Category: कलाप्रेस

  • दुर्गेश थापाको नयाँ गीत पनि विवादमा, ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानको आपत्ति

    दुर्गेश थापाको नयाँ गीत पनि विवादमा, ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानको आपत्ति

    काठमाडौं । गायक दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ युट्युव रिलिज भएको एकसातामै विवादमा तानिएको छ । आफ्नो अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा दुर्गेशले यो गीत बजारमा ल्याएका थिए ।

    उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।

    पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ ।

    तर, गायक थापाले आफूले गीत नहटाउने र शब्दहरु फेरबदल गर्ने अडान लिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले यसअघिका गीतमा पनि यस्ता शब्दहरु प्रयोग भएकाले ती शब्द नहटाउँदासम्म आफूले पनि नहटाउने अडान उनले लिए ।

    जुलाई २३ मा रिलिज भएको उक्त गीत दुर्गेशकै संगीत, शब्द र आवाजमा रेकर्ड भएको हो । युट्युवमा शुक्रबारसम्म ११ लाखभन्दा बढीले यसलाई हेरेका छन् ।

  • फिल्मलाई चलायमान बनाउन ओटीटीमा रिलिज जरुरी : धुर्मुस-सुन्तली

    फिल्मलाई चलायमान बनाउन ओटीटीमा रिलिज जरुरी : धुर्मुस-सुन्तली

    काठमाडौं । भाइरस महामारीपछि फिल्म हल ठप्प भएकाले अहिले केही निर्माताहरु रिलिजका लागि ओटीटी प्लेटफर्र्मतिर आकर्षित भएका छन् । कतिपयले महामारी साम्य भएपछि रिलिज गर्नेभन्दै पर्खाइमा छन् ।

    यस्तोमा, फिल्म निर्माता दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)को आफ्नै बुझाइ छ । यो जोडीले आफ्नो लगानी रहेको फिल्म ‘म त मर्छु कि क्या हो’लाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका छन् ।

    फिल्म हलहरु बन्द भएको बेलामा ओटीटी प्लेटफर्म महत्वपूर्ण हुने बुझाइ धुर्मुसको छ । ओटीटी प्लेटफर्मकै लागि भनेर फिल्म बनाइएको उनको भनाई छ । यो फिल्मलाई सिरिजको ढंगमा रिलिज गर्ने धुर्मुस–सुन्तलीको तयारी छ ।

    ‘सुरुमा जोखिम मोल्नैपर्छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन ओटीटी प्लेटफर्म आवश्यक पनि हो’ ट्रेलर रिलिज कार्यक्रममा आयोजित समारोहमा धुर्मुसले भने, ‘पब्लिकको माया हामीले कमाउने हो भने यस्तो प्लेटफर्ममा रिलिज गर्नुपर्छ ।’

    कुञ्जनाको तर्क पनि यस्तै छ । जोखिम मोल्ने हो भने, ओटीटी प्लेटफर्मको विकास हुने सुन्तली बताउँछिन् । दम्पत्तिको उतारचढाव समेटिएको म त मर्छु कि क्या होमा धुर्मुस-सुन्तलीकै अवतारमा उनीहरु प्रस्तुत भएका छन् ।

     

  • मिस वर्ल्डमा जानुअघि मिस नेपाल नम्रता श्रेष्ठको यस्तो बर्थडे (तस्विरहरु)

    मिस वर्ल्डमा जानुअघि मिस नेपाल नम्रता श्रेष्ठको यस्तो बर्थडे (तस्विरहरु)

    काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डको आगामी संस्करणमा भाग लिने तयारीमा छिन् । यसका लागि उनको तयारी तीव्ररुपमा अघि बढिरहेको छ ।

    व्यूटी अफ पर्पस र मल्टिमिडिया विधामा जित हासिल गर्न उनी जोडतोडले लागिरहेकी छिन् । यसका लागि उनले सामाजिक संजालमार्फत भोट मागिरहेकी छिन् भने, धादिङमा उनकै सक्रियतामा एक झोलुंगे पुल निर्माण भैरहेको छ ।

    यसैसाता नम्रताले निकटका साथीसँग जन्मदिन सेलिव्रेट गरिन् । राजधानीको माया म्यानर बुटिक होटलमा उनले आफू निकटकालाई निम्तो गरेर उनले बर्थडे गेट–टुगेदर आयोजना गरिन् ।

    मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सन्ध्या शर्माले पनि नम्रतालाई जन्मदिन मनाउन सघाए । जेहोस्, उनीहरुले आगामी विश्व प्रतिस्पर्धा अघि रमाइलो ढंगले जन्मदिन मनाए ।

  • कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन अर्थमन्त्रीलाई ज्ञापन

    कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन अर्थमन्त्रीलाई ज्ञापन

    काठमाडौं । कोभिड-१९ अति प्रभावित फिल्म क्षेत्रलाई मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न आग्रह गर्दै चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन बुझाएको छ ।

    फिल्म उद्योगलाई बचाइराख्न तीनवर्ष पछाडिबाट सावाँ ब्याज बुझाउन सुरु गर्ने गरी १० वर्षका लागि सुलभ, सहुलियत, ३ प्रतिशत सम्ममा कर्जा व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

    लकडाउन अवधिभर व्याजमा छूट दिन समेत गरिएको छ । फिल्म निर्माणमा बैंकिङ कर्जाको व्यवस्था, ५०० डलरसम्म डेविड भिसा कार्डको व्यवस्था गर्न माग गरिएको छ ।

    यस्तै, आर्थिक वर्ष ०७८–०७९ को बजेटमा परेकाको कार्यान्वयन र छुटेकालाई पुनर्विचार गर्न समेत आग्रह गरिएको छ । महामारीपछि फिल्म छायांकन र प्रदर्शनमा फर्कन सहजीकरण गर्नेबारे पनि छलफल भएको छ ।

    भन्सार छूट, विद्युत डिमान्ड चार्ज छूट हुनुपर्ने, विदेशमा फिल्म फेस्टिभल आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्ने, उपत्यकाभित्र सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्नुपर्ने लगायतका माग छन् ।

    प्रस्तुत मागमा अर्थमन्त्री शर्मा सकारात्मक रहेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

  • गर्भवती भएको हल्ला फैलिएपछि आँचललाई ‘बधाई’को हैरानी !

    गर्भवती भएको हल्ला फैलिएपछि आँचललाई ‘बधाई’को हैरानी !

    काठमाडौ । अभिनेत्री आँचल शर्मा र उनका पति उदिप अहिले यतिबेला भिन्न तनावमा छन् । आँचल गर्भवती बनेको खबर फैलिएपछि यो दम्पत्तिलाई बधाईको ओइरो लागेको छ । हुँदै नभएको कुरामा बधाई खानुपरेपछि उनीहरुलाई अहिले हैरानी भएको छ ।

    बुधबार कमेडी च्याम्पियनमा पाहुना बनेर गएका आँचल र उदिपले यो हैरानी मिडियासामु सार्वजनिक गरे । यति सम्मकी मिडियामा आँचल र उदिपले सन्तानलाई जन्म दिन लागेको खबर फैलिएपछि यो हल्लाको शिकार आँचलका ससुरा समेत भएका रहेछन् ।

    ‘मलाई केही पनि थाहा थिएन । एकदिन मलाई उदिपजीको बुवाको फोन आयो । उहाँले बधाई भन्नुभयो । मलाई सुरुमा लाग्योे एनिभर्सरीको बधाई होला भन्ने । तर, कुरा गर्दै जाँदा बुवाले अर्कै कुरामा बधाई भन्नुभएको रैछ’ आँचलले भनिन्, ‘सुरुमा मख्ख भएर फोन गर्नु भएपनि उहाँ पछि निराश हुनुभयो ।’

    आफ्ना आफन्त र साथीभाई पनि यो कुराले निराश भएको दुःखेसो आँचल दम्पत्तिले पोखे । ‘भयो भने हामी हामी आफै भन्छौं’ उदिप र आँचलले एक स्वरमा मिडियासँग भने । अनि मम्मी चाहिँ कहिले बन्ने त ? आँचलको जवाफ छ, ‘आमा बन्नैपर्छ एकदिन । मलाई पनि मन छ महिला भएको हिसाबले । राइट टाइममा भै नै हाल्छ ।’ करियर र परिवारलाई ब्यालेन्स मिलाएर अघि बढ्ने आँचलले जवाफ दिइन् ।

  • धुर्मुस-सुन्तली स्टारर फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज

    धुर्मुस-सुन्तली स्टारर फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज

    काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ ।

    धुर्मुस-सुन्तलीकै गेटअपमा उनीहरु यसमा चित्रित भएका छन् । लेखन तथा निर्देशन उनीहरुकै रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोलको अभिनय छ ।

    ‘ओ हो मूभि’ नामक ओटीट प्लेटफर्ममा भदौ ११ गते फिल्म रिलिज हुने भएको छ । वैवाहिक जीवनको उतारचढावलाई फिल्ममा चित्रण गरिएको छ । यसबाट संकलित रकमलाई भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने भएको छ ।

    हेर्नूस् ट्रेलर :

  • नेपाललाई खोप दिन बेलायतलाई कमेडियन माइकल पालिनको आग्रह

    नेपाललाई खोप दिन बेलायतलाई कमेडियन माइकल पालिनको आग्रह

    लन्डन । विश्व प्रख्यात हाँस्यकलाकार माइकल पालिनले नेपाललाई जतिसक्दो चाँडो कोभिड-१९ विरुद्धको खोप वितरणका लागि बेलायतलाई आग्रह गरेका छन् ।

    अभिनेता पालिन र एमनेस्टी इन्टरनेसनलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो डोज अस्ट्राजेनेका खोप लगाएका १४ लाख नेपाली नागरिकलाई दोस्रो डोज आवश्यक भएकाले उपलब्ध गराउन आग्रह गरेका छन् ।

    ‘नेपाल भ्रमणका क्रममा धेरै मान्छे भेटेपछि मैले लाखौं मानिसहरु महामारीको जोखिममा रहेको देखेँ’ उनले भनेका छन्, ‘म बेलायत सरकारलाई जतिसक्दो चाँडो कोभिडको खोप उपलब्ध गराउन आग्रह गर्न चाहन्छु ।’

    एमनेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डले बेलायतले ५० प्रतिशतलाई खोप लगाइसकेको र नेपालले ५ प्रतिशतलाई पनि खोप लगाउन नसकेको अवस्थामा नेपाललाई तत्काल खोप आपूर्ति गर्न माग गरेका छन् ।

    बेलायती अभिनेता जोआना लुम्लेले पनि नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायत सरकारलाई आग्रह गरेकी थिइन् ।

  • सरकारले १० फिल्म निर्माणमा सह-लगानी गर्ने, स्टोरी बैंकका लागि फिल्म आह्वान

    सरकारले १० फिल्म निर्माणमा सह-लगानी गर्ने, स्टोरी बैंकका लागि फिल्म आह्वान

    काठमाडौं । सरकारले यस आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह-लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै चलचित्र विकास बोर्डले गतवर्ष स्टोरी बैंक स्थापना गरेको थियो ।

    चलचित्र विकास बोर्डले मंगलबार सूचना जारी गर्दै पाँच फिचर र पाँच छोटो फिल्ममा सह-लगानी गर्ने जनाएको छ । यसअघि तीन फिचर र तीन छोटो फिल्ममा सह-लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्यामा वृद्धि गरेको हो ।

    ‘कार्यविधि संशोधन गरेर फिल्मको संख्यामा वृद्धि गरेका छौं’ बोर्ड अध्यक्ष दयाराम दाहालले नेपाल प्रेसलाई भने, ‘कति लगानी गर्ने र कस्तो सहयोग गर्ने भन्ने विस्तृत जानकारी चाँडै सार्वजनिक गर्नेछौं ।’

    अध्यक्ष दाहालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत ३ छोटो र तीन फिचर फिल्म छनौट भएका छन् । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्नेछ । स्टोरी बैंकमा प्राप्त ती ६ वटा फिल्म सिफारिस भएको हो ।

    यस्तो छ स्टोरी बैंकको नयाँ सूचना :

  • स्वरुपराजको ‘माया गर्ने मान्छे’मा सुरक्षाको एकोहोरो प्रेम (भिडिओ)

    स्वरुपराजको ‘माया गर्ने मान्छे’मा सुरक्षाको एकोहोरो प्रेम (भिडिओ)

    काठमाडौं । कोरोना महामारीले सबैभन्दा धेरै मनोरंजन क्षेत्र प्रभावित बन्न पुग्यो। निषेधाज्ञा खुकुलो भए संगै सांगीतिक क्षेत्रमा भने अलिक चहलपहल सुरु हुन थालेको छ। गायकगायिकाले सांगीतिक कोसेली सार्वजनिक गर्न थालेका छन् ।

    यसैक्रममा गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल सन्देशको शब्द रचना छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको छ।

    दिपेश सापकोटाको निर्देशन रहेको भिडिओलाई बिशालले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन्। भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। यसअघि पनि थुप्रै गीतमा स्वर दिइसकेकी अस्मिताले पार्श्वगायन गरेकी छिन् । समेत गरि सकेकी छिन्।

    हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=Jb7eQtON9bw

  • पोर्न फिल्म प्रकरण : राज कुन्द्रा थप १४ दिन न्यायिक हिरासतमा, बैंक खाता पनि रोक्का

    पोर्न फिल्म प्रकरण : राज कुन्द्रा थप १४ दिन न्यायिक हिरासतमा, बैंक खाता पनि रोक्का

    मुम्बई । पोर्न फिल्म प्रकरणमा राज कुन्द्रालाई थप १४ दिन न्यायिक हिरासतमा पठाउन अदालतले आज आदेश दिएको छ ।

    घटनाबारे थप अनुसन्धान गर्ने भएपछि हिरासतमा राख्न अदालतले यस्तो आदेश दिएको हो । प्रहरीले कुन्द्राको दुईवटा बैंक खाता पनि रोक्का गरिदिएको छ ।

    कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई प्रहरीले पुनः सोधपुछ गर्ने सम्भावना कम रहेको क्राइम ब्रान्चले जनाएको छ । गतसाताको सोधपुछमा शिल्पा प्रहरीकै सामु रोएको प्रहरीले जनाएको छ ।

    कुन्द्राको घटनामा शिल्पाको कुनै संलग्नता नदेखिएको प्रहरीको ठम्याइ छ । शिल्पाले यसैसाता कुन्द्राको कम्पनीबाट राजीनामा पनि दिएकी छिन् ।

  • विश्वभर कलाकारिता पेशा असुरक्षित बन्यो, राजनीतिमा आउने सोच छैन : राजेश हमाल

    विश्वभर कलाकारिता पेशा असुरक्षित बन्यो, राजनीतिमा आउने सोच छैन : राजेश हमाल

    काठमाडौं । अभिनेता राजेश हमालले कलाकारिता असुरक्षित पेशा भएको बताएका छन् । हालैको एक टेलिभिजन अन्तर्वार्तामा उनले नेपालमात्र नभएर विश्वभर नै कालकारिता असुरक्षित पेशा भएको बताए ।

    करियर बन्ने, लामो समयसम्म जीविकोपार्जन गर्न सक्ने कुनै सुनिश्चितता नभएको बताउँदै उनले पहिलो फिल्म हिट भएपनि दोस्रो दर्शकले रुचाइने कुरामा पनि सुनिश्चितता नहुने बताए ।

    ‘नेपालमा मात्र नभएर विश्वभर नै कलाकारिता पेशा असुरक्षित छ’ उनी भन्छन्, ‘कलाकारितामा लागेर सफलता हासिल हुन्छ र जीविकोपार्जन लामो समय गर्न सकिन्छ भन्ने कुरामा टुंगो छैन ।’

    आफ्नो करियरमा पनि धेरैपटक यस्तै महसुस गरेको हमालले जनाएका छन् । ‘धेरै कलाकार भव्यताका साथ आउने । पहिलो फिल्म दर्शकले पनि रुचाउने, त्यसपछि दोस्रो फिल्म पनि कम रुचाउने, तेस्रो फिल्म नरुचाउने हुँदै हराएका छन्’ उनले भने ।

    हमालले राजनीतिमा आउने सोच नरहेको पनि बताए ।

  • हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

    हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

    काठमाडौं । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

    भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए ।

    सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

  • दीपिका र दीवाकरले शुभारम्भ गरे बुटिक

    दीपिका र दीवाकरले शुभारम्भ गरे बुटिक

    काठमाडौं । नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा संचालनमा आएको ‘श्री कलेक्शन प्रिमियम बुटिक’को दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् ।

    बुटिकको उद्घाटन गर्दै दीपिकाले भनिन्- ‘आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक संचालनमा आएकोमा निकै खुशी लागेको छ । बुटिकले सफलता पाउनेछ भन्नेमा विश्वस्त छु ।’ कविता शिवाकोटीले यो बुटिक संचालनमा ल्याएकी हुन् । सिवाकोटीले ७० लाखको लगानीमा बुटिक संचालनमा ल्याएको जानकारी दिइन् ।

    दीपिकाले पछिल्लो समय कलाकारहरु मात्र नभएर आम मानिसहरु पनि बुटिकका पहिरनमा आकर्षित भएको भन्दै धनगढीकै भव्य बुटिकको रुपमा संचालनमा आएको श्री कलेक्शनले आम मानिसको चाहना पुरा गर्ने आशा व्यक्त गरिन् ।

    दीपिका र दिवाकरले गत महीना ललितपुरमा एक सहकारी व्यवसाय संचालनमा ल्याएका थिए । यो दम्पत्ति पछिल्लो समय फिल्म निर्माणसँगै अन्य पेशा व्यवसायमा पनि सक्रिय हुन थालेको छ ।

  • ‘उदाउँदो मणी’ भन्दै भरतमणीका लागि योगेश भट्टराईले भोट मागे

    ‘उदाउँदो मणी’ भन्दै भरतमणीका लागि योगेश भट्टराईले भोट मागे

    काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजन अहिले उत्कर्षमा पुग्न लागेको छ । उपाधिका लागि अब अन्तिम ५ प्रतिस्पिर्धीहरु भिडन्तमा छन् ।

    उपाधि दौड नजिकिएसँगै दर्शकको कौतुहल र प्रतिस्पर्धीहरुको मुटुको धड्कन बढ्दो छ । प्रतिस्पर्धीहरुले आफूलाई भोट गरेर जिताउन सामाजिक सञ्जालमार्फत अपिल गरिरहेका छन् । यसै सिलसिलामा केही हाइ प्रोफाइल व्यक्तिहरुले पनि आ-आफ्ना प्रिय प्रतियोगीका पक्षमा लविङ गर्न थालेका छन् ।

    केही दिनअघि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आफ्नै क्षेत्रका प्रतिस्पर्धी विक्की अग्रवाललाई भोटिङका लागि पाँच लाख भारु सहयोग गरेका थिए । विक्कीलाई भोट गरेर जिताउन उनले आफ्नो समुदायमा आह्वान पनि गरेका छन् ।

    यसैबीच दोस्रो सिजनका चर्चित प्रतिस्पर्धी भरतमणी पौडेलका लागि एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा भोट मागेका छन् । भरतमणीलाई ‘हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि’ संज्ञा दिँदै उनले भोट मागेका हुन् ।

    योगेशले लेखेका छन्, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन्, त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन् । त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ ।’

    यद्यपि यो आफ्नो व्यक्तिगत अनुभूति मात्रै भएको योगेशले बताएका छन् । उनले सबै प्रतियोगीलाई शुभकामना दिएका छन् । भरतमणीका लागि योगेशले यसअघि नै १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरिसकेका छन् ।

    उनीसहित ताप्लेजुङका विभिन्न निकायबाट ६ लाख रुपैयाँ दिने घोषणा भएको छ । यो रकम कमेडी च्याम्पियन सकिएपछि प्रदान गरिनेछ ।

  • अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने, विदेशी बजारको पनि छैन टुंगो

    अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने, विदेशी बजारको पनि छैन टुंगो

    काठमाडौँ । कोरोनाभाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ ।

    सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्र कोरोनाभाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो । नेपाल चलचित्र सङ्घका अनुसार कूल निर्माण भएको चलचित्रमा चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको हो ।

    पहिलो- चलचित्र क्षेत्र पुरानै लयमा फर्किन्छ कि फर्किँदैन ? दोस्रो- सङ्कटमा रहेको चलचित्र क्षेत्र झन सङ्कटको चपेटा पर्‍यो । तेस्रो- अबका दिनमा चलचित्र क्षेत्रको व्यावसायिक अवस्था डामाडोल हुनेछ । हाल चलचित्र क्षेत्रमा भइरहेका तीन भविष्यवाणी यीनै हुन् । यीमध्ये बलियो प्रभावचाहिँ दोस्रोलाई मान्न सकिन्छ । किनभने सङ्कटबाट माथि उठ्दै आएको चलचित्र क्षेत्र पुनः सङ्कटको अवस्थामा पुगेको छ । यसलाई फेरि पुनःसञ्चालन गर्न चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको भूमिका मुख्य हुने चलचित्रकर्मीको भनाइ छ ।

    कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै । अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन । कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ ले प्रदर्शन स्थगन गरेको थियो । यससँगै ‘बद्रीबहादुर’, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत-३’, ‘चपली हाइट-३’, ‘लप्पन छप्पन-२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन् । कोरोनाका कारण यी चलचित्रको रिलिज अन्योल बनेको छ ।

    नेपाल चलचित्र सङ्घका अनुसार रु तीन करोड लगानी फसाएर बसिरहेको ‘प्रेमगीत ३’ जस्ता ठूला चलचित्रको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ । “सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो”, चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले भने ।

    सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन् । तेत्तीस प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन । “त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन”, उनले भने ।

    नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ । नेपाली चलचित्रका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा । कोभिडको दोस्रो र तेस्रो लहर पुनः शुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ ।

    विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन् । त्यहाँ फेरि नेपाली चलचित्र प्रदर्शन हुनु र नेपाली दर्शकले साथ दिनु भनेको केही वर्षका लागि दिवास्वप्न जस्तै भएको छ ।

    विश्व बक्सअफिस शून्यमा खसेको उदाहरण हुन् भारत र अमेरिका । हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ । हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन् । चीनका कूल ४० हजार हलमध्ये ४० प्रतिशत सँधैका लागि बन्द हुने बीबीसीले उल्लेख गरेको छ ।

    कोरोना अघिसम्म नेपालमा पनि देशभरका २०४ पर्दा भएको हलहरुमध्ये १३ वटा कोरोना भाइरस जाखिमकै बीचमा सदाका लागि बन्द भएको चलचित्र सङ्घले जनाएको छ । देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । नेपालमा कूल बन्द हुने हलको सङ्ख्या ७५ पुगेको छ । देशभर १५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।

    राजधानीमा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएको छ । जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर सपिङ मल निर्माण भइरहेको छ । ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ । दरबारमार्गको जय नेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ ।

    राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन् । कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएको छ । कतिपय हल गोदाममा परिणत भएको छ । यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ । समस्यामा रहेको चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ । अन्यथा चलचित्र क्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ । यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ ।

    चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै रु दुई अर्ब बराबरको क्षति बेहोर्नुपरेको बताउँदै आएका छन् तर यसको निश्चित तथ्याङ्क भने छैन । वर्षमा १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा अनुमानित क्षति चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाबाट निकालिएको छ ।

    अहिले चलचित्र क्षेत्रमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । नेपाली चलचित्रका प्राविधिक कामविहीन हुनुपरेको छ । कलाकार घरमै आराम गरिरहेका छन् । कतिपयमा मानसिक तनाव उत्पन्न भएको छ । हलवाला र निर्माता ब्याजको मारमा परेका छन् । जबसम्म हल खुल्न सक्दैन तबसम्म चलचित्र क्षेत्रका कुनै पनि कार्य अघि बढ्न सक्दैन । दुई दर्जन चलचित्र प्रदर्शनको तयारीमा प्रतीक्षारत छन् ।

    प्रदर्शन शुरु नभएसम्म अरु गतिविधि अघि बढ्न नसकेका कारण चलचित्र क्षेत्र कहिले सक्रिय हुन्छ भन्ने कुनै टुङ्गो लागेको छैन । नेपाल चलचित्र सङ्घका अनुसार अझै १८ महिनासम्म चलचित्र क्षेत्रमा प्रभाव परिरहने निश्चित छ । अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन् । दर्शक नै नआई हल खुल्न सक्दैन । कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ । सामान्य भएकै अवस्थामा खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ । यसकारण पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीको धारणा रहेको छ ।

    यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले पनि अरु क्षेत्र खुले पनि चलचित्र क्षेत्र खुलिहाल्न कठिन रहेको बताए । उनका अनुसार सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने छ । “यसो गर्दा तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने भने होइन । केही रूपमा कामको शुरुआत गर्न सकिन्छ भन्ने हो । यसले सबैलाई आत्मबल प्रदान गर्छ । यसरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेको तुलनामा फर्कन सक्छ भन्ने हो”, अधिकारीले भने ।

    यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ । स्वास्थ्य मन्न्त्रालयसँग तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । “एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो । स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो । त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि शुरु हुन्थ्यो । यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो”, उनले भने ।

    चलचित्र निर्माण नहुँदा निर्माणमा सहभागी सबै चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव त पर्ने नै भयो । योसँगै वितरण र प्रदर्शन पनि हुन सक्दैन । चलचित्र निर्माणका लागि प्रदर्शन अपरिहार्य छ । जबसम्म चलचित्र प्रदर्शन हुन सक्दैन तबसम्म निर्माण हुन सक्दैन । चलचित्र निर्माण र प्रदर्शन हुन नसक्दा चलचित्र क्षेत्र शून्य अवस्थामा रहन्छ । अहिलेको अवस्था यही नै हो ।

    चलचित्र क्षेत्र कहिले खुल्छ र कसरी खुल्छ भने विषयमा चलचित्रकर्मीमा नै अन्योल छ । चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थासँग पनि भावी रणनीति छैन । न त चलचित्र विकास बोर्डले नै यसबारे प्रष्ट पार्न सकेको छ । यस्तो अवस्थामा चलचित्र क्षेत्र पुरानै लयमा फर्कन समय त लाग्ने नै छ तर अबका दिनमा चलचित्र क्षेत्रले विश्वास कायम गर्न सक्छ कि सक्दैन, दर्शकलाई रिझाउन सक्छ कि सक्दैन भन्ने पनि मुख्य विषय बनेको छ । रासस

  • पल र मलिका फिचर्ड नयाँ गीत ‘तिम्रो मनमा ए कान्छा’ इन्टरनेट रिलिज (भिडिओ)

    पल र मलिका फिचर्ड नयाँ गीत ‘तिम्रो मनमा ए कान्छा’ इन्टरनेट रिलिज (भिडिओ)

    ठमाडौं । पल शाह र मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।

    केन्द्र मोसन पिक्चर्सले गुरुपूर्णिमाको अवसरमा आधिकारिक युट्युव च्यानलबाट गीत प्रिमियर गरेको हो । सो अवसरमा बोल्दै अभिनेता शाहले यो गीत आफ्ना सबै गुरुहरुप्रति समर्पित भएको बताए ।

    पछिल्लो समय निकै रुचाइएको पल र मलिकाको जोडी यो डान्सिङ नम्बरमा पनि आकर्षक देखिएको छ । निकिता थापाको स्वर र निमा राईको संगीत रहेको गीतलाई सान थापाले निर्देशन गरेका हुन् ।

    पल र मलिकाले यसअघि केन्द्र मोसन पिक्चर्सकै दुई हिट म्युजिक भिडिओ तिमी टाढा भएपनि र फुलबुट्टे सारीमा अभिनय गरेका छन् । यी दुईजनाले उक्त कम्पनीसँग ६ महीनाका लागि अनुबन्धित भएको कुरा पनि प्रकाशमा आएको थियो ।

    हेर्नूस गीत :

  • बुहारीको बचाउमा उत्रिइन् प्रियंकाकी सासु रविना, भन्छिन् : बडी र बिकिनी मात्र देख्नुहुन्छ भने तपाईं खराब हुनुहुन्छ !

    बुहारीको बचाउमा उत्रिइन् प्रियंकाकी सासु रविना, भन्छिन् : बडी र बिकिनी मात्र देख्नुहुन्छ भने तपाईं खराब हुनुहुन्छ !

    काठमाडौं । यतिबेला नायिका प्रियंका कार्कीको गर्भावस्थाका तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा छ । उनको पक्ष र विपक्षमा टाइमलाइन विभाजित छ ।

    कतिपयले उनको समर्थनमा स्टेटस लेख्दै महिला सशक्तीकरणको कुरा उठाएका छन् । कतिपयले उनका तस्विरहरु सामाजिकरुपमा अनुपयुक्त भन्दै विरोधका स्वरहरु प्रस्तुत गरिरहेका छन् ।

    प्रियंका सम्बन्धित फिल्म क्षेत्र भने यसबारे मौनप्रायः छ । कसैले पनि यसबारे टिप्पणी गरिरहेका छैनन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका हाइप्रोफाइल सामाजिक संजालका प्रयोगकर्ता प्रियंकाको बचाउमा उत्रिएका छन् ।

    तर, प्रियंकाको परिवार भने यो विवादमा बुहारीको समर्थनमा उत्रिएको छ । बैंकरसमेत रहेकी प्रियंकाकी सासु रविना देशराज श्रेष्ठले बुहारीको निकै प्रशंसा गरेकी छिन् ।

    उनी इन्स्टाग्राममा लेख्छिन्, ‘तपाईंले एउटी गर्भवती महिलामा बडी र बिकिनीमात्र देख्नुभयो भने मान्नूस तपाईं खराब हुनुहुन्छ । मेरी प्रिय पिंकु यस्तो फोटोमा अतिरिक्त सुन्दरी देखिएकी छिन् । उनी बिकिनी लगाउन मन पराउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन् । म चाँडै दहीच्यूरा खुवाउन आतुर छु ।’

  • यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । गायक यशकुमार र मिलन अमात्यको स्वरमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ यो साता युट्युवमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।

    यो साता उक्त गीतलाई २६ लाख १५ हजार २५१ पटक हेरिएको छ भने कूल भ्यूज अहिलेसम्म २८ लाख २ हजार ९२ छ ।

    दुर्गा खरेलको स्वरमा रहेको ‘धर्ती आकाश’ बोलको गीत दोस्रो शीर्ष स्थानमा छ । उक्त गीतलाई यो साता २३ लाख ३२ हजार ९५८ पटक हेरिएको छ ।

    प्रीति आलेको स्वरमा रहेको गीत ‘सोल्टी राजाको टुम्लेट’ यो साता सूचीको तेस्रो स्थानमा छ । यो गीतलाई यस साता १८ लाख ९६ हजार ८४३ पटक हेरिएको छ ।

    रुटिन अफ नेपाल बन्दले तयार पारेको पछिल्लो सूचीमा यो साता नयाँ गीतहरु समावेश भएका छन् ।

    हेर्नूस साताको भ्यूज सूची :

    १. ‘तिम्रो मन बदलिएछ’ (यशकुमार र मिलन अमात्य) : २६ लाख १५ हजार २५१

    २. ‘धर्ती आकाश’ (दुर्गा खरेल) : २३ लाख ३२ हजार ९५८

    ३. ‘सोल्टी राजाको टुम्लेट’ (प्रीति आले) : १८ लाख ९६ हजार ८४३

    ४. ‘कुरा काटन’ (खुमन अधिकारी) : १३ लाख ३२ हजार १८७

    ५. ‘माया बिरानी –२’ (महेश काफ्ले) : १२ लाख ८४ हजार ३५

    ६. ‘सानी माया’ (बसन्त थापा) : १२ लाख ५० हजार ८३

    ७. ‘मेरो माया बसेको गाउँमा’ (पशुपति शर्मा) : १० लाख ६७ हजार ५६

    ८. ‘बुहारी ४’ (टीका सानु) : ९ लाख ४५ हजार ५७५

    ९. ‘बीच बीच्चमा ३’ (दुर्गेश थापा) : ७ लाख ५३ हजार ७११

    १०. ‘थोपडाले धोका दियो’ (भागिरथ चलौने – सुनिता बुढा) : ७ लाख ४३ हजार ५२२

     

  • नगरकोटमा दयाहाङको गुरुपूर्णिमा : दशैंपछि नाटक घर खुलाउने बारे थाले छलफल

    नगरकोटमा दयाहाङको गुरुपूर्णिमा : दशैंपछि नाटक घर खुलाउने बारे थाले छलफल

    काठमाडौं । सेलेव्रिटीले शनिबार आफ्नै ढंगले गुरुपूर्णिमा मनाएका छन् । कतिपयले सामाजिक संजालमा गुरुको फोटो पोस्ट गरेर मनाए भने कतिपयले भेला भएर ।

    दयाहाङ राईसहितका मण्डला नाटक घरको समूहले भने नगरकोटमा भेला भएर गुरुपूर्णिमा मनाएको छ । दयाहाङसहित, बुद्धि गुरुङ, विजय बराल, नाजिर हुसेनसहितका कलाकार भेला भएर गुरुपूर्णिमा मनाए ।

    नेपाल प्रेससँग कुरा गर्दै अभिनेता बरालले मण्डला नाटक घरको बैठक पनि बस्ने, गुरु पूर्णिमा पनि मनाउने र रिफ्रेस पनि हुने उद्देश्यले नगरकोटमा भेला भएको बताए ।

    ‘हामी भेला नभएको धेरै समय भयो । अब मण्डला नाटक घरलाई कसरी संचालन गर्ने भन्नेबारे छलफल गर्छौं’ बरालले भने, ‘अब दशैंपछि संचालन गर्ने तरिकाले छलफल गर्छौं ।’

    गुरुको रुपमा दयाहाङ राईलाई गुरुपूर्णिमाको शुभकामना दिएको उनले बताए । कोरोना महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको कारण अहिले नाटक र सिनेमा घरहरु बन्द छन् ।

  • पोर्न फिल्म प्रकरण : राज कुन्द्राको कम्पनीबाट शिल्पा सेठ्ठीको राजीनामा

    पोर्न फिल्म प्रकरण : राज कुन्द्राको कम्पनीबाट शिल्पा सेठ्ठीको राजीनामा

    मुम्बई । पोर्न फिल्म प्रकरणमा व्यापारी राज कुन्द्रालाई अदालतले आगामी मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरी हिजो दिउँसो शिल्पा सेठ्ठीको घरमै पुगेर सोधपुछ समेत गरेको थियो ।

    नयाँ खबरअनुसार अभिनेत्री शिल्पा सेठ्ठीले पति कुन्द्राको कम्पनी वियान इन्डस्ट्रिजबाट राजीनामा दिएकी छिन् । शिल्पा उक्त कम्पनीमा निर्देशक थिइन् । कुन्द्राको प्रायः व्यापारमा शिल्पा साझेदार थिइन् । शुक्रबार दिउँसो शिल्पाकै घरमा पुगेर क्राइम ब्रान्चले ६ घण्टा सोधपुछ गरेको छ । राज कुन्द्रा र शिल्पालाई सँगै राखेर प्रहरीले सोधपुछ गरेको थियो ।

    मुम्बई प्रहरीको अपराध विभाग हेर्ने टीमले यो प्रकरणमा शिल्पाको संलग्नताको प्रमाण जुटाउन व्यस्त छ । उक्त कम्पनीबाट शिल्पालाई लाभ मिलेको छ वा छैन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    क्राइम ब्रान्च शिल्पाको बैंक खाताबारे पनि अनुसन्धान गरिरहेको छ । वियान कम्पनीको निर्देशकको रुपमा शिल्पाले कति समय काम गरिन् भन्नेबारे पनि खोजी भैरहेको छ । कम्पनीको सीसीटीभी पनि प्रहरीले हेरिरहेको छ । फरेन्सिक विज्ञहरु सीसीटीभीबाट डिलेट गरिएका तथ्यांकलाई रिस्टोर गराउने काममा जुटिरहेका छन् ।

  • गर्भवती प्रियंका र ऋचालाई हिरोइनले खुवाए दहीच्यूरा !

    गर्भवती प्रियंका र ऋचालाई हिरोइनले खुवाए दहीच्यूरा !

    काठमाडौं । प्रियंका कार्की र ऋचा शर्मा अहिले गर्भावस्थालाई सेलिव्रेसन गर्न व्यस्त छन् । सन्तानलाई जन्म दिने तयारीमा रहेका यी दुई नायिकालाई बधाई र शुभकामना दिन अन्य हिरोइन पनि व्यस्त छन् ।

    नायिकाहरु रेखा थापा, रीमा विश्वकर्मा, केकी अधिकारी र बेनिशा हमालले शुक्रबार प्रियंका र ऋचालाई खुशियालीमा दहीच्युरा खुवाएका छन् । यी सबै नायिका ऋचा र प्रियंकाका मिल्ने साथीहरु पनि हुन् । केकी र रीमाले दहीच्युरा खुवाउने कार्यक्रमको संयोजन गरेका हुन् । यो जमघटमा प्रियंका र ऋचा खुशि देखिएका छन् ।

  • पतिको गिरफ्तारपछि शिल्पाको पहिलो बयान : कुनैपनि आवश्यकताले मलाई अगाडिको जिन्दगी बाँच्न रोक्ने छैन

    पतिको गिरफ्तारपछि शिल्पाको पहिलो बयान : कुनैपनि आवश्यकताले मलाई अगाडिको जिन्दगी बाँच्न रोक्ने छैन

    मुम्बई । पोर्न फिल्म बनाएको आरोपमा सोमबार बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रा गिरफ्तार भए । अदालतको आदेशमा कुन्द्रालाई प्रहरीले अहिले न्यायिक हिरासतमा राखेको छ र सम्भवतः आज शुक्रबार उनीबारे थप आदेश हुने जनाइएको छ ।

    प्रहरीले शिल्पासँग पनि यस प्रकरणमा सोधपुछ गर्ने तयारी गरेको छ । पतिको गिरफ्तारीपछि मौन रहेकी शिल्पा अहिले भने खुलेर प्रस्तुत भएकी छिन् । अदालतमा पुनः प्रस्तुत हुनुअघि शिल्पाको सामाजिक संजाल पोस्ट अहिले चर्चामा छ ।

    जेम्स थर्बरले लेखेको लाइनलाई कपि गर्दै शिल्पाले आफ्ना अभिव्यक्ति सेयर गरेकी छिन् । उनी लेख्छिन्, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नूस, बरु चारैतिर हेरेर सतर्क बन्नूस । हामीले रिसमा पछाडि फर्किएर तिनै मानिसहरुलाई हेर्छौं, जसले हामीलाई चोट पुर्‍याएका छन् ।’

    जुन तनाव हामीले झेलेका छौं । जुन दुर्भाग्य हामीले सहेका छौं । जागिर गुम्ला भन्ने पिरले हामी अघि हेर्छौं । केही बिरामी हुनसक्छन् भने कोहीलाई मृत्युको डर हुन्छ । हामीले यसलाई सुधार गर्नुपर्ने हुन्छ ।’

    जे कुरा भैसक्यो, जे कुरा हुनु थियो, यसबाट बिचलित हुनुहुँदैन । यसबारे आँखालाई खुला राख्नु जरुरी छ । म जिउँदै छु भन्ने कुराले भाग्यमानी महसुस गरेकी छु र गहिरो सास लिने गरेकी छु । म यसअघि पनि चुनौतिबाट जोगिएकी थिएँ र अगाडि पनि चुनौतिबाट जोगिनेछु । कुनै पनि आवश्यकताले मलाई अहिले अगाडिको जिन्दगी जिउनबाट रोक्नेछैन ।’

    प्रहरीले शिल्पासँग राज कुन्द्राबारे थप प्रमाण हुनसक्ने जनाएको छ । प्रहरी छानविनमा राजको काममा शिल्पाको सक्रिय भूमिका नभेटिएको समेत जनाएको छ । सन् २००९ मा विहे गरेका राज र शिल्पाका तर्फबाट दुईजना सन्तान छन् ।

  • सलोन बस्नेत अब वेब-सिरिज निर्माता, रिलिज भयो ‘हेल्लो ब्रो’

    सलोन बस्नेत अब वेब-सिरिज निर्माता, रिलिज भयो ‘हेल्लो ब्रो’

    काठमाडौं । अभिनेता सलोन बस्नेत अब वेब-सिरिज निर्माता बनेका छन् । कोरोना महामारीले फिल्म गतिविधि ठप्प भएपछि सलोनको व्यस्तता अहिले वेब सिरिज निर्देशनतर्फ छ ।

    उनको कम्पनी सलोन–सलिना फिल्मसले निर्माण गरेको सिरिज ‘हेल्लो ब्रो’ इन्टरनेट रिलिज भएको छ । कूल २१ एपिसोडसम्म निर्माण हुने सिरिजलाई सिजन–वाइजरुपबाट रिलिज गरिने भएको छ ।

    सबै नयाँ अनुहारलाई लिएर निर्माण गरिएको हेल्लो ब्रोलाई सुरेश न्यौपानेले लेखन एवं निर्देशन गरेका हुन् । सलोन यसका कार्यकारी निर्माता हुन् । ‘२१ एपिसोड बनाउने हाम्रो तयारी छ र लागत १८ लाग्ने अनुमान छ’ सलोनले भने, ‘फिल्म क्षेत्रमा व्यस्त नभैञ्जेल अब सिरिजमै लाग्नेछु ।’

    बुढासुब्बा टिभीमा बिहीबार बेलुका ७ बजे सिरिज प्रसारण सुरु भएको छ । सलोन अभिनित पाँचवटा फिल्म रिलिजको पर्खाइमा छन् । कोरोना संक्रमणको परिस्थिती सामान्य भए साउन अन्त्यदेखि उनले अभिनय गर्ने डाँडाको वरपिपल छायांकनमा जाने तयारीमा छ ।

  • नवीनको कमब्याक गीतमा ब्वाइफ्रेन्डसँग वर्षाको रोमान्स

    नवीनको कमब्याक गीतमा ब्वाइफ्रेन्डसँग वर्षाको रोमान्स

    काठमाडौं । वर्षा शिवाकोटी र राज कटवाल केही समयदेखि प्रेम सम्बन्धमा छन् । यो जोडी सार्वजनिकरुपमै प्रेम व्यक्त गरिरहेको छ । उनीहरु आफ्नो सम्बन्धलाई प्रेमभन्दा मित्रता भन्न रुचाउँछन् ।

    अब भने यो जोडीले सँगै म्युजिक भिडिओमा अभिनय समेत गरेको छ । गायक नवीन के भट्टराईको नयाँ म्युजिक भिडिओमा उनीहरुलाई सँगै फिचर्ड भएको रुपमा देख्न सकिन्छ ।

    ‘बाटो हेरेर कुरिरहन्छु’ बोलको यही गीतमार्फत गायक भट्टराई चारवर्षपछि कमब्याक भएका हुन् । भिडिओलाई नवीनकी धर्मपत्नी नवीनाले निर्देशन गरेकी छिन् ।

    नेपाल प्रेससँग कुरा गर्दै कटवालले वर्षासँग अन्य म्युजिक भिडिओमा समेत प्रस्तुत हुने तयारी रहेको बताए । उनका अनुसार यो सांगीतिक भिडिओ आगामी साता रिलिज हुने तयारीमा छ ।

  • प्रियंकाको बचाउमा मानुषीले पनि प्रदर्शन गरिन् गर्भावस्थाको पेट

    प्रियंकाको बचाउमा मानुषीले पनि प्रदर्शन गरिन् गर्भावस्थाको पेट

    काठमाडौं । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, लगातार गसिपमा छाइरहेकी छन् । सामाजिक सञ्जालमा दिनदिनै आफ्नो बेबी बम्प प्रदर्शन गरिरहेकी उनलाई गालीको वर्षा भइरहेको छ । केहीले उनको समर्थन पनि गरेका छन् ।

    सामाजिक सञ्जालमा प्रियंकाको भुँडीलाई लिएर नानाथारि चर्चा परिचर्चा भइरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यो कोलाहलमा मिसिए । उनले प्रियंकाको भुँडी प्रदर्शनलाई ‘पितृसत्ताको जालो च्यात्ने साहस’ भन्दै ट्विटरमा प्रशंसा गरेपछि अत्यधिक नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्यो ।

    प्रियंकाको बेबीबम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने स् रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    बाबुरामको यो ट्विटमाथि प्रतिक्रिया जनाउँदै माओवादीनिकट पूर्वसञ्चारकर्मी आस्था केसीले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ । मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरेपनि छुट र स्वतन्त्रता हुने हो ?’

    आस्थाको यो ट्विटमाथि डा. भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको जवाफ आएको छ । उनले ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भन्दै आफ्नो गर्भवती भुँडीको पुरानाे तस्वीर सेयर गरेकी छन् ।

    उनी लेख्छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू सारै रूढीवादी !’

    मानुषीको यो ट्विटमा तीव्र प्रतिक्रियाहरु आइरहेका छन्, जसमा केही सकारात्मक र धेरै नकारात्मक छन् । डा. बाबुराम त नकारात्मक कमेन्टहरुमा अभ्यस्त नै हुन्, तर हालसम्म खासै विवादमा नतानिएकी मानुषीका लागि चाहिँ नमिठो अनुभव हुन सक्छ ।

    एउटा प्रतिनिधि कमेन्ट यस्तो छः

    ए नानी। बा कम्निष्ट भैन्जेल आस्थाहरुलाई अङ्ग प्रदर्शन पुँजीवादीहरुले गरेको महिलाको वस्तुकरण हो भनेर पढाए। अब कम्युनिजम छोडेपछि महिलाको अङ्ग प्रदर्शनलाई क्रान्ति मान्न थाले। फेसन टीभीमा यस्तो क्रान्ति २४ घण्टा चलिरन्छ । हिजो के भन्यौ आज के भन्दैछौ ?

  • पोर्न फिल्म प्रकरणमा राज कुन्द्रा न्यायिक हिरासतमा, शिल्पा सेठ्ठीलाई सोधपुछ गर्ने तयारी

    पोर्न फिल्म प्रकरणमा राज कुन्द्रा न्यायिक हिरासतमा, शिल्पा सेठ्ठीलाई सोधपुछ गर्ने तयारी

    मुम्बई । पोर्न फिल्म बनाएको आरोपमा भारतीय प्रहरीले गत सोमबार बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई गिरफ्तार ग¥यो । अदालतको आदेश अनुसार शुक्रबारसम्म उनलाई न्यायिक हिरासतमा राखिने भएको छ ।

    राजसँगै उनका साथी रयान थारपलाई पनि हिरासतमा राखिएको छ । साथै, राजकी पत्नी तथा अभिनेत्री शिल्पालाई पनि प्रहरीले सोधपुछ गर्ने तयारी गरेको । किनभने राजका अधिकांश व्यापारमा शिल्पा व्यवसायिक साझेदार समेत हुन् ।

    मुम्बई प्रहरीको क्राइम ब्रान्चले शिल्पालाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ । उनीहरुको बयानका आधारमा प्रहरीले अहिलेसम्म थप ११ जना आरोपीलाई गिरफ्तार गरेको छ ।

    राज कुन्द्राको गिरफ्तारीलाई लिएर अहिले बलिउड विभाजित छन् । गायिक मिका सिंह लगायतका कलाकार कुन्द्राको समर्थमा उत्रिएका छन् । उनीहरुले सजाय दिलाउने काम अदालतको भएको बताएका छन् ।

    फेब्रुअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई गिरफ्तार गरिएपछि यो घटना प्रकाशमा आएको हो । कुन्द्राले सुट गरेको फिल्म पेड मोबाइल एपमा पोस्ट गरेपछि प्रहरीले यसबारे थाहा पाएको हो ।

    अभिनेत्री गहना वशिष्ठले अदालतले यसको न्यायिक छानविन गर्ने बताएकी छिन् । अभिनेत्री कंगना रनावतले कुन्द्राको गिरफ्तारीपछि बलिउडले नैतिकता गुमाएको बताउँदै आफूले थप एक्सपोज गर्ने बताएकी छिन् । अभिनेत्री राखी सावन्त पनि कुन्द्राको पक्षमा उत्रिएकी छिन् । युट्युवर पुनित कौरले पोर्न फिल्म बनाउन आफूलाई कुन्द्राले म्यासेज पठाएको आरोप लगाएकी छिन् ।

  • कलाकार प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त

    कलाकार प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त

    काठमाडौं । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियु्क्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुलाई ‘विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत’ नियुक्त गरेको घोषणा गरेको हो ।

    बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

    दुवै जनालाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरिएको प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी गराईन । विपद् जोखिम न्यूनिकरणमा कलाकारको विशेष भूमिका रहने भएकाले उनिहरुलाई सद्भावना दूत नियुक्त गरिएको उनको भनाई छ ।

    विपद जोखिम न्यूनकिरण गर्नका लागि जनचेतना फैलाउनका लागि उनिहरुलाई नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका सहसचिव विश्वप्रकाश अर्यालले बताए । दूत नियुक्त भइसकेपछि दुवै जनाले विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राधिकरणले अपेक्षा गरेको जनाइएको छ ।

    अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम पुर्याउनका लागि प्राधिकरण लागि परेको र त्यसैमा कलाकारलाई पनि जोडेर अघि बढाउन खोजिएको प्राधिकरणका प्मुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

    कार्यक्रममा दुवै जना कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट निर्वाह गर्न सकिने सबै भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सरकारी निकायसँग आफुहरुको पहिलो सहकार्य भएकाले अन्य सरकारी निकायलाई पनि यसै गरी अरु कलाकारलाई पनि सहकार्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    कार्यक्रममा गायक सपुत र गायिका दुलालले गाएको र अभिनय गरेको बाढी पहिरो, हामीलाई चिन्ता गहिरो बोलको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

  • प्रधानमन्त्रीसँग फिल्मकर्मीको छलफल : सरकारले राहत ल्याउने, कलाकारलाई चाँडै खोप

    प्रधानमन्त्रीसँग फिल्मकर्मीको छलफल : सरकारले राहत ल्याउने, कलाकारलाई चाँडै खोप

    काठमाडौं । कोरोना महामारीले प्रभावित फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रम ल्याउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न आएका फिल्मकर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।

    कांग्रेस निकट सांस्कृतिक संघले बालुवाटारमा बिहीबार आयोजना गरेको कार्यक्रममा देउवाले कोरोनाले प्रभावित कला र फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रम ल्याउने जानकारी दिए ।

    लामो समयको लकडाउन र निषेधाज्ञाले फिल्म क्षेत्र धरासायी बनेको, फिल्म हल लामो समयदेखि बन्द भएको र कलाकारहरु कामबिहीन भएको अवस्थामा फिल्मलाई लयमा फर्काउन सरकारले सहयोग गर्नुपर्ने कलाकारको माग थियो ।

    देशको गहनाको रुपमा रहेका कलाकारका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने जानकारी दिँदै देउवाले कोरोना प्रभावित यो क्षेत्रमा सघाउने वचन पनि दिए ।

  • पल र मलिकाले अब फिल्ममा जोडी बाँध्ने, गोपिकृष्णको ‘पर्खि बसेँ २’मा लिड-कपल

    पल र मलिकाले अब फिल्ममा जोडी बाँध्ने, गोपिकृष्णको ‘पर्खि बसेँ २’मा लिड-कपल

    काठमाडौं । पल शाह र मलिका महत पछिल्लो समय रुचाइएको स्क्रिन कपल हो । फुल बुट्टे सारी र टाढा भएपनिजस्ता हिट म्युजिक भिडियोमा स्क्रिन सेयर गरेको यो जोडीलाई ठूलो पर्दामा सँगै हेर्न दर्शकले चाहिरहेका छन् । पल र मलिका स्वयमले पनि दर्शकलाई पहिलेदेखि नै सँगै आउने बताइरहेका थिए ।

    अब भने, यी दुईजनालाई पर्दामा सँगै हेर्न पाउने अवसर मिल्ने भएको छ । २०६५ सालमा व्यवसायिक हिट बनेको फिल्म पर्खि बसेँको दोस्रो सिक्वेलमा यी दुईजनालाई हेर्न पाइने भएको छ । अब पल र मलिकाले उक्त फिल्मको अघिल्लो जोडी राजवल्लभ कोइराला र युना उप्रेतीलाई रिप्लेस गर्ने भएका छन् ।

    गोपीकृष्ण मुभिज र हिमालय फिल्मसले निर्माण गर्ने पर्खि बसेँ २ मा यी दुईजनालाई अनुबन्धित गर्ने तयारी भएको छ । फिल्ममा खेल्न दुबैजनाले मौखिक सहमति गरेको र केही दिनमा लिखित सम्झौता हुने जनाइएको छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

    म्युजिक भिडिओमा हिट भएपछि यी दुबैलाई कास्ट गर्न फिल्म हाउसहरुले अफर गरिरहेका थिए । उनीहरुले केन्द्र मोसन पिक्चर्ससँग ६ महीना म्युजिक भिडिओ र फिल्म गर्नको लागि सहमति गरेको पनि चर्चा भएको थियो । हेरौं, म्युजिक भिडिओको चर्चित जोडीले फिल्मको पर्दामा आफूलाई स्थापित गर्लान् वा नगर्लान् ?

    स्रोतका अनुसार यो फिल्म कोरोना महामारीको अवस्था सामान्य भए छायांकनमा जाने तयारीमा छ ।

  • कन्ट्रोभर्सीमा फसेपछि नम्रताको टिप्पणी : टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्

    कन्ट्रोभर्सीमा फसेपछि नम्रताको टिप्पणी : टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्

    काठमाडौं । अभिनेत्री नम्रता सापकोटा पछिल्लो वर्षमा निकै भाइरल छिन् । उनी भाइरल हुनुको पछाडिको कारण चाहिँ अरु होइन, उनका अभिव्यक्तिहरु हुन् । उनको बोलीले उनलाई कन्ट्रोभर्सीमा तान्ने गरेको छ ।

    अघिल्लो लकडाउनमा उनी नेपोटिज्मको कारणले चर्चामा थिइन् । नेपाली फिल्ममा पनि आफन्तवाद (नेपोटिज्म) व्याप्त भएको बताएपछि उनी चर्चामा आएकी थिइन् ।

    दोस्रोपटकको लकडाउनमा पनि नम्रता अभिव्यक्तिकै कारणले चर्चामा छिन् । गतसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा नम्रताले आफूलाई सिंगल मदर बन्न चाहेको बताएपछि सामाजिक संजाल उनको पक्ष र विपक्षमा विभाजित भएको छ ।

    आफूलाई विहेभन्दा बच्चा पाउनु रहर भएको नम्रताको कथन छ । तर, यसैसाता अर्को एक अन्तर्वार्तामा उनले आफू स्पष्टावक्ता भएकाले कसैसँग डर मान्नुपर्ने कारण नभएको बताएकी छिन् । ‘हो, मलाई टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्’ नम्रता भन्छिन्, ‘टीकटकमा बहस भन्दा प्लेटफर्मको दुरुपयोग भएको छ ।’

    टीकटकको सदुपयोगभन्दा दुरुपयोग भएको बताउँदै नम्रताले एक घण्टाको कुरालाई तीन मिनेटमा सीमित राखेर बुझ्न नसकिने बताइन् । टीकटकमा हिट भएकै कारण चर्चामा आएकालाई पनि उनले सुझाउँदै लगाव र मिहेनतबाट आउन भनेकी छिन् । नम्रता पछिल्लो समय म्युजिक भिडिओ र सामाजिक काममा व्यस्त छिन् ।

     

  • प्रियंकाको बेबी-बम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    प्रियंकाको बेबी-बम्प फोटोको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् । पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् ।

    कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।

    प्रियंकाको बेबी-बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।

    उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !

  • हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने

    हेलम्बुलाई इन्द्रेणी कार्यक्रमको ६२ लाख, कलाकारले मेलम्चीको दनुवार बस्तीमा २० घर बनाइदिने

    काठमाडौं । बाढीप्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १७ पीडित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ ।

    बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरे ।

    साथै, कलाकारद्वारा स्थापित सिन्धु सहयोग कोषले बाढीप्रभावित मेलम्चीको दनुवार बस्तीमा २० वटा घर निर्माण गर्ने तयारी भएको छ । कोषका सदस्य संगीतकार चेतन सापकोटाले आधुनिक शैलीमा दुई तले होमस्टे घर बनाइदिने तयारी भएको बताए ।

    बिहीबार बस्ने कलाकारहरुको बैैठकले यसबारे थप योजना सार्वजनिक गर्ने जनाइएको छ । यसैसाता करिश्मा मानन्धरसहितका कलाकारले बाढी प्रभावित मेलम्ची, हेलम्बु र पाँचपोखरीको निरिक्षण गरेका थिए ।

  • ‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

    ‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

    काठमाडौं । पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

    कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो । सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

    प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ । घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो ।

    युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेलसम्म निर्माण भएको छ ।

  • नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा

    नेपाली र बलिउडको विदेश सुटिङ अनिश्चित, ‘खोप राजनीति’को असर फिल्म छायांकनमा

    काठमाडौं । बलिउड फिल्मको सुटिङ भारतभित्रै सुरु भएको छ तर, विदेश छायांकन भने स्थगित छ । विदेशमा फिल्म छायांकनलाई लिएर बलिउडलाई अहिले अर्को टाउको दुःखाइ भएको छ ।

    त्यो हो : कोभिड खोप ।

    भारतले उत्पादन गरेको कोरोनाभाइरस विरुद्धको कोभिसिल्ड खोपलाई अझै थुप्रै युरोपेलीसहितका मुलुकले मान्यता दिएका छैनन् । केही देशले यात्रा प्रतिबन्ध लगाउँदा पनि बलिउडको विदेश छायांकन अनिश्चित बनेको छ ।

    यदि परिस्थिती चाँडै ठीक भएन भने या त विदेशको छायांकन तालिका स्थगित गर्नुपर्छ या त, लोकेसन र स्क्रिप्टमा परिवर्तन गर्नुपर्छ ।

    बलिउडका लागि युरोप निकै आकर्षक छायांकन गन्तव्य मुलुक हो । तर, थुप्रै युरोपेली मुलुकले कोभिसिल्ड खोपलाई मान्यता दिएका छैनन् । नेपालमा समेत कोभिसिल्ड खोपको प्रयोग भएको छ ।

    कुन-कुन युरोपेली देशले दिए कोभिसिल्डलाई मान्यता ?

    यद्यपी, फ्रान्स र युरोपियन युनियन लगायतका १६ मुलुकले खोपलाई मान्यता दिएका छन् । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको कारणले पनि थुप्रै मुलुकले भारतलाई उच्च जोखिमपूर्ण मुलुकको सूचीमा राखेका छन् । कमर्सियल उडान पनि हुनसकेको छैन ।

    यस्तोमा, फिल्म छायांकनलाई ती देशले अनुमति दिन सम्भावना न्यून छ । यही मेसोमा कंगना रनावत स्टारर फिल्म धाकडको छायांकन युरोपकै हंगेरीमा कोभिड मापदण्ड पालना गर्दै भैरहेको त छ तर, सोचेजस्तो सजिलो भएको छैन ।

    बलिउडको जस्तै समस्या नेपाललाई पनि पर्ने देखिएको छ भने किनभने, कोभिसिल्ड नेपालमा पनि प्रयोग भएको छ । प्रत्येक देशको आफ्नै खोप नीति भएकाले कुन खोप लगाएमा कुन देश जान पाइन्छ भन्ने कुरामा पनि अन्यौल छाएको छ ।

    चिनियाँ खोप भेरोसेल लगाएकालाई अमेरिका, युरोप र अष्ट्रेलियाले मान्यता दिएका छैनन् जसले गर्दा भेरोसेल लगाएका बहुसंख्यक फिल्मकर्मी ती देशमा जान पाउनेछैनन् ।

    खोप राष्ट्रियताको कारण स्वदेशमा स्थिती अनुकूल भएपनि विदेशमा भने स्थिती तत्काल साम्य हुने सम्भावना देखिएको छैन । अझै पनि नेपाललाई अमेरिका, युरोप लगायतका मुलुकले यात्रा प्रतिबन्ध लगाएका छन् ।

  • बरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

    बरिष्ठ चित्रकार उत्तम नेपालीको निधन

    काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

    किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मनुभएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

    साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।