काठमाडौं । गायक राजु लामा र ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वरमा ‘धन्यवाद’ सार्वजनिक भएको छ ।
‘भ्वाइस अफ नेपाल सिजन ४’को विजेता बनाउन सपोर्ट गर्ने सम्पूर्ण शुभचिन्तकलाई समर्पित गर्दै कोच राजु र विजेता करणले ‘धन्यवाद’ सार्वजनिक गरेका हुन् ।
राजुकै शब्द तथा संगीत रहेको गीतलाई देवेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । गीतको भिडियोमा भने गुरु–चेला (राजु र करण) स्वयं फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् ।
भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै सिनेमाटोग्राफी रहेको छ । इडिट तथा कलर करेक्सनको पाटो भने सुप्रिम पराजुलीले सम्हालेका छन् । गीत करण राई यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौं । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो ।
मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञान कुमार कट्टेल मिलेर निर्देशन गर्दैछन् । सिरिजकको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ ।
वेब सिरिजमा अभिनेता रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञान कुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकर राज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।
निर्देशक राउत र कट्टेलको लेखन रहने वेब सिरिजमा दिपेन्द्र हमालको मेकअप, श्याम केसी प्रोडक्सन, दिनेश कार्की सहायक निर्देशक, शृङखला निर्देशक कुलदीप शर्मा, भिएफएक्स सत्यम राणा, कलर राजेन्द्र मोक्तान, व्यागराउण्ड म्युजिक प्रमोद परियार, द्धन्द्व निर्देशक देव महर्जन, छायांकन लक्ष्मण घिमिरे तथा बन्दे प्रसादले सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् ।
काठमाडौं । गैरसरकारी क्षेत्रदेखि पत्रकारितामा सक्रिय भानु बोखिमको उपन्यास गोधुली गीत सार्वजनिक भएको छ । काठमाडौंको मण्डला थिएटर हलमा पुस्तक आज लोकार्पण भएको छ ।
कलम प्रकाशनले प्रकाशन गरेको उन्यासमा वरिष्ठक कवि श्यामल र लेखक नविन विभासले बोलेका थिए । श्यामलले उन्यासले इमानदार मान्छेको इमानदार नियतको कथा भनेको बताए ।
विभासले उपन्यासले रोल्पाको माओवादी आन्दोलन बोल्ने बताए । लेखक बोखिमले आफूले पहिलोपटक २०६३ सालमा रोल्पा पुगेको भन्दै पुस्तकको रचर्नागर्भको प्रसंग सुनाएका थिए । माओवादी आन्दोलनको बारेमा उपन्यास लेखिएपनि आफू माओवादी भने नभएको बोखिमले प्यानल प्रश्नोत्तर सेसनमा सुनाए ।
अंग्रेजी साहित्यमा औपचारिक अध्ययन गरेका बोखिमको पहिलो पुस्तक कथा संग्रह थियो । ‘रुमानी साँझ’ नामक कथा संग्रहबाट नेपाली साहित्यमा प्रवेश गरेका बोखिमको ‘गोधुली गीत’ प्रथम उपन्यास हो ।
काठमाडौं । कमेडी क्लब विथ च्याम्पियन्सले कार्यक्रमको प्रस्तुतिबाट कुनै वर्ग समुदायमाथि आघात पुर्याउने उद्देश्य नभएको भन्दै माफी मागेको छ ।
कार्यक्रमको प्रस्तुतिले गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याएको बताउँदै गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएपछि थ्री पोडक्सनले माफी मागेको हो ।
एक विज्ञप्ति जारी गर्दै कार्यक्रमकाे प्रस्ततिकाे उद्देश्य विशुद्ध मनाेरञ्जनको भएपनि भुलवश केही अंश प्रशारण भएको र आगामी दिन व्यांग्यात्मक प्रस्तुतिलाई त्यस्तो हुन नदिने पनि बताएको छ ।
काठमाडौं । सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् ।
जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।
बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक सिनेमाबाट अभिनयमा तारिफ पाएका छन्।
अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।
काठमाडौं । गायक एलिजा शिवाकोटी र पंकज बरालको ‘तिमी बस्छौ मेरो मुटुमा (खाते)’ रिलिज भएको छ ।
रमेश मास्केको शब्द रहेको गीतमा बल बहादुर राजवंशीको संगीत छ भने राजु कार्कीले एरेन्ज गरेका छन् । मिक्सिङ चन्द्र चौधरीको रहेको छ भने प्रोडक्न मेनेजरको रुपमा सुवास लकान्द्री छन् ।
भिडिओको निर्देशन लेखराज तामाङ र चिफ एसिसेन्टको रुपमा विकास नेपालले भूमिका खेलेका छन् भने सम्पादन मिन रावलले र छायांकन गोकुल अधिकारीले गरेका छन् ।
भिडिओमा कलाकार विराज बास्कोटा, जेसिका पोखरेल र अतित निरौलाको अभिनय मुखरित छ । भिडिओले विशेषगरी सडकमा दुःख गर्नेहरुको प्रेमलाई जोडेको छ । निकै कष्टको संघर्षशील जीवनमा पनि माया अंकुराउँछ भन्ने भिडिओको आशय बुझ्न सकिन्छ ।
जसमा कलाकार बास्कोटा र पोखरेलले चरित्रलाई न्याय गरेका छन् ।
काठमाडौं । गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा बिना भट्टराईको शब्दमा तथा मिन गुरुङको संगीत छ ।
गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुवै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् ।
सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडिओमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ । प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।
काठमाडौं । गायक सरोज साजन श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘चुम्दा मायाले’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । लम्साल यादवको शब्दमा अर्जुन पोखरेलले निकै रोमान्टिक गीत तयार पारेका छन् । गीतको अडियो कर्णप्रिय छ । जसलाई विशेषगरि, टिकटकमा रुचाउने देखिन्छ ।
यो गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा लेन जी, उषा उप्रेति र ललना चिमरियालाई अभिनय गराएका छन् । यी तिन जनाको केमेष्ट्री भिडियोमा गज्जब देखिएको छ । तीनै जनाले भिडियोमा खुलेरै नृत्य समेत गरेका छन् ।
माइकल स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोमा सिलन लम्सालको सम्पादन, नवराज उप्रेतिको छायांकन छ । भिडिओ र गीतले दर्शकको मन जित्ने विश्वास गर्न सकिन्छ ।
