Category: कलाप्रेस

  • मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍यो नेसनल कस्ट्युम, मतदान खुला

    मिस युनिभर्समा नेपालले प्रस्तुत गर्‍यो नेसनल कस्ट्युम, मतदान खुला

    काठमाडौं । मिस युनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु भएको छ । आज बिहान ७५ जना प्रतिस्पर्धीले आ-आफ्नो मुलुकको राष्ट्रिय पोशाक प्रस्तुत गरेका छन् ।

    नेपालबाट प्रतिनिधित्व गरेकी अनिष्का शर्माले पनि नेसनल कस्ट्युम प्रस्तुत गरिन् । उनले हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । महावीर पुन र बीना घलेको डिजाइनमा बौद्ध प्रार्थनाका झन्डा पनि संलग्न छन् ।

    सोमबार बिहान पौने ६ बजेदेखि ग्रान्ड फिनाली सुरु हुँदैछ । नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ र आइतबार बिहानसम्म भोटिङ नतिजा सार्वजनिक हुनेछ ।

    मिस युनिभर्स नेपालको डिजिटल मिडिया हेर्ने सुमित श्रेष्ठका अनुसार नेसनल कस्ट्युममा विजयी हुने प्रतिस्पर्धीले उत्कृष्ट कस्ट्युम विधामा जित्न सक्नेछन् ।

    यो पेजमा गएर तपाईंले नेपाली सहभागि अनिष्कालाई मतदान गर्न सक्नुहुन्छ ।

  • ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने, यस्तो छ फिल्मको हिन्दी ट्रेलर

    ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने, यस्तो छ फिल्मको हिन्दी ट्रेलर

    काठमाडौं । मिलन चाम्स निर्देशित सुपरहिट फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

    कोरोनाभाइरस महामारी सामान्य भएपछि फिल्मलाई भारतीय डायस्पोरामा रिलिज गर्ने जानकारी निर्देशक चाम्सले दिए ।

    कोरोनाको दोस्रो लहर अगाडि भारतमा प्रदर्शन गर्ने योजना बनाइएपनि भाइरसको भयावह अवस्थाले त्यसलाई रोक्नुपरेको चाम्सले बताए ।

    निर्देशक चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ । भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् ।

    दोस्रो चरणको लकडाउनअघि चाम्सको निर्माण एवं निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’को छायांकन सुरु भएको थियो । अवस्था सामान्य भए छायांकनलाई पनि अगाडि बढाउने उनको योजना छ ।

  • सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन

    सेन्सर गरेर मात्र बलिउड फिल्म ‘राधे’लाई नेपालमा रिलिज गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । भारतीय फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’लाई सेन्सर गरेर मात्र रिलिज गर्न संचार मन्त्रालयले नेपालका ओटीटी प्लेटफर्मलार्ई बिहीबार निर्देशन दिएको छ ।

    मन्त्रालयको निर्देशनपछि अब ती ओटीटी प्लेटफर्मले सेन्सर प्रक्रिया पुरा गरेर मात्र फिल्मलाई आफ्ना प्लेटफर्ममा प्रदर्शन गर्न पाउनेछन् ।

    गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले बलिउड फिल्म राधेको नेपाल डिजिटल सर्वाधिकार खरिद गरेको हो । यो फिल्म म्याक्स टिभी, डिसहोम र नेट टिभीका ओटीटी तथा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा थियो ।

    मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले सेन्सर प्रक्रिया पुरा गरेर मात्र रिलिज गर्न वितरक र ओटीटी संचालकलाई निर्देशन दिइएको बताए । ‘प्रक्रिया नपुर्‍याइकन रिलिज गरिए कानूनी कार्वाहीमा अघि बढ्नुपर्ने हुन्छ’ उनले भने ।

    संचार मन्त्रालयका श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले पनि निर्देशन दिइएको र पालना नभए कानून अनुसार कार्वाही हुने बताए । ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउने तयारी भैरहेको बताए ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउने गरि आगामी आर्थिक ऐनमा समेट्न अर्थ मन्त्रालयमा सिफारिस गरिएको बताए ।

    सलमान खानको निर्माण एवं अभिनय रहेको फिल्म ‘राधे’ भारतमा भने जी नेटवर्क अन्तर्गतका ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

  • भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

    भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

    काठमाडौं । मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । भौतिक उपस्थितीमै नाटक मञ्चनको तयारी गरिएपनि निषेधाज्ञा लागु भएपछि मण्डलाले भर्चुअल माध्यममा जाने निधो गरेको हो । निषेधाज्ञा नभएको भए बैशाख अन्त्यमा पल्पसा क्याफे नाटक मञ्चन तयारीमा थियो मण्डला ।

    थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई डिजिटल माध्यमबाट रिलिज गर्न लागेको हो । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मीतज्यू’लाई मण्डलाले युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो ।

    ‘मीतज्यू’ नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने फल्यासब्याक कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय मितेरी साइनो अन्तर्गत एक जोडी मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ ।

    मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

    सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो ।

    नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ ।

    राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

    बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक मीतज्यूको प्रिमियर गरिने भएको छ । प्रिमियरपश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तक्रिया गरिने भएको छ ।

    अन्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

  • शिल्पा अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’ ट्रेलर रिलिज

    शिल्पा अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’ ट्रेलर रिलिज

    काठमाडौं । पछिल्लो समय पूर्वपति छविराज ओझासँगको सम्बन्धलाई लिएर चर्चामा छिन् अभिनेत्री शिल्पा पोखरेल । उनको अर्को चर्चा भने उनी अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलरले भएको हो ।

    उक्त फिल्मको ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ । सार्वजनिक भएको ट्रेलरमा शिल्पालाई रोमान्टिक गर्लको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डेसँग बाँधिएको छ । फिल्ममा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् ।

    पोखरा आसपास खिचिएको फिल्मलाई नेपाली मुलका भारतीय सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाबाहेक अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जित कुमार शर्मा, रोहित थापाको अभिनय छ ।

    सोनु खत्री स्वयंले फिल्मको निर्माता हुन् ।

    रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा छायाँकारदेखि कोरियोग्राफरसम्म नेपालकै छन् । हरी घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी छ ।

    अभिनेत्री शिल्पाले यसअघि भोजपुरी उद्योगकै ‘जय शम्भु’ नामक फिल्म खेलेकी छिन् । यो फिल्ममा पनि उनको जोडी भोजपुरी अभिनेत्री प्रदीप पान्डेसँग बाँधिएको थियो । ट्रेलर सार्वजनिक भए पनि रिलिज मिति घोषणा भएको छैन ।

    हेर्नूस ट्रेलर :

  • ३२ बालबालिकाका अभिभावक बने अनुप, लकडाउनमा पनि समाजसेवा

    ३२ बालबालिकाका अभिभावक बने अनुप, लकडाउनमा पनि समाजसेवा

    काठमाडौं । रिल लाइफमा खलनायकको रुपमा चर्चा बटुलेका अभिनेता अनुपविक्रम शाही वास्तविक जीवनमा चाहिँ हिरोजस्तै छन् । मनकारी स्वभावका उनी सामाजिक सहयोगका लागि अघि बढ्छन् ।

    दोस्रो लकडाउनकै बीच उनी समाजसेवामा खटिएका छन् । पहिलो लकडाउनमा पनि उनले खाद्यान्नदेखि अत्यावश्यक राहत सामाग्री वितरण गरेका थिए ।

    टोखाको ग्रीनल्यान्डस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक बाल आश्रम पुगेर मंगलबार अनुपले डेढ महीनासम्म खाद्यान्न वितरण गरे । उक्त आश्रममा रहेका ३२ बालबालिकालाई उनले १ लाख बराबरको राहत सामाग्री प्रदान गरे ।

    ‘अघिल्लो वर्ष यी बालबालिकाको अभिभावक बन्ने प्रण गरेको थिएँ’ उनी भन्छन्, ‘पछिल्लो वर्ष बालबालिकाको नियमित निगरानी मेरो कर्तव्य थियो । त्यसैलाई निरन्तरता दिएको हुँ ।’ गतवर्ष आफ्नो जन्मदिन पनि सोही आश्रममा पुगेर अनुपले मनाएका थिए ।

     

  • अशोक शर्मा भन्छन् : महामारीले नेपाली फिल्म १० वर्ष पछाडि धकेलिन्छ

    अशोक शर्मा भन्छन् : महामारीले नेपाली फिल्म १० वर्ष पछाडि धकेलिन्छ

    काठमाडौं । फिल्म निर्देशक एवं निर्माता अशोक शर्माले कोरोना महामारीको कारणले नेपाली फिल्म क्षेत्र १० वर्ष पछाडि धकेलिने बताएका छन् ।

    सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करणमा बोल्दै उनले फिल्म क्षेत्र तत्काल सामान्य अवस्थामा फर्कने सम्भावना नरहेको बताए ।

    उनी भन्छन्, ‘कोरोनाको कारणले फिल्म हेर्ने दर्शकहरुको बानीमा ब्रेक लागेको छ । स्थिति सामान्य भएर फिल्म रिलिज भएपनि केही समय दर्शक हलमा आउदैनन् । यसको लागि ठूलो मिहेनत गर्नुपर्छ ।’

    फिल्म निर्माण सकेर रिलिज हुने तयारीमा रहेका निर्माताहरु बढी मारमा परेका छन् । कोभिडको पहिलो लहरपछि देशभर २२ वटा फिल्म हल सधैका लागि बन्द भइसकेका छन् ।

    अहिलेकै अवस्था रहे मल्टिप्लेक्स पनि नटिक्ने अवस्था रहेको उनले बताए । अरुभन्दा फिल्म क्षेत्र सबैभन्दा बढी मारमा परेको उनले बताए ।

    कोभिडपछि फिल्म रिलिजका लागि ओटीटी प्लेटफर्ममार्फत आकर्षण बढे पनि यो सेकेन्डरी मार्केटका लागि मात्र ठीक हुने बताउँछन् । शर्मा भन्छन्, ‘ओटीटी प्लेटफर्ममा संसारभर एकसाथ फिल्म हेर्न पाइन्छ तर पहिलो प्राथमिकताको मार्केट भन फिल्म हल नै हो ।’

     

  • १९० करोड भारुमा जीले किन्यो सलमानको ‘राधे’, विहीबार विश्वभर रिलिज हुँदै

    १९० करोड भारुमा जीले किन्यो सलमानको ‘राधे’, विहीबार विश्वभर रिलिज हुँदै

    मुम्बई । अहिलेसम्मकै सर्वाधिक महंगो मूल्यमा बलिउड फिल्मको डिजिटल अधिकार विक्री भएको छ । सलमान खान स्टारर ‘राधे : योर मस्ट वान्टेड भाइ’ १९० करोड भारुमा जी कम्पनीले खरिद गरेको हो ।

    कोरोनाभाइरस महामारीको कारण यो फिल्म अब पर-भ्यूज आधारमा जी कम्पनीको ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । यसअघि हाइव्रिड मोडल (हल र डिजिटल प्लेटफर्म)मा रिलिज हुने गरि फिल्मलाई जीले २३० करोड भारुमा किनेको थियो ।

    कोभिडको दोस्रो लहरको कारण हल रिलिज सम्भव नभएपछि फिल्मलाई डिजिटल रिलिज गर्न लागिएको हो । यसअघि अक्षय कुमार स्टारर फिल्म लक्ष्मी सर्वाधिक मूल्यमा विक्री भएको थियो ।

    जी कम्पनी र सलमान खान फिल्म्सले प्राप्त कमाइको निश्चित प्रतिशतले कोभिड बिरामीको उपचारमा खर्चने घोषणा गरिसकेका छन् । धेरै प्लेटफर्मबाट एकसाथ रिलिज हुँदा लगानी उठ्ने आशा दुबै निर्माताले गरेका छन् ।

    आगामी विहीबार नेपालसहित ४० भन्दा बढी देशमा फिल्म रिलिज हुने जनाइएको छ । मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा ४ दिन पारेर फिल्म प्रदर्शन हुन लागेको हो ।

  • आमा सम्झँदै ‘आमा’ को दायित्व निभाउँछिन् दीपा

    आमा सम्झँदै ‘आमा’ को दायित्व निभाउँछिन् दीपा

    बिहानै दीपाश्री निरौला (कलाकार/निर्देशक)ले आमाहरूलाई सम्झँदै फेसबुकमा पोस्ट राखिन्, ‘जन्मदिने आमा, कर्म दिने आमा, साथ दिने आमा, हात दिने आमा, सबै आमाहरूको मुख हेरेँ ।’

    पोस्टसँगै तल ‘आमा’हरूका साथ खिचिएका तस्बिर पनि पोस्ट्याएकी थिइन् । एउटा तस्बिर अरुभन्दा भिन्न थियो । सेताम्य भित्ताको किलामा झुड्याइएको महिलाको तस्बिरसँग उनले आफूलाई कैद गरेकी थिइन् । बिहान आँखा खुल्नासाथ दीपाले त्यो फोटो गहिरिएर हेरिन् ।

    र भावुक मुद्रामा भनिन्, ‘हेप्पी मदर्स डे, आमा !’

    दीपा आफ्नी आमालाई आज पल–पल सम्झिरहेकी छन् । सामाजिक सञ्जालमा साथीहरूले पोस्ट गरेको दृश्यले पनि उनलाई भावुक बनाउँछ । मानसपटलमा स्कुले केटी र आमाको सपना दौडिरहेको छ । आमा भन्थिन्, ‘मेरी छोरी सुब्बा होस् । सरकारी जागिर खाएर हाकिम होस् ।’

    तर, दीपाको स्वभाव न सुब्बा हुनेजस्तो न हाकिम नै । उनलाई त नाच्नुमा थियो खुसी केवल ! आमासँग अक्षर छिचोल्ने मात्र ज्ञान थियो । तैपनि लाग्थ्यो– मेरा सन्तानले पढेर ठूलो हुनुपर्छ ।

    यसकारण ऋण काढेर भए पनिर घरमा छोरी पढाउन ट्युसन टिचर राखिएको थियो । तर, दीपा ट्युसन टिचरको आँखा छलेर डान्सतिर हानिन्थिन् । त्यो छलछाम आमालाई सह्य थिएन, र दीपाले पिटाइ भेटिहाल्थिन् । ‘त्यतिबेला रिस उठ्थ्यो । आमालाई अन्जानमा गाली गर्थें । तर अहिले लाग्छ, मेरो त्यो ठूलो भूल थियो,’ दीपा सम्झन्छिन् ।

    एसएलसीका लागि टेस्ट परीक्षा चलिरहेको थियो । त्यहीबेला क्यान्सर भएकी आमालाई उपचारका लागि हष्पिटल लगिएको थियो । शुक्रबार एउटा विषयको परीक्षा दिएर दीपा घर आउँदै थिइन् । घरभरि मान्छेहरूको भिड । सोचिन्– आमाको खबर सोध्न आएका होला !

    तर होइन, आमाको विदाइको पो खबर लिएर बसेका रहेछन् उनीहरू । ‘आमा बिहान ४ बजे बित्नुभएको रहेछ, टिचिङमा । मैले मुखसमेत हेर्न पाइनँ आमाको,’ दीपा भावुक हुँदै सुनाउँछिन् ।

    स्कुले उमेरकी दीपा त्यसदिनदेखि आमाविहीन भइन् । आमाको मृत्यु हुँदा शव समेत हेर्न नपाएकी दीपालाई त्यो कुराले बेलाबखत बिझाइरहन्छ पनि । आमा बितेको ३० वर्षपछि पनि भुल्न सक्दिनन् आमा, आमाको प्रेम भरिएको पिटाइ ।

    ‘आमा हुनेलाई भन्दा नहुनेलाई बढी महत्व हुँदो रहेछ है !’ दीपा द्रविभूत भावमा भन्छिन् ।

    अघिल्ला वर्षहरूमा आजका दिन उनी वृद्धाश्रमतिर जान्थिन् । र आमाहरूलाई भोजन र मिठाइ खुवाउँथिन् । त्यसरी जाँदा कैयन् आमाहरूको अनुहारमा उनी आफ्नै आमाको अनुहार भेट्थिन् । ‘नानी तिमीले नसोचेको सपना पूरा गर्छौ । तिमी कति मायालु छौ आफ्नै छोरीजस्ती,’ आमाहरूले भनेको यो वाक्य उनको कानमा गुन्जिरहेको छ ।

    ०००

    आमाको सन्दर्भमा कुरा गरिरहँदा दीपा आफूभित्रको मातृत्वबारे बोल्छिन् । ‘आमा हुन छोराछोरी जन्माउनु पर्दोरहेनछ,’ अहिले त उनी यो निश्कर्षमा पुगेकी छन् । तर, ५ वर्षअघिसम्म उनको मनले यो स्वीकार गर्दैन थियो ।

    व्यक्तिगत जीवनमा दीपालाई आमा बन्ने रहर नभएको हैन । ‘बिहे गरौं, बच्चा जन्माऊँ’ भन्ने अनुभूति थियो उनीसँग । तर, अहिले दायित्व धेरै छ । सन्तानको माया पनि पाएको अनुभूति गरेकी छन् उनले ।

    आज बिहानै बिहीनका बच्चा र सानी भदैनीले ‘आमाको मुख हेर्ने दिन’ भन्दै उनको मुख हेरे । उनले खुसी बटुलिन् ।

    बिहान टुप्लुक्क आएको म्यासेजले पनि उनको खुसी थप्यो, ‘ह्याप्पी मदर्स डे मम ।’

    यो म्यासेज राजले पठाएका थिए । उबेला तितोसत्यका बालकलाकार राज दीपक र दीपाका छोराको भूमिकामा थिए । ‘त्यो भर्खरको उमेरमा मैले तितोसत्यमा आमाको भूमिका निभाएकी थिएँ । त्यतिखेर छोराको क्यारेक्टरमा राज थिए । अहिले पनि म उसलाई छोराजतिकै प्रेम गर्छु । ऊ अहिले पनि मलाई मम भनेर सम्बोधन गर्छ । उसको प्रगतिमा आफ्नै छोराको प्रगति सम्झिन्छु,’ दीपा सुनाउँछिन् ।

    ०००

    छोराछोरीको प्रेम त उनले १५ जना बच्चाहरूबाट पनि पाएकी छन् । जसलाई उनले पनि निकै प्रेम गर्छिन् । दीपक÷दीपा मिलेर १५ बच्चाहरूलाई पढाउने काम गरेका थिए, १५ वर्षअघि ।

    विस्तारै आय राम्रै हुँदै गएपछि उनीहरूले यो सोच बनाएका थिए । ‘सबैभन्दा ठूलो दान शिक्षादान हो । मान्छे साक्षर भइसकेपछि उसले विवेक प्रयोग गरेर जे पनि गर्न सक्छ । आफूलाई उभ्याउन सक्छ । के थाहा मैले पढाएको बच्चा भोलि प्रधानमन्त्री नै हुनसक्ला कि,’ यो सोच दीपामा त्यतिबेलै प्रखर भएर आयो ।

    उनीहरूले ती बच्चाहरू पढाए, जसको परिवार आर्थिक हिसाबमा निकै कमजोर छ । ‘अभिभावक जेलमा भएका, एकदमै कमजोर आर्थिक आय भएका परिवारका बच्चाहरूलाई हामीले पढाउन सुरु ग¥यौं,’ उनी सुनाउँछिन् ।

    दीपामा हिजो आफूले पढ्न नसक्दाको इख पनि बाँचेको थियो । ‘तैंले कला रोज्छन् कि पढाइ भन्दा मैले पढाइ रोज्न सकिनँ । किनकि मेरो आयस्रोत राम्रो थिएन । त्यसकारण हिजो पढ्न पाइनँ । आज बच्चाहरूलाई पढाउन पाइरहेको छु,’ उनी खुसीभावमा भन्छिन् ।

    पढाएका मध्ये एकजना बच्चाले त एसइई पाससमेत गरिसके । अहिले उनी स्कलरसिपमै पढिरहेका छन् । दीपक र दीपाले कमाइको १० देखि २० प्रतिशतसम्म बैंकमा राख्ने गर्छन् । ‘त्यही बैंकमा जम्मा भएको पैसाले पढाइरहेका छौं,’ उनी भन्छिन् ।

    कतै रिबन काट्न जाँदा वा कार्यक्रममा, जानुअगावै उनी एउटा आग्रह गर्छिन्, ‘मेरा बच्चाहरूलाई पढाउनका लागि केही खचर्् छुट्याइदिनुस् है !’

    ‘उनीहरूलाई कार्यक्रममा म चाहिएको हुन्छ । मलाई मेरा बच्चाहरू पढाउन जरुरी हुन्छ । कार्यक्रममा जाँदा म यो सर्त राख्छु । अनि त्यहाँबाट आएको पैसा बच्चाहरूकै खातामा जान्छ,’ उनी सुनाउँछिन् ।

    सामाखुसीमा पढ्ने सञ्जु नामकी बालिका छिन् । दीपा उनलाई छोरी भन्छिन् । उनी एकताका बिरामी थिइन् । ६ महिना जति पढ्न सकिनन् । पछि निको भएपछि दीपाले चिन्तित हुँदै भनिन्, ‘छोरीको पढाइ पनि छुट्यो । अब कसरी परीक्षा दिन्छौ नि तिमीले ?’ छोरीले हौसिँदै दीपालाई प्रेमपूर्वक भनिन्, ‘मलाई मेरो आमाको आशिर्वाद छ । म हाँसीहाँसी पास गरिहाल्छु नि !’

    नभन्दै उनी परीक्षामा प्रथम भइन् ।

    त्यहाँका दिदीहरूले सञ्जुको सन्दर्भमा भन्छन्, ‘एकदमै साइलेन्स नेचरको बच्चा हो ऊ । तर तपाईंहरू आमा बुवा भइसकेपछि निकै बोल्न थालेकी छन् ।’

    यो कुराले दीपालाई निकै उत्साहित बनाउँछ । आफूले गरेअनुरुप बच्चाहरूले पनि माया गरेको देख्दा उनी आफ्नी आमालाई याद गर्छिन् । र पुरानो तस्बिर हेर्दै भन्छिन्, ‘मेरो पनि आमा भएको भए कति खुसी हुन्थेँ हुँला ।’

    ०००

  • सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

    सकियो नीफ फिल्म महोत्सव : ‘बुख्याँचा’ उत्कृष्ट फिल्म

    काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को चौथो संस्करण सोमबारदेखि समापन भएको छ ।

    फिल्म मार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने नीफको उद्देश्य रहेको नीफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले नीफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताए ।

    पोर्चुगलका फिल्म निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई नीफले केन्द्रीकृत गर्न सफल रहेको जनाए । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र फिल्मका लागि उत्कृष्ट लागेको बताए ।

    समापन कार्यक्रममा उत्कृष्ट फिल्म सहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघु फिल्म अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो ‘बुख्याँचा’ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म अन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको ‘गड्स डटर डान्सेस’ले पाएको छ ।

    मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको ‘सिभिल सोल्डर्स’ले हात पारेको छ ।

    यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको ‘रिटर्न टु द लष्ट इडेन’ले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको ‘इन माइ ड्रिम’ पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक फिल्म अन्तर्गत ढोण्डुप छिरिङको ‘आमा खाण्डो’ले हात पारेको छ ।

    गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय फिल्म ‘डिक्सनरी’ले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभिनयतर्फ ‘लाटोकोसेरो’ले अवार्ड हात पारेको छ ।

    कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, फिल्मलाई अन्तरराष्ट्रियकरण गर्नमा नीफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा फिल्म गतिविधि अगाडी बढाइने जानकारी दिए । कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताए ।

    नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने सुझाव

    नीफको आजको शुरुवाती सत्रमा फिल्मको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो । कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताए ।

    लेखक तथा पत्रकार बविता बस्नेतले अबका फिल्ममा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिए । साहित्यकार कृष्ण धरावासीले संसारभरिका फिल्म हेरेका दर्शकलाई अब नेपाली फिल्मले आकर्षण गर्नुपर्ने भनाइ राखे ।

  • दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सात समूहबाटै बाहिरिए

    दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सात समूहबाटै बाहिरिए

    काठमाडौं । अमेरिकी आइडलमा पुनः प्रतिस्पर्धाको मौका पाएका दिवेश पोखरेल उत्कृष्ट सातबाटै बाहिरिएका छन् । आज विहान भएको भोटिङको नतिजाअनुसार आर्थर गन नामले चर्चित पोखरेल आउट भएका हुन् ।

    उनी अघिल्लो सिजनमा उत्कृष्ट दुईमा समावेश थिए ।

    कोरोनाको दोस्रो लहरले अडिसन प्रभावित बनेपछि अमेरिकन आइडलले अघिल्लो सिजनका प्रतिस्पर्धीलाई मौका दिएको थियो । सोही मौका अनुसार दिवेशले मौका पाएका थिए ।

    उनले आइतबार आमाको मुख हेर्ने दिनमा विशेष प्रस्तुत दिएका थिए । उनलाई जिताउन विश्वभरबाटै भोटिङ अभियान चलाएपनि उनी यसपटक सफल रहेनन् । उनले एक भिडियो सन्देश जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

  • पूजा र आँचलसँग रोमान्टिक आकाश (भिडियो)

    पूजा र आँचलसँग रोमान्टिक आकाश (भिडियो)

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् ।

    गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

    यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

    भिडियोमा पूजा र आँचल, आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् । हेर्नूस भिडियो :

  • नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् ।

    गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् ।

    सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छिन् ।

    पछिल्लो समय केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

  • हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा

    हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा

    अर्को जुनी खै कुन्नी
    कसलाई थाहा छ र खै
    यही जुनीलाई कोरोनाबाट बचौं है…

    काठमाडौं । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् ।

    दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो ।

    जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् ।

    टेलिकमसँगै एनसेलको मोबाइलमा पनि उक्त रिङब्याक टोन बज्ने जानकारी हरिवंशले दिए ।

    दुईवर्षअघि मेलिना राई र सरोज वलीले गाएको ‘अर्को जुनी खै कुन्नी’को रिमेकको रुपमा हरिवंशले यो गीत गाएका हुन् ।

    हेर्नूस भिडियो :

  • कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाललाई स्थगित

    कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाललाई स्थगित

    काठमाडौं । टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन-२’ अनिश्चितकालको लागि स्थगित भएको छ ।

    निर्माती तथा अभिनेत्री केकी अधिकारीले कोभिड-१९ का कारण सिर्जना भएको स्थितीले सिजन-२ को एपिसोड छायांकन स्थगित भएको जानकारी दिइन् ।

    ‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौं’ रियालिटी सोले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ ।

    निर्मात्री अधिकारीसहित प्रतियोगिताका केही सहभागिलाई गतसाता भाइरस संक्रमण समेत पुष्टि भएको थियो ।

  • सुटुक्क विवाह गरेकी रश्मी तामाङ अमेरिका पुगेपछि  विवाह भएकाे खुलासा

    सुटुक्क विवाह गरेकी रश्मी तामाङ अमेरिका पुगेपछि विवाह भएकाे खुलासा

    काठमाडौं । सुटुक्क विवाह गरेर अमेरिका उडिसकेपछि चर्चित मोडल रश्मी तामाङले विवाह गरेको खुलासा भएको छ । बैशाख १२ गते गोरखाका अनिल राना मगरसँग विवाह गरे पनि उनले विवाह गरेको कुरा उनि अमेरिका पुगिसकेपछि मात्रै खुलासा भएको हो ।

    रश्मीले आफुभन्दा ५ वर्ष कान्छा अनिलसँग विवाह गरेकी हुन् । सबैजसोले विवाह गर्दा आफु भन्दा बढी उमेरको व्यक्तिसँग विवाह गर्न खोज्दा उनले भने कम उमेरका व्यक्ति राेजेकी छन् । किन भन्ने नेपाल प्रेसकाे प्नश्नमा उनले भनिन्, ‘यस्तो सोच भनेको नेपालमा मात्रै हो । यतातिर त्यस्तो केही पनि सोच हुदैन । मलाई पनि त्यस्तो केहि पनि लागेन । मलाई धेरै माया गर्ने मान्छे पाए, योग्य मान्छे पाए, यसैमा खुसी छु । उमेरले केहि पनि फरक पार्दैन ।’

    अमेरिकाको क्लोराडोमा बस्दै आएकी रश्मी करिव ३ महिना अघि मात्र नेपाल आएकी थिइन् । उनले भनिन्, ‘नेपाल आउदाँ त्यस्तो विवाह नै गर्ने याेजना थिएन् । तर एकाएक विवाह गर्ने निर्णयमा पुगियो ।’ आफुले सामान्य तरिकाले हल्ला नगरेर विवाह गर्ने सोचेर गरेपनि अहिले भने जताततै हल्ला फैलिएको उनले बताइन् ।

    उनले भनिन्, ‘मैले विवाह गरेको एक साता मात्र वितेको थियो । अन्तरािष्ट्रय उडान बन्द गर्ने सरकारले निर्णय गर्यो । धेरै लम्बिएला भनेर काम पनि भएकाले चाडै फर्किए ।’ आफुले आफ्नो विवाह भएको कुरा सार्वजनिक नगर्ने सोच राखेपनि एक जना साथीले गर्दा सार्वजनिक भएको उनले बताइन । ‘एक जना साथीले खै तिम्रो विहेको फोटो भनेर माग्नुभयो । अनि फेसबुकमा हालेर बधाइ दिनुभएछ । त्यसपछि त जताततै फैलिहाल्यो ।’ उनले भनिन् ।

    उनले विवाह गरेको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाइको ओइरो नै लागेको छ । किन विवाह सुटुक्क गर्नुभएको भन्ने प्रश्नमा उनको जवाफ छ, ‘कोरोनाको महामारी भएकाले हामीले मगर परिवारको सस्कृति अनुसार नै विवाह गर्यौ । अवस्था त्यस्तै भएकाले सुटुक्क गरेको हो । अब अवस्था सामान्य भयो भने नेपाल फर्किएर साथीभाइलाई पार्टी दिनेछु ।’

    केहि समय अघि लोकदोहोरी गितको म्यूजिक भिडियोमा उनले राज गर्दै आएकी थिइन् । तर, पछिल्लो समय अमेरिकमा रहेकाले उनका म्यूजिक भिडियो बजारमा आउन बन्द हुन थालेको छ । आफु पछिल्लो समय बाहिर पनि बसेको र बिस्तारै मोडलिङ क्षेत्रबाट बाहिरिने सोचमा रहेको उनले बताइन ।

    किन भन्ने प्रश्नमा उनले भनिन्, ‘यो मोडलिङ गर्ने समय भनेको धेरै होइन, १५–१६ वर्षदेखि त्यहि बढीमा ३० वर्षसम्म हो । मैले त्यो उमेर पुरा गरीसके । अब मेरो त्यसमा भविष्य छैन । त्यसैले त्यता झुण्डिएर मैले समय बर्वाद गर्नुहुदैन भन्ने लागेको छ ।

    लोक तथा दाेहाेरी गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् भने  र तामाङ भाषाका गित र चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

  • पल र मलिका स्टारर नयाँ ट्रयाक ‘आँखामा आउने सपनी’ प्रिमियर (भिडियो)

    पल र मलिका स्टारर नयाँ ट्रयाक ‘आँखामा आउने सपनी’ प्रिमियर (भिडियो)

    काठमाडौं । फुलबुट्टे सारी, टाढा भएपनिजस्ता हिट ट्रयाकपछि पल शाह र मलिका महत फिचर्ड नयाँ गीत ‘आँखामा आउने सपनी’ शनिबार इन्टरनेट रिलिज भएको छ ।

    केन्द्र मोसन पिक्चर्सले यी दुई जोडीलाई आफ्नो नयाँ गीतमा प्रस्तुत गरेको हो । एकदेव लिम्बुद्वारा संगीतबद्ध फिमेल भर्सनमा सुनिता थेगिमको स्वर छ । शान थापाले भिडियो निर्देशन गरेका हुन् ।

    पल र मलिकाले अभिनय गरेका पछिल्ला म्युजिक भिडियोलाई दर्शकले रुचाएका छन् । निर्माता कम्पनी केन्द्र मोसन पिक्चर्सले पनि आगामी ६ महिनासम्म अन्य कम्पनीको उत्पादनमा संलग्न हुन नपाउने गरी पल र मलिकालाई अनुबन्धित गरेको थियो ।

    हेर्नूस भिडियो :

  • कंगना रनावतलाई कोरोना संक्रमण, हिमाञ्चल भ्रमण रद्द

    कंगना रनावतलाई कोरोना संक्रमण, हिमाञ्चल भ्रमण रद्द

    मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    हिमाञ्चल प्रदेशको भ्रमणमा निस्कनुअघि आफूलाई भाइरस पुष्टि भएको उनले जनाएकी छिन् ।

    पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।

  • कोरोना कालभर व्यंग्य र घोचपेच नगर्ने दीपकराज गिरीको प्रण !

    कोरोना कालभर व्यंग्य र घोचपेच नगर्ने दीपकराज गिरीको प्रण !

    काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा टिप्पणी गरेकै भरमा सेलेव्रिटी विवादमा तानिने गरेका छन् । कतिपय सेलेव्रिटीले आफूतिर ध्यान तान्ने टाइपका स्टेटस र तस्विर पोस्ट गर्ने गरेपनि केही सेलेव्रिटीले चाहिँ सरकारी भूमिकालाई लिएर टिप्पणी गर्ने गरेका छन् ।

    अभिनेता दीपकराज गिरी सामाजिक संजालमा सक्रिय हुनेमध्येका एक कलाकार हुन् । उनी समसामयिक विषयवस्तुमा आफ्नो धारणा राख्नेमध्ये पर्छन् । उनी पछिल्लो समय राजनीतिक अस्थिरता र कोभिड महामारीबारे वाचाल लाग्छन् ।

    शुक्रबार फिल्म निर्माता एवं अभिनेता गिरीले एउटा लामो स्टेटस फेसबुकमा पोस्ट गरे । जहाँ उनले कोभिड कालभर आफ्नै सामाजिक संजालमा घोचपेच र व्यंग्य नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    उनी लेख्छन्- अतः जबसम्म कोभिड महामारीसँगको हाम्रो लडाइ जारी रहनेछ । तबसम्म म व्यक्तिगतरुपमा फेसबुकमा यो वा त्यो समूहलाई घोचपेच, व्यंग्य र नकारात्मक कुराहरुलाई बन्द गरेर सकारात्मक कुराहरु मात्रै पोस्ट गर्ने प्रण गर्छु ।’

    दीपकले यसवर्ष व्यक्तिगत सुधारमा समय दिने समेत बताएका थिए । उनले आफ्नो गाउँ चन्द्रागिरीको दहचोकमा फिल्म स्टुडियो निर्माणको तयारी पनि थालेका छन् ।

  • यस्तो छ मिस युनिभर्समा नेपाली पोशाक : महावीरको डिजाइनमा २४ क्यारेट सुनसम्म !

    यस्तो छ मिस युनिभर्समा नेपाली पोशाक : महावीरको डिजाइनमा २४ क्यारेट सुनसम्म !

    काठमाडौं । आउँदो साता अमेरिकामा हुन लागेको मिस युनिभर्स प्रतियोगितामा नेपालले हिमाल आरोहीको स्वरुप झल्कने पोशाक प्रस्तुत गर्ने भएको छ ।

    ६९ औं मिस युनिभर्समा नेपालले ‘ओडी टु माउन्टेन’ थिममा बनेको आरोही पोशाक प्रस्तुत गर्ने भनेको हो । मिस युनिभर्सकी नेपाल निर्देशक नग्मा श्रेष्ठले शुक्रबार नेपालले प्रस्तुत गर्ने अफिसियल पोशाक सार्वजनिक गरिन् ।

    हिमाल आरोहीबाट प्रभावित भएर शेर्पा बख्खुले बनाइएको उक्त पोशाको डिजाइन महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमा गरेका थिए । मिस युनिभर्सकी प्रतियोगिता अनिष्का शर्माको थीम र बिना घलेको कन्सेप्टमा महावीरले पोशाक तयार पारेका हुन् ।

    धातु र ढुंगाको मिश्रण गरिएको हेडगियर, अक्सिजन मास्क, कलर, ग्लोब्स र बुट्हरु पोशाकमा समावेश गरिएका छन् । उक्त धातु २४ क्यारेट सुनले बनेको नग्माले जनाएकी छिन् ।

    पोशाको पछिल्तिर राखिएका बौद्ध प्रार्थनाको झण्डालाई चाहिँ खुला र बन्द गर्न मिल्ने गरी मोटराइज जडान गरिएको छ । थ्रीडी बटन थिचेपछि हातले पोतिएको क्यानभाष र सगरमाथाको डिजाइन हेर्न सकिने समेत जनाइएको छ ।

    मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा हुने प्रतियोगितामा भाग लिन अनिष्का त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।

  • अनुराग कश्यपले दिए नेपाली फिल्ममेकरलाई यस्ता टिप्स, फिल्म खिच्न नेपाल आउने इच्छा व्यक्त

    अनुराग कश्यपले दिए नेपाली फिल्ममेकरलाई यस्ता टिप्स, फिल्म खिच्न नेपाल आउने इच्छा व्यक्त

    काठमाडौं । भारतीय फिल्म निर्देशक अनुराग कश्यपले कोरोनाभाइरस महामारीको अवस्था सामान्य भए आफू फिल्म छायांकनलाई नेपाल आउने बताएका छन् ।

    नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को भर्चुअल सत्रमा विहिबार बोल्दै उनले नेपाल आउने चाहना व्यक्त गरेका हुन् । आफूसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट भएको र सगरमाथा आधार शिविरमा जाने चाहना भएको उनले बताए ।

    आफूले अहिलेसम्म दीपक रौनियार निर्देशित फिल्म सेतो सूर्य र मीनबहादुर भामको कालोपोथी हेरेको कश्यपले बताए । संवादमा उनले दीपक र मीनको नाम समेत उल्लेख गरे ।

    आफ्नो कथामाथि फिल्म बनाउन सके, आम्दानीका ढोका खुल्ने बताउँदै कश्यपले नेपाली फिल्म निर्मातालाई आफ्नो कथामा फिल्म सुझाए । धेरै मुलुकमा फिल्म क्षेत्र नै नभएको अवस्थामा नेपाली फिल्म क्षेत्र सन्तोषजनक भएको टिप्पणी उनले गरे ।

    नेपाली फिल्मका लागि लगानी जुटाउन कठिन नहुने अनुरागको भनाई छ । ‘तपाईं राम्रो स्क्रिप्ट लेख्नूस, फन्डिङ जुटाउन कठिन छैन । विश्वभरिबाटै तपाईंको स्क्रिप्टमा लगानी गर्न मान्छेहरु इच्छुक हुन्छन्’ उनले भने ।

    नीफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्मलाई विश्व बजारमा लैजान स्टोरी बैंक खडा गरिएको बताएका थिए ।

    सो सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँल, निर्देशक नीर शाह, पोर्चुगलका फिल्म निर्देशक ज्वाओ पाउलो मसेदो र नेपाली फिल्म निर्देशक तुलसी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !

    घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !

    घुम्तीमा नआऊ है
    आँखा तिमी जुधाउन
    बाँधिए माया फेरी
    गाह्रो हुन्छ फुकाउन…

    काठमाडौं । रत्नशमशेर थापाका शब्द र प्रेमध्वज प्रधानको आवाजमा बुनिएको यो सिर्जना नेपाली सांगीतिक आकाशमा गुञ्जिरहनेछ । यो ‘ब्लकबस्टर’ गीतले सन् ७० को नेपाली समाजलाई ‘रोमान्टिसाइज’ तुल्याएको मात्र थिएन, संगीत र प्रेमका दुई आयामलाई जोडिदिएको थियो ।

    सोही कालजयी गीतका गायक प्रेमध्वज प्रधान अब घुम्तीमा भेटिनेछैनन् । आउने असारमा ८४ औं बर्थडे मनाउने तयारीमा रहेका प्रेमध्वजले विहिबार काठमाडौंको एउटा अस्पतालमा अन्तिम सास लिए । जीवनका ८३ बसन्त बाँचेका प्रेमध्वजले नामजस्तै जीवनमा प्रेमका ध्वजाहरु फैलाए र आफ्ना लाखौं प्रशंसकको मनमा बाँचिरहनेछन् ।

    प्रेमलाई जीवन गहिराइमा अनुभूति गराउने खालका सशक्त सांगीतिक सिर्जना पस्किएका प्रेमध्वजको निधनसँगै नेपाली संगीतमा एउटा युगको अन्त्य भएको छ । सफ्ट मेलोडी अर्थात मखमली स्वरका लागि चिनिएका प्रेमध्वजको तुलना नेपाली सुगम संगीतमा तलत महमुद, मेहदी हसनसँग हुनेगर्छ ।

    सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ को जुन ६ मा जन्मिएका प्रेमध्वजको सांगीतिक यात्रा अनुकरणीय छ । मणिकरत्नसँग उनले काठमाडौंमा गरेको संघर्ष, बलिउड नगरी बम्बैको यात्रा, त्यसपछि फर्किएर नेपाली फिल्म उद्योगमा गरेको संघर्ष र हासिल गरेको सफलताका किस्सा निकै रोचक छन् ।

    काठमाडौंमा घर नभएकालाई छोरी नदिने भएकाले उनका जमिनदार बाजे उत्तरध्वजले बांगेमुढाको नघलः टोलमा घर किनेका थिए राणाकालमा । जिजुबाजे नारायणकृष्ण र बाजे शाष्त्रीय संगीतका सौखिन थिए । उनका बाबु र आमा दुबै कलाकार थिए । असनमै हुर्किएकी उनकी आमा १० वर्षको उमेरमै नारायणहिटी दरबार छिरेकी थिइन् । राजा त्रिभुवनकी प्रियपात्र रहेकी उनकी आमाले दरबारमै तबला र गायनको शिक्षा पाएकी थिइन् । रेडियो नेपालमै उनले गीत गाएकी थिइन् ।

    दरबारमै उनका बाबु रत्नध्वज प्रधान र उनकी आमा प्राणदेवी तुलाधरबीच भेट भयो र सोही क्रममै दुबै मायामा बाँधिए । बाजेको इच्छाविपरित ती दुबैले प्रेमविवाह गरेकाले पे्रमध्वजको बाल्यकाल सुखद हुनसकेन । किनभने प्रधान र तुलाधरबीच त छोएको नखाने सम्मको जातिय छुवाछुतको अवस्था त्यतिबेला थियो । राजा जुद्धशमशेरले उनका बुवा रत्नध्वजलाई हनुमानढोकामा बोलएर सम्बन्ध विच्छेद गर्न लगाएको सम्झन्छन् प्रेमध्वज । त्यसपछि उनी आमासँग डेरामा बस्न थाले ।

    आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए ।

    आमासँगै उनले त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन सिके । सात आठवर्षको उमेरमा उनले अक्षर चिन्न थाले । नाचगान सिकेका प्रेमध्वजले २००९ सालमै रेडियो नेपालमा स्वर परिक्षा दिए । ‘याद कसैको आइरहन्छ यो अँधेरी रातमा’ उनको पहिलो रेडियो नेपालमा रेकर्ड भएको गीत थियो । दुईवर्ष भारतमा हराएका प्रेमध्वज काठमाडौं फर्किएर पद्मोदय स्कुलमा भर्ना भए र एसएलसी पास गरे । इन्जिनियर बनाउने बाबुको इच्छा भएपनि उनले त्रिचन्द्रमा विज्ञान पढे । हैजाका कारण परीक्षा छुटेपछि उनले सरस्वती कलेजबाट आइए र बीए गरे ।

    सन् २०१८मा उनले गोरेट त्यो गाउँको, माया नमार मायालु गीत रेकर्ड गरे । रत्न रेकर्डिङ स्थानले त्यतिबेला प्रेमध्वजका १२ गीत निःशुल्क रेकर्ड गरिदिएको थियो । रेडियो नेपालमा ३४० आधुनिक गीत रेकर्ड गराए उनले । राष्ट्रिय गीत, नेवारी गीत र भजन विधामा उनले गीत गाए । नेवारी भाषाको ‘बाला बाला चिगु मिखाः’ रक एन्ड रोलमा गाए उनले । उनले गाएको ‘राजमती कुमती’ हिट गीत हो । बच्चुकैलाश, नारायणगोपल र प्रेमध्वज मात्रै त्यतिबेला हिट गायक थिए । २०२३ मा माइतीघर फिल्मको छायांकनका लागि माला सिन्हा र संगीतकार जयदेव काठमाडौं आएका थिए । सोही बेला उनले टीमसँग भेटेर माइतीघर फिल्ममा गीत गाउन नाम लेखाए । अफिसबाट एक महिने बिदा लिएर उनी गीत गाउन मुम्बई हानिए ।

    आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए । मालाको अनुरोधमा सत्यकामना फिल्म अवार्डमा गीत पनि गाए र चर्चा बटुले । मुम्बइमा रहँदा संगीतकार मनोहरीले प्रेमध्वजका १० गीत रेकर्ड गराए ।

    सोही बेला रेकर्ड भएको हो ‘घुम्तीमा नआऊ है, टाढा टाढा, भैगयो फेरी, तारा मात्र होइन तिमीलाई । माइतीघरपछि प्रेमध्वजले अन्याय, मायालु, बदलिँदो आकाश, फेरी भेटौंला, जीवनरेखासहितका १२ फिल्ममा पाश्र्वगायन गाए । फागुन २०२८ मा उनले महावीर फुटबल क्लबकी किरणकुमारी श्रेष्ठलाई विहे गरे । ३३ वर्षे प्रेमध्वजले १६ वर्ष कान्छी किरणकुमारीसँग घरजम गरेका थिए ।

    प्रेमध्वजका दुई सन्तान छन् । दुबै छोरा अमेरिकामा । जेठा छोरा प्रसन्नध्वज अमेरिकामा सफ्टवेयर इन्जिनियर हुन् भने गायक पनि । अर्का छोरा इनर्जी अमेरिकी लिगमा फुटबल खेल्ने खेलाडी हुन् ।

    नेपालमा पहिलोपटक गीतार बजाउने गायकको रुपमा पनि प्रेमध्वज चर्चित छन् । उनले आफ्नोकालका स्टाइलिस र संगीतमा नयाँ प्रयोग गर्ने जमर्को गर्थे । प्रेमध्वजलाई जान्नेहरु रोमान्टिक किङ र गोल्डेन भ्वाइसको रुपमा उपमा दिन्छन् । उनले नेपालमा पहिलोपटक गीटार बजाए । अमेरिकबाट आएका चारजना फोक सिंगरहरुले नेपालमा गीटार बजाएको देखेर उनलाई पनि बजाउन मन लाग्यो । इश्वर नाम गरेका आफ्ना दाईलाई २ सय रुपैयाँ दिएर उनले गिटार मगाए । रेडियो नेपालमा रहेका रामशरण दर्नालले ४ महिना गिटार सिकाए प्रेमध्वजलाई । २०२० सालमा राष्ट्रिय नाचघरमा भएको आधुनिक गीत प्रतिस्पर्धामा उनले पहिलोपटक गिटार बजाएर गीत गाए । उनको गायकी सुनेपछि राजा महेन्द्रले सानो मेडल लगाइदिएका थिए ।

    पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

    प्रेमध्वज भर्सटाइल अवधारणा राख्ने मान्छे थिए । पछिल्लो छिमलका कलाकारहरु भर्सटाइल हुनुपर्छ भन्ने उनको सोच थियो । हुनसक्छ यही कारण उनले भजन गाए । नेवारी गीत गाए र आधुनिक गीत गाए । जग्गा जमिनलाई लिएर उनको लामै समय मुद्दा चल्यो । मुद्दाको कारण उनले लामो समय संगीतमा समय दिन सकेनन् । जीवनको यो दुःखजिलो क्षणमा उनलाई अमेरिका पसूँ कि भन्ने सोच आयो । तर, उनले हरेश खाएनन् । जेजस्तो दुःख आइपरे पनि उनले नेपालमै रहेर संगीत बाँच । पछिल्लो समय अमेरिकी सपना देख्ने आधुनिक पुस्ताका लागि यो एउटा ठूलो नैतिक र प्रेरणादायी शिक्षा हो ।

    संगीतको बदलिँदो आयामप्रति प्रेमध्वजको आफ्नै दृष्टिकोण थियो । उनी भन्थे- पहिले हामी लाइभ गाउँथ्यौं । पहिला सीमित कलाकार थियौं । अहिले लाखौंको संख्यामा पुगिसके । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीतसंगीत राम्रो त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।’ पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

    प्रेमध्वज निधन लगत्तै उनीप्रति श्रद्धासुमनका शब्दहरु वर्षिए । लकडाउनको यो मझेरीमा उनी कुनै रकस्टारजस्तै महाप्रस्थानमा निस्किएका छन् । उनको निधनमा पत्रकार विजयकुमार ट्वीट गर्छन् :

    तार चुँडियो
    झंकार बाँकी छ

    शरीर गयो
    आवाज अमर छ

    सत सत नमन्
    प्रेमध्वज दाई !

  • कोरोना संक्रमणपछि फिल्म निर्माता नरेन्द्र महर्जन आइसीयूमा

    कोरोना संक्रमणपछि फिल्म निर्माता नरेन्द्र महर्जन आइसीयूमा

    काठमाडौं । फिल्म निर्माता एवं उद्यमी नरेन्द्र महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा भर्ना गरिएको छ ।

    अहिले स्वास्थ्य अवस्थामा सुधार भएको जानकारी महर्जनले नेपाल प्रेसलाई दिए । उनी चर्चित नेपाली फिल्म ‘लुट’का निर्माता समेत हुन् ।

    चलचित्र विकास बोर्डका पूर्वसदस्य समेत रहेका महर्जन चलचित्र व्यवसायी समेत हुन् । उनले पछिल्लो समय काठमाडौंको कीर्तिपुरमा फिल्म हल निर्माण गरिरहेका छन् ।

  • गायक प्रेमध्वज प्रधानको निधन

    गायक प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

    विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।

    उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

    ८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए ।

    प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

    सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।

     

  • कोरोना कहर छल्न झरना, सुहाना र सुनिल अमेरिकातर्फ

    कोरोना कहर छल्न झरना, सुहाना र सुनिल अमेरिकातर्फ

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको दोस्रो लहर भयावहतर्फ उन्मुख भइरहेको छ । यस्तो परिस्थितीमा नेपाली फिल्मको गतिविधि पनि अहिले पूर्णरुपमा ठप्प छ ।

    फिल्म निर्माता र कलाकार अहिले घरमै फुर्सदमा छन् । कतिपय कलाकार अक्सिजन सिलिन्डर वितरणमा लागिरहेका छन् । कतिपय कलाकार कोरोनालाई छल्न विदेशतर्फ लागिरहेका छन् ।

    अभिनेत्री एवं निर्देशक झरना थापा, छोरी सुहाना र उनका पति एवं निर्माता सुनिलकुमार थापाल बुधबार राती अमेरिकातर्फ प्रस्थान गरेका छन् । ‘ए मेरो हजुर ४’ छायांकनपछि उनीहरु अमेरिका लागेका हुन् ।

    सरकारले विहिबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि उनीहरु हतारमा त्यसतर्फ लागेका हुन् । झरनाकी छोरी अमेरिका रहेरै अध्ययन गर्छिन । थापा परिवार कोरोना साम्य भएपछि मात्र नेपाल आउने तयारीमा छ ।

  • बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना

    बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना

    काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई स्वास्थ्यमा समस्या भएपछि विहिबार अस्पताल भर्ना गरिएको छ ।

    गायक योगेश वैद्यका अनुसार प्रधानलाई न्यूरो अस्पतालमा भर्ना गरिएको हो । छातीमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको गायक वैद्यले जानकारी दिए ।

  • बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म फेस्टिभलमा अनुभव सुनाउने

    बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म फेस्टिभलमा अनुभव सुनाउने

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि शुरु हुँदैछ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय फिल्म लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउने भएका छन् ।

    ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    उनले भने, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । विश्वभरि फैलिएको कोभिड-१९ का कारण हाल देश निषेधाज्ञामा रहेकाले हामीले भौतिक रुपमा महोत्सव आयोजना गर्न नसकी भर्चुअल रुपमा आयोजना गर्ने लागेका हौंँ ।”

    पाँच दिनसम्म चल्ने फेस्टिभलको पहिलो दिन कश्यपले अनुभव सुनाइसकेपछि शुक्रबारदेखि अन्य गतिविधि सञ्चालन गरिने जनाइएको छ । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।

  • सरिता र काकुलाई पनि कोरोना संक्रमण, दुबैजना कलाकार आइसोलेसनमा

    सरिता र काकुलाई पनि कोरोना संक्रमण, दुबैजना कलाकार आइसोलेसनमा

    काठमाडौं । अभिनेत्री सरिता लामिछाने र अभिनेता दीपकप्रसाद आचार्य (काकु)लाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    सामाजिक संजालमार्फत बुधबार उनीहरुले संक्रमण पुष्टि भएपछि आफूहरु आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।

    ‘सक्किगोनि’ नामक टेलिसिरियल सुटिङ गरेर फर्कँदा आफूलाई ज्वरो आउने र शरिर दुख्ने समस्या भएको आचार्यले जानकारी दिएका छन् । सक्किगोनी सिरियलमा उनी काकु नामले चर्चित छन् ।

    अभिनेत्री लामिछानले कोरोना संक्रमणलाई खराब र पीडादायी भनेर उल्लेख गरेकी छिन् । आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन पनि उनले आग्रह गरेकी छिन् ।

  • कोरोना संक्रमित मदनकृष्ण पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो

    कोरोना संक्रमित मदनकृष्ण पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो

    काठमाडौं । कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

    अक्सिजन लेभलमा कमी भएपछि बुधबार अपरान्ह उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छोरा यमनले नेपाल प्रेसलाई जानकारी दिए ।

    आइतबार केही सहज भएपछि अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई पुनः आज अस्पताल लगिएको हो । ‘उहाँलाई कोरोना निको भएकै थिएन । केही सजिलो भएपछि मात्र डिस्चार्ज गरेका हौं’ छोरा यमनले भने, ‘अक्सिजन लेभल ८५ मा झरेपछि पुनः अस्पताल लैजानुपरेको हो ।’

    मदनकृष्णका छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्य सामान्य भएपनि कोरोना निको चाहिँ भैसकेको छैन ।

  • विपिनको शब्द र मेलिनाको स्वरमा ‘आफ्‍नोपन’ सार्वजनिक (भिडियो)

    विपिनको शब्द र मेलिनाको स्वरमा ‘आफ्‍नोपन’ सार्वजनिक (भिडियो)

    काठमाडौं । विपिन किरणको शब्द तथा रगुन रगुङ र मेलिना राईको स्वरमा नयाँ गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ ।

    नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गरेका छन् ।

    भिडियोको निर्देशन नवीनराज शिवभक्तिले नै गरेका हुन् । गायक समेत रहेका नवीनराजले म्यूजिक भिडियोको निर्देशनमा आफ्नो कौशल देखाएका छन् ।

    रोशन कार्कीको सिनेम्याटोग्राफीको उक्त भिडियोलाई प्रेम बलामपाकीले एडिट गरेका हुन् ।

    गितको रेकर्डिङमा राजेश र साजनको भूमिका छ भने मिक्सिङमा किशोर थापाले काम गरेका छन् ।

    https://www.youtube.com/watch?v=iNxFeRmOEU4

     

  • गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो)

    गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो)

    काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् । गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।
    प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।
    चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ ।
    म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न पाइनेछ । इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । गायिका बरालको यसअघि सार्वजनिक भएको ‘नरिसाउन होइ’ गीत पनि चर्चामा छ ।

     

  • मिस युनिभर्समा भाग लिन अनिष्का अमेरिकातर्फ प्रस्थान

    मिस युनिभर्समा भाग लिन अनिष्का अमेरिकातर्फ प्रस्थान

    काठमाडौं । मिस युनिभर्स २०२१ मा भाग लिन मिस युनिभर्स नेपाल अनिष्का शर्मा मंगलबार अमेरिका प्रस्थान गरेकी छिन् ।

    ६९ औं मिस युनिभर्स टाइटलमा भाग लिन उनी त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

    मिस युनिभर्सको आउँदो संस्करण मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा आयोजना हुँदैछ ।

  • पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

    पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

    काठमाडौं । अभिनेता पल शाह अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण गरेका थिए ।

    कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।

    ‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’ पलले नेपाल प्रेससँग भने ।

    विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।

  • कंगना रनावतको ट्वीटर खाता सँधैका लागि निलम्बित !

    कंगना रनावतको ट्वीटर खाता सँधैका लागि निलम्बित !

    दिल्ली । बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउन्ट निलम्बित भएको छ । मंगलबार दिउँसो ट्वीटरले विवादास्पद अभिनेत्रीको ट्वीटर खातालाई हटाइदिएको हो ।

    आफ्ना अभिव्यक्तिको कारण चर्चामा आइरहने कंगनाको ट्वीटर एकाउन्ट यतिबेला ससपेन्ड भएको जतिबेला पश्चिम बंगालको चुनावपछि सो क्षेत्रमा हिंसा भड्किएको छ ।

    ट्वीटरमा कंगनालाई ३० लाखले पछ्याएका थिए ।

    ट्वीटरले एक नोटिस जारी गर्दै कंगनाको ट्वीटर एकाउन्ट सँधैका लागि बन्द गरेको जनाएको छ ।

  • गायक नितेषजंगको प्रष्टीकरण : सर्पोट नपाएपछि यस्तो निर्णय गरेको होइन

    गायक नितेषजंगको प्रष्टीकरण : सर्पोट नपाएपछि यस्तो निर्णय गरेको होइन

    काठमाडौं । गतसाता गायक नितेशजंग कुवँरले नेपाली संगीतबाट विश्राम लिने बेला आएको भन्दै फेसबुक स्टेटस पोस्ट गरे । उनको यस्तो निर्णयलाई लिएर सामाजिक संजालमा विभिन्न टीका टिप्पणी पनि भए ।

    कतिपयले आफ्नो ध्यानाकर्षण गर्न उनले त्यस्तो बोलेको भन्दै आलोचना गरे भने कतिपयले उनको नयाँ करियरको लागि शुभकामना दिए । उनी निकट स्रोतका अनुसार नितेशले आगामी करियर अंग्रेजी गायनमा लगाउने योजना बुनेका छन् ।

    आइतबार नितेशले एक भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध भएका टीका टिप्पणीको जवाफ दिएका छन् । ‘सर्पोट नपाएपछि मैले यस्तो निर्णय गरेको होइन । मैले बुझेरै, मनन गरेरै यस्तो निर्णय लिएको हुँ’ उनले भनेका छन्, ‘म आज जहाँ छु, तपाईंहरुको माया र सद्भावको कारणले आइपुगेको हुँ । यसमा कसैले चित्त दुःखाउनुपर्ने कारण छैन ।’

    उनले प्रत्येक व्यक्तिमा युनिक क्षमता हुने बताउँदै उक्त क्षमतालाई सदुपयोग गर्न समेत उनले आग्रह गरेका छन् । ‘हामी सबै आ–आफ्नो क्षमता अनुसार देशलाई योगदान दिनुपर्छ’ नितेश भन्छन्, ‘यो समयमा हामी हतास नभइकन बस्नुपर्छ र आत्तिनुहुँदैन ।’

    पछिल्लो समयमा चल्तीका गायक कुवँरले गत महिना एउटा अंग्रेजी गीत रिलिज गरेका थिए ।