Category: कलाप्रेस

  • दुई महिनाअघि प्रेस पास खोसिएका युट्यूवर ‘महाभोज’ को प्रेसमिटमा छिरेपछि…

    दुई महिनाअघि प्रेस पास खोसिएका युट्यूवर ‘महाभोज’ को प्रेसमिटमा छिरेपछि…

    काठमाडौं । दुई महिना अगाडि कारवाहीमा परेका एक युट्यूवरले आज प्रदर्शोन्मुख चलचित्र ‘महाभोज’ को प्रेसमिटमा छिरेर निर्माण पक्षलाई हैरानीमा पारेका छन् । उनले दिक्क पार्ने गरी बेतुकका प्रश्न सोधेपछि चलचित्रका निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत भड्किए ।

    गत फागुनमा संसद भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै संसद सचिवालयले दुई युट्यूवरको पास एक महिनाका लागि निलम्बन गरिदिएको थियो ।

    उनीहरु थिए, ‘सुनौलो नेपाल’ नामक युट्युव च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ नामक च्यानलका किशोर श्रेष्ठ । उनीहरुलाई संसद भवन प्रवेशमा एक महिनाका लागि रोक लगाइएको थियो । उनीहरुले निलम्बनको अवधि गुजारिसकेका छन् ।

    यी दुईमध्ये एक किशोर आज चलचित्र महाभोजको कार्यक्रममा देखा परेका हुन् । चलचित्रको एउटा गीत रिलिज कार्यक्रममा राउत र बस्नेत सहित कलाकारहरु दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने लगायतको उपस्थिति थियो । युट्यूवर श्रेष्ठले ‘अन्टसन्ट’ प्रश्न सोध्ने आफ्नो शैलीलाई यहाँ पनि निरन्तरता दिए ।

    ‘चलचित्रले समस्या मात्रै देखाएर हुन्छ ? समाधान दिनु पर्दैन ? तपाईंहरुले फिल्ममा खेलेको क्यारेक्टरले सडकमा गएर कहिलेकाहीँ अर्धनग्न भएका छोरीचेलीलाई हामी छौं साथमा भन्नुभएको छ ? तपाईंहरुले समाजका मुद्दा उठाएर पैसा कमाउन खोज्नुभएको हो ?’ ह्यान त्यान प्रश्न उनले एकैपटक सोधेका थिए ।

    यो चलचित्र सहकारी ठगीको विषयवस्तुमा निर्माण भएको छनक ट्रेलरले दिएको छ । सहकारीको पैसा अपचलन भएपछि त्यसले ल्याउने सामाजिक र पारिवारिक विग्रहको कथामा चलचित्र आधारित छ । अहिले सहकारी प्रकरणले देश तताइरहेको बेला, सोही माहोललाई पक्ड्दै निर्देशकले यो विषयमा चलचित्र बनाएका हुन् ।

    युट्यूवरले ‘समाजका मुद्दा देखाएर पैसा कमाउन खोजेको’ भनेपछि निश्चल बस्नेत तात्तिए । निर्देशकलाई सोधिएको भए पनि उनले माइक मागेर जवाफ दिए ।

    उनले प्रतिप्रश्न गरे, ‘तपाईं यहाँ हामीलाई प्रश्न सोधेर पैसा मात्र कमाउन आउनुभएको हो ?’ निश्चलको यो प्रतिप्रश्नमा युट्यूवरले आपत्ति जनाए । उनले आफूलाई यस्तो भन्न नमिल्ने बताएपछि निश्चलले थप थर्काए ।

    उनले भने, ‘चलचित्र नै नहेरी तपाईलाई कथा अगाडि चाहिएको रहेछ । म तपाईलाई नै प्रश्न गर्छु, तपाई यहाँ हामीले बोलेको भिडियो खिचेर पैसा कमाउन आएको हो ?’

    उनको प्रश्न सकिनासाथ पत्रकारले जवाफ दिए, ‘हैन ।’

    निश्चलले पनि उनको जवाफ आउनासाथ उत्तर फर्काए, ‘हामीलाई त त्यस्तै लागिरहेको छ ।’
    कार्यक्रममा उपस्थित अन्य पत्रकारले निश्चलते जवाफमा ताली बजाए ।

    तर, युट्यूवर श्रेष्ठ सन्तुष्ट भएनन् ।

    उनले भन्न थाले, ‘यो गम्भीर विषय उठान गर्दैगर्दा खेरि……’

    निश्चलले उनलाई रोके र जवाफ दिए, ‘तपाई चलचित्रलाई चलचित्रजस्तो गरेर किन हेर्नुहुन्न ? तपाई किन साँच्चै चलचित्रले नै देश बदल्छ सोचेर हेर्नुहुन्छ ्र? चलचित्रले प्रश्न उठाउँछ ।’
    युट्यूवरले फेरि बिचमै केही बोल्न लागेका थिए, निश्चलको छेउमा उभिएका अर्का अभिनेता दयाहाङ राईले मुख खोले, ‘चलचित्रले प्रश्न मात्र उठाउने हो । चलचित्रले यो बाहेक अरु केही गर्न मिल्दैन ।’

    दुई अभिनेताले उत्तर दिँदा पनि युट्यूवर अझै सन्तुष्ट भएनन् । उनले फेरि प्रश्न तेस्र्याए, ‘त्यसो भए चलचत्रिले समाधान दिनु पर्दैन ?’

    अन्ततः निर्देशक राउत आफै बोले ।

    उनले भने, ‘सिनेमाप्रतिको बुझाइ कम भएपछि हामीले यस्तो प्रकारको प्रश्नको समाधान गर्नु पर्ने हुन्छ । यो तपाईंको बुझाइको कमजोरी हो । कथावाचकको रुपमा मैले भन्नुपर्दा, म समाजको समस्या देखाउन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ । त्यो मेरो कामै होइन ।’
    युट्यूवर फेरि पनि बोलि नै रहे ।

    त्यसपछि अर्का अभिनेता खगेन्द्र लामिछानेले पनि मुख खोले ।

    उनले भने, ‘समाधान अदालतले दिने हो। तपाईको यो प्रश्नै भएन।’ खगेन्द्रको समर्थन गर्दै निर्देशक राउतले भने, ‘पहिला तपाईको बुझाई कत्तिको सही वा गलत छ, त्यो विश्लेषण गर्नु ।’

    बिचमै युट्यूवरले निश्चलसँग गुनासो पोखे, ‘तपाईले हामीलाई भिडियो खिचेर पैसा कमाउन आएको भन्नुभयो । त्यस्तो हैन हेर्नु ।’

    निश्चलले जवाफ फर्काइहाले, ‘तपाईंले हामीलाई फिल्म देखाएर पैसा कमाउन आउनुभएको हो ? भनेर सोधेको भएर त्यसको उत्तर मैले तपाईकै भाषामा दिँदा तपाईंको चित्त दुख्यो ?’

    निश्चलले आक्रोशित हुँदै थपे, ‘काम गरेपछि मान्छेलाई पैसा कमाउँ भन्ने लाग्दैन ? सर्वप्रथम, तपाईंले सोध्नुभएको प्रश्न जायज छ कि छैन भनेर तपाईंको छेउमा भएको अरु पत्रकार साथीलाई सोध्नु ।’

    जति उत्तर दिएपनि उही कुरा दोहोर्याएको दोहोर्याइ गरेपछि निश्चल भने दिक्क भईसकेका थिए । उनी बोल्नै छाडे । उपस्थित अरु कलाकार पनि यो सवालजवाफमा खासै खुसी देखिएनन् । कुरा जति गरेपनि नटुंगिएपछि, अन्तत कार्यक्रम सञ्चालकले समय छोटो भएकाले यो विषय यहीँ टुंग्यायाउन अनुरोध गरे ।

  • निर्देशक तथा अभिनेता निश्चल बस्नेतको स्वर र अभिनय रहेको ‘महाभोज’को ‘लालुमै’ सार्वजनिक

    निर्देशक तथा अभिनेता निश्चल बस्नेतको स्वर र अभिनय रहेको ‘महाभोज’को ‘लालुमै’ सार्वजनिक

    काठमाडौं । यही जेठ १५ गतेबाट रिलिज हुने चलचित्र ‘महाभोज’को ‘लालुमै’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। आयोजित कार्यक्रममा चलचित्रको निर्देशक, कलाकारहरु र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

    सार्वजनिक गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाज छ। हर्क साउदको शब्द रहेको यो गीतमा कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ ।

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निश्चल बस्नेत स्वयंको नृत्य देख्न सकिन्छ । गीतको भिडियाेलाई कोरियोग्राफर सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन।

    गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चल बस्नेत र चलचित्रका निर्देशक दिनेश राउतले वर्ष २०१२ मा एकै वर्ष चलचित्र निर्देशन सुरु गरेका थिए ।

    त्यसपछि यी दुईले २०१७ मा चलचित्र ‘पर्व’मा सहकार्य गरे। सो चलचित्रको चर्चित गीत ‘काले दाइ’मा निश्चल स्वयंले स्वर दिएका थिए भने भिडियाेमा पनि उनी आफैले अभिनय गरेका थिए ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको ‘महाभोज’ नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

    हिमाल कडरिया निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय छ ।

  • ‘विवाह नगरी आमा बन्छु’ भनेपछि गजलकार स्मारिकामाथि साइबर बुलिङ

    ‘विवाह नगरी आमा बन्छु’ भनेपछि गजलकार स्मारिकामाथि साइबर बुलिङ

    काठमाडौं । एक युट्युब च्यानलमा दिएको अभिव्यक्तिका कारण अहिले सामाजिक सञ्जालमा गजलकार सुमन स्मारिकाले साइबर बुलिङको सामना गर्नु परिरहेको छ । केही दिन अघि सार्वजनिक पोडकास्टमा विवाहको सन्दर्भमा दिएको धारणाले गर्दा साइबर बुलिङको सिकार भएकी हुन् ।

    उनले उक्त पोडकास्टमा भनेकी थिइन्, ‘विवाह मेरो प्राथमिकतामा छैन । जीवनमा अरू धेरै उद्देश्यहरू छन् । यद्यपि आमा चाहिँ बन्छु । तर, विवाह गरेर होइन । अहिले प्रविधिले हामीलाई यस्तो राम्रो सुविधा दिइरहेको छ । त्यो अवसरको फाइदा उठाउँछु नि म !’

