसित जानेछु ।

    हरिवंश आचार्य पनि आफ्नो बालकाल सम्झिँदै चिना हराएको मान्छे (विसं २०६९)मा लेख्छन्–

    मेरी (बाउन्न वर्षकी) आमालाई हामी ससाना छोराछोरीलाई छाडेर मर्न मन थिएन होला ।… के गरेर तागत आउँछ, के गरेर बाँच्न सक्छु, जे गरेर भए पनि मेरा छोराछोरी टुहुरा नबनून् भनेर छटपटाउनुहुन्थ्यो रे आमा ।

    अर्थशास्त्रीका रूपमा हेर्दा एक परिवार टुक्रिनु, उमेरका महिलापुरूषहरू मर्नु, बच्चाहरू कुनै अभिभावकीय सुपरिवेक्षणबिना हुर्कनुको दीर्घकालीन असर हाम्रो मुलुकको अर्थतन्त्रलाई कसरी पर्‍यो होला भन्ने प्रश्न महत्त्वपूर्ण छ । हाम्रो समाजमा इतिहासका शिक्षा लिने वातावरण नै बनेन, घरघरभित्र हुनुपर्ने संस्थागत सम्झना (इन्स्टिच्युसनल मेमोरी)को मात्रा पनि कम भयो । यसले हरेक पुस्ताले महत्त्वपूर्ण सामाजिक ज्ञान आफैं सिक्नुपर्ने अवस्था आयो । युद्धको यो असर आज सत्य हो भने पहिला पनि सत्य थियो ।

    भीमसेन थापाको पालाको इतिहासलाई आर्थिक इतिहासकार लुडविग स्टिलरले साइलेन्ट क्राइजमा उल्लेख गरेका छन् । शासन त्यो बेला पनि जहानियाँ नै थियो, जनता करको उच्चदरले पिल्सिएका थिए । तर नेपाल राज्यका रूपमा बिस्तारै आकार लिँदै थियो । शासक र शासितबीच संवादको स्थिति भने थियो । जनता कर धेरै भयो भने सरकारसम्म आवाज पुर्‍याउँथे । सरकार सकेसम्म मध्यम विन्दु खोज्थ्यो । सुगौली सन्धिपछि मुलुक र सेनाको स्पिरिट क्षतविक्षत पक्कै भएको थियो । एकातिर करको दर उच्च थियो, अर्कातिर विसं १८९२ मा रङ्गनाथ पौड्याल आयोगले दिएको सुझावअनुसार राज्यको अनावश्यक खर्च घटाएर मितव्ययी बन्नुपर्ने देखिएको थियो । सेनाहरूमा भने तलब कम भएको, लडाइँ नभएर काम नभएकोमा असन्तुष्टि थियो । महेशचन्द्र रेग्मीका अनुसार मान्छेहरू उच्चदरको मालपोतले धेरै पिल्सिएका थिए । कसलाई कति कर लगाउने केही निश्चित थिएन । तिरो तिरिरहेका चुनी किसानको अधिकार केही हदसम्म सुरक्षित थियो । तर बिर्ता वा जागिरमा बसेका किसानको अधिकार सुरक्षित थिएन ।

    भीमसेन युगको महत्त्वपूर्ण घटनामध्ये एक बासट्ठीहरण थियो, जसमा धेरै मठन्दिर, गुम्बा, ब्राह्मणका बिर्ता हरण गरिएका थिए । रणबहादुर शाहले तिरहुते ब्राह्मणकी विधवा छोरी बिहे गरेर राज्यको उत्तराधिकारको समेत नियम फेरेको धेरै उच्च जातका जनतालाई चित्त बुझेको थिएन । उनलाई चाहिँ ब्राह्मणले आफ्ना कुरा मानेनन् भन्ने थियो । त्यसैको झोक उनले विसं १८६२ मा बासट्ठीहरणमार्फत फेरेका थिए । त्यसको असर दूरगामी भएको थियो । संयोग कस्तो भयो भने, पहिले वेगगतिमा पश्चिममा विजय हासिल गरिरहेका अमर सिंह थापा काश्मीरसम्म हान्ने सुरमा हिँडेका थिए । तर १८६३ सालदेखि भने उनी काँगडाको किल्लामा तीन वर्षसम्म त्यसै त्रिगर्त नरेश संसारचन्दलाई हराउन नसकी अड्किएर बसे । यिनले स्वाभाविक रूपले यसमा बासट्ठीहरणले गर्दा भएको पापको भूमिका देखे । लेखिका इन्दिरा जोशीले लेखेको अमरसिंह थापाको जीवनीमा प्रकाशित थापाले राजालाई लेखेको एक पत्रको व्यहोरा यस्तो छ—

    हजुरले ब्राह्मणहरूका बिर्ता हरण गर्‍याका बेलादेखि हजारौं ब्राह्मणहरू साह्रै फजिती पाई कङ्गाल भयाका छन् । काँगडा फत्य भएपछि ती बिर्ता फर्काइनेछन् भन्न्या कबुल गरी हजुरले मेरा र नैनसिंह थापाका नाममा लालमोहर लाग्याको हुकुम पठाइबक्स्याको थियो । त्यो काम हामीले पुर्‍याउन नसक्दा अहिले चारैतर्फ गोलमाल उठ्याको छ ।

    त्यस बेला खुम्बु क्षेत्रमा बासट्ठीहरणको विरोधमा विद्रोह भयो, मानिसहरू मारिए । ती विद्रोहका कथा भने साहित्यले उतारेन । त्यस बेला लेखिएका नेपाली पुस्तकहरूमा करले पिल्सिएका, दु:ख पाएकाहरूको कथा आउँदैन ।

    रणबहादुरको अस्थिर शासनबाहेक अन्य बेला भने हाम्रो शासन महाभारतका नीति र उपदेशलाई मानेर चल्न खोज्थ्यो ।

    महाभारतमा शान्तिपर्वमा भीष्मले युधिष्ठिरलाई भनेका थिए, ‘राज्यको ढुकुटी भरिराख्नुपर्छ । भरेपछि यसलाई नचाहिने खर्च रोकेर, मितव्ययी हुँदै, राम्रोसँग जतन गरेर बचाउनुपर्छ र सधैं बढाउने कोसिस गर्नुपर्छ । यो शासकले नित्य गर्नुपर्ने काम हो । राजस्व उठाउन नसक्ने राजालाई सबैले हेप्छन् (हीनकककशं हि राजानं अवजानन्ति मानवा:) । तर ‘न कोश: शुद्धशौचेन न नृशंसेन जायते, पदं मध्यम आस्थाय कोशसङ्ग्रहणं चरेत्’ अर्थात् धेरै उदार भएर पनि राजस्व सङ्कलन गर्न सकिँदैन, धेरै नृशंस भएर पनि हुँदैन, ठिक्क हुनुपर्छ ।’

    जङ्गबहादुरलाई १८६२ को बासट्ठीहरणले धेरै परि पारेको थियो । उनले हरणजग्गा फिर्ता दिने नियम पनि ल्याएका थिए । जङ्गबहादुरले शासनमा आउनेबित्तिकै तराईका कैयौं जग्गालाई जथाभावी बिर्ताका रूपमा दिन नपाइने थिति बाँधेका थिए । त्यसअघि राज्य कमजोर थियो, ऊ कैयौं ठाउँमा त आफैं कर उठाउन नसकेर पाँच साल ठेकी (पाँच सालका लागि कुनै क्षेत्रमा कर उठाउने ठेक्का) लगाउँथ्यो । त्यस्ता ठेक्का खानीमा पनि थियो । जङ्गवबादुर सत्तामा आउँदा राज्यकोष खासै बलियो पनि थिएन । राज्यको पूर्ण सैनिकीकरण पनि भएको थियो । सन १८५२/५३ को एक रेकर्डअनुसार सरकारका नाममा भएको ३८ लाख ११ हजार ८३० मुरी खेतमध्ये ३१ लाख ७८ हजार ११० मुरी सेनालाई र बाँकी अधिकांश राजदरबार र राणा परिवारलाई जान्थ्यो । यो अवस्थामा कला, साहित्यको संरक्षण र प्रवर्द्धन कल्पनाबाहिरको विषय थियो ।

    सरकारका तमसुक, सरकारले लेखेका चिठी र सरकारमा गरिएका हारगुहारका निवेदन पढेर अर्थशास्त्रीहरूले त्यस बेलाको उच्च कर र साधारण राज्यव्यवस्थाका असरबारे प्रकाश परेका छन् । महेशचन्द्र रेग्मीका अनुसार विसं १८९० मा भीमसेन थापाको शासनको अन्त्यतिर सल्यानमा कर उठाउने धोक्रेहरूले समय नदिई कडाइ गरी पैसा उठाउन खोज्दा धेरै किसान जमिन छाडेर भागेका थिए । योगी नरहरिनाथको एक खोजअनुसार त्यसको १३ वर्षपछि जुम्लामा विसं १९०३ वैशाखमा ज्युना चँदारालाई रू. २० मा कमारी बनाएर खरिद गरिएको थियो, जुन त्यस बेला साढे १० मुरी चामलको मूल्य थियो । बाउले लिएको छ रूपैयाँ २० वर्षसम्म नतिरेकाले जङ्गबहादुरको पालमा विसं १८२२ मा डोटीमा एक महिलालाई बलात् कमारी बनाइएको थियो । यी कथा हाम्रो त्यो बेलाको साहित्यले भने छुटाएको छ ।

    विसं १९२० देखि १९२४ सम्म तराई र त्योसँग जोडिएका भारतका जिल्लामा गएको भोकमरीको असर त झन् भयावह थियो । धेरै बाबुआमाले आफ्नै छोराछोरी बेचेका थिए । यसरी बेचिएका केही दास पछि जङ्गबहादुरको पहलमा फिर्ता पनि गरिएको थियो । र स्वतन्त्र मानिसका सन्तानलाई कमाराकमारी बनाउन नपाइने नियम पनि सुरू गरिएको थियो । तर ती दिन भयावह थिए, मानिसको सम्पत्तिको संरक्षण र मानिसको भविष्यप्रतिको आशावादिताका दृष्टिले पनि । राजामहाराजालाई समेत आफ्ना सन्तानको भविष्य कस्तो हुन्छ भन्नेमा सुनिश्चितता थिएन । माथवरसिंह आफूलाई गोली लागेपछि आफ्नी आमा र सन्तानलाई केही नगरिओस् भनेर भिक्षा माग्दै राजाको अगाडि रोएका थिए, जङ्गबहादुरका सन्तान या मारिएका थिए या देशनिकालामा परेका थिए । राजाकै सन्तानको समेत भर थिएन । देशनिकालामा परेका चौतरिया र सानामै आँखा फुटाइएका राजकुमारहरू यत्रतत्र थिए । राजा पृथ्वीनारायण शाहकै आफ्नै छोरा बहादुर शाह तातो तेलमा डुबाएर मारिएका थिए, नाति रणबहादुरको हत्या भएको थियो, पनाति विदुर शाहीहरू सानैमा विष्णुमतीमा लगेर काटिएका थिए । हामीले बनाएको पद्धतिको सुरूवाती बेला कोही सुखी थिएन, कोही ढुक्क थिएन । यी कथा त्यो बेलाको हाम्रो साहित्यले छुटाएको छ ।

    १८०१ को नुवाकोट विजयलाई एकीकरणको युद्धको आधारवर्ष मान्ने हो भने सुगौली सन्धिको वर्ष अर्थात् विसं १८७३ सम्म ७२ वर्षसम्म गोर्खाली सेनाले निरन्तर लडेको थियो । १८७३ देखि भने शान्ति छाएको थियो । तत्कालीन रेजिडेन्ट ब्रायन हडसनका अनुसार नेपालको बाह्य व्यापार युद्धपछि निकै राम्रो भएको थियो । १० वर्षमा तीन गुणा बढेको थियो । त्यो शान्तिकालको साहित्य भने अझै जनताको तहमा उत्रिको थिएन । नेपाली भाषामा लेखिएका किताब त्यो बेलासम्म रामायण, महाभारत, स्वस्थानी, ऐतिहासिक चरित्रमा आधारित तिलस्मी खालकै थिए । भानुदत्तको हितोपदेश मित्रलाभ (विसं १८३३), शक्तिबल्लभ अज्र्यालको हास्यकदम्ब (विसं १८५५), गौरेश्वर शर्माको बेताल पञ्चविंशती (विसं १८६६) विष्णुपद पाध्याको लालहीराको कथा (विसं १८८९) यसका केही उदाहरण हुन् । विसं १८७८ मा नेपालीमा अनूदित स्वस्थानी व्रतकथा भने अत्यन्त लोकप्रिय हुन पुग्यो । पृथ्वीनारायण शाहको उपदेश भनिएको दिव्योपदेशको रचना सम्भवत: भने १८३१ मा नभई निकै पछि भएको हुँदो हो । दिव्योपदेशमा अर्थशास्त्रसँग सम्बन्धी विभिन्न कुरा पनि छन् ।

    नेपालमा विसं १९०८ मा गिद्धे प्रेस, त्यसको केही वर्षपछि मनोरन्जन छापाखाना सुरू भए । विसं १९५० मा मोतीराम भट्ट र पण्डित कृष्णदेवको सयुंक्त स्वामित्वको निजी क्षेत्रको पहिलो पशुपत प्रेस ठहिटीमा खुल्यो । सुरूका सरकारी प्रेसले प्रकाशन क्षेत्रमा कुनै ठूला क्रान्ति ल्याउन सकेनन् । पशुपत प्रेसको भने विभिन्न तरिकाले नेपालमा प्रभाव भयो । पहिलो पत्रिका सुधासागर पनि यही प्रेसबाट विसं १९५५ साउनमा निस्कियो । विसं १९६० तिर सरकारी गोरखापत्र प्रेसको स्वामित्व केही समयलाई पाएका जयपृथ्वीबहादुर सिंहले सम्भवत: हाम्रो साहित्यको स्तर माथि लैजाने प्रयास गरेका हुँदा हुन् । तर धेरै सफल भने भएनन् । नेपाली साहित्यमा विविधता ल्याउन नेपाली भाषा प्रकाशिनी समिति नै चाहियो, जसमा बस्दाका अनुभवहरू बालकृष्ण समले आफ्नो जीवनी मेरो कविताको आराधानमा उल्लेख गरेका छन् ।

    बढ्दै गएको शिक्षा र लामो समयको शान्तिले विस्तारै भने पनि धनी हुँदै निस्कँदै गरेको एक मध्यमवर्गीय तप्काले साहित्यको सुरूको विकासलाई निर्देशित गर्‍यो । र राणाशासनमा आएर केही यथार्थवादी लेखाइका राम्रा नमुना निस्कन थाले । पहलमान सिंह स्वाँरको एकलाख रुपैयाँको चोरी (१९७४), पुष्करशमशेरको कथा परिबन्द आदी यसका उदाहरण हुन् (पुष्करशमशेरको अर्को कथा स्वार्थत्याग पनि न्याय निरूपण गर्ने राणाकालीन शैली र त्यससँग व्यक्तिगत यौन वुभुक्षाको सम्बन्धबारे केन्द्रित छ) । राणाकालीन न्याय निरूपणको अर्को राम्रो उदाहरण हेनरी ओलफिल्डको तत्कालीन राणाकालीन नेपालमा शिरच्छेदन गरेर मृत्युदण्ड दिदाँको वर्णन र प्रकाश वस्ती सम्पादित कानुनसम्बन्धी केही ऐतिहासिक अभिलेखहरूमा उल्लिखित १९३८ सालको पर्वपछिको मृत्युदण्ड पाएका व्यक्तिहरूको काटिन लैजाँदाको मनोदशा तथा संवादले पनि दिन्छन् । विसं १९७४ तिर योगमायाले लेखेका भनिएका भावनाहरू पछि प्रकाशित भए, जसमा योगमाया वर्गीय विभेद तथा शोषणविरूद्ध प्रखर वक्ताका रूपमा देखापर्छिन् । अरु विद्रोही आवाजहरू तत्कालीन युग सुहाउँदो रूपमा प्रकाशित भए । सुब्बा कृष्णलाल अधिकारीले विसं १९७७ मा विम्बहरू प्रयोग गरेर लेखेको भनिएको मकैको खेती यसको एक उदाहरण हो ।

    अर्थशास्त्रीहरूको मतमा कानुनी व्यवस्था कमजोर हुँदा, गुणदोष छुट्टिन समय लाग्दा वा गलत रूपमा छुट्टिँदा अर्थतन्त्र स्वभावैले कमजोर हुन्छ । र लगानीमा व्यक्तिहरूको मन जाँदैन । जङ्गबहादुरले जग्गामा खेती गरेर तिरो तिरिरहेका व्यक्तिको जग्गा अरुलाई मोही लगाउन नपाउने व्यवस्था ल्याएसँगै नेपालमा जग्गामाथि सम्पत्तिको हक स्थापित हुन थाल्यो भने चन्द्रशमशेरले विसं १९७९ वैशाख २ बाट जग्गा दर्ता प्रक्रिया व्यवस्थित बनाएर मालपोत अफिसहरू खुलेसँगै यो झन बलियो हुन थाल्यो । उद्योगमा लगानीका धेरैजसो कुराहरू जुद्धशमशेरको पालामा व्यवस्थित गर्न सुरू गरिए । सरकारी पहलमा बजारहरू (अर्थात् गोलाहरू) खोल्ने काम अलि पुरानै भए पनि सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण सहर विराटनगर, नेपालगन्ज, वीरगन्ज खोल्ने, भित्री पहाडका धरानलाई सहरको रूप दिने काम वीरशमशेर र चन्द्रशमशेरको पालामा सीमामा भारतीय रेलको आगमनसँगै भए । भर्खरै बसेको सहर वीरगन्जमा रेल आउँदाको कथा सजीव रूपमा साहित्यमा उतार्ने काम चाहिँ धनुषचन्द्र गोतामेको विसं २०३५ मा घामका पाइलाहरूमार्फत भयो । अरु सहरका सुरूवाती दिनका कथा नकोरिएकाले ती विस्मृतिको गर्भमा रहे ।

    नेपालमा चाहे जस्ता उपभोगका, आयका, बसाइँसराइका तथ्याङ्कहरू २००७ सालको क्रान्तिपछि पनि उत्पन्न भएनन् । २००८ सालमा हामीले मोहीको लागत लिने भनेर सर्भे सुरू गरेका थियौं, सेन्सस पनि २०११ देखि गरेका छौं । तर यी विस्तृत नभएको र हाम्रो तथ्याङ्कशास्त्रसम्बन्धी ज्ञान पनि सीमित भएकाले हाम्रा रेकर्डहरू २००७ सालपछि पनि ठीकै मात्र रहे । तर हाम्रो साहित्य भने सुरूवाती दिनमा ह्वात्तै बढ्यो । कलेज पढ्ने विद्यार्थीको पढ्ने सामग्रीको भोक बढेर पनि होला, स्वतन्त्रता भर्खर उपभोग गर्न थालेर पनि होला, नेपालीहरू हातिमताइका कथा, गुलबकावलीका कथा, मधुमालतीका कथा, पिनासका कथा, लालहीराका कथाबाट आफ्ना कथा लेख्ने स्थितिमा पुगे । सामाजिक यथार्थमा आधारित ती कथाले हामीलाई काठमाडौं र मुलुकका ती कुराहरूबारे बताउँछन्, जुन हाम्रो सीमित तथ्याङ्कमा आधारित अर्थशास्त्रले बताउन सक्दैन । उदाहरणका लागि २०११ सालमा हृदयचन्द्रसिंह प्रधानले नारीवादी स्वास्नीमान्छे लेखे; शङ्कर कोइरालाले आञ्चलिक उपन्यास खैरेनीघाट २०१८ सालमा लेखे । भीमनिधि तिवारीले २०२७ सालमा प्रगतिशील उपन्यास इन्साफ लेखे । र रमेश विकलले प्रगतिशील आञ्चलिक अविरल बग्दछ इन्द्रावती“ २०४० सालमा लेखे । यी सबै उपन्यासले नयाँ गोरेटो कोरे र समाजको नयाँ तस्बिर देखाए ।

    तर पनि साहित्यले धेरै क्षेत्र छुन सकेको थिएन । संसारसँग जोडिँदै गरेको नेपालको सुरूवाती दिनका कथा पनि साहित्यमा राम्रोसँग लेखिएका छैनन् । राणाकालसम्म विदेशीका लागि नेपाल बन्द थियो । तर नेपालीहरूलाई विदेश जान खुला थियो । र नेपालीहरू विश्वविजेता जस्ता ब्रिटिसको पछि लागेर संसारका चारै कुना पुगेका थिए । घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली भन्ने गीत गाउने धर्मराज थापाले टिपेको कथा यस्तै व्यक्तिको थियो । तर ती रोएर मात्र बसेका थिए कि हाम्रो देश किन अघि बढेन भन्ने सोचेर पनि बसेका थिए होलान् ? तिनले आफ्नो मुलुकको शोषणदमनलाई नबुझेका थिए होलान् भन्न पनि गाह्रो छ । आजका एनआरएन जस्तै त्यस बेलाका एनआरएन पनि नेपाल फर्केर देशलाई सुधार्छु भन्ने सोचाइ त राख्थे होलान् । वास्तवमा धेरै ठाउँमा भर्खर स्कुलहरू खुल्दा शिक्षक लाहुरेहरू नै थिए ।

    हामीले थाहा नपाएको प्रश्न अहिले के हो भने, कसरी नेपालीहरूको विदेश जाने क्रमले नेपाली समाजमा परिवर्तन ल्यायो ? बाहिरबाट आएको धनले, रिटायर्डहरू र विधवाहरूले पाएको पेन्सनले, देखेर आएका नयाँ प्रविधिले कसरी गाउँहरूलाई फरक पारे ? रेडियो घन्काउँदै, घडी लगाउँदै, रूमाल भिर्दै, चुरोट पिउँदै, तास खेल्दै आउने लाहुरेले नेपालको परम्परागत आर्थिक जीवनलाई कसरी फरक पारे ? के गरिब जनताको वित्तीय पहुँचको स्थिति राम्रो हुँदै गयो ? के लाहुर जाने वर्गले धनमा लाहुर नजाने वर्गलाई जित्यो ? राईलिम्बूहरू विसं १९५० तिर मात्र ब्रिटिस आर्मीमा जान सुरू गरेको परिप्रेक्ष्यमा के चौबिसे राज्यहरू पूर्वी राज्यहरूभन्दा आर्थिक रूपले, सामाजिक रूपले केही अघि हुनु लाहुरको उपज थियो ? यी प्रश्नको उत्तर न अर्थशास्त्र, न साहित्यमा भेटिन्छ ।

    विसं १९८६ मा अमेरिका र पश्चिमी विश्वमा ठूलो आर्थिक मन्दी भयो । त्यहाँका उत्पादित सामानलाई नेपाल आउन सजिलो बनाइदिएर भीमशमशेरले मुलुकलाई बाँकी विश्वसँग जोडिदिएका थिए । जुद्धशमशेरले पनि घरमा लगाउने कर्कटपाता ल्याउन फुकुवा गरिदिए । त्यसपछि नेपाली घरमा छाना पहिले जस्ता रहेनन् । नेपालीको त्यो बेलाको आयातित सामानको उपभोग गर्ने संस्कृतिको समाजमा असर कस्तो पर्‍यो ? साहित्यमा यसका केही वर्णन पाइन्छन् । विसं १९९२ मा प्रकाशित रूपमतीमा पात्र रविलालको पहिरन वर्णन गर्दै रूद्रराज पाण्डे लेख्छन्– रविलाललाई कार्चोपी टोपी, चेन र कस्मिराको कोट, चुनिचुनाउ परेको खुट्टामा टम्म टाँसिने नैनसुतको सुरूवाल र रेसमी कमिज, नयाँनयाँ फेसनका जुत्ता, जापानी रेसमी मोजा, जेबमा बुट्टे रेसमी रूमाल, नारीमा स्विस वेस्टएन्ड वाच घडी इत्यादिले सजिसजाउ भएर हिँड्नुपर्थ्यो ।

    २००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देशविदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो । काठमाडौंका मानिस गाडी चढेर भारत पुग्न सक्ने भए । राणाशासनमै लाहुरेका रूपमा देशविदेश चहारिसकेका नेपालीका बस्ती भारत, भुटान, बङ्गालादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुरसम्म भेटिने स्थिति भएको थियो । ती नयाँ विकासले ल्याएको परिवर्तनको आर्थिक रूपमा अझै राम्ररी र विस्तृत अध्ययन हुन सकेको छैन । तर साहित्यमा भने प्रतिबिम्बित भएको छ । सम्भवत: हास्यव्यङ्ग्यकार भैरव अर्यालले जय भुँडीमा प्रकाशित व्यङ्ग्यहरूमार्फत यी विकासलाई सबैभन्दा राम्रोसँग अमर बनाएका छन् । मान्छेहरू कुरै नबुझी लाहुर गएका छन् भन्ने तर्क उनको लाहुरेको यात्रासंस्मरणमा छ, जहाँ प्रमुख पात्र वीरबल अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटोघाटोको नक्सा झैं १० तिर टेढिएर लम्किन गएकोमा माफ माग्छ र ‘असारसाउनको माटो, बाइरोडको बाटो; ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न’ भएको यात्रा गर्दै रक्सौल पुग्छ । भैरव अर्यालको चन्द्रलोक कसको निबन्धमा त्यस बेलाको काठमाडौंका युवाहरूको विदेशमा भएका अन्तरिक्षमा को पहिला हुने प्रतिस्पर्धासम्बन्धी अवधारणा कस्तो थियो भन्ने झलक पनि मिल्छ ।

    विसं २००८ नेपालका लागि नयाँ थियो । त्यो वर्ष नेपाल सरकारले बजेट ल्यायो । मुलुकमा समृद्धि र गरिबी हटाउने दुई लक्ष्य सँगसँगै लगिनेछ भन्यो । २०१६ सालमा सरकारले केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्‍यो । यसले बिस्तारै अर्थशास्त्रीहरूलाई मुलुकको कथा भन्न सक्ने ठाउँमा ल्यायो । तर तथ्याङ्कहरू सधैं कम हुन्छन्, खोजेका सबै कथा पनि यिनले भन्दैनन् । विसं २०२० तिरको काठमाडौंको स्थिति तथ्याङ्कबाट आउने एक हुन्छ, निबन्धकार शङ्कर लामिछनेको कलमबाट आउने अर्को हुन्छ । लामिछाने विसं २०२५ मा लेखिएको गौथलीको गुँडमा काठमाडौं सहरमा चर्पी नभएको कुरालाई यसरी लेख्छन्—

