Category: कलाप्रेस

  • ‘स्पाइडरम्यान’ पुस २ मा काठमाडौंमा रिलिज हुँदै, हेर्नूस् ट्रेलर

    ‘स्पाइडरम्यान’ पुस २ मा काठमाडौंमा रिलिज हुँदै, हेर्नूस् ट्रेलर

    काठमाडौं । मार्भल सिनेम्याटिक युनिभर्सको २७ औं फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ आगामी पुस २ गते नेपालमा रिलिज हुने भएको छ ।

    कोरोना महामारीले यसअघि दुईपटक रिलिज स्थगित गरेको फिल्मले अन्ततः प्रदर्शन मिति तय गरेको फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

    टम हल्यान्ड र जेन्डायाको मुख्य भूमिका रहेको फिल्म सोही मितिमा भारतमा समेत प्रदर्शन हुने भएको छ । बुधबारै फिल्मले नयाँ पोस्टर र ट्रेलर समेत लन्च गरेको छ ।

    नेपालमा स्पाइडरम्यान श्रृंखलाको रामो फ्यान फलोइङ भएकाले पनि यो फिल्म नेपाली दर्शकमाझ प्रतीक्षित बनेको छ । यसअघि एप्पलले स्पाइडरम्यानका प्रत्येक श्रृंखलाको काठमाडौं प्रिमियर गथ्र्यो तर, यसपटक भने नहुने जनाइएको छ ।

  • नायिका एलिजाले साइन गरिन् दोस्रो फिल्म ‘घुइँचो’, जुम्लादेखि न्यूयोर्कसम्मको कथा भन्ने

    नायिका एलिजाले साइन गरिन् दोस्रो फिल्म ‘घुइँचो’, जुम्लादेखि न्यूयोर्कसम्मको कथा भन्ने

    काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो फिल्म साइन गरेकी छिन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ फिल्म साइन गरेकी हुन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ ।

    निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

    एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्- ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’ निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए ।

    यो फिल्मको बिषयमा दैलेखीले भने -‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

    फिल्म ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, विविध कारणले उनले यो फिल्म छाडेकी थिइन् ।

  • बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित)

    बलिउडमा हेभिवेट भीडन्त निश्चित : ‘लालसिंह चड्डा’ भर्सेस ‘केजीएफ २’ (सूचीसहित)

    मुम्बइ । कोरोना महामारीपछि पुनः एकपटक फिल्म हलहरुमा ठूला फिल्महरुको भीडन्त सुरु हुँदैछ । बलिउडका ठूला फिल्महरुले प्रदर्शन मिति घोषणा गरेका छन् ।

    रिलिजको हतारोमा केही फिल्मको भीडन्त अर्को ठूलो फिल्मसँग हुने निश्चित भएको छ । यस्तोमा आमिर खान स्टारर ‘लालसिंह चड्डा’को भीडन्त १४ अप्रिलमा यशको फिल्म केजीएफ-२ सँग हुनेछ ।

    यसबाहेक पनि केही बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति तय भएको छ जसको भीडन्त अर्कोसँग हुनेछ । रिलिज डेट जुधेका केही फिल्महरुको यहाँ प्रस्तुत छ :

    आरआरआर- राधेश्याम

    सन् २०२२ को सुरुआत एसएस राजामौली निर्देशित ‘आरआरआर’को प्रदर्शनसगै हुनेछ । जनवरी ७ मा रिलिज हुने फिल्ममा आलिया भाट, राम चरण, एनटीआरको मुख्य भूमिका हुनेछ ।

    १४ जनवरीमा प्रभास र पूजा हेग्डेको फिल्म राधेश्याम रिलिज हुँदैछ । बिग बजेटमा निर्माण भएका यी दुबै फिल्म सात दिनको अन्तरमा प्रदर्शन हुन लागेका हुन् । जसले गर्दा दुबै फिल्मको कमाइमा असर पर्ने अनुमान छ ।

    पृथ्वीराज- अट्याक

    अक्षयकुमार र जोन अब्राहमका फिल्महरु पृथ्वीराज र अट्याक जनवरीमा एकापसमा भिड्दैछन् । चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा बनेको पृथ्वीराज २१ जनवरीमा रिलिज हुँदैछ । लक्ष्यराज आनन्दको फिल्म अट्याक त्यसको तीनदिनपछि मात्र रिलिज हुनेछ । पृथ्वीराजमा अक्षयकुमार, मानुषी छिल्लर, सोनु सूद र संजय दत्त लिडरोलमा छन् । यो फिल्मको स्टारकास्ट अट्याकभन्दा बढी दमदार छ । अट्याकमा जोनसहित ज्याकलिन फर्नान्डिजले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यी दुईको तुलनामा पृथ्वीराजको पल्ला भारी छ ।

    बधाइ दो- बिफोर यु डाई

    चार जनवरीमा राजकुमार राव र भूमि पेड्नेकरको फिल्म बधाइ दो र पुनितराज शर्मा र काव्या कश्यपको फिल्म बिफोर यु डाइ रिलिज हुँदैछ । स्टारकास्टको हिसाबले हेर्दा बिफोर यु डाइभन्दा बधाइ दोको पल्ला भारी हुनसक्छ ।

    गंगुबाइ कठियाबाडी- जयेशभाइ जोरदार

    संजयलीला भन्सालीको बहुप्रतीक्षित फिल्म गंगुबाइ कठियाबाडी १८ फेब्रुअरीमा रिलिज हुँदैछ । यसको एकसातापछि रणवीर सिंहको फिल्म जयेशभाइ जोरदार रिलिज हुँदैछ । दुबै फिल्म बजेट र स्टारकास्टको हिसाबले ठीकठाक छन् । यस्तोमा दुबै फिल्मबीच टक्कर हुनसक्छ । एकसाताअघि नै रिलिज हुँदै गंगुबाइलाई केही फाइदा पुग्नसक्छ । गंगुबाइ कठियाबाडीमा आलियासहित सान्तुन महेश्वरी, विजयराज मुख्य भूमिकामा छन् । जयेशभाइ जोरदामा रणवीरसहित शालिनी पान्डे र बोमन इरानी मुख्य भूमिकामा हुनेछन् ।

    बच्चन पाण्डे- शमशेरा

    अक्षयकुमारको बच्चन पाण्डे र रणवीर कपुरको शमशेरा फेब्रुअरीमा दुई साताको अन्तरमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डे ४ मार्च र शमशेरा १८ मार्चमा प्रदर्शन हुनेछन् । बच्चन पाण्डेलाई कमाइको लागि दुई साता प्राप्त हुनेछ । शमशेराको व्यापारमा पनि असर पर्ने सम्भावना कम छ ।

    भुलभुलैया २ -अनेक

    कात्तिक आर्यन, कियारा आडवाणी र तबु स्टारर फिल्म हरर कमेडी फिल्म भुलभुलैया–२ २५ मार्चमा प्रदर्शन हुने तयारीमा छन् । आउने साता आयुष्मान खुरानाको फिल्म अनेक ३१ मार्चमा रिलिज हुँदैछ । आयुष्मान र कात्तिक दुबैका फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेका छन् । तर, दुबै फिल्म आमनेसामने हुँदाखेरी कलेक्सनमा असर पर्न सक्छ ।

    लालसिंह चड्डा- केजीएफ च्याप्टर २

    आमिर खानको फिल्म लालसिंह चड्डा अब अप्रिल १४ मा रिलिज हुनेछ । यसदिनमा कन्नड स्टारको केजीएफ च्याप्टर २ रिलिज हुँदैछ । केजीएफको पहिलो भागले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । यस्तोमा आमिर खानको फिल्ममा असर पुग्न सक्छ ।

     

  • जर्मुराउँदै रंगमंच : सास अभियानले थाल्यो गाउँगाउँमा नाटक मञ्चन

    जर्मुराउँदै रंगमंच : सास अभियानले थाल्यो गाउँगाउँमा नाटक मञ्चन

    काठमाडौं । कोरोना महामारीले सिथिल भएको रंगमंच जुर्मुराउन थालेको छ । रंगमंचलाई चलायमान बनाउने उद्देश्यले नाट्य अभियान सासले गाउँगाउँमा नाटक मंचन थालेको छ । अभियानको पहिलो चरणअन्तर्गत ललितपुर, भक्तपुर र काभ्रेमा तीनवटा नाटकलाई मंचन गरिएको छ ।

    ती ठाउँमा क्रमशः भाउजुको ब्यथा, नाङ्गो बस्ती र आरुवारिको फूल लघुनाटक प्रदर्शन गरियो । सास अभियानले अब दोस्रो चरण अन्तर्गत धादिङ, चितवन, मकवानपुर, सिन्धुली र दोलखामा पनि नाटक मंचन गर्ने भएको छ । जसको लागि अहिले काठमाडौंमा रिहर्सल भैरहेको छ ।

    अभियान संचालक एवं निर्देशक ठण्डबहादुर अधिकारी सासको रुपमा छन् भने हुङ्गकर्मी प्रल्हाद खरेलले उनलाई सहयोग गरिरहेका छन। नेपाली समाजलाइ रंगमञ्चसँग जोड्न सास अभियान थालिएको निर्देशक अधिकारीले बताए ।

    वरिष्ठ लेखक, निर्देशक कलाकार मोहन निरौला र निर्देशक बिश्वदीप घिमिरेको प्रमुख सल्लाहमा शुरु भएको नाट्य अभियान चौथो चरणसम्म चल्ने र भिन्न स्थानहरुमा यसलाई मंचन गरिने सासको तयारी छ ।

    मञ्चन गरिएका नाटकमा समाजमा एकल महिलाहरुले भोग्नुपरेको पीडालाई समेटिएको छ भने उनीहरुको संघर्षलाई पनि चित्रण गरिएको छ । सास उपनामले परिचित निर्देशक अधिकारी लामो समयको यूरोप र अमेरिका बसाईपछि नेपाली रङ्गमंच र फिल्ममा काम गर्ने तयारीसहित फर्किएका हुन् ।

    सासको नाट्य अभियानमा रङ्गकर्मी बिश्वदीप घिमिरे, प्रल्हाद खरेल, मन्जु गिरी, अशोक पहारी, प्रिया भुजेल, शशीशेखर बुढाथोकी, पूर्णिमा थामी, शान्ती भट्टराई लगायत सहभागी छन् ।

  • उत्तर अमेरिकाका नेपाली भाषी लक्षित डान्स र गायन रियालिटी सो घोषणा

    उत्तर अमेरिकाका नेपाली भाषी लक्षित डान्स र गायन रियालिटी सो घोषणा

    काठमाडौं । दुई नयाँ गायन र नृत्यसम्बन्धी टेलिभिजन रियालिटी सोको घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मेरो डान्सकप युएसए र मेरो भ्वाइसकप युएसए सिजन दुई सो आयोजना हुन लागेको जानकारी दिइयो ।

    दुबै सोको अडिसन नोभेम्बर २७ देखि अमेरिकामा सुरु हुने भएको छ । मेरो डान्सकप युएसए जनवरीबाट सुरु हुने भएपछि मिति तोकिएको छैन । यो सोको निर्णायकमा दिलिप रायमाझी, केकी अधिकारी, शंकर विसी र नरमान राई रहने भएका छन् ।

    मेरो भ्वाइस कप सिजन २ को निर्णायकमा भने गायक प्रमोद खरेल हुने भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली भाषीले यी दुबै रियालिटी सोमा भाग लिन पाउने भएका छन् ।

    इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सोको आयोजना गर्न लागेको हो । संस्थाका अध्यक्ष डिल्ली अधिकारीले ती सोले नेपाली भाषाबीच सांस्कृतिक निकटता ल्याउने बताए ।

    उक्त संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई राहत सामाग्री प्रदान गर्दै आएको छ ।

    तस्बिरहरु : गौरब पौडेल/नेपाल प्रेस

  • स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल

    स्वास्थ्य लाभपछि ‘मेरी बास्सै’ सुटिङमा फर्किइन् पल्पसा डंगोल

    काठमाडौं । स्वास्थ्य लाभपछि अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ काममा फर्किएकी छिन् । झन्डै ६ महीनापछि उनी हाँस्य टिभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन् ।

    यो हाँस्यसिरियलको नयाँ एपिसोडमा चम्सुरीलाई पनि देख्न पाइने भएको छ । नेपाल प्रेससँग कुरा गदै अभिनेत्री डंगोलले नयाँ जोश र खुशिसाथ सुटिङ सेटमा फर्किएको बताइन् ।

    चम्सुरी सेटमा फर्किँदा कास्ट एन्ड क्रिउले स्वागत गरेका थिए । तर, उनले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी नै छ । त्यतिञ्जेलसम्म उनले सिरियलमै काम गर्ने भएकी छिन् ।

    उनले आफू सुटिङ सेटमा फर्कन लागेको जानकारी दिँदै फेसबुकमा लेखेकी छिन्, ‘आज बेलुका मेरीबास्सै हेर्नुहोला । म हजुरहरुलाई भेट्न आउँदैछु ।’

    परिवारकै एकजना सदस्यले उनलाई मिर्गौला दिनेछन् भने यसका लागि सरकारी प्रक्रिया पनि पुरा हुँदैछ । माघमा मिर्गौला प्रत्यारोपण हुने जानकारी उनको परिवारका एक सदस्यले दिए ।

    गत जेठमा लकडाउनकै समयमा उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरको सुझावअनुसार उनले दुबै मिर्गौला फेर्नुपर्ने हुन्छ ।

  • केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने

    केन्द्र मोसनले पल र मलिकालाई लिएर फिल्म नबनाउने, प्रदीप भट्टराईसँग सहकार्य गर्ने

    काठमाडौं । केन्द्र मोसन पिक्चर्सले ६ महीनाअघि पल शाह र मलिका महतलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो । म्युजिक भिडिओमा हिट जोडीलाई लिएर फिल्म बनाउने घोषणा गरिरहँदा केन्द्र मोसन सुरुमा उत्साहित पनि सुनिएको थियो तर, परिस्थिती अहिले उल्टिएको छ ।

    पल र मलिकालाई लिएर उसले बनाउने भनेको फिल्म अनिश्चितकालका लागि स्थगित भएको छ । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धमा पल विवादित भएपछि केन्द्र मोसनले उनीमाथि जोखिम लिन नचाहेको हो ।

    केन्द्र मोसनसँग मिलेर हिट म्युजिक भिडिओहरु पस्किएका पललाई यो निर्णयले धक्का पुगेको छ । निकट स्रोतका अनुसार समीक्षासँगको विवादमा पल मुछिनु र विवादित हुुनलाई फिल्म स्थगनको मुख्य कारण मानिएको छ । साथै पछिल्लो समय पलको व्यवहारलाई लिएर केन्द्र मोसन असन्तुष्ट समेत रहेको बुझिएको छ ।

    ‘पलजीमा पछिल्लो समय मपाइत्व बढी देखियो र उहाँ एकपछि अर्को विवादमा मुछिँदै जानुभयो’ केन्द्र मोसन निकट स्रोतले नेपाल प्रेसलाई भन्यो । बजारमा पलको स्टार भ्यालू सोचेजस्तो ठूलो नरहेको पाइएकाले समेत फिल्म बनाउने योजना रोकिएको केन्द्र मोसनले जनाएको छ ।

    फिल्मको स्क्रिप्ट तयार भएपनि भविष्यमा यसमाथि फिल्म बनेपनि पल र मलिकालाई नलिइने केन्द्र मोसनले जनाएको छ ।

    पलमात्र होइन, उक्त निर्माण कम्पनी मलिकासँग पनि असन्तुष्ट रहेको स्रोतले बतायो । सुरुमा केन्द्र मोसनकै फिल्ममा काम गर्ने सहमती विपरित मलिकाले सल्लाहबिनै सत्यम फिल्म साइन्ड गरेकोप्रति कम्पनी असन्तुष्ट रहेको बुझिएको छ ।

    व्यक्तिगत कारण देखाउँदै मलिकाले यसैसाता पलसँगको फिल्म सत्यम नखेल्ने निर्णय गरेकी थिइन् । सत्यम फिल्म छाड्ने उनको निर्णयलाई पल–समीक्षा विवादकै एउटा साइड–इफेक्ट मानिएको छ ।

    अर्कोतर्फ, पल र मलिकाबीच सुखद सम्बन्ध नरहेकाले पनि फिल्म निर्माणको योजना त्यागिएको स्रोतको दावी छ । तर, केन्द्र मोसनले सहमतीअनुसार पल र मलिकासँग एउटा म्युजिक भिडिओ बनाउने तर, यो अन्तिम हुनसक्ने दावी पनि स्रोतको छ ।

    पल र मलिकाले सत्यम फिल्ममा सहकार्य नगर्ने निश्चित भएपछि अब केन्द्र मोसनले प्रदीप भट्टराईले निर्देशन गर्ने एक फिल्मको निर्माणमा सहकार्य गर्ने भएको छ । तर, यो फिल्ममा पल र मलिका दुबै हुनेछ्रैनन् ।

     

  • राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने

    राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको बायोपिक फिल्म बन्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई लिएर बायोपिक फिल्म निर्माण हुने भएको छ । नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपरसमेत रहेकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो ।

    पूर्वाञ्चलको क्षेत्रीय टोली-उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी एन्जिलाले श्रीलंकाविरुद्ध यु-१४ मा डेब्यु गरेकी थिइन् । सन् २०१४ देखि राष्ट्रिय टोलीमा परेकी एन्जिलाले दुई वर्ष बेन्चमै बस्नु परेको थियो । यद्यपि, त्यसयता भने एन्जिला नै नेपाली टोलीकी निर्विकल्प गोलकिपर सावित हुँदै आएकी छन् ।

    २५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने करिब निश्चित भएको प्रतिक्रिया दिइन् ।

    ‘बायोपिक बनाउने भनेको छ, कुरा भइरहेको छ’ उनले नेपाल प्रेससँग भनिन्, ‘खेलको तालिका र पढाईको समय पनि मिलाएर सुटिङ सुरु गर्ने भनेको छ ।’ केन्द्रमोसन पिक्चर्सका कम्पनी निर्देशक अरबिन्द पोमु (लिम्बु)ले पनि दोस्रो प्रोजेक्टको रूपमा एन्जिलाको बायोपिक बन्न लागेको बताए ।

    ‘हामीले प्रदीप भट्टराईसँग एउटा प्रोजेक्टमा काम गर्न लागिरहेका छौं’ पोमुले भने, ‘त्यो सकेर लगभग यस वर्षको अन्त्यतिर बायोपिकको कार्य सुरु गर्ने योजना बनाएका छौं ।’ उनले अहिले बायोपिकका लागि स्क्रिप्ट तयार भइरहेको समेत जानकारी दिए ।

  • राजकुमार र पत्रलेखाबीच कसियो लगनगाँठो !

    राजकुमार र पत्रलेखाबीच कसियो लगनगाँठो !

    मुम्बइ । ११ वर्षको रिलेसनसिपपछि बलिउड अभिनेता राजकुमार राव र प्रेमिका पत्रलेखाले आज चण्डीगढमा बिहे गरेका छन् । ठूलो एकादशीको मौकामा उनीहरुले बिहे गरेको तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् ।

    राजकुमारले इन्स्टाग्राममा लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलोपछि आज मैले यी सबै चीजसँग बिहे गरेको छु । मेरो आत्मा, मेरो सबैभन्दा प्रिय साथी, मेरो परिवार । आज मेरो लागि तिमीले पति भन्नुभन्दा अर्को ठूलो खुशि छैन । पत्रलेखा तिमी सँधैका लागि हौ । त्यो भन्दा अगाडि पनि…।’

     

    View this post on Instagram

     

    A post shared by RajKummar Rao (@rajkummar_rao)

    पत्रलेखाले पनि बिहेको तस्बिर सेयर गरेकी छिन् । उनको क्याप्सन पनि ठीक उस्तै छ । उनी लेख्छिन्, ‘मैले पनि प्रत्येक चीजसँग बिहे गरेकी छु । मेरो प्रेमी, मेरो क्राइम पार्टनर, मेरो परिवार, मेरो सोलमेट । पछिल्लो ११ वर्षयता मेरो सबैभन्दा प्रिय साथी । तपाईंको पत्नी हुनुभन्दा अर्को ठूलो खुशि अर्को छैन । यो हाम्रो हो । सँधैभरका लागि…।’

     

    View this post on Instagram

     

    A post shared by 🌸 Patralekhaa 🌸 (@patralekhaa)

    बिहेका तस्बिर सार्वजनिक हुने वित्तिकै बलिउडकर्मीले बधाइ दिन थालेका छन् । प्रियंका चोपडा, तपसी पन्नु, आथिया सेट्टी र नुसरत भरुचाले पनि बधाइ दिएका छन् । गत शनिबार अर्थात १३ नोभेम्बर र राजकुमार र पत्रलेखाबीच इन्गेजमेन्ट भएको थियो ।

  • ‘बबी’ अभिनेत्रीले ल्याइन् अटो-बायोग्राफी, भन्छिन् : फिल्ममा छुटेका कुरालाई बुकमा समेटेकी छु (भिडिओ)

    ‘बबी’ अभिनेत्रीले ल्याइन् अटो-बायोग्राफी, भन्छिन् : फिल्ममा छुटेका कुरालाई बुकमा समेटेकी छु (भिडिओ)

    काठमाडौं । सन् २०१८ मा रिलिज भएको फिल्म बबी अभिनेत्री कविता गुरुङले आत्मकथा प्रकाशित गरेकी छिन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीद्वारा लिखित ‘म अनि मेरो’ बायोग्राफी लोकार्पण भयो ।

    निर्देशक मिलन चाम्सले गुरुङको उक्त अटो-बायोग्राफी लन्च गरेका थिए । फिल्ममा नसमेटिएका प्रसंग र तथ्यलाई पुस्तकमा समेटिएको जानकारी गुरुङले दिइन् ।

    नेपाल प्रेससँग उनले भनिन्, ‘फिल्ममा समेटिन नसकेका कुराहरुलाई पुस्तकमा समेटेकी छु । टीकटकको जमानामा बुक कसले पढ्छ र ? मैले विक्री गर्न बुक लेखेकी होइन । तरपनि पाठकले यसमा इन्जोय गर्नुहुन्छ ।’

    उनले भनिन्, ‘फिल्म बनाउँदा साढे २ घण्टामा धेरै कुरा छुटेको छ । पुस्तक लेख्दा त्यतिबेलाको म भएर लेखेकी छु । जुन बेला म बुहारी भएर आएँ, त्यो बेलाको कुरा लेखेकी छु ।’

    जीवन यात्रामा भेटिएका पात्र र भोगेका घटनालाई पुस्तकमा उतारेको जानकारी उनले दिइन् । ‘म व्यवसायिक लेखक होइन तर, म बुक लेखक भएँ । ४० वर्ष लाग्दासम्म मैले फिल्म बनाउँछु भनेर सोचेकी थिइँन न त बुक लेख्छु भन्ने नै लागेको थियो’ गुरुङले भनिन् ।

    पुस्तकमा अन्तरजातिय बिहे गर्दाको भोगाइ, अनुभवसहित नेपालदेखि नर्वेसम्मको यात्राका अनुभव समेटिएको उनले जनाइन् । पति उमेश थापाको मद्दतले पुस्तक लेख्न सकेको कविताको कथन छ ।

    ‘म बेस्ट छोरी होइन । बेस्ट बुहारी पनि होइन । बेस्ट आमा बन्ने प्रयास गर्दैछु’ उनले भनिन् ।

    तीनवर्ष अघि प्रदर्शनमा आएको उमेश र कविताको बायोपिक फिल्म बबीले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

     

  • पूर्वमिस नेपाल वर्ल्ड इशानी र व्यापारी तरुणबीच इन्गेजमेन्ट !

    पूर्वमिस नेपाल वर्ल्ड इशानी र व्यापारी तरुणबीच इन्गेजमेन्ट !

    काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठ र व्यापारी तरुणप्रताप शाहबीच आज राजधानीको एक पाँचतारे होटलमा टीकाटालो (इन्गेजमेन्ट) भएको छ ।

    दुईतर्फका परिवार र आफन्तको केही उपस्थितीमा यी दुईजनाले औंठी साटेका हुन् । इशानीका अनुसार आगामी पुस ६ गते (डिसेम्बर २१)मा वैवाहिक कार्यक्रम आयोजना हुनेछ ।

    सोल्टीमोडस्थित न्यू हायात होटलमा इन्गेजमेन्ट कार्यक्रमको आयोजना गरिएको थियो जहाँ उनीहरु निकट सेलेव्रिटी पनि उपस्थित थिए । सन् २०१३ मा मिस नेपालको उपाधि जितेकी इशानीले मिस वर्ल्डमा पहिलोपटक ब्यूटी विथ पर्पसको विधा जितेकी थिइन् ।

    मिस वर्ल्डको उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली सहभागी समेत हुन् । मिडिया उद्यमी तथा व्यवसायी तरुणले सेफड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज संचालन गरेका छन् ।

    दालमोठ उत्पादक कम्पनी हल्दिरामलाई तरुणले नै संचालन गरिरहेका छन् । इशानीले गतसाता तरुणसँग तस्बिर सेयर गर्दै पहिलोपटक उनीसँगको सम्बन्धलाई खुलासा गरेकी थिइन् ।

  • नेटफिल्क्सको नेपाली फिल्म ‘फोर्टिन पिक्स’ प्रिमियर : निर्मलसँगै श्रृंखलाले हेरिन् फिल्म

    नेटफिल्क्सको नेपाली फिल्म ‘फोर्टिन पिक्स’ प्रिमियर : निर्मलसँगै श्रृंखलाले हेरिन् फिल्म

    काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इम्पोसिबल’को विश्व प्रिमियर न्यूयोर्कमा भएको छ ।

    सबैभन्दा ठूलो अमेरिकी डकुमेन्ट्री फिल्मको फेस्टिभलमा यो डकुमेन्ट्री प्रिमियर गरिएको हो । प्रिमियरमा निर्मल पूर्जासहित अहिले अमेरिकामा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडा पनि सहभागी रहे ।

    सात महीनाभित्र पूर्जाले कसरी संसारका १४ अग्ला हिमालको सफल आरोहण गरे भन्ने चित्रण यसमा गरिएको छ । नेटफिल्क्समा रिलिज हुनुको दुईसाताअघि फिल्मलाई फेस्टिभलमा प्रस्तुत गरिएको हो ।

    नोभेम्बर २९ मा यो फिल्म स्ट्रिमिङ हुँदैछ । प्रिमियरमा आफ्नै फिल्म हेरेपछि पूर्जाले आफू भावुक भएको र अन्य दर्शकलाई पनि भावुक भएको पाएको जनाएका छन् ।

    लन्डनमा आयोजना हुने केन्ड माउन्टेन फिल्म फेस्टिभलमा समेत फिल्म प्रिमियर गर्ने निर्मलले बताए ।

  • एमाले नेता परशुराम बस्नेतले फिल्म ‘राजा’ बनाउने : सुदर्शनले निर्देशन गर्ने फिल्ममा राज कटुवाल हिरो

    एमाले नेता परशुराम बस्नेतले फिल्म ‘राजा’ बनाउने : सुदर्शनले निर्देशन गर्ने फिल्ममा राज कटुवाल हिरो

    काठमाडौं । सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्मलाई परशुराम बस्नेतले निर्माण गर्दैछन् । नेकपा एमालेका यूवा नेता समेत रहेका बस्नेतले पहिलो पटक फिल्ममा लगानी गर्न लागेका हुन् । उनी, नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।

    फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकताका साथ प्रस्तुत गरिने सुदर्शनले बताए । लभस्टोरी फिल्ममा जमेका सुदर्शनले अब एक्सन जनराको फिल्म पनि निर्देशन गर्नेछन् । यो फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

    फिल्म राजाको कथालाई शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोस्रो साताबाट फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ । सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले फिल्म ‘मेरो एउटा साथी छ, मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु’ जस्ता सफल प्रेम कहानी निर्देशन गरिसकेका छन् ।

  • ‘कबड्डी’ सुटिङ चल्दै गर्दा  हिमपहिरो खस्यो, भागदौडमा कलाकारसमेत घाइते

    ‘कबड्डी’ सुटिङ चल्दै गर्दा हिमपहिरो खस्यो, भागदौडमा कलाकारसमेत घाइते

    काठमाडौं । अहिले मुस्ताङको नाउरीकोटमा ‘कबड्डी-४’ फिल्मको छायांकन भैरहेको छ । फिल्मको मुख्य सेटिङ पनि यही वरपरको क्षेत्र हो । एक महीनादेखि अहिले टुकुचे, लार्जुङ र नाउरीकोटमा फिल्म सुटिङ भैरहेको छ ।

    आइतबार पनि नाउरीकोटको लार्जुङ थकाली होटलमा एक्सन-क्ट भैरहेको थियो । वीके छन्त्याल र रेखा पात्रबीचको दृश्य सुटिङ भैरहेको थियो । दिउँसो साढे १० बजे नाउरीकोटको शिरानमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेपछि माहौल अत्यासलाग्दो भयो ।

    ठूलै पहिरो खस्न थालेपछि चल्दै गरेको सुटिङ रोकेर कास्ट एन्ड क्रिउले हिमपहिरो खस्दै गरेको दृश्य खिच्न थाले । आइतबार फिल्म सुटिङ रोकेर अपरान्हमात्र त्रासको मनोविज्ञानमा त्यसलाई निरन्तरता दिइएको थियो ।

    ‘बिहानैदेखि सानोतिनो हिमपहिरो खसिरहेको थियो । हामीले वास्ता गरिरहेका थिएनौं । तर, साढे १० बजेतिर एक्कासी ठूलो पहिरो खसेपछि भने हामी झसंग भयौं । माहौल अत्यासलाग्दो भयो । केही पर रहेको स्कुलका शिक्षक र विद्यार्थी भाग्न थाले’ त्यहाँको दृश्यको वर्णन गर्दै अभिनेता विजय बरालले नेपाल प्रेसलाई भने ।

    ‘माहौल अत्यासलाग्दो भएपछि सुटिङ रोकियो । हामी बसेको लार्जुङ थकाली होटलसम्म हिमपहिरोको मुस्लो आइपुगेको थियो । केही दिन पहिलो मात्र हामीले हिमपहिरो खसेको ठाउँमै सुटिङ सकेका थियौ । त्यहाँ सकेर हामी होटलतिर आइपुगेका थियौं । यतिबेला विके छन्त्याल र रेखाको सिन खिच्ने काम भैरहेको थियो’ उनले भने ।

    निर्माता मणिराम पोखरेलले पनि त्रासमा फिल्म छायांकन गर्नुपरेको बताए । ‘सो दिन आधा दिनको सुटिङ त्रासको माहौलमा भयो । केही दिनअघि मात्र हामै्र फिल्ममा अभिनय गर्नुभएका स्थानीय स्कुलका विद्यार्थी पनि भागदौडमा घाइते हुनुभएको छ । त्यो देख्दा हामीलाई दुःख लागेको छ’ पोखरेलले नेपाल प्रेसलाई भने, ‘कैंयन घाइते हुनुभयो, धेरै चौंरी पुरिए । निकै दुःख लाग्दो स्थिती रह्यो ।’

    फिल्मको सिनेम्याटोग्राफरले हाइ रिजोलुसन क्यामेराबाटै हिमपहिरोको दृश्य खिचेर सुरक्षित राखेको र फिल्मको मेकिङ अथवा फिल्मभित्रै पनि त्यो दृश्य राख्न सकिने जानकारी निर्माता पोखरेलले जनाए ।

    अझै १० त्यहाँ रहेर कबड्डी फिल्मको छायांकन हुनेछ । अहिले कास्ट एन्ड क्रिउसहित २ दुईदर्जन भन्दा बढी कबड्डी टोली मुस्ताङमा छ ।

  • पल-समीक्षा विवादको ‘साइड इफेक्ट’ : मलिकाले छाडिन् सत्यम, उपासनाको इन्ट्री !

    पल-समीक्षा विवादको ‘साइड इफेक्ट’ : मलिकाले छाडिन् सत्यम, उपासनाको इन्ट्री !

    काठमाडौं । पल-समीक्षा विवादको असर फिल्म ‘सत्यम’को कलाकार समीकरणमा देखिएको छ । पल शाहको जोडीको रुपमा कास्ट गरिएकी अभिनेत्री मलिका महत प्रोेजेक्टबाट बाहिरिएकी छिन् ।

    फिल्मबाट मलिकाको बहिर्गमनलाई पल शाहको पछिल्लो विवादबाट आफूलाई अलग राख्न खोजेको रुपमा उनी निकट स्रोतहरुले बुझेका छन् ।

    तर, फिल्म निर्माण कम्पनीलाई मलिकाले आफूले यस्तो निर्णय लिनु पछाडि सुरु भएको कलेजको पढाइ र समयतालिकालाई कारणको रुपमा पेश गरेकी छिन् । निर्माता रेशम सापकोटाले मलिकाले फिल्म छाड्नुको कारण पढाइ नै रहेको दावी गरे ।

    बिग बजेट र स्टारकास्ट भएको फिल्म छाड्ने मलिकाको निर्णय यस्तो समयमा भएको छ जतिबेला पल शाह र गायिका समिक्षा अधिकारीबीचको ‘सम्बन्ध’को विवाद उत्कर्षमा छ ।

    मलिकाले फिल्म छाडेपछि उनको ठाउँमा उपासनासिंह ठकुरीलाई निर्माताले अनुबन्धित गरेका छन् । अब पलसँग उपसनाले स्क्रिन रोमान्स गर्नेछिन् । राजेश हमालको जोडीको रुपमा नीलम चन्द यसअघि नै अनुबन्धित भैसकेकी छिन् ।

    शनिबार बेलुका उपासना र निर्माताबीच फिल्म सम्झौतामा हस्ताक्षर भएको छ । तर, मलिकाको बहिर्गमनप्रति निर्माण कम्पनी सन्तुष्ट देखिएको छैन ।

    के मलिकाले अब पलसँग अन्य फिल्म र म्युजिक भिडिओमा पनि सहकार्य नगर्ने संकेत दिएकी हुन् ? केही स्रोतहरुले नेपाल प्रेसलाई भने, ‘हुनसक्छ, उनको असन्तुष्टि सत्यममा देखियो । पलसँग म्युजिक भिडिओमा खेल्न मानिनन् भने त्यसलाई स्वभाविकरुपमा लिँदा हुन्छ ।’

    पल र मलिकाले कैंयन हिट म्युजिक भिडिओमा सहकार्य गरेका छन् । तर, यो सहकार्यको भविष्यमा सत्यम प्रकरणले प्रश्न उब्जाइदिएको छ । पल र समीक्षाको सम्बन्ध अहिले चर्चामा छ । उनीहरुले बिहे गर्न कागजी सम्झौता गरेको समाचार सुरुमा नेपाल प्रेसले लेखेको थियो ।

  • अब ‘फुलन्दे स्पेसल’ कमेडी क्लब : ‘मुन्द्रेको कमेडी क्लबको ठाउँमा उमेश राई र की एडभर्टाइजिङ मिलेर नयाँ सो ल्याउँदै

    अब ‘फुलन्दे स्पेसल’ कमेडी क्लब : ‘मुन्द्रेको कमेडी क्लबको ठाउँमा उमेश राई र की एडभर्टाइजिङ मिलेर नयाँ सो ल्याउँदै

    काठमाडौँ । मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमेडी क्लब’ निर्माणको घोषणा गरेको छ । अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो ।

    जितुले पत्रकार सम्मेलन आयोजना गर्दै सो बन्द हुनुमा फुलन्देको आमा अर्थात उमेश राईलाई दोषारोपण गरेका थिए । साथै, उनले कि एडभर्टाइजिङले पनि आफूलाई धोका दिएको बताएका थिए । अब भने उमेश राई र की एजेन्सी मिलेर नयाँ सो संचालन गर्ने भएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै राईले पनि बिहीबारदेखि कान्तिपुर टिभीमा प्रसारण हुने डान्स रियालिटी सोको कारण आफूले समय दिन नपाउने बताएका थिए । तर, उनले बोलेको केही दिनमै की एजेन्सी र राईबीचको नयाँ टिभी सोजको योजना बाहिरिएको हो ।

    किले फुलन्दे स्पेसल कमेडी क्लबबारे औपचारिकरुपमा केही उल्लेख नगरेपनि स्रोतहरुका अनुसार मुन्द्रेको कमेडी क्लब प्रसारण हुने समयमै यो नयाँ सो प्रसारण हुने तयारी भएको जनाइएको छ । पत्रिकामा विज्ञापन छाप्दै उसले यो कार्यक्रम केही समयका लागि सञ्चालन हुने पनि जानकारी गराएको छ ।

    राईले आफूले जितु नेपाललाई धोका नदिएको भन्दै जानकारी गराएर नै अर्को कार्यक्रम चलाउन गएको केही मिडियालाई बताएका छन् । राई कि एजेन्सीले सञ्चालन गर्ने डान्स रियालिटी सोको उद्घोषणमा अहिले व्यस्त छन् । जितुलाई जानकारी नदिइकनै उनी त्यता लागेपछि जितु र उमेशबीच विवाद बढेको थियो ।

  • पल शाहको कार्यक्रममा संचारकर्मीलाई प्रवेश निषेध !

    पल शाहको कार्यक्रममा संचारकर्मीलाई प्रवेश निषेध !

    काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारीबीचको ‘सम्बन्ध’ अहिले चर्चामा छ । यी दुईबीचको अफेयरलाई लिएर मिडियामा खबर आउन थालेपछि पल पत्रकारसँग चिढिन पनि थालेका छन् ।

    शनिबार राजधानीमा आयोजित एक गीत लन्च कार्यक्रममा पलकै इशारामा पत्रकारलाई कार्यक्रममा प्रवेश दिइएन । पलकै निर्देशनमा सुरक्षागार्डले पत्रकारलाई ढोकाबाटै फिर्ता पठाए ।

    सोल्टीमोडस्थित न्यू हायात होटलमा पल अभिनित ‘तिमीलाई हेरेर’ बोलको गीत लन्च कार्यक्रम आयोजना भएको थियो । नेपाली फिल्म र म्युजिक भिडिओको कार्यक्रममा यसरी पत्रकारलाई फिर्ता पठाइएको पहिलोपटक हो ।

    कार्यक्रमको रिपोर्टिङ गर्न पुगेकी एक पत्रकारले नेपाल प्रेससँग आफूहरुलाई बेइज्जती ढंगले फिर्ता पठाइएको अनुभव सेयर गरिन् । यसअघि एक कार्यक्रममा पनि पलले पत्रकारलाई ५ घण्टासम्म कुराएर पठाएका थिए ।

    गायिका अधिकारीसँगको अफेयर सार्वजनिक भएपछि पल पत्रकारबाट भाग्दै आएका छन् । गत महीना अनामनगरमा आयोजित एक कार्यक्रममा पनि गायिका अधिकारी पत्रकार सम्मेलनबाट सुटुक्क बाहिरिएकी थिइन् ।

    यो पनि हेर्नूसगसीपमा पल-समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा

  • भिटेनलाई उछिन्दै अस्मिता अधिकारीको गीत शीर्षस्थानमा, यस्तो छ पछिल्लो साता सर्वाधिक हेरिएका नेपाली गीत (भिडिओ)

    भिटेनलाई उछिन्दै अस्मिता अधिकारीको गीत शीर्षस्थानमा, यस्तो छ पछिल्लो साता सर्वाधिक हेरिएका नेपाली गीत (भिडिओ)

    काठमाडौं । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘राम राम मरौटी’ पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । सात दिनमा मात्र यो गीतलाई १६ लाख २१ हजार ४३९ पटक हेरिएको छ । यो गीतको कूल भ्यूज १ करोड ९ लाख ३ हजार ९३३ छ ।

    भिटेनको स्वरमा रहेको गीत ‘गल्ली सडक’ दोस्रो स्थानमा छ । अघिल्ला दुई साता लगातार शीर्ष स्थानमा रहेको भिटेनको गीतलाई पछिल्लो सातामा १० लाख ८९ हजार ३२ पटक हेरिएको छ भने यसको कूल भ्यूज ३० लाख १६ हजार ४१ छ ।

    प्रकाश दूतराजको स्वरमा रहेको ‘जाम भो माइली’ यो सातामा तेस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो सातामा मात्र यो गीतलाई १० लाख ५ हजार ५८४ पटक हेरिएको छ भने यसको कूल भ्यूज संख्या ६५ लाख १९ हजार ४३७ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साताको सूची यस्तो छ :

    १) खेम सेञ्चुरी र अस्मिता अधिकारी ‘राम राम मरौटी’ : १६२१४३९

     

    २) भिटेन ‘गल्ली सडक’ : १०८९३२

     

    ३) प्रकाश दूतराज ‘जाम भो माइली’ : १०५५८४

     

    ४) खेम सेन्चुरी ‘मन परेको मान्छे’ : ९६११३४

     

    ५) दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७९६८६०

     

    ६) प्रितम पोखरेल ‘मुसी’ : ७०१७७९

     

    ७) महेश काफ्ले ‘माया बिरानी-२’ : ६१३३७०

     

    ८) सजन राज वैद्य ‘नगण्य माया’ : ४७७८४५

     

    ९) रचना रिमाल ‘अझै पनि’ : ४५६७६६

     

    १०) मिलन नेवार ‘फूलबुट्टे सारी’ : ४१०७५१

     

  • ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    काठमाडौं । अभिनेता हरिवंश आचार्यको जन्मदिनमा नयाँ बानेश्वरस्थित रेडियो अडियोको बुइँगल वर्षेनी गुल्जार बन्छ । जन्मदिनको शुभकामना दिने र केक चखाउनेको भीड थामिनसक्नु हुन्छ ।

    यो दृश्य आजपनि रेडियोको बुइँगलमा देखियो । आजदेखि ६४ वर्ष लागेका कमेडी विधाका अगुवालाई बधाइ दिन हाँस्य कलाकारहरुको उपस्थिती थियो । महजोडीका म अर्थात मदनकृष्ण श्रेष्ठले अमेरिकाबाटै भर्चुअलरुपमा सहयात्रीलाई जन्मदिनको शुभकामना दिए ।

    हरिवंशको मोबाइलमा ह्वाट्स एप लाइभमा जोडिएका मदनकृष्णले हरिवंशलाई दीर्घायुको कामना गरे । मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिंखडा, राजा राजेन्द्रसहितका कमेडियनले पनि हरिवंशलाई शुभकामना दिए ।

    रेडियो अडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँले वर्षेनी जन्मदिनको कार्यक्रम आयोजना गर्दै आएका छन् । हरिवंशले सन्तोष सेनको निर्माणमा सुरु हुन लागेको फिल्म हुतुतु खेल्ने भएका छन् भने प्रदीप भट्टराईले निर्देशन गर्ने एक अनटाइटल फिल्ममा समेत उनी देखिनेछन् ।

    जन्मदिनको सो अवसरमा हरिवंशले नेपाल प्रेससँग कुरा गर्दै आफ्ना आगामी प्रोजेक्टबारे खुलाए । हरिवंशलाई सामाजिक संजालमार्फत पनि प्रशंसकहरुले बधाइ तथा शुभकामना दिइरहेका छन् ।

              
  • नेपाल बक्सअफिस : ‘सूर्यवंशी’लाई पहिलो साता ४ करोड ग्रस, ‘इटर्नल्स’ र ‘साङ्ची’ पनि पछ्याउँदै

    नेपाल बक्सअफिस : ‘सूर्यवंशी’लाई पहिलो साता ४ करोड ग्रस, ‘इटर्नल्स’ र ‘साङ्ची’ पनि पछ्याउँदै

    काठमाडौं । रोहित सेठ्ठी निर्देशित बलिउड फिल्म ‘सूर्यवंशी’को गति रोकिने छाँटकाँट छैन । दोस्रो शनिबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ८० देखि शतप्रतिशत छ ।

    फिल्मको नेपाल वितरक कम्पनी व्यांकटेस इन्टरटेनमेन्टले फिल्मको पहिलो साताको औपचारिक कमाइ सार्वजनिक गरेको छ । फिल्मले पहिलो सात दिनमा ४ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको कम्पनीले जनाएको छ ।

    वितरकले खरिदभन्दा दोब्बर कमाइ गरेका छन् । वितरक मनोज राठीले नेपाल प्रेससँग भने, ‘हाम्रो उद्देश्य विशुद्ध फिल्मको कमाइभन्दा पनि उद्योगलाई चलायमान बनाउनु र दर्शकलाई हलसम्म फर्काउनु नै हो । हामी त्यो प्रयासमा सफल भएका छौं ।’

    फिल्मको वर्ड अफ माउथ सुखद भएकाले दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको राठीले बताए । कट्रिना क्याफ र अक्षय कुमारको स्टारडम र हलमा फर्कने दर्शकीय हुटहुटीले फिल्मको कमाइमा योगदान दिएको वितरकले बताए ।

    ‘सूर्यवंशी’ले भारतीय बक्सअफिसमा शुक्रबारसम्म १२० करोड कमाइसकेको छ ।

    ‘सूर्यवंशी’पछि हलिउड फिल्म इटर्नल्स र साङ्चीको कमाइ पनि उत्साहजनक रहेको मल्टिप्लेक्स संचालकले जनाएका छन् । केही समयदेखि नेपाली फिल्म रिलिज भएका छैनन् ।

  • ‘कस्तुरी’ गीतमा सुशिलासँग रोमान्टिक नाजिर (भिडिओ)

    ‘कस्तुरी’ गीतमा सुशिलासँग रोमान्टिक नाजिर (भिडिओ)

    काठमाडौं । गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रहाल्द बोगटीको संगीत समावेश नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तुरी’ बोलको गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

    सुमन र प्रविशाको सहकार्य रहेको गीत ‘कति माया गर्छौ’ लाई रुचाइएको थियो । ‘कस्तुरी’को भिडिओमा पनि ‘कति माया गर्छौ’मा देखिएका अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड भएका छन् । भिडिओमा नाजिर र सुशिला रोमान्टिक देखिएका छन् ।

    शान थापाको निर्देशनमा बनेको भिडिओमा राजिव समर सहायक निर्देशकको रुपमा छन् । बुद्ध थापाले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

  • सिक्किमका मुख्यमन्त्रीसँग भुवन र चाम्सको भेटवार्ता : फिल्म फेस्टिभल सफल बनाउन मागे सहयोग

    सिक्किमका मुख्यमन्त्रीसँग भुवन र चाम्सको भेटवार्ता : फिल्म फेस्टिभल सफल बनाउन मागे सहयोग

    काठमाडौं । भारतको पूर्वोत्तर राज्य सिक्किमले आगामी मंसिर २४ गतेदेखि औपचारिकरुपमा फिल्म पर्यटन कार्यक्रमको थालनी गर्दैछ । उक्त अवसरमा पाँच दिने ग्लोबल फिल्म फेस्टिभलको समेत आयोजना हुँदैछ ।

    फेस्टिभल आयोजना हुन एक महीनाभन्दा कम समय बाँकी रहँदा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नेपाली कलाकारसँग भेटघाटलाई तीव्रता दिएका छन् ।

    उनकै निम्तोमा सिक्किम पुगेका फिल्म निर्देशक मिलन चाम्स र निर्माता एवं अभिनेता भुवन केसीले शुक्रबार बेलुका मुख्यमन्त्रीलाई भेटेका छन् । भेटमा उनले नेपाल र सिक्किमबीच सांस्कृतिक निकटता भएकाले फेस्टिभललाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

    भेटपछि नेपाल प्रेससँग कुरा गर्दै निर्माता केसी र निर्देशक चाम्सले ग्लोबल फिल्म फेस्टिभल सफल बनाउन मुख्यमन्त्रीले आफूहरुको सहयोग खोजेको बताए । ‘उहाँसँग फेस्टिभलकै बारेमा कुरा भयो र हामीले गर्न सक्ने सहयोगबारे भन्यौं’ निर्माता केसीले भने ।

    फिल्म छायांकन गरेबापत सिक्किम राज्यले विदेशी फिल्मलाई दिने अनुदान र निकट भविष्यमा हुनसक्ने फिल्म छायांकनबारे पनि मुख्यमन्त्रीसँग कुरा भएको केसीले जनाए ।

    फिल्म निर्देशक चाम्सले फेस्टिभल सफल बनाउन मुख्यमन्त्री गोलेले आफूहरुको सुझाव र सल्लाह मागेको बताए । ‘मुख्य कुरा हामी सांस्कृतिक र भौगोलिकरुपमा निकै निकट छौं’ चाम्सले भने, ‘दुई मुलुकको सम्बन्धलाई दुबै पक्षको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे छलफल भयो ।’

    सिक्किमले यसवर्षको अन्त्यदेखि सुरु गर्न लागेको फिल्म पर्यटन कार्यक्रम अन्तर्गत त्यहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान दिने प्याकेज ल्याएको छ । जसअन्तर्गत ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत स्थानीय कास्ट एन्ड क्रिउ प्रयोग हुनुपर्ने प्रावधान तोकिएको छ ।

    सिक्किमले सुरुआती चरणमा नेपाल र भुटानका फिल्मलाई लक्षित गर्दै यस्तो कार्यक्रम ल्याएको जनाएको छ । ‘सुरुमा हाम्रा छिमेकी फिल्म उद्योगबाट यो अभियान थालनी गर्दैछौं’ सिक्किम फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माले भनिन्, ‘क्रमशः हामी विश्व फिल्महरुलाई सिक्किममा छायांकनको लागि बोलाउँदै जानेछौं ।’

    भारत सरकारले यसवर्ष सिक्किमलाई उत्कृष्ट फिल्ममैत्री राज्यको रुपमा समेत पुरस्कृत गरिसकेको छ ।

  • पूजा र आकाशको लभस्टोरी ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

    पूजा र आकाशको लभस्टोरी ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

    काठमाडौं । बक्सअफिस चलायमान हुन थालेसँगै धमाधम नयाँ फिल्महरुले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति तय गरेको एक दिन नबित्दै अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट पनि घोषणा गरेका छन् ।

    पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको यो म्युजिकल लभस्टोरी फिल्म फागुन २७ गते (मार्च १)मा देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

    अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भैसकेको छ । सुदर्शन र पूजाले आफ्नो सहकार्यमा बनेको अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई माघ १९ गते प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।

    सम्हालिन्छ कहिले मनको जारी पोस्टरमा यी तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । बलिउडका चर्चित गीतमा कभर संस्करण रिलिज गरेका गायक तोप्देनले यही फिल्मबाट अभिनयको इनिङ सुरु गर्दैछन् ।

    बेलायत र नेपालमा छायांकन गरिएको फिल्मलाई दर्शकले रुचाउने विश्वास निर्देशक थापाले लिएका छन् । रोमान्टिक जनरमा फिल्म बनाउन खप्पिस सुदर्शनले फिल्म हेर्न आतुर दर्शकको मनोविज्ञानलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरिएको बताए ।

    एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अमित बस्नेतले निर्माण गरेका हुन् । परी राना र अजितकुमार थापा सह–निर्माता छन् । सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माता हुन् ।

     

  • विजय सेतुपाथी र केके मेननको फिल्म काठमाडौंमा सुटिङ हुँदै, १६ जनाको टोली नेपाल आइपुग्यो

    विजय सेतुपाथी र केके मेननको फिल्म काठमाडौंमा सुटिङ हुँदै, १६ जनाको टोली नेपाल आइपुग्यो

    काठमाडौं । विजय सेतुपाथी र केके मेनन स्टारर अनटाइटल दक्षिण भारतीय फिल्मको छायांकन मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

    लोकेसन खोजीको लागि निर्देशक कृष्णदशारा कोथापालीसहितको १६ सदस्यीय फिल्म टोली बिहीबार बेलुका काठमाडौं आइपुगेको छ । इन्डियन एयरवेजको विमानबाट फिल्म युनिट ३ः४५ बजे काठमाडौं एयरपोर्टमा अवतरण गरेको थियो । काठमाडौं आइपुगेको टोलीमा निर्देशक, छायांकार र प्राविधिकहरु सहभागी छन् ।

    काठमाडौंको बसन्तपुर र भक्तपुरमा छायांकन सुरु हुने फिल्मको लोकेसन खोजी गरेर टोली तीन दिनपछि भारत फर्कनेछ । फिल्मको नाम र अन्य कलाकार भने पछि खुलाइने भारतबाट नेपाल आइपुगेका युनिटका एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

    निर्देशक कोथापालीले सन् २०१८ मा रिलिज भएको बलिउडको कमेडी हरर फिल्म ‘स्त्री’को पटकथा लेखेका हुन् ।

    फिल्मले संचारमन्त्रालयबाट छायांकन अनुमति लिने प्रक्रिया सुरु गरेको छ । पोखरामा पनि छायांकन हुने भनिएपनि यसबारे विस्तृत बताइएको छैन । यसैमहीना बलिउड फिल्म उचाइ छायांकन नेपालमै भएको थियो ।

  • ओटीटीले सहमती पालना नगरेको भन्दै ‘सक्किगो नि’ सिरिज युट्युवमै फर्कियो

    ओटीटीले सहमती पालना नगरेको भन्दै ‘सक्किगो नि’ सिरिज युट्युवमै फर्कियो

    काठमाडौं । ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सःशुल्क हेर्न पाइने गरी रिलिज हुँदै आएको वेब सिरिज ‘सक्किगो नि’ पुनः युट्युवमै फर्किएको छ । ओटीटी प्लेटफर्महरुले समझदारी अनुसार काम नगरेको भन्दै सिरिजलाई युट्युवमै पुनः रिलिज गर्न थालिएको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

    यसअघि सिरिजले केही नेपाली ओटीटी प्लेटफर्ममा सःशुल्क रिलिज गर्ने र त्यसको एक सातापछि युट्युवमा लन्च गर्ने सहमती गरेका थिए । प्रतिएपिसोड एउटा दर्शकबाट १९ रुपैयाँ संकलन गर्ने सहमती पनि थियो ।

    तर, यसबीचमा अर्को एक युट्युव च्यानलबाट सिरिज रिलिज भएपछि सक्किगो नि टीमले त्यसविरुद्ध प्रहरीको साइवर सेलमा उजुरी दिएको थियो । समझदारीअनुसार ओटीटी प्लेटफर्मले काम नगरेपछि युट्युवमै फर्कनुपरेको पाँडेले बताए ।

    ओटीटीको व्यवहारले दर्शकलाई निराश तुल्याउने परिस्थिती आएपछि सुःशुल्क रिलिजपछि हटिएको जानकारी उनले दिए । युट्युवसहित अहिले ओटीटी प्लेटफर्महरुमा निःशुल्क रुपमा सिरिज हेर्न पाइने भएको छ ।

    ओहो मूभिज, क्लियर टिभी, भाया टीभी, डिसहोम गो, नेटटिभी लगायतका प्लेटफर्ममा सक्किगो नि निःशुल्क हेर्न पाइने भएको छ ।

     

  • ‘द भ्वाइस किड्स’लाई प्रिमियरमा ‘मीठो प्रतिक्रिया, ब्लाइन्ड अडिसन प्रसारण आजदेखि

    ‘द भ्वाइस किड्स’लाई प्रिमियरमा ‘मीठो प्रतिक्रिया, ब्लाइन्ड अडिसन प्रसारण आजदेखि

    काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुकी राजधानीको एफक्यूब हलमा प्रिमियर गरिएको छ । पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रिमियरमा देखाइएको हो । उक्त सो आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुने तयारीमा छ ।

    ६ बर्षदेखि १४ बर्ष उमेर समुहका बालबालिकाहरुले सहभागीता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ आजबाट प्रशारण हुनेछ । प्रिमियरमा शो हेरेपछि मिडियाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले सुखद प्रतिक्रिया दिएका थिए । बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको उनीहरुको भनाई छ ।

    प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु उत्साहि त भएको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उनले भने- ‘कार्यक्रम तयार गर्दा नै हामीलाई शोले कस्तो प्रतिक्रिया पाउँछ भन्ने अड्कल लगाएका हुन्छौं । प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनुभएको प्रतिक्रियाले उत्साह थपेको छ । अब, दर्शकले दिने प्रतिक्रियाबाट अझै हामीलाई थप ऊर्जा मिल्नेछ ।’

    सोका निर्माता तथा संचालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । प्रिमियरमा यो शो हेरेपछि अतिथीहरु पनि भावुक बनेका थिए । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य कोचको रुपमा छन् ।

    यो सोे २० भाग प्रसारण हुने जनाइएको छ । राजु र प्रमोद यसअघि ‘द भ्वाइस अफ नेपाल’को तीन श्रृङ्खलामा कोचको रुपमा प्रस्तुत भैसकेका छन् । मिलन र प्रविशाका लागि भने यो सो नयाँ हो । प्रिमियरमा शो हेरेका अधिकांशले मिलन र प्रविशाको प्रस्तुतिको खुलेरै प्रशंसा गरे । उनीहरुले भने-‘यसपटक २ नारी भारी पर्ने देखिएको छ ।’

  • सरकारले फिल्मपछि अब साहित्यकार परिचयपत्र वितरण गर्दै

    सरकारले फिल्मपछि अब साहित्यकार परिचयपत्र वितरण गर्दै

    काठमाडौं । सरकारले वरिष्ठ लेखक एवं साहित्यकारलाई परिचयपत्र वितरण गर्ने भएको छ । आगामी आइतबार हुने नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ ।

    त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ ।त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक/पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

    सरकारले यसअघि वरिष्ठ फिल्मकर्मीलाई पनि चलचित्र परिचयपत्र वितरण गरेको छ ।

  • ‘बुलाकी’ सुटिङ सेटमा सुरक्षाको हाँसो: डोल्पामा फिल्म छायांकन जारी (तस्बिरहरु)

    ‘बुलाकी’ सुटिङ सेटमा सुरक्षाको हाँसो: डोल्पामा फिल्म छायांकन जारी (तस्बिरहरु)

    डोल्पा । अभिनेत्री सुरक्षा पन्त आफ्नो पछिल्लो फिल्म ‘बुलाकी’ छायांकनलाई डोल्पा पुगेकी छिन् । केही सातादेखि डोल्पाका विभिन्न स्थानमा फिल्मको सुटिङ भैरहेको छ ।

    सुटिङ सेटबाट उनले आकर्षक तस्बिरहरु सेयर गरेकी छिन् । लक्ष्मण सुनारले निर्देशन गरिरहेको यो फिल्ममा सुरक्षा र नरेन खड्काको मुख्य भूमिका छ ।

    डोल्पाका विभिन्न स्थानमा सुट भैरहेको फिल्ममा विराज विष्ट, प्रेमदेव गिरी, सुशिल पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा लगायको अभिनय छ ।

    कर्णालीको आञ्चलिकतामा खिचिँदै गरेको फिल्मका केही दृश्यलाई मेक्सिकोमा समेत छायांकन गरिने भएको छ । राजबहादुर सानेको कथालाई शिव ढकालले खिचिरहेका छन् ।

    निर्देशक सुनारले कला र मनोरञ्जनको सम्मिश्रणको रुपमा फिल्म निर्माण भैरहेका बताएका छन् । सुरक्षा पछिल्लो समय अभिनय र सामाजिक कार्यले पनि चर्चामा छिन् ।

  • कंगनाविरुद्ध प्रहरीमा उजुरी : १९४७ को स्वतन्त्रता ‘भीख’ थियो भन्ने अभिव्यक्ति विवादमा

    कंगनाविरुद्ध प्रहरीमा उजुरी : १९४७ को स्वतन्त्रता ‘भीख’ थियो भन्ने अभिव्यक्ति विवादमा

    मुम्बइ । कंगना रनावत र विवाद नौला होइनन । यी दुईबीच सुरुआतीदेखि नै एकखाले सम्बन्ध छ । लाग्छ, यी दुई पर्यायवाची नै भैसके । कहिले आफ्ना अभिव्यक्ति र कहिलेकाहिँ पद्मश्री सम्मानजस्ता कामले कंगना बेला–बेलामा मिडिया हेडलाइन बन्ने गर्छिन् ।

    कंगना आफ्नो अभिव्यक्तिलाई लिएर पुनः विवादमा आएकी छिन् । ब्रिटिस राज र स्वतन्त्रता संघर्षबारे उनले बोलेका कुरालाई लिएर आम आदमी पार्टीकी नेतृ प्रीति शर्मा मेननले कंगनाविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी छिन् ।

    टाइम्स नाउ समिट २०२१ मा बोल्दै कंगनाले सन् १९४७ मा भारतले प्राप्त गरेको स्वतन्त्रता ‘भीख मागिएको’ किसिमको भएको बताएकी थिइन् । सन् २०१४ मा भने वास्तविक स्वतन्त्रता आएको उनले बताएकी थिइन् । यो अभिव्यक्तिलाई लिएर नेतृ मेननले मुम्बइ पुलिसमा उजुरी दिएकी हुन् । नेतृ शर्माले ट्वीटरमा प्रहरीमा उजुरी दिँदै गर्दाको तस्बिर सेयर गरेकी छिन् । उनले उजुरीमा कंगनाको अभिव्यक्ति देशहित विरोधी भएकाले कानूनअनुसार कार्वाही गर्न भनिएको छ ।

    सन् २०१४ मा भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएपछि नरेन्द्र मोदी प्रधानमन्त्री बनेका थिए । कंगना बीजेपी निकट मानिन्छिन् भने मोदीलाई उनले आफ्ना आदर्श नेता मान्ने गरेकी छन् । दिल्लीमा आम आदमी पार्टी र बीजेपीपछि निकै प्रतिस्पर्धा हुने गरेको छ ।

     

     

  • फ्राइडे रिलिज : भोलिदेखि नेपालमा एन्जेलिना जोलीको ‘इटर्नल्स’ (प्रिभ्यूसहित)

    फ्राइडे रिलिज : भोलिदेखि नेपालमा एन्जेलिना जोलीको ‘इटर्नल्स’ (प्रिभ्यूसहित)

    काठमाडौं । शुक्रबार नेपाली फिल्म हलहरुमा अस्कर विजेता निर्देशक क्ओल झाओ निर्देशित सुपरहिरो फिल्म ‘इटर्नल्स’ रिलिज हुँदैछ । रटन टम्याटोजले ४७ प्रतिशत रेटिङ दिएको यो मार्भल फिल्म मल्टिप्लेक्समा रिलिज हुन लागेको हो ।

    जेम्मा च्यान, रिचर्ड माडेन, कुमैल नानिजानी, एन्जोलिना जोली, साल्मा हायक अभिनित फिल्म मार्भल सिनेम्याटिक युनिभर्सको २६ औं फिल्म हो । अहिले नेपाली बक्सअफिसमा यो युनिभर्स अन्तर्गतकै २५ औं फिल्म साङ ची प्रदर्शन भैरहेको छ ।

    पृथ्वीको इतिहास र सभ्यतालाई जोगाउन सुपरहिरोहरुले अन्य ग्रहबाट आएको डेभिएन्ट्स नामक दुस्मनसँग गर्ने संघर्ष यसको कथ्य हो । जोलीलाई फिल्ममा थेना नामक पात्रको भूमिकामा देख्न सकिन्छ जसले कुनै अन्तरीक्ष शक्तिबिना हतियार पैदा गर्न सक्छ ।

    दसवटा सुपरहिरो : अजक, सेर्सी, इकारिस, किंगो, स्प्राइट, फास्टोस, डुरिइग, गिल्गामेस र थेनालाई संयुक्तरुपमा इटर्नल्स भनिएको छ । उनीहरुलाई सेलेस्टियल आरिसेम नामक काल्पनिक ग्रहबाट पृथ्वी जोगाउने जिम्मा दिएर स्टारसिपमा पठाइन्छ ।

    ५००० वर्षदेखि उनीहरु पृथ्वीका विभिन्न भागमा अलग रहेर बसेका छन् । इकारिस नामक अन्य ग्रहका केही प्राणीहरु आएर पृथ्वीमा उपनिवेश बनाउन खोज्छन् । यो क्रममा उनीहरुको संघर्ष इटर्नल्स सुपरहिरोहरुसँग हुन्छ । उनीहरु इराकिससँग लड्न एकजुट हुन्छन् ।

    फिल्ममा जोलीलाई पूर्णतः एक्सन रोलमा देख्न सकिन्छ । तरबार, खुँडासहितका हतियारहरुको प्रयोग गरेको चरित्र उनको छ । सेर्सी पात्रको भूमिकामा जेम्मा छिन् । कुनै वस्तुलाई छोएपछि उक्त वस्तुलाई परिवर्तन गर्नसक्ने शक्ति उनको पात्रमा देखाइएको छ ।

    इटर्नल्स यस्तो बेला रिलिज हुँदैछ जुन बेला मार्भल सिनेम्याटिक युनिभर्सकै अर्को फिल्म साङ ची, बलिउड फिल्म सूर्यवंशी, ड्युन, भेनम र जेम्स बन्ड फिल्म नो टाइम टु प्रदर्शन भैरहेका छन् ।

  • बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    सिक्किम । होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनलाई अभिनेत्री अदिती बुढाथोकी भारतको पूर्वोत्तर राज्य सिक्किम पुगेकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको ६० प्रतिशत छायांकन सिक्किममै हुने जनाइएको छ ।

    फेसबुक र इन्स्टाग्राममा तस्बिर सेयर गर्दै अदितीले सिक्किममा फिल्म छायांकन सुरु हुन लागेको बताएकी छिन् । सिक्किम सरकारले आफूकहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान उपलब्ध हुने घोषणा गरिसकेको छ ।

    यसका लागि फिल्मको ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत कास्ट एन्ड क्रिउ त्यहीँबाटै लिनुपर्ने सर्त छ । तर, बाबरी फिल्मले उक्त अनुदान लिने वा नलिने केही खुलाइएको छैन ।

    निर्देशक पौडेल र अभिनेत्री बुढाथोकीले फिल्म कृमा सहकार्य गरेका थिए । बाबरीमा चाहिँ अदितीको को–स्टारको रुपमा धीरज मगर, धीरज टोटलानी, तृप्ती नाड्कर पनि हुनेछन् । यो फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

  • पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुँदै

    पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुँदै

    काठमाडौं । फिल्म क्षेत्र चलायमान हुँदै जाँदा केही नेपाली फिल्मले प्रदर्शन मिति तय गर्न थालेका छन् । सुदर्शन थापा निर्देशित रोमान्टिक ड्रामा ‘म यस्तो गीत गाउँछु २’ले आगामी माघ १९ गतेलाई रिलिज डेट घोषणा गरेको छ ।

    माघ १९ गते सोनाम ल्होछारको सार्वजनिक बिदा समेत पर्छ । यो डेट आकर्षक मिति समेत हो । पाँच दिनको सप्ताहन्त बिदा समेत पर्ने भएकाले दर्शक हलसम्म पुग्ने अनुमान छ । माघ २२ गते शनिबार र माघ २३ गते बसन्तपञ्चमीको बिदा पर्छ ।

    निर्माता समेत रहेका निर्देशक थापा र अभिनेत्री पूजा शर्माले सामाजिक संजालमार्फत प्रदर्शन मिति सार्वजनिक गरेका छन् । झन्डै दुईवर्षअघि कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउनको कारण प्रदर्शन मिति स्थगित भएको थियो ।

    रिलिज डेट घोषणापछि निर्देशक थापाले नेपाल प्रेसलाई भने, ‘यो समय हामीले एकअर्कोलाई आरोप प्रत्यारोप गर्नेभन्दा पनि फिल्म क्षेत्रलाई चलायमान बनाउने नै हो । यही कारण हामीले प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’ ट्रेलर र कतिपय गीतहरु यसअघि नै सार्वजनिक भैसकेकाले ताजा तुल्याउन पुनः ट्रेलर र गीत रिलिज गर्न लागिएको समेत जानकारी सुदर्शनले दिए ।

    ‘म यस्तो गीत गाउँछु’को पहिलो संस्करण व्यवसायिकरुपमा सफल भएपछि सुदर्शन र पूजाले दोस्रो सिक्वेल ल्याएका हुन् । यो फिल्ममा पूजा स्वयम र पल शाहको मुख्य भूमिका छ । पूजा र पल घरेलु फिल्मका दर्शकका लागि रोजाइका जोडीमध्ये पर्छन् । चपली हाइट ३ पुस २ गते प्रदर्शन हुने तयारीमा छ । अन्य फिल्मले पनि प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

  • अभिनेता पौल रड संसारमै ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषित !

    अभिनेता पौल रड संसारमै ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषित !

    न्यूयोर्क । विश्वचर्चित पिपुल म्यागजिनले हलिउड अभिनेता पौल रडलाई सन् २०२१ को ‘जीवितमध्येका सेक्सी पुरुष’ घोषणा गरेको छ ।

    चर्चित टिभी सिरिज ‘फ्रेन्ड्स’ अभिनेता समेत रहेका रड हलिउडका ‘ए-लिस्टर’ अभिनेता हुन् । सन् १९९० को दशकदेखि अभिनय सुरु गरेका रडले मार्भल सुपरहिरो फिल्म एन्टम्यान र अन्य मार्भल फिल्ममा समेत अभिनय गरेका छन् ।

    पिपुल म्यागजिनले रडलाई जीवितमध्येका सेक्सी पुरुषको संज्ञा दिँदै नोभेम्बर संस्करण छापेको छ । यसबारे म्यागजिनसँग कुरा गर्दै अभिनेता रडले आफूलाई यसअघि पनि मानिसहरुले सेक्सी पुरुष भन्ने गरेको अनुभव सुनाए ।

    १८ वर्षे वैवाहिक जीवनमा रडसँग दुई सन्तान छन् । ‘जब म आफ्नोबारेमा सोच्छु, तब म आफूलाई पति र पिताको रुपमा पाउँछु’ म्यागजिनसँग रडले भने, ‘काम नगरेको बेला म परिवारसँग रमाउन खोज्छु । मेरो स्वभाव यस्तै नै छ ।’

    रडअघि पिपुल म्यागजिनले जर्ज क्लुनी, ब्राड पिट र माइकल बी जोर्डनलाई यस्तो उपाधि दिइसकेको छ । जोन लिजेन्ड, डाउने जोन्सन, क्रिस हेम्सवर्थ, एड्रिस एल्बा, एडम लेभिने, डेभिड बेकहमले पनि उपाधि पाइसकेका छन् ।

    सन् १९९५ मा रिलिज भएको फिल्म ‘क्लुलेस’बाट अभिनेता रडको करियर उकालो लागेको थियो । उनले प्रशस्तै कमेडी फिल्महरुमा समेत अभिनय गरेका छन् । तर, उनलाई अहिले संसारले मार्भल फिल्मको एन्टम्यानको रुपमा चिन्छ ।

  • गौरीघाटमा रेखाले मनाइन् छठ् (तस्बिरहरु)

    गौरीघाटमा रेखाले मनाइन् छठ् (तस्बिरहरु)

    काठमाडौं । छठ पर्वका अवसरमा अभिनेत्री रेखा थापाले गुह्येश्वरीस्थित वाग्मती किनारमा पूजा आराधाना गरेकी छिन् । रेखाले काठमाडौंमा बसोबास गर्न थालेपछि गृहयेश्वरीमा छठ मनाउँदै आएकी छिन् । अन्य व्रतालुसँग मिलेर उनले छठ मनाएकी हुन् ।

    सो अवसरमा रेखाले गौरीघाटमा छठ मनाउन आउने अन्य व्रतालुसँग भलाकुसारी पनि गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेकी थिइन् । त्यहाँ निर्माण गरिएका ६७५ छठ घाट अर्थात् पूजास्थलमा जम्मा भएका बर्तालुले पनि अस्ताउँदो सूर्यलाई पूजा आरधनासहित अर्घ दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

    चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दान गरेका बर्तालु रातभर छठ घाटमै जाग्राम बस्छन् । कार्तिक शुक्ल सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ ।

    कोरोनाका कारण गत वर्ष रोकिएको छठ मनाउन यस वर्ष गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

  • टीकटक स्टार नेपाली रियालिटी सो हुँदै, निर्णायकमा गौरी, रमेशदेखि वर्षासम्म

    टीकटक स्टार नेपाली रियालिटी सो हुँदै, निर्णायकमा गौरी, रमेशदेखि वर्षासम्म

    काठमाडौं । नेपालमा पहिलोपटक टीकटक स्टार नेपाली रियालिटी सो २०७८ आयोजना हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

    १० सेकेन्डदेखि ३ मिनेटसम्मको टीकटक भिडियो पेश गरेर प्रतिस्पर्धामा भाग लिन सकिने भएको छ । १० वर्षभन्दा माथिल्लो उमेरका र टीकटकमा खाता भएकाले भाग लिन पाउने भएका छन् ।

    तीन विधामा हुने टीकटक रियालिटी सोमा कुनै जात, धर्म, लिंग र सम्प्रदायको अपमान हुने गरी भिडिओ बनाउन पाइनेछैन । जसमा राष्ट्र-राष्ट्रियता, मौलिक कला र संस्कृति तथा हाँस्य अभिनय र नृत्य विधामा रहेका छन् ।

    नेपाली कला, संगीत र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो सोको निर्णायकमा कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी छन् । पूर्वमिस नेपाल सुगरिका केसी होस्ट रहेकी छिन् ।

    अनलाइनमार्फत आवेदन दिन सकिने जनाइएको छ । सोमा पहिलो हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल, तृतीयलाई स्कुटर, चौंथोलाई क्यामेरा, पाँचौं हुनेलाई ल्यापटप, छैटौंलाई टिभी र उत्कृष्ट दशसम्म हुनेलाई मोबाइल पुरस्कार दिइने भएको छ ।

    विजयी हुनेलाई फिल्म, सिरियल, म्युजिक भिडिओमा अवसर समेत दिइने जनाइएको छ । पत्रकार सम्मेलनमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए ।