काठमाडौं । अहिले नेपालका हिमाली थलोहरुमा बलिउड फिल्म ‘उचाइ’को छायांकन भैरहेको छ । मंगलबार सगरमाथा क्षेत्रको लुक्लामा फिल्म छायांकन सकिएको छ भने बुधबारदेखि नाम्चेमा हुँदैछ ।
फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ । थ्री हिव्लर्स कम्पनीका अनुसार मुस्ताङमा भने छायांकन हुनेछैन ।
बलिउडका ए-लिस्टर निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङलाई अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी लगायतका कलाकार नेपालमा छन् ।
मंगलबार इन्स्टाग्राममार्फत सगरमाथाको सुन्दर तस्बिर सेयर गर्दै परिणिती र अनुपमले प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन् । सगरमाथासामु जोकसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् भने परिणितीले सगरमाथाको नम्रताको वर्णन गरेकी छिन् ।
उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने जनाइएको छ ।
काठमाडौं । लामो समयको अन्तरालमा नयाँ नेपाली चलचित्र आज हलमा रिलिज हुँदैछ । शोभित बस्नेत निर्देशित चलचित्र हलमा लाग्दै गर्दा चलचित्र क्षेत्रको माहोल भने राम्रो छैन । खासगरी ‘महानायक विवाद’ ले यस चलचित्रलाई नराम्ररी कुठाराघात गरेको छ ।
यही विषयलाई लिएर अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन् । नेपालका चलचित्रकर्मीहरु एउटाले अर्काेलाई प्रहार गर्दा चलचित्र उद्योग घाइते भइरहेको उनको गुनासो छ ।
‘फेसबुक, टिकटक, फिल्मीन्यूज हरूले हाम्रो बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ,’ गिरीले फेसबुकमा लेखेका छन्, ‘उसलाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन ! किनकि अलि–अलि छिट्टा त हामि सबैलाई परेको छ, पर्छ पनि ।’
गिरीले व्यर्थका बहस तथा आरोप प्रत्यारोपहरु बन्द गर्न अपिल गरेका छन् । डाँडाको वरपिपललाई उनले शुुभकामना दिएका छन् ।
‘धेरैपछि नेपाली फिÞल्म हलमा आएको छ, कमसेकम शुभकामना दिऔं ‘डाँडा पारीको वरपिपल’ लाई । थप बिबाद नगरौ !’ उनले भनेका छन् ।
महानायक विवादतर्फ ईंगित गर्दै गिरीले लेखेका छन्, ‘महान को हो त्यो निर्णय हामीले गर्ने होइन । त्यसैले आ–आफ्नो गल्ति स्विकार गरेर, हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं ! यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु !’
काठमाडौं। बलिउड गायक मिका सिंहले नेपाली गायनमा डेब्यु गरेका छन् । उनको आवाजमा रहेको नेपाली गीत ‘बोतलको बिर्को’ आज इन्टरनेट रिलिज भएको छ । मुम्बई स्टूडियोमा रेकर्ड गरिएको गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।
विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको भिडिओमा नेपाली फिल्मका दुई अभिनेता आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ । आर्यनको जोडीको रुपमा एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ ।
दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको भिडिओमा अस्मिता लामिछाने सह-निर्माताको रुपमा छिन् । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।
भिडिओका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए । उनी यो गीतको अडिओ र भिडिओ निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । हेर्नूस गीत :
काठमाडौं । रिलिज पूर्वसन्ध्यामा फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर गरिएको छ । राजधानीको बानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा कलाकारहरुको उपस्थितमा फिल्म देखाइयो ।
सलोन बस्नेत, रविना थापा, शोभित बस्नेत, रेखा थापा लगायतका कलाकार प्रिमियरमा सहभागि रहे । फिल्म हल बन्द रहेको पाँच महीनापछि हल खुलेसँगै प्रिमियर आयोजना गरिएको हो ।
मंगलबारदेखि शोभित बस्नेत निर्देशित फिल्म देशव्यापी प्रदर्शन हुँदैछ । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । अन्तरजातिय प्रेमको कथामा निर्माण भएको फिल्ममा सलोन र रुविनाको मुख्य अभिनय छ ।
करिब १६ वर्षपछि यो फिल्ममार्फत शिव श्रेष्ठ र भुवन केसीले पनि अभिनयमा सहकार्य गरेका छन् । ‘डाँडाको वरपीपल’ हल खुलेपछि रिलिज हुने पहिलो नेपाली फिल्म हो । असोज २१ गते विदेशी फिल्म प्रदर्शनमा आइसकेको छ ।
फिल्म प्रमोसनको क्रममा उत्पन्न भएको महानायक विवादले फिल्म चर्चामा आएको थियो । गीत रिलिज कार्यक्रममा निर्देशक बस्नेतले शिव श्रेष्ठ महानायक र भुवन केसी सुपरस्टार भएको बताएका थिए । यो कुुरा विवादित भएपछि उनले राजेश हमाललाई भेटेरै माफी मागेका थिए ।
काठमाडौं । सरकारले नेपालमा स्वच्छन्दरुपमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममाथि नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन फिल्मलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ ।
इन्टरनेटका विभिन्न प्लेटफर्ममार्फत प्रशारण हुने स्वदेशी-विदेशी फिल्म तथा विज्ञापनहरु हालसम्म कुनै सेन्सरबिना जस्ताकाे तस्तै दर्शकसम्म पुगिरहेका छन् । यसलाई सरकारले कानूनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि सरकारले सम्बाेधन गरेकाे हाे ।
मन्त्रालयकाे सूचनामा यस्ता फिल्म तथा विज्ञापन फिल्मको जाँचपास गराएर मात्र सार्वजनिक प्रदर्शन र प्रसारण गर्न मन्त्रालयले भनेको छ । नियमको उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजारसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने तथा उपकरणहरु जफत गर्न सक्ने छन् ।
काठमाडौं । मिस युनिभर्स नेपालको १८ अन्तिम प्रतिस्पर्धीको सूची घोषणा भएको छ । यो सूचीमा यसअघि विभिन्न ब्यूटी पेजेन्टहरुमा चर्चित भैसकेका नामहरु पनि संलग्न छन् ।
काठमाडौं । नेपाली र भुटानी फिल्म बजारलाई लक्षित गर्दै भारतको उत्तरपूर्वी राज्य सिक्किमले फिल्म पर्यटन खुला गरेको छ । सिक्किम सरकारले छिमेकी मुलुकका फिल्म छायांकनलाई आकर्षित गर्न आर्थिक प्याकेज पनि घोषणा गरेको छ ।
सिक्किम सरकारले केही मापदण्ड तोक्दै राज्यमा छायांकन हुने फिल्मलाई १ करोड रुपैयाँ भारु अनुदान दिने भएको छ । जसका लागि फिल्मको ७५ प्रतिशत सुटिङ सिक्किममै हुनुपर्नेछ भने ५० प्रतिशत कलाकार त्यहीँबाटै लिएको हुनुपर्नेछ ।
‘हामी फिल्ममार्फत सिक्किमको पर्यटनमा वृद्धि गर्न चाहन्छौं । नेपाली फिल्मलाई महत्व दिएर काम गर्ने हाम्रो योजना छ’ यसैसाता नेपाल प्रेसको काठमाडौं कार्यालयमा आइपुगेका सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा र फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्माले भने ।
भाषिक र सांस्कृतिकरुपमा निकट नेपाली र भुटानी फिल्म छायांकनसँगै अन्य विश्व फिल्मलाई पनि राज्यमा आकर्षित गर्ने नीति रहेको मन्त्री डा. शर्माले बताए । ‘विश्वमा सिक्किमको स्थान जुन किसिमले खडा हुनुपर्ने हो त्यो भएको छैन’ उनले भने, ‘हामी फिल्म पर्यटनमार्फत सिक्किमे विकासको सम्भावना खोज्न चाहन्छौं ।’
सिक्किममा नेपाली फिल्म सुटिङ र प्रदर्शनका लागि विद्यमान अप्ठ्यारालाई सहजीकरण गर्न राज्य सरकार तयार रहेको समेत मन्त्री डा. शर्माले बताए । ‘फिल्म पर्यटनमार्फत आर्थिक र सांस्कृतिक सम्बन्धलाई अघि बढाउने र फिल्मलाई नेपाल र भारतबीचको कूटनीतिक माध्यमको रुपमा अघि बढाउने हाम्रो उद्देश्य हो’ उनले भने ।
नेपाल र सिक्किम दुबैलाई लाभ मिल्ने गरि फिल्म अलायन्स बनाउने आफूहरुको योजना रहेको र यसबाट दुबै छिमेकीले फाइदा उठाउन सक्ने बोर्ड अध्यक्ष शर्माले बताइन् । ‘नेपाली फिल्मलाई महत्व दिएर हामी काम गर्न चाहन्छौं’ उनले भनिन्, ‘यसका लागि हामी आर्थिक मात्र हैन, बन्दोबस्ती सहयोग गर्न पनि तयार छौं ।’
सिक्किमका स्वास्थ्यमन्त्री डा. मणीकुमार शर्मा
सिक्किमले सन् २०२० मै फिल्म पर्यटन नीति घोषणा गरेपनि कोरोनाभाइरस महामारीले रोकिएको थियो । भाइरस संक्रमण घटेपछि थलिएको अर्थतन्त्रलाई उकास्न फिल्म पर्यटनलाई अघि बढाइएको हो । यो नीतिको चाँडै औपचारिक घोषणा गर्ने तयारी भएको छ ।
फिल्म पर्यटन योजनाअन्तर्गत सिक्किमले नेपालसँग सांस्कृतिक आदानप्रदान गर्ने समेत भएको छ । यसका लागि डिसेम्बर १० देखि १४ सम्म ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण सिक्किममा हुँदैछ । यो फेस्टिभलमा राजेश हमाल, अनमोल केसीदेखि नेपाली फिल्मका स्टारहरुलाई बोर्डले निम्तो दिएको छ ।
‘हामी दुबै छिमेकीबीच सांस्कृतिक सम्बन्ध आदानप्रदानलाई घनिभूत तुल्याउन चाहन्छौं’ शर्माले भनिन्, ‘यो कार्यबाट हामीले सिक्किमको लुकेको सौन्दर्यलाई उपयोग गर्न सक्छौं । सिक्किमको भूगोलमा ७८ प्रतिशत ठाउँ ओगटेको हरिया पहाडहरु नेपाली फिल्मका लागि दर्शनीय हुनसक्छ ।’
यसका लागि सिक्किमले आकर्षक छायांकन गन्तव्यहरु समेटिएको क्याटालग पनि प्रकाशन गरेको छ । हालै आयोजित भारतको राष्ट्रिय फिल्म अवार्डमा सिक्किम ‘फिल्म फ्रेन्ड्ली स्टेट’को रुपमा पुरस्कृत भैसकेको छ । ‘फिल्ममैत्री राज्यको रुपमा पुरस्कृत हुन पाउँदा हामीलाई उत्साह जागेको छ’ बोर्ड अध्यक्ष शर्मा भन्छिन्, ‘हामी शून्यबाटै यो सबथोक गर्न चाहन्छौं र यसको सुरुआत भैसकेको छ ।’
साथै, स्टुडियोसहितका फिल्म पूर्वाधार निर्माणको कार्य पनि सिक्किममा सुरु भएको छ । उपकरणदेखि लोकेसनसम्म सहयोग गर्ने समेत भनिएको छ । ‘हामी इको–हेरिटेज फिल्म भिलेज पनि बनाउँछौं’ शर्मा भन्छिन्, ‘फिल्म छायांकनको लागि आवश्यक सबै सुविधा पाउने गरि हामी अघि बढेका छौं र राज्य सरकारको तर्फबाट पनि सहयोग मिलेको छ ।’
स्वास्थ्यमन्त्री डा. शर्माले पनि नेपाली फिल्म छायांकनमा सघाउन सिक्किम तयार रहेको बताए । ‘हामीबीच केही समस्या छन् भने हामी सहजीकरण गर्न तयार छौं’ उनले भने, ‘हामी सहयोग नीतिअन्तर्गत अघि बढेका छौं । हामीले सहयोग गर्ने भनेकै नेपाली फिल्मलाई हो । नेपालले चाहन्छ भने हामी औपचारिक बैठक बस्न तयार छौं ।’
फिल्म प्रवद्र्धन बोर्ड सिक्किमकी अध्यक्ष पूजा शर्मा
प्रियंका चोपडाले सिक्किमको बदनाम गरिन्
सन् २०१८ मा रिलिज भएको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’लाई प्रियंका चोपडाको कम्पनी पर्पल पेबल पिक्चर्सले निर्माण गरेको थियो । नेपाली भाषामा बनेको यो फिल्मले तत्कालिन माओवादी सशष्त्र द्वन्द्वको कारण सिक्किमतर्फ विस्थापित एक नेपाली परिवारको कथा पेश गर्छ । द्वन्द्वले बाबुआमाबाट विछोड भएका दुई बालबालिकाको संघर्ष यसमा चित्रित छ ।
आख्यान कथावस्तुमा बनेपनि यो फिल्मको कथावस्तुलाई लिएर सिक्किम फिल्म प्रवद्र्धन बोर्डको असन्तुष्टि देखिन्छ । अध्यक्ष पूजा शर्माले द्वन्द्वको कुरा देखाएर प्रियंका चोपडाले सिक्किमलाई बदनाम गर्न खोजेको बताइन् । ‘प्रियंकाले बदनाम गर्नुभयो, इन्सर्जेन्ट स्टेट भनेर’ उनले भनिन् ।
यतिमात्र हैन, सिक्किम सरकारबाट फाइदा लिएको निर्माण भएको यो फिल्म पूर्णतः सिक्किममै छायांकन भएको हो । सिक्किममै छायांकन भएपनि यसले त्यहाँको आञ्चलिकतालाई पूर्णतः बेवास्ता गरेको आरोप पनि यसले खेपेको छ । नेपालमा पनि फिल्मलाई लिएर निकै चर्चा भएको थियो । फिल्मले राम्रो समीक्षा बटुलेपनि यसमा इसाइकरण (क्रिस्चियानिटी)लाई बढावा दिएको भन्दै नेपाली दर्शकले असन्तुष्टि पोखेका थिए ।
फिल्मलाई कूटनीतिको माध्यम बनाउनुपर्छ
नेपाल प्रेससँग कुरा गर्दै सिक्किमका स्वास्थ्यमन्त्री डा. शर्माले निकट छिमेकी नेपाल र सिक्किमले फिल्मलाई कूटनीतिको बलियो माध्यमको रुपमा पनि अघि बढाउनुपर्ने बताएका छन् । ‘हामीबीच सदियौंदेखि सांस्कृतिक र राष्ट्रियताको निकटता छ’ उनले भने, ‘संस्कृतिक र राष्ट्रियतालाई जोड्ने कूटनीतिक सेतुको रुपमा फिल्मलाई बढाउन सके नेपाल र सिक्किम दुबै पक्षलाई फाइदा पुग्नसक्छ ।’
डा. शर्माले पछिल्लोपटक हेरेको नेपाली फिल्म साइनो हो । त्यसयता उनले नेपाली फिल्म हेरेका छैनन् तर सिक्किममा नेपाली फिल्मको क्रेज उनलाई राम्रोसँग थाहा छ । ‘साइनोपछि नेपाली फिल्म हेरेको छैन तर, बदलिएको नेपाली फिल्मको ट्रेन्डबारे मलाई थाहा छ । दुबै ठाउँको फिल्मको विकासमा एकअर्काले कसरी योगदान गर्न सक्छन् भन्ने कुरामा बसेर खुला छलफल गरौं’ उनले भने ।
‘सिक्किमले ग्लोबल मार्केटमा जुन प्रकारको ठाउँ पाउनुपर्ने हो, त्यो पाएको छैन’ उनी भन्छन, ‘नेपाल र सिक्किमबीच समान कला, संस्कृति र एउटै लयमा बाँच्ने तरिकालाई अब फिल्ममार्फत अघि बढाउनुपर्छ ।’
काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन् । फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन् ।
आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन् । परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो । उनले पूर्वपत्नीलाई लिएर कुनै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।
उनी लेख्छन् :
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिलेकानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरी को एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।
यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।
सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !
कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।
बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।
अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद 🙏
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना 🌷
चितवन । गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीत गायिका गिरीले नै लेखेकी हुन् । म्यूजिक एरेन्ज पुरुशोतम सुवेदीको रहेको छ ।
यो मार्मिक गीतको भिडियोमा चिरन्जिबी सापकोटा (जीबी चिरन) र गरिमा शर्माले अभिनय गरेका छन् । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा म्युजिक भिडियो निर्माण गरिएको छ ।
गीतको भिडियोलाई सिर्जन बराल (ऋषि) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवशरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।
मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत बजारमा पठाइसकेकी छन् ।
पाँचथर । ‘ढुंगाको प्रेम’ नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बास्कोटाद्वारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । उनी नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकार्पण गरे । सो कृतिमा बास्कोटाका २७ वटा कविता संलग्न छन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताएका थिए ।
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्य लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा राखे ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए । साहित्यकारको उलेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदनप्रदान तथा गायनसमेत भएको थियो ।
काठमाडौं । कलाकारका लागि दर्शक नै अन्तिम सत्य हुन् । दर्शक विच्किए कुनै पनि कलाकार शिखरबाट रसातलमा झर्न कत्ति समय लाग्दैन ।
प्रसंग हो महानायक विवादको । राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने किचलो अहिले उत्कर्षमा छ । यस विवादका विभिन्न साइड इफेक्ट देखिन थालेका छन् । जो-जो कलाकारले राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएका छन् उनीहरुले हमालका फ्यानहरुबाट साइबर आक्रमणको सामना गर्नुपरेको छ । यति मात्र होइन, यस्ता कलाकारले अभिनय गरेका फिल्म नै धरापमा पर्ने खतरा देखिएको छ ।
नेपाली फिल्मका तीन लिजेन्ड भुवन केसी, शिव श्रेष्ठ र गौरी मल्लले एकसाथ अभिनय गरेको फिल्म ‘डाँडाको वरपीपल’ को एउटा गीत केही दिनअघि युट्यूवमा रिलिज गरियो । यही गीत रिलिजका अवसरमा गरिएको कार्यक्रममा निर्देशक शोभित बस्नेत तथा नायकद्वय भुवन र शिवले महानायक-महानायिकाको विवाद निकालेका थिए, जुन उनीहरुका लागि आत्मघाति सावित भएको छ ।
विवादको सोझो असर गीतको भ्यूजमा पर्न गयो । लामो समयपछि तीन हस्ति कलाकारहरुले एकसाथ अभिनय गरेको गीतमा ह्वात्तै भ्यूज आउने निर्माता–निर्देशकको अपेक्षा थियो । तर, सोचेजस्तो भएन । २१ दिनअघि युट्युवमा अपलोड गरिएको गीतले कछुवा गतिमा दुई लाख ५५ हजार भ्यूज क्रस गरेको छ । यो दयनीय हो । तर योभन्दा चिन्ताको विषय अर्को छ । गीतमा लाइकभन्दा डेढ गुणा बढी डिस्लाइक छन् । अहिलेसम्म १० हजार लाइक आएकोमा १५ हजार डिस्लाइक आएका छन् । गीतमा आएका कमेन्टहरु पनि एकदमै अप्रीय छन् । अधिकांशले महानायक विवादसँग जोडेर नकारात्मक कमेन्ट गरेका छन् ।
गीत खराब छैन । वास्तवमा यो एउटा कर्णप्रिय गीत हो र हिट हुनुपर्ने थियो । तर दर्शक रिसाएपछि के लाग्छ ? स्मरणीय के छ भने यो गीत लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङले गाएका हुन् । ‘वारी जमुना पारी जमुना’ बाट प्रख्यात खेमराजले मृत्युअघि गाएको सम्भवत अन्तिम गीत थियो यो । तर, महानायक विवादको कोपभाजनमा परेका छन् गुरुङ । एउटा सम्मानित गायकको गीत मृत्युपर्यन्त यसरी बाह्य कारणले आलोचित हुनु दुखद हो । गुरुङको ५ वर्षअघि निधन भएको थियो ।
शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ दसैंमा रिलिज गर्ने तयारी छ । तर, युटट्यूवमा दर्शक प्रतिक्रिया हेर्दा फिल्मको लगानी जोखिममा देखिन्छ । धेरैले यो फिल्म नहेर्ने भन्दै कमेन्ट गरेका छन् ।
यसअघि महानायक भुवन केसी हुन् भन्दै अभिव्यक्ति दिइरहेका शोभित अहिले ब्याक भएका छन् । फिल्म हेर्न दर्शक नआउने देखेपछि उनले आफ्नो भनाइ सच्याएर राजेशलाई नै महानायक मान्ने बताइरहेका छन् । उनले केही दिनअघि राजेश हमालको फोटोलाई प्रमुख अतिथि बनाएर फिल्मको अर्को गीत रिलिज गरेका थिए ।
काठमाडौं । दसैँको फेस्टिभ मुडले सबैलाई छोपिसकेको छ । सेलेव्रिटीदेखि सर्वसाधारण दसैँको तयारीमा जुटेका छन् । घुमघाम र सपिङदेखि गेट–टुगेदरसम्मका योजना बनाउन सबैजना व्यस्त छन् । अघिल्ला दुईवर्ष कोरोनाले बिथोलिएको दसैँ यसवर्ष लयमा फर्कने तयारीमा छ तर, कोरोनाको जोखिम पनि घटेको छैन । यस्तोमा सेलेव्रिटीले दसैँ प्लान बनाएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै केही कलाकारले दसैँ योजना सुनाए । कोही काठमाडौंका योजनालाई थाँती राख्दै गाउँ फर्कँदै छन् भने कोही काठमाडौंमै सेलिव्रेसन तयारीमा । केही सेलेव्रिटीले बाल्यकालको दसैँ अनुभव र स्मृति बाँडेका छन् ।
‘यसवर्षको दसैँ बेबी र परिवारसँगै’
अभिनेत्री प्रियंका कार्कीले गतसाता सन्तानलाई जन्म दिइन् । सामाजिक सञ्जालमा छोरी आयन्काको फोटो पोस्ट गरेपछि प्रियंका खुशि छिन् । यसवर्षको दसैँ छोरीसँगै मनाउने उनको तयारी छ । अरु योजना भने बनाएकी छैनन् । ‘यसपटक छोरी भएकाले अरु योजना बनाएको छैन । पहिले जसरी मनाउँथे, त्यसरी नै मनाउने योजना छ’ उनले भनिन् ।
‘खासै योजना बनाएको छैन । भर्खर बेबी पाएकी छु । हेर्दै जाउँ के हुन्छ । बाल्यकालको दसैं र अहिलेको दसैैंमा धेरै फरक छ । सानो हुँदा पैसा पाइन्छ भन्ने हुन्थ्यो भने ठूलो भएपछि आफन्तलाई भेट्न र उहाँहरुको आर्शिवाद लिन नै ठूलो कुरा हो जस्तो हुन्छ’ उनले भनिन् । उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने उनको भनाइ छ ।
‘ताप्लेजुङ पुगेर दसैँ मनाउँछु’
कमेडी च्याम्पियन सिजन–२ विजेता भरतमणी पौडेल गृहजिल्ला ताप्लेजुङस्थित घरमै पुगेर दसैँ मनाउने योजनामा छन् । मान्यजनको हातबाट आशिर्वाद लिने, आमाबुवा, हजुरबुवाको हातबाट टीका लगाउने र आफन्तकहाँ जाने योजनामा छन् उनी ।
उनले नेपाल प्रेससँग भने– बाल्यकालमा दसैँमा रमाइलो हुन्थ्यो । दसैँ आयो भनेपछि खेल्न पाइन्थ्यो । घरमा टाढा–टाढाबाट मान्छे आउनुहुन्थ्यो । एकदमै रमाइलो लाग्थ्यो ।’ साथीभाइ विदेशिएकाले पहिलेजस्तो दसैँमा उल्लास नहुने अनुभव भरतमणीको छ । ‘अहिले साथीभाइ विदेशिनु भएको छ । आफन्त पनि विदेशिनु भएको छ । कार्यव्यस्तताले गर्दा आउन पाउनुहुन्न । भेट हुन मन लागेको व्यक्ति पनि भेट हुँदैन । त्यही भएर अलिकति खल्लो लाग्छ’ उनले भने ।
बाल्यकालिन दसैँलाई लिएर भरतमणीका आफ्नै किस्सा छन् । उनी भन्छन्, ‘बाल्यकालको दसैंमा छुट्टै खालको रमाइलो हुन्थ्यो । आफूलाई केही टेन्सन हुँदैनथ्यो । अहिले कामको तनाव हुँदा दसैंलाई दसैंको रुपमा मात्र लिइन्छ । धेरै समय दसैंलाई दिन सकिँदैन । कामको व्यस्तताले गृह जिल्लाबाट छिटो फर्किनुपर्छ । पहिला जस्तो त्यति रमाइलो भने हुदैन ।’
‘दसैँ मनाउन ट्रक चढेर काठमाडौंदेखि झापा पुगेको छु’
अभिनेता विल्सनविक्रम राई टीकाको अघिल्लो दिनसम्म सुटिङमा व्यस्त हुनेछन् । टीका लगाउन चाहिँ उनी गृहजिल्ला झापा जाने तयारीमा छन् ।
तक्मे बुढाले चर्चित बनेका विल्सनसँग दसैँका रमाइला किस्सा छन् । उनी एकपटक दसैँ मनाउन ट्रकमा चढेर काठमाडौंदेखि झापामा पुगे । भन्छन्, ‘त्यसरी जाँदा आधा बाटोमा झार्देको छ । त्यहाँबाट फेरी तेलको ट्याङकरमा चढेर आएको छु । घरमा पुग्दा शरिरबाट पेट्रोलको गन्ध आइरहेको थियो ।’
बाल्यकालभन्दा अहिलेको दसैँ भिन्न हुने गरेको विल्सनको कथन छ । ‘बाल्यकालको दसैंमा बुवाआमाले नयाँ लुगा के किन्दिन्छन् भन्ने हुँदो रहेछ भने अहिले चैँ बच्चालाई के किन्दिउँ भन्ने हुँदो रहेछ’ उनी भन्छन् । अहिलेको दसैँमा परिवारसँगै बिताउने विल्सनको योजना छ ।
‘दर्शकसँगै फिल्म हेरेर दसैँ मनाउँछु’
अभिनेता सलोन बस्नेतका लागि यसवर्षको दसैँ खास हुनेछ । किनभने, उनको निर्माण रहेको फिल्म ‘डाँडाको वरपीपल’ फूलपातिको दिनमा प्रदर्शन हुँदैछ । उनले दसैँ मनाउनेबारे अन्य योजना भने बनाएका छैनन् । यसपटकको दसैँमा उनी हलमा पुगेर सँगै फिल्म हेर्ने योजनामा छन् । उनले भने, ‘फूलपातीको दिनमा मुभि रिलिज हुदै छ । यसवर्षको दसैँमा परिवार जमघट भएर पिकनिक जाने र घुमघाम गर्ने तयारी छ ।’
पारिवारिक जमघट हुने भएकाले वर्षेनी आफूहरुको दसैँ सम्झनयोग्य हुने सलोनको भनाइ छ । ‘दसैँमा हाम्रो दुईतीनवटा फेमिलीको गेट–टुगेदर हुन्छ । त्यही भएर प्रत्येक वर्षको दसैँमा रमाइलो हुन्छ’ उनी भन्छन्, ‘बच्चा बेलामा हामी मामाघर जाने गथ्र्यौँ । अहिले पहिला जसरी गइन्न । पहिला मामाघर गएर एक महिना बस्थँे भने अब भ्याइँदैन काममा व्यस्त भइन्छ ।’
‘गाउँको दसैँ अहिले पनि मिस हुन्छ’
गायिका टीका प्रसाई यसवर्षको दसैँमा सिन्धुली र झापा पुगेर मनाउने तयारीमा छिन् । झापामा रहेको घरमा पुगेर उनले टीका लगाउने भएकी छिन् । हिट गायिका टीकासँग पनि दसैँका रमाइला किस्सा छन् । उनलाई बाल्यकालको दसैँ नै प्यारो लाग्छ । भन्छिन्, ‘नबिर्सने खालको दसैँ चैँ बच्चा बेलाको नै हुँदो रहेछ । बच्चा बेलामा चैँ हामी जिम्मेवारी बाहिर हुन्छौ, केही टेन्सन पनि हुँदैन, रमाइलो नै रमाइलो हुन्थ्यो, नयाँ लुगा लगाउने मीठो खानेकुरा खाइन्थ्यो । पहिला–पहिला नयाँ लुगा लगाउन दसैँ पर्खिनुपथ्र्यो भने अहिले त्यस्तो हुँदैन ।’
गायिका भएकाले पनि दसैँयाम टीकालाई मनपर्छ । ‘गाउँमा हुँदा दसँैमा लाग्ने घाम नै अर्को हुन्थ्यो । धानहरु काट्न लागेको, धानमाथि माकुराको जालो, बिहान उठ्दा त्यो जालो घामले टल्केको, हावा सरर लागेको, पहँेलो जमरा र रातो टीका, हजुरवुबा हजुरआमाले दिएको आर्शिवादजस्ता यादहरु अहिले धेरै नै मिस हुन्छ’ उनी भन्छिन् ।
मुम्बइ । छोरा आर्यन खान लागूऔषध मामिलामा मुछिएपछि यसको असर पिता शाहरुखको व्यवसायिक करिअरमा समेत पर्न थालेको छ । बलिउड संचारमाध्यमले शाहरुखको ब्रान्डिङमा आर्यनको ड्रग्स प्रकरणले असर पार्ने अनुमान गर्न थालिसकेका छन् ।
लर्निङ एप बायजुसले शाहरुख खानसँगको सबै विज्ञापनमा रोक लगाइदिएको छ । यति मात्र हैन, शाहरुखको प्रि-बुकिङ विज्ञापनमा समेत रोक लगाउन थालिएको छ ।
शाहरुखको स्पोन्सरसिप डिल्समा बायजुस सबैभन्दा ठूलो ब्रान्ड थियो । यो ब्रान्ड इन्डोर्स गरेबापत शाहरुखलाई वर्षेनी ३ देखि ४ करोड भारु प्राप्त हुन्थ्यो । सन् २०१७ देखि उनी ब्रान्ड एम्बेसडर थिए ।
यसबाहेक उनीसँग आइसीआइसीआइ बैंक, रिलायन्स जिओ, एलजी, दुबई टुरिजम, हुन्डाइजस्ता ४० वटा कम्पनीका इन्डोर्समेन्ट छन् । आर्यन खानको गिरफ्तारीपछि सामाजिक संजालमा शाहरुख खानविरुद्ध पनि ट्रोलिङ सुरु भएको थियो ।
मानिसहरुले शाहरुखले गर्ने विज्ञापनविरुद्ध पनि ट्रोल गर्न थालेका थिए । सामाजिक संजालमा प्रयोगकर्ताले बायजुसलाई शाहरुखलाई एम्बेसडर बनाएर कस्तो सन्देश दिन खोजेको भनेर प्रश्न गरेका थिए ।
यसैबीच, मुम्बइ अदालतले आर्यन खानलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । यसको अधिकार आफूसँग नभएको र सेसन कोर्टमा अपिल गर्न समेत अदालतले भनेको छ । आर्यनलाई थप १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।
काठमाडौं । विश्वका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा संचालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट यो शो प्रशारण हुने जानकारी दिइएको छ ।
विश्वका सयौं देशमा नम्बर १ रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ बर्ष उमेर भित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि–अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।
आयोजित पत्रकार सम्मेलनमा हिमालय टीभीका अध्यक्ष धर्मराज भुषालले शोका प्रायोजक कम्पनीका प्रतिनिधीसँग सहमती पत्रमा हस्ताक्षर गरेका छन् । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ लैजान यो शो तयार पारेको बताए । उनले, बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर शो तयार पारिएको बताए ।
कार्यक्रममा उपस्थित कोच राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले यो शोसँग जोडिन पाउँदा नयाँ अनुभुती भैरहेको सुनाए । उनीहरुले, बालबालिकालाई आफूहरुले मुल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए ।
काठमाडौं । दसैँ सुरु भएसँगै युट्युवमा पनि दसैँ गीतहरु बढी हेर्न थालिएको छ । यो साता युट्युवमा सर्वाधिक हेरिएका गीतहरुमा दसैँ गीतहरु समावेश छन् । पछिल्लो साता टंक बुढाथोकीद्वारा संगीतबद्ध गीत दसैँ आयो युट्युुवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।
यो दसैँ गीतलाई पछिल्लो एक सातामा मात्र १६ लाख ५३ हजार १३९ पटक हेरिएको छ भने कूल २९ लाख २२ हजार १०१ भ्यूज रहेको छ ।
विष्णु माझीको स्वरमा रहेको गीत ‘दसैँ आइसक्यो’ दोस्रो स्थानमा छ । यो गीतलाई एक सातामा मात्र ११ लाख ९४ हजार ४१९ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ४१ लाख ४७ हजार ९३७ छ ।
विष्णु माझीकै अर्को गीत ‘चरी जेलैमा’ एक महीनाभन्दा बढी समयदेखि लगातार सूचीमा छ । पछिल्लो साता यो गीतलाई तेस्रो सर्वाधिक पटक हेरिएको छ । पछिल्लो सातामा यो गीतलाई १० लाख ३१ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज संख्या २ करोड ६२ लाख ९० हजार पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले सूची तयार पारेको हो । हेर्नूस सूची :
१. टंक बुढाथोकी ‘दसैं आयो’ : १६,५३,१३९
२. विष्णु माझी ‘दसैं आइसक्यो’ : ११,९४,४१९
३. विष्णु माझी ‘चरी जेलैमा’ : १०,३१,५६८
४. अस्मिता अधिकारी र खेम सेन्चूरी ‘रम रम मरौंटी’ : १०,११,९८३
५. रमेश राज भट्टराई र रचना रिमाल ‘भन साइला’ : ७,९९,४८४
काठमाडौं । अन्ततः राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम’ले लिड फिमेल भेटाएको छ । अभिनेत्री मलिका महत प्रोजेक्टमा अनुबन्धित भएकी छिन् । उनले फिल्ममा पल शाहसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । म्युजिक भिडिओमा पल र मलिकाको अनस्क्रिन जोडी हिट भैसकेको छ ।
गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडिओमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा स्क्रिन सेयर गर्न लागेको हो ।
‘यात्रा’बाट फिल्ममा डेब्यु गरेकी मलिकाको पछिल्लो फिल्म ‘पानीफोटो’ रिलिज तयारीम छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोओबाट उनी दर्शकको रोजाइमा परेकी हुन् । ‘सत्यम्’ को कथावस्तु र यसमा आफ्नो भूमिका मन परेपछि काम गर्नका लागि राजी भएको मलिकाले बताइन् ।
फिल्ममा पहिलोपटक हमाल र शाहसँग काम गर्न लागेकोमा मलिकाले खुशि भएको बताइन् । यो फिल्मबाट धेरै कुरा सिक्न पाउने उनको विश्वास छ । शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्ममा अनुपविक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहने भएको छ ।
पर्दामा दर्शकले राजेश अनुपको भीडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले फिल्म ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ । नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै फिल्मका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी छन् ।
फिल्मको एक्सन दृश्य खिच्नको लागि पोखरामा भव्य सेटको निर्माण गरिएको छ । यो फिल्मबाट हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षित बनेको छ ।
तिहारपछि मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको इन्डोर महत्त्वपूर्ण दृश्यलाई सेटमै खिचिने भएको छ । निर्देशक कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।
‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताईएको छ । निर्माता सापकोटाका अनुसार यो फिल्मबाट सिजापतिले नेपाली फिल्ममा डेब्यू गर्दैछन् । उनी नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्सप्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् । उनीहरु सबै अडिसनबाट छानिएका हुन् ।
काठमाडौं । नेकपा एसकी युवा नेतृ रामकुमारी झाँक्री सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन् । उनी मन्त्री भएसँगै सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । कसैले झाँक्रीलाई बधाई दिएका छन् कसैले सुझाव दिएका छन् ।
टीकटकमा समेत सक्रिय मानिने नेतृ झाँक्री मन्त्री भएपछि फेसबुक र टीकटक दुबैमा चर्चा चलेको छ । उनै झाँक्री हुन् जसले तत्कालिन नेकपामा रहँदा मुखमा पट्टी बाँधेर बोल्न पाइने भन्दै आन्दोलनमा भाषण दिएकी थिइन् । विद्यार्थी नेतृ हुँदा सडक आन्दोलनमा समेत चर्चित नेतृ पहिलोपटक मन्त्रीमा नियुक्त भएकी हुन् ।
यस्तोमा सामाजिक संजालमा झाँक्रीलाई अब बोल्नेभन्दा काम गरेर देखाउन चुनौतिसहितका सुझाव आएका छन् । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले झाँक्रीलाई यस्तै सुझाव दिएका छन् । फेसबुकमार्फत उनले झाँक्रीलाई बधाइ पनि दिएका छन् ।
पन्तले लेखेका छन्, ‘मुखमा पट्टी बाँधेर बोल्न पाइन्छ भन्ने दिन गए, काम गर्ने दिन आए, गरेर देखाउनु होला। युवा नेतृ भएकै कारण हाम्रो नजर तपाईं माथि रहिरहन्छ।’
काठमाडौं । मुलुकमा अहिलेसम्मकै बिग बजेटमा निर्माण हुने दावी गरिएको फिल्म ‘एक्स-नाइन’ अहिले चर्चामा छ । छायांकन कहिलेदेखि सुरु हुने टुंगो नलागेपनि स्टारकास्टको कारण यसले चर्चा पाइरहेको छ ।
‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको यो प्रोजेक्टमा अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको सम्भावित लाइनअपले चर्चामा आएको हो । अनमोल र सौगातसँगै बलिउड अभिनेता सुनिल सेठ्ठी पनि यो फिल्ममा अनुबन्धित हुनसक्ने जनाइएको छ ।
सुनिललाई अनुबन्धन गर्नको लागि निर्देशक एवं निर्माता भट्ट अहिले मुम्बइमा छन् । बिहीवार सुनिलसँग भट्टसहितको निर्माण युनिटले प्रोजेक्टबारे छलफल गरेको छ । स्रोतका अनुसार एकसाताभित्रै सुनिलले यो नेपाली फिल्म साइन गर्नसक्छन् । यसअघि बलिउडका अर्का अभिनेता सोनु सुदलाई पनि फिल्मको प्रस्ताव गरिएको थियो ।
काठमाडौं, युरोप र क्यानडामा फिल्म सुटिङ गर्ने तयारी छ । जनवरीदेखि फिल्म सुटिङ सुरु हुने भएकाले अहिलेदेखि नै फिल्मको रिहर्सल पनि सुरु भएको छ । फिल्ममा चारजना नायक हुने र नायिकालाई पनि भारतबाटै ल्याउने निर्माताको तयारी छ ।
काठमाडौं । हलिउड स्टुडियो डिज्नेले आठ प्रतीक्षित फिल्मको भारतीय प्रदर्शन मिति घोषणा गरेको छ । भारतसँगै नेपालको प्रदर्शन मिति पनि एउटै हुने भएकाले नेपालका लागि पनि यो रिलिज क्यालेन्डरको खास अर्थ रहन्छ ।
सन् २०२१/२०२२ को प्रदर्शन मितिमा निकै प्रतीक्षा गरिएको ‘अवतार २’ समेत छ । नेपालमा डिज्नेको आधिकारिक वितरक नभएकाले कुन कम्पनीले यी फिल्मको प्रदर्शन अधिकार प्राप्त गर्नेछ भन्ने टुंगो लागिसकेको छैन ।
यद्यपी, एप्पल इन्टरटेनमेन्ट र गोपिकृष्ण मूभिज नेपालमा हलिउडका ठूला वितरक हुन् । डिज्नेले घोषणा गरेका फिल्महरुको रिलिज सूची यस्तो छ :
इटर्नल्स- नोभेम्बर ५, २०२१ डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेस- मार्च २५, २०२२ थोर : लभ एन्ड थोर- मे ६, २०२२ लाइटइयर : जुन १७, २०२२ ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर- जुलाई ८, २०२२ ब्लेड- अक्टोबर ७, २०२२ द मार्भल्स- नोभेम्बर ११, २०२२ अवतार २- डिसेम्बर १६, २०२२
काठमाडौं । महानायक र महानायिका विवादलाई लिएर अहिले फिल्म उद्योग चर्चामा छ । आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’मा महानायक विवाद झिकेका शोभित बस्नेतले एक टिभी कार्यक्रममा बिहीवार राजेश हमाललाई भेटेर उनी नै महानायक भएको बताएका छन् ।
यो विवाद बेमौसमी भएको बताउँदै फिल्म क्षेत्रका अन्य कलाकार चाहिँ आक्रोशित छन् । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउनुको सट्टा महानायकको बखेडा झिकिएको उनीहरुको आरोप छ । महानायक विवाद चलिरहँदा यो हल्लीखल्लीतर्फ लक्षित गर्दै अभिनेत्री नम्रता सापकोटाले एकअर्कालाई किन सम्मान नगरेको र घमण्ड गरेको भन्दै फिल्मकर्मीलाई प्रश्न गरेकी छिन् । पब्लिक सामु आफ्नो इज्जतको ख्याल गर्न पनि नम्रताले सुझाएकी छिन् ।
उनले नामै लिएर फेसबुकमा नाम नलेखेपनि उनको अभिव्यक्ति कोतर्फ लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । फिल्म क्षेत्रमा कसैले कसैलाई नबनाएको टिप्पणी गर्दै मनपरी बोल्न छूट समेत नभएको उल्लेख गरेकी छिन् । ‘अझै कति हामी हाँसोको पात्र बन्ने’ उनले प्रश्न गरेकी छिन् । सबैजना मिडिया पर्सनालिटी परिवार, फिल्म क्षेत्र र दर्शकको कारणले भएको नबिर्सन पनि उनले आग्रह गरेकी छिन् ।
नम्रता यसअघि नेपोटिज्म र यसपटक विहे नगरीकनै बच्चा पाउने मन छ जस्ता अभिव्यक्ति दिएर विवादमा मुछिएकी थिइन् ।
काठमाडौं । चलचित्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ ।
रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् ।
मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, साम्राज्ञी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन् । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन् ।
राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनका निम्ति भएका ऐन/कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा उनको जोड थियो ।
मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त समेत गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गरे ।
मुम्बइ । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसहित अन्य ६ जनालाई थप १४ दिन न्यायिक हिरासतमा राख्न मुम्बइ अदालतले अनुमति दिएको छ ।
बिहिबार अदालतले न्यायिक हिरासतमै राखेर आर्यनसहित ड्रग्स केसमा पक्राउ परेका अन्यलाई छानविन गर्न अनुमति दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
शुक्रबार अपरान्ह अदालतले धरौटीका लागि आर्यनले गरेको अपिलबारे सुनुवाइ गर्नेछ । नार्कोटिक्स कन्ट्रोल ब्यूरोले यो मामिलामा अन्यलाई पक्राउ गरिरहेको छ र यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।
ब्यूरोले अक्टोबर ३ मा एक पानीजहाजमा भैरहेको ड्रग्स पार्टीबाट आर्यनसहित अन्यलाई पनि पक्राउ गरेको थियो । यो घटनामा मुम्बई नार्कोटिक्स ब्यूरोले केही विदेशीलाई पनि पक्राउ गरेको छ ।
काठमाडौं । नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठबीच ब्रेकअपको खबरले केही समयअघि गसिपको बजार खुबै ततायो । फलतः उनीहरुलाई रियल जोडीका रुपमा हेर्न चाहने धेरै दर्शकहरु निराश बनेको भनिएको छ ।
आज एउटा प्रेस मिटमा यो जोडी एकसाथ देखिँदा पत्रकारहरुको मुख्य जिज्ञासाको विषयवस्तु यही नै थियो । उनीहरुले आकाश र पुजाको जोडी छुट्टिँदा आम नेपाली जनतामा कोलाहलै मच्चिएको जसरी प्रश्न सोधे ।
एक पत्रकारले ‘अहिलेसम्म आफूले लुकाएर राखेको खबर’ भन्दै यतिसम्म गफ दिए : ‘मसँग प्रमाण छ, तपाईंहरुको ब्रेकअप भयो भनेर एक युवतीले बारम्बार आत्महत्या प्रयास गर्नुभएको रहेछ ।’
अर्काले फुके : तपाईंहरुको विवादका कारणले एक जना बहिनी डिप्रेसनमा जानुभएछ । श्रीमानसँग झण्डै डिभोर्स भयो रे । आज जनतालाई बताइदिनुस तपाईंहरु अलग्गिएको हो कि होइन ।
यस्ता सनसनी खबरले आकाश र पुजा दुखी हुने नै भए । पुजाले आफूहरु कहिल्यै पनि एक-अर्कासँग नछुट्टिने भन्दै ‘आत्महत्या गर्न खोजेका’ फ्यानलाई आश्वस्त तुल्याउन खोजिन् । तर, आफूहरुबीच विहे नहुने स्पष्ट संकेत पनि दिइन् ।
अनौठो तर्क गर्दै पुजाले भनिन्, ‘हामी एक-अर्कासँग कहिल्यै छुट्टिने छैनौं । हामी सँधै सँगै हुनेछौं । तर यसको अर्थ हामी विहे गर्छौं भन्ने होइन । विहे त कोसित हुन्छ भविष्यको हातमा छ ।’
पुजाले आकाश आफ्नो ‘एकदम मिल्ने साथी’ भएको दोहोर्याइन् । उनले भनिन्, ‘हामी प्रेमी-प्रेमिका नभए पनि एकदम मिल्छौं । हामी जलिहे पनि एक नै हौं । एक-अर्काको बारेमा कसैले नराम्रो भन्दा साह्रै चित्त दुख्छ । तर यसको अर्थ विहे नै गर्ने सोच राखेको होइन । विहे त जब मैले कार्ड छाप्छु, अनि मात्रै फिक्स्ड हुने हो ।’
आकाश भने पुजासँगको सम्वन्धबारे अन्योलमै देखिए । तपाईंहरु प्रेमी प्रेमिका हो कि होइन भन्ने प्रश्नमा उनले पुजातिर हेर्दै भने, ‘खोइ हामीलाई नै थाहा छैन ।’पुजाको नाम अहिले अर्का एक पुरुषसँग जोडिएको छ । पत्रकारले यो पनि सधेका थिए । पुजाले यसमा स्पष्ट जवाफ दिइनन् ।
आकाश र पुजाले अभिनय गरेको एउटा गीतको रिलिजका अवसरमा सो प्रेसमिट आयोजना गरिएको थियो । उक्त गीतका विषयमा भने कसैले प्रश्न सोधेनन् ।
काठमाडौं । पाँच महीनापछि आजदेखि खुलेका फिल्म हलहरुमा दर्शकको आशालाग्दो उपस्थिती देखिएको छ । राजधानीका प्रमुख मल्टिप्लेक्समा पहिलो दिन दर्शकीय अकुपेन्सी ३० प्रतिशत (सरकारले ५० प्रतिशतलाई मान्यता दिएको) देखिएको छ ।
हल खुलेपछिको पहिलो दिन हलिउड फिल्महरु ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शनमा आएका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजदेखि संचालनमा ल्याएका सिभिल मलस्थित सेन्ट्रल सिनेमा, छायाँ, भक्तपुर भाटभटेनी र लबिम मलमा यी दुबै फिल्म रिलिज गरेको छ ।
मध्यान्ह साढे १२ बजेको सिभिल मलको सोमा ३० प्रतिशत दर्शकीय अकुपेन्सी थियो । बिहीवार बेलुका लबिम मलमा ३५ प्रतिशत अकुपेन्सी बराबरको टिकट विक्री भैसकेको छ । कमलपोखरीस्थित बिग मूभिजमा दिउँसो र अपरान्हको सोजमा झन्डै २५ प्रतिशत अकुपेन्सी देखिएको छ । पोखराको मिडटाउन मल्टिप्लेक्समा ३५ प्रतिशत अकुपेन्सी देखिएको छ ।
‘आजको अकुपेन्सी हाम्रो लागि निकै उत्साहजनक हो’ क्यूएफएक्स सीइओ रोशन अडिगाले नेपाल प्रेसलाई भने, ‘दर्शकले फिल्मको माहौललाई मिस गर्नुभएको थियो । आजको अकुपेन्सी हेर्दा यसले हामीलाई फिल्म क्षेत्र चलायमान बनाउने विश्वास दिएको छ ।’
काठमाडौंको सुरुआतको बक्सअफिस प्रस्तुति र अकुपेन्सीलाई हेरेर मोफसलका आउटलेटलाई पनि संचालनमा ल्याउने क्यूएफएक्सको योजना छ । सम्भवतः उपत्यकाबाहिर कात्तिक पहिलो साता रिलिज हुने बलिउड फिल्म सूर्यवंशीसँगै हलहरु संचालनमा आउनेछन् ।
‘मोफसलमा हलसम्म दर्शकलाई फर्काउन एउटा राम्रो फिल्म आवश्यक हुन्छ र यसका लागि हामी सूर्यवंशीको प्रतीक्षामा छौं’ सीइओ अडिगाले भने, ‘काठमाडौं भने फास्ट एन्ड फ्युरियस र नो टाइम टु डाइले माहौल बनाउन सक्छन् ।’
चलचित्र संघले आगामी २६ गते फूलपातिको दिनमा नेपाली फिल्म डाँडाको बरपीपल रिलिज गर्दैछ भने २८ गते जेम्स बन्ड फिल्म नो टाइम टु डाइ । कोरोनाको दोस्रो लहरलाई रोकथाम गर्न प्रशासनले निषेधाज्ञा गरेपछि बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द थिए ।
तर, कोरोना संक्रमणमा कमी आएको भन्दै प्रशासनले गत महीनादेखि फिल्म हलहरुलाई खुलाउन अनुमति दिएको थियो । फिल्म लाइनअप नहुँदा हलहरु संचालनमा आउन सकेका थिएनन् । यद्यपी, आजदेखि खुलेका फिल्म हलहरुले कोरोनाले थलिएको नेपाली फिल्म उद्योगलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
काठमाडौं । मनोज पण्डित निर्देशित फिल्म ‘एक’ आजदेखि ओभर दी टप र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको छ । डिसहोम, म्याक्स टिभी, सिनेमा घर लगायतका प्लेटफर्मबाट फिल्म रिलिज भएको हो । दसैँ घटस्थापनाको अवसरमा निर्देशक पण्डितले फिल्म रिलिज गरेका हुन् ।
फिल्मले मधेशमा भूराजनीतिको कथा पेश गर्छ । ग्रेटर नेपाल, बधशाला र छायाँ निर्देशक पण्डितले पल्टिकल ड्रामास्वरुप यो फिल्म ल्याएका हुन् । प्रायः फिल्ममा राजनीति, समाज र मानवीयतालाई चित्रण गर्ने पण्डितले यसमा चाहिँ नेपाल–भारत सीमावर्ती भूगोललाई उठाएका छन् ।
विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीआइएस नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष यसको द्वन्द्व हो । मुख्य भूमिकामा विशाल पोखरेल छन् जसले इमान्दार एजेन्टको भूमिका निर्वाह गरेका छन् । ज्योत्सना योगीले उनको सहयोगी एजेन्टको चरित्र चित्रण गरेकी छिन् ।
‘मधेश विकास र शान्तिको पक्षमा अगाडि बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेशको अवधारणा स्थापित गरेर नेपाललाई सँधै अस्थिर तुल्याइराख्ने षड्यन्त्रको शिकार भएको नेपाली यथार्थलाई फिल्म एकले सिनेम्याटिक चुनौति दिएको छ’ निर्देशक पण्डितले नेपाल प्रेसलाई भने ।
फिल्ममा स्वतन्त्र मधेशको नारा बोक्ने पात्रको भूमिका अभिनेता प्रमोद अग्रहरिले निर्वाह गरेका छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मको निर्माता आत्मा गुरागाइँ र सोफिया थापा छन् । छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको छ । फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलले अभिनय गरेका छन् ।
काठमाडौं । लामो अन्यौलतापछि अन्ततः ‘छक्का पञ्जा ४’ फिल्म निर्माण निश्चित भएको छ । निर्माता एवं अभिनेता दीपकराज गिरीले नेपाल प्रेससँग कुरा गर्दै फिल्म निर्माण सुरु भएको जनाएका छन् ।
‘आजदेखि स्क्रिप्ट लगायत प्रि-प्रोडक्सनका कामहरु सुरु भएको छ’ दसैँ घटस्थापनाको अवसरमा आज बिहान कुरा गर्दै उनले भने, ‘कन्सेप्ट तयार थियो । अब स्क्रिप्ट लेखन सुरु गर्छौैै र चाँडै छायांकनमा जाने तयारी छ ।’
मंगलबार फेसबुकमा ‘राजा इज ब्याक अगेन’ स्टेटस लेख्दै उनले छक्का पञ्जा चार बन्न लागेको संकेत गरेका थिए । छक्का पञ्जा सिरिजमा दीपक राजा नामक पात्रको भूमिकामा छन् ।
‘हामी सकेसम्म चाँडै छायांकनमा जाने तयारीमा छौं’ उनले भने, ‘कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि अहिले सुटिङमा जानु जरुरी छ ।’
चलचित्र विकास बोर्डले पनि अहिले छायांकनमा जाने फिल्मलाई प्रोजेक्ट बिमाअन्तर्गत डेढलाखको बीमाको सुविधा प्रदान गर्दैछ । छक्का पञ्जाका अघिल्ला तीनैवटा फिल्मले बक्सअफिसमा व्यवसायिक सफलता प्राप्त गरेका थिए । दीपकराज गिरीको समूहले अहिले काठमाडौंको शंखमूलमा मल्टिप्लेक्स फिल्म हल निर्माण गरिरहेको छ ।
काठमाडौं । कोरोना महामारीले बन्द रहेका मुलुकभरका फिल्म हलहरु आजदेखि खुल्दैछन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि फिल्म प्रदर्शन सुरु गर्ने भएका छन् ।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला र नोबडी प्रदर्शन गर्दैछ ।
कोरोना रोकथामका लागि बैशाख दोस्रो सातादेखि लागू गरिएको निषेधाज्ञाले फिल्म हलहरु बन्द थिए । कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरु खुलाउन अनुमति दिएको हो ।
२६ गते नेपाली फिल्म डाँडाको बरपीपल र २८ गते जेम्स बन्ड फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइने चलचित्र संघले जनाएको छ ।
काठमाडौं । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलतापछि गायक शिव परियारको स्वरमा यही गीतको नयाँ श्रृंखला ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” रिलिज हुने भएको छ । इम्प्रेसन्स इन्टरटेनमेन्टले गीतलाई रिलिज तयारी गरेको हो ।
नृत्यनिर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा गीतको छायाङ्कन भएको छ । गीतमा अभिनेता पुष्प खड्काका साथमा टीकटक स्टार्स अन्जली लुइँटेल र आलिया अधिकारीको डेब्यु प्रस्तुति रहने भएको छ । मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडिओको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपालिको चाडबाडलाई रोमाञ्चक बनाउने जनाइएको छ ।
काठमाडौं । प्रेसमिटमा ढिला आउनु नेपाली सेलेव्रिटीको ‘समस्या’ नौलो होइन । नाम चलेका ‘स्टारहरु’मा पङ्चुअल नहुने समस्या निकै छ । कतिपय सेलेव्रिटी चाहिँ मिडियासँग पन्छिन खोज्ने प्रवृत्ति बढेको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री साम्राज्ञी शाहले आफूसँग कुराकानी गर्न चार घण्टा प्रतीक्षा गरिरहेका पत्रकारसँग पन्छिने प्रयास गरिन् ।
आफू अभिनित म्युजिक भिडिओ ‘माया पिरेम’को कभरेज गर्न ठमेलको अलफ्ट पुगेका मिडियाकर्मीलाई पन्छाउँदै साम्राज्ञी कार्यक्रमको बीचबाटै बाहिरिइन् । कार्यक्रममा चार घण्टा बसेकी साम्राज्ञी मिडियासँग अन्तक्रिया गर्ने बेला आएपछि सुटुक्क बाहिरिएकी थिइन् ।
उनलाई फर्काउन आयोजकले प्रयास गरेपनि मिडियासँग बोल्न नचाहेको भन्दै उनी आउन मानिनन् । कार्यक्रम उद्घोषकले साम्राज्ञी फर्कन नमानेको बताएपछि उनको प्रतीक्षामा चार घण्टा कुरेका पत्रकार निराश भए ।
साम्राज्ञीको यो कार्यबाटै उनी मिडियासँग असन्तुष्ट रहेको बुझ्न सकिन्छ । अघिल्लो लकडाउनको बेला भुवन केसीसँगको झगडामा मिडियालाई लिएर साम्राज्ञीले असन्तुष्टि व्यक्त गरेकी थिइन् । त्यसपछि साम्राज्ञीले मिडियासँग दूरी बढाउँदै आएकी छिन् ।
काठमाडौं । केन्द्र मोसन पिक्चर्सको नयाँ गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ । रचना रिमाल र पदम राईको स्वर रहेको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता योगेश भट्टराई पनि उपस्थित थिए । नेता भट्टराईले गीत हेरेपछि महिला सैनिकको रुपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको प्रशंसा गरे ।
‘निश्चल र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलोे गरेको छु । उहाँहरुको वास्तविक जीवन पनि प्रेरणादायी छ । स्वस्तिमाजी आर्मीमा गएपनि स्ट्रिक्ट हुने मान्छे हो । उहाँले निकै राम्रो काम गर्नुभएको छ’ योगेशले भने ।
तस्बिरहरु : उमेश कार्की
गायिका रचना रिमाललाई पनि टीकटकबाट चिनेको बताउँदै योगेशले उनका प्रस्तुति अर्गानिक भएको र बनावटी नलाग्ने बताए । सन्देशमूलक गीत बनेको भन्दै उनले सबैले सुन्नुपर्ने गीत बनेको बताए ।
तलबले पेट पाल्छु भनेर सकारात्मक सन्देश दिएको बताउँदै भट्टराईले दाईजोभन्दा माया र प्रेम नै ठूलो सन्देश भएको बताए । ‘हाम्रो सरकारी अड्डामा नेगेटिभ मात्र हैन, पजेटिभ पाटो पनि छ’ उनले भने ।
अभिनेत्री खड्काले सेनाप्रति आफ्ना विशेष लगाव रहेको बताइन् । आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुवा पनि सेना भएकाले यस्तै थिमको गीतमा काम गर्न पाउँदा खुशि लागेको बताइन् । निश्चलले चाहिँ भिडिओ हेर्दा आफू हल्का मोटाएकोजस्तो महसुस भएकाले डान्स प्राक्टिस गरिरहेको बताए ।
पछिल्लो समय म्युजिक भिडिओ निर्माणमा चर्चा बटुलेको केन्द्र मोसन पिक्चर्स गीत निर्माण गरेको हो ।
काठमाडौं । गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याउँ’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।
यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका छन् । गीतका केही शब्दहरुले दर्शक तथा श्रोताको ध्यान तान्न सक्छ । यो गीतको भिडिओमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तीनैजना कलाकार भिडिओमा डान्सिङ मुडमा देखिएका छन् ।
शान थापाले भिडिओ निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडिओमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । हेर्नूस गीत :
काठमाडौं । गायक तथा मोडल प्रकाश सपुत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । राजधानीमा आज आयोजित दशैंतिहार गीत लन्च कार्यक्रममा सपुतलाई उक्त ब्रान्डले दुई वर्षको लागि अनुबन्धित गरेको हो ।
दुईवर्षसम्म सिर्जना र गायकीमार्फत आफू रोयल पेन्ट्ससँग आबद्ध हुने जानकारी उनले दिए । पैसाको पछि लागेको भन्ने आरोपहरुको उनले खण्डन गरे ।
मोडल गरिमा शर्माले पनि प्रकाश सपुत लगायका कलाकारसँग काम गर्न पाउनु खुशिको कुरा भएको बताइन् ।
सो अवसरमा रचना रिमाल र महेन्द्र बरालको स्वरमा रहेको दशैंतिहार गीत सार्वजनिक गरियो । उक्त म्युििजक भिडिओमा सपुतसहित गरिमा शर्मा, रमेश बुढाथोकी, रस्मी भट्ट लगायतको अभिनय छ ।
काठमाडौं । म्युजिक भिडिओमार्फत अभिनेत्री साम्राज्ञी शाह सोसल प्लेटफर्ममा कमब्याक भएकी छिन् । सांगीतिक भिडिओमा कमै देखिने उनी अभिनित डान्सिङ ट्रयाक माया पिरेम आज इन्टरनेट रिलिज भएको छ ।
राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत लन्च गरियो । साम्राज्ञीले महंगो पारिश्रमिक लिएको कारणले पनि यो गीत निर्माण अघिदेखि नै चर्चामा थियो । बक्सअफिस सफलता प्राप्त गरेकी हिरोइन अभिनित भएकाले पनि यो भिडिओ पर्खाइमा थियो ।
ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् ।
शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन चाहिँ माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
उक्त कार्यक्रममा नेकपा एसका नेता मेटमणी चौधरी र अभिनेता शिव श्रेष्ठले सारंगी भिलेज फाउन्डेसनद्वारा प्रकाशित नेपालका रैथाने गन्धर्ब पुस्तक बिमोचन तथा ट्री मिडिया न्यूजद्वारा प्रकाशित विजनेस दर्शन मासिक पत्रिका समेत विमोचन गरिएको थियो ।
काठमाडौं । टेलिभिजनमा लोकप्रिय सिरिज ‘रामायण’मा लंकाधिपति रावणको भूमिकामा अभिनय गर्ने कलाकार अरविन्द त्रिवेदीको हृदयघातले निधन भएको छ ।
गएराति ८३ वर्षिय त्रिवेदीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेताको मृत्युको पुष्टि गरेका हुन् ।
अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्रिवेदीको निधनमा शोक व्यक्त गरेका छन् । मोदी लेख्छन् : हामीले अरविन्द त्रिवेदीलाई गुमाएका छौं । उनी एक असाधारण अभिनेता थिए । जनसेवाप्रति उनी समर्पित थिए । भारतको आगामी पुस्ताले पनि उनलाई सम्झनेछ । ओम शान्ति ।
रामानन्द सागरको रामायणमा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए ।