Category: कलाप्रेस

  • प्रेमगीतको तेस्रो सिक्वेल रिलिज पोस्टपोन्ड, निर्देशक भन्छन् : सबै फिल्म हल खुलेमात्र रिलिज गर्छौ

    प्रेमगीतको तेस्रो सिक्वेल रिलिज पोस्टपोन्ड, निर्देशक भन्छन् : सबै फिल्म हल खुलेमात्र रिलिज गर्छौ

    काठमाडौं । प्रदीप खड्का स्टारर प्रतीक्षित नेपाली रोमान्टिक ड्रामा ‘प्रेमगीत ३’को पूर्वानिर्धारित रिलिज मिति पोस्टपोन्ड भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले नेपाली नयाँवर्षमा फिल्म प्रदर्शन नहुने कुराको पुष्टि गरे ।

    सामाजिक संजालमा उनी लेख्छन् –जनजीवन सामान्य हुँदै गएसँगै, चलचित्र घरहरु खुलेसँगै, मनोरञ्जनको पुरा संगालो, निषेधित प्रेमकथा ‘प्रेमगीत ३’ एउटा ठूलो प्रस्तुतिसहित चाँडै त्यो दिन, त्यो कुरा घोषणा गर्नेछौं ।’

    नेपाली नयाँवर्षमा रिलिज हुने घोषणासहित फिल्मले लकडाउनअघि नै टीजर एवं पोस्टर लन्च गरेको थियो । अहिले मुम्बइमा फिल्मको पोस्टप्रोडक्सन भैरहको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै उपयुक्त समयमा फिल्मको मिति घोषणा गरिने बताए । नेपाली दर्शकमाझ प्रेमगीतको सिरिजको तेस्रो सिक्वेलको प्रतिक्षा छ । यसपटक हिमाली थलोको प्रेमकथालाई फिल्ममा चित्रण गरिएको छ । आसुसेन फिल्मसले प्रोजेक्ट निर्माण गरेको हो ।

    सरकारले फिल्म हल संचालन फुकुवा गरेपनि केही हलमात्र संचालनमा आएका छन् र अकुपेन्सीलाई ५० प्रतिशतमा सीमित गरिएको छ । १० प्रतिशत फिल्म हल सँधैको लागि बन्द हुने चलचित्र संघको तथ्यांक छ । हल खुलेपनि लगभग जिरो अकुपेन्सीमै फिल्म चलिरहेका छन् ।

  • माघ ११ गते विहे गर्दै बरुण र नताशा, बलिउडमा पाँचदिनसम्म ग्रान्ड पार्टी

    माघ ११ गते विहे गर्दै बरुण र नताशा, बलिउडमा पाँचदिनसम्म ग्रान्ड पार्टी

    मुम्बइ -अन्ततः बलिउड अभिनेता वरुण धवन आगामी जनवरी २४ मा विहे बन्धनमा बाँधिने भएका छन् । फेसन डिजाइनर प्रेमिका नतासा दलालसँग उनले विहे गर्न लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    बलिउड हंगामाका अनुसार पाँच दिनसम्म भव्यरुपमा उनको विहे सेलिव्रेसन हुने भएको छ । अलिबगमा हुने उनको विहे समारोहमा केही खास र निकटलाई मात्र निम्तो गरिएको छ ।

    विहेको दिन आउन जम्मा १० दिनभन्दा कम समय बाँकी छ र यो जोडीले विहेमा जुटेको छ । ग्रान्ड रिसेप्सनसहित उनको विहे पार्टी मुम्बइमा जनवरी २२ देखि २६ सम्म चल्नेछ ।

    फेसन डिजाइनर हुनुको नाताले नतासाले आफ्नो विहे पहिरन आफै डिजाइन गर्नेछिन् भने वरुणको वार्डरोव चाहिँ कुनाल रावले डिजाइन गर्ने भएका छन् । पहिलो दिन हुने संगीत नाइटमा अर्जुन कपुर, सारा अली खान, मलाइका अरोरा, जान्वी कपुर, खुशि कपुर, करण जोहर र अनिल कपुर लगायतले प्रस्तुति दिने भएका छन् ।

    डेभिड धवनका पुराना मित्र भएकाले पनि सलमान खानले पनि पार्टी ज्वाइन गर्ने भएका छन् । अर्को दिन मेहेन्दी सेलिव्रेसन हुनेछ । २०० जना पाहुनाको उपस्थितीमा ककटेल नाइट पनि हुनेछ । २०२० मा विहे हुने भनिएपनि भाइरस महामारीले विहे रोकिएको थियो ।

  • जन्मदिनमा निश्चलको ‘जिन्दाबाद’ घोषणा, बुद्धिसागर लेख्दैछन् फिल्म

    जन्मदिनमा निश्चलको ‘जिन्दाबाद’ घोषणा, बुद्धिसागर लेख्दैछन् फिल्म

    काठमाडौं । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले आइतबार जन्मदिन सेलिव्रेट गरे । जीवनको ४० औं वर्षगाँठ मनाउन उनीसँग एउटा सरप्राइज पनि थियो । त्यो हो –नयाँ फिल्म घोषणा गर्ने ।

    बस्नेतले होमप्रोडक्सन प्रोजेक्ट ‘जिन्दाबाद’ निर्माण एवं निर्देशनको घोषणा गरेका छन् । उनी सामाजिक संजालमा लेख्छन् –जन्मदिनको शुभकामना निश्चल । राम्रो मान्छे बन्न सकूँ । यही दिएँ आफैलाई शुभकामना । यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’

    यसैसाता निश्चलको डेब्यु निर्देशकीय फिल्म ‘लुट’ले प्रदर्शनको नौ वर्ष पुरा गरेको छ । यसैसाता उनी बर्थडे सेलिव्रेट गर्दैछन्। टलकजंग भर्सेस टुल्के र लुटको दोस्रो सिक्वेल पनि उनले निर्देशन गरे ।

    निश्चलले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’को पटकथा उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । कर्णाली ब्लुज फेम्ड लेखक बुद्धिसागरले फिल्मका लागि निश्चलसँग टीमअप गरिरहेका छन् । उनै निर्देशकलाई ह्याप्पी बर्थडे ।

  • संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ निर्वाचित

    संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ निर्वाचित

    काठमाडौं । पारस मुकारुङको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार राजधानीमा भएको सम्मेलनबाट मुकारुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

    बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, हरि लम्साल प्रथम उपाध्यक्ष, अष्ट लामा द्धितीय उपाध्यक्ष, बसन्त सापकोटा महासचिव निर्वाचित भएका छन् । सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश थापा चुनिएका छन् ।

    सदस्यमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी र कालिप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । निर्वाचित भएपछि नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष मुकारुङले संगीतकर्मीको हितमा आफ्नो कार्यकाल केन्द्रित हुने बताए ।

  • आर्यन सिग्देल स्टारर ‘डिसेम्बर फल्स’को अष्ट्रेलिया राइट विक्री

    आर्यन सिग्देल स्टारर ‘डिसेम्बर फल्स’को अष्ट्रेलिया राइट विक्री

    काठमाडौं / अष्ट्रेलियाको लागि फिल्म ‘डिसेम्बर फल्स’को डिजिटल र प्रदर्शन अधिकार बिक्री भएको छ । नेप आर्ट युट्युव डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले राइट खरिद गरेको हो । लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले यसअघि पनि अष्ट्रेलियामा फिल्म प्रदर्शन र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

    फिल्म ‘डिसेम्बर फल्स’का टीजर, गीत, ट्रेलर अब दर्शकले नेप आर्ट युट्युव च्यानलमा हेर्न पाउनेछन् । साथै, फिल्म नेपाल र अष्ट्रेलियाका बिभिन्न शहरमा एकसाथ रिलिज हुने भएको छ।

    फिल्ममा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, सलोन बस्नेत, शिबहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतले अभिनय गर्नेछन् । अभिनेत्री ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेसडर पनि हुन ।

    ‘कलाकारको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारको जमघटको आधारमा फिल्मको राइट खरिद गरेका हौं’, कर्नरका प्रमुख सुनील उप्रेतीले भने । उनले अभिनेत्री ठकुरी आफ्नो सस्थाको ब्रान्ड ऐम्बस्डर भएको नाताले पनि फिल्म खरिद गर्न आफू इच्छुक भएको उनले बताए ।

    प्रेम कथामा आधारित यो फिल्मलाई प्रबिन झाले निर्देशन गर्ने छन भने छायांकार महेश आर गुप्ता हुन । यी दुबै भारतीय फिल्ममा काम गरि सकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन । यसैबीच काठमाडौंको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कर्नरले नयाँ बानेश्वरमा अर्कों शाखा खोलेको छ।

  • मोडल समाइरा श्रेष्ठ विवेकशील साझा पार्टीकी इन्द्रेणी विभाग प्रमुखमा चयन

    मोडल समाइरा श्रेष्ठ विवेकशील साझा पार्टीकी इन्द्रेणी विभाग प्रमुखमा चयन

    काठमाडौं । विवेकशील साझा पार्टी लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल बनेको छ । रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ ।

    लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् ।

    पार्टीको केन्द्रिय सदस्य समेत रहेकी समाइरा श्रेष्ठले यो विभागको नेतृत्व गर्ने भएकी छिन् । समाइरा मोडल समेत उनी । उनले थुप्रै ¥याम्प सोमा सो–स्टपरको रुपमा प्रस्तुति दिएकी छिन् । उनी बेला बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् । लकडाउनले मजदुर भोकै भएपछि उनको पहलमा खुलामंचमा खाना पनि वितरण गरिएको थियो ।

    ठूला दलले लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला विवेकशील साझा पार्टीले भने विभाग नै गठन गरेको हो ।

  • लेडी गागा र जेनिफर लोपेथले बाइडेनको सपथ ग्रहणमा गाउने

    लेडी गागा र जेनिफर लोपेथले बाइडेनको सपथ ग्रहणमा गाउने

    वासिङ्टन –अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ ग्रहण समारोहमा पपगायिका लेडी गागा र जेनिफर लोपेथले प्रस्तुति दिने भएका छन् । गत नोभेम्बर अन्त्यमा बाइडेनसँग सँगै देखिएकी गागाले उनको चुनावी अभियानमा पनि भाग लिएकी थिइन् । गागा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर आलोचक समेत हुन् ।

    २० जनवरीमा गागाले अमेरिकी राष्ट्रिय गान पनि गाउनेछिन् । बाइडेनको पक्षमा खुलेरै लागेकी अर्की पप गायिका लोपेथले पनि बेग्लै प्रस्तुति दिने कार्यक्रम छ । सपथ ग्रहण कार्यक्रमपछि हलिउड अभिनेता टम ह्यांक्सले स्टारहरुले भरिपूर्ण टेलिभिजन कार्यक्रम संचालन गर्ने भएका छन ।

    सेलेव्रेटिङ अमेरिका नाम दिइएको उक्त ९० मिनेट लामो टेलिभिजन कार्यक्रममा अमेरिकी संगीतकार जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक, एन्ट क्लेमन्सले भाग लिनेछन् । सपथ ग्रहण समारोह कार्यक्रमको आयोजकले उक्त सेलिव्रेसनलाई नयाँ दिशातर्फ अमेरिकी एकता अघि बढेको रुपमा मनाइने भएको छ ।

    अहिले वासिङ्टन संकटकाल लागु गरिएको छ र बाइडेनको सपथ ग्रहण कार्यक्रम पनि संकटकालकै दौरान आयोजना हुनेछ । जनवरी ६ मा ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि १५ दिनको लागि संकटकाल लागु गरिएको थियो । सपथ ग्रहण समारोहलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणमा संलग्न २०० लाई पक्राउ गरिएको छ । १० हजार राष्ट्रिय गार्डले कार्यक्रमलाई सुरक्षा दिने भएका छन् ।

  • हलिउड स्टारर लियाम नेसनले एक्सन फिल्मबाट लिए सन्यास

    हलिउड स्टारर लियाम नेसनले एक्सन फिल्मबाट लिए सन्यास

    हलिउड अभिनेता लियाम नेसनले एक्सन जनराका फिल्मबाट सन्यासको घोषणा गरेका छन् । पाइपलाइनमा रहेका ‘वन्डर वुमन ३’ र ‘ओभिवान केनोभी’को छायांकन पछि एक्सन फिल्म नगर्ने उनले निर्णय गरेको डेलीमेलले उल्लेख गरेको छ ।

    ‘भिजिलान्ते र एक्सन फिल्म गरेर म थाकिसकेँ । मेरो उमेर पनि आउँदो जुनमा ६९ पुग्दैछ ।’ उनले भने ।

    कोभिड महामारी सामान्य भएपछि बाँकी दुई फिल्मको सुटिङ गर्ने उनले जनाए । तर, उनले आफ्नो उमेरका कतिपय अभिनेतासँग एक्सन फिल्म गर्ने योजना गुमाउनुपर्दा चाहिँ मिस गरेको जनाए । लियामले हालै अष्ट्रेलियामा ब्ल्याकलाइट फिल्म छायांकन गरे जहाँ उनले बच्चासँग एक्सन दृश्य सक्नुपर्ने थियो । ‘ती बच्चाको नाम टेलर थियो र उमेर २५ । मेरो ठूलो छोराको उमेरसँगै’ उनले भने, ‘यो मेरा लागि निकै महत्वपूर्ण क्षण थियो ।’

    वन्डर वुमन ३ मा चाहिँ लियामले गल ग्याडटको पिताको भूमिकामा अभिनय गर्दैछन् । यो फिल्मलाई प्याटी जेन्किन्सले निर्देशन गर्दैछन् । लियाम एकपटक अस्करमा र तीनपटक गोल्डेन ग्लोब्स अवार्डमा मनोनित भैसकेका छन् । लियाम स्टारर ‘क्ल्यास अफ दी टाइटन्स’ सन् २०१० मा रिलिज भएको थियो र यसले ४९३.२ मिलियन डलर कमाएको थियो ।

    लियामले नेपालमा छायांकन गरिएको सगरमाथाबारेको डकुमेन्ट्री द वाइल्डेस्ट ड्रीममा आफ्नो आवाजमा न्यारेसन पनि दिएका थिए ।

  • फोटो फिचर : श्वेताको विहे भोज, भन्छिन् –जिन्दगीमा अघि बढ्ने हौसला मिलेको छ

    फोटो फिचर : श्वेताको विहे भोज, भन्छिन् –जिन्दगीमा अघि बढ्ने हौसला मिलेको छ

    काठमाडौं । विहेको एकमहिनापछि पनि अभिनेत्री श्वेता खड्का र उनका श्रीमान विजयेन्द्रको सेलिव्रेसन मुड सकिएको छैन । के–टाउनको यो नयाँ जोडीले माघे सक्रान्तिको साँझ निकट फिल्मकर्मीसँग खुशि सेलिव्रेट गर्‍यो । ठमेलको अलफ्ट लाउन्जमा यो कपललाई बधाइ दिन नेपाली फिल्मका सेलेव्रिटी र संचारकर्मी सहभागि थिए ।

    अभिनेता मदनकृष्ण श्रेष्ठ
    अभिनेत्री आँचल शर्मा पतिसँग ।
    बायाँबाट वितरक गोपाल कायस्थ, अभिनेता प्रशान्त ताम्राकार र अभिनेत्री सुभेच्छा खड्का ।
    बायाँबाट गायक प्रमोद खरेल, निर्माता आकाश अधिकारी, बरिष्ठ निर्देशक नीर शाह र गायिका कोमल ओली ।

    फिल्मकर्मीका लागि श्वेताले भोजको आयोजना गरिन् । उक्त गेट–टुगेदरमा श्वेता र विजयेन्द्रले केक काटे र चखाए । करिश्मा मानन्धर लगायतका सेलेब्स पार्टीमा थिए । खुशिको मुडमा देखिएकी श्वेताले आगन्तुकलाई धन्यवाद दिइन् । ‘यहाँहरुले दिनुभएको आशिर्वादले ऊर्जा मिलेको छ’ श्वेताले भनिन्, ‘जिन्दगीमा अगाडि बढ्ने हौसला मिलेको छ । मलाई मेरो परिवारले माया दिनुभएको थियो ।’

    मंसिरको २२ गते विहे गरेको यो जोडीले पहिलोपटक फिल्मकर्मीका लागि रिसेप्सन आयोजना गरेको हो । यसअघि उनीहरुले अन्य क्षेत्र र आफन्तका लागि पार्टी गरेका थिए । पार्टीमा विजयेन्द्र भने खासै बोलेनन् । लकडाउनकै समयमा मौलाएको श्वेता–विजयेन्द्र प्रेम बल्ल अहिले आएर विहेमा रुपान्तरण भएको हो ।

    तस्विर सौजन्य : नवीन कार्की

  • गुरुङ फिल्म अब सिनेमा घरमै रिलिज हुने, एकैसाथ १५ फिल्म रिलिज लाइनअप घोषणा

    गुरुङ फिल्म अब सिनेमा घरमै रिलिज हुने, एकैसाथ १५ फिल्म रिलिज लाइनअप घोषणा

    पोखरा । कोभिड–१९ महामारीको सकारात्मक प्रभाव गुरुङ फिल्म उद्योगमा देखिएको छ । नेपाली भाषाको मूलधारलाई चुनौति दिने गरि अबदेखि गुरुङ फिल्म सिनेमा घरमै प्रदर्शन हुने भएका छन् । गुरुङ फिल्म एसोसिएसन (जिफान)ले हलमा रिलिज हुने १५ फिल्मको लाइनअप घोषणा गरेको छ ।

    विहिबार बसेको जिफान बैठकले सबै फिल्मलाई पोखराको मल्टिप्लेक्स मिडटाउन सिनेमाज्मा रिलिज गर्ने निर्णय गरेको हो । नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष भोजबहादुर गुरुङले अबदेखि गुरुङ फिल्म मेनस्ट्रिमजस्तै हलमा रिलिज हुने बताए । ‘अबदेखि गुरुङ फिल्म पार्टी प्यालेस, होटल र बैठक कोठामा देखाइने युगको अन्त्य भएको छ’ उनले भने, ‘अब हामीले सरकारको कानुन र कोभिड प्रोटोकल पालना गर्दै हलमा फिल्म रिलिज गर्छौं ।’

    सबै फिल्म एक–एक साताको फरकमा रिलिज हुने भएका छन् । रिलिज हुने फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आन्तरिक बजारको खोजी गर्ने उद्देश्यले जिफानले फिल्मलाई हलमै लगाउन लागेको हो । गुरुङ समुदायको घनावस्ती रहेको पोखरा नेपाली फिल्मको दोस्रो ठूलो बजार समेत हो । हलमा रिलिज गर्दा गैरगुरुङ दर्शकले पनि हेर्न पाउने विश्वास जिफानले लिएको छ । माघ २४ गतेदेखि गुरुङ फिल्म रिलिज हुनेछन् ।

    रिलिज हुने फिल्ममा ङ्हेल्स्यो (सैंना), सबन मु ( सन्चै छौ), शिरसुब्बा (शिरसुब्बा), मिं न्होर्बे ट (आँखा भित्रको फुल), मैरिमो (सम्झिरहने छु), युम्पो देउराली (ढुंगे देउराली), स्युरु (काँचो धागो), कर्म क्याँ (भाग्यको बाटो), रिजे नाँसा (रिजेको गाउँ), सिमि नाँसा (स्वर्गको गाउँ), युके सुईटर (युके सुईटर), आम्लेबा माया (नबिर्सिने माया), प्रे-सोना (संगै बाचौं), अम्बो सलि (साली भेना), मुरबै मुसारा (आकाशको तारा), म्ले क्यु (बिर्साउने पानी), मारा क्यु (सुन पानी), मनको बाबरी (मनको बाबरी), डर्टी पोखरा (डर्टी पोखरा), ङोल्स्यो माया (सोल्टिनि माया), टुकि (टुकि), तमुस्यो (गुरुङ्सेनी), पेवा (पेवा), सम्बन्धको डोरी (सम्बन्धको डोरी), तिमी नभए (तिमी नभए), मुई (पैसा)छन् ।

  • संचारमन्त्रीले हेरे शिव श्रेष्ठको फिल्म, भन्छन् : हल खुलेको सन्देश दिन फिल्म हेरेको हुँ

    संचारमन्त्रीले हेरे शिव श्रेष्ठको फिल्म, भन्छन् : हल खुलेको सन्देश दिन फिल्म हेरेको हुँ

    काठमाडौं । संचारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले हलमै पुगेर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेरेका छन् । मन्त्री र सेलेव्रिटीका लागि निर्माता एवं अभिनेता शिव श्रेष्ठले ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा फिल्मको प्रिमियर आयोजना गरेका थिए ।

    हाफटाइमसम्म फिल्म हेरेका संचारमन्त्रीले निर्माता एवं अभिनेता श्रेष्ठलाई बधाइ तथा सफलताको शुभकामना दिए । नेपाल प्रेससँग कुरा गर्दै संचारमन्त्री गुरुङले दसमहिनापछि हल खुलेको सन्देश दिन आफू फिल्म प्रदर्शनमा सहभागि भएको समेत जनाए । ‘हल खुलेको सन्देशको लागि पनि म फिल्म हेर्न गएको हुँ’ उनले भने, ‘जति समय फिल्म हेरेँ, राम्रो लाग्यो र शिवजीलाई बधाइ तथा शुभकामना समेत दिएँ ।’

    अभिनेता श्रेष्ठका छोरा शक्तिले डेब्यु गरेको फिल्म भएकाले पनि आफूले पारिवारिक विरासतका लागि शुभकामना दिएको मन्त्री गुरुङले बताए । सरकारले हल फुकुवा गरेपछि फिल्म हेर्न मन्त्री पहिलोपटक हलमा पुगेका हुन् । सामाजिक दूरी कायम गर्दै लबिम मलमा स्पेसल सोको आयोजना गरिएको थियो । माघ १ गतेदेखि रिलिज भएको यो फिल्मको विशेष सोमा चलचित्र संघका पदाधिकारी पनि सहभागि थिए ।

    विहिबारै भारतीय फिल्म ‘मास्टर’ समेत नेपाली हलमा रिलिज भएको छ । शिवको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ चाहिँ लकडाउनपछि रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ । गतसाता हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज भएको थियो ।

  • रेखा थापा फेरि प्रचण्डतिर, भुवन केसी तटस्थ !

    रेखा थापा फेरि प्रचण्डतिर, भुवन केसी तटस्थ !

    काठमाडौं । नेकपा विभाजनको प्रभाव कलाकारमा पनि देखिन थालेको छ । सेलेव्रिटी नेताले आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । केही कलाकार खुलेरै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षमा लागेका छन् भने, कोही केपी शर्मा ओलीको पक्षमा छन् । केही भने तटस्थ देखिएका छन् । कोही चाहिँ परिस्थतीको मूल्यांकन गरेर पर्ख र हेरको आधारमा अघि बढ्ने मनस्थितीमा छन् ।

    विगतमा एमालेबाट चुनाव लड्ने तयारी थालेका अभिनेता एवं निर्माता भुवन केसी नेकपा पार्टी विभाजनपछि तटस्थ छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे उनी मौन देखिएका हुन् । तत्काल कुनै पनि पक्षमा खुलिहाल्ने मनस्थितीमा छैनन् उनी । नेपाल प्रेससँग कुरा गदै भुवनले तत्काल आफू कतै नलाग्ने संकेत गरे ।

    विगतमा प्रचण्ड निकट मानिएकी अभिनेत्री रेखा थापा अहिले राप्रपा नेतृ हुन् । रेखालाई आफ्नो पार्टी प्रवेश गराउन नेकपाको दाहाल–नेपाल खेमाले गृहकार्य गरिरहेको बुझिएको छ ।

    कुनै एउटा राम्रो पद दिएर रेखालाई आफूतिर ल्याउन खुमलटारले पहल गरेको निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । रेखालाई युवा संघको केन्द्रिय सदस्य दिलाउने अफर आएको बुझिएको छ । तर, रेखाले यसको स्वतन्त्र पुष्टि गरेकी छैनन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विगतमा ओली निकट हुन् । तर, उनी नेकपा विभाजनपछि तटस्थ देखिएका छन् । उनी खुलेर कुनै कित्तामा प्रस्तुत भएका छैनन् । निर्देशक दिनेश डीसी ओली निकट मानिएपनि उनी अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । संसद विघटनको प्रकरणमा उनी मौन देखिएका थिए ।

    नेकपा निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई खुलेरै ओलीको पक्षमा लागेका छन् । उनी विगतमा पनि ओली निकट थिए ।

    संगीतकार चेतन सापकोटा, निर्देशक केपी पाठक, अभिनेत्री मौसमी मल्ल, राजेन्द्र खड्गी, सुवास गजुरेल विगतमा पूर्वमाओवादी धारका हुन् । जसले गर्दा यो समूह दाहाल–नेपाल पक्षमै खुलेको छ । अभिनेता दीपकराज गिरी पनि तटस्थ देखिएका छन् । तर, गिरीले संसद विघटनको प्रधानमन्त्रीको कदम ‘व्यवहारिक’ नभएको तर्क अघि सारेका थिए ।

    लोकगायक बद्री पंगेनी पनि खुलेर कुनै पक्षमा लागेका छैनन् । उनी विगतमा एमाले निकट मानिन्थे र स्थानीय तहको चुनावमा उनले गाएको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

    हास्यकलाकार मनोज गजुरेल पनि तटस्थ छन् । निर्देशक मनोज पण्डित खुलेरै संसद विघटनको विपक्षमा उभिएका छन् ।

    निर्माता एवं चलचित्र विकास बोर्डका पूर्वसदस्य नरेन्द्र महर्जन केपी ओलीको पक्षमा खुलेका छन् भनेर चलचित्र व्यवसायी देवेन्द्र खड्गी पनि ओलीको पक्षमा उभिएका छन् । कानुनीरुपमा नेकपा विभाजन नभैसकेकोले केही सेलेव्रिटी नेता चाहिँ परिस्थिती हेरेर अगाडि बढ्ने मनस्थितीमा देखिएका छन् ।

  • पल र पूजा स्टारर ‘मनसँग मन’ रिलिज डेट घोषणा, रोमान्टिक गीत लन्च

    पल र पूजा स्टारर ‘मनसँग मन’ रिलिज डेट घोषणा, रोमान्टिक गीत लन्च

    फिल्म ‘मनसँग मन’ले प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरेको छ। यो फिल्म चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले फिल्म रिलिज गर्न लागेको हो ।

    फिल्मको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ ।गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ ।

    यो भिडियोमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा शिवाकोटीको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक शाह र नायिका शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।

    फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । कैलाश राइको निर्देशनमा बनेको फिल्ममा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा फिल्म तयार भएको हो ।

  • बनेपामा अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माण सुरु, फिल्म म्युजियम पनि बन्ने

    बनेपामा अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माण सुरु, फिल्म म्युजियम पनि बन्ने

    बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।

    बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । “भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उनले भने। उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हनेछ ।

    इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले जनाए। आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ ।

    ‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उनले भने ।

    चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने जनाइएको छ । “नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ”, अध्यक्ष दाहालले भने ।

  • आज माघे सक्रान्ति : थारु फेसन स्टेटमेन्टमा सेलेना गोमेजदेखि रेखा थापासम्म

    आज माघे सक्रान्ति : थारु फेसन स्टेटमेन्टमा सेलेना गोमेजदेखि रेखा थापासम्म

    माघे सक्रान्ति पर्व विहिबार देशभर सेलिव्रेट गरिँदैछ । थारु समुदायले यस पर्वलाई माघीपर्वको रुपमा मनाउँछन् । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । पाँचदिनसम्म तराई क्षेत्रमा धुमधामका साथ यो पर्व मनाइने गरिन्छ ।

    अभिनेत्री रेखा थापा

    नागरिकजस्तै सेलिव्रेटी पनि माघे सक्रान्तिको मुडमा छन् । सामाजिक संजालको टाइमलाइनमा उनीहरुले आफ्ना प्रशंसकलाई माघी पर्वको रुपमा शुभकामना दिएका छन् । उनीहरुले थारु समुदायको गेटअप र पोशाकमा तस्विर पनि सेयर गरेका छन् । अभिनेत्री रेखा थापाले माघे सक्रान्तिको शुभकामना दिँदै थारु वार्डरोवमा सजिएको फोटो सेयर गरेकी छन् ।

    सेलेना गोमेज बर्दियामा

    माघीपर्वको अवसरमा अभिनेता पल शाहले म्युजिक भिडियो लन्च गर्दैछन् । केही वर्षअघि नेपाल आएकी हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज बर्दिया पुगेर माघी मनाएकी थिइन् । सेलेनाको थारु पहिरनमा सजिएको तस्विर त्यतिबेला भाइरल भएको थियो । नेपाली अभिनेत्री एवं पूर्वमिस नेपाल मलिना जोशीले पनि थारु पहिरनमा फोटो पोस्ट गर्दै शुभकामना दिएकी छन् ।

    अभिनेता पल शाह र गरिमा शर्मा

    अपिल विष्टको निर्देशन रहेको फिल्म झुम्कीमा मलिना एक थारु युवतीको भूमिकामा प्रस्तुत थिइन् । थारु समुदायको नयाँवर्ष पनि भनिने माघीपर्व स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाइन्छ । आजको दिन तरुल खाने पनि गरिन्छ । सरकारले २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरि त्यसैवर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसको रुपमा समेत मनाइन्छ ।

    अभिनेत्री एवं पूर्वमिस नेपाल मलिना जोशी फिल्म ‘झुम्की’ छायांकन सेटमा ।
  • नेपाली नाटक घर आजदेखि खुल्दै, आठवटा नाटकको लाइनअप घोषणा

    नेपाली नाटक घर आजदेखि खुल्दै, आठवटा नाटकको लाइनअप घोषणा

    काठमाडौं । दस महिनादेखि बन्द भएका नेपाली नाटक घर आजदेखि खुलेका छन् । नेपाली थिएटरको छाता संस्था थिएटर हबले ९ गतेसम्म ८ वटा नाटक र कार्यक्रम लाइनअप घोषणा गरेको छ । कोरोनाले थलिएको नेपाली रंगमंचलाई लयमा ल्याउन यो लाइनअप सहायक हुने हबले जनाएको छ ।

    विहिबार आज बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ मंचन हुँदैछ । शुक्रबार कौसी थिएटरमा नाटक ‘हराउँदै भेटाउँदै’ नाटक मंचन हुनेछन् । बिराटनगरको झोराहाट थिएटरमा आइतबार नाटक ‘कोरोना टाइम्स’ मंचन हुनेछ ।

    बिराटनगरकै आरोहण गुरुकुलमा सोमबार नयाँ नाटकको नमुना मंचन तथा छलफल हुनेछ । मंगलबार पोखरा थिएटरमा नाटक महोत्सवको घोषणा हुनेछ । बुधबार काठमाडौंको मण्डला थिएटरमा ‘कोरोना अघि र पछिको रंगमंच एवं अबको बाटो’ संचालन हुनेछ । शैली थिएटरमा विहिबार शैली संवाद संचालन हुनेछन् । अर्को शुक्रबार कीर्तिपुरस्थित थिएटर रंगमंचमा पोएट्री पटरी र रंगकर्मीको कविता संचालन हुनेछन् ।

  • भ्वाइस अफ नेपालको तेस्रो सिजनको कोचमा गायिका तृष्णा गुरुङ

    भ्वाइस अफ नेपालको तेस्रो सिजनको कोचमा गायिका तृष्णा गुरुङ

    गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एकजना कोच परिवर्तन गरिएको छ । सिजन–२ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई अनुवन्धित गरिएको हो । आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो ।

    ‘दि भ्वाइस अफ नेपाल’को तेस्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तिर्सनाले बताइन् ।

    ‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतीमै सो छाडेको बताए । यसमा अन्य कुनै कारण नभएको पौडेलको भनाई छ ।

    अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो सो प्रशारण हुने बताइएको छ ।

    सोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।

    यसअघि टिम दीप र टिम प्रमोदका प्रतिस्पर्धीले यो सोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले सोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’

    पत्रकार सम्मेलनमा हिमालय टेलिभिजन र विज्ञापनदाताहरुविच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । ‘दि भ्वाइस अफ नेपाल’लाई ओप्पोले प्रस्तुत गर्नेछ । हिमालय टेलिभिजनका प्रमुख धर्मराज भुषाल र कार्यकारी निर्देशक श्याम कँडेलले ‘दि भ्वाइस अफ नेपाल’का स्पोन्सरसँग संझौता साझेदारी गरेका थिए ।

    कार्यक्रममा बोल्दै हिमालय टीभीका प्रमुख भुषालले टेलिभिजनले दर्शकहरुलाई मनोरञ्जन दिन विश्वकै नम्बर १ रियालिटी शोका फ्रेन्चाइज ल्याइरहेको बताए । उनले, यो सिजनको ‘दि भ्वाइस अफ नेपाल’लाई गतबर्षको भन्दा झनै उत्कृष्ट बनाएर प्रस्तुत गर्ने बताए ।

  • सुशान्तको हस्तलिखित पत्र बाहिरियो, लेख्छन् –३० वर्ष बिताएपछि लाग्यो जिन्दगीको खेल नै गलत थियो

    सुशान्तको हस्तलिखित पत्र बाहिरियो, लेख्छन् –३० वर्ष बिताएपछि लाग्यो जिन्दगीको खेल नै गलत थियो

    मुम्बई –दिवगंत बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी बहिनी श्वेता सिंहले आफ्ना दाजुले लेखेको हस्तलिखित पत्रलाई सामाजिक संजालमा सेयर गरेकी छन् । जसमा सुशान्तले आफ्नो ३० वर्षको अनुभव र जिन्दगीको वास्तविक खेलको बारेमा चर्चा गरेका छन् ।

    श्वेता क्याप्सनमा लेख्छिन् –भाइले लेखेको पत्र । सोच एकदमै गहिरो छ ।’ सुशान्तको पत्रको नेपाली अनुवाद –मलाई लाग्छ कि मैले जिन्दगीका ३० वर्ष बिताएँ । सुरुआती ३० वर्ष केही बन्ने प्रयासमा । म हरेक चीजमा असल बन्न चाहन्थेँ । म टेनिस, स्कुल र ग्रेड्समा राम्रो बन्न चाहन्थेँ । यही कारण मैले ती सबै चीजलाई त्यही नजरबाट हेरेँ । म जस्तो छु, वास्तविकरुपमा ठीक छैन । मलाई पछि लाग्यो कि जिन्दगीको पुरै खेल नै गलत छ । किनभने पुरा खेल त त्यही कुरालाई पाउनु थियो, जुन म पहिले थिएँ ।’

    १४ जुन २०२० मा सुशान्तलाई मुम्बइस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएको थियो । उनको मृत्युपछि प्रहरीले छानविन अगाडि बढायो तर कुनै निष्कर्ष भेटिएन । यस मामिलामा उनकी प्रेमिका रिया चक्रवर्तीलाई एक महिना जेलमा बस्नुपर्‍यो । सुशान्तको मृत्यु अहिले पनि रहस्यमै छ र प्रहरीले अहिले पनि अनुसन्धान अगाडि बढाइरहेको छ ।

  • बीसवर्षपछि एल्बममा टीमअप गर्दै ‘आस्था’ ब्यान्ड, फिल्म छायांकन भने बीचमै अनिश्चित

    बीसवर्षपछि एल्बममा टीमअप गर्दै ‘आस्था’ ब्यान्ड, फिल्म छायांकन भने बीचमै अनिश्चित

    काठमाडौं । नेपालको चर्चित पप ब्यान्ड ‘आस्था’बारे दुई नयाँ खबर छ – ब्यान्डका दुई ठूला नाम नरेन लिम्बु र सुदीप गुरुङ झन्डै बीसवर्षपछि टीमअप गर्दैछन् नयाँ एल्बमका लागि । दोस्रो –नरेनको निर्माण एवं निर्देशन रहेको फिल्म ‘आस्था’को छायांकन ८० प्रतिशत सकिएपछि अनिश्चित बनेको छ ।

    पहिलो कुरा बीसवर्षपछि हुने सम्भावित सहकार्यबारे चर्चा गरौं । नेपाल प्रेससँग कुरा गर्दै नरेनले आफ्ना प्रिय ब्यान्ड मेम्बर सुदीपसँग एक नयाँ एल्बमका लागि सहकार्य गर्ने बताएका छन् । ‘लकडाउनअघि नै मिलेर नयाँ एल्बम निकाल्ने तयारी थियो’ उनले भने, ‘तर, लकडाउनपछि त्यो योजना रोकियो ।’ उनका अनुसार यो चर्चित सहकार्यलाई उनी निरन्तरता दिन चाहन्छन् ।

    सन् २००२ मा रिलिज भएको आस्था एल्बममा समेटिएको ‘हरपल’ गीत नेपाली चार्टबस्टरमा हिट भएको थियो । यसले नेपाली पप जनरामा एउटा रेकर्ड नै राख्यो । धरानबाट काठमाडौं आइपुगेका यी दुई ठिटाले नेपाली पप संगीतमा बेग्लै खालको स्वाद बसाले । अब भने बेलायतमा बस्दै आएका गुरुङ र काठमाडौंमा बसेका लिम्बुबीच नयाँ एल्बमका लागि टीमअप हुनेछ ।

    सुदीप गुरुङ (बायाँ) र नरेन लिम्बु (दायाँ) । माथिल्लो तस्विरमा कुसुम गुरुङ र नरेन लिम्बु फिल्म आस्था छायांकनको सेटबाट । 

    यसैबीच, ८० प्रतिशत छायांकन सकिएको फिल्म आस्थाको भविष्य अनिश्चित बनेको छ । नरेनका अनुसार यो सांगीतिक ड्रामा अब कहिले बन्छ भन्नेबारे यकिन छैन । ‘केही समस्याले गर्दा रोकिएको छ, यसको भविष्यबारे सोच बनाउँदैछु । अहिलेलाई रोकिएको मान्नूस’ नरेनले नेपाल प्रेससँग भने । नरेन हिजोआज केही म्युजिक भिडियोमा व्यस्त छन् ।

  • ‘लुट’ रिलिजको नौ वर्ष : तीन ठूला उपलब्धी, जसले बदल्यो नेपाली फिल्मको सौन्दर्य

    ‘लुट’ रिलिजको नौ वर्ष : तीन ठूला उपलब्धी, जसले बदल्यो नेपाली फिल्मको सौन्दर्य

    काठमाडौं । नेपाली फिल्म क्यालेन्डरमा १३ जनवरी ऐतिहासिक तिथिको रुपमा मार्क हुनेछ । ठीक ९ वर्ष अगाडि आजकै दिनमा फिल्म ‘लुट’ रिलिज भएको थियो र एकैसाथ नेपाली फिल्मको ब्याकरणलाई पुनः परिभाषित गरिदिएको थियो । ‘लुट’ले के मात्र गरेन ? ५० वर्षे नेपाली फिल्मको इतिहासमा कथ्य, संरचना र बजारमा मानक स्थापित गरिदयो । धन्यवाद –माधव वाग्ले, नरेन्द्र महर्जन, निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्लको टीमअपलाई ।

    जतिबेला लुट रिलिज भएको थियो । उतिबेला समीक्षक मनोज पण्डितले दुई सिरिजमा लुटको समीक्षा गरेका थिए । उनी लिखित ‘लुट’ समीक्षाको हेडलाइन थियो –लुटले लुट्छ । पण्डितको तर्क थियो –लुटले नेपाली फिल्मको परम्परागत न्यारेसन शैलीलाई परिवर्तन मात्र गरेन विषयवस्तु र कथ्य संरचनामा नयाँपन ल्यायो । रिलिजको ठीक नौ वर्षपछि पुनः ‘लुट’को उपलब्धीलाई एकपटक सिंहावलोकन गर्नु सान्दर्भिक हुन आउँछ ।

    मल्टिप्लेक्स कल्चरको सुरुवात

    सन् २०१२ मा लुट रिलिज हुने समय नेपालमा मल्टिप्लेक्स हलमा सिभिल र बिग मूभिज मात्र थिए । त्यसअघि सिंगल थिएटरकै जगजगी थियो । जसै, लुट रिलिज भयो, मल्टिप्लेक्समा यसको ब्यापारमा उछाल आयो ।

    सिंगल पर्दामा समेत लुट हिट भयो । वास्तवमा भन्नुपर्दा लुटले दर्शकलाई यसरी हलमा तान्यो कि जो प्रायः हलमा जान आनकानी गर्थे या नेपाली फिल्मप्रति रुचि राख्ने थिएनन् । लुट कालखण्डपछि नै नेपालमा मल्टिप्लेक्स हलहरु धमाधम खुल्न थाले । फिल्म संस्कृति र मल्टिप्लेक्स कल्चर स्थापना गर्न लुटको योगदान छ ।

    फिल्म ब्याकरणमा परिवर्तन
    लुटअघि फिल्म समीक्षकको एउटै आलोचना हुने गथ्र्यो –फिल्मले समाजलाई कहिल्यै पनि स्वीकार गरेन । फिल्मलाई कहिल्यै साहित्यिक उत्पादनको रुपमा लिइएन ।

    फिल्मलाई कहिल्यै बौद्धिक उत्पादन ठानिएन र नेपाली फिल्मले दृश्यभाषालाई पूर्णतः बेवास्ता गर्‍यो । तर, लुटले यी सबै कुरालाई आत्मसात गरेको भन्दै समीक्षकले स्वागत गरे । वास्तवमा लुट द्धन्द्ध, कथ्य संरचना, संवाद, चरित्र चित्रण र सन्देशको हिसाबले निकै अब्बल फिल्म हो ।

    नेपाली सौन्दर्यको परिभाषामा नपर्ने चिम्सा आँखाहरु फिल्ममा नायक बने । हाकु काले बनेका सौगात मल्ल, दयाहाङ राईको पेट तथा काठमाडौंको गल्ली निकै हिट रहे । लुट फिल्मकै बिन्दुबाट काठमाडौंको चोभारले आकर्षण गुमाएको हो । लुट फिल्मबाटै पुरुषोत्तम प्रधान एकाएक ‘टेक्निकल हिरो’ बने । नेपाली नाट्य जगतले यही विन्दुबाट नेपाली सिनेम्याटिक परम्परामा जगजगी बसालेको हो ।

    विदेशी बजारको खोजी

    लुट यस्तो फिल्म थियो जसले विदेशी बजारमा नेपाली फिल्मको खोजी थाल्यो । सम्भवतः विदेशी बजारमा सर्वाधिक कमाउनेमध्येको एउटा फिल्म भएको थियो यो । स्वदेशमा ४ करोड ग्रस कमाएको ठानिएको फिल्मलाई निर्माताले निश्चित देशहरुमा ओभरसिज राइट विक्री गरेका थिए ।

    अष्ट्रेलिया, युरोप र अमेरिकी बजारमा लुटले तहल्का मच्चायो । त्यसपछि मात्र चपली हाइट लगायतका अन्य फिल्मले ओभरसिज राइटको खोजी थाले । नेपाली फिल्मको इतिहासमा लुटको जस्तो विदेश डिमान्ड अरु फिल्मको भएको थिएन ।

    तर, लुटको दोस्रो सिक्वेलको भने उतिसारो चर्चा भएन । समीक्षकले अघिल्लो भागजस्तो उतिसारो सौन्दर्य यसमा निहित नभएको भन्दै आलोचना गरे ।

    ओपनिङ भव्य भएपनि दोस्रो सिक्वेल लामो समयसम्म हलमा चलेन । यही फिल्मदेखि माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताको रुपमा स्थापित भए भने निश्चल बस्नेत ब्रान्डको रुपमा दरिए । तर, पछिल्लो समय कतिपयले पछिल्लो कामप्रति असन्तुष्टि जनाइरहेका छन् । ‘लुट’ फिल्म रिलिजको नौ वर्षपछि पनि अहिले सान्दर्भिक हुनसक्छ ।

  • ‘मास्टर’को टिकट लिन मल्टिप्लेक्समा दर्शकको भीड, नेपालमा पनि विहिबार रिलिज हुँदै

    ‘मास्टर’को टिकट लिन मल्टिप्लेक्समा दर्शकको भीड, नेपालमा पनि विहिबार रिलिज हुँदै

    कोरोनाभाइरस महामारीको बीचमा पनि दक्षिण भारतको बहुप्रतीक्षित फिल्म ‘मास्टर’ विहिबारदेखि नेपालमा पनि रिलिज हुँदैछ । भाइरस लकडाउनपछि निकै हाइपका साथ रिलिज हुन लागेको यो फिल्म दर्शकमाझ कति प्रतिक्षित रहेछ भन्ने दृश्य मंगलबार दक्षिण भारतका कतिपय सिनेमा घरमा देखियो ।

    थालापाथी नामले चिनिने साउथका सुपरस्टार विजय अभिनित यो फिल्म हेर्नको लागि उनका फ्यान सामाजिक दूरीको साथ पालना नगरि टिकट लिन घुँइचो गरिरहेका थिए । भारतले कोभिड प्रोटोकल पालना गर्दै फिल्म गतिविधि खुलाएसँगै त्यहाँको फिल्म हलमा यो भीड देखिएको हो । मास्टरको यो ठूलो रिलिजले कोरोनाले थलिएको भारतीय फिल्म बजार लयमा फर्कने अनुमान गरिएको छ ।

    यो तामिल एक्सन ड्रामा हेर्नको लागि टिकटको झ्यालमा देखिएको दर्शकीय घुइँचाको तस्विर ट्वीटरमा भाइरल भएको छ । बलिउड फिल्म ट्रेड एनालिस्ट कोमल नाहटाले मिराज मल्टिप्लेक्समा यस्तो दृश्य देखिएको र भीड नियन्त्रण गर्न प्रहरी बोलाउनुपरेको ट्वीट गरेका छन् । केही ट्वीटर प्रयोगकर्ताले सयप्रतिशत अकुपेन्सी हुने भन्दै लेखेका छन् ।

    मेगा फ्यान फलोइङको कारण विजयको यो फिल्म छायांकन अगाडिदेखि नै हाइपमा थियो । लोकेश कांगाराज निर्देशित यो फिल्ममा माल्भिका मोहन, अर्जुन दास, एन्ड्री जेरेमी र सान्त्वना भाग्यराजले अभिनय गरेका छन् । उत्तर भारतसहित नेपालमा भने हिन्दीमा स्वरांकन गरिएको फिल्म रिलिज हुँदैछ । ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मलाई नेपालमा रिलिज गर्दैछ ।

    नेपालमा पनि विजय र दक्षिण भारतीय फिल्मको ठूलो फ्यानको हिस्सा भएकाले यो फिल्मले राम्रै दर्शकलाई तान्न सक्ने अनुमान गरिएको छ । कोरोनाले थलिएको नेपाली फिल्मलाई उकास्न यो फिल्म महत्वपूर्ण हुनसक्ने आशा वितरक मनोज राठीले लिएका छन् ।

    टाइम्स अफ इन्डियाले फिल्मलाई साढे तीन रेटिङ दिएको छ । एउटा कलेजको प्राध्यापक कक्षामा आफ्ना गुन्डाहरुसँग गएर विद्यार्थीलाई पढाउँछ । उसको उद्देश्य आफ्नो साम्राज्य खडा गर्नु हो । समीक्षामा विजयको अभिनय र फिल्मको निर्देशनलाई प्रशंसा गरिएको छ ।

  • सरकारले ल्यायो फिल्म हल संचालन तथा अनुगमन मापदण्ड

    सरकारले ल्यायो फिल्म हल संचालन तथा अनुगमन मापदण्ड

    काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सिनेमा हल संचालन तथा अनुगमन मापदण्ड २०७७ ल्याएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे संचालन तथा अनुगमन मापदण्ड मंगलबार सार्वजनिक गरेको हो ।

    पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म हल संचालनको अनुमति दिएको थियो । क्याबिनेटको अनुमतिपछि संचार मन्त्रालयले फिल्म हलमा कोभिड प्रोटोकल ल्याएको हो ।

    मन्त्रालयले सिनेमा घरमा मापदण्ड पालना भए नभएको अनुगमन गर्न मन्त्रालयका सहिसचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष सदस्य रहने गरि अनुगमन समिति पनि गठन गरेको छ ।

    काठमाडौं उपत्यकाबाहिरका फिल्म हलले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँग समन्वय गरेर हल चलाउनुपर्ने उल्लेख छ । मापदण्डमा सामाजिक दूरी, सरसफाइ, मास्क र स्वास्थ्यकर्मीको उपलब्धताको अनिवार्य व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

  • कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय !

    कमला ह्यारिसमाथि कभर स्टोरी छाप्दै भगले लेख्यो –विश्व फेसन र फिल्ममा बिहानीको उदय !

    पहिलो अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई फिल्म र फेसन उद्योगबाट स्वागत हुन थालेको छ । प्रतिष्ठित फेसन म्यागजिन भगले कभरस्टोरीको लागि फोटोसुट नै गर्‍यो । भग लेख्छ –ह्यारिसको विजयले अमेरिकी राजनीतिमा नयाँ विहानीको संकेत गर्छ ।

    भगको जनवरी संस्करणमा ह्यारिसको फोटोसुटले चर्चा बटुल्यो । जहाँ उनलाई कन्भर्स स्निकर्स र डोनाल्ड डिल ब्लेजरमा देख्न सकिन्छ । यो फेसन स्टेटमेन्टको छनौट चाहिँ ह्यारिसको आफ्नै हो । यो पहिरनमा ह्यारिसको मुस्कानले अझै फोटोसुटलाई ताजा तुल्याउँछ ।

    हावर्ड विश्वविद्यालयमा अध्ययनरत छँदाको गेटअपमा ह्यारिसलाई प्रस्तुत गरिएको छ । ‘यो फोटोसुट ह्यारिसको युनिभर्सिटी बेलाप्रति समर्पित छ’ भगका फेसन सम्पादक जेनेली ओकोडु लेख्छन्, ‘यो डिजाइन त्यतिबेलाको चर्चित अल्फा कप्पा अल्फाको पहिरनमा आधारित छ ।’ हावर्डको अल्फा च्याप्टर नामक विद्यार्थी संगठनमा हुने डिजाइनमा ह्यारिसलाई भगले उतारेको छ ।

    राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र ह्यारिसको पहिलो सय दिनको प्राथमिकता चाहिँ अमेरिकामा फैलिएको कोरोनाभाइरस महामारीको नियन्त्रण हो । महामारीले स्कुल जान नपाएका बालबालिका र उचित स्वास्थ्य प्रबन्ध नपाएका फ्रन्टलाइन वकर्स र उनीहरुको दुःखलाई लिएर ह्यारिस चिन्तित देखिन्छिन् । साथै, कोरोनाले थलिएका साना व्यापारलाई उकास्ने उनको योजना रहेको भगले लेखेको छ ।

    विश्व फेसनसँगै अमेरिकी र भारतीय फिल्म उद्योगले पनि ह्यारिसलाई स्वागत गरेको छ । ह्यारिस दक्षिण एसियाली मूलकी पनि हुन् । उनको विजयमा हलिउड र संगीतकर्मीले पनि स्वागत गरेका छन् ।

  • तेन्जिङ नोर्गे शेर्पाका नाती हलिउड फिल्ममा, भन्छन् : हजुरबुबाको नाम फिल्मबाट चम्काउँछु

    तेन्जिङ नोर्गे शेर्पाका नाती हलिउड फिल्ममा, भन्छन् : हजुरबुबाको नाम फिल्मबाट चम्काउँछु

    काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती अब अमेरिकी फिल्म उद्योग हलिउडसँग जोडिएका छन् । अग्रणी हलिउड स्टुडियो ड्रीमवक्र्स एनिमेसनले निर्माण गरेको ‘एबोमाइनेबल’मा नाती तेन्जिङ नोर्गे ट्रेनरले एक मुख्य पात्रमा स्वर भरेका छन् । फिल्मको कथा पनि मुख्य पात्रले सगरमाथा क्षेत्रमा यतिको खोजीको गर्ने कुरामा छ ।

    हलिउड म्यागजिनसँग कुरा गर्दै यी तन्नेरी अभिनेताले आफ्ना हजुरबुबाको सम्मान र स्मरणका लागि हलिउड फिल्ममा सहभागिता जनाएको बताएका छन् । उनका हजुरबुवा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको पहिलो आरोहण गरेका थिए । डिज्नेको चर्चित टेलिभिजन सो ‘लिभ एन्ड म्याडी’मा तेन्जिङ ‘पार्कर रुनी’को रुपमा दर्शकमाझ चर्चित छन् ।

    एबोमाइनेबल गतवर्ष अन्तराष्ट्रिय बजारमा प्रदर्शन भैसकेको छ । यो फिल्मबाट उनले बेस्ट भ्वाइस एक्टरको रुपमा एनी अवार्ड पनि जितेका छन् । फिल्ममा तेन्जिङसहित एसियन अमेरिकन कलाकारद्धय कोल बेनेट र अल्बर्ट साइ पनि मुख्य भूमिकामा छन् । एनिमेसन फिल्मबाहेक तेन्जिङ द मोर्डन फ्यामिली, क्लुलेस एन्ड गुड लक चार्लीमा अभिनय गरेका छन् ।

  • नेपाली फिल्मको लाइनअप रित्तो, बलिउडकै भर, १० प्रतिशत हल सँधैको लागि बन्द हुने

    नेपाली फिल्मको लाइनअप रित्तो, बलिउडकै भर, १० प्रतिशत हल सँधैको लागि बन्द हुने

    काठमाडौं । सरकारले फिल्म प्रदर्शनलाई फुकुवा गरेपनि अझै केही समय नेपाली फिल्मको लाइनअप रित्तो हुने परिस्थिती देखिएको छ । माघ १ गतेदेखि रिलिज हुने शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ र फागुन २७ गते ‘लप्पन छप्पन २’ बाहेक नयाँ फिल्मको प्रदर्शन मिति घोषणा भएको छैन ।

    झन्डै तीसवटा फिल्म निर्माण सम्पन्न भएर पनि रिलिजको तयारीमा छन् तर कसैले पनि रिलिज डेट घोषणा गरेका छैनन् । तत्काल हल खुलेपनि दर्शक आउने सम्भावना कम भएकाले निर्माता रिलिजको मनस्थितीमा नदेखिएका हुन् । अधिकांश निर्माता अझै पनि बलिउड र हलिउडका ठूला फिल्मलाई प्रतिक्षा गरेर बसिरहेका छन् । लकडाउनअघि २८ वटा फिल्मको रिलिज स्थगित भएको थियो ।

    सरकारलाई हल खुलाउन माग गर्ने कतिपय निर्माताहरु अहिले भने ‘गायब’ छन् । हल खुलाएपनि प्रदर्शकसँग कुन फिल्म चलाउने भन्ने कन्टेन्ट नै छैन । विहिबार ब्यांकटेस इन्टरटेनमेन्टले दक्षिण भारतीय फिल्म ‘मास्टर’ प्रदर्शनको तयारी थालेको छ । गोपिकृष्ण मूभिजले भने ओटीटी प्लेटफर्ममा ज्याकी च्यानको भ्यानगड र सलमान खानको ‘कागज’ रिलिज गर्दैछ ।

    यो पनि पढ्नूस : भाइरसले बदलेको भाष्य (फिल्म समीक्षा)

    सरकारले हल खुलाएपनि झन्डै जिरो अकुपेन्सीमै फिल्म प्रदर्शन भैरहेका छन् । फिल्म हल पनि ५० प्रतिशत अकुपेन्सीमा खुलाउन अनुमति छ । जसले गर्दा निर्माताहरु कम अकुपेन्सीमा ठूलो लगानीका फिल्म तत्काल रिलिज गर्नबाट पछि हटेका हुन् ।

    वितरक कम्पनीहरुले लाइनअप तयार गर्न सकिरहेका छैनन् । अझै केही वितरक र निर्माता ‘पर्ख र हेर’को मुडमा छन् । बलिउडको ठूलै फिल्म रिलिज भएमात्र नेपाली फिल्म लयमा फर्कन सक्ने उनीहरुको भनाइ छ । बलिउडमा अक्षयकुमारको ‘बेलबटम’ अप्रिल २ र सलमान खान स्टारर ‘राधे : योर मस्ट वान्टेड भाइ’ मे बैशाखमा रिलिज हुनेछन् ।

    रिलिजको लागि तयार भएका फिल्मको संख्या २८ छ । जसमा प्रेमगीत ३, म यस्तो गीत गाउँछु २, नीरफूल, चपली हाइट ३, लक्का जवान, माइकल अधिकारी, षट्कोण, पूर्वपश्चिम, दोख, गोर्खे, हिरो रिटन्र्स, आकाशे खेती, हिजो आजका कुरा, चिसो एस्ट्रे, जारी, पानीफोटो, दयारानी, सम्हालिन्छ कहिले मन, सुस्केरा, मन्त्र, एक, लप्पन छप्पन २ र झिँगेदाउ छन् ।

    पुननिर्माण थालिएको राजधानीको पुरानोमध्येको एक चावहिलस्थित गोपिकृष्ण हल । तीनवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त थलोमा गोपिकृष्ण मल्टिप्लेक्सको निर्माण गरिने भएको छ । व्यापारिक भवनको माथि मल्टिप्लेक्स फिल्म हल बनाइने भएको छ ।

    १० प्रतिशत हल सँधैको लागि बन्द हुने
    हलहरुको छाता संस्था चलचित्र संघले करिब १० प्रतिशतभन्दा बढी फिल्म हल सँधैको लागि बन्द हुने जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै संघका कोषाध्यक्ष देवेन्द्र खड्गीले तत्काल सरकारले राहत उपलब्ध नगराए ३० वटा जति हल बन्द हुने जनाए । बन्द हुनसक्ने हलहरुमा अधिकांश मोफसलका छन् र केही उपत्यकाभित्रकै हुनेछन् ।

    मल्टिप्लेक्स हल चाहिँ कमर्सियल व्यापारिक भवनकै एउटा हिस्सा भएकाले सिंगल हललाई जस्तो समस्या चाहिँ हुनेछैन । महामारीपछि भारत र चीनमा समेत हजारौं हलहरु सँधैका लागि बन्द हुँदैछन् । तरपनि, मुख्य मल्टिप्लेक्स क्यूएफएक्सले बीरगंज लगायतका मोफसलका सहरमा मल्टिप्लेक्स विस्तार गर्दैछ ।

  • गायक प्रमोद खरेलको उजुरीमा बिन्ध्यबासिनी म्युजिककी संचालक पक्राउ

    गायक प्रमोद खरेलको उजुरीमा बिन्ध्यबासिनी म्युजिककी संचालक पक्राउ

    काठमाडौं । प्रहरीले प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा विन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।

    गायक प्रमोद खरेल लगायतको उजुरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले लिनालाई पक्राउ गरेको एसएसपी अशोक सिंहले पुष्टि गरे । उनलाई सोमवारै धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको सिंहले बताए ।

    आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत पेश गर्न लागिएको छ । खरेलले लिनाका पति सुवास रेग्मीविरुद्ध पनि प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दिएका छन् । लेनदेनको विषयमा सामान्य विवाद हुँदा गायक खरेल प्रहरीमा पुगेको दावी रेग्मी निकट स्रोतले गरेको छ ।

    यो पनि पढ्नूस :
    प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

  • सत्यमोहन जोशीदेखि नीर शाहसम्म, ३० भन्दा बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत प्रिमियर

    सत्यमोहन जोशीदेखि नीर शाहसम्म, ३० भन्दा बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत प्रिमियर

    काठमाडौं । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सोमबार ३० जना कलाकारले एकैसाथ राष्ट्रिय गीतलाई इन्टरनेट रिलिज गरेका छन् । त्यही सच्चा नेपाली बोलको गीतमा सत्यमोहन जोशीदेखि नीर शाहसम्मले अभिनय गरेका छन् । देविका बन्दना र राजन इशानको स्वर छ ।

    सत्यमोहन जोशी
    नीर शाह

    आनन्द अधिकारीको शब्द रहेको गीतमा इशानकै संगीत समावेश छ । रोशन केसीले निर्माण एवं निर्देशन गरेकी हुन् । पशुपति क्षेत्र, पाटन, लोकतन्त्र पार्क लगायतमा फिल्मांकन गरिएको गीतमा राष्ट्रियताको भाव समावेश गरिएको छ । ‘गीतले नेता एवं कार्यकर्तालाई पनि राष्ट्रियताप्रति इमान्दार बन्न दबाब दिने आशा राखेकी छु’ उनले भनिन् ।

    जोशी र शाहसहित गीतमा गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डीसी, नम्रता सापकोटा, नीराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, दिलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धिरेन शाक्य, सम्राट सापकोटा लगायत ३० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । रामशरण उप्रेतीद्धारा छायांकन गरिएको भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

    हेर्नूस गीत :

  • आर्नोल्डले भने –ट्रम्प इतिहासकै खराब राष्ट्रपति, हलिउड उनीविरुद्ध उभिनुपर्छ

    आर्नोल्डले भने –ट्रम्प इतिहासकै खराब राष्ट्रपति, हलिउड उनीविरुद्ध उभिनुपर्छ

    हलिउड अभिनेता एवं क्यालिफोर्नियाका पूर्वगर्भनर आर्नोल्ड स्वार्जनेगरले डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति भएको टिप्पणी गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले सबै अमेरिकीले जो बाइडेनलाई नयाँ अमेरिका निर्माणका लागि सहयोग गर्नुपर्ने बताए ।

    ‘हालै भएको एउटा नाटकबाट हामी सबैले आफूलाई मुक्त गर्नुपर्छ’ अमेरिकी संसद भवन क्यापिटल हिलमा डोनाल्ड ट्रम्प समर्थकले हालै गरेको तोडफोडको घटनाप्रति संकेत गर्दै हलिउड अभिनेताले भने, ‘हामी अब एकताबद्ध हुनुपर्छ । कुनै डेमोक्र्याट वा रिपब्लिकनको रुपमा हैन ।’ दोस्रो विश्वयुद्धपछि अष्ट्रियामा मौलाएको झूठ र असहिष्णुतामा आफ्नो बाल्यकाल बितेको स्मरण पनि उनले गरे ।

    उनले क्यापिटल हिल आक्रमणलाई हिटलरको नाजी सेनाले यहुदी समुदायमाथि गरेको आक्रमणको रुपमा व्याख्या गरे । उक्त आक्रमण अमेरिकी आधारभूत मूल्य र मान्यताविरुद्ध भएको समेत आर्नोल्डको भनाइ छ । दोस्रो विश्वयुद्धको दौरान नाजी पार्टीको सदस्यको रुपमा आफ्ना पिता रहेको र उनको भूमिकालाई आफूले नजिकबाट नियालेको आर्नोल्डले उल्लेख गरेका छन् ।

    कुनैबेला रिपब्लिकन सांसद समेत रहेका आर्नोल्ड भन्छन् –राष्ट्रपति ट्रम्पले चुनावी नतिजालाई उल्ट्याउन खोजेका छन् । उनले आफ्ना झूठको सहाराद्धारा नागरिकलाई गलतरुपमले निर्देशित गरिरहेका छन् । राष्ट्रपति ट्रम्प असफल नेता हुन् । मेरा पिता र म समेत झूठले गाइडेड थियौं । मलाई थाहा छ सत्य कहाँ लुकेको हुन्छ ।’

    आर्नोल्डसहित हलिउड सेलेना गोमेज, मार्क रफेलोसहितका हलिउडका अन्य कलाकार समेत ट्रम्पविरुद्ध उत्रिएका छन् । फेसबुक, ट्वीटर र इन्स्टाग्रामले त अनिश्चितकालसम्म ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट निलम्बित गरिसकेका छन् ।

  • प्रधानमन्त्रीलाई भेटेर शिवले दिए फिल्म हेर्न निम्तो, ओलीले भने –समय मिलाएर आउँछु

    प्रधानमन्त्रीलाई भेटेर शिवले दिए फिल्म हेर्न निम्तो, ओलीले भने –समय मिलाएर आउँछु

    सरकारले हल खोल्ने अनुमति नदिएपछि निर्माता एवं अभिनेता शिव श्रेष्ठलाई माघ १ गते घोषित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्ने वा नगर्ने दोधार थियो । यसका लागि उनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । तर, सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले हल संचालनलाई सर्तसहित फुकुवा गर्ने निर्णय गरेको छ । यो निर्णयपछि श्रेष्ठ ढुक्कको साथ फिल्म रिलिज गर्न पाइने कुराले खुशि छन् ।

    प्रधानमन्त्रीसँगको भेटमा श्रेष्ठले हल फुकुवा गर्नुपर्ने र थलिएको फिल्म क्षेत्रलाई उकास्न सरकारी भूमिकाको अपेक्षा गरिएको बताएको थिए । नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले प्रधानमन्त्री ओली फिल्म क्षेत्रलाई लिएर गम्भिर भएको आफूले महसुस गरेको बताए । सोही भेटमा श्रेष्ठले आफ्नो फिल्म हेर्न आउन ओलीलाई निम्तो समेत दिएका छन् । जवाफमा प्रधानमन्त्रीले समय मिलाएर आउने वचन दिए ।

    प्रधानमन्त्री र मन्त्रीलाई फिल्म देखाउन शिवले प्रिमियर समेत आयोजना गरेका छन् । सरकारले बाटो खुला गरिदिएपछि अब भने शिवलाई दर्शक आउने हुन् वा होइनन् भन्ने चुनौति थपिएको छ । किनभने, फिल्म हल बन्द भएको १० महिना बितिसक्यो र ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउन पाइने सरकारी निर्देशन छ । व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खोलेपनि दर्शकीय अकुपेन्सी करिब जिरो नै थियो ।

    मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि भने अब निर्मातालाई ढुक्कसाथ फिल्म छायांकन गर्न र प्रदर्शकलाई फिल्म देखाउन सजिलो भएको छ । नेपाल प्रेससँग कुरा गर्दै वितरक गोपाल कायस्थले सरकारी निर्णयपछि अब फिल्मले रिलिज डेट घोषणा गर्ने बताए ।

  • जन्मदिनमा ऋतिकले घोषणा गरे ‘फाइटर’, दीपिका बन्ने भइन लभलेडी

    जन्मदिनमा ऋतिकले घोषणा गरे ‘फाइटर’, दीपिका बन्ने भइन लभलेडी

    केही समयदेखि बलिउडमा एउटा हल्ला थियो –ऋतिक रोशन र दीपिका पादुकोण एक नयाँ फिल्मका लागि टीमअप गर्दैछन् । यो हल्ला अहिले यथार्थमा परिणत भएको छ । आइतबार बर्थडे मनाएका अभिनेताले दीपिकासँग नयाँ फिल्म ‘फाइटर’मा सहकार्य गर्न लागेको पुष्टि गरेका छन् ।

    निर्देशक सिद्धार्थ आनन्दले समेत प्रोजेक्टबारे खुलासा गरे । अभिनेता रोशनले सामाजिक संजालमा फाइटरबारे जानकारी दिँदै मोसन पोस्टर र एउटा मीठो सन्देश दिएका छन् । लकडाउनअघि ऋतिकको फिल्म ‘वार’ले नेपाली बक्सअफिसमा समेत राम्रो प्रदर्शन गरेको थियो ।

    निर्देशक सिद्धार्थ आनन्दको कम्पनी मारफिल्क्सले फिल्म निर्माण गर्ने भएको छ । यो एक्सन ड्रामामा दीपिका ऋतिककी लभलेडी बन्नेछिन् । निर्देशक आनन्दसँग काम गर्न पाउँदा ऋतिकले उत्साह व्यक्त गरेका छन् ।

  • अनुष्का र विराटलाई पुत्रीलाभ !

    अनुष्का र विराटलाई पुत्रीलाभ !

    भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पुत्रीलाभ गरेका छन् । यी दुईले एक विज्ञप्ती जारी गर्दै पुत्री लाभ गरेकोमा खुशि बाँडेका छन् । उनीहरुले आफूहरुको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

  • फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    फिल्म हल खुलाउने मन्त्रिपरिषद्को निर्णय, नाटक घरहरु माघ १ गतेदेखि खुल्ने

    सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खुलाउन दिने निर्णय गरेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै एक मन्त्रीले फिल्म हल खुलाउने निर्णय भएको जानकारी दिए । सरकारले अनुमति नदिएपनि व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएर फिल्म प्रदर्शन गर्दै आएका थिए । ‘अर्को निर्णय नहुँदासम्म अहिलेलाई स्वास्थ्य मापदण्ड पुरा गरेर हल खुलाउने निर्णय भएको छ’ ती मन्त्रीले भने ।

    यसैगरि, बन्द भएका नाटक घर माघ १ गतेदेखि खुल्ने भएका छन् । सिल्पी थिएटरले उक्त दिनमा ‘६ पात्रको एकलाप’ नामक नाटक मंचन गर्दैछ ।

  • बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

    बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

    बरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को शनिबार बेलुका निधन भएको छ । ८६ वर्षिय मुर्धन्य गीतकारको चावहिलस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि अल्जाइमर रोगले पीडित थिए ।

    उनको चर्चित गीत ‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ नेपाली संगीतको कालजयी गीतमध्ये एउटा हो ।

  • करिश्माले लन्च गरिन् सामाजिक अभियान ‘यात्रा आफ्नै गाउँ ठाउँको’

    करिश्माले लन्च गरिन् सामाजिक अभियान ‘यात्रा आफ्नै गाउँ ठाउँको’

    अभिनेत्री करिश्मा मानन्धरले ‘यात्रा आफ्नै गाउँ ठाउँको’ कार्यक्रम लन्च गर्दै समाजसेवामा पाइला चालेकी छन् । यो कार्यक्रमअन्तर्गत यसैसाता उनले आफूले तीन कक्षासम्म पढेको सिन्धुपाल्चोकस्थित एक स्कुलमा छात्रवृत्ति सहयोग प्रदान गरिन् ।

    सिन्धुपाल्चोक उनको मामाघर पनि हो । दुईजना विपन्न बालबालिकाले करिश्माले प्रदान गरेको छात्रवृत्तिमा अध्ययनको अवसर पनि पाएका छन् । शनिबार नेपाल प्रेससँग कुरा गर्दै उनले आफूले यात्राको क्रममा देखेका र आवश्यक ठानेका व्यक्ति र समुदायलाई सामाजिक सहयोग प्रदान गर्ने बताइन् । ‘सिन्धुपाल्चोकबाट अभियान थालेकी हुँ’ उनले भनिन्, ‘नेपालभर जहाँ पुग्छु, जरुरी भएको ठाउँमा सहयोग गर्नेछु ।’

    अभिनयबाहेक पनि करिश्मा समाजसेवामा पहिल्यैदेखि सक्रिय छिन् । उनले चाँडै यो कार्यक्रमबारेको ब्लग पनि सार्वजनिक गर्ने तयारी गरेकी छन् ।

  • निर्देशन अवज्ञा गर्दै ‘मन्स्टर हन्टर’ फिल्म रिलिज, सरकारले बक्सअफिस पासवर्ड दिन मानेन

    निर्देशन अवज्ञा गर्दै ‘मन्स्टर हन्टर’ फिल्म रिलिज, सरकारले बक्सअफिस पासवर्ड दिन मानेन

    सरकारी आदेशलाई अवज्ञा गर्दै नेपाली सिनेमा घरहरुले हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज गरेका छन् । संचार मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयविना नयाँ फिल्म रिलिज नगर्न विहिबार चलचित्र विकास बोर्डलाई निर्देशन दिएको थियो । मन्त्रालयको आदेश आएपछि फिल्म हलहरुले बक्सअफिसको सेन्ट्रल सर्भर कोड प्रयोग विनै फिल्म चलाएका हुन् । यो कोड नहुँदा कर प्रणालीमा फिल्मको सूचना जाँदैन ।

    क्यूएफएक्स, मिटडाउन, बिग मूभिज लगायतका ठूला मल्टिप्लेक्सले शुक्रबार बिहानैदेखि फिल्म चलाएका हुन् । नेपाल प्रेससँग कुरा गर्दै ती हलका प्रतिनिधिले चलचित्र संघको निर्णयअनुसार फिल्म रिलिज गरेको बताए । सरकारले फिल्म रिलिज नगर्न भनेपनि व्यवसायीले एकपक्षीय रुपमा हल खोलिरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूहरुको आदेशलाई अटेर गर्दै हलले फिल्म चलाएको सूचना पाएको बताए ।

    ‘यसबारेमा आइतबार सीसीमएसीको निर्णय लिएर मुख्य सचिवसँग छलफल हुनेछ’ दाहालले भने, ‘त्यसपछि के हुन्छ, त्यही अनुसार अघि बढ्नेछौं ।’ कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले चाहिँ हल र विद्यालय खुलाउनेबारे कुनै निर्णय नभएको जनाउँदै छलफलको प्रक्रियामा रहेको बताएको छ । सरकारले हल खोल्ने अनुमति नदिँदा ढुक्करुपमा फिल्मको गतिविधि संचालन हुन सकेको छैन ।