    स्मारिकाले आईभीएफ प्रविधिको सहयोगले विवाह नगरे पनि आमा बन्न सकिने सम्भावनातर्फ इंगित गरेकी थिइन् । तर, उनको यस्तो भनाइप्रति विमति राख्दै सञ्जाल प्रयोगकर्ताले उनीमाथि गाली गर्ने र लाञ्छना लगाउने काम गरिरहेपछि उनले निरन्तर जसो स्पष्टीकरण दिइरहेकी छन् । कतिपय स्पष्टीकरण सञ्जालमा लेख्दै, डिलेट गर्दै गरिरहेकी छन् । ‘अब म मर्नुपर्ने हो ?’ भन्दै लेखिएका उनका स्टाटसहरु अहिले गायब छन् ।

    उनले दुई दिनअघि मात्रै अर्को एक स्पष्टीकरण दिएकी थिइन् । त्यहाँ उनले लेखेकी थिइन्, ‘मलाई बारम्बार आक्रमण गर्न बन्द गर्नुहोस् ।’

    उनले थप लेखेकी थिइन्, ‘तपाईंहरुसँग मप्रति कुनै शत्रुता छ भने मसँग सीधै कुरा गर्नुहोस्, म तयार छु । तर, महिलामाथि महिलाहरू नै हाबी हुन बन्द गर्नुहोस् । म तपाईँहरूको अनावश्यक ज्यादती सहन यहाँसम्म आइपुगेको होइन । र म अब कसैको कुनै प्रकारको दुर्व्यवहार सहनेवाला छैन ।’

    स्मारिका युवापुस्तामाझ लोकप्रिय गजलकार हुन् । उनी सुदूरपश्चिम टिकापुरबाट गजल लेखनमा भविष्य खोज्दै काठमाडौं आएर स्थापित भएकी गजलकार हुन् । ‘होलटाइकर’ गजलकारको परिचय बनाएकी स्मारिकाको मुख्य आय श्रोतमध्ये गजलका कार्यक्रमहरू पनि हुन् । उनका दर्जनौँ गजलहरू चर्चित छन् ।

  • ‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु

    ‘जार’बारे अनुपविक्रम- यसको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु

    काठमाडौं । सन् १८०० को दशकमा नेपाली समाजको यथार्थ घटनामा आधारित चलचित्र ‘जार’ प्रदर्शनको तयारीमा छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख भूमिका निभाएका छन् ।

    चैतमा रिलिज भएको ‘पिताम्बर’पछि ‘जार’मा देखिएका अभिनेता अनुपविक्रम यो चलचित्रको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताउँछन् ।

    चलचित्रको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए ।

    उनी भन्छन, ‘यो चलचित्र मेरो लागि थप विशेष छ । मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु । जारको पात्रमा तयार हुन मैले अन्य फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेको छु ।’

    सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए ।

    त्यस्तै निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको बताउँदै नयाँ पुस्तालाई नै आफ्नो फिल्म समर्पित गरिएकाले हेरेर साथ दिन आग्रह गरे ।

    ‘यो चलचित्र हामीले गोर्खालीकै लागि तयार गरेका हौँ। आईबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोसिस गरेका छौँ’, उनले भने ।

    कार्यकारी निर्माता ज्योति क्षेत्रीले पनि एउटा उत्कृष्ट चलचित्र तयार गर्न लगानीमा कुनै कम्प्रमाइज नगरिएको बताइन् । सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै उनले यही वैशाख २६ गते चलचित्र प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन् ।

  • अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् दोस्रो विवाह

    अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् दोस्रो विवाह

    काठमाडाै‌ं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले गत २८ अप्रिल अर्थात वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी हुन्। नेपाली परम्परा अनुसार भने उनले आगामी मे ११ अर्थात बैशाख २८ गते राहुलसँग लगनगाँठो कस्न लागेकी हुन् ।

    उनले अमेरिका बस्ने नजिकका साथीभाईहरुलाई निम्तो कार्ड समेत पठाइसकेकी छिन् ।

    उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्। कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

    राहुल अहिले ईनाश अमेरिका नेशनल कमिटिका अध्यक्ष हुन। दुवैको यो दोश्रो विवाह हो ।

  • प्रोसेस पाण्डे बने द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता

    प्रोसेस पाण्डे बने द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता

    प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बनेका छन्।

    शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन्।

    No description available.

    प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए।

    यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।

     

  • ६ हजार दर्शकमाँझ गुन्जिए गायक सुजन चापागाईं, मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरूको सहभागिता

    ६ हजार दर्शकमाँझ गुन्जिए गायक सुजन चापागाईं, मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरूको सहभागिता

    काठमाडौं । अहिलेका चर्चित गायकको लिस्टमा पर्ने नाम हो, सुजन चापागाईं । उनले गाएका प्राय गीत दर्शकले रुचाउँछन् । अहिले उनले गाएको ‘काफ्ले’ गीत सामाजिक संजालमा भाइरल छ। कार्यक्रममा कमै हिंड्ने चापागाईं अहिले भने ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’ नामक लाईभ कन्सर्टमा व्यस्त छन् ।

    बिहीबार सोही कार्यक्रमका लागी उनी धरान पुगेका थिए। आगामी शुक्रवारबाट रिलिजमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’ को प्रचारप्रसार स्वरूप बिहिवार धरान रङ्गशालामा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो। उनी शो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शक माँझ गुन्जिए। उनलाई हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

    सुजन चापागाईंको कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए भने अन्य केहि ठाँउदेखि समेत उनलाई हेर्न दर्शकहरू कार्यक्रममा आएका थिए ।

    कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नगरप्रमुख साम्पाङले चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू र गीतकार युवराज काफ्लेलाई स्वागत अनि सम्मान गरे।

    नगरप्रमुख हर्क साम्पाङ उपस्थित कार्यक्रममा सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले ‘लजाएर एक्लै किन’, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘आँसुको भारी’, ‘तीनपाते’, ‘मखमली’, ‘काफ्ले’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए । यस कार्यक्रममा सङ्कलित फाइदा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानको भनाई छ ।

     

  • दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको बीच ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलरमा घर र डेराबीचको अन्तर देखाईएको छ। घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको सार्वजनिक ट्रेलरमा घर नै सबथोक र प्रतिष्ठाको प्रतीक हो भन्ने देखाउन खोजिएको छ। घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ ।

    ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सामाजिक चलचित्र बनाइसकेका निर्देशक खनालको चलचित्र ‘के घर के डेरा : घर नं २’ यहीँ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ । चलचित्रले घर र डेराबीचको अन्तरको कथा भन्नेछ ।

    यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन । उनको यो पहिलो चलचित्र हो । यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा भने युवराज कार्की रहेका छन् ।

     

  • ‘जार’ की गीताञ्जली थापा : भारतको ‘राष्ट्रिय फिल्म पुरस्कार’ जित्न सफल नायिका

    ‘जार’ की गीताञ्जली थापा : भारतको ‘राष्ट्रिय फिल्म पुरस्कार’ जित्न सफल नायिका

    काठमाडौं । यहीँ वैशाख २६ गते बाट रिलिजमा आउन लागेको चलचित्र हो, ‘जार’। सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ।

    अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाही दर्शकको लागी परिचित अनुहार हुन। तर चलचित्रकी मुख्य अभिनेत्री गिताञ्जली थापा भने नेपाली दर्शकको लागी नयाँ नाम हुन सक्छ। गीताञ्जली नेपाली चलचित्रको लागि नयाँ नाम भएपनि उनी उम्दा कलाकार हुन् । विश्वका थुप्रै फिल्म फेस्टिभलमा आफ्नो कामले दर्शकको मन जितिसकेकी गीताञ्जलीले भारतको सबैभन्दा प्रतिष्ठित मानिने ‘राष्ट्रिय फिल्म पुरस्कार’ जितिसकेकी छिन्। उनी भारतकी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट हुन्।

    सिक्किममा जन्मेकी गीताञ्जलीले सन् २०१३ मा रिलिज भएको चलचित्र ‘लायर्स डायस’ बाट यो अवार्ड जितेकी हुन। यो चलचित्र भारतको तर्फबाट ८७औं एकेडेमी अवार्ड्मा समेत पठाइएको थियो। गिताञ्जलीको परिचय यतिमा मात्र सिमित छैन। उनी नेटफ्लिक्सका प्रयोगकर्ताका लागि पनि परिचित अनुहार हुन। उनले नेटफ्लिक्सको चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि अभिनय गरिसकेकी छिन्।

    उनका चलचित्रले नेपाल र भारतमा मात्रै होइन, विश्वमा फन्को मारिसकेका छन् । विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्रहरु स्क्रिनिङ भइसकेका छन् । गीताञ्जली अभिनित चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चित चलचित्रहरु फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् ।

    अहिले रिलिजको तयारीमा रहेको उनी अभिनित चलचित्र ‘जार’ पनि सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । यो चलचित्रको केहि दिन अघि सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर गरिएको थियो। चलचित्र हेरेका दर्शकले गीताञ्जलीको अभिनयको खुलेर प्रशंसा गरेका थिए। त्यहाँ पनि गीताञ्जली थापा एउटा सशक्त उपस्थिति बनिन्।

    ‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन। यो चलचित्रले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । फेरि टेल पिक्चर्स, होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ।

    चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । झुमा लिम्बू र गंगा थापाको संगीत रहेको ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।

     

  • निर्देशकसँग ‘भूठान’ विमर्श : कमजोर र सबल पक्ष के-के हुन् ? (भिडिओ)

    निर्देशकसँग ‘भूठान’ विमर्श : कमजोर र सबल पक्ष के-के हुन् ? (भिडिओ)

    काठमाडौं । अहिले चलचित्र ‘भूठान : घर हराएको कथा’ दोस्रो सातामा हलहरूमा चलिरहेको छ । यस चलचित्रले भुटानी शरणार्थीहरुको कथा भन्छ । जो आफ्नै देशबाट सन् १९९० को दशकमा भुटानबाट लखेटिएर नेपाल आए । नेपालबाट अमेरिका, युरोप, अष्ट्रेलियाजस्ता मुलुकमा पुनर्बासका लागि गए, सन् २००७ बाट ।

    आफ्नो घरबाट राम्रोसँग सरसामान नै उठाउन नपाई, आफ्नै घरलाई एक झलक फर्केर समेत हेर्न नपाई ज्यान जोगाउन भागेका भुटानिजहरू संसारको जुन कुनामा पुगे पनि उनीहरु भावनात्मक रूपमा भने भुटानबाट अलग भएका छैनन् । उनीहरूको शरीर जहाँ पुगे पनि मन भने भुटानमै छ । निर्देशक विनोद पौडेलले ‘भूठान : घर हराएको कथा’मार्फत् यही कुरालाई उप्काउने कोसिस गरेका छन् ।

    यति मात्रै होइन, घर छाडेर भाग्न विवश शरणार्थीहरू कस्तो प्रकारको रिक्तता, निराशा र एक्लोपनसँग गुज्रिरहेका हुन्छन् ? पहिचानविहीनता सहित बाँच्नुका सकसहरू के के हुन् ? एउटा मानिसलाई आफ्नो देश, भूगोल, समाज, संस्कृति र घर किन चाहिन्छ ? यी प्रश्नको जवाफ निर्देशक पौडेलले सुन्दर र कलात्मक दृश्यभाषामार्फत् ‘भूठान : घर हराएको कथा’मा प्रस्तुत गरेका छन् । शक्तिशाली दृश्यभाषाको प्रयोग यस चलचित्रको तागत हो ।

    प्रस्तुत भिडियोमा उनै निर्देशक पौडेलसँग ‘भूठान : घर हराएको कथा’को समीक्षा गरिएको छ । चलचित्रमा प्रयोग भएका सटहरू, कलर ग्रेडिङ, सम्पादन, ब्याकग्राउण्ड स्कोरिङ, सिनेम्याटोग्राफी र ननलिनियर शैलीमा भनिएको चलचित्रको कथामाथि छलफल गरिएको छ ।

  • ५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी कमाइ

    ५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी कमाइ

    काठमाडौं । फुटबलर अन्जिला तुम्बापोको जीवनीमा आधरित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र अहिले देशभरमा ४५ शोहरूसहित प्रदर्शन भइरहेको छ ।

    साथै चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सको दाबी छ । यद्यपि चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि मात्रै चलचित्रले कति कमाएको हो भन्ने स्पष्ट रुपले खुल्नेछ ।

    चलचित्रले ५१ औं दिन मनाएपछि चाम्सले भने, ‘हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ । अञ्जिला नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक चलचित्र बनेको छ ।’

    चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रवार विशेष समारोहको आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए ।

    ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

  • श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ सार्वजनिक

    श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ सार्वजनिक

    काठमाडौं । मजदुर दिवसको अवसर पारेर लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाँद’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा विमोचित उपन्यासमाथि लेखक नयनराज पाण्डे र अध्येता कैलाश राईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

    लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनीको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासहरुमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यासहरू धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘श्रमिकहरूको कथा वैश्विक विषय हो । यस्तो विषयवस्तुमा पाठकहरूको सहानुभूति हुन्छ। तसर्थ यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुवाद हुनुपर्ने उपन्यास हो ।’

    अर्का वक्ता राईले उपन्यासमा कोइलाखाद सम्बन्धी धेरै दस्ताबेजहरू रहेकोले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन्।

    ‘सानो छँदा बोजुहरुले कुरा गरेको कोइलाखादबारे उपन्यासमा पढ्न पाउनु खुसीको कुरा हो मेरा लागि,’ उनले भनिन्, ‘यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनैतिक पक्षलाई पनि साह्रै मिहीन ढङ्गबाट प्रस्तुत गरेको छ ।’

    लेखक सिंघकले भने व्यवसायीकरण र बजारीकरणको हिसाबले भन्दा पनि दस्तावेजिकरण होस् भनेर उपन्यास लेखेको बताए । पहिलेको उपन्यासभन्दा पनि अझै मिहिनेत गरेर लेखेको हुँदा यस उपन्यासबाट पाठकहरूको मन जित्ने कुरामा ढुक्क  रहेको पनि उनको तर्क थियो । लगभग पाँच वर्षको अध्ययन र अनुसन्धानबाट तयार पारिएको ‘कोइलाखाद’ सक्दो मिहिनेत गरेकोले आफू सन्तुष्ट रहेको बताए ।

    यसअघि सिंघकको ‘रेमिटल्याण्ड’ उपन्यास प्रकाशित भएको थियो ।

  • सिक्किममा ‘जार’को वर्ल्ड प्रिमियर सम्पन्न, कस्तो पाए दर्शकको प्रतिक्रिया ? 

    सिक्किममा ‘जार’को वर्ल्ड प्रिमियर सम्पन्न, कस्तो पाए दर्शकको प्रतिक्रिया ? 

    सिक्किम । वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।

    प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेका थिए। आफ्नो चलचित्रको पहिलो प्रीमियरमा अभिनेत्री गीताञ्जली थापा भने कार्य व्यस्तताका कारण सहभागी हुन सकिनन् ।

    चलचित्र हेरेपछि स्थानीय दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। चलचित्रको कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सको दर्शकले तारिफ गरे। गायिका तथा संगीतकार झुमा लिम्बुको संगीतको पनि दर्शकले खुलेर प्रशंसा गरे।

    कार्यक्रममा बोल्दै निर्देशक साम्तेन भुटियाले वरिष्ठ साहित्यकार इन्द्र बहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय दिएको बताए । नेपाली मौलिकता पस्केको जार अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनले सुनाए ।

    चलचित्र हेरेर निस्किएका अभिनेता उत्तम प्रधानले जार उत्कृष्ट बनेको बताउँदै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षको तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन  ‘जार’ एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए ।

    चलचित्रका निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । दर्शकको प्रतिक्रियाले निकै उत्साहित रहेको बताउँदै उनले वर्षौँको मेहनतले सम्मान पाउँदा खुशी लागेको बताए ।

    त्यस्तै, अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई जारले तृप्त बनाउने दाबी गरे। आइवी राईको अमर कृतिमा आधारित चलचित्रलाई पनि दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपले कार्यक्रममा राखे ।

    सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली र अभिनेता उत्तम प्रधान अतिथिको रूपमा थिए।

    सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

  • तीन करोड खर्चेर नोरा फतेही ल्याइँदै, दुर्गेशसँगै प्रस्तुति दिने

    तीन करोड खर्चेर नोरा फतेही ल्याइँदै, दुर्गेशसँगै प्रस्तुति दिने

    काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउने भएकी छन् । उनी जेठ ३ मा बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आउन लागेकी हुन् ।

    वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्च गरेका छन् । इभेन्ट म्यानेजर मनिष कार्कीको अनुसार नोरासंगै १६ कोरस डान्सर आउन लागेकाले यत्रो खर्च भएको हो।

    कार्यक्रममा नोरासंगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् । कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् । आयोजकका अनुसार नोरासंग गायक दुर्गेश थापाले विशेष प्रस्तुति दिनेछन् ।

    यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ हुनेछ । कार्यक्रममा टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ । कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रूपमा युद्ध बानियाँ र डिजिटल मार्केटिङ मनिष बखतीले हेरिरहेका छन् ।

    नोराको बलिउडमा ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरू सुपर हिट छन् ।

  • माग्नेबुढा अभिनित चलचित्र ‘माइतीघर’ को शुभसाइत सम्पन्न, छायांकन सुरु

    माग्नेबुढा अभिनित चलचित्र ‘माइतीघर’ को शुभसाइत सम्पन्न, छायांकन सुरु

    काठमाडौं । नायकद्वय केदार प्रसाद घिमिरे(माग्नेबुढा), प्रकाश सपूत र धिरज मगर अभिनित चलचित्र ‘माइतीघर’को शुभसाइत गरिएको छ। चलचित्रको आज शुभसाइतसंगै म्याग्दीको ताकम गाउँको गणेश मन्दिरमा पुजा गरी छायांकन सुरु गरिएको हो ।

    शुभसाइत समारोहमा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथीको रुपमा उपस्थित थिए। उनले पहिलो पटक गाउँमा चलचित्रको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो चलचित्रले गाउँको पर्यटन प्रवद्र्धनमा समेर महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनले राखे ।

    त्यस्तै, समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि चलचित्रको उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए । शुभसाइत समारोह अघि चलचित्रको टिमलाई गाउँमा बाजा बजाएर स्वागत गरिएको थियो ।

    निर्माता रोहित अधिकारीका अनुसार चलचित्रको २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकीको २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ । यो चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ।

    मिलन तामाङको निर्देशनमा बन्ने चलचित्रमा सुसन प्रजापतिको छायांकन रहनेछ । चलचित्रलाई दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ। रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । चलचित्रको कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन्।

  • दशैंमा एकसाथ जुधेका तीन फिल्म ‘एमएसएम एप’मा

    दशैंमा एकसाथ जुधेका तीन फिल्म ‘एमएसएम एप’मा

    काठमाडौं । लोकप्रिय ओटीटी प्लेटफर्म एमएसएममा नयाँ फिल्म ‘ज्वाइँ साब’ रिलिज भएको छ । आजबाट यो फिल्मलाई ओटीटीमा रिलिज गरिएको हो । वसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।

    आजबाट यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको । हलमा दर्शकले राम्रै साथ दिएको यो फिल्मलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ ।

    कमेडी जनरामा तयार भएको यो फिल्मले एक जना युवतीका लागि युवक छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ ।
    एमएसएम एपमा वैशाख १ गते फिल्म ‘छक्का पन्जा ५’ पनि रिलिज भइसकेको छ । यो फिल्म पनि दशैंमा ‘ज्वाइँ साब’सँग नै रिलिज भएको थियो ।

    यता, यही दिनमा नै हलमा लागेको अर्को फिल्म ‘१२ गाउँ’ पनि एमएसएम एपमा रिलिज हुँदैछ । यो फिल्म पनि केही सातामै सार्वजनिक हुने बताइएको छ । गतबर्षको सर्वाधिक धेरै कमाई गर्ने दोस्रो फिल्म हो ‘१२ गाउँ’ ।

    विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्ममा विराज र उनका छोरा समीर भट्टको मुख्य भूमिका छ ।

  • चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

    चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

    काठमाडौं । यहीँ शुक्रवारबाट रिलिज हुने चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ। डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलहरूले अग्रिम टिकट बिक्री सुरु गरेको हो ।

    चलचित्रमा बालकलाकार आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिका निभाएकी छिन् । साथै, चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।

    यसअघि ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् ।
    मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

    चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।

  • प्रेमजोडी विवेक र सिर्जनालाई ट्रिब्यूट दिँदै ‘ऊनको स्वीटर’ साझँमा गुन्जिए सुजन चापागाईं

    प्रेमजोडी विवेक र सिर्जनालाई ट्रिब्यूट दिँदै ‘ऊनको स्वीटर’ साझँमा गुन्जिए सुजन चापागाईं

    काठमाडौं । दुई वर्षपछि गायक सुजन चापागाईं लाइभ कन्सर्टमा फर्किएका छन् । यहीँ वैशाख २६ गतेबाट विश्वव्यापी रिलिजको तयारीमा रहेको आर्टमान्डूको पहिलो चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको रूपमा सुजनको लाइभ कन्सर्ट आयोजना गरिएको हो ।‌

    सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमको प्रस्तुति हेर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको साथमा सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोविता गौतमहरूसँगै विभिन्न अतिथिहरू पनि उपस्थित थिए। साङ्गीतिक टिममा भने सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जन थिए ।

    दर्शकलाई पहिलो कोसेली स्वरुप सुजनले कार्यक्रममा ‘लजाएर एक्लै किन बसेकी मायालु’ गीत गाएका थिए। कार्यक्रममा ‘ऊनको स्वीटर’ को ट्रेलर पनि प्रस्तुत गरिएको थियो‌ भने सुजनले ‘उनको स्वीटर’ को ‘काफ्ले’ गीत पनि गाएका थिए। उनले गाएको गीतमा चलचित्रकै कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । गायनमा भने सुजनलाई गायिका सलिना विकले साथ दिएकी थिइन् ।

    सुजनले कार्यक्रममा प्रेम जोडी विवेक पङ्गेनी र सिर्जना सुवेदीलाई ट्रिब्यूट दिँदै ‘एक्लै भएँ नि’ गीत पनि गाए। उक्त ट्रिब्यूट दिएर गाएको गीतमा भने अधिकांश दर्शक भावुक भएका थिए।

    ‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

  • ‘पीताम्बर’ को विशेष शो सम्पन्न, चलचित्र हेरेर कसले के भने ?

    ‘पीताम्बर’ को विशेष शो सम्पन्न, चलचित्र हेरेर कसले के भने ?

    काठमाडौं । निर्देशक कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ ले विशेष शो आयोजना गरेको छ। मङ्गलवार सिटी सेन्टरको बिग मुभिजमा निर्माण टिमले चलचित्रको विशेष शो आयोजना गरेको हो। चलचित्र हेर्न अधिकांश फिल्मकर्मी हल पुगेका थिए ।

    चलचित्र हेरेपछि उपस्थित सबैले निर्देशक कृषा चौलागाईँको कामको तारिफ गरे। चलचित्र हेरेर निस्किएका अभिनेता केदार प्रसाद घिमिरे (माग्नेबुढा) ले ‘पीताम्बर’ राम्रो बनेको प्रतिक्रिया दिए।

    उनले भने, ‘एकदम राम्रो लाग्यो। सबै जनाको अभिनय एकदम जोडदार छ। एक्सन त्यस्तै राम्रो छ। निर्देशकिय पक्ष झनै राम्रो। चलचित्रमा एक ट्रक कलाकार रहेछन् तर सबैको काम एकदम राम्रो लाग्यो।’

    कार्यक्रममा बोल्दै केदारकी श्रीमती तथा कलाकार सीतादेवी तिमिल्सेनाले पनि चलचित्रको सबै पक्ष राम्रो लागेको बताइन्। चलचित्र हेर्न निर्देशक तथा कलाकार शोभित बस्नेत पनि पुगेका थिए।

    चलचित्रको तारिफ गर्दै उनले अष्ट्रेलियामा हुँदा पनि हेरेको र आज पनि फिल्म दोहोर्‍याएर हेरेको बताए। उनले भने, ‘यो फिल्ममा सबै पक्षको काम राम्रो छ। कलाकारहरूले एकदमै राम्रो काम गरेका छन् । सौगात मल्ल र प्रमोद अग्रहरीलाई त स्यालुट नै गर्न मन लागेको छ।’

    हालै आफ्नो चलचित्र ‘परान’को छायांकन र निर्देशन सकेर काठमाडौँ फर्किएका दीपक आचार्य (काकु) ले पनि चलचित्रको तारिफ गरे। उनले भने, ‘कृषाजीको हिम्मत र आँटलाई मैले माने। उहाँको कामलाई हामीले सलाम गर्नेपर्छ। यो लेबलको एक्सन मुभी सायदै नेपालमा पहिलो पटक बनेको जस्तो लाग्यो।’

    त्यस्तै, चलचित्र हेर्न पुगेका अर्का हास्य कलाकार राजाराम पौडेलले पनि निर्देशक कृषा चौलागाईँको तारिफ गरे।

    ‘पिताम्बर’ मा सौगात मल्ल, सुरक्षा, प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईंको निर्देशन छ । चलचित्रमा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी ९अनमोल०ले समेत अभिनय गरेका छन् ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ।

  • जेठ २३ मा आउने ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक

    जेठ २३ मा आउने ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन् ।

    पोस्टरमा धेरै कलाकारहरू देखिन्छन्, सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चस्मा लगाएको छ । सार्वजनिक पोस्टरलाई रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो ।

    पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ ।

    सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन् ।

    पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ ।

    सिमोश सुनुवारको निर्देशन तयार भएको सिनेमा‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको सिनेमा‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको सिनेमा लाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

    नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, सिनेमाको कथा यसै प्रचलनमा आधारित छ ।

    सिनेमामा हरि हुमागाईँको छायांकन निर्देशन, उत्तम हुमागाईँको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

  • जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपालबाट मनोनयनमा परेकाहरुको सूची सार्वजनिक

    जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपालबाट मनोनयनमा परेकाहरुको सूची सार्वजनिक

    काठमाडौं । यही जेठ ११ गते हुन लागेको जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ का लागि नेपालबाट मनोनयनमा परेकाहरुको सूची सार्वजनिक गरिएको छ ।

    फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट ३ जना मनोनयनमा परेका छन् । यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्समा अनुपविक्रम शाही र बेस्ट निर्देशकमा कृषा चौलागाईं मनोनयनमा परेका हुन् ।

    त्यस्तै ड्रामा विधामार्फत फिल्म ‘तेल भिसा’बाट अभिनेता विपीन कार्की छनोट भएका छन् । अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा मनोनयनमा परेकी छन् ।

    ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टर र ड्रामा विधामा उत्कृष्ट फिल्मको मनोनयनमा ‘रंगी’ परेको छ ।

    जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो । यस फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन् ।

    आयोजक युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईंका अनुसार यस फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ ।

    यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५ अर्थात जेठ ११ गते साँझ ५ बजे जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) नागोयामा गरिनेछ ।

  • पल, बेनिशा र नीतिकाे मुख्य भूमिका रहेको ‘मोहर’को फर्स्टलुक सार्वजनिक

    पल, बेनिशा र नीतिकाे मुख्य भूमिका रहेको ‘मोहर’को फर्स्टलुक सार्वजनिक

    काठमाडौं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक सार्वजनिक गरेको हो।

    सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य नायक पल शाह र नायिकाद्वय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । त्यस्तै अर्का कलाकार अर्जुनजंग शाहीलाई पनि पोस्टरमा देख्न सकिन्छ ।

    चलचित्रमा पल, नीति र बेनिशासँगै मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल कलाकार सारा शर्माको पनि अभिनय छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रका निर्माता चुम्बनजंग शाही हुन् ।

    फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

    गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

    लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यस चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्यूठान र काठमाडौंमा गरिएको छ ।

  • विपीन कार्की र मिरुना मगर अभिनित ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

    विपीन कार्की र मिरुना मगर अभिनित ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

    काठमाडौं । यही वैशाख २६ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्देशकदेखि मुख्य कलाकारहरु सबै उपस्थित थिए। कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले भने, ‘चलचित्र बनाउने सपना बोकेदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भयो। चलचित्रमार्फत मैले एउटा संसार बनाउने प्रयास गरेको छु। सुरुमा म एक्लैले देखेको सपना, अब सयौँ जनाको भएको छ।’

    आर्टमाण्डू प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो । चलचित्रमा अभिनेता विपिन कार्कीले मुख्य भुमिका निभाएका छन् । विपिनले कार्यक्रममा पाँचथरको यात्रालाई स्मरण गर्दै र सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिदै भने,’गीतजस्तै यो चलचित्र पनि उत्कृष्ट बनेको छ। चलचित्रले दर्शकको मन जित्नेमा म विश्वस्त छु।’

    चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुवात गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् । त्यस्तै, चलचित्रकी अर्की नायिका परीक्षा लिम्बूले पनि एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताइन् ।

    ‘ऊनको स्वीटर’मा विपीन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ । सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

  • समीर भट्टको जन्म दिन पारेर ‘बलिदान’को एक्सन प्रधान टिजर सार्वजनिक

    समीर भट्टको जन्म दिन पारेर ‘बलिदान’को एक्सन प्रधान टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता समीर भट्टको जन्म दिनको अवसर पारेर चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर अभिनेता भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।

    प्रि-टिजरमा अभिनेता समीरका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ । भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।

    चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन् र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।

    चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ । आसुसेन फिल्म्स्‌ प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।

    गत वर्ष दशैंमै प्रदर्शनमा आएको समीरको डेब्यु चलचित्र ‘१२ गाउँ’ले बक्स अफिसमा १९ करोडमाथिको ग्रस कलेक्सन गरेको थियो । साथै समीरको एक्सन अवतार र सुगठित शरीरको समेत चर्चा भएको थियो ।

  • रित्तिएका शरणार्थीबारे माझिएको चलचित्र

    रित्तिएका शरणार्थीबारे माझिएको चलचित्र

    मानौँ, कोही व्यक्ति आफ्नै घरबाट लखेटियो । यसरी लखेटियो कि उसले घरभित्र भएका सरसामान पनि राम्रोसँग उठाउन पाएन । आफू जन्मिएको, हुर्किएको घरलाई अन्तिम पटक राम्रोसँग हेर्न पनि पाएन । एक सेकेण्ड मात्रै ढिला भएको थियो भने उसको छाती गोलीले वारपार पार्न सक्ने थियो ।

    यसरी भाग्ने क्रममा उसको घर, आँगन, बारी र भूगोलसँग मात्रै छुटेन । ज्यान जोगाउने ध्याउन्नमा आमा, बा, दिदी, बहिनी, दाजु, भाइ, छोरा, छोरी, आफन्त वा इष्टमित्रमध्ये कोही न कोहीसँग ऊ छुटिन बाध्य भयो । पल भरमै हुरीले हाँगाहरू तछारिसकेपछि जरै उखेलेर उडाएको सिमलको रुखजस्तो भयो ऊ ।

    दुई मुठी सासमा अल्झिएको ज्यान बचाउन हेर्दाहेर्दै उसले देशकै सीमाना काट्यो । र होसहवासमा आएर हेर्द ऊ केही घण्टामै शरणार्थी भइसकेको थियो । फेरि आफ्नो घरमा कहिल्यै फर्कन नसक्ने भइसकेको थियो । यस्तो वेला त्यो व्यक्तिको मनस्थिति कस्तो होला ? दिमागमा कस्ता कस्ता कुराहरू खेल्लान् ? उसले आफूलाई कसरी सम्हालेर जीवन चलाउला ? अहिले हलमा चलिरहेका ‘भुठान ः घर हराएको कथा’ले शरणार्थीको यही मनोदशालाई उप्काउने कोसिस गरेको छ ।

    विनोद पौडेल निर्देशित यो चलचित्रले विष्णुबहादुर केसी (हरिवंश आचार्य) नामक पात्रमार्फत् शरणार्थी भएर आफू जन्मिएको, हुर्किएको थातथलोमा जति कोसिस गरे पनि जान नपाउँदाको मनोदशालाई पत्र–पत्रमा केलाउने कोसिस गरेको छ । कुनै समय भुटानको राष्ट्रिय टिमबाट गोलकिपरको रूपमा फुटबल खेलेका विष्णुबहादुरले एक झलक भुटानको घर हेर्न अमेरिकाबाट हजार कोसिस गर्छ, तर भुटान सरकारले उसलाई अनुमति दिँदैन । चाहेर पनि आफू जन्मिएको माटोमा टेक्न नपाएको घिडघिडोसहित बाँचिरहेको छ ऊ ।

    विष्णुबहादुरको ज्यान अमेरिकामा छ, उसको मन भुटानमा । अमेरिका बसिरहे पनि ऊ भुटानको नोस्टालजियासितै बाँचिरहेको छ । कहिले आमाको काखमा निदाएको कल्पनामा बाँच्छ । कहिले भुटानको सिमलको रुखसँग बाँच्छ । विष्णुबहादुर कति धेरै रिक्ततासँग बाँचिरहेको छ भन्नका लागि निर्देशक पौडेलले एक संवादको प्रयोग गरेका छन् ।

    विष्णुबहादुर एक नर्सरीमा गुनगुन गुनगुन गुनगुनाउँछ । यहीबेला गीतकै सन्दर्भमा अर्का पात्रसँगको कुराकानीमा विष्णुबहादुरले भन्छ, ‘भुटान छाड्दा स्वर पनि उतै छाडेर आएँछु ।’

    विष्णु बहादुरहरुले स्वर मात्रै होइन, धेरैथोक भुटानमै छाडेका छन् । र हाडछालाको शरीर मात्र लिएर अमेरिका पुगेका छन् । त्यसैले उनीहरू रित्ता छन् । रिक्ततामा बाँचिरहेका छन् ।

    बाहिर हेर्दा धपक्कजस्तो देखिए पनि भित्रभित्रै उनीहरू निभेका छन् । विष्णुबहादुर मार्फत् पहिलो पुस्ताका भुटानी शरणार्थीहरूको मनोदशा देखाउन निर्देशक पौडेलले प्रकाशको संयोजनदेखि ब्याकग्राउण्ड स्कोर, उत्कृष्ट सम्पादनदेखि सिनेम्याटोग्राफीसम्ममा मिहेनत गरेको देखिन्छ ।

    चलचित्रको ओपनिङ दृश्यमै विष्णुबहादुर कोठामा फोनमा कुरा गरिरहेको छ । झ्यालमा सेतो पर्दा छ । पर्दा बाहिर उज्यालो छ । उक्त उज्यालोलाई पर्दाले छेकेको छ । विष्णुबहादुर चाहिँ झ्यालभित्र छायामा उभिएको छ । निर्देशक पौडेलले विष्णुबहादुरभित्रको रिक्तता र निराशालाई पहिलो दृश्यमै स्थापित गरिदिएका छन् ।

    अर्को दृश्य छ,– जहाँ सेताम्मे हिउँ परेको छ, पात झरेको एक्लो रुख टिङ्ग्रिङ्ग छ । अनि बिस्तारै विष्णुबहादुरलाई देखाइन्छ । यस्ता धेरै दृश्यले विष्णुबहादुरभित्रको रिक्ततालाई देखाउने कोसिस गरेको छ ।

    विष्णुबहादुर बिरामी छ, औषधि पनि खाइरहेको छ । उसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर छ । डरलाग्दो र तनावपूर्ण घटना कुनै व्यक्तिमा घटेपछि यस्तो मानसिक समस्या देखिन्छ । विष्णुले झेलिरहेको यो मानसिक समस्या र ऊभित्रको रिक्तताको निराकरण मेडिकल औषधि वा आध्यात्मिक चिन्तन, मननबाट सम्भव छैन । यसका लागि विष्णुबहादुर भुटान पुग्नुपर्छ । उसको पैतालाले भुटानको माटो टेक्नुपर्छ । यसैको आशामा विष्णुबहादुरले बिरामी शरीरलाई अमेरिकामा लतारिरहेको छ ।

    भुटान सम्झनसाथ, भिसा सम्झनसाथ, माटो सम्झनसाथ उत्साहित हुने विष्णुबहादुर अन्य समय निराशामा मात्रै गुज्रिरहन्छ । दुई श्रीमती छन्, छोराहरू छन्, बुहारी छे, नातिनी छे । र पनि विष्णुबहादुर रित्तो छ । त्यो रित्तोपन भर्ने चिज एउटै छ, भुटानको भिसा ।

    चलचित्रमा एउटा दृश्य छ, विष्णुबहादुरले पुरानो बाकस खोल्छ । बाकसबाट मेडल झिक्छ । घाँटीमा लगाउँछ । फुटबल झिक्छ, हातले समाउँछ । चक्कु निकाल्छ । चक्कुले छेडेर फुटबलमा बाँकी रहेको अलिअलि हावा पनि फालिदिन्छ । यो दृश्यमा चक्कुले फुटबल छेडिरहँदा निर्देशक पौडेलले फुटबल देखाएका छैनन्, विष्णुबहादुरको अनुहार देखाएका छन् । यसबेला दर्शकको मन निचोरिन्छ । सम्भवतः भुटानको राष्ट्रिय फुटबल खेलाडी विष्णुबहादुरले घर फिर्ने सपनालाई तिलाञ्जलि दिएको देखाउन निर्देशक पौडेलले यो दृश्य प्रयोग गरेका हुन सक्छन् । अनि यही दृश्यमा हरिवंशको शानदार अभिनयको स्वाद समेत चाख्न पाइन्छ ।

    सन् ९० को दशकमा लखेटिएका भुटानीहरू पूर्वी नेपाल आए । शिविर बनाएर बसे । सन् २००७ बाट अमेरिका, युरोप, अष्ट्रेलियातिर पुनर्वासका लागि जान थाले । पुनर्वासमा गएका पहिलो पुस्ताका भुटानी शरणार्थीको कथा हो, ‘भुठान ः घर हराएको कथा’ । जहाँ विष्णुबहादुरहरू आजका दिनसम्म पनि भावनात्मक रूपमा भुटानमै छन् । चलचित्रका विष्णुबहादुर त पलपलमा आमासँगको नोस्टालजियाबाट गुज्रिन्छन् । उसको आमा भुटानमै छुटेकी थिइन्, केही वर्ष पहिला संसार छाडेर गएकी थिइन् ।

    तर, यो चलचित्र विष्णुबहादुरको कथामा मात्रै केन्द्रित छैन । यहाँ तीन पुस्ताको भुटानी शरणार्थीको कथा भनिएको छ । विष्णुबहादुरको छोरा बुहारी पुस्ताको कथा पनि छ यहाँ । उनीहरू न पूर्णरुपमा पश्चिमा जीवनशैलीसँग अभ्यस्त भएका छन्, न त पूर्णरुपमा भुटानबाट अलग भएका छन् । अनि तेस्रो पुस्ता छ, गुनगुनको पुस्ता । अर्थात् विष्णुबहादुरको नातिनीको पुस्ता । जो पूर्ण रूपमा पश्चिमा जीवनशैलीमा बाँचिरहेका छन्, तर परिवार, समुदायको माध्यमबाट संस्कार, संस्कृतिसँग जोडिइरहेका छन् ।

    गुनगुनको पुस्ताको मनोविज्ञान केलाउन निर्देशक पौडेलले निरन्तरजसो मोबाइल चलाउने, अभिभावकको कुरै नसुन्ने र अमेरिकन लवजसहित अंग्रेजी बोल्ने मात्रै नभएर नेपाली बोल्दा पनि अंग्रेजी शब्द घुसाउने दृश्य, संवादहरू राखेका छन् । सँगै एलजीबीटीआइक्युको मुद्दालाई गुनगुन र उसको बाआमा पुस्ताले हेर्ने नजरियालाई पनि मीठोसँगले देखाइएको छ । गुनगुन बाआमासँगभन्दा हजुरबासँग नजिक छिन् । यो नजिकपनाले ज्ञान, अनुभव र संस्कृतिको पुस्तान्तरणको पक्षपोषण गरेको छ ।

    चलचित्रमा समयको गतिलाई देखाउन एउटा दृश्य प्रयोग गरिएको छ, जहाँ खोला किनारमा विष्णुबहादुर र गुनगुन उभिएर कुरा गर्छन् । उनीहरूको संवादका क्रममा समय फर्कँदैन भन्नलाई बगिरहेको खोलाका सटहरूलाई निकै पटक देखाइएको छ । समय देखाउने सन्दर्भमा विष्णुबहादुरको किसिङ र बेड सिनपछि एकदमै द्रूत गतिमा कुदेको रेललाई देखाइएको छ । समय कति चाँडो बित्छ, पत्तै हुन्न भन्नलाई देखाइएको यो दृश्य गज्जबको छ ।

    अर्को दृश्य छ, जहाँ विष्णुबहादुरको लासलाई जलाउने कि गाड्ने भनेर दाजुभाइबीच झगडा परिरहेको हुन्छ । गुनगुनले उक्त झगडा सुनिरहेकी हुन्छे । यहाँ गुनगुनलाई फ्रेमको बीचमा राखेर पछाडिको फलामको बार देखाइएको छ । बारभन्दा बाहिर उज्यालो देखाइएको छ । सायद, गुनगुनको निर्णयले परिवारमा कुनै महत्त्व राख्दैन भन्ने देखाउन पौडेलले यस्तो सटको छनोट गरेका हुन सक्छन् । किनभने यो दृश्यको केही समयपछि अर्को दृश्यमा पनि गुनगुनको पछाडि बार नै देखाइएको छ ।

    विष्णुबहादुरको आफ्नो घर त हुन्न हुन्न, घाट पनि हुन्न । उसको लासलाई जलाउने कि गाड्ने भनेरै छोराहरुबीच लफडा हुन्छ । समग्रमा पश्चिमी पूँजीवादी समाजको वैभवभित्र बाँचिरहेका रित्ता–रित्ता भुटानी शरणार्थीहरूको प्रतिनिधि कथा हो यो चलचित्र । भिएफएक्समा अझै मज्जाले मिहेनत गरेको भए झनै गज्जब हुने थियो । जलिरहेको घरको आगोमाथि कागहरू नउडाएको भए पनि हुन्थ्यो । हरिवंशको किस सिन र बेड सिन नराखेको भए पनि हुन्थ्यो । बेडसिनले त केही पुष्टि नै गर्दैन, विष्णुबहादुरको नांगो शरीर मात्रै देखाउँछ । किस सिनमा पनि पात्रहरुबीच कुनै आत्मीयता देखिँदैन । सिर्फ किस गर्नका लागि गरेजस्तो मात्रै देखिन्छ ।

    धेरै दृश्यहरू घरभित्रका छन् । कोठाभित्र छन् । गाडीभित्रका छन् । यस्ता दृश्यहरुमार्फत् पौडेलले सायद भुटानी शरणार्थीहरूको थुनिएको, बाँधिएको मनोदशालाई देखाउने कोसिस गरेका हुन् कि ? उनीहरूको उकुसमुकुसलाई देखाउन यसरी चलचित्रलाई खिचेका हुन् कि ?

    केही समयअघि मात्रै डोनाल्ड ट्रम्प सरकारले देश निकाला गर्दै भुटान लगेर छाडेका र लगत्तै भुटान सरकारले देश निकाला गरेपछि नेपाल आइपुगेका छन् केही भुटानी शरणार्थीहरू । उनीहरूको मनोदशा कस्तो होला ! अनुमान मात्रै गर्दा पनि हामीलाई उकुसमुकस हुन्छ । एउटा मान्छे कति पटक शरणार्थी हुनसक्छ ? एउटा मान्छे कुनै देशको नागरिक बन्नलाई कति पटक आफ्नो थातथलो र देश छाड्न बाध्य हुनुपर्छ ? पटकपटक शरणार्थी हुँदा उसले झेल्ने भावनात्मक चोट र उसले बाँच्ने रिक्तताको क्षतिपूर्ति कसैले दिन सक्छ ? यिनै प्रश्नहरूको जवाफ खोज्ने कोसिस गरेको छ ‘भुठान ः घर हराएको कथा’ले ।

  • आज अन्तरराष्ट्रिय ज्याज दिवस

    आज अन्तरराष्ट्रिय ज्याज दिवस

    काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।

    सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ ।

    अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।

    यो अन्तरराष्ट्रिय दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासकार, शिक्षाविद् र ज्याज उत्साहीहरूलाई ज्याज कला, यसको उद्गम, भविष्य र प्रभावका बारेमा जान्ने अवसर प्रदान गर्नाका साथै अन्तरराष्ट्रिय शान्ति तथा संस्कृति प्रवर्द्धनमा योगदान पुग्ने युनेस्कोको विश्वास छ ।

    ज्याजले एकता, पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सृजना गर्ने, सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने, परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।

  • ६ वर्षमा तयार पारे पाण्डेले नयाँ चलचित्रको स्क्रिप्ट, नाम र पोस्टर चाँडै सार्वजनिक गरिने

    ६ वर्षमा तयार पारे पाण्डेले नयाँ चलचित्रको स्क्रिप्ट, नाम र पोस्टर चाँडै सार्वजनिक गरिने

    कैलाली । चलचित्र लेखक तथा निर्देशक विवेक पाण्डेले ६ लगाएर नयाँ चलचित्रको स्क्रिप्ट तयार पारेका छन् ।

    सन् २०१८ मा नयाँ र फरक विषयवस्तुमा फिल्मको स्क्रिप्ट लेख्न थालेका पाण्डेले आफ्नो स्क्रिप्ट सकिन ६ वर्ष लागेको बताएका हुन् । उनले हालसम्म ४४ वटा ड्राफ्ट परिवर्तन गरी अन्तिम स्क्रिप्ट तयार गरिएको जानकारी दिए ।

    ‘२०१८ मा निकै फरक विषयवस्तुमा फिल्मको स्क्रिप्ट लेख्न सुरु गरेको थिए । विषयवस्तु अनुसारको कथा पटकथा सबै मिलाउँदा ६ वर्ष लाग्यो ’ उनले भने ‘यो चलचित्र नेपालमा भिन्न बन्ने छ ।’

    विवेक पाण्डेले फिल्म निर्देशनमा स्नातक अध्ययन सम्पन्न गरेका छन्। उनको आफ्नै निर्देशनमा बन्ने नयाँ फिल्म मध्यम बजेटको हुनेछ।

    फिल्मको कलाकार छनोट आगामी असारको पहिलो साताबाट सुरु हुने जानकारी निर्माण टिमले दिएको छ।फिल्म लाई रुपेश थापा ले छायाङ्कन गर्ने छन् ।

    यो फिल्म लेखक पाण्डेसँगै किशोर भट्टले समेत सह–लेखन गरेका छन्। किशोर भट्टा सह–निर्देशक तथा कास्टिङ निर्देशकको भूमिकामा पनि रहनेछन्।

    फिल्मको पहिलो टाइटल घोषणा चाँडै गरिने तयारी गरिएको छ। निर्देशक विवेक पाण्डेका अनुसार फिल्मको ९० प्रतिशत कलाकार नयाँ अनुहार हुनेछन्।

    उत्साहजनक तयारीसहित अघि बढिरहेको यो परियोजना नेपाली फिल्म क्षेत्रको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

    जानकी देवी प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ भाद्र १५ गतेबाट सुरु गरिनेछ। यस अघि ‘अमेरिका ब्वाइज ’ र ‘लप्पन छप्पन २’ मा फिल्म लेखकको रूपमा काम गरेका छन् भने मुख्य सहायक –निर्देशक भएर पनि चलचित्रमा काम गरेका छन्।

    अब उनको निर्देशन मा बन्ने फिल्मको शीर्षक र पोस्टर छिट्टै सार्वजनिक गरिनेछ। जसको तयारी मा निर्माण टिम जुटेको छ ।

  • महोत्सवमा एकै दिन पुगे दुर्गेश र ज्योती, एक-अर्कालाई स्टेजबाटै घोचपेच

    महोत्सवमा एकै दिन पुगे दुर्गेश र ज्योती, एक-अर्कालाई स्टेजबाटै घोचपेच

    रुपन्देही । अहिलेका ‘हट केक’ गायक दुर्गेश थापा र आफ्नै छविकी लोकगायिका ज्योती मगरको आपसी सम्वन्ध त्यति राम्रो छैन । केही दिनअघि उनीहरु सामाजिक सञ्जालमै एक–अर्कामाथि खनिएका थिए ।

    गुल्मीमा जारी गुल्मी महोत्सवमा सोमबार यी दुवै कलाकार एकै दिन झुल्किएका छन् । आयोजकका अनुसार दुर्गेश जुन दिन आउँछन्, आफू पनि त्यही दिन आउने अडान ज्योतीले लिएकी थिइन् । यद्यपि, कार्यक्रममा उनीहरुको भेट भएन । ज्योती आउँदा दुर्गेश गाएर हिँडिसकेका थिए ।

    अहिलेका सर्वाधिक डिमान्डेड गायक दुर्गेशलाई ल्याउन आयोजकका लागि कम्ति चुनौतिपूर्ण भएन । दर्शकले जसरी पनि दुर्गेश ल्याउनैपर्ने माग गरेका थिए । ज्योतीले पनि त्यही दिन आउने रहर गरेपछि उनीहरु थप दवावमा परे ।

    एकदमै व्यस्त रहेका दुर्गेशले गाडीमा आउजाउ गर्न नभ्याउने भएपछि उनलाई हेलिकोप्टरमा ल्याइएको थियो । उनका लागि ५ लाख रुपैयाँ खर्च गरिएको आयोजकले जनाएको छ । चार्टर्ड हेलिकोप्टरमा आएका दुर्गेश त्यसैमा फर्किए ।

    आयोजक गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले दुर्गेशका फ्यानहरुको दवावमा ५ लाख रुपैयाँमा सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरिएको बताए । त्यसले ह्वात्तै खर्च बढेपछि टिकट दर दोब्बर बनाउनुपरेको उनको भनाइ छ ।

    ‘दुर्गेशका फ्यान धेरै भएकाले जसरी पनि बोलाउनुपर्ने भयो । उहाँको कार्यक्रममा चाप रहेछ । हेलिकोप्टर चार्टर गरेरै ल्यायौं,’ उनले भने ।
    ज्योतीलाई दिइएको रकम भने उनले पाण्डेले खोल्न चाहेनन् । यद्यपि, आयोजक निकट स्रोतले १ लाख रुपैयाँ उनलाई ल्याउन खर्च भएको बताएको छ ।

    सोमबार साधारण टिकट २ सय र विद्यार्थीलाई १ सय बनाइएको थियो जुन नियमित दरको दोब्बर हो । टिकट दोब्बर बनाउँदा पनि दर्शक ओइरिए । ‘खर्च बढेपछि टिकट दर दोब्बर बनायौं, र पनि अहिलेसम्मकै धेरै सहभागी भए,’ पाण्डेले सुनाए, ‘करिब १० हजार दर्शक जुटे होलान्, गुल्मीमा यो संख्या निकै धेरै हो ।’

    दुर्गेश चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे ओर्लिएका थिए । उनले २ः३० बजेदेखि महोत्सवमा एक घन्टा प्रस्तुतति दिए । करिब ४ बजे हेलिकोप्टरबाटै फर्किए । दुर्गेशले ‘दुश्मन हेरेको हेरै’ गाउँदा दर्शक झुमेका थिए । प्रस्तुति दिने क्रममा उनले ‘दुर्गेश नाम होइन, ब्राण्ड हो’ भन्दै आफ्ना फ्यानहरुलाई उचाले ।

    एक–अर्कालाई घोचपेच

    दुर्गेश प्रस्तुति दिएर फर्किएपछि ज्योती आएकी थिइन् । उनीहरुको भेट त भएन, तर स्टेजबाट एक–अर्कालाई छेडछाड गरे ।
    आयोजकका अनुसार दुर्गेशले ‘कोही कोही साँप्रा देखाउने कलाकार पनि आउने रे’ भन्दै ज्योतीलाई छेड हानेका थिए । ज्योतिले पनि ‘स्टेजमा उफ्रिने स्वघोषित कलाकार पनि आएका थिए रे’ भन्दै दुर्गेशलाई छेड हानिन् ।

    आयोजक समितिका अध्यक्ष पाण्डेले भने, ‘दुवैले मञ्चबाटै एक अर्कालाई सटायर गर्नुभयो । त्यसो नगरेको भए राम्रो हुन्थ्यो ।’ कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ ।

  • म्युजिक भिडिओबाट चलचित्रमा फड्किए एलिस खनाल, निखिलको चलचित्रमा अनुबन्धित

    म्युजिक भिडिओबाट चलचित्रमा फड्किए एलिस खनाल, निखिलको चलचित्रमा अनुबन्धित

    काठमाडौं । दर्जनौं म्युजिक भिडिओमा अभिनय गरिसकेका एलिस खनालले चलचित्र डेब्यू गर्ने भएका छन् । एक्सन स्टार निखिल उप्रेतीको प्रमुख भूमिका रहने ‘आचार्य’ मा एलिस अनुबन्धित भएका हुन् ।

    एलिस महालक्ष्मी नगरपालिका टिकाथली, ललितपुरका हुन् ।

    एलिसले निखिल र निर्माण नियन्त्रक दिपेन गौतमसँगको फोटो सार्वजनिक गरेका छन् । केही वर्षको विश्रामपछि चलचित्र निर्माण र निर्देशनमा फर्किएका निखिलले ‘आचार्य’ लाई भरपूर मिहेनत गर्ने बताए ।

  • ‘मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?’

    ‘मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?’

    काठमाडौं ।  कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् ।

    त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए ।  तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् ।

    कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उहाँलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ ।

    सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाउनुभएका बहुआयामिक आचार्य विविधता मन पराउँछन् । ‘मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,’ अभिनेता आचार्य भन्छन् ।

    प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

    चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ?

    – मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ ।

    त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण गर्‍यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयोे । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई÷तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो ।

    मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ ।

    तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो?

    – म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग ग¥यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ रु’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो ।

    छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो? 

    – त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो ।

    चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो, आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ?

    – म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् ।

    अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ?

    – म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु ।

    मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ?

    –चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ ।

    गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ?

    – हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु ।

    नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन्, तपाइँले बजार बढेको पाउनुभएको छ ?

    – विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ रु किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् ।

    तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन?

    – मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ ।

    आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ?

    – म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ?

    – म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ ।

    तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही?

    – दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ?

    अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ?

    – मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गथ्र्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ ।

    पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ?

    – हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाइँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ ।

    ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ?

    – मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ ।

    राजनीतिमा आउने तपाइँको चाहना छ ?

    – म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो ।

    -रासस

  • ‘टी सिरिज’ले हिन्दीमा राखेको सुशान्त केसीको गीत हिट बन्दै, १८ घण्टामा १५ लाख बढी पटक हेरियो

    ‘टी सिरिज’ले हिन्दीमा राखेको सुशान्त केसीको गीत हिट बन्दै, १८ घण्टामा १५ लाख बढी पटक हेरियो

    काठमाडौं । भारतको चर्चित म्युजिक युट्युब च्यानल ‘टी सिरिज’ले हिन्दीमा राखेको गीत १८ घण्टामा १५ लाख भन्दा धेरै पटक हेरिएको छ ।

    २९२ मिलियन सब्सक्राइबर भएको ‘टी सिरिज’मा ‘उसको एक झलक…’ गीतलाई हिन्दीमा ‘उस्की एक झलक…’ गाइएको छ । अभिनयमा नायिका स्वस्तिमा खड्का र सुशान्त केसी देखाइएका छन् । गीतमा नेपालीमा इन्द्रकला राईले गाएको ‘लैजाऊ है माया…’ चैँ नेपालीमै गाइएको छ ।

    ‘टी सिरिज’को मुख्य च्यानलमा राखिएको प्रथम नेपाली गीतको उपमा पाएको यो गीतको नाम ‘उफ्’ दिइएको छ ।

    ‘टी सिरिज’मा पछिल्ला दिनहरूमा धेरै हेरिएको गीतमा पनि यही गीत बन्न पुगेको छ । नेपाली भर्जनको गीत ग्लोबल ट्रेन्डिङमा आएको थियो । छ महिना अगाडि अपलोड गरिएको बार्दली’ गीतको भिडिओलाई सात करोड बढीले हेरेका थिए ।

  • ‘होस्टेल ३’ले मनायो ५१ दिन, कार्यक्रममा कलाकार र टिम सम्मानित

    ‘होस्टेल ३’ले मनायो ५१ दिन, कार्यक्रममा कलाकार र टिम सम्मानित

    काठमाडौं । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ले सोमबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा ५१ औँ दिन मनाएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरे पनि निर्माण टिमले भने आज विशेष कार्यक्रमको आयोजना गरी चलचित्र प्रदर्शनको ५१ औं दिन मनाएको हो।

    आयोजित कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू पारस बम (कुलब्वाई), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान भने अनुपस्थित रहे । कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका चर्चित हाँस्य-कलाकार केदार प्रसाद घिमिरे पनि सहभागी भएका थिए ।

    उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए । नयाँ पुस्ताका कलाकारहरूको पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै उनले सबैप्रति आभार प्रकट गरे ।

    उपस्थित चलचित्रका कलाकारहरुले पनि ‘होस्टेल ३’ आफ्नो लागि ‘विश्वविद्यालय’ भएको बताउँदै यस चलचित्रबाट आफुहरुले सिकेको अनुभव अमूल्य रहेको बताए। त्यसै गरी, कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सशांक कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले पनि चलचित्रलाई साथ र समर्थन गरेकोमा दर्शक तथा पत्रकारहरूलाई धन्यवाद व्यक्त गरे ।

    सेलिब्रेसनसंगै कार्यक्रममा चलचित्र युनिटलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले चलचित्रमा वार्डेनको भूमिका निभाएका छन् ।

    चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

  • टि सिरिजले सार्वजनिक गर्‍यो सुशान्तको केसीको ‘बार्दली’को हिन्दी संस्करण

    टि सिरिजले सार्वजनिक गर्‍यो सुशान्तको केसीको ‘बार्दली’को हिन्दी संस्करण

    काठमाडौं । टि सिरिजले नेपाली गायक सुशान्त केशीको गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ । टि सिरिजको अफिसियल युट्युब च्यानलबाट ‘बार्दली’को हिन्दी भर्सन सार्वजनिक भएको हो ।

    ‘उफ’ शीर्षक दिएर सार्वजनिक गरिएको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । तर, नेपाली गीतको भिडियोमा फिचर्ड भएका अन्य कलाकारलाई हिन्दी भर्सनमा देखाइएको छैन ।

    गीतमा इन्द्रकला राईको नेपाली गीतलाई भने जस्ताको तस्तै राखिएको छ । नेपाली संस्करण निकै हिट भएको यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत गएको थियो । टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।

  • महेश खड्काको आक्रोश- संगीत क्षेत्रका भातमारा र हुँडारले मलाई गरिब बनाए

    महेश खड्काको आक्रोश- संगीत क्षेत्रका भातमारा र हुँडारले मलाई गरिब बनाए

    काठमाडौं । ‘चर्चित गायकगायिकाले मेरो संगीतमा गीत गाउँदा कस्तो सुनिएला है ?’

    ‘उदितनारायाण झा, साधना सगरम, कुमार सानु जस्ता कलाकारको स्वरमा मुम्बईमा गीत रेकर्ड गराउन पाए… ।’

    आजभन्दा २१-२२ वर्षअघि संगीतकार महेश खड्काको दिमागमा यस्तैयस्तै कल्पनाले डेरा जमाउँथ्यो । आफ्नो संगीतमा उदितनारायण जस्ता चर्चित गायकको स्वरको जादु थपिएको सपना देख्थे । भर्खर भर्खर नेपाली सांगीतिक आकाशमा फटफटाउन सुरु गरेका खड्काका लागि मुम्बईसम्मको उडान उस्तो सहज थिएन ।

    काठमाडौंबाट मुम्बईसम्मको दुरी, आर्थिक भार अलग्गै थियो । उदितनारायण, कुमार सानु, साधना सरगम जस्ता कलाकारले आफूसित सहकार्य गर्ने हो कि होइन, खड्काको मनमा आशंका अलग्गै थियो ।

    भनिन्छ नि, सपना देख्नेहरू कहिल्यै निराश हुनुपर्दैन । हो, खड्का पनि निराश हुनुपरेन । उनले देखेको सपना पूरा हुने भयो, उदितनारायणसँग सहकार्य गरिने भयो । उनको सपना यथार्थमा बदलिने भयो ।

    सपना यथार्थमा बदलिँदा मान्छेको अनुहारको चमक नै बेग्लै हुन्छ, खड्काको नहुने कुरै भएन । उनी उत्साह र उमंग बोकेर मुम्बई हान्निए । महेश-उदितको सहकार्यको चाँजोपाँजो मिलाउने वातावरण बनाएको थियो चलचित्र ‘समर्पण’ले, तर महेशको त्यो सपना पूरा हुन सकेन ।

    ‘मलाई दोस्रो चलचित्रमा उदितनारायणको स्वर राख्न मन थियो’, त्यसवेलाको समय सम्झिँदै महेश भन्छन्, ‘तर दुर्भाग्य, मैले उहाँको स्वरलाई कैद गर्न सकिनँ । म उहाँकै स्वर कैद गर्न गएको थिएँ, त्यहीवेला उहाँ कार्यक्रमका लागि अमेरिका जानुभयो ।’

    जसको स्वर कैद गर्न गएका थिए, उही मान्छे नभेटिएपछि महेश विलखबन्दमा परे । अब के गर्ने त ? एक स्टुडियोका रेकर्डिस्ट जोय भन्नेले सुझाए, ‘एक जना नयाँ गायक छ, उसको आवाज सुन्नुस् ।’

    उनले ती गायकको आवाज सुने । सुनेपछि ‘ओके’ गरे । नवोदित गायक थिए सोहम चक्रवर्ती । सोहमले पहिलो गीत गाए, ‘आकाशकी हौ तिमी चाहे धरतीकी हौ ।’

    सोहमले अर्को गीत पनि गाए, ‘मलाई फुल्न देऊ’ । यो गीत त ब्लकबस्टर नै भयो ।

    त्यो गीत, जसले महेशलाई संगीतकार बनायो

    ‘समर्पण’अघि महेशको पहिलो चलचित्र थियो– ‘त्रिवेणी’ । ‘त्रिवेणी’बाटै महेशले सफलताको पहिलो स्वाद चाखेका थिए । ‘तिम्रो आँखामा के छ सागर सागर’ बोलको गीत सुपरहिट बनेको थियो ।

    हुन त महेश गायक बन्न खोटाङको सिम्पानीबाट काठमाडौं छिरेका थिए । गायक बन्न आएका उनलाई साथीभाइले हौस्याउँथे, ‘कम्पोज’ राम्रो छ ।’ महेश पनि हौसिन्थे । गितार उनको साथमै हुन्थ्यो । जहाँ पुगे पनि गीत गुनगुनाउन आइतबार कुर्दैनथे । साइनोले भतिज पर्ने कलाकार नवल खड्कासितै चलचित्र प्रोडक्सनमा समेत छिरेका थिए । एक दिन निर्माता/निर्देशक राजकुमार राईले ‘त्रिवेणी’मा संगीतको अफर गरे ।

    ‘मैले त्यो त कल्पनासमेत गरेको थिइनँ । म त थाहै नपाई गायकबाट संगीतकार बनिसकेको रहेछु’, महेश हाँस्दै सम्झिन्छन्, ‘गीतकार प्रमोद ढुंगाना शब्द दिएर चाबहिल जानुभयो । पुतलीसडकमा मेरो सानो अफिस थियो । त्यहाँ कम्पोज गर्न सुरु गरेँ । गीत तयार भयो । उहाँलाई सुनाउन कल गरेको थिएँ, उहाँ घर पुगिसक्नुभएको रहेनछ ।’

    गीत तयार भयो । चलचित्रको संगीत तयार भयो । चलचित्र नै तयार भयो । प्रदर्शन भयो । महेशको पहिलो गीत हिट भयो । टीभीमा बज्यो । रेडियोमा बज्यो । महेश भन्छन्, ‘रेडियोमा मेरै गीत सुन्दा सिरिङ सिरिङ हुन्थ्यो ।’

    अनि उदितले भने, ‘मेरै लागि कम्पोज गर्नुभएछ’

    ‘त्रिवेणी’, ‘समर्पण’पछि महेशले तेस्रो चलचित्रमा संगीत भरे, ‘माया बसेछ’ । उदितसँग सहकार्य गर्ने महेशको सपना अझै जीवित थियो । उदित बलिउडमा जमिसकेकोमात्रै होइन, नम्बर वन पार्श्व गायक थिए । व्यस्तता उस्तै अकल्पनीय थियो । चर्चा र सफलताको शिखरमा थिए ।

    महेश सम्झन्छन्, ‘माया बसेछ चलचित्रको गीत उदित दाइकै लागि कम्पोज गरेको थिएँ । म सिलाइएको पाइन्ट र सर्ट लगाउँथेँ । उदित दाइले पत्याउनुहुन्न होला झैं लागेको थियो, तर उहाँले धेरै माया गर्नुभयो मलाई ।’

    महेशका अनुसार गीत सुनेपछि उदितले सोधे, ‘मेरै लागि कम्पोजिसन गर्नुभयो जस्तो लाग्यो । कि यसै मलाई गाउन लगाउनुभएको हो ?’

    ‘मैले उहाँकै लागि भनेर कम्पोज गरेको भनेर भनेँ । यसपछि तीनचार दिन हार्मोनियममा बसेर प्राक्टिस गर्‍यौं’, महेश सुनाउँछन्, ‘स्टुडियोमा उहाँले पाँच घण्टा लगाएर गाउनुभयो । यसपछि मैले कुनै पनि गायकलाई पाँच घण्टा लगाएर गीत रेकर्ड गराएको छैन ।’

    अलि पछि चलचित्र प्रदर्शन भयो । चलचित्रका गीतहरू सुपरहिट भए । ‘आज मन उडेर भाग्छ’, ‘कसैलाई नसोधी तिमी मन पराएँ’, ‘चमेलीको फूलमा भुभु भमरा’ जस्ता गीतहरू ब्लकबस्टर भए । यी सबै गीतमा उदितकै स्वर थियो ।

    महेश सम्झन्छन्, ‘कसैलाई नसोधी मन पराएँ बोलको गीतको अन्तरामा ‘कहुँ’ भन्ने शब्द थियो । हाम्रो खोटाङतिर बोलीचालीमा बोलिने शब्द हो यो । केही कुरा भन्नलाई ‘कहने’ भनिन्छ । उदित दाइले ‘कहुँ’ भन्ने हिन्दी शब्द हुने र ‘कहुँ’को ठाउँमा ‘भनुँ’ राखौं भन्नुभयो, तर मैले गाउँघरतिर बोलिन्छ भनेपछि यही शब्द राखियो ।’

    ‘माया बसेछ’पछि महेश-उदितले ६०-७० गीतमा सहकार्य गरे । अनि संगीतकार हुनलाई केके चिज चाहिने रहेछ त ?

    महेश सुनाउँछन्, ‘भित्री मनमा आत्मविश्वास चाहिने रहेछ । सांगीतिक ज्ञान र हृदयबाटै शब्दलाई केलाउन सक्ने क्षमता हुनुपर्ने रैछ ।’

    उदितको स्वरमा रेकर्ड गराएको गीत दीपक लिम्बूले गाएपछि…

    गीतहरू लगालग हिट हुन थालेपछि महेशले पनि लगालग काम पाउन थाले । चलचित्र लिएर भारत जाने उनको रहर पनि मर्‍यो । बरु नेपाली कलाकारलाई नै अवसर दिइनुपर्छ भनेर लागे । नेपालमा रियालिटी शोहरू पनि आइरहेका थिए । प्रतिभावान गायकगायिकाहरू आइरहेका थिए ।

    ‘हिम्मत’ चलचित्रको लागि भारतीय गायक अभिजित सावन्तलाई एउटा गीत गाउन लगाए । उदितलाई पनि अर्को गीत गाउन लगाए, ‘मैले त्यही भएर मन पराएको’ ।

    तर प्राविधिक कारणवश उदितको स्वरमा रेकर्ड गराएको गीत पहिलो नेपाल तारा दीपक लिम्बूले गाए । गीत सुपरहिट भयो । पाश्र्व गायनमा दीपक लिम्बूको उचाइ थप बढ्यो ।

    अलि पछि सिंगापुरको एक कार्यक्रममा दीपक, अञ्जु पन्त र महेश मुम्बईको ट्रान्जिट हुँदै गए । मुम्बईमा जाँदा उदितलाई पनि छुस्स भेटे । उक्त भेट सम्झन्छन् महेश, ‘उहाँको स्वरमा रेकर्ड भएको गीत दीपकले गाएको थाहा पाउनुभएछ । त्यो गीत उहाँले पनि निकै मन पराउनुभएको थियो । अनि उहाँले आफ्नै गला समात्दै जिस्किएर भन्नुभयो, ‘मेरो त गला छैन खड्काजी !’

    महेशले दीपकसँग धेरै गीतहरूमा सहकार्य गरे । दीपकका अधिकांश हिट गीतमा महेशकै संगीत छ । ‘नाईं नभन्नु ल’को ‘जूनको ज्योति’देखि ‘मुटु माग्यौ तिमीले’ जस्ता दर्जनौं हिट गीतमा महेश-दीपकले सहकार्य गरेका छन् ।

    दीपक रियालिटी शोबाट आएका गायक हुन्, तर पछिल्लो समय च्याउसरी उम्रिएका रियालिटी शोका विजेताहरूको सांगीतिक करियर एकदमै धरमर देखिन्छ । किन होला ?

    महेशको विश्लेषण छ, ‘उनीहरू रियालिटी शोबाट निस्किएपछि आफूलाई सुपरस्टार सम्झन्छन् कि कसो कुन्नि ! अरुको गीत गाएरमात्रै करियर धानिन्छ भन्ने ठान्छन् कि कसो कुन्नि ! दुईचार वटा विदेशको कार्यक्रम ग¥यो, सक्कियो भन्ने ठान्छन् कि कसो कुन्नि ! कस्तो गीत गाउने, मेरो गीत खै त भनेर खोज्नुपर्‍यो होला नि !’

    अञ्जु पन्तले सञ्जोगले गाएको ‘नबिर्से….’

    अञ्जु पन्त आफ्नो पुस्ताकी सर्वाधिक लोकप्रिय गायिका हुन् भन्दा फरक नपर्ला । उनै अञ्जुको सांगीतिक करियरकै सर्वाधिक हिटमध्ये एक गीत हो, ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ । यो गीतमा विपीन किरणको शब्द तथा महेशको संगीत छ ।

    योभन्दा अगाडि अञ्जुको सुरुवाती हिट गीत थियो, ‘दिल यो मेरो दिल’ । यी दुवै गीत अञ्जुको करियरको पूर्वार्द्धका हिट गीत हुन् । यस गीतमा पनि महेशकै संगीत थियो ।

    ‘उहाँसँग मेरो चिनजान ‘माया बसेछ’कै बेलामा भएको हो । त्यो बेला एरेन्जर अमुल कार्कीले मलाई उहाँको डमी आवाज सुनाउनुभएको थियो । आलोकश्रीको संगीतमा जगजीत सिंह र उहाँको श्रीमतीले गाउने एउटा गीतको डमी भ्वाइसमा उहाँको स्वर थियो’, महेश सम्झिन्छन्, ‘अञ्जु पन्तबारे दीपक लिम्बूले पनि सुनाएको थियो । पछि उहाँको स्वर सुनेपछि मनपर्‍यो । उहाँलाई गीतहरू गाउन लगाउन सुरु गरेँ ।’

    ‘दिल यो मेरो दिल’ गाएलगत्तै अञ्जुको ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ हिट भयो । यो गीत भने अञ्जुले संयोगले गाउन पाएकी थिइन् । नत्र यो गीत पहिलो पटक इन्दिरा जोशीले गाएकी थिइन्, राष्ट्रिय सभागृहमा ।

    पछि गीतकार विपीन किरणले एल्बममा एकएक जना कलाकारलाई गाउन दिने भनेपछि इन्दिराले ‘टुट्यो तारा आकाशमा’ गाइन्, अञ्जुले ‘नबिर्सें तिमीलाई’ ।

    ‘यो गीत रेडियोमा यति धेरै फर्माइस आउन थाल्यो कि छोटो समयमै हिट भयो । अनि यो गीत अञ्जुजीको टर्निङ प्वाइन्ट पनि बन्यो’, महेश अञ्जुबारे बोल्छन्, ‘उहाँको स्वर पनि मीठोे छ । सुरुको ज्ञान भएको मान्छे पनि हो ।’

    महेशका गजलदेखि लोकभाकासम्म रुचाइए

    प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनै बेला
    दिँदै कतिलाई हातहातमा हिँडियो कुनै बेला

    रूपक वनबासीको यो गजलमा आशिष ताम्राकारको स्वर छ भने महेशले संगीत भरेको पहिलो गजल हो ।

    यो गजल-गीतको प्रसंग सुनाउँछन् महेश, ‘गजललाई अलिकति शास्त्रीय हिसाबले मात्रै लिने गरिन्थ्यो । यो आगन्तुक विधा पनि हो । यही विधालाई पूर्वेली लवजमा बनाउँदा कसो होला त ! लोकलयमा गजल किन हुँदैन त ! अनि यो गजल-गीत बनाएँ ।’

    यसपछि महेशले लगातारजसो गजल-गीत गरे । अहिलेका चर्चित गायक प्रमोद खरेलको त सांगीतिक करियर उचालिनुमै महेशको योगदान छ भन्दा फरक नपर्ला !

    प्रमोदले चलचित्रमा गाएको ‘यो अंगालोभरिको माया’ र ‘लागी लागी’ जस्ता गीतमा महेशकै संगीत थियो । प्रमोदलाई सेलिब्रेटी गायककै रूपमा स्थापित गरेको ‘प्रणय’ एल्बमका ‘मविना कसै-कसैलाई मुस्किल छ पोखरामा’ र ‘याद गर्न पनि कोही न कोही चाहिँदो रहेछ’मा महेशकै संगीत छ ।

    महेश प्रमोदका सुरुवाती दिन सम्झन्छन्, ‘प्रमोद भाइ रेक्चरर थिए । संगीतमा लागिरहेको प्यासी मान्छे थिए । राम्रो गीत गाउन पाए हुन्थ्यो भन्ने सोच भएको मान्छे थियो । मसित आएर अब कलेज छाडेर संगीतमै लाग्नुपर्‍यो भन्थे, तर दह्रोसँग खुट्टा नटेकुञ्जेल पढाउन नछाड भन्थेँ ।’

    एक दिन प्रमोदले एल्बम गर्ने कुरा गरे । महेश गीत खोज्न राजेन्द्र थापाकहाँ गएँ । त्यहाँबाट ‘याद गर्न पनि’ बोलको गजल लिए । ‘मविना कसै-कसैलाई’ चाहिँ महेशले अरुकै लागि कम्पोज गरिदिएका थिए । त्यो मान्छेले नगाएपछि गीत थन्किएको थियो ।

    यो गीत महेशले चलचित्रका निर्माता/निर्देशकलाई पनि सुनाए । उनीहरूको प्रतिक्रिया हुन्थ्यो, ‘गीत राम्रो छ, तर पोखरा गएर सुट गर्नुपर्ने रैछ, महँगो पर्छ ।’

    एक दिनको कुरा हो, एउटा पार्टीमा एरेन्जर किरण कँडेलले महेशलाई सुझाए, ‘तपाईं पनि गायक हुनै आएको हो । यो गीत तपाईंले नै गाउनुस् ।’

    किरणले उचालेपछि महेश गाउन तयार भए ।

    ‘किरणजी र मेरो कुरा प्रमोदले सुनिरहेको थियो । उसले म गाउँछु गीत भनेर अनुरोध गर्‍यो’, महेश हाँस्दै सुनाउँछन्, ‘मैले पनि यस्तो वरिष्ठ एरेन्जरले गाउनु भनेपछि गाउन आँटेको थिएँ भाइ भनेर प्रमोदलाई जिस्काएँ ।’

    महेश थप्छन्, ‘गीत रिलिज भएपछि यस्तो हिट भयो कि हरेक बसमा ‘मेरो दिल छ पोखरामा’ लेखिएको हुन्थ्यो । राम्रो सृजना आउँदा लहर पैदा हुँदोरहेछ ।’

    हजारौं गीत सृजे पनि आर्थिक समस्यामै छन् महेश

    महेशले १०८ वटा चलचित्रमा संगीत भरे । दुई हजारभन्दा ज्यादा गीतहरू बनाए । चलचित्र र गीतको संख्या थाहा पाएपछि तपाईंलाई लाग्नसक्छ, यति धेरै गीतमा संगीत गरेका स्रष्टाको आर्थिक अवस्था राम्रै होला ! टन्नै कमाएका होलान् । करोडौं सम्पत्ति होला । रोयल्टी पनि टन्नै पाउलान् । रोयल्टीको सुनिश्चितता प्रतिलिपि अधिकार ऐन २०५९ ले गरिदिएकै छ ।

    साथै संशोधित रोयल्टीसम्बन्धी मस्यौदामाथि सरकारले काम पनि गरिरहेको छ, तर महेशको यथार्थ भने अलग छ । आफू आर्थिक समस्यामा रहेको बताउँछन् उनी ।

    आफ्नो आर्थिक अवस्थाबारे विस्तारमा भन्छन्, ‘म आर्थिक समस्यामै छु । मैले गीत गर्दा केही पारिश्रमिक पाइन्थ्यो । त्यो पारिश्रमिक गाडी चढ्दा, चिया खाजा खाँदामै सकिन्थ्यो । चलचित्रमा ५-६ वटा गीत हुन्थे, प्याकेजमा लिनुपर्थ्यो । पैसा खासै धेरै हुन्थेन ।’

    महेश थप्छन्, ‘काम गर्दागर्दै पाएको पारिश्रमिक सक्किइसकेको हुन्थ्यो । संसारमा सर्जकहरू आफ्नो आर्थिक जीवन सुरक्षित गरेर बसेका छन्, तर नेपालमा हामी आर्थिक समस्यामा गुज्रिरहनुको पछाडि चाहिँ रोयल्टी प्राप्त नगरेर हो । खासमा हामीले स्टेजमा गीत बजेको आधारमा पनि रोयल्टी पाउनुपर्ने हो । आफ्नो लगानी नै नभएको गीतको ट्र्याक बोकेर गायक संसारभर डुल्छ, लाखौं कमाउँछ । हामी वास्तविक सर्जकले केही पनि पाउँदैनौं ।’

    महेश अलि आक्रोशित सुनिन्छन्, ‘मलाई गरिब बनाउने त कैयौं भातमाराहरू छन् । स्याल, ब्वाँसो र हुँडारहरू छन् । बुढासुब्बा म्युजिकमा जाने हो भने मैले संगीत गरेका धेरै चलचित्रका गीत छन् । मैले त्यहाँबाट पर्याप्त रोयल्टी पाएको छैन । यसका लागि अदालत जानुपर्ने अवस्था छ । यस्तैयस्तै कारणले म आर्थिक रूपमा सुरक्षित छैन ।’

    महेश भावुक बन्छन्, ‘अमर स्रष्टा बिरामी पर्दा वा धरती छाडेर जाँदा फेसबुकतिर सहयोगको अपिल गरिरहनुपरेको हुन्छ । राज्यले पनि हाम्रो समस्यालाई सम्बोधन गर्ने कोसिस गर्दैन । तिनै स्रष्टाका सृजनाहरू भने दर्शक/स्रोताका जिब्रोमै झुण्डिएका हुन्छन् ।’

  • आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

    आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

    काठमाडौं । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ ।

    आइतबार दिउँसो ३ः१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

    गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन् ।

    भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ । भिडियोको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन् ।

    स्मिता दाहालले यस गीतमार्फत आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरेकी छन् । मातातीर्थ औँसीको अवसरमा सार्वजनिक गरिएको ‘आमा’ गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ ।

    गीत युट्युबमा हेर्न सकिनेछ ।