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा वैवाहिक जीवन सुरु गर्ने सुरसारमा छिन् । कान्तिपुर पब्लिकेसनका सम्भव सिरोहियासँगको अफेयरलाई मूर्त रुप दिँदै उनले चाँडै लगनगाँठो कस्न लागेको समाचारहरु मिडियामा आइरहेका छन् ।
आफ्नो विवाह र प्रेमको प्रसंगमा श्रृंखला स्वयं भने पूर्ण रुपमा मौन छिन् । न परिवारजनबाटै कुनै जानकारी दिइएको छ । केही दिनअघि सम्भवका भाइ अनुभवको इंगेजमेन्टमा श्रृंखला सम्भवकी जोडीका रुपमा उपस्थित भएपछि बल्ल उनीहरुको सम्बन्धले आधिकारिता पाएको हो । सिरोहिया परिवारको पारिवारिक तस्वीरमा उनी अटाएकी थिइन् ।
श्रृंखला यसअघि लामो समयसम्म भ्लगर सिसन बानियासँग प्रेममा थिइन् । सिसनसँग ब्रेकअपपछि उनी सम्भवसँग नजिकिएकी हुन् । सिसन-श्रृंखलाको प्रेम सामाजिक सञ्जालमा छताछुल्ल थियो । तर, सम्भव-श्रृंखलाको प्रेम गोप्य छ । सामाजिक सञ्जालमा भने श्रृंखलाको विवाहको प्रसंग हटकेक बनिरहेको छ । उनको विवाहलाई लिएर पूर्वप्रेमी सिसन बानिया ट्रोलको शिकार भइरहेका छन् । सिसन र श्रृंखलाका पुराना भिडियोहरु टिकटकमा हालेर दुवैलाई जिस्काउने काम भइरहेको छ ।
सम्भवतः यही प्रवृत्तिबाट आजित भएर श्रृंखलाले आज आफ्नो इन्टाग्राममा सामाजिक सञ्जालप्रति आफ्नो दुःखेसो पोखेकी छन् । आफ्नो डेली लाइफको एउटा भिडियो बनाएर पोस्ट गर्दै श्रृंखलाले शब्दहरुमा आफूलाई पोखेकी हुन् ।
श्रृंखलाले भनेकी छन्, ‘मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको थिएन । अफसोस्, सामाजिक सञ्जाल भने मेरो जीवन जस्तो भएन । धन्न म कृतज्ञ छु, कम्तिमा म मेरो सामाजिक सञ्जाललाई चाहेको बेलामा लगआउट गर्न सक्छु ।’
श्रृंखलाले आफ्नो विवाहको विषयमा केही पनि लेखेकी छैनन् । तर, उनको भिडियोका एकाध दृश्यमा सम्भव सिरोहिया अटाएका छन् ।
उनले अंग्रेजीमा लेखेको स्टाटसको नेपाली अनुवादः
ठीक एक महिनाअघि म नेपाल फर्किएँ । झोलाहरू प्याक गरें, मेरो २ वर्षको अमेरिकी यात्रालाई ३ वटा सुटकेसमा भरे, मेरो उडानमा पुगें र उडानको २१ घण्टापछि म घर फर्किएँ । मेरो संसार अचानक त्यही फर्कियो, जहाँ मैले पहिले छाडेकी थिएँ । माहोल उहीं । फरक थिएँ त केवल म । धेरै कुराहरू छन्, जुन म सबैसँग शेयर गर्न चाहन्छु । सबैसँग । मेरा शुभचिन्तकहरू र अनुयायीहरूसँग जसले म उठेको र लडेको देख्नुभएको छ र जो सामाजिक सञ्जालमा मेरा लागि आएका घृणाहरुमा पनि मेरो साथ उभिनुभएको छ । म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु ।
तर, दुःखको कुरा आज म त्यो विन्दू आइपुगेकी छु, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सक्दिनँ । इन्टरनेटमा भएका जो-कोहीले तपाईंको कथाको स्वामित्व ग्रहण गर्छन् । म यस्ता क्रियाकलापबाट थकित भइसकें । अहिलेका लागि म तपाईंहरुसँग यति नै शेयर गर्न सक्छु । मेरा हरेक चालहरु शान्ति, प्रेम र प्रेरणाले भरिएको छ । म फर्किएलगत्तै आफूलाई काममा व्यस्त बनाएकी छु । म दैनिक एक कडा दिनचर्या पालना गर्छु । म थकित हुँदै १० बजे ओछ्यानमा जान्छु र बिहान चाँडै उठ्छु । मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको थिएन ।
अफसोस्, सामाजिक सञ्जाल भने मेरो जीवन जस्तो भएन । धन्न म कृतज्ञ छु कि कम्तीमा म मेरो सामाजिक सञ्जाललाई मैले चाहेको बेलामा लगआउट (बन्द) भने गर्न सक्छु । म मेरो वरिपरि भएका मानिसहरूका लागि कृतज्ञ छु । म मेरो अफलाइन जीवन र मेरो वास्तविक जीवनको लागि कृतज्ञ छु । यो मेरो अहिलेको जीवन हो । काम, मेरो परिवार र नजिकका साथीहरू । मर्निङ वाक र साँझपख पाटन वरिपरिको घुमाइ र सम्भावना बोकेको नयाँ सुरुवात । यदि म मेरो सार्वजनिक कथा र सोचलाई आकार दिन सक्दिनँ भने त्यसमा पनि मलाई कुनै आपत्ति छैन । यसले मलाई मेरो करियर र मेरो व्यक्तिगत जीवनलाई आकार दिने ठाउँ दिएको छ । मैले मानसिक रूपमा लामो समय अगाडि छोडेको आफ्नो संस्करणलाई अगाडि बढाउने अवसर दिएको छ ।
काठमाडौं । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ ।
डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेसिया, पुष्प खड्का, कविता नेपालीलगायतको अभिनय छ ।
गीतमा कामेश्वर गब्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ ।
जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुमागाईंको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोका निर्माता पनि शिशिरजय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।
गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शकश्रोताको मन जित्नेमा आफू ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए ।
काठमाडौं । म्युजिक एण्ड भ्वाइस स्टुडियो, नक्साल । ८१ वर्षका संगीतकार रञ्जित गजमेर हार्मोनियमका कीहरुमा औंला चलाइरहेका छन् । नयाँ गीतको ट्युन खोजिरहेका छन् । छेवैमा छिन् मुम्बईमा संगीत पढेर आएकी गायिका लावोनी चक्रवर्ती ।
मुम्बईमै हुर्किएकी लावोनी विवाह गरेर नेपाल आएपछि नेपाली संगीतमै करियर खोजिरहेकी छन् । रञ्जितले एक गीत तयार गरिदिएका छन् लावोनीका लागि । त्यही गीतको अभ्यासस्वरुप रञ्जितको सामुन्ने बसेर उनले गाएका गीतका लाइनहरुलाई पछ्याइरहेकी छन् लावोनी ।
सँगै छन्, रेकर्डिस्ट चाँद सिंह ।
रेकर्डिस्ट चाँद तीन दशकभन्दा बढी भयो दार्जिलिङबाट नेपाल आएको । रञ्जित पनि दार्जिलिङबाटै ५५ वर्ष अगाडि नेपाल आएका थिए लेखक पिटर जे कार्थकसँग । त्यही दार्जिलिंगे साइनोले रञ्जित चाँदको स्टुडियो पुगेका थिए लावोनीका लागि ।
लावोनी बोलिन्, ‘गुरुको गीतमाथि बोल्न सक्दिनँ । यो गीत चाहिँ मेरा लागि हजुरको आशीर्वाद र प्रसाद भयो ।’
गीतको काम सकिएपछि हामीसित कुराकानीका लागि उनी तयार भए । हामीले सोध्यौं, ‘अझै पनि गीत कम्पोज गरिरहनुभएको छ । तपाईंको करियरमा विश्राम भन्ने चाहिँ रहेनछ !’
अहिलेको पुस्ताले टिकटक बनाउने पुराना कर्णप्रिय गीतहरुको ट्युन उनले हार्मोनियमबाटै निकालेका थिए । उस्तै संख्यामा चलचित्रहरुमा पनि संगीत भरे । एउटा होइन, दर्जनौं कर्णप्रिय गीतहरु नेपाली संगीतलाई दिएका रञ्जित ६ दशकपछि पनि उस्तै छन् । नयाँ नयाँ ट्युन सृजना गरिरहेकै छन् ।
‘हेर भाइ, म थाकें भने त बिरामी भइहाल्छु नि !’, रञ्जित आरामले बोले ।
‘तपाईंको उमेर त फेरि ८१ भयो नि ?’
‘कसले भन्यो ? म १८ वर्षमात्रै हो’, दार्जिलिंगे लवजमा ठट्यौली बने रञ्जित ।
उनी वेलावेला काठमाडौं आइरहन्छन् । काठमाडौं आउने बहाना त्यही संगीत नै हो । अमेरिकातिर रहेका संगीतप्रति लगाव भएका भुटानी शरणार्थीहरु उनको संगीत खोज्छन् । रञ्जित पनि तयार भइदिन्छन् र केही थान नयाँ गीतहरु लिएर काठमाडौं आइपुग्छन् ।
०००
चाहे ‘पिरतीको मीठो तिर्सना’ होस्, या ‘के भन्ने हाम्रो समय’ ! ‘मोहनी लाग्ला है’ होस् वा ‘कुसुमे रुमाल’ ! ‘नयाँ नयाँ सजाऔं है संसार’ होस् या ‘वीरताको चिनो’ वा ‘इशाराले बोलाउनु पर्दैन’ ! खोज्दै जाँदा वा सुन्दै जाँदा रञ्जितले संगीत भरेका दर्जनका दर्जन कालजयी गीतहरुको सूची बन्छ ।
अहिलेको पुस्ताले टिकटक बनाउने पुराना कर्णप्रिय गीतहरुको ट्युन उनले हार्मोनियमबाटै निकालेका थिए । उस्तै संख्यामा चलचित्रहरुमा पनि संगीत भरे । एउटा होइन, दर्जनौं कर्णप्रिय गीतहरु नेपाली संगीतलाई दिएका रञ्जित ६ दशकपछि पनि उस्तै छन् । नयाँ नयाँ ट्युन सृजना गरिरहेकै छन् ।
सृजनाकै सिलसिलामा काठमाडौं आउँछन् । गीतकै सिलसिलामा मुम्बई फिर्छन् । अनि संगीतकै लयमा हाँस्छन्, बाँच्छन् ।
काठमाडौं आउँदा रञ्जितले साह्रै मिस गर्ने एक साथी छन्, नोर्बु योञ्जन ।
भलै नोर्बु यस संसारमा अहिले छैनन् । तर, रञ्जित जब काठमाडौं आउँछन्, उनको स्मृति नोर्बु खोज्दै क्षेत्रपाटीतिर पुग्छ । जहाँ नोर्बुको घर थियो ।
‘संगीत कहिल्यै बदलिँदैन । सरगम त्यही हो । यति हो, संगीतलाई कतिले माथि उठाएर लगे । कतिले लत्ता छाडेर गए । लत्ता छाडेका संगीतहरुबारे मलाई केही भन्नु छैन ।’
दार्जिलिङमा कलेज पढ्दाखेरिसाथी बनेका थिए काठमाडौंका नोर्बु । तर, नोर्बु संगीतमा थिएनन् । पछि सन् १९६८ मा रञ्जित दुई छोरी र श्रीमती लिएर काठमाडौं आइपुगे । काठमाडौंमा कहाँ बस्ने, कहाँ खाने ? अत्तोपत्तो थिएन उनलाई । सिर्फ यति सुनेका थिए, काठमाडौंमा गाउन रेडियो नेपाल छ । काम गर्न ठूल्ठूला होटेल छन् । सँगै स्कुलहरुमा पनि पढाउन पाइन्छ ।
सुनेकै भरमा काठमाडौं छिरेका रञ्जितको नोर्बुसित भेट भयो ।
नोर्बुले सोधे, ‘तिमी कहाँ आएको ?’
‘कहाँ आउनु नि, काठमाडौं आएको ।’
‘कहाँ बस्दैछौ ?’
‘त्यही बस्ने जगा हेर्दैछु ।’
‘हैट, यसरी हुन्छ ?’, नोर्बुले रञ्जितलाई प्रश्न गरे । अनि रञ्जितको परिवारलाई लिएर क्षेत्रपाटीस्थित आफ्नो घरमा गए ।
‘उसले (नोर्बु) बावुआमा बस्ने कोठा खाली गरेर मलाई बस्न दिएको थियो । त्यो म कहिल्यै बिर्सदिनँ’, गला रोक्दै बोल्छन्, ‘ऊ संगीतमा थिएन । यसै साथी बनेको थियो । तर, साथीले आफ्नो घरका मान्छे खाली गराएर मलाई बस्न दिनु कम्ति ठूलो कुरा थिएन त्यसवेला ।’
०००
नेपाली संगीतको एक स्कुल अम्बर गुरुङ बिते । गोपाल योञ्जन बिते । अरुणा लामा बिते । नेपाली संगीतलाई उठाएका अरु थुप्रै उस्ताद संगीतकारहरुको देह यस संसारमा छैन ।
रञ्जित भने अहिले पनि संगीत भरिरहेका छन् । पुराना पुस्तासँग सहकार्य गरेका रञ्जितको अहिलेका नयाँ पुस्तासँग पनि सहकार्य जारी छ । तर, हिजोको संगीत र अहिलेको संगीतमा कत्तिको बदलाव महसुस गर्छन् रञ्जित ?
उनको सीधा जवाफ छ, ‘संगीत कहिल्यै बदलिँदैन । सरगम त्यही हो । यति हो, संगीतलाई कतिले माथि उठाएर लगे । कतिले लत्ता छाडेर गए । लत्ता छाडेका संगीतहरुबारे मलाई केही भन्नु छैन ।’
‘अहिले गाउनेहरुसँग कुनै गहिराइ छैन । संगीत सिकेर गाउनेहरुभन्दा पनि सुनेर गाउनेहरु धेरै छन् । संगीत त सिक्नैपर्छ । कोही गुरु हुनैपर्छ । नसिकेर बनाइएका संगीत भूईंफुटुवा जस्तै हुन्छ, त्यसको पात एक दुई दिनमा झरिहाल्छ ।’
पहिले संगीतमाथि धेरै मेहनत हुन्थ्यो । गाउन सिक्थे । अहिले त धेरैले मोबाइलबाटै सिक्छन् । एउटा कर्ड बनायो, सकियो । एउटा गीत चल्नासाथ गीत बनाउने र गाउनेले कोहीसँग बात गर्नै छाड्छन् । यस्तो दृश्यले चाहिँ रञ्जितलाई खिन्न बनाउँछ ।
रञ्जितले अरुणा लामादेखि अञ्जु पन्तकै पनि पहिलो गीतको कम्पोज गरेका थिए । अन्य गायकगायिकासँग पनि सहकार्य गरे ।
तर, रञ्जितको प्रस्ट विश्लेषण छ, ‘अहिले गाउनेहरुसँग कुनै गहिराइ छैन । संगीत सिकेर गाउनेहरुभन्दा पनि सुनेर गाउनेहरु धेरै छन् । संगीत त सिक्नैपर्छ । कोही गुरु हुनैपर्छ । नसिकेर बनाइएका संगीत भूईंफुटुवा जस्तै हुन्छ, त्यसको पात एक दुई दिनमा झरिहाल्छ ।’
रञ्जितले गायकगायिकालाई भन्ने एकै शब्द हो, ‘सिक्नुपर्छ ।’
‘अहिले त कतिले गाएका गीतहरुमा सुर लागेको हुँदैन । शब्द राम्रोसँग उच्चारण गर्न सक्दैनन् । ठीक तरिकाले गाउन सक्दैनन्’, उनी भन्छन्, ‘बिगारेर गाइएका गीतहरु त ठ्याक्कै थाहा भइहाल्छ ।’
०००
सन् १९६८ मा रञ्जित सपरिवार नेपाल आउनुको एकै कारण थियो, रेडियो नेपाल ।
उनले सुनेका थिए, नेपालमा रेडियो नेपाल छ रे ! त्यहाँ अवसर पाइन्छ रे !
अनि सपरिवार नेपाल आएका थिए ।
दार्जिलिङमै हुँदा संगीतकार नातिकाजीसँग रञ्जितको भेट भएको थियो । काठमाडौं आएपछि नातिकाजीले नै रेकर्डिङमा तबला, गितार बजाउन बोलाइरहन्थे । मादल चाहिँ त्यसवेला बजाउँदैन थिए । नातिकाजी ख्यालठट्टा गरिरहने स्वभावका थिए । रञ्जित त त्यसै पनि ह्युमर भएका दार्जिलिंगे । संगत जमिहाल्ने भयो । त्यसमा मुख्य त नातिकाजी आफ्नो समयका सबैभन्दा राम्रा संगीतकार थिए ।
काठमाडौं आउनुअघि नै रञ्जितले सन् १९६४ मा अरुणा लामाको स्वर र जितेन बर्देवाको शब्दमा गीत रेकर्ड गरिसकेका थिए, ‘फूल नखिली’ ।
काठमाडौं आएपछि रञ्जित बालकृष्ण समसँग पनि नजिक रहे । अन्य भूपि शेरचन, नारायणगोपाललगायतसँग नजिक रहे ।
न्युरोडमा डाँफे रेस्टुरेन्ट थियो । त्यसवेलाका कवि, लेखक, संगीतकारहरुको जमघट हुने स्थल । रञ्जित पनि त्यहाँ गइरहन्थे ।
लक्ष्मण तिवारी भन्ने रञ्जितका साथी मोमो खान उक्त रेस्टुरेन्ट गएका थिए । लक्ष्मणका साथी वसन्त श्रेष्ठले अंग्रेजी स्कुल खोल्न लागिरहेको, दार्जिलिङतिरका शिक्षक भए राम्रो हुने बताएछन् । अनि लक्षणले भनेछन्, ‘मसँग केही केटाहरु छन् उताबाट आएका ।’
‘अहिले त कतिले गाएका गीतहरुमा सुर लागेको हुँदैन । शब्द राम्रोसँग उच्चारण गर्न सक्दैनन् । ठीक तरिकाले गाउन सक्दैनन्’, उनी भन्छन्, ‘बिगारेर गाइएका गीतहरु त ठ्याक्कै थाहा भइहाल्छ ।’
त्यसवेला काठमाडौंमा अंग्रेजी पढाउन दार्जिलिङका शिक्षकको माग राम्रो थियो । उताबाट रञ्जित, पिटर जे कार्थक, अनुराधा कोइरालाहरु आएका थिए ।
अन्ततः रञ्जितले जागिर पनि पाए ।
स्कुलमा पढाउन सुरु गरे । रामशरण दर्नालले नेपाल एकेडेमीमा पनि जागिर मिलाइदिए । त्यसवेलासम्म अम्बर गुरुङ पनि राजा महेन्द्रले बोलाएपछि काठमाडौं नै आइसकेका थिए । दार्जिलिङकै माहोल सुरु भयो रञ्जितहरुको ।
तर, काठमाडौं आएको तीन वर्षपछि मुम्बईतिर हान्निए ।
०००
मुम्बई गएर रञ्जितले संगीतकार आरडी बर्मनसँग काम गर्न थाले । विशेष गरेर हिन्दी गीतहरुमा मादल बजाउन थाले ।
एकसेएक गायकहरुसँग काम गरे । लता मंगेशकर जस्ता गायिकाहरुसँग आमनेसामने बसेर काम गरे । तर, मुम्बई गएर जति सिके पनि रञ्जितलाई लाग्छ, ‘दुनियाँको जुनसुकै कुनामा पुगे पनि संगीत भनेको संगीत नै हो । यसको स्टाइलहरु मात्रै परिवर्तन हुन्छ । चालहरु परिवर्तन हुन्छन् । तर, सुर त त्यही नै हो ।’
आरडी बर्मन कसैले चिताउन नसक्ने प्रतिभा भएको रञ्जितको आँकलन छ ।
रञ्जित भन्छन्, ‘आइतबार रेकर्डिङ हुँदैन थियो । तर, आफ्ना केटाहरुलाई खुवाउनुपर्छ भनेर आफैं खाना बनाएर पालेसम्मलाई खुवाउनुहुन्थ्यो । उहाँको स्तर नै अलग्गै हो ।’
रञ्जितलाई लाग्छ, हामीले संगीत साह्रै हल्काफुल्का तरिकाले गर्ने गरेका छौं । यसको तुलनामा बलिउड धेरै नै गम्भीर भएको रञ्जितको अनुभव छ ।
रञ्जितका अनुसार लता मंगेशकर नै स्टुडियोमा पस्नासाथ सीधा गएर रेकर्डिस्टलाई ढोग्थिन् । लताको स्वरमा रेकर्डिस्टले काम गरिदिने भयो । रेकर्डिस्टले यताउतामात्रै गरिदियो भने त सक्कियो !
रञ्जित थप्छन्, ‘भारतमा सत्कार पनि भयंकर छ । सिनियरलाई एकदमै सम्मान गर्छन् । हाम्रोमा त्यस्तो संस्कार नै छैन ।’
केही समयअघि मुम्बईमा रञ्जितकहाँ गोपाल योञ्जनकी श्रीमती रिन्छेन योञ्जन पुगेकी थिइन् । गोपालमाथि के के काम गर्ने भनेर पुगेकी रिन्छेन एक स्टुडियोमा गइन् । जहाँ म्युजिकसियन आएर भ्वयोलिन खोलेर ढोग गरे । केही समय प्रार्थना गरे । अनिमात्रै काममा लागे ।
रञ्जित भन्छन्, ‘रिन्छेन त छक्क परिन् । यस्तो पनि हुँदो रहेछ भनिन् । त्यो त उनीहरुको रोजीरोटी हो, प्यासन हो । अनि आफ्नो क्षेत्रलाई त्यति सम्मान नगरेर हुन्छ ? नेपालमा त्यस्तो छैन ।’
रञ्जित भन्छन्, ‘नेपाली शास्त्रीय संगीत नै छैन । हामीले क्लासिकल भन्नासाथ भारतीय क्लासिकलको सहारा लिनुपर्छ । हाम्रो गीतका लागि त हामीले गाउँगाउँ पसेर लोकगीतहरु खोज्नुपर्छ । तर, यस्तो गर्ने फुर्सद कसलाई ? सबैलाई आफ्नो मानो भर्दैमा ठिक्क छ ।’
यस्तै यस्तै कारणले पनि नेपाली संगीत कमजोर भएको लाग्छ रञ्जितलाई । बलिउडबाट त पूर्ण रुपमा प्रभावित हो भन्ने लाग्छ ।
‘अहिले सबै गीतहरु बलिउड जस्तै बनाउँछन् । सबैले नक्कल गर्छन्’, रञ्जित भन्छन्, ‘नेपाली शास्त्रीय संगीत नै छैन । हामीले क्लासिकल भन्नासाथ भारतीय क्लासिकलको सहारा लिनुपर्छ । हाम्रो गीतका लागि त हामीले गाउँगाउँ पसेर लोकगीतहरु खोज्नुपर्छ । तर, यस्तो गर्ने फुर्सद कसलाई ? सबैलाई आफ्नो मानो भर्दैमा ठिक्क छ ।’
०००
दार्जिलिङमै हुँदा सबैको टाउको थिए अम्बर गुरुङ । अम्बर गुरुङको पछिपछि थिए रञ्जित, अरुणा, शरण प्रधान, कर्मा योञ्जन, गोपाल योञ्जनलगायत ।
अरुणा त रञ्जितको ‘तँ तँ, म म’को साथी थिइन् । अरुणाका गीतहरुमा तबला बजाउने रञ्जित नै हुन्थे । कर्मा योञ्जनले हार्मोनियम बजाउँथे । गोपाल योञ्जन बाँसुरी बजाउँथे । शरण प्रधान मेन्डोलिन बजाउँथे । पिटर जे कार्थकको दिदीको छोरा ललित तामाङ गितार बजाउँथे ।
रञ्जितलाई लाग्छ, गोपाल योञ्जन ट्युनभन्दा पनि शब्द एकदमै राम्रा लेख्थे । अम्बर गुरुङ भने ट्युन साह्रै राम्रो बनाउँथे ।
अलि पछि भारतीय सरकारले दार्जिलिङमा फोल्क इन्टरटेनमेन्ट सेक्सन भन्ने संस्था खोल्यो । अम्बर गुरुङले त्यहाँ काम पाए । गोपाल, शान्ति ठटालले पनि काम पाए । अम्बर गुरुङ त्यता व्यस्त भएपछि रञ्जितहरुको समूह अलि धर्मरायो ।
यताउता कार्यक्रममा आउने, जाने चाहिँ भइरहन्थ्यो । त्यसैवेला अरुणाले रञ्जितलाई भने, ‘हामी अलग्गै केही गरौं न ।’
यसपछि संगम नामक संस्था जन्मियो । संगीत गर्नलाई शरण प्रधान र रञ्जित मिले- शरण रञ्जित । गीत लेख्नलाई जितेन बर्देवा । समूहको नेतृत्व अरुणाले गरिन् ।
अरुणाबारे रञ्जितको बुझाइ छ, ‘गाउनेहरु त अहिले पनि एकसेएक छन् । तर, अरुणाले जुन डेडिकेसनका साथ गाउँछिन्, जसरी गाउँछिन्, बयान गरिसाध्ये छैन ।’
अहिले पनि नेपाल आउँदा ती सबैलाई सम्झन्छन् रञ्जित । उनलाई नेपालमै बसुँ भन्ने पनि नलाग्ने होइन । तर, उनका सबै परिवार मुम्बईतिरै छन् । रञ्जित भन्छन्, ‘कति नै टाढा हो र मुम्बई र काठमाडौं । कसैले माया गरेर बोलाए त आइरहन्छु नि ।’
काठमाडौं । गायक प्रकाश सपुतले रोमानियामा प्रस्तुती दिँदै गर्दा बोतल प्रहार भएको विषयले आफूलाई मानसिकरुपमा विक्षिप्त बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमार्फत घटनाको घोर भत्सर्ना र निन्दा गर्दै घटनासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको बताएका छन् ।
‘घटनासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ’, सपुतले लेखेका छन्, ‘अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु ।’
हुन त आफूले जीवनमा आइपर्ने संघर्ष र यस्ता विषयमा पढ्दै सुन्दै आएपनि आफू यसका लागि तयार नभएको आभास भएको व्यक्त गरे ।
‘यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घटनाहरुले यात्रा अफ्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ’, उनले लेखेका छन्, ‘कोभिड पछाडि यस्तो डर(एन्जाइटी) लाई पटक–पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु ।’
उनले आफूलाई बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थितिलाई राम्रोसँग जानेको उल्लेख गर्दै सानै उमेरमा ठूलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको बताएका छन् । सपुतले मानसिक समस्याको खुलेर कुरा गरौं भन्दै विदेशका कार्यक्रमहरुमा जाँदा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको उल्लेख गरे ।
उनले आफूमाथिको बोटल प्रहार एउटा संयोग मात्रै नभएर बाध्यता र परिस्थितिको उपज पनि भएको पनि बताएका छन् । आफूले यस्ता विषय आफ्नो सिर्जनामा समेट्दै आएको पनि बताए ।
उनले रोमानियाकै रेष्टुरेन्टमा काम गरिरहेका नेपाली युवाहरुसँगको तस्बिर शेयर गर्दै अरुको जीवनमा आफूले खुशी दिन सक्नुले झनै ठूलो उपलब्धि महसुस गराउने बताए ।
उनले आफूले रोजेको बाटो हिँडिरहेको र गोली नै ठोक त अलग कुरा अन्यथा कसैले आफूलाई निरुत्साहित बनाउने सोचेको भए असफल हुने भन्दै आफूले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहने बताए भने अब कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने पनि दृढता व्यक्त गरेका छन् ।
उनले कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्ने सम्पुर्ण कलाकर्मी, संगितकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लगायतका सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद पनि दिएका छन् ।
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले सिंगो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याएको बताउँदै गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ । कार्यक्रममा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति संगठनले आपत्ति जनाएको हो ।
संगठनका महासचिव अनिल गन्धर्वले उक्त शोमा पटक पटक गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्याउने खालका प्रस्तुति आइरहेको र सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भएर सार्वजनिक रुपमा विरोध जनाउनुपरेको बताउँदै विज्ञप्ति जारी गरेका हुन् ।
‘गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा र सारंगीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि हाम्रो आपत्ति छ,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘अतः उक्त कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारंगी प्रयोगको प्रसारणलाई तत्काल रोकी सम्पूर्ण शृंखलाबाट सो पात्रको भिडियो हटाई सार्वजनिक रुपमा माफी माग्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । त्यसो नगरिएको खण्डमा कानूनी सहायता लिई अघि बढिने कुराको समेत जानकारी गराउँछौं ।’
कमेडी क्लब विथ च्याम्पियन्सको ६७औं भागमा कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रुपमा प्रस्तुति दिएका थिए ।
काठमाडौं । निर्माता ज्योतिराज राईको ब्यानरमा निर्माण भएको चलचित्र ‘लुङ्गा’को लिरिकल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको छ ।
लिरिकल गीतमा चलचित्रका मुख्य पात्र भुवन सिंह राई र सारा लोहोरुङ राईको केही प्रेमील दृश्यहरु समावेश छन् । चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
किरण राईको निर्देशित चलचित्रमा सन्जिब राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि.आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।
पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
भुमिसा प्रोडक्सनसंग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, शैलेन्द्र बाबु प्रधानको पृष्ठभुमि संगीत, अनिल रानाको कलर करेक्सन र बिमल लिम्बू र निशान लुइँटेलकोकला निर्देशन रहेको छ। चलचित्रमा राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान र निमा तामाङस्वर दिएका छन् ।
भुवन सिंह राईले लेखेको कथामा भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखन छ । चलचित्रको डिजिटल पार्टनर ओ.एस.आर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको गर्नेछ ।
काठमाडौं । चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। मिलन आले निर्देशित चलचित्रको बिहीबार फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
चलचित्रलाई सुशील पंगेनीले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंमले लेखेका हुन्। बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश श्रेष्ठ,रेखा शाह, सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन् ।
काठमाडौं । आज बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा परस्त्रीको बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । सिनेमा हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई मन पराए ।
प्रिमियर शोमा सिनेमा हेर्ने सिनेमाकर्मी र रंग पत्रकार सिनेमामा कलाकारकको अभिनय डेव्यु निर्देशक सुरज पाण्डे र दिपेन्द्र के खनालको लेखनको उच्च प्रशंसा गरेका थिए । बुधबार परस्त्री हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।
दर्शकलाई सिनेमा ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित सिनेमाकर्मी र पत्रकारको थियो । बुधबार आयोजित सिनेमाको प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न सिनेमा ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएका छन् ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको सिनेमालाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, सिनेमाको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । सिनेमाबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाई उनको छ ।
श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा सिनेमा निर्माण भएको छ । सिनेमाका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भैरहेको छ । उनीहरूले सिनेमामा गरेको अभिनयको उच्च प्रशंसा गर्नै पर्ने बुझाई सिनेमाकर्मीको थियो । कलाकारको उत्कृष्ट कामका कारण पनि सिनेमा उत्कृष्ट बनेको विश्वास उपस्थित पाहुनाको छ ।
सिनेमाको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, सुरजले आफुलाई लभ लभ लभमा आफुलाई एउडटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो सिनेमा निर्देशन गरेकोमा आफुलाई गर्व लगेको बताइन् । आफुले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।
काठमाडौं । टिकटकबाट उदाएकी मोडल गरिमा शर्मा अहिले आफ्नो एउटा इन्स्टाग्राम पोस्टलाई लिएर चर्चामा छिन् । सोमबार उनले इस्टाग्राम स्टोरीमा हालेका तस्वीर र लेखेका शब्दहरुले दर्शकको मनमा कौतुहल सिर्जना गरिरहेको छ– के उनी प्रेममा परेकै हुन् ?
उनले एक युवकसँगका केही तस्वीरहरु सेयर गर्दै लेखेकी छिन्, ‘हल्का हल्का माया बस्यो कि ?’
उनका थप प्रेमिल शब्दहरु छन्, ‘मैले थाहा नपाएको यस्तो ठाउँमा लैजाउ, जहाँ विश्व अति नै सरल छ । म ताराहरुलाई जमिनमाथि चम्किएको हेर्न चाहन्छु ।’
तस्विरमा युवकको अनुहार भने प्रष्ट देखिएको छैन । उनले युवकसँग हात मिलाएर मुटुको आकार ‘हार्ट सेप’ समेत बनाएकी छन् । यति भएपछि कतिपयले उनीहरुलाई ‘लभ कपल्स’ का रुपमा हेर्न थालिहाले ।
गरिमा आफ्नो निजी जीवनका विषयहरु यति सजिलै र सरक्कसँग बाहिर ल्याइहाल्ने कलाकार होइनन् । त्यसमाथि लभ अफेयरजस्तो कुरा गोप्य नै राखेको राम्रो हुन्छ भन्ने मान्यता छ उनको । त्यसोभए किन उनले हतारिएर आफ्नो ‘प्रेमी’ सार्वजनिक गरिदिइन् त? हामीसँगको कुराकानीमा उनले स्पष्ट जवाफ दिइनन् ।
हाँस्दै भनिन्, ‘खोइ ? हल्का हल्का माया बस्यो कि ?’
फेरि आफैं रोकिइन्, ‘होस, यसबारे म अहिले केही बोल्दिन । अलिकति रहस्यकै कुरा छ । केही दिनमा दर्शकले आफैं थाहा पाउनुहुने छ ।’
तस्वीरमा अनुहार छोपिएका युवक पनि एक मोडल हुन् । चलचित्र ‘सरी मम’ मा अभिनय समेत गरेका यी ‘क्युट व्वाइ’ हुन्– प्रभात पल ठकुरी हुन् । गरिमासँग प्रभातको व्यक्तिगत निकटता छ भन्ने उनले टिकटकमा राखेका केही भिडिओहरुबाट थाहा हुन्छ । प्रभातले पोस्ट गरेको जोडी तस्विरसहितको टिकटक भिडियोमा गरिमाले ‘हल्का हल्का माया बस्यो…’ लेख्दै रातो पानाको ईमोजी राखेकी छन् । उनको कमेन्टमा जवाफ दिँदै प्रभातले पनि ‘खै’ लेखेर उस्तै इमोजी राखेका छन् । प्रभातले आफ्नो इन्स्टाग्राममा पनि गरिमासँगका केही भिडियो क्लिप्सहरु पोस्ट गरेका छन् ।
उनीहरुको यो कस्तो खालको निकटता हो भन्ने भेद चाँडै खुल्ला । तर अहिले गरिएको पोस्ट चाहीँ उनीहरुको एउटा व्यवसायिक सहकार्यसँग सम्वन्धित रहेको बुझिन्छ । उनीहरुले एउटा नयाँ म्युजिक भिडियोमा सँगै काम गरेका छन् । यो भिडियो उत्पादन गरिमा स्वयम्ले गरेकी हुन् । पहिलोपटक म्युजिक भिडियोमा आफैं लगानी गरेकी गरिमा यसको पब्लिसिटीका लागि विभिन्न उपाय लगाइरहेकी छन् ।
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठको विवाहले गसिपको बजार यसरी तताइरहेको छ, जसरी आँपले तताइरहेको छ तरकारी-फलफूलको बजार । चर्चा रविनाको मात्रै भइरहेको छैन, ‘बाइप्रडक्ट’का रुपमा परिवारका अन्य सदस्यहरुका पनि विभिन्न किस्साहरु आइरहेका छन् ।
यो विवाहको एउटा महत्वपूर्ण पाटो भनेको दुवै तर्फका परिवारको उल्लासपूर्ण सहभागिता हो । रविनाका दुई छोराहरु आयुष्मान र आसिरमान आमाको विवाहमा निकै खुशी देखिए । बुहारी प्रियंका पनि सासूलाई अन्माउँदा उत्तिकै उत्साहित थिइन् । रविनाकी नातिनी तथा प्रियंका-आयुष्मानकी सानी छोरी आयांकाले हजुरआमाको विवाहमा रमाइलो थपिन् ।
बेलायती दुलाहा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको परिवारका सदस्यहरु पनि विवाहमा उपस्थित भएका थिए । छोरा अलेक्जेन्डर च्यापम्यान बेहुला बाबुको साथमै देखिन्थे । छोरी इसाबेला च्यापम्यान आफ्नी छोरी (स्टुअर्टकी नातिनी) च्यापेर आएकी थिइन् । दुलहीका छोरा आयुष्मान र दुलाहाकी छोरी इसाबेला कुम ठोक्काउँदै नाचेको भिडिओ टिकटकमा भाइरल छ ।
विवाहको अर्को चर्चायोग्य विषय चाहिँ रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयुष्मान देशराजकी पूर्वप्रेमिका परमिता आरएल राणाको उपस्थिति रह्यो । उनी विवाहमा श्रीमानकी पूर्वप्रेमिकाको आगमनलाई प्रियंकाले सहजरुपमा लिइन् । प्रियंका र परमिता आपसमा नारिएर मग्नसँग नाचेका थिए ।
प्रियंकाले किन सहज मानिन् भने परमिता उनका श्रीमानसँग होइन, देवरसँगको निकटताले त्यहाँ उपस्थित भएकी थिइन् । यो विवाहपछि आयुष्मानका भाइ आसिरमानसँग परमिताको प्रेम चर्चासमेत सुरु भएको छ । यदि यो सत्य हो र भविष्यमा आसिरमानले परमितासँग विवाह नै गरे भने प्रियंकाको परिवारभित्र गाइजात्राकै अवस्था हुने देखिन्छ । परमिताले पूर्वप्रेमीलाई जेठाजु भन्नुपर्ने हुन्छ । प्रियंकाले श्रीमानकी पूर्वप्रेमिकालाई देउरानी मान्नुपर्ने छ । यो परिवारको पृष्ठभूमि हेर्दा त्यो दिन नआउला भन्न सकिन्नँ ।
यसैबीच परमिताले आसिरमानसँगको सम्वन्धका विषयमा मुख खोलेकी छन् । उनले आसिरमानलाई ‘आफ्नो सानो भाइ’ को संज्ञा दिइन् । इन्टाग्राममा उनले आसिरमानसँग नाचेको तस्वीर राखेकी थिइन् । त्यसमा एकजनाले ‘नाइस कपल’ लेखेपछि परमिताले ‘हि इज माइ लिटल ब्रदर’ लेख्दै गलल हाँसेको इमोजी हालेकी छन् ।
सामाजिक सञ्जालमा ‘लिटल ब्रदर’ भन्दैमा उनीहरुको सम्बन्ध दिदीभाइकै होला भनेर ठोकुवा गर्न चाहिँ सकिन्नँ । विगतमा प्रियंका र आयूष्मान पनि ‘दिदी-भाइ’ कै रुपमा थिए । तर, पछि प्रेमि-प्रेमिका बने र विवाहसमेत गरे ।
परमिता र आयुष्मान लामो समय प्रेम सम्वन्धमा थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए । पहिलो विवाह टुटेर एकल जीवन बाँचिरहेकी प्रियंकाले आफूभन्दा धेरै कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । आयुष्मानको चाहिँ पहिलो विवाह हो ।
यता, आयूष्मानकी आमा रविनाको पनि पहिलो विवाह तोडिएको थियो । रविनाका पहिलो श्रीमान भविन जोशी हुन् । रविनाको विभिन्न पुरुषहरुसँग नाम जोडिएपछि भविन श्रीमतीसँग कानूनीरुपमा अलग भएका थिए । दुई छोरालाई रविनाले नै हुर्काएकी हुन् । आयुष्मान र आसिरमानको बाबुसँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।
रविनाले आफ्नो बुबा र आमाको थर लेख्छिन् । उनका बुबा देशराज र आमा श्रेष्ठ हुन् । छोराहरु आयुष्मान र आसिरमानले भने बुबा र आमा दुवैको थर लेख्छन् । यसरी लेख्दा उनीहरुको नामपछाडि तीनवटा थर– देशराज जोशी श्रेष्ठ हुन गएको छ ।
बुढेसकालको विवाह भए पनि रविनाले तामझाममा कुनै कमी राखिनन् । उनी छपक्कै गहनाले ढाकिएकी थिइन् । खोइ किन हो, विवाह भारतीय शैलीमा गरिएको थियो । दुलाहा-दुलही भारतीय भेषभुषामा थिए भने दुवैतर्फका परिवारका सदस्यहरुले पनि भारतीय पहिरन लगाएका थिए । विवाहलाई ‘महिलावादी’ बनाउन होला, सात फेरा लिने क्रममा अलेक्जेन्डरलाई बेहुलीको खुट्टा ढोग्न लगाइयो । उनले पनि यही होला परम्परा भनेर ढोगिदिए ।
त्यसो त श्रीमानप्रतिको प्रेम देखाउन रविनाले पनि कुनै कसर छोडिनन् । उनी यत्रतत्र श्रीमानलाई किस खाइरहेकी थिइन् । रविना र अलेक्जेन्डरको एउटा किस भाइरल हुन नपाउँदै अर्को आइसक्थ्यो । छोराहरुकै अगाडि उनीहरुले चुम्माचाटी गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।
३० वर्ष लामो बैंकिङ करिअरलाई पूर्णविराम दिँदै रविना देशराजले गत वर्षको पुसमा मेघा बैंकको कामु सीइओबाट राजीनामा दिएकी थिइन् । मेगा र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएपछि रविनालाई डेपुटी सीइओ बनाउने सहमति थियो । त्यसअगावै उनले राजीनामा दिइन् ।
मेघा बैंकमा कार्यरत रहँदा रविनाको छवि एक सेलिब्रिटी बैंकरको रुपमा थियो । उनी पेशाभन्दा बाहिरका विषयवस्तुलाई लिएर चर्चामा आइरहन्थिन् । विगतमा रविनाको नाम त्यसबेलाका एक चर्चित नायकसँग जोडिएको थियो । उनीहरुले चाँडै विवाह गर्ने चर्चासमेत चलेको थियो । तर ती नायक पछि अमेरिका पलायन भए । उनलाई एयरपोर्टमा छोड्न जाँदा रविनाले ‘टाइट हग’ गरेकी थिइन् ।
केहीअघि रविनाको एउटा अन्तरवार्ता भाइरल भएको थियो, जसमा उनले प्रश्न गरेकी थिइन्, ‘पुरुषले दुई श्रीमती राख्दा सहज ठान्ने समाज महिलालाई दुई श्रीमान राख्न किन दिँदैन ?’
बैंकबाट राजीनामा दिएलगत्तै उनले स्टुअर्टलाई आफ्नो प्रेमीका रुपमा सार्वजनिक गरेकी हुन् । गत भ्यालेन्टाइन्स डेमा उनीहरुले ईंगेजमेन्ट गरेका थिए । आफूले चाहेजस्तो जीवनसाथी पाएको रविनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
रविनाले गरेको विवाहलाई उनको स्वतन्त्र निर्णयका रुपमा सबैले सम्मान नै गरेका छन् । तर, विवाहका क्रममा देखाइएका उछृङ्खल हर्कत र तडकभडकलाई भने मानिसहरुले पचाउन सकिरहेका छैनन् । यो परिवारले आधुनिकताका नाममा सामाजिक प्रदुषण फैलाइरहेको धेरैको टिप्पणी छ ।
काठमाडौं । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीले ‘परिचय’ बोलको गीतको मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेय अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिताको शब्द सिर्जना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।
भिडिओले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरूको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरूले भोग्नु परेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडिओमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरूले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडीको भनाइ छ ।
भिडिओमा कमल सिंह मुख्य भूमिकामा छन् भने नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ । त्यस्तै लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुली सहभूमिकामा छन् । बालकलाकारका रूपमा आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको अभिनय छ ।
भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको भिडिओको राम्रो प्रतिक्रिया आइरहेको निर्माता सुवास दाहालले जानकारी दिए । संकेत अगस्तीको निर्देशनमा तयार भएको भिडिायोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने भिडिओको सम्पादन र कलरिङ शिलन लम्सालले गरेका हुन् । यसअघि फिमेल भर्सन बजारमा आइसकेको छ ।
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा मिडिया व्यवसायी सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चलिरहेको छ । उनीहरुको इंगेजमेन्टसमेत भइसकेको गाईंगुईं पनि सुनिएका छन् । तर, दुवैका तर्फबाट आधिकारिक जानकारी दिइएको छैन ।
पारिवारिक स्रोतका अनुसार श्रृंखला चाँडै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियाकाे परिवारमा बुहारी बनेर भित्रिने तयारीमा छिन् । विवाहको विषयमा दुवै पक्षका परिवारबीच आपसी सहमति भइसकेको स्रोतको भनाइ छ । अध्ययनका लागि अमेरिकामा रहेकी श्रृंखला केही दिनअघि नेपाल फर्किएकी थिइन् ।
यसैबीच सम्भव सिरोहियाका भाइ अनुभव सिरोहियाको इंगेजमेन्ट सम्पन्न भएको छ, जसमा श्रृंखला पनि सहभागी भइन् । सम्भव र श्रृंखला ‘कपल’ को हिसाबले इंगेजमेन्टमा प्रस्तुत भएका थिए । सिरोहिया परिवारको तस्वीरमा पनि श्रृंखला अटाएकी छन्, जहाँ उनी सम्भवको आडमा देखिन्छिन् । यो तस्वीरले उनी सिरोहिया परिवारको हिस्सा बनिसकेको संकेत गर्छ ।
यति मात्र होइन । अनुभवकी हुनेवाला पत्नी मयंका राणाले श्रृंखलाको खुट्टा छोएकी थिइन् । यो दृश्यले चाहिँ सम्भव र श्रृंखलाको इंगेजमेन्ट भइसकेको हो कि भन्ने अड्कल गर्न सकिन्छ ।