Category: कलाप्रेस

  • निश्चलको ‘दिमाग खराब’ ३६ दिनमा प्याकअप

    निश्चलको ‘दिमाग खराब’ ३६ दिनमा प्याकअप

    काठमाडौं । निर्देशक निश्चल बस्नेतले सिनेमा ‘दिमाग खराब’को छायांकन ३६ दिनमा पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा सिनेमाको अन्तिम सिन खिचिएको हो । सेड्युल भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको सिनेमाको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

    सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । सिनेमाकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा सेअर गरेको सुटिङ ‘प्याकअप’पछिको सामुहिक तस्विरको पृष्ठभूमिमा लोकतान्त्रिक जनविश्वास पार्टीको बोर्ड देखिन्छ । जनता र शक्तिको कथामा बनेको सिनेमा आगामी कात्तिक २४ गते प्रदर्शन हुँदैछ ।

    ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए ।

    स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोसँगै सिनेमा ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए । ‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ । निश्चलको कमब्याक सिनेमा भएकाले दर्शकमा अपेक्षा उच्च छ ।

  • मिस्टर नेपालमा भिड्दै डाक्टरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म (तस्विरहरु)

    मिस्टर नेपालमा भिड्दै डाक्टरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म (तस्विरहरु)

    काठमाडौं । ‘मिस्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरका हजारौं सहभागीबाट पहिलो चरणका लागि ३०० प्रतियोगी छानिएका थिए । जसबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् ।

    छानिएका प्रतियोगीतमा डाक्टर, इञ्जिनियर, पाइलट, चार्टड एकाउन्टेन्टलगायत विभिन्न प्रतिष्ठित पेशासँग आवद्ध रहेका छन् ।

    छानिएका २० प्रतियोगीमा निमेष कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कञ्चनपुर), रोहिम धौभडेल (भक्तपुर), समर्पण कार्की (मोरङ), लोकेश प्रधानाङ्ग (ललितपुर), रिकेश प्रसाईं (झापा), विजय दुवाडी (चितवन) र राजीव तिवारी (गोर्खा) रहेका छन् ।

    त्यस्तै अनुभव जोशी (ललितपुर), आयनराज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रवीण पाठक (झापा) रहेका छन् ।

    छनोट भएका सबै प्रतियोगी फाइनल स्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

    प्रशिक्षणमा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषय समावेश छन् । ‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसको छनोट चरणको अडिसन विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो ।

    १६ देखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान छ । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वका साथै ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

    नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले सन् २००१ देखि नियमित प्रतियोगिता आयोजना हुँदै आएको बताइन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।

    हेर्नुस् तस्विरहरु :

  • धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा

    धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा

    काठमाडौं । धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस-सुन्तलीले नै लेखेका हुन् ।

    ‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भनी तयार पारिएको थियो । तर, अब भने दर्शकले यो फिल्म यूट्यूबमा हेर्न पाउने भएका छन् ।

    ‘म त मर्छु कि क्या हो’ धुर्मुस-सुन्तलीकै अफिसियल यूट्युब च्यानल ‘धुर्मुस-सुन्तली यूट्युब’मार्फत आज सार्वजनिक गरिएको छ ।

    फिल्ममा धुर्मुस-सुन्तलीबाहेक रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, वलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, सुशीला थापालगायतका कलाकारको अभिनय छ ।

    सुबिहानी फिल्मसको प्रस्तुतिमा तयार पारिएको ‘म त मर्छु कि क्या हो’ मा गायिका रचना रिमाल र गायक भक्त प्रधानले स्वर दिएका छन् । जसमा लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।

  • ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करण सम्पन्न

    ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करण सम्पन्न

    काठमाडौं । निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गरेका छन् ।

    आइतबार पहिलो पटक तास्मानियाको होबार्टमा सम्पन्न ‘हेरिटेज अफ फेसन’मा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो ।

    ‘हेरिटेज अफ फेसन’को तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो ।

    यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन सञ्चारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।

    आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलमा आयोजना गरेको संस्करण तास्मानियामा भएको नेपाली समुदायको पहिलो कार्यक्रममा रहेको निर्माता अधिकारीले बताए ।

    ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्‍याम्प नापेका थिए ।

    ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जानाएको छ ।

    परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजको छ ।

    नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए ।

    नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि-पोडक्सनमा समेत व्यस्त छन् ।

  • मुम्बईमा ‘परस्त्री’को टीमलाई सम्मान

    मुम्बईमा ‘परस्त्री’को टीमलाई सम्मान

    काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशकीय सिनेमा ‘परस्त्री’ ले अहिले प्रचार प्रसारको कामलाई तीव्रता दिइरहेको छ । सिनेमाको निर्माण टिम अहिले सिनेमाको प्रचार र भारतमा रिलिजको लागि मुम्बईमा छ ।

    निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ सिनेमाको प्रचार गरिरहेका छन् ।

    आइतबार निर्माण टिमको मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

    आइतबार नै सिनेमाको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सिनेमाको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्तर्क्रिया समेत गरेको थियो ।

    सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको नीरज कँडेल छायांकन गरेका हुन् ।

    सिनेमामा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

    सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

  • रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

    रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

    काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।

    गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो ।

    सपुतले ‘बोल माया…’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले जानकारी दिइन् ।

    सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।

    आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।

  • सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

    सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाहले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दिइरहेको छ । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिएका छन् त कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याएका छन् ।

    रविनाको विवाहका तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहँदा एउटा नयाँ चर्चाले सरगर्मी बढाइदिएको छ । यो चर्चा हो, रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटता । रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् ।

    सार्वजनिक भएका फोटो र भिडिओले परमिता र आशिरमानबीच नयाँ सम्बन्धको विजारोपण भइरहेको संकेत गर्छन् । विवाहपछि रविना र उनका श्रीमान बसन्तपुर दरबार स्क्वार घुम्न जाँदा आशिरमान र परमिता उनीहरुसँगै देखिएका थिए ।
    सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकाको उपस्थितिलाई प्रियंकाले पनि अन्यथा लिइनन् ।

    बरु एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा प्रियंका परमितासँग रमाउँदै डान्स गरिरहेको देखिन्छिन् । श्रीमती र पूर्वप्रेमिकाको यो अन्तरघुलनलाई लिएर धेरैले अनौठो मानेका छन् ।

    त्योभन्दा अनौठो चाहिँ दाजुसँग ब्रेकअप भएपछि भाइसँग प्रेम (यदि सत्य हो भने) हो । तर प्रियंकाको परिवारलाई बुझेकाहरुका लागि यो कुनै अनौठो कुरा होइन । यो ‘उत्तर आधुनिक’ परिवारमा जे पनि सम्भव छ ।

    स्मरणीय छ कि परमिता र आयुष्मान लामो समय प्रेममा थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए । प्रियंकाले आयुष्मानलाई कुनै समय भाइ भन्थिन् । पछि प्रेम परेर विवाह गरेकी हुन् । उनीहरुबाट एक छोरी छिन् ।

     

  • दुर्गेशले ल्याए दलितको कथामा ‘साथी’, भिडिओमा बले र स्मारिकाको साथ

    दुर्गेशले ल्याए दलितको कथामा ‘साथी’, भिडिओमा बले र स्मारिकाको साथ

    काठमाडौं । दलितको कथामा आधारित रहेर गायक दुर्गेश थापाले ‘साथी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको अडियो र भिडिओले दर्शकको मन जितिरहेको छ ।

    आफ्नै रचना, संगीत र स्वरमा दुर्गेशले साथी गीत ल्याएका हुन् । भिडिओको निर्देशन पनि उनी आफैंले गरेका छन् । प्रायः हल्काफुल्का मनोरञ्जनात्मक गीत गाउने दुर्गेशले यस गीतमा गम्भीर सामाजिक मुद्दा उठान गरेका छन् ।

    गीतको भिडिओमा दुर्गेशलाई कलाकार सागर लम्साल (बले), रवि गिरी, रीना ढकाल र टिकटकर तथा मोडल स्मारिका ढकालले साथ दिएका छन् ।

    छुवाछूत प्रथाले निम्त्याएको समस्यालाई दुर्गेशले भिडिओमा उतारेका छन् । कथित माथिल्लो जातकाले तल्लो जातको व्यक्तिलाई गर्ने जातीय विभेद नै भिडिओको मूल सार हो । भिडिओमा दुर्गेशले ‘दुर्गे दमाई’को भूमिका निभाएका छन् ।

    उनलाई साथ दिएका बले र स्मारिकालाई भने कथित माथिल्लो जातको भूमिकामा ढालिएको छ । भिडिओमा यी तीनजना मिल्ने साथीको रुपमा देखिएका छन् ।

    दुर्गेशका साथी बले काजीका छोरा हुन् भने स्मारिकाले श्रवण शक्ति नभएकी युवतीको चरित्र निभाएकी छन् । काजीका रुपमा भने कलाकार रवि गिरी देखिएका छन् ।

    श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडिओलाई उत्सव दाहालले खिचेका हुन् । दुई दिनअगाडि सार्वजनिक गरिएको यो गीत अहिले नेपालमा यूट्युब ट्रेन्डिङको १७औं स्थानमा छ ।

  • यो पुस्तक पढेर मुन्दुम ट्रेलमा कोही पाठक जान्छ भने त्यही सफलता हो : राई

    यो पुस्तक पढेर मुन्दुम ट्रेलमा कोही पाठक जान्छ भने त्यही सफलता हो : राई

    काठमाडौं । संस्कृति तथा पर्यटन अभियन्ता श्याम सामसोहाङ राईको संस्मरणात्मक पुस्तक ‘मुन्दुम ट्रेल’ बजारमा आएको छ । यस पुस्तकले पूर्वी जिल्लाहरु विशेष गरेर खोटाङ र भोजपुरमा अवस्थित मुन्दुम ट्रेलको ऐतिहासिक, सांस्कृतिक महत्वहरुलाई मसिनो गरी केलाउने प्रयत्न गरेको छ । यस क्षेत्रको प्राकृतिक सौन्दर्य र किराँत समुदायको सभ्यतालाई पनि सरल ढंगले प्रस्तुत गरिएको छ ।

    यही सिलसिलामा ‘मुन्दुम ट्रेल’ पुस्तक लेखनको अनुभव र मुन्दुम ट्रेलबारे लेखक राईले नेपालप्रेससँग गरेको कुराकानीको सम्पादित अंशः

    ‘मुन्दुम ट्रेल’को सांस्कृतिक तथा ऐतिहासिक महत्व

    मुन्दुम ट्रेल पूर्वी नेपालको सम्पूर्ण प्राकृतिक इतिहासलाई बोकेको पुस्तक हो । प्रदेश १ मा सगरमाथाभन्दा अन्य चर्चामा आएका गन्तव्य त्यति धेरै छैनन् । मध्य पहाडी क्षेत्रमा पर्यटकीय गतिविधि कम भएको महसुुस गर्दै हामीले मुन्दुम ट्रेललाई सन् २०१७ मा अन्वेषण गरेका थियौं ।

    अन्वेषणका लागि मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र नामक संस्थाले काम गरेको थियो । विशेष गरेर मुन्दुम ट्रेलले किराँती संस्कार, संस्कृतिलाई केन्द्रमा राखेर त्यहाँ भएका प्राकृतिक सौन्दर्यलाई पनि अन्तरघुलन गर्दै सांस्कृतिक र प्राकृतिक दुवै कुराको संगमस्थलको रुपमा काम गर्छ ।

    मुख्यतः किराँतीहरुको जनजीवन मुन्दुम दर्शनको वरिपरि चलेको हुन्छ । मुन्दुमले उनीहरुलाई मार्गदर्शन गराएको हुन्छ । त्यही दर्शन र संस्कृतिलाई सबैमाझ बाँड्दै पर्यटकीय गन्तव्य बनाउन मुन्दुम ट्रेलको विकास गरिएको हो । ऐतिहासिक दृष्टिकोणबाट पनि किराँतीहरु पूर्वी नेपालको पुरानो जाति हो । उनीहरुले आफ्नो कालखण्डमा विकास गरेका सभ्यतालाई देखाउने र त्यसबाट आर्थिक आयआर्जन गर्ने वातावरण बनाउनका पनि मुन्दुम ट्रेलको विकास गरिएको हो ।

    मुन्दुम ट्रेललाई हामीले तीन भागमा विभाजन गरेका छौं । अहिले विकास गरिएको ट्रेल मध्यभाग हो । जुन टेम्के डाँडादेखि मैयुङ हुँदै लौरे डाँडा र साल्पा सिलिचुङसम्म पर्छ । यसलाई विकास गर्दै सगरमाथासम्म पुर्‍याउन सकियो भने अप्पर मुन्दुम ट्रेल बन्छ ।

    मद्वारा लेखिएको पुस्तक ‘मुन्दुम ट्रेल’ले पनि किराँती सभ्यता, संस्कारको विकास कसरी भयो, कुन समयमा भयो जस्ता विषयलाई समेटेको छ ।

    पूर्वी जिल्लाहरुलाई जोडेको ‘मुन्दुक ट्रेल’ पदमार्गमाथि लेखिएको पुस्तक हो 

    यस पुस्तकले खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई प्रत्यक्ष रुपमा जोडेको छ । मुन्दुम ट्रेललाई हामीले तीन भागमा विभाजन गरेका छौं । अहिले विकास गरिएको ट्रेल मध्यभाग हो । जुन टेम्के डाँडादेखि मैयुङ हुँदै लौरे डाँडा र साल्पा सिलिचुङसम्म पर्छ । यसलाई विकास गर्दै खुवालुङदेखि टेम्केसम्म लाेवर मुन्दुम ट्रेल, साल्पा सिलिचुङदेखि सगरमाथासम्मको अप्पर मुन्दुम ट्रेल मानिएको छ । र यी तीनैवटा ट्रेललाई मिलाएर ग्रेटर मुन्दुम ट्रेल बन्छ ।

    पुस्तक लेख्ने सोच यसरी विकास भयो

    मेरो विश्लेषण के हो भने पूर्वमा रहेका भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा विगतमा बढी नै उपेक्षामा परेका जिल्ला हुन् । राज्यको नजर अन्य जिल्लाहरुमा जसरी त्यहाँ पुगेको थिएन । मेरो निष्कर्ष चाहिँ के रह्यो भने ती ठाउँहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्छ । पर्यटनलाई जोडेर राम्रो आयआर्जन गर्न सक्छौं ।

    अहिले त मुन्दुम ट्रेल पूर्वमा सगरमाथापछिको चर्चित ट्रेल बनिसकेको छ । यो ट्रेल इतिहास र संस्कृतिको मार्गदर्शक पनि हो । यस ट्रेलमा यात्रामात्रै हुँदैन, यात्रासँगै यात्रुले किराँती सभ्यता, इतिहास, संस्कृति र विश्वास पद्धतिको समेत परख गर्न पाउँछन् ।

    यसैका लागि म सुरुदेखि नै लागें, विभिन्न वृत्तचित्रहरु बनाएँ । विभिन्न निकायहरुलाई एक ठाउँमा ल्याएर साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र नामक संस्था गठन गर्‍यौं । त्यही संस्थाको अगुवाइमा मुन्दुम ट्रेलको अवधारणा विकास भएको हो । यसलाई पुस्तकको रुपमा डकुमेन्टेसन गर्न पाए भोलि आउने पिँढीले टेक्स्टमा पढ्न सजिलो होस् भनेर पुस्तक तयार गरेको हुँ ।

    पर्यटन प्रवर्द्धनमा मुन्दुम ट्रेलको भूमिका

    अहिले त मुन्दुम ट्रेल पूर्वमा सगरमाथापछिको चर्चित ट्रेल बनिसकेको छ । यो ट्रेल इतिहास र संस्कृतिको मार्गदर्शक पनि हो । यस ट्रेलमा यात्रामात्रै हुँदैन, यात्रासँगै यात्रुले किराँती सभ्यता, इतिहास, संस्कृति र विश्वास पद्धतिको समेत परख गर्न पाउँछन् । ट्रेलमा जाने पर्यटकलाई गाइडको रुपमा काम गरोस् भनेर पनि मैले यस पुस्तकलाई पढ्न सजिलो हुने गरी तयार गरेको छु । यहाँ खाने, बस्ने ठाउँ, खानेकुराका प्रकारलगायत सबै कुराको डिटेलिङ दिएको छु ।

    पुस्तक लेख्नुको आनन्द

    पुस्तक लेख्नुको आनन्दभन्दा पनि पुस्तकको उद्देश्यले महत्व राख्छ जस्तो लाग्छ । यदि कोही पाठक यस पुस्तक पढेर मुन्दुम ट्रेलको यात्रामा निस्कनुभयो भने त्यही नै मेरा लागि सबैभन्दा ठूलो आनन्द हो ।

  • गीतकार थापाको ‘हेर्दा हेर्दै अन्माएर’मा विजय र सोनीको अभिनय (भिडिओ)

    गीतकार थापाको ‘हेर्दा हेर्दै अन्माएर’मा विजय र सोनीको अभिनय (भिडिओ)

    काठमाडौं । गीतकार हिराकाजी थापाको शब्दमा तयार ‘हेर्दा हेर्दै अन्माएर’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । प्रेम र विरहले भरिएको गीतमा गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत गरेका छन् ।

    भिडिओमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका र त्यसले पारेको प्रभावलाई दर्शाइएको छ ।

    प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडिओमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय बिजय पुन मगर र सोनी ढुंगानाको अभिनय रहेको छ ।

    लामो समयको बेलायत बसाईपछि करिब ३ महिनाको नेपाल बसाईका क्रममा गीतकार थापाले आफ्नै निर्देशनमा तयार पारेको भिडिओ रिलिज गरेसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक तथा गीतकार थापा बताउँछन् ।

    बेलायतबाट भर्चुअल माध्यमबाट करिब दर्जन बढी भिडिओ निर्देशन गरिसकेका निर्देशक थापा नेपालमा नै आएको समयमा निरन्तर भिडिओ निर्देशनलाई निरन्तरता दिइरहेका बेला हेर्दा हेर्दै अन्माएर बोलको गीतको भिडिओ बजारमा आएको हो । जसमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ मास्टरिङ तथा नबिन निरौलाको कलर तथा सम्पादन रहेको छ ।

    नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवंम निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा बजारमा आएको हो ।

    भिडिओः

  • राजु गिरीको निर्देशनमा ‘मेयर साहेब’ सिनेमा निर्माण हुने

    राजु गिरीको निर्देशनमा ‘मेयर साहेब’ सिनेमा निर्माण हुने

    काठमाडौं । राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार निर्देशक गिरीले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

    आगामी भाद्र महिनाबाट फ्लोरमा जाने सिनेमाको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । चाँडै सिनेमाको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने सिनेमाको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

    बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमामा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । सिनेमामा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह–निर्माता हुन् ।

    निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको सिनेमा ’नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी भाद्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

  • ६० वर्षअघिको ‘ढाक्रे’ जीवनशैली अब पर्दामा हेर्न पाइने

    ६० वर्षअघिको ‘ढाक्रे’ जीवनशैली अब पर्दामा हेर्न पाइने

    काठमाडौं । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित चलचित्र ‘ए ढाक्रे दाइ’ दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला)को निर्देशनमा बनेको चलचित्र आगामी साउन ५ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।

    कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले ६ दशकअघिको ऐतिहासिक विषयमा चलचित्र निर्माण गरेको बताएका छन् ।

    ‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडीबुटी, घिउ, भटमासहरु बेचेर नून, तेल, लत्ता–कपडालगायतका अत्यावश्यक सामग्रीहरु किनेर लान्थे’, निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःखकष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’

    उनले तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन् भनेर चलचित्र निर्माण गरेको बताए ।

    चलचित्रमा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीले खिचेको चलचित्रमा सुरेश सेन्चुरीको संगीत, एनके एम र तेजप्रसाद पाण्डेको शब्द र लोकेन्द्र शाह र एनके एमको नृत्य निर्देशन छ ।

    युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् । चलचित्रको वितरण आरआर फिल्म प्रोडक्शनले गर्दैछ ।

  • मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रेस चौतारीले टिकटक प्रतियोगिता गर्ने

    मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रेस चौतारीले टिकटक प्रतियोगिता गर्ने

    काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    हरेक वर्ष असार १४ गते पर्ने मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारी नेपालले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

    सोही प्रकियालाई निरन्तरता दिँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस वर्ष पनि टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो ।

    प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे रहेका छन्। यसैगरी, सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन् । प्रतियोगिताको निर्णायकमा भने अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन्।

    प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ।

    प्रतियोगीले ‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायतका रचनात्मक टिकटक बनाउन सक्नेछन् । प्रतियोगीहरुले मदनभण्डारी र प्रसेचौतारीनेपालको ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।

    सोही अनुसार, असार अन्तिम साता काठमाडौंमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ। यसबाहेक प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्तीमा देशभर साताव्यापी रचनात्मक कार्यक्रमहरु आयोजना गर्दैछ ।

  • ‘आदिपुरुष’बाहेकका विदेशी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

    ‘आदिपुरुष’बाहेकका विदेशी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

    काठमाडौं । नेपाल चलचित्र संघले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’बाहेक नेपालमा अन्य विदेशी फिल्महरू प्रदर्शन गर्ने भएको छ।

    बिहीवार पाटन उच्च अदालतले काठमाडौं महानगरलाई भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो। आदेश जारी भएसँगै हल संचालकहरुले शुक्रबारदेखि यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका छन्।

    अदालतले सेन्सर पास भइसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको थियो। ‘आदिपुरुष’ रिलिज होला या नहोला भन्ने कौतुहलकाबीच नेपाल चलचित्र संघले भने अर्को आदेश नआउन्जेल ‘आदिपुरुष’ हलमा नलगाउने भएको छ ।

    संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘श्री उच्च अदालत पाटनले विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्रहरु प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु भनी जारी गरेको आन्तरिम आदेशलाई पालना गर्दै अक्रो आदेश नभएसम्म हिन्दी चलचित्र आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजबाट देशभर प्रदर्शन गरिनेछ। नेपालको कानूनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो। राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन।’

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकेपछि चलचित्र संघले उच्च अदालतमा बालेनविरुद्ध रिट दर्ता गराएका थिए।

  • रोक्नैपर्छ भारतीय चलचित्रको खुला आयात, तर कानून बनाएर

    रोक्नैपर्छ भारतीय चलचित्रको खुला आयात, तर कानून बनाएर

    काठमाडौं । ‘ग्रेटर नेपाल’ को नक्साले उब्जाएको राष्ट्रवादी तरंग मत्थर हुन नपाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको सार्वभौमिकतासँग जोडेर अर्को निर्भयी कदम चालेका छन्- महानगरपालिकाभित्र भारतीय चलचित्रमाथि रोक लगाउने । उनको यो कदम कानूनी पाटोबाट भने विवादित बनेको छ ।

    दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा प्रयोग भएको एउटा संवादमा आपत्ति जनाउँदै बालेनले त्यसलाई नहटाउँदासम्म कुनै पनि भारतीय चलचित्र चल्न नदिने घोषणा गरेका थिए । भारतमा पनि विवादित बनेको उक्त चलचित्रका केही संवादहरु सच्याइए । तर, नेपालमा विवादित बनेको संवाद सच्याइएन । यसर्थ बालेनले आफ्नो पूर्वघोषणाअनुसार भारतीय चलचित्रमाथि रोक लगाउने अडान लिएका छन् ।

    यही बीचमा भारतीय चलचित्र चलाउन पाउनुपर्ने भन्दै केही हल व्यवसायीहरु उच्च अदालत पाटन गए । उच्च अदालतले उनीहरुको पक्षमा अन्तरिम आदेश दिएपछि नयाँ ट्विस्ट आएको छ । बालेनले ‘राष्ट्रिय सार्वभौमिकताको सवालमा अदालतको निर्णय पनि नमान्ने र भारतीय फिल्म चल्न नदिने’ सार्वजनिक टिप्पणी गरेपछि वादविवादको नयाँ श्रृंखला आरम्भ भएको हो । मेयर जस्तो जिम्मेवार पदमा भएको व्यक्तिले खुलमखुला अदालतको आदेश मान्दिनँ भन्नु आपत्तिजनक हुने एकथरि तर्क र राष्ट्रिय सार्वभौमिकताभन्दा अदालत ठूलो नहुने अर्काथरि तर्कहरुको लडाइँ चलिरहेको छ । आमजनता बालेनको समर्थनमा देखिएका छन् भने मिडिया र बौद्धिक जमात विभाजित छन् ।

    कानूनी शासनमा, हामीले अंगीकार गरेको प्रणालीमा अदालतको निर्णय नै सबैभन्दा अन्तिम मानिन्छ । जिम्मेवार व्यक्तिले अदालतलाई चुनौती दिने वा कुनै पनि तर्क र बहानामा त्यसलाई उल्लंघन गर्ने कुरालाई सही मान्न सकिन्न । उनीहरुले चाल्ने हरेक कदम कानूनी धरातलमा टेकिएको हुनुपर्छ, विधिसम्मत हुनुपर्छ । कानूनभन्दा व्यक्ति ठूलो हुन सक्दैन । सामाजिक सञ्जालमा लेख्ने स्टाटस जनसमर्थन प्राप्त गर्न उपयोगी होला, तर त्यसको आयु लामो हुँदैन ।

    बालेनको पछिल्लो स्टाटस उत्तेजक छ । उनले भारतीय चलचित्र नचलाउन प्रदर्शकलाई वा नहेर्न दर्शकलाई आह्वान गरेको भए उचित हुन्थ्यो । अहिलेलाई यही नै काफी हुन्थ्यो । किनकि उनले भनेको मान्ने ठूलो जमात देशभित्र निर्माण भइसकेको छ । तर, सीधै अदालत र कानून मान्दिनँ भनेर उनले खराब सन्देश प्रवाह गरेका छन् ।

    बालेनको पछिल्लो स्टाटस उत्तेजक छ । उनले भारतीय चलचित्र नचलाउन प्रदर्शकलाई वा नहेर्न दर्शकलाई आह्वान गरेको भए उचित हुन्थ्यो । अहिलेलाई यही नै काफी हुन्थ्यो । किनकि उनले भनेको मान्ने ठूलो जमात देशभित्र निर्माण भइसकेको छ । तर, सीधै अदालत र कानून मान्दिनँ भनेर उनले खराब सन्देश प्रवाह गरेका छन् । राष्ट्रियताको आड लिएर यसरी विधि र प्रक्रियालाई चुनौती दिनु शोभनीय होइन । संविधान र कानूनभन्दा ठूलो कोही पनि छैन ।

    तर, बालेनले चालेको कदममा अभूतपूर्व जनसमर्थन देखिएको छ । उनको स्टाटसमा अढाई लाखले लाइक र ५० हजारले कमेन्ट गरेका छन् । यही संख्या पर्याप्त छ, उनको पछिल्लो लोकप्रियता मापन गर्न । अदालत र कानूनलाई चुनौती दिँदा पनि किन यति धेरै जनसमर्थन मिल्यो त बालेनलाई ? त्यसको कारण हो, उनले देखाएको राष्ट्रप्रेमी रूझान । शैली र प्रक्रिया गलत भए पनि उनले लिएको यो सोच सही छ कि नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने सानोभन्दा सानो हर्कत पनि क्षम्य हुँदैन ।

    बालेनको कदमको सकारात्मक पक्ष यो हो कि उनले कम्तिमा झक्झकाएका छन्, देशलाई र समाजलाई । भारतीय चलचित्रको सबैभन्दा बढी क्रेज भएको युवा पुस्ता नै अहिले उनको कदमको समर्थनमा उभिएको छ । तर, मिडिया र बुद्धिजीवीको एउटा तप्का भने उनीमाथि यसरी खनिएको छ, मानौं देशमा कानूनी राज उत्कर्षमा थियो र बालेनले आएर सबै भताभुंग पारिदिए । अस्ति भर्खर सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएका रेशम चौधरीलाई केन्द्र सरकारले आममाफी दिएर जेलबाट निकाल्दा उनीहरुले प्रश्न उठाएनन्, बरु घुमाउरो समर्थन गरे । राष्ट्रपतिले खुलेआम कीर्ते गरेर मृत नागरिकता विधेयक प्रमाणीकरण गर्दा (त्यसैलाई सम्मानित अदालतले पनि सदर गरिदिएको) त्यो उनीहरुका लागि आपत्तिको विषय भएन, बरु ताली बजाएर स्वागत गरे । तिनैले अहिले कानूनी शासनको कुरा गर्नु आडम्बरमात्र हो । त्यसैले यो समूहको विरोधबाट बच्न होइन कि खराब नजिर स्थापित हुन नदिन बालेनले विधि-पद्धतिलाई पछ्याउनुपर्छ । नेपालमा भारतीय चलचित्रको खुला आयातमा नियन्त्रण गर्नैपर्ने छ, तर विधिसम्मत तरिकाबाट ।

    उठान ‘आदिपुरुष’ बाट भयो । यसमा भएको भनिएको संवाद पनि मामुली नै थियो, जसमा बालेनको प्रतिक्रिया अतिरञ्जित लाग्न सक्छ । तर, यो विषयको पृष्ठभूमि भने गहिरो छ । विश्वव्यापी बजार भएका भारतीय चलचित्रहरुले प्रायःजसो नेपाल र नेपालीको गलत चित्रण गर्दै आएका छन्, अन्तर्राष्ट्रिय समुदायमा नेपालको नकारात्मक छवि प्रस्तुत गरेका छन् । तर, तिनै चलचित्र नेपालमा निर्वाध प्रदर्शन भइरहेका हुन्छन् र हेर्नलाई दर्शक लाम लागेका हुन्छन् । नेपाललाई आतंकवादीको आश्रयस्थल, पाकिस्तान वा चीनको मतियार, लागुऔषधदेखि नक्कली नोटको कारोबार केन्द्रका रुपमा देखाइएका बलिउड चलचित्रहरु अनगिन्ती छन् । कुनै पनि भारतीय चलचित्रमा नेपालीहरुलाई ‘बहादुर’, गेटपाले र मजदुरभन्दा माथिको हैसियतमा राखिएको पाइँदैन ।

    विरोधबाट बच्न होइन कि खराब नजिर स्थापित हुन नदिन बालेनले विधि-पद्धतिलाई पछ्याउनुपर्छ । नेपालमा भारतीय चलचित्रको खुला आयातमा नियन्त्रण गर्नैपर्ने छ, तर विधिसम्मत तरिकाबाट ।

    भारतीय चलचित्र र टेलिभिजनमार्फत भइरहेको भाषिक सांस्कृतिक अतिक्रमणको अर्को चिन्ताजनक पाटो छ । नेपालका दर्शकहरु स्वदेशीभन्दा भारतीय चलचित्रप्रति किन बढी आशक्त छन् ? आफ्नो देशका सेलिब्रिटीहरु नचिन्ने युवा पुस्ता सी ग्रेडको भारतीय कलाकार आउँदा पनि भगवानै भेटेझैं झुम्मिन्छन् ? हाम्रा मिडियाका समाचारमा किन कलिउडभन्दा बलिउडका समाचारलाई प्राथमिकतामा राखिन्छ ? हाम्रा बालबच्चाहरुलाई किन सानैदेखि हिन्दी भाषा प्यारो भइरहेको छ ? यी प्रश्नहरुको जवाफ अब खोज्नैपर्छ । त्यसका लागि अहिले सही समय हो ।

    भारतीय सिनेमा र टेलिभिजनमार्फत मनोरञ्जनमात्रै आयात भइरहेको छैन, भारतीय भाषा र संस्कृति पनि नेपालका कुनाकुनामा प्रसार भइरहेका छन् । आफ्ना बालबच्चाले तोतेबोलीमा हिन्दी डाइलग बोल्दा बाबुआमा रमाउँछन् । तर, एउटा सम्प्रभु देशका निम्ति यो चिन्ताको विषय हो । हाम्रा मौलिक संस्कृतिहरु थिचोमिचोमा परेका छन् । नेपालीहरुको चाडपर्वदेखि विवाहसम्म भारतीय संस्कारमा हुन थालेको छ । विवाहअघि मेहन्दी समारोह गर्न, लक्ष्मी पूजामा रंगोली बनाउन भारतीय चलचित्र र टेलिभिजनहरुले नेपालीहरुलाई सिकाएका हुन् ।

    चलचित्र र टेलिभिजनमार्फत भारतीय राष्ट्रियताको नेपालमा प्रवर्द्धन भइरहेको छ । भारतीय राष्ट्रियताको बखान गरिएका चलचित्रहरु नेपालमा निर्वाध चल्छन् । पाकिस्तान र चीनको बद्ख्वाइँ गरिएका चलचित्रहरुलाई पनि नेपालमा कुनै रोकटोक हुँदैन । अस्ति भर्खर प्रदर्शनमा आएका कश्मिर फाइल्स, केरला स्टोरी जस्ता मुस्लिमविरोधी चलचित्रहरु जुन भारतमै अति विवादित थिए, नेपालमा प्रदर्शन रोकिएन ।

    अर्कोतर्फ भारतीय चलचित्रको निर्वाध आयातले स्वदेशी चलचित्र उद्योग निरन्तर धराशायी बनिरहेको छ । कैयौं अर्बको बजेटमा बन्ने भारतीय चलचित्रसँग एकाध करोडका नेपाली चलचित्रले सीधा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । अनि, दर्शक र समीक्षकहरु पनि भारतीय चलचित्रसँग तुलना गरेर नेपाली चलचित्रको स्तरमाथि प्रश्न उठाइरहेका हुन्छन् । जबकि पछिल्ला वर्षहरुमा नेपाली चलचित्रले निरन्तर अर्गानिक स्वाद पस्किरहेका छन् । सानै बजेटमा पनि उत्कृष्ट चलचित्रहरु बनिरहेका छन् । तर, बिकिरहेका छैनन् । भारतीय चलचित्र हेर्न हलमा तँछाडमछाड हुँदा नेपाली चलचित्रहरु सुनसान हुन्छन् ।

    विश्वव्यापी बजार भएका भारतीय चलचित्रहरुले प्रायःजसो नेपाल र नेपालीको गलत चित्रण गर्दै आएका छन्, अन्तर्राष्ट्रिय समुदायमा नेपालको नकारात्मक छवि प्रस्तुत गरेका छन् । तर, तिनै चलचित्र नेपालमा निर्वाध प्रदर्शन भइरहेका हुन्छन् र हेर्नलाई दर्शक लाम लागेका हुन्छन् ।

    यी यावत परिस्थितिका कारण भारतीय चलचित्रमाथि अंकुश लगाउनु अपरिहार्य बनिसकेको छ । अहिलेको समयमा पूर्ण रुपमा बन्देज लगाउने कुरा व्यवहारिक नहोला । यसले दुई देशको सम्बन्ध प्रभावित बन्नसक्छ । तर, कुनै न कुनै प्रकारले नियन्त्रण भने गर्नैपर्छ । नेपाललाई अब भारतीय चलचित्रको खुला बजार बन्न दिइरहनु हुँदैन । यसका लागि फेसबुकमा स्टाटस लेखेर होइन, कानून बनाएर काम गर्नुपर्छ । हुन त यो काम आधारभूत रुपमा संघीय सरकारको हो । तर, भारतको गुलामीमा लिप्त सरकारले यस्तो गर्ने कल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले बालेनले नै यसको पहलकदमी लिऊन् । कम्तिमा काठमाडौं महानगरभित्र विदेशी चलचित्रलाई नियन्त्रण गर्ने कानून बनाए भने त्यसले अन्य स्थानीय तहहरुलाई पनि प्रेरित गर्नेछ । देशको राजधानी शहरले लिने नीति आफैंमा महत्वपूर्ण हुन्छ नै ।

    कस्तो विधाका कति संख्यामा विदेशी चलचित्रहरुलाई नेपालमा प्रदर्शन गर्न दिने भन्ने कानूनमा स्पष्ट गरिनुपर्छ । कुनै पनि विवादित विषय नभएका विशुद्ध मनोरञ्जनात्मक चलचित्रहरुलाई न्यूनतम संख्यामा मात्रै प्रदर्शन अनुमति दिने गरी कानून बनाइयोस् । भारतीय राष्ट्रियताको प्रवर्द्धन गर्ने, निश्चित जात र धर्ममाथि प्रहार गरिएका, तेस्रो देशविरुद्ध लक्षित हिन्दी चलचित्रहरु नेपालमा प्रदर्शन गर्न रोक लगाइयोस् । बालेनले तत्कालै एउटा कार्यदल बनाएर कानून निर्माणको अग्रसरता लिऊन् । यसका लागि चलचित्र विकास बोर्डसँग समन्वय गर्दा राम्रो हुन्छ । बोर्डले पनि विदेशी चलचित्रमाथि नियन्त्रण लगाउनुपर्ने कुराको लामो समयदेखि पैरवी गर्दै आएको छ ।

    भारतीय चलचित्रमात्र होइन, टेलिभिजनहरुलाई पनि फिल्टर गर्नुपर्ने टड्कारो आवश्यक छ । समाचारका नाममा अफवाह बेच्ने भारतीय च्यानलहरु नेपालमा रोकिनुपर्छ । विशुद्ध मनोरञ्जनात्मक एकाध र स्पोर्ट्स च्यानलहरुबाहेक अरु बन्द गरिदिँदा नेपालीको बौद्धिकता कम हुन्छ भने पनि होस् ।

    एउटा कुरा के हो भने बालेन अहिलेसम्म बाह्य दबाब र प्रभावमा परिसकेका छैनन् । यदि उनले दीर्घकालीन रुपमा नै काठमाडौंमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने हिसाबले ठोस कदम चाले भने पक्कै बाह्य दबाबको सामना गर्नुपर्नेछ । यसअघि नाकाबन्दीकालको दृष्टान्त हामीसँग छ । त्यसबेला केवुल व्यवसायीहरुले नै स्वविवेकमा भारतीय टेलिभिजन च्यानलको प्रशारण बन्द गरेका थिए । तर, भारतीय दूतावासको दबाबमा परेका तत्कालीन सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले केवल सञ्चालकहरुलाई पत्र नै पठाएर भारतीय च्यानल सूचारु गर्न आदेश दिए । भारतीय चलचित्रमाथि लामो समय रोक लाग्ने देखिएमा बालेनमाथि पनि दबाब पर्नसक्छ । उनको वास्तविक परीक्षा त्यही बेला हुनेछ ।

  • ‘जय हो’ टिजर रिलिज (भिडिओ)

    ‘जय हो’ टिजर रिलिज (भिडिओ)

    काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको सिनेमा ‘जय हो’को १ मिनेट १४ सेकेन्डको टिजर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । आगामी भदौ (अगष्ट २५) मा सिनेमा बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

    टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

    मुस्ताङका विभिन्न रमणीय स्थानलाई देखाइको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमा बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाउने विश्वास निर्माण टिमलाई छ । सिनेमालाई जिजिए ग्रुपले वितरण गर्दैछ ।

    भिडिओ:

  • ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक

    ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक

    काठमाडौं । यही असार १५ गते प्रदर्शन हुने सिनेमा ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । सिनेमाकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपमा तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टीमको भनाइ छ ।

    ‘जीवन भनेको’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

    डीएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमा नेपाली र हिन्दीमा रिलिज हुनेछ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमा निरज कँडेलले छायांकन गरेका हुन् ।

    सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोसिस, शिल्पा र गौरवका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

    सिनेमा निर्माणमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् ।

    थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जीजीए ग्रुप र डीसीएनले वितरण गर्दैछन् ।

  • चलचित्र ‘हात्तीछाप’ अष्ट्रेलिया र न्युजिल्याण्डको राइट्स बिक्री

    चलचित्र ‘हात्तीछाप’ अष्ट्रेलिया र न्युजिल्याण्डको राइट्स बिक्री

    काठमाडौं । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘हात्तीछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स होडरिच इन्टरटेक्मेन्ट कम्पनीले खरिद गरेको छ । सिनेमाका निर्माण किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको विभिन्न देशको विदेश राइट्स बिक्री भएको जानकारी दिएका हुन् ।

    आगामी असार २० गतेबाट फ्लोरमा जाने सिनेमाको अहिले प्रिप्रोडक्सनको काम धमाधम भइरहेको छ । सिनेमा स्टारकास्टका कारण पनि चर्चामा छ । ससको कारण छायांकन अगावै सिनेमाको धमाधम विदेश राइट्स बिक्री भैरहेको छ । निर्माता नेपालीले सिनेमा नेपाल र विदेशमा एक साथ रिलिज गर्ने तयारी भइरहेको पनि बताए ।

    रेड बर्ड प्रोडक्कसनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सुशन प्रजापतिको छायांकन रहने सिनेमामा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिह ठकुरी, बुदि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारको अभिनय हेर्न सकिनेछ ।

  • महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

    महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

    काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्तर्राष्ट्रिय श्रम वकालत संस्था (आईएलओ) र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ ।

    नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महिलाहरुको अवस्था र उनीहरु मर्यादित पेशाबारे एक अन्र्तक्रिया कार्यक्रम नीति संवाद बिहीबार काठमाडौं म्यारियट होटलमा सम्पन्न गरेको हो ।

    कार्यक्रममा फिल्म उद्योगमाथी अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्मको अवस्था, महिलाहरुको अवस्था, महिलाहरुको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरुको रोजगारीको सुनिश्चितता बारे विषयहरु समावेश भएको थियो ।

    फिल्म उद्योगका महिलाहरुलाई मर्यादित पेशाबारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरी कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताईन् ।

    प्रतिवेदन प्रस्तुतपछि उपस्थित व्यक्तित्वहरु र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल र सदस्य सचिव तोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

    यस्तै कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले चलचित्र उद्योगमा आफुले भोगेका अनुभव सुनाएकी थिईन् । यस्तै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रह गर्दै सुझावहरु दिएका थिए ।

    सरकारले फिल्म नीति पास नगर्नु र उद्योगमो मान्यता दिएपनि सेवा सुविधा नदिँदा फिल्म उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए ।

    आईएलओ नेपाल र युएन वुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, फिल्म क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो ।कार्यक्रममा आईएलओका कन्ट्रि डाईरेक्टर नुमान ओज्कानको पनि उपस्थिती रहेको थियो ।

    यस्तै महिला बालबालिका मन्त्रालयकी शाखा अधिकृत, श्रम मन्त्रालयकी शाखा अधिकृत, शिक्षा मन्त्रालयकी शाखा अधिकृत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत, पर्यटन मन्त्रालयकी शाखा अधिकृत, राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक, अर्थ मन्त्रालयकी शाखा अधिकृत, युनेस्कोका प्रतिनिधि, प्लान ईन्टरनेशनलकी प्रतिनिधि, निर्देशक समाजका प्रतिनिधि, नृत्य संघका प्रतिनिधिलगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियोे ।

  • दीपकराजको लामो स्टाटस- नयाँ व्यक्ति र शक्तिबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चल्यो

    दीपकराजको लामो स्टाटस- नयाँ व्यक्ति र शक्तिबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चल्यो

    काठमाडौं । निर्माता एवं हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय एकले अर्कोलाई राष्ट्रघाती र तानाशाह भन्ने प्रवृत्ति देखिएको भन्दै यो भिडन्तको संकेत भएको आशंका जनाएका छन् । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं ।

    दीपकले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदाएको भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

    ‘नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो’, उनले स्टाटस लेख्दै भनेका छन्, ‘हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो । अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !’

    ‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्नेछौं । यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ’, दीपकले लेखेका छन् ।