Category: कलाप्रेस

  • नेपाली फिल्म ‘अ स्केरक्रो’ले जित्यो फ्लोरेन्स फेस्टिभलमा आइरिस-७५ अवार्ड

    नेपाली फिल्म ‘अ स्केरक्रो’ले जित्यो फ्लोरेन्स फेस्टिभलमा आइरिस-७५ अवार्ड

    काठमाडौं । निर्देशक राजेशप्रसाद खत्रीद्वारा निर्देशित फिल्म ‘अ स्केरक्रो’ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिभलमा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ ।

    युनिसेफको अनुसन्धान कार्यालय-इनोचेन्टीले आयोजना गरेको महोत्सवले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने सन्देश बोकेका फिल्महरुको उत्सव मनाउँछ ।

    इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टोबरसम्म आयोजना हुने महोत्सवमा २९ देशबाट सहभागी हुने ३९ फिल्मको प्रदर्शन हुन्छ । युनिसेफको ७५ औं वर्षगाँठको अवसरमा वितरण गरिने ‘युनिसेफ ७५ आइरिस’ संसारभर मनाइने युआइएफएफको उत्कृष्ट सम्मान पनि हो ।

    विद्यालयका शिक्षक समेत रहेका नेपाली फिल्म निर्देशक खत्रीले लेखन तथा निर्देशन गरेको फिल्मलाई उक्त पुरस्कारमा चयन गरिएको जारी वक्तव्यमा उल्लेख छ ।

    ‘दुर्गम गाउँको शिक्षक भएको नाताले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने मौका पाएको छु । मुख्यतः सत्य कथाहरुलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र यी कथाहरुलाई संसारका सबै भागमा पुग्ने आशा गर्छु’ खत्रीले भने ।

  • भरतमणिसँगको भेटमा के भने पूर्वयुवराज पारसले ?

    भरतमणिसँगको भेटमा के भने पूर्वयुवराज पारसले ?

    काठमाडौं । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घण्टा कुराकानी भएको थियो ।

    कमेडि च्याम्पियनमा भरतमणिले गरेको पारसको क्यारिकेचर धेरैले मन पराएका थिए ।

    पौडेलले केही दिनअघि भेटघाट गरे पनि आज बिहानमात्र सामाजिक सञ्जालमा तस्बिर राखेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको बताए ।

    पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको भरतमणिले बताए ।

    भेट्नेबित्तिकै पूर्वयुवराज पारसले आफूलाई फन्नी फन्नी भनेको उनले भने । ‘साँझ ५ बजेदेखि एक घण्टा बस्यौं, उहाँले मेरो भिडिओ हेर्नुभएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो । अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो- फन्नी फन्नी किप इन टच । मलाई त एकदम मन पर्‍यो, उहाँको सादगी जीवन देखेर’, भरतमणिले भने, ‘मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झैं लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो । खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो ।’

  • दोहोरी च्याम्पियनको फाइनलमा प्रकाश-मीना र बालचन्द्र-शोभा टीमको प्रतिस्पर्धा हुने

    दोहोरी च्याम्पियनको फाइनलमा प्रकाश-मीना र बालचन्द्र-शोभा टीमको प्रतिस्पर्धा हुने

    काठमाडौं । टेलिभिजन गायन रियालिटी सो दोहोरी च्याम्पियनको ग्रान्ड फिनाली आगामी शनिबार तालनगरी पोखरामा हुने भएको छ । त्यहाँको बाराही घाटमा सोको ग्रान्डी फिनाली हुने आयोजकले जनाएको छ ।

    उपाधि जित्न प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीमबीच गायन भीडन्त हुनेछ । पराजुली र मीनाको टीम यसअगाडि नै फाइनलमा पुगेको थियो भने बालचन्द्र र शोभाको टीम राजेन्द्र पाठक र मीना नेपालको टीमलाई हराउँदै उपाधिका फाइनलमा पुगेको हो ।

    तृतिय स्थानका लागि सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमको प्रतिस्पर्धा हुनेछ । दर्शकको मतका आधारमा विजेता छानिने र गत शनिबार साँझदेखि भोटिङ राउण्ड खुला भएको जनाइएको छ । नेपाल टेलिभिजनको एपमार्फत भोटिङ गर्न सकिने निर्णायकमध्येका एक रमेश बिजीले जानकारी दिए ।

    डिजिटल अडिसनबाट छानिएका ३५ वटा टीमको फिजिकल अडिसनमार्फत उत्कृष्ट २४ छानिएको थियो ।

    सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्ने भएको छ । दोस्रो हुने टीमले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुनेले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    निर्णायकमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी र चन्द्र शर्मा छन् । गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालकको भूमिकामा छन् । यो गायन सो एनटीभीमा प्रत्येक शनिबार राती ८ः५० बजे प्रसारण हुँदै आएको छ।

  • डिनो मोरियाको फिल्म सुटिङ नेपालमा हुँदै, नोभेम्बर ८ देखि काठमाडौं र पोखरामा लोकेसन खोजी

    डिनो मोरियाको फिल्म सुटिङ नेपालमा हुँदै, नोभेम्बर ८ देखि काठमाडौं र पोखरामा लोकेसन खोजी

    काठमाडौं । बिग बजेटको अर्को एक बलिउड फिल्म छायांकनलाई नेपाल आउने भएको छ । नायक डिनो मोरियाको मुख्य भूमिका रहने फिल्मको छायांकनको लागि लोकेसन हन्टिङ नोभेम्बर ८ देखि काठमाडौंमा सुरु हुँदैछ ।

    काठमाडौं, पोखरा, चितवन र मुस्ताङमा लोकेसन हन्टिङ हुने जानकारी फिल्मको नेपाल व्यवस्थापन हेर्ने कम्पनीले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

    कम्पनीका अनुसार लोकेसन हन्टिङ गर्न नोभेम्बर पहिलो साता बलिउड टोली काठमाडौं अवतरण गर्नेछ । डिसेम्बर पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको सुटिङ युनिट २० दिन नेपालमा रहनेछ ।

    ‘बलिउडको ठूलै ब्यानर आउने निश्चित भएको छ र हामी नोभेम्बर ८ देखि लोकेसन हन्टिङमा जाँदैछौं’ कम्पनीका एक पदाधिकारीले नेपाल प्रेसलाई भने, ‘हामीलाई डिनो मोरियाको फिल्म भनिएको छ । थप उनीहरु आएपछि थाहा होला ।’

    पछिल्लो समय नेपाल बलिउडको आकर्षक सुटिङ गन्तव्य बनिरहेको छ । अनुपम खेर र बोमन इरानी स्टारर ‘उचाइ’को छायांकन अहिले मनाङमा भैरहेको छ ।

  • भारतमा राष्ट्रिय फिल्म अवार्ड वितरण : कंगना र मनोज सर्वोत्कृष्ट, रजनीकान्तलाई दादा साहेब फाल्खे

    भारतमा राष्ट्रिय फिल्म अवार्ड वितरण : कंगना र मनोज सर्वोत्कृष्ट, रजनीकान्तलाई दादा साहेब फाल्खे

    नयाँ दिल्ली । सोमबार भारतमा ६७ औं राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ । उपराष्ट्रपति वेंकैया नायडूले विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरे । ‘मर्णिकर्णिका’ र पंगा फिल्मबाट अभिनेत्री कंगना रनावतले सर्बोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन् । कंगनाको यो चौंथो राष्ट्रिय फिल्म अवार्ड हो । मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे ।

    कंगनाले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेकी छिन् : आज म एकदमै उत्साहित भएकी छु । फिल्मको टिमलाई धन्यवाद दिन चाहन्छु । ’ कंगना अवार्ड सेरमनीमा गोल्डन सिल्क सारी र गोल्ड ज्वेलरीको लुक्समा पुगेकी थिइन् ।

    कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार जितेकी थिइन् । २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् भने २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।

    आज भएको ६७ औं राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवारीको निर्देशनमा रहेको फिल्म ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्ममा सुशान्त सिंह राजपूत, श्रद्धा कपूर अभिनित छन् भने मनोज बाजपेयीलाई ‘भोंसले’ र धनुषलाई ‘असुरन’का लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ ।

    कोरोना महामारीका कारण अवार्ड आयोजना हुन एक वर्ष ढिलाई हुन पुगेको हो । यो अवार्ड केन्द्र सरकारको सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय सरकार अन्तर्गत आउने चलचित्र महोत्सव निर्देशनालयले अवार्ड दिने गरेको छ । यो पुरस्कार राष्ट्रपतिले वितरण गर्ने गरिएको थियो । ६६ औँ पुरस्कार उपराष्ट्रपति वेंकैया नायडूले दिएका थिए भने राष्ट्रपति रामनाथ कोविन्दले विजेताहरू हाई टीको आयोजना गरेका थिए।

    सुपरस्टार रजनीकान्त ‘दादासाहेब फाल्के’ अवार्डबाट सम्मानित भएका छन् । सम्मान ग्रहण गर्दै उनले दर्शक तथा शुभेच्छुकलाई धन्यवाद दिए । कार्यक्रममा सबैले रजनीकान्तलाई स्ट्यान्डिङ ओभेशन समेत दिए।

  • फिल्म ‘काँडेतार’मा गौरव र रेविकाले जोडी बाँध्ने, मंसिरदेखि छायांकन सुरु हुँदै

    फिल्म ‘काँडेतार’मा गौरव र रेविकाले जोडी बाँध्ने, मंसिरदेखि छायांकन सुरु हुँदै

    काठमाडौं । नवल खड्काले निर्माण एवं निर्देशन गर्ने फिल्म ‘काँडेतार’को प्रमुख नायिकामा रेविका गुरुङ अनुबन्धित भएकी छिन् । फिल्मर्की अर्की एक नायिका आजै सार्वजनिक गर्ने तयारी भएको छ ।

    राजनीतिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा गुरुङको अनस्क्रिन जोडी गौरव पहारीसँग बाँधिने भएको छ । पहारी यसअघि नै मुख्य भूमिकामा छानिएका छन् । निर्देशक समेत रहेका नवल स्वयम पनि फिल्मको प्रमुख भूमिकामा देखिने भएका छन् ।

    मंसिर पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा रेबिकाले अनुबन्धित भएको जानकारी निर्माता समेत रहेका खड्काले जानकारी दिए । रेविकाले यसअघि मारुनी फिल्ममा अभिनय गरेकी थिइन् ।

    निर्देशक खड्काको समेत मुख्य अभिनय हुने फिल्ममा रविन्द्र रञ्जन झाको समेत मुख्य अभिनय हुनेछ । ‘दुई मुलुकबीचको खुला सीमालाई सिल गर्नुपर्छ’ भन्ने मुख्य कथावस्तु यो फिल्मा हुनेछ ।

  • जब मनाङमा अमिताभ बच्चन भेटिए !

    जब मनाङमा अमिताभ बच्चन भेटिए !

    काठमाडौं । अहिले मनाङमा बलिउड फिल्म उचाइ छायांकन चलिरहेको छ । लुक्ला र नाम्चेपछि मनाङमा निर्देशक सुरज वर्जत्यले फिल्म सुटिङ गरिरहेका छन् ।

    अनुपम खेर, बोमन इरानी, परिणिती चोपडासहितका केही नेपाली कलाकार अहिले मनाङको चिसो तापक्रममा फिल्म छायांकन गरिरहेका छन् । प्रमुख भूमिकामा रहेका अमिताभ बच्चन नेपालमा नआएपनि उनको पार्टको छायांकन भैरहेको छ ।

    भारतबाटै ल्याइएका अभिनेता बच्चनको भूमिका एकजना डमी कलाकारले गरिरहेका छन् । अमिताभजस्तै दुरुस्तै हुलिया रहेका ती कलाकारको लङ र ब्याकसट् नेपालमा खिच्ने काम भैरहेको छ ।

    अल्टिच्युड एयरका पाइलट विवेकले अमिताभको डमी एक्टरको तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् । यसअघि निमोनियाका बिरामी समेत रहेका अमिताभलाई चिकित्सकले चिसो ठाउँमा नजान सुझाएपनि उनी नेपाल आएका थिएनन् ।

    सोही कारण डमी कलाकार नेपाल ल्याइएको हो । फिल्मको नेपाल व्यवस्थापन हेरिरहेको कम्पनी थ्री हिवलर्सका अनुसार अझै एकसाता फिल्म छायांकन मनाङमा हुनेछ । त्यसपछि मुम्बइ फर्कने कार्यक्रम छ ।

    मित्रताको कथा प्रस्तुत गर्ने फिल्मले तीन वृद्ध साथीहरु नेपालको हिमाली भूगोलको पदयात्रामा निस्किएको कथा भन्छ ।

     

  • दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

    दोलखामा फिल्म सिटी बनाउन कस्सियो सरकार

    दोलखा । सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

    फिल्म सिटीको पछिल्लो अवस्था बुझ्ना सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ ।

    शनिबार अवलोकनपछि सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए ।

    मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन समेत बनाइसकेको छ ।

    सञ्चार सचिव डा. अर्यालले आयोजना स्थल अवलोकनपछि उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताए ।

    यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने उनले बताए ।

    फिल्मसिटी आयोजनास्थल अवलोकन गर्दै सञ्चार सचिव डा.वैकुण्ठ अर्यालसहितको टोली ।

    बोर्डको संयोजनमा पुगेको अवलोकन टोलीमा मन्त्रालयका सहसचिवद्धय विनोद प्रकास सिंह, अनिल दत्त, चलचित्र नगरी सहयोग समितिका संयोजक वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सदस्य बालकृष्ण बस्नेत र जीतबहादुर श्रेष्ठ, बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्र साँखी, बोर्ड सदस्य प्रकास भट्टराईलगायत थिए ।

    फिल्म सिटीका अभियन्ता श्रेष्ठले राष्ट«को गौरवको परियोजना भएकोले यसलाई कुनै हिसाबले रोक्न नहुने बताए । स्थानीयको सहयोगमा जग्गा उपलब्ध गराउनेदेखि अन्य काममा समेत हातेमालो हुँदै आएकाले सरकारले ढिलो नगरी कामलाई तीव्रता दिन उनले मागसमेत गरे ।

    उक्त परियोजनाको सम्भाव्यता अध्ययनसहितको व्यवस्थापनमा संघीय सरकारले केही रकम उपलब्ध गराएपनि पर्याप्त बजेट नहुँदा चलचित्र क्षेत्रको भविष्य जोडिएको यो काममा ढिलाइ भएको उनको भनाइ छ ।

    प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भइ काम समेत सुरु भइसकेको छ ।

    डिपीआरमा केही थपघट गर्नुपर्ने भए त्यसलाई समेत हेरी बाँकी काम बढाउन वर्तमान सरकारले विशेष चासो दिने सचिव अर्यालले बताए ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत यो परियोजनालाई तीव्र ढंगले अघि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय गर्न मन्त्रालय तयार भएको जानकारी आफूले पाएको अभियन्ता श्रेष्ठले जानकारी दिए ।

    यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।

    ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो ।

    डाँङ्डुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको प्राविधिकहरुको मूल्यांकन छ ।

    आयोजना निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको बजेटले मात्र नपुग्ने भएकाले विदेशी सहायताका लागि समेत प्रयास भइरहेको जानकारी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले दिए ।

    काठमाडौंबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ ।
    प्रशासनिक भवन तथा प्रवेशद्धार निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि यो परियोजना छानिएको थियो । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन समेत आवश्यक पर्न सक्ने सचिव अर्यालले बताए ।

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले २ अर्ब ७५ करोड लागत अनुमान पर्ने जनाएको छ ।

    इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ ।

    फिल्म सिटी आसपासमा एयरपोर्ट, होटल, रेलसहित बनाउनुपर्ने प्रस्ताव छ ।

    यो आयोजनालाई निर्वतमान सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले २०७४ फागुन ३ गते शिलान्यास गरेका थिए ।

     

  • समीक्षाको प्रष्टीकरणः पलजीले अभिभावकको रुपमा माया गर्नुहुन्छ

    समीक्षाको प्रष्टीकरणः पलजीले अभिभावकको रुपमा माया गर्नुहुन्छ

    काठमाडाैं । नायक पल शाहसँगको सम्वन्धका विषयमा गायिका समीक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी हुन् ।

    समीक्षाको भनाइमा पलले उनलाई अभिभावकको हिसाबले माया र संरक्षण गरिरहेका छन् ।

    समीक्षाले लेखेकी छन्, ‘एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको रुपमा माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया र संरक्षण गर्नुहुन्छ र म उहाँको सदैव फ्यान पनि हुँ ।’

    आफूहरु सँगै काम गरिरहेको तर कुनै प्रकारकोअनैतिक सम्वन्धमा नरहेको उनको भनाइ छ । यस विषयमा प्रकाशित समाचारमा आफू दुखी रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध गरेकी छन् ।

  • ‘कबड्डी ४’ छायांकन आजदेखि मुस्ताङमा सुरु, खोप लगाएपछि सुटिङ गर्न प्रशासनको अनुमति

    ‘कबड्डी ४’ छायांकन आजदेखि मुस्ताङमा सुरु, खोप लगाएपछि सुटिङ गर्न प्रशासनको अनुमति

    काठमाडौं । फिल्म ‘कबड्डी ४ : फाइनल म्याच’ छायांकन हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ ।

    निर्माता मणिराम पोखरेलका अनुसार ३५ दिने सुटिङ तालिकाअन्तर्गत फिल्मलाई कोवाङ, लेते, मुक्तिनाथ, लार्जुङ लगायतका मुस्ताङी थलोमा खिचिने भएको छ ।

    कलाकार र प्राविधिक सबैलाई कोभिड-१९ विरुद्धको खोप लगाएर छायांकन सेटमा प्रवेश गर्न अनुमति दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले खोप लगाउनेलाई मात्र जिल्ला प्रवेशको अनुमति दिएको छ ।

    ‘हामीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म सुट गरिरहेका छौं । कलाकार र प्राविधिकलाई बाहिरी मान्छेसँग पनि भेट् गर्न दिएका छैनौं र सबैलाई खोप लगाइएको छ’ कोभिड प्रोटोकलबारे निर्माता पोखरेलले भने ।

    रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामाको अभिनय छ । निर्माता पोखरेलले छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारी नेपाल प्रेसलाई दिए ।

     

  • बक्सअफिस : पछिल्लो साता कुन फिल्मले कति कमाए ?

    बक्सअफिस : पछिल्लो साता कुन फिल्मले कति कमाए ?

    काठमाडौं । जेम्स बन्डको २५ औं श्रृंखला ‘नो टाइम डाइ’ले नेपाली बक्सअफिसमा सन्तोषजक व्यापार गरेको छ । डेनियल क्रेग स्टारर फिल्मले पहिलो साता ३५ लाख ग्रस कमाएको छ ।

    क्यूएफएक्ससहित मुलुकका ठूला मल्टिप्लेक्समा रिलिज भएको यो फिल्मलाई एप्पल इन्टरनेटमेन्टले ल्याएको हो । ‘अपेक्षाभन्दा माथिको कमाइ हो यो’ एप्पलका रुबेन श्रेष्ठले नेपाल प्रेसलाई भने, ‘फिल्मको कमाइ दोस्रो सातामा पनि सुखद हुने हाम्रो अनुमान छ ।’

    एप्पलकै अर्को फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला ‘एफ-९’ले पहिलो साता २० लाख ग्रस कमाएको छ । भिन डिजेल स्टारर यो फिल्म यसअघि नै डिजिटल प्लेटफर्मममा रिलिज भएपनि दर्शकको उपस्थिती भने आशालाग्दो देखिएको श्रेष्ठले बताए ।

    दशैंमा रिलिज भएको शोभित बस्नेत निर्देशित फिल्मले भने घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेको छ । निर्माता नवराज गिरीले फिल्मको व्यापार कमजोर भएको बताउँदै सार्वजनिक गर्न मानेनन् ।

    अर्को दसैँ रिलिज धन्दागिरी पनि बक्सअफिसमा असफल भएको छ । कोभिड-१९ को दोस्रो लहरको कारण बैशाख १६ गतेदेखि बन्द रहेका फिल्म हलहरु असोज २१ गतेदेखि पुनः संचालनमा आएका थिए ।

  • पूर्वराजपरिवारसँग सेलिब्रिटी, पारसलाई हिमानीको स्वागत (फोटो फिचर)

    पूर्वराजपरिवारसँग सेलिब्रिटी, पारसलाई हिमानीको स्वागत (फोटो फिचर)

    काठमाडौं । राजसंस्था खारेज भएयता पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक गतिविधिमा सक्रिय छिन् । उनले सञ्चालन गरेको ‘हिमानी ट्रस्ट’ ले सोमबार काठमाडौंको सोल्टी होटलमा चियापान कार्यक्रम आयोजना गर्यो ।

    दसैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि निम्त्याएको थियो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह कार्यक्रममा उपस्थिति थिए । यस्तै पूर्वयुवराजपारस पनि आएका थिए । हिमानीले ट्रस्टका पदाधिकारीहरुसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरिन् ।

    कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी आफ्नो ट्रस्टको औपचारिक सारी चोलो लगाएकी थिइन् । पारसले सट पाइन्ट र कोर्ट लगाएका थिए । पारस र हिमानी पुत्र हृदयन्द्रले राष्ट्रिय पोशाक लगाएका थिए । पूर्वरानी कोमल भने कार्यक्रममा अनुपस्थित रहिन् ।

    पारस र हिमानीबीच संवाद भएको देखिएन । बरु पारस र ज्ञानेन्द्रले छोटो कुराकानी गरेका थिए ।

    कार्यक्रममा आगन्तुकहरुको पूर्वराजपरिवारप्रति राम्रै आकर्षण देखियो । कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल लगायत हिमानी ट्रस्टका निम्तो मान्न आएका थिए ।

    हिमानी ट्रस्टले आयाजना गरेको एक कार्यक्रममा सेलिब्रिटीहरुलाई समेत डाकेर चियापान आयोजना गर्यो । कार्यक्रममा पूर्वयुवराजधिराज पारस पनि उपस्थित थिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    
    
    
    तस्बिरहरुः सरोज बैजु
  • गसीपमा पल-समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा

    गसीपमा पल-समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा

    काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न ।

    करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो । तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन । उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक-कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ ।

    हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन् । दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन । आखिर के हो त वास्तविकता ? हामीले केही खोजिनीति गरेका छौं ।

    ००

    नायक पल शाह (वास्तविक नाम पूर्णविक्रम शाह) ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन् । चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ । पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन् ।

    जानकारहरूका अनुसार ६-७ महिना अघिदेखि वर्षदेखि पल र समीक्षानिकट भएका हुन् । यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन् । यसको सबै वास्तविकता उनीहरूले नै जान्ने कुरा हो । तर, धेरैवटा विश्वसनीय स्रोतले हामीलाई दिएको जानकारीको समष्टी यस्तो छ :-

    ६ महिना अगाडि युट्यूवमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिए । खेम सेन्चुरी मिलेर गाएको यो गीतको भिडिओमा समीक्षाले पलको जोडीका रूपमा अभिनयसमेत गरेकी छन् । चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू ‘रिल जोडी’ बाट ‘रियल जोडी’ बन्न पुगे ।

    समीक्षासँगको निकटतालाई पलले हल्काफुल्कारूपमा लिएका थिए । समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन् । उनी पहिल्यैदेखि पलकी फ्यानसमेत हुन् । आफूले सानैदेखि गीत र फिल्ममा हेर्दै आएको स्टारसँग रिलेसनसीपमा बस्न पाउँदा उत्साहित थिइन् समीक्षा । तर, केही समयमै कुरा बिग्रियो ।

    पल बिस्तारै समीक्षासँग टाढिने प्रयासमा लागे । फोन नउठाउने र म्यासेज रिप्लाइसमेत नगर्ने भएपछि समीक्षाको छट्पटाहट सुरू भयो । उनी पलसँग छुट्टिनै नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । त्यसपछि उनीहरूबीच झगडा हुन थाल्यो ।

    समीक्षाले आफ्ना निकटस्थहरूलाई सेयर गरेअनुसार पलले उनलाई भनेका थिए, ‘तिमीजस्तो अफेयर मेरो कतिजनासँग भयो कति ।’

    उनले अर्की एक म्युजिक भिडिओ मोडलको उदाहरणसमेत दिएर ‘धेरै निहुँ खोजे उसलाई जस्तै अप्ठेरोमा पारिदिनसक्ने’ भनेर समीक्षालाई धम्याएका थिए ।

    पलको बोली र व्यवहारबाट समीक्षा विक्षिप्त बन्न पुगिन् । एक-डेढ महिनाजति उनले नयाँ गीत गाउन पनि सकिनन् । करिब डिप्रेसनकै अवस्थामा पुगेपछि उनले आफन्त र नजिकका केही साथीहरूलाई आफ्नो पीडा सेयर गरिन् । सबैसँग सल्लाहपछि निर्णायक कदम चाल्ने निधोमा पुगिन् ।

    समीक्षाले पललाई यदि सम्बन्ध तोडेको खण्डमा आफूसँग रहेका फोटो/भिडिओहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने चेतावनी दिइन् । त्यसपछि भने पल हच्किए । १७ वर्षीया समीक्षा उमेरले नाबालिग भएको हुँदा पल कानूनी झमेलामा फस्न सक्ने प्रचुर सम्भावना थियो । त्यसैले उनी लचिलो भए ।

    पलले समीक्षालाई आफूबाट अलग हुन आर्थिक प्रलोभन दिएकाे स्राेतकाे दावी छ । एक करोडको अफर गर्दा समीक्षाले ठाडै अस्वीकार गरेकाे बताइन्छ । ‘म … हो र ?’ भन्दै कडा जवाफ दिएपछि पल उनीसँग समझदारीमा आउन वाध्य भएका थिए ।

    समीक्षाको मामा पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भयो । त्यसपछि फेरि समीक्षाको परिवार र दुई सञ्चारकर्मीको रोहबरमा लिखित समझदारी भएको स्रोतको दावी छ । अपुष्ट दावीअनुसार दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्न पलले लिखित सहमति जनाएका छन् ।

    उनीहरूको विषयमा गाइँगुइँ सुरू भएसँगै पल आफैं समीक्षासँग बिहे गर्न हतारिएको र उमेर बढाएर नागरिकता बनाउन दबाब दिएको चर्चा पनि छ । यद्यपि, आफ्ना निकटस्थहरूसँग उनी आफूप्रति समीक्षाको ‘एकतर्फी क्रेज’ मात्र रहेको बताउने गर्छन् ।

    पल-समीक्षाको विषयमा धरै मिडियाकर्मीहरूलाई थाहा भए पनि सबैले गुपचुप राखेका छन् । टेलिभिजन कार्यक्रम ‘रजतपट’ मा केही समयअघि पल र समीक्षाबारे रिपोर्ट प्रसारण गर्न लागिएको तर पलको दवावमा रोकिएको चर्चा चलेको थियो । यसमा आर्थिक लेनदेनको कुरा समेत उब्जिएको थियो ।

    चम्किलो करिअरमा धक्का नपरोस्

    पल शाह नेपाली फिल्म र म्युजिक भिडियोका स्टार हुन् भने समीक्षा नयाँ पुस्ताकी आशालाग्दी गायिका । दुवैको उज्यालो करिअरलाई यो प्रकरणले असर पार्न सक्ने देखिएका छ ।

    किशोरावस्थामै समीक्षाले कमाएको चर्चा र सफलता निकै लोभलाग्दो छ । उनको स्वरका पारखी धेरै छन् । तर, सानै उमेरदेखि प्रेम सम्बन्धमा फँस्दा उनको करिअर प्रभावित बन्न थालेको छ ।

    पल शाहका लागि भने कसैसँग नाम जोडिनु कुनै नौलो कुरा होइन । यसअघि उनको आँचल शर्मा, मल्लिका महत, गरिमा शर्मालगायत नायिका/मोडलसँग निकटता थियो । उमेरले नाबालिग समीक्षासँगको अफेयर भने पलका लागि महंगो पर्न सक्छ । नाबालिगसँगको सम्वन्धलाई समाज र कानूनले जायज मान्दैन ।

    साथै, पलले सामाजिक कामहरूमार्फत कमाएको ‘रियल हिरो’ को प्रतिष्ठालाई ‘प्ले व्वाइ’ छविले धुमिल पारिरहेको छ ।

    पल शाह भन्छन्- समीक्षाले मलाई अभिभावकको रूपमा लिन्छिन्

    नेपाल प्रेससँग कुरा गर्दै पलले समीक्षासँगको सम्बन्ध अस्वीकार गरे । आफूले दुई हप्तादेखि यस्तो हल्ला सुनेको तर सत्य नभएको उनको प्रतिक्रिया छ । समीक्षाले आफूलाई ‘अभिभावकका हिसाबले’ लिने गरेको पलले बताए ।

    पलसँगको संक्षिप्त प्रश्नोत्तरः

    समीक्षा अधिकारी र तपाईंको सम्वन्धको चर्चा व्यापक नै हुन थाल्यो, वास्तविकता के हो ?

    मैले पनि बाहिरबाट सुनेको हल्ला हो । तर, हामीबीच त्यस्तो केही छैन । हामीले म्युजिक भिडिओमा एउटा टिममा बसेर सँगै काम गरेका हौं । टिममा काम गर्दा नजिक भइन्छ । सँगै बसिन्छ, खाइन्छ । त्यो स्वाभाविक हो । अफेयरको कुरा चाहिँ विल्कुल सत्य होइन । मेरा दुश्मनहरूले यस्तो नचाहिँदो प्रचारवाजी गरिरहेका छन् ।’

    हावा नचली त पात हल्लिदैन भन्छन् नि ?

    समीक्षाले मलाई अभिभावकको रूपमा सम्मान गर्छिन् । मैले पनि उसलाई सपोर्ट गर्छु । यसलाई गलत नजरले हेरिएकोमात्र हो । समीक्षाले मलाई ‘पल जी’ भनेर सम्बोधन गरेका कारण पनि धेरै मान्छेलाई शंका लाग्यो होला । तर, त्यस्तो केही पनि होइन ।

    पछिल्लो समय तपाईंहरू दुवैजना मिडियाबाट तर्किने, प्रेस मिटमा नआउने गरिरहनुभएको चाहिँ किन ?

    त्यो कारणले हुँदै होइन । म त विजी भएर नै प्रेसमिटमा नगएको हो । समीक्षा किन नगएको हो उसलाई नै सोध्दा राम्रो हुन्छ । तर, उसले पनि भनेको छ कि त्यस दिन रेकर्डिङ भएकाले जान नपाएको भनेर । हावा तालमा अनुमान लगाउन भएन ।

    भविष्यमा तपाईंहरूको विवाहको सम्भावना नै छैन त ?

    अहिले त्यस्तो केही पनि प्लानिङ गरिएको छैन । तर, भविष्य त कसले देख्न सक्छ र ?

    यति हल्ला चलिसकेपछि आफ्नो तर्फबाट स्पष्टीकरण दिने विचार गर्नुभएको छ ?

    मैले यसलाई ठूलो इस्यू नबनाउँ भनेर कतै नबोलेको हो । मेरो पनि फेमिली हुनुहुन्छ, उसको पनि फेमिली हुनुहुन्छ । यस्तो कुराले फेमिलीलाई असर गर्छ भनेर सञ्चारमाध्यमलाई हामीले जथाभावी नलेखिदिन आग्रह गरिरहेका छौं । समीक्षा त एउटा राइजिङ स्टार पनि हो । उसको भर्खरै बन्न लागेको करिअर नबिग्रियोस भनेर सञ्चारमाध्यम पनि संवेदनशील हुनुपर्छ । यस विषयमा म एक-दुई दिनमा सार्वजनिकरूपमै आफ्ना कुराहरू राख्नेछु ।

    (यस विषयमा समीक्षाले भने हामीसँग कुरा गर्न चाहिनन् । उनले आजै टीकटकमा एउटा भिडिओ पोष्ट गरेकी थिइन् । उक्त भिडिओमा उनले ‘कुरा काट्ने मान्छेले काटुन्… तर तिमी र म छुट्नु भएन’ बोलको गीतमा लिपसिंक गरेकी छन् । केही घण्टापछि उनले त्यो भिडिओ हटाइन् ।)

  • साम्राज्ञीको गीतमा टीकटक बनाउनेलाई १ लाख पुरस्कार

    साम्राज्ञीको गीतमा टीकटक बनाउनेलाई १ लाख पुरस्कार

    काठमाडौं । ट्रि इन्टरटेनमेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिने निर्माणपक्षले बताएको छ । हालसम्म २० लाख भन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्रि इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजक ट्रि इन्टरटेन्मेन्टले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने बताएको छ ।

    आयोजकले दिएको ह्यास्टट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौ हुनेले १५ हजार, सातौ हुनेले १२ हजार, आठौ हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडिओमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ । डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

  • परिणितीले मनाङमा मनाइन् बर्थडे, नाचगानदेखि केक काट्नेसम्म (भिडिओ)

    परिणितीले मनाङमा मनाइन् बर्थडे, नाचगानदेखि केक काट्नेसम्म (भिडिओ)

    काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा शुक्रबारदेखि ३३ वर्ष लागेकी छिन् । यी सुन्दरी अहिले नेपालको हिमाली जिल्ला मनाङमा छिन् जहाँ उनले अझै केही साता फिल्म ‘उचाइ’को छायांकन गर्नेछिन् ।

    फिल्मकै कास्ट एन्ड क्रिउसँग आज आफूले जन्मदिन मनाएको परिणितीले बताएकी छिन् । इन्डिया टुडेसँग कुरा गर्दै उनले चिसो याम बिर्सिएर भएपनि आफू उचाइ छायांकनलाई नेपालको हिमाली थलोमा आएको र आफ्नो ब्याट्री रिचार्ज भएको उनले बताएकी छिन् ।

    उनी भन्छिन् : म सुरज वर्जत्यको फिल्म उचाइका लागि अहिले नेपालका हिमाली ठाउँमा आएकी छु । बर्थडेमा मैले आफ्नो टीमसँग केक पनि काट्नेछु । यो भन्दा राम्रो चीज मैले अर्को पाउन सक्दिँन । म वर्ष २०२१ प्रति पूर्णतः आभारी छु ।’

    बिहीवार मनाङ पुगेको परिणिती, अनुपम खेर, बोमन इरानीसहितको उचाइ टोलीलाई गाउँलेले स्वागत गरेका थिए । अनुपम खेरले सामाजिक संजालमा नाचगान गरेको भिडिओ पोस्ट गरेका छन् जहाँ परिणिती खुशिले नाचेको देख्न सकिन्छ ।

  • शोभित बस्नेतको प्रश्न : ‘महानायक’ का म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा ?

    शोभित बस्नेतको प्रश्न : ‘महानायक’ का म्युजिक भिडिओ खोइ ट्रेन्डिङमा ?

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका एक चिरपरिचित अनुहार हुन् शोभित बस्नेत । पछिल्लो समय ‘महानायक काण्ड’ ले त उनलाई सामाजिक सञ्जालमा भाइरल नै बनाइदिएको छ ।

    नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै अन्तरर्वार्ता दिएपछि हमालका फ्यानहरुको निशानामा परे बस्नेत । उनीमाथि चौतर्फी आक्रमण मात्रै सुरु भएन, यसको गहिरो असर उनले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपिपल’ मा पर्न गएको छ । युट्यूवमा दर्शकले यो चलचित्रका हरेक सामग्रीमा डिस्लाइकको अभियानै चलाएका छन् ।

    दसैँ छेकोमा यो चलचित्र हलमा रिलिज गरिएको थियो । तर, फिल्मले पानी पनि भन्न पाएन । चलचित्र हेर्न आएका दर्शक औंलामा गन्न सकिने संख्यामा थिए । हलबाट खासै आम्दानी भएन । लामो समयपछि खुलेका हलमा दर्शक पर्खाउनका लागि ‘डाँडाको बरपिपल’ ले ढोका खोल्ने अपेक्षा गरिएको थियो । तर, यस चलचित्रको असफलताले अझै लामो समय चलचित्र क्षेत्र बौरिन नसक्ने संकेत गरेको छ ।

    के महानायक काण्डको असरले नै फिल्म सुपरफ्लप भएको हो त ? निर्देशक बस्नेत स्वीकार्दैनन् । यो चलचित्र हलमा चल्दैन भन्ने आफूलाई पहिल्यै थाहा भएको उनको भनाइ छ ।

    ‘डाँडाको बरिपपल’को ठाउँमा ए बी सी जुनसुकै चलचित्र रिलिज गरिएको भए पनि अवस्था यही हुने थियो,’ बस्नेतले ठोकुवा गर्दै भने, ‘अझै एक वर्षसम्म दर्शकहरु चलचित्र हेर्न हलमा आउँदैनन् । अब रिलिज हुने फिल्महरुको अवस्था पनि यही नै हुने हो ।’

    महानायकको आतंक फैलाएर आफ्नो चलचित्रविरुद्ध माहोल बनाउनेलाई भविष्यमा राजेश हमालको हिट बनाएर देखाउन उनले चुनौति दिए । ‘यस्तै कन्डिसनमा राजेश हमालका फिल्म हेर्न दर्शक हलमा आउनुभयो भने मान्छु,’ उनले भने, ‘तर, महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डिङको टप ५० मा पनि किन नआएका ? उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका ?’

    कोरोनाको कहर पुर्णरुपमा शान्त भएर जनजीवन सामान्य भएपछि मात्रै दर्शक हलमा आउने उनको भनाइ छ ।

    दर्शकले हेर्दैनन् भन्ने थाहा हुँदाहुँदै किन चलचित्र बनाएको त भन्ने प्रश्नमा बस्नेतले जवाफ दिए, ‘खासमा यो चलचित्र हलका लागि भएर ओटीटी प्लेटफर्मका लागि बनाइएको हो । लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र चलायमान बन्न थालेको सन्देश दिनका लागि मात्रै हामीले हलमा लगाएका हौं । र, यो सन्देश दिन हामी सफल पनि भएका छौं ।’

    डाँडाको वरपिपलको निर्माण बुढासुब्बा डिजिटलले गरेको हो । चलचित्रमा करिब ७५ लाख लगानी भएको बस्नेतले जानकारी दिए । साथै, चलचित्रलाई नेपाल चलचित्र विकास बोर्डले करिब ७ लाख रुपैयाँ निर्माण अनुदान समेत दिएको उनले बताए ।

    हलबाट भएको आम्दानीबारे उनले जानकारी दिन चाहेनन् । ‘हलबाट केकति भयो भन्ने रिपोर्ट आइसकेको छैन, तर दर्शक नै नआपपछि उल्लेख्य आम्दानी हुने कुरा भएन,’ उनले भने, ‘हलबाट जति आउँछ, त्यो बोनस हो ।’

    हलबाट कमाइ नभए पनि ओटीटीबाट लगानी रिकभर हुन सक्ने उनको दावी छ । ‘बुढासुब्बाले नै मलाई अर्को चलचित्र बनाउनका लागि प्रस्ताव गरेको छ र मैले तयारी पनि गरिसकेको छु,’ उनले सुनाए, ‘यदि फाइदा नभएको भए किन फेरि अर्को चलचित्र बनाउन तम्सिन्थ्यो होला र रु’

    आफूले बनाउने नयाँ चलचित्रमा डाँडाको वरपिपलकै जोडी सलोन बस्नेत र रुबिना थापालाई दोहोर्याउने उनले बताए । महानायक काण्डपछि शोभितका छोरा सलोनको करिअर पनि धरापमा परेको चर्चा भइरहेको छ । तर शोभित स्वीकार्दैनन् ।

    उनले भने, ‘सलोनलाई केही असर गर्दैन, उसले २–३ वटा नयाँ चलचित्र साइन गरिसकेको छ ।’ महानायक काण्ड अझै सेलाइसकेको छैन । यो बीचमा शोभित बस्नेतले हमालका फ्यानहरुबाट कति गाली खाए कति । उनीहरुलाई फकाउनका लागि बस्नेतले हमाललाई महानायक स्वीकार्दै उनको फोटोलाई प्रमुख अतिथि बनाएर कार्यक्रम पनि गरे । तर, पनि हमालका फ्यानको क्रोध शान्त भएको छैन ।

    बस्नेत यसलाई ‘आतंक’ को संज्ञा दिन्छन् । ‘यो काण्ड-सान्ड भन्दा पनि आतंक हो, तर मलाई यस्तो कुराले डग्मगाउँदैन,’ उनले भने ।

  • फिल्म सुटिङमा हिरोले बन्दुक पड्काउँदा छायांकारको मृत्यु, निर्देशक घाइते !

    फिल्म सुटिङमा हिरोले बन्दुक पड्काउँदा छायांकारको मृत्यु, निर्देशक घाइते !

    न्यूयोर्क । हलिउड फिल्मको सुटिङ सेटमा अभिनेता एलेक बाल्डविनले बन्दुक पड्काउँदा छायांकारको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् ।

    भेराइटी म्यागजिनका अनुसार बिहीवार बिहान अमेरिकाको न्यू मेक्सिकोमा फिल्म ‘रस्ट’ छायांकन सेटमा यस्तो घटना भएको हो ।

    सिनेम्याटोग्राफर हाल्याना हचिनको मृत्यु भएको छ भने निर्देशक जोएल सउजा घाइते भएका छन् । ४२ वर्षिय छायांकार हचिनलाई न्यू मेक्सिका युनिभर्सिटीमा हेलिकोप्टरबाट लैजाँदा मृत्यु भएको हो ।

    घाइते निर्देशक सउजालाई स्थानीय सान्टा फे काउन्टीको अस्पताल लगेर उपचार भैरहेको छ । अभिनेता बाल्डविनले सक्कली बन्दुक नै पड्काउँदा यस्तो घटना भएको फिल्म निर्माण युनिटले भेराइटीलाई बताएको छ । अहिले सान्टा फे प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

  • जोगले हुन्छ भेट : ३७ वर्षपछि काठमाडौंले जुरायो अनुपम र फेलोसिटीको भेट !

    जोगले हुन्छ भेट : ३७ वर्षपछि काठमाडौंले जुरायो अनुपम र फेलोसिटीको भेट !

    काठमाडौं । सन् १९८४ मा मुम्बइमा छायांकन भैरहेको अनुपम खेर अभिनित फिल्म ‘जीवनसन्ध्या’को सुटिङ सेटमा पुगेर एक विदेशी केटीले आफूलाई सुहाउने भूमिका दिन आग्रह गरेकी थिइन् ।

    ती १९ वर्षे ठिटीलाई अभिनेता खेरले आगामी फिल्महरुमा सुहाउने भूमिकामा रोल दिने भन्दै फकाएका थिए । त्यसपछि ती ठिटी र खेरबीच भेटघाट भएन ।

    ३७ वर्षपछि तिनै ठिटीलाई अभिनेता खेरले यसैसाता काठमाडौंमा भेटे । ती ठिटी यतिबेला नेपालका लागि अष्ट्रेलियाली राजदूत पदमा छिन् । उनी अर्थात फेलोसिटी भल्क ।

    राजदूत भल्क र अभिनेता खेरले यसैसाता भएको काठमाडौं भेटमा ‘जीवनसन्ध्या’ फिल्म छायांकन बेलाको मुम्बइ सम्झिए अनि नोस्टाल्जिक भए । दुबैले झन्डै चार दशक पुरानो त्यो क्षण सम्झिए अनि भावुक बने ।

    ‘निकै खुशि महसुस भयो’ भल्कलाई भेटेपछि खेरले ट्वीट गरेका छन् । राजदूत भल्कका दुई पुस्तक पनि प्रकाशित छन् । अनुपम खेरको अटोबायोग्राफी पनि प्रकाशित छ । यी दुई पुस्तक प्रेमीले पुस्तकबारे पनि गफगाफ गरे ।

    राजदूत भल्कले अनुपमको पछिल्लो फिल्म ‘उचाइ’ हेर्न आफूलाई निकै आतुर भएको बताएकी छिन् । यही फिल्मका लागि अनुपम दुई सातादेखि नेपालमा छन् । लुक्ला, नाम्चेपछि चामेमा अहिले फिल्म सुटिङ भैरहेको छ ।

    भेटमा राजदूत भल्कले अनुपमलाई आफूद्वारा लिखित पुस्तक पनि उपहार दिएकी छिन् ।

  • मिस युनिभर्स नेपालका १६ सुन्दरीको क्याटवाक (तस्बिरहरु)

    मिस युनिभर्स नेपालका १६ सुन्दरीको क्याटवाक (तस्बिरहरु)

    काठमाडौंँ । यसवर्षको मिस युनिभर्स नेपालका अन्तिम १६ जना प्रतिस्पर्धी छानिएका छन् । यी सेमिफाइनलिस्टले बिहीवार साँझ याक एन्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा ग्रान्ड फिनालीको तयारीबारे प्रस्तुति दिए ।

    आयोजक उमङ्ग क्रियसनले प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगीलाई इन्डोर्स गरेको हो । सबैजना प्रतिस्पर्धीले क्याटवाक हिँड्दै रेडकार्पेट नापे । उनीहरुले मिडियासामु परिचय र भविष्यको योजनाबारे कुरा राखे ।

    प्रतिस्पर्धीले आत्महत्या, यौन शिक्षा, महिनावारी, दन्त चिकित्सा, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षा विषयमा छोटो भिडियो पनि प्रस्तुत गरे ।

    अन्तिम १६ बाट अबदेखि अन्तिम १० जना प्रतिस्पर्धी छानिने भएका छन् । यसका लागि प्रतिशत अंक प्रतियोगीले बनाएको भिडिओ र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङमार्फत हुनेछ ।

    सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स च्वाइसमा मतदान गर्न सकिने र ग्राण्ड फिनालीको टिकट समेत पाइने जनाइएको छ । ग्रान्ड फिनाली १३ कार्तिक १३ गते शनिबार आयोजना हुनेछ । टाइटल विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

            

     

  • ‘डाँडाको बरपिपल’ फ्लप भए पनि शोभितकै निर्देशनमा बुढासुब्बाले नयाँ फिल्म बनाउने

    ‘डाँडाको बरपिपल’ फ्लप भए पनि शोभितकै निर्देशनमा बुढासुब्बाले नयाँ फिल्म बनाउने

    काठमाडौं । दसैँमा रिलिज गरिएको शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको बरपिपल’ नराम्रोसँग फ्लप भयो । लामो समयपछि खुलेका हलहरुमा यस चलचित्रले दर्शक फर्काउने अपेक्षा सार्थक भएन ।

    ‘डाँडाको बरपिपल’ को निर्माण बुढासुब्बा डिजिटलले गरेको थियो । यो चलचित्र मुलत: ओटीटी प्लेटफर्ममा चलाउनका लागि निर्माण गरिएकाले हलमा नचल्दा पनि निर्माण पक्ष हतोत्साही नभएको बुझिएको छ । ओटीटीबाटै लगानी रिकभर गर्ने लक्ष्य राखेको कम्पनीले बस्नेतकै निर्देशनमा अर्को चलचित्र निर्माण गर्ने भएको छ । चलचित्रको नाम भने फाइनल भइसकेको छैन ।

    निर्देशक बस्नेतले चलचित्रको कथावस्तुमा आफूले काम गरिरहेको बताए । अहिले कथावस्तुमा काम भइरहेको र स्टारकास्ट टुंगो लाग्न बाँकी रहेको उनले नेपाल प्रेसलाई जानकारी दिए । यद्यपि, मुख्य जोडीका रूपमा सलोन बस्नेत र रुबिना थापालाई नै लिइने बस्नेतले जानकारी दिए ।

    ‘उनीहरूसँग सम्झौता भइसकेको छैन, तर फाइनल गरिसकेको छु,’ उनले भने । बाँकी कलाकारहरु छनोट गरेर तिहारपछि फ्लोरमा जाने उनले जानकारी दिए ।

  • विवेक ओवरोयलाई नेपाली फिल्ममा प्रस्ताव, दुबईमा भेटेपछि दीवाकरले भने : चाँडै गुड न्यूज आउँछ

    विवेक ओवरोयलाई नेपाली फिल्ममा प्रस्ताव, दुबईमा भेटेपछि दीवाकरले भने : चाँडै गुड न्यूज आउँछ

    युएई । फिल्म निर्देशक दीवाकर भट्टराई र निर्मात्री पुनम यादव अहिले युएई भ्रमणमा छन् । नयाँ प्रोजेक्टको तयारी गर्न त्यहाँ पुगेका उनीहरुले आज दुबईमा बलिउड अभिनेता विवेक ओवरोयसँग मिटिङ गरे ।

    विवेकसँगको मिटिङपछि नेपाल प्रेससँग कुरा गर्दै निर्देशक भट्टराईले चाँडै नै गुड न्यूज आउने बताए । ‘खासमा विवेकजीसँग फिल्मबारे इन्फर्मल कुराकानी भएको हो’ उनले भने, ‘चाँडै गुड न्यूज आउँछ ।’

    दीवाकरले विवेकलाई नेपाली फिल्मको अवस्थाबारे बताएका थिए । आफूसँग विवेकले नेपालीमै कुरा गरेको बताउँदै दीवाकरले नेपाली फिल्मलाई सघाउन आफू तयार रहेको समेत बताएका थिए ।

    व्यवसायी मधुशेखर भण्डारीको दुबईस्थित घरमा नेपाली फिल्म टोली र विवेकबीच मिटिङ भएको थियो । नेपाल आइसकेपछि अनटाइटल लभस्टोरी फिल्म घोषणाको योजना रहेको उनले बताए । ‘हामीले फिल्म बनाउनेबारे दुबईको एउटा कम्पनीसँग छलफल गरेका छौं’ उनले भने ।

    दीवाकर र पुनमले डा. बु अब्दुल्लासँग पनि भेटघाट गरेका छन् ।

     

  • यसवर्षको अस्कर अवार्डमा नेपालले भाग नलिने

    यसवर्षको अस्कर अवार्डमा नेपालले भाग नलिने

    काठमाडौं । फिल्मको विश्व प्रतिष्ठित अस्कर अवार्डमा यसवर्ष नेपालबाट कुनैपनि फिल्मको सहभागिता नहुने भएको छ ।

    फिल्म बुझाउने अन्तिम मिति आज बिहीबारसम्म कुनै पनि फिल्मले आवेदन नदिएपछि अस्करमा यसवर्ष नेपालको प्रतिनिधित्व नहुने भएको नेपालस्थित अस्कर कमिटीले जनाएको छ ।

    कमिटी सदस्य सामिप्य तिमिल्सिनाका अनुसार डेडलाइनसम्म कुनैपनि फिल्मले आवेदन बुझाएनन् । कमिटीले केही दिनमै अमेरिकास्थित अस्कर कमिटीलाई यसबारे औपचारिक जानकारी गराउने भएको छ ।

    अस्करको ९४ औं संस्करणका लागि असोज १९ गते नेपालको अस्कर कमिटीले अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्मको आवेदन खुलाएको थियो । यसवर्ष हल नखुलेकाले अनलाइन रिलिज भएका फिल्म पनि सहभागी हुन सक्ने मौका दिइएको थियो ।

    द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइसेन्जले सन् २०२२ मार्च २७ तारिखमा अमेरिकाको लस एन्जल्सस्थित डल्बी थिएटरमा अस्करको ९४ औं संस्करण आयोजना गर्दैछ ।

  • शाहरुख खानको निवासमा एनसीबीको ‘छापा’

    शाहरुख खानको निवासमा एनसीबीको ‘छापा’

    नयाँ दिल्ली । भारतीय अभिनेता शाहरुख खानको मुम्बइस्थित निवासमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का अधिकारीले छापा मारेका छन् । शाहरुखका छोरालाई ड्रग्स बोकेको आरोपमा पक्राउ गरेर हिरासतमा राखिएको १६ दिनपछि उनको घरमा छापा मारिएको हो ।

    टाइम्स अफ इन्डियाका अनुसार शाहरुखको निवास ‘मन्नत’मा एनसीबीका अधिकारीहरु देखिएका थिए । उनीहरुले घरभित्रको तलासी लिएको/नलिएको बारे स्पष्ट भएको छैन । यद्यपि, उनीहरुले करिब एक घन्टा शाहरुखको निवास क्षेत्रमा बिताएका थिए ।

    यसैगरी अभिनेत्री अनन्या पाण्डेको मुम्बइमा नै रहेको घरमा पनि एनसीबीका अधिकारीहरु पुगेका छन् ।

  • छोरा भेट्न जेल पुगे शाहरुख खान, अदालतद्वारा दोस्रोपटक धरौटीमा छाड्न अस्वीकार

    छोरा भेट्न जेल पुगे शाहरुख खान, अदालतद्वारा दोस्रोपटक धरौटीमा छाड्न अस्वीकार

    मुम्बइ । लागूऔषध मुद्दामा जेलमा रहेका छोरा आर्यनलाई भेट्न बलिउड अभिनेता शाहरुख खान आज बिहान भारतको मुम्बइस्थित आर्थर रोड जेलमा पुगेका छन् ।

    अक्टोबर ८ देखि न्यायिक हिरासतमा रहेका छोरालाई भेटेर शाहरुखले कुराकानी गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    छोरा आर्यनलाई हिरासतमा राखिएपछि उनलाई भेट्न पहिलोपटक शाहरुख जेलमा पुगेका हुन् । अक्टोबर २ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले पानीजहाजमा भएको ड्रग्स पार्टीमा छापा मारेर आर्यनसहितका आरोपीलाई पक्राउ गरेको थियो ।

    मुम्बइ अदालतले दुईपटक धरौटीमा रिहा गर्न आर्यनले गरेको आग्रहलाई अस्वीकार गरेको छ । आगामी मंगलबार पुनः यसबारे सुनुवाइ हुने जनाइएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Viral Bhayani (@viralbhayani)

    बुधबार त्यहाँको विशेष अदालतले आर्यनको ह्वाट्स एपमा ड्रग्स प्रयोगबारे केही अनुचित संवाद देखिएको जनाएको छ । साथै अदालतले ड्रग्स विक्रेत र कारोबारीसँग आर्यनको सम्बन्ध हुन सक्ने समेत बताएको छ ।

  • ओली-करिश्मा भेट : राजनीतिदेखि छक्कापञ्जासम्मको कुरा, कमेडी क्लबमा ओलीलाई निम्तो

    ओली-करिश्मा भेट : राजनीतिदेखि छक्कापञ्जासम्मको कुरा, कमेडी क्लबमा ओलीलाई निम्तो

    काठमाडौं । कक्षा १२ को परीक्षा तयारीमा रहेकी नायिका करिश्मा मानन्धरलाई फोन गरेर एमाले अध्यक्ष ओलीले गएको महीना शुभकामना दिए । परीक्षा सकिएपछि भेट्ने कुरा पनि भयो ।

    त्यो प्रतिबद्धताअनुसार नै बुधबार बेलुका अध्यक्ष ओली र नायिका मानन्धरबीच बालकोटमा भेट भएको छ । एक घण्टा चिया पिउँदै भएको गफगाफमा गायिका तथा सांसद कोमल ओली र कलाकार जितु नेपाल पनि सहभागी थिए ।

    करिश्मा र ओलीबीच फिल्म, राजनीतिदेखि मुलुकको समसामयिक विषयमा गफगाफ भयो । ओलीले परीक्षा कस्तो भयो भन्दै करिश्मालाई सोधेका थिए । साथै, देश विकास गर्ने आफ्नो भिजनबारे पनि ओलीले सुनाएका थिए ।

    छक्कापञ्जा फिल्म आफूले हेरेको भन्दै ओलीले फिल्म लगायतका गफ पनि गरेका थिए । करिश्माको अभिनयको आफू प्रशंसक रहेको भन्दै ओलीले करियरको शुभकामना पनि दिए ।

    करिश्माले मुन्द्रेको कमेडी क्लब टिभी सोमा ओलीलाई अतिथिको रुपमा निम्तो पनि दिएकी थिइन् । मौका मिलाएर आफू उक्त सोमा आउने वचन पनि ओलीले दिएका छन् ।

    तर, उक्त भेटमा पार्टी प्रवेशबारे कुनै छलफल नभएको सहभागी कलाकार नेपालले बताए । ‘क्याजुअल भेटघाट भएको हो । पार्टी प्रवेशबारे कुनै कुरा भएको छैन’ उनले भने ।

  • थप तीन नेपाली फिल्मद्वारा रिलिज डेट घोषणा : ‘धुम’ र ‘चोरपुलिस’ तिहारमा आउने

    थप तीन नेपाली फिल्मद्वारा रिलिज डेट घोषणा : ‘धुम’ र ‘चोरपुलिस’ तिहारमा आउने

    काठमाडौं । थप तीन नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । चलचित्र संघद्वारा गठित व्यवसायिक अध्ययन कार्यदलका अनुसार चोर पुलिस र धुम ४ तिहारमा प्रदर्शन हुनेछन् ।

    चुरीफुरी चाहिँ पुस ९ गते प्रदर्शन हुने जनाइएको छ । कार्यदल संयोजक अशोक शर्माका अनुसार अन्य केही फिल्मसँग पनि रिलिज घोषणाबारे छलफल भैरहेको तर, निश्चित भैसकेको छैन ।

    फूलपातिमा प्रदर्शनमा आएको डाँडाको वरपीपल भने व्यवसायिकरुपमा असफल भएको छ । सोही समयमा प्रदर्शनमा आएको फिल्म धन्दागिरी पनि बक्सअफिसमा असफल भयो ।

    असोज २१ गतेदेखि फिल्म हलहरु संचालनमा आएपछि नेपाली फिल्मको प्रदर्शन भने कमजोर देखिएको छ । तर, अंग्रेजी फिल्महरु नो टाइम टु डाइ र फास्ट एन्ड फ्युरियस–९ ले भने आशालाग्दो व्यापार गरेका छन् ।

    नयाँ घोषणा भएका तीन नेपाली फिल्मको प्रचारप्रसार र बक्सअफिस अपेक्षा भने न्यून छ । ठूला फिल्महरुले नयाँ वर्षको समयमा प्रदर्शन मिति घोषणा गर्दै तत्काल रिलिज नगर्ने संकेत दिएका छन् ।

     

  • दुबईमा प्रेमीसँग बिदा मनाउँदै वर्षा, भन्छिन् : एस, वि विल टुगेदर !

    दुबईमा प्रेमीसँग बिदा मनाउँदै वर्षा, भन्छिन् : एस, वि विल टुगेदर !

    दुबई । सेलेव्रिटी यतिबेला दशैंतिहारको फेस्टिभ मुडमा छन् । उनीहरुका लागि पर्व घुमघाम बहाना पनि हो ।

    कतिपय सेलेव्रिटी नेपालभित्रै घुमघाममा व्यस्त रहेपनि कतिपय चाहिँ विदेश सयरमा व्यस्त छन् । कोरोना महामारीको कारण क्वारेन्टिन लगायतका प्रावधान खुकुलो भएपछि घुमघाममा सजिलो पनि भएको छ ।

    नायिका वर्षा शिवाकोटी अहिले प्रेमी राज कट्वालसँग युएईको दुबई सहरमा घुमघाममा मस्त छिन् । यो जोडीले दुबईबाट घुमघामका आकर्षक तस्विर सेयर गरिरहेका छन् ।

    पछिल्लोपटक पोस्ट गरेको एउटा फोटोमा वर्षाले ‘टुगेदर वि विल’ प्रिन्टेड सर्ट पनि लगाएकी छिन् । क्याप्सनमा पनि उनले ‘एस, वि विल’ लेख्दै राजसँग सँगै हुने संकेत दिएकी छिन् ।

    यो जोडी केही वर्षदेखि डेट गरिरहेको छ भने विहेको तयारी पनि छ । पछिल्लो समय एकसाथ म्युजिक भिडिओ पनि गरिरहेका छन् ।

  • ‘उचाइ’ फिल्म युनिट चामे पुग्यो, लुक्ला र नाम्चे सुटिङ इन्ड-क्ल्याप

    ‘उचाइ’ फिल्म युनिट चामे पुग्यो, लुक्ला र नाम्चे सुटिङ इन्ड-क्ल्याप

    काठमाडौं । दुई सातादेखि नेपालमा छायांकन भैरहेको बलिउड फिल्म ‘उचाइ’ युनिट आज मनाङ पुगेको छ । लुक्ला र नाम्चेमा छायांकन सकेपछि फिल्म युनिट चामे पुगेको हो ।

    फिल्म छायांकनको नेपाल व्यवस्थापन हेरेको कम्पनी थ्री ह्विलर्सका अनुसार चामेमा डेढसाता फिल्म सुट हुनेछ । त्यसपछि फिल्म युनिट मुम्बइ फर्कने योजना रहेको जनाइएको छ ।

    सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्म खराब मौसमका कारण मंगलबार मात्र नाम्चे पुगेको हो । दुई अधवैंशे पुरुषको मित्रता र उनीहरुको घुमघामको कथा भन्ने फिल्ममा अनुपम खेर र बोमन इरानीको मुख्य भूमिका छ ।

    परिणिती चोपडासहितका अन्य कलाकार पनि छन् । कलाकारहरुले सामाजिक संजालमा हिमाली क्षेत्रका तस्बिर सेयर गरिरहेका छन् ।

  • बक्सअफिस : जेम्स बन्डले पाँचदिनमै नेपालमा कमायो २५ लाख ग्रस

    बक्सअफिस : जेम्स बन्डले पाँचदिनमै नेपालमा कमायो २५ लाख ग्रस

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण लयमा फर्कन संघर्ष गरिरहेको नेपाली फिल्म बक्सअफिसमा हलिउड फिल्म ‘नो टाइम टु डाइ’ ले आशालाग्दो व्यापार गरेको छ ।

    फिल्मले पाँच दिनमै २५ लाख ग्रस कमाइ गरेको सोनी पिक्चर्सको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । डेनियल क्रेग स्टारर यो फिल्म असोज २८ गते नेपालका केही सीमित मल्टिप्लेक्समा मात्र रिलिज भएको थियो ।

    ‘यो कमाइले आशालाग्दो व्यापारको संकेत दिएको छ’ एप्पलकी जेनिस पहारीले नेपाल प्रेसलाई भनिन्, ‘दर्शकहरु फिल्म हेर्न आतुर छन् भन्ने सन्देश नो टाइम टु डाइको व्यापारले दिएको छ ।’

    क्यूएफएक्सका मप्टिप्लेक्ससहित पोखरा, नारायणगढ लगायतका हलमा फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । क्यारी जोजी फुकुंगा निर्देशित फिल्म जेम्स बन्ड सिरिजको २५ औं श्रृंखला पनि हो ।

    एप्पलले इटर्नल र साङ्चीलाई पनि नेपालमा रिलिज गर्ने घोषणा गरेको छ । केही दिनमै मिति समेत तय हुने जनाइएको छ ।

  • अन्तरीक्षमा फिल्म सुटिङ गरेर रुसी टोली पृथ्वी फर्कियो, टम क्रुज पनि स्पेसमा जाने तयारीमा

    अन्तरीक्षमा फिल्म सुटिङ गरेर रुसी टोली पृथ्वी फर्कियो, टम क्रुज पनि स्पेसमा जाने तयारीमा

    मस्को । अन्तरीक्षको शून्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गरेर एउटा रुसी टोली पृथ्वी फर्किएको छ। ‘च्यालेन्ज’ नामक फिल्म छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए।

    उनीहरू आईएसएसबाट फर्किएर काजकस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ। उनीहरूलाई बिदा गर्दा खिचिएको एउटा भिडिओ आईएसएसले ट्विटरमा प्रेषित गरेको छ।

    त्यसमा गुरुत्वहीनताका कारण पेरेसिल्डको कपाल उडिरहेको देखिन्छ। उक्त चलचित्र अन्तरिक्षमा नभएर पृथ्वीमै खिचिएको हो कि भन्ने शङ्का त्यसबाट निराकरण हुने उनीहरूको अपेक्षा छ।

    यो रुसी चलचित्रले टम क्रूजसँग प्रतिस्पर्धा गर्न खोजेको छ। नासा र इलोन मस्कको स्पेसएक्स सम्मिलित हुने र अन्तरिक्षमा छायाङ्कन गर्न लागिएको एउटा हलीवुड चलचित्रमा क्रूज पनि सहभागी हुन लागेका छन्।

    पेरेसिल्ड, शिपेन्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की चढेको यान स्थानीय समयानुसार गत आइतवार दिउँसो काजकस्थानको समथर भूमिमा अवतरण गर्‍यो।

    अन्तरिक्षमा खिचिएको उनीहरूको चलचित्रको कथा विस्तृत रूपमा सार्वजनिक भएको छैन। तर आईएसएसमा खिचिएको भागमा पेरेसिल्ड चिकित्सकको भूमिकामा छिन्।उनले बिरामी परेका अन्तरिक्षयात्री (नोभित्स्की) को शल्यक्रिया गरेको दृश्य आईएसएसमा छायाङ्कन गरेको बुझिएको छ।

    स्पेस स्टेसनमा एक अनटाइटल हलिउड फिल्म छायांकन गर्न टम क्रुज र नासाको टोली चाँडै जाने तयारी गरिरहेको जनाइएको छ । यसबारे नासाले विस्तृत खुलाएको छैन ।

  • मलिका महत: फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट

    मलिका महत: फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट

    काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।

    फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । ’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ ।

    दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

    भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ ।

    तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

  • तस्बिरमा कलाकारहरूको दसैँ

    तस्बिरमा कलाकारहरूको दसैँ

    काठमाडौं । अरुले जस्तै कलाकारले पनि हर्षोल्लासका साथ दसैँ मनाए । मान्यजन तथा अग्रजबाट टीका र जमरा थाप्दै रमाइलोसँग दसैँ मनाएको तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।

    कोरोना महामारीका कारण २ वर्षयता अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्रलाई पनि नराम्ररी धक्का लागेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको दर घट्न थालेपछि फिल्मी क्षेत्रले पनि पुनर्जिवन पाउने आशा छ । तर, अपेक्षित नतिजा हात पर्ने देखिएको छैन ।

    चाडबाडको बेला विभिन्न महोत्सव र सांगितिक कार्यक्रममा रम्ने कलाकारहरू महामारीका कारण फुर्सदिला छन् ।

    तस्बिरमा हेर्नुस् केही कलाकारहरूको  दसैँको टीका :-

  • सिंगै हलमा ६ जना दर्शक ! (तस्विरहरु)

    सिंगै हलमा ६ जना दर्शक ! (तस्विरहरु)

    काठमाडौं । लामो समयको अन्तरालमा हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भयो । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ ।

    शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन हामी सिभिल मलको क्यूएफएक्समा पुगेका थियौं । तर, हलभित्र गएर हेर्दा विरक्तलाग्दो दृष्य देखियो । सिंगै हलभित्र जम्माजम्मी ६ जना दर्शक थिए । ४ जना वयस्क र २ जना बालबालिका । हलबाट निस्कने बेला हामीले उनीहरुसँग कुरा गर्दा कोही पनि बोल्न तयार भएनन् ।

    लामो समयपछि रिलिज भएको नयाँ चलचित्र, त्यो पनि मल्टिस्टारर । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्लजस्ता लिजेन्डदेखि सलोन बस्नेत, रुबिना थापासम्मका नयाँ पुस्ताका प्रतिभाहरुले यसमा अभिनय गरेका छन् । दसैंको विदामा यो चलचित्रले राम्रै संख्यामा दर्शक तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो दिनमै फिल्मको व्यापार दयनीय देखिएको छ । फिल्मी भाषामा भन्दा ‘डाँडाको वरपिपल’ ले पानी पनि माग्न पाएन ।

    किन हलमा गएनन् त दर्शक ? यसका प्रमुख दुई कारण छन् ।

    पहिलो त कोरोनाको लहर केही शान्त भए पनि समाप्त भएको छैन । अहिले पनि मानिसहरु भिडभाडसँग डराइरहेका छन् । मनोरञ्जन क्षेत्र वाध्यात्मक नभएकाले ‘रिस्क’ लिन कोही पनि चाहिरहेका छैनन् । नेपालमा मात्र नभएर भारतमा पनि दर्शक हलमा आएका छैनन् ।

    तर, ‘डाँडाको वरपिपल’ का हकमा अर्को दर्शक हलमा नआउनुको अर्को ठूलो कारण छ । त्यो हो ‘महानायक काण्ड’ । यही चलचित्रको एउटा गीत रिलिज गर्ने कार्यक्रममा भुवन केसी र शिव श्रेष्ठले महानायक विवाद सल्काएका थिए । आगोमा घ्यू थप्ने काम गरे सोही फिल्मका निर्देशक सोभित बस्नेतले ।

    शोभितले नेपाली चलचित्रका महानायक राजेश हमाल नभएर भुवन केसी हुन् भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिए । उनले आफ्नो चलचित्रलाई चर्चामा ल्याउन अपनाएको यो हत्कण्डा अन्ततः आत्मघाति सावित भयो । चलचित्रमा गरिएको करोडौं लगानी डुब्ने अवस्था आएको छ ।

    त्यसो त डाँडाको वरपिपल रिलिज हुनुपूर्व नै फ्लप बन्ने छनक देखिएको थियो । राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएकाले भुवन, शिव र शोभितसँग दर्शक आगो बनेका थिए । राजेश हमालका समर्थक दर्शकले यस चलचित्रका गीतमा ‘डिसलाइक’ को अभियान नै चलाएका छन् । साथै, युट्युटदखि टिकटकसम्म आएका प्रतिक्रियामा धेरैले यो चलचित्र बहिष्कार गर्ने बताएका छन् ।

    चलचित्रको लगानी धरापमा पर्ने देखेपछि निर्देशक बस्नेतले आफूलाई सच्याउन पनि खोजेका हुन् । आफूले गल्ति बोलेको भनेर माफी मागे । चलचित्रको एउटा कार्यक्रममा राजेश हमालको तस्वीरलाई प्रमूख अतिथि बनाए । एक टिभी प्रस्तोताको मध्यस्थतामा राजेश हमालको प्रवचन पनि सुने । तर केही गर्दा पनि दर्शक उनीसँग खुशी भएनन् । अहिले पनि शोभितमाथि गालीको वर्षा भइरहेकै छ । उनीमात्र नभएर राजेश हमाललाई महानायक नमान्ने जोकसैलाई दर्शकले लखेटिरहेका छन् ।

    डाँडाको वरपिपल फ्लप भएपछि अन्य निर्माता–निर्देशक पनि आफ्नो नयाँ चलचित्र रिलिज गर्न डराउने अवस्था बनेको छ । जबकि दर्जनौं चलचित्रहरु निर्माण सकिएर प्रदर्शनको पर्खाइमा छन् । तर, नेपाली चलचित्रको ‘रिकभरि’ का लागि लामै समय पर्खिनुपर्ने अवस्था देखिएको छ ।

  • सिक्किम फिल्म फेस्टिभल : राजेशदेखि अनमोलसम्मलाई निम्तो, मलाइका अरोरा पनि रेडकार्पेटमा

    सिक्किम फिल्म फेस्टिभल : राजेशदेखि अनमोलसम्मलाई निम्तो, मलाइका अरोरा पनि रेडकार्पेटमा

    काठमाडौं । आगामी डिसेम्बर १० देखि १४ सम्म सिक्किममा ग्लोबल फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने भएको छ ।

    चारदिने फेस्टिभलमा भारतसहित नेपालका फिल्म कलाकार र सेलेव्रिटी सहभागी हुने सिक्किम फिल्म प्रवद्र्धन बोर्डले जनाएको छ ।

    बोर्ड अध्यक्ष पूजा शर्माका अनुसार विभिन्न पाँच विधामा फेस्टिभल आयोजना हुने भएको छ । जसमा फिचर, सर्टफिल्म, आदिवासी–जनजाति–क्षेत्रीय फिल्म तथा ओटीटी विधाहरु समावेश गरिएका छन् ।

    फेस्टिभलमा भाग लिन इच्छुक नेपाली फिल्मलाई सहभागिताका लागि प्रवद्र्धन बोर्डले आग्रह गरेको छ ।

    फेस्टिभलमा सहभागी हुन अभिनेता राजेश हमाल, अनमोल केसी, आकाश श्रेष्ठ लगायतका नेपाली कलाकारलाई पनि निम्तो दिइएको छ ।

    सिक्किमले नेपाली फिल्मलाई लक्षित गर्दै फिल्म पर्यटन खुला गरेको छ जसअन्तर्गत त्यहाँ छायांकन हुने फिल्मलाई १ करोड भारु अनुदान दिने प्याकेज राखिएका छन् ।

    फेस्टिभलमा बलिउड सेलेव्रिटी मलाइका अरोरा उपस्थित हुने सिक्किम फिल्म बोर्डले जनाएको छ । सिक्किमको स्थानीय डिजाइन पहिरिएर उनले फेस्टिभल अन्तर्गतको रेडकार्पेटमा भाग लिने भएकी छिन् ।