काठमाडौं । कमेडियन सन्दीप क्षेत्रीले ‘ह्वाट द फ्लप’ कार्यक्रमका लागि पल शाहको अन्तरवार्ता विवादित बनेपछि कान्तिपुर टेलिभिजनले युट्यूबबाट हटाएको छ । उक्त अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए ।
ह्वाट द फ्लपमा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई सम्मान गर्दै उक्त एपिसोड युट्यूबबाट फिर्ता गरिएको कान्तिपुरले जनाएको छ ।
‘महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिवद्धता साथै एजेण्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्यूबबाट फिर्ता गरिएको छ’, सामाजिक सञ्जालमा कान्तिपुरले लेखेको छ ।
सो अन्तरवार्तामा पलको जेल यात्रालाई बहादुरीपूर्ण कार्य जसरी चित्रित गरिएको थियो । पलले रोमाञ्चित हुँदै जेल बसाईको विवरण सुनाउँदा सन्दीप क्षेत्रीले लगातार अट्टहाँस गरेका थिए । दर्शकले उनको यस्तो प्रस्तुतिलाई पचाउन सकेका थिएनन् ।
काठमाडौं । दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ विश्वभरका सिनेमा घरमा एकसाथ रिलिज हुने भएको छ ।
सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा फुलपातीमा नेपालसहित विश्वभरका धेरै देशमा सिनेमा रिलिज गर्ने कन्फर्म भएको उल्लेख गरिएको छ ।
सिनेमाको विदेश रिलिजको सम्पूर्ण जिम्मा सेभेन सिज प्रालीले लिएको छ । सार्वजनिक विज्ञप्ती अनुसार सिनेमा अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा सिनेमा रिलिज पक्का भैसकेको छ ।
सिनेमाका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद २ः भष्मे डन’ले नेपाली सिनेमाको अन्तराष्ट्रिय बजार विस्तारमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उनी भष्मे डनको यति ठूलो अन्तराष्ट्रिय रिलिजले नेपाली सिनेमा उद्योगलाई नै माथि उठान भूमिका खेल्ने बताउँछन् । यति ठुलो जिम्मेवारी सम्हाल्ने सेभेन सिज प्राली र टुकी आर्टसबीच नेपाली सिनेमाको प्रवर्द्धनको लागि आगामी दिनमा पनि सहकार्य जारी रहने उनको दाबी छ ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् ।
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने छ । सिनेमा विदेशका ठुला र नाम चलेका मल्टिप्पलेक्स चेनहरुमा पहिलो पटक रिलिज हुन लागेको हो ।
काठमाडौं । एक साता अगाडिदेखि छायांकन सुरु भएको फिल्म ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्बिर सार्वजनिक गरिएको छ ।
यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्बिरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा फिल्मका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्बिरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।
हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो हेर्दा निर्माणपक्षले उत्कृष्ट बनाउनका लागि खुबै मिहिनेत गरेको देखिन्छ ।
अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाँडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।
फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ ।
नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।
काठमाडौं। प्रहरीले चर्चित युट्युवर कुशल पोखरेलविरुद्ध पनि सट्टेबाजीमा मुद्दा दायर गरेको छ। मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशललाई फरारमा राखेर अभियोग पत्र दायर भएको छ।
९ जना युट्युबर तथा कलाकार र वान एक्स बेट कारोबारी दिनेशी खड्का र उनकी श्रीमती अनिता धितालसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरिएको छ। सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अभियोग लगाइएको छ।
युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर प्रवर्द्धन गरेको र आर्थिक लाभ लिएको आरोप लागेको छ।
काठमाडौं । कुरा हो विसं. २०३४ सालको अर्थात् आजभन्दा ४६ वर्षअघिको ।
पृथ्वीनारायण क्याम्पस पोखरामा बीए पढ्दै थिइन् उषा शेरचन । त्यसवेला रेडियो अत्यधिक सुन्थिन् उनी । रेडियोबाहेक विकल्प पनि थिएन । नेपाल टेलिभिजन त २०४१ सालमा स्थापना भएको हो ।
एक दिन उषाले रेडियो नेपालमा समाचार सुनिन् । रेडियोले मुकुन्दशरण उपाध्याय र भक्तराज श्रेष्ठ ‘सरुभक्त’ पुरस्कृत भएको खबर फुकेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा सरुभक्तलगायत कविहरु पुरस्कृत भएका थिए । खबर सुनेपछि उनलाई लाग्यो, ‘ओहो, यस्तो पनि हुँदोरहेछ !’
उषाकी मामाको छोरा पर्थे विनोद गौचन । अरुण थापाले गाएको ‘जति माया लाए पनि’ गीत उनै विनोदले लेखेका थिए । अनि उषाले विनोदलाई भने, ‘भक्तराजले कस्तो राम्रो कविता लेख्दोरहेछ, मलाई चिनाइदेऊ न ।’
उषा पनि कविता लेख्थिन् । तर, बाहिर कसैलाई देखाएकी थिइनन् ।
पोखरामा सरोजगोपाल, सरुभक्तलगायतले पोखरेली युवा सांस्कृतिक परिवार गठन गरिसकेका थिए । उषाको भने कसैसित पनि प्रत्यक्ष चिनजान थिएन । सरुभक्तलगायतका सिनियर सर्कलसँग एक खालको ग्याप थियो ।
पृथ्वीनारायण क्याम्पसअघि गुरुङसेनी फुपूको चमेना गृह थियो । बाहिर पेटीमा गुन्द्री ओछ्याएर बस्नुपर्थ्यो । उषा त्यही थिइन् । सरुभक्तलगायत पनि त्यही थिए । विनोदले भने, ‘सरुभक्त भनेको ऊ नै त हो ।’
२०३४ सालमा उषाको ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा छापियो । उषा सुनाउँछिन्, ‘त्यो कविता छापिएपछि म पहिलोपटक सार्वजनिक भएँ ।’
त्यही चिनजान भयो । त्यही वेला उषाले इगल कापीमा लेखेका कवितामध्ये एउटा कविता सारे विनोदले । विनोदले त्यो कविता त गोरखापत्रमा पठाइदिएछन् । त्यसवेला पत्रिका भनेकै गोरखापत्र, गोरखापत्र भनेकै पत्रिका भने जस्तो थियो ।
अन्ततः २०३४ सालमा उषाको ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा छापियो । उषा सुनाउँछिन्, ‘त्यो कविता छापिएपछि म पहिलोपटक सार्वजनिक भएँ ।’
कविता छापिएपछि उषा पोखराको साहित्यिक माहोलमा छिरिन् । समूहहरु बन्दै गए, माहोल बन्यो । गजलकार प्रकट पंगेनी शिव, तीर्थ श्रेष्ठ, विजय वजिमयसहितको समूह बन्यो उषाको । उनकी ठूली आमाको घरमा कार्टुनिस्ट वात्सायनको आर्ट स्टुडियो थियो । ठीक त्यसैको पारि विजयको घर थियो ।
‘अनासयै माहोल यस्तो बन्यो कि कहिले एउटै शीर्षकमा कविता लेख्थ्यौं । कहिले फरक शीर्षकमा कविता लेख्थ्यौं । हप्तामा एउटा कार्यक्रम हुन्थ्यो’, उषा सुनाउँछिन् ।
०००
उषाका जिजु बाजेहरु मुस्ताङबाट आएका थिए । तर, पोखरामा भने उनी नेवार टोलमा पढिन्, हुर्किइन् । पोखरामा आएपछि आमाबाबुको मानसिकता यस्तो बनिसकेको थियो कि आफ्नो भाषा बोल्दा ‘भोटे’ भन्छन् भनेर भाषा बोल्दैन थिए । घरभित्र बाहेक मातृभाषाको प्रयोग हुन्न थियो ।
२०२७ सालमा एसएलसी पास गरेर काठमाडौंको आरआर कलेजमा आईए पढेकी थिइन् उषाले । कवयित्री प्रतिशरा सायमी, विन्दू सुवेदी उनका क्लासमेट थिए । तर, कवि चाहिँ बनिसकेकी थिइनन् । अलिअलि लेखे पनि लुकाउँथिन् । पोखरा गएपछि भने यतिकै माहोल बनिदियो ।
पोखरामा साहित्यिक माहोल त बन्यो । तर, वाचनका लागि औपचारिक चाँजोपाँजो कसरी मिलाउने, कसैलाई थाहा थिएन ।
२०३८ सालमा मुक्तक वाचन गर्दे उषा शेरचन
उषा सुनाउँछिन्, ‘हामीले कार्यक्रम कसरी गर्छ भनेर देखेका थिएनौं । कसरी सञ्चालन गर्ने भनेर थाहा पनि थिएन । मुक्तकको त नामै सुनेको थिएन । कविता कसरी वाचन गर्ने भनेर पनि थाहा थिएन । सरुभक्त मेन्टर जस्तो थियो । सृजनशील पनि थियो । उसैले धेरै कुराको चाँजोपाँजो मिलायो ।’
उषाका अनुसार सरुभक्त त्यसवेला भक्तराज श्रेष्ठमात्रै थिए । सरुभक्त बनिसकेका थिएनन् । अलि पछि मात्रै सरुभक्त बने ।
उषाले आफ्नै शैलीले कविता लेखिन् । वाचन गरिन् ।
एक दिन विजय बजिमयले भने, ‘डा. वानिरा गिरी दिदीहरु रसियामा जानुभएको थियो रे ! त्यहाँ त टिकटमा कविता वाचन हुने रहेछ रे ! हामी पनि टिकटमै कार्यक्रम गरौं न त एउटा ।’
२०२७ सालमा एसएलसी पास गरेर काठमाडौंको आरआर कलेजमा आईए पढेकी थिइन् उषाले । कवयित्री प्रतिशरा सायमी, विन्दू सुवेदी उनका क्लासमेट थिए । तर, कवि चाहिँ बनिसकेकी थिइनन् । अलिअलि लेखे पनि लुकाउँथिन् । पोखरा गएपछि भने यतिकै माहोल बनिदियो ।
त्यसवेला मुक्तक लेख्नेहरुमा भीमदर्शन रोका, चेतन कार्की, कृष्णप्रसाद पराजुली, यादव खरेल, भूपि शेरचन अग्रपंक्तिमा थिए । पञ्चायतकालको उत्कर्षको समयमा साहित्यकारहरुले सम्प्रेषणीय हुने भएकाले प्रायः मुक्तकबाट आफ्ना कुराहरु राख्ने गर्थे ।
पोखरामा टिकटमा मुक्तक कार्यक्रम हुने भयो । कवि हरिभक्त कटुवाल मुक्तक वाचन गर्न पोखरा पुगे । अहिलेको उद्योग वाणिज्य संघ भएको ठाउँमा खुला चौर थियो । त्यही भव्य कार्यक्रम भयो ।
टिकटको मूल्य थियो दुई रुपैयाँ ।
उषा सुनाउँछिन्, ‘मान्छे त चौरभरि थिए । सबैभन्दा बढी टिकट त मैले नै बेचें होला ।’
२०३५ सालको टिकटमा मुक्तक कार्यक्रममा कवि हरिभक्त कटुवालसँग उषा शेरचन
हरिभक्तलाई भेट्दाको क्षण सम्झिन्छिन् उषा, ‘सबैले रक्सी खान्छ भन्थे । तर, मसँग भेट्दा उहाँले रक्सी खाएको मैले देखिनँ । म साँझमा बस्थेन पनि । साँझमा केटाहरुसँग बस्दा चाहिँ के गर्नुभयो, थाहा भएन । तर, मसँग भेट्दा त दाइ मायालु, स्नेही हुनुहुन्थ्यो । आसामी–दार्जिलिङे टोन निकाल्नुहुन्थ्यो ।’
भूपि शेरचनसँग चाहिँ उषाको उस्तो भेटघाट भएन । थकालीहरुको साइनो माकुराको जालो जस्तो हुने भएकाले भूपि साइनो लाग्थे । तर, त्यस्तो भेट भएन । गायक नारायणगोपालले विवाह गरेर पोखरा जाँदा भूपि पनि गएका थिए । पछि पोखराकै केटीलाई कान्छी श्रीमतीको रुपमा विवाह गरे भूपिले । जाे उषाकै टोलकी थिइन् ।
पोखरा सम्झनासाथ उषालाई पोखराको साहित्यिक कार्यक्रमको सम्झना खुब आउँछ । त्यसवेला विश्व शाक्यले ‘प्रांगण’ नामक पत्रिका निकाल्थे । वात्सायनले त्यही पत्रिकामा कार्टुन बनाउँथे । उषाले विज्ञापन उठाउन पत्रिकालाई सकेको सहयोग पनि गर्थिन् । उषालाई लाग्छ, सम्भवतः भक्तराज श्रेष्ठले सरुभक्त नाममा त्यही पत्रिकाबाट लेख्न सुरु गरेका हुन् ।
पोखरामै छँदा उषाले नाटक पनि खेलिन् । सरुभक्त लेखनका साथसाथै नाटक निर्देशन पनि गर्थे । सरुभक्तकै निर्देशन तथा लेखनमा उषाले ‘एउटा घरको कथा’ नाटक खेलिन् । त्यो पनि आमाको भूमिकामा ।
त्यसवेला महिला पात्रको भूमिका पनि पुरुषले नै गर्थे प्रायः नाटकमा । पोखरामा चेतन कार्कीद्धारा लिखित ‘आत्मा बेचेको छैन’ नाटकमा भाग्य गुरुङ, निलिमा गुरुङ, हिन्दू गुरुङलगायतले महिलाकै भूमिकामा खेलिसकेका थिए । त्यसमा उषा पनि थपिएकी थिइन् । सँगै अभिनेता अर्जुनजंग शाहीकी श्रीमती दुर्गा शेरचन, नन्दा गुरुङसित खेलेको नाटक लिएर राष्ट्रिय नाटक महोत्सवमा भाग लिन उषा काठमाडौं पनि आएकी थिइन् ।
पोखरा सम्झनासाथ उषालाई पोखराको साहित्यिक कार्यक्रमको सम्झना खुब आउँछ । त्यसवेला विश्व शाक्यले ‘प्रांगण’ नामक पत्रिका निकाल्थे । वात्सायनले त्यही पत्रिकामा कार्टुन बनाउँथे ।
काठमाडौंमा नाटक प्रस्तुत गरेपछि यज्ञनिधि दाहालले सोधेका थिए रे, ‘त्यो बूढी आमाको रोल गर्ने को हो ?’
उषा सुनाउँछिन्, ‘पछि मलाई योङ देख्दा उहाँ छक्क पर्नुभएको थियो ।’
तर, विवाह गरेपछि भने उषाले नाटकलाई निरन्तरता दिइनन् ।
०००
२०३८ सालमा उनी विवाह गरेर फेरि काठमाडौं फिरिन् ।
पोखराको माहोल पोखरामै छुट्यो । तर, लेखनलाई भने निरन्तरता दिइरहिन् । २०४८ सालमा ‘नजन्मेका आस्थाहरु’ कविता संग्रह प्रकाशन गरिन् ।
उषा भन्छिन्, ‘रामशरण दर्नाल दाइले सन् १९९० तिर पहिलोपटक म अमेरिका जाँदा पाण्डुलिपि दिइरहनुस् भनेर माग्नुभएको थियो । पछि तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले छाप्यो ।’
२०५६ सालमा मुक्तक संग्रह ‘अक्षरहरुका शिविरबाट’ ल्याइन् । ‘सर्वकालीन पीडा र जागृतिका शंखघोष’ कविता संग्रह (२०६३), ‘तेस्रो रङ’ कथासंग्रह (२०७०), ‘आधि’ उपन्यास (२०७६) ल्याइसकेकी छन् । उषा लगातार लेखिरहँदिनन् । कुनै कुरा जहिले लेखिनुपर्ने हो, त्यतिवेला लेखिन्छ भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘म नियतिमा विश्वास गर्छु । जुन कुरा जहिले जन्मनु छ, त्यहीवेला जन्मन्छ । हर कुरा निर्धारित छ ।’
‘म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन । तर, लेखिरहन्छु । पढेरभन्दा पनि मेरा लागि जीवन र जगत नै ठूलो पाठशाला हो । लेखनका लागि म प्रायः दिमाग खेलाइरहन्छु ।’
तर, उषा मन्दिर भने जाँदिनन् । आफूलाई आस्तिक भएको दाबी गर्छिन् । आफूले समय र संयोगलाई चाहिँ विश्वास गर्ने उनको दाबी छ ।
अहिले ६८ वर्षकी उषासित कथा संग्रह तयार छ । संस्मरणहरुको पनि किताब तयार छ । गीत र मुक्तक संग्रह पनि तयार छ । मान्छेले विवाह वा अनेक परिस्थितिले लेख्न छाड्छन् । तर, उषाको भने गति निरन्तर छ । त्यसैले त भन्छिन्, ‘म त्यस्तो उत्कट लेख्ने साहित्यकार होइन । तर, लेखिरहन्छु । पढेरभन्दा पनि मेरा लागि जीवन र जगत नै ठूलो पाठशाला हो । लेखनका लागि म प्रायः दिमाग खेलाइरहन्छु ।’
उनलाई लाग्छ, लेखन भनेको थेरापी जस्तै हो । लेखनको समयमा ध्यानमग्न हुनु, एकाग्र हुनु नै सबैभन्दा ठूलो थेरापी जस्तो लाग्छ उनलाई । भन्छिन्, ‘हामी भीडमा भए पनि एक्लै भइरहेको हुन्छ । कहिले एक्लै हुँदा भीडमा भइरहेको हुन्छ । लेखेर आत्मसन्तुष्टि पाइन्छ । के के न लेखें भनेर दम्भ पनि छैन मेरो त ।’
अहिले पनि उषासँग पोखरामा हुँदा खिचेका साहित्यकारहरुसँगका टन्नै फोटाहरु छन् । ती फोटाहरु वेलावेला हेर्दा त्यही समयमा पुग्छिन् । अनि आफूले हिँडेर आएको बाटो सम्झन्छिन् ।
उनी भन्छिन्, ‘फर्केर हेर्दा एकदमै प्राउड फिल हुन्छ । मैले यस्तो ढुंगेनी बाटोहरु हिँडें, जहाँ काँडैकाँडा थियो । ती काँडाहरु म आफैंले पन्छाएँ । मैले नै ग्राबेल बिछ्याएँ । मैले नै बाटो पिच गरें र मैले नै राजमार्ग बनाएँ । मैले अहिलेसम्म जे गरें, समयको एकदमै सदुपयोग गरें । जिन्दगीप्रति केही गुनासो नै छैन ।’
काठमाडौं । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ ।
चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए।
उनले भने,‘पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ । यसले हामीलाई नियमित प्रदर्शनका लागि समेत हौसला थपेको छ ।”
सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी हुनुभएको थियो । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।
दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्र लेखन निर्देशक राईले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका र अभिनेता खगेन्द्र लामिछानेले पिताको भूमिका निर्वाह गरे।
काठमाडौं । मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूल’ को लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘शार्दूल’ को छैटौं अंक लोकार्पण गरे ।
ओलीले नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा मदन भण्डारीको विशेष योगदान रहेको बताए ।
‘जसरी राजनीतिमा मदनको अद्वितीय योगदान छ, त्यत्तिको योगदान साहित्यमा त रहन पाएन तथापि जनतालाई जागरुक गर्ने, प्रेरित गर्ने सन्दर्भमा मदनका सिर्जनाको विशेष योगदान रहेको छ’, उनले भने ।
समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले सार्थक कार्यक्रम आयोजना गर्ने गरेको भन्दै प्रशंसा गरे ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले यस कार्यक्रमले मदनको ओझेल परेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्न सहयोग पुग्ने विश्वास जनाए । प्रतिष्ठानद्वारा यसअघि ‘हिमवत्खण्ड कला-साहित्य सम्मिलन’ आयोजना गरिएको उल्लेख गर्दै निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।
प्रतिष्ठानका सचिवालय सदस्य तथा ‘शार्दूल’ पत्रिकाका सम्पादक शशी लुमुम्बूले पत्रिकाका विषयमा प्रकाश पारेका थिए । शार्दूलमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल सम्पादक छन् ।
काठमाडौं । रक स्टार गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम संस्कार गरिएको छ ।
नेपाली गीतसंगीत र अभिनयको क्षेत्रमा गायक तामाङले उल्लेखनीय योगदान गरेका छन् । उनै, तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवा’ सार्वजनिक गरिएको छ ।
निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरेका हुन् ।
एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले जिन्दगीलाई धुवामा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि साथ दिएका छन् । सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजेश र रोविनलाई नै फिचर गरिएको छ । गीतको र्यापको शब्द भने रोविनले नै लेखेका छन् ।
सोनाम तामाङको छायांकनमा तयार भएको यो भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् ।
काठमाडौं । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन् । सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभवहरू पनि सेयर गरे ।
विगतमा सन्दीपले नै पललाई अभिनयमा डेब्यू गराएको हुँदा यो अन्तरवार्ता केही विशेष पनि थियो । त्यसबेला पल शाह तराई टेलिभिजनमा ‘भिडियो एडिटर’ का रूपमा काम गर्थे ।
सन्दीपले आफ्नो कार्यक्रममा पहिलो पटक पललाई छोटो भूमिकामा खेलाएका थिए । हिजो प्रसारित अन्तरवार्तामा दुवैले ती पलहरूलाई सम्झिए ।
अन्तरवार्ताको मुख्य खण्ड भने पल शाहको जेल बसाइमा केन्द्रित थियो । पलले कुनै रोमाञ्चकारी कथा सुनाए जसरी आफ्नो जेल यात्राको ‘ग्लोरिफाइ’ गरे ।
सुरुमा जेल जानुअघिको आफ्नो मनोदशा सुनाउँदै पलले भने, ‘खोइ के भनौं… न्यूज आउने बित्तिकै र म त्यहाँ (जेलमा) हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो फिल भयो । त्यसपछि लाइफमा जे कुरा पनि ह्यान्डल गर्नुपर्छ भन्ने भनेर गइयो । कहिलै नपुगेको ठाउँमा पुगियो । धेरै कुरा देख्न भोग्न सिक्न पाएँ । धेरै अनुभव लिएँ ।’
उनले २५ दिनको हिरासत बसाइ एकदमै कष्टप्रद भएको सुनाए । त्यहाँको बस्ने ठाउँ साह्रै दिक्दार लाग्दो भएको उनको भनाइ थियो ।
पलले भने, ‘१० जना अट्ने कस्टडी रुममा १५ जना अलरेडी हुन्थ्यो । कहिलेकाहीँ ४० जना पनि बस्नुपर्ने हुँदो रहेछ । तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो । कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले । यति ‘ब्याड स्मेल’ आउँदो रहेछ । ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि ५ वर्षदेखि नधोएको । गन्धले म त पागलजस्तो भएँ । त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे ।
मलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएपछि बी ब्लकमा लैजानुभयो । त्यहाँ ५–७ वटा चेन गेट पार गर्नुपर्ने हुँदो रहेछ । त्यसले नै सबैभन्दा पहिले मोरल डाउन हुने । लास्टमा ठूलो पर्खाल थियो १५/२० फिटको । त्योभित्र विल्डिङ । ठूलो पर्खालभित्र पस्ने बेला मलाई अब लाइफ सकियो भनेजस्तो भएको थियो ।
अलिअलि बचेको आत्मविश्वास पनि आफू सुत्ने बेड देखाएपछि माइनसमा पुग्यो । मलाई सुत्नलाई ठूलो बेड चाहिन्छ । चलेर सुत्ने बानी छ । त्यसैले सुटिङमा पनि ठूलो बेड माग्छु । त्यहाँ मलाई ‘हजुरको बेड’ भनेर देखाउनुभयो । त्यो जम्मा २२ इन्चको थियो । सिधा सुत्दा हात पनि भुईँमा झर्ने । ढाड मात्रै अट्ने । अर्को बेड पार्टनरलाई छुन नमिल्ने । नछोओस् भनेर म बक्स पाइन्ट लगाएर सुत्थेँ र सुत्दा पकेटमा हात हाल्थेँ ।’
पलले जेलमा बस्दा सबैभन्दा बढी दर्शकलाई मिस गरेको बताए ।
‘त्यो बेला मेरो नयाँ सिनेमा रिलिज भएको थियो । मेरो करिअरकै टर्निङ प्वाइन्ट हुनेवाला थियो । एकदमै एक्साइटेड थिएँ । दर्शकसँगै बसेर चलचित्र हेर्ने र उहाँहरूको प्रतिक्रिया सुन्ने मत थियो । चाहे हातमा हत्कडी नै किन नहोस्, एक पटक मात्रै भए पनि दर्शकसँग बसेर फिल्म हेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।’ उनले भने ।
उनले जेल बसाइ आफ्नो लागि विश्वविद्यालयजस्तो भएको फेरि दोहोर्याए ।
‘त्यहाँ एकदमै कडा सिस्टम र अनुशासनमा बस्नुपर्थ्यो । त्यहाँका सेकेन्ड सेकेन्डको हिसाब गरेर चल्नुपर्छ । त्यो विश्वविद्यालयभन्दा कम छैन् मेरो लागि,’ उनले भने ।
कार्यक्रमभरि पलले कतै पनि आफू जेल जानुपरेकोमा हीनताबोध वा ग्लानीको भाव देखाएनन् । जेल बसाइको वर्णन गर्दा उनी भावुकभन्दा बढी रोमाञ्चित देखिन्थे । सायद कार्यक्रमको फर्म्याट पनि त्यस्तै भएर होला । पलभन्दा बढी रोमाञ्चित थिए कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री । कार्यक्रमभरि उनी एकदमै यसरी अट्टहाँस गरिरहेका थिए, मानौँ पलले आफ्नो जेल जीवन होइन, सिनेमाको सुटिङको रमाइलो अनुभव सुनाइरहेका छन् ।
बलात्कारजस्तो संगीन मुद्दासँग जोडिएको विषयमा सन्दीपले अत्यन्तै भद्दा रियाक्सन दिएको सचेत दर्शकले महसुस गर्न सक्छन् ।
काठमाडौं । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को आजबाट छायांकन सुरु भएको छ ।
बालकुमारमा रहेको एक ग्यारेजबाट यो फिल्मको छायांकन सुरु भएको हो । छायांकन अगाडि फिल्मका कलाकारहरूले क्यामेरा पूजा गरेका थिए ।
सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो फिल्मलाई एक महिना खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो फिल्मको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।
फिल्म ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।
नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् । नायक दयाहाङ राईले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए ।
यसअघि किरण नेपालीको निर्माणमै बनेको फिल्म ‘२ नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए । यो फिल्म सुपरहिट भएपछि किरणले ‘हात्तीछाप’को निर्माण सुरु गरेका हुन् ।
काठमाडौं । शिव परियारको स्वरमा त्रिकोण प्रेममा आधारित कथावस्तु बोकेको गीत ‘धोका’ सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलबाट रिलिज भएको सो गीतमा आकाश श्रेष्ठ, करुणा श्रेष्ठ र आनन सिंहको सराहनीय भूमिका रहेको छ।
गीतको शब्द नारद पोखरेलले लेखेका हुन्, भने, संगीत संकेत अगस्तीको रहेको छ।
यो गीतमा संगीत संयोजन रिदम कँडेल र मिक्सिंग मास्टरिङ्ग महेश्वर मान राजभण्डारीको रहेको छ। निर्देशन राजेश पुमा राइले गरेका छन् भने निर्माता गीतकार स्वयम् रहेका छन्।
उत्सव दाहालको छायांकन, अस्मिता राइको शृंगार र विकास दाहालको सम्पादनले गीतलाई अझै सजाउन मद्दत पुर्याएको छ।
काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लाग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।
अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिएको हो ।
श्रद्धाञ्जली अर्पणका लागि कलाकारहरु अहिले नाट्य प्रतिष्ठनमा छन् ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राख्ने भनिएपनि १० देखि १२ बजेसम्म त्यहाँ राखिने बताइएको छ ।
१२ बजेपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।
गायक रोविनको गत मङ्गलवार निधन भएको थियो। उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
रुपन्देही । अभिनेता तथा निर्देशक सरोज खनाल बगान फिल्मको प्रचारका लागि देश दौडाहा निस्केका छन् । नेपाली फिल्म बगानको टिम लिएर शनिवार बुटवलमा आएको टोलीले दर्शक तथा पत्रकार भेटघाट गरेको छ ।
३० वर्षअघि सारंगी फिल्मसका लागि आएको विगत सम्झिँदै अभिनेता खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए। समस्यासँग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरूको कथा बोल्ने बताए।
चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले फिल्म हलमा एकल महिला तथा विधवाहरूलाई निःशुल्क हेर्ने व्यवस्था गरेको बताउँदै हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिँड्न नसक्दा यस्तो कथा जन्मिएको बताए।
अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीका बीच समाधान खोजेकोले सबै दर्शकले एक पटक हेर्ने पर्ने चलचित्र बनेको बताइन्।
कथा मन परेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउँदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरीति र कु संस्कृति विरुद्धको आवाज बगान भएको बताएकी छन्।
आफ्नो पहिलो फिल्म भए पनि यस क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडि बढाउने नवनायिका प्रमीला पोखरेलले बताइन्।
बगानको कथामा हरेक नारी आमा, छोरी, बुहारीको कथा पाइने बताउँदै उनले हरेक समाजमा भएको व्याप्त नारीको वेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छन्।
‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमीला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भीएफएक्स तथा रेनिश फागोले रंग संयोजन गरेका छन्।
प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । आफ्नो मोफसल यात्रालाई अघि बढाएको बगान टिम शनिवार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमाडौं जाने योजना बनाएको छ।
काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम दाह संस्कार गरिँदै छ ।
अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिएको छ ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।
गायक रोविनको गत मङ्गलवार निधन भएको थियो। उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
काठमाडौं । गायक पुष्पन प्रधान र अनु चौधरीकाे‘हल्का हल्का माया बस्यो’ रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द-संगीत छ भने जोनी योञ्जन तामाङले एरेन्ज र मिक्सिङ गरेका छन् ।
भिडिओको निर्देशनमा निकेश खड्काले भूमिका खेलेका छन् भने सम्पादन बिकाश धमलाले र छायांकन दिनेश पराजुलीले गरेका छन् ।
भिडिओमा गरिमा शर्मा र प्रभात पल ठकुरीको माया प्रेम देखाइएको छ । भिडिओ Garima Sharma Official युट्युबमा हेर्न सकिन्छ।
काठमाडौं । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्वीकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् ।
‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले टविटरमा माफी माग्दै अगाडि लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन ।’
नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।
टपोरी भाषामा फिल्मका संवाद राखिएको भन्दै बिबादमा परे पछि केही संबाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसका कारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।
मैं स्वीकार करता हूँ कि फ़िल्म आदिपुरुष से जन भावनायें आहत हुईं हैं.
अपने सभी भाइयों-बहनों, बड़ों, पूज्य साधु-संतों और श्री राम के भक्तों से, मैं हाथ जोड़ कर, बिना शर्त क्षमा माँगता हूँ.
भगवान बजरंग बली हम सब पर कृपा करें, हमें एक और अटूट रहकर अपने पवित्र सनातन और महान देश की…
— Manoj Muntashir Shukla (@manojmuntashir) July 8, 2023
काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री हिजो मध्यरात फेसबुक लाइभमा आएर अत्यन्त बिक्षिप्त रुपमा प्रस्तुत भएका छन् । उनले आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए ।
खत्रीले हिजो फेसबुकमा निराशावादी पोस्ट गरेका थिए । हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै उनले अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए । सो स्टाटसको आशयलाई अझै खुलस्त पार्दै खत्रीले फेसबुक लाइवमा चरम निराशाजनक अभिव्यक्ति दिएका हुन् ।
६ महिनादेखि आफूलाई निकै गाह्रो भएको सुशान्तले बताएका छन् । उनले आफ्नो समस्या भने खुलाएका छैनन् । आफूले धेरैलाई साथ र सहयोग गरे पनि आफूलाई चाहिएको बेला अरुको साथ नपाएको उनको गुनासो छ ।
‘सक्दिन अब मैले । सक्दिनँ । जसको धेरै आवश्यकता छ, त्यो टाइममा कोही पनि हुँदैन रहेछ भन्ने आज आएर थाहा भयो । जहिले पनि आफू पछाडि बसेर मान्छेहरुलाई हेल्प गरेँ । आफू गिरेर भए पनि सबैलाई हेल्प गरेँ । तर लास्टमा आफू नै नराम्रो भइँदो रहेछ,’ सुशान्तले भने ।
उनले थपे, ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ । कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी… मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु ।’
‘कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ उनले भक्कानिँदै भने ।
उनले औषधिको पत्ता समेत देखाएर आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने संकेत गरे ।
‘आइ ह्याभ अ मेडिसिन राइट नाउ । जतिबेला पनि आइ क्यान डु यु नो… दिस इज द .फ… मेडिसिन . सिक्स पिल्स लाइभ गन… ।’
उनले आफ्नै देशमा आएर मर्ने चाहना रहेको बताए ।
को हुन् सुशान्त खत्री ?
काठमाडौंको कपननिवासी सुशान्त खत्रि युवापुस्तामा निकै लोकप्रिय डान्सर हुन् । नेपाल र भारतमा उनका लाखौ फ्यान छन् । उनी भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट थिए । स्टार प्लसबाट प्रशारण हुने सोही कार्यक्रममा उनले पछि निर्णायकको भूमिका समेत निभाएका थिए ।
त्यसअघि सन् २०१२ मा भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा छनोट भएपछि सुशान्तको चर्चा सुरु भएको थियो । उक्त कार्यक्रमको टप १० मा पुगेर उनी बाहिरिएका थिए । सुशान्त संगीतमा पनि सक्रिय छन् । उनको पहिलो गीत ‘सानुमाया’ सन् २०१९ मा रिलिज भएको थियो ।
काठमाडौं । राजनीतिज्ञ, मानवअधिकारकर्मी एवं स्रष्टा समीर नेपालका दुई कृतिहरु ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सने यात्रा’ एकसाथ लोकार्पण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच पुस्तकहरु साहित्यकारहरु मञ्जुल, एस्पी कोइराला, गीता त्रिपाठी, हरि गौतम, लेखक लगायतले सामुहिक रुपमा लोकार्पण गरे ।
नेपालको जन्मदिन पारेर बजारमा आएका कृतिहरु ‘वर्षका बिहानीहरू’ उपन्यास साथै ‘नबिर्सने यात्रा’ यात्रा कथा हो ।
भोजपुरको पोखरेमा जन्मिएका नेपालले साहित्य, मानव अधिकार अभियान्ताको भूमिकाको हिसाबले पुर्याएको योगदानबारे लोकार्पण समारोहमा चर्चा गरियो । सार्वजनिक कृतिहरुमाथि डा.गीता त्रिपाठीले समीक्षात्मक टिप्पणी गरेकी थिइन् ।