Category: कलाप्रेस

  • संगीतकार दीपक शर्माले वृद्धाश्रममा गरे सहयोग

    संगीतकार दीपक शर्माले वृद्धाश्रममा गरे सहयोग

    काठमाडौँ । पहिलो नम्बरमा, पर्ख पर्ख मायालु, पिरिम नलाउने, लगायका चर्चित गीतका संगीतकार दीपक शर्मा बेलाबेलामा सामाजिक काममा व्यस्त देखिन्छन् । शर्माले खुमलटारस्थित मन्जुश्री वृद्धाश्रममा सहयोग गर्दै खाना खुवाएका छन् ।

    वृद्धाहरूलाई आफैँले खाना पकाएर उनीहरूसँगै रमाउँदै खुवाएर आशीर्वाद लिएको उनले बताए । आगामी दिनमा फाउन्डेसन नै खोलेर विपन्न व्यक्ति र समाजमा सहयोग गर्ने योजना पनि उनले सुनाएका छन् । दीपकले पछिल्ला दिनमा आफ्नै शब्द सिर्जनामा बाल र वृद्धाश्रमसँग सम्बन्धित गीत लेखेको जानकारी गराएका छन् ।

    उनका थुप्रै आधुनिक लोकगीत, फिल्मी गीतहरू सुपरहिट छन् । पछिल्लो समयमा चलचित्र छक्कापन्जाको ‘दर्शन सलाम’ गीतले चर्चा पाइरहेको छ ।

  • भोलि नगर प्रहरी पठाएर हलहरुमा हिन्दी फिल्म रोक्ने बालेनको तयारी

    भोलि नगर प्रहरी पठाएर हलहरुमा हिन्दी फिल्म रोक्ने बालेनको तयारी

    काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।

    महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।

    स्रोतले भन्यो, ‘महानगरको एक्सनमा सरकारले सहयोग र समन्वय गर्ने सम्भावना कम छ । महानगरसँग भएको सुरक्षा निकाय भनेको नगर प्रहरी हो । त्यसलाई नै परिचालन गरेर हिन्दी फिल्म बन्द गराउने छौं ।’

    बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन । त्यसैले बालेनले आफ्नै तर्फबाट एक्सन लिने तयारी गरेका हुन् ।

    संवाद सच्याउनुका साटो सो चलचित्रका लेखकले आजतकमा अन्तरवार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिए । उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन् ।

    अन्तरवार्तामा उनले भनेका छन्, ‘भारत र नेपाल अलग देश हुन् तर अलग राष्ट्र होइनन् । नेपाल १९०३ सम्म भारतकै हिस्सा थियो । भारतबाट जानकी भारतकै छोरी हुन् ।’

    नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो । अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ । तर, पौराणिक कथालाई यो चलचित्रले विद्रुप बनाएको भनेर भारतदेखि नेपालसम्म आलोचना भइरहेको छ ।

     

  • ‘आदिपुरुष’का लेखकको विवादित बयान- १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो, राष्ट्रका हिसाबले आज पनि हो

    ‘आदिपुरुष’का लेखकको विवादित बयान- १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो, राष्ट्रका हिसाबले आज पनि हो

    काठमाडाैं । विवादी भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि धावा बोल्दै विवादित बनान दिएका छन् ।

    ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा रहेको बताएका हुन् ।

    उनले एक टिभी अन्तरवार्तामा भनेका छन्, ‘नेपालको विरोध किन हो म सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो त्यो बेला नेपाल भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो ।

    उनले अन्तरवार्तामा भनेको अंश यस्तो छ, ‘नेपालका विरोध मे समझ नहीँ पाया । जबकि कहानी हे नेपाल भारतका अंश हुवा कर्ता था । तब हम भारतकी बेटी कहेंते हे सीताको तो नेपाल कौन्सा भारतसे अलग था । नेपाल तो भी १९०३ या ४ की बात जब नेपाल भारत से अलग हुवा हे । नेपाल वाज भेरि मच इन्डिया । तो उस सहिसाब से भारतकी बेटी थि सीता ।

    उनले अगाडि भनेका छन्, राष्ट्रको रूपमा आज पनि नेपाल र भारत अलग नरहेको टिप्पणी गरेका छन् ।

    उनको भनाई जस्तो त्यस्तै

    नेपालले विरोध किन गरिरहेको छ सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो । त्यो बेला नेपाल पनि भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो । त्यही कारण सीता भारतकी बेटी थिइन् । एक कुरा के भने उनीहरू आज पनि हाम्रो भाइ हुन् । हामी नै हुन । म नेपालका जनताहरूलाई आफूभन्दा अलग मान्दिन । अनि राष्ट्रका हिसाबले आज पनि भारत र नेपाल अलग छैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन् । हुन सक्छ सीमानामा हिसाबले अलग हुन् ।

  • जेस्मको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’

    जेस्मको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’

    काठमाडौं । गायक, संगीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौँमा आयोजित एक समरोहका बीच प्रिमियर गरियो । एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने संकेत गरे ।

    इन्टरनेटको माध्यमले आफूले सिकेको शीपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ ’, जेम्सले भने । उनको यो दोस्रो सर्ट फिल्म हो ।

    गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको जानकारी थियो । ‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन । यसलाई त्यसकै सुरुआतकको रुपमा समेत बुझ्न सकिन्छु,जेम्सले भने ।

    सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गर्नुभएको छ ।

    कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुश गरेको बताए । ुमैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाए । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँनु, निर्देशक शल्लभले भने ।

    अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए । ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’ अभिनेता प्रशान्तले भने ।

    लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, संगीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।

  • ‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का

    ‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का

    काठमाडौं । नेपाली फिल्म क्षेत्रकी नायिका पूजा शर्मालाई दर्शकले लभ स्टोरी फिल्ममा बढी हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल लभ स्टोरी फिल्मले पूजाको परिचय बनाएको छ ।

    तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छन् । चाँडै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यु फिल्म हो ।

    फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअघि ‘जय शम्भु’ निर्देशन गरेका थिए । फिल्मको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए ।

    रुपेशले भने, ‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्र्याउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

    फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मेहनत गरिरहेको बताइन् ।

    उनले भनिन्, ‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’

    नायक कुन्साङले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

    फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवणकुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्कबहादुर वाइबा फिल्मका सहनिर्माता हुन् ।

    फिल्मका अन्य कलाकार र टीम चाँडै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

  • चलचित्र ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा

    चलचित्र ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा

    काठमाडौं । निर्मात्री कृषा चौलागाईंको डेव्यु निर्देशकीय सिनेमा ‘ऐँचो पैँचो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण कम्पनी र आरआर फिल्मबीच वितरण सम्झौता गर्दै आगामी भाद्र १४ गते जनै पूर्णिमाको अवसर पारेर सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

    केपी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, विशाल पहारी, कोसिस क्षेत्री, सुशील सिटौला, शारदा गिरीको अभिनय छ ।

    कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ लगायतका सिनेमाको निर्माण गरिसकेकी छन् ।

    पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमाको पटकथा र संवाद अभिमन्यू निरवीले लेखेका हुन् । निर्देशक चौलागाईं आफू र आफ्नो टीमले निकै मेहनत गरेर सिनेमा बनाएकाले ‘ऐँचो पैँचो’ राम्रो बनेको बताउँछिन् ।

    सिनेमालाई काठमाडौं र मोफसल दुवैतिर आरआर फिल्मस्ले नै वितरण गर्नेछ ।

  • ‘आदिपुरुष’को विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डकोे ध्यानाकर्षण

    ‘आदिपुरुष’को विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डकोे ध्यानाकर्षण

    काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डले ध्यानाकर्षण जनाएको छ। विकास बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण देखाएको हो।

    विज्ञप्तिमा यस विषयमा चासो लिने काठमाडौं महानगरका मेयर बालेन शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई धन्यवाद दिएइको छ भने उक्त संवाद चलचित्रबाट यथासक्य हटाउन पहल गरिएको छ।

    ‘‘आदिपुरुष’ले माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटीसहित नेपालबाहेकका मुलुकहरुमा चलचित्र रिलिज गरेको छ। सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको ईतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादप्रति कडा आपत्ति जनाउदँछौ’, विज्ञप्तिमा लेखिएको छ।

    चलचित्रको संवादलाई सच्याएरमात्र रिलिज गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहल अगाडि बढाएको र यस्ता प्रकारका विवादहरुले दुई देशबीचको साँस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • गायक हेमन्त कान्छा र गायिका प्रेमाले ल्याए ‘मया’लाई

    गायक हेमन्त कान्छा र गायिका प्रेमाले ल्याए ‘मया’लाई

    काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत ‘मया’लाईको भिडिओ रिलिज भएको छ । सार्वजनिक गीतको भिडिओमा हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन् । जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगित प्रेमा पुर्जाको रहेको छ ।

    भिडिओमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ । लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडिओमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ ।

    छमछम नचाउने शैलिको भिडिओमा शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन् । निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हु्न् । राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । भिडिओ प्रेमा पुर्जाको अफिसियल च्यानबाट बजारमा आएको हो ।

    हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको पञ्चेबाजाको यो रमाइलो छमछम नचाउने गीतको भिडिओ :

  • कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै

    कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै

    काठमाडौं । मुलुकभर प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जनाए ।

    भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।

    ‘फ्यामिली मिसिङ’को कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गत शुक्रबार रिलिज भएको थियो । गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको चलचित्रले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समिक्षकहरुबाट प्रसंशा बटुलिरहेको छ ।

    दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

    सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायतले निर्माण सहकार्य गरेका छन् ।

    प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

     

  • फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक

    फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नम्बरी सुन’को टिजर रिलिज गरिएको छ । २ मिनेट लामो सिनेमाको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ ।

    सिनेमाको सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ । अभिनेता सरोज खनाल सिनेमामा गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ ।

    सिनेमाको सार्वजनिक टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ । नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

    सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमामा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ ।

  • गोपीकृष्ण हलमा भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनमा अवरोध

    गोपीकृष्ण हलमा भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनमा अवरोध

    काठमाडौं । केही युवाहरुले गोपीकृष्ण हलमा १२ बजे प्रदर्शन भैरहेको चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा अवराेध गरेका छन् । उनीहरुले  चलचित्र हेरिरहेका दर्शकलाई टिकटको पैसासमेत फिर्ता गराएका छन् ।

    सीतालाई भारतीय चेली भनिएकाे आदिपुरुष चलचित्र देखाइएको विरोध गर्दै युवाहरुले हलमा चलचित्र प्रदर्शन गर्न रोक लगाएका हुन् । उक्त सिन सम्पादन गरेपछि अहिले चलचित्र पुनः प्रदर्शन गरिएको गाेपीकृष्ण हलले जनाएकाे छ ।

    ती युवाहरुले नेपाल चलचित्र बोर्डकाे योजना तथा कार्यक्रम अधिकारी निर्मला चौलागाईंलाई भारतीय चलचित्र ‘आदिपुरुष’ बन्द गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।

  • काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’, विवादित संवाद नेपालमा मात्र हटाइयो

    काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’, विवादित संवाद नेपालमा मात्र हटाइयो

    काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनीमा आएको छ । विवादित संवाद हटाएर चलचित्र आएपछि प्रदर्शन गरिएको हल सञ्चालकहरूले बताएका छन् ।

    यसअघि ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ । तर, विवादित संवाद नेपालमा मात्र हटाइएको हो ।

    चौतर्फी विरोधपछि हलहरूले असुरक्षित भएको भन्दै बिहानी शो देखाएका थिएनन् ।

    काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त अभिव्यक्ति नहटाए महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

  • ‘आदिपुरुष’बारे सदनमा असिम शाह- सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर राम्रो गरे (भिडिओ)

    ‘आदिपुरुष’बारे सदनमा असिम शाह- सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर राम्रो गरे (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ आदिपुरुषको बारेमा सदनमा कुरा उठाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताए।

    उनले भने, ‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र अहिले पास पनि भयो प्रदर्शनको लागि नेपालमा तर काठमाडौंका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योल छाएको छ।’

    हलहरुले सरकारबाट स्पष्टीकरण नआएसम्म चलचित्र प्रदर्शन रोकेकोबारे ध्यानाकर्षण गराए।

    उनले भने, ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहदा हामीले भन्न सक्नु पर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर ।’
    सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर सहि गरेको भन्दै परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले गम्भिर रुपमा लिनुपर्ने बताए।

  • ‘आदिपुरुष’ मा भुवन केसीको प्रतिक्रिया- बोर्डले भनेको मानेको भए यो दिन आउने थिएन

    ‘आदिपुरुष’ मा भुवन केसीको प्रतिक्रिया- बोर्डले भनेको मानेको भए यो दिन आउने थिएन

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा प्रतिक्रिया दिएका छन् ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा चौतर्फी विरोध भइरहेका बेला बोर्डले भनेको नमान्दा यो स्थीति आएको उनको भनाइ छ ।

    ‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन, ‘विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरूलाई ऐठन भयो र तीन दिनमा झारियो । तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन ।’

    केसीले नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियतालगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधीनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटि वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको प्रष्टीकरण दिएका छन् ।

    ‘र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केही दिनअगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले लेखेका छन् ।

    केसीले भनेका छन्, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन । यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरूकै प्रमुख हात छ ।’

    ‘यस प्रकारको घटनाले भोलि हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनको प्रश्न छ ।

  • असुरक्षाको कारण देखाउँदै काठमाडौंको हलमा रोकियो ‘आदिपुरुष’ को बिहानी शो

    असुरक्षाको कारण देखाउँदै काठमाडौंको हलमा रोकियो ‘आदिपुरुष’ को बिहानी शो

    काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकाका हलले भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी प्रदर्शन रोकेका छन् । चलचित्र संघले मुलुकभरका सबै हललाई विकसित परिस्थिति हेरेर मात्र चलचित्र चलाउन भनेको छ ।

    उक्त चलचित्रको टिकट बिहीबार राति नै सोल्डआउट भइसकेको थियो । बिहानी शोमा बिक्री भएको टिकट अर्को शोमा मिलाउने वा फिर्ता गर्ने हल सञ्चालकले जनाएका छन् । क्यूएफएक्सले यस विषयमा सरकारी निकायको स्पष्टीकरणको पर्खाइमा रहेको भन्दै अर्को सूचना नआएसम्म ‘आदिपुरुष’ प्रदर्शन नगर्ने जनाएको छ ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ ।

    विभिन्न राजनीतिक दलका भ्रातृ संगठनलगायतले चलचित्रलाई लिएर विरोध जनाएपछि हलहरूले असुरक्षित महसुस गर्दै बिहानी शो नदेखाएका हुन् ।

    ‘आदिपुरुष’ को विवादित संवादलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त अभिव्यक्ति नहटाए महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनीसहितको स्टाटस लेखेका छन् ।

    यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’ लाई लिएर चर्किएको विवादबारे प्रतिक्रिया जनाएका छन् । बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम नमानेर तीन दिनमा झारिदा त्यस्तो भएको उनको भनाइ छ ।

  • अन्ततः ‘आदिपुरुष’ मा निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग

    अन्ततः ‘आदिपुरुष’ मा निर्माताले हटाए सीता भारतमा जन्मेको प्रसंग

    यस समाचारमा यसअघि उल्लेखित विषय तथ्यसंगत नदेखिएकाले क्षमाप्रार्थीसहित हटाइएको छ । ‘आदिपुरुष’ बाट उक्त विवादित संवाद हटाइएको विषयमा निर्माताले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

  • हर्कको हर्षको आँसुमा कलाकारको खुसी, कसले के भने ?

    हर्कको हर्षको आँसुमा कलाकारको खुसी, कसले के भने ?

    काठमाडौं । अन्तत: धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

    पछिल्ला दिनमा खानेपानीको चरम अभाव भोग्दै आएको धरानलाई यो पानीले तत्कालका लागि भने राहत भएको छ । कोकाहाको पानी धरान नखसालेसम्म नफर्किने बाचा गरेर खटिएका हर्कको श्रम अभियानले ४० किलोमिटर हाराहारीको दूरीबाट पानी ल्याएको हो ।

    यसका लागि १८ दिन लाग्यो । कोकाहाको पानी धरानमा खसालेपछि साम्पाङको चर्चा फेरि बढेको छ । हर्कको यो अभियानलाई धेरैले प्रशंसा गरिरहँदा सेलिब्रिटीहरूले पनि तस्बिर शेयर गर्दै खुसी साटेका छन् ।

    अभिनेता तथा निर्देशक दीपकराज गिरीले मेयर साम्पाङको तस्बिर शेयर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । गिरीले धरानमा पानी आएपछि खुसीले रुँदै पानीमा भिज्दै गरेको हर्कको तस्बिर राखेर लेखेका छन, ‘हो, यस्ता फोटाले चाँहि आनन्द दिन्छ । ठूला राजनीतिक गफ होइन , विकासमात्रै लक्ष्य ।’

    अभिनेत्री करिश्मा मानन्धरले आउने दिनमा हर्कलाई यस्तै कामका लागि शुभकामना दिएकी छन् ।

    ‘मेयर साप ! धरानवासी जनताहर”लाई ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी खुवाउन सफल हुनुभो । यस्तै अनेकौं सफलताको शुभकामना छ ’, करिश्माले लेखेकी छन् ।

    नायिका स्वस्तिमा खड्काले पनि ताली र रातो पानाको ईमोजीसहित हर्कको तस्बिर शेयर गरेकी छन् । निर्देशक, निर्माता तथा नायकसमेत रहेका असिफ शाहले पनि उनलाई सलाम दिदैँ हौसला प्रदान गरेका छन् ।

    सबैले स्टाट्स र ईमोजीसहित बधाई दिइँरहँदा नायिका केकी अधिकारीले भने कविता नै लेखेकी छन् । ‘पानीसँगै झर्‍यो हर्कको आँसु’ सहितको शीर्षकको समाचार सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘कुनै आँसु यस्ता पनि, हर्ष र जितजस्ता पनि । कुनै आँसु यस्ता पनि, दु:ख बिसाए जस्ता पनि ।’

    हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले साम्पाङसँगको तस्बिर शेयर गर्दै हर्कको कामले आफू हर्षित भएको बताएका छन ।

    ‘हुन त तपाईँको आँखाबाट हर्षका आँसु झरेका होलान् । तर, पनि तपाईँ किन रुनु मेयर ज्यू ? तपार्इँले जे बोल्नुभयो, त्यो पूरा गर्नुभयो । दिनरात नभनी धराने जनताका लागी खटिरहनुभयो । त्यसैले आज पानी ल्याउन सफल हुनुभयो । रून त तिनीहरूले पर्छ जसले बोलेका कुरा कहिल्यै पूरा गरेनन । उल्टै देशको सम्पत्तिमा रजाइँ गरेँ । तपाईँको सरल जीवन, मेहेनत र परिश्रमदेखि अत्यन्तै प्रभावित छु । तपाईँ अब क्याबिनेटमा हुनुपर्छ हर्कज्यू ! बधाईसहित हार्दिक नमन । हर्कको कामले हर्षित एक कलाकार ’, मुन्द्रेको स्टाटसमा उल्लेख छ ।

  • आर्यन फिल्मस् ११औं नेफ्टा फिल्म अवार्डबाट भयो ब्याक

    आर्यन फिल्मस् ११औं नेफ्टा फिल्म अवार्डबाट भयो ब्याक

    काठमाडौं । अनधिकृत व्यक्तिहरुलाई अमेरिका लैजान खोजेको भन्दै ‘११औं नेफ्टा फिल्म अवार्ड’ को आयोजकमध्येको एक आर्यन फिल्मस्ले हात झिकेको छ । अवार्ड कार्यक्रमको आवरणमा अनधिकृत व्यक्तिहरुको प्रवेश भएको र भिसा प्रक्रियामा ‘अनधिकृत मान्छेको नाम थपिएको’ आरोप लगाउँदै आर्यन फिल्म्स् नेफ्टा अर्वाडबाट ब्याक भएको हो ।

    चलचित्र विकास बोर्डको सहयोगमा यही साउन ६ गते नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड आयोजना गर्दैछ । जसमा आर्यन स्थानीय आयोजकमध्ये एक कम्पनी हो । अनधिकृत व्यक्तिहरुको प्रवेश भएपछि आर्यन फिल्म्स्ले एक विज्ञप्ति सार्वजनिक गर्दै अवार्डबाट हात झिकेको हो ।

    संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तिमा नेफ्टालाई अमेरिका-नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख छ । महाप्रवन्धक कटुवालले भिसा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनधिकृत मान्छेको निवेदन रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    ‘हामीलाई वास्ता गरिएन । जो जो पायो त्यही आफ्नो मान्छे हाल्न थाले । हामी त एक आयोजक हौं नि ! अहिलेसम्म हामी कसैको भिसा प्रक्रिया नै भएको छैन । अरुको के कुरा गर्नु ? मेरो आफ्नै भिसा प्रक्रिया भएको छैन’, उनले नेपाल प्रेससँग भने ।

    अवार्ड गर्ने क्रममा आफूहरुले गरेको खर्च फिर्ता हुनुपर्ने उनको माग छ । ‘कार्यक्रमहरु सबैमा हामीले नै खर्च गर्दै आएका थियौं । सोल्टीमा हाम्रो नौ लाख खर्च भएको छ । हामीले त्यहाँ सबै क्रेडिट कार्डबाट पैसा तिरेका छौं । त्यहाँदेखि बाहेक यताउता गर्दा हाम्रो जम्मा १५ लाख खर्च भएको छ । अहिलेसम्म एक कप चिया नेफ्टाले खुवाएको छैन । हाम्रो खर्च भएको सबै पैसा हामीलाई फिर्ता चाहियो । अरु कुराको हामीलाई सरोकार छैन’, उनले भने ।

    अवार्डका आयोजकसमेत सम्पर्कविहीन भएर बसेको महाप्रवन्धक कटुवालको भनाइ छ। ‘उनीहरु सम्पर्कविहीन छन् । पुष्कर लामा मोबाइल अफ गरेर बसेका छन् । अरुसँग मेरो सम्पर्क भएको छैन । सबैतिर पैसा तिर्नुपर्दा मैले मेरै नम्बर प्रयोग गरेको थिएँ । त्यतिबेला मेरो मेसेन्जरदेखि नम्बरसम्म थाहा थियो । अहिले रिप्लाइ गर्ने बेलामा भने मेरो नम्बर थाहा छैन अरे’, उनले आक्रोश पोखे ।

  • साउथ मुभि ‘आदिपुरुष’मा नेपालको सेन्सर, जानकीलाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

    साउथ मुभि ‘आदिपुरुष’मा नेपालको सेन्सर, जानकीलाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो ।

    सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’

    अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेश गर्नुपर्ने भएको छ । संवाद हटाएर पेश गरेपछि मात्र फिल्मले प्रदर्शनको लागि अनुमति पत्र प्राप्त गर्नेछ ।

    शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ ।