Category: कलाप्रेस

  • फिल्म क्षेत्रको ऋण तिर्ने भाखा एक वर्षलाई थपियो, निर्माता र हल संचालकलाई राहत

    फिल्म क्षेत्रको ऋण तिर्ने भाखा एक वर्षलाई थपियो, निर्माता र हल संचालकलाई राहत

    काठमाडौं । कोभिड-१९ महामारीले प्रभावित भएर ऋणको सावाँब्याज तिर्न नसकेका चलचित्र क्षेत्रका ऋणीलाई पनि सरकारले भुक्तानीको अवधि थप गरेको छ । शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएको यो व्यवस्थाले केही हदसम्म भएपनि फिल्म क्षेत्रलाई राहत मिलेको छ ।

    कोभिड-१९ बाट अति प्रभावित चलचित्र क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ । यस्तै, मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ ।

    यसअघि सरकारले असार मसान्तसम्म ऋण तिर्नुपर्ने जनाएको थियो । तर, मौद्रिक नीतिमा भाखा एकवर्षलाई थप गरिएपछि यसले फिल्म निर्माता र हल संचालकलाई ठूलो राहत मिलेको छ । महामारीको दोस्रो लहरको कारण अहिले मुलुकभरका ११० वटा भन्दा बढी फिल्म हल बन्द छन् भने कतिपयले ऋण लिएर पनि व्यवसाय थालेका थिए ।

  • सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

    सुरेन्द्र बसेलको निर्देशन एंव कोरियोग्राफीमा ‘मार्सी चामल’ भिडियो सार्वजनिक (भिडियो)

    काठमाडौं । गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ ।

    सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको ‘मार्सी चामल’ गीतको भिडियोमा स्वयम सुरेन्द्र बसेल, हरिश निरौला (कक्रोच), अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय रहेको छ । दिनेश पराजुलीले छायाँकन गरेको भिडियोको सम्पादन विकाश धमलाले गरेका छन्।

    भिडियो द डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

  • ‘रोडिज’ अवतारमा लाउरे र अनुपदेखि दियासम्म (तस्विरहरु)

    ‘रोडिज’ अवतारमा लाउरे र अनुपदेखि दियासम्म (तस्विरहरु)

    काठमाडौं । नेपाली टेलिभिजनमा तन्नेरी पुस्ताले निकै रुचाएको एड्भेन्चर रियालिटी सो ‘रोडिज’को चौंथो संस्करण आरम्भ भएको छ । शुक्रबार राजधानीको एक पाँचतारे होटलमा चौंथो सिजनको घोषणा गरियो ।

    फिल्म निर्देशकको रुपमा कहलिएका सिमोस सुनुवारले निर्देशकीय जिम्मेवारी लिएपछि रोडिजको आउँदो सिजनलाई लिएर निकै आशा राखिएको छ । सिमोसले आफ्नो प्राविधिक कला र प्रतिभालाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    अबको दुई सातामा बीपी राजमार्गदेखि छायांकन सुरु हुने सोजलाई नेपालका विभिन्न स्थानमा सुट गरिनेछ । यसपटक पनि आशिष राना लाउरे, दिया मास्के, अनुपविक्रम शाही र अघिल्लो रोडिजका विजेता समन श्रेष्ठ निर्णायक छन् । आयोजित प्रेसमिटमा चारैजना जज् आफ्नो रोडिज अवतारमा देखिए ।

    होस्टको रुपमा रेमनदास श्रेष्ठ प्रस्तुत हुनेछन् । रोडिज इन्डियाको फ्रेमवर्कभित्रै रहेर कार्यक्रम संचालन गरिने निर्देशक सुनुवारले बताए । यसपटक पनि रोडिज इन्डियाका विजेतालाई अतिथिको रुपमा ल्याउने तयारी भएको छ ।

  • ‘रोडिज’ चौंथो सिजनको औपचारिक घोषणा, यस्ता छन् नयाँ सिजनका विशेषता

    ‘रोडिज’ चौंथो सिजनको औपचारिक घोषणा, यस्ता छन् नयाँ सिजनका विशेषता

    काठमाडौं । नेपाली एड्भेन्चर रियालिटी सो हिमालय रोडिजको चौंथो सिजन सुरु भएको छ । शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा सोको औपचारिक घोषणा गरियो ।

    कोरोनाभाइरस महामारीको कारण ढिला सुरु भएको चौंथो सिजनको डिजिटल अडिसन पनि सुरु भएको छ । कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै यसपटक डिजिटल अडिसन आयोजना गरिएको हो ।

    चौंथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलबाट एप डाउनलोड गरी अडिसन फर्म भर्न सकिने भएको छ ।

    हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले महामारीबाट बच्दै सोजको कामलाई अगाडि बढाइने बताए । यसपटकको सिजनलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । यसअघिका तीन सिजनलाई अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।

    नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित रहने निर्देशक सुनुवारले बताए । नयाँ पात्र र नयाँ विषयवस्तुमार्फत नेपाली युवाको संघर्षलाई चित्रण गर्ने उनले जनाए ।

    यो सिजनको निर्णायकमा अनुपविक्रम शाही, दिया मास्के, आशिष राना लाउरे र समन श्रेष्ठ रहेनछन् । होस्टमा चाहिँ रेमनदास श्रेष्ठ रहने भएका छन् ।

    भारतको भायकम-१८ को लाइसेन्स लिएर हिमालय टेलिभिजनले कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । डिजिटल अडिसनको समय दुई साता राखिएको छ र त्यसपछि फिजिकल अडिसन बोलाउने तयारी छ । असोजको पहिलो साताबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । ।

  • अन्ततः गायिका ब्रिट्नी स्पियर्सलाई मिल्यो अभिभावकत्वबाट उन्मुक्ति

    अन्ततः गायिका ब्रिट्नी स्पियर्सलाई मिल्यो अभिभावकत्वबाट उन्मुक्ति

    लस-एन्जल्स । गायिका ब्रिट्नी स्पियर्सका बुवा जेमी छोरीको अभिभावकत्व (कन्जरभेटर)बाट हट्न सहमत भएका छन् । स्पियर्सका न्यायिक वकिलले जेमीलाई उक्त भूमिकाबाट हटाउन दायर गरेको एउटा याचिकाको दुई सातापछि उनले हट्ने निर्णय गरेका हुन् ।

    तर, कुन समयदेखि अभिभावकत्वबाट हट्नेछन् भन्ने कुराको यकिन भएको छैन । हलिउड रिपोर्टर म्यागजिनले समाचारको पुष्टि गरेको छ । १३ वर्षदेखि स्पियर्सको कन्जरभेटर बनेका बुबा पछिल्लो दुई महीनामा उत्पन्न विवादकै कारण हट्न सहमत भएका हुन् ।

    आफ्ना बुवाले अभिभावकत्व ग्रहण गरेर आफ्नो स्वतन्त्रता र खुशि लुटेको भन्दै मिडियामा अन्तर्वार्ता दिएपछि स्पियर्स चर्चामा थिइन् । जुन २३ को अदालती सुनुवाईमा स्पियर्सले निकै भावुक बयान दिएकी थिइन् जहाँ आफ्ना पिताले विहे, करियर लगायतका काममा अवरोध गरेको बताएकी थिइन् । कन्जरभेटरको नाममा आफूलाई शोषण गरेको र आफू खुशि नभएको गायिकाले बताएकी थिइन् ।

  • स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ)

    स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ)

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि मास्कको प्रयोगबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले भर्चुअलरुपमा लाइभ कन्सर्टको आयोजना गरेको छ ।

    अहिले लाइभ भैरहेको कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले गायकी प्रस्तुत गरिरहेका छन् । नेपाली फिल्म, संगीत र खेलकुदका हस्तीले मास्कको उचित प्रयोगका लागि समेत आह्वान गरिरहेका छन् ।

    स्वास्थ्य मन्त्रालयले अहिले मास्क सप्ताह मनाइरहेको छ । ‘म जिम्मेवार नेपाल’ नारासहित भर्चुअल म्युजिक कन्सर्टको आयोजना गरिएको हो ।

  • टीका प्रसाईको तीज गीतमा दाइजो कूप्रथाको चित्रण (भिडिओ)

    टीका प्रसाईको तीज गीतमा दाइजो कूप्रथाको चित्रण (भिडिओ)

    ‘दाइजोको निहुँमा
    गाली खाँदै
    मरेतुल्य भइसकेँ म…

    सहनु नै मेरो भाग्य हो कि
    हे दैव मलाई
    मलाई सहने शक्ति देऊ’

    प्रस्तुत शब्दहरु गायिका टीका प्रसाईद्वारा स्वरबद्ध गीत ‘दाइजो’मा समावेश छन् । हारितालिका तीज छेकोमा रिलिज गरिएको यो गीतले दाइजो कूप्रथाको पीडालाई प्रस्तुत गर्छ ।

    राजु सिंहद्वारा संगीतबद्ध गीतमा आनन्द बज्राचार्यका शब्द र प्रसाइका शब्द समावेश छन् । यसअघि युट्युवमा हिट तथा रोमान्टिक गीत पस्किएकी गायिका प्रसाईले यसपटक भने नारी पीडाको यथार्थलाई उजागर गर्ने गीत पस्किएकी छिन् ।

    ‘तीज पर्व संयोग मात्र हो । दाइजोको समस्या समाजमा सँधै भरि हुने गरेको छ र यसलार्ई चित्रण गरेकी हुँ’ प्रसाईले नेपाल प्रेसलाई भनिन्, ‘तीज भनेकै महिलाहरुको पर्व भएकाले यसले पनि महिलाकै समस्यालाई प्रस्तुत गरेको छ ।’

    हेर्नूस् गीत :

  • एकसातामा श्रीनिवासका दुई थारु गीत सार्वजनिक

    एकसातामा श्रीनिवासका दुई थारु गीत सार्वजनिक

    रूपन्देही । पत्रकारिता र साङ्गीतिक क्षेत्रलाई मुख्य पेशा बनाएका गायक श्रीनिवास थारुले एकपछि अर्को धमाकेदार गीत ल्याएका छन्।

    ‘चोरी चोरी से’ बोलको गीत एक हप्ताअघि भिडिओ सार्वजनिक गरेका उनले नागपञ्चमीको दिन पारेर अर्को ‘लेहेंगावाली के चक्करमे’ गीत सावर्जनिक गरेका छन्।

    उनको पहिलो गीतमा थारु सुपर स्टार नरेश चौधरी र छोटो समयमै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको युगल जोडीले नृत्य गरेका छन्। स्वरमा भने श्रीनिवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी थिइन्।

    सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गीत रिलिज भएको एकसातामा २ लाख बढी पटक हेरिएको छ। गीतका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन्।

    नागपञ्चमीसंगै थारु समुदायको गुरही पर्वको अवसर पारेर ‘लेहेंगावाली के चक्करमे’ बोलको गीत सार्वजनिक गरेको चौधरीले बताए। यो गीतमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छन् । एक बर्षअघि ‘लेहेंगावाली ओए छैली’ गीतको भाग २ को रुपमा यो गीतलाई प्रस्तुत गरिएको उनले बताए।

    उमेश मुस्कानको शब्द सङ्गित, केशव बडुको संगीत संयोजन रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन्। कपिलवस्तुका विष्णु चौधरी र दाङ्ग देउखुरीकी सिरु चौधरीले यो गीतमा डेब्यु गरेका छन्। टीकटकमा निक्कै भाइरल भैरहेको यो गीत पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ।

  • तीज गीत ‘दिदी-बहिनी’मा दीपाश्री र रजनीको छमछमी (भिडियो)

    तीज गीत ‘दिदी-बहिनी’मा दीपाश्री र रजनीको छमछमी (भिडियो)

    काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर बढ्दै गएको छ । कोभिड-१९ ले फिल्म क्षेत्र ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् ।

    पछिल्लो समय कलाकर एबम निर्देशक दिपाश्री निरौला पनि म्युजिक भिडियोतर्फ देखिन थालेकी छिन् । दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी-बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको ‘दिदी-बहिनी’मा दिपाश्री निरौला, निर्मल शर्मा, गजीत विष्ट, सुमन गिरी र रजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

    शान्तीश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ ।

  • आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

    आँचलले भनिन् : पुरुष कलाकारभन्दा स्वस्तिमासँग मेरो जोडी जम्यो

    काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको गीत ‘कुरा बुझ्न पर्च’ अहिले चर्चामा छ । त्यो भन्दा अर्को चर्चा यी गीतमा सँगै फिचर्ड भएका दुई नायिका स्वस्तिमा खड्का र आँचल शर्मालाई लिएर भैरहेको छ ।

    प्रकाश सपुतद्वारा संगीतबद्ध गीतमा आँचल र स्वस्तिमाले जोडी बाँधेका छन् । बिहीबार राजधानीमा आयोजना गरिएको गीतको सक्सेस-सेलिव्रेसन प्रेसमिटमा आँचल र स्वस्तिमा दुबै खुलेर प्रस्तुत भए ।

    गीतमा पुरुषसँग जोडी बाँध्नुभन्दा स्वस्तिमासँग जोडी बाँध्दा आफूलाई रमाइलो लागेको र राम्रो प्रतिक्रिया मिलेको आँचलले बताइन् । ‘केटाभन्दा स्वस्तिमासँग जोडी बाँध्दा रमाइलो भयो’ आँचलले भनिन्, ‘मनमाया र फूलमायाको यो जोडीलाई दर्शकले पनि रुचाउनुभएको छ ।’

    साथै, लिरिक्सको कारण आफूले गीतमा फिचर्ड हुने सोच बनाएको आँचलले बताइन् ।

    प्रायः म्युजिक भिडिओमा केटा र केटीलाई जोडी बाँध्ने गरिएपनि गायक तथा संगीतकार सपुतले यसमा चाहिँ केटी–केटीको जोडी बाँधेका छन् । प्रेसमिटमा दुई विवाहित नायिका समेत रहेका आँचल र स्वस्तिमाले आफूहरुको वैवाहिक जीवन रमाइलोसँग बितिरहेको बताए ।

  • गीत हिट भएपछि ‘कुरा बुझ्न पर्च’ टीमद्वारा सक्सेस-सेलिव्रेसन (तस्विरहरु)

    गीत हिट भएपछि ‘कुरा बुझ्न पर्च’ टीमद्वारा सक्सेस-सेलिव्रेसन (तस्विरहरु)

    काठमाडौं । युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएपछि ‘कुरा बुझ्न पर्च’ गीतको टीमले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सक्सेस सेलिव्रेट गरेको छ ।

    वान सिनेमाज्मा आयोजित कार्यक्रममा उक्त गीतको समूहले बलात्कारविरुद्ध कार्य गर्ने सामाजिक संस्था रक्षा नेपाललाई २५ हजार २५० रुपैयाँ नगद, सेनिटरी प्याड र चाउचाउ प्रदान गर्‍यो ।

    साथै, सो अवसरमा गीतमा योगदान दिने सदस्यहरुलाई सम्मान पनि प्रदान गरियो । संगीतकार तथा लेखक समेत रहेका प्रकाश सपुतले रक्षा नेपाल र गीतमा फिचर्ड स्वस्तिमा खड्का र आँचल शर्मालाई सम्मान प्रदान गरे ।

    गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गतसाता रिलिज भएको यो गीतलाई ४६ लाख पटक हेरिएको छ भने युट्युव ट्रेन्डिङको शीर्षस्थानमा छ ।

    गीतले नारी सशक्तीकरणको सन्देश दिन्छ ।

     

  • कट्रिना, प्रियंका र आलिया अब एउटा फिल्ममा, ‘जि ले जरा’लाई फरहानले निर्देशन गर्ने

    कट्रिना, प्रियंका र आलिया अब एउटा फिल्ममा, ‘जि ले जरा’लाई फरहानले निर्देशन गर्ने

    मुम्बई । तीन बलिउड डीभा कट्रिना क्याफ, आलिया भाट र प्रियंका चोपडा जोनसलाई अब एउटै फिल्ममा देख्न पाइने भएको छ । यी तीन एक्ट्रेसले सामाजिक संजालमार्फत ‘जि ले जरा’ फिल्ममा देखिन लागेको जनाएका छन् ।

    प्रियंकाले आफू यो फिल्म गर्न आतुर भएको बताएकी छिन् । ‘यो फिल्मको सेटमा उभिन म निकै आतुर छु । मेरो हृदयलाई यसले निकै खुशि तुल्याएको छ’ प्रियंकाले ट्वीटरमा लेखेकी छिन् ।

    बन्न लागेको यो फिल्मले मित्रतालाई सेलिव्रेसन गर्ने प्रियंकाले जनाएकी छिन् । ‘खासमा यो सिस्टरहुड र मित्रताको कथा पनि हो’ उनले लखेकी छिन् । कट्रिनाले आफू प्रियंका र आलियासँग देखिन पाउनुलाई रमाइलो क्षण हुने बताएकी छिन् ।

    कट्रिना लेख्छिन्, ‘एउटा महान पटकथा, महान निर्देशक, एउटा सडक यात्रा र सीमित आकाश ।’ एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा फरहान अख्तरले फिल्मलाई निर्देशन गर्ने भएका छन् । आगामी वर्षा याममा फिल्मांकन सुरु हुने भएको छ ।

    ‘क्वान्टिको’ फेम्ड प्रियंकाले गतवर्ष नेटफिल्क्सको फिल्म ‘ह्वाइट टाइगर’मा अभिनय गरेकी थिइन् । सिटाडेल सिरिज र म्याट्रिक्स चार फिल्ममा पनि उनले अभिनय गर्नेछिन् ।

  • १६ वर्षपछि शिव र भुवनको टीमअप, फिल्म ‘डाँडाको वरपीपल’मा स्क्रिन सेयर गर्ने

    १६ वर्षपछि शिव र भुवनको टीमअप, फिल्म ‘डाँडाको वरपीपल’मा स्क्रिन सेयर गर्ने

    काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको तालिका तय गरेको छ । कोरोनाको सेकेन्ड वेभमा लागू लकडाउनका कारण छायांकन अगाडि बढ्न सकेको थिएन ।

    भदौ ५ गतेदेखि छायांकन सुरु हुने फिल्मको सुटिङ तालिका अवधि ६० दिनको हुनेछ । काठमाडौं र मकवानपुरको चित्लाङ आसपासका लोकेसनमा फिल्म खिचिने भएको छ ।

    फिल्ममा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल अनुबन्धित भइसकेका छन् ।

    १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले २०६२ सालको फिल्म ‘राजु राजा राम’मा सँगै अभिनय गरेका थिए । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ ।

    रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

  • कोभिड प्रभावित फिल्म क्षेत्रलाई सरकारले सघाउने प्रचण्डको आश्वासन

    कोभिड प्रभावित फिल्म क्षेत्रलाई सरकारले सघाउने प्रचण्डको आश्वासन

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड-१९ महामारी प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन सरकारले विशेष प्याकेज ल्याउने बताएका छन् ।

    आज बिहान खुमलटारमा आफूलाई भेट्न आएका फिल्मकर्मी नवल खड्कासहितको डेलिगेसन टोलीलाई प्रचण्डले सो जवाफ दिएका हुन् । ‘सम्बन्धित मन्त्रालयका मन्त्रीलाई भनेर फिल्म क्षेत्रलाई राहत दिलाउन मैले प्रयत्न गर्नेछु’ दाहालको भनाई उध्दृत गर्दै निर्देशक खड्काले नेपाल प्रेसलाई भने ।

    दाहालसामु खड्का लगायतका टोलीले फिल्म क्षेत्रलार्य अनुदान र कर छूटसहितको सहयोग प्याकेज ल्याउन माग गरेका थिए । ‘हामीले विशेष प्याकेज माग गरेका हौं नत्र फिल्म क्षेत्र धराशायी हुने चिन्ता हामीले व्यक्त ग¥यौं’ खड्काले भने, ‘साथै, एमसीसी र भ्रष्टाचार न्यूनीकरणको कुरा पनि प्रस्ततु गरेका छौं ।’

    जवाफमा दाहालले आफ्नो तर्फबाट वातावरण बनाउने वचन दिएका थिए । टोलीमा दाङका जनसंस्कृतिकर्मी केएल पीडित पनि थिए । आधा घण्टा भएको भेटमा पार्टी स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा पनि सहभागि थिए ।

     

  • मिस नेपाल अमेरिकाको मुख्य प्रशिक्षकमा माल्भिका सुब्बा चयन

    मिस नेपाल अमेरिकाको मुख्य प्रशिक्षकमा माल्भिका सुब्बा चयन

    न्यूयोर्क । मिस नेपाल अमेरिका २०२१ प्रतियोगिताको मुख्य प्रशिक्षकमा पूर्वमिस नेपाल माल्भिका सुब्बा चयन भएकी छिन् । आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा प्रतिस्पर्धा हुँदैछ ।

    मिस नेपाल अमेरिकाको यो संस्करणसँगै आयोजक संस्थाले पनि स्थापनाको १० औं वर्षगाँठ सेलिवे्रसन गर्दैछ । प्रतियोगितामा भाग लिन इच्छुकले सेप्टेम्बर १, २०२१ सम्म आवेदन दिन सक्ने भएका छन् ।

    नेपाली र अमेरिकी सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउन उद्यमी अमितप्रताप शाहले पेजेन्ट गर्दै आइरहेका छन् । यो प्रतिस्पर्धामार्फत अहिलेसम्म नेपाली र अमेरिकी महिलाले शिक्षा र सशक्तीकरणका लागि ८० हजार डलर बराबरको सहयोग प्राप्त गरेका छन् ।

    सन् २०२१ मा न्यूयोर्कबाट सुरु भएको मिस नेपाल अमेरिकाको पहिलो संस्करण सुजिता बस्नेतले जितेकी थिइन् ।

  • नेपाली फिल्म ‘एक्स-नाइन’मा सोनु सुद र सुनिल सेठ्ठीलाई प्रस्ताव

    नेपाली फिल्म ‘एक्स-नाइन’मा सोनु सुद र सुनिल सेठ्ठीलाई प्रस्ताव

    काठमाडौं । मुलुकमा अहिलेसम्मकै बिग बजेटमा निर्माण हुने दावी गरिएको फिल्म ‘एक्स-नाइन’ अहिले चर्चामा छ । छायांकन कहिलेदेखि सुरु हुने टुंगो नलागेपनि स्टारकास्टको कारण यसले चर्चा पाइरहेको छ ।

    ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको यो प्रोजेक्ट अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको सम्भावित लाइनअपले चर्चामा आएको हो । अनमोल र सौगातसँगै फिल्ममा बुधबार पुष्प खड्का पनि जोडिएका छन् ।

    यसैसाता निर्माताले अनुपविक्रम शाहीसँग पनि अनुबन्धित गर्ने जनाइएको छ । यही फिल्मका लागि अनमोल महंगो मूल्यमा अनुबन्धित भएको निर्माता बताउँछन् । अनमोललाई ७५ लाख रुपैयाँमा अफर गरिएपनि उनको पारिश्रमिकबारे खुलाइएको छैन ।

    सोनु सुद र सुुनिल सेठ्ठीलाई पनि अफर

    बलिउड अभिनेताद्धय सोनु सुद र सुनिल सेठ्ठीलाई पनि ‘एक्स-नाइन’को एक प्रमुख भूमिकामा प्रस्ताव गरिएको छ । निर्माताहरु अहिले यी दुई भारतीय अभिनेतासँग सम्पर्कमा छन् ।

    स्रोतका अनुसार आगामी अक्टोबरमा यीमध्ये कुनै एकजना अभिनेतासँग सम्झौता हुनसक्ने योजनाअनुसार छलफल चलिरहेको छ । यसअघि सुनिलसँग मात्र छलफल चलेपनि निर्माताले सोनुलाई पनि अफर गरेको स्रोतले नेपाल प्रेसलाई बतायो ।

    यी दुई अभिनेतालाई हेरेरै स्क्रिप्ट तयार गरिएको र कुनै एकजनालाई जसरी भएपनि अनुबन्धित गराउने तयारीमा निर्माता छन् । क्यानडा, युरोप र नेपालमा छायांकन गर्ने निर्माण कम्पनीको तयारी छ ।

  • यसवर्षको गाइजात्रा भर्चुअल हुने : गजुरेलले देउवा, पुटिन, जोन्सन र कृष्णगोपाल अवतारमा हँसाउने

    यसवर्षको गाइजात्रा भर्चुअल हुने : गजुरेलले देउवा, पुटिन, जोन्सन र कृष्णगोपाल अवतारमा हँसाउने

    काठमाडौं । यसवर्षको गाइजात्रा भर्चुअल माध्यममार्फत आयोजना गरिने भएको छ । कोरोनाभाइरस महामारीको कारण भदौ १ देखि ७ गतेसम्म एपीवान टिभीबाट गाइजात्रा प्रसारण हुने भएको हो ।

    यसअघि प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यसपटक भने भर्चुअलरुपमा हुने भएपछि हाँस्य कलाकारले सोही अनुसार तयारी थालेका छन् । कमेडियन मनोज गजुरेलले आफ्नो गर्ने कमेडी चरित्र र तिनको हुलिया सार्वजनिक गरेका छन् ।

    यसपटक गजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्दैछन् ।

    उनले जोन्सन र देउवाको भिडिओ कल तथा दुई मुलुकबीचको राजनीतिलाई तुलना गरेर व्यंग्य गर्दैछन् । अर्कोतर्फ धमलाको जमला व्यंग्यमार्फत पुटिन र देउवाको खोप संवाद प्रस्तुत गर्दैछन् । कार्यकालमा चर्चामा आएका पूर्वशिक्षामन्त्री श्रेष्ठबारे पनि उनले व्यंग्य गर्नेछन् ।

    यसपटक पहिलो पुस्ताका हाँस्य व्यंग्य कलाकारहरु शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त लगायतले समेत कमेडी पस्कने भएका छन् । प्यारोडी गीतमार्फत पनि व्यंग्य हुने जनाइएको छ । पशुपति शर्मा, यमन श्रेष्ठ र किरण केसीले व्यंग्य गीत प्रस्तुत गर्नेछन् ।

    पछिल्लो पुस्तामा चल्तीका कलाकार रियाशा दाहाल र भटभटे माइलो समेत चित्रित हुने जनाइएको छ । ‘सबै वर्ग र पुस्ताका कलाकारलाई समेटेर हामीले गाइजात्रा प्रस्तुत गर्न लागेका हौं’ कलाकार गजुरेलले भने ।

     

  • १० करोडमा दीपक-दीपाको ‘छक्कापञ्जा’ मल्टिप्लेक्स, बैशाख १ गतेदेखि संचालन हुने

    १० करोडमा दीपक-दीपाको ‘छक्कापञ्जा’ मल्टिप्लेक्स, बैशाख १ गतेदेखि संचालन हुने

    काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीको शंखमुलमा मल्टिप्लेक्स फिल्म हल निर्माण सुरु गरेका छन् । ‘छक्कापञ्जा’ मल्टिप्लेक्स नाम राखिएको हल आगामी बैशाख १ गतेदेखि संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    १० करोड लागतमा निर्माण हुने बताइएको हलमा दीपकसहितका फिल्म निर्माताहरुको लगानी छ । भाइरस महामारीको कारण जारी निषेधाज्ञा बीचमा पनि अहिले हल निर्माण धमाधम भैरहेको छ ।

    ‘फिल्म गतिविधि नै ठप्प भैरहेको बेलामा हल निर्माणले सुखद सन्देश जाने आशा लिएका छौं’ नेपाल प्रेससँग गिरीले भने, ‘निर्माणका लागि यो राम्रो अवसर पनि हो ।’ दुई अडिटोरियम हुने उक्त हलमा थ्रीडी र एट्मस ध्वनीसहितको अत्याधुनिक प्रविधि जडान हुने जनाइएको छ ।

    आफ्नो चर्चित सिरिज ‘छक्कापञ्जा’ बक्सअफिमा हिट भएदेखि नै दीपक-दीपाले मल्टिप्लेक्स निर्माणको सोच बनाएका थिए । तर, भाइरस महामारीले योजनामा ढिलाइ भएको थियो । तर, निषेधाज्ञा सुरु भएसँगै निर्माणले तीव्रता लिएको हो ।

  • ‘साहो’ भिलेन फिल्म सुटिङलाई काठमाडौंमा, निषेधाज्ञाको बाबजुद फिल्म छायांकन हुँदै

    ‘साहो’ भिलेन फिल्म सुटिङलाई काठमाडौंमा, निषेधाज्ञाको बाबजुद फिल्म छायांकन हुँदै

    काठमाडौं । प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘साहो’मा खलपात्रको भूमिका चित्रण गरेका अभिनेता कनिज कोइराला नेपाली फिल्म अभिनयका लागि काठमाडौं आइपुगेका छन् ।

    अहिले छायांकन भैरहेको फिल्म ‘आँधी तुफान–२’ मा उनी ज्वाइन भएका छन् । मदन घिमिरेले निर्देशन गरिरहेको यो फिल्ममा पनि उनी खलपात्रको भूमिकामा रहेको बताइएको छ ।

    निर्देशक घिमिरेका अनुसार गतसाता मद्रासबाट उनी काठमाडौं आइपुगेका हुन् । ‘आँधी तुफान २’ उनको डेब्यु नेपाली फिल्म हो । मोडलिङबाट अभिनय करिअर सुरु गरेका कनिजले थुप्रै मद्रासी फिल्ममा समेत अभिनय गरेका छन् ।

    २०६३ सालमा निर्माण भएको आँधी तुफानकै सिक्वेलको रुपमा यो फिल्म सुटिङ भैरहेको हो । आरती आचार्य, याङ्सु शेर्पा, रवि गिरी, ध्रुव कोइराला लगायतको मुख्य भूमिका छ ।

    सरकारले आधिकारिकरुपमा फिल्म छायांकनको अनुमति नदिएपनि अहिले केही कास्ट एन्ड क्रिउको उपस्थितीमा फिल्म सुट भैरहेको छ । फिल्म छायांकनलाई अहिले चलचित्र विकास बोर्डले सहजीकरण गरिरहेको छ ।

  • महामारी प्रभावितलाई राहत दिन चलचित्र विकास बोर्डले माग्यो ५० करोड

    महामारी प्रभावितलाई राहत दिन चलचित्र विकास बोर्डले माग्यो ५० करोड

    काठमाडौं । कोरोनाभाइरस महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई राहत प्रदान गर्न चलचित्र विकास बोर्डले सरकारसँग ५० करोड रुपैयाँ मागेको छ ।

    प्रदर्शन हुन बाँकी रहेका फिल्म, बन्द रहेका सिनेमा घर र प्राविधिकलाई राहत दिन उक्त रकम माग गरिएको बोर्ड सदस्य प्रकाश भट्टराईले बताए
    । सरकारले यो रकम उपलब्ध गराए फिल्म क्षेत्रलाई राहत पुग्ने उनले जनाए ।

    प्रदर्शन रोकिएका फिल्मलाई १५ करोड, फिल्म हललाई ३० करोड र श्रमजीवि फिल्मकर्मीको लागि भन्दै बोर्डले ५ करोड रुपैयाँ राहत मागेको हो । बोर्डका अनुसार ३४ फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छन् ।

    बोर्डका अनुसार ११८ हल महामारीको कारण बन्द छन् । बजेटमा फिल्मबारे उल्लेख भएपनि त्यो पर्याप्त नभएको भन्दै बोर्डले सरकारसँग राहतको माग गरेको हो ।

  • बन्द भैसकेका जयनेपाल र गोपीकृष्ण हललाई कर तिर्न महानगरको अन्तिम ताकेता

    बन्द भैसकेका जयनेपाल र गोपीकृष्ण हललाई कर तिर्न महानगरको अन्तिम ताकेता

    काठमाडौं महानगरपालिकाले कर नतिर्ने ५२ कम्पनी तथा व्यक्तिको कालोसूची सार्वजनिक गरेको छ जसमा दुईवटा नाम चलेका फिल्म हलहरु पनि समावेश छन् ।

    महानगरले जय नेपाल र गोपीकृष्ण फिल्म हलले अहिलेसम्म कर नबुझाएको उल्लेख गरेपनि कहिलेदेखि कर बुझाएनन् भन्ने कुरा खुलाएको छैन । कोरोना महामारीको कारण जयनेपाल हल सँधैको लागि बन्द भएको छ भने, गोपीकृष्ण हललाई भत्काइएको छ ।

    कर तिर्न पटक-पटक ताकेता गरिएपनि अबको ३० दिनभित्र करको विवरण नबुझाए कानूनी कार्वाही गर्ने महानगरले जनाएको छ । राजस्व ऐनको दफा १२ बमोजिम तोकिएको कर नतिर्नेको सेवा बन्द गर्ने उल्लेख छ ।

    गोपीकृष्ण र जयनेपाल अघिल्लो वर्ष नै बन्द भएका हुन् । लिज सम्झौता टुंगिएपछि जयनेपाल सँधैको लागि बन्द भएको छ भने गोपिकृष्ण पुननिर्माणको लागि भन्दै बन्द गरिएको छ ।

  • नेपाली ट्रककाे कथामा बन्यो अमेरिकामा फिल्म, निर्देशक रन भन्छन् : नेपाली समाज यसमा चित्रण गरेको छु

    नेपाली ट्रककाे कथामा बन्यो अमेरिकामा फिल्म, निर्देशक रन भन्छन् : नेपाली समाज यसमा चित्रण गरेको छु

    वाशिङ्गटन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् ।

    ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।

    साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ्ग घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाईसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौँबाट चितवनको नारायणगढ उत्रिएका अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।

    त्रिशुली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरु काट्दै तथा कालो धुँवाको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैँमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौँ जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरुलाई तिनका चालक र सहयोगीहरुका दैनिकी पनि निकै रोमाञ्चक रुपमा यस फिल्ममा समेटिएका छन् ।

    अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रुपमा जोडिएको नेपालको साइनो अहिले आएर फिल्ममा उतार्न पाउँदा उनी खुशि छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।

    नेपाली माटो र कथालाई फिल्ममा उतार्न सफल रन अहिले यसैमा दंग छन् । नेपाल जस्तो एक भुपरिवेष्ठित देशको विकासको महत्वपूर्ण आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महत्वपूर्ण साधन हो । ती ट्रकमा कोरिएका चित्रहरुले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।

    ट्रकमा लेखिएको सायरीदेखि आन्तरिक रुपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई फिल्ममा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पुर्‍याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रुपका चित्रहरुले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको कुरा पनि फिल्ममा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो फिल्मा गरिएको छ ।

    डकुमेन्ट्रीभित्र नेपालमा पहिलो पटक भीमफेदीबाट बोकेर ल्याएइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्ष अगाडिको अवस्था र मानिसको चहलपहल फिल्ममा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको डकुमेन्ट्री निर्माणका लागि फोटो ग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रुपमा निकोला रयान्सनले सहयोग गरेका छन् ।

    केही साताभित्र लोकार्पण गर्न लागिएको डकुमेन्ट्रीलाई विभिन्न फिल्म महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरुसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए ।

  • करिना कपुरका पाँच फेसन टिप्स जसलाई प्रशंसकहरु पछ्याउन सक्छन्

    करिना कपुरका पाँच फेसन टिप्स जसलाई प्रशंसकहरु पछ्याउन सक्छन्

    काठमाडौं । फेसन आइकनको रुपमा करिना कपुर बलिउडमा विख्यात छिन् । वाल्यावस्थादेखि उनी फेसन कन्सस हुन् । आमाको लिपस्टिक र हजुरआमाको मस्कारा लगाउने स्वभाव थियो । ऐना अगाडि उभिएर उनी घण्टौं मेकअप गर्थिन् र आफूलाई सजाउँथिइन् ।

    भग इन्डिया म्यागजिनसँग करिनाले मेकअप र यसको शैलीबारे कुरा गरेकी छिन् । अरुलाई प्रेरणा दिने खालको मेकअप गर्नुपर्छ भन्ने उनको विचार छ । यहाँ करिनाको मेकअप स्टाइलबाट सिक्ने सकिने पाँच पाठ यस्ता छन् ।

    १) मेकअप युनिफर्म एउटा राम्रो बिचार

    मेकअपलाई लिएर हुने परीक्षण निकै रमाइलो हुन्छ । जब तपाईं कन्फ्युज हुनुहुन्छ भने आफ्नो विचार जे छ, त्यसै गर्दा हुन्छ । केही वर्षयताको करिनाको इन्स्टाग्राम टाइमलाइन हेर्नुहुन्छ भने, तपाईंले मेकअपका केही टिप्सहरु भेट्नुहुन्छ । ‘मेरो व्यक्तिगत स्टाइल भनेको आरामदायी हुनु हो र मिनिमालिस्टिक (सकेसम्म थोरै) मेकअप टच गर्नु हो । करिना भन्छिन्, ‘दिउँसोपख म न्यूड सेड्स मेकअप गर्छु । जब राती बेडको समय हुन्छ भने स्मोकी आइज र रेड लिप टच मनपर्छ ।’

    २) अनुहारको ढाँचाअनुसार मेकअप गर्नूस

    करिनाको अनुहारमा हेर्दा गालामा देखिने उनका चिकबोन्सलाई लिएर तपाईं वाह नभनी बसिरहन सक्नुहुन्न । हल्का क्रिम र पाउडरको कारण पनि तपाईंले चिकबोन्सलाई आकर्षक देखाउन सक्नुहुन्छ ।

    ३) ग्लो देखिने कुनै ठोस सूत्र छैन

    करिना कपुर प्रायः चिकबोन्स मेकअप रुचाउँछिन् । यात्रामा निस्कँदा पनि उनीसँग चिकबोन्सलाई आकर्षक देखाउने मेकअप सामाग्री साथमा हुन्छन् । करिनालाई लाग्छ, धेरै मेकअप गर्दैमा आकर्षक देखिने होइन । यसका लागि सिजन र समय तालिका अनुसार मेकअप गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ । गर्मी र चिसोमा गर्ने मेकअपको रुटिन सोहीअनुसार हुनुपर्छ ।

    ४) रेड कार्पेटमा सी–साल्ट मेकअप गर्नूस

    ५)कोल रिम्ड आइज मेकअप

  • गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

    गीत समीक्षाः प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’

    प्रकाश सपुतबारे संगीत बजारमा दुईवटा विश्वास स्थापित छन् । पहिलो, उनका हरेक गीत फरक र अनि विशेष हुन्छन् । दोस्रो, उनको नयाँ गीत रिलिज भएपछि ट्रेन्डिङको शीर्षस्थानमा आउनैपर्छ ।

    प्रकाशको पछिल्लो सिर्जना ‘कुरा बुझ्नु पर्च’ ले पनि आम संगीतप्रेमीको यस्तो विश्वासलाई मर्न दिएन । एक हप्ताभित्रै ३० लाखभन्दा बढी भ्यूजसहित यो गीत अहिले नेपालमा युट्यूव ट्रेन्डिङको नम्बर एकमा विराजमान छ । साथै, प्रकाशबाट उनका फ्यानहरूले फेरि एकपटक फरक स्वाद र मिठास पाएका छन् ।

    आम नेपाली गीत-संगीतको मौजुदा स्तरसँग तुलना गर्दा ‘कुरा बुज्नु पर्च’ लाई अब्बल श्रेणीमा राख्न सकिन्छ । यद्यपि, प्रकाशले संगीत क्षेत्रमा आफ्नै जुन स्टान्डर्ड बनाएका छन्, त्यसका आधारमा चाहिँ यो गीत औसत मात्र हो । योभन्दा उत्कृष्ट गीतहरू उनले विगतमा दिइसकेका छन् । गीत कर्णप्रिय छ, तर ‘बोलमाया’, ‘बदला वरिलै’ ‘यो देश मेरो पनि होइन र ?’ जस्तो विशिष्ट चाहिँ छैन ।

    यो गीतमा प्रकाशले आवाज दिएका छैनन् । गीतको शब्द, संगीत र भिडियो अवधारणा एवं निर्देशन उनको हो । भिडियोको अन्त्यमा एक झलक उनी देखिएका छन् ।

    चकलेटी स्वरका धनी गायिकाद्वय शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वरमा यो गीत सजिएको छ । उनीहरू दुवैको आवाज खुलेको छ र गीतलाई सुट पनि गरेको छ । दुई गायिकाहरूको स्वरको प्याट्रन उस्तै भएकाले श्रोताले सहजै छुट्याउन सक्दैनन् ।

    रचनाको कुरा गर्दा, जनमानसले सहजै टिप्ने र गुन्गुनाउने शब्दमाला निर्माण गर्नु प्रकाशको विशेषता हो । उनी गह्रुंगा खालका सन्देश पनि सरल र ठेट शैलीमा सम्प्रेषण गर्न सक्छन् । यो गीतका शब्दमा पनि उनको त्यही क्षमता प्रकट भएको छ ।

    गीत मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि छ । प्रकाशले गीत र भिडियोमार्फत फरक तरिकाले महिला सशक्तीकरणको वकालत गर्न खोजेका छन्। तर, यसनिम्ति पर्याप्त विषयवस्तु भने उनले पेस गरेका छैनन् । सम्भवतः गीतलाई धेरै गह्रुंगो बनाउन नखोजेको हुन सक्छ । धन-सम्पत्ति भएको भन्दा माया गर्ने श्रीमान् चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ गीतले ।

    गीतका शब्दमा प्रकाशले अझै बढी होमवर्क गर्न सक्थे । जस्तो कि, ‘बुढो उठोस् चिया पकावस् भनोस् उठ डियर’ भन्ने पंतिले विवाहपछि बिहान ढिलोसम्म सुत्नु नै युवतीहरूको ‘अल्टिमेट’ चाहना हो त भन्ने प्रश्न उब्जाउँछ । ‘श्रीमान्‌ले रक्सी खाँदा आफूलाई पनि चखाओस्’ भन्ने पंतिले पनि महिला-पुरुष समान हुन् भन्ने भावलाई प्रतिबिम्बत गर्दैन ।

    भिडियो पनि अब्बल

    संगीतमामात्रै नभएर भिडियोमा पनि प्रकाशले आफ्नो सिर्जनशीलताको भरपुर प्रयोग गरेका छन् । गीतको भिडियोमा कथा भन्ने शैलीलाई यसमा पनि उनले निरन्तरता दिएका छन् ।

    कतिपय त्रुटीहरू नभएका होइनन् । जस्तो कि यो गाउँका युवतीहरूको कथा हो कि सहरका भन्नेमा विरोधाभास देखिन्छ । आँचलले आफूलाई आँखा झिम्क्याउने केटाको सुरुवाल तानिदिएको दृष्य रमाइलो त छ, तर अर्थपूर्ण छैन ।

    यस्तै, आफूलाई माग्न आउने केटालाई आँचलले प्रदीप खड्काको तस्वीर देखाउनु र थप्पड हानेर हिँड्नुको कारण खुल्दैन । बरु अन्तिममा मिन्स भएकी गर्लफ्रेन्डका लागि व्वाइफ्रेन्डले प्याड ल्याइदिएको दृष्यले धेरै युवतीलाई मन पर्न सक्छ ।

    आँचल शर्मा र स्वस्तिमा खड्काको चटपटे जोडी भिडियोमा खुब जमेको छ । जवानीले भरिएका चञ्चल र आत्मविश्वासी युवतीको भूमिका उनीहरू खुलेका छन् । डान्समा पनि उनीहरूको ट्युनिङ मिलेको छ ।

    समग्रमा प्रकाश सपुतले अर्को एउटा लोकप्रिय सिर्जना पस्केका छन् । आगामी केही दिनसम्म यो गीतका भाकाहरू टीकटकमा छाउने त छन् नै अब आउने तिजमा पनि यो गीतले राम्रै वर्चश्व कायम गर्ने आशा राख्न सकिन्छ ।

  • खोप नलगाउनेलाई साथी नबनाउने अभिनेत्री जेनिफरको निर्णय

    खोप नलगाउनेलाई साथी नबनाउने अभिनेत्री जेनिफरको निर्णय

    लस-एन्जल्स । अमेरिकामा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या कूल जनसंख्याको ५० प्रतिशत पनि पुगेको छैन । अपेक्षा गरिएअनुसार खोप लगाउने दर वृद्धि नहुँदा राष्ट्रपति बाइडेनलाई दबाब परिरहेको छ ।

    यस्तोमा, खोप लगााउने कुरालाई लिएर हलिउड पनि विभाजित हुन थालेको छ । अभिनेत्री जेनिफर एनिस्टनले खोप नलगाउनेलाई आफूले साथी नबनाउने र सम्बन्ध नराख्ने कुरा सार्वजनिकरुपमै घोषणा गरेकी छिन् ।

    इन-स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिँदै एनिस्टनले आफूले सहि निर्णय गरेको र अडानबाट पछि नहट्ने बताएकी छिन् । ‘अहिले पनि खोप लगाउन नचाहेको संख्या ठूलो छ’ एनिस्टन भन्छिन्, ‘किनभने उनीहरु खोपविरोधी कुरा गर्दै हिँड्छन् र उनीहरुलाई तथ्यमा विश्वास छैन ।’

    खोप नलगाएकै कारण आफूले केही साथीहरुलाई गुमाएको एनिस्टनको भनाई छ । एनिस्टनको पछिल्लो अडानलाई लिएर ३७.७ मिलियन फलोअर्स भएको उनको इस्टाग्राममा बहस भैरहेको छ ।

  • आलोचकलाई जवाफ दिँदै दुर्गेशको ‘बीच्च बीच्चमा ५’, भिडिओमा पलको साथ

    आलोचकलाई जवाफ दिँदै दुर्गेशको ‘बीच्च बीच्चमा ५’, भिडिओमा पलको साथ

    काठमाडौं । दुर्गेश थापा र पल शाहको नयाँ तीज गीत ‘बीच्च बीच्चमा ५’ आज इन्टरनेट रिलिज भएको छ । यो डान्सिङ ट्रयाकलाई दुर्गेशले कम्पोज गरेका हुन् भने शब्द पनि उनकै छ ।

    बसन्त थापासँग मिलेर दुर्गेशले गीत गाएका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतमा दुर्गेश र पल दुबैजना फिचर्ड छन् ।

    दुर्गेशको अघिल्लो गीत ‘ख्यास्स पुतली’लाई लिएर लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाएको थियो । दुर्गेशलाई संस्थाको सदस्यताबाट हटाएको निर्णय उसले गरेको छ । तर, बहिष्कार गरिएको भन्ने कुराको विज्ञप्तिमार्फत उसले खण्डन गरेको छ ।

    संस्थाले हटाउने निर्णय गरेको एकसातामै दुर्गेशले नयाँ तीज गीत बाहिर ल्याएका हुन् । आफ्नो हिट गीत बीच्च बीच्चको सिक्वेलको रुपमा दुर्गेशले गीत ल्याएका हुन् । उनले यस गीतमार्फत आफ्ना आलोचकलाई जवाफ दिएका छन् । हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=FKhAWKUk-xI

  • ‘ब्ल्याक विडो’ बन्यो यसवर्ष सर्वाधिक कमाउने हलिउड फिल्म, ‘एफ-नाइन’को कमाइलाई उछिन्यो

    ‘ब्ल्याक विडो’ बन्यो यसवर्ष सर्वाधिक कमाउने हलिउड फिल्म, ‘एफ-नाइन’को कमाइलाई उछिन्यो

    न्यूयोर्क । उत्तर अमेरिकी बक्क्सअफिसमा हलिउड सुपरहिरोइन फिल्म ‘ब्ल्याक विडो’ले अर्को बिगबजेट फिल्म ‘एफ नाइन’को ग्रस कमाइलाई उछिनेको छ ।

    स्कारलेट जोहान्सन स्टारर फिल्मले १७४ मिलियन डलर कमाएको छ भने भिन डिजेल स्टारर ‘एफ-नाइन’ले १७१ मिलियन डलर कमाइ गरेको छ । यो सँगै ब्ल्याक विडो सन् २०२१ मा सर्वाधिक ग्रस कमाउने हलिउड फिल्म बनेको छ ।

    केट सट्ल्यान्ड निर्देशित ‘ब्ल्याक विडो’ले सिनेमा घरमा पहिलो सप्ताहन्त ८०.३ मिलियन डलर कमाएको थियो जुन महामारीपछिकै सर्वाधिक हलिउड कमाइ हो ।

    ‘ब्ल्याक विडो’ फिल्म हल र डिज्नको स्ट्रिमिङ प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । आगामी डिसेम्बर मध्यमा रिलिज तयारीमा रहेको ‘स्पाइडर म्यान : नो वे होम’ले सम्भवतः ब्ल्याक विडोलाई चुनौति दिने अनुमान छ ।

  • भ्वाइस अफ नेपालको किड्स संस्करणमा प्रमोद र प्रविशा कोचको रुपमा घोषणा

    भ्वाइस अफ नेपालको किड्स संस्करणमा प्रमोद र प्रविशा कोचको रुपमा घोषणा

    काठमाडौं । अब बालबालिकालाई लक्षित गर्दै द भ्वाइस अफ नेपालको किड्स संस्करण हुने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक लक्ष्मण पौडेलले डिजिटल अडिसन सुरु भएको बताए ।

    किड्स संस्करणका लागि कोचहरुमा प्रमोद खरेल र प्रविशा अधिकारी फाइनल भएका छन् भने थप दुई कोचको घोषणा केही दिनमा हुने भएको छ । कोचले पूर्णता पाएपछि ब्लाइन्ड अडिसनको सुरुआत हुने जानकारी उनले दिए ।

    भाइरस महामारीको कारण गरिएको डिजिटल अडिसनमा प्रतिस्पर्धीको संलग्नता उत्साहजनक रहेको पौडेलले बताए । कूल ४८ जना प्रतिस्पर्धी छनौट गरेर कार्यक्रमले आगामी दुई महीनामा प्रसारण सुरु गर्ने भएको छ ।

    निर्देशक पौडेलका अनुसार किड्स संस्करणको ढाँचा पनि एडल्ट संस्करणको जस्तै हुने भएको छ ।

  • अनमोलपछि सौगात मल्ल पनि फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    अनमोलपछि सौगात मल्ल पनि फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित भएका छन् । मुुकुन्द भट्टले निर्देशन गर्ने यो फिल्ममा आइतबार मात्र अनमोल केसी पनि ज्वाइन भएका थिए ।

    यसअघि भट्टसँग फिल्म लप्पन छप्पनमा सहकार्य गरेका सौगातले यो फिल्ममा अभिनय गर्ने चरित्रबारे खुलाइएको छैन । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ ।