    विष्णुमती नदीको काई लागेको बालुवामा मानिस दिसा गरिरहेछन् । नजिकनजिक भए पनि उनलाई लाज छैन ।… बिचरा जाऊन् पनि कहाँ? सरकारी दिसाखानाको हालत त्यही हो, १००० जनापिच्छे एउटा होला ।

    लामिछाने उनको एक पत्र सम्पादकलाई पढ्ने लेखकलाई २०१९ भदौको काठमाडौंको हालत यसरी बताउँछन्–

    पानी परिरहेछ, झमझम । भर्खरै राजदूतहरू र मम्त्रीहरूको मोटरको ताँती फर्क्यो– नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ।… सडकपारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लगौंटीमा अलमलिएको जुम्रा मारिरहेछ ।

    नेपाली साहित्यमा काठमाडौंका र दार्जीलिङका कथा धेरै लेखिए । दार्जीलिङको योगदान चर्चा गर्नु मेरो यो लेखको लक्ष्य होइन । तर त्यो सानो ठाउँले एक जमानामा पूरै नेपालीभाषीहरूको सांस्कृतिक शक्ति निर्धारण गथ्र्यो । नेपालगन्जका कथा सनत रेग्मी र पछि नयनराज पाण्डेले लेखे । कर्णालीका कथा बुद्धिसागरले लेखे । गौतमहरूले वीरगन्जका कथा लेखे । र पनि नेपाली साहित्यमा भन्न छुटेका आञ्चलिक कथाहरू भने धेरै छन् । २०११ सालको बाढीपछि धेरै पहाडियाहरूलाई बसाइएको चितवनको सुरूका दिनहरूबारे कथा लेखिएन । ती दिनबारे बुझ्न अहिले पनि बजेट वा पञ्चवर्षीय योजनाका पुराना रेकर्ड नै खोल्नुपर्छ । त्यस्तै मुलुकलाई सामन्ती युगबाट अर्धसामन्ती युगमा ल्याउने २०१६ सालको बिर्ता उन्मूलन कार्यक्रम, २०२१ सालको भूमिसुधार कार्यक्रमका गाउँगाउँमा परेका असर पनि साहित्यमा राम्ररी आएका छैनन् । सयौं वर्ष चलेको ल्हासा व्यापार र ल्हासा जाने नेपालीका कथाहरू पनि केही संस्मरणमा बाहेक राम्रोसँग लेखिएका छैनन् । २०३० सालतिर बिस्तारै जुर्मुराउन थालेको नेपालको पर्यटनले काठमाडौंका अलावा पोखरा, चितवन, सोलुखुम्बु क्षेत्र, मुस्ताङ क्षेत्र र हालै लुम्बिनीलाई असर पारेको छ । ४० को दशकमा केही चलचित्रले र्‍याफ्टिङ व्यवसायका कथा लेखे, गाइड भएर काम गर्नेका कथाबाहेक अविस्मरणीय कृतिका रूपमा त्यहाँका आर्थिक परिवर्तन झल्किने गरी साहित्यिक अभिलेख अझै आएका छैनन् । अर्थशास्त्रीहरूको पनि ध्यान त्यतातिर सीमित रूपमा मात्र पुगेको छ ।

    महिला साहित्यकारहरूले सुरूमा बढी ध्यान दिएका बुहार्तन, प्रेमका मुद्दा र पछि केन्द्रित भएका इब्सेनको कठपुतलीको घरको नेपाली संस्करणका कथाहरूका अलावा बढ्दै गएको महिलाका आर्थिक भूमिकाबारे लेखेका छन् । विपन्न परिवारका दु:ख पाएका महिलाहरूका कथा धेरै पाइन्छन्, त्यसका अतिरिक्त प्रेमा शाहको पहेंलो गुलाफ, मञ्जु काँचुलीको वाकवाकीमा सम्पन्न परिवारका महिला पात्रहरूको झलक छ । स्व. अङ्गुरबाबा जोशीको अक्षर साधना र गोधुलीले एक महिला सफल पात्रको काठमाडौंमा आधारित कथा भन्छ । तर आजका महिलाहरूको अझै धेरै कथा नयाँ फ्रेमवर्कबाट लेखिन बाँकी छ ।

    जति धेरै आञ्चलिक कथा लेखिन्छन, जति धेरै विविध जातजातिका कथा लेखिन्छन्, जति धेरै हुर्कंदै गरेका व्यवसायीहरूका कथा लेखिन्छन्, जति कथा, उपन्यास, कविताका पात्रहरूमा विविधता आउँछन् र जति उनीहरूको आर्थिक अवस्थाको, सङ्घर्ष र सफलताबारे लेखिन्छन्, त्यति नै भविष्यका अर्थशास्त्रीहरूलाई समाज बुझ्न सहयोग हुनेछ ।

    त्यसो त सोची ल्याउँदा कहिलेकाहीँ अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैं सोचे जस्तो राम्रो हुँदैन । विश्वेश्वरप्रसाद कोइरालाको राजनीति मुलुकको अर्थनीतिको वरिपरि घुमेको पनि थियो । उनी बिर्ता उन्मूलनका लागि लडे र आफ्नो सरकार आउनेबित्तिकै त्यही गरे । उनको सामना भने पोएट (कवि) राजासँग भयो, जसले पछि उनलाई ‘पोएटिक जस्टिस’ दिए; सत्ताच्युत गरेर र अदालतको मुखै हेर्न नदिई आठ वर्षसम्म बन्दी बनाएर ।

    राजनीतिक परिवर्तन देखिने खालका हुन्छन् । तिनका विभिन्न कोणबाट चर्चापरिचर्चा पनि हुन्छन् । तर मुलुकमा राजनीतिकसँगै धेरै आर्थिक र सामाजिक परिवर्तन भएका हुन्छन् । तिनको सम्झना रहिरहोस् भनेर पनि केही यथार्थवादी साहित्यको जरूरत हुन्छ । एउटा फ्रेमवर्क र सिद्धान्तमा बाँधिएर उपलब्ध तथ्याङ्कहरूमा सीमित रहेर हेर्ने अर्थशास्त्रीका आँखाले यावत् मुलुकको विहङ्गम दृश्य देख्न सक्दैन, साहित्यले सक्छ । फ्रेन्च राज्यक्रान्तिबारे कार्लाइलले लेखे तर डिकेन्सको अ टेल अफ टु सिटिजले त्यसलाई राम्रोसँग बुझ्न सहायता गरेको छ ।

    नेपालमा आज पनि धेरै नयाँ आर्थिक घटना भइरहेका छन् । २०५० को निजीकरण र आर्थिक उदारीकरणले देशको जीवन फेरेको छ । धेरै मध्यमवर्गीय व्यक्तिहरू निस्केका छन् । तथ्याङ्कहरूले के पनि देखाएका छन् भने गाउँगाउँबाट मानिस सहरमा ओइरिएका छन् । हालैको श्रम शक्ति सर्वेक्षणमा प्रकाशित एक तथ्याङ्कअनुसार गाउँबाट सहरमा ६८ लाख ४२ हजार मानिस आएका थिए भने सहरबाट गाउँमा जम्मा ८४ हजार । गाउँका गाउँ रित्तिएका छन् । यसरी थातथलो छाडेका नेपालीको कथा अझै विभिन्न कोणबाट भनिनु छ ।

    एउटा कोणबाट मात्र कथा भन्दा त्यसको असर अर्कै पर्छ । तथ्याङ्कहरू, कथाहरू विभिन्न तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि नेपाली रिपोर्ट मात्र हेर्‍यौं भने हामी दिनका दिन यत्रा मानिस मरेर बाकसमा आइरहेका छन्; तैपनि किन नेपालीहरू विदेश गएका छन् भन्छौं । अर्थशास्त्री महेश्वर श्रेष्ठको एक अध्ययनअनुसार उनको अध्ययन समूहमा भएका विदेश गएका नेपाली दुई वर्षमा प्रतिएक हजार जनामा १.३ जना मरेका थिए भने यता देशभित्र सोही उमेरसमूहका नेपालीको मृत्युदर दुई वर्षमा प्रतिएक हजारमा ४.६ छ । अर्थात् विदेशमा काम गर्न जाने नेपालीको मृत्युदर नेपालमा बस्ने सोही उमेरसमूहका नेपालीको मृत्युदरभन्दा कम छ । यस तथ्याङ्कभित्र अरु उपकथा पनि छन् । अर्थशास्त्रभन्दा भित्र छिरेर, मिहीन तरिकाले समाजलाई केलाएका बसाइँ जस्ता विभिन्न समुदायका, विभिन्न भेगका कथा हामीले पढ्नै बाँकी छ ।

    यस्ता कथाको बजार होला/नहोला भन्ने प्रश्न पनि आउँछ । हालैका दिनमा उत्कृष्ट रूपले लेखे सबै खालका कथाको बजार छ भन्ने देखिएको छ । सरकार पनि यस्ता कलासाहित्य प्रवद्र्धन गर्न हिचकिचाउन हुँदैन । भर्तृहरिले भनेका छन्–

    साहित्यसंगीतकलाविहीन: साक्षात्पशु: पुच्छविषाणहीन:, त्रिणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशुनाम् ।

    सरकार चलाउनेहरूमा पनि कहिलेकाहीँ सरकारको प्रमुख दायित्व यस्ता ‘अनुत्पादनशील’ क्षेत्रको प्रवर्धन गर्नु होइन भन्ने मत हुन्छ । यदि सम्झने हो भने केही दशकअघि मात्र सरकारहरूले यस्ता साहित्य तथा अन्य कलाका कुरामा सब्सिडी दिनुहुँदैन भन्ने बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको मत थियो । र उनले सुरूमा त्यसैले धेरै बजेट फ्रिज गरिदिएकी थिइन् । अर्थशास्त्री जान मेयस्र्कफले सन् १९८८ मा लेखेको इकोनोमिक इम्प्याक्ट अफ आर्ट्स इन ब्रिटेन त्यसैको प्रतिक्रियामा थियो, जसले सांस्कृतिक धरोहरहरूमा लगानी गर्न सरकारलाई त्यसपछि प्रेरित गर्‍यो । हामी थ्याचर जस्तै मुढे हुनुहुँदैन ।

    देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन्, कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।

    -अर्थशास्त्री पौडेलले कास्कीको सराङकोटमा मंगलबार सुरु भएको नवौं नेपाल लिटरेचर फेस्टिभलमा प्रस्तुत गरेको विद्वत् प्रवचन

  • मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

    मुस्ताङमा खिचिएको बीबीसी फिल्मको विश्वव्यापी चर्चा, फिल्म पर्यटनमा सघाउने विश्वास

    नेपालको हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको बीबीसी वानको बहुचर्चित टिभी सिरिज ‘ब्ल्याक नर्सिसस’को लोकेसनलाई लिएर विश्वव्यापी चर्चा भैरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमले खिचिएको स्थानलाई लिएर चर्चा गरिरहेका छन् ।

    गतवर्षको शरद ऋतुमा फिल्म खिच्न नर्सिसस टोली मुस्ताङमा महिनौं बसेको थियो । मुस्ताङको नौरीकोट र कागबेनीमा गत दशैं छेकोमा फिल्म खिचिएको थियो । फिल्मको नेपाल व्यवस्थापन प्राविधिक संघका अध्यक्ष समेत रहेका पुष्कर लामा प्रेमले हेरेका थिए । पचास जनाको टोली नेपाल आएको थियो ।

    सन् १९३० को सेटिङमा खिचिएको सिरिजमा यसकी मुख्य पात्र सिस्टर क्लोडगसहितका उनका क्रिस्चियन भिक्षुणीले गरेको मुस्ताङको कथा छ । मुख्य भूमिकामा जेम्मा आर्टेटोनले अभिनय गरेकी छन् । मनै हर्ने खालको मुस्ताङी ल्यान्डस्केप र सौन्दर्यको प्रशंसामा यतिबेला विदेशी मिडिया व्यस्त छन् ।

    मुख्य पात्र जेम्मा आर्टेनले सिरिजको कथावस्तुसँग लोकेसनले मद्दत गरेको बताइन् । खासगरि, भिक्षुणीहरुको यात्रा र उनीहरुभित्र दबिएको यौन मनोविज्ञान यसमा चित्रित छ । ‘नेपालमा खिच्न पाउँदा हामीले भाग्यमानी महसुस गरिरहेका छौं । हामीलाई जोमसोम पुग्नै अढाइ दिन लागेको थियो । जतिबेला म त्यो लोकेसनमा पुगेको थिएँ, त्यहाँ मैले पात्रभित्र डुबेको महसुस गरेँ’ उनले भनिन् ।

    ‘हावा चाहिँ निकै पातलो थियो। हाइ अल्टिच्युडले बिरामी पनि भयौं तर हामीले आफूलाई जिवन्त महसुस गरेका थियौं । जीवनमा मैले पहिलोपटक यस्तो लोकेसन देख्न पाएँ । जहाँ फोन पनि थिएँन । यो एउटा म्याजिक जस्तै लाग्थ्यो । भगवानलाई प्रश्न गर्न मिल्ने टाइपको गजबको लोकेसन’ आर्टेनले भनिन् ।

    प्राविधिक संघका अध्यक्ष लामाले नेपालको पर्यटनमा यो सिरिजले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्डको एक तथ्यांकअनुसार अस्कर मनोनित फिल्म क्याराभानको छायांकनको कारण उपल्लो डोल्पा पुग्ने मध्ये ७० प्रतिशत पर्यटक फ्रान्सेली थिए ।

  • हलिउड बक्सअफिसमा ‘वन्डर वुमन’को उछाल, नेपाल रिलिजमा निर्णय आउन बाँकी

    हलिउड बक्सअफिसमा ‘वन्डर वुमन’को उछाल, नेपाल रिलिजमा निर्णय आउन बाँकी

    सन् २०१७ को ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’ले हलिउड बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । भेराइटी म्यागजिनका अनुसार ‘वन्डर वुमन १९८४’ले महामारीको मध्यमा पनि सबैलाई ‘छक्क पार्ने’ खालको व्यापार गरेको हो ।

    भेराइटी लेख्छ : कोरोनाभाइरस युगमा पनि वन्डर वुमन १९८४ ले पहिलो सप्ताहन्तमा गरेको १६.७ मिलियन डलर सबैलाई छक्क पार्ने खालको छ ।’ अमेरिका र क्यानडाका २ हजार हलमा रिलिज भएसँगै वार्नर ब्रोजको यो फिल्म एचबीओ म्याक्समा समेत रिलिज भएको थियो ।

    वार्नर ब्रोजका अनुसार एकैसाथ ओटीटी र हलमा रिलिज गर्दा दर्शकको संख्या गजबले विस्तार भैरहेको छ । क्रिसमसको दिनमा मात्रै यस फिल्मलाई कूल दर्शकको आधाले हेरेका थिए । अघिल्लो महिनाको तुलनामा २५ डिसेम्बरमा तीन गुणा बढी दर्शकले हेरेका थिए ।

    सन् २०१७ मा उत्तर अमेरिकाको ४ हजार हलमा रिलिज भएको वन्डर वुमनले बक्सअफिसमा १ सय मिलियन डलरभन्दा बढी व्यापार गरेको थियो । क्रिस्टोफर नोलनको टेनेटले सेप्टेम्बरको पहिलो सप्ताहन्त २०.२ मिलियन डलर आम्दानी गरेको थियो ।

    वन्डर वुमन १९८४ ले क्रिसमसको दिनमा अन्तराष्ट्रिय बजारमा ३६.१ मिलियन कमाउँदै कूल कमाइ ८५ मिलियन डलर कमायो । नेपालमा यसको रिलिज निश्चित भैसकेको छैन यद्यपी, वितरकहरुले हुन सक्ने सम्भावनालाई नकारेका छैनन् ।

  • विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

    विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

    पेरिसको फेसन ब्रान्ड क्यू केन्जोले नेपालको बाघ संरक्षणमा सहयोगी हात अघि बढाएको छ । इक्लेक्टिक र हाइ एनर्जी स्टाइलले विश्व चर्चित यो फेसन ब्रान्डले आफ्ना उत्पादन विक्री भएबापत १० प्रतिशत नेपालको बाघ संरक्षणमा जाने बताएको हो ।

    उक्त च्यारिटी रकम विश्व वन्यजन्तु कोषमार्फत नेपालमा लगानी हुने जनाइएको छ । केन्जोले केही महिना पहिले डब्लुडब्लुएफसँग मिलेर क्याप्सुल कलेक्सन सार्वजनिक गरेको थियो । टिसर्ट, स्वेटसर्ट र हुडिज विक्रीको १० प्रतिशत बाघ संरक्षणका लागि भैरहेको प्रयासमा खर्चिने जनाइएको छ ।

    यी पहिरनको मूल्य १९५ अमेरिकी डलरदेखि ४९५ सम्म छन् । सन् २०२० को अन्त्यसम्म यो फेसन ब्रान्डले बाघको संख्यालाई दोब्बर बनाउने डब्लुडब्लुएफको योजनालाई सघाउने भएको छ । यी दुई नामहरुको परियोजनालाई टीएक्सटु इनिसिएटिभ भनिएको छ ।

    ग्लोबल टेक्सटाइटलको मापदण्डमा रहेर बनाइएका विशुद्ध सूतीका पहिरन बिक्रीमा केन्जो अगाडि छ । रिहाना, बियोन्से, सेलेना गोमेज र लर्डी यो उत्पादनका प्रशंसक छन् । सन् १९७० मा जापानी फेसन डिजाइनर केन्जो ताकाडाले ब्रान्ड स्थापना गरेका थिए ।

    यसअघि पनि नेपालको बाघ संरक्षणमा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले एक मिलियन अमेरिकी डलर सहयोग गरेका थिए । ‘टाइटानिक’ अभिनेता स्वयम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आएका थिए ।

  • २०२२ देखि पारिश्रमिक १३५ करोड भारु तय गर्ने अक्षय कुमारको घोषणा

    २०२२ देखि पारिश्रमिक १३५ करोड भारु तय गर्ने अक्षय कुमारको घोषणा

    कुनै यस्तो दिनपनि छैन जहाँ अक्षयकुमार खाली बसेको होस् । घरको भान्सामा पाककलाको ज्ञान बाँड्ने काममा होस् या फिल्म सेटमा स्क्रिप्ट सुन्ने र टीमसँग रमाइलो गर्ने ।

    यी बलिउड सुपरस्टार सन् २०२१ वर्षभर पुरै काममा व्यस्त तालिकामा हुनेछन् । नयाँ खबरअनुसार अक्षयले सन् २०२२ देखि आफ्नो पारिश्रमिकमा वृद्धि गर्दै एउटा फिल्म खेलेको १३५ करोड भारु तय गरेका छन् ।

    ११७ करोड भारु लिने गरेका अक्षयले लकडाउनदेखि चार्जमा वृद्धि गर्न थालेका हुन् । २०२२ देखि भने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय उनको छ । बलिउड निर्माताका लागि डार्लिङ एक्टर मानिने अक्षयलाई आफ्ना फिल्ममा लिँदा कम जोखिम हुने, लगानी फिर्ता हुने सम्भावना र बजारको माग पुरा हुने विश्वास धेरैको हुन्छ । मागमा वृद्धि भएसँगै आफ्नो मूल्यमा वृद्धि गर्ने अक्षयको बजार सूत्र छ ।

  • नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु, पहिलो दिन गजल मेहफिल

    नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु, पहिलो दिन गजल मेहफिल

    नेपाली साहित्य मेलाको नवौं संस्करण आज बेलुका (सोमबार)देखि सुरु भएको छ । पोखरामा हुने फेस्टिभल भर्चुअल माध्यमबाट हुन लागेको हो । कोरोनाभाइरस महामारीले गर्दा फेस्टिभललाई इन्टरनेटमा सीमित गरिएको हो ।

    प्रदीप रोदन र अमृत सुवेदीको गजल मेहफिलसँग महोत्सव सुरु भएको फेस्टिभल निर्देशक अजित बरालले बताए ।

    मंगलबार बिहान विश्व पौडेलको साहित्यको अर्थ नामक विद्धत प्रवचनबाट फेस्टिभलको औपचारिक सुरुआत हुँदैछ । लगत्तै मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले महारानी उपन्यासमाथि चर्चा गर्नेछन् ।

    लगत्तै बोनिता शर्मा, आयुषी केसी, सोनिका मानन्धरले कर्मठ केटीहरु विषयमा सत्र चलाउँदैछन् । के सम्पदा के बसोबास विषयमा रवीन्द्र पुरी र मिलन बगालेबीच छलफल हुँदैछ । कोरोनापछिको सिनेमा शीर्षकमा यज्ञशसँग मीनबहादुर भाम, प्रियंका कार्की र भाष्कर ढुंगानाबीच छलफल हुँदैछ ।

    पढ्ने पढाउन हुटहुटी शीर्षकमा हरि खनाल, विकेश कबिन र मानुश्री महतबीच छलफल हुनेछ । कोरोनाले गलाएको जनस्वास्थ्य, अद्भूत व्यक्तित्व असाधारण लेखन शीर्षकमा छलफल सत्र समेत छन् ।

    दुई दिनसम्म चल्ने फेस्टिभलको दोस्रो दिन जलवायु परिवर्तन र हाम्रो भविष्य, प्रदेशबाट देखिने देश, कोरोनाकालिन उद्योग वाणिज्य, सङघीयताका अवसरहरु लगायतका सत्र छन् ।

  • नेफ्टा फिल्म अवार्ड फागुनमा, २०७५ सालका फिल्मले प्रतिस्पर्धा गर्ने

    नेफ्टा फिल्म अवार्ड फागुनमा, २०७५ सालका फिल्मले प्रतिस्पर्धा गर्ने

    कोरोनाभाइरस महामारीले रोकिएको नेफ्टा अवार्ड फागुन अन्तिम साता काठमाडौंमा भौतिकरुपमा आयोजना हुने भएको छ । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले वक्तव्य जारी गर्दै कोभिड–१९ प्रोटोकल पालना गर्दै अवार्ड गर्न लागेको जनाएको हो ।

    २०७५ सालका फिल्ममध्येबाट आगामी माघ १० गते मनोनयन घोषणा गरिने भएको छ । नौ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान बनाउन अवार्ड कोशेढुंगा हुने नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए । उनका अनुसार काठमाडौंको टुँडिखेलमा अवार्ड कार्यक्रम हुनेछ ।

    नेफ्टाले यसअघिका अवार्ड चाहिँ विदेशमा गरेको थियो । उत्कृष्ट पाँच घोषणा गरेको दिनमा अवार्डको आधिकारिक मिति सार्वजनिक गरिने भएको छ । नेफ्टा र ड्रीम हाइ नेपाल मिलेर अवार्ड गर्न लागेका हुन् । गत वर्ष चैत २२ गते गर्ने भनिएको अवार्ड भाइरस महामारीले स्थगित भएको थियो । लकडाउनपछि अवार्ड घोषणा गर्ने नेफ्टा पहिलो आयोजक हो ।

  • बिपन्न गायकलाई सघाउन राजेशपायलले घरमै खोले आधुनिक स्टुडियो

    बिपन्न गायकलाई सघाउन राजेशपायलले घरमै खोले आधुनिक स्टुडियो

    राइ इज किङ अर्थात राजेशपायल राई मनदेखि उदार छन् । नेपाली चार्टबस्टरका यी हिट गायकले संगीतभित्रै समाजसेवाको पहल थालेका छन् । ‘दर्शन नमस्ते’ गायकको सन् २०२० यिनै पहलमा बित्यो । राजेशपायललाई चासो राख्नेमाथि नयाँ खबर छ ।

    गरिब, बिपन्न एवं प्रतिभावान गायक–गायिकालाई उनले निःशुल्क गीत रेकर्डिङ गरिदिने भएका छन् । यसका लागि उनले घरमैभव्य स्टुडियो स्थापना गरेका छन् । पैसा नहुने बिपन्न गायक–गायिकालाई निःशुल्क सेवा दिने उद्देश्यले राइ इज किङ स्टुडियो स्थापना भएको छ ।

    हिजोआज सांगीतिक स्टुडियो व्यवसायिक हुँदा नयाँ र प्रतिभावान गायकलाई गीत रेकर्ड गर्न मुस्किल भएपछि आफैले स्टुडियो खोल्नुपरेको राईको कथन छ । दुई वर्षअघि किनेको काठमाडौंस्थित घरमै स्टुडियो खोलेका छन् । घरभित्रै जिमखाना पनि खुलेको छ । उनी दैनिक घरभित्रै व्यायाम गर्छन् ।

    स्टुडियोलाई अझै आधुनिक बनाउने योजना छ उनको । अहिलेसम्म अविवाहित गायकले चाँडै विहे गर्ने र त्यो विहे अन्तरजातिय पनि हुनसक्ने बताए । केही महिनामै नयाँ एल्बम रिलिज गर्ने र त्यसको रेकर्डिङ आफ्नै स्टुडियोमा हुने राईले बताए ।

  • नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

    नेपाल सुन्दर, नेपाली प्रिय : सलमान खान

    आजदेखि बलिउड भाइजान सलमान खान ५५ वर्ष लागे । नेपालसहित संसारभरका फ्यानहरुले आफ्ना प्रिय अभिनेताको जन्मदिन मनाए । मुम्बइमा एक सन्देश जारी गर्दै उनले कोभिड प्रोटोकल पालना गर्न र भीड नगर्न अपिल गरे ।

    नेपालमा सलमानको फ्यान फलोइङ उच्च छ । उनलाई पछ्याउने र आदर्श मान्नेमा सबै उमेर समूहका नेपाली छन् । नेपालमा सर्वाधिक कमाउने फिल्मको सूचिमा भाइजानका फिल्म प्रशस्तै छन् । तर, स्वयम सलमान खान नेपालबारे के सोच्छन् ? यो निकै महत्वपूर्ण हुनेछ ।

    सलमानसँग ‘भारत’ फिल्ममा सँगै काम गरेका नेपाली फिजियो डा. पुरन तिरवासँग नेपाल प्रेसले कुरा गरेको छ । उक्त फिल्मको छायांकन सेटमा तिरवाले सलमानसँग निकट रहेर काम गरे । ‘उहाँले मसँग नेपाल निकै सुन्दर लाग्ने र घुम्ने इच्छा व्यक्त गर्नुभएको थियो’ तिरवाले भने, ‘नेपालमा मेरा फ्यान प्रशस्तै छन् र मलाई माया गरिएका सन्देश पठाउनुहुन्छ । नेपालीहरु वास्तवमै मलाई प्रिय लाग्छ ।’

    जीवनमा नेपालको पर्यटकीय थलो घुम्ने आफ्नो ठूलो इच्छा रहेको कुरा आफूलाई बताएको तिरवाले स्मरण गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व फिजियो समेत रहेका डा. तिरवाले आमिर खान स्टारर ‘ठग्स अफ हिन्दोस्तान’ र रणवीर–आलिया स्टारर ‘ब्रम्हाष्त्र’मा समेत काम गरेका छन् । ‘ब्रम्हाष्त्र’ रिलिज तयारीमा छ ।

    कोभिड संक्रमणको जोखिमका कारण सलमान अहिले मुम्बइस्थित घरमै बसेर जन्मदिन मनाइरहेका छन् । यसपटक पहिलेजस्तो फ्यानको ग्यादरिङ र स्पेसल कार्यक्रम भने भाइजानको तर्फबाट छैन । नेपालस्थित सलमान खानका फ्यानले दरबारमार्गस्थित बेइङ ह्युमनको आउटलेटमा जन्मदिन केक भने काटेका छन् ।

  • सरकारले स्थापना गरेको स्टोरी बैंकमा १५ फिल्म

    सरकारले स्थापना गरेको स्टोरी बैंकमा १५ फिल्म

    नयाँ फिल्म निर्मातालाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’मा १५ फिल्म दर्ता भएका छन् । दर्ता भएका फिल्म मध्येबाट छनौट गरेर बोर्डले प्रस्तावित बजेटको आधारमा संयुक्त लगानी गरिदिने भएको छ ।

    बोर्डमा स्टोरी बैंक हेर्ने फोकल पर्सन गिरिश शर्माका अनुसार आइतबारसम्मको डेडलाइनमा १५ फिल्मले स्क्रिप्ट दर्ता गरेका छन् । ‘हामी अझै समय थप्ने पक्षमा छौं’ नेपाल प्रेससँग उनले भने, ‘धेरै फिल्ममेकर यसबाट उत्साहित भएको पाएका छौं ।’

    बोर्डले मौलिक र सन्देशमूलक फिल्ममा संयुक्त लगानीको कार्यविधि बनाएको छ । फिल्मको कूल बजेटको २५ देखि ५० प्रतिशतसम्म लगानी गर्ने कार्यविधिमा उल्लेख छ । खासगरि नयाँ र प्रतिभावान फिल्म निर्मातालाई प्रोत्साहन गर्नको लागि बोर्डले गतमहिना बैंक स्थापना गरेको थियो ।

    पछिल्लो समय नेपाली फिल्मको बजेटमा वृद्धि भएर १ करोडदेखि अढाइ करोडसम्म पुग्ने गरेको छ । बोर्डको यो निर्णयसँगै इन्डिपेन्डेन्ट, फिल्म विद्यार्थी र राम्रो स्क्रिप्ट हुनेलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

  • हृदयचन्द्र स्मृति सम्मान बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

    हृदयचन्द्र स्मृति सम्मान बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई

    काठमाडौं । यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डाक्टर ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

    शनिवार साहित्य सदनले राजधानीमा गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक डाक्टर राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् ।

    हृदयचन्द्र स्मृति सम्मानको राशि २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशि २० हजार रहेको छ । कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानका बारे समीक्षा गरेका थिए ।

    सोही अवसरमा अतिथिगणबाट साहित्यकार बसन्त रिजालको पहिलो कविता संग्रह “ब्युँझिएपछि” को विमोचन गरिएको थियो । साहित्यकार डाक्टर विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे ।

    कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, साहित्यकारहरु सीता शर्मा, मित्रलाल पंगेनीलगायतले नेपाली साहित्यमा हृदयचन्द्र सिंह प्रधान र गोपालप्रसाद रिमालको विशिष्ट योगदानको चर्चा गरेका थिए । साथै स्रष्टाहरुले प्रधान र रिमालको स्मरणमा कविताहरु वाचन गरेका थिए ।

  • फिल्म छायांकनले गति लिन थाल्यो, हिरोइन खोज्दै ‘भाँडाकुटी’

    फिल्म छायांकनले गति लिन थाल्यो, हिरोइन खोज्दै ‘भाँडाकुटी’

    सरकारी फुकुवासँगै फिल्म छायांकनले गति लिन थालेको छ । निर्माताहरु धमाधम कास्टिङ कलमा व्यस्त हुन थालेका छन् । फागुन १ देखि फिल्मांकन सुरु हुने सोसल–रोमकम ड्रामा ‘भाँडाकुटी’ले दुई लिड हिरोइनको खोजी थालेको छ ।

    लिडमा बेनिशा हमाल कन्फर्म भए पनि अन्य दुई सहायक एक्ट्रेसको खोजी भैरहेको निर्देशक किरण विकले बताए । फिल्ममा तीन हिरो र तीन हिरोइनलाई लिनुपर्ने हुन्छ । निर्माताहरु चलेकै अनुहार र निर्देशक नयाँलाई स्थान दिनुपर्छ भन्ने योजनामा छन् ।

    फिल्ममा यसअघि नै बेनिशा र मुकुन भुषाल अनुबन्धित भैसकेका छन् । सहायक हिरोहरुमा महावीर विश्वकर्मा र रिजेन थापा तय छन् । फिल्मका विद्यार्थी किरण विक यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । बुटवलको सेटिङमा छायांकन हुने फिल्मका थप दुई नायिकाको खोजीका लागि निर्देशक विकसहितको टोली त्यसतर्फ जाँदैछ ।

    सकेसम्म आञ्चलिक अनुहारलाई नै लिने तयारीमा निर्देशक छन् । प्रेममा जातीयताको द्वन्द्वलाई उठान गर्ने फिल्मलाई गोपाल आचार्यले सह–निर्देशन गर्दैछन् । फिल्मलाई आउँदो नेपाली नयाँ वर्षमा रिलिज गर्ने तयारी छ ।

    सरकारले अनुमति प्रदर्शन गरेसँगै चिसो यामपछि दर्जनौं फिल्म छायांकनमा जाँदैछन् । केही फिल्मको सुटिङ लकडाउनको कारणले अलपत्र परेको थियो । माघ र फागुनमा फ्लोरमा जाने फिल्मको सूची लामो हुने अनुमान गरिएको छ ।

  • ५५ लागे सलमान खान, नेपाली फ्यानहरुद्धारा बर्थडे सेलिव्रेसन !

    ५५ लागे सलमान खान, नेपाली फ्यानहरुद्धारा बर्थडे सेलिव्रेसन !

    बलिउड अभिनेता सलमान खान आइतबारदेखि ५५ वर्ष लाग्दैछन् । तर, यसपटकको बर्थडे सेलिव्रेसनको योजना चाहिँ छैन । उनी परिवारसहित मुम्बइको पानभेल फार्महाउसमा रहनेछन् ।

    उनले परिवारसँगै जन्मदिन मनाउने बलिउडहंगामाले जनाएको छ । उनी अंग्रेजी नयाँवर्षदेखि अन्तिम टाइटलको फिल्म छायांकनमा व्यस्त हुनेछन् । महेश मंजिरकारले निर्देशन गर्ने उक्त फिल्मको सेटमै सलमानको बर्थडे सेलिव्रेसन योजना भैरहेको छ ।

    ‘मैन प्यार किया’ अभिनेता कुनैबेला बलिउडमा ‘ब्याड ब्वाइ’ विशेषणले चिनिन्थे । तर, पछिल्लो समय उनी प्रशंसकबाट भाइजान नामले परिचित छन् । उनी सामाजिक संस्था बेइङ ह्युमनबाट समेत समाजसेवामा सक्रिय छन् ।

    भारतमा चलेको कोरोना लकडाउनको समयमा अभिनेताले २५ हजार फिल्म मजदुरलाई आर्थिक सहयोग गरेका थिए । सलमानको बर्थडे अवसरमा शनिबार बेलुका नेपाली फ्यानहरुले बर्थडे सेलिव्रेसन तयारी गरेका छन् ।

  • भाइरसले बदलेको भाष्य

    भाइरसले बदलेको भाष्य

    १) कूल गार्हस्थ्य उत्पादनमा २ खर्ब क्षति । १६ लाखले गुमाए रोजगारी । थपिए १२ लाख गरिब । वार्षिक ७५ करोड कारोबार गर्ने फिल्म हल नौ महिनादेखि ठप्प । २५ प्रतिशत फिल्मकर्मी पेशाबाट पलायन । ग्राफ उकालो लाग्न सक्छ । (योजना आयोगद्धारा गठित सरकारी अध्ययन कार्यदलको प्रतिवेदन २०७६/७७)

    २)हलिउड स्टुडियो वार्नर ब्रोजद्धारा सन् २०२१ मा सबै १७ ठूला फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा । युनिभर्सल र डिज्नेद्धारा फिल्म पोस्टपोन्ड । फिल्म वितरणमा ‘हाइव्रिड’ वितरण प्रणालीको सुरुआत । एउटा ‘अभूतपूर्व फड्को’ । (एपी –एसोसिएटेड प्रेस)

    ३)चीनका कूल १२ हजार फिल्म हलमध्ये ५ हजार सँधैका लागि बन्द । चिनियाँ फिल्मले वर्ष २०२० मा ३० बिलियन युयानको क्षति व्योहोर्नुपर्ने । रिलिज पेन्डिङ भएका फिल्मबाट बलिउडको १.२ बिलियन डलर जोखिममा । खुलेका कतिपय हलहरु दर्शक अभावमा बन्द हुँदै (बीबीसी वर्ल्ड)

    धन्यवाद ‘कोभिड–१९’ महामारीलाई जसले विश्व फिल्मकै पटकथा पुनर्लेखन गरिदियो ! त्यो ‘प्यान्डेमिक’ जसले बक्सअफिस शुन्यमा झरेको मात्र छैन, विश्व फिल्मको ‘न्यारेटिभ’मा अभूतपूर्व बदलावको श्रीगणेश भयो । पुँजीवादले सिर्जना गरेको मनोरञ्जनको ‘इको–सिस्टम’ टाइटानिक जहाजजस्तै डुब्न थालेको छ । हुनसक्छ यही कारण ‘प्यान्डेमिक’लाई अक्सफोर्ड डिस्नेरीले गत साता ‘वर्ष शब्द २०२०’ घोषणा गरिदियो ।

    संसारले बाँचिरहेको समय एउटै छ अहिले । ५५ वर्षको नेपाली फिल्म, सय वर्षको बलिउड र १ सय १५ वर्षे हलिउडले एउटै पीडा बाँचिरहेका छन् । नेपाल र बलिउड पहिलोपटक संकटको सामना गर्दैछन् । हलिउड दोस्रोपटक महामारी झेल्दैछ । पहिले स्पेनिस फ्लु र अहिले कोभिड–१९ । सन् १९१८, अक्टोबर १० मा न्यूयोर्क टाइम्सको हेडलाइन थियो –‘इन्फ्लुएन्जा समाप्ती नभएसम्म नयाँ फिल्म रिलिज हुनेछैन ।’ ठ्याक्कै, सयवर्षपछि दुरुस्तै हेडलाइन राख्दा फरक पर्दैन । निष्कर्ष के हो भने : भाइरसले विश्व फिल्मकै आत्मा र आवरणको मूल्यमा परिवर्तन ल्याइदियो ।

    वर्ष २०२१ लाई लिएर नेपाली फिल्म वृत्तमा तीनखाले अवधारणा चर्चामा छन् । पहिलो –अबको फिल्म परम्परागत लयमा फर्किनेछ । दोस्रो –फिल्म यसअघि नै संकटमा थियो र भाइरसले धक्का मात्र दिएको हो । तेस्रो : फिल्मको पारिस्थितिकिय प्रणाली (इको–सिस्टम) पुरै बदलिनेछ । यी तीन प्रक्षेपणमध्ये बलियो मत चाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने, महामारीले घरेलु फिल्मको अर्थ–राजनीतिक ल्यान्डस्केपमा उथलपुथल ल्याएको छैन । न त प्याराडाइम सिफ्ट हुनेछ न त परम्पराको निरन्तरता । किनभने नेपाली फिल्मको उत्पादन र वितरण प्रणाली वर्णशंकर हो ।

    भाइरस संकटको गणित :
    बन्दाबन्दी (२०७६ चैत ११)पछि चलचित्र विकास बोर्डले संकलन गरेको तथ्यांकअनुसार १२ हजारले फिल्म क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका थिए । दुईसय ५ पर्दा थिए र हलका कर्मचारी संख्या ३ हजार ७५ करिब थियो । निर्माता संघका अनुसार साढे २ लाख रोजिरोटीका लागि फिल्म क्षेत्रमै आश्रित थिए । क्यूएफएक्सका २७ पर्दामा मात्र कर्मचारी संख्या पाँचसय बढी थियो । चलचित्र प्राविधिक संघ (नेफ्टा)का अनुसार ३ हजार पाँचसय प्राविधिकको जीवन यही क्षेत्रबाट गुजारा भइरहेको थियो । यीमध्ये २० प्रतिशत प्राविधिक सँधैका लागि पेशाबाट पलायन भैसके । एउटा प्राविधिक उत्पादन गर्न पाँचवर्ष लाग्छ । पलायन हुनेको आँकडा बढ्नेक्रममा छ ।

    लकडाउनअघि आठ फिल्म छायांकनमा थिए । २१ फिल्म रिलिजलाई रेडी । चार करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला फिल्मको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ ।

    निर्माण–प्रदर्शन–वितरणको चक्र खलबलिँदा नेपाली फिल्म तीनवर्ष पछाडि धकेलिएको छ । दैनिक करोड घाटा खाइरहेको स्थिती छ अहिले । सर्वाधिक दबाब चाहिँ प्रदर्शन प्रणालीमाथि छ । झन्डै ९ अर्ब बराबरको बैकिङ ऋण र चर्को ब्याज यतिबेला प्रदर्शकको टाउकोमाथि छ । एकल पर्दाको अग्रणी गोपिकृष्ण हललाई महिनामा घटीमा ३५ लाख रुपैयाँ घाटा हुन्छ । हलका ७० कर्मचारीलाई मात्र मासिक १५ लाख खर्च हुन्छ । यो सिद्धान्तअनुसार अबको २/३ वर्ष नाफा हुँदैन ।

    भाइरोलोजीले मात्र यो नाफा–घाटालाई परिभाषित गर्नेछैन बरु, सामाजिक–आर्थिक–सांस्कृतिक–राजनीतिक–मनोवैज्ञानिक श्रृंखलाभित्र नेपाली फिल्मको निकट अतित लुकेको छ ।

    एउटा फिल्मले दिने अस्थायी रोजगारी कति होला ? प्रि–प्रोडक्सन चरणमा २०, छायांकनमा ५०, पोस्ट–प्रोडक्सनमा २०, रिलिज पूर्वसन्ध्यामा २०, वितरणमा आठ र अन्य काममा १५ जना । चार फिल्म बनेन भनेपनि एकवर्षमा कम्तीमा सयजना प्रत्यक्ष बेरोजगार हुन्छन् । यो त भयो एउटा फिल्मले दिने प्रत्यक्ष रोजगारी । अनौपचारिक रोजगारी त कति गुम्छ– गुम्छ । नेफ्टाका अनुसार गतवर्ष सामान्य अवस्थामै पनि २० प्रतिशत प्राविधिकले काम गुमाएका थिए । यी नीर्जिव अंकका पछाडि लुकेका सजिव मान्छेको व्यथाको श्रृंखला पीडादायी छ ।

    भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार लकडाउनको ६ महिनासम्म बलिउडले १३ सय करोड भारु गुमायो । हलिउड–रिपोर्टर म्यागजिनका अनुसार अमेरिकी फिल्म उद्योगले सोही अवधिसम्म ५ विलियन अमेरिकी डलर क्षति व्योह¥यो । हलिउडमा १४ हजार प्राविधिकले रोजगारी गुमाए । वार्नर ब्रोज स्टुडियोको कदम किनपनि तथ्यसंगत लाग्छ भने, राष्ट्रपतिय चुनावपछि राजनीतिक रुपमा विभाजित अमेरिकामा भाइरसको संक्रमण बढेको बढ्यै छ र त्यसलाई निमिट्यान्न पार्न अझै वर्ष लाग्छ सक्छ ।

    यी त भए भाइरस र लकडाउनको तत्कालिन असर र प्रभावको गणितिय लेखाजोखा । हामी यहाँ वैश्विक महामारीको चरित्र र पटाक्षेपको चर्चा पनि सँगै गर्नु जरुरी छ जसले नेपाली फिल्मको भविष्य निर्धारण गर्नेछ । के कोभिडको कालो बादलमा चाँदीको घेरा खोज्न सकिएला ? पक्कै पनि हाम्रा लागि बिलियन डलरको प्रश्न हो यो । भाइरसको खेला कहिले सकिन्छ भन्नेबारेमा भयंकर अनिश्चितता छ । ‘एन्ड–गेम’ के हो ? विश्वसनिय उपचार विधि (खोप)नआइ पुरानै अवस्थामा फर्कन सकिन्न । हुनसक्छ यही कारण फेसबुक र गुगलले सन् २०२२ सम्मका सबै ठूला कार्यक्रम रद्द गरिदिए । यसको अर्थ –वर्ष २०२१ पनि चिकित्सा र आर्थिक दुबै दृष्टिले कोभिडबारे अन्यौलग्रस्त हुनेछ ।

    निर्देशक स्पाइक लीले कोरोनालाई ‘बोक्सी’ भन्दै खोप नबनेसम्म फिल्म हलसम्म नजाने घोषणा गरिदिए । उनको यो भनाइमा आममान्छेको मुड लुकेको छ । अभिनेता राजेश हमाल पनि तत्काल फिल्म हल खोल्न नहुने पक्षमा छन् । संक्रमणको स्थिती हेरेर मात्र हल खोल्नुपर्ने तर्कसँग हमाल र स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सहमत छन् । योजना आयोगको उपरोक्त तथ्यांक केलाउँदा पनि गरिबीको रेखामुनी धकेलिएको १५ लाख जनसंख्याको प्राथमिकता फिल्म नहुनसक्छ ।

    बादलमा चाँदीको घेरा :
    ठूला संकटले ठूलै अवसर लिएर आउँछन् जस्तो कोभिड–१९ महामारी । बन्दाबन्दीमा नेपाली दर्शकले इन्टरनेटबाटै संसारका धेरै थरी फिल्म अवलोकन गर्ने अवसर पाए । कहिल्यै फिल्म नहेर्ने दर्शकले समेत टाइमलाइनमा फिल्म थ्योरीलाई परिभाषित गरे । लकडाउनले मनोरञ्जनको माग बढायो र औचित्य पुष्टि गरिदियो । हलमा फ्लप फिल्म, इन्टरनेटमा सुपरहिट भए । कोभिडले भुइँमान्छेमा सिनेम्याटिक लिट्रेसी र आलोचनात्मक चेतना विकास गरिदियो ।

    हामीले देख्यौं : लकडाउनमा हल बन्द हुँदा कसरी अमेजन प्राइम, डिज्ने प्लस, एप्पल, हुलु र नेटफ्ल्क्सिजस्ता स्ट्रिमिङ साइटमार्फत दर्शकले फिल्म हेरेर मजा लिए । नेपालमै डिस होम, आइफिल्क्स, नेपफिल्क्स र युटयुवमार्फत नयाँ–नयाँ फिल्म चले । बक्सअफिस शुन्यमा झर्दा कसरी स्ट्रिमिङ र एप्स सेवा मौलाए भन्ने प्रत्यक्ष प्रमाण लकडाउनको कालखण्ड हो । यी आयामको सीधा अर्थ हुन्छ : स्ट्रिमिङ सेवाले फिल्म हेर्ने आनीबानी बदल्दैछन् र डिजिटल प्रभुत्व स्थापित हुने क्रममा छ । कोरोना भाइरस पछाडि हलसम्म दर्शकीय उपस्थितीमा हुने प्रभाव विश्व फिल्मकै लागि एउटा महत्वपूर्ण केस स्टडी बन्न सक्छ ।

    बन्दाबन्दीमा फिल्मकर्मी घरभित्रै थुनिए । उनीहरुको दिनचर्या घरभित्रै बित्यो । संकटमा परिवारको मूल्य उनीहरुले महसुस गरे । कतिले खाना पकाउन सिके । कतिले योग साधना सिके । कतिले बगैंचा गोडमेल गरे । कतिले पत्नी र केटाकेटीसँग भावना साटे । एउटा मान्छेभित्र आएको नीजि परिवर्तन हो यो । यी भोगाइ कथावाचन, पटकथा लेखन, चरित्र चित्रण, द्धन्द्ध स्थापना र मुड विकासमा काम लाग्नेछन् । भन्नुको अर्थ, अब नेपाली फिल्ममा जनराको विकास राम्रैसँग हुनेवाला छ ।

    महामारीपछि सामाजिक विश्रृंखलता सिर्जना हुनसक्छ । किन्से इन्स्टिच्युटको शोध भन्छ : रिलेसनसिपमा नभएकाहरुले आफूलाई ‘लोनली’ महसुस गरिरहेका छन् यस समय । जसले गर्दा रिलेसनसिप क्राइसिस पैदा हुनेछ । डिभोर्स र नयाँ सम्बन्धको ग्राफ बढ्नेछ । यो अध्ययनको प्रभाव फिल्मको चरित्र चित्रणमा प्रष्ट देखिनेछ । जसरी दोस्रो विश्वयुद्धको त्रासदीपछि अमेरिकीलाई भुलाउन हलिउडले ‘इस्केप्टिक’ (पलायनवादी) फिल्मको सहारा लिनुपरेको थियो । लगत्तै, इटाली र फ्रान्समा ‘न्यू वेभ’ सिर्जना भएको थियो ।

    लयमा फर्कन चुनौति :
    भाइरसको कहर नभएको भए निर्देशक एवं चिकित्सा मानवशाष्त्री डा. सचिन घिमिरे आफ्ना दुई फिल्ममा व्यस्त हुन्थे । रिलिजको तयारीमा रहेको उनी लिखित फिल्म ‘नीरफूल’ लकडाउन घोषणासँगै अनिश्चित बन्यो । फिल्म र भाइरसको चरित्रलाई नजिकबाट नियालिरहेका उनी कोभिड–१९ अगाडिकै अवस्थामा नेपाली फिल्म फर्कन चुनौति रहेको बताउँछन् । ‘कोभिड अगाडि नै फिल्ममा निकै बेथिती थियो । त्यही अवस्थामा पुग्न पनि कठिन छ’ उनको मूल्यांकन छ, ‘वर्ष २०२० ले हामीलाई निरुत्साहित गरेको छ । लगानी रोकिएको छ तर, चलचित्र विकास बोर्डले अघि बढाएका नीतिगत सुधारले आशा पलाएको छ ।’

    बोर्डले यतिबेला राम्रा कथामा सरकारले लगानी गर्ने र विदेशमा आयोजना हुने फेस्टिभलमा फिल्म लैजान पैसा दिने तयारी गरेको छ । घिमिरेलाई लाग्छ, संसारको राजनीतिक अर्थशाष्त्रमा व्यापक परिवर्तन नहुने भएकाले फिल्ममा पनि ठूलै बदलाव आउँदैन । ‘जनरामा परिवर्तन आउँदैन । प्रि–प्रोडक्सन पनि तत्काल सुरु हुँदैन । मान्छेहरु लगानी गर्न डराएका छन्’ घिमिरे भन्छन्, ‘प्रभावकारी भ्याक्सिन नआएसम्म अवस्थालाई नर्मल हुने मान्न सकिँदैन ।’

    स्टारडमको पुर्नव्याख्या :
    ‘सेलेव्रिटी कल्चर इज बर्निङ’ अर्थात सेलेव्रिटी संस्कृतिमा आइरहेको ह्रास शीर्षकको अमान्डा हेस लिखित आलेख अहिले चर्चामा छ । न्यूयोर्क टाइम्समा प्रकाशित आलेखमा उनले मार्भलका सुपरहिरो भान्सामा पसेर पाककलाको ज्ञान बाँड्दै गर्दा कसरी चिकित्सक र नर्सले फ्रन्टलाइनमा उभिएर संसारको रक्षा गर्दैछन् भन्ने चर्चा गरेकी छन् । उनी लेख्छिन् : सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप मेटियो । भन्नुको अर्थ, के अब गोपिकृष्ण हलको बाल्कोनीबाट अनमोल केसीलाई काँधमा बोकेर खिचिएका तस्विर देख्न पाइएला ?

    बरु टीकटक एपले धेरै किशोर–किशोरीलाई सेलिव्रेटीको रुपमा वर्गोत्थान गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तन्नेरी पुस्ताको लोकप्रिय प्लेटफर्ममा डेब्यु गरेका छन् । लाग्छ, कोभिड संकटपछि स्टारडमलाई व्याख्या गर्ने सोचमा परिवर्तन आउन सक्छ । जस्तै, कोभिड–१९ ले मार्भल सुपरहिरो र थानोसजस्ता सुपरभिलेनको उपस्थितीमै प्रश्नचिन्ह लगाइदिएको पक्का हो ।

    कोभिड संकटकै बीच भारतमा बम्बैया फिल्ममाथि वंशवाद र ड्रग्समाथि विमर्श चल्यो । सुशान्तसिंह राजपुतको मृत्युमा कसरी बलिउड डाइनेस्टी जिम्मेवार छ र कसरी मुम्बइले युवा सपनाको हत्या गर्दैछ भन्ने डिस्कोर्स चल्यो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त बलिउडलाई आफ्नो राज्यमा सार्ने अभियान चलाएका छन् फिल्म सिटी निर्माणमार्फत । यसको बाछिटा नेपालमा ‘महानायक’ इस्युमा प्रष्ट देखियो ।

    फिल्म(हरु) हेर्नेछैनन्, फिल्म हेर्नेछन् :
    औषतमा एउटा मान्छेले एक वर्षमा हलमा पुगेर चार फिल्म हेर्छ । कोभिड संकट सुरु भएपछि उत्पन्न आर्थिक मन्दीको प्रभाव उसको क्रयशक्तिमा परेको छ । जसले दर्शकलाई रिलिज फिल्ममध्ये केही मात्र हेर्नको लागि विकल्प उपलब्ध हुनेछ । यसो हुनु भनेको सीमित र बिग बजेटका फिल्म मात्र दर्शकको प्राथमिकतामा पर्नु हो । आम्दानीमा कमी आउनु हो । निर्माणमा उछाल लगानी गर्ने स्थिती पनि छैन । लाखौं पारिश्रमिक लिने ‘स्टार’को रेट न्यून विन्दुमा खुम्चनसक्छ । डिजिटल प्लेटफर्मको रुपमा रहेका डीस होम, केबल टिभि र युट्युव च्यानल निर्मातालाई संकटको साथी बन्नसक्छन् ।

    क्षतिको आयतनका हिसाबले मेनस्ट्रिममा भन्दा स्वतन्त्र र कम बजेटका इन्डाइ–फिल्मलाई कोभिड असर कम परेको छ । सनडान्स, कान्स, टोरन्टो, भेनिस, ट्राइबेका, मुम्बइ, बुसान, बर्लिन लगायत विश्वका ठूला फिल्म फेस्टिभल भर्चुअल बनिसके । नेपालमा समेत किम्फ फेस्टिभलले भर्चुअल्ली फिल्म देखाउँदैछ । अस्करले कोभिडकै कारण अप्रिल २०२१ लाई नयाँ तिथि तय गरिसक्यो । अब हलमा मात्र हैन, फिल्मजन्य भीडभाड प्रेसमिट, अवार्ड र फेस्टिभल पनि डिजिटलमा नगै सुखै छैन ।

    वेभ सिरिज, स्ट्रिमिङ र इन्डिपेन्डेन्ट फिल्मको लहर आउनेछ र यसले हलमा फिल्म हेर्ने परम्परागत तौरतरिकालाई थ्रेट पैदा गर्न सक्छ । आमसंचार विज्ञ म्याक लुहानले भनेजस्तो ‘माध्यम नै सन्देश हो’ भन्ने टाइपले मात्र पनि नहोला । कन्टेन्ट प्रमुख हुनेछन् अब । कोभिड युगपछि सिनेम्याटोग्राफरले चुम्बन, बेडसिन, डेटिङ र दुईसय जनाको कोरस जत्थाको डान्स कोरियोग्राफीमा कटौती गर्न सक्छन् । नयाँ कोणमा दृश्य कम्पोज हुनेछन्, भीएफएक्स र ग्राफिक्सजस्ता प्रविधि प्रयोगमा वृद्धि हुनेछ ।

    स्पर्श भएर हुने र सामाजिक दूरी बनाउनुपर्ने दृश्यका डिजाइन नेपाली फिल्मको एलिमेन्ट बन्नेछन् । पुतलीसडक र बागबजारका भित्तामा हैन, सामाजिक संजालका भित्तामा पोस्टर र मार्केटिङका टुल्ज पोतिनेछन् । प्रविधिले फिल्म निर्माणमा प्रभुत्व जमाउँदा परम्परागत शैलीमा पोख्त प्राविधिक र जनशक्तिको बहिर्गमन हुनसक्छ ।

    यसमा अर्को अवधारणा पनि छ : लकडाउनले गर्दा हलको कोक–पपकर्न र माहौल मिस गर्ने जमात पनि होलान् । हल खुल्ने वित्तिकै फस्ट–डे फस्ट–सो फिल्म हेर्ने मुड बनाएका पनि होलान् । अँध्यारो हलमा अपरिचितसँग कुममा कुम ठोक्दै फिल्म हेर्ने इच्छा भएका पनि होलान् । तर, स्थितीलाई कोभिडले ब्र्रेक गरिदिएको चाहिँ अवश्य हो । मनोरञ्जक हुनु भनेको सामाजिक हुनु हो । मनोरञ्जन गर्ने थलोमै सामाजिक दूरी पालना गर्दाको नयाँपन अझै धेरै वर्षसम्म कायमै रहने देखिन्छ ।

    २०२१ का चुनौति :
    कोभिडले ल्याएको क्षतिको म्याग्निच्युड केही वर्षसम्म पक्का रहनेछ जबसम्म खोप बन्दैन । जीवनलाई लय र दर्शकलाई हलमा फर्काउनुपर्ने चुनौति छ । यसका लागि राम्रा फिल्म बनाएर दर्शकलाई कमब्याक तुल्याउन सक्नुपर्छ । दिग्दार भएको दर्शकीय मुडलाई ठीक पार्ने थेरापीको भूमिका फिल्मले खेल्न सक्नुपर्छ । राजनीतिमा एउटा भनाइ छ : होप इज नट अ स्ट्राटेजी । फगत आशा मात्र राख्ने कुरा सुविचारित रणनीति हुनसक्दैन । यसका लागि या त भ्याक्सिन तयार हुनैपर्छ या त भाइरससँगै जीवन जिउने अनुशासन हामीमा विकास हुनुपर्छ ।

    भारतीय लेखिका अरुन्धती रोयले लेखेजस्तै अहिलेको समय नयाँ विश्व भर्सेस पुरानो विश्व हो । इतिहासमा महाव्याधिहरुले आफ्नो विगतलाई भत्काएर नयाँ भविष्यको कल्पना गर्न बाध्य तुल्याएका छन् । यो संकट पनि तिनीहरुभन्दा पृथक छैन । अब फिक्सन सुपरहिरो हैन, सेतो एप्रोन पहिरिएका डाक्टर र नर्स सुपरहिरो नेपाली फिल्ममा चित्रण हुनेछन् । व्याख्या बदलिनेछन् र फिल्मले अझै मानवीय सेवा गर्नेछन् ।

    स्टानफर्ड विश्वविद्यालयमा गतमहिना आयोजित एउटा भर्चुअल छलफल सत्रको निष्कर्ष थियो जुन नेपालको लागि सान्दर्भिक छ । नेपाली समाज र फिल्मका लागि त झनै सान्दर्भिक । पहिलो : भविष्यको अन्यौल सबैतिर छ । दोस्रो : केही वर्ष यस्तै रहनसक्छ र तेस्रो : आउने साल होइन, ५/१० वर्ष पछाडिलाई सोच्न थालिहाले हुन्छ ।

  • राज्यमन्त्री मानन्धरले गीत गाएर बनाए विश्व कीर्तिमान

    राज्यमन्त्री मानन्धरले गीत गाएर बनाए विश्व कीर्तिमान

    काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् ।

    यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए ।

    बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । मानन्धरले ‘वर्ल्ड बुक अफ रेकर्ड’ युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ ।

    कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गीत गाएका थिए ।

    यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

  • महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने

    महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने

    महामारीकै बीचमा पनि नेपाली फिल्मले उत्साहजनक कमब्याक गरेको छ । नौ महिना बन्द रहेका नेपाली फिल्महरु शुक्रबार खुलेका थिए र दर्शकीय उपस्थिती सन्तोषजनक पाइयो ।

    मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले कोभिड–मापदण्ड पालना गर्दै सिभिल, लाबिम र छायाँ मलस्थित आफ्ना आउटलेट संचालनमा ल्याएको थियो । क्यूएफएक्स संचालन संस्था क्वेस्ट इन्टरटेनमेन्टका कार्यकारी अधिकृत रोशन अडिगाका अनुसार शुक्रबार ३० प्रतिशत अकुपेन्सी प्राप्त भयो ।

    ‘यो उत्साहजनक कमब्याक हो हाम्रा लागि । दर्शकहरु फिल्म हेर्न आतुर भएको संकेत मिल्छ’ नेपाल प्रेससँग उनले भने, ‘पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी हुनु भनेको धेरै राम्रो कुरा हो ।’ द इन्भिजिबल म्यान र ब्लडसटमा दर्शक धेरै पाइए ।

    प्रशासनको हस्तक्षेप र दबाबबिनै पहिलो दिन फिल्म हल चले । काठमाडौं उपत्यकाबाहिर हल खुलेनन् । पोखराको मुख्य मल्टिप्लेक्स मिडटाउन सिनेमाज्ले शनिबारदेखि हल संचालन तयारी गरेको छ । प्रमुख निकेश द्धाले चलचित्र संघ र सरकारबीचको शुक्रबारे वार्तालाई कुरेकाले शनिबारदेखि चलाइने बताए ।

    दर्शकीय फुटफल बढ्दै गएमा आफ्ना अन्य आउलेट खुलाउने तयारीमा छ क्यूएफएक्स । भक्तपुर, कुमारी, जयनेपाल र मोफसलका हल अहिलेसम्म बन्दै छन् । नौ महिनासम्म जिरोमा बसेको बक्सअफिस प्रदर्शन क्रमशः उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।

  • संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    संचारमन्त्रीलाई साक्षी राखेर राज्यमन्त्रीले चार घण्टा गीत गाउने !

    काठमाडौं | सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । शुक्रबार बालाजुस्थित अष्टनारायण फिल्म हलमा आयोजित समारोहमा यसको सुरुआत भयो ।

    सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ गीत लगातार गाएर विश्व कीर्तिमान राख्ने भन्दै गीत गाउन थालेका हुन् । कार्यक्रममा मन्त्री गुरुङले राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको प्रशंसा गरे ।

    कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे । शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गर्नु भएको थियो ।

    मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले विश्व कीर्तिमान कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

  • मिस नेपालले शुरु गरिन् चकलेट व्यापार, पुष्टकारी र गुँदपाकलाई प्रवर्द्धन गर्ने

    मिस नेपालले शुरु गरिन् चकलेट व्यापार, पुष्टकारी र गुँदपाकलाई प्रवर्द्धन गर्ने

    यो महामारीको समय कतिपय सेलेव्रिटीका लागि भविष्यको लागि एउटा अवसर पनि बन्यो । जस्तै हेरौं न पूर्वमिस नेपाल अनुष्का श्रेष्ठलाई । यी डिभाले शहरमा चकलेट व्यापारको नयाँ व्यवसाय शुरु गरेकी छन् ।

    उनले स्थापना गरेको ब्रान्ड माक्कुसेले पुष्टकारी र गुँदपाकको व्यापार गर्छ । यसलाई अन्तर्राष्ट्रिय रुपमै बजार विस्तार गर्ने सोचमा छिन् अनुष्का । मिस नेपालको एकवर्षे कार्यकाल सकिएको दुई साताभित्रै अनुष्काले उद्यमशीलता थालेकी हुन् ।

    सन् २०१९ की मिस नेपाल वर्ल्ड अनुष्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि विदेशमा जाँदा उनमा चलकेट व्यापारसम्बन्धी आइडिया फुरेको हो । उनलाई लाग्यो, नेपालको मौलिक ब्रान्ड कुकिज, पुष्टकारी र गुँदपाकलाई ‘लक्जरी स्वीट’मार्फत विदेशमा प्रवर्द्धन गर्न सकिन्छ ।

    अष्ट्रेलियाको एउटा बैंककी जागिरे अनुष्का मिस नेपाल प्रतिस्पर्धामा भाग लिन नेपाल आएकी थिइन् । नेपालमै केही गर्ने उनको सोचलाई मिस नेपालले आकार दियो । नेवारी भाषामा माक्कुसेको अर्थ खानाको स्वाद भन्ने हुन्छ । काभ्रेबाट ल्याइएको दूधबाट बनाइएको रसायनविहीन चकलेट हुन् यी ।

    राजधानीको ठूलोभर्‍याङमा कारखाना रहेको माक्कुसे २५ लाख लगानीमा खुलेको हो । मिस नेपाल जितेर आइसकेपछि पनि अनुष्काले नेपाल प्रेससँग कुरा गर्दै उद्यमशीलताको थालनी गर्नु आफ्नो उद्देश्य रहेको बताउँदै आएकी थिइन् ।

  • नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    नौ महीनापछि पर्दा खुल्दा (फोटो फिचर)

    काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली फिल्म हलहरु नौ महिनापछि शुक्रबारदेखि खुलेका छन् । व्यवसायीले एकपक्षीय निर्णय गर्दै सिनेमा घर संचालनमा ल्याएका हुन् ।

    पहिलो दिन काठमाडौंस्थित फिल्म हलहरुले चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः रिलिज गरे । कोभिड–१९ मापदण्ड पालना गर्दै संचालनमा ल्याइएको हलमा सामाजिक दूरी, सरसफाइ र मास्क अनिवार्य देखियो ।

     

    गत चैत ११ गते लागू गरिएको लकडाउनपछि बन्द भएका हल बल्ल खुलेका हुन् । यद्यपि मोफसलमा भने हल शुक्रबार खुलेनन् । सरकारले शुक्रबार बेलुकासम्म फिल्म हललाई मापदण्ड पूरा गर्दै संचालनको अनुमति दिने अपेक्षा गरिएको छ ।

    शुक्रबारै चलचित्र विकास बोर्ड र चलचित्र संघका अध्यक्षहरुसित काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका थिए । छलफलमा फिल्म हल खुलाउन आग्रह गर्नेसहितको पत्र सीसीएमसीलाई लेखेर पठाउने निर्णय भएको छ । उक्त निर्णयलाई मन्त्रिपरिषदले पारित गर्ने अपेक्षा छ ।

    शुक्रबार आमा, सेन्टी भाइरस, इन्टु मिन्टु लन्डनमा, ब्लडसट र इन्भिजिबल म्यान प्रदर्शन भए । पहिलो दिन दर्शकको संख्या न्यून देखिए पनि माहाेल चाहिं गजबको देखिन्थ्यो ।

  • फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

    दोलखा फिल्म सिटीको स्वामित्व बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संचार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पार्वत गुरुङले केन्द्र, प्रदेश र चलचित्र विकास बोर्डको स्वामित्व हुने गरि निर्माण अघि बढाउने जानकारी दिएका हुन् ।

    विहिबार मन्त्रालयमा मन्त्री, प्रदेश सरकारका सांसद, रजिस्टार र फिल्मकर्मीबीच फिल्म सिटीबारे छलफल चलेको थियो । दोलखा भीमेश्वर नगरपालिका–९ मा रहेको दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको सिटीको काम अघि बढाउन संघिय सरकारले कानुनहरु निर्माण गरिरहेको बताए ।

    बागमती प्रदेश सरकारले अहिले साढे तीन करोड रुपैया विनियोजन गर्दै सिटीको प्रवेशद्धार र सूचना केन्द्र बनाइरहेको छ । छलफलमा बरिष्ठ फिल्मकर्मी मदनदास श्रेष्ठले संघिय सरकारले बजेट विनियोजन नगर्दा सिटीमा पूर्वाधार बनाउने काममा ढिलाइ भएको बताए ।

    ‘सिटी बनाउने दातृ निकायले चासो देखाएका छन् तर सरकारले बजेट विनियोजनमा रुचि देखाएन’ उनले भने, ‘यसले गर्दा काममा ढिलाइ भएको छ ।’ प्रदेश सरकारले उक्त साढे तीन करोड रुपैयाँ भीमेश्वर नगरपालिकालाई प्रदान गर्ने भएको छ ।

    अहिले उक्त फिल्म सिटीसम्म पुग्ने सडक कालोपत्रे भएको छ भने बिजुली प्रसारण पनि भएको छ । प्राकृतिक सौन्दर्यले समेत महत्वपूर्ण लाकुरीडाँडामा अहिले इन्डोर र आउटडोर स्टुडियो बनाउने काम भैरहेको छ । काठमाडौंदेखि ८० किमी टाढा रहेको सिटीलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

  • राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    राज्यमन्त्री मानन्धरले एकल गायनमार्फत् विश्व रेकर्ड कायम गर्दै

    काठमाडौं | शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा सुरु भएको कार्यक्रममा एकल गायनमार्फत् राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् ।

    राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका छन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।

    लाइभ कन्सर्टमा पुराना कलाकारहरूका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ ।

  • ‘लप्पन छप्पन’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर लन्च

    ‘लप्पन छप्पन’ सिक्वेल आउँदो शिवरात्रिमा, अफिसियल पोस्टर लन्च

    मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’को दोस्रो श्रृंखलाले प्रदर्शन मिति तय गरेको छ । आगामी फागुन २७ गतेको शिवरात्रिमा फिल्म प्रदर्शन हुने जानकारी निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सले जनाएको छ ।

    कोरोनाभाइरस महामारीको कारण रिलिज रोकिएको फिल्मले आउँदो वर्षलाई थिएटर रिलिजको घोषणा गरेको हो । यो एक्सन थ्रीलर फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही लगायतको अभिनय छ ।

    मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा सुनिल निउरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

    सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता, प्रकाश कुवँर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदीपचन्द्र र सन्तोषचन्द्र भक्रेल निर्माता छन् । फिल्मको अधिकांश छायांकन नेपालसहित अष्ट्रेलियामा गरिएको छ ।

  • वार्नर ब्रोजद्वारा २०२३ मा ठूला तीन फिल्म रिलिज घोषणा

    वार्नर ब्रोजद्वारा २०२३ मा ठूला तीन फिल्म रिलिज घोषणा

    सन् २०२१ का लागि सबै फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हलिउड स्टुडियो वार्नर ब्रोजले सन् २०२३ का लागि तीन प्रतीक्षित रिलिज डेट घोषणा गरेको छ ।

    जसमा ‘म्याड म्याक्स फ्युरी रोड’को प्रिक्वेल ‘फ्युरिओसा’, सांगीतिक एडप्टेसन ‘द कलर पर्पल’ र फ्यामिली ड्रामा ‘क्योटी भर्सेस एक्मी’ छन् । आन्या टेलरको मुख्य भूमिका रहने ‘फ्युरिओसा’ उक्त वर्षको जून २३ मा रिलिज हुनेछ ।

    लाइभ एक्सन र एनिमेटेड हाइव्रिड फिल्म ‘क्योटी भर्सेस एक्मी’ जुलाई २१ मा लाग्नेछ । ‘द कलर पर्पल’ डिसेम्बर २० को विदामा रिलिज हुनेछ । डिसेम्बरको सुरुआतमा वार्नर ब्रोजले २०२१ का फिल्म ‘द म्याट्रिक्स ४’, ‘ड्युन’ र ‘द सुसाइड स्क्वाड’लाई एचबीओबाट स्ट्रिमिङ गर्ने घोषणा गरेको थियो ।

    सबै फिल्मलाई स्ट्रिमिङ गर्ने घोषणा गरेपछि सबैतिरबाट चर्को आलोचना खेपेको स्टुडियोले महामारीको कालखण्डमा हाइव्रिड वितरणका मोडेललाई प्रयोग गरेको जनाएको छ । बुधबारको यो घोषणापछि पनि वार्नर ब्रोज थिएटर रिलिजमै प्रतिबद्ध भएको संकेत मिल्छ ।

  • संसद विघटनलाई लिएर सेलेव्रिटी नेता विभाजित

    संसद विघटनलाई लिएर सेलेव्रिटी नेता विभाजित

    संसद विघटनलाई लिएर नेपाली फिल्म क्षेत्र पनि विभाजित भएको छ । नेकपा निकट मानिएका केही फिल्मकर्मीले प्रधानमन्त्रीको कदमलाई लिएर आ–आफ्ना दृष्टिकोण पेश गरेका छन् ।

    केही फिल्मकर्मीले विघटनलाई संवैधानिक ‘कू’ भन्दै प्रतिगमनतर्फको यात्रा भनेका छन् । कतिपयले प्रधानमन्त्रीको कदमलाई समर्थन गरेका छन् । विरोध गर्नेहरुले प्रबुद्ध नागरिकको नाममा विज्ञप्ती नै प्रकाशन गरेर ‘असंवैधानिक’ करार गरेका हुन् ।

    असंवैधानिक र अमानवीय भन्दै विरोध गर्नेहरुमा फिल्म निर्देशक केपी पाठक, मनोज पण्डित, अभिनेता राजन खतिवडा छन् । साथै, यो सूचिमा लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, घिमिरे युवराज, विप्लव प्रतीक लगायत छन् ।

    साथै, प्रधानमन्त्री निकट मानिएका चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक दिनेश डीसी यसबारे मौन छन् । फिल्म लेखक प्रदीप भारद्धाजले खुलेरै प्रधानमन्त्री ओलीको समर्थनमा धारणा व्यक्त गरेका छन् । उनले ताजा जनादेश लिनको लागि प्रधानमन्त्रीले गरेको चुनाव आह्वानलाई सहि भनेका छन् ।

    अभिनेता एवं निर्माता दीपकराज गिरीले सन्तुलनकारी अभिव्यक्ति दिएका छन् । उनले पाँच वर्ष नपुग्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई ‘अव्यवहारिक’को संज्ञा दिएका छन् । जनता समाजवादी नेता बाबुराम भट्टराई निकट मानिने अभिनेत्री करिश्मा मानन्धरले विघटन कदमको विरोध गरेकी छन् ।

  • भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने

    भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने

    भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने भएको छ । भारतीय फिल्म बजारले दुईवटा फिचर फिल्मलाई संयुक्त लगानीका लागि छनाेट गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

    जसमा पासाङ दावा शेर्पाले निर्देशन गर्ने ‘ने पासाङ कुहिरो पारिको शहर’ तथा पृथ्वीजोय गांगुली र शिवकुमार कपुरले निर्माण गर्ने ‘ह्वाट वी लस्ट इन द फायर’मा फिल्म बजारले फन्डिङ गर्ने भएको छ । आधा लगानी नेपाली निर्माताको हुनेछ ।

    सन् २०२१ को अनलाइन संस्करणको लागि फिल्म बजारले विभिन्न मुलुकका २१ प्रोजेक्ट छनाेट गरेको छ । छानिएका फिल्मका निर्माताले भर्चुअल रुपमा फिल्म प्रोजेक्टबारे प्रस्ताव राखेका थिए । फिल्म निर्माता, वितरक र एजेन्टको रुचिको आधारमा यी प्रोजेक्ट छानिएको जनाइएको छ ।

    आगामी जनवरी १६ देखि २१ सम्म संचालन हुने फिल्म बजारलाई भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसनले आयोजना गर्नेछ ।

  • माघदेखि खुल्दै नेपाली नाटक घरहरु

    माघदेखि खुल्दै नेपाली नाटक घरहरु

    कोरोनाभाइरस महामारीले बन्द भएका नेपाली नाटक घरहरु पुस अन्त्यदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै अंग्रेजी नयाँवर्षदेखि नाटकका गतिविधि सुरु गर्न लागिएको हो ।

    ‘अंग्रेजी नयाँवर्षलाई आशाको किरण मानेर सोही छेकोदेखि नाटक घरहरु खुल्नेछन्’ नेपाल प्रेससँग थिएटर हबका संयोजक देव न्यौपानेले भने, ‘कोभिड मापदण्ड पालना गर्दै नाटकका गतिविधि सुरु हुनेछन् । तर, सुरुआतमै नाटक देखाउने स्थिति भने छैन ।’

    माघदेखि नाटक सम्बन्धी इभेन्ट आयोजना गरेर घर खुलाइनेछ भने खुलेको तीन महिनापछि नाटकको नियमित मंचन हुनेछ । लकडाउनअघि सुदाम सिके निर्देशित ‘एनिमल फार्म’सहित तीन नाटक रिहर्सलमा थिए । केही महिनामै यी तीन नाटकको मंचन सुरु गर्ने तयारी छ ।

    थिएटर मलका संचालक केदार श्रेष्ठले आउँदो साता बस्ने नाट्यकर्मीको बैठकमा नाटक घर खुलाउने मिति यकिन हुने बताए । ‘सुरुमा माहाेल बनाउने काम हुनेछ र यसका लागि साथीहरुसँग छलफल पनि हुँदैछ’ श्रेष्ठले भने, ‘सुरुमा गतिविधि खुलाउने तरिकाले काम अघि बढ्नेछ ।’

    उनका अनुसार माहाेल बनाउन र दर्शकलाई नाटकतिर आकर्षण गर्न केही गतिविधि हुनेछन् । ‘एकडेढ महिना परिस्थिति हेरेर नियमित नाटक मंचनको काम सुरु हुन्छ’ न्यौपानेले जनाए । अहिले काठमाडौंमा ६ सहित देशभर ८ नाटक घर छन् । थप तीन नाटकघर खुल्ने तयारीमा छन् ।

    एउटा नाटक घरमा झन्डै बीस जनाको समूह हुन्छ । अधिकांश नाट्यकर्मी कामलाई निरन्तरता दिने पक्षमा छन् । केही प्रतिशत चाहिं पेशाबाट पलायन भएको अनुमान गरिन्छ ।

  • रोकियो ‘मुलान’को नेपाल रिलिज, ‘द इन्भिजिबल म्यान’ रिलिज गर्दै क्यूएफएक्स

    रोकियो ‘मुलान’को नेपाल रिलिज, ‘द इन्भिजिबल म्यान’ रिलिज गर्दै क्यूएफएक्स

    अन्ततः शुक्रबार रिलिज हुने फिल्मको टुंगो लागेको छ । ‘मुलान’ सेन्सर हुन नसकेपछि क्यूएफएक्सले ‘द इन्भिजिबल म्यान’लाई पुनः रिलिज गर्न लागेको हो ।

    अन्तिम समयमा ‘मुलान’ र ‘ब्लडसट’ रिलिज रोकिएपछि लेग वानेल निर्देशित हरर फिल्म ‘द इन्भिजल म्यान’लाई रि–रिलिज गर्न लागिएको हो । चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ पनि क्यूएफएक्समा लाग्नेछन् ।

    यसको अर्थ शुक्रबार नयाँ फिल्म रिलिज हुनेछैनन् । पहिले नै रिलिज भएका फिल्मलाई पुनः रिलिज गर्न लागेको एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले बताए ।

    शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् ।

    वितरण कम्पनी गोपिकृष्ण मूभिजले शुक्रबारदेखि ज्याकी च्यान स्टारर फिल्म ‘भ्यानगर्ड’लाई नेटटिभी र डीसहोमसहितका नेपाली ओटीटी प्लेटफर्ममा रिलिज गर्दैछ । कम्पनी प्रमुख नीरज पौडेलका अनुसार जनवरी ७ मा सलमान खानको फिल्म ‘कागज’ र १४ मा फिल्म ‘पावर’ ओटीटीमा रिलिज हुनेछन् ।

    ‘तत्काल हलमा फिल्म रिलिज गर्ने तयारी हाम्रो छैन’ पौडेलले भने, ‘अवस्था हेरेर हल रिलिजबारे निर्णय गर्छौ ।’ उनका अनुसार वरुण धवन स्टारर बलिउड फिल्म ‘कुली नम्बर वान’ नेपालमा ओटीटी र हल दुबै प्लेटफर्ममा रिलिज हुनेछैन ।