Category: कलाप्रेस

  • रोनाल्डोलाई पछ्याउँदै करिश्मा, सफ्ट-ड्रिङ्कभन्दा पानी पिउन आग्रह

    रोनाल्डोलाई पछ्याउँदै करिश्मा, सफ्ट-ड्रिङ्कभन्दा पानी पिउन आग्रह

    काठमाडौं । गतसाता पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेग्लै कारण चर्चामा आए । पत्रकार सम्मेलनमा टेबुलबाट कोकाकोलाको बोतलहरु हटाएपछि उनी विश्वभरि मिडिया हेडलाइन बने ।

    उनले प्रेसमिटको टेबुलबाट कोकको बोतल हटाएर पानीको बोतल राखे । सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचाले । यो घटना लगत्तै कोकको सेयर बजारमा गिरावट आयो ।

    अहिले उनै रोनाल्डोलाई पछ्याउँदै नेपालसहितका विश्व सेलेव्रिटीले सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै सामाजिक संजालमार्फत धारणा राखिरहेका छन् । सर्वसाधारणदेखि प्रशंसकले समेत रोनाल्डोलाई समर्थन गरिरहेका छन् ।

    करिश्माले पनि फेसबुकमार्फत ‘से नो टु काबर्न’ लेख्दै सोडायुक्त पेय पदार्थ नपिउन अनुरोध गरेकी छिन् । अमेरिकामा हुँदा आफूले सब-वे फास्टफुडमा काम गरेको स्मरण गर्दै करिश्माले सफ्ट-ड्रिङ्क बिक्री गर्दा पनि त्यतिबेला विष बाँडिरहेको जस्तो महसुस भएको आफूले गरेको उल्लेख गरेकी छिन् ।

    ‘कृत्रिम पेयपदार्थ’ नपिउन समेत करिश्माले आग्रह गरेकी छिन् । करिश्मा स्वास्थ्यलाई लिएर निकै सचेत समेत हुने गरेकी छिन् ।

  • सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माले दिइन् एकलाख, सहायताका लागि गरिन् आग्रह

    सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माले दिइन् एकलाख, सहायताका लागि गरिन् आग्रह

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने भएकी छिन् ।

    बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई करिश्माले सहायता उपलब्ध गराउने बताएकी हुन् ।

    सामाजिक संजाल फेसबुकमार्फत करिश्माले अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् । संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

    शनिबार स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको उपस्थितीमा गठन भएको उक्त समितिले बाढी प्रभावित सिन्धुपाल्चोकको भत्किएका संरचना पुनःनिर्माणका लागि सहायता आह्वान गर्ने भएको छ ।

    आगामी १० गते बस्ने बैठकमा बाढी प्रभावित सिन्धुपाल्चोकलाई सघाउन कलाकारहरुले थप योजना सार्वजनिक गर्ने भएका छन् ।

  • आँचलको नजरमा पल शाह रियल हिरो, भन्छिन् : देशलाई अक्सिजन बाँड्ने मान्छे महानायकभन्दा माथि

    आँचलको नजरमा पल शाह रियल हिरो, भन्छिन् : देशलाई अक्सिजन बाँड्ने मान्छे महानायकभन्दा माथि

    काठमाडौं । विहेअघि आँचल शर्मा र पल शाहको नाम रिल र रियल लाइफमा जोडियो । अफस्क्रिनमा पनि उनीहरुको केमेस्ट्री मिलेको देखिन्थ्यो । यी दुईबीच प्रेम सम्बन्ध रहेको पनि चर्चा चल्यो ।

    विहेपछि पनि पलप्रति आँचलको मायामा पनि कमी भएको देखिएको छैन । यसैसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा आँचलले पलको खुलेर प्रशंसा गरेकी छिन् । पललाई उनले महानायककै संज्ञा दिएकी छिन् ।

    कोरोना महामारीमा पलको समाजसेवाको प्रशंसा गर्दै आँचलले उनी समाजका लागि वास्तविक नायक भएको बताइन् । ‘यस्तो विषम परिस्थितीमा पनि पलजी खट्नुभएको छ । देशका लागि उहाँको चिन्ता देखिन्छ । उहाँ महानायकभन्दा पनि बढी हो’ आँचलले प्रशंसा गरेकी छिन् ।

    ‘ग्ल्यामर गफ्’ नामक टकसोमा पललाई लिएर सोधिएका प्रश्नमा समेत आँचल पजेटिभ सुनिइन् । कोरोना भाइरस महामारी साम्य भए फिल्म निर्माण गर्ने बताउँदै आँचलले फिल्म क्षेत्रको दुःख बुझ्ने संचारमन्त्री नियुक्त हुनु जरुरी भएको बताइन् ।

  • क्वीन्स फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छनोट

    क्वीन्स फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छनोट

    न्यूयोर्क । न्यूयोर्कको प्रतिष्ठित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा प्रदर्शनका लागि दुई नेपाली चलचित्र छनोट गरिएको छ । जुन २६ र २७ तारिकमा चलचित्र प्रिमियर हुनेछन् ।

    इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित सरीता र अमेरिकी इयान स्कटद्वारा निर्माण, निर्देशन गरिएको चलचित्र बसन्जीलाई क्वीन्स फिल्म फेस्टिभलमा प्रिमियर गरिनेछ ।

    मिथिला शर्मा, सरीता गिरी लगायतको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो । चलचित्र सरीतामा चाहिँ नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ । यसका अधिकांश पात्रहरु भुटानी नै छन् ।

    समीक्षकहरुले दुवै चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । दुईमध्ये बसन्जीलाई अवार्डको मुख्य दावेदारको रुपमा हेरिएको छ । यी चलचित्रहरु न्यूयोर्कको क्वीन्समा अवस्थित शेर्पा किदुग हलमा प्रदर्शन गरिनेछ ।

  • बाढीले भत्किएका मेलम्चीका संरचना पुननिर्माण गर्न बरिष्ठ अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

    बाढीले भत्किएका मेलम्चीका संरचना पुननिर्माण गर्न बरिष्ठ अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

    काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ ।

    शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो । उक्त समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।

    बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा बसाल्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानहरुलाई आह्वान गर्ने भएका छन् । ‘हामीले बैंकमा कोष खडा गर्छौै र सबै पक्षलाई दान गर्न आह्वान गर्छौ’ अभिनेता मल्लले नेपाल प्रेसलाई भने ।

    सरकारका तर्फबाट बैठकमा सहभागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पुननिर्माणका लागि आवश्यक जग्गा र प्राविधिक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीले सिन्धुपाल्चोकको स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम गर्छौं’ मल्लले भने, ‘तत्काललाई राहत भन्दा पनि दीर्घकालिनरुपमा अघि बढ्छौं ।’

    बैठकमा सिन्धुपाल्चोक जिल्ला विकास समिति सभापति कृष्णगोपाल तामाङ, मेलम्चीका मेयर डम्बरबहादुर अर्याल, कलाकारहरु जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना सहभागि थिए । थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने भएको छ ।

  • ‘फास्ट एन्ड फ्युरियस-९’ को विश्व प्रिमियर, मास्कबिनै स्टारहरु रेड कार्पेटमा (तस्विरहरु)

    ‘फास्ट एन्ड फ्युरियस-९’ को विश्व प्रिमियर, मास्कबिनै स्टारहरु रेड कार्पेटमा (तस्विरहरु)

    लस-एन्जल्स । कोरोनाभाइरस महामारीको कारण झन्डै एकवर्ष बन्द रहेको हलिउड फिल्म उद्योग लयमा फर्कने तयारीमा छ । खोप अभियान सुरु भएपछि लस-एन्जल्सका फिल्म हलहरु शतप्रतिशत अकुपेन्सीसहित संचालन हुनेतर्फ उन्मुख छन् ।

    शुक्रबार बेलुका बहुप्रतीक्षित हलिउड फिल्म फास्ट एन्ड फ्युरियस ९ (एफ-नाइन)को विश्व प्रिमियर भएको छ । रेडड कार्पेट प्रिमियरमा फिल्मका स्टारहरु मास्कबिनै उपस्थित रहे । भिन डिजेल र उनका को-स्टारहरु प्रिमियरमा आकर्षण बने ।

    एफ–नाइनको प्रिमियर हेर्दा यस्तो लाग्थ्यो, महामारीको कारण हुने भर्चुअल अवार्ड अब विस्तारै भौतिक अवार्डतर्फ केन्द्रित हुँदैछन् । गत महिना चीनमा समेत फास्ट एन्ड फ्युरियस रिलिज भएको थियो र तर, फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन ।महामारीको कारण यो फिल्म नेपाल र भारतमा समेत प्रदर्शन हुन सकेको छैन ।

     

  • राहत लिएर हेलिकप्टरबाट हेलम्बु पुगिन् श्वेता

    राहत लिएर हेलिकप्टरबाट हेलम्बु पुगिन् श्वेता

    काठमाडौं । प्रभावितलाई राहत बाँड्न अभिनेत्री श्वेता खड्का शुक्रबार हेलिकोप्टरबाट हेलम्बु लगायत सिन्धुपाल्चोकका बाढीग्रस्त ठाउँ पुगेकी छिन् ।

    श्वेता र उनको सामाजिक समूह चढेको प्रभु हेलिकोप्टरले खाद्यन्न र लुगाफाटोसहितका सहायता लिएर हेलम्बु, तिम्बु, चनौटे र तारामराङतर्फ गएको थियो । लगिएका खाद्यन्न विपद् प्रभावित बासिन्दालाई बाँडिएको श्वेताले जनाएकी छिन् ।

    मेलम्चीसहित हेलम्बु लगायतका ठाउँमा बाढीपहिरोले पुर्‍याएको क्षतिको समेत श्वेताले हेलिकप्टरबाट अवलोकन गरिन् । उनले आकाशबाटै फेसबुकमा प्रभावित इलाकाको लाइभ गरेकी थिइन् ।

    श्वेताले यसअघि सिन्धुपाल्चोकमै भूकम्प पीडितका लागि घरहरु पनि निर्माण गरेकी थिइन् । बाढीपहिरो गएपछि अहिले सामाजिक संजालमा श्वेताले राहत संकलन अभियान चलाएकी छिन् ।

     

  • ४६ प्रतिशत अमेरिकी अभिनेता रकलाई राष्ट्रपतिको रुपमा हेर्न चाहन्छन्

    ४६ प्रतिशत अमेरिकी अभिनेता रकलाई राष्ट्रपतिको रुपमा हेर्न चाहन्छन्

    लस-एन्जल्स । ४६ प्रतिशत अमेरिकीले आफूलाई राष्ट्रपतिको रुपमा हेर्न चाहेको विवरण सार्वजनिक भएपछि पूर्व रेस्लर समेत रहेका हलिउड अभिनेता डाउने रक जोन्सनले देशका लागि केही निर्णय गर्ने बेला आएको बताएका छन् ।

    हालैको एक अध्ययनमा ४९ वर्षिय अभिनेतालाई आफूहरुले राष्ट्रपतिको रुपमा हेर्न चाहेको बताएका थिए । ‘म हृदयदेखि नै मेरो देशलाई माया गर्छु र यदि यस्तो अवसर पाएँ भने योगदान दिनेछु’ जोन्सनले पिपुल म्यागजिनसँग भने ।

    आफू कहिल्यै राजनीतिज्ञ नबनेको र कहिल्यै राजनीति गर्ने रहर पनि नभएको जोन्सनले बताएका छन् । ‘जब ४६ प्रतिशत अमेरिकीले मलाई राष्ट्रपतिको रुपमा हेर्न चाहेका छन् भने मैले उनीहरुको अपेक्षालाई सम्मान गर्नुपर्छ ।’

  • नेपाललाई हलिउडको सुटिङ गन्तव्य बनाउन पहल गर्छु : राजदूत खतिवडा

    नेपाललाई हलिउडको सुटिङ गन्तव्य बनाउन पहल गर्छु : राजदूत खतिवडा

    लस-एन्जल्स । कोरोनाभाइरस महामारीको कारण नेपाल-अमेरिका फिल्म फेस्टिभल विहिबारदेखि भर्चुअलरुपमा सुरु भएको छ ।

    अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले भर्चुअलरुपमा फेस्टिभललाई शुभारम्भ गरे ।

    नेपाल प्राकृतिक फिल्म स्टुडियो रहेको बताउँदै राजदूत खतिवडाले केही दिनअघि लस-एन्जल्स सहर भ्रमणमा जाँदा आफूले हलिउड फिल्म निर्माताहरुसँग भेट् गरेको स्मरण गरे ।

    ‘मसँगको भेटमा हलिउड फिल्म मेकरहरु नेपालमा छायांकनको लागि आकर्षित भएको पाएँ’ खतिवडाले भने, ‘नेपाललाई हलिउड फिल्मको छायांकन थलो बनाउन मैले पहल गर्नेछु ।’

    आफू अर्थमन्त्री र संचारमन्त्री हुँदा नेपालमा फिल्म स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरेको बताउँदै राजदूत खतिवडाले अहिलेको बजेटमा पनि ती कार्यक्रमलाई समावेश गरिएको बताए ।

    फेस्टिभलले नेपाली, भाषा, संस्कृति र सभ्यतालाई अमेरिकी डायस्पोरामा प्रवद्र्धन गर्न भूमिका खेल्ने आशा पनि राजदूत खतिवडाले व्यक्त गरे ।

    मेरिल्यान्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले अमेरिकामा नेपाली संस्कृति र इतिहास जोगाउन आफू लागिपरेको बताउँदै नेपाली–अमेरिकी कथालाई समेटेर फिल्म बनाउन सुझाए ।

    जुन १७ देखि २० सम्म चल्ने फेस्टिभलमा नेपालीसहित विभिन्न भाषाका ३० फिल्म प्रदर्शन हुने र प्रतिस्पर्धी फिल्ममध्ये उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ ।

    महामारीको समयमा पनि फिल्म संस्कृतिलाई जोगाउन फेस्टिभल महत्वपूर्ण हुने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले जानकारी दिए ।

  • मेलम्चीलाई सघाउन सेलेव्रिटीको ताँती : आँचल र मिलनले बाँडे राहत, श्वेता र पूजा आज जाँदै

    मेलम्चीलाई सघाउन सेलेव्रिटीको ताँती : आँचल र मिलनले बाँडे राहत, श्वेता र पूजा आज जाँदै

    काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । उनीहरु मेलम्ची पुगेर खाद्यान्न, लत्ताकपडा र औषधि वितरण गरिरहेका छन् ।

    कतिपय कलाकार मेलम्ची लगायत मुलुकका अन्य बाढीपहिरो प्रभावित थलो पुगेर सहायता वितरण गर्ने तयारी गरिरहेका छन् ।

    विहिबार फिल्म गोर्खा वारियरका तर्फबाट निर्देशक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री आँचल शर्माका र उनका पति उदिप मेलम्ची पुगेर खाद्यान्न राहत प्रदान गरे ।

    ‘राहत वितरणमा राजनीति भएको र भाडामा बस्नेहरुले राहत नपाएको गुनासो सुनेपछि हामीले नगरपालिकालाई राहत सामग्री बुझायौं’ निर्देशक चाम्सले भने । चाम्सको टोली पहिरो प्रभावित लमजुङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

    टेलिभिजन अभिनेता कुमार कट्टेल जिग्री ब्रोको टोली पनि मेलम्ची पुगेर राहत वितरण गरेको छ । उनीहरुले पीडितलाई चामल, ब्ल्यांकेट लगायतको सहायता प्रदान गरे ।

    अभिनेत्रीद्धय श्वेता खड्का र पूजा शर्माले पनि मेलम्चीको बाढी पीडितलाई राहतको घोषणा गर्दै शुक्रबार त्यसतर्फ जाने बताएका छन् । अन्य कलाकार पनि बाढी प्रभावित थलोलाई सघाउन सक्रिय भएका छन् ।

  • युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

    युवा संघद्वारा छोटो फिल्म प्रतिस्पर्धा आह्वान

    काठमाडौं । निषेधाज्ञामा युवाहरुको प्रतिभालाई सघाउन राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ ।

    संघका अध्यक्ष किरण पौडेलले शुक्रबार वक्तव्य जारी गर्दै ‘म केही गर्छु’ शीर्षकमा छोटो फिल्म प्रतियोगिता आयोजना गरिएको जनाएका छन् ।

    उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन विषयमा केन्द्रित रही ५ मिनेटको फिल्म निर्माण आह्वान गरिएको हो ।

    प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

    लकडाउनले घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग, प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिस्पर्धा आयोजना गरिएको संघले जनाएको छ ।

    इच्छुकले असार २५ गतेसम्म ‘म केही गर्छु’ शीर्षकमा स्क्रिप्ट office.nyfnepal@gmail.com ठेगानामा इमेल पठाउनुपर्ने भएको छ ।

  • महामारीविरुद्ध नेपाललाई सघाउन बेलायती अभिनेताले थाले मौन अभियान

    महामारीविरुद्ध नेपाललाई सघाउन बेलायती अभिनेताले थाले मौन अभियान

    लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम संकलन अभियान थालेका छन् ।

    ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए ।

    बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम संकलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए ।

    फ्यज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन् ।

    उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो सङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताएका छन् ।
    -रासस

  • दुखेको मेलम्चीलाई श्वेताको सहयोगी हात, भोलि सहायता वितरण गर्ने

    दुखेको मेलम्चीलाई श्वेताको सहयोगी हात, भोलि सहायता वितरण गर्ने

    काठमाडौं । नायिका श्वेता खड्का सार्वजनिक जीवनमा पनि उत्तिकै चर्चामा रहने गर्छिन् । प्रेम, विहे र नीजि जीवनले उनी लाइमलाइटमा हुन्छिन् । श्वेता समाजसेवामा पनि सक्रिय छिन् ।

    भूकम्प पीडितको लागि उनले सिन्धुपाल्चोकमा घरहरु पनि निर्माण गरेकी थिइन् । त्यही सिन्धुपाल्चोकको मेलम्चीमा अहिले बाढीले धनजनको क्षति पुर्‍याएको छ । २०० घर उठिवास भएका छन् ।

    यस्तोमा, श्वेताको मन पनि पग्लिएको छ । बाढी पीडितको सहायताका लागि श्वेताले सहयोगी हात अघि बढाएकी छिन् । शुक्रबार बाढी प्रभावित मेलम्ची पुगेर श्वेताले सहायता वितरण गर्ने जनाएकी छिन् ।

    सिरक, कम्बल, डसनासहित खाद्यान्न सहयोग गर्ने श्वेताको तयारी छ । तत्काल राहत र उद्दारको व्यवस्थापनमा आफू अघि सरेको श्वेताले जनाएकी छिन् । श्वेता र हाम्रो टीम नेपाल नामक सामाजिक समूह मिलेर मेलम्चीलाई सघाउन लागेका हुन् ।

  • बौरिँदैछिन् निशा, डाक्टरहरु सुनाउँदैछन् संगीत

    बौरिँदैछिन् निशा, डाक्टरहरु सुनाउँदैछन् संगीत

    काठमाडौं । उपचार अभावमा तीन वर्ष अर्धचेत अवस्थामा कुँजिएर बसेकी मोडल निशा घिमिरेले पुनर्जीवन पाउँदैछिन् । यसै साता नर्भिक अस्पतालले निःशुल्क उपचारको जिम्मा लिएपछि अहिले उनमा नयाँ जीवनको आशा पलाएको छ ।

    निशालाई जेठ २७ गते नर्भिकमा भर्ना गरिएको थियो । एक हप्तामै स्वास्थ्यमा सुधार देखिएको चिकित्सकहरुले बताएका छन् । यद्यपि पुरानै अवस्थामा फर्किन सक्ने सम्भावनाबारे अहिल्यै भन्न नसकिने उनीहरुको भनाइ छ । निशाका बुबा प्रेमप्रसाद घिमिरे छोरीले स्वास्थ्यलाभ गरिरहेकोप्रति खुशी व्यक्त गरे ।

    ‘अहिले हल्का कराउन सक्ने भएकी छे । आफूलाई एक्लै नछोड्न भन्दै प्रतिक्रिया जनाएकी छे,’ हर्षित सुनिएका बुबा प्रेमप्रसादले भने, ‘अहिले रियाक्सन गर्न सक्ने भएकी छे । एक साता नहुँदै सुधार देखिएकोमा म खुशी छु ।’

    तीन वर्षअघि अभिनय पढ्न भारतको देहरादून पुगेकी निशाको सवारी दुर्घटनामा ब्रेन इन्जुरी भएको थियो । त्यो अकल्पनीय घटनाले उनको जीवन तहसनहस मात्र भएन, उपचार अभावले गर्दा परिवारले घरखेत नै बेच्नुपर्‍यो । काठमाडौंको ट्रमा सेन्टरमा तीन महिना राखेर पनि उपचार हुन नसकेपछि निशाको सुन्दर जीवनलाई लिएर परिवारले माया मारिसकेका थिए ।

    तर, नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी मेघा चौधरी निशाको जीवनमा देवदूत बनेर आए । उनीहरुले निःशुल्क उपचारको पहल मात्र गरेनन्, अहिले देखिनेगरी निशाको उपचारमा सघाएका छन् । उनीहरुकै सक्रियतामा अहिले देश तथा विदेशबाट निशालाई आर्थिक सहयोग जुटिरहेको छ । यसअघि केही सामाजिक संस्थाले पनि धेरथोर सहयोग त गरेका थिए तर, यसपटक भने उनको उपचारमा अभियानै चलेको छ ।

    नाम चलेका सेलेब्रिटी र सामाजिक अभियन्ताले गच्छेअनुसार निशाको परिवारलाई आर्थिक सहयोग गरिरहेका छन् । अहिले निशाका बुवा प्रेमप्रसाद, नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल र चलचित्र कलाकार संघका मोहन निरौलाको नाममा कृषि विकास बैंकमा ‘निशा घिमिरे संरक्षण कोष’को खाता खुलेको छ ।

    हालसम्म उक्त खातामा झण्डै दुई लाख रकम संकलन भएको छ । अझै लाखौं सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने धेरैजनाले उक्त खाता सक्कली हो वा नक्कली भन्नेबारे बुझिरहेका छन् । अहिले प्रेमप्रसाद उक्त खाताको वास्तविकता बताउँदैमा व्यस्त छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै बुबा प्रेमप्रसादले अहिले प्राप्त भैरहेको आर्थिक संकलन उपचारपछि निशाको पालनपोषण, हेरचाह र निरन्तर उपचारमा खर्च गरिने बताए । अस्पतालले सबै उपचार निःशुल्क गर्ने जिम्मा लिएपछि परिवार खुशी त छ नै, उनी आबद्ध चलचित्र क्षेत्र र परिवारमा पनि खुशी छाएको छ ।

    भर्ना लिनुअघि नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दैैै आफै हिँड्डुल गर्न सक्ने र खाना खान सक्ने गरी स्वास्थ्य सुधारमा सघाउने जनाएको थियो । पुनः मोडलिङ गर्न सक्नेगरी ठीक हुन नसक्ने भएपनि तंग्रिन सक्नेगरी स्वस्थ बनाउन नर्भिक जुटिरहेको छ ।

    म्युजिक थेरापीबाट उपचार हुँदै

    नर्भिक अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बाँस्तोलका अनुसार अहिले निशाको उपचारमा हरसम्भव सबै उपचारका विधि प्रयोग गरिएको छ । चिकित्सकले सोमबारदेखि म्युजिक थेरापीबाट पनि उपचार गरिरहेका छन् । हिन्दी र नेपाली गीत बजाएर निशाको कानमा इयरफोन लगाएर डाक्टरले केही सुधार हुने आशा गरेका छन् । बाँस्तोलका अनुसार म्युजिक थेरापीबाट उपचार गर्दा निशामा केही उज्यालो प्रतिक्रिया मिलेको ।

    गीत सुन्दा शरिर र अनुहार चलमलाउने गरेको उनको भनाई छ । तत्काल चमत्कारिक रुपमा स्वास्थ्यमा सुधार नहुने भएपनि तत्कालका लागि तंग्राउनको लागि पोषणयुक्त इन्जेक्सन दिइएको छ । न्युट्रिसियन इन्जेक्सन दिँदा शरिरमा तागत सिर्जना हुने जनाइएको छ । ‘पहिले हेरचाह नहुँदा समस्या भएको थियो तर, अहिले उपयुक्त हेरचाहले गर्दा सुधार आइरहेको छ’ बाँस्तोलाले नेपाल प्रेसलाई भने ।

    अस्पतालमा सहयोगदाताको ताँती

    निशालाई अस्पताल भर्ना गरिएपछि पनि अहिले सामाजिक संजालमा उनलाई सघाउन अभियान चलिरहेको छ । टीकटक, फेसबुक र युट्युवमा रकम संकलन भैरहेको छ । निशालाई अस्पतालमा दिनहुँ भेट्न चाहने सेलेव्रिटी, पत्रकार र सामाजिक अभियन्ताको भीड अहिले नर्भिक अस्पतालमा छ । बाँस्तोलाले थामिनसक्नुको भीड भएको र व्यवस्थापन गर्न हम्मे परेको बताए । ‘कोभिडको कारण पनि अहिले कडाइ गर्नुपर्ने भएको छ’ उनले भने, ‘भीड हेर्दा अहिले कलाकारिता क्षेत्र जागेको महसुस हुन्छ ।’

    चलचित्र कलाकारहरु दिनहुँ पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सघाउने वचन गरिरहेको देखिन्छ । विहिबार अस्पताल पुगेकी अभिनेत्री आँचल शर्माले निशालाई भेटेर उनका बुबा प्रेमप्रसादलाई १ लाख रुपैयाँ नगद सहयोग गर्ने बचन दिइन् । निशालाई भेट्दा आफू भावुक भएको र स्वास्थ्यमा सुधार आउँदा आफू हर्षित भएको आँचलले बताइन् ।

    ‘भविष्यमा अरुलाई पनि सहयोग गर्नुपर्ने हुनसक्छ र समस्यामा चलचित्र क्षेत्रका सबैजना एकजुट हुनुपर्छ’ आँचलले भनिन्, ‘उपचार र अन्य कुराको लागि पनि निशालाई सहयोग गर्नुपर्ने देखिएकाले १ लाख दिने निधो गरेकी हुँ ।’

    बुधबार अस्पताल पुगेकी अभिनेत्री करिश्मा मानन्धरले निशाको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरिन् । चलचित्र कलाकार संघको पहलमा ६७ हजार नगद दिइएको छ । अष्ट्रेलियाबाट नायक निशान्त कार्कीको पहलमा उठेको १ लाख १२ हजार रुपैयाँ पनि परिवारलाई दिइएको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ उपलब्ध गराएको छ । व्यक्तिगत र संस्थागत रुपमा पनि अहिले निशालाई सहयोगको ओइरो ओइरो लागेको छ ।

    समयमै सहयोग हुन पाएन

    झन्डै तीनवर्ष जिउँदो लासजस्तै भएर निशाले जीवन बिताउनुपर्‍यो । यो समयसम्म उनको परिवारले छोरीको महंगो उपचारका लागि घरखेत बेचिसकेको थियो । बुवा प्रेमप्रसादले छोरीलाई भैंसेपाटीको एक टिनको झुपडीमा जसोतसो पालेर राखेका थिए ।

    उपचार महंगो भएपछि यो परिवारले सबै सम्पत्ति सिध्याइसकेको छ । गाईको दूध बेचेरै प्रेमप्रसादले हातमुख जोर्न जोहो गरिरहेका थिए । निशालाई ट्रमा सेन्टरमा उपचार हुँदै गर्दा पनि उनको स्वास्थ्य अवस्थालाई लिएर मिडियामा कभरेज भएकै थिए । एकाध मनकारीले सहयोग पनि नगरेका होइनन् तर, अहिलेको जस्तो सहयोगको बाढी त्यतिबेला देखिएन ।

    जुन समय निशालाई सहयोग जरुरी थियो, सो समय उनको परिवारले छोरीलाई कुँजाएर राख्नुपर्‍यो । उपचारका लागि सबै सम्पत्ति सकेपछि बुबा प्रेमप्रसादले छोरीको भविष्य भगवान भरोसमा छाडिदिए र भैंसेपाटीको छाप्रोमा लगेर राखे । तीनवर्ष जिउँदो लासकै अवस्थामा निशा कुँजीएर बस्नुपर्‍यो ।

    ‘त्यतिबेला आर्थिक समस्या भएको हो र हामीले छोरीको उपचारका लागि सबै प्रयास गरेका हौं’ बुबा प्रेमप्रसादले भने, ‘अहिले धेरै क्षेत्रबाट सहयोग मिलिरहेको छ । भगवानकै आशामा हामीले छोरीलाई छाड्यौं । कलियुगमा पनि भेटिनुभयो र त अस्पतालमा छोरीलाई ल्याएका छौं ।’ अहिले प्रेमप्रसाद छोरीको भविष्यलाई लिएर आशावादी छन् ।

    निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म मधेशीपूत्र २ मा मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनले डियर जिन्दगी टेलिश्रृंखला र केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । काठमाडौंको मायानगरीमा हिरोइन बन्ने सपना लिएर हेलिने सयौं युवतीको एक प्रतिनिधि पात्र हुन् निशा, जो सपना सजाउन संघर्षरत छन् ।

  • दीपकले स्वीकारे जितुसँगको मतभिन्नता, होला ‘छक्का पञ्जा’मा पनि सहकार्य ?

    दीपकले स्वीकारे जितुसँगको मतभिन्नता, होला ‘छक्का पञ्जा’मा पनि सहकार्य ?

    काठमाडौं । हाँस्यकलाकारद्धय दीपकराज गिरी र जितु नेपालको सम्बन्ध कतै छिपेको छैन । ब्लकबस्टर सिरिज ‘छक्का पञ्जा’देखि व्यवसायिक एवं सार्वजनिक जीवनका प्लेटफर्ममा यी दुईले सहकार्य पनि गरेका छन् ।

    यसै वर्षको सुरुआतमा छक्का पञ्जाका आगामी सिरिजमा यी दुईजनाले सहकार्य नगर्ने गाइँगुइँ चल्यो । केही मतभिन्नताको कारण यी दुईले अलग व्यवसायिक बाटो आत्मसात गरेको गसिप चलेको थियो ।

    जितुले होस्ट गर्ने मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीलाई हटाएर करिश्मा मानन्धर प्रवेश गरेकी थिइन् । जितुलाई प्रतिशोध लिन दीपक र दीपाले आफ्नो समूहबाटै आउट गरेको चर्चा पनि चलेको थियो । त्यतिबेला सहकार्यमा आएको फाटोबारे यी दुईले मौनता पनि साँधेका थिए ।

    तर, झन्डै एकवर्षपछि दीपकले आफूहरुबीच मतभिन्नता रहेको खुलासा गरेका छन् । मंगलबार जन्मदिन मनाइरहेका जितुलाई सामाजिक संजालमार्फत शुभकामना दिँदै दीपकले आफूहरुबीच मतभिन्नता रहेको जनाएका हुन् ।

    दीपकले फेसबुकमा लेखेका छन् : कहिलेकाहिँ हाम्रा मतभेदका छालहरु एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिल्यै रोकिएन र रोकिँदैन पनि ।

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि भर्चुअल माध्यममा सुरु हुँदै

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भोलिदेखि भर्चुअल माध्यममा सुरु हुँदै

    काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल यसवर्ष भर्चुअल माध्यममार्फत आयोजना हुने भएको छ । बुधबारदेखि सुरु हुने फेस्टिभल चारदिनसम्म संचालन हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि यो फेस्टिभल अमेरिकाको मेरिल्यान्ड राज्यमा आयोजना हुँदै आएको थियो । कोरोनाभाइरस महामारीको कारण यसवर्ष फेस्टिभल भर्चुअलरुपमा सीमित भएको हो । फेस्टिभलमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० फिल्म प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्।

    नेपाली समयानुसार बिहीबार साँझ भर्चुअल रुपमा फेस्टिभलको उद्घाटन भएर आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ।

    प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिनेछ ।

    फिल्म महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट फिल्मको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा छन्। महोत्सवमा आवेदन परेका फिल्मलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

    कोरोनाभाइरस महामारीको कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ । फिल्म यो लिंकमा हेर्न सकिनेछ ।

  • अश्लिल र अपाच्य गीत नगाउन दोहोरी गीत प्रतिष्ठानको अपिल

    अश्लिल र अपाच्य गीत नगाउन दोहोरी गीत प्रतिष्ठानको अपिल

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न अनुरोध गरिएको छ ।

    प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा शब्दका आधारमा पछि निर्माण हुने भिडियोले दर्शकस्रोतामा झनै असर पुर्‍याउने भएकाले अश्लील गीत सिर्जना गर्ने कलाकारलाई नरुचाइने जनाइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष बिजीले तीजका गीतले व्यावसायिक सफलता हासिल गर्नु सुखद् हो भन्दै निरन्तर मौलिक सिर्जना पस्कने कलाकारलाई दर्शकस्रोताले सधैँ माया गरिरहेको बताए । आगामी तीज भदौ २४ गते विहीबार मनाइँदैछ ।

  • करिना कपुरलाई बहिष्कार गरौं भन्दै ट्वीटरमा चल्यो ट्रेन्डिङ

    करिना कपुरलाई बहिष्कार गरौं भन्दै ट्वीटरमा चल्यो ट्रेन्डिङ

    मुम्बई । बलिउडको पछिल्लो मुड बुझ्न ट्वीटर हेरे थाहा लाग्छ । भारतीय फिल्म नगरीमा पछिल्लो समय एजेन्डाहरुको निर्माण ट्वीटरले गरिरहेको छ । कंगना रनावतलाई गत महिना ट्वीटरले सँधैभरिको लागि प्रतिबन्ध लगाइसकेको छ ।

    सोमबार बलिउड अभिनेत्री करिना कपुर खान ट्वीटरमा ट्रेन्डिङ भैरहेकी छिन् । उनलाई बहिष्कार गरौं भन्दै ट्वीटरमा ट्रेन्डिङ चलिरहेको छ । कारण भने अर्कै छ जसलाई लिएर उनी स्वयमलाई पनि थाहा नहुन सक्छ ।

    केही दिनअघि सीता शीर्षकमा फिल्म निर्माण हुने घोषणा भएको थियो र त्यसमा सीताको भूमिका करिनाले चित्रण गर्ने जनाइएको थियो । साथै, करिनाले उक्त भूमिकाका लागि १२ करोड भारु डिमान्ड गरेको खबर पनि थियो ।

    यद्यपी, यो खबरलाई फिल्मका लेखक केभी विजयेन्द्र प्रसादले गलत भएको बताएका छन् । तर, कारण बिनै करिना ट्वीटरमा ट्रेन्डिङ भएकी छिन् । केहीले हिन्दू भावनाको मानमर्दन हुनसक्ने भन्दै आलोचना गरिरहेका छन् ।

    आलोचकले मुस्लिम अभिनेता सैफअली खानसँग विहे गरेर सीताको भूमिका गर्न लागेको भन्दै आलोचना गरेका छन् । कतिपयले उनका छोरा तैमुर र दिवगंत अभिनेता सुशान्तसिंह राजपूतसँग जोडेर पनि करिनालाई ट्रोल गरिरहेका छन् ।

  • पाटन उच्च अदालतले भन्यो : फिल्म समीक्षाले कसैको मानमर्दन गर्दैन

    पाटन उच्च अदालतले भन्यो : फिल्म समीक्षाले कसैको मानमर्दन गर्दैन

    काठमाडौं । फिल्म ‘वीरविक्रम २’ लाई लिएर गरिएको समीक्षा विवादमा अदालतले अन्तिम फैसला सुनाएको छ । पाटन उच्च अदालतले फिल्म समीक्षाले कसैको चरित्र हत्या नहुने आदेश सुनाएको छ ।

    दुई वर्षअघि मिम नेपाल युट्युव च्यानलमा कमेडियन प्रनेश गौतमले फिल्म वीरविक्रम २ लाई व्यंग्यात्मक शैलीमा समीक्षा गरेका थिए । उक्त समीक्षा शैलीप्रति आपत्ति जनाउँदै निर्देशक एवं निर्माता मिलन चाम्सले प्रहरी र अदालतमा उजुरी दिएका थिए ।

    चाम्सकै उजुरीका आधारमा गौतमविरुद्ध विद्युतीय कारोवार ऐनअन्तर्गत मुद्दा चलेको थियो र उनलाई आठदिन सम्म प्रहरी हिरासतमा समेत राखिएको थियो । अदालतले यसअघि साधारण तारखेमा रिहा गर्न आदेश दिएपनि अन्तिम फैसला आउन बाँकी थियो ।

    काठमाडौं जिल्ला अदालतले ०७६ साउन ९ गते नै प्रनेशको पक्षमा फैसला गरेको थियो । यसमा चित्त नबुझेको भन्दै सरकारले फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । यसमाथि पाटन उच्च अदालतले पनि समीक्षाले कसैको मानमर्दन नहुने भन्दै जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।

  • निषेधाज्ञामा लोकदोहोरी कलाकारलाई १२ लाख बराबरको राहत वितरण

    निषेधाज्ञामा लोकदोहोरी कलाकारलाई १२ लाख बराबरको राहत वितरण

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ ।

    आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिए । उनले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताए ।

    प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराएका छन् । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ ।

    अध्यक्ष विजीले कलाकार काठमाडौँमा रहेकाले यहाँबाट अभियान सुरुवात गरे पनि जिल्ला-जिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताए । ‘सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ’, उनले भने, ‘समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।’

    प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिए ।

  • पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

    पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

    काठमाडौं । कोभिड-१९ महामारीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।

    उनले सो गाउँमा विश्व सुन्दरी प्रतियोगिताको बेला ब्युटी विथ पर्पस प्रोजेक्ट पनि संचालन गरेकी थिइन् । यसैसाता हेलम्बु पुगेर अनुष्काले गाउँलेलाई एन्टीजेन परीक्षण, पीपीईसहित २५ सय अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गरिन् ।

    गाउँका जनप्रतिनिधिलाई जरुरी अक्सिजन कन्सनट्रेटर समेत प्रदान गर्ने अनुष्काको योजना छ । यसअघि पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि स्वास्थ्य सहायता प्रदान गरेकी छिन् ।

  • निषेधाज्ञाले छायांकन स्थगित : आठवटा टिभी सिरियल बन्द, थप सिरियल बन्द हुने क्रममा

    निषेधाज्ञाले छायांकन स्थगित : आठवटा टिभी सिरियल बन्द, थप सिरियल बन्द हुने क्रममा

    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको मारमा टिभी सिरियल पनि परेका छन् । नियमितरुपमा प्रसारण हुँदै आएका सिरियल बन्द भएकाले यी लोकप्रिय श्रृंखलाको भविष्य कस्तो हुने भन्नेमा अन्यौल छ ।

    सक्गिोनि नामक हाँस्य टेलिश्रृंखला बन्द भएको एक महिना पुगेको छ । निषेधाज्ञा लागु भएको केही सातासम्म पुरानै भागलाई प्रसारण गरिएपनि अब के गर्ने भन्ने अन्यौल छ ।

    निर्देशक कुमार कट्टेल ‘जिग्री’ले निषेधाज्ञा खुला भएपछि पुनः छायांकन गरेर नयाँ एपिसोड ल्याउने तयारी भएको बताए ।

    विष्णु सापकोटाले निर्देशन तथा अभिनय गर्दै आएको टेलिश्रृंखला हर्के हल्दार पनि अहिले बन्द छ । नयाँ एपिसोड खिच्न नमिल्ने भएपछि बन्द गरिएको सापकोटाले जनाए ।

    सिरियल बन्द गरेर सापकोटा अहिले हेटौंडास्थित घरमा पुगेका छन् । निषेधाज्ञा खुलेपछि छायांकन सुरु गरिने उनले जनाए ।

    निषेधाज्ञाको मारमा भद्रगोल, गोलमाल, अति भो, अड्डा, हाम्री झ्याउँकिरी, कुलबहादुर काका पनि स्थगित भएका छन् । अहिले नियमित प्रसारण भैरहेकोमा मेरी बास्सै, हल्का रमाइलो र जुठे छन् । जुठको पनि स्टक सकिएकाले अब के गर्ने भन्ने पिरलो छ ।

  • अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, उपचारका लागि आर्थिक सहायता पनि जुट्दै

    अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, उपचारका लागि आर्थिक सहायता पनि जुट्दै

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।

    जारी तस्विरमा उनको अनुहार ताजा र चम्किलो देखिएको छ ।

    भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

    उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवनका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उपचार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

    त्यसपछि नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

    यसैबीच, निशाको उपचारका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ । विभिन्न कलाकार र संघसंस्थाले पनि उपचारार्थ सघाउने जनाएका छन् ।

  • दैलो-दैलो पुगेर सहायता बाँड्दै फिल्म ‘गोर्खा वारियर’ (तस्विरहरु)

    दैलो-दैलो पुगेर सहायता बाँड्दै फिल्म ‘गोर्खा वारियर’ (तस्विरहरु)

    काठमाडौं । फिल्म ‘गोर्खा वारियर’ले कोभिड-१९ महामारीबाट प्रभावित नागरिकलाई स्वास्थ्य, खाद्यान्न तथा आर्थिक सहायता प्रदान गरेको छ ।

    निर्देशक एवं निर्माता मिलन चाम्स र अभिनेता रितेश चाम्सले यसैसाता पूर्वी नेपालका ओखलढुंगा, रामेछाप र दोलखा जिल्ला पुगेर प्रभावित बासिन्दालाई सहायता प्रदान गरे ।

    सय परिवारलाई खाद्यान्न, २५ जनालाई आर्थिक सहयोग र अन्यलाई मास्क, एन्टीजेन किट्, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको निर्देशक चाम्सले नेपाल प्रेसलाई जानकारी दिए ।

    सहायता वितरणमा ओएसआर डिजिटल फाउन्डेसन र टिभी रियालिटी कमेडी च्याम्पियनले पनि हातेमालो गरेका थिए । ‘हामी सँधै नागरिकको सहयोगमा उभिन तयार छौं’ चाम्सले भने, ‘नागरिकलाई कोरोनाको रोकथामबारे अझै सचेत तुल्याउनुपर्ने देखियो ।’

    गतसाता चाम्स नेतृत्वको गोर्खा वारियर टीमले काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री समेत वितरण गरेको थियो । चाँडै सिन्धुपाल्चोक, खोटाङ र गोरखाका प्रभावित नागरिकलाई पनि सहायता प्रदान गरिने चाम्सले जनाए ।

    देशभक्ति भावना पेश गर्ने फिल्म गोर्खा वारियर कोरोनाभाइरस महामारी सामान्य भएपछि छायांकनको कार्यमा अघि बढ्ने तयारीमा छ ।

  • मनीषा अभिनित फिल्म ट्राइबेका फेस्टिभलको प्रतीक्षित सूचीमा

    मनीषा अभिनित फिल्म ट्राइबेका फेस्टिभलको प्रतीक्षित सूचीमा

    काठमाडौं । प्रतिष्ठितमध्येको एक ट्राइबेका फिल्म फेस्टिभल बुधबारदेखि न्यूयोर्कमा सुरु भएको छ । जुन २० सम्म हुने उक्त फेस्टिभल भाइरस महामारीसँगै हुन लागेको हो ।

    भेराइटी म्यागजिनले उक्त फेस्टिभलमा प्रदर्शन हुने फिल्मलाई सूचीकृत गर्दै प्रतीक्षित ११ फिल्मको सूची तयार पारेको छ जसमा मनीषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’ पनि समावेश छ ।

    म्यागजिनले उक्त फिल्मलाई प्रतीक्षित सूचीमा राखेको छ । ट्राइबेकमा प्रिमियर हुने सो फिल्मलाई लिएर अभिनेत्री कोइरालाले खुशि व्यक्त गरेकी छिन् ।

    गीता मलिकले निर्देशन गरेको फिल्मलाई ट्राइबेकामा प्रतीक्षित र महत्वपूर्ण मानिएको छ । फिल्मले एक कलेज युवतीको प्रेमकथा पेश गर्छ ।

  • तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को

    तीन वर्षपछि निशाको जीवनमा आशाको झिल्को

    काठमाडौं । तीन वर्षअघिसम्म मोडलिङको चमकदमकपूर्ण संसारमा रमाइरहेकी थिइन् निशा घिमिरे । तर, एउटा अकल्पनीय दुर्घटनाले उनको जीवन तहसनहस बनाइदियो ।

    २०७५ सालमा अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याए ।

    काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखी ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा लगातार थेरापी गरियो थियो ।

    नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी अर्धचेत अवस्थामा घरमै थिइन् । उनको शरीर सुकेर जिर्ण बन्दै गएको छ ।

    उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालका अनुसार पहिले ६० किलोकी निशा अहिले २० किलो मात्र छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँदी निशा यिनै हुन् भनेर धेरैलाई पत्याउनै मुस्किल पर्छ ।

    यो अवधिमा निशाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । बिहीबार बिहान नर्भिक अस्पतालले उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगेको छ । हाल उनको नर्भिकमा उपचार सुरु भएको छ ।

    नवजीवनका सञ्चालक दाहालले निशाको अवस्थाका बारेमा तस्वीरसहित सहयोग अपिल गर्दै पोष्ट गरेका थिए । त्यसमा नर्भिककी प्रवन्ध निर्देशक मेधा चौधरीको आँखा पर्‍यो । उनले चासो राखिन् र उद्दारको पहल गरिन् ।

    ‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेको थिएन,’ दाहालले भने- ‘उहाँका विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउनुभएको हो ।’

    प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

    नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् ।

    ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला,’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि राम्रो हुन्छ ।’

    हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् ।

    हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

    ‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्,’ निशाका बुबाले भने- ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

    उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।

    समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् ।

    निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

    बाँच्लिन् भन्ने आशै थिएन

    प्रेमप्रसाद घिमिरे (निशाका बुबा)

    दुई साल अगाडिको घटना हो । २०७६ सालको पुस १५। १६ गतेको घटना हो । डिप्लोमा पढ्छु भनेर इन्डिया गएकी थिइन् । उसको घटना भैसकेपछि मोबाइल पुलिसले भेटायो । त्यहाँमार्फत हामी पत्ता लगायौं । लगत्तै हामी देहरादुन गयौं । त्यहाँको एक अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । त्यो बेला बाँच्ला भन्ने आशा थिएन । २० दिन त्यहाँ उपचार गरेपछि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याएर भर्ना गरियो । बनेपाको स्पाइनलर इन्जुरी अस्पतालमा पनि लग्यौं । त्यहाँ पनि नभएपछि कोठामा ल्याएर राख्यौं । कोभिडको लहर सुरु भएपछि अहिले घरमा ल्यायौं । गाईको दूध बेचेर कमाएको पैसाले जसोतसो उसलाई खुवाएर राखेका छौं ।

  • गायक दीप श्रेष्ठ डिस्चार्ज, चिकित्सक र नर्सले अस्पतालमा गरे फेयरवेल

    गायक दीप श्रेष्ठ डिस्चार्ज, चिकित्सक र नर्सले अस्पतालमा गरे फेयरवेल

    काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका उनी १६ दिनपछि डिस्चार्ज भएका हुन् । उनलाई अस्पतालका डाक्टर र नर्सले शुभेच्छासहित अस्पतालबाट फेयरवेल गरे ।

    संक्रमण पुष्टि भएको केही दिनपछि अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । दुई साता आइसीयूमा राखेर उनलाई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

    अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको उनले जनाए । डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएको जनाइएको छ । बरिष्ठ गायक श्रेष्ठ गायन रियालिटी सो भ्वाइस अफ नेपालका निर्णायक मध्येका एक हुन् ।

  • विश्वचर्चित २८ जना सेलेव्रिटीद्वारा गरिब मुलुकमा खोप वितरण गर्न जी-सेभेन देशहरुलाई आग्रह

    विश्वचर्चित २८ जना सेलेव्रिटीद्वारा गरिब मुलुकमा खोप वितरण गर्न जी-सेभेन देशहरुलाई आग्रह

    काठमाडौं । राष्ट्रसंघीय नियोग युनिसेफका २८ जना सद्भावना दूतले जतिसक्दो चाँडो गरिब मुलुकहरुलाई कोभिड-१९ विरुद्धको खोप वितरणका लागि आग्रह गरेका छन् ।

    सात धनी राष्ट्रहरुको समूह जी-सेभेनको शिखर सम्मेलन अघि खुला पत्र लेख्दै उनीहरुले सो आग्रह गरेका हुन् । आग्रह गर्ने दूतहरुमा प्रियंका चोपडा जोनस, डेभिड बेकह्याम, केटी पेरी, ओर्लान्डो ब्लुम, विह्पी गोल्डबर्ग, एन्जेलिको किड्जो र लायम नेसन छन् ।

    कोरोनाको नयाँ भेरिएन्टको फैलावट रोक्नको तत्काल गरिब मुलुकहरुलाई २० प्रतिशत खोप वितरण गर्न खुलापत्रमा भनिएको छ । जी-सेभेनको सम्मेलन बेलायतको कर्नवेलमा सुरु हुँदैछ । यसपटक उक्त सम्मेलनमा कोभिड-१९ महामारी मुख्य मुद्दा बन्दैछ ।

    ‘विश्वले डेढवर्षदेखि भाइरससँग लडिरहेको छ । तर, भाइरस अझैपनि फैलिरहेको छ र म्युटेन्ट पनि भैहरेको छ’ पत्रमा भनिएको छ, ‘यसको अर्थ अझै विद्यालय बन्द हुनु, स्वास्थ्य प्रणाली अवरुद्ध हुनु र ठूलो आर्थिक संकट सिर्जना हुनु हो र जतसुकै परिवार र बालबालिकाको भविष्य जोखिममा पर्नु हो ।’

    अहिले जी-सेभेनका नेताहरुलाई विश्वव्यापी खोप वितरणमा सुनिश्चितता प्रदान गर्न राष्ट्रसंघ लगायतका संस्थाले दबाब दिइरहेका छन् । खोप वितरण नगरेको भन्दै यी मुलुकमाथि चर्को आलोचना पनि भैरहेको छ ।

  • धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक

    धरहराको बार्दलीमा पुगेर राजेश हमालले काटे जन्मदिन केक

    काठमाडौं । यसपटकको जन्मदिन अभिनेता राजेश हमालका लागि भिन्न रह्यो । बुधबार हमालले ५७ औं जन्मदिन आफ्नै शैलीमा मनाए ।

    नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै जन्मदिन केक काटे । केही साथीलाई लिएर केक काट्न उनी बार्दलीमा पुगेका थिए । उनले केक काटे र मधुलाई चखाए ।

    बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरे । यसअघिका जन्मदिन उनले पशुपतिको वृद्धाश्रममा पुगेर मनाउने गर्थे ।

  • पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्

    पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्

    काठमाडौं । पूर्वयुवराज पारस र उनका छोरीहरु टीकटकमा चर्चित छन् । प्रत्येक दिनहरु उनीहरुसँग सम्बन्धित भिडियोहरुमा गफका विषय बन्ने गर्छन् ।

    पारसका फ्यानहरुले उनीबारे बनाएका भिडियोहरु प्रशस्तै छन् । टीकटकमा उनकी छोरी पूर्णिका पनि निकै सक्रिय छिन् । विभिन्न गीत र संवादका टुक्कामा पूर्णिकाले आफूलाई सक्रिय देखाउने गरेकी छिन् ।

    यसैसाता टीकटक लाइभमा पूर्णिकाको भिडियो भने निकै चर्चामा रह्यो । किनभने, उनले आफ्ना पिताको योगदानको बारेमा चर्चा गरेकी छिन् । उनले पहिलोपटक सार्वजनिकरुपमा बुवा पारसबारे यस्तो टिप्पणी गरेकी हुन् ।

    ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशका लागि’ उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ उक्त लाइभमा पूर्णिकाले हजुरबा, हजुरआमाबारे पनि बोलेकी छिन् ।

    पूर्णिकाको यस्तो अभिव्यक्तिबारे सामाजिक संजालमा निकै टिप्पणी भैरहेको छ ।

  • स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    स्वास्थ्यमा सुधार आएपछि मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना भएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी डिस्चार्ज भएको छोरा यमनले जानकारी दिए ।

    चिकित्सकले एक महिना आराम गर्न मदनकृष्णलाई सल्लाह दिएका छन् । ‘आराम गर्न सल्लाह दिनुभएको छ र पुनः रेगुलर फलोअपका लागि अस्पताल बोलाउनुभएको छ’ यमनले भने ।

    एन्जियोप्लास्टी विधिमार्फत मदनकृष्णको मुटुमा रक्तप्रवाह सजिलो बनाउन दुईवटा स्ट्यान्ड राखिएको छ । गतवर्ष पनि एन्ज्यिोप्लास्टी गरिएका मदनकृष्णलाई दोस्रोपटक गरिएको हो । सो विधिमार्फत नसामा रगत संचार गर्न सजिलो हुने चिकित्सक बताउँछन् ।

    कोरोनाभाइरस संक्रमणपछि उनी यसअघि दुईपटक ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

  • ५७ लागे राजेश हमाल, यस्तो छ फिल्ममा कमब्याक तयारी

    ५७ लागे राजेश हमाल, यस्तो छ फिल्ममा कमब्याक तयारी

    काठमाडौं । अभिनेता राजेश हमाल बुधबारदेखि ५७ वर्ष लागेका छन् । प्रशंसकले बुधबार विहानैदेखि हमाललाई सामाजिक संजालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

    सन् १९६४ मा आजको दिन पाल्पाको तानसेनमा जन्मिएका हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ थियो । झन्डै तीनसय फिल्ममा अभिनय गरेका हमाललाई उनका प्रशंसक ‘महानायक’ पनि भन्छन् ।

    पछिल्लो समय टेलिभिजन र समाजसेवामा सक्रिय हमाल फिल्म अभिनयमा फर्कने तयारीमा छन् । उनले हालै ‘सत्यम’ फिल्म साइन्ड गरेका छन् र उनीसँग झन्डै १० वटा फिल्म स्क्रिप्ट रहेको बताइन्छ ।

    नयाँ चरित्र र भूमिकासहित आफू अभिनयमा फर्कने तयारीमा रहेको हमाल बताउँछन् । उनी सत्यम लगायतका आफ्ना नयाँ फिल्ममा नितान्त नयाँ भूमिका र चरित्रमा फर्कने तयारीमा छन् ।

    साथै, हमाल कोरोनाभाइरस महामारी सामान्य भए युवाहरुलाई जागरुक तुल्याउन देशव्यापी मोटिभेसनल स्पिकरको रुपमा निस्कने तयारीमा छन् । यसका लागि हमालले व्यक्तिगत तयारी पनि गरिरहेका छन् ।

    फिल्म निर्माण गर्ने भनिएपनि हमालले तत्काल यसबारे आफ्नो कुनै योजना नरहेको बताएका छन् ।

  • स्वास्थ्यमन्त्री तामाङद्वारा जतिसक्दो चाँडो फिल्मकर्मीलाई खोप लगाउने प्रतिबद्धता

    स्वास्थ्यमन्त्री तामाङद्वारा जतिसक्दो चाँडो फिल्मकर्मीलाई खोप लगाउने प्रतिबद्धता

    काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले फिल्मकर्मीलाई जतिसक्दो चाँडो कोभिड-१९ विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएका छन् ।

    बुधबार विहान निवासमा चलचित्र विकास बोर्डका पदाधिकारीको मागपत्र बुझ्दै मन्त्री तामाङले केही सातामै फिल्मकर्मीको लागि खोपको व्यवस्था गर्ने वचन दिएका हुन् ।

    बोर्ड अध्यक्ष दयाराम दाहाल र सदस्य राज कट्वाल ३ हजार जना फिल्मकर्मीलाई कोभिड खोप लगाउनुपर्ने माग गर्दै पत्र बुझाउन मन्त्री निवास पुगेका थिए ।

    कम्तीमा तीनहजार जना फिल्मकर्मीलाई खोप लगाउन सकिए फिल्म गतिविधि सुचारु गर्न सकिने बोर्डको भनाई छ । जवाफमा मन्त्री तामाङले देश विकासमा कलाकर्मीको योगदानको प्रशंसा गर्दै खोपका लागि प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    चिनियाँ खोप भेरोसेलबाटै फिल्मकर्मीलाई खोप लगाउन सकिने संकेत मन्त्रीले उक्त अवसरमा गरेको सदस्य कट्वालले नेपाल प्रेसलाई जानकारी दिए ।

  • मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम

    मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम

    काठमाडौं । नेपालको कोरोना महामारीविरुद्ध विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)ले सहायता उपलब्ध गराएको छ ।

    मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी नेपा नामक सामाजिक संस्थालाई मंगलबार २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिन् ।

    नेपाल भ्रमणमा आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्रदान गरेको २० हजार अमेरिकी डलर मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको समेत जनाइएको छ । अध्यक्ष मोर्लेले उपलब्ध गराएको रकम स्टकमा रहेपछि श्रृंखलाले महामारीविरुद्ध उक्त रकम प्रदान गर्न आग्रह गरेकी थिइन् ।

    ब्युटी अफ पर्पस विधाको लागि मिस वर्ल्डले यसअघि श्रृंखलालाई उक्त रकम प्रदान गरेको थियो ।

  • राजनीतिक दबाबमा हटाइएको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा फर्कियो

    राजनीतिक दबाबमा हटाइएको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ युट्युवमा फर्कियो

    काठमाडौं । पशुपति शर्माले गाएको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ । दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए ।

    यसैसाता उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् । त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए ।

    सो गीतमा वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ ।

    हेर्नूस गीत :