    फिल्ममा किङ योगी र मुकुन्द भट्टको पटकथा हुनेछ । राजीव तामाङ, वीरेन कुँवर, सोनु खत्री र सुबोध भट्ट निर्माता हुन् । दिनेश भट्ट कार्यकारी निर्माता हुन् । अन्य कलाकारसँग अनुबन्धनको तयारीमा निर्माताहरु जुटेका छन् । फिल्मको सिक्वेलको रुपमा अहिले कलाकारहरु लिइएको जनाइएको छ ।

  • किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

    किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

    सन २०१७ को फेब्रुअरी अन्तिम साता म दिल्लीमा थिएँ । दिल्लीमा भएको दक्षिण एसियाली साहित्य उत्सवमा सहभागी हुन त्यहाँ पुगेको थिएँ । फेब्रअरी २४, २५ र २६ मा भएको कार्यक्रमको उद्घाटन इन्डिया इन्टरनेसनल सेन्टरमा भएको थियो ।

    नेपाल र भारतका केही सहर मात्रै घुमेको मेरो पहिलोपटक दक्षिण एसियाका पाकिस्तान बाहेकका सबै देशका नागरिकसँग भेट हुँदै थियो । रोचक कुरा, धेरैले मलाइ ‘अफगानी’ भएको लख काटे । अफगानीबाहेक भारत, बंगलादेश, श्रीलंकादेखि भुटानसम्मका कवि-साहित्यकारले ‘तपाईं अफगानिस्तानबाट हो ?’ भनेर पटक-पटक सोधिरहे । मलाइ रोचक अनुभव भइरह्यो ।

    नेपाल बाहेकका सबै देशका प्रतिनिधिसँग आ-आफ्नो तरिकाले व्याक्तिगत कुराकानी भयो । अनुभव आदानप्रदान भयो । मलाइ धेरै चासो भने भुटानी टीमसँग थियो । चार जनाको थियो भुटानी प्रतिनिधिमन्डल । तीन जना भुटानको अन्य भाषा बोल्ने । एक जना नेपाली भाषा बोल्ने । अचम्म चाहिँ नेपाली मातृभाषा हुने कविले खासै बोल्न चाहेनन् । औपचारिकता मात्रै निभाए । तर, अन्य भुटानी कवि साहित्यकार भने खुलेर बोले । बोल्ने क्रममा धेरै निकट भयौं कवि छादोर वाङमो र म ।

    मलाइ लाग्थ्यो, भुटानमा नेपाली भाषा, नेपालीभाषी समुदायले मात्रै बोल्छन् र बुझ्छन् । तर होइन रहेछ । छादोर वाङमोलाई नि फरर नेपाली आउँदोरहेछ । नेपाली आउने मात्रै हैन नेपाली चलचित्रहरु बाल्यकालमै हेरेकी रैछिन् उनले । सन् १९९० को दशकमा शरणार्थी समस्या हुनुभन्दा अगाडि भुटानमा नेपाली चलचित्र मज्जाले चल्थे । त्यही पुस्ताकी सदस्य हुन् वाङ्मो । उनको फेबरेट हिरो राजेश हमाल । कतिपय चलचित्रका डाइलगसमेत उनलाइ याद रहेछ ।

    शरणार्थी समस्या सुरु भएपछि भुटानमा नेपालमा बनेका फिल्म चल्न छोडे । नेपाल–भुटान नागरिक स्तरको सम्बन्धमा तनाव आयो । कुटनीतिक र सामाजिक समस्या बढ्यो । एक हिसाबले भन्ने हो भने सामाजिक सम्पर्कसुत्रमा पूर्णबिराम लाग्यो । करिब दुई दशकपछि इन्टरनेटले गाउँगाउँमा पहुँच पुर्याउन थाल्यो । इन्टरनेट पुगेसँगै युट्युबबाट नेपाली गीत, फिल्म र संगीत पुनः भुटानका घरघरमा पुग्न थाले ।

    हामीले कुराकानी गर्दा वाङ्मा भन्दै थिइन्, भुटानमा धेरै युवायुवतीहरुलाई आस्था राउतको ‘चौबन्दीमा पटुकी..’ गीत कन्ठै छ । वाङमोले यस्तो भन्दा लाग्यो-राजनीतिले बिगारेको सम्बन्ध इन्टरनेटले सुधार्यो ।

    भुटान त शरणार्थि समस्याले गाँजिएर सम्वन्ध बिग्रेको देशको कुरा भयो । भारत, म्यानमारदेखि थाइल्यान्ड लगायतका नेपालीभाषी स्थानिय नागरिकहरुलाई इन्टरनेटले जोडेको छ । केही हप्ता अगाडि विद्या चापागाईंको ‘हेर्ने कथा’ को ‘भादाको कथा’ मा भारतको आसामका यु्वा नकुल शर्माले भावुक कमेन्ट गरेका छन् ।

    उनले लेखेका छन्, ‘आसाममा नि आउनुस न दिदी । हामी नि आसाममा ५० लाख नेपाली छौँ ।’ यस्तै आफुलाई भारतीय गोर्खाली भन्ने पवन राईले पनि सोही भिडियोमा कमेन्ट गर्दै तारिफ गरेका छन् । अर्थात विद्याको ‘हेर्ने कथा’ नेपालीहरुको मात्रै कथा रहेनछ । यो त नेपाली भाषी विभिन्न देशका नागरिकको पनि रोजाइ रहेछ ।

    केही समय अगाडि एपिवानको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रममा बंगलादेशका नेपालीभाषी ‘मनोजबहादुर गोर्खा’ को कथा आयो । त्यो कथाले बंगलादेशमा समेत नेपालीभाषी रहेको देखिन्छ । थाइल्यान्डमा नेपाली भाषा सिक्दा भावुक भएका युवतीहरुको कथा थाइ नेपाली असोसिएसनको नाममा युट्युबमा अपलोड भएका तीज कार्यक्रमले देखाउँछ । म्यानमारका नेपाली गाउँका कथाहरु धेरैले जानिसकेका छौँ । म्यानमारका नेपालीभाषीका विभिन्न गीतहरु युटय्बुमा हेर्न सकिन्छ ।

    किरण गजमेर र नेपाली भाषाको कार्यक्रमको फैलावट

    भुटानी कवि छादोर वाङमो, भारतीय नेपालीभाषी नागरिक नकुल शर्मा अनि पवन राई, बंगलादेशका नेपालीभाषी मनोजबहादुर गोर्खा हुँदै थाइल्यान्डका नेपालीहरुको उदाहरणले नेपाली भाषाको सामथ्र्य देखाउँछ । म्यानमारका गाउँगाउँमा भएका नेपाली बस्ती र नेपाली संस्कृतिले नेपालीपन देखाउँछ ।

    तर, यो नेपालीपन भनेको नेपाली नागरिकता, चुच्चे नक्सा र नेपाल देशको भूगोलको कुरा हैन । नेपाली भाषाले जोडेको आत्मियताको कुरा हो । त्यही कुराको भावको गीत ग्रान्ड फिनालेमा गाएरै किरण गजमेर बिजयी भए । उनले गाएका थिए, ‘जसो गर जे भन जता सुकै लैजाउ मलाइ । यो मन त मेरो नेपाली हो…।’

    किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

    शनिबार मध्यरातमा द भ्वाइस अफ नेपालको बिजेता बनेका किरण गजमेरको जित लाख बढी नेपालीभाषी भुटानी शरणार्थीको गौरव हो । संसारभर छरिएर रहेका नेपालीभाषीको खुशी हो । नेपाली रियालिटी शोहरुलाई दशगजा पारी लैजान चाहनेहरुको जित हो । वैश्विक नेपाली मनको सान्त्वना हो ।

    सन् १९९३ मा भुटानबाट लखेटिएर किरणका हजुरबुबादेखि बुबाहरु नेपाल आए । झापाको खुदुनाबारी शिविरमा बस्दाबस्दै किरण २०५४ सालमा जन्मे । सन् २०११ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका उडे । भोइस अफ नेपालकै लागी भनेर उनी आठ महिनादेखि नेपालमा छन् ।

    आफ्ना सहयोगीसँगै उनी नेपाल आएर आठ महिना बस्नु, भोटिङ गर्नु र नेपाल-अमेरिका हवाई यात्रा गर्नु, भ्वाइस अफ नेपालको २५ लाख पुरस्कार भन्दा कयौँ महँगो छ । अझ आठ महिना नेपाल बसेका किरण र अरु सहयोगीले अमेरिकामा काम गरेर कमाउने पैशा त कहाँ हो कहाँ धेरै हुन्थ्यो । नेपाली गीत-संगीतको मायाले नेपाली रियालिटी शोको लागि उनीहरुले त्याग गरे । त्यो त्यागभित्रै नेपालीपनको सुगन्ध छ ।

    किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

    रियालिटी शो, नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावर

    २०७७ मंसिर २१ गते नेपालको पहिलो लिखित परराष्ट्र नीति सार्वजनिक भयो । नीतिले पब्लिक डिप्लोमेसीदेखि सफ्टपावरसम्मको कुरा गरेको छ । पब्लिक डिप्लोमेसी र सफ्ट पावरमा रियालिटी शोहरु पनि एक गज्जब माध्यम बन्ने देखिएको छ ।

    भ्वाइसअफ नेपालदेखि अहिले चलिरहेको कमेडी च्याम्पियनसम्ममा नेपाल बाहिरका नेपाली भाषीहरुको आकर्षण देखिन्छ । आगामी दिनमा आउने अरु विश्वस्तरीय रियालिटी शोहरुमा यो सिलसिला दोहोरिनेछ । यसलाई नेपाल सरकारले पब्लिक डिप्लोमेसी र सफ्टपावर प्रबद्र्धन गर्न सदुपयोग गर्न सक्छ ।

    नेपाली कार्यक्रमहरुमा नेपालीभाषी सहभागी गराउने प्रक्रियामा सरकारले सहयोग गर्न सक्छ । जस्तै भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड लगायत देशमा पुस्तौँदेखि बसेका नेपालीभाषी सहभागीहरु कार्यक्रममा आए उनीहरुको हवाइ टिकट र भिजा शुल्कमा सरकारले सहुलियत दिन सक्छ । भारत र नेपाल खुल्ला सिमाना र सस्तो यातायात भएकोले भारतबाट आउने आफैं सहजै आउन सक्छन । भारत बाहेकका क्षेत्रबाट आउनेहरुलाई सरकारले हौसला दिनसक्छ ।

    सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।

    भाषा र संस्कृतिको विकासको नाममा कोठे बैठकहरुमा लाखौँ सक्नुभन्दा यस्ता कार्यक्रमको प्रभावकारिता र क्षेत्रफल ठुलो हुन्छ । नेपाली भाषाको मात्रै हैन भविष्यमा नेपालका अन्य भाषाहरु मैथिली, भोजपुरी लागायतका कार्यक्रम हुँदा पनि सरकारले यसैगरी सहयोग गर्न सक्छ ।

    रियालिटि शोहरुले डिजिटल अडिसन मात्रै हैन, फिजिकल अडिसन सम्भव भएसम्म नेपाल बाहिरका विभिन्न देशहरुमा गर्दा अझ राम्रो हुन्छ । छनौट गर्दा पनि टप १० मा नेपाल बाहिरका सहभागीलाई कोटा छुट्याउन पनि सकिन्छ । यसले त्यी देशका नेपालीभाषीलाई आकर्षित गर्न सकिन्छ । युट्युब स्ट्रिमिङमार्फत जहाँबाट पनि हेर्न सकिने भएकोले सहज छ ।

    आज हलिउडदेखि मिस वर्ल्ड हुँदै मिस युनिभर्ससम्मले विभिन्न बजारमा पुग्न त्यहाँका सहभागीलाई ल्याएको देखिन्छ । नेपाली रियालिटी शोहरुले त्यही सुत्र प्रयोगमा ल्याउन सक्छन् । सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।

  • मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । न्यूयोर्कमा आज बिहान भएको ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले क्राउन पहिरिएकी हुन् ।

    फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

    ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए ।

    कसले कुन विधामा जिते ?

    मिस ट्यालेन्ट : रोशिका गजमेर
    मिस कम्युनिटी आउटरिच : एलिना राई
    मिस पपुलर : नग्मा गुरुङ्ग
    मिस स्माइल : निमिका थापा
    मिस बेस्ट ड्रेस : सेलिषा नेपाल
    मिस पर्सोनालिटी : गरिमा ज्ञवाली
    मिस डिसीप्लेन : सुप्रिता फुयाल
    मिस क्याटवाक : दिना केसी
    मिस पर्सोनालिटी : गरिमा ज्ञवाली
    मिस राईजिगं स्टार : अलिशा गुरुङ्ग
    मिस स्किन : चाँदनी लामा
    मिस बेस्ट हेयर : मुना नेपाल
    उत्कृष्ट शरीर : उर्जा केसी
    उत्कृष्ट हेरिटेज : जेनी रावत

     

  • सेलेव्रिटीले लगाए कोभिडविरुद्धको खोप (तस्विरहरु)

    सेलेव्रिटीले लगाए कोभिडविरुद्धको खोप (तस्विरहरु)

    काठमाडौं । फिल्म तथा संगीत क्षेत्रका सेलेव्रिटीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । आइतबार पाटन खोप केन्द्रमा सेलेव्रिटीले भेरोसेल खोपको पहिलो मात्रा लगाए ।

    चलचित्र विकास बोर्डको समन्वयमा आयोजना गरिएको खोप लगाउन कलाकार, प्राविधिक, निर्माता, निर्देशकदेखि जनजाति फिल्मकर्मी खोप केन्द्र पुगेका थिए ।

    धिरेन शाक्य, पल शाह, दुर्गेश थापासहित दर्जनौं कलाकारले खोप लगाए । कतिपय फिल्मकर्मीले चाहिँ यसअघि नै खोप लगाइसकेका छन् । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार तीन हजारभन्दा बढी फिल्मकर्मीलाई खोप लगाउने कार्यक्रम छ ।

    खोप लगाउन सकिए फिल्म गतिविधिलाई पनि लयमा फर्काउन सकिने आशामा विकास बोर्ड छ । अहिले फिल्म गतिविधि पूर्णरुपमा ठप्प छ ।
    तस्विरहरु : उमेश कार्की

     

  • महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    महंगो मूल्यमा अनमोल केसी फिल्म ‘एक्स-नाइन’मा अनुबन्धित

    काठमाडौं । मुकुन्द भट्टले निर्माण गर्न लागेको नयाँ फिल्म ‘एक्स-नाइन’मा अनमोल केसी औपचारिकरुपमा अनुबन्धित भएका छन् ।

    राजधानीको मेरियट होटलमा शनिबार अभिनेता केसी र फिल्म निर्माता कम्पनी गोल्डेन हिल्स पिक्चर्सबीच लिखित सम्झौता भएको छ । जनवरीदेखि सुरु हुने फिल्मको सुटिङ क्यानडा, युरोप र नेपालमा हुने जनाइएको छ ।

    किङ योगी र मुकुन्द भट्टको पटकथा हुनेछ । राजीव तामाङ, वीरेन कुँवर, सोनु खत्री र सुबोध भट्ट निर्माता हुन् । दिनेश भट्ट कार्यकारी निर्माता हुन् । अन्य कलाकारसँग अनुबन्धनको तयारीमा निर्माताहरु जुटेका छन् ।

    अनमोल महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्धित भएको जनाइएको छ ।

  • भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

    भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

    काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् ।

    टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई भने टप फोरमा मात्र अटाउन सकेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।

    विजेता भएका किरण गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’का लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

  • तीनहजार फिल्मकर्मी र कलाकारलाई आजदेखि कोरोनाको खोप लगाइने

    तीनहजार फिल्मकर्मी र कलाकारलाई आजदेखि कोरोनाको खोप लगाइने

    काठमाडौं । तीनहजार भन्दा बढी फिल्मकर्मीलाई आजदेखि कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    चलचित्र विकास बोर्डका अनुसार ललितपुर पाटनस्थित खोप केन्द्रमा फ्रन्टलाइनमा खटिने फिल्मकर्मीलाई खोप लगाउन लागिएको हो ।

    बिहान ९ बजे कलाकारहरुलाई, ११ बजे निर्मातालाई, १ बजे प्राविधिकलाई, २ बजे नृत्य र द्वन्द्व कलाकारलाई, ४ बजे निर्देशक र संगीतकर्मीलाई र बेलुका जनजाति फिल्मकर्मीलाई समय निर्धारण गरिएको छ ।

    चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले संस्थाको सदस्यता परिचत्रपय लिएर खोप लगाउन पाइने व्यवस्था मिलाइएको जानकारी दिए । ‘फ्रन्टलाइनमा खटिने फिल्मकर्मीलाई खोप लगाउन सकिए कामलाई पनि लयमा ल्याउन सकिन्छ’ दाहालले भने ।

    कोरोना महामारीको कारण अहिले फिल्म क्षेत्र ठप्प छ भने फिल्मकर्मीले खोप लगाउन पाउनुपर्ने माग गरेका छन